निर्णय नं. १०२६७ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे
माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
फैसला मिति : २०७४।१०।२८
मुद्दाः- कर्तव्य ज्यान
०७१-CR-१६६८
पुनरावेदक : जिल्ला बाँके शमशेरगञ्ज गा.वि.स. वडा नं. १ घर भई हाल कारागार कार्यालय, बाँकेमा थुनामा रहेका पारस चौधरी
विरूद्ध
प्रत्यर्थी : राधेश्याम थारूको जाहेरीले नेपाल सरकार
०७१-CR-१६६९
पुनरावेदक : जिल्ला बाँके शमशेरगञ्ज गा.वि.स. वडा नं. १ घर भई हाल कारागार कार्यालय, बाँकेमा थुनामा रहेका अमेरिका भन्ने आशाराम थारू
विरूद्ध
प्रत्यर्थी : राधेश्याम थारूको जाहेरीले नेपाल सरकार
०७४-RC-००२७
वादी : राधेश्याम थारूको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रतिवादी : कालीप्रसाद चौधरी
प्रत्यक्षदर्शी नभए पनि अन्य प्रमाणबाट कसुरदार देखिएमा प्रतिवादीहरूलाई उन्मुक्ति दिन नमिल्ने ।
(प्रकरण नं.८)
वादीका तर्फबाट :
प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्नेः
मा. न्यायाधीश श्री कृष्णकमल अधिकारी
बाँके जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री रामकृष्ण खनाल
माननीय न्यायाधीश श्री दिनेशप्रसाद यादव
पुनरावेदन अदालत नेपालगञ्ज
फैसला
न्या. प्रकाशमान सिंह राउत : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारअन्तर्गत दायर भई नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :
तथ्य खण्ड
मिति २०६९।०१।२१ को रातको समयमा जिल्ला बाँके, शमशेरगंज–२ स्थितमा प्रतिवादी कालीप्रसाद थारूसमेतका व्यक्तिहरूले "मृतक लालता थारूको टाउको पछाडिको भागमा २ इन्च लम्बाइमा धारिलो हतियारले प्रहार गरिएको जस्तो घाउ चोट दायाँ कानको लोती काटिएको, दायाँ कानको अगाडि पट्टि अर्थात् कन्चटहरू भालाले रोपिएको जस्तो गहिरो घाउ चोट रहेको, दायाँ कन्चटमाथि टाउको निधारको भागमा लाठी भाटाले हिर्काएको जस्तो घाउ चोटपटक भई गिदीसमेत निस्किएको, नाकबाट रगत निस्किएको, दायाँ आखाको आँखीभौं कालो निलो भएको, अन्य शरीरमा घाउ चोट नदेखिएको” भन्नेसमेत बेहोराको राममिलन तमोलीले गरी दिएको लास जाँच प्रकृति मुचुल्का ।
मिति २०६९।०१।२१ को रातको समयमा जिल्ला बाँके, शमशेरगंज –२ अकलघरूवा स्थित आफ्नो तरकारी बारी रेखदेख गर्न खरको झुपडी बनाई सुतेको अवस्थामा ऐ. वडा नं. १ बस्ने लालता थारूलाई प्रतिवादी कालीप्रसाद चौधरीसमेतका व्यक्तिहरूले लाठीसमेतले टाउकोमा प्रहार गरी घटनास्थलमा नै कर्तव्य गरी मारेको हुँदा कानूनबमोजिम गरिपाउँ भन्ने बेहोराको जाहेरी दरखास्त ।
जिल्ला बाँके, शमशेरगंज गा.वि.स. वडा नं. २ स्थित पूर्व खाली जग्गा, पश्चिम गौरी शंकर चौधरीको खाली जग्गा, उत्तर दक्षिण अकलघरूवा र ऐ. गाउँ जोड्ने ग्राब्रेल सडक खण्ड, सो सडकको पूर्वपश्चिम फर्काएको अवस्थामा कल्भट रहेको, सो कल्भटदेखि पूर्व अं.२०० मिटरको दुरीमा रहेको मृतक लालता थारूको तरकारी बारीमा झुपडी बनाई बसेका अवस्थामा आशाराम थारूसमेतले लाठीसमेतले टाउकोमा प्रहार गरी कर्तव्य गरी मारी उक्त वारदातमा प्रयोग गरिएका दाउरा काठहरू उक्त कल्भटमा लुकाएको भनिएको, प्रतिवादीहरू आशाराम थारू र पारस थारूले देखाएअनुसारको उक्त कल्भटमा अर्थात् ह्युमपाइपमा प्रवेश गरी हेर्दा लुकाई राखेको दुवै काठमा रगत लागेको केही बोक्रा निक्लिएका अवस्थामा उल्लिखित काठ दाउराहरू बरामद गरी लिएको हो भन्ने बेहोराको खानतलासी / बरामदी मुचुल्का ।
वारदात मितिका राति म आफ्नै घरमा बनाएको जाँड रक्सी खाई चोकमा बसेको अवस्थामा राति अं. ८.०० बजेको समयमा आशाराम हवल्दारपुरबाट रक्सी खाई आइरहेको बेला मेरो र निजको गाउँकै चोकमा भेट भयो र निजले मलाई कालीप्रसादको घरमा जाउ भनेपछि दुवैजना कालीप्रसादको घरमा गई निजलाई उठाई हामी दुवै निजकै आँगनमा बसी पारिवारिक कुरा गरी मलाई कुटपिट गर्न भनी भाला ल्याई गाउँको चोकमा आएको थियो ल यसले आफू जिमिदार हुँ भनी हामी सबै गाउँलेहरूलाई धाक धम्की दिने धम्क्याउने अश्लील गाली गलौज गर्ने र कालीप्रसाद चौधरीको छोरा कृष्ण थारूलाई आफ्नो नातिनी रूपा चौधरीसँग प्रेम सम्बन्ध राखेको भनी गत वर्ष कुटपिट गरेको र हामी सबैलाई अपशब्द प्रयोग गर्ने गरेकोले हामी तीनैजनाले रक्सी खाएको अवस्थामा कालीप्रसाद चौधरीको घर आँगनमा बसी निजलाई कर्तव्य गरी मार्ने योजना बनाई कालीप्रसादकै आँगनमा रहेको रोहिणीको दाउरा म र आशारामले १/१ वटा हातमा समाती तीनैजना लालता थारू सुतिरहेको तरकारी बारीको झुप्रोमा गयौं र सबै जनाले पालै पालो गरेर निज लालता थारूको टाउकोमा हानेका हौं । मेरो हातको औंलामा बाँधेको गज ब्याण्डेज उक्त स्थानमा खसेको हो भन्ने बेहोराको प्रतिवादी पारस चौधरीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
वारदात मिति र समयमा म आफ्नो घरमा सुतिरहेको बेला साथी पारस चौधरी, अमेरिका भन्ने आशाराम थारू म सुतेको अवस्थामा मेरो घरमा आई मलाई उठाई बसी गफमेल हुँदा सोही बेला निज दुईजना र मेरो सरसल्लाह हुदाँ निज लालता थारूलाई कुटपिट गर्ने योजना बनाइसकेपछि मेरो घर आँगनमा राखेको दाउरा पारस थारू र अमेरिका भन्ने आशाराम थारूले एक एकवटा बोकी निज लालता थारू सुतेको स्थानमा गइसकेपछि सुरूमा आशाराम थारूले २।३ पटक निज लालता थारूको टाउकोमा प्रहार गरेपश्चात् पारस थारूले पनि हानिसकेपछि मैले पनि निज मृतक लालता थारूको टाउकोमा प्रहार गरेपछि हामीहरूले हानेको चोटबाट निज लालता थारूको घटनास्थलमा नै मृत्यु भएको हो । सोही बेला निज लालता थारूलाई कर्तव्य गरी मार्न लाग्दा पारस थारूको हातको औंलामा बाँधेको गजपट्टी उक्त स्थानमा खसेको
हो । उक्त सामान प्रहरीले बरामद गरी ल्याएको हो भन्ने बेहोराको प्रतिवादी कालीप्रसाद चौधरीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
वारदात मिति र समयमा रातको समयमा मैले हवल्दारपुर स्थितबाट रक्सी सेवन गरी घरतर्फ जाँदै गर्दाको अवस्थामा गाउँ नजिक चोकमा पारस थारूसँग भेट भएपछि पारस थारूलाई घुम्न जाउँ भनी कालीप्रसाद चौधरीको घरमा गई कालीप्रसाद चौधरीलाई उठायौं र घरायसी गफगाफ गर्दा अचानक लालता थारूको कुरा निस्किँदा हामी तीनैजनाले मार्ने योजना बनाइसकेपछि कालीप्रसाद थारूको घर आँगनमा राखेको रोहिणीको काठ दाउरा पारस थारू र मैले एक एकवटा बोकी निज लालता थारू सुतेको स्थानमा गई सुरूमा मैले २।३ चोट निज लालता थारूको टाउकोमा प्रहार गरेपछि उक्त लाठी पारस थारूलाई दिएपछि पारस थारू र कालीप्रसाद चौधरीसमेत हामी तीनैजनाले पालैपालो हानेपछि निज लालता थारूको मृत्यु भएको हो भन्ने बेहोराको प्रतिवादी अमेरिका भन्ने आशाराम थारूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
यसमा वारदात मिति र समयमा हामीहरू आफ्नै घरमा बसिरहेका थियौं । वारदात मिति र समयको बिहानपख बाँके, शमशेरगंज –२ स्थित लालता थारूको मृत्यु भएको खबर सुनी थाहा पाउनासाथ तत्काल उक्त स्थानमा गई हेर्दा निज लालता थारू रगताम्ये अवस्थामा खरको झुपडीमा मृत अवस्थामा पल्टिएका थिए । सोही बेला घटनास्थलमा सेतो गजपट्टी र काठको दाउराको बोक्राहरू खसेको थियो । उक्त सेतो गजपट्टीको कसले खसाएको हो भनी बुझ्दा जिल्ला बाँके, शमशेरगंज –१ बस्ने पारस थारूको हातको औंलामा केही दिन अगाडि निजले सेतो गजपट्टी बाँधेका थिए । त्यसपश्चात् निज पारस चौधरीको खोज तलास गर्दा निज फेला नपरेपछि पारस चौधरीसमेतका व्यक्तिहरूको मिलोमतोमा निज मृतक लालता थारूको दाइको नातिनी र प्रतिवादी कालीप्रसाद चौधरीलाई सम्झाई बुझाई गरेको कुरा थाहा पाएको हुँ । सोही विषयलाई लिएर वारदात मिति र समयको रातको समयमा अमेरिका भन्ने आशाराम थारू, पारस चौधरी र कालीप्रसाद चौधरीसमेतको मिलोमतोमा लालता थारूलाई मार्ने योजना बनाई धारिलो हतियार तथा काठको दाउरासमेत लिई मृतक लालता थारू आफ्नै तरकारी बारीमा सुतेको अवस्थामा टाउकोको विभिन्न भागमा हानी कर्तव्य गरी मारी उक्त वारदातमा प्रयोग भएको काठको दाउरा तथा लाठी घटनास्थलदेखि अं. २०० मिटर पर रहेको ह्युमपाईपमा लुकाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो । निजहरूलाई हदैसम्मको सजाय हुनु पर्छ भन्ने बेहोराको राम गोपाल तमौली, नारायणप्रसाद थारू, रामनरेश यादव, राम मिलन तमौली, कन्हई थारूले गरी दिएको करिब एकै मिलानको छुट्टाछुट्टै घटना विवरण कागज ।
लालता थारूले प्रतिवादी आशाराम थारूसँग १०।१२ दिन अगाडि झगडा भएकोमा कुटपिट गर्न भनी भाला ल्याई चोकमा आएको । आफू जिमिन्दार भएको भन्दै गाउँले तथा आफूहरूलाई धाक धम्की दिई अश्लील गाली गलौज गर्ने गरेको । प्रतिवादी कालीप्रसाद चौधरीको छोरा कृष्ण चौधरीले निज लालता थारूको नातिनी रूपा चौधरीसँग प्रेम सम्बन्ध राखेको भनी गत वर्ष मरणासन्न हुने गरी कुटपिट गरेकोसमेतका विषयमा इवी लिई निज लालता थारूलाई कर्तव्य गरी मार्ने योजना बनाई प्रतिवादी कालीप्रसाद चौधरीको घर आँगनमा रहेको रोहीणीको दाउरा लिई लालता थारू सुत्ने गरेको बाँके शमशेरगंज गा.वि.स.वडा नं. २ स्थित तरकारी बारीमा रहेको झुप्रोमा गई निज लालता थारूको टाउकोको भागमा धारिलो हतियार तथा काठ दाउराले प्रहार गरी कर्तव्य गरेर मारेको पुष्टि भई प्रतिवादी पारस चौधरी, कालीप्रसाद चौधरी र अमेरिका भन्ने आशाराम थारूले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(१) नं. बमोजिमको कसुर अपराध गरेको हुँदा निज प्रतिवादीहरूलाई सोही महलको १३(१) नं. बमोजिम सजाय हुन मागदाबी लिएको अभियोग पत्र ।
मिति २०६९।०१।२० मा म आफ्नो बहिनी अनिता चौधरीको घर बिनौना राप्ती पारी गएको र त्यहाँबाट २०६९।०१।२२ को बिहान बिनौनाबाट आफ्नो घरमा १०.०० बजेतिर आएको हुँदा मिति २०६९।०१।२१ गते दिन रात बिनौनामा थिएँ । मिति २०६९।०१।२१ मा मेरो कालीप्रसाद चौधरी र आशाराम थारूसँग भेट भएन । लालता थारूलाई को–कसले किन मारेका हुन् थाहा भएन । निजलाई कर्तव्य गरी मार्ने मराउनेमा मेरो संलग्नता छैन । घटनास्थल मुचुल्का पढी सुनाउँदा सुनी पाएँ । उक्त घटनास्थल मुचुल्का बारेमा थाहा भएन । जाहेरी दरखास्त पढी सुनाउँदा सुनी पाएँ । जाहेरीमा उल्लेख गरिएबमोजिम मैले मृतकलाई कर्तव्य गरी मारे मराएको होइन । मेरो दाहिने हातको कान्छी औंलासँग रहेको औंठामा बेन्डेज पट्टी लागेको थियो । सोही पट्टी बेन्डेज लागेको कारणबाट मेरो माथि किटानी जाहेरी दिएका हो भन्ने बेहोरा प्रतिवादी पारस चौधरीले सुरू अदालतमा गरेको बयान ।
मिति २०६९।०१।२१ मा म आफ्नो घरमा र सो दिन साँझ ५.०० बजेको समयमा मेरो भाइ कुमार चौधरीको नेपालगञ्जमा होटल भएकोले भाइसँग काठको रूपैयाँ लिन भनी नेपालगञ्ज आएको र सो दिन यातायात बन्द भएकोले सो राति भाइको होटल घरमा बसी मिति २०६९।०१।२२ को बिहान आफ्नो घरमा जाँदा लालता थारू मरेको सुनी घटनास्थलमा गएको थिए । उक्त २१ गतेको दिन रातमा पारस र आशारामसँग भेटघाट भएन । मृतक लालता थारूलाई को कसले किन मारे थाहा छैन । निज लालता थारूलाई कर्तव्य गरी मार्नेमा मेरो संलग्नता छैन । घटनास्थल मुचुल्का पढी बाची सुनाउँदा सुनी पाएँ । मिति २०६९।०१।२२ गते बिहान म नेपालगञ्जबाट घरमा जाँदा लालता थारूको मरेको हल्ला सुनेपछि म पनि उक्त घटनास्थलमा गएको थिएँ । लासको नजिकबाट नदेखेको हुँदा घटनास्थल मुचुल्कामा उल्लेख भएबमोजिम रहे नरहेको थाहा भएन । जाहेरी दरखास्त पढी सुनाउँदा सुनी
पाएँ । जाहेरीमा उल्लेख गरिएबमोजिम मृतक लालता थारूको भाइको छोरीसँग लभ गरी घरमा ल्याएको र निजहरूले मेरो छोरासमेतलाई आफ्नो घरमा बोलाई मेरो छोरालाई कुटपिट गरी मलाई समेत बोलाएकोले म निजहरूको घरमा गई छोरालाई घरमा ल्याई आएको र निजको भतिजीलाई मृतकसमेतले त्यहीँ राखेकोमा पछि अन्दाजी १ महिना पहिला मृतकको भतिजी मेरो घरमा जबरजस्ती आई बसेकी र मैले निजहरूलाई घरमा गई तपाइँको भतिजी छोरी मेरो घरमा आएकी छ लिएर आउनु होस् भनी खबर गरेको र पछि मृतकसमेत भई भतिजी छोरीलाई लिएर गएका र निजहरूले मलाई र मेरो श्रीमतीलाई रातको १२.०० बजे बोलाई हामीहरूलाई गाउँ छाडेर जाउ नगए नराम्रो हुन्छ भनेका र म गाउँ छाडेर किन जाने भनेको हुँदा सोही रिसइबीको कारण ममाथि जाहेरी दिएका हुन् । बरामदी मुचुल्का पढी सुनाउँदा सुनी पाएँ । बरामद गरिएको काठ मेरो अगाडि बरामद गरेको होइन । कसले कहाँबाट ल्याएका हुन् थाहा भएन भन्ने बेहोराको कालीप्रसाद चौधरीले सुरू अदालतमा गरेको बयान ।
मिति २०६९।०१।२१ मा म आफ्नो भिनाजुको घर लखना गाउँमा थिए । पारस चौधरी, कालीप्रसाद थारूसँग भेट भएको होइन । मृतक लालता थारूलाई को–कसले मारेको मलाई थाहा भएन । निजलाई कर्तव्य गरी मार्नेमा मेरो संलग्नता छैन । बरामद भएको काठ दाउरा कसको थाहा
भएन । अनुसन्धान अधिकारीसमक्ष गरेको बयान पढी बाची सुनाउँदा सुनी पाएँ । प्रहरीले मलाई कुटपिट गरी मसँग केही कुरा नसोधी सहिछाप गराएका हुन् । बयान बेहोरा मेरो होइन भन्ने बेहोराको प्रतिवादी आशाराम थारूले सुरू अदालतमा गरेको बयान ।
मिति २०६९।०१।२१ गते घटना भएको दिन निज प्रतिवादी आशाराम चौधरी मेरो घरमा आई मेरै घरमा रातभरी बसी ऐ.२२ गते साँझ निज आफ्नै घर गएको हुँदा निज प्रतिवादीको सो घटनासँग कुनै सम्बन्ध छैन । निज प्रतिवादी निर्दोष छन् । अभियोग दाबी झुठ्ठा हो । निज प्रतिवादीले अपराध नगरेकोले सजाय हुनु पर्ने होइन । निज प्रतिवादीको बानी बेहोरा राम्रो छ भन्ने बेहोराको प्रतिवादी आशाराम थारूको साक्षी छेदा थारूले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६९।०१।२१ गतेमा आफ्नै किरायमा लिएको घर नेपालगञ्ज नगरपालिका वडा नं. १४ मा थिएँ । निज प्रतिवादी कालीप्रसाद चौधरी पनि उक्त दिन साँझ ५.०० बजेतिर मेरो डेरामा लकडीको पैसा उठाउन आएका थिए । सो रात निज मसँगै बसेका थिए । भोलिपल्ट बिहान निज आफ्नो घरतिर गएका हुन् । मृतक लालताप्रसाद थारूलाई यी प्रतिवादीले मारेको होइन । गाउँको मान्छेले त्यतिकै भनेर निजउपर मुद्दा चलेको हो । निज प्रतिवादीको आचरण राम्रो छ । निजलाई सजाय हुनु पर्ने होइन भन्ने बेहोराको प्रतिवादी कालीप्रसाद चौधरीको साक्षी ओम भगत चौधरीले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६९।०१।२० देखि ऐ.२२ गते साँझसम्म प्रतिवादी पारस चौधरी मेरै घरमा बस्नु भएको थियो । तसर्थ निजसँग म साथै थिएँ । निजको कुनै घटनासँग सम्बन्ध छैन । निज निर्दोष हुन् । अभियोग दाबी झुठ्ठा हो । उक्त गजपट्टी प्रतिवादी पारस चौधरीको होइन । कसको हो मलाई थाहा भएन निज प्रतिवादी निर्दोष भएकोले सजाय हुनु पर्ने होइन । निजको बानी बेहोरा राम्रो छ भन्ने बेहोराको प्रतिवादी पारस चौधरीको साक्षी प्रताप सिंह थारूले सुरू अदालतमा गरेको बकपत्र ।
उक्त जाहेरी बेहोरा मेरो हो । जाहेरी बेहोरा ठिक साँचो हो र सहिछाप पनि मेरो हो । पारस थारू र अमेरिका भन्ने आशाराम थारू र कालीप्रसाद थारू मिली सँगै गाउँमा चोरी गर्ने, धान चोर्ने, कुखुरा हाँसहरू चोर्ने र यो प्रतिवादीमध्ये पारस थारू आजभन्दा ८ महिना पहिले सामुदायिक वनमा काठ चोर्न गएको बेलामा सामुदायिक वनका सदस्यहरूले निजलाई समाती कुटपिट गरेपछि रू.४०,०००।– तिरेर सो चोरी अभियोगबाट मुद्दा नचलाई गाउँमा फर्केर आएपछि मृतक लालताप्रसाद थारूले तिमीहरू किन यस्तो गर्छौ । यस्तो नगर्नु भनी सम्झाउँदा निजलाई नराम्रो लागी रक्सी सेवन गरी ३ जनाले योजना बनाई बारीमा सुतेको अवस्थामा लाठी र खुकुरी प्रहार गरी हत्या गरेका हुन् । लास नजिकै पारसले सामुदायिक वनमा चोरी गर्दा लागेको चोटले औंलामा बाँधेको पट्टी उसले नै स्वीकार गरेको हुनाले यिनीहरूले नै हत्या गरेका हुन् भन्ने बेहोराको अ.ब.११५ नं. बमोजिम बुझिएका जाहेरवाला राधेश्याम थारूले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६९।०२।०३ मा भएको कागजको बेहोरा मेरो हो । सहिछाप पनि मेरै हो । वारदातको भोलिपल्ट बिहान म आफ्नै घरमा थिएँ । बिहान गाउँमा लालता थारूको हत्या भयो भनी गाउँमा हल्ला भएको थाहा पाएँ । म पनि उक्त घटनास्थलमा पुगेँ । प्रहरीहरू पनि त्यहाँ पुगिसकेका थिए । गाउँका पनि थुप्रै मानिसहरू त्यहाँ उपस्थित भएका थिए । त्यहाँ पुग्दा तरकारी बारीमा खरको सानो झुप्रो थियो । त्यहाँ नजिकै काठको बोक्राको टुक्रामा रगत लागेको थियो । त्यही गोलो आकारको गजपट्टी त्यहीँ बाँधेको गजपट्टी हो र प्रशासनले उसलाई झिकाएर सोध्दा आशारामको संलग्नतामा मारिएको भन्ने कुरा थाहा पाएका हौं । बरामदी भएको काठ पारसले नै झिकेर देखाएका हुन् । त्यो काठमा रगत लागेको थियो । यही कुराहरूले गर्दा मृतक लालता थारूको मृत्यु यिनै ३ जना प्रतिवादीको संलग्नतामा मृतकको मृत्यु भएको हो भन्ने बेहोराको घटना विवरणको मानिस राम गोपाल तमौलीले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६९।०२।०३ मा भएको कागजको बेहोरा मेरो हो, ठिक साँचो हो । सहिछाप मेरै हो । वारदात मितिमा खबर पाएको अनुसार हामी उक्त घटनास्थलमा पुग्दा त्यहाँ मृतक लालताप्रसाद रगताम्य अवस्थामा उत्तानो अवस्थामा थिए । घटनास्थलमा गजपट्टी र दाउरा भेटिएको थियो । त्यो गजपट्टी पारसको हातमा घाउ भएको त्यो पट्टी पारसको खसेको मेरो हो भनी स्वीकार गरी मृतकलाई हानेको काठ निकाली देखाएको हुनाले लालताप्रसादको मृत्यु यिनै ३ जनाले नै गरेको हुन् भन्ने बेहोराको घटना विवरणको मानिस राम नरेश यादवले सुरू अदालतमा गरेको बकपत्र ।
यसमा प्रतिवादीहरूको मौकाको बयान, वारदात स्थलबाट बरामद भएको गजपट्टी, प्रतिवादीले खुलाएकै ठाउँबाट बरामद भएको दाउरा, जाहेरवालाको बकपत्रसमेतका मिसिल संलग्न आधार प्रमाणबाट प्रतिवादीहरूले ज्यानसम्बन्धी महलको १ नं.को कसुर गरेको ठहर्छ । प्रतिवादीहरूउपर ज्यानसम्बन्धीको १३(१) नं.बमोजिमको सजायको मागदाबी लिइएकोमा वारदातको प्रकृतिसमेतका मिसिल संलग्न आधार प्रमाणबाट उक्त नं. ले सजाय नभई निज प्रतिवादी पारस चौधरी, कालीप्रसाद चौधरी र अमेरिका भन्ने आशाराम चौधरीलाई ऐ.को १३(३) नं. बमोजिम जन्मकैद हुने ठहर्छ भन्ने सुरू बाँके जिल्ला अदालतको मिति २०६९।१२।१९ को फैसला ।
यसमा सुरू बाँके जिल्ला अदालतको फैसला कानूनी त्रुटिपूर्ण रहेको छ । म पुनरावेदकउपरको वादी दाबी शंकारहित र स्वतन्त्र तबरबाट विपक्षी वादीले प्रमाणित गर्न सकेको छैन । प्रस्तुत मुद्दामा प्रत्यक्षदर्शीको अभाव देखिएको छ । मिति २०६९।०१।२१ गते राति भएको भनिएको घटनाको विषयमा मिति २०६९।०१।२४ मा जाहेरी दर्ता भएको देखिन्छ । सो जाहेरीमा हामी पुनरावेदकको नाम उल्लेख गरी किटानी जाहेरी दिएको देखिन्छ । घटना हुँदा जाहेरवाला अन्यत्र जिल्लामा रहेको र टेलिफोनमार्फत जानकारी पाएको र गाउँमा बुझ्दा अन्यायीहरूको संलग्नतामा निजले बाबुको हत्या गरेको यकिन भएको भन्ने उल्लिखित छ । हामीहरूलाई किटानी जाहेरी दिनुको अर्थ जसरी भएपनि हामीहरूलाई सजाय गराउन सकियोस् भन्ने जाहेरवालाको मनसाय देखिन्छ । घटना कति बजेको कुन समयमा घटेको हो भन्ने कुरा कोही कसैले देखेको अवस्था छैन । मृत्युको विषयमा सबैभन्दा पहिले देख्ने व्यक्ति भनेको लगनु थारूले मिति २०६९।०१।२२ गते बिहान ६.३० बजे मात्र लास देखी मृतकको हत्या भएको भन्ने कुरा थाहा पाएको देखिन्छ । लगनु थारूको कुनै कागजसमेत गराइएको अवस्था छैन र निजले कोही कसैको नाम लेखाएको पनि देखिँदैन । घटना विवरण कागज गर्ने मानिसहरूले पनि प्रतिवादीहरूको उक्त घटनामा संलग्नता छ भन्ने कुरा लेखाउन सकेको पाइँदैन । यसरी जाहेरी बेहोरा र घटना विवरणका व्यक्तिहरूको कथन अदालतसमक्ष आई बकपत्रका माध्यमद्वारा पुष्टि नभएको अवस्थामा हामीहरूले मृतकको ज्यान मारेको हो भन्ने कुरा पत्यारलायक
छैन । म पुनरावेदकले मृतकलाई मार्नसम्मको पूर्व रिसइवी के थियो ? मृतकलाई मार्नमा के–कुन हतियार वा वस्तुको प्रयोग गरेको थियो । मृतकलाई लागेको चोटपटकको अवस्था के–कसो रहेको छ भन्ने कुरा मिसिल संलग्न प्रमाणबाट पुष्टि हुन सकेको छैन । कर्तव्य ज्यान जस्तो गम्भीर अपराधमा केवल शंका अनुमान र गोश्वारा रूपमा लिएको दाबीको आधारमा जन्मकैद जस्तो हदैसम्मको सजाय गरिएको छ । अनुसन्धान अधिकारीसमक्ष भएको हाम्रो बयान हाम्रो इच्छा विरूद्ध भएको हो । मृतक लालता थारूलाई मार्नु मराउनु पर्नेसम्मको हाम्रो कुनै पूर्वरिसइवी, मनसाय, तयारी रहेको थिएन । सो कुरा मिसिलबाट पनि खुल्न आएको छैन । म पारसले अदालतमा गजपट्टीलाई स्वीकार गरेको तथ्य उल्लेख गरी फैसला गरिएको
छ । म पारस थारूले घटनास्थलमा भेटिएको गजपट्टीको चिकित्सक परीक्षणसमेत नगराई अनुमानका आधारमा गरिएको सुरूको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी हामी पुनरावेदकले पूर्णरूपमा सफाइ पाउने गरी हक इन्साफ पाउँ भन्ने प्रतिवादी आशाराम चौधरी र पारस चौधरीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र र यसै बेहोराको प्रतिवादी कालीप्रसाद चौधरीको पुनरावेदन अदालत नेपालगञ्जमा पर्न आएको पुनरावेदनपत्र ।
यसमा प्रतिवादीहरूले मिति २०६९।०१।२१ गते राति जिल्ला बाँके शमशेरगंज गा.वि.स.वडा नं.२ स्थित घटनास्थलमा पूर्वरिसइवीका कारणबाट मृतक लालताप्रसाद थारूलाई जोखिम हतियार तथा काठको लाठीले हानी कर्तव्य गरी मारेको कुरा मृतकको घटनास्थल लास जाँच मुचुल्काबाट टाउको पछाडिको भागमा २ इन्च लम्बाईको धारिलो हतियारले प्रहार गरेको जस्तो घाउ चोट, दायाँ कानको लोती काटिएको, दायाँ भागको अगाडि कन्चटमा भालाले रोपिएको जस्तो गहिरो घाउ चोट रहेको, गिदी निस्केको भन्नेसमेतका प्रकृति विवरण खुल्न आएको र सो कुराको पुष्टि शव परीक्षण प्रतिवेदन र जाहेरवालाको बकपत्रसमेतबाट भई प्रस्तुत वारदातमा प्रतिवादीहरूले काठको लाठीका अतिरिक्त धारिलो तिखो जोखिम चिजवस्तुहरू प्रयोग गरी कर्तव्य गरी मारेको प्रस्ट हुँदाहुँदै प्रतिवादीलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(१) नं.ले सजाय नगरी १३(३) नं. अनुसार अभियोग दाबीभन्दा कम सजाय गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत नेपालगञ्जमा पर्न आएको पुनरावेदनपत्र ।
यसमा प्रतिवादीहरू विरूद्ध अभियोग माग दाबीभन्दा कम सजाय भएकोमा अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परेको तथा भएको सजाय अन्यायपूर्ण भयो सफाइ पाऔं भनी प्रतिवादीहरूको पुनरावेदन परेको देखिँदा अ.बं.२०२नं. को प्रयोजनार्थ छलफलका लागि प्रतिवादीहरूको पुनरावेदनको जानकारी पुनरावेदन सरकारी वकिल कार्यालय नेपालगञ्जलाई तथा वादी नेपाल सरकारको पुनरावेदनको जानकारी प्रतिवादीहरूलाई दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत नेपालगञ्जको मिति २०७१।०२।११ को आदेश ।
प्रतिवादीहरूउपर परेको किटानी जाहेरी, लास जाँच प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदन र प्रतिवादीहरूको अनुसन्धान अधिकारीसमक्षको साबिती बयान, अनुसन्धानमा कागज गर्ने घटना विवरणका मानिसहरूको बकपत्र, जाहेरवालाको अदालतसमक्षको बकपत्रसमेतका मिसिल संलग्न प्रमाणहरूबाट प्रतिवादीहरूले मृतक लालताप्रसाद थारूलाई कर्तव्य गरी मारेको भन्ने कुरा पुष्टि भएको अवस्थामा सुरू बाँके जिल्ला अदालतबाट मिति २०६९।१२।१९ मा भएको फैसला मिलेकै देखिँदा उक्त फैसला सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत नेपालगञ्जको मिति २०७१।०३।२९ को फैसला ।
जाहेरवाला तथा घटना विवरण कागज गर्ने मानिसहरू प्रत्यक्षदर्शी नभई शंकाको भरमा कागजको बेहोरा लेखाएको देखिन्छ । केवल शंकाको भरमा अपराधी साबित गरी कसुरदार ठहर्याउनु न्याय एवं कानूनसङ्गत छैन । गोश्वारा रूपमा पूर्वरिसइवीका कारण कथित किटानी जाहेरीमा नाम उल्लेख हुँदैमा अपराध गरेकै होला भनी अनुमान गर्न मिल्ने होइन । मौखिक आधारमा दिएको जाहेरीलाई विना आधार प्रमाण सत्य साँचो हो भनी अनुमान गर्नसमेत
मिल्दैन । जहाँसम्म घटनास्थलमा गजपट्टी भेटिएको भन्ने एक मात्र शंकाको आधारमा मलाई पक्राउ गरिएको छ, सो गजपट्टी मेरो नै हो भन्ने कुराको परीक्षणसमेत गराएको छैन । मृतक लालता थारूलाई मार्नु मराउनु पर्नेसम्मको रिसइवी, झैझगडा थिएन
छैन । मिसिल संलग्न कुनै पनि सबुद प्रमाणबाट अभियोग दाबी पुष्टि नभएकोले हदैसम्मको सजाय गर्ने गरी जिल्ला अदालतबाट भएको फैसलालाई नै सदर गर्ने गरी पुनरावेदन अदालत नेपालगञ्जबाट भएको फैसला कानून एवं न्यायसम्मत नभई गम्भीर कानूनी त्रुटिपूर्ण रहे भएको हुँदा सो दुवै फैसलाहरू बदर उल्टी गरी वादी दाबीबाट म पुनरावेदकले पूर्णरूपमा सफाइ पाउने गरी हक इन्साफ पाउँ भन्ने बेहोराको प्रतिवादी पारस चौधरीको यस अदालतमा परेको पुनरावेदनपत्र ।
प्रतिवादीउपरको अभियोग दाबी वस्तुनिष्ठ र स्वतन्त्र प्रमाणबाट पुष्टि गर्न वादी पक्षले प्रमाण ऐन, २०३१ को दफा २५ र फौजदारी न्यायको सिद्धान्तबमोजिम पुष्टि गर्न सकेका छैनन् । जाहेरवाला तथा घटना विवरण कागज गर्ने मानिसहरू प्रत्यक्षदर्शी नभएको र आफूले सुनेको आधारमा कागजको बेहोरा लेखाएको देखिन्छ । केवल शंकाको भरमा अपराधी साबित गरी कसुरदार ठहर्याउनु न्याय एवं कानूनसङ्गत छैन । वारदातमा प्रयोग भए भनिएका कुनै पनि धारिलो हतियार मुग्रो बरामद भएको अवस्था छैन । मौखिक आधारमा दिएको जाहेरीलाई विना आधार प्रमाण सत्य साँचो हो भनी अनुमान गर्नसमेत मिल्दैन । म पुनरावेदकउपरको अभियोगदाबी मिसिल संलग्न कुनै पनि सबुद प्रमाणबाट पुष्टि नभएकोले निर्दोष देखिँदादेखिँदै पनि हदैसम्मको सजाय गर्ने गरी जिल्ला अदालतबाट भएको फैसलालाई नै सदर गर्ने गरी पुनरावेदन अदालत नेपालगञ्जबाट भएको फैसला कानूनी त्रुटिपूर्ण रहे भएको हुँदा सो दुवै फैसलाहरू बदर उल्टी गरी वादी दाबीबाट म पुनरावेदकले पूर्णरूपमा सफाइ पाउने गरी हक इन्साफ पाउँ भन्ने बेहोराको प्रतिवादी अमेरिका भन्ने आशाराम थारूको यस अदालतमा परेको पुनरावेदनपत्र ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गर्दा सुरू बाँके जिल्ला अदालतले गरेको फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत नेपालगञ्जको फैसला मिलेको छ वा छैन र प्रतिवादी पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्ने हो वा होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रस्तुत मुद्दामा रिसइवीले मृतक लालता थारूको टाउकोको भागमा धारिलो हतियार तथा काठ दाउराले प्रहार गरी कर्तव्य गरेर मारेको पुष्टि भई प्रतिवादीहरू पारस चौधरी, कालीप्रसाद चौधरी र अमेरिका भन्ने आशाराम थारूले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(१) नं. बमोजिमको कसुर अपराध गरेको हुँदा निज प्रतिवादीहरूलाई सोही महलको १३(१) नं. बमोजिम सजायको माग दाबी लिई अभियोग पत्र दायर भएको पाइन्छ । वारदातको प्रकृतिसमेतका मिसिल संलग्न आधार प्रमाणबाट मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं.ले सजाय नभई निज प्रतिवादीहरू पारस चौधरी, कालीप्रसाद चौधरी र अमेरिका भन्ने आशाराम चौधरीलाई ऐ.को १३(३) नं. बमोजिम जन्मकैद हुने ठहर्याएको सुरू फैसला पुनरावेदन अदालत नेपालगञ्जबाट सदर भएउपर प्रतिवादीहरू पारस चौधरी तथा आशाराम थारूको यस अदालतमा पुनरावेदन परेको र प्रतिवादी कालीप्रसाद चौधरीको हकमा साधक दर्ता भई यस इजलाससमक्ष पेस भएको देखियो ।
३. म प्रतिवादीउपरको अभियोगदाबी वस्तुनिष्ट र स्वतन्त्र प्रमाणबाट पुष्टि गर्ने भार प्रमाण ऐन, २०३१ को दफा २५ र फौजदारी न्यायको सिद्धान्तबमोजिम विपक्षी वादीको नै भएकोमा वादीले सो प्रमाणित गर्न नसकेको, चश्मदिद गवाह प्रत्यक्षदर्शिताको अभाव रहेको, जाहेरवाला घटनाको प्रत्यक्षदर्शी नभएको, रातिको समयमा वारदात देखाइएको र तीनजनालाई प्रतिवादी बनाइएको को कसले कुटपिट गरेको भन्ने कुरा यकिन नभएको अवस्थामा मृतक लालता थारूलाई मार्नु मराउनु पर्नेसम्मको रिसइवी झैझगडा नभई मनसाय एवं दूषित मनसाय विना ज्यान जस्तो गम्भीर अपराध हुन नसक्ने हुनाले गोश्वारारूपमा पूर्व रिसइवीका कारण किटानी जाहेरीका आधारमा मात्र अपराध गरेकै होला भन्ने अनुमानले ठहर भएको फैसला त्रुटिपूर्ण रहेकोले सफाइ पाउनु पर्छ भन्ने बेहोराको पुनरावेदक आशाराम थारूले पुनरावेदन जिकिर लिएको देखिन्छ ।
४. अर्का पुनरावेदक पारस चौधरीले घटनास्थलमा गजपट्टी भेटिएको भन्ने एक मात्र शंकाको आधारमा मलाई पक्राउ गरिएको हो, सो गजपट्टी मेरो नै हो भन्ने प्रमाणित हुन नसकेको समेतका आधारमा सफाइ पाउनु पर्छ भन्ने जिकिर लिएको पाइन्छ ।
५. मिति २०६९।०१।२१ गते राति शमशेरगंज २ अकलघरूवामा लालताप्रसाद थारूलाई कर्तव्य गरी मारेकोमा अनुसन्धान भई प्रस्तुत मुद्दा दायर भएको देखिन्छ । मृतकको लास प्रकृति मुचुल्कामा मृतकको टाउको पछाडिको भागमा २ इन्च लम्बाईमा धारिलो हतियारले प्रहार गरिएको जस्तो घाउचोट, दायाँ कानको लोती काटिएको, दायाँ कानको अगाडिपट्टि अर्थात् कन्चटहरू भालाले रोपिएको जस्तो गहिरो घाउचोट रहेको, दायाँ कन्चटमाथि टाउको निधारको भागमा लाठी भाटाले हिर्काएको जस्तो घाउचोटपटक भई गिदीसमेत निस्किएको, नाकबाट रगत निस्किएको, दायाँ आखाको आँखीभौं कालो निलो भएको, अन्य शरीरमा घाउचोट नदेखिएको भन्नेसमेत लास जाँच प्रकृति मुचुल्काबाट देखिन्छ । साथै शव परीक्षण प्रतिवेदनमा मृतकको मृत्युको कारणको सम्बन्धमा Head injury leading to laceration and haematoma of Brain matter due to physical Assault भनी उल्लेख भएको देखिँदा मृतकको मृत्यु कर्तव्यबाट भएको भन्ने तथ्य स्थापित भएको छ ।
६. सुरू अनुसन्धानको क्रममा बयान गर्दा प्रतिवादीमध्येका अमेरिका भन्ने आशाराम थारूले "मृतक लालताप्रसाद थारूले आफू गाउँको जिमिदार हुँ भनी गाउँका मानिसहरूलाई धम्की दिने, थर्काउने गर्ने गरेकोले निजसँग रिसइवी रहेकोले म, पारस चौधरी र कालीप्रसाद थारू हामी तीनैजना प्रतिवादीहरूले मृतकलाई कर्तव्य गरी मार्ने योजना बनाई रोहिणीको दाउराले हानेका हौं । उक्त दाउरा सुकेकाले दाउराका बोक्रा प्रहार गर्दा झरेका हुन् । हामीहरूकै कुटपिटबाट मृतकको मृत्यु भएको हो । घटनास्थलमा फेला परेको गजपट्टी पारस थारूले औंलामा लगाएको ब्यान्डेज हो" भनी लेखाई दिएको पाइन्छ । यसैगरी प्रतिवादी पारस चौधरीले "मृतकले आफू गाउँको जिमिदार हुँ भनी हामी प्रतिवादीहरू तथा गाउँका मानिसहरूलाई समेत धाक धम्की दिने, थर्काउने, अश्लील गाली गलौज गर्ने, कालीप्रसाद थारूको छोरा कृष्ण थारूलाई आफ्नो नातिनी रूपा चौधरीसँग प्रेम सम्बन्ध राखेको भनी गतवर्ष मरणासन्न हुने गरी कुटपिट गरेकोसमेतका कारण कालीप्रसाद थारूको घर आँगनमा बसी निजलाई मार्ने योजना बनाई रोहिणीको दाउरा प्रहार गरी मारेको, सो अवस्थामा मेरो दाहिने हातको औंलामा ब्यान्डेज गराएको गजपट्टी घटना स्थलमा खसेको, वारदातमा प्रयोग भएको दाउरा कल्वर्टमा लुकाएर राखेको" भन्ने बेहोरा उल्लेख गरेको देखिन्छ । साथै प्रतिवादीमध्येकै कालीप्रसाद थारूले समेत "मृतकले आफू गाउँको जिमिदार हुँ भनी हामी प्रतिवादीहरू तथा गाउँका मानिसहरूलाई समेत धाक धम्की दिने, थर्काउने, अश्लील गाली गलौज गर्ने, मेरो छोरा कृष्ण थारूलाई आफ्नो नातिनी रूपा चौधरीसँग प्रेम सम्बन्ध राखेको भनी गतवर्ष मरणासन्न हुने गरी कुटपिट गरेकोसमेतका कारण मेरो घर आँगनमा बसी निजलाई मार्ने योजना बनाई हामी तीनैजनाले रोहिणीको दाउरा प्रहार गरी मारेको, वारदातमा प्रयोग भएको दाउरा कल्वर्टमा लुकाएर राखेको" बेहोरासमेत उल्लेख गर्दै अनुसन्धानको क्रममा घटनाक्रमलाई सविस्तार लेखाई दिएको पाइन्छ ।
७. प्रतिवादीहरूले मौकाको बयानमा खुलाएको स्थानबाट वारदातमा प्रयोग भएको काठ दाउरा बरामद भएको पाइन्छ । मृतकको लास रहेको ठाउँबाट औंलामा लगाएको गजपट्टी फेला परेको देखिएको छ । सो गजपट्टीलाई प्रतिवादी पारस चौधरीले मौकामा सनाखत गर्दै दाहिने हातको साहिली औंला भाँचिएको अवस्थामा लगाएको हो भनी लेखाई दिएका छन् । यसका अतिरिक्त तीनैजना प्रतिवादीहरूले वारदातमा प्रयोग भएको दाउरालाई समेत सनाखत गरेको पाइन्छ ।
८. प्रस्तुत वारदातमा प्रत्यक्षदर्शीको अभाव रहेको भन्नेसमेत पुनरावेदकहरूको जिकिर रहेको पाइन्छ । प्रत्यक्षदर्शी नभए पनि अन्य प्रमाणको आधारबाट कसुरदार देखिएमा प्रत्यक्षदर्शी नरहेको आधारमा निर्दोष रहेको अर्थ गर्न मिल्दैन । प्रस्तुत मुद्दामा प्रतिवादीहरूको मौकाको बयान एवं ती बयानले औंल्याएका स्थानबाट दशी नै बरामद भएको छ । संकलित प्रमाणले कसुर स्थापित गर्छ भने प्रत्यक्षदर्शी छैन भनेकै भरमा प्रतिवादीहरूलाई उन्मुक्ति दिन मिल्दैन । प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष कसुरमा साबित भई बयान गरेको पाइन्छ । वारदात स्थलबाट बरामद भएको गजपट्टी, प्रतिवादीले खुलाएकै ठाउँबाटै बरामद भएको दाउरा, जाहेरवालाको बकपत्र, लास जाँच प्रकृति मुचुल्कामा उल्लेख भएको बेहोरा, शवपरीक्षण प्रतिवेदनसमेतका मिसिल संलग्न आधार प्रमाणबाट प्रतिवादीहरूउपर मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. को कसुर नठहर्याई प्रतिवादीहरू पारस चौधरी, कालीप्रसाद थारू र अमेरिका भन्ने आशाराम थारूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहर्छ भनी भएको सुरू बाँके जिल्ला अदालतको फैसला सदर हुने ठहर्याई पुनरावेदन अदालत नेपालगञ्जबाट सदर भएको फैसलालाई अन्यथा भन्न मिलेन ।
९. अतः सुरू बाँके जिल्ला अदालतको मिति २०६९।१२।१९ को फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत नेपालगञ्जको मिति २०७१।०३।२९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
१०. प्रतिवादी कालीप्रसाद चौधरीको हकमा साधकतर्फ विचार गर्दा, प्रतिवादी कालीप्रसाद चौधरीसमेतको मिलोमतोमा मृतक लालताप्रसाद थारूलाई कर्तव्य गरी मारेकोले कानूनबमोजिम कारबाही गरिपाउँ भनी निजउपर समेत किटानी जाहेरी परेकोमा प्रतिवादी कालीप्रसाद चौधरीको घर आँगनमा प्रतिवादी अमेरिका भन्ने आशाराम थारू र पारस चौधरीसमेत भेला जम्मा भई प्रतिवादी तीनैजनाले मृतक लालताप्रसाद थारूलाई कर्तव्य गरी मार्ने योजना बनाई रातिको समयमा मृतक सुतिरहेको स्थानमा गई रोहीणीको दाउराले टाउकोमा प्रहार गरेकाले सोही चोटका कारण निजको मृत्यु भएको कुरामा साबित रही अनुसन्धानको क्रममा प्रतिवादीहरूले बयान गरेको देखिन्छ । प्रहार गरेको रोहीणीको काठ दशीको रूपमा प्रतिवादीले खुलाएकै ठाउँबाटै बरामद भएको छ । घटनास्थल लास जाँच मुचुल्का, शव परीक्षण प्रतिवेदन, जाहेरीवालाको बकपत्रसमेतका आधारमा निज प्रतिवादी कालीप्रसाद चौधरीको हकमा समेत मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहर्छ भनी भएको सुरू बाँके जिल्ला अदालतको फैसला सदर हुने ठहर्याई पुनरावेदन अदालत नेपालगञ्जबाट भएको फैसला मिलेको देखिएकोले निज प्रतिवादी कालीप्रसाद चौधरीको हकमा साधक सदर हुने ठहर्छ । मुद्दाको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. सारदाप्रसाद घिमिरे
इजलास अधिकृतः तारादेवी महर्जन
फैसला लेखनमा सहयोग गर्नेः धनसिंह गिरी
इति संवत् २०७४ साल माघ २८ गते रोज १ शुभम् ।