निर्णय नं. ८३३५ - अंश चलन
निर्णय नं. ८३३५ असार, २०६७
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
२०६५ – CI – ००४३
फैसला मितिः २०६६।११।१३।५
मुद्दाः अंश चलन समेत ।
पुनरावेदक वादीः जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका बडा नं.३ पुल्चोक घर भै हाल जिल्ला कास्की पोखरा उपमहानगरपालिका बडा नं. ७ बस्ने लाक्पा खम्बाछे शेर्पा
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका बडा नं. ३ पुल्चोक बस्ने ओमकुमारी शेर्पा
शुरु फैसला गर्नेः
मा.जि.न्या.श्री कुमार पोखरेल
पुनरावेदन फैसला गर्नेः
मा.न्या. श्री लक्ष्मणमणि रिसाल
मा.न्या.श्री माधवप्रसाद चालिसे
स्वभाविक रुपमा जन्मेका प्रमाण र पछिबाट कुनै उद्देश्य प्राप्तिका लागि खडा भएका प्रमाणको विश्वसनीयता समान हुन नसक्ने ।
बिना कुनै कारण कुनै पनि व्यक्तिद्वारा सहज रूपमा खडा भएको र पारिवारिक स्थिति समेत उल्लेख गर्नै पर्ने प्रकृतिको आधिकारिक लिखतमा उद्घोष नगरेको कुरालाई निजको देहान्तपछि निजको सम्पत्ति समेतका सन्दर्भमा सत्य मानी मृतकका घोषणाका प्रतिकूल अवधारणा बनाउन न्यायसंगत नहुने ।
दुई विपरीत प्रकृतिका प्रमाणहरू प्रस्तुत भएकोमा अदालतले आधार लिने भनेको तिनको विश्वसनीयताको मात्रा र प्रकृति हो । कानूनबमोजिम पारित लिखतद्वारा सिर्जित सम्बन्ध तथा रक्त सम्बन्धका आधारमा कायम हुने नाता सम्बन्ध र स्नेहवस वा संरक्षकत्वका हिसाबले केवल सम्बोधनका रूपमा प्रयोग हुने नाता सम्बन्धमा अन्तर छ । केवल पहिलो अर्थात् रक्त तथा कानूनी सम्बन्धले मात्र कानूनी अधिकार र दायित्व जन्माउने ।
(प्रकरण नं.४)
पुनरावेदक वादी तर्फबाटःविद्वान अधिवक्ताहरू श्री वच्चुराम खड्का, डा.गोपालप्रसाद दाहाल, योगराज सुवेदी र प्रकाश थापा
प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू श्री भीम राई र श्री दिनेशकुमार घले
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
प्रमाण ऐन, २०३१ को दफा १४ र १६
फैसला
न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) ले यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ ः–
स्व. पिता पासाङ्ग खम्बाछे शेर्पाका दुई श्रीमती जेठी किन्जी शेर्पा, कान्छी ओमकुमारी शेर्पा भएको र जेठीतर्फ जायजन्म भएका छोराहरू म फिरादी र लाक्पा खम्बाछे शेर्पा गरी दुई र कान्छीबाट जायजन्म भएका सन्तानमा जेठो वाङ्गदी शेर्पा र लाक्पा शेर्पा गरी दुई सन्तान छन् । म फिरादीको आमा किन्जी शेर्पेनीको मिति २०५०।६।२५ मा र बाबु पासाङ्गको मिति २०५३।१।३१ मा आफ्नो कालगतिले परलोक भयो । स्व. पिताको जन्मस्थान सोलुखुम्बु जिल्ला भएतापनि नेपाल सरकार, कृषि मन्त्रालयअन्तर्गत प्राविधिक पदमा रही नोकरी गर्दाको सिलसिलामा खटाएको विभिन्न ठाउँ ललितपुर पोखरा र मुस्ताङ्गमा गई सेवा गर्दै आइरहेकोमा अंशबण्डा नहुँदै पिताको परलोक भयो । पिताको परलोकपछि हामी वादी प्रतिवादीहरू एकासगोलमा ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका बडा नं. ३ को घरमा बस्दै आएका थियाँैं । पिताको जागीरको समयमा म पनि साथमा रहँदै आएकोमा आजभन्दा पाँच वर्षअघि म ट्रेकिङ्गको काममा लागेर विभिन्न ठाउँमा जाने गरेको र मेरा बालबच्चा कान्छीआमा विपक्षीसँग बस्दै आएकोमा पिताजीको परलोकपछि मेरो परिवारलाई घृणा गरी सगोलमा बस्ने स्थिति रहेन । पिताजीको सम्पूर्ण चल अचल सम्पत्ति विपक्षीले कब्जामा राख्नु भएको छ । स्व. पिताको परलोकपछि पनि सहेर सगोलमा बस्दै आएकोमा विपक्षीसँग सगोलमा एउटै घरमा बस्दा सानातिना कुरामा पनि अकल्पनिय झगडा भई रहँँदा व्यवहारिक असजिलोसमेत पर्दै गएकोले विपक्षीसँग गई मेरो बाबुको सम्पत्तिमा मेरो पनि हक लाग्छ सबै चल–अचल सम्पत्तिबाट मैले पाउने अंश भाग जाहाँको जे, जति हुन्छ छुट्टाई दिनोस् भनी अनुरोध गर्दा बाबुको वर्षको दिनको काम सकौँं त्यसपछि जे गर्नुपर्छ गरौँला अहिल्यै अंश भागको कुरा नगर बरु तिमी अन्यत्र कोठा बहालमा लिएर बस्दै गर पछि मिलाउँला भनी भनेकाले हुन्छ भनी विश्वासमा बस्दै आएको थिएँ । बाबुको वर्ष दिनको काम सकिएपछि विपक्षीसँग अंश भागको कुरा कोट्याउँदा विपक्षीले आलटाल गरेकोले विपक्षीको नियत माथि शंका लागी विपक्षीसँग गई मेरो बुवाको नामको सम्पत्तिबाट पाउने अंश भाग छुट्टाई दिनुहोस् विलम्ब नगर्नुस् भनी मैले अनुरोध गर्दा मैले तिमीलाई अंश दिनुपर्ने होइन, आफँैले काम गरेर कमाउ तिमी मेरो अंशियार होइनौ म अंश दिन्न, तिमी जे गर्न सक्छौ गर भनी जवाफ दिएकाले सारै अन्यायमा परी न्यायको निमित्त अदालतसमक्ष उपस्थित भएको छु । पिताजी जागीरको सिलसिलामा जहाँ–जहाँ जानुभयो त्यहाँ–त्यहाँ सम्पत्ति जोड्दै जानु भएकोले केही सम्पत्ति सोलुखुम्बु, केही सम्पत्ति ललितपुरमा, केही पोखरामा र केही मुस्ताङ्गमा स्व. पिताको नाममा चल अचल सम्पत्ति रहेको कुरा विपक्षीले नकार्न सक्नुहुने छैन । अंशबण्डा नभएको सम्पत्ति विपक्षीले एक्लै भोग गर्न पाउने होइन । पिताको शेषपछि अंश हक खाने हकदारमा जेठी श्रीमतीतर्फबाट म फिरादी र लाक्पा खम्बाछे शेर्पा गरी दुई र कान्छीतर्फ विपक्षी एक, विपक्षीका नाबालक जेठा छोरा वाङ्गदी शेर्पा एक र कान्छा लाक्पा शेर्पा गरी ३ भाइहरू समेत ५ अंशियार छौँं । पिता पासाङ्ग खम्बाछे शेर्पाका नाममा रहे भएको चल अचल सम्पत्तिबाट अंश हक खाने हकदारहरूमा पाँच अंशियार भएकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी पिता पासाङ्ग खम्बाछे शेर्पाका नाममा रहेको साथै निज पिताको नामबाट नामसारी गरी कुनै पनि सम्पत्ति विपक्षीले आफ्नो नाममा गराएको भए सो समेतका चल अचल सम्पत्ति विपक्षीबाट तायदाती मागी दाखिला हुन आएको तायदातीबाट अंशबण्डाको १७ नं. बमोजिम विवाह खर्च समेत छुट्याई सम्पूर्ण सम्पत्तिको पाँच भाग लगाई सो पाँच भागको एक भाग म फिरादीलाई अंश दिलाई चलन समेत चलाई पाऊँ भन्ने फिराद दावी ।
वादीको फिराद दावी झूठा हो । विपक्षीले देखाएको नाता सम्बन्धमा पासाङ्ग खम्बाछे शेर्पाको दुई श्रीमतीमा जेठी किन्जी शेर्पा र कान्छी म प्रतिवादी भनी उल्लेख गरेकोसम्म सही हो । त्यसपछिको भनाई झूठा छ । पासाङ्ग खम्बाछे शेर्पाको जेठी श्रीमतीको छोरा हुँ भनी वादीले आफूलाई उल्लेख गरेका छन् । पासाङ्गको जेठी श्रीमती मेरो सौता किन्जीबाट कुनै सन्तानको जायजन्म नभई निःसन्तान रहेकी किन्जीको मृत्यु भएपछि हाल आएर छोरा हुँ भनी अंश माग गर्नु ज्यादै नै आश्चर्यजनक कुरा हो । विपक्षीलाई स्वयं किन्जी शेर्पेनीको मृत्यु भएको मिति पनि जानकारी नरहेको फिरादबाट प्रष्ट हुन्छ । लाक्पा शेर्पा मेरो पति पासाङ्ग खम्बाछे शेर्पा तथा सौता किन्जीको छोरा नभई निजको बाबुको नाम छिम्बी शेर्पा हो । विपक्षीको आमाको नाम पोसी शेर्पेनी हो विपक्षीले आफ्नो भाई भनी स्वीकारेको लाक्पा खम्बाछे शेर्पा पनि मेरो पतिको छोरा नभई निजको बाबु पेम्बा गोर्जा शेर्पा तथा आमा लाकु शेर्पेनी हुन् । निजबाट छोराहरू लाक्पा शेर्पा–१, माइलो काजी शेर्पा–१ गरी ४ छोरा र छोरीहरू निमा शेर्पेनी–१, कामी डोमा शेर्पेनी–१, माया शेर्पेनी –१, गरी ३ छोरीको जायजन्म भई जीवितै रही सोलुखुम्बु जिल्ला निमार गाउँ विकास समितिअन्तर्गत बसोवास गरिआएका छन् । यसबाट पनि विपक्षीको भनाई झूठा हो भन्ने स्पष्ट छ । यसरी पिता छिम्बी शेर्पाको वीर्य तथा आमा पोसी शेर्पेनीको कोखबाट जन्मेका विपक्षीले मेरो सम्पत्ति खाने कुनियत चिताई आफ्नो पिताको नाम ढाटी पिताको नाम पासाङ्ग खम्बाछे शेर्पा उल्लेख गरी कीर्ते जालसाजी तवरबाट नागरिकता बनाई मेरो पति पासाङ्ग खम्बाछे तथा सौता किन्जीको छोर हुँ भनी कीर्ते जालसाजी नागरिकताको आधारमा अंश माग गर्न खोजेका छन् । यसरी कीर्ते जालसाजी गरी नागरिकता बनाएको कुरा अंश मुद्दाको म्याद तामेल भएपछि मात्र जानकारी हुन आयो । कीर्ते जालसाजीउपर छुट्टै फिराद गर्ने नै छु । कीर्ते जालसाजी तवरबाट नागरिकता बनाउँदैमा एकाको छोराले अर्कालाई बाबु आमा देखाउँदैमा नाता सम्बन्ध जस्तो सबैलाई थाहा हुने कुरालाई विपक्षीले ढाकछोप गर्नसक्ने तथा बिना नाता सम्बन्धको अंशमा दावी गर्दैमा अंश पाउन कुरा मिल्दैन । लाक्पा खम्बाछे शेर्पाले सरकारी जागीर खाँदा आफ्नो पिताको नाम छिम्वी शेर्पा उल्लेख गरी जागीर खाएका छन् भने कीर्ते जालसाजी नागरिकताको आधारमा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा गई झूठो नाता प्रमाणपत्र लिएकोमा छानबिन हुँदा सो नाता प्रमाणपत्र बदर भइसकेको छ । आफूले नै पिताको नाम छिम्बी शेर्पा भनी स्वीकारेको व्यक्तिले वास्तविक पिताको नाम छिम्बी शेर्पा नदेखाई नागरिकतामा बाबुको नाम पासाङ्ग खम्बाछे शेर्पा उल्लेख गरेबाट पनि विपक्षीको भनाई झूठा प्रमाणित भएको छ । निजको पिता मेरो सौता किन्जीको भाइ नाताका व्यक्ति हुन । निजले भाइ भनी स्वीकारेका लाक्पा खम्बाछे समेतले आफ्नो स्थायी ठेगानामा सोलुखुम्बु जिल्ला निमार गाउँ विकास समिति समेत नखुलाई अन्यत्रको ठेगाना देखाई ललितपुर जिल्लाबाट ना.प्र.प. ४६२१७ मिति २०४६।७।६ मा झूठा नागरिकता बनाएका हुन् । निजको बाबुको नाम पेम्बा गोर्जा शेर्पा र आमा लाकु शेर्पेनी मेरो पति पासाङ्ग खम्बाछे शेर्पाको ठूलो बाबुको नाति वा भतिज नाताका व्यक्ति हुन् । यसरी नाता ठेगाना समेत नमिली फरक परेबाट विपक्षी म प्रतिवादीको छोरा नाता सम्बन्धको व्यक्ति नभएको र मेरो सम्पत्ति हडप्न मात्र कीर्ते झूठा नागरिकताको आधार लिई फिराद गरेको प्रष्ट हुन आउँछ । मेरो सौताको छोरा भएको भए एकै ठाउँमा बसी आएको भए मलाई थाहा नहुने कुरा पनि हुँदैन थियो । मेरो सौताको छोरा भएको भए पति पासाङ्ग खम्बाछे तथा सौताको मृत्यु हुँदा हाम्रो धार्मिक परम्पराअनुसारको काजकिरीया शोकमा बस्ने थिए । विपक्षी सो बखत पनि देखा परेका छैनन् भने पतिको जीवन छउन्जेल समेत छोरा हो भन्न तथा मेरो पतिको जीवनकालमा अंशलगायत कुनै सम्पत्तिमा दावी गर्न नआई हाल पति तथा सौता समेतको मृत्यु भइसकेपछि म नाबालक छोरा छोरी भएकी अबला नारीलाई हप्काई झूठा कीर्ते जालसाजीपूर्ण तरिकाले सो नागरिकताको आधारमा अंश लिन पाउँछु कि भनी दावीसम्म गरेका हुन् । यसरी कुनै नाता सम्बन्ध नै नरहेका उक्त व्यक्ति विपक्षीले अंशमा दावी गर्दैमा अंश पाउन सक्दैन । अंश मुद्दामा नाता सम्बन्धकै विवाद भएको हुँदा नाता सम्बन्धमा यकीन नै नगरी विपक्षीको अंशमा दावी लाग्न नसक्ने हुँदा हकदैया विहीन फिराद खारेज गरी न्याय इन्साफ पाऊँ भन्ने प्रतिउत्तर जिकीर ।
मेरो पतिको बाबुको नाम जिकु हो । जिकुको बाबुको नाम डोल्बु हो । डोल्बुको छोरा जिकु हो जिकुको तीन वटा छोरामा जेठो र माइलोको नाम थाहा छैन । निजहरूको पहिला नै मृत्यु भइसकेको छ । कान्छा मेरो पति पासाङ्ग खम्बाछे हो । पासाङ्गको श्रीमती दुईमा जेठी किन्जी र कान्छी म ओमकुमारी भएकोमा जेठी श्रीमतीको छोरा छोरी कोही नभई निसन्तान भई २०५० सालमा खस्नुभयो । पति पासाङ्ग २०५३ सालमा परलोक भयो । हाल तीनवटा छोरा वाङ्गदी, लाक्पा र दावा तथा रसी भन्ने एक छोरी छन् । लाक्पा खम्बाछे शेर्पा मेरो पतिको जेठी श्रीमती किन्जीको भाइको छोरा हुन् मेरो भदा नाता पर्छ भनी ओमकुमारीले मिति २०५४।८।१० मा गरेको बयान ।
मेरो बाबुको नाम पासाङ्ग खम्बाछे शेर्पा, बाजेको जिकु खम्बाछे शेर्पा हो । मेरो बाबुको दुई श्रीमती जेठी किन्जी शेर्पा र कान्छी ओमकुमारी शेर्पा हो । जेठी तर्फको तीन वटा छोराहरूमा जेठो म लाक्पा खम्बाछे शेर्पा र कान्छा लाक्पा खम्बाछे शेर्पा हौं । हामीहरूको दुवैको नाम एकै हुन आएको हो । कान्छी ओमकुमारी तर्फ जेठो वाङ्गदी र कान्छो लाक्पा, छोरा छन् छोरी छैन । पासाङ्ग शेर्पाको मृत्यु मिति २०५३।१।३१ मा भएको हो । ओमकुमारी मेरो कान्छी आमा हुन भनी प्रतिवादी लाक्पा खम्बाछे शेर्पाले मिति २०५४।८।१० मा गरेको बयान ।
लाक्पा खम्बाछे शेर्पालाई २०२९।०३० सालदेखि एउटै स्कूल काठमाडौं विजय मेमोरियल हाईस्कूलमा सँगै पढेदेखि चिनजान भएको हो । कहिले काहीँ उनको घरमा जाँदा मेरो बाबु हो भनेर लाक्पा शेर्पाले चिनाएको हो । मैले सुनेअनुसार लाक्पा शेर्पाको आमा सोलु सल्लेरीमा बस्नुहुन्थ्यो । मैले वादीको आमालाई देखिन चिनेको छैन । पुर्खोली घर सोलु सल्लेरी हो पछि ललितपुर पुल्चोक हो भनी वादीका साक्षी प्रेमबहादुर लामाले गरेको बकपत्र ।
म छिमेकी हुँ । आमा छोराको झगडा थाहा छैन । वादीका पिताको दुई श्रीमती हुन् । पहिलो मरिसकेको छ । जेठीको सन्तान भएको मैले देखिन । नागरिकता प्रमाणपत्र बनाएको विषयमा मलाई थाहा छैन । लाक्पा भन्ने एउटा भतिजा, अर्को भदा छ । उस बखतमा श्रीमती कोही थिएनन् । हामी छिमेकी भए पनि यस बारेमा थाहा छैन भनी प्रतिवादीका साक्षी श्रीप्रसाद बुढाथोकीले गरेको बकपत्र ।
यसमा यस अदालतको मिति २०५५।३।२९ गतेको आदेशानुसार प्रस्तुत मुद्दा मुलतबीमा रही मिति २०६१।१।१८ गतेका आदेशानुसार मुलतबीबाट जागी कारवाही अवस्थामा रहेको देखिन आयो ।
फिरादी जेठो लाक्पा खम्बाछे शेर्पा र कान्छो लाक्पा खम्बाछे शेर्पा पनि छ । प्रतिवादी ओमकुमारी मेरो सौतेनी आमा हुनुहुन्छ भनी जेठो लाक्पा खम्बाछे शेर्पाले पिताबाट अंश नपाएको भन्ने दावी गरेको र नातामा विवाद देखाई पासाङ्ग खम्बाछे शेर्पाको छोरा होइन भनी जिकीर लिएतर्फ हेर्दा पासाङ्ग खम्बाछे शेर्पा मेरा पिता हो भनी बयान गरेको र विजय मेमोरियल स्कूलमा ६ कक्षा पास भई ७ कक्षामा जाँदा २०२९ सालमा दिएको चारित्रिक प्रमाणपत्रमा निजको पिता पासाङ्ग खम्बाछे शेर्पा भनी उल्लेख भएको, फिरादीले वाली विज्ञान महाशाखामा निम्नस्तर प्राविधिक एल.टि. २ मा नोकरी गर्दा पिताको नाममा पासाङ्ग खम्बाछेको नाम उल्लेख भएको देखिन्छ । पिताको नामबाट नागरिकता लिएको र मिति २०५३।२।२८ मा नाता प्रमाणित गरेको पत्र देखिएकोले पासाङ्ग खम्बाछे शेर्पा जीवित हुँदाको अवस्थामा फिरादीलाई पटक पटक छोरा भनी स्वीकार गरेको कागज प्रमाणहरू देखिएको र फिरादीको पिता पासाङ्ग खम्बाछे शेर्पा भन्ने देखिएकोले वादी प्रतिवादीहरू नाता तथा अंशियार भन्ने देखिएको र पिता समेतबाट वादीले कानूनबमोजिम अंश पाएको नदेखिएकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी वादी प्रतिवादीहरूको जिम्मामा रहेको चल अचल श्री सम्पत्तिको तायदाती फाँटवारी माग गरी पेश गर्नु भन्ने २०६१।८।१४ को आदेश ।
वादी सानो छँदादेखि नै आफ्नो बाबुको नाम पासाङ्ग खम्बाछे भनी उल्लेख गर्नु र स्वयं पासाङ्गका आफ्ना जीवनकालका क्रियाले पनि यी वादीलाई आफ्नै छोरा हुन् भनी स्वीकारी फाराम प्रमाणित गर्ने, नागरिकता प्रमाणपत्रको लागि सिफारिश गराउने नागरिकता प्रमाणपत्र समेतका क्रियाकलाप एवं व्यवहारबाट समेत वादी लाक्पा खम्बाछे शेर्पा प्रतिवादी पासाङ्ग खम्बाछे शेर्पाका छोरा देखिएको हुँदा वादी र प्रतिवादी ओमकुमारी शेर्पा समेत अंंशियार नाताका व्यक्ति ठहरेकाले वादीले प्रतिवादीबाट अंश पाउने ठहर्छ । प्रतिवादीले आफ्नो फाँटवारीमा ऋण समेत देखाएकोमा साहूले पक्रेका बखत कानूनबमोजिम हुने नै हुँदा सो ऋण सम्बन्धमा बोली रहन परेन । वादी प्रतिवादीका फाँटवारीबाट देखिएको घर जग्गासमेतका अचल सम्पत्तिबाट ५ खण्डको १ खण्ड अंश वादीले प्रतिवादी ओमकुमारी शेर्पा समेतबाट पाउने र चलन चलाई पाउने समेत ठहर्छ भन्ने समेत ललितपुर जिल्ला अदालतको मिति २०६३।७।२० को फैसला ।
विपक्षी वादीका नागरिकतामा भएको ठेगाना र मिति २०५१।६।१० मा कर्मचारी वैयक्तिक विवरण मार्फा मुस्ताङ्गमा भरेको सिटरोलको ठेगाना समेतले विपक्षी अन्यायी मेरा पति पासाङ्ग खम्बाछे शेर्पाको छोरा होइन भन्ने प्रष्ट हुन्छ । फिरादी लाक्पा खम्बाछे शेर्पा र अर्का लाक्पा खम्बाछे शेर्पाको पिता पासाङ्ग खम्बाछे र किन्जी शेर्पाबाट जायजन्म भएको भन्ने उल्लेख गरेका छन् । कुन लाक्पा शेर्पा पहिला जन्मियो र कुन लाक्पा खम्बाछे शेर्पा पछि जन्म्यो भन्ने कुरा पुष्टि गर्न सकेको छैन । म पुनरावेदिकाको विवाह हुुनुभन्दा पहिला नै वादीको जन्म भएको देखिएकोले मेरो छोरा होइन भन्ने कुरा पति पासाङ्ग खम्बाछेले २०३७।११।९ मा भरेको सिटरोलमा छोरा छोरी छैन भनी भनेबाट प्रष्ट हुन्छ । विपक्षी अन्यायीले झूठा विवरण दिई नेपाली नागरिकता लिएको मुद्दामा पुनरावेदन अदालत पाटनबाट आरोपित कसूर ठहर हुने गरी नागरिकता बदर हुने ठहरी मिति २०५६।६।३ मा फैसला भएको छ । बदर भएका प्रमाणको आधारमा डी.एन.ए. परीक्षण नगरी विपक्षी अन्यायीलाई गैरकानूनी तवरबाट छोरा कायम गरी अंश पाउने गरी भएको मिति २०६३।७।२० को ललितपुर जिल्ला अदालतको फैसलामा प्रमाण ऐन, २०३१ को दफा, ३, ३४, ५४ मुलुकी ऐन अ.वं. १८४, १८५(क) र १८६ नं. विपरीत भएकोले उक्त फैसला बदर गरी पुनरावेदन जिकीरबमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन जिकीर ।
यसमा यिनै वादीले प्रतिवादीको लोग्ने पासाङ्गलाई बाबु बनाई लिएको नागरिकता नै झूठा विवरण दिई लिएको कारण बदर हुने ठहरी यसै अदालततबाट २०५६।६।३ मा फैसला भएको अवस्थामा त्यसतर्फ प्रमाणको मूल्याङ्कन नै नगरी नाता कायम गरी अंश पाउने ठहराएको शुरुको इन्साफ फरक पर्न सक्ने हुँदा प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतबाट २०६४।७।२७ मा भएको आदेश ।
झूठा विवरण दिई नेपाली नागरिकता लिएको मुद्दामा भएको फैसलाउपर पुनरावेदन परी सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्था समेत छ । अंश दिलाउन लिएको आधार नै उक्त नागरिकतासम्बन्धी मुद्दामा खण्डित गरी यसै अदालतबाट पहिले नै फैसला भएको स्थितिमा प्रस्तुत मुद्दामा शुरुले दावीबमोजिम अंश पाउने गरेको फैसला कायम राख्न मिल्ने अवस्था देखिन आएन । तसर्थ, वादी दावीबमोजिम अंश पाउने ठहराएको शुरु ललितपुर जिल्ला अदालतको फैसला मिलेको नदेखिएकोले सो फैसला उल्टी भै वादी दावी पुग्न नसक्ने ठहर्छ भनी पुनरावेदन अदालत पाटनबाट मिति २०६४।११।१४।३ मा भएको फैसला ।
झूठा विवरण दिई नागरिकता लिएको भनिएको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन परी विचाराधीन अवस्थामा रहेको र वादी एवं प्रतिवादीबीच नातामा कुनै विवाद नभएको स्थितिमा वादी दावीबमोजिम अंश दिलाई दिनुपर्नेमा वादी दावी पुग्न नसक्ने ठहराएको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी गरी शुरु ललितपुर जिल्ला अदालतबाट भएको फैसला सदर कायम गरिपाऊँ भनी वादीका तर्फबाट यस अदालतसमक्ष पर्न आएको पुनरावेदन ।
यसमा यसै लगाउका झूठा विवरण दिई नेपाली नागरिकता लिएको भन्ने मुद्दामा विभिन्न आधार र कारणहरू खुलाई मिति २०५८।३।४ मा विपक्षी झिकाउने आदेश यस अदालतबाट भएकोले सो मुद्दाका आधार र कारणहरूले प्रस्तुत मुद्दामा प्रभाव पार्ने भएको हुँदा यस मुद्दामा पनि छलफलको लागि प्रत्यर्थीलाई झिकाई लगाउका मुद्दा समेत साथै राखी नियमानुसार पेश गर्नु भनी यस अदालतबाट भएको आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदकका तर्फबाट विद्वान अधिवक्ताहरू बच्चुसिंह खड्का, डा. गोपालप्रसाद दाहाल, योगराज सुवेदी एवं प्रकाश थापाले पासाङ्ग खम्बाछे शेर्पाले आफ्नो जीवनकालमा यी पुनरावेदक लाक्पा शेर्पा आफ्नो छोरा भएको भनी सिफारिश गराई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको, नातामा कुनै विवाद नभएको र वादी एवं प्रतिवादीबीच अंशबण्डा नभएको स्थितिमा वादी दावीबमोजिम प्रतिवादीबाट अंश दिलाई दिनुपर्नेमा सो नगरेको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी गरी अंश दिलाई पाऊँ भनी र प्रत्यर्थी तर्फबाट विद्वान अधिवक्ताहरू भीम राई एवं दिनेशकुमार घलेले पुनरावेदक वादी लाक्पा खम्बाछे शेर्पा पासाङ्ग खम्बाछे शेर्पाको छोरा नभएको र निजले झूठा विवरण दिई नेपाली नागरिकता लिएको हुँदा नाता सम्बन्ध नै नभएका व्यक्तिले अंश पाउन सक्ने स्थिति छैन । अतः पुनरावेदन अदालत पाटनको फैसला मिलेको हुँदा सदर गरिपाऊँ भनी बहस गर्नुभयो ।
माथि उल्लिखित विद्वान कानून व्यवसायीहरूले गर्नु भएको बहससमेत सुनी पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ, छैन ? वादीको पुनरावेदन जिकीर पुग्न सक्ने हो, होइन? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. यसमा स्व. पासाङ्ग खम्बाछे शेर्पाका दुई श्रीमतीमा स्व. जेठी किन्जीबाट फिरादीसहित दुई छोरा र कान्छी श्रीमती प्रतिवादी ओमकुमारीबाट दुई छोरा समेत भई हाल जम्मा पाँच अंशियार हुँदा पाँच भागको एक भाग फिरादीको अंश छुट्टाई चलन चलाई पाऊँ भन्ने वादी दावी देखिन्छ । स्व. पासाङ्ग खम्बाछेकी श्रीमती किन्जी निःसन्तान भएको हुँदा वादी अंशीयार नाताका नभएकोले अंश दिनुपर्ने होइन भन्ने प्रतिउत्तर जिकीर रहेको पाइन्छ । शुरु ललितपुर जिल्ला अदालतले वादी दावीबमोजिम पाँच भागको एक भाग अंश पाउने ठह¥याएको फैसला उल्टी गरी पुनरावेदन अदालत पाटनले वादी दावी पुग्न नसक्ने ठहराई फैसला गरेको देखिन्छ । उक्त फैसलामा चित्त नबुझाई आफू स्व. पासाङ्ग खम्बाछे शेर्पाको सन्तान भएको हुँदा अंश पाउनुपर्ने भन्ने जिकीर लिई वादीको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।
३. पुनरावेदक वादीले लिएको जिकीरसमेतलाई मनन गरी निर्णयतर्फ विचार गर्दा पुनरावेदक वादी लाक्पा खम्बाछे शेर्पाले आफू स्व. पासाङ्ग खम्बाछे शेर्पाको जेठी श्रीमती किन्जी शेर्पाको तर्फबाट जन्मेको जेठो छोरा हुँ भनी मिति २०५४।४।१० मा फिराद दिँदा आफ्नो उमेर ३६ वर्षको देखाई अंश दावी गरेको पाइन्छ । यसबाट यी वादीको जन्म २०१८ सालतिरै भएको पाइन्छ । तर, यी पुनरावेदक वादीले आफ्नो बाबु भनी दावी लिएका स्व. पासाङ्ग खम्बाछे शेर्पाले भरेको र कार्यालय प्रमुखले मिति २०३७।११।९ मा प्रमाणित गरिदिएको सिटरोलको नाम भर्ने महलमा श्रीमती किन्जी शेर्पा उल्लेख भई छोरा छोरीको महलमा कट्टा चिन्ह () लगाएको तथा सोही सिटरोलमा निजले भतिजी निसा शेर्पालाई इच्छाएको देखिन्छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई पठाएको प्रहरी सञ्चारमा समेत पासाङ्ग खम्बाछे शेर्पाको जेठी श्रीमती किन्जी शेर्पेनीबाट जायजन्म नभएको भनी लेखी पठाएको पाइन्छ । यदि स्व. पासाङ्ग खम्बाछे शेर्पाका सन्तान छोरा यी पुनरावेदक भएको भए सिटरोलमा उल्लेख नगर्नुपर्ने कुनै कारण नै देखिँदैन । यस्तो कारण थियो भनी यस अदालतमा चढाएको पुनरावेदनमा समेत देखाउन सकेको पाइन्न । यसबाट उक्त मिति सम्ममा स्व. पासाङ्ग खम्बाछे शेर्पाको कुनै सन्तान नभै एकमात्र श्रीमती किन्जी शेर्पा रहेको मान्नुपर्ने हुन्छ । स्व. पासाङ्ग खम्बाछे शेर्पाले प्रत्यर्थी प्रतिवादी ओमकुमारी शेर्पासँग २०४० सालमा विवाह गरेको भन्ने देखिएको हुँदा सो सिटरोलमा प्रत्यर्थी ओमकुमारी र निजबाट जन्मेका सन्तानको नाम उल्लेख नहुनु स्वाभाविकै हो । यी पुनरावेदक वादीले जागीर खाँदा भरेको सिटरोलमा बाजेको नाम किपा खम्बाछे शेर्पा भनी लेखाएको पाइन्छ । यिनले बाबु भनी देखाएका पासाङ्गको बाबुको नाम जिकु शेर्पा भनी पासाङ्गले भरेको सिटरोलबाट देखिन्छ । यस स्थितिमा पासाङ्गकै छोरा पुनरावेदक वादी भए निजको बाजे जिकु हुनुपर्ने थियो ।
४. त्यसैगरी प्रत्यर्थी प्रतिवादी ओमकुमारी शेर्पाको पति स्व. पासाङ्ग खम्बाछे शेर्पाको स्थायी ठेगाना सोलुखुम्बु जिल्ला गार्मा गाउँ विकास समिति वार्ड नं. ३ भएकोमा यी पुनरावेदक वादीको ठेगाना ऐ. गार्मा गाउँ विकास समिति वडा नं.७ उल्लेख भएको एकातर्फ छ भने अर्कोतर्फ निजले लगाउको झूठा विवरण दिई नेपाली नागरिकता लिएको भन्ने मुद्दामा जिल्ला सरकारी वकील कार्यालय काठमाडौंमा बयान गर्दा बाजेको नाम थाहा छैन । बाबुको नाम किपा शेर्पा हो भनी बयान गरेको अवस्था छ । यस्तो स्थितिमा सोलुखुम्बु जिल्ला गार्मा गाउँ विकास समिति वडा नं. ३ मा स्थायी ठेगाना भएका स्व. पासाङ्ग खम्बाछे शेर्पा यी पुनरावेदकका पिता नाताका भन्न सकिने विश्वसनीय आधार देखिँदैन । साथै पुनरावेदक वादी लाक्पा शेर्पाले भरेको लोक सेवा आयोगको फाराम एवं सिटरोलमा पनि आफ्नो स्थायी ठेगाना गार्मा गाउँ विकास समिति वार्ड नं. ७ उल्लेख गरेका र सिटरोलमा बाबुको नाम छिम्बी शेर्पा लेखाएका प्रमाणहरूबाट प्रत्यर्थी प्रतिवादी ओमकुमारी शेर्पाका पति पासाङ्ग खम्बाछे शेर्पा यी पुनरावेदक वादी प्रत्यर्थी प्रतिवादीका पति पासाङ्ग खम्बाछे शेर्पाका सन्तान रहेछन् भनी मान्न मिलेन । पक्षले मुद्दा पर्नु अघि स्वयं नै लेखाए देखाएको भई सरकारी कार्यालयमा सुरक्षित अभिलेखलाई प्रमाण ऐन, २०३१ को दफा १४ र १६ को परिप्रेक्ष्यमा प्रमाण मान्नु पर्ने हुन्छ । स्वभाविक रुपमा जन्मेका प्रमाण र पछिबाट कुनै उद्देश्य प्राप्तिका लागि खडा भएका प्रमाणको विश्वसनीयता समान हुन सक्दैन । प्रमाण भन्ने कुरा अदालतलाई निष्कर्षमा पुग्न मद्दत गर्ने महत्वपूर्ण माध्यम हो । प्रमाणको परख उसको विश्वसनीयताको कसीमा हुन्छ । बिना कुनै कारण कुनै पनि व्यक्तिद्वारा सहज रूपमा खडा भएको र पारिवारिक स्थिति समेत उल्लेख गर्नै पर्ने प्रकृतिको आधिकारिक लिखतमा उद्घोष नगरेको कुरालाई निजको देहान्तपछि निजको सम्पत्ति समेतका सन्दर्भमा सत्य मानी निज मृतकका घोषणाका प्रतिकूल अवधारणा बनाउन न्यायसंगत हुँदैन । प्रमाण मूल्याङ्कनका आधारभूत सिद्धान्तको यस्तो अनुभूति अदालतलाई पनि दिँदैन । पासाङ्ग खम्बाछे शेर्पाले भरेको सिटरोललाई निजको पारिवारिक उद्घोषका रुपमा नै ग्रहण गर्नुपर्ने हुन्छ । दुई विपरीत प्रकृतिका प्रमाणहरू प्रस्तुत भएकोमा अदालतले आधार लिने भनेको तिनको विश्वसनीयताको मात्रा र प्रकृति हो । कानूनबमोजिम पारित लिखतद्वारा सिर्जित सम्बन्ध तथा रक्त सम्बन्धका आधारमा कायम हुने नाता सम्बन्ध र स्नेहवश वा संरक्षकत्वका हिसाबले केवल सम्बोधनका रूपमा प्रयोग हुने नाता सम्बन्धमा अन्तर छ । केवल पहिलो अर्थात रक्त तथा कानूनी सम्बन्धले मात्र कानूनी अधिकार र दायित्व जन्माउँछ । यसरी पुनरावेदक वादी प्रत्यर्थी प्रतिवादीका अंशियार कायम हुने नदेखिएको स्थितिमा पुनरावेदन अदालत पाटनबाट अंशमा दावी नपुग्ने ठहराएको फैसला परिवर्तन गरिरहनु पर्ने देखिएन ।
५. अतः माथि गरिएको विवेचनाबाट पुनरावेदन अदालत पाटनले वादी दावी पुग्न नसक्ने ठहराएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकीर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाईदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. रामकुमारप्रसाद शाह
इति संवत् २०६६ साल फागुन १३ गते रोज ५ शुभम्–
इजलास अधिकृतः पुष्पराज थपलिया