निर्णय नं. ८३३६ - राजीनामा लिखत बदर

निर्णय नं. ८३३६ असार, २०६७
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रणबहादुर बम
माननीय न्यायाधीश श्री अवधेशकुमार यादव
संवत् २०६० सालको दे.पु.नं.८७२१, ९०५२, ९०५३
फैसला मितिः २०६६।१०।११।२
मुद्दा ः राजीनामा लिखत बदर ।
पुनरावेदक वादीः भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. १० बस्ने नारायण भक्त लासिवा
विरुद्ध
विपक्षी प्रतिवादीः भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. १० बस्ने मोतीमाया लासिवा समेत
पुनरावेदक प्रतिवादीः भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. १० बस्ने जीवन लासिवा
विरुद्ध
विपक्षी वादीः भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. १० बस्ने नारायण भक्त लासिवा
पुनरावेदक प्रतिवादीः भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा १० वस्ने मोतीमाया लासिवाको अ.वा.भई आफ्नो हकमा समेत ऐ.ऐ. बस्न कृष्णप्रसाद लासिवा
विरुद्ध
विपक्षी वादीः भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. १० बस्ने नारायणभक्त लासिवा
शुरु फैसला गर्नेः
मा.जि.न्या.श्री माधवप्रसाद चालिसे
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की
मा.न्या.श्री कृष्णप्रसाद श्रेष्ठ
जीवनकालपछि बाँकी रहेको सम्पत्ति पाउने हक मिलापत्रले सुरक्षित गरेको कारणले जीवनकालमा नै आफ्नो सो सम्पत्ति बेचबिखन, दान दातव्य वा हक हस्तान्तरण गर्ने स्वामित्वमा अन्तरनिहित अविभाज्य अधिकारलाई सीमित गर्न सक्छ भनी अर्थ गर्नु सम्पत्तिको स्वामित्वसम्बन्धी सिद्धान्त (म्यअतचष्लभ या यधलभचकजष्उ) को समेत विपरीत हुन जाने ।
(प्रकरण नं.२)
पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री सालिकराम पाण्डे
प्रतिवादी तफबाटः विद्वान अधिवक्ता श्री वच्चुसिंह खड्का
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
फैसला
न्या.रणबहादुर बमः पुनरावेदन अदालत पाटनको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यस अदालतमा वादी प्रतिवादी दुवै पक्षको दोहोरो पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः–
विपक्षीले स्त्री अंश धनको २ र ८ नं. विपरीत कार्य गरेकोले अ.वं. ८२ नं. र लेनदेन व्यवहारको १० र ४० नं. का आधारमा फिराद गर्न आएको छु । पिताजी साहिला लासिवाको स्वर्गेपछि प्र. आमा मोतीमाया, दाजु कृष्णभक्त र फिरादीका बीचमा अंश मुद्दा चली भक्तपुर जिल्ला, झौखेल गा.वि.स. वडा नं. ८(ग) कि.नं. ७४० क्षेत्रफल १–३–० समेतको जग्गाको आयस्ता आमाले जीउनी भर भोग चलन गर्न पाउने र आमाको स्वर्गेपछि त्यही जग्गाको आयस्ताको खर्चबाट आमाको काजक्रिया गरी बाँकी दाजुभाईलाई आधी आधी बांँडी लिने गरी हामीहरू बीच भक्तपुर जिल्ला अदालतमा मिति २०४७।१२।२८ मा मिलापत्र भएको छ । सो मिलापत्रविपरीत कि.नं. ७४० को जग्गा दिने आमा मोतीमाया लिने जीवन लासिवा र आमाको संरक्षक साक्षी कृष्णप्रसाद लासिवा बसी मिति २०५७।११।९ मा मालपोत कार्यालय भक्तपुरबाट पारित राजीनामा लिखत लेनदेन बिना भएको हो । आमाको स्वर्गेपछि काज किरिया गर्नुपर्ने र त्यसपछि फिरादीको समेत हक लाग्ने सम्पत्तिबाट बञ्चित गर्ने गरी खडा गरेको उक्त लिखत बदरभागी छ भन्ने समेत व्यहोराको वादी नारायणभक्त लासिवाको मिति ०५८।८।१२ को फिराद पत्र ।
मिलापत्रबाट अंशबण्डा गरी आफ्नो भागको अंश लिई सकेको कुरा फिरादबाटै स्पष्ट हुँदा अरुको अंश भागमा परेको सम्पत्ति आफूखुस गरेको कुरामा दावी लिने हक वादीलाई नभएको हुँदा अंश भइसकेको अवस्थामा लेनदेन व्यवहारको १० नं. ले वादीलाई मद्दत गर्न सक्दैन । दावीको भक्तपुर जिल्ला अदालत झौखेल गाउँ विकास समिति वडा नं. ८ कि.नं. ७४० को क्षेत्रफल १–३–० को जग्गा मोतीमायाको अंश भागको आफूखुस गर्न पाउने जग्गा हो । अंश लिई छुटृै बसेको वृद्ध मोतीमायाको आर्थिक स्रोत केही नभई दान, धर्म चाडवाड मनाउन खान लगाउन र औषधि उपचार समेतको लागि वाध्यता फुकाउने अधिकार मोतीमायाको हुने भएकोले विपक्षीको दावी लाग्न सक्दैन । राजिखुसीमा भएको लिखतमा म प्रतिवादी साक्षीसम्म बसेको हो । आफ्नो हक दर्ता तिरोको जग्गा मोतीमायाले आफूखुसी गरेको लिखत बदर हुनुपर्ने होइन भन्ने समेत प्रतिवादी कृष्णप्रसाद लासिवाको मिति २०५८।९।९ को प्रतिउत्तर पत्र ।
विपक्षीले मिति २०४७।१२।२८ को मिलापत्रबमोजिम आफूले पाउनेसम्मको आफ्नो अंश भाग कानूनबमोजिम लिई छुटिृसकेपछि अन्य अंशियारको भागमा फिराद दावी गर्ने हकदैया अ.वं. ८२ नं. ले नमिल्ने हुँदा फिराद खारेज हुनुपर्छ । स्त्री अंश धनको २ नं. रीतपूर्वकको अंश भइसकेको अववस्थामा आकर्षित हुन सक्दैन । लेनदेन व्यवहारको १० नंं. पनि प्रस्तुत मुद्दामा विपक्षी एकासगोलको अंशियार नभएको हुँदा आकर्षित हुन नसकी फिराद स्वतः खारेजभागी छ । विवादित लिखतको के कति भाग बदर हुने, वादीको हक के कति हो, हक कायम समेतमा फिराद दावी अस्पष्ट हुनुका साथै कुन र. नं. को लिखत हो कतै उल्लेख छैन । वयोवृद्ध ८७ वर्षीया मोतीमायाको टहल चाकडी स्याहार सुसार संरक्षण प्रतिवादीले गरी आएको अवस्थामा दाताको आर्थिक समस्या समाधान गर्न अड्डैको रोहवरमा रकम बुझी कि.नं. ७४० को क्षेत्रफल १–३–० जग्गा मालपोत कार्यालय भक्तपुरबाट मिति २०५७।११।९ मा लिखत पारित गरी दिनु भएकोले मैले लिएको हुंँ, लिने दिने दुवै थरीको मञ्जूरीबाट कानूनको दायरामा रही भएको लिखत सदर गरी झूठा फिराद दावीबाट फुर्सद पाऊँ भन्ने समेत प्रतिवादी जीवन लासिवाको मिति २०५८।९।९ को प्रतिउत्तर पत्र ।
वादीले आफ्नो भागको अंश मिति २०४७।१२।२८ को मिलापत्रबाट लिइसकेपछि अर्काको अंश जीउनी भागमा पुनः दावी गर्न अ.वं. ८२ नं. ले हकदैया प्रदान नगरेको हुँदा फिराद खारेजभागी छ । स्त्री अंश धनको २ नं. रीतपूर्वकको अंश भइसकेको प्रस्तुत मुद्दामा आकर्षित हुन सक्दैन । अंशबण्डाको १ नं. समेतको आधारमा मैले आफूखुस गर्न पाउने सम्पत्ति दान वकस गरिएको हुँदा लेनदेन व्यवहारको १० नं. ले विपक्षीलाई मद्दत नगर्ने हुँदा फिराद खारेजभागी छ । अंश जस्तो कुरामा शर्त बन्देज लाग्न सक्दैन, सर्वोच्च अदालतबाट यस सम्बन्धमा नजीर सिद्धान्त प्रतिपादन भएको छ । अंशबण्डा गरी विपक्ष वेगल भएपछि कृष्णभक्त लासिवाले म ८८ वर्षीय वृद्धलाई संरक्षण दिई आएको र गुजारा चलाउन औषधि उपचार गर्न धर्म रीति संस्कार मनाउन र ऋण धनको व्यवहार मिलाउन कि.नं. ७४० क्षेत्रफल १–३–० जग्गा प्रतिवादी जीवन लासिवालाई राजीनामा लिखत मिति २०५७।११।९ मा मालपोत कार्यालय भक्तपुरमा पारित गरीदिएकोे हो । विपक्षीको झूठा फिराद खारेज गरिपाऊँ भन्ने समेत प्रतिवादी मोतीमाया लासिवाको वारेस भै आफ्ना हकमा समेत कृष्णभक्त लासिवाको मिति २०५८।९।९ को प्रतिउत्तर पत्र ।
यसै लगाउको वादी नारायण भक्त लासिवा प्रतिवादी मोतीमाया लासिवा समेत भएको दे.मि.नं. १९९।५४२ को लिखत दर्ता बदर मुद्दामा लिएको बुँदा प्रमाण समेतको आधारमा प्रतिवादी मोतीमायाले अंश मुद्दाबाट भएको मिलापत्रबमोजिम आफ्नो जीउनी हक प्राप्त गरी लिएको जग्गा आफूखुस गर्न नपाउने भन्न मिलेन । सो दावीको लिखत गर्दा वादीको मञ्जूरी लिनुपर्ने नदेखिंँदा मिति २०५७।११।९ मा राजीनामा लिखत पास गरी कि.नं. ७४० को १–३–० जग्गाको हक प्रतिवादी जीवनलाई दिएको लिखत बदर गरिपाऊँ भन्ने वादी दावी पुग्न सक्तैन भन्ने समेत भक्तपुर जिल्ला अदालतको मिति २०५८।९।२३ को फैसला ।
स्त्री अंश धनको २ नं. तथा अ.वं. १८४क र १८५ नं. तथा सर्वोच्च अदालतबाट प्रतिपादित नजीर सिद्धान्त समेतको प्रतिकूल भएको फैसला बदर गरी फिराद माग दावीबमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नारायण भक्त लासिवाको मिति २०५८।१२।२६ को पुनरावेदन अदालत पाटनमा पर्न आएको पुनरावेदन पत्र ।
यसमा साथै पेश भएको लिखत बदर मुद्दामा प्रत्यर्थी झिकाउने आदेश भएकोले सोही परिप्रेक्ष्यमा प्रस्तुत मुद्दाको पनि शुरु फैसला फरक पर्न सक्ने देखिंँदा प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने मिति २०५९।१०।३ को पुनरावेदन अदालत पाटनको आदेश ।
स्त्री अंश धनको २ नं. र उल्लेख गरिएको सिद्धान्त समेत अनुसार विधवा स्वास्नी मानिसले उमेर पुगेका छोराहरूको मञ्जूरीवेगर अचलमा आधा मात्र आफूखुस गर्न पाउने हुँदा आधाभन्दा बढी हक छाडी दिएको जति कायम हुन सक्ने देखिएन । यस्तो स्थितिमा वादीको दावीमध्ये आधाको दावी कायम गर्नुपर्नेमा वादी दावी पुग्न नसक्ने ठह¥याएको भक्तपुर जिल्ला अदालतको मिति ०५८।९।२३ को फैसला नमिलेको देखिंँदा केही उल्टी भई वादी दावीमध्ये आधाको लिखत समेत बदर भई बदर भए जतिको दर्ता प्रतिवादी मोतीमाया लासिवाका नाउँमा कायम हुने ठहर्छ भन्ने समेत मिति २०६०।३।३० को पुनरावेदन अदालत पाटनको फैसला ।
जुन उद्देश्यका लागि विवादित जग्गा जीउनी राखिएको हो, सो उद्देश्यविपरीत मिति २०४७।१२।२८ को मिलापत्रप्रतिकूल पुनरावेदन अदालत पाटनको फैसला अ.वं. १८४क र १८५ नं. र प्रमाण ऐन, २०३१ को दफा ३, ५४ प्रतिकूल निर्णय आंशिक रुपमा त्रुटिपूर्ण भएकोले सो हदसम्म उल्टी गरी पुनरावेदन जिकीर एवं फिराद दावीबमोजिम गरी न्याय पाऊँ भन्ने समेत मिति २०६०।७।२७ को वादी नारायण भक्त लासिवाको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
पुनरावेदन अदालत पाटनको फैसलामा चित्त बुझेन । अ.वं. १८४क, १८५ नं., प्रमाण ऐन, २०३१ को दफा ५, स्त्री अंश धनको १,२ नं. र स.अ. बाट प्रतिपादित विभिन्न नजीर सिद्धान्तविपरीत भएको पुनरावेदन अदालत पाटनको मिति २०६०।३।३० को त्रुटिपूर्ण फैसला बदर गरी भक्तपुर जिल्ला अदालतको मिति २०६०।३।३० को फैसला सदर गरी न्याय पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी जीवन लासिवाको अधिकृत वारेस प्रतिवादी कृष्णप्रसाद लासिवाको यस अदालतमा पर्न आएको मिति २०६०।९।३० को पुनरावेदन पत्र ।
प्रमाणको मूल्याङ्कन र विवेचना नगरी अ.वं. १८४क १८५ नं., प्रमाण ऐन, २०३१ को दफा ५४, स्त्री अंश धनको १, २ न सर्वोच्च अदालतबाट प्रतिपादित नेकाप २०४९ अङ्क २ पृष्ठ १४३ समेतका नजीर सिद्धान्तको विपरीत पुनरावेदन पाटनको मिति २०६०।३।३० को त्रुटिपूर्ण फैसला बदर गरी भक्तपुर जिल्ला अदालतको २०५८।९।२३ को फैसला सदर कायम गरी इन्साफ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी मोतीमायाको अधिकृत वारेस र प्र. कृष्णभक्त लासिवाको वारेस भई आफ्ना हकमा समेत प्र. कृष्णप्रसाद लासिवाको यस अदालतमा पर्न आएको मिति २०६०।९।३० को पुनरावेदनपत्र ।
यसमा प्रस्तुत मुद्दासंँग सम्बन्धित रहेको गुठी धर्मलोप समेतका मुद्दाहरू यस अदालतमा दायर रहेको हुँदा ती मुद्दाका साथ राखिपाउन पुनरावेदक वादीतर्फका कानून व्यवसायीले इजलाससमक्ष अनुरोध गर्नु भएकोले उक्त २०६३ सालको दो.नि.नं. १००१ को गुठी धर्मलोप समेतको निवेदन साथ प्रस्तुत मुद्दा र लगाउका मुद्दाहरू राखी नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६५।२।५ को आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको दोहोरो पुनरावेदन परेको प्रस्तुत मुद्दामा पुनरावेदक नारायणभक्त लासिवाको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शालिकराम पाण्डेले प्रतिवादीहरू मोतीमाया, कृष्णभक्त र यी पुनरावेदकका बीचमा अंश मुद्दा चली भक्तपुर जिल्ला झौखेल गाउँ विकास समिति वडा नं.८(ग) कि.नं. ७४० को १–३–० समेतको जग्गाको विपक्षी आमा मोतीमायाले जीउनभर भोगचलन गर्ने र आमाको मृत्युपछि सोही जग्गाको आयस्ताले काजििकरिया गर्ने, बाँकी दाजुभाईको बीचमा आधा आधा बाड्ने सहमति भई विपक्षीहरूसँग यी पुनरावेदकको भक्तपुर जिल्ला अदालतमा मिति २०४७।१२।२८ मा मिलापत्र भएकोमा सो मिलापत्रविपरीत दिने मोतीमाया र लिने जीवन लासिवा भई मिति २०५७।११।९ मा मालपोत कार्यालय भक्तपुरबाट राजीनामा पारित गरी हक हस्तान्तरण भएको अवस्था छ । आमा मोतीमायाको स्वर्गारोहणपछि बाँँकी भएको सम्पत्तिमा यी पुनरावेदकको समेत हक लाग्नेमा सो हक मार्नलाई उल्लिखित हक हस्तान्तरण भएको हो । मिलापत्र विपरीत भएको लिखतलाई बदर गरी यी पुनरावेदक वादीको हक कायम गर्नु पर्नेमा सो नगरी भएको पुनरावेदन अदालतको फैसला मिलेको छैन । तसर्थ, उक्त फैसलालाई बदर गरी फिराद दावीबमोजिम यी पुनरावेदकको हक कायम गरिपाऊँ भनी बहस प्रस्तुत गर्नुभयो ।
प्रस्तुत विवादको अर्को दे.पु.नं. ९०५३ का पुनरावेदक कृष्णप्रसाद लासिवा, कृष्णभक्त लासिवा, कृष्णप्रसाद लासिवा, मोतीमाया लासिवाका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बच्चुसिंह खड्काले विपक्षी नारायणभक्त लासिवा मिलापत्रबाट अंश लिई छुट्टिई भिन्दै बसेको कुरा फिराद कथनबाटै स्पष्ट छ । मिलापत्रमा खान लाउन, काजक्रिया गरी बाँकी रहेको सम्पत्तिसम्म आधी–आधी बाँड्ने शर्त राखिएको हो । यसले जीउनी राखेको सम्पत्ति हक हस्तान्तरण गर्नै नपाउने भनी शर्त राखेको अवस्था नहुँदा आफ्नो जीवनकाल आफूखुश गर्न पाउने सम्पत्तिको हक हस्तान्तरण गरेको कार्यलाई गैरकानूनी भन्न सक्ने अवस्था नहुँदा वादी दावी पुग्न नसक्ने भनी केही उल्टी गरी उक्त राजीनामाको लिखतबाट हक हस्तान्तरण भएको जग्गामध्ये आधा बदर गरीदिने मोतीमायाको नाममा कायम गरेको मिलेको छैन । सो फैसला बदर गरी शुरु निर्णयबमोजिम गरिपाऊँ भन्ने समेत बहस जिकीर प्रस्तुत गर्नुभयो ।
दोहोरो पुनरावेदन परेको प्रस्तुत मुद्दामा पुनरावेदन सहितका मिसिल संलग्न कागजातको अध्ययन गरी पुनरावेदकहरूका तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरूले गर्नु भएको उक्त बहस जिकीर सुनी विचार गर्दा भक्तपुर जिल्ला अदालतले वादी दावी नपुग्ने ठहर गरी गरेको फैसलालाई केही उल्टी गरी आधा बदर हुने ठहराएको पुनरावेदन अदालतको फैसला मिलेको छ छैन, र पुनरावेदकहरूको पुनरावेदन जिकीर पुग्न सक्ने हो, होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रस्तुत मुद्दाका पक्ष विपक्षहरू एकै परिवारका व्यक्तिहरू भई निजहरूका बीचमा भक्तपुर जिल्ला अदालतमा अंश मुद्दा चली निजहरूका बीचमा मिति २०४७।१२।२८ मा उक्त मुद्दामा मिलापत्र भएको देखिन्छ । उल्लिखित मिलापत्रमा भक्तपुर जिल्ला झौखेल गाउँ विकास समिति वडा नं.८ (ग) को कि.नं. ७४० को १–३–० जग्गा प्रतिवादीमध्येकी आमा मोतीमाया लासिवाको जीउनीको रुपमा राखिएको र सो जग्गा निजले आफ्नो जीवनभर भोग चलन गर्ने र मृत्युपछि सो जग्गाको आयस्ता खर्चबाट काजकिरिया गरी बाँकी दाजुभाई यी वादी र प्रतिवादीहरूले आधी–आधी बाँडी लिने शर्त उल्लेख भएको देखिन्छ । उल्लिखित कि.नं. ७४० को जग्गा प्रतिवादी मोतीमायाले मिति २०५७।११।९ मा मालपोत कार्यालय भक्तपुरबाट राजीनामा पारित गरी प्रतिवादी जीवन लासिवालाई हक हस्तान्तरण गरेको देखिन्छ । उल्लिखित जग्गा आमाको मृत्युपछि आफूले समेत आधा हक पाउने मिलापत्रको शर्तको आधारमा पुनरावेदक वादी नारायण भक्त लासिवाले उक्त राजीनामा बदर गरी पाउँन माग दावी लिएको देखिन्छ । प्रस्तुत मुद्दाका यी पक्ष विपक्षहरूको बीचमा मिति २०४७।१२।२८ मा भएको मिलापत्रको आधारमा अंशबण्डा भएको र यी अंशीयारहरू छुट्टि भिन्न भई बसेको कुरामा विवाद देखिँदैन । सो मिलापत्र अनुसार विवादित कि.नं. ७४० को १–३–० जग्गा प्रतिवादी मोतीमाया लासिवाको जीउनीको रुपमा राखिएकोमा विवाद देखिँदैन । प्रतिवादी मोतीमाया लासिवाले उक्त मिलापत्र बमोजिम आफ्नो अंश जीउनीको रुपमा प्राप्त गरेको विवादित कि.नं. ७४० को १–३–० जग्गा प्रतिवादी जीवन लासिवालाई मिति २०५७।११।९ मा राजीनामाको लिखत मालपोत कार्यालय भक्तपुरमा पारित गरी हक हस्तान्तण गरेको देखिन्छ । उल्लिखित राजीनामाको लिखत गरी दिने मोतीमायाको विवादित जग्गाको हकाधिकार तथा उक्त मिति २०४७।१२।२८ को मिलापत्र उल्लिखित शर्तबमोजिम बदर हुनुपर्ने हो होइन भन्ने तर्फ विचार गर्दा आफ्ना अंशियारहरूका बीचमा चलेको अंशसम्बन्धी मद्दामा भएको मिलापत्रबाट निजले आफ्नो भागमा सो जग्गा प्राप्त गरेको देखिन्छ । उक्त जग्गामा रहेको निजको स्वामित्व एवं साम्पत्तिक अधिकारमा कुनै प्रकारको त्रुटि (म्भाभअतक) भएको वा शर्तबन्दित (ऋयलमष्तष्यलब)ि भएको भनी वादीले जिकीर लिनसकेको अवस्था समेत देखिँदैन । अन्य अंशियारले प्राप्त गरेसरह निजले पनि आफ्नो भागको अंशबाट हकाधिकार प्राप्त गरेको देखिन्छ । प्रतिवादी मोतीमायाको उक्त विवादित जग्गाको स्वामित्व आर्जनको स्रोतको रुपमा रहेको मिति २०४७।१२।२८ को मिलापत्रको शर्त हेरिएमा निजको जीवनकालमा निजले सो जग्गा कसैलाई हक हस्तान्तरण गरेर दिन नसक्ने शर्त उल्लेख भएको देखिँदैन । उक्त मिलापत्रमा प्रतिवादी मोतीमायाले आफ्नो जीवनभर सो जग्गा एवं सोको आयस्ता उपभोग गर्ने र निजको मृत्युपश्चात् काजििकरिया गरी बाँकी रहेको अवस्थामा बाँकी रहेको सम्पत्तिसम्म यी पुनरावेदक वादी नारायणभक्त लासिवाले समेत आधा पाउने शर्त उल्लेख भएको देखिन्छ । जीवनकालपछि बाँकी रहेको सम्पत्ति पाउने हक मिलापत्रले सुरक्षित गरेको कारणले जीवनकालमा नै आफ्नो सो सम्पत्ति बेचबिखन, दान दातव्य वा हक हस्तान्तरण गर्ने स्वामित्वमा अन्तरनिहित अविभाज्य अधिकारलाई सीमित गर्न सक्छ भनी अर्थ गर्नु सम्पत्तिको स्वामित्व सम्बन्धी सिद्धान्त (म्यअतचष्लभ या यधलभचकजष्उ) को समेत विपरीत हुन जान्छ । यस अवस्थामा प्रतिवादी मोतीमायाले मिलापत्रबाट प्राप्त गरेको उक्त विवादित कि.नं. ७४० को १–३–० जग्गामा निजको स्वामित्व त्रुटिरहीत रहेको र मिलापत्रको शर्तले समेत निजलाई सो सम्पत्ति पूर्ण उपभोग तथा बेचबिखन, हक हस्तान्तरण गर्ने समेतका अधिकार सीमित नगरेको देखिँदा उक्त मिति २०५७।११।९ मा भएको राजीनामाको लिखतलाई बदर गर्नुपर्ने अवस्था देखिन आएन ।
३. तसर्थ, उल्लिखित विवेचित आधार प्रमाणहरूबाट शुरु भक्तपुर जिल्ला अदालतले वादी दावी नपुग्ने ठहर गरी मिति २०५८।९।२३ मा गरेको फैसलालाई मनासिब मानी सदर गर्नुपर्नेमा सो नगरी उक्त फैसलालाई उल्टी गरी वादी दावीमध्येको आधा लिखत बदर गरी बदर भए जतिको दर्ता प्रतिवादी मोतीमाया लासिवाको नाममा कायम गर्ने गरी भएको पुनरावेदन अदालत पाटनको मिति २०६०।३।३० को फैसला नमिलेकाले उल्टी हुन्छ । वादी दावी नपुग्ने ठहर गरेको शुरु भक्तपुर जिल्ला अदालतको मिति २०५८।९।२३ को फैसला सदर हुने ठहर्छ । पुनरावेदक नारायण भक्त लासिवाको पुनरावेदन जिकीर पुग्न सक्दैन । अरुमा तपसीलबमोजिम गर्नू ।
तपसील
माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत पाटनको फैसला उल्टी भई भक्तपुर जिल्ला अदालतको फैसला सदर हुने ठहरेकाले पुनरावेदन अदालत पाटनबाट भएको फैसलाले कायम गरेको लगत कट्टा हुने भएकाले सो लगतलाई कट्टा गरी भक्तपुर जिल्ला आदलतको फैसलाले कायम गरेको लगत कायम गरी कानूनबमोजिम कार्यान्वयन गर्नु भनी शुरु भक्तपुर जिल्ला अदालतमा लेखी पठाई दिनू ––१
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू –––२
उक्त रायमा सहमत छु ।
न्या.अवधेशकुमार यादव
इति संवत् २०६६ साल माघ ११ गते रोज २ शुभम्–
इजलास अधिकृत ः श्रीप्रकाश उप्रेती