शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८३२५ - कर्तव्य ज्यान

भाग: ५२ साल: २०६७ महिना: असार अंक:

निर्णय नं. ८३२५     असार, २०६७

 

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री खिलराज रेग्मी

माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल

माननीय न्यायाधीश श्री भरतराज उप्रेती

फौ.पु.इ.नं. ०६५CF०००६

आदेश मितिः २०६६।१२।२६।५

मुद्दा ः कर्तव्य ज्यान ।

      पुनरावेदक÷वादीः रामलाल उरावको जाहेरीले नेपाल सरकार

विरुद्ध

      प्रत्यर्थी÷प्रतिवादीः जिल्ला सिरहा, आशोपुर वल्कवा गा.वि.स. वडा नं. २ बस्ने  शिवकुमार यादव समेत

 

शुरु फैसला गर्ने ः

मा.जि.न्या.श्री दीपकराज कार्की

पुनरावेदन फैसला गर्ने ः

मा.न्या.श्री दिपककुमार जोशी

मा.न्या.श्री गौरीबहादुर कार्की

 

          फैसलामा भएका त्रुटिहरू सच्याउने प्रक्रिया कानूनले निर्धारण गरेको हुन्छ । फैसलामा चित्त बुझाई पुनरावेदन नगरी बसेको मुद्दाका पक्षका हकमा कानूनद्वारा निश्चित गरिएको प्रक्रियाभन्दा बाहिरबाट अदालत आफैं सक्रिय भई तल्लो अदालतको फैसला उल्टाई न्याय निरुपण गर्दा त्यसले न्यायमा निश्चित मापदण्ड खलबलिई न्यायिक अराजकताको स्थिति समेत सिर्जना हुन सक्ने कुरामा पनि विचार पु¥याइनु पर्ने ।

(प्रकरण नं. ४)

          समान अवस्थामा रहेका पक्षहरूमध्ये कसैको हकमा सजायबाट छुट्कारा पाउने अवस्थामा अन्यलाई सजाय हुने अवस्था नबनोस् भन्ने नै हो । तर, त्यसका लागि समान अवस्थाका व्यक्तिहरूमध्ये कुनै एकको उजूरी वा पुनरावेदन पर्नुपर्ने पूर्वशर्त कानूनले निश्चित गरेको र सोही उजूरी वा पुनरावेदनको रोहमा मात्र निजहरूको हकमा न्याय निरुपण गरिने कानूनको स्पष्ट आशय रहेको अवस्थामा वादी पक्षको पुनरावेदनबाट प्रतिवादीहरूको हकमा न्याय निरुपण गर्न नमिल्ने ।

(प्रकरण नं. ५)

          कानूनमा उल्लेखै नभएको विषयलाई अन्यथा अर्थ लगाई सम्वोधन गर्न वा एक पक्षको मागबाट सो मागको ठीक उल्टो हुने गरी अर्को पक्षलाई उपचार दिन विद्यमान न्यायप्रणालीले अनुमति नदिने ।

(प्रकरण नं. ६)

          तहतह न्याय निरुपण हुँदै आएको कुनै एक मुद्दामा अदालतको साधारण अधिकारक्षेत्र अन्तर्गतबाट न्याय निरुपण गरिँदा विद्यमान कानूनी व्यवस्थालाई प्रयोजनहीन बनाउने, त्यसको दायरा अत्यन्त फराकिलो पार्ने वा त्यसमा संकुचन ल्याउने गरी व्याख्या गर्न नसकिने ।

          रिट अधिकारक्षेत्रबाट हेरे जस्तो गरी पूर्ण न्याय भन्दै पुनरावेदकीय अधिकारक्षेत्र अन्तर्गतको न्यायिक परिपाटी र न्यायको निश्चित मान्यतालाई खल्बल्याउन मिल्दैन । एउटा निश्चित कानूनी संरचनाले दिएको वा दिन खोजेको विषयभन्दा फरक अर्थ र सन्दर्भमा सो कानून प्रयोग गर्नु न्यायपालिकाको उद्देश्य र कर्तव्य नहुने ।

(प्रकरण नं. ७)

 

पुनरावेदक वादी तर्फबाटःविद्वान सहन्यायाधिवक्ता श्री ठोकप्रसाद सिवाकोटी

प्रत्यर्थी प्रतिवादी तर्फबाटः

अवलम्बित नजीरःनेकाप २०५१, अङ्क ३, नि.नं. ४८७४, पृष्ठ १३८

सम्बद्ध कानूनः

          मुलुकी ऐन अ.वं. २०५ नं.

 

फैसला

            न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत राजविराजको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) अनुसार यस अदालतमा वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परी संयुक्त इजलासको आदेशअनुसार सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (१) को खण्ड (घ) बमोजिम यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ ः

            जिल्ला सिरहा आसोपुर वलकवा गा.वि.स. वडा नं. २ बस्ने शिवकुमार यादव समेतका ६ जना व्यक्तिहरूले मिति २०६०।२।२० गते राति अं. १२ बजेको समयमा बगैँचामा प्रवेश गरी कुटपीट गरेको हुँदा शरिरमा लागेको नीलडामको घाउ जाँच केश फाराम गरिपाऊँ भन्ने समेतको भारत वरानी फूलवरिया बस्ने वटोरन तत्मा र जिल्ला सिरहा आशोपुर वलकवा २ बस्ने रामलाल उरावको २०६०।२।२१ को निवेदन ।

मिति २०६०।२।२० गते राति वटोरन तत्मा र रामलाल उरावले कुटपीट गरी मेरो शरीरमा लागेको चोट पटकको घाउ जाँच केश फाराम गरिपाऊँ भन्ने जिल्ला सिरहा आसोपुर वलकवा२ बस्ने शिवकुमार यादवको २०६०।२।२१ को निवेदन ।

जिल्ला सिरहा आशोपुर वलकवा गा.वि.स. वडा नं. २ स्थित रामलाल उरावको आँप बगैँचा स्थित बिचोबीच छरपष्ट रहेको सो छाप्रोभन्दा पश्चिम २ फीटमा बाँसको लाठी र सिसा फुटेको टर्च लाईट समेत रहेको, उक्त टर्च तथा लाठी प्रहरीले बरामद गरी लगेको, २०६०।२।२० गते राति जिल्ला सिरहा आसोपुर वलकवा गा.वि.स. वडा नं. २ बस्ने शिवकुमार यादव समेतका व्यक्तिहले ऐ.ऐ. बस्ने रामलाल उराउ र भारत वरौनी बस्ने वटोरन तत्मालाई कुटपीट गरेको २०६०।२।२१ को घटनास्थल प्रकृति मुचुल्का ।

भारत वरौनी फूलवरिया बस्ने वटोरन तत्मा, जिल्ला सिरहा आसोपुर वलकवा बस्ने रामलाल उराव र शिवकुमार यादवको शरीरमा लागेको चोट पटकहरूको घाउ जाँच केश फाराम मिसिल सामेल रहेको ।

आँप बगैँचा रुङ्ने कार्यमा मिति २०६०।२।२० गते राति जिल्ला सिरहा आसोपुर वलकवा गा.वि.स. वडा नं. २ स्थित आँप बगैँचामा म, वटोरन तत्मा र रोस्तम मिया समेत एउटा गाछी मुनी सुतिरहेको अवस्थामा प्रतिवादी शिवकुमार यादव रातको १२ः०० बजेको समयमा सो बगैँचामा प्रवेश गरी वटोरन तत्मालाई कुटपीट गरी पुनः अन्य प्रतिवादीहरू असर्फी यादव, वच्चु यादव, रामदेव यादव, सिल्टु यादव, रामअसिष यादवलाई लिई आई म  जाहेरवाला समेतलाई कुटपीट गरी सख्त घाइते बनाएकोमा सोही चोटका कारण वटोरन तत्माको मिति २०६०।२।२१ गते राति मृत्यु भएको भन्ने समेतको रामलाल उरावको २०६०।२।२२ गतेको जाहेरी दरखास्त ।

जिल्ला सिरहा आसोपुर वलकवा गा.वि.स. वडा नं. २ मा रहेको अवधलाल उरावको आँप बगैँचा स्थित पश्चिम टाउको पूर्वपट्टि खुट्टा भई उत्तानो अवस्थामा मृतक वटोरन तत्माको लाश रहेको, बायाँ आँखा वरिपरि कालो निलडाम देखिएको भन्ने समेतको घटनास्थल लाश प्रकृति मुचुल्का ।

मिति २०६०।२।२० गते राति गोलवजार स्थित सन्ध्या होटलमा नास्ता र रक्सी समेत खाई अं. १०ः०० वजे राति आफ्नो घर वलकवातिर म रामवृक्ष साह र रामदेव यादव एउटै मोटरसाइकलमा चढी निज रामवृक्ष साहको घरमा वसी गफ गाफ हुँदाहुँदै म त्यहाँबाट आफ्नो घरतर्फ जाने क्रममा अबधलाल यादवको आँप बगैँचामा पुगी आँप बगैँचा रुङ्ने वटोरन तत्मालाई बोलाउँदा निज एक्कासी व्यूति मेरो शरीर समेतमा  हातापात गरेपछि मलाई रिसउठी मैले पनि मेरो हातमा भएको टर्च लाईट तथा मुड्की समेतले कुटपीट गरी आफ्नो घर तर्फ जाने क्रममा गाउँकै असर्फी यादव, वेचु यादव, रामदेव यादव, राम आशिष यादव र सिल्टू यादव समेत हल्ला सुनी सो बगैँचातर्फ आउँदा रहेछन् ।  मैले आफ्नो व्यहोरा बताए, त्यसपछि सो बगैंचामा आइन, निजहरू आएका थिए के के गरे भन्ने समेत व्यहोराको पक्राउ परेका प्रतिवादी शिवकुमार यादवको अनुसन्धान अधिकारीसमक्ष भएको बयान कागज ।

बाँया किड्नी फुटी पेटमा जम्मा भई वटोरन तत्माको मृत्यु भएको भन्ने व्यहोराको शव परीक्षण प्रतिवेदन ।

आँप बगैँचा रुङ्ने क्रममा वटोरन तत्मा, रोस्तम मिया र रामलाल उराव एउटा आँपको गाछी मुनी र म सो भन्दा पर अर्काे बगैँचामा सुतेको थिएँ । रातको अं. १२ः०० बजेको समयमा निज शिवकुमार यादव आँप बगैँचा भित्र प्रवेश गरी वटोरन तत्मालाई बोलाउँदा वटोरन तत्माको एक्कासी निन्द्रा खुली निज शिवकुमार यादवको शरीरमा हात पुग्दा निज शिवकुमार रिसाई वटोरन तत्मालाई कुटपीट गरेका र गाउँलेहरूलाई लिएर आउँदा रोस्तम मियाले मलाई जानकारी गराएका हुन् । निजहरू सुतेको बगैँचामा आउँदा वटोरन तत्मालाई शिवकुमार यादवले उचाल पछार गर्दै थिए । अन्य प्रतिवादी भने पूर्वतर्फ जादै थिए । हामी पुग्नासाथ शिवकुमार पनि पूर्वतर्फ लागे । त्यसपछि अन्य गाउँलेहरूको सहयोगमा घाइतेहरूलाई उपचार गराउन लागे । भोलिपल्ट २१ गते राति सोही चोटको कारण निज वटोरन तत्माको मृत्यु भएको हो भन्ने समेतको भारत वरौनी बस्ने मो. इस्राफिलको कागज ।

मिति २०६०।२।२० गते राति आसोपुर वलकवा२ बस्ने शिवकुमार यादव समेतका व्यक्तिहरूले कुटपीट गरी सोही चोटका कारण मिति २०६०।२।२१ गते राति मेरो छोरा वटोरन तत्माको मृत्यु भएको भन्ने कुरा सुनी थाहा पाई आई हेर्दा मेरो छोराको मृतक लाश देखो चिनो । निज छोरालाई कुटपीट गर्ने व्यक्तिहरूलाई कारवाही गरिपाऊँ भन्ने समेत बाबु विजल तातीको कागज ।

शिवकुमार यादव, असर्फी यादव, वेचु यादव, रामदेव यादव, रामआशिष यादव, सिल्टु यादव समेतका ६ जना व्यक्तिहरूले निज वटोरन तत्मा र रामलाल उरावलाई समेत सख्त घाइते हुने गरी कुटपीट गरी भागी गए भन्ने कुरा सुनी सो घटनास्थलमा आई घाइतेहरूलाई उपचार गराई आएका हौं । २०६०।२।२१ गते राति म समेत निज वटोरन तत्मालाई रुङ्न बसेका कारण सोही कुटपीटका कारण रातको अं. २ बजे निजको मृत्यु भएको हो भन्ने समेतको अवधलाल उरावको कागज ।

२०६०।२।२० गते साँझ जिल्ला सिरहा चन्द्रलालपुर ६ बस्ने राजकुमार यादव, ऐ. आसोपुर वलकवा २ बस्ने रामवृक्ष साह समेतका ५ जना व्यक्तिहरू मेरो होटलमा नास्ता रक्सी समेत खाई अन्दाजी ९ः३० बजेतिर होटल वाहिर निस्केका हुन् । त्यसपछि को कता गए मैले हेरिन । हाल यस कार्यालयमा रहेका व्यक्ति पनि थिए भन्ने समेतको  विजयकुमार लामाको कागज ।

२०६०।२।२० गते राति हामी ४ जना जिल्ला सिरहा आसोपुर गोलवजार चोक स्थित सन्ध्या होटलमा केही नास्ता गरी सो होटलबाट वाहिर निस्कियौँ । निज शिवकुमार यादवलाई देखेको हो । निजसँग हाम्रो वोलचाल भएन । हामी आफ्नो घर तर्फ गयौँ । निज कता गए थाहा भएन भन्ने समेत व्यहोराको रामदेव यादव, रामवृक्ष साह, रामचन्द्र यादव र राजकुमार यादवको कागज ।

मिति २०६०।२।२० गते राति आँप बगैँचा रुङ्ने क्रममा म वटोरन तत्मा र रामलाल उराव जिल्ला सिरहा आसोपुर वलकवा गा.वि.स. २ स्थित अवधलाल उरावको आँप बगैँचामा वरपर सुतेका थियौं । रातको अन्दाजी १२.०० बजेको समयमा निज शिवकुमार यादव सो आँप बगैँचामा आई वटोरन तत्मा र म सुती रहेको बेला सोही ठाउँमा पुगी वटोरनलाई ३÷४ पटक बोलाउँदा निजको निन्द्रा खुलेन, मेरो निन्द्र खुली म उठे । त्यसपछि पनि वटोरनलाई निजले बोलाउँदा वटोरन नउठे पछि छेउमा रहेको आँपको पोको वटोरन माथि निज शिवकुमार यादवले फ्याँके । त्यसपछि वटोरन तत्मा अतालिदै निन्द्रा मै हात चलाउँदा निज शिवकुमारको जीउमा हातले लागेछ । त्यसपछि निज शिवकुमार यादव रिसाई कुटपीट गरी पूर्वतर्फ लागे । केही वेर पछि अन्य व्यक्तिहरूलाई लिई आउँदा म त्यहाँबाट भागी  गएँ । मो. इस्राफिललाई बोलाई आउँदा निजहरूले वटोरन तत्मालाई र रामलाल उरावलाई सख्त कुटपीट गरी पूर्वतर्फ लाग्दै थिए । त्यसपछि हामी पुग्दासाथ शिवकुमार पनि भागी गए । सोही कुटपीटका कारणबाट मिति २०६०।२।२१ गते राति मृत्यु भएको हो भन्ने समेतको रोस्तम मियाको कागज ।

निज वटोरन तत्मा समेतलाई कामको सिलसिलामा भारतबाट ल्याई आँप बगैँचा रुङ्न राखेकोमा २०६०।२।२० गते जिल्ला सिरहा आसोपुर वलकवा गा.वि.स.२ बस्ने शिवकुमार यादव समेतका व्यक्तिहरूले कुटपीट गरी सोही चोटका कारण मिति २०६०।२।२१ गते राति मृत्यु भएको भन्ने सुनी थाहा पाएको हुँ भन्ने समेतको ठेकेदार मोहमद नसिमको कागज ।

मिति २०६०।२।२० गते रातको अन्दाजी १२ः०० बजेको समयमा बगंैचामा हो हल्ला हुँदा सुनी सो स्थानमा आउँदा रामलाल उराव सख्त घाइते र वटोरन तत्मा वेहोस अवस्थामा थिए, के भो भनी बुझ्दा शिवकुमार यादव समेतले कुटपीट गरी यस्तो बनाई दिए भन्ने कुरा निज जाहेरवालाबाट थाहा पायौं । त्यसपछि अन्य गाउँलेहरू समेत भई उपचार गराउन लागेको  हो । उपचारपश्चात् सोही वगैचामा आई बसेको अवस्थामा सोही चोटको कारण निज वटोरन तत्माको मृत्यु भएको हो । जाहेरीमा उल्लिखित प्रतिवादीहरूले नै कुटपीट गरी मृत्यु भएकोमा विश्वास लाग्छ भन्ने रामचन्द्र उराव समेतले गरिदिएको वस्तुस्थिति मुचुल्का ।

मृतक वटोरन तत्माको मृत्यु प्रतिवादीहरू शिवकुमार यादव समेतले कुटपीट गरेको कारणबाट भएको हुँदा प्रतिवादीहरू शिवकुमार यादव असर्फी यादव, वेचू यादव, सिल्टु यादव र राम आशिष यादवले मुुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. को विपरीतको कसूर गरेको हुँदा ऐ. महलको १३(३) नं. बमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग पत्र ।

२०६०।२।२० गते राति आफ्नै घरमा थिएँ । मैले वटोरनलाई कुटपीट गरेको  छैन । कसले कुटपीट गरे मलाई थाहा भएन । जाहेरवाला फरक विचारधाराको मान्छे भएकोले र मेरो विरोधी भएकोले मलाई फसाउन झूठा जाहेरी दिएको हो भन्ने समेत व्यहोराको प्रतिवादी शिवकुमार यादवले अदालतमा गरेको बयान ।

मिति २०६०।२।२० गते राति जाहेरवाला र मृतकसँग मेरो भेटघाट भएन । उक्त मिति समयमा म सिरहा जिल्लाको सीतापुरमा भैंसी किन्न गएको थिएँ । म सीतापुरमा भैंसी किन्न मिति २०६०।२।२० गते विहान गई ऐ. २२ गते राति मात्र घर फर्केको हुँ । घटना भएको रात म आप्mनो घरमा नभएकोले मैले मृतक वटोरन तत्मालाई कुटपीट गरेको होइन । म सीतापुरबाट घर आउँदा मृतक वटोरन तत्मा हार्ट र किड्नीको विरामी भएकोले रातमा मरे भनी गाउँलेले भने पछि थाहा पाएको हुँ । गाउँ घरको रिसइवीले मउपर झूठा व्यहोरा लेखाएका हुन् । मैले अभियोग माग दावीबमोजिम कुनै कसूर नगरेकोले सजाय हुनुपर्ने होइन । सफाइ पाऊँ भन्ने प्रतिवादी रामदेव यादवले २०६०।५।२३ गते अदालतमा गरेको बयान ।

मिति २०६०।२।२० गते राति म आफ्नै घरमा थिएँ । जाहेरीअनुसार मैले मृतक वटोरन तत्मालाई कुटपीट गरेको होइन । मृतकलाई कसले कुटपीट गरे मलाई थाहा छैन । मृतक वटोरन तत्मा मरेको कुरा मिति २०६०।२।२६ गते म ससुरालीमा आउँदा गाउँका मानिसले भने पछि थाहा पाएको हुँ । अनुसन्धानको क्रममा कागज गर्ने मानिसहरू जाहेरवालाको भनाईमा लागि मउपर झूठा व्यहोरा लेखाएका हुन् । मृतक वटोरन तत्मा र प्रतिवादी शिवकुमार यादव बीच आँपको वगैचामा झगडा भयो भएन, म घरमा भएकोले थाहा भएन । मैले अभियोग माग दावीबमोजिम कुनै कसूर नगरेको हुनाले सजाय हुनुपर्ने होइन । सफाइ पाऊँ भन्ने प्रतिवादी रामआशिष यादवले २०६०।५।२४ गते अदालतमा गरेको बयान ।

मिति २०६०।२।२० गते राति म सिरहा जिल्लाको असनपुरमा थिएँ । म असनपुरमा २०६०।२।१५ गते गई ऐ. २३ गते घरमा आएको हुँ । जाहेरीअनुसार म ससुराली घरमा भएकोले मैले मृतक वटोरन तत्मालाई कुटपीट गरेको छैन, होइन । ससुरालीबाट २०६०।२।२३ मा घर आउँदा गाउँलेबाट वटोरन तत्मा हर्ट र किड्नीको विरामीले मरे भन्ने सुनेको हुँ । मैले मृतकलाई कुटपीट गरेको छैन । जाहेरवालाले गाउँ घरको रिसइवीले ज्यान मुद्दामा मलाई फसाउन झूठा जाहेरी दिएका हुन् । म उपरको कागज व्यहोरा झूठा हुन् । अभियोग दावीबमोजिम मैले कुनै कसूर नगरेकोले मलाई सजाय हुनुपर्ने होइन भन्ने प्रतिवादी असर्फी यादवले २०६०।५।२४ गते अदालतमा गरेको बयान ।

मिति २०६०।२।१९ गते म ससुराली घर कल्याणपुरमा सालोको छोराको मुण्डन भएकोले गएको थिएँ । मिति २०६०।२।२० गते मुण्डनको काम सकी २०६०।२।२२ गते ससुरालीबाट घर फर्किए पछि मृतक वटोरन तत्मा मरेको कुरा थाहा पाएको हुँ । म गाउँ घरमा नभएकोले वटोरनलाई कुटपीट गरेको होइन । कसले कुटपीट गरे थाहा  छैन । किड्नीको विरामी भएकोले मरेको भनी गाउँलेहरूले भनेको सुनेको सम्म हुँ । गाउँको राजनीतिक गुटवन्दीको कारणले मलाई फसाउन जाहेरी दिएका हुन् । अभियोग दावीबमोजिम मैले कुनै कसूर नगरेकोले सजाय पाउनु पर्ने होइन । सफाइ पाऊँ भन्ने प्रतिवादी वेचू यादवले अदालतमा गरेको बयान ।

प्रतिवादी सिल्टु यादवको म्याद वेपत्ते व्यहोराबाट तामेल भै निजको अर्काे वतन खुल्न नआएको ।

प्रतिवादी शिवकुमार यादवको साक्षी भुला यादव र प्रदीपकुमार साह समेतले निजको बयान व्यहोरालाई समर्थन गरी बकेको वकपत्र मिसिल सामेल रहेको ।

प्रतिवादी रामआशिष यादवको साक्षी प्रदीप यादवले निजको बयान समर्थन गरी गरेको वकपत्र । साथै असर्फी यादवको साक्षी फूलवा यादव र प्रतिवादी वेचु यादवको साक्षी जयराम यादवले निजको बयान समर्थन गरी गरेको वकपत्र मिसिल सामेल  रहेको ।

पूर्व रिसइवी नभएको, लुकी चोरीकन नहानेको, जोखिमी हतियारले पनि नहानी उसै मौकामा उठेको रिस थाम्न नसकी टर्च र मुड्कीले हान्दा सोही कारणबाट मृत्यु भएको देखिदा प्रतिवादी शिवकुमार यादवलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम १० वर्ष कैद हुन्छ । अन्य प्रतिवादीहरू असर्फी यादव, वेचु यादव, रामदेव यादव र रामआशिष यादवले बटरोनलाई कुटपीट गरी निजहरूको कुटपीटको चोटबाट बटरोन तत्माको मृत्यु भएको भन्ने नदेखिँदा ज्यानसम्बन्धको १३(३) नं. को अभियोग माग दावी प्रमाणित नभएकोले निज प्रतिवादीहरूले सफाइ पाउने ठहर्छ । अर्का फरार प्रतिवादी सिल्टु यादवको हकमा जिल्ला अदालत नियमावली, २०५२ को नियम १९(क)(४) बमोजिम मुद्दा तामेलीमा राखी दिने ठहर्छ भन्ने समेत व्यहोराको सिरहा जिल्ला अदालतको २०६१।३।१ को फैसला ।

कुटपीट हुँदा लागेको घाउ खत साधारण हो भन्ने कुरा बटोरन तत्मा आफैंले गराएको घाउ जाँच केश फाराममा चिकित्सकले खुलाएको छ । मृतकको मृत्यु आप्mनै  आन्तरिक रोगको कारणबाट भएको हो भन्ने कुरा प्रमाणित भएको र जाहेरी व्यहोरा कही कतैबाट पुष्टि नभएको स्थितिमा १० वर्ष कैद गर्ने गरेको सिरहा जिल्ला अदालतको कानूनी त्रुटिपूर्ण फैसला बदर गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी शिवकुमार यादवको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावदेन पत्र ।

मृतक बटोरन तत्माको घाउ जाँच केश फाराममा एकभन्दा वढी चोट लागेको भन्ने देखिन्छ । कुटपीटको कारणबाट किड्नी फेल भै मृतकको मृत्यु भएको पोष्टमार्टम रिपोर्टमा उल्लेख भएको छ । प्रतिवादीहरूको प्रहारबाट मृतकको मृत्यु भएको कुरा मिसिल प्रमाणबाट पुष्टि भई रहेको स्थितिमा प्रतिवादी शिवकुमार यादवलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम १० वर्ष कैद हुने र अन्य प्रतिवादीहरूलाई सफाइ दिने ठहराई भएको सिरहा जिल्ला अदालतको कानूनी त्रुटिपूर्ण फैसला बदर गरी अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन पत्र ।

रामलाल उरावको २०६०।२।२२, प्रतिवादी शिवकुमारको २०६०।२।२१ र रामलाल उराव तथा मृतक बटोरन तत्माले संयुक्त रुपमा दिएको २०६०।२।२१ को निवेदन व्यहोरा र प्रतिवादीले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको बयान समेतका मिसिल संलग्न कागज प्रमाणबाट घटना वारदातको प्रकृति, समय र मृतकको शरीरमा देखिएको घा चोटलाई हेर्दा प्रतिवादी शिवकुमार यादवलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १४ नं. को कसूरमा सजाय गर्ने र अन्य प्रतिवादीहरूले सफाइ पाउने ठहर गरी शुरुले गरेको फैसला फरक पर्न सक्ने देखिदा छलफलको लागि अन्य प्रतिवादीहरू समेत झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत राजविराजको २०६१।१२।२ को आदेश ।

मृतकलाई लागेको चोट नै मृत्युको कारण बन्न सक्ने भन्ने घा जाँचमा उल्लेख भएको देखिएन । प्रतिवादी शिवकुमार र अन्य प्रतिवादीहरूले मृतक र जाहेरवालासँग दोहोरो कुटपीटको वारदात गरे भएकोले यस्तोमा कसैको मृत्युको कारण अन्य अर्थात् मृगौला फुटी भएको देखिँदा भवितब्य ठहर गर्नु पर्ने हुन्छ । सिरहा जिल्ला अदालतको २०६१।३।१ को फैसला उल्टी भै प्रतिवादी शिवकुमारलाई ज्यानसम्बन्धी महलको  ५ नं. को कसूर कायम भै सोही ऐनको ६(४) नं. बमोजिम दुई वर्ष कैद सजाय हुने र अन्य प्रतिवादीहरू असर्फी यादव, वेचु यादव, रामदेव यादव र रामआशिष यादवलाई जनही रु. ५००।जरीवाना हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजको २०६२।३।१२ को फैसला ।

जाहेरवाला र मृतकले घा जाँच केश फाराम गराई पाऊँ भनी दिएको निवेदनमा शिवकुमार समेतका ६ जनाले कुटेको भनी किटानी नाम उल्लेख भएको, जाहेरी व्यहोरामा घटनाक्रम उल्लेख भएको र मौकाको शिवकुमारको बयानले समर्थन गरी र मृतकको मृत्यु प्रतिवादीहरूकै कर्तव्यबाट भएको कुरा पुष्टि हुँदाहुँदै ज्यानसम्बन्धीको ५ नं. को कसूर कायम गरी ऐ. को ६(४) नं. बमोजिम प्रतिवादी शिवकुमार यादवलाई २ वर्ष कैद र अन्य प्रतिवादीहरूलाई रु. ५००।जरीवाना गर्ने गरी भएको पुनरावदेन अदालत राजविराजको त्रुटिपूर्ण फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।

समग्र मिसिलको तथ्यबाट मृतकको मृत्यु प्रतिवादीहरूको कर्तव्यबाट भएको भन्ने तथ्य स्थापित नभै मृतकको मृत्यु आफ्नै आन्तरिक रोगको कारण भएको भन्ने देखिँदा प्रतिवादी शिवकुमारलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम १० वर्ष कैद हुने र अन्य प्रतिवादीहरूले सफाइ पाउने ठहर गरेको सिरहा जिल्ला अदालतको फैसला उल्टी गरी प्रस्तुत वारदातलाई भवितब्य ठहर गरी प्रतिवादी शिवकुमारलाई ज्यानसम्बन्धीको ५ नं. को कसूरमा ऐ. को ६(४) नं. बमोजिम २ वर्ष कैद हुने र अन्य प्रतिवादीहरूलाई जनही रु. ५००।जरीवाना हुने ठहराई भएको पुनरावेदन अदालत राजविराजको २०६२।३।१२ को फैसला मिलेको देखिन्न । अभियोग दावीबमोमिज पूरा सजाय हुनुपर्छ भन्ने पुनरावेदन जिकीर पुग्न सक्ने अवस्था पनि देखिन्न । मुद्दाको समग्र मिसिल अध्ययनबाट पुनरावेदन नगर्ने प्रतिवादीहरूको क्रियाबाट कसूर वारदात स्थापित हुन नसक्ने स्थितिमा निजहरूलाई भएको सजायमा उन्मुक्ति दिन अ.बं. २०५ नं. को कानूनी व्यवस्थामा समेत स्पष्ट रुपमा उल्लेख नभएको र प्रतिवादीहरू मध्ये कसैको पुनरावेदन परेको अवस्थामा मात्र विचार गर्न सकिने, नभए पुनरावेदन नपरेको कारणले त्यस्तो प्रतिवादीको हकमा विचार गर्नु नपर्ने कुराले न्यायिक सिद्धान्त र प्रचलनकै स्थान ग्रहण गरी रहेकोले प्रस्तुत मुद्दामा अपनाइएको कार्यविधि र व्यक्त गरिएको राय उपरोक्त प्रतिपादित न्यायिक सिद्धान्त एवं प्रचलनसँग विरोध पर्न जाने भै निश्चित सिद्धान्तसहित एकरुपता कायम गर्नु उचित देखिन आएकोले यस पृष्ठभूमिमा प्रतिवादीमध्ये कसैको पुनरावेदन नपरेको आधारमा नपाउनु पर्ने सजाय भै त्यस्तो सजाय नै अन्तिम रुपमा कायम हुन दिँदा न्याय नै मर्न जाने अवस्था हुँदा त्यस्तो कुराको सम्बोधन गर्न भै रहेको सिद्धान्त वा प्रचलन बाधक देखिई जटिल कानूनी प्रश्न उपस्थित भएको देखिन आएबाट यस्तो जटिल कानूनी प्रश्नको निर्णय पूर्ण इजलासबाट हुन उपयुक्त देखिँदा प्रस्तुत मुद्दाको संयुक्त इजलासको लगत कट्टा गरी सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३ को उपनियम (१) को खण्ड (घ) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासबाट मिति २०६४।१०।२० मा भएको आदेश ।

नियमबमोजिम पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक÷वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री ठोकप्रसाद सिवाकोटीले प्रस्तुत मुद्दामा संयुक्त इजलासबाट असाधारण अधिकारक्षेत्र ग्रहण गरी न्याय निरुपण गरेजस्तो गरी निष्कर्षमा पुगेको अवस्था छ । अदालतबाट विद्यमान कानूनी व्यवस्था भन्दा बाहिर गएर न्याय निरुपण गर्न मिल्ने हुँदैन । पूर्ण इजलासबाट अ.वं २०५ नं. को व्याख्या भै सिद्धान्त कायम भैसकेको अवस्थामा संयुक्त इजलासबाट सो भन्दा अलग व्याख्या गर्न मिल्ने पनि हुँदैन । वादी पक्षले गरेको पुनरावेदनबाट प्रतिवादीले पुनरावेदन गरे सरह न्याय निरुपण गर्न मिल्ने अवस्था रहँदैन भनी बहस जिकीर प्रस्तुत गर्नुभयो ।

२.    मुद्दाको तथ्यतर्फ विचार गर्दा प्रतिवादीहरूले कुटपीट गरेको कारण मृतक बटोरन तत्माको मृत्यु भएको कुरा पोष्ट मार्टम रिपोर्ट, प्रतिवादी शिवकुमार यादवको वयान एवं वस्तुस्थितिका मानिसहरूको भनाइ समेतबाट पुष्टि भएको हुँदा प्रतिवादीहरू शिवकुमार यादव, असर्फी यादव, वेचु यादव, रामदेव यादव, सिल्टु यादव र रामआशिष यादवलाई ज्यानसम्बन्धीको १ नं. को कसूरमा ऐ. को १३(३) नं. बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग माग दावी रहेको देखिन्छ । मृतक वटोरन तत्मा, जाहेरवाला रामलाल उराव र प्रतिवादी शिवकुमार यादव समेतका मानिसहरू बीच २०६०।२।२० गते आँपको बगैँचा भित्र कुटपीट भएको वारदातका सम्बन्धमा मृतक, प्रतिवादी र जाहेरवालाले छुट्टाछुट्टै निवेदन दिई घा जाँच गराएको भन्ने कुरा मिति २०६०।२।२१ को प्रतिवेदनबाट देखिएको छ । मृतक र जाहेरवालाले २०६०।२।२० गते रातको समयमा आँपको बगंैचा कुरी बसेको समयमा विपक्षी शिवकुमार यादव समेतले शरीरको विभिन्न भागमा कुटपीट गरी चोट पटक नीलडाम बनाई दिएको भनी घा जाँचको लागि निवेदन दिएकोमा मृतक वटरोन तत्माको घा जाँच प्रतिवेदनमा ीभात भथभ गउउभच बलम यिधभच कष्मभ लष्ििमयm भनी चोट उल्लेख भएको पाइन्छ । कुटपीटको घटनाबाट सामान्य उपचार गराई आए पश्चात सोही बगंैचामा बसेको अवस्था निज वटरोनको  मृत्यु भएको भन्ने व्यहोरा उल्लेख गरी जाहेरी परेको र मिसिल संलग्न शव परीक्षण प्रतिवेदन हेर्दा मृतकको मृत्युको कारण म्भबतज मगभ तय ऋज। ीगलन मष्कभबकभ चगउतगचभम, भिात पष्मलभथ भ ज्बझयउभल ायलष्गm उल्लेख भएको देखिन्छ ।

३.    प्रतिवादीमध्येका शिवकुमार यादवले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा मृतकसँग कुटपीट हुँदा टर्च (लाईट) ले कुटपीट गरेको भनी बयान गरेका छन् भने अन्य प्रतिवादीहरू कसूर गरेको कुरामा इन्कार रहेका छन् । अदालतसमक्षको वयानमा सबै प्रतिवादीहरूले इन्कारी वयान गरेको देखिन्छ । शुरु अदालतबाट शिवकुमार यादवलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम १० वर्ष कैद हुने र अन्य प्रतिवादीहरूले सफाइ पाउने ठह¥याएउपर परेको पुनरावेदनको रोहमा पुनरावेदन अदालत राजविराजबाट भवितव्यमा सजाय गरेको पाइन्छ । सो फैसलाउपर वादी नेपाल सरकारकातर्फबाट यस अदालतमा परेको पुनरावेदनमा यस अदालतको संयुक्त इजलासबाट मृतकको मृत्यु प्रतिवादीहरूको कर्तव्यबाट भएको भन्ने तथ्य स्थापित नभै मृतकको मृत्यु आफ्नै आन्तरिक रोगको कारण भएको भन्ने देखिँदा प्रस्तुत वारदातलाई भवितव्य ठहर गरी प्रतिवादी शिवकुमारलाई ज्यानसम्बन्धीको ५ नं. को कसूरमा ऐ. को ६(४) नं. बमोजिम २ वर्ष कैद हुने र अन्य प्रतिवादीहरूलाई जनही रु. ५००।जरीवाना हुने ठहराई भएको पुनरावेदन अदालत राजविराजको मिति २०६२।३।१२ को फैसला मिलेको देखिन्नभन्ने निष्कर्षमा पुगी प्रतिवादीमध्ये कसैको पुनरावेदन नपरेको आधारमा नपाउनु पर्ने सजाय भै त्यस्तो सजाय नै अन्तिम रुपमा कायम हुन दिँदा न्याय नै मर्न जाने अवस्था हुँदा त्यस्तो कुराको सम्बोधन गर्न भै रहेको सिद्धान्त वा प्रचलन बाधक देखिई जटिल कानूनी प्रश्न उपस्थित भएको भन्ने आधारमा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (१) को खण्ड (घ) बमोजिम यस इजलाससमक्ष पेश हुन आएको देखिन्छ । वस्तुतः प्रस्तुत मुद्दामा यस इजलासबाट मुख्य रुपमा कसूरदार ठहरिएका प्रतिवादीहरूमध्ये कसैको पनि पुनरावेदन नपरेको अवस्थामा वादीकातर्फबाट परेको पुनरावेदनलाई नै प्रतिवादीहरूका तर्फबाट समेत पुनरावेदन परेको सरह मानी न्याय निरुपण गर्न मिल्ने हुन्छ वा हुँदैन भन्ने सम्बन्धमा अ.वं. २०५ नं. को सन्दर्भ र त्यसको दायराका बारेमा विश्लेषण गरिनु पर्ने देखिन्छ ।

            ४.    उल्लिखित सन्दर्भमा प्रथमतः मुलुकी ऐन, अदालती वन्दोवस्तको २०५ नं. मा रहेको कानूनी व्यवस्थालाई हेर्दा एकै मुद्दामा हार्ने झगडियामध्ये कसैको पुनरावेदन उजूर परेकोबाट जाँचिदा इन्साफ वा सजाय उल्टिने भई सो इन्साफ सजाय उल्टाई फैसला गर्दा पुनरावेदन उजूर नदिने झगडियाका हकमा समेत इन्साफ सजाय उल्टिन जाने भयो भने त्यस्तोमा पुनरावेदन उजूर परेको छैन भनी सदर गरी दिन हुँदैन । पुनरावेदन उजूर नदिनेका हकमा समेत पुनरावेदन उजूर दिने सरह उल्टाई छिनिदिनु पर्छभन्ने व्यवस्था गरिएको पाइन्छ । उक्त कानूनी व्यवस्थाको सोझो अर्थ हार्ने झगडियामध्ये कसैको पुनरावेदन उजूर परेको अवस्थामा पुनरावेदन उजूर नदिने झगडियाका हकमा समेत पुनरावेदन उजूर दिने सरह व्यवहार गरी न्याय निरुपण गर्नुपर्ने भन्ने हुन्छ । हार्ने पक्षमध्ये कसैको पनि पुनरावेदन नपरेको अवस्थालाई स्वाभाविक रुपमा फैसलामा चित्त बुझाई बसेको भन्ने अर्थमा लिइन्छ । फैसलामा भएका त्रुटिहरू सच्च्याउने प्रक्रिया कानूनले निर्धारण गरेको हुन्छ । फैसलामा चित्त बुझाई पुनरावेदन नगरी बसेको मुद्दाका पक्षका हकमा कानूनद्वारा निश्चित गरिएको प्रक्रिया भन्दा बाहिरबाट अदालत आफैं सक्रिय भई तल्लो अदालतको फैसला उल्टाई न्याय निरुपण गर्दा त्यसले न्यायमा निश्चित मापदण्ड खलबलिई न्यायिक अराजकताको स्थिति समेत सिर्जना हुन सक्छ भन्ने कुरामा पनि विचार पु¥याइनु पर्छ ।

            ५.    अ.वं २०५ नं. ले मुद्दामा हार्ने झगडियामध्ये कुनै एकको पुनरावेदन परेको अवस्थामा सो पुनरावेदनको रोहबाट न्याय निरुपण हुँदा फैसला उल्टी हुने अवस्थामा पुनरावेदन नगर्ने झगडियाको हकमा समेत उल्टी गरी न्याय निरुपण गर्नुपर्ने गरी गरेको व्यवस्थाले समान अवस्थाका मुद्दाका एक पक्षमध्ये कुनै एकको उजूरीका आधारमा हुने न्याय निरुपणबाट अरु पनि विमूख हुन नपरोस्, समान अवस्थाका झगडिया मध्ये सबैलाई समान व्यवहार होस्, समान अवस्थामा रहेका पक्षहरूमध्ये कसैको हकमा सजायबाट छुट्कारा पाउने अवस्थामा अन्यलाई सजाय हुने अवस्था नबनोस् भन्ने नै   हो । तर त्यसका लागि समान अवस्थाका व्यक्तिहरूमध्ये कुनै एकको उजूरी वा पुनरावेदन पर्नु पर्ने पूर्व शर्त कानूनले निश्चित गरेको र सोही उजूरी वा पुनरावेदनको रोहमा मात्र निजहरूको हकमा न्याय निरुपण गरिने कानूनको स्पष्ट आशय रहेको अवस्थामा वादी पक्षको पुनरावेदनबाट प्रतिवादीहरूको हकमा न्याय निरुपण गर्न मिल्ने अवस्था देखिँदैन ।

            ६.    प्रस्तुत मुद्दामा पुनरावेदन अदालत राजविराजले प्रतिवादी शिवकुमारलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम १० वर्ष कैद हुने र अन्य प्रतिवादीहरूले सफाइ पाउने ठहर गरेको सिराहा जिल्ला अदालतको फैसला उल्टी गरी वारदातलाई नै भवितव्य ठह¥याई प्रतिवादी शिवकुमारलाई ज्यानसम्बन्धीको ५ नं. को कसूरमा ऐ. को ६(४) नं. बमोजिम २ वर्ष कैद हुने र अन्य प्रतिवादीहरूलाई जनही रु. ५००।जरीवाना हुने ठहराई फैसला गरेको र सोउपर प्रतिवादीहरूले यस अदालतमा  पुनरावेदन गरेको अवस्था छैन । सो फैसला त्रुटिपूर्ण रहेको भन्दै अभियोग माग दावीबमोजिम सजाय गरिपाऊँ भनी वादी नेपाल सरकारका तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको भएतापनि प्रतिवादीमध्ये कसैको पुनरावेदन नपरेको आधारमा नपाउनु पर्ने सजाय भै त्यस्तो सजाय नै अन्तिम रुपमा कायम हुन दिँदा न्याय नै मर्न जाने भन्ने समेतको तर्कका आधारमा वादी पक्षको सोही पुनरावेदनको रोहमा पुनरावेदन नगर्ने प्रतिवादीहरूका हकमा समेत बोल्नु पर्ने भन्ने निष्कर्षमा संयुक्त इजलास पुगेको   देखिन्छ । तर संयुक्त इजलासबाट भएको फैसलामा नै पुनरावेदन नगर्ने प्रतिवादीहरूलाई भएको सजायमा उन्मुक्ति दिन अ.बं. २०५ नं. को कानूनी व्यवस्थामा स्पष्टरुपमा उल्लेख नभएको भनी स्वीकार गरिएको सन्दर्भलाई पनि यहाँ विचार गर्नुपर्ने हुन्छ । त्यसरी कानूनमा उल्लेखै नभएको विषयलाई अन्यथा अर्थ लगाई सम्वोधन गर्न वा एक पक्षको मागबाट सो मागको ठीक उल्टो हुने गरी अर्को पक्षलाई उपचार दिन विद्यमान न्यायप्रणालीले अनुमति दिँदैन ।

            ७.    अ.वं. २०५ नं. को कानूनी व्यवस्था र त्यसको दायरा सम्बन्धमा यस अदालतको पूर्ण इजलासबाट यस अघि पनि व्याख्या भैसकेको देखिन्छ । चुनगुन जोलाहा वि. श्री ५ को सरकार भएको डाँका मुद्दामा अ.वं. २०५ नं. मा एउटा मुद्दामा सजाय पाउने एक भन्दा बढी कसूरदारहरू मध्ये कसैको पुनरावेदन परेको र कसैको पुनरावेदन नपरेकोमा पुनरावेदन गर्ने व्यक्तिको हकमा पुनरावेदन सुन्ने अदालतले गरेको फैसलाबाट सो व्यक्तिको सम्बन्धमा तलको अदालतले गरेको फैसला उल्टिने भयो र त्यसबाट पुनरावेदन नगर्ने व्यक्तिको हकमा तलको अदालतले गरेको फैसला असंगत हुन जाने भयो भने त्यस अवस्थामा पुनरावेदन नगर्ने व्यक्तिको हकमा समेत पुनरावेदन सुन्ने अदालतले निर्णय गरी तलको अदालतको फैसला उल्टाई फैसला गर्नुपर्ने कानूनी व्यवस्था भएको” (नेकाप २०५१, अङ्क ३, नि.नं. ४८७४, पृष्ठ १३८) भनी स्पष्ट रुपमा व्याख्या भैरहेको अवस्थामा त्यसको प्रतिकूल हुने गरी प्रतिवादीहरूमध्ये कसैको पनि पुनरावेदन नपरेको र वादी पक्षको मात्र पुनरावेदन परेको स्थितिमा वादी पक्षको पुनरावेदनबाट प्रतिवादी पक्षलाई अभियोग दावीबाटै सफाइ दिई उन्मुक्ति प्रदान गर्ने हदसम्मको व्याख्या गर्दा अ.वं. २०५ नं. को सोझै गलत अर्थ हुन गई उक्त कानूनी व्यवस्थाको अपव्याख्या हुन जान्छ । त्यसरी तह तह न्याय निरुपण हुँदै आएको कुनै एक मुद्दामा अदालतको साधारण अधिकारक्षेत्र अन्तर्गतबाट न्याय निरुपण गरिँदा विद्यमान कानूनी व्यवस्थालाई प्रयोजनहीन बनाउने, त्यसको दायरा अत्यन्त फराकिलो पार्ने वा त्यसमा संकुचन ल्याउने गरी व्याख्या गर्न सकिने हुँदैन । रिट अधिकारक्षेत्रबाट हेरे जस्तो गरी पूर्ण न्याय भन्दै पुनरावेदकीय अधिकारक्षेत्र अन्तर्गतको न्यायिक परिपाटी र न्यायको निश्चित मान्यतालाई खल्बल्याउन मिल्दैन । एउटा निश्चित कानूनी संरचनाले दिएको वा दिन खोजेको विषय भन्दा फरक अर्थ र सन्दर्भमा सो कानून प्रयोग गर्नु न्यायपालिकाको उद्देश्य र कर्तव्य पनि होइन ।

८.    जहाँसम्म संयुक्त इजलासबाट यस अदालतबाट श्री ५ को सरकार वि. लाक्पा शेर्पा समेत भएको कर्तव्य ज्यान मुद्दा (ने.का.प २०५६ अङ्क ६ नि.नं. ६७४२, पृष्ठ ४५३) र दुर्गा धिमाल वि. श्री ५ को सरकार भएको जीउ मास्ने बेच्ने मुद्दा (नेकाप २०५४ अङ्क ६, नि.नं. ६३९५, पृष्ठ ३३२) मा भएका फरक फरक रुलिङको सन्दर्भ उठाइएको छ, ती फैसलाहरूको तथ्यसँग प्रस्तुत मुद्दाको तथ्यको सादृश्यता देखिँदैन । ती दुबै मुद्दामा कसूरदार ठहरी सजाय पाएका प्रतिवादीहरू मध्ये कसैको पुनरावेदन परेको र कसैका पुनरावेदन नपरेको अवस्था रही पहिलो मुद्दामा पुनरावेदन नगर्ने प्रतिवादीको हकमा समेत पुनरावेदन गर्ने प्रतिवादीसरह नै निजको हकमा समेत इन्साफ गरिएको छ भने दोस्रो मुद्दामा पुनरावेदन गर्ने प्रतिवादीको हकमा मात्र विवेचना गरी फैसला भएको देखिन्छ । तर प्रस्तुत मुद्दामा त्यस्तो अवस्था नभै कसूरदार ठहरी सजाय पाएका प्रतिवादीहरूले पुनरावेदन अदालत राजविराजको फैसलाउपर यस अदालतमा पुनरावेदन नै गरेका छैनन् । वादी पक्षबाट परेको पुनरावेदनको रोहमा मात्र प्रस्तुत मुद्दाको सुनुवाइ गरी किनारा गर्नुपर्ने अवस्था हुँदा फरक अवस्था र स्थितिका फरक फरक मुद्दामा यस अदालतबाट भएको फैसला प्रस्तुत मुद्दाका लागि आधार बन्न सक्ने अवस्था देखिँदैन ।  

९.    माथि गरिएको विश्लेषण समेतका आधारमा प्रस्तुत मुद्दामा कसूरदार ठहरिएका प्रतिवादीहरूमध्ये कसैको पनि पुनरावेदन नपरेको र वादी पक्षबाट परेको पुनरावेदनको रोहमा इजलाससमक्ष पेश हुन आएको अवस्था छ । त्यसरी प्रतिवादीहरूमध्ये कसैको पनि पुनरावेदन नपरेको हुँदा एकै मुद्दामा हार्ने झगडियामध्ये कसैको पुनरावेदन उजूर परेको अवस्थामा मात्र आकर्षित हुने अ.वं. २०५ नं. को कानूनी व्यवस्थालाई वादीतर्फबाट मात्र परेको पुनरावेदनमा इन्साफ गर्दा समेत पुनरावेदन उजूर नदिने प्रतिवादीहरूका हकमा समेत न्याय निरुपण गर्नुपर्ने किसिमबाट अर्थ लगाउन नमिल्ने भन्ने निष्कर्षमा यो इजलास पुगेको छ । तसर्थ संयुक्त इजलासबाट उठाइएको अ.वं. २०५ नं. को कानूनी व्यवस्थाको सन्दर्भ र दायरा सम्बन्धी कानूनी प्रश्नको निरुपण भैसकेको परिप्रेक्ष्यमा प्रस्तुत मुद्दाको सम्पूर्ण तथ्यगत प्रश्नमा प्रवेश गरी पुनरावेदन अदालत राजविराजबाट मिति २०६४।१०।२० मा भएको फैसला मिले नमिलेको भन्ने सम्बन्धमा संयुक्त इजलासबाटै न्याय निरुपण हुनुपर्ने देखिएको हुँदा प्रस्तुत मुद्दाको पूर्ण इजलासको लगत कटृा गरी नियमानुसार संयुक्त इजलाससमक्ष पेश गर्नू ।

            उक्त रायमा हामी सहमत छौँ ।

न्या.गिरीशचन्द्र लाल

न्या.भरतराज उप्रेती

इति संवत् २०६६ साल चैत २६ गते रोज ५ शुभम्

इजलास अधिकृत ः उमेश कोइराला

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु