निर्णय नं. ८३३० - कर्तव्य ज्यान

निर्णय नं. ८३३० असार, २०६७
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी
संवत् २०६० सालको फौ.पु.नं. –३२९८
संवत् २०६० सालको साधक नं. ४२४
फैसला मितिः २०६६।११।३।२
मुद्दा ः– कर्तव्य ज्यान ।
पुनरावेदक वादीः बेनबहादुर गुरुङ्गको जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः जि. पर्वत भोर्ले गा.वि.स. वडा नं. ४ बस्ने डविन गुरुङ्ग समेत
वादीः बेनबहादुर गुरुङको जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रतिवादीः जिल्ला पर्वत भोर्ले गा.वि.स. वडा नं .४ बस्ने झिल्के भन्ने ज्ञानबहादुर आले
शुरु फैसला गर्नेः
मा.न्या.श्री लेखनाथ घिमिरे
पुनरावेदन फैसला गर्नेः
मा.मु.न्या.श्री कृष्णप्रसाद उपाध्याय
मा.न्या.श्री गोपाल पराजुली
कुनै एउटा तथ्यमा सावित भए पनि त्यसबाट निजउपरको सम्पूर्ण अभियोगको पुष्टि नहुने ।
समग्र परिस्थिति र घटनाक्रमलाई सूक्ष्मरुपमा विश्लेषण नगरी केवल सावितीकै आधारमा मात्र कसैउपर कसूर कायम गरी सजाय गर्नु न्यायसंगत नहुने ।
विरोधाभाषपूर्ण र अस्पष्ट बयानलाई अन्य प्रमाणबाट समर्थित नभएको अवस्थामा साविती बयानको रुपमा ग्रहण गरी निजउपर कसूर कायम गर्ने अकाट्य र एकमात्र प्रमाणको रुपमा ग्रहण गर्न नसकिने ।
(प्रकरण नं.८)
वारदात हुँदाका वखत चश्मदिद गवाहको रुपमा रहेका व्यक्तिले मौकामा र अदालतमा उपस्थित भई वकपत्र गर्दा आफूले प्रत्यक्षरुपमा घटना देखी घटनाको यथार्थ व्यहोरा खुलाइरहेको स्थितिमा अदालतले त्यस्ता चश्मदिद व्यक्तिको मौकाको कागज र अदालतसमक्ष गरेको वकपत्रको व्यहोराको सत्यताउपर शंका गर्न नपर्ने ।
फौजदारी मुद्दामा चश्मदिद व्यक्तिहरूको भनाई कसूर कायम गर्ने एउटा निर्णायक प्रमाण भएकाले यस्तो व्यक्तिको भनाई वारदातको प्रकृति र अन्य प्रमाणबाट समर्थित भएको छ भने अदालतले त्यस्तो प्रत्यक्ष साक्षीको कथनलाई अनदेखा गरी न्यायिक निष्कर्ष निकाल्नु न्यायसंगत नहुने ।
(प्रकरण नं.९)
हत्याको कसूर प्रमाणित भए पनि पूर्व रिसइवीको स्थिति, वारदातको प्रकृति, पूर्व आपराधिक चरित्र, घटनाको गम्भीरता, तयारी र योजनाको स्वरुप, कसूरदारको उमेर, शारीरिक अवस्था र पारिवारिक पृष्ठभूमि लगायतका कुराहरू विचार गरी कसूर र सजायबीचको समानुपातिकता (एचयउयचतष्यलबष्तिथ या एगलष्कजmभलत) स्थापित गर्नु नै न्यायपूर्ण हुने ।
(प्रकरण नं.१९)
पुनरावेदक वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल
प्रत्यर्थी प्रतिवादी तर्फबाटः
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
ज्यानसम्बन्धी महलको १३ नं.
अ.वं. १८८ नं.
फैसला
न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत, बागलुङको मिति २०६०।१।८ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परी तथा सोही फैसला साधक जाँचको लागि समेत दर्ता भई पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त एवं निर्णय यस प्रकार छः–
२०५४ साल साउन २६ गते भोर्ले गा.वि.स. को आकस्मिक वैठकमा धर्मोदय निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा मेरा बाबु बिर्खबहादुर गुरुङ्ग समेतको नाम सिफारिश गर्ने विषयमा छलफल हुँदा गा.वि.स. अध्यक्ष डविन गुरुङ्गले विरोध गरेका कारण वैठक छाडी हिँड्यौं । निज डविन गुरुङ्गले पख्लास् भनी मेरो पितालाई धाक धम्की समेत दिएका रहेछन् । त्यसपछि निज डविन गुरुङ्ग, चुडामणी बस्याल र खेमप्रसाद गुरुङ्गसमेत भई साँझ करिव ८ बजेतिर अब एकदुई जनालाई नफाली हुँदैन भनेका रहेछन् । भोर्ले गा.वि.स. वडा नं. ४ बस्ने चोकबहादुर गुरुङ्गको घरमा डविन गुरुङ्गसमेत भै २÷४ जनालाई आज ढाल्नुपर्छ भनेको र त्यसमा अरुले सहमति जनाएको म आफँैले देखें, सुनें । त्यसपछि म घरमा गई सुतेँ । अन्दाजी राति १०ः३० बजेको समयमा घरको बाहिर आँगनमा डविन गुरुङ्ग, दुर्गाबहादुर गुरुङ्ग, तेजबहादुर गुरुङ्ग, चिनबहादुर गुरुङ्ग, प्रकाश गुरुङ्ग, खेमबहादुर थापा, सुनबहादुर आले, ओमबहादुर आले, कुमार आले, झिल्के आले लगायतका २०÷२२ जना व्यक्तिहरू हातमा खुकुरी, छुरी, चुप्पी, लौरी आदि हतियार लिई मेरो घरआँगनमा आई ढोकामा लात्तीले हानि अश्लील गाली गलौज गर्न थालेकोमा सोही बखत मेरो पिता घरबाट बाहिर निस्कनासाथ एक्कासी दुर्गाबहादुर गुरुङ्ग र तेजबहादुर गुरुङ्गले मेरो पिताको एकएक वटा हात समाती डविन गुरुङ्गले छुरीले मेरो पिताको घाँटीको तल्लो भागमा प्रहार गर्नासाथ मेरो पिता आँगनमा ढल्नु भयो । सो सबै घटना मैले जुनको उज्यालोमा प्रष्ट देखें । मेरो गुहार सुनी आउने जौबहादर गुरुङ्गलाई दुर्गाबहादुर गुरुङ्गले छुरी हान्दा छातीको दाहिनेपट्टि गहिरो चोट लागेको छ । बहिनी शान्ति गुरुङ्गलाई दुवै खुट्टामा हिर्काएका छन् । आमा छलिमाया छुट्याउन आउँदा आक्रमणकारी मध्येको ओमबहादुर आलेको ट्रेक सुटको जकेट मेरो आमाको हातमा पर्न आएको छ । गुहार सुनी आएका कुमबहादुर गुरुङ्ग, चोकबहादुर गुरुङ्ग र रामबहादुर गुरुङ्ग समेतका व्यक्तिले आक्रमणकारीलाई घरबाट बाहिर पठाएका हुन् । त्यतिञ्जेल पिताको देहान्त भैसकेको थियो । पुरानो रीसइवीसमेत राखी जघन्य हत्या गर्ने डविन गुरुङ्ग समेतका हत्याराहरूलाई र हत्या गर्न उत्प्रेरित गर्ने तथा हत्या गरिसकेपछि हत्याराहरूलाई लुक्न भाग्न सहयोग गर्ने मतियारहरू श्यामप्रसाद गुरुङ्ग र च्ुडामणी बस्याललाई मुलुकी ऐन, ज्यानसम्बन्धी महल बमोजिम कारवाही गरिपाऊँ भन्ने जाहेरी दरखास्त ।
पर्वत जिल्ला भोर्ले गा.वि.स. वडा नं. ४ स्थित मृतक बिर्खबहादुर गुरुङ्गको घरको भूइँतलाको पिँढीको पश्चिमपट्टि पूर्व टाउको, पश्चिम गोडा भै सेतो छिर्केमिर्के पातलो कपडाले छोपी खाटमा उत्तानो अवस्थामा मृतक बिर्खबहादुर गुरुङ्गको लाश रहेको र लाशदेखि ८ फीट ७ इञ्च दक्षिणतर्फ ट्रयाक सुटको माथिको ज्याकेट घटनास्थामा रहेको भन्ने घटनास्थल प्रकृति मुचुल्का ।
सम्पूर्ण शरीर नाङ्गो अवस्थामा रहेको, गुप्ताङ्गको भाग सानो गम्छाले बाँधेको, सोमा रगत लागेको, दुवै आँखा र मुख बन्द, बाँया कानदेखि ३ इञ्च तल घाँटीको बाँयापट्टि १ इञ्च लम्बाई गहिराईको घाऊ शरीरभित्र भएको कारण नाप गर्न सकिने अवस्था नरहेको, टाउको वरिपरि रगत बगी जमेको, घाउबाट पानी जस्तो फिँज आएको, लिङ्गबाट तरल पदार्थ निस्केको, बाँया खुट्टामा रगतको थोपा जमेको, बाँया खुट्टाको पन्जामा प्रसस्त रगत लागी जमेको शरीरको अन्य भागमा घाउ चोट तथा नील डाम नरहेको भन्ने लाश प्रकृति मुचुल्का ।
२०५४ साल साउन २६ गते डविन गुरुङ्ग , दुर्गाबहादुर गुरुङ्ग, दानबहादुर गुरुङ्ग, खेमबहादुर गुरुङ्ग, हिमबहादुर गुरुङ्ग, प्रकाश गुरुङ्ग, खेमबहादुर गुरुङ्ग, खेमबहादुर दर्लामी, शिवबहादुर आले समेत मेरो घरमा आई ८ बोतल रक्सी सेवन गरी राति अन्दाजी १० बजे निस्केका हुन् । बिर्खबहादुर गुरुङ्गलाई भोर्ले गा.वि.स. अध्यक्ष डविन गुरुङ्ग समेतका मानिसहरूले मारेको भन्ने सुनेको हुँ भन्ने चोकबहादुर गुरुङको मौकाको कागज ।
२०५४।४।२६ को बेलुका अन्दाजी १०ः२० बजेको समयमा भूते भन्ने खेमबहादुर समेतका १५÷२० जना व्यक्तिहरूले मेरो बुवा बिर्खबहादुरलाई बाहिर निस्की भन्दै ढ्वाङढुङ गरेका र बुवा बाहिर निस्केपछि जाहेरीमा उल्लिखित सबै जनाले हल्ला गरिरहेका अवस्थामा डविन गुरुङ्गले मेरो बुवालाई छुरीले हानेको देखेको हुँ । डविन गुरुङ्ग समेत ११ जनाको षड्यन्त्र सल्लाह र संलग्नतामा छुरी प्रहार गरी मारेका हुन् भन्ने शान्ति गुरुङको मौकाको कागज ।
२०५४ साउन २६ गते अन्दाजी ९ः४५ मा म मृतकको घरमा जाँदा डविन गुरुङ्ग समेत जाहेरीमा उल्लिखित ११ जना मानिसहरू मृतकको घरमा थिए । त्यसबेला डविन गुरुङ्गले मलाई बाँया घूँडामाथि दाउराले प्रहार गरेका हुन् । डविन गुरुङ्गले बिर्खबहादुरलाई गर्धन मुनी प्रहारी गरेको देखेकी हुँ । बिर्खबहादुरलाई दुर्गाबहादुर र तेजबहादुर गुरुङ्गले समातेका हुन् भन्ने समेत देउकुमारी गुरुङ्गको मौकाको कागज ।
म घटनास्थामा पुग्दा बिर्खबहादुरको अलिअलि ढुकढुकी थियो । आँगनमा रगताम्मे थियो । कसले हानेको हो, देखिन । घटनास्थलमा डविन गुरुङ्ग, तेजबहादुर गुरुङ्ग, दुर्गाबहादुर, चिनबहादुर, प्रकाश गुरुङ्ग, खेमबहादुर, सुनबहादुर, लोकबहादुर,कुमार आले समेतका मानिसहरू थिए । मैले सुने अनुसार जनता नि. मा. वि. को व्यवस्थापन समितिको अध्यक्षमा बिर्खबहादुरलाई राख्ने सम्बन्धमा भएको विरोध र वादविवादका कारण बिर्खबहादुरको हत्या भएको हुनसक्छ भन्ने कुमबहादुर गुरुङ्गको मौकाको कागज ।
२०५४।४।२६ को राति अन्दाजी करिब १०ः३० बजेको समयमा शिवबहादुर, लोकबहादुर आले, झिल्के,कुमार आले, खेमबहादुर थापा समेतका केटाहरूले लाठी खुकुरी लिएर मेरो घरमा ढोका हानेका थिए । पछि बिर्खबहादुरको घरमा गई बिर्खबहादुरलाई लाठी हान्न शुरु गरे । निजको घरमा जाँदा बिर्खबहादुरलाई छुरीले हानि रगताम्मे अवस्थामा देखेको हुँ । डविनलाई यी केटाहरूलाई समातेर लैजाउ भन्नासाथ मलाई समेत हान्न थाले । म बेहोस् भएँ । उल्लिखित व्यक्तिहरूले नै बिर्खबहादुरलाई मारेका हुन् भन्ने जौबहादुर गुरुङ्गको कागज ।
२०५४ साल जेठमा समेत बिर्खबहादुरले मेरो बार फालेको विषयमा रिसइवी थियो । छोरा खेमप्रसाद गुरुङ्गसँग के को रिसइवी थियो, थाहा छैन । बिर्खबहादुरलाई यसै व्यक्तिले मारे भन्न सक्दिन । ओल्तिर पल्तिर बुझ्दा फरार रहेका डविन गुरुङ्ग समेतका व्यक्तिहरूले मारेको हुनुपर्छ भन्ने समेत पूर्णबहादुर गुरुङको कागज ।
२०५४।४।२६ को राति १०÷११ बजेतिर डविन गुरुङ्ग, प्रकाश गुरुङ्ग, हेमबहादुर, दुर्गाबहादुर, तेजबहादुर, लोकबहादुर, खेमबहादुर, सुनबहादुर, शिवबहादुर समेतका १० जना आई मेरो घरमा खाना खाई गएका हुन् । मसँग खास कुरा केही भएन । व्यर्र्र्थै झगडा गरियो भन्थे । पछि बुझ्दा बिर्खबहादुरलाई मारेर आएका भन्ने सुनेकी हुँ भन्ने समेत रिनु गुरुङ्गको कागज ।
डविन गुरुङ्गले छुरिले बिर्खबहादुरलाई हानि मारेको देखेको हुँ । किन हल्ला गरेको भन्दा मलाई समेत घाइते बनाएका हुन् । सोको घाउ जाँच गराएको छु । अन्य व्यक्तिहरूको हातमा लाठी थिए भन्ने दलबहादुर गुरुङ्गको कागज ।
२०५४।४।२६ का राति अन्दाजी १०ः३० बजे डविन गुरुङ्ग समेतका १०÷१५ जना व्यक्तिहरू आई हाम्रो घरको छाना हान्ने र बिर्खबहादुरलाई गालीगलौज गरी हल्ला गरेका थिए । मेरो लोग्ने बिर्खबहादुर घर बाहिर आई किन हल्ला गरेको भन्नासाथ डविनले निजलाई छुरी प्रहार गरेका हुन् । अरु व्यक्तिको हातमा लाठी थियो । मेरो लोग्नेलाई कर्तव्य गरी मार्नेमा जाहेरीमा उल्लिखित सबै व्यक्तिहरूको संलग्नता र षड्यन्त्र छ भन्ने छलिमाया गुरुङ्गको कागज ।
२०५४।४।२६ को राति डविन गुरुङ्ग समेतका व्यक्तिहरूले चोकबहादुरको घरमा रक्सी मासु खाँदा म पनि साथमै थिएँ । त्यहाँ खास कुरा भएन । भोलिपल्ट बिर्खबहादुरलाई छुरी प्रहार गरे भन्ने कुरा मेरो श्रीमतीबाट सुनेको हुँ । बिर्खबहादुर र डविनबीच चुनाव सम्बन्धी रिसइवी हुनुका साथै वारदातका दिन सञ्चालक समिति अध्यक्ष चयन गर्ने विषयमा समेत विवाद भएकोले डविन गुरुङ्ग समेतका व्यक्तिहरूले मारेको हुनुपर्छ भन्ने वृषबहादुर गुरुङ्गको कागज ।
२०५४।४।२६ को अन्दाजी १०ः३० बजेको समयमा बिर्खबहादुर गुरुङ्गका घरमा होहल्ला भएको सुनी त्यसतर्फ जाँदा बिर्खबहादुर गुरुङ्ग रगताम्मे अवस्थामा पल्टेका थिए । बिर्खबहादुरलाई डविन गुरुङ्ग समेतका व्यक्तिहरूले छुरी प्रहार गरेका हुन् भन्ने रामबहादुर गुरुङ्गको कागज ।
२०५४।४।२६ गते दिउँसो बिर्खबहादुरलाई विद्यालयको अध्यक्षमा राख्ने विषयमा डविन गुरुङ्ग समेतले विरोध गरेका थिए । चुडामणी बस्याल, खेमप्रसाद गुरुङ्ग र कुमबहादुर गुरुङ्ग समेतको सहयोग र षड्यन्त्रबाट डविन गुरुङ्गले बिर्खबहादुर गुरुङ्गलाई मारेकोमा विश्वास लाग्छ भन्ने रेशम भन्ने रमेशप्रसाद शर्मा बस्यालको कागज ।
ूत्जष्क ष्क ब अबकभ या कतबद ष्लवगचथ बलम तजभ अबगकभ या मभबतज ष्क मगभ तय ष्लतभचलब िजबझयचचबनभ।ू भन्ने पोष्टमार्टम रिपोर्ट ।
२०५४।४।२२ मा धर्मोदय मा. वि. को व्यवस्थापन समितिको अध्यक्षको लागि ३ जनाको नाउँ छनौट गर्ने सम्बन्धमा डविन गुरुङ्गले ३ जनाको नाउँ दिँदा बिर्खबहादुर गुरुङ्गको पनि नाउँ आएको थियो । सो विषयमा विवाद भै २६ गते वैठक राखेको हो । सो दिनको वैठकमा डविन गुरुङ्गले ३ जनाको नाम दिए । मैले बहुमतको आधारमा निर्णय गुर्नपर्छ भनो । कसलाई सिफारिश गरे मलाई थाहा छैन । त्यस दिन साँझ चोकबहादुर गुरुङ्गको घरमा जाँदा डविन गुरुङ्ग, दुर्गाबहादुर गुरुङ्ग, हेम गुरुङ्ग, तेजबहादुर गुरुङ्ग, चिनबहादुर गुरुङ्ग , प्रकाश गुरुङ्ग, शिव आले, खेमबहादुर लगायतका १५÷१६ जना रहेछन् । त्यहा केही रक्सी र मासु खाई घरमा गई सुतें । भोलिपल्ट विहान गाउँका केटाहरूले बिर्खबहादुरलाई छु्री हानेर मारे भन्ने सुनें । डविन गुरुङ्गसमेतका जाहेरीमा उल्लिखित व्यक्तिहरूले मारेको भन्ने सुनेको छु । मैले बिर्खबहादुरलाई मार्ने मराउने सम्बन्धमा कुनै सहयोग षड्यन्त्र गरेको छैन । के विचारले मउपर उजूरी दिए ? कानूनले जो ठहर्छ । चोकबहादुरको घरमा रक्सी खाँदा खास कुनै कुरा भएन । घटनापश्चात् जाहेरीमा उल्लिखित व्यक्तिहरू भागी फरार रहेको कारण मार्ने मुख्य डविन गुरुङ्गलाई भेटेको छैन । घटना अघि म डविनसँग गोप्य मिटिङ्ग बसेको छैन । बिर्खबहादुरको घरमा आक्रमण गर्न हेमु गुरुङ्ग समेत गएको भन्ने सुनेको हुँ । हत्यापश्चात् अभियुक्तहरूलाई कुनै सहयोग गरेको छैन । मार्न उत्प्रेरित पनि गरेको छैन भन्ने समेत प्रतिवादी खेमप्रसाद गुरुङ्गले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
२०५४।४।२६ का दिन जनता मा. वि. को लागि व्यवस्थापन समितिमा ३ जनाको नाउँ प्रस्ताव गर्दा बिर्खबहादुरको पनि नाम समावेश गर्ने कुरा गर्दा विवाद भएको थियो । को कसको नाऊँ छनौट गरे, थाहा छैन । वरदातको समयमा म आफ्नो घरमा थिएँ । रातिको समयमा गुहार गुहार भनेको सुनी आवाज आएतर्फ जाँदा बिर्खबहादुर गुरुङ्गको मृत्यु भैसकेको रहेछ । चोकबहादुर गुरुङ्गको घरमा पाडाको मासु र रक्सी खाई डविन गुरुङ्ग , दुर्गाबहादुर गुरुङ्ग समेतका जाहेरीमा उल्लिखित व्यक्तिहरू बिर्खबहादुर गुरुङ्गलाई छुरी प्रहार गरी भागेका हुन् भन्ने कुरा सुनेको हुँ, सो कुरामा मलाई पूर्ण विश्वास लाग्छ । म र डविन भै कुनै गोप्य वैठक गरेका छैनौं । मैले हत्याराहरूलाई बिर्खबहादुरलाई मार्ने सम्बन्धमा उत्प्रेरित गरेको होइन र निजहरूलाई लुक्न भाग्न सहयोग गरेको होइन भन्ने प्रतिवादी चुडामणी बस्यालले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
२०५४।४।२६ गते मेरो दायाँ घुँडामा पिलो आएको हुँदा घरबाट कतै गएको छैन । बिर्खबहादुरलाई छुरी हानि मारे भन्ने कुरा २०५४।४।२७ मा थाहा पाएको हुँ । म घटनामा गएको छैन । घटनास्थलमा वरामद भएको ट्रयाकसुटको ज्याकेट मेरो हो । सो ज्याकेट २०५४।४।२६ मा मेरो काका शिवबहादुर आलेले लगाएर जानु भएको थियो । कसरी घटनास्थलमा वरामद भयो, थाहा छैन । काका शिवबहादुरले लगाई गएको हुँदा निज सो घटनामा संलग्न हुनुपर्छ । डविन गुरुङ्ग, दुर्गाबहादुर गुरुङ्ग समेतका जाहेरीमा उल्लिखित फरार अभियुक्त हुन् भन्ने सुनेको हुँ भन्ने प्रतिवादी ओमबहादुर आलेले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
२०५४।४।२६ को दिन दिनभरि घरमै थिएँ । साँझमा चिनबहादुर, दुर्गाबहादुर , डविन गुरुङ्ग समेतका मानिसहरूका साथ चोकबहादुर गुरुङ्गको घरमा रक्सी मासु खाएको हुँ । त्यहाँबाट घरतर्फ जाने क्रममा राति अन्दाजी ९ः३० बजेतिर बिर्खबहादुरको घरनिर पुग्दा डविन गुरुङ्गलाई चोर लड्न आइज भनेको सुनियो । रक्सी लागेको सुरमा डविन गुरुङ्गले जाऊँ साथी हो, यो साले के भन्छ भनी भनेकोले लाठी लिई डविन गुरुङ्ग, दुर्गाबहादुर गुरुङ्ग, तेजबहादुर गुरुङ्ग, चिनबहादुर गुरुङ्ग, शिव आले, लोकबहादुर आले, झिल्के भन्ने ज्ञानबहादुर आले, प्रकाश गुरुङ्ग,कुमार आले, खेमबहादुर थापा, सुनबहादुर आले र म भई बिर्खबहादुरको घरभित्र गयौं । डविनले बिर्खबहादुरलाई लाठीले हाने । झिल्के भन्ने ज्ञानबहादुरले सानो खुकुरी जस्तो छुरीले बिर्खबहादुरको वायाँतर्फ छातिमा हिर्काएपछि बिर्खबहादुर त्यहीँ पल्टिन गए । नजिकै घरमा भएका जौबहादुरले गुहार गर्दाकुमार आले र खेमबहादुर आलेले निजलाई कौशीमै गई कुटपीट गरेका हुन् । हामीहरूले पनि लाठी हातमा लिई तिमीलाई मारिदिन्छौं भनी हल्ला गरेका हौं । दुर्गाबहादुरले नाडी छामेर मरेछ भनेपछि हामी त्यहाँबाट भारततर्फ जान भनी डविन गुरुङ्ग, दुर्गा गुरुङ्ग, तेजबहादुर गुरुङ्ग, चिनबहादुर गुरुङ्ग, प्रकाश गुरुङ्ग, शिवबहादुर आले, लोकबहादुर आले, खेमबहादुर थापा, सुनबहादुर र म बाग्लुङ पुग्यौं । त्यहाँबाट सुनबहादुर, खेमबहादुर, शिवबहादुर र लोकबहादुर बस खोज्न गएका कता गए, थाहा भएन । बाँकी ६ जना बुटवल–नेपालगञ्ज हुँदै गोरखपुर पुगेपछि डविन गुरुङ्गले मलाई घरजानु भनेकोले आएको हुँ। बिर्खबहादुरलाई ज्ञानबहादुरले छुरीले हानेको र अरुले सहयोग गरेका हौं । मैले बिर्खबहादुरलाई हानेको हैन । लाठी लिई ढाङ ढुङ गरेको हो भन्ने प्रतिवादी हेम भन्ने हेमबहादुर गुरुङ्गको अनुसन्धान अधिकारीसमक्षको बयान ।
२०५४।४।२६ का दिन साँझ चोकबहादुरको घरमा डविन गुरुङ्गसमेत १०÷११ जना भई रक्सी र मासु खाएका हौं । त्यहाँबाट अन्दाजी ९ः३० बजे म घर गएँ । ऐ. २७ गते विहानमात्र डविन गुरुङ्ग समेतका मानिसले छुरी प्रहार गरी मारेको भन्ने कुरा सुनेको हुँ । मैले बिर्खबहादुरलाई मार्ने कुरामा सहमति जनाएको होइन भन्ने समेत प्रतिवादी यमबहादुर गुरुङ्गले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
२०५४।४।२६का दिन म घरमै बच्चा हेरेर बसेको थिएँ । सो मितिमा डविन गुरुङ्ग समेतका व्यक्तिहरूसँग भेट र कुराकानी भएको होइन । बिर्खबहादुरलाई डविन गुरुङ्ग समेतले मारेको कुरा भोलिपल्ट मात्र थाहा पाएको हुँ भन्ने प्रतिवादी कृष्णबहादुर गुरुङ्गले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
वारदातको दिन म दिनभर घरमै सुतिरहें । चोकबहादुरको घरमा रक्सी खान गएको होइन । विर्खबहादुरलाई डविन गुरुङ्ग समेतका फरार अभियुक्तले मारेका हुन् भन्ने सुनेको हुँ भन्ने समेत प्रतिवादी बिनोद गुरुङ्गले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
वारदातको दिन सरौँखोला मामाको घरमा गई बेलुकी आफ्नो घरमा आएको हुँ । सो दिन साँझ चोकबहादुरको घरमा रक्सी मासु खान गएको होइन । डविन गुरुङ्ग समेतले बिर्खबहादुरलाई मारी फरार भएको भन्ने सुनेको हुँ भन्ने समेत प्रतिवादी वसन थापाको अनुसन्धान अधिकारीसमक्षको बयान ।
२०५४।४।२६ का दिन पूर्व नियोजित सरसल्लाह गरी चोकबहादुर गुरुङ्गको घरमा मासु र रक्सी खाई बिर्खबहादुरको घरमा गई आक्रमण गरी धारिलो जोखिमी हतियार प्रयोग गरी बिर्खबहादुर गुरुङ्गलाई कर्तव्य गरी मारेकोले डविन गुरुङ्ग र झिल्के भन्ने ज्ञानबहादुर आलेउपर मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३ नं. बमोजिमको कसूरमा ऐ. १३(१) नं. बमोजिम सजाय हुन र चिनबहादुर गुरुङ्ग, प्रकाश गुरुङ्ग, शिवबहादुर आले, हेमु भन्ने हेमबहादुर गुरुङ्ग, तेजबहादुर गुरुङ्ग र दुर्गाबहादुर गुरुङ्गले बिर्खबहादुरलाई ज्यान मार्ने कार्यमा संयोग पारी जिउमा हात हाली पक्री सहयोग पु¥याएकोले निजहरूलाई ऐ. महलको १ नं. र १३ नं. को कसूरमा १३(४) नं. बमोजिम सजाय हुन तथा मार्ने कार्यमा षड्यन्त्र गर्ने खेमप्रसाद गुरुङ्ग, चुडामणी बस्याललाई ऐ. १ नं. र १६ नं. को कसूरमा ऐ. १६ नं. अनुसार सजाय हुन तथा अन्य प्रतिवादीहरू यामबहादुर गुरुङ्ग, कृष्णबहादुर गुरुङ्ग र वशन थापाउपर ऐ. १ नं. र १७ नं. को कसूरमा ऐ १७(३) नं बमोजिम सजाय हुन अनुरोध छ । साथै उल्लिखित प्रतिवादीहरूमध्ये ओमबहादुर गुरुङ्ग र बिनोद गुरुङ्ग नावालक हुँदा बालबालिका सम्बन्धी ऐन २०४८ को दफा ११ बमोजिम कारवाही हुन समेत अनुरोध छ भन्ने समेत व्यहोराको अभियोग पत्र ।
२०५४।४।२६ का दिनभर घरबाट आधाघण्टा टाढा गाई हेर्न गएको थिएँ । घरमा फर्केपछि आफ्नै घरमा रातभर सुतेको छु । जाहेरवाला र मृतकलाई सो दिन भेटेको छैन । बिर्खबहादुरलाई को कसले मारे, थाहा छैन । अनुसन्धान क्रममा मैले गरेको बयान व्यहोरा साँचो हो । वरामद भै आएको ज्याकेट मेरो हो । वारदातको दिन सो ज्याकेट काका शिवबहादुरले लगाइ गएका थिए भन्ने प्रतिवादी ओमबहादुर आलेले अदालतसमक्ष गरेको बयान ।
२०५४।४।२६ का दिनरात म मेरो घरमा नै छु । मउपरको जाहेरी व्यहोरा झूठो हो । भोर्ले गा. वि. स. मा नेपाली काँग्रेस पार्टीको तर्फबाट वडा सदस्यमा लडेको हुँदा सोही रिसले जोहेरी दिए होलान् । बिर्खबहादुरको मृत्यू कसरी भयो, कसले मारे, थाहा छैन । प्रहरीमा मैले गरेको बयान व्यहोरा साँचो हो भन्ने समेत प्रतिवादी कृष्णबहादुर गुरुङ्गले अदालतसमक्ष गरेको बयान ।
२०५४।४।२६ का दिन घरबाट २५ मिनेट टाढा भूसाल डाँडामा बाख्रा चराउन गएको थिएँ । रातभर घरमै सुतेको छु । सो रातमा मृतक, डविन गुरुङ्ग र जाहेरवाला कसैसँग भेट गरेको छैन । प्रहरीसमक्ष गरेको बयानमा डविन गुरुङ्गले समेत मारेको भनी गाउँमा सुनेको आधारमा लेखाएको हुँ भन्ने समेत प्रतिवादी बिनोद गुरुङ्गले अदालतसमक्ष गरेको बयान ।
२०५४।४।२६ मा भोर्ले मा. वि. को व्यवस्थापन समितिको अध्यक्ष चयन गर्ने बारेमा छलफल हुँदा म बैठकमा थिएँ । राति म आफ्नै घरमा सुतेको छु । जि.वि.स. चुनावताका जाहेरवाला बेनुबहादुर र दुर्गाबहादुरले कुटपीट गरेको सम्बन्धमा सार्वजनिक अपराध मुद्दामा जाहेरी दिएको छु । शान्ति सुरक्षासम्बन्धमा पनि बिर्खबहादुर समेतउपर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको छु । सोही रिसले जाहेरी दिएको हुनुपर्छ । अनुसन्धानको बयानमा डविन गुरुङ्ग समेतका मानिसले मारेको विश्वास लाग्छ भनी मैले लेखाएको होइन । को कसले मारे, मैले खुलाउन सक्दिन भन्ने समेत प्रतिवादी चुडामणी बस्यालले अदालतसमक्ष गरेको बयान ।
म २०५४।४।२६ का साँझ चोकबहादुरको घरमा मासु खान गएका बखत त्यहाँ डविन, चिनबहादुर, दुर्गा, प्रकाश, खेमबहादुर, शिवबहादुर समेतका मानिसहरू थिए । म मासु खाई अन्दाजी ९ बजेतिर घर गएको हुँ । मैले बिर्खबहादुरको घरमा जानेर घटना घटाउने समेतको काम गरेको छैन । मैले भुटुवा खाइ बस्दा २÷४ जनालाई ढाल्नुपर्छ भनेको होइन । अनुसन्धानक्रममा भएको बयानमा म ९ः३० बजे घर गएको भनी लेखेको बाहेक मैले भने बमोजिमको व्यहोरा ठीक छ । कसूर नगरेको हुँदा सजाय हुनुपर्ने होइन भन्ने प्रतिवादी यामबहादुर गुरुङ्गले अदालतसमक्ष गरेको बयान ।
२०५४।४।२६ को दिन र रातभर म सरौँखोला मामाको घरमा छु । भोलिपल्ट विहान ८ः३० बजे मात्र घरमा आएको हुँ । उक्त दिनरात जाहेरवाला र मृतक कसैलाई भेटिन । म काँग्रेस पार्टीको पछि लागेको हुँदा सोही रिसइवीले जाहेरी दिएको हो । प्रहरीमा बयान गर्दा डविन गुरुङ्ग समेतले मारेको विश्वास लाग्छ भनी लेखिएको व्यहोरा मैले भनेको होइन । अरु व्यहोरा र सहीछाप मेरै हो भन्ने समेत प्रतिवादी वसन थापाको अदालतसमक्षको बयान ।
२०५४।४।२६ का दिन जनता मा. वि. भोर्लेमा व्यवस्थापन समितिको अध्यक्ष मनोनयन गर्न गएको थिएँ । साँझ ७ बजेतिर चोकबहादुरको घरमा मासु रक्सी खाइ बसेको हुँ । त्यहाँ शिवबहादुर, भूते कान्छा, यमबहादुर गुरुङ्ग, लोकबहादुर गुरुङ्ग, दलबहादुर गुरुङ्ग, दुर्गाबहादुर गुरुङ्ग र म समेत थियाँै । त्यहाँबाट अन्दाजी ७ः३० बजेतिर घर गई सुतें । भोलिपल्ट बिर्खबहादुरको छुरी हानि मृत्यु भएछ भन्ने सुनें । कसले हाने भन्ने सम्बन्धमा मैले केही थाहा पाएको छैन । मउपरको जाहेरी झूठा हो । राजनैतिक आस्था अलग अलग भएका कारण मउपर जाहेरी दिएको हो । बिर्खबहादुरको मृत्यु बारेमा मेरो कुनै सरसहयोग छैन । अनुसन्धानका क्रममा गरेको बयानमा डविन र हेमु गुरुङ्ग समेतले मारेको भन्ने सुनेको भनी लेखिएको व्यहोरा मैले लेखाएको होइन, अन्य व्यहोरा र सही छाप मेरो हो भन्ने समेत प्रतिवादी रमेशप्रसाद गुरुङ्गले अदालतसमक्ष गरेको बयान ।
मेरो बुवा भारत इन्दोरमा सेक्युरिटीको काम गर्नुहुन्छ । २०५४।४।२५ गते म मेरो घरबाट स्याङ्गजा–बाग्लुङ हँुदै भारतको गोरखपुर गएको हुँ । मृतक र जाहेरवालासँग मैले वारदातका दिन भेटेको छैन । गोरखपुरबाट २०५४।४।३० मा फर्कँदा बाग्लुङ बजारमा डविन गुरुङ्गको बहिनी रेनु गुरुङ्गको घरमा आएको हुँ । बिर्खबहादुरको मृत्यु भएको वारदातमा म छैन । मैले अधिकार प्राप्त अधिकारीसमक्ष बयान गर्दा मलाई कुटपीट गरी अनेक किसिमका यातना दिएकाले डरले गर्दा यस्तो बयान गरेको हुँ । मेरो शरीरमा घाँउ चोट भएकाले जँचाइ पाऊँ । सो बयानमा भएको सहीछाप मेरै हो । कसूर नगरेको हुँदा सजाय हुनुपर्ने होइन भन्ने प्रतिवादी हेमु भन्ने हेमबहादुर गुरुङ्गले अदालतमा गरेको बयान ।
२०५४।४।२६ को रात अन्दाजी ८ बजेको समयमा चोकबहादुरको घरमा म समेत खेमप्रसाद गुरुङ्ग, कृष्ण गुरुङ्ग, बिनोद गुरुङ्ग, वशन थापा, ओमबहादुर आले, हेमु गुरुङ्ग, दलबहादुर गुरुङ्ग समेत सँगै थियौं । त्यहाँबाट घर जान लाग्दा बाटोमा बिर्खबहादुरले आफ्नो घरबाट तेरिमा चोर काँग्रेसी भन्यो र मलाई एक लात्ती हान्यो । मेरो छुरी सुरक्षाको लागि निकाल्दा फेरि झम्टिन आयो । सोही अवस्थामा बिर्खबहादुरलाई छुरी लागेछ । मसँग भएको छुरीको प्रहारबाट निजको मृत्यू भएको हो । हान्छु भनेर हानेको होइन । मृतकसँग मेरो कुनै रीसइवी थिएन । वारदातमा म मात्र संलग्न भएको हो । अरुलाई पार्टीको हिसावले उजूरी परेको हो भन्ने झिल्के भन्ने ज्ञानबहादुर आलेले अदालतमा गरेको बयान ।
बिर्खबहादुरको मृत्यु सम्बन्धमा मलाई केही थाहा छैन । २०५४।४।२५मा म घरबाट हिँडी भारतको गुजरात पुगी होटलमा काम गरी घरबाट चिठी गएपछि घर आएको हुँ । बरामद भै आएको ज्याकेट मैले लगाएको थिइन । पार्टी फरक भएर मलाई जाहेरवालाले पोलेको होला । रीसइवी केही छैन । मउपर लगाएको अभियोग झूठा हो, फुर्सद पाऊँ भन्ने प्रतिवादी शिवबहादुर आलेले अदालतमा गरेको बयान ।
२०५४।४।२२ मा म भारत तर्फ गएको हुँ । बिर्खबहादुर गुरुङ्गको मृत्यू सम्बन्धमा मलाई केही थाहा छैन । २०५४।४।२६ मा म भारतको इन्दोरमा रबर कम्पनीमा काम गर्दै थिएँ । राजनैतिक रीसइवीले जाहेरी दिएको होला । म निर्दोष हुँदा अभियोगबाट फूर्सद पाऊँ भन्ने प्रतिवादी तेजबहादुर गुरुङले अदालतमा गरेको बयान ।
२०५४।४।२६ का राति म भारतको अहमदावादमा छु । २०५४।२।१५ मा घरबाट हिँडी सो ठाउँमा पुगी धागो कम्पनीमा काम गरेको थिएँ । मुद्दा लागेको छ, घर आइज भनी चिठी पुगेको हुँदा आएको हुँ । बिर्खबहादुरको हत्या सम्बन्धमा मलाई केही थाहा छैन । पार्टीको रीसले मात्र जाहेरवालाले पोलेको होला । म उपरको अभियोग झूठा हो सजाय हुने होइन भन्ने प्रतिवादी लोकबहादुर आलेले अदालतमा गरेको बयान ।
२०५४।२।२० गते म भारतको मध्यप्रदेशस्थित भर्ति सेन्टरमा गएको हुँ । मुद्दा परेको भन्ने घरबाट चिठी पुगेको हुँदा आएको हुँ । बिर्खबहादुर कसरी मरे मलाई थाहा छैन । मौकामा कागज गर्ने व्यक्तिहरूले चुनावको रीसइवीका कारण पोल गरेका हुन् । म निर्दोष छु । मलाई अभियोग दावीमा सजाय हुने होइन भन्ने प्रतिवादीकुमार आलेले अदालतमा गरेको बयान ।
बिर्खबहादुरको मृत्यू सम्बन्धमा मलाई केही कुरा थाहा छैन । २०५४।४।२५ मा भारत मध्यप्रदेशस्थित साइकल कम्पनीमा काम गरेको थिएँ । ०५४।४।२६ मा बिर्खबहादुरसँग भेट भएन । तेरो नाउँमा मुद्दा परेको छ भनी चिठी गएको हुँदा आएको हुँ । मैले चोकबहादुरको घरमा रक्सी खाएको होइन । पार्टीको राजनैतिक रीसले जाहेरवालाले पोल गरेको हुनसक्छ । म निर्दोष छु । अभियोग दावी झूठा हो । सफाइ पाऊँ भन्ने प्रतिवादी भुते भन्ने खेमबहादुर थापाले अदालतमा गरेको बयान ।
बिर्खबहादुरको मृत्यू के कसरी भयो, मलाई थाहा छैन । २०५४।२।२०मा भारतको सपड भन्ने ठाउँमा गएको थिएँ । २०५४।४।२६ मा बिर्खबहादुर कहाँ थिए ? मलाई थाहा भएन । मलाई मुद्दा लागेको छ भनी घरबाट चिठी गएको हँुदा माघ ७ गते कुश्मा आएको हुँ भन्ने समेत प्रतिवादी सुनबहादुर आलेले अदालतमा गरेको बयान ।
२०५४।४।२६ मा म भारतस्थित इन्दोरमा साइकल कम्पनीमा थिएँ । सो दिनरात जाहेरवाला मृतकसँग भेट भएन । म २०५४।२।२५ मा खेमबहादुर थापा र चिनबहादुर गुरुङ्गलाई लिएर त्यसतर्फ गएको हँु । बिर्खबहादुरको मृत्यु के कसरी भएको हो, सो सम्बन्धमा मलाई केही थाहा छैन । पार्टीको रीसइवीका कारण मउपर किटानी जाहेरी दिएका हुन् । २०५४।४।२७ मा रिनु गुरुङ्गको घरमा खाना खाएको होइन । म उपरको अभियोग दावी झूठा हो । मैले अभियोग दावीबाट सफाइ पाऊँ भन्ने प्रतिवादी प्रकाश गुरुङले अदालतमा गरेको बयान ।
२०५४।४।२६ गते राती म भारतको मध्यप्रदेशस्थित साइकल कम्पनीमा हुँदा जाहेरवाला र बिर्खबहादुरसँग भेट भएन । २०५४।२।२५ मा घरबाट साथीहरूका साथ त्यसतर्फ गएको हो । बिर्खबहादुरको हत्या के कसरी भयो, सो सम्बन्धमा केही थाहा छैन । जाहेरवाला एमाले पक्षका र म काँग्रेस भएकोले मलाई जाहेरवालाले पोल गरेका हुन् । अभियोग दावीअनुसार मैले कसूर गरेको छैन । मलाई सजाय हुनुपर्ने होइन भन्ने प्रतिवादी चिनबहादुर गुरुङले अदालतमा गरेको बयान ।
२०५४।४।१७ का दिन घरबाट हिँडी मेरो दाजु भएको ठाउँ भारतको काश्मीरमा गएको हुँ । दाजु नभेटेकोले काश्मीरको टुरिष्ट होटलमा काम गरेको थिएँ । २०५४।४।२६ का दिन सोही होटलमा थिएँ । मेराउपर ज्यान मुद्दामा उजूरी परेको भन्ने चिठी पाएर घर आएको हुँ । जाहेरवालाले पार्टीको रीसले फसाउन जाहेरी दिएका हुन् । २०५४।४।२७ मा म रिनु गुरुङ्गको घरमा गएको छैन । मैले अभियोगबमोजिम कसूर गरेको छैन । मलाई सजाय हुने होइन भन्ने प्रतिवादी दुर्गाबहादुर गुरुङ्गले अदालतमा गरेको बयान ।
२०५४।४।२६ का दिन भोर्ले गा. वि. स. को विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्ने बैठकमा थिएँ । सोही दिन ६ बजे ठूलो भञ्ज्याङ्गको बाटो हुँदै राति साँढे आठ बजे स्याङ्गजाको बयरघारी पुगो । कृष्ण के.सी. को घरमा बसँे । भोलिपल्ट त्यहाँबाट निस्केर बुटवल हुँदै बम्बै पुगेर त्यहाँ न्यू बाबा होटलमा काम गरेको थिएँ । २०५४।१०।२ मा मात्र घरमा आएको हुँ । २०५४।४।२६ मा उक्त मिटिङमा जाहेरवाला मृतकसँग भेट भएको थियो । बिर्खबहादुरको के कसरी हत्या भएको हो, मलाई केही थाहा छैन । सो व्यवस्थापन समितिको अध्यक्षमा चयन गरिदिएन भन्ने रीसले जाहेरी दिएको हुन् । मैले छुरा हानी बिर्खबहादुरको हत्या गरेको होइन । २०५४।४।२७ मा रिनु गुरुङ्गको घरमा खाना खाएको होइन । मैले अभियोग दावीबमोजिमको कसूर नगरेको हुँदा मलाई अभियोग दावीबमोजिम सजाय हुने होइन भन्ने प्रतिवादी डविन गुरुङ्गले अदालतमा गरेको बयान ।
२०५४।४।२६ का राति मेरो घरमा आई बुवालाई आक्रमण गर्नेहरूमा डविन गुरुङ्ग, दुर्गाबहादुर गुरुङ्ग, तेजबहादुर गुरुङ्ग समेत जाहेरीमा उल्लिखित सबैजना थिए । तेजबहादुरले र दुर्गाबहादुरले बुबालाई समाती डविनले धारिलो छुरीले देब्रेपट्टिको घाँटी र काँधको बीच भागमा हानेको देखेको हुँ । सो घटनामा चिनबहादुर गुरुङ्ग, खेमप्रसाद गुरुङ्ग, प्रकाश गुरुङ्ग, कृष्णबहादुर गुरुङ्ग, होमबहादुर थापा, ज्ञानबहादुर आले, बसन थापा , सुनबहादुर आले, लोकबहादुर आले, यामबहादुर गुरुङ्ग, हेमबहादुर गुरुङ्ग, बिनोद गुरुङ्ग, शिवबहादुर आले, कुमार आले समेत संलग्न थिए भन्ने समेत जाहेरवाला बेनबहादुर गुरुङ्गले अदालतमा उपस्थित भई गरेको बकपत्र ।
घटना हुँदा घरमै थिएँ । बिर्खबहादुरलाई मारे भन्ने खबर पाएपछि वारदात स्थलमा जाँदा बिर्खबहादुरलाई मरेको देखेको हुँ । को को ले कुटपीट गरी मारे, मैले देखिनँ भन्ने समेत प्रहरीमा कागज गर्ने रामबहादुर गुरुङ्गको बकपत्र ।
वारदातको समयमा म घरमै थिएँ । बिर्खबहादुरको घरमा घेराउ गरेको सुनेको हो । त्यसपछि निजको घरमा जाँदा बिर्खबहादुरलाई मृत अवस्थामा देखेको हो । डविन गुरुङ्ग, दुर्गाबहादुर गुरुङ्ग, शिवबहादुर आले, लोकबहादुर आले, भिल्के भन्ने ज्ञानबहादुर,कुमार आले र उसको भाई, वसन थापा समेत भई छुरी प्रहार गरी कुटपीट गरी मारेका हुन् । सो घटना डविन गुरुङ्गको नेतृत्वमा घटाएका हुन् भन्ने प्रहरीमा कागज गर्ने दलबहादुर गुरुङ्गको बकपत्र ।
२०५४।४।२६ का राति अन्दाजी १०ः३० बजेको समयमा गुहार गुहार भनेको सुनी जाँदा बिर्खबहादुरलाई मारिसकेका रहेछन् । बेनबहादुरले भने अनुसार डविन गुरुङ्गले मारेको भन्थे । मैले देखिन भन्ने प्रहरीमा कागज गर्ने कुलबहादुर गुरुङ्गको बकपत्र ।
मेरा श्रीमान् बिर्खबहादुर घरबाट बाहिर निस्कनासाथ डविनले छुरि हानेको र दुर्गाले हात समाएका हुन् । घटनास्थलमा भएका अरु व्यक्तिहरूलाई देखे चिन्दछु , नाम खुलाउन सक्दिन भन्ने प्रहरीमा कागज गर्ने छलिमाया गुरुङ्गको बकपत्र ।
डविन गुरुङ्ग समेत १८÷१९ जना मानिसले हाम्रो घरमा आई हल्ला गर्दै आए । बुवा बाहिर निस्कने वित्तिकै तेजबहादुर र दुर्गाबहादुरले हातमा समातेर डविन गुरुङ्गले छुरीले हाने । मैले बुबाको रगत रोकेर राख्दा राख्दै बुवा मेरो काखमा नै स्वर्गे हुनु भयो भन्ने प्रहरीमा कागज गर्ने शान्ति गुरुङ्गको बकपत्र ।
वारदातको समयमा सबै प्रतिवादीहरू कहाँ थिए भन्न सक्दिन । डविन गुरुङ्गलाई वयरघारी गोविन्द श्रेष्ठको पसलमा देखेको हो । अरु प्रतिवादीहरूलाई सो दिन भेटेको छैन भन्ने प्रतिवादी डविन गुरुङ्ग, प्रकाश गुरुङ्ग, तेजबहादुर गुरुङ्ग, दुर्गाबहादुर गुरुङ्ग र चिनबहादुर गुरुङ्ग समेतका साक्षी मुक्तिप्रसाद पंगेनीले गरेको बकपत्र ।
वारदातको मिति र समयमा म आफ्नै घरमा थिएँ । यी चारै जना प्रतिवादीहरू भारत गएका थिए । उक्त घटनामा प्रतिवादीहरू वारदातमा भए नभएको थाहा छैन भन्ने प्रतिवादीहरू लोकबहादुर आले, कुमार आले, सुनबहादुर आले र खेमबहादुर आलेका साक्षी रामबहादुर आलेले गरेको बकपत्र ।
वारदात मितिको दिन म सिरुवारीमा थिएँ । प्रतिवादी वसन थापा पनि सिरुवारीमा नै थिए । तर ७ बजेपछि कहाँ गए थाहा छैन भन्ने प्रतिवादी वसन थापाका साक्षी डम्बरबहादुर रानाले गरेको बकपत्र ।
२०५४।४।२६ का दिन म मेरो ससुराली घरमा थिएँ, प्रतिवादी वसन थापा पनि मसँगै थिए भन्ने प्रतिवादी वसन थापाका साक्षी यमबहादुर थापाको बकपत्र ।
२०५४।४।२६ का राति ३ बजे बिर्खबहादुरको घरमा घटना घटेर गुहार माग्न आएका चुडामणिलाई उठाएर म गुहार दिन गएको हुँ । जाँदा लाश देखेको हुँ । कसले त्यस्तो ग¥यो थाहा भएन भन्ने प्रतिवादी चुडामणी बस्यालका साक्षी गंगाराज बस्यालको बकपत्र ।
२०५४।४।२६ गते दिउँसो गा. वि. स. को मिटिङ सकिएपछि डविन गुरुङ्गले विदेश जाने कार्यक्रम छ भनेका थिए । सो राति १०ः३० बजे म मेरो घरमा थिएँ । अरु प्रतिवादी कहाँ थिए थाहा छैन । भोलिपल्ट डविनको आमासँग डविन खै त भन्दा विदेश जाने चिठी आएर बेलुकै हिँडेको हो भनिन् भन्ने समेत प्रतिवादी डविन गुरुङ्ग, कृष्णबहादुर गुरुङ्ग, प्रकाश गुरुङ्ग, तेजबहादुर गुरुङ्गका साक्षी नारायणदत्त भट्टराईले गरेको बकपत्र ।
२०५४।४।२६ का दिन १०ः३० बजे म मेरै घरमा थिएँ । सो दिन ४ बजे म डविन गुरुङ्गको घरमा गएकी थिएँ । डविन घरमा थिएनन् । त्यसपछि प्रतिवादीहरू हेम गुरुङ्ग र तेजबहादुर गुरुङ्गको घरमा जाँदा निजहरू २०५४ साल जेठमा नै भारत गएको थाहा पाऊँ । त्यसपछि डविनको घर जाँदा डविन वम्वैतर्फ जान लागेका रहेछन् । सो दिन डविन गुरुङ्गलाई वम्वै जान लागेको देखेको हुँदा निज सो घटनामा संलग्न हुने अवस्था छैन भन्ने प्रतिवादी डविन गुरुङ्गको साक्षी जसमती गुरुङ्गको बकपत्र ।
२०५४।४।२६ का राति म घरमै थिएँ । प्रतिवादीहरू कहाँ थिए ? मलाई थाहा छैन । बिनोद गुरुङ्ग घटनामा गए नगएको थाहा भएन । सो राति खाना खाएर करिव ८ः३० बजेतिर बिनोद गुरुङ्ग सुतेका हुन् भन्ने प्रतिवादी बिनोद गुरुङ्गका साक्षी खेमबहादुर गुरुङ्गको बकपत्र ।
बारदातको राति म खेमप्रसाद कै घरमा थिएँ । प्रतिवादी खेमप्रसाद पनि घरमै थिए । ८ बजेसम्म खानपिन गरी म पनि उसकै घरमा वास बसेको हुँ भन्ने प्रतिवादी खेमप्रसाद गुरुङ्गका साक्षी भैरबबहादुर थापाको बकपत्र ।
उक्त दिन दिउँसो म घरमै थिएँ । राति खेमप्रसादको घर गै रक्सी खाई खेमप्रसादको घरमै सुतेको हो । वसन थापा मामाको घरमा विवाहभोजमा गएको थियो । हान्छु भनेर हानेको होइन, सुरक्षाको लागि छुरि निकाल्दा उहाँलाई प¥यो भनी ज्ञानबहादुरले भनेका थिए भन्ने प्रतिवादी ज्ञानबहादुर आले, खेमप्रसाद गुरुङ्ग र बसन थापाका साक्षी शेरबहादुर थापाको बकपत्र ।
उक्त मितिमा म मेरै घरमा थिएँ । प्रतिवादी शिवबहादुर आले साउनको पहिलो हप्ता मसँग भेट हुँदा रोजगारीका लागि विदेश जाने भन्थ्यो । घटना घट्नु पहिले नै विदेश जान्छु भनेकाले निज घटनामा थिएनन् भन्ने लाग्छ भन्ने प्रतिवादी शिवबहादुर आलेको साक्षी गणपती बस्यालको बकपत्र ।
उक्त मिति समयमा म मेरो घरमा थिएँ । चुडामणि पनि आफ्नै घरमा थिए । उक्त राति ३ः३० बजेतिर चुडामणी बस्याल समेत भै गुहार मागेकाले बिर्खबहादुरको घरमा गएका हौं । बिर्खबहादुर कालगतिले मरेका हैनन् कसले मारेको हो थाहा छैन भन्ने प्रतिवादी चुडामणी बस्यालका साक्षी गुप्तप्रसाद बस्यालको बकपत्र ।
२०५४।४।२६ को साँझ करीब ८ः३० बजेतिर म र मेरो गा. वि. स. अध्यक्ष कुरा गरिरहेका वखत डविन गुरुङ्ग आउनु भयो । म र डविन गुरुङ्ग खाना खाएर सुत्यौं । भोलिपल्ट ५ः३० बजेतिर बुटवल जाने गाडीमा जानुभयो भन्ने प्रतिवादी डविन गुरुङ्गको साक्षी कृष्ण के.सी. को बकपत्र ।
२०५४।४।२६ को अन्दाजी ८ः३० बजेतिर म गा. वि. स. उपाध्याक्ष कृष्ण के. सी. सँग कुरा गरी बसेको बेला डविन गुरुङ्ग घरबाट आइपुगे । निजसँग म समेत राति करिब १० बजेसम्म गफ गरी बसी आफ्नो घर तर्फ लागेको हुँ भन्ने प्रतिवादी डविन गुरुङ्गको साक्षी गोविन्द श्रेष्ठको बकपत्र ।
अभियुक्त झिल्के भन्ने ज्ञानबहादुर आलेलाई अभियोग दावीबमोजिम ज्यानसम्बन्धी महलको १३ (१) अनुसार सजाय हुने ठहर्छ । साथै निजको उमेर १६ वर्षभन्दा कम देखिँदा बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११ बमोजिम सोको आधा मात्र सजाय हुन्छ । प्रतिवादी डविन गुरुङ्गलाई ज्यानसम्बन्धी महलको १७ (३) नं. बमोजिम वर्ष दुई(२) हुने ठहर्छ । निजको हकमा ज्यानसम्बन्धी महलको १३ (१) नं. बमोजिम सजाय गरिपाऊँ भन्ने वादीको र सफाइ पाउनुपर्छ भन्ने प्रतिवादीको जिकीर पुग्न सक्दैन । प्रतिवादीहरू दुर्गाबहादुर गुरुङ्ग, तेजबहादुर गुरुङ्ग, प्रकाश गुरुङ्ग, शिवबहादुर आले, भूते भन्ने खेमबहादुर थापा, सुनबहादुर आले, कुमार आले तथा चिनबहादुर समेतलाई ज्यानसम्बन्धी महलको १३ (४) नं बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग दावी पुग्न सक्दैन । निजहरूलाई ज्यानसम्बन्धी महलको १७ (३) नं. बमोजिम जनही कैद वर्ष २(दुई) हुने ठहर्छ । प्रतिवादी हेमु भन्ने हेमबहादुर गुरुङ्गलाई ज्यानसम्बन्धी महलको १७ (३) नं. बमोजिम कैद महिना ६ हुने ठहर्छ । निजको हकमा ज्यानसम्बन्धी महलको १३ (४) नं. बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग दावी पुग्न सक्दैन । प्रतिवादीहरू चुडामणि बस्याल तथा खेमप्रसाद गुरुङ्गलाई ज्यानसम्बन्धी महलको १६ नं. बमोजिम सजाय हुनुपर्ने अभियोग दावी पुग्न सक्दैन । निजहरूले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ । प्रतिवादीहरू कृष्णबहादुर गुरुङ्ग, ओमबहादुर आले, बिनोद गुरुङ्ग, वसन थापा तथा यामबहादुर गुरुङ्ग ५ जनालाई १७(३) नं. बमोजिम सजाय हुनुपर्छ भन्ने अभियोग दावी पुग्न सक्दैन । निजहरूले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ भन्ने समेत शुरु पर्वत जिल्ला अदालतबाट २०५८।९।१७।३ मा भएको फैसला ।
छलिमायाले वकपत्र गर्दा लौरीले हानेको भनेको र निजका छोरा छोरीले छुरीले हाने भन्ने उल्लेख गरेको हुँदा उजूरी झूठो देखिएको छ । वारदात समयमा म डविन गुरुङ्ग गाउँ छाडी गएको कुरा मेरा साक्षी समेतबाट पुष्टि भएको छ । ज्ञानबहादुरको बयानलाई पुष्टि गर्ने भरपर्दो आधार कुनै देखिएको छैन । वारदात स्थलमा उपस्थित हुनु र अपराधीलाई सघाउनु अलग कुरा हो । अपराध हुनका लागि आपराधिक कार्य गरेको हुनुपर्छ । त्यो आधारमा अभियोग लगाउन नसकिएकोबाट मलाई दुई वर्ष सजाय गरेको मिलेको छैन । प्रतिवादी डविनका साथीहरू भएका निज र हामीहरूलाई वदला लिने उद्देश्यले जाहेरी दिए पनि मौकाको कागज समेतबाट कसूर गरेको भनी किटान गर्न सकेको छैन । शुरु जिल्ला अदालतबाट हाम्रो प्रमाणको उचित मूल्याङ्कन हुन सकेको छैन । तसर्थ शुरु पर्वत जिल्ला अदालतको फैसला बदर गरी हाम्रो इन्कारी वयान बमोजिम इन्साफ पाऊँ भन्ने समेत प्रतिवादी डविन गुरुङ्ग, दुर्गाबहादुर गुरुङ्ग र तेजबहादुर गुरुङ्गको संयुक्त पुनरावेदन पत्र ।
मलाई प्रहरीसमक्ष गराइएको वयान स्वेच्छा विरुद्धको हो । जाहेरवाला समेतको उजूरीमा मेरो नाम छैन । प्रतिवादी झिल्के भन्ने ज्ञानबहादुरले अदालतसमक्ष गरेको बयानमा समेत मैले मृतकमाथि हातपात गरेको खुल्दैन । वादी पक्षको साक्षीको वकपत्रबाट पनि म वारदात स्थलमा रही यो कार्य गरेको भन्ने खुल्न सकेको छैन । विनाकुनै आधार मलाई हराइएको शुरु जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी पूर्णतः सफाइ पाऊँ भन्ने प्रतिवादी हेमु भन्ने हेमबहादुर गुरुङ्गको पुनरावेदन पत्र ।
प्रतिवादी डविन गुरुङ्गले पनि मृतकलाई जोखिमी हतियार प्रयोग गरेका थिए भन्ने व्यहोरा जाहेरीमा स्पष्ट रुपमा उल्लेख भएको छ । अनुसन्धान क्रममा वयान गर्ने हेमु भन्ने हेमबहादुरले डविन गुरुङ्गले लाठीले हिर्काएका भनी पोल गरेको देखिन्छ । सो प्रमाणको मूल्याङ्कन हुन सकेको छैन । डविन गुरुङ्गले छुरी समेत प्रहार गरेको र दुर्गाबहादुर र तेजबहादुरले समाई संयोग पारिदिएका भन्ने कुरा जाहेरवाला वेनबहादुर तथा मौकामा कागज गर्ने व्यक्तिहरू शान्ति गुरुङ्ग, छलिमाया गुरुङ्ग, दलबहादुर गुरुङ्ग समेतले अदालतमा गरेको वकपत्रबाट पुष्टि भएको छ । यसरी प्रत्यक्ष प्रमाणका रुपमा रहेका साक्षी प्रमाणको प्रामाणिक महत्व र गहनतालाई अध्ययन मूल्याङ्कन र विश्लेषण नगरी भएको फैसला त्रुटिपूर्ण हुँदा शुरु अभियोग दावीबमोजिम प्रतिवादीहरूलाई सजाय गरिपाऊँ भन्ने समेत वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
मृतकको शरीरमा देखिएको घाउचोट जाँच हुँदा एउटा चोट देखिएको मृतक बिर्खबहादुरलाई म एक्लैले छुरी हानि मारकोको हुँ भनी प्रतिवादी मध्येका झिल्के भन्ने ज्ञानबहादुर आलेले अदालतमा समेत सावित भै वयान गरेको देखिएकोले निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ (१) नं. बमोजिम सर्वस्व सहित जन्मकैद गरी निजले अपराध गर्दा निजको उमेर १६ वर्ष नपुगेकोले बालबालिका सम्बन्धी ऐन २०४८ को दफा ११ बमोजिम आधा कैद सजाय हुने ठह¥याएको फैसला मनासिवै देखियो । मृतकको शरीरमा एउटा मात्र काटेको चोट रहेको, उक्त चोट प्रतिवादी ज्ञानबहादुर आलेले हानेको प्रमाणित भएकोले प्रतिवादी डविन गुरुङ्गले वारदातमा उपस्थित भै चोट छोडेको भन्ने प्रमाणको अभावमा प्रतिवादी डविन गुरुङ्गले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ । मृतकको छोरी शान्ति र प्रहरीमा कागज गर्ने जौबहादुर समेतको भनाइ पुष्टि गर्ने स्वतन्त्र प्रमाण मिसिलमा नदेखिनुको साथै प्रतिवादी ज्ञानबहादुरले अदालतमा आइ गरेको बयानलाई अन्यथा हो भनी भन्न मिल्ने नदेखिएकोले पुनरावेदकहरू डविन गुरुङ्ग, दुर्गाबहादुर गुरुङ्ग र हेमु भन्ने हेमबहादुर गुरुङ्गलाई ज्यानसम्बन्धी महलको १७ (३) नं. बमोजिम सजाय हुने ठह¥याएको शुरु फैसला उल्टी भै पुनरावेदकहरूले सफाइ पाउने ठहर्छ । पुनरावेदकहरूले सफाइ पाउने ठहरेको हुँदा सोही स्तरका अन्य प्रतिवादीहरू प्रकाश गुरुङ्ग, शिवबहादुर आले, खेमबहादुर थापा, सुनबहादुर आले, चिनबहादुर गुरुङ्ग, लोकबहादुर आले रकुमार आले समेतले सफाइ पाउने ठहर्छ । सो बाहेक अन्यमा शुरु पर्वत जिल्ला अदालतको फैसला सदर भै वादी श्री ५ को सरकारको पुनरावेदन जिकीर पुग्न नसक्ने ठहर्छ भन्ने पुनरावेदन अदालत, बाग्लुङ्गको मिति २०६०।१।८ को फैसला ।
प्रतिवादी डविन गुरुङ्ग समेतका व्यक्तिहरू राति अन्दाजी १०ः३० बजे हाम्रो घरमा आई प्रतिवादी तेजबहादुर र दुर्गाबहादुरले मेरा बुवाको हात समाउने र प्रतिवादी डविन गुरुङ्गले बुवालाई घाँटीको तल्लो भागमा छुरी प्रहार गरेको देखेको हुँ भनी जाहेरीमा उल्लेख भएको कुरा शान्ति गुरुङ्ग, छलिमाया तथा दलबहादुर गुरुङ्ग समेतका साक्षीले गरेको बकपत्र र लाश जाँच प्रकृति मुचुल्का तथा शवपरीक्षण प्रतिवेदनबाट प्रमाणित भएको छ । प्रस्तुत वारदात प्रतिवादी ज्ञानबहादुर एक्लैले घटाउन सक्ने अवस्था देखिँदैन । शुरु जिल्ला अदालतमा प्रतिवादी ज्ञानबहादुरले गरेको बयानमा समेत आफू समेतका अन्य प्रतिवादीहरू घटना घट्नुपूर्व चोकबहादुरको घरमा मासु रक्सी खाएको कुरा उल्लेख छ । यस्तो अवस्थामा प्रतिवादीहरू वारदातमा थिएनन् भन्न मिल्ने अवस्था छैन । जाहेरी दरखास्त तथा रेशम बस्यालको कागजबाट प्रतिवादीहरू चुडामणि बस्याल र खेमप्रसाद गुरुङ्ग ज्यान मार्ने षड्यन्त्रमा पसेको पुष्टि भएकोमा निजहरूलाई समेत सफाइ दिएको फैसला त्रुटिपूर्ण छ । अतः प्रतिवादीहरू अभियोग दावीबमोजिम कसूरदार देखिँदा अभियोगबाट सफाइ पाउने गरी भएको पुनरावेदन अदालत, वाग्लुङको फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
पुनरावेदन अदालत, बाग्लुङ्गको मिति २०६०।१०।५ च.नं. ४९६ को पत्रबाट प्रतिवादी मध्येको ज्ञानबहादुर आलेको हकमा उक्त अदालतबाट भएको फैसला साधक जाँचको लागि प्राप्त भई मिति २०६०।११।१२ मा साधकमा दर्ता भएको ।
प्रतिवादीहरू डविन गुरुङ्ग, तेजबहादुर गुृरुङ्ग, प्रकाश गुरुङ्ग, शिवबहादुर आले, लोकबहादुर आले, भूते भन्ने खेमबहादुर थापा, सुनबहादुर आले, कुमार आले र चिनबहादुर गुरुङ्ग र हेमु भन्ने हेमबहादुर गुरुङ्ग वारदातस्थलमा उपस्थित भै संलग्न रहेको देखिँदा निजहरूलाई सफाइ दिने गरेको पुनरावेदन अदालत वाग्लुङको इन्साफ फरक फर्ने देखिदा निजहरू १० जनालाई अ.ब. २०२ नं. बमोजिम झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट विद्वान सहन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेलले प्रतिवादीहरू तेजबहादुर गुरुङ र दुर्गाबहादुर गुरुङले मृतकलाई समाएको भन्ने किटानी जाहेरी परेको र मौकामा कागज गर्ने जौबहादुर, चोकबहादुर र दलबहादुर तथा मौकामा बयान गर्ने हेमबहादुर गुरुङ र खेमबहादुर गुरुङ समेतको व्यहोराबाट प्रतिवादीहरू डविन गुरुङ, तेजबहादुर गुरुङ, प्रकाश गुरुङ, शिवबहादुर आले, लोकबहादुर आले, भुते भन्ने खेमबहादुर थापा, सुनबहादुर आले, कुमार आले, चिनबहादुर गुरुङ उपरको अभियोग दावी पुष्टि भई रहेको हुँदा सबै प्रतिवादीलाई दावी अनुसार सजाय गर्नु पर्नेमा ज्ञानबहादुर आले उपर मात्रै कसूर कायम गरी सजाय गरेको पुनरावेदन अदालत बाग्लुङको फैसला मिलेको छैन । अभियोग दावी बमोजिम सबै प्रतिवादीहरूलाई सजाय गरिपाऊँ भन्ने समेत बहस गर्नुभयो ।
विद्वान सहन्यायाधिवक्ताको बहस सुनी पुनरावेदन अदालतबाट भएको फैसला मिले नमिलेको के रहेछ ? भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा डविन गुरुङ सहितका प्रतिवादीहरूले छुरी प्रहार गरी बिर्खबहादुर गुरुङलाई मारी फरार भएको भन्ने जाहेरी दरखास्तका आधारमा प्रस्तुत मुद्दामा अनुसन्धान तहकिकात भई प्रतिवादी मध्येको ज्ञानबहादुर आले र डविन गुरुङका हकमा ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सजायको माग दावी लिएको, अन्य प्रतिवादीहरू हेमबहादुर गुरुङ, शिवबहादुर आले, दुर्गाबहादुर गुरुङ, तेजबहादुर गुरुङ, प्रकाश गुरुङ, लोकबहादुर गुरुङको हकमा सोही महलको १३(४) नं. बमोजिम, प्रतिवादीहरू खेमप्रसाद गुरुङ, चुडामणी बस्यालको हकमा सोही महलको १६ नं. बमोजिम तथा प्रतिवादीहरू यामबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, वसन थापा उपर सोही महलको १७(३) नं. बमोजिम र प्रतिवादी ओमबहादुर आले र बिनोद गुरुङ उपर ज्यानसम्बन्धी महलको १७ नं. बमोजिमको सजाय माग दावी लिई अभियोग पत्र पेश भएकोमा शुरु पर्वत जिल्ला अदालतले प्रतिवादी झिल्के भन्ने ज्ञानबहादुर आलेको हकमा अभियोग दावीबमोजिम ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम र प्रतिवादीहरू डविन गुरुङ, दुर्गाबहादुर गुरुङ, तेजबहादुर गुरुङ, प्रकाश गुरुङ, शिवबहादुर आले, लोकबहादुर आले, भुते भन्ने खेमबहादुर थापा, सुनबहादुर आले, कुमार आले, चिनबहादुर गुरुङ र हेमु भन्ने हेमबहादुर गुरुङलाई ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम सजाय हुने गरी तथा प्रतिवादीहरू खेमबहादुर गुरुङ र चुडामणी बस्याललाई अभियोग दावीबाट सफाइ दिने फैसला गरेकोमा सो फैसलाउपर पुनरावेदन परी पुनरावेदन अदालत बाग्लुङबाट फैसला हुँदा प्रतिवादी झिल्के भन्ने ज्ञानबहादुर आलेलाई अभियोग दावीबमोजिम सजाय गरी अन्य सबै प्रतिवादीहरूलाई सफाइ दिएको र सो फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन पर्नुका साथै प्रतिवादी ज्ञानबहादुर आलेको हकमा भएको फैसला साधक जाँचको लागि दर्ता भई निर्णयार्थ पेश हुन आएको देखियो ।
३. मृतक बिर्खबहादुर गुरुङको लाश प्रकृति मुचुल्कामा बाँया कानदेखि तल घाँटीको बाँयापट्टि १ इञ्च लम्बाई, ४ इञ्च गहिराईको घाउ रहेको, सो घाउको वरिपरि रगत जमेको, सो घाउ बाहेक मृतकको शरीरमा अन्य निलडाम र घाउचोट समेत नभएको भन्ने उल्लेख भएको देखिन्छ । त्यस्तै पोष्टमार्टम रिपोर्टमा त्जष्क ष्क ब अबकभ या कतबद ष्लवगचथ बलम तजभ अबगकभ या मभबतज ष्क मगभ तय ष्लतभचलब िजबझयचचबनभ भन्ने उल्लेख भएको देखिन्छ । यसरी लाश जाँच मुचुल्का तथा पोष्टमार्टम रिपोर्टबाट बिर्खबहादुर गुरुङको मृत्यु छुरी प्रहारबाट बाँया कानमुनी घाँटीमा चोट लाग्न गै सोही चोटको कारणबाट भएको देखिँदा निजको मृत्यु स्वभाविक नभई कर्तव्यबाटै भएको तथ्य स्थापित भएको छ ।
४. प्रतिवादीहरू डविन गुरुङ समेतलाई पुनरावेदन अदालतले सफाइ दिए उपर वादी नेपाल सरकारको पुनरावेदन परेको र प्रतिवादी झिल्के भन्ने ज्ञानबहादुर आलेलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सजाय गरेको हकमा साधक जाँचको लागि साधकमा दर्ता भएको अवस्था हुँदा सर्वप्रथम प्रतिवादी ज्ञानबहादुर आलेको हकमा साधककै रोहबाट पुनरावेदन अदालतको फैसला मिले नमिलेतर्फ विचार गरौं । मिति २०५४।४।२६ मा भोर्ले गा.वि.स. को विद्यालय व्यवस्थापन समितिको बैठकबाट सो समितिको अध्यक्षमा बिर्खबहादुरको नाम सिफारिश गरेकोमा त्यसको विरोध भएपछि सोही राति मृतकको घरमा आई प्रतिवादी डविन गुरुङ समेतका व्यक्तिहरूले छुरी प्रहार गरी कुटपीट गरेको कारण सोही चोटपिडाबाट बिर्खबहादुरको मृत्यु भएको भन्दै जाहेरी परेको देखिन्छ । सो जाहेरीमा प्रतिवादी मध्येका दुर्गाबहादुर गुरुङ र तेजबहादुर गुरुङले मृतकको दुवै हात समाएको र अर्का प्रतिवादी डविन गुरुङले आफ्नो दाहिने हातमा लिएको छुरीले मृतकको घाँटीको तल्लो भागमा प्रहार गरेको भन्ने किटानी व्यहोरा उल्लेख भएको पाइन्छ । सो वारदातमा भएको सम्पूर्ण घटनाहरू प्रत्यक्ष देख्ने मृतकका छोराले नै जाहेरी दिएको र सो जाहेरी व्यहोरालाई समर्थन गरी अदालतमा आई निजले वकपत्र समेत गरेको अवस्था छ । जाहेरी व्यहोरामा प्रतिवादी झिल्के भन्ने ज्ञानबहादुर आले अर्का प्रतिवादी डविन गुरुङ समेतको साथ लागि वारदात स्थलमा गएको भन्ने उल्लेख भए पनि निज ज्ञानबहादुरले मृतक उपर कुनै चोट छोडेको वा सो चोट छोड्नमा अरु प्रतिवादीलाई यो यस किसिमले सहयोग गरेको हो भन्ने कतैबाट केही कुरा पनि खुल्न सकेको छैन ।
५. मृतक बिर्खबहादुर गुरुङको घरमा गई झै झगडा गर्नु भन्दा अगाडि प्रतिवादी डविन गुरुङ समेतका व्यक्तिहरूले रक्सी खाई निज उपर हमला गर्ने विषयमा एकआपसमा सरसल्लाह गरेका र सोही सिलसिलामा चोकबहादुर गुरुङको घरमा रक्सी र मासु सेवन गरी मृतकको घर तर्फ आएका भन्ने जाहेरवालाको कथन रहेकोमा त्यसरी रक्सी खाने समयमा यी प्रतिवादी ज्ञानबहादुर आले समेत अन्य प्रतिवादीहरूसँगै थिए भनी निज चोकबहादुर गुरुङले मौकामा गरेको कागज समेतमा खुलाएको पाइँदैन । मृतक बिर्खबहादुर गुरुङको उमेर ५७ वर्ष को देखिन्छ । निज ५ फीट ४ इञ्च अग्लो बयस्क पुरुष भन्ने देखिएका छन् । वारदातको मिति समयमा यी प्रतिवादी ज्ञानबहादुर आले १४ वर्ष ३ महिना जति उमेरको नाबालक देखिन्छन् । वारदातको अवस्था पछि यी प्रतिवादी फरार रहेका र पछि अदालतमा उपस्थित भई बयान गर्दा भने आफ्नो घरतर्फ जान लाग्दा मृतक बिर्खबहादुरले घरबाट बाहिर निस्केर गाली गरी लाठीले हानेको कारण सुरक्षाको लागि छुरी निकाल्दा मृतकले झम्टिन आएकोमा छुरी लाग्न गै मृत्यु भएको हो भन्ने व्यहोरा उल्लेख गरेको पाइयो । लाशजाँच प्रतिवेदन एवं पोष्टमार्टम रिपोर्टबाट मृतकको बाँया कानमुनीको घाँटीमा छुरी प्रहारबाट १ इञ्च लम्बाई र ४ इञ्च चौडाईको घाउ लागेको र सो घाउ चोट बाहेक मृतकको शरीरमा अन्य कुनै निलडाम वा घाउचोट देखिँदैनन् । १४ वर्षको नाबालक प्रतिवादीले ५७ वर्षको स्वस्थ्य एवं ५ फीट ४ इञ्च उचाई भएको वयस्क व्यक्तिलाई शरीरको माथिल्लो भाग अर्थात बाँया कानमुनिको गर्धनमा ४ इञ्च गहिरो चोट लाग्ने गरी प्रहार गर्नसक्ने अवस्था प्रस्तुत वारदातको प्रकृतिबाट देखिन आउँदैन । अर्काेतिर, मृतक बिर्खबहादुरको एकाघरमा वारदात मितिमा मृतकसँगै साथै रहेका निजका छोरा जाहेरवाला बेनुबहादुर गुरुङ तथा मौकामा कागज गर्ने छोरी शान्ति गुरुङ, श्रीमती छलिमाया गुरुङ र अन्य व्यक्तिहरू देउकुमारी गुरुङ, दलबहादुर गुरुङ प्रस्तुत वारदातमा प्रत्यक्षदर्शी अर्थात् चश्मदिद गवाहको रुपमा रहेका छन् । निजहरूको मौकाको कागज समेतमा प्रतिवादी ज्ञानबहादुरले छुरी प्रहार गरेको भनी उल्लेख गरेको देखिँदैन । बरु मृतकको हात प्रतिवादी दुर्गाबहादुर गुरुङ र तेजबहादुर गुरुङले समातेको र अर्का प्रतिवादी डविन गुरुङले दुवैतिर धार भएको छुरीले मृतकको गर्धनमा प्रहार गरेको भनी लेखाएको देखिन्छ । घटनाका प्रत्यक्षदर्शी व्यक्तिहरूले यी प्रतिवादी ज्ञानबहादुर आलेले मृतकउपर छुरी प्रहार गरेको भनेका छैनन् । यी प्रतिवादीले अदालतको बयानमा उल्लेख गरे जस्तो मृतक उपर छुरीले लाग्न गएको भन्ने मानेको अवस्थामा त्यसरी निरुद्धेश्य र अनिच्छित (बअअष्मभलतब)ि रुपमा लागेको छुरीबाट ताकेर गरेको प्रहारबाट लाग्ने जस्तो घाउचोट लाग्न सक्दैन । त्यसकारण, घाउचोटको प्रकृति र मृतकको बाहिरी शरीरको भाग हेर्दा समेत यी प्रतिवादीको अदालतको बयान स्वभाविक एवं प्रमाणहरूबाट समर्थित भएको देखिन आउँदैन ।
६. तत्काल पक्राउ परेको प्रतिवादीमध्ये हेमु भन्ने हेमबहादुर गुरुङलेसम्म अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा यी प्रतिवादी ज्ञानबहादुरलाई पोलेको भएपनि अन्य कुनै पनि प्रतिवादीले यी ज्ञानबहादुरउपर तत्काल पोल गर्न सकेको देखिँदैन । निज प्रतिवादी हेमबहादुर गुरुङले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको बयानमा वारदातमा आफूले हो–हल्ला समेत गरेको तर मृतक उपर छुरी प्रहार गर्ने काम आफूले नगरेको भन्दै यी प्रतिवादी ज्ञानबहादुर आलेउपर पोल गरेको आधारमा समेत निजलाई ज्यानसम्बन्धी महलको १३(१) नं. को अभियोग दावी लिइएको पाइन्छ । तर प्रतिवादी हेमु भन्ने हेमबहादुरको प्रहरीसमक्षको बयान बाहेक अनुसन्धानको सिलसिलामा संकलित अन्य कुनै पनि प्रमाणबाट यी प्रतिवादीले मृतकउपर छुरी प्रहार गरेको भन्ने आरोपको समर्थन गरेको देखिँदैन । यसको अतिरिक्त प्रतिवादी हेमबहादुर गुरुङले अदालतमा गरेको बयानमा भने आफ्नो प्रहरीसमक्षको बयान डरत्रासबाट गराएको भनी आफू पूर्ण रुपमा इन्कार रही बयान गरेको देखिन्छ । यस्तो अवस्थामा निजको मौकाको बयानलाई स्वतन्त्र र भरपर्दाे प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने देखिएन । फौजदारी मुद्दामा सह–अभियुक्तले पोल गरी बयान गरेको आधारमा मात्र कसैका विरुद्ध लिइएको अभियोग दावी पुष्टि हुने होइन । त्यस्तो पोल वा उजूर वस्तुनिष्ठ एवं शंकारहित तवरबाट अन्य संकलित प्रमाण समेतबाट समर्थित भएको हुनुपर्छ । अन्यथा केवल सह अभियुक्तले पोल गरेकै भरमा कसैउपर कुनै फौजदारी अभियोग स्थापित हुन सक्दैन ।
७. अव पुनरावेदन अदालतलले प्रतिवादी ज्ञानबहादुर उपरको अभियोग दावी पुष्टि गरी सजाय गर्दा आधार लिएको निजले गरेको अदालतसमक्षको साविती बयान तर्फ विचार गरौं । फौजदारी कसूरमा अभियुक्तको साविती बयान एउटा महत्वपूर्ण प्रमाण हो । तर एकमात्र प्रमाण होइन । त्यस्तो साविती समेत अन्य संकलित प्रमाणबाट पुष्टि हुनुपर्दछ । अदालतले साविती बयानलाई प्रमाणमा ग्रहण गर्दा त्यस्तो साविती बयान कस्तो अवस्थामा दिईएको छ र त्यसलाई अन्य प्रमाणले समर्थन गरेको छ, छैन भन्ने कुरालाई पनि हेर्नुपर्दछ । प्रस्तुत मुद्दामा यी प्रतिवादी ज्ञानबहादुर आले १४ वर्ष उमेरको कक्षा ६ मा पढ्दै गरेका नाबालक देखिएका छन् । घटनाका प्रत्यक्षदर्शी व्यक्तिहरू जाहेरवाला लगायत मौकामा कागज गर्ने मृतकको श्रीमती छलिमाया गुरुङ , छोरी शान्ति गुरुङ तथा देउकुमारी गुरुङ र दलबहादुर गुरुङको मौकाको भनाई र अदालतमा उपस्थित भई निजहरूले गरेको वकपत्र समेतबाट यी प्रतिवादी झिल्के भन्ने ज्ञानबहादुर आलेले अदालतमा गरेको साविती बयान समर्थित हुन आएको छैन ।
८. अभियुक्तको साविती बयान सदैव सत्य नै हुन्छ भन्ने होइन । अभियुक्तको उमेर, साविती बयान गर्दा हुने परिणामको पूर्वानुमान गर्नसक्ने निजको क्षमता, साविती बयान दिनु पूर्वको परिस्थिति, अन्य अभियुक्तहरूबाट निजउपर पर्न सक्ने दवाव वा प्रलोभन, अपराधको कारण वा पृष्ठभूमि जस्ता कुराहरूले कुनै अभियुक्तको साविती बयान सत्य वा साँचो हो वा झूठा वा प्रायोजित हो भन्ने कुरा निक्र्याैल गर्न मद्दत गर्दछन् । साथै साविती बयान स्वयंमा स्पष्ट, ठोस, स्वभाविक र पूर्ण छ वा अस्पष्ट, अपूर्ण, अस्वाभाविक, अधुरो वा आंशिक छ, त्यो पनि विचार गर्नुपर्ने हुन्छ । कुनै एउटा तथ्यमा सावित भए पनि त्यसबाट निजउपरको सम्पूर्ण अभियोगको पुष्टि हुँदैन । यसर्थ, यी समग्र परिस्थिति र घटनाक्रमलाई सूक्ष्मरुपमा विश्लेषण नगरी केवल सावितीकै आधारमा मात्र कसैउपर कसूर कायम गरी सजाय गर्नु न्यायसंगत हुँदैन । प्रस्तुत मुद्दामा यी प्रतिवादीले तत्काल फरार भएपनि पछि अदालतमा उपस्थित भई गरेको बयानमा कहिले मृतकले कुटपीट गर्न लागेकोले सुरक्षाको लागि छुरी निकाल्दा मृतकलाई लाग्न गएको भनेका छन् भने कहिले आफैंले प्रहार गरेको भन्दै विरोधाभाषपूर्ण बयान गरेको देखिन्छ । यसरी निजको बयानलाई पूर्ण, स्पष्ट र स्वाभाविक साविती बयानको रुपमा मान्न मिल्ने देखिँदैन । निजको सो बयान घटनाका प्रत्यक्षदर्शी जाहेरवाला लगायतका व्यक्तिहरूको भनाईबाट पुष्टि भएको पनि पाइँदैन । यस्तो विरोधाभाषपूर्ण र अस्पष्ट बयानलाई अन्य प्रमाणबाट समर्थित नभएको अवस्थामा साविती बयानको रुपमा ग्रहण गरी निजउपर कसूर कायम गर्ने अकाट्य र एकमात्र प्रमाणको रुपमा ग्रहण गर्न सकिँदैन ।
९. वारदात हुँदाका वखत चश्मदिद गवाहको रुपमा रहेका व्यक्तिले मौकामा र अदालतमा उपस्थित भई वकपत्र गर्दा समेत आफूले प्रत्यक्षरुपमा घटना देखी घटनाको यथार्थ व्यहोरा खुलाई रहेको स्थितिमा अदालतले त्यस्ता चश्मदिद व्यक्तिको मौकाको कागज र अदालतसमक्ष गरेको वकपत्रको व्यहोराको सत्यताउपर शंका गर्नुपर्ने कुनै कारण रहँदैन । फौजदारी मुद्दामा चश्मदिद व्यक्तिहरूको भनाई कसूर कायम गर्ने एउटा निर्णायक प्रमाण हो । यस्तो व्यक्तिको भनाई वारदातको प्रकृति र अन्य प्रमाणबाट समर्थित भएको छ भने अदालतले त्यस्तो प्रत्यक्ष साक्षीको कथनलाई अनदेखा गरी न्यायिक निष्कर्ष निकाल्नु न्यायसंगत हुँदैन । तसर्थ प्रस्तुत मुद्दामा यी प्रतिवादी झिल्के भन्ने ज्ञानबहादुर आलेको बयानकै भरमा मात्र यस मुद्दामा संकलित चश्मदित व्यक्तिहरूको कागज एवं बकपत्र लगायतका अन्य तथ्ययुक्त प्रमाणहरूलाई वेवास्ता गरी न्यायिक निष्कर्षमा पुग्नु न्यायोचित हुँदैन । समग्र प्रमाणहरूको मूल्याङ्कन गर्दा यी प्रतिवादीको द्विविधापूर्ण साविती बयान यथार्थमा आधारित नभई विरोधाभाषपूर्ण देखिएकोले त्यसलाई साविती बयानको संज्ञा दिई त्यसैको आधारमा प्रतिवादी झिल्के भन्ने ज्ञानबहादुर आलेउपरको अभियोग दावी पुष्टि हुन सक्दैन । निजलाई आरोपित कसूरबाट सफाइ दिनुपर्नेमा आरोपित कसूरमा सजाय गरेको पुनरावेदन अदालत बाग्लुङको फैसला सो हदसम्म नमिलेको हुँदा उल्टी हुन्छ ।
१०. अब मृतकको मृत्यु कुन कुन प्रतिवादीको प्रहारबाट वा संलग्नतामा भएको भन्ने तर्फ विचार गर्नुपर्ने हुन आउँछ । मृतक बिर्खबहादुरको मृत्यु निजको बाँया कानमुनि गर्धनमा छुरी प्रहारबाट १ इञ्च लम्बाई ४ इञ्च गहिरो चोट लागी सोही चोटको कारणबाट भएको देखिएको छ । लाश जाँच मुचुल्का, शव परीक्षण प्रतिवेदन समेतबाट सो चोट बाहेक मृतकको शरीरमा अन्य कुनै चोट रहे भएको देखिँदैन । घटनाका प्रत्यक्षसाक्षी अर्थात् चश्मदिद गवाहको रुपमा रहेका मृतकका छोरा जाहेरवाला बेनबहादुर गुरुङ, मृतककी श्रीमती छलिमाया गुरुङ, छोरी शान्ति गुरुङ एवं देउकुमारी गुरुङ र दलबहादुर गुरुङ समेतका व्यक्तिहरूले वारदात मिति, समयमा प्रतिवादी डविन गुरुङ सहितका व्यक्तिहरू मृतकको घरमा आई छानोमा र ढोकामा हान्न थालेपछि मृतकले त्यस्तो नगर भन्दै आफ्नो घरको ढोका खोली बाहिर आएकोमा प्रतिवादी मध्येका दुर्गाबहादुर गुरुङ र तेजबहादुर गुरुङले मृतकको एक एक वटा हातमा समाएका र सोही अवस्थामा अर्काे प्रतिवादी डविन गुरुङ एक्कासी छेउमा आई आफ्नो हातमा भएको धारिलो छुरीले मृतकको बाँया कानमुनि गर्धनमा प्रहार गरी ढालेको भनी मौकामा र अदालतको वकपत्र समेतमा किटानी साथ उल्लेख गरी खुलाएको अवस्था छ । सो घटना हुनुपूर्व बिर्खबहादुर गुरुङ र प्रतिवादी डविन गुरुङ समेतकाबीच स्थानीय विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष चयन गर्ने विषयमा वादविवाद भै सोही जरियाबाट डविन गुरुङ सहितका प्रतिवादीहरूले मृतकको घरमा गै वादविवाद गर्दै मृतकउपर छुरी प्रहार गरेको देखिएको छ । प्रतिवादी डविन गुरुङ वारदात पछि फरार रही अदालतमा उपस्थित भै बयान गर्दा कसूरमा इन्कार रहे पनि निजकै अगुवाईमा अन्य प्रतिवादीहरू समेत मृतकको घरमा गई वादविवाद गरेको भन्ने देखिन्छ ।
११. प्रत्यक्षदर्शी साक्षीहरू बोनबहादुर गुरुङ्ग, छलीमाया गुरुङ्ग र शान्ति गुरुङ्गले प्रतिवादी डविन गुरुङले नै छुरी प्रहार गरेको र अन्य प्रतिवादीहरू दुर्गाबहादुर गुरुङ र तेजबहादुर गुरुङले मृतकको हात समाएको भनी किटानी वकपत्र गरेको र त्यसको पुष्ट्याई शव परीक्षण समेतबाट भइरहेको छ । प्रतिवादी डविन गुरुङ्गले अदालतमा बयान गर्दा वारदात मितिमा दिउँसो विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्ने बैठकमा आफू उपस्थित रहेको कुरासम्म स्वीकार गर्दै सोही साँझ ६ बजे स्याङ्जा बयरघारी कृष्ण के.सी. को घरमा पुगी राति त्यहीँ सुतेको र भोलिपल्ट त्यहाँबाट बुटवल हुँदै बम्बै गएको कुरा खुलाई अदालतमा बयान गरेको देखिन्छ । यसरी वारदात समयमा आफू उपस्थित नरही अन्यत्रोपस्थिति (ब्ष्दिष्) को जिकीर लिए तापनि त्यसको पुष्टि गर्न सकेको पाइँदैन । रातारात स्याङ्जा बयरघारी अनि त्यहाँबाट बुटवल हुँदै बम्बै जानुपर्ने कारण र परिस्थिति पनि देखाउन, खुलाउन सकेको पाइँदैन । निजको इन्कारी बयान वारदात देख्ने प्रत्यक्षदर्शीहरूको बकपत्रबाट खण्डित भई रहेकोले निजको इन्कारी बयान विश्वसनीय देखिन आएन । यस्तो अवस्थामा प्रतिवादी डविन गुरुङको अदालतसमक्षको इन्कारी बयान निजको निर्दाेषिताको आधार बन्न सक्ने देखिएन । निज प्रतिवादी डविन गुरुङले आरोपित कसूर गरेको प्रमाणित हुन आएकोले निजलाई अभियोग दावीबमोजिम ज्यानसम्बन्धी महलको १३(१) नं. अनुसार सर्वश्वसहित जन्मकैद हुन्छ ।
१२. प्रतिवादीहरू दुर्गाबहादुर गुरुङ, तेजबहादुर गुरुङ, प्रकाश गुरुङ, शिवबहादुर आले, लोकबहादुर आले, भुते भन्ने खेमबहादुर थापा, सुनबहादुर आले, कुमार आले र चिनबहादुर आलेको हकमा ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम सजायको माग दावी लिइएको देखियो । यी प्रतिवादीहरू मध्येका दुर्गाबहादुर गुरुङ र तेजबहादुर गुरुङले मृतकको एक एक वटा हात समाएको अवस्थामा अर्काे प्रतिवादी डविन गुरुङले एक्कासी मृतकउपर छुरी प्रहार गरेको देखिएको छ । घटनाका प्रत्यक्षदर्शी जाहेरवाला लगायतका शान्ति गुरुङ, छलिमाया गुरुङ, देउकुमारी गुरुङ, दलबहादुर गुरुङ समेतले यी प्रतिवादी दुर्गाबहादुर र तेजबहादुरले मृतकको हात समाएर प्रतिवादी डविन गुरुङलाई मृतक उपर छुरी प्रहार गर भनी बचन दिएको वा उक्साएको भन्ने व्यहोरा उल्लेख गर्न सकेको देखिँदैन । वारदातको प्रकृतिबाट मृतक र यी प्रतिवादी समेतवीच मौखिक भनाभन वा झै झगडा भई मृतक घरबाट बाहिर निस्किएको अवस्थामा यी दुवै प्रतिवादीले मृतकलाई समाएको अवस्थामा एकाएक अर्काे प्रतिवादी डविन गुरुङले छुरी प्रहार गर्न पुगेको देखिएको छ । यस्तो अवस्थामा यी प्रतिवादीहरू दुर्गाबहादुर गुरुङ र तेजबहादुर गुरुङले नै मृतकको ज्यान लिने उद्देश्यले नै समातेको र समातेपछि प्रतिवादी डविनलाई छुरी प्रहार गरी मार्न संयोग पारी दिएको भनी मान्न मिलेन । दोहोरो भनाभन भएको अवस्थामा मृतकको हात समाएको देखिएको र सोही अवस्थामा अर्का प्रतिवादीले मृतक उपर छुरी प्रहार गरेको पाईएको हुँदा यी प्रतिवादीहरू दुर्गाबहादुर गुरुङ र तेजबहादुर गुरुङले आरोपित ज्यानसम्बन्धीको १३ (३) नं. अन्तर्गत को कसूर गरेको नभई सोही महलको १७(२) नं. अन्तर्गतको कसूरसम्म गरेको देखिएकोले सोही १७(२) नं. बमोजिम यी दुवै प्रतिवादीहरूलाई जनही ५ वर्ष कैद हुन्छ ।
१३. प्रतिवादीहरू प्रकाश गुरुङ्ग, शिवबहादुर आले, लोकबहादुर आले, भुते भन्ने खेमबहादुर थापा, सुनबहादुर आले, कुमार आले र चिनबहादुर आले समेतलाई ज्यानसम्बन्धी महलको १३(४) नं. को सजाय माग दावी लिइएको भए तापनि यी प्रतिवादीहरू समेत प्रस्तुत वारदातमा संलग्न भई के कस्तो कार्य गरी मृतकलाई मार्नमा सहयोग गरेको वा वचन दिएको वा संयोग पारेको भन्ने संकलित प्रमाणहरूबाट खुल्न सकेको छैन । केवल सबै प्रतिवादीहरू वारदातमा संलग्न थिए भनी गोश्वारा रुपमा जाहेरी दिएको र सोहीअनुसार अभियोग दावी गरिएको भए तापनि यी प्रतिवादीहरूले कुन कुन कार्य गरी वारदात घटाउन सहयोग गरेको भन्ने तथ्यगत रुपमा कुनै पनि साक्षीले उल्लेख गर्न नसकेको साथै मृतकको शरीरमा छुरा प्रहारबाट लागेको एउटा घाउ बाहेक अन्य कुनै चोट पटक वा निलडामसम्म पनि नदेखिएको अवस्था छ । यी प्रतिवादीहरूले वारदातस्थलमा उपस्थित भई मृतक उपर गाली गलौज गरी झै झगडा गर्न उक्साएको वा मृतकलाई बाटोघाटो छेकी वा अन्य तरहले भाग्न उम्कन नपाउने गरी कुनै कार्य गरेको भन्ने पनि देखिँदैन । प्रतिवादीहरू तेजबहादुर गुरुङ र दुर्गाबहादुर गुरुङले मृतकलाई समातेको अवस्थामा प्रतिवादी डविन गुरुङले एक्कासी मृतकउपर छुरी प्रहार गरेको तथ्य माथिको विवेचनाबाट पृष्टि भइसकेको छ । सो बाहेक यी प्रतिवादीहरूको वारदातमा संलग्नता रहेको भन्ने ठोस आधार एवं प्रमाण नरहेको हुँदा यी प्रतिवादीहरू प्रकाश गुरुङ, शिवबहादुर आले, लोकबहादुर आले, भुते भन्ने खेमबहादुर थापा, सुनबहादुर आले, कुमार आले र चिनबहादुर आले समेत उपर लिइएको अभियोग दावी पुष्टि हुन सक्दैन ।
१४. त्यस्तै ज्यानसम्बन्धी महलको १६ नं. बमोजिम अभियोग दावी लिइएका प्रतिवादीहरू चुडामणी बस्याल र खेमप्रसाद गुरुङको सम्बन्धमा हेर्दा यी दुवैजना प्रतिवादीहरू अधिकार प्राप्त अधिकारी तथा अदालतसमक्ष बयान गर्दा समेत अभियोग दावीमा इन्कार रहेको देखियो । ज्यानसम्बन्धी महलको १६ नं. मा ज्यान मार्ने काममा वा ज्यान मर्न सक्ने कुरामा मुख्य भै षडयन्त्र गर्ने वा यस्तो काम गर्न लगाउनेलाई सजायको व्यवस्था भएको देखिन्छ । ज्यान मार्ने कार्यको षड्यन्त्र गरेको भनी कसैउपर अभियोग लगाउनु मात्र पर्याप्त हुँदैन । त्यस्तो षड्यन्त्र गरेको भन्ने कुरा संकलित प्रमाणहरूले शंकारहित रुपमा पुष्टि वा समर्थन गरेको पनि हुनुपर्दछ । यी प्रतिवादीहरूले बिर्खबहादुर गुरुङको ज्यान लिने कार्यमा मुख्य दोषी देखिएका प्रतिवादी डविन गुरुङसँग कहिले, कहाँ बसी के कस्तो षड्यन्त्र गरेका हुन् वा ज्यान मार्न लगाएका हुन् भन्ने कुरा प्रमाणद्वारा पुष्टि गर्न सकेको पाइँदैन । घटनाका प्रत्यक्षदर्शी व्यक्तिहरूले पनि यी प्रतिवादीहरूउपर कुनै किटानी पोल समेत गरेको पाइँदैन । यस्तो अवस्थामा केवल अभियोग दावी र शंकाको आधारमा यी प्रतिवादीहरू चूडामणी बस्याल र खेमप्रसाद गुरुङलाई कसूरदार ठहराउन र सजाय गर्न मिल्ने देखिएन । निजहरूउपरको अभियोग दावी प्रमाणको अभावमा पुग्न सक्दैन ।
१५. अब, अभियोजन पक्षबाट ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम सजायको माग दावी लिइएका प्रतिवादीहरू कृष्णबहादुर गुरुङ, ओमबहादुर आले, बिनोद गुरुङ, वसन थापा र यामबहादुर गुरुङ समेतका प्रतिवादीहरूका हकमा विचार गर्दा यी प्रतिवादीहरू प्रस्तुत वारदातका अनुसन्धानको क्रममा मौकामै पक्राउ परेका भए पनि निजहरू अन्य प्रतिवादीहरूसँगै वारदातस्थलमा गएको कुरामा अधिकार प्राप्त अधिकारीसमक्षको बयान तथा अदालतसमक्ष गरेको बयान समेतमा इन्कार रहेको पाइयो । जाहेरी दरखास्त दिने जाहेरवाला बेनबहादुर गुरुङ प्रस्तुत वारदातमा एक प्रत्यक्षदर्शीको रुपमा रहेका छन् । जाहेरीदरखास्त समेतमा निजले यी प्रतिवादीको नाम किटान गरेको पाईँदैन । यी प्रतिवादीहरू घटनाहुँदाका अवस्थामा उपस्थित भएको कुरा कुनै पनि प्रमाणबाट खुलेको छैन । यस्तो स्थितिमा प्रतिवादीहरू कृष्णबहादुर गुरुङ, ओमबहादुर आले, बिनोद गुरुङ, वसन थापा र यामबहादुर गुरुङ समेतले अभियोग दावीबाट सफाइ पाउने देखिन आयो ।
१६. तसर्थ, माथि विवेचना गरिएका आधार प्रमाण एवं कारणहरूबाट प्रस्तुत मुद्दामा प्रतिवादी झिल्के भन्ने ज्ञानबहादुर आले उपरको अभियोग दावी पुग्न नसक्नेमा निजलाई अभियोग दावीबमोजिम सजाय गर्ने गरेको शुरु फैसला सदर गरी अन्य सबै प्रतिवादीहरूलाई सफाइ दिएको पुनरावेदन अदालत बाग्लुङको मिति २०६०।१।८ को फैसला सो हदसम्म नमिलेको हुँदा केही उल्टी भई प्रतिवादी झिल्के भन्ने ज्ञानबहादुर आलेले अभियोग दावीबाट सफाइ पाउने र प्रतिवादी डविन गुरुङलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ । प्रतिवादीहरू दुर्गाबहादुर गुरुङ र तेजबहादुर गुरुङलाई ज्यानसम्बन्धी महलको १७(२) नं. बमोजिम जनही कैद वर्ष ५ (पाँच) हुने ठहर्छ । अन्य प्रतिवादीहरू प्रकाश गुरुङ, शिवबहादुर आले, लोकबहादुर आले, भुते भन्ने खेमबहादुर थापा, सुनबहादुर आले, कुमार आले, चिनबहादुर आले, चूडामणी बस्याल, खेमप्रसाद गुरुङ, कृष्णबहादुर गुरुङ, ओमबहादुर आले, बिनोद गुरुङ, वसन थापा र यामबहादुर गुरुङले अभियोग दावीबाट सफाइ पाउने ठहर गरेको हदसम्म पुनरावेदन अदालतको फैसला मिलेको देखिँदा सो हदसम्म सदर हुने ठहर्छ ।
१७. अब, प्रतिवादी डविन गुरुङलाई माथि ठहरेबमोजिमको सजायको हकमा विचार गर्दा यी प्रतिवादी डविन गुरुङ तत्कालीन समयमा गाउँ विकास समितिको अध्यक्षको रुपमा जन निर्वाचित पदमा बहाल रहेको देखिन्छ । निज समेत संलग्न भई विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष चयन गर्ने सिलसिलामा भएको भेलामा मृतक बिर्खबहादुर गुरुङको नाम व्यवस्थापन समितिको अध्यक्षमा प्रस्तावित भएपछि मात्र मृतक र यी प्रतिवादीबीच मनमुटाव र रिसइवीको सिर्जना भई सोही जरियाबाट वारदात घटित भएको प्रमाणित हुन आएको छ । मृतकलाई मार्ने प्रयोजनले मृतकको घरमा गएको र मृतकउपर छुरी प्रहार गर्नु पूर्व मृतकसँग भनाभन समेत भएको भन्ने देखिएको छ ।
१८. वादविवाद वा भनाभन हुँदै गर्दा मृतक आफ्नो घरबाट वाहिर निस्केको अवस्थामा यी प्रतिवादीले मृतक उपर छुरी प्रहार गरेको देखिएको छ । त्यसरी छुरी प्रहार गर्नु वा मृतकसँग भनाभन हुनुभन्दा अगाडि यी प्रतिवादी डविन गुरुङ्गको कुनै पुरानो रिसइवी रहेको पाईएको छैन । धेरै अगाडि देखि वृषबहादुरलाई मार्ने उद्देश्यले योजना बनाएको पनि देखिएको छैन । निजको पूर्व आपराधिक चरित्र रहेको पनि अभियोगपत्रबाट देखिन आउँदैन । गा.वि.स. को अध्यक्षको हैसियतमा सम्बन्धित विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष चयन गर्ने कुरामा विवाद भएपछि त्यसैको निहुँमा प्रतिवादी डविन गुरुङ मृतकको घरमा मादक पदार्थ सेवन गरी आउँदै गर्दा मृतकसँग भनाभन भई सोही समयमा छुरी प्रहार गरेको देखिन आउँछ । मृतकको शरीरमा छुरी प्रहारबाट लागेको एउटा चोट बाहेक अन्यत्र पनि चोट छोडेको अवस्था पनि देखिँदैन । साथै यी प्रतिवादी मृतकको घरभित्रै प्रवेश गरी मृतकउपर छुरी प्रहार गरेको नभई मृतक स्वयं आफ्नो घर कोठाबाट आँगनसम्म आई दोहोरो भनाभन, वादविवाद हुँदा प्रतिवादीले छुरी प्रहार गरेको भन्ने देखिन्छ ।
१९. यसरी प्रस्तुत वारदातको प्रकृति र समग्र घटनाक्रम, पृष्ठभूमि, अवस्था एवं प्रतिवादीको उमेर र पारिवारिक पृष्ठभूमि समेतलाई विचार गर्दा यी प्रतिवादी डविन गुरुङको हकमा माथि ठहरे बमोजिम सजाय गर्दा चर्काे पर्न जाने देखिन्छ । निजले गरेको कसूरको अनुपातमा मात्र सजाय गर्दा न्यायपूर्ण र न्यायको उद्देश्य पूरा हुन जाने देखिन्छ । ज्यानसम्बन्धी महलको १३ नं. अन्तर्गत वर्णित सर्वश्वसहित जन्मकैद लगायत जन्मकैदको सजायहरू प्रत्येक ज्यानमारालाई समान रुपले गर्दै जाने ऐनको उद्देश्य होइन । अपितु, हत्याको कसूर प्रमाणित भए पनि पूर्व रिसइवीको स्थिति, वारदातको प्रकृति, पूर्व आपराधिक चरित्र, घटनाको गम्भीरता, तयारी र योजनाको स्वरुप, कसूरदारको उमेर, शारीरिक अवस्था र पारिवारिक पृष्ठभूमि लगायतका कुराहरू विचार गरी कसूर र सजायबीचको समानुपातिकता (एचयउयचतष्यलबष्तिथ या एगलष्कजmभलत) स्थापित गर्नू नै न्यायपूर्ण हुन्छ । यिनै आधारहरूमा विचार गर्दा यी प्रतिवादी डविन गुरुङ्गलाई अ.वं. १८८ नं. बमोजिम कैद वर्ष १२ (वाह्र) मात्र कैद सजाय हुने ठहर्छ । अरुमा तपसीलबमोजिम गर्नू ।
तपसील
माथि ठहर खण्डमा उल्लेख भएबमोजिम पुनरावेदन अदालत, बाग्लुङ्गको मिति २०६०।१।८ को फैसला केही उल्टी हुने ठहरी प्रतिवादी झिल्के भन्ने ज्ञानबहादुर आलेले सफाइ पाउने ठहरेकोले निजलाई शुरु तथा पुनरावेदन अदालतको फैसलाबमोजिम लागेको कैद वर्ष १० (दश) को हकमा मिति २०५४।१०।३ देखि थुनामा तथा कैदमा बसी मिति २०६४।१०।२ मा निज छुटी गएको देखिँदा निजको हकमा केही गरिरहनु परेन भनी शुरु पर्वत जिल्ला अदालतमा लेखी पठाउनू ...१
प्रतिवादी डविन गुरुङलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर भई अ.वं. १८८ नं. बमोजिम कैद वर्ष १२(बाह्र) मात्र कैद सजाय भएकोले निज मिति २०५४।१०।९ देखि २०५८।९।१७ सम्म ३ वर्ष ९ महिना ८ दिन थुना तथा कैदमा बसेको हुँदा निज प्रतिवादी डविन गुरुङको हकमा बाँकी कैद ८ वर्ष २ महिना २३ दिन कैद गर्न लगत कसी असूल गर्नु भनी शुरु पर्वत जिल्ला अदालतमा लगत दिनू ..२
प्रतिवादीहरू दुर्गाबहादुर गुरुङ र तेजबहादुर गुरुङलाई ज्यानसम्बन्धी महलको १७(२) नं. बमोजिम जनही ५ वर्ष कैद हुने ठहरेकोले निज प्रतिवादीहरू मिति २०५४।१०।९ देखि २०५८।९।१७ सम्म ३ वर्ष ९ महिना ८ दिन थुना तथा कैदमा बसिसकेको देखिँदा निज दुवै जनाको हकमा बाँकी जनही कैद १ वर्ष २ महिना २२ दिनको लगत कसी असूल गर्नु भनी शुरु पर्वत जिल्ला अदालतमा लेखी पठाउनू .... ३
दायरीको लगत कट्टा गरी मिसिल बुझाई दिनू ... ४
उक्त रायमा सहमत छु ।
न्या.रामप्रसाद श्रेष्ठ
इति संवत् २०६६ साल फागुन ३ गते रोज २ शुभम्
इजलास अधिकृतः–विदुर कोइराला