शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०२४४ - ठगी

भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपककुमार कार्की

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल

फैसला मिति : २०७६।१।१९

 

मुद्दाः- ठगी

 

०६८-CR-०७२६

पुनरावेदक / प्रतिवादी : जिल्ला पाल्पा खानीगाउँ गा.वि.स. वडा नं. ३ घर भई हाल का.जि. इचंगुनारायण गा.वि.स. वडा नं. ९ बस्ने वर्ष ५३ को कुलबहादुर कार्की

विरूद्ध

विपक्षी / वादी : फुर्वा लामासमेतको जाहेरीले नेपाल सरकार

 

०६९-CR-०८२१

पुनरावेदक / वादी : फुर्वा लामासमेतको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : पाल्पा जिल्ला रानीगाउँ गा.वि.स. वडा नं. ३ घर भई हाल का.जि. इचंगुनारायण गा.वि.स. वडा नं. ९ घर भई का.जि.का.म.न.पा. वडा नं. १५ स्वयम्भुमा सत्यवती प्रा.लि. का सञ्‍चालक कुलबहादुर कार्कीसमेत

 

प्रचलित दुईवटा कानूनले अपराध घोषित गरी फरकफरक सजायको व्यवस्था गरेको अवस्थामा कुन कानूनअन्तर्गत उपचार माग्ने भन्‍ने कुरा वादी पक्षको स्वविवेक र अभियोक्ताको व्यावसायिक स्वतन्त्रतासँग सम्बन्धित विषय बन्न जान्छ । त्यस्तो दुईवटा समानान्तर कानूनी बाटो रहेको अवस्थामा वादीलाई यो बाटो आउनु पर्थ्यो भन्‍न अदालतले नमिल्ने ।

(प्रकरण नं.८)

 

वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री महेशप्रसाद खत्री

प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र श्री कृष्ण सापकोटा

अवलम्बित नजिर : 

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्ने :

मा.जिल्ला न्यायाधीश श्री शेखरप्रसाद पौडेल

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

मा. मुख्य न्यायाधीश श्री केशरीराज पण्डित

माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या. दीपककुमार कार्की : न्याय प्रशासन ऐन,२०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः- 

तथ्य खण्ड

सत्यवती म्यानपावर प्रा.लि.का सञ्‍चालक कुलबहादुर कार्की तथा इण्डम्यान कन्सल्टेन्सी प्रा.लि.का सञ्‍चालक रमेश रसाइलीसमेतले विदेश कोरियामा रोजगारको लागि पठाई दिन्छौं रकम मइतकुमारी लामासमेतलाई बुझाए हुन्छ भनेकोले मइतकुमारी लामालाई रकम बुझाएपछि मइतकुमारी लामा तथा निजको पति दिलबहादुर तामाङलाई रहस्यमय तरिकाले बुटवलमा हत्या गरेको हुँदा उक्त रकम ठगी गरेको थाहा पाई निजहरूले विदेश पठाउने सर्तमा म फुर्वा लामाको रू.१,५०,०००।-, म पुर्ण तामाङको रू.५,५०,०००।-, लाक्पा शेर्पाको रू.५,५०,०००।-, दोर्जे तामाङको रू.५,५०,०००।- समत लामा लप्चनको रू.५,५०,०००।-, रामजी लामाको रू.५,५०,०००।-, राकेश लोप्चनको रू.३०,०००।-, चेतन लामाको रू.४,५०,०००।- उग्रेत लामाको रू.३,४०,०००।- समेत जम्मा रू.३९,९०,०००।- ठगी गरेको हुँदा कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको फुर्वा लामासमेतको जाहेरी दरखास्त ।

काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१ बस्ने रमेश रसाइलीले मलाई विदेश कोरियामा रोजगारको लागि पठाई दिन्छु भनी विश्वास दिलाई मबाट रू.३,५०,०००।- रकम लिई विदेश पनि नपठाएको र रकम पनि फिर्ता नदिई ठगी गरेकोले कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको निमा डाँगीको जाहेरी दरखास्त ।

जाहेरवाली निमा डाँगीको रकम रू.३,५०,०००।- रकम मैले विदेशमा पठाई दिन भनी लिएको हुँ, जाहेरवाला फुर्वा लामा, पूर्ण लामाले दिएको जाहेरीमा उल्लिखित मानिस तथा फुर्वा लामा, पूर्ण लामाको जाहेरीमा उल्लेख भएको रकम मैले लिएको होइन मइतकुमारी लामाले रकम बुझेको हो होइन मलाई थाहा भएन भन्नेसमेत बेहोराको प्रतिवादी रमेश रसाइलीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।

रमेश रसाइली र कुलबहादुर कार्कीले मेरो जेठा छोरा कृष्णबहादुर फुन्ज थापालाई रोजगारको लागि विदेश कोरियामा पठाई दिन्छौं रकम कुलबहादुर तामाङ वा मइतकुमारी लामालाई बुझाए हुन्छ भनी रू. ४,५०,०००।- बुझी लिए पछि दिलबहादुर तामाङ तथा मइतकुमारीलाई रहस्यमय तरिकाले हत्या गरिएका र विदेश पनि नपठाएको र रकमसमेत फिर्ता नदिई ठगी गरेकोले कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको रूपबहादुर फुन्ज थापाको जाहेरी दरखास्त ।

रमेश रसाइली तथा कुलबहादुर कार्कीले विदेश रोजगारको लागि कोरियामा पठाई दिन्छौं रकम मइतकुमारी वा दिलबहादुर तामाङलाई बुझाए हुन्छ भनी रोजगारको लागि कोरिया पठाई दिने सर्तमा म जंग गुरूङको रू.५,००,०००।- तेजबहादुर गुरूङको रू.५,००,०००/- रूपबहादुर गुरूङको रू.५,००,०००।- समेत रू.१५,००,०००।- हात पारी विदेश पनि नपठाएको र रकम पनि फिर्ता नदिएको र मइतकुमारी लामा तथा निजको पति दिलबहादुर तामाङलाई बुटवलमा रहस्यमय तरिकाले हत्या गरिएको हुँदा कानूनबमोजिम कारबाही गरी रकम दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको जंग गुरूङको जाहेरी दरखास्त ।

रमेश रसाइली तथा कुलबहादुर कार्कीसमेतले विदेश कोरियामा पठाई दिन्छौं भनी रू.५,५०,०००।- रकम लिई विदेश पनि नपठाई रकमसमेत फिर्ता नदिएकोले मेरो साथी पूर्ण लामासमेतले दिनु भएको जाहेरी दरखास्तमा लेखिएको बेहोरा ठिक हो भन्नेसमेत बेहोराको पाल्साङ लामाको कागज ।

रमेश रसाइली तथा कुलबहादुर कार्कीसमेतले विदेश कोरियामा रोजगारका लागि पठाई दिन्छौं रकम हाम्रो एजेन्ट मइतकुमारी लामा वा दिलबहादुर तामाङलाई बुझाए हुन्छ भनी मेरो रू. ४,५०,०००।-लिएपछि मइतकुमारी र दिलबहादुर तामाङलाई रहस्यमय तरिकाले बुटवलमा हत्या गरिएको, निजको हत्यापछि रमेश रसाइली र कुलबहादुर कार्कीले विदेश पनि नपठाएको र रकम पनि फिर्ता नदिई ठगी गरेकोले मेरो साथीले जाहेरी दिनु भएको हो भन्नेसमेत बेहोराको चेतनबहादुर लामाको कागज ।

रमेश रसाइली, कुलबहादुर कार्कीसमेतले विदेश कोरियामा रोजगारको लागि पठाई दिन्छौं रकम मइतकुमारी लामा वा दिलबहादुर तामाङलाई बुझाए हुन्छ भनी विश्वासमा पारी जाहेरवाला युवराज लामा, घुल्टीन लामा, युवनसाङ लामा तथा साथी पञ्चबहादुर तामाङसमेतबाट जम्मा रू.१६,५०,०००।- रकम लिई विदेश पनि नपठाएको र रकम पनि फिर्ता नदिएको हुँदा कानूनबमोजिम ठगी मुद्दामा कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको युवराज लामासमेतको संयुक्त जाहेरी दरखास्त ।

रमेश रसाइलीले विदेश कोरियामा मलाई रोजगारको लागि पठाई दिन्छु भनी रकम लिई भरपाई गर्दा घरायसी बेहोराको कागज भएको हो भन्नेसमेत बेहोराको जाहेरवाली निमा डागीले गरेको कागज ।

रमेश रसाइलीले रोजगारको लागि तपाइँका मानिस विदेश जाने कोही भए कोरियाको कोटा आएको छ, रकम र मानिस सम्पर्कमा ल्याउनुस् भनी रमेश रसाइलीले भनेको हुँदा मैले रोजगारको लागि विदेश पठाई दिन्छु भनी मसमेतले रकम जम्मा गरी निज रमेश रसाइलीलाई दिएपछि निजले कुनै जानकारी नगराएको बुझ्दा धेरै मानिसलाई ठगी गरेको कुरा खुल्न आएकोले आफूहरूलाई पनि ठगी गरेको कुरा थाहा पाई, डा.राजु डंगोलले जाहेरी दिनुभएको हो भन्ने प्रदिप थापा, रविन्द्र थापा, राजु थापा, रमेश अधिकारी, राजन महर्जनसमेतले गरेको करिब एकै मिलानको छुट्टाछुट्टै कागज ।

रमेश रसाइली, कुलबहादुर कार्कीले रोजगारको लागि विदेश कोरियामा पठाई दिन्छौं रकम हाम्रो एजेण्टहरू मइतकुमारी र दिलबहादुर तामाङलाई बुझाए हुन्छ भनेकोले विश्‍वासमा परी मन्जिदबहादुर थापासमेतको रू.४,५०,०००।- मेरो भाइ हुमबहादुर क्षेत्रीको रू.४,५०,०००।-, पहल सिंह राना, हुमबहादुर राना, राजन थापासमेतको रू.२२,५०,०००।- रकम लिई विदेश पनि नपठाएको र रकम पनि फिर्ता नदिएको हो । कानूनबमोजिम कारबाही गरी रकम दिलाई पाउँ भन्नेसमेत बेहोराको जितबहादुर थापासमेतको जाहेरी दरखास्त ।

रमेश रसाइली, कुलबहादुर कार्कीसमेतले रकम बुझाए हुन्छ भनी भिनाजु पूर्ण लामाले रकम बुझाएपछि रोजगारको लागि विदेश पनि नपठाएको र रकम पनि फिर्ता नदिएकोले पूर्ण लामाले जाहेरी दिनु भएको हो भन्नेसमेत बेहोराको पूर्ण लामासमेतको जाहेरीमा उल्लेख भएका समित लोप्चन तामाङको कागज ।

रमेश रसाइली, कुलबहादुर कार्कीले विदेश कोरियामा रोजगारको लागि पठाउने गरेका छन् छोरी छिरिङ डोल्मा शेर्पा, छोरा लोप्साङ टासी शेर्पासमेतको भिषा आयो रकम जम्मा गर्नुहोस् भनी रमेश र मइतकुमारी लामाले ना. १ च ५२१८ नं. को गाडीमा आई रू.२,००,०००।- रकम लिई गई भरपाइ मइतकुमारीले गरेपछि निज मइतकुमारी लामाको बुटवलमा हत्या भएको थाहा पाई निजहरूले ठगी गरेको थाहा पाई जाहेरी दिन आएको हुँ कानूनबमोजिम रकम दिलाई पाउँ भन्नेसमेत बेहोराको कर्पु शेर्पाको जाहेरी दरखास्त ।

जाहेरवाली निमा डाँगीलाई रोजगारको लागि कोरिया पठाई दिने सर्तमा रमेश रसाइलीले ५२१८ नं. को गाडी लिई कलंकी प्रहरी विटनेर पैसा लिन आएको र निमा कुमारी डाँगीले गाडीमा रू.३,५०,०००।- रकम बुझाई भरपाई गर्नु पर्दैन फरक पर्दैन भनी रकम लगेपछि रोजगारको लागि नपठाएको र रकमसमेत फिर्ता नगरेकोले ठगिएको थाहा पाई निमाकुमारी डाँगीले जाहेरी दिएकी हुन् भन्ने सशीकुमार तितुङ, गोपाल राई, बमबहादुर घलानले गरेको कागज । 

रमेश रसाइली र मैतकुमार लामासमेत ना.१ च ५२१८ नं. को गाडी चढी मेरो घरमा आई छिरिङ डोल्मा शेर्पासमेतको भिषा आयो रकम जम्मा गर्नुहोस् भनी रू.२,००,०।- लिई मेरो नाममा मइतकुमारीले रकम बुझेको भरपाई गरी दिएकोमा निजहरूले धेरै मानिसहरूलाई ठगी गरेको कुरा थाहा भई मेरो श्रीमान्‌ले जाहेरी दिनु भएको हो भन्ने निमा ग्याल्जेन शेर्पाले गरेको कागज ।

हाल पक्राउ परेका प्रतिवादीहरू रमेश रसाइलीले समेत विदेश कोरियामा पठाई दिन्छौं भनी मेरो दाजु लाक्पा शेर्पाबाट पनि रू.५,५०,०००।- बुझी विदेश नपठाई ठगी गरेकोले दाजु लाक्पा शेर्पाको साथी पूर्ण लामासमेतले जाहेरी दिनु भएको हो जाहेरीमा उल्लेख भएको बेहोरा ठिक हो भन्नेसमेत बेहोराको छिरिङ ग्याल्वो शेर्पाले गरेको कागज ।

रमेश रसाइलीले डा.राजु डंगोललाई विदेश जाने तपाइँको मानिस ल्याउनुहोस भनी राजु डंगोलले लगेको मानिससँग रू.७,८०,०००।- रकम लिई विदेशसमेत नपठाई ठगी गरेकोले राजु डंगोलले मसँग रू.७,८०,०००।- ऋण लिई राजु थापासमेतलाई फिर्ता दिएका हुन् जाहेरीमा लेखिएको बेहोरा ठिक हो भन्नेसमेतको शिवकुमार राईको कागज ।

मृतक सिरकुमारी भन्‍ने मइतकुमारी लामा तथा निजको पति दिलबहादुर तामाङसमेत मैले सञ्‍चालन गरेको का.जि. ठमेल स्थित माइक्राउन्ड होटलमा २०६१ साल फाल्गुण ४ गते आई ३०३ नं. को कोठामा ५ र ६ गते बसी ७ गते गएका हुन् निजहरूको मृत्यु भएको कुरा हाल थाहा पाएँ होटलको बिल कसले तिरे थाहा भएन भन्नेसमेत बेहोराको हरिप्रसाद चतुर्वेदीको कागज ।

जाहेरीमा उल्लेख भएको रकममध्ये डा.राजु डंगोलको जाहेरीमा उल्लेख भएको रकम मैले लिएको सोमध्ये रू.३,३०,०००।- दिइसकेको छु, मनकुमारी राईको रू.२,००,०००।- र जाहेरीमा नाम उल्लेख भएका डम्बर राईको रू.७०,०००।- लिएको हो अन्य जाहेरवालाहरूलाई देखे चिनेको छैन विदेश कोरियामा रोजगारको लागि पठाई दिन्छु भनी मैले रकम लिएको पनि होइन भन्नेसमेत बेहोराको प्रतिवादी रमेश रसाइलीले गरेको थप बयान कागज । 

प्रतिवादी रमेश रसाइलीले मनकुमारी राईसमेतलाई कोरियामा पठाई दिन्छु भनी जाहेरीमा उल्लेख गरेका विभिन्न व्यक्तिहरूको रकम लिएका हुन् मसँग लिएको रकममध्ये रू.६०,०००/- लिन बाँकी छ भन्नेसमेत बेहोराको डम्बर राईको कागज । 

डम्बर राई तथा मनकुमारी राईलाई विदेश कोरियामा रोजगारको लागि पठाई दिन्छु भनी रमेश रसाइलीले मनकुमारी राई तथा डम्बर राईसँग जाहेरीमा उल्लेख भएको रकम लिई विदेश पनि नपठाएको र रकमसमेत फिर्ता नगरेकोले ठगिएको थाहा पाई मनकुमारी राईले जाहेरी दिएकी हुन् भन्नेसमेत बेहोराको ईन्द्रराज श्रेष्ठको कागज ।

म तथा मेरो दिदी छिरिङ डोल्मा शेर्पासमेतलाई रोजगारीको लागि कोरिया पठाई दिन्छु भनी रू.२,००,०००।- लिई गएकोमा विदेश पनि नपठाएको र रकमसमेत फिर्ता नगरेको हुँदा मेरो बुबा कर्पु शेर्पाले जाहेरी दिनु भएको हो भन्नेसमेत बेहोराको लोप्‍साङ टाँसी शेर्पाको कागज ।

तत्काल इण्डम्यान कन्सल्टेन्सी हाल महालक्ष्मी कन्सल्टेन्सी प्रा.लि.रमेश रसाइलीसँग खरिद गरेको हो हाल रमेश रसाइली उक्त प्रा.लि. को कुनै सदस्यसमेत नभएको भन्नेसमेत बेहोराको महालक्ष्मी कन्सल्टेन्सी प्रा.लि.का सञ्‍चालक सैलेश जंग राणा र दिपककुमार न्यौपानेले गरेको कागज ।

मेरो बुबा दिलबहादुर तामाङ, आमा सिरकुमारी भन्ने मइतकुमारी लामाले कुलबहादुर कार्की र रमेश रसाइलीको मेनपावरमा विदेश जाने मानिसहरू सम्पर्कमा ल्याउने, रकम जम्मा गरी कुलबहादुर कार्की तथा रमेश रसाइलीलाई दिने काम गर्नुहुन्थ्यो, सोही क्रममा जाहेरवालाहरूको जाहेरीमा उल्लेख भएको रकम उठाई निज कुलबहादुर कार्की तथा रमेश रसाइलीलाई बुझाइसकेपछि सबुद प्रमाण नष्ट गराउने उद्देश्यले मेरो आमा मइतकुमारी लामा र बाबु दिलबहादुर तामाङलाई बुटवल पठाई हत्या गरेका हुन भन्नेसमेत बेहोराको हरिकुमार तामाङको कागज । 

मेरो दिदी सिरकुमारी भन्ने मइतकुमारी लामा र भिनाजु दिलबहादुर तामाङ कुलबहादुर कार्की र रमेश रसाइलीले सञ्‍चालन गरेको म्यान पावरमा एजेन्टको रूपमा काम गर्दै आएकोमा मलाई पनि रोजगारको लागि कुलबहादुरसमेतले कोरिया पठाई दिन्छन् भनी मसँग रू.४,५०,०००।- लिई दिदी भिनाजुले निजहरूलाई दिएपछि निजहरूले नै मेरो दिदी मइतकुमारी र भिनाजु दिलबहादुर तामाङको रहस्यमय हत्या गरी मेरो रकमसमेत ठगी गरेको हुँदा कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको बालकुमारी तामाङको जाहेरी दरखास्त ।

मैले जाहेरवाली बालकुमारी तामाङसमेतलाई रोजगारको लागि कोरिया पठाई दिन्छु भनी जाहेरीमा उल्लिखित रू.४,५०,०००।- लिएको होइन भनी प्रतिवादी रमेश रसाइलीले गरेको थप बयान कागज ।

जाहेरवाला फुर्वा लामासमेतको जाहेरीमा उल्लेख भएका ठगी गरेको भन्ने मुद्दामा संलग्न भनिएका कुलबहादुर कार्की, सुनिल रसाइलीसमेतको खोजतलास गर्दा फेला नपरेको भन्नेसमेत बेहोराको प्रतिवेदन । 

मिसिल संलग्न रहेका विभिन्न जाहेरी दरखास्तहरू, प्रतिवादी रमेश रसाइलीको बयान कागज र दरखास्तको समर्थनमा कागज गर्ने मानिसहरूले खुलाई दिएको बेहोरा र बुझिएका मानिस हरिकुमार तामाङले लेखाई दिएको कागज बेहोरासमेतबाट प्रतिवादीहरू रमेश रसाइली र कुलबहादुर कार्कीले जाहेरवाला एवं जाहेरी दरखास्तमा उल्लिखित विभिन्न मानिसहरूलाई वैदेशिक रोजगारको लागि कोरिया पठाई रोजगारमा लगाई दिने भनी प्रलोभनमा पारी प्रतिवादी रमेश रसाइली एक्लैले जाहेरवालाहरू निमा डाँगीको रू.३,५०,०००।-, डा.राजु डंगोलबाट रू.७,८०,०००।-, मनकुमार राईबाट रू.२,७०,०००।- प्रेमकाजी गुरूङबाट रू.१,००,०००।- समेत जम्मा रू.१५,००,०००।- रकम जाहेरवालाहरूलाई विदेश कोरियामा रोजगारको लागि पठाइदिने भनी लिई रोजगारमा नपठाई रकमसमेत फिर्ता नदिई ठगी गरी लिए खाएको पुष्टि हुन आएको र जाहेरवालाहरू फुर्वा लामा र पूर्ण तामाङबाट रू.३९,९०,०००।- रूमबहादुर फुन्जाबाट रू.४,५०,०००।-, जंग गुरूङबाट १५,००,०००।-, युवराज लामा छल्टीम लामा र यूवनसाङ लामाबाट रू.१६,५०,०००।-, जितबहादुर थापा र कृष्णबहादुर क्षेत्रीबाट रू.२२,५०,०००।- कर्प शेर्पाबाट रू.२,००,०००।- र बालकुमारी तामाङबाट रू.४,५०,०००।- समेत गरी जम्मा रू.१,०४,९०,०००।- बराबरको रकम प्रतिवादीहरू रमेश रसाइली र कुलबहादुर कार्कीले कोरियामा रोजगारीको लागि पठाई दिन्छु भनी रकम लिई खाई विदेश नपठाई ठगी गरेको पुष्टि हुन आएकोले निज प्रतिवादीहरूको उक्त कार्य मुलुकी ऐन ठगीको महलको १ नं. विपरीत ४ नं. बमोजिमको कसुर अपराध देखिन आएकोले प्रतिवादीहरूलाई सोही महलको ४ नं. बमोजिम सजाय हुन र जाहेरवालाहरूबाट ठगी लिई खाएको बिगो सोही महलको ४ नं. बमोजिम सम्बन्धित प्रतिवादीहरू (रमेश रसाइली र कुलबहादुर कार्की) बाट सम्बन्धित जाहेरवालाहरूलाई दिलाई भराई पाउँ साथै फरार प्रतिवादी कुलबहादुर कार्कीको हकमा सम्मानित अदालतबाटै म्याद जारी गरिपाउँ र प्रतिवादीको पोलमा परेका सुनिल रसाइलीको हकमा विस्तृत अनुसन्धान गरी निजको कसुरमा संलग्नता पुष्टि हुन आएका अवस्थामा सोहीबखत कानूनबमोजिम हुने बेहोरासमेत अनुरोध छ भन्नेसमेत बेहोराको मिति २०६३।१०।५ गतेको अभियोगपत्र ।

मैले २०६१ सालदेखि वैदेशिक रोजगार व्यवसाय सञ्‍चालन गरेको छैन, सोभन्दा अगाडि इण्डम्यान कन्सल्टेन्सी प्रा.लि. नाउँको वैदेशिक रोजगारको काम गर्ने कम्पनी खरिद गरी काम गरेको थिएँ, जाहेरीमा उल्लिखित कुनै पनि व्यक्तिसँग मैले विदेश पठाई दिन्छु भनी पैसा लिएको छैन । मैले कुलबहादुर कार्कीसँग २०५९ सालदेखि नै कारोबार गर्न छाडिसकेको हुँ, मइतकुमारी लामालाई चिन्दछु निजले र मैले कुलबहादुर कार्कीको सत्यवती म्यानपावरमा एजेन्टको काम गरेका थियौं, निज मइतकुमारी लामा र उनको पति दिलबहादुर तामाङको मृत्यु के कसरी भयो मलाई थाहा भएन, जाहेरवाला फुर्वा लामासमेतले मृतक मइतकुमारी लामाले कुलबहादुर कार्कीलाई दिने गरी पैसा बुझेको हो दिनु पर्‍यो भन्दा मैले मलाई थाहा नभएको कुरा भन्न सक्दिन भनेकोले मउपर जाहेरी दिएका हुन्, मैले पैसा लिएर कागज गरेको छैन र पैसा पनि लिएको छैन, मैले अभियोग दाबीबमेाजिम ठगी गरेको छैन भन्नेसमेत बेहोराको प्रतिवादी रमेश रसाइलीले अदालतमा गरेको बयान ।

म जाहेरवालाहरू कसैलाई पनि चिन्दिन, प्रतिवादी रमेश रसाइलीलाई गत ६।७ वर्षदेखि सामान्य रूपमा चिन्दछु, मैले २०५०-५२ सम्म सत्यवती म्यानपावरबाट इजरायल र मलेसिया कामदार पठाउँथे, मैले कोरियाको लागि कामदार पठाउने गरेको छैन, मैले आफ्नो म्यानपावरमा कुनै शाखा र एजेन्ट बनाएको छैन, मइतकुमारी तामाङ र दिलबहादुर तामाङलाई मेरो जिल्लावासी भएकोले सामान्य रूपमा चिनेको मात्र हो, मैले पहिला लुम्बिनी ओभरसिजबाट कामदार दक्षिण कोरिया पठाउने गरेको थिएँ तर पछि सरकारले दक्षिण कोरिया कामदार पठाउन चिट्ठा प्रणाली लागू गरेपछि त्यसमा असहमति थियो र त्यसैले लुम्बिनी ओभरसिजलाई श्रम विभागले रद्द गरेको हो त्यस पछाडि मैले आफ्नै नामबाट सत्यवती म्यानपावर खोली मलेसिया र इजरायल मात्र कामदार पठाउने गरेको छु, त्यसरी कामदार पठाउन राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी आवेदन लिएर अन्तर्वार्ता लिई सिधै कम्पनीबाट पठाउने गरेकाले कुनै एजेन्ट प्रयोग गर्ने गरेको छैन, ममाथि लगाइएको अभियोग दाबी झुट्ठा हो, मैले ठगी नगरेको हुँदा अभियोग दाबीबाट फुर्सद दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी कुलबहादुर कार्कीले अदालतमा गरेको बयान ।

रमेश रसाइलीका विरूद्धमा दिएको जाहेरी दरखास्तको बेहोरा र सोमा परेका सहिछाप मेरै हुन्, मैले मिति २०५८।४।२७ गते काठमाडौंको रातोपुल छेउको चिया पसलमा रू.२,००,०००।- रकम बुझाएको थिएँ, उक्त समयमा त्यस स्थानमा मेरा मामाका छोरा डम्बर राई र इन्द्रराज श्रेष्ठसमेत उपस्थित थिए, डम्बर राईले पनि सोही दिन सोही समय र स्थानमा दक्षिण कोरिया जानकै लागि प्रतिवादी रमेश रसाइलीलाई रू.२,००,०००।- बुझाएका थिए, डम्बरको पैसा पटकपटक फिर्ता गरी हाल रू.७०,०००।- डम्बरले निज प्रतिवादी रमेश रसाइलीबाट लिन बाँकी छ भन्नेसमेत बेहोराको जाहेरवाला मनकुमार राई, डम्बर राईको एकै मिलानको अलगअलग बकपत्र ।

कुलबहादुर कार्कीलाई मैले चिनेको छैन, अर्का प्रतिवादी रमेश रसाइलीले दक्षिण कोरिया लान्छु भनी मनकुमार राईबाट रू.२,००,०००।- रातो पुलमा बिहान १०/११ बजेतिर निलो रंगको पल्सर मोटरसाइकल चढी आई चिया पसलमा बसी चिया खाई लिएका हुन् पैसा दिँदा भरपाई गर्नुपर्छ भनी मनकुमार राईले मलाई लगेका थिए । तर उनीहरूबिच भरपार्इ नगरी पैसा बुझाउने बुझ्ने सम्झौता भएकाले भरपार्इ नगरी पैसा बुझाउने काम भएको हो भन्नेसमेत बेहोराको इन्द्रराज श्रेष्ठको बकपत्र ।

दक्षिण कोरिया पठाउने भनी मइतकुमारी र दिलबहादुर तामाङले रकम लिई रमेश रसाइलीलाई दिएका हुन् । रमेश रसाइलीले भिसासमेत देखाई दक्षिण कोरिया पठाउने भनी आश्वासन दिएका हुन् भन्नेसमेत बेहोराको पीडित रूपबहादुर गुरूङ, कृष्णबहादुर क्षेत्री, तेजबहादुर गुरूङ, रूमबहादुर फुङजा, निमाकुमारी डाँगीको करिब एकै मिलान बेहोराको अलग अलग बकपत्र ।

रमेश रसाइली र कुलबहादुर कार्कीबाट विदेश पठाउने हुनाले हामीले पैसा उनीहरूलाई नै दिन्छौं भन्दा हाम्रा एजेण्ट मइतकुमारी र दिलबहादुर हुन् उनीहरूलाई पैसा बुझाए काम हुन्छ नत्र हुँदैन भनेकाले पैसा मइतकुमारी र दिलबहादुरलाई बुझाएका हौं । जाहेरी दरखास्तको बेहोरा र सहिछाप मेरै हो, पैसा बुझ्ने मइतकुमारी र दिलबहादुरलाई २०६१।११।१२ गते बुटवलको सिन्दुर होटलमा हत्या गरिएपछि रमेश रसाइलीसमेतका मानिस उनीहरूको छोरा बुहारी र बैनी बसेको कोठामा गई दराजको चाबी मागी धम्क्याएको रहेछन्, पछि मृतकको डायरीमा कुलबहादुर कार्कीलाई रू.१,०३,७८,०००।- बुझाएको भन्ने फेला परेकोले जाहेरी दिएको हो भन्नेसमेत बेहोराको बालकुमारी तामाङ, युवराज लामाको अलग अलग एकै मिलानको बकपत्र ।

म आफू जाने व्यक्ति होइन तर रमेशले फोन गरेर पटकपटक मान्छे खोजिदेउ भनेकाले मैले पेश्की स्वरूप रकम लिएर रमेशलाई दिएको हुँ भन्नेसमेत बेहोराको डा.राज डंगोल महर्जनको बकपत्र ।

निमा कुमारीले कलंकीमा गाडीमा आई बा.१ च ५२१८ नं. को सेतो गाडीमा दिएको हो करिब ३ दिनअघि रू.३,५०,०००।- विदेश दक्षिण कोरियामा पठाई दिने भनी दिएको मैले देखेको हुँ भन्नेसमेत बेहोराको गोपाल राईको बकपत्र । रमेश रसाइलीले मेरो बुबा आमासँग विदेश पठाई दिन्छु भनी पैसा उठाउन लगाउँथ्यो । आमाले पैसा उठाएर विदेश पठाउने कार्यका लागि कुलबहादुरलाई बुझाउनु हुन्थ्यो कुलबहादुर कार्कीसँग मेरो बुबा आमाले पहिलेदेखि नै कारोबार गर्नु हुन्थ्यो, मेरो काकालाई पनि यो कारोबार हुनुअगाडि नै विदेश पठाउनु भएको थियो, विदेश जानको लागि पैसा बुझाउने पीडित व्यक्तिहरूले दबाब दिन थालेपछि मेरो बुबा आमालाई रमेश रसाइली र कुलबहादुरले बुटवल जानोस् भनी पठाए, बुबाआमा बुटवल गइसकेपछि भोलिपल्ट २०६१।११।१२ गते मेरो घर बसुन्धारामा आई कोठा तोडफोड गरी कागजपत्र सबै लिएर गए, बस्न नसक्ने अवस्था भएपछि हाम्रो परिवार बुटवल आफ्नै घरमा गयौं, पछि बुबा आमाको खोजतलास गर्दै जाँदा बुटवल इलाका कार्यालयमा फोटो देखाइयो जुन फोटोचाहीँ मेरो बुबा आमाको थियो, बुटवल कालिका नगरमा पोका पारेको लास देखाइएको थियो । २०६१।११।११ गतेसम्म मलाई ठिकै छ भनेर फोन डायरीमा कुलबहादुरलाई १,०३,७८०००।- दिएको भनी लेखिएको थियो, उक्त डायरी इलाका प्रहरी कार्यालय बुटवलमा दिएको हो भन्नेसमेत बेहोराको हरिकुमारको बकपत्र ।

मिति २०६१।११।११ गतेका दिन वैदेशिक रोजगारको सिलसिलामा कोरिया पठाई दिन्छु भनी रू.४,५०,०००।- मृतक दिलबहादुर तामाङ र मइतकुमारी तामाङले पैसा लिई मसमेत गएर माइक्राउन गेष्टहाउसमा कुलबहादुर कार्की र रमेश रसाइलीलाई बुझाएका हौं, मलाई २४ गतेको तपाइँको टिकट तयारी छ भनी भनेका थिए, दिलबहादुर तामाङ र मइतकुमारी तामाङको बुटवलमा हत्या भएपछि कुलबहादुर कार्की र रमेश रसाइलीलाई विदेश कहिले पठाउनु हुन्छ भनी भेट गर्दा उनीहरूले हामीले तपाइँको रकम बुझेको पनि होइन विदेश पठाउन पनि सक्दैनौं भनी भनेकाले अन्यायमा परी ठगी मुद्दा दायर गरेका हौं भन्नेसमेत बेहोराको जाहेरवालामध्येका चेतन लामाको बकपत्र । 

मइतकुमारी तामाङ र दिलबहादुर तामाङलाई पैसा बुझाए हुन्छ भनी कुलबहादुर कार्की र रमेश रसाइलीले भनेकोले मैले उनीहरूलाई पैसा दिएको हुँ, उनीहरूलाई पैसा दिएपछि सो पैसा कुलबहादुर र रमेश रसाइलीले बुझी लिएर गएका हुन, तोकिएको समयमा उनीहरूले विदेश नपठाएपछि हामीले पैसा फिर्ता गर्नु भनी ताकेता गर्न थालेपछि उक्त पैसा नतिर्ने नियत राखी मिति २०६६।११।१२ गते मइतकुमारी तामाङ र दिलबहादुर तामाङलाई बुटवलमा षड्यन्त्र गरी मारेका हुन् र हामीलाई विदेश नपठाई ठगी गरेका हुन भन्नेसमेत बेहोराको जाहेरवाला पूर्ण तामाङ, जङ्ग गुरूङको एकै मिलान अलग अलग बकपत्र । 

मिसिल संलग्न डायरी र सोमा भएको अक्षर र कारोबार मसँग संलग्न होइनन्, डायरीमा कुनै मेरो हस्ताक्षर परेका छैनन् र डायरीमा उल्लिखित व्यक्तिहरू मैले चिन्दिन वैदेशिक रोजगार सञ्‍चालन गर्दा सम्पूर्ण आर्थिक कारोबार एकाउन्टेन्टले गर्दछन्, त्यसमा म्यानेजिङ डाइरेक्टरको कुनै संलग्न हुँदैन भनी प्रतिवादी कुलबहादुर कार्कीले गरेको सनाखत बयान । 

मिसिल संलग्न प्रमाणबाट प्रतिवादीहरू कुलबहादुर कार्की र रमेश रसाइलीले जाहेरवालाहरू जङ्ग गुरूङ, पूर्ण तामाङ, चेतन लामा, निमा डाँगी, राजु डंगोल युवराज लामा, बालकुमारी तामाङ, रूमबहादुर फुङजा, तेजबहादुर गुरूङ, फुर्वा लामा, रूपबहादुर गुरूङबाट विदेश पठाउन भनी रकम लिई विदेश नपठाई जाहेरवाला पूर्ण तामाङबाट ५,५०,०००।-, जङ्ग गुरूङबाट रू.५,००,०००।- चेतन लामाबाट रू.४,५०,०००।-, कर्पु शेर्पाबाट रू.२,००,०००।-, युवराज लामाबाट रू.५,५०,००० बालकुमारी तामाङबाट रू.४,५०,०००।-, रूमबहादुर फुङजाबाट रू.४,५०,०००।-, तेजबहादुर गुरूङबाट रू.५,००,०००।-, कृष्णबहादुर क्षेत्रीबाट रू.४,५०,०००।-, फुर्वा लामाबाट रू.१,५०,०००।- रूमबहादुर गुरूङबाट रू.५,००,०००।- ठगी गरी मुलुकी ऐन ठगीको महलको १ नं. बमोजिम कसुर गरेको देखिँदा उपर्युक्त जाहेरवालाको जाहेरीमा उल्लिखित रकम प्रतिवादी कुलबहादुर कार्की र रमेश रसाइलीबाट दामासाहीले भराई दिने ठहर्छ । प्रतिवादी रमेश रसाइलीले जाहेरवालाहरू निमाकुमारी डाँगी, राजु डंगोल प्रेमकाजी गुरूङ, मनकुमारी राईबाट विदेश पठाई दिने भनी निमाकुमारी डाँगीबाट रू.३,५०,०००।-, राजु डंगोल रू.७,८०,०००।- मनकुमार राईबाट रू.२,७०,०००।- प्रेमकाजी गुरूङबाट रू.१,००,०००।- लिई विदेश नपठाई ठगी गरी मुलुकी ऐन ठगीको महलको १ नं. बमोजिम कसुर गरेको देखिँदा सोही महलको ४ नं. बमोजिम प्रतिवादी रमेश रसाइलीबाट जाहेरीमा उल्लेख भएको रकम जाहेरवाला निमा डाँगी, राजु डंगोल, प्रेमकाजी गुरूङ, मनकुमार राईलाई भराई दिने ठहर्छ र प्रतिवादी कुलबहादुर कार्कीलाई निजले ठगी गरेको ठहरेको मोल बिगो रू.२३,७५,०००।- जरिवाना र १ महिना कैद हुने ठहर्छ र प्रतिवादी रमेश रसाइलीलाई निजले ठगी गरेको ठहरेको रू.३८,७५,०००।- जरिवाना र ६ महिना कैद हुने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतबाट मिति २०६६।९।६ मा भएको फैसला ।

उपर्युक्त मुद्दामा मुलुकी ऐन ठगीको महलको १ नं. र ४ नं. बमोजिम मागदाबीसहित ठगीको महलअन्तर्गत अभियोगपत्र प्रस्तुत भएको छ, वैदेशिक रोजगार सम्बन्धमा व्यवस्था गर्न बनेको छुट्टै वैदेशिक रोजगार ऐन, २०४२ लागू भई क्रियाशील रहेको अवस्थामा वैदेशिक रोजगारसम्बन्धी भए गरेको भनिएको कसुरमा मुलुकी ऐन ठगीको महलअन्तर्गत जाहेरी लिन, अनुसन्धान गर्न र मुद्दा चलाउन मिल्दैन, अभियोजनपक्षले मेरा विरूद्ध वादी दाबी पुष्टि हुने कुनै पनि ठोस प्रमाण प्रस्तुत गर्न सकेको छैन, कुनै जाहेरवाला वा पीडित भनिएका व्यक्ति वा अन्य प्रतिवादी वा पेटबोलीमा रहेका अन्य कसैलाई मैले कुनै कागज लिखत गरिदिएको, कसैबाट मेरो वा मेरो कुनै कम्पनीको तर्फबाट एजेन्ट नियुक्त गरिदिएको अवस्था कुनै प्रमाणबाट देखिँदैन, आरोपित कसुरमा मेरो संलग्नता देखाउने स्वतन्त्र प्रमाणको अभाव रहेको अवस्थामा जाहेरवाला र पीडित भनिएका व्यक्तिहरूले अदालतमा गरेको बकपत्रबाट बेहोरा समर्थित भएको भनी फैसलामा कसुर कायम गरेको मिलेको छैन । जिल्ला अदालतबाट मलाई कसुरदार ठहर गरी गरेको फैसला त्रुटिपूर्ण र कानूनविपरीत रहेको हुँदा उक्त फैसला उल्टी गरी सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी कुलबहादुर कार्कीले तत्कालीन पुनरावेदन अदालत पाटनमा  दिएको पुनरावेदन पत्र ।

प्रतिवादीहरू कुलबहादुर कार्की र रमेश रसाइलीले सत्यवती ओभरसिज तथा इन्डमान कन्सल्टेन्सीको नाममा कोरिया पठाउने अनुमति प्राप्त पहिले अस्तित्वमा रहेको लुम्बिनी ओभरसिजसमेतको विश्‍वास देखाई आफूहरूले यस सम्बन्धमा विश्‍वास दिलाउने र षड्यन्त्रपूर्वक मारिएका दिलबहादुर तथा मइतकुमारी भन्ने शीर कुमारीलाई अगाडि सारी तिनैका हातबाट पीडितहरूको रकम लिई ठगी गरेको मिसिलबाट देखिन्छ । मृतकहरू र यी प्रत्यर्थीहरूको समूह सामूहिक रूपमा ठगी कार्यमा संलग्न रहेको भन्ने जाहेरी, बरामद डायरी, भरपाइ, पीडित तथा बुझिएका मानिसको कागजसमेतबाट देखिन्छ, यिनै प्रतिवादीहरूको प्रतिनिधि बनेका दिलबहादुरसमेतलाई पीडित जाहेरवालाहरूबाट उपर्युक्त रकम लिइसकेपछि कर्तव्य गरी मारी ठगी गरी लिएको रकम पचाउने नियत राखेको देखिन्छ जुन कुरा मृतकका छोरा हरिकुमार तामाङ र प्रत्यक्ष देख्‍ने बालकुमारी तामाङसमेतको कागजबाट पनि पुष्टि भइरहेको अवस्था छ, सुरू अदालतबाट केबल हचुवाका भरमा ठगी जस्तो पूर्वतयारी एवं प्रपञ्चपूर्ण रूपले गरिने कसुरमा जाहेरवालाहरूको जाहेरीमा उल्लिखित रकम ठगी भएको तथ्य मिसिल संलग्न प्रमाणद्वारा समर्थित भइरहेको अवस्थामा निज जाहेरवालाहरूको सम्पूर्ण बिगो रू.१,०४,९०,०००।– र रमेश रसाइलीले मात्र लिएको बिगो रू.१५,०००००।– समेत जम्मा बिगो १,१९,९०,०००।- नै ठगी गरेको ठहर गर्नुपर्नेमा सो नगरी केबल रू. ४७,५०,०००।- मात्र ठहर हुने गरी सो बिगो दुईजनालाई दामासाहीले बाँडी त्यसैबमोजिम जरिवाना हुने गरी भएको फैसला प्रमाण कानून एवं न्यायको रोहमा समेत त्रुटिपूर्ण भई बदरभागी हुँदा अभियोगपत्र माग दाबीबमोजिमको रू.१,१९,९०,०००। - ठगी गरेको ठहर गरी सम्बन्धित पीडितहरूलाई निजहरूको ठगी भएको तत् तत् रकम निजहरूबाटै भराई दिई कूल बिगोबमोजिम नै जरिवाना गरी कानूनबमोजिम सजायसमेत गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट तत्कालीन पुनरावेदन अदालत पाटनमा दिएको पुनरावेदनपत्र । 

कोरिया पठाउने दिलबहादुर तामाङ र मइतकुमारी तामाङ दुईजना एजेण्ट हुन्, निजहरूलाई रूपैयाँ दिए हुन्छ भनी कुलबहादुरले मलाई भनेकाले मैले २०६१।९।१५ गते रू.४,५०,०००।- दुवै जना भएको बेला नगदै दिई १८ गते रू.३,००,०००।- को भरपाई दिलबहादुर तामाङका नाउँबाट बनाएको हो, बाँकी रू.१,५०,०००।- को भरपाई पछि बनाई दिने भनी भनेका थिए, मलाई कोरिया पठाई दिन्छु भनेर रूपैयाँ मात्र लगेर कोरिया नपठाई मलाई ठगी गरेका हुन्, उक्त रकम रू.४,५०,०००।- र सोको क्षतिपूर्तिसमेत मैले पाउनु पर्ने हो भन्नेसमेत बेहोराको जाहेरवाला पहल सिं रानाले निवेदन माग गरेबमोजिम अदालतको आदेशले मिति २०६८।२।१९ मा तत्कालीन पुनरावेदन अदालत पाटनमा गरेको बकपत्र ।

मृतक दिलबहादुर र मइतकुमारी तामाङले पुनरावेदक प्रतिवादी कुलबहादुर कार्कीसमेतको सहयोगीको रूपमा काम गरेको र निजहरूमार्फत प्रतिवादीले जाहेरवालालाई विदेश कोरियामा रोजगारीमा पठाउने भनी झुक्याई धोका दिई गफलतमा पारी रकम लिई ठगी गरेको भन्ने अभियोग दाबी जाहेरवालाहरूको किटानी बकपत्र र मृतक दिलबहादुर तथा मइतकुमारी तामाङको छोरा हरिकुमारको बकपत्र तथा मिसिल संलग्न रहेको डायरीको बेहोरासमेतबाट प्रमाणित भइरहेकोले पुनरावेदक प्रतिवादी कुलबहादुर कार्कीसमेतले जाहेरवालाहरूको जम्मा रू.५०,५०,०००।- बराबरको रकम ठगी गरेको 

ठहर्छ । जाहेरवालाहरूले जम्मा रकम रू.४७,५०,०००।– पाउने ठहर गरेको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६६।९।६ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी हुन्छ । सोबाहेक प्रतिवादीहरूलाई रकम बुझाएका व्यक्तिहरू भनी जाहेरी दरखास्तमा उल्लेख भएका अन्य व्यक्तिहरू अदालतमा उपस्थित भई आफूहरूले प्रतिवादीहरूलाई यो यति रकम बुझाएको हो भनी भन्‍न नसकेको अवस्थामा त्यसरी अनुपस्थित रहेका व्यक्तिहरूले रकम बुझाएका रहेछन् भन्‍न र त्यस्तो रकमलाई ठगीको बिगोमा समावेश गर्न मिल्ने देखिएन । सो हदसम्म वादी पक्षको पुनरावेदन जिकिर र पुनरावेदक प्रतिवादी कुलबहादुर कार्कीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०६८।४।९ मा भएको फैसला ।

प्रतिवादीहरू रमेश रसाइली र कुलबहादुर कार्कीले संयुक्त रूपमा मइतकुमारी र दिलबहादुरमार्फत रकम उठाई जाहेरीमा उल्लिखित सबै व्यक्तिहरूलाई कोरिया पठाइदिने प्रलोभनमा पारी विश्‍वास दिलाई एकमुष्ट रू. १,१९,९०,०००।– उठाई लिनु खानु गरी कोरिया नपठाई ठगी गरेको तथ्य मिसिल प्रमाणहरूबाट पुष्टि प्रमाणित भइरहेको अवस्थामा प्रतिवादीहरूलाई दाबीको सम्पूर्ण बिगो रू.१,१९,९०,०००।– नै ठगी गरेमा सजाय गरी ठगी गरेको सम्पूर्ण बिगो पीडितहरूलाई भराई दिनु पर्नेमा सो नगरी बिगो रू.५०,५०,०००।– मात्र प्रतिवादीहरूले ठगी गरेको ठहर गरी सो बिगो दुईजना प्रतिवादीहरूलाई बाँडी त्यसैबमोजिम जरिवाना हुने गरी तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको फैसला प्रमाण, कानून एवं न्यायको रोहमा समेत त्रुटिपूर्ण भएकोले बदर गरी अभियोग दाबीबमोजिम १,१९,९०,०००।– बिगो ठगी गरेको ठहर गरी सम्बन्धित पीडितहरूलाई ठगी गरेको तत्‌तत् बिगो प्रतिवादीहरूबाट भराई दिई ठगीको कूल बिगोबमोजिम नै प्रतिवादीहरूलाई सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।

मृतक मइतकुमारी तामाङ र दिलबहादुर तामाङलाई मेरो जिल्लावासी भएको कारणले सामान्यरूपमा चिन्दछु । हामीबिचमा कुनै Principal, Agent को सम्बन्ध रहेको छैन । नेपाल कानूनबमोजिम कुनै व्यक्तिलाई एजेन्टको रूपमा नियुक्त गर्न करार ऐन, २०५६ को व्यवस्थाबमोजिम करार गर्नुपर्छ, निजहरूलाई कुनै लिखत र करारद्वारा प्रतिनिधि वा एजेन्ट नियुक्त गरेको भन्‍ने कुनै प्रमाण छैन । निजहरूसँग मेरो संलग्नता नरहेको कुराको मूल्याङ्कन नगरी मलाई सजाय सुनाइएको छ । मृतकका छोरा हरिकुमार तामाङले प्रहरीसमक्ष गरेको कागज र बकपत्रलाई मुख्य आधार लिएर मेरो विरूद्ध फैसला भएको छ । हरिकुमार तामाङले आफ्नो बकपत्रमा २०६१।११।११ गतेसम्म मलाई ठिकै छ भनेर फोन डायरीमा कुलबहादुरलाई रू.१,०३,७८,०००।– बुझाएको भन्‍ने बेहोरामा यो यसकै हस्ताक्षरित वा नियमित राखिएको खाता बही हो भन्‍ने खुलेको छैन । उक्त कथित डायरी कसको हो ? कसले लेखेको हो ? कहिले लेखिएको हो ? लेखिएका कुरा सिलसिलेवार छन् छैनन् त्यसमा लेखिएका कुरा प्रस्तुत विवादमा देखाइएका लिखत जाहेरी बेहोरासँग भिड्छन् भिड्दैनन् ? त्यसतर्फ फैसला गर्दा ध्यान दिइएको छैन । जाहेरवालाहरूले वैदेशिक रोजगारका लागि मलाई नै रकम दिएको भन्‍न सकेको अवस्था पनि छैन । वैदेशिक रोजगारीका लागि रकम दिएको भनी जाहेरी दरखास्त परेपछि सोही ऐनबमोजिम मुद्दा चलाउनु पर्नेमा मुलुकी ऐन, ठगी महलअन्तर्गत मुद्दा चलाई मलाई सजाय गरिएको छ जुन सरासर कानूनको प्रयोग र व्याख्यात्मक त्रुटि छ । तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला ने.का.प.२०५६, नि.नं.६८१८, पृष्ठ ७२६ मा स्थापित नजिरसमेतको प्रतिकूल भई न्यायका मान्य सिद्धान्त र प्रमाण कानूनका सिद्धान्त एवं तथ्यगत त्रुटि भएकोले उक्त फैसला बदर उल्टी गरी न्याय पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी कुलबहादुर कार्कीको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।

यसमा पुनरावेदन अदालत पाटनको फैसलाउपर प्रतिवादी कुलबहादुर कार्की र वादी नेपाल सरकारको तर्फबाट समेत पुनरावेदन परेको देखिँदा मुलुकी ऐन अ.बं.२०२ नं. को प्रयोजनार्थ सो पुनरावेदन एक अर्कालाई जानकारी गराई नियमानुसार गरी पेस गर्नु भन्‍ने यस अदालतको मिति २०७४।०५।१९ को आदेश ।

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री महेशप्रसाद खत्रीले जाहेरवाला फुर्वा लामा, पूर्ण तामाङको जाहेरी दरखास्तमा र युवराज लामा र घुल्टिन लामासमेतको जाहेरी दरखास्तमा आफ्नो र आफ्ना साथीहरूको नाम र निजहरूले बुझाएको रकम किटान गरी प्रतिवादीहरू र निजहरूको एजेन्ट मइतकुमारी र निजको पति दिलबहादुर तामाङलाई दिएको भनी स्पष्ट बेहोरा उल्लेख गर्नु भएको छ । प्रतिवादीहरूको एजेन्टको रूपमा काम गर्ने दिलबहादुर र मइतकुमारीको बुटवलमा विभत्स हत्या गरिएको छ, यिनै दिलबहादुरको डायरीबाट जाहेरवालाबाट संकलन गरेको रकम प्रतिवादी कुलबहादुरको लागि संकलन गरेको भन्‍ने देखिएको छ । मृतक दिलबहादुरको छोरा हरिकुमार तामाङले अदालतमा बकपत्र गर्दा डायरी कसरी फेला परेको हो यथार्थ अवस्था बताएका छन् सो डायरी प्रतिवादी विरूद्ध प्रमाणग्राह्य छ । पीडित जाहेरवालाहरूले अदालतमा उपस्थित भई प्रतिवादीहरूले आफूहरूलाई कोरिया पठाई दिने भनी रकम लिई ठगी गरेका हुन् भनी किटानी बकपत्र गरेका छन् । अभियोग ठहर गरेर पनि जाहेरीमा उल्लिखित व्यक्तिहरूको जम्मा बिगो रू.१,१९,९०,०००।– कायम गरी अभियोजन गरिएकोमा रू.५०,५०,०००।– मात्र बिगो कायम गरी भएको तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला प्रमाण कानून एवं न्यायको रोहमा त्रुटिपूर्ण भएकोले उक्त फैसला बदर उल्टी गरी अभियोग दाबीबमोजिम बिगो भराई बिगोबमोजिम प्रतिवादीहरूलाई सजाय हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

पुनरावेदक प्रतिवादी कुलबहादुर कार्कीबाट रहनु भएका विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री कृष्ण सापकोटाले आफ्ना पक्षलाई जाहेरवाला तथा जाहेरी दरखास्तमा उल्लिखित व्यक्तिहरूले रकम दिएको प्रमाणबाट पुष्टि हुन सकेको छैन । वैदेशिक रोजगारका लागि रकम दिइएको भनी जाहेरी परेपछि वैदेशिक रोजगार ऐनबमोजिम मुद्दा चलाउनु पर्नेमा मुलुकी ऐन ठगीको महलबमोजिम मुद्दा चलाइएको छ, ठगीको १ नं.को परिभाषाभित्र नै नपर्ने वैदेशिक रोजगारको विषयलाई मुलुकी ऐन ठगीको १ नं.को परिभाषा गरी ठगीको कसुर कायम गरी आफ्ना पक्षलाई सजाय गरिएको छ जुन प्रथमदृष्टिमा नै खारेजभागी छ । यिनै जाहेरवालाहरूले यसै विषयमा वैदेशिक रोजगार ऐनअन्तर्गत कारबाही गरिपाउँ भनी दिनु भएको उजुरीमा पुनरावेदक कुलबहादुर कार्कीको नाम उल्लेख गरी निजले नै आफ्नो रकम लगेको भन्‍न सक्नु भएको छैन । एउटै विषयमा दुईवटा कानूनअन्तर्गतको कसुर कायम गरी सजाय हुन सक्दैन । भरपाई गरी दिने व्यक्ति पुनरावेदक कुलबहादुर होइनन् । दिलबहादुर र मइतकुमारीले भरपाई गरिदिएको भनिएको छ निजहरू कुलबहादुरका एजेन्ट होइनन एजेन्ट नै नभएको व्यक्तिले गरेको भरपाई आफ्ना पक्षको विरूद्धमा प्रमाण लाग्ने होइन । मृतकका छोराले पेस गरेको डायरीलाई प्रमाणमा लिइएको छ, कथित डायरीमा मितिअनुसारको क्रमिक रूपमा बेहोरा नलेखिएकोले पनि त्यो डायरी प्रमाणग्राह्य छैन । तसर्थ आफ्ना पक्ष पुनरावेदकलाई कसुर कायम गरी सजाय गरेको तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला मिलेको छैन बदर हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

विद्वान्‌ उपन्यायाधिवक्ता तथा विद्वान्‌ वरिष्ठ अधिवक्ताहरूको बहस सुनी सुरू, रेकर्ड र पुनरावेदन पत्रसमेतका मिसिल संलग्न सबुद प्रमाणहरू अध्ययन गरी हेर्दा, प्रस्तुत मुद्दामा मुख्य रूपमा सुरू काठमाडौं जिल्ला अदालतको फैसला केही उल्टी गरी तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन ? वादी नेपाल सरकार र प्रतिवादी कुलबहादुर कार्कीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ? भन्‍ने प्रश्‍नमा व्याख्या र विश्‍लेषण गरी निर्णय दिनुपर्ने देखिन आयो । 

यसमा वादी नेपाल सरकारको तर्फबाट पेस भएको पुनरावेदनपत्रमा रू.१,१९,९०,०००।- बिगोको स्पष्ट विवरणसहित अभियोग माग दाबी लिएकोमा जम्मा रू.५०,५०,०००।– बिगो कायम गरी तत्कालीन पुनरावेदन अदालत पाटनबाट कसुर ठहर गरी भएको फैसला मिलेन भन्‍ने पुनरावेदन जिकिर रहेको पाइन्छ भने पुनरावेदक कुलबहादुर कार्कीले पेस गर्नुभएको पुनरावेदनपत्रमा वैदेशिक रोजगारीसम्बन्धी कसुरमा मुलुकी ऐन ठगीको महलअन्तर्गत मुद्दा चल्न सक्छ ? सक्दैन भन्‍ने प्रश्‍नमा विवेचना भएन, कसुरमा मेरो संलग्नता देखाउने स्वतन्त्र प्रमाणको अभाव छ, जाहेरवालाहरूले श्रम विभागमा दिएको उजुरीमा मेरो संलग्नता रहेको भनी उल्लेख गरेका छैनन् । दिलबहादुर र मइतकुमारी मेरो एजेन्ट होइनन् । हरि कुमार गुरूङले कागज गर्दा खुलाएको बेहोरा पुष्टि गर्ने कुनै आधार छैन, यस्तो अवस्थामा मलाई कसुरदार ठहर गरी सजाय गरेको तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण छ बदर गरी न्याय पाउँ भनी पुनरावेदन जिकिर लिनु भएको देखिन्छ ।

प्रतिवादीमध्ये रमेश रसाइलीको पुनरावेदन नपरेको र यस अदालतबाट जारी भएको म्यादभित्र हाजिर नभई म्याद गुजारी बसेको देखिँदा निजको हकमा यसमा केही विवेचना गर्नुपर्ने अवस्था रहेन ।

२. सर्वप्रथम पुनरावेदक नेपाल सरकारको पुनरावेदन जिकिरका सम्बन्धमा निर्णयतर्फ विचार गर्दा, जम्मा रू.१,१९,९०,०००।– ठगी गरेको भनी अभियोगपत्र दायर भएकोमा पुनरावेदन तहबाट रू.५०,५०,०००।- मात्र बिगो ठहर गरेको मिलेन भन्‍ने जिकिर लिएको देखिन्छ । जाहेरवालाहरू फुर्वा लामा, पूर्ण तामाङ, निमा कुमारी डाँगी, रूपबहादुर फुञ्‍जा थापा, जंगु गुरूङ, युवराज लामा, घुल्टिन लामा, युवनसाङ लामा, डा. राजु डंगोल, लोप्चन तामाङ, कर्पु शेर्पा, जितबहादुर थापा र कृष्णबहादुर क्षेत्रीसमेतले जाहेरी दरखास्त दिएको देखिन्छ । निज जाहेरवालाहरूले दिनु भएको जाहेरी दरखास्तमा प्रतिवादीहरूलाई आफू र आफ्ना नाता सम्बन्धका तथा साथीभाइसमेतको गरी विभिन्‍न रकम बुझाएको भन्‍ने बेहोरा उल्लेख गर्नुभएको छ । जाहेरीमा उल्लिखित सोही रकमलाई जम्मा गरी अभियोजन पक्षले उपर्युक्त बिगो निर्धारण गरेको अवस्था छ । सुरू अदालतबाट जम्मा बिगो रू.४७,५०,०००।– कायम गरी जाहेरवालाहरूले पाउने र सोबमोजिम प्रतिवादीहरूलाई मुलुकी ऐन ठगीको महलअन्तर्गत सजाय हुने फैसला गरेकोमा तत्कालीन पुनरावेदन अदालत पाटनबाट उक्त फैसला केही उल्टी गरी जाहेरवालाबाहेकका जितबहादुर र कृष्णबहादुर क्षेत्रीको संयुक्त जाहेरी दरखास्तमा उल्लिखित पहल सिं रानाले अदालतमा उपस्थित भई आफूले प्रतिवादीहरूको एजेन्ट दिलबहादुर र शिरकुमारीलाई रू.४,५०,०००।– बुझाउनु पर्ने रकममध्ये रू.३,००,०००।- बुझाएको र बाँकी रू.१,५०,०००।– पछि बुझाउने गरी एजेन्ट दिलबहादुरले भरपाई गरिदिएको भनी बकपत्र गरेकोसमेतका आधारमा भरपाई गरी दिएको रू.३,००,०००।– समेत जोडी जम्मा रू.५०,५०,०००।– बिगो कायम गरी जाहेरवालाहरूले उक्त बिगो भरी पाउने र प्रतिवादीहरूलाई सोही बिगोबमोजिम सजाय हुने ठहर्‍याई फैसला गरेको पाइन्छ । सोबाहेक प्रतिवादीहरूलाई रकम बुझाएका व्यक्तिहरू भनी जाहेरी दरखास्तमा उल्लेख भएका अन्य व्यक्तिहरू अदालतमा उपस्थित भई आफूहरूले प्रतिवादीहरूलाई यो यति रकम बुझाएको हो भनी भन्‍न नसकेको र आफ्नोसमेत रकम ठगी गरेको भनी निजहरू अदालतमा उपस्थत नै नभएपछि निजहरूको समेत बिगो कायम गर्नुपर्ने भन्‍न मिल्दैन । यसका अतिरिक्त निजहरू स्वयम्‌ले जाहेरी दरखास्त पनि नदिएको र त्यसरी अनुपस्थित रहने व्यक्तिहरूबाट पनि यी पुनरावेदक प्रतिवादीसमेतले रकम बुझी लिएका रहेछन् भन्‍न र त्यस्तो रकमसमेतलाई ठगीको बिगोमा समावेश गरी सजाय गर्न न्यायको रोहमा मिल्ने देखिएन ।

३. यस सम्बन्धमा देवीप्रसाद केदेमको  जाहेरीले वादी नेपाल सरकार विरूद्ध सोनिकला तामाङसमेत भएको ०७१-CR-०६१९ को वैदेशिक रोजगार कसुर मुद्दामा “वास्तविक रूपमा जाहेरीअनुसार वैदेशिक रोजगारीमा लगाई दिनको लागि रकम दिएको भए आफूमाथि भएको अन्यायको सम्बन्धमा अदालतमा उपस्थित भई सो कुरालाई पुष्टि गराउनु पर्नेमा निज जाहेरवाला बकपत्रको लागि नै उपस्थित हुन आएको देखिएन । प्रमाण ऐन, २०३१ को दफा २५ ले प्रतिवादीउपरको अभियोग प्रमाणित गर्ने भार वादीउपर रहेकोमा वादीले आफ्नो दाबी प्रमाणित गर्न सकेको देखिएन” । भनी यस अदालतको संयुक्त इजलासबाट मिति २०७३।११।११ मा फैसला भएको देखिन्छ । उक्त फैसलामा अभियोग प्रमाणित गराउने भार वादीको हुने र जाहेरवालासमेतका मौकामा बुझिएका मानिसहरूलाई अदालतमा उपस्थित गराई मौकाको कागज र जाहेरी दरखास्तलाई खम्बिर गराउन पर्ने भनी प्रमाण ऐन, २०३१ को दफा २५ मा रहेको व्यवस्थालाई आत्मसात् गरेको पाइन्छ । तसर्थ अभियोगपत्रमा उल्लेख भएअनुसारको बिगो कायम हुनुपर्ने भन्‍ने वादी पक्षको पुनरावेदन जिकिर सो हदसम्म पुग्न सक्ने देखिएन ।

४. अब पुनरावेदक प्रतिवादी कुलबहादुर कार्कीको पुनरावेदन जिकिरतर्फ विचार गर्दा, प्रस्तुत मुद्दामा सर्वप्रथम यी पुनरावेदक प्रतिवादीले जाहेरवालाहरूलाई ठगी गरेका हुन् कि होइनन् भन्‍नेतर्फ हेर्नु पर्ने हुन आयो । पुनरावेदकउपर मुलुकी ऐन ठगीको १ नं. विपरीत कसुरमा सोही महलको ४ बमोजिमको सजायको माग दाबी लिई अभियोगपत्र दायर हुन आएको देखिन्छ । जाहेरवालाको किटानी जाहेरी दरखास्त तथा त्यसलाई समर्थन गर्दै गरेको बकपत्र, मृतक दिलबहादुर र मइतकुमारीको छोरा हरिकुमार तामाङले अनुसन्धान अधिकारीसमक्ष गरेको कागज र त्यसलाई समर्थन गर्दै अदालतमा गरेको बकपत्र, निज हरिकुमार तामाङले दाखेल गरेको मृतक दिलबहादुरको डायरीमा उल्लिखित विवरणसमेतबाट जाहेरवालाहरूबाट रकम बुझेर लिएपश्‍चात् बुटवलमा रहस्यमय तरिकाले हत्या गरिएका दिलबहादुर र मइतकुमारी तामाङले पुनरावेदक प्रतिवादी कुलबहादुर कार्कीले रोजगारीको लागि मानिस कोरिया पठाउने भनी जाहेरवालाहरूलगायत विभिन्‍न मानिसहरूको रकम बुझी लिनेसमेतको कार्य गर्दै आएको भन्‍ने देखिन आएको छ । मुलुकी ऐन ठगीको १ नं.मा “कसैले आफ्नो हक नपुग्ने अर्काको हकको चल अचल धनमाल हक पुग्नेलाई वा जसका जिम्मामा रहेको छ उसलाई ललाई फकाई वा जाल परिपञ्‍च गरी वा आफ्नो हक नभएको सम्पत्तिमा आफ्नो हक पुग्ने किर्ते कागज बनाई दिई वा पेस गरी वा आफूसँग नभएको कुरा आफूसँग छ भनी झुक्याई वा झुठो कुरालाई सद्दे हो भनी झुक्याई वा अरू जुनसुकै बेहोरासँग धोका दिई गफलतमा पारी आफ्नो हक नपुग्ने अर्काको हकको चल अचल धनमाल लिए दिए दिलाएमा वा अर्काको माल मेरो हो भनी वा मेरो भएको छ भनी लिखत गरी वा नगरी सोही माल लिए दिए बिक्री व्यवहार गरेमा वा सट्टापट्टा गरी लिएमा ठगी गरेको ठहर्छ ।” भनी ठगीको परिभाषा गरेको पाइन्छ । यसमा यी पुनरावेदक कुलबहादुर कार्कीसमेतले वैदेशिक रोजगारीका लागि कोरिया देशमा जानका लागि ४८० जना सरकारी कोटा आएको छ उक्त सरकारी कोटामा आफूहरूले रिप्लेस गरेकोले बढी पैसा दिनु पर्ने भएको हो भन्दै जाहेरवालासमेतलाई आफू चढ्ने गाडीमा राखी कागज देखाए जस्तो गरी झुट्ठा आश्‍वासन दिई रकम असुलेको र रकम असुलेपछि सम्पर्कमा नै नआएकोले आफूहरूलाई ठगी गरेको हो भन्‍ने जाहेरी दरखास्तलाई पीडितसमेतका मानिसहरू अदालतमा आई बकपत्र गरी पुष्टि गराएको देखिन्छ । जाहेरवालाहरूको उक्त बेहोरालाई यी पुनरावेदकसमेतले अन्यथा प्रमाणित गराउन सकेको नदेखिँदा झुट्ठो कुरालाई सद्दे हो भनी धोका दिई गफलतमा पारेको भन्‍ने स्पष्टरूपमा देखिएकोले पुनरावेदक कुलबहादुर कार्कीसमेतले मुलुकी ऐन ठगीको १ नं. बमोजिमको कसुर गरेकोमा विवाद रहेन ।

५. यी पुनरावेदक प्रतिवादीले पुनरावेदनपत्रमा दिलबहादुर र मइतकुमारी आफ्नो पक्षमा काम गर्ने आफूले लगाएको एजेन्ट होइनन् भनी जिकिर लिनु भएकोले त्यसतर्फ हेर्दा, हिराकुमार श्रेष्ठ, डिल्लीराम अधिकारी, लाक्पा सेर्पासमेत ३६ जनाले २०६१।११।२४ गते श्रम तथा रोजगार प्रवर्द्धन विभागमा दर्ता गराउनु भएको उजुरी निवेदनमा दिलबहादुर तामाङ र निजको श्रीमती मइतकुमारी भन्‍ने शिरकुमारी तामाङले लुम्बिनी ओभरसिजको सञ्‍चालक कुलबहादुर कार्कीसँग हाम्रो सल्लाह भएको छ, उक्त ओभरसिजमार्फत कोरिया पठाउन गोरखापत्रमा नामावली प्रकाशित गरेको व्यक्तिलाई तोकिएको दर रेटमा कोरिया पठाउँदा लुम्बिनी ओभरसिजलाई नोक्सान पर्ने भएकोले उनीहरूका ठाउँमा गोप्यरूपमा नयाँ व्यक्तिहरूलाई रिप्लेस गरी बढी पैसा लिई पठाउने हो, ३ लाखदेखि ६ लाख रूपैयाँसम्म लाग्छ, रमेश रसाइलीसमेतले सबै मिलाउनु हुन्छ भनेकोले निजहरूको रोहबरमा रकम बुझायौं भन्नेसमेत बेहोरा उल्लेख भएको पाइन्छ । जाहेरवालाहरू फुर्वा लामा, पूर्ण तामाङ, रूमबहादुर फुञ्‍जा थापा, बालकुमारी तामाङ, जंग गुरूङ, युवराज लामा, चेतन लामा, कर्पु शेर्पा, कृष्णबहादुर क्षेत्री तथा पीडितमध्येकै रूपबहादुर गुरूङ र तेजबहादुर गुरूङले अदालतमा उपस्थित भई यी पुनरावेदक प्रतिवादी कुलबहादुर कार्कीसमेतले बताएअनुसार उनका सहयोगी दिलबहादुर र मइतकुमारीलाई रकम बुझाएको भनी किटानीसाथ बकपत्र गरेको देखिन्छ । पीडितमध्येकै पहल सिं रानाले तत्कालीन पुनरावेदन अदालत पाटनमा उपस्थित भई कुलबहादुरले भनेअनुसार उनका एजेन्ट दिलबहादुर र मइतकुमारीलाई रकम बुझाएको हो भनी स्पष्टसाथ बकपत्र गरेको अवस्था छ । पीडितमध्येकी बालकुमारी तामाङ मइतकुमारीको बहिनी भएको भन्‍ने बकपत्रसमेतबाट खुलेको अवस्था छ । दिदी मइतकुमारीले प्रतिवादी कुलबहादुरको सहयोगीको रूपमा काम गर्दै आएको अवस्थामा आफूले पनि वैदेशिक रोजगारीका लागि रू.४,५०,०००।– बुझाएको हुँ । दिदी भिनाजुको रहस्यमय हत्या प्रतिवादीहरूले गरेका हुन् भन्‍ने निजको बेहोरालाई प्रतिवादीले अन्यथा प्रमाणित गर्न सकेका छैनन् भने मृत्यु भइसकेकी आफ्नै दिदीलाई बहिनीले झुट्ठा दोषारोपण गर्नुपर्ने कारणसमेत केही देखिएको छैन ।

६. यसैगरी दिलबहादुर तामाङ र मइतकुमारी तामाङका छोरा हरिकुमार तामाङले अनुसन्धान अधिकारीसमक्ष आफ्ना आमा बाबुले कुलबहादुर र रमेश रसाइलीको मेन पावर कम्पनीबाट विदेश पठाउन भनी मानिस सम्पर्कमा ल्याउने, रकम जम्मा गरी उनीहरूलाई बुझाई दिने गरेको, जाहेरीमा उल्लिखित रकम उठाई कुलबहादुरसमेतलाई बुझाएपछि प्रमाण नष्ट गराउने उद्देश्यले रहस्यमय तरिकाले बुटवलमा उहाँहरूको विभत्स हत्या भएको भनी मौकामा बेहोरा लेखाई दिएको पाइन्छ । अनुसन्धान अधिकारीसमक्षको कागजको बेहोरालाई अदालतमा उपस्थित भई समर्थन गरी बकपत्र गरेको देखिएको छ । त्यस्तै निज हरिकुमार तामाङले प्रहरीसमक्ष दाखिल गरेको दिलबहादुर तामाङको डायरीमा उल्लिखित विवरण र रकमको बेहोराबाट समेत मृतक दिलबहादुर र मइतकुमारीले प्रतिवादी कुलबहादुर कार्कीको लागि काम गर्दै आएको भन्‍ने तथ्य पुष्टि भइरहेको देखिन्छ । 

७. माथि उल्लिखित तथ्यहरूबाट यी पुनरावेदक कुलबहादुर कार्कीले रोजगारीका लागि मानिस कोरिया पठाउने भनी जाहेरवालालगायतका विभिन्‍न व्यक्तिहरूको रकम बुझी लिनेसमेतको कार्य गर्दै आएको तथ्य पुष्टि हुन आएको छ ।

८. वैदेशिक रोजगारसम्बन्धी भए गरेको भनिएको कसुरमा मुलुकी ऐन, ठगीको महलअन्तर्गत मुद्दा चलाउन मिल्दैन भन्‍ने पुनरावेदन जिकिरतर्फ हेर्दा, तत्काल बहाल रहेको वैदेशिक रोजगार ऐन, २०४२ को दफा ३ ले इजाजतपत्र विना वैदेशिक रोजगार व्यवसाय सञ्‍चालन गर्न नपाउने गरी रोक लगाएको र दफा २४ ले त्यसरी इजाजत नलिई वैदेशिक रोजगार व्यवसाय सञ्‍चालन गरेमा वा कसैलाई झुट्ठा आश्‍वासन दिई विदेश पठाएमा वा त्यस्तो वहानाले कुनै रकम लिएमा त्यस्तो व्यक्तिलाई हुने दण्ड सजाय तोकेको पाइन्छ । उक्त ऐनलाई खारेज गर्ने गरी आएको हालको वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० ले पनि इजाजतविना वैदेशिक रोजगार व्यवसाय सञ्‍चालन गर्न नपाउने गरी रोक लगाएको छ भने ऐनको दफा ४२ ले कसैले इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्‍चालन गरेमा वा झुट्ठो आश्‍वासन दिई वा प्रलोभन देखाई कुनै रकम लिएमा त्यस्तो व्यक्तिलाई हुने सजाय तोकेको पाइन्छ । यसमा पुनरावेदक प्रतिवादी कुलबहादुर कार्कीले मुलुकी ऐन ठगीको १ नं. विपरीत कसुर गरेको भन्‍ने सम्बन्धमा माथि दफा ५९ मा विवेचना भइसकेकोले यहाँ सो सम्बन्धमा थप विवेचना गरिरहनु परेन । प्रतिवादीहरूले गरेको भनिएको कार्य प्रचलित २ वटा कानूनले अपराध घोषित गरी फरक फरक सजायको व्यवस्था गरेको अवस्थामा कुन कानूनअन्तर्गत उपचार माग्ने भन्‍ने कुरा वादी पक्षको स्वविवेक र अभियोक्ताको व्यावसायिक स्वतन्त्रतासँग सम्बन्धित विषय बन्न जान्छ । त्यस्तो २ वटा समानान्तर कानूनी बाटो रहेको अवस्थामा वादीलाई यो बाटो आउनु पर्थ्यो भन्‍न अदालतले नमिल्ने हुँदा प्रतिवादीको पुनरावेदन जिकिर स्वीकारयोग्य हुने देखिएन । तसर्थ ठगीको १ नं. को परिभाषाभित्र पर्ने कसुरको सम्बन्धमा वैदेशिक रोजगारसम्बन्धी भए गरेको भनिएको कसुरमा मुलुकी ऐन, ठगीको महलअन्तर्गत मुद्दा चलाउन मिल्दैन भन्‍ने पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । 

९. यसैगरी माथि प्रकरण ५७ मा उल्लेख भएबमोजिम जाहेरवालाहरूले मिति २०६१।११।२४ मा श्रम तथा रोजगार प्रवर्द्धन विभागमा दर्ता गराउनु भएको उजुरी निवेदनको पहिलो पृष्ठमा नै लुम्बिनी ओभरसिजका सञ्चालक कुलबहादुर कार्कीसँग हाम्रो सल्लाह भइसकेको छ, लुम्बिनी ओभरसिजका ४८० जनाको रिप्लेसमा पठाउने भनी जाहेरवालाहरूसँग दिलबहादुर र मइतकुमारीसमेतले रकम लिएको भन्‍ने स्पष्ट उल्लेख भइरहेको देखिँदा जाहेरवालाहरूले श्रम विभागमा दिएको उजुरीमा मेरो नाम छैन भन्‍ने पुनरावेदकको पुनरावेदन जिकिरसँग पनि सहमत हुन सक्‍ने अवस्था रहेन । सो हुँदा पुनरावेदक प्रतिवादीतर्फका विद्वान्‌ कानून व्यवसायीहरूको बहस जिकिर र विद्वान्‌ उपन्यायाधिवक्ताको बहस जिकिर एवं यस अदालतबाट प्रत्यर्थी झिकाउँदा लिइएका आधारसँग समेत सहमत हुन सकिएन ।

१०. तसर्थ माथि प्रकरण प्रकरणहरूमा विवेचना गरिएका तथ्य, आधार, कारण र प्रमाणबाट पुनरावेदक प्रतिवादी कुलबहादुर कार्कीसमेतले जाहेरवालाहरूको जम्मा बिगो ५०,५०,०००।– (पचास लाख पचास हजार) बराबरको रकम ठगी गरेको ठहर्‍याई तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको मिति २०६८।४।९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकार र पुनरावेदक प्रतिवादी कुलबहादुर कार्कीको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको विद्युतीयप्रति अपलोड गरी दायरीको लगत कट्टा गरी सुरू तथा रेकर्ड मिसिल सम्बन्धित अदालतमा पठाइ दिनु र यस अदालतको मिसिल नियमानुसार गरी अभिलेख शाखामा पठाइ दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. हरिप्रसाद फुयाल

 

इजलास अधिकृत: चिन्तामणी शर्मा

इति संवत्‌ २०७६ साल वैशाख १९ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु