शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०२४७ - सम्बन्ध विच्छेद

भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की 

माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही 

फैसला मिति : २०७४।१२।२३

०७२-CR-००२३

 

मुद्दा: सम्बन्ध विच्छेद

 

पुनरावेदक / वादी : ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं.९ कोवहाल टोल बस्ने माधव मंगल जोशीको छोरी मेदिना जोशी

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं.९ भोलाछे टोल बस्ने हरिलाल श्रेष्ठको छोरा मनिषलाल श्रेष्ठ

 

आमा वा बाबु जोसँग बसेपनि आफू नबसेको बाबु वा आमालाई चाहेको अवस्थामा बेलाबखत भेट गर्न पाउने कुरा बालकको सर्वोत्तम हितसँग तथा निजको माया ममता पाउने र आफूले समेत माया ममता गर्न पाउने हकसँग सम्बन्धित विषय हो । साथै बाबु र आमाको पनि आफ्नो बच्चालाई माया ममता गर्न पाउने, निजको हेरविचार गर्न पाउने कर्तव्यका साथै अधिकार पनि हुने ।

(प्रकरण नं.८)

 

पुनरावेदक / वादीका तर्फबाट : 

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

ने.का.प.२०७०, अंक ३, नि.नं.८९७९, पृ.३९३

सम्बद्ध कानून :

बालबालिकासम्बन्धी ऐन, २०४८

न्याय प्रशासन ऐन, २०४८

 

सुरू तहमा फैसला गर्ने:-

माननीय न्यायाधीश श्री बाबुराजा कार्की

ललितपुर जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः-

माननीय न्यायाधीश श्री पुष्पराज कोइराला 

माननीय न्यायाधीश श्री नारायणप्रसाद शाह 

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या. हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍‍‍‍त तथ्य र ठहर यसप्रकार रहेको छ:-

म फिरादी मेदिना जोशीको विपक्षी मनिषलाल श्रेष्ठसँग विगत केही वर्षअगाडिदेखि प्रेम भई मिति २०५९।१०।०९ मा सामाजिक परम्पराअनुसार विवाह भएको थियो । केही समयपछि पतिमा मप्रति नराम्रो व्यवहार आयो । एउटा बुहारी भएको नाताले आफूले गर्नुपर्ने दायित्वबाट म कहिल्यै पछि हटिन । विवाह भएको तेस्रो वर्षमा गर्भवती अवस्थामा पनि विपक्षी, पति तथा सासूले घरको काममा केही सहयोग नगर्ने, घरमा आउने प्रत्येक चाड, पर्व, पूजाआजादेखि लिएर घरमा आउने पाहुनाहरूलाई खुवाउनु पर्नेलगायतका सम्पूर्ण दायित्व मेरो नै थियो । म फिरादीको पहिलो बच्चा Miscarriage हुँदा बिरामी भएको अवस्थामा घरको सम्पूर्ण काम गर्नुपर्ने सासू तथा पतिले गरेको भेदभावपूर्ण व्यवहारले असाध्यै गरेको थियो । मैले घर परिवार सुखमय होस्‌ भन्नाका खातिर धेरै दुःख कष्ट सहेर पनि घर समाल्दै आएँ । मिति २०६४।९।२० मा छोरा मनग्यलाल श्रेष्ठको जन्म भयो । छोरा जन्मेकोमा घरमा खुसीयाली आएकोले अबका दिन सुखमय हुन्छ भन्ने आशा गरेकी थिएँ । विपक्षी पतिको चाहनाअनुसार भएन भने अश्लिल शब्द प्रयोग गरी गाली गलौज गर्ने, कुटपिट गर्ने, मार्छु भन्न पनि पछि परेनन्‌ । यस्तो शारीरिक, मानसिक तथा यौनजन्य घरेलु हिंसाले मेरो भावनामा चोट पुग्ने कार्य विपक्षी पतिबाट बारम्बार भइरह्यो । आफ्नो चाहना नहुँदा मलाई जबरजस्ती गर्न आउने र मैले भनेको नमान्ने भए यस घरबाट निक्ली जा भनी मलाई घरबाट निकाला गरे । मैले छोराको कारणले गर्दा आत्महत्या गर्न सकिन र बाध्य भई छोराको भविष्यको खातिरमा माइती घरमा आएँ । सँगै बस्दा विपक्षी पतिबाट कुनै बेला मेरो जिउ ज्यानमा खतरा हुन सक्ने हुँदा मुलुकी ऐन, लोग्ने स्वास्नीको महलको १ नं. को देहाय २ बमोजिम लोग्ने स्वास्नीको नाता सम्बन्ध विच्छेद गरी छोरा वर्ष ५ को नाबालक भएकोले निजलाई मैले नै वात्सल्यसाथ हुर्काएकोले निज छोरा मसँग साथ राखी पाउँ भन्नेसमेत बेहोराको फिराद दाबी । 

म र मेरो परिवारलाई अनर्गल आरोप लगाई दिएको फिरादमा उल्लिखित कुरा झुट्टा एवं बनावटी मात्र हो । लोग्ने र स्वास्नीको बिचमा ससाना मनमुटाव हुनु सामान्य कुरा भएकोले यस्तो कुरामा अनावश्यक विवाद गरी लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद नै गर्नुपर्ने अवस्थासमेत छैन । हामीहरूको छोरा मनग्यलाल श्रेष्ठ सानै उमेरको छ । उसको पालन पोषण र उचित शिक्षा दिक्षा दिनु पर्ने अवस्थामा हामीहरू एकअर्का लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गरी अलग अलग बस्नु अनुचित नै हुन्छ । छोरालाई विपक्षीले आफैँसँग लिएर गएकी छन् । उक्त छोराको भविष्य विपक्षले बर्बाद गर्ने स्पष्ट छ । मेरो छोरासँग मलाई भेटघाट गर्न नदिई शारीरिक तथा मानसिक यातना दिई राखेकी 

छिन् । निजलाई भेट्न पाउने मेरो पनि अधिकार रहेकोले छोरा म प्रतिवादीसँग रहन बस्न पाउने व्यवस्था गरिपाऊँ । क्षणिक आवेगमा सम्बन्ध विच्छेद जस्तो गम्भीर विषयमा निर्णय गरी नावालक छोराको भविष्यमा समेत असर गर्ने गम्भीर अपराधमा मेरो कुनै प्रकारको सहमति हुन नसक्ने भएकोले विपक्षले माग गरेबमोजिम मेरो र विपक्षी फिरादीबिचको लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद नहुने गरी विपक्षीको फिराद दाबी खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिउत्तर जिकिर ।

यी वादी प्रतिवादीबिच सुमधुर सम्बन्ध कायम रहन कदापि सक्दैन । दिनहुँ यातना सहेर बाँच्न सक्ने अवस्था रहँदैन । एकअर्काप्रति हुनुपर्ने माया र विश्वास नरहने अवस्था रहेकोले स्वतन्त्र रूपमा बाँच्न पाउन यी वादी प्रतिवादीबिच सम्बन्ध विच्छेद हुनु नै पर्दछ भन्नेसमेत बेहोराको वादीको साक्षी कविना मुल्मी जोशीले यस अदालतसमक्ष गरेको बकपत्र ।

वादी प्रतिवादीबिच यस्तो छुट्टिनु पर्ने किसिमको कुनै घटना घटिरहेको मलाई थाहा 

छैन । जहाँसम्म मलाई लाग्छ सम्बन्ध विच्छेद हुनुपर्छ जस्तो मलाई लाग्दैन । दिदीको परिवारको रमाइलो वातावरणप्रति म धेरै खुसी थिएँ भन्नेसमेत बेहोराको प्रतिवादीको साक्षी रविन्द्र गोपाल वैद्यले यस अदालतसमक्ष गरेको बकपत्र ।

यसमा वादीलाई निजको पतिले विभिन्न शरीरिक तथा मानसिक यातनासमेत दिएकोसमेत स्पष्ट पारी फिराद दिएकोमा सो तथ्यलाई वादीका साक्षीले समेत पुष्टि गरेको र इन्कारी प्रतिउत्तरलाई प्रतिवादीले पुष्टि गरेको नदेखिँदा वादी दाबीबमोजिम वादी प्रतिवादीबिचको लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद हुने ठहर्छ भन्नेसमेत बेहोराको मिति २०७०।०२।१२ को ललितपुर जिल्ला अदालतको फैसला ।

हामीबाट जायजन्म भएको छोरा मनग्यलाल श्रेष्ठको सँग बस्न पाउने निजको पालनपोषण शिक्षा स्वास्थ्यको व्यवस्था के हुने कसमा रहने कुनै कुरा नबोलिएको र मैले निज छोरालाई भेट्न पाउने प्राकृतिक कुरालाई केही नबोली भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने बेहोराको प्रतिवादी मनिषलाल श्रेष्ठको पुनरावेदन पत्र ।

यसमा पुनरावेदक प्रतिवादी र प्रत्यर्थी वादी दुवै पक्षले नाबालक छोराको पालन पोषणको र भेटघाटको दाबी जिकिर लिएको अवस्थामा बच्चाको सम्बन्धमा कुनै विवेचना, नगरी भएको सुरू ललितपुर जिल्ला अदालतको फैसला फरक पर्न सक्ने देखिँदा छलफलका लागि अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको मिति २०७१।०१।०७ गतेको पुनरावेदन अदालत पाटनको आदेश ।

यसमा लोग्ने स्वास्नीको महलको नं. ३(१) अनुसार नाबालक पाल्ने विषयमा आमाले पहिलो प्राथमिकता पाउने भएको, छोरालाई लिएर आएको २ वर्षपश्चात् फिराद गर्दासम्म कुनै वास्ता नगरेको, कतै उजुरी नगरेको अवस्थामा पुनरावेदन पत्रमा मैले भेटघाट गर्न पाइन भन्ने जिकिर झुट्टा भएकोले सुरू फैसला सदर हुनुपर्दछ भन्ने वादीको लिखित जवाफ ।

सुरू ललितपुर जिल्ला अदालतबाट फैसला हुँदा यी पुनरावेदक प्रतिवादीलाई आफ्ना छोरासँग भेटघाट गर्ने गराउने सम्बन्धमा केही नबोली भएको फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई अब पुनरावेदक / प्रतिवादीले प्रत्यर्थी / वादीसँग रहे बसेको नाबालक छोरा मनग्यलाल श्रेष्ठलाई पारिवारिक उत्सवलगायत सार्वजनिक बिदा वा शनिबारका दिन भेटघाट गर्न पाउने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनको मिति २०७१/०८/२९ को फैसला ।

पुनरावेदन अदालत पाटनले सुरू अदालतले नबोलेको कुरामा बोल्न मिल्ने देखिँदैन । सुरूले नबोलेको भए बाँकी प्रश्नमा समेत निर्णय गरी मुद्दा किनारा गर्नु भनी तल्लो अदालतमा पठाउनु पर्ने भन्ने व्यवस्था न्याय प्रशासन ऐन, २०४८ को दफा १४ (घ) मा भएकोमा सो नगरी आफैँले बाँकी प्रश्नमा निर्णय गरेको मिलेको छैन । कानूनमा आमाले पाल्न चाहेको अवस्थामा बच्चालाई आमाले पाल्न पाउँछ भन्ने उल्लेख छ । छोरालाई मैले पाल्न चाहेको र छोरा पनि मसँगै खुसी रहन सक्ने भएकोले बालकको सर्वोत्तम हितलाई समेत ध्यानमा राखी छोरालाई मैले नै पाल्न पाउनु पर्दछ । सम्बन्ध बिच्छेद मुद्दामा सोहीबारेमा मात्र बोल्नु पर्ने हो छोराको सम्बन्धमा बोलिनु पर्ने नै 

होइन । पुनरावेदन अदालतको फैसलाअनुसार पारिवारिक उत्सव, सार्वजनिक बिदा आदिमा प्रतिवादीसँग भेटघाट गराउँदा छोराको पढाइसमेत बिग्रने हुन्छ । त्यसतर्फ मनन नगरी पुनरावेदन अदालतबाट भएको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी सुरू फैसलाअनुसार गरिपाउँ भन्नेसमेत बेहोराको वादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

यसमा प्रतिवादी मनिषलाल श्रेष्ठले पुनरावेदन अदालतमा दिएको पुनरावेदन पत्रमा छोरा मनग्यलाल श्रेष्ठ आफ्नै संरक्षणमा रहन पाउनुपर्ने भन्नेसम्म दाबी लिई भेटघाटको सम्बन्धमा स्पष्ट दाबी नभएको अवस्थामा पुनरावेदन अदालतबाट मागदाबीभन्दा बढी असीमित रूपमा पारिवारिक उत्सवलगायत सार्वजनिक बिदा वा शनिबारको दिन भेटघाट गर्न पाउने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०७१/०८/२९ मा भएको फैसला बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ८(२) को रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको यस अदालतबाट मिति २०७३/१०/६ मा भएको आदेश ।

नियमबमोजिम साप्ताहिक तथा दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन पत्रसहितको सुरू मिसिल अध्ययन गरियो । 

यसमा म फिरादी र विपक्षी मिति २०५९।१०।०९ मा सामाजिक परम्पराअनुसार विवाह भई छोरा मनग्यलाल श्रेष्ठको जन्म भएकोमा निज पतिले मलाई शारीरिक तथा मानसिक एवं यौनजन्य हिंसा गरेकोले लोग्ने स्वास्नीको हैसियतमा बस्न नसक्ने अवस्था भई सम्बन्ध विच्छेद गरी नाबालक छोरालाई मेरो साथमा राखी पाउँ भन्ने फिराद दाबी भएकोमा सम्बन्ध विच्छेद गर्ने अवस्था नरहेको र सहमति नरहेकोले फिराद दाबी खारेज गरिपाउँ भन्ने प्रतिउत्तर जिकिर रहेको पाइन्छ । सुरू ललितपुर जिल्ला अदालतबाट वादी प्रतिवादीबिच सम्बन्ध विच्छेद हुने ठहर्‍याई फैसला भएको पाइयो । सो फैसलाउपर प्रतिवादीको सुरू फैसलामा छोराको बारेमा केही नबोलेकोले छोरालाई आफ्नो संरक्षणमा रहन पाउने गरी फैसला गरिपाउँ भन्नेसमेतको पुनरावेदन परी पुनरावेदन अदालतबाट प्रतिवादीले नाबालक छोरालाई पारिवारिक उत्सवलगायत सार्वजनिक बिदा वा शनिबारको दिन भेटघाट गर्न पाउने ठहर्‍याई फैसला भएको पाइयो । सो फैसलाउपर वादीको यस अदालतमा पुनरावेदन परी आज इजलाससमक्ष पेस हुन आएको छ ।

उल्लिखित सन्दर्भमा पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ छैन ? तथा पुनरावेदक / वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने विषयमा नै निर्णय दिनुपर्ने देखिन आयो । 

२. निर्णयतर्फ विचार गर्दा यी पुनरावेदक / वादी र प्रत्यर्थी / प्रतिवादीबिच वैवाहिक सम्बन्ध कायम रहँदाकै अवस्थामा मिति २०६४।०९।२० मा छोरा मनग्यलाल श्रेष्ठको जन्म भएकोमा कुनै विवाद देखिएन । यी वादी र प्रतिवादीबिच लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद हुने गरी सुरू जिल्ला अदालतबाट मिति २०७०।०२।१२ मा फैसला भएकोमा पुनरावेदन अदालतबाट सो हदसम्म सुरू फैसला सदर भई अन्तिम भइरहेकोले सम्बन्ध विच्छेद सम्बन्धमा केही बोलिरहनु परेन । निजहरूको छोरा मनग्यलाल श्रेष्ठका सम्बन्धमा सुरू फैसलामा केही नबोलेकोले सोमा प्रतिवादीको पुनरावेदन पर्दा पुनरावेदन अदालतबाट निज छोरालाई यी प्रत्यर्थी / प्रतिवादीले समेत सार्वजनिक बिदा, पारिवारिक उत्सव जस्तो समयमा भेटघाट गर्न पाउने गरी भएको फैसलाउपर यी पुनरावेदक / वादीको यस अदालतमा पुनरावेदन परेकोले निर्णयमा पुग्न बालबालिकाको हितलाई समेत विचार गरी निज छोरालाई यी प्रत्यर्थी / प्रतिवादीले भेटघाट गर्न पाउनु उपयुक्त हुन्छ वा हुँदैन भन्ने सम्बन्धमा नै विचार गर्नुपर्ने देखिन आयो । 

३. मानिस बालकबाट नै बयस्क भई समाजको सुयोग्य नागरिकका रूपमा स्थापित हुने हुन्छ । मानिसको जीवनको आधार नै बाल्यकाल 

हो । मानिसले बाल्यकालमा पाएको माया ममता, पालन पोषण, शिक्षा दिक्षा, स्वास्थ्य सुविधालगायतका हेरविचार र सेवा सुविधामा नै उसको भविष्यको निर्धारण हुने हुन्छ । त्यसैले उचित माया ममता, पालनपोषण, शिक्षा, स्वास्थ्यलगायतका सेवा सुविधा पाउनु, आफ्ना बाबु आमालगायतबाट अभिभावकत्व पाउनु बालबालिकाको नैसर्गिक अधिकारका रूपमा लिइँदै आएको छ । यस्ता बालकका आधारभूत अधिकारको प्रमुख संरक्षक कर्ताको रूपमा उसका आमा बाबु तथा अभिभावक नै रहेका हुन्छन् । बालबालिकाका आधारभूत अधिकारको संरक्षणका लागि हरेक आमा बुबाले आफ्नो बालकलाई उचित माया ममता, स्याहार सम्भार, पालन पोषण हेरविचार गर्ने जस्ता कर्तव्य तथा दायित्व निर्वाह गर्नुपर्ने हुन्छ । त्यसैगरी बालकको बैध आकांक्षा तथा इच्छाअनुसारको काम गर्न पाउनु पनि बाल अधिकारको विषयभित्र पर्दछ । आफूलाई जन्माउने हुर्काउने आमा बुबाहरूको बालकलाई माया ममता लाग्नु, आमा बुबासँग नजिक रहन बस्न चाहनु तथा आमा बुबाबाट माया ममता पाउने इच्छा राख्नु जस्ता विषयहरू प्रत्येक बालकका स्वाभाविक तथा वैध इच्छा भएकोले यस्ता इच्छा पूर्ति हुन पाउनु पनि बाल अधिकारका विषयहरू हुन् । बालकप्रति बुबा आमाको निश्चित कर्तव्य निर्वाह गर्नुपर्ने हुँदा आमा बुबाको पनि बालकहरूमा केही अधिकार निहित रहेको हुन्छ । आफ्नो बच्चाको हेरविचार, पालन पोषण गर्न पाउनु उसलाई माया ममता दिन पाउनु आमा बाबुको कर्तव्य मात्र नभएर अधिकार पनि हो । बालबालिकाहरूले आमा बुबाबाट पाउनु पर्ने उल्लिखित विषयहरू समानरूपमा दुवैबाट पाउनु पर्ने हुन्छ सोको कर्तव्य र दायित्व पनि आमा बुबा दुवैमा समान रूपमा नै रहेको हुन्छ । 

४. बालबालिकाको हक अधिकारसम्बन्धी यी मान्यताहरू मूलतः बालकको सर्वोत्तम हितको सिद्धान्त र बालकको जीवन बाँच्न पाउने र विकासको सिद्धान्तमा आधारित रहेका पाइन्छन् । यिनै सिद्धान्तका आधारमा बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९८९ लगायत विभिन्न अन्तर्राष्ट्रिय दस्ताबेजहरूमा पनि बालबालिकाहरूसँग सम्बन्धित उल्लिखित विषयहरूलाई आधारभूत अधिकारका रूपमा स्थापित गरी पक्ष राष्ट्रहरूलाई त्यस्ता अधिकारहरूको संरक्षणका लागि आवश्यक व्यवस्था गर्नसमेत निर्देश गरेको पाइन्छ । बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९८९ को धारा ३ (२) मा राज्य पक्षहरूले बालबालिकाको आमा, बुबा वा वैधानिक अभिभावक वा कानूनी रूपमा तिनको लागि जिम्मेवार अन्य व्यक्तिहरूको बालबालिकाहरूप्रतिको अधिकार र कर्तव्यलाई ध्यानमा राख्दै, बालबालिकाको हितको लागि आवश्यक संरक्षण र स्याहारको व्यवस्था गर्नेछन् र यस उद्देश्यको निमित्त सबै उचित वैधानिक र प्रशासनिक उपायहरू गर्नेछन् भन्ने प्रावधान रहेको छ । ऐ. को धारा १८ मा बालबालिकाको लालन पालन र विकासको बाबु आमा दुवैको साझा र प्रथम उत्तरदायित्व छ भन्ने सिद्धान्तलाई बालबालिकाको सर्वोत्तम हितका लागि उनीहरूको प्रमुख चासो हुनेछ भन्ने उल्लेख छ । यसबाट बालबालिकासम्बन्धी महासन्धिले बालबालिकाको अधिकार संरक्षण गर्ने र उनीहरूको सर्वोत्तम हितअनुरूपको कार्यहरू गर्ने प्रथम जिम्मेवारी आमा बुबा वा वैधानिक अभिभावकलाई मानी सोहीअनुसारको कानूनी व्यवस्था गर्न पक्ष राष्ट्रलाई निर्देश गरेको स्पष्ट हुन्छ । आमा बुबाको बालबालिकाप्रतिको यस्तो जिम्मेवारीलाई साझा जिम्मेवारीको रूपमा समेत उक्त सन्धिले लिएको पाइन्छ ।

५. बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ को पक्ष राष्ट्र रहेको नेपालमा पनि बालबालिकाको सर्वोत्तम हितको सिद्धान्त र उनीहरूको जीवन र बाच्न पाउने सिद्धान्तका आधारमा संवैधानिक तथा कानूनी व्यवस्था गरी बालबालिकाहरूका आधारभूत अधिकारहरूको प्रत्याभूति गरिएको छ । नेपालको संविधानमा मौलिक हकका रूपमा धारा ३९ मा बालबालिकाको हकको व्यवस्था गरिएको 

छ । जसअनुसार पनि प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको, बाल विकास तथा बाल सहभागिताको हक हुने भन्नेसमेतका कुराहरूलाई बाल बालिकाका हकका रूपमा उल्लेख गरिएको पाइन्छ । यस धारामा उल्लिखित बालबालिकालाई प्रदत्त सबै हकहरू हेर्दा बालकको सर्वाङ्गीण विकास तथा सर्वोत्तम हितलाई कायम राखी बालकलाई भविष्यको सक्षम नागरिकका रूपमा उभिन समर्थ बनाउनु पर्ने विषयसँग सम्बन्धित रहेभएको पाइन्छ । यस्तै बालबालिकासम्बन्धी ऐन, २०४८ ले पनि बालबालिकाका आधारभूत अधिकारको संरक्षणको व्यवस्था गरेको छ । बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ४(१) मा बाबु आमाले आफ्नो परिवारको आर्थिक अवस्थाअनुसार प्रत्येक बालबालिकाको पालन पोषण गर्नुका अतिरिक्त निजको शिक्षा, स्वास्थ्योपचार, खेलकुद तथा मनोरञ्जन सुविधाहरूको व्यवस्था पनि गर्नुपर्नेछ भन्ने कानूनी व्यवस्था रहेको छ । यस कानूनी व्यवस्थाले सन्धिको मान्यतालाई आत्मसात् गरी बालकको सर्वोत्तम हित र जीवन बाँच्न र जीवनको विकास गर्न पाउने हकको संरक्षण गर्नुपर्ने प्रथम कर्तव्य आमा बुबामा नै रहने गरी कानूनी व्यवस्था गरिदिएको छ । यस्तै बाल बालिकाको हक हित संरक्षणको विभिन्न व्यवस्था उक्त ऐनले गरेको पाइन्छ । विभिन्न विषय र विवादका सन्दर्भमा बालकको स्थिति के हुने भन्ने सम्बन्धमा अन्य कानूनहरूमा व्यवस्था रहेको पाइन्छ ।

६. बालबालिका आफैँमा संवेदनशील विषय भएकोले बालबालिकाको हकहितमा असर पर्ने, हक अधिकारको उपयोग गर्न वञ्चित गर्ने तथा उनीहरूको सर्वोत्तम हित, जीवनको बाँच्न पाउने र विकास गर्न पाउने कुरामा थोरै मात्रामा भएपनि अवरोध पुर्‍याउने कार्य सर्वथा निषेधित रहेभएको पाइन्छ । परिवारमा देखिएको कुनै समस्या तथा पति पत्नीका बिचको प्रतिकूल सम्बन्धको प्रभाव नाबालक छोराछोरीमा र उनीहरूको हकाधिकारको विषयमा पर्नु र पारिनु हुँदैन । यस्तो पारिवारिक प्रतिकूल परिस्थितिमा पनि कसरी बालबालिकाको सर्वोत्तम हितलाई संरक्षण गर्न सकिन्छ भन्ने खोजी गरिनु पर्ने हुन्छ । यदि पारिवारिक र सामाजिक अवस्थाको प्रतिकूल प्रभाव बालकमा पर्न गएमा बालकको जीवनको विकासमा नै नकारात्मक असर परी उनीहरूको भविष्य आमा बुबा वा अभिभावकको कारण नै बर्बाद हुने हुन्छ र यसको असर दीर्घकालीन रूपमा सम्पूर्ण समाज र राष्ट्रमा नै पर्न जान्छ । कुनै पनि बालबालिकाका सम्बन्धमा कस्तो अवस्था र परिस्थितिमा कस्तो निर्णय गर्ने भन्ने सम्बन्धमा विभिन्न विकल्पहरूको खोजी गरी उसको सर्वोत्तम हित के गर्दा हुन्छ भनी निर्क्यौलमा पुगी निर्णयमा पुग्नु पर्ने हुन्छ । यस सम्बन्धमा यस अदालतबाट बालबालिकाहरूको अभिभावकबिचको विवादमा अदालतले बालमनोविज्ञानको कसीमा सम्बन्धित बालबालिकाको सर्वोत्तम हितलाई नै न्यायको आधार बनाउनु पर्ने । बालबालिकाको हितसँग सम्बन्धित मुद्दाका हकमा बाल न्याय प्रणालीका आधारभूत मान्यतालाई अवलम्बन गर्नैपर्ने । पति पत्नीका बिचको सम्बन्धमा देखिएको समस्याको प्रभाव नाबालिग छोराछोरीमा समेत पर्ने अवस्था देखिएकोमा त्यसको क्षति कसरी नियन्त्रण गरी न्यून गर्न सकिन्छ भन्ने कुराको खोजी नै बाल न्याय प्रणालीको मर्म हो । बाबु आमाका बिचको सम्बन्धबाट उत्पन्न हुने समस्याको दुष्प्रभाव नाबालिग छोराछोरीमा पर्न दिन नहुने । बालबालिकाहरू आफ्नो परिवारका सदस्यहरूमध्ये कोसँग रमाउँछन्, कोसँग खुसी हुन्छन्, कोसँग बस्दा उनीहरूलाई सुविधा हुन्छ, उनीहरूको भविष्य कसरी उज्ज्वल हुन्छ, उनीहरूको पालनपोषण, शिक्षा, स्वास्थ्योपचार र मनोरञ्जनको पक्ष कसबाट प्रभावकारी बन्दछ भन्ने जस्ता विषयको मूल्याङ्कन नगरी एकाङ्गीढंगले निर्णयमा पुग्दा बालबालिकाको भविष्यका सम्बन्धमा त्यो झनै प्रत्युत्पादक पनि हुन सक्दछ । त्यसैले यस्ता विषयमा सम्बन्धित बालबालिकाको सर्वोत्तम हितको पक्षलाई साङ्गोपाङ्गो रूपमा हेरी समन्यायिक दृष्टिकोणबाट निष्कर्षमा पुग्नु अपरिहार्य हुने । कसैको व्यक्तिगत स्वार्थ, अहम् र आत्मसन्तुष्टिका लागि अबोध बालबालिकालाई प्रताडित गरिनु हुँदैन भनी (ने.का.प.२०७०, अंक ३, नि.नं. ८९७९, पृ. ३९३) सिद्धान्त प्रतिपादन भएको छ । बालक एक विशेष र भिन्न प्रकृतिको व्यक्ति भएकोले बालकको सर्वोत्तम हित तथा निजको भविष्यलाई समेत मध्यनजर राखेर बालबालिकासँग व्यवहार तथा उनीहरूको सम्बन्धमा निर्णय गर्नुपर्ने हुन्छ । अन्यथा बालकको भविष्य नै बर्बाद हुन गई सम्पूर्ण समाज नै त्यसबाट प्रभावित हुन सक्छ ।

७. बालबालिकाको हक हितको संरक्षण गरी उनीहरूको सर्वोत्तम हितलाई ध्यान दिनुपर्ने सन्दर्भमा अब बाबु आमाका बिचमा सम्बन्ध बिच्छेद भएको अवस्थामा निजहरूको नाबालग छोराछोरी कोसँग बस्न पाउने, निजहरूको हकहितलाई के कसरी संरक्षण गरिन्छ भन्ने सम्बन्धमा विद्यमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनमा रहेभएको व्यवस्थाको विवेचना गर्नुपर्ने हुन आयो । यस सम्बन्धमा हेर्दा बालबालिकाको अधिकारसम्बन्धी महासन्धिको धारा ९(१) मा बालबालिकाको सर्वोत्तम हितका लागि निजलाई बाबु आमाबाट अलग राख्नु आवश्यक छ भन्ने कुरा सम्बन्धित कानून र कार्यविधिअनुरूप सक्षम अधिकारीहरूले न्यायिक पुनरावलोकनको अधीनमा रही निर्णय गरेमा बाहेक कुनै पनि बालबालिकालाई बाबुआमाको इच्छा विरूद्ध अलग गरिने छैन भनी राज्य पक्षले निश्चित गर्ने छन् ।… भन्ने प्रावधान रहेको छ । धारा ९(३) मा बालबालिकाको सर्वोत्तम हितमा विपरीत असर पर्ने स्थितिमा बाहेक आफ्नो बाबु वा आमा वा दुवैबाट अलग गरिएका बालबालिकाले आमा बाबुसँग नियमित रूपमा व्यक्तिगत सम्पर्क र प्रत्यक्ष भेटघाट गर्न पाउने बालबालिकाको अधिकारलाई राज्य पक्षले मान्यता दिनेछन् भन्ने व्यवस्था रहेको 

छ । यी प्रावधानहरूलाई हेर्दा कुनै पनि बालबालिकालाई विशेष परिस्थितिमा बाहेक निजको आमा बुबाबाट अलग नराखिने यदि राख्नु पर्ने विशेष परिस्थिति सिर्जना भएमा आमा बाबुसँग नियमित रूपमा व्यक्तिगत सम्पर्क र प्रत्यक्ष भेटघाट गर्न पाउने व्यवस्था मिलाउनु पर्ने भनिएबाट आमा र बाबुसँग भेटघाट गर्न पाउनु पर्ने कुरा पनि बालकको आधारभूत अधिकारको रूपमा रहेको प्रस्ट हुन्छ । यहि प्रावधानलाई आत्मसात् गर्दै बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ८(१) मा वैवाहिक सम्बन्ध विच्छेद भई वा अरू कुनै कारणबाट बाबु र आमा भिन्न बसेको अवस्थामा बाबुसँग बसेको बालकलाई आमासँग र आमासँग बसेको बालकलाई बाबुसँग समय समयमा भेटघाट गर्न वा केही समयको निमित्त साथ बस्न दिनु पर्नेछ । तर त्यसरी बाबु आमासँग भेटघाट गर्न वा बस्न दिन बालकको हित प्रतिकूल हुने कुनै मनासिब कारण भएमा त्यस्तो भेटघाट वा साथ बस्न दिने सुविधा दिनबाट अदालतले रोक लगाउन सक्नेछ भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । यसले बाबु र आमा कुनै पनि कारणले अलग बसेको अवस्थामा पनि बालकको हकहित प्रतिकूल नहुने अवस्थामा आमासँग बसेको बालकलाई बाबुसँग र बाबुसँग बसेको बालकलाई आमासँग भेटघाट गर्न दिनुपर्ने भन्दै आमा र बाबु अलग भएको अवस्थामा पनि बालक जोसँग बसेको भएपनि आफू नबसेको आमा वा बाबुसँग भेटघाट गर्न पाउने विषयलाई पनि बालकको अधिकारको रूपमा स्थापित गरेको पाइन्छ ।

८. प्रस्तुत मुद्दामा आमा मेदिना जोशी र बाबु मनिषलाल श्रेष्ठको नाबालक छोरा मनग्यलाल श्रेष्ठ आमा मेदिना जोशीसँग बसेपनि निजलाई पारिवारिक समारोह, चाडपर्व र बिदाको दिन जस्ता अवसरहरूमा बाबु मनिषलालसँग भेटघाट गराउनु पर्ने गरी पुनरावेदन अदालतबाट भएको फैसला नमिलेको भनी नाबालकको बुबासँग भेटघाट गर्न पाउने विषयलाई पुनरावेदकले चुनौती दिई यस अदालतमा प्रवेश गरेको पाइन्छ । उपर्युक्त विवेचना गरिएअनुसार बालबालिकाको हक अधिकारसम्बन्धी अवधारणा, राष्ट्रिय कानूनी व्यवस्था र अन्तर्राष्ट्रिय सन्धिहरूलाई हेर्दा कुनै पनि बालकले बाबु आमा दुवैसँग सँगै बस्न र निजहरूबाट माया ममता, हेरविचार, पालन पोषण, शिक्षा र स्वास्थ्यको सुविधा पाउनु पर्ने हुन्छ । बच्चाहरूको लागि बाबु आमा दुवैको समान दायित्व र कर्तव्य रहने हुन्छ । कुनै विशेष अवस्था परी आमा वा बाबुमध्ये कुनै एकसँग बस्नु परेमा पनि हकहितमा असर पर्ने परिस्थितिमा बाहेक अर्कोलाई भेटघाट गर्न पाउनु पर्ने हुन्छ । यस्तो कानूनी व्यवस्था भएको अवस्थामा यी नाबालक मनग्यलाल श्रेष्ठ आमासँग बसे पनि बाबुसँग बेलाबखत भेटघाट गर्न पाउने नै देखिन्छ । बाबुसँग पनि भेटघाट गर्न पाउने बालकको आधारभूत अधिकारलाई निज बालकको आमा यी पुनरावेदकको बालकको बाबु प्रत्यर्थी मनिषलालसँग सम्बन्ध विच्छेद भएकै कारणले रोक लगाउन 

मिल्दैन । आमा वा बाबु जोसँग बसेपनि आफू नबसेको बाबु वा आमालाई चाहेको अवस्थामा बेलाबखत भेट गर्न पाउने कुरा बालकको सर्वोत्तम हितसँग तथा निजको माया ममता पाउने र आफूले समेत माया ममता गर्न पाउने हकसँग सम्बन्धित विषय हो । साथै बाबु र आमाको पनि आफ्नो बच्चालाई माया ममता गर्न पाउने, निजको हेरविचार गर्न पाउने कर्तव्यका साथै अधिकार पनि हो । यसअन्तर्गत यी प्रत्यर्थी मनिषलाल श्रेष्ठले पनि आफ्नो बच्चालाई भेटघाट गर्न पाउने नै देखिन्छ । 

९. यसरी गरिने भेटघाटबाट निज बालकको हक हितमा तथा निजको सर्वोत्तम हितमा प्रतिकूल असर पर्ने भनी वस्तुनिष्ठ आधारमा यी पुनरावेदक प्रतिवादीले भन्न सकेको पनि देखिन आएको छैन । यी पुनरावेदकले छोरालाई आमाले पाल्न चाहेमा र छोरा पनि आमासँग बस्न चाहेको अवस्थामा आमाले नै पाल्न पाउनु पर्ने कानूनी व्यवस्थाअनुसार आफूले छोरालाई पाल्न पाउनु पर्ने र बेलाबखत बाबुलाई भेट गर्न दिँदा छोराको पढाई बिग्रने भएकोले समय समयमा बाबुलाई भेटघाट गर्न दिने गरी भएको फैसला नमिलेको भनी जिकिर लिएको पाइन्छ । मुलुकी ऐन लोग्ने स्वास्नीको महलको ३ नं. मा नाबालकलाई पाल्ने विषयमा कानूनी प्रावधानहरूको उल्लेख छ । जसअनुसार नाबालकलाई आमाले आफैँ पाल्न चाहेमा निजैले र निजले पाल्न नचाहेमा बाबुले पाल्नु पर्ने, आमा बाबु दुवैको मन्जुरी भएमा त्यस्तो नाबालकलाई आमा वा बाबुमध्ये कुनैले वा आलोपालो गरी पाल्न पाउने, जोसुकैले पाले पनि नाबालकको अहित हुने अवस्था वा त्यस्तो अहित हुने मनासिब आशंका नभएमा पाल्ने आमा बाबुले नपाल्ने आमा वा बाबुलाई बिचबिचमा नाबालकसँग भेटघाट गर्ने मौका दिनुपर्ने भन्ने व्यवस्था रहेको पाइन्छ । यस कानूनी व्यवस्थाअनुसार बालक मनग्यलाल श्रेष्ठलाई निजको आमा यी पुनरावेदकले पाल्न चाहेको र निज बालक पनि आमासँग बस्न चाहेकोले आमाले पाल्न पाउनु पर्ने कुरालाई अन्यथा भन्न सकिँदैन । तर यसरी पाल्न पाउने भन्दैमा बच्चाले आफ्ना हकाधिकारको उपभोग गर्न नपाउने र निजका हकाधिकार आमाको इच्छामा निर्भर रहने भन्ने हुँदैन । यसो गर्नु बालकको सर्वोत्तम हितको समेत प्रतिकूल हुन जान्छ । आमाले पाल्न पाएको अवस्थामा बुबासँग भेटघाट गर्न दिँदा यी बालकको यो यति कारणले अहित हुन सक्ने अवस्था रहेको छ भन्ने कुनै विश्वासलायक आधार कारण पनि यी पुनरावेदकले पेस गर्न सकेको देखिँदैन । त्यसैले उपरोक्तानुसारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिँदैन । त्यस्तै भेटघाट गर्न पाउने विषय मुद्दामा उठान नै नभएको अवस्थामा प्रतिवादीलाई भेटघाट गर्न दिने गरी पुनरावेदनको तहबाट फैसला गर्न मिल्ने देखिन आउँदैन भनी जिकिर लिएको पाइन्छ । यस सम्बन्धमा हेर्दा यी पुनरावेदक / वादीले बच्चालाई आफूसँग राखी पालन पोषण गर्न पाउँ भनी सुरू फिरादमा नै उल्लेख गरेको पाइन्छ । यसरी आफूसँग राख्न पाउँ भन्ने दाबीको साथसाथै बच्चाले भेटघाट गर्न पाउने कुरा पनि स्वतः सँगै जोडिएर आउने 

हुन्छ । बच्चाका सम्बन्धमा कुनै पनि निर्णय गर्दा उसका हक हितसँग जोडिएका सबै पक्षमा विचार गर्नुपर्ने नै हुन्छ । त्यसैले बच्चालाई साथ राख्ने र पालन पोषण गर्ने विषयमा निर्णय गर्दा उसले को कोसँग भेटघाट गर्न पाउने वा नपाउने भन्ने पक्षमा पनि निर्णय गर्न सकिने नै देखिन आयो । साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा १४(२) मा पुनरावेदन अदालतले मातहतका अदालत, निकाय वा अधिकारीले निर्णय गर्न छुटाएको प्रश्नमा समेत प्रवेश गरी निर्णय गर्न सक्ने भनी भएको व्यवस्थाअनुसार पनि जिल्ला अदालतले बालकको भेटघाट सम्बन्धमा केही नबोलेको अवस्थामा पुनरावेदन अदालतले सो विषयमा निर्णय गर्न सक्ने नै हुन्छ । त्यसैले पुनरावेदकको सुरू अदालतमा प्रश्न नउठेको विषयमा पुनरावेदन अदालतले निर्णय नै गर्न सक्दैन भन्ने जिकिरसँग पनि सहमत हुन सकिँदैन । त्यसैले यी बालकसँग निजका बुबा यी प्रत्यर्थी / प्रतिवादी मनिषलाल श्रेष्ठले भेटघाट गर्न पाउने गरी पुनरावेदन अदालतबाट भएको फैसला मिलेकै देखिन्छ । 

१०. अतः माथि विवेचित आधार, कारण र कानूनी व्यवस्थासमेतका आधारमा सुरू ललितपुर जिल्ला अदालतबाट वादी प्रतिवादीका बिचमा लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद हुने गरी भएको मिति २०७०।२।१२ को फैसलामा प्रतिवादीलाई आफ्ना छोरासँग भेटघाट गर्ने गराउने सम्बन्धमा केही नबोली भएकोले सो हदसम्म केही उल्टी गरी यी प्रत्यर्थी प्रतिवादी मनिषलाल श्रेष्ठले यी पुनरावेदक वादीसँग रहे बसेको नाबालक छोरा मनग्यलाल श्रेष्ठलाई पारिवारिक उत्सवलगायत सार्वजनिक बिदा वा शनिबारका दिन भेटघाट गर्न पाउने ठहर्‍याई पुनरावेदन अदालत पाटनबाट मिति २०७१।८।२९ मा भएको फैसला मिलेकै देखिएकोले सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. डम्बरबहादुर शाही 

 

इजलास अधिकृत : यदुराज शर्मा

इति संवत् २०७४ साल चैत्र २३ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु