शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०२६८ - लागु औषध

भाग: ६१ साल: २०७६ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की 

माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत 

फैसला मिति : २०७४।११।२२

०६९-CR-०१८३

 

मुद्दा: लागु औषध ।

 

पुनरावेदक / वादी : प्रहरी प्रतिवेदन जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला बाग्लुङ निसी गाउँ विकास समिति वडा नं. ९ घर भई हाल बुटवल नगरपालिका वडा नं. ८ खयरघारी बस्ने लम्बु भन्ने दिलबहादुर घर्ती

 

कसैको हकमा मुद्दा मुल्तबी राख्नु पर्ने अवस्थामा निजको हकहितमा असर पर्ने गरी निर्णय गर्न नमिल्ने ।

(प्रकरण नं.४)

 

पुनरावेदक / वादीका तर्फबाट : 

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

लागु औषध (नियन्त्रण) ऐन, २०३३

 

सुरू तहमा फैसला गर्ने:

माननीय न्यायाधीश श्री विश्वमंगल आत्रेय

रूपन्देही जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा

माननीय न्यायाधीश श्री बाबुराम रेग्मी

पुनरावेदन अदालत बुटवल, रूपन्देही

 

फैसला

न्या.प्रकाशमान सिंह राउत : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको पेस हुन आएको प्रस्तुत डाँका मुद्दाको संक्षिप्‍‍‍‍त तथ्य र ठहर यसप्रकार रहेको छ:-

जिल्ला रूपन्देही बुटवल न.पा.वडा नं. ८ खयरघारी स्थित दक्षिण मोहडाका टिनले छाएको बिचबाट काठको ढोका भएको दुई कोठे लम्बु भन्ने दिलबहादुर घर्तीको घर उक्त घरको पूर्वपट्टि रहेको कोठामा विस्तरासहितका खाटमुनि बुट्टे झोलाको भित्र प्लाष्टिकले प्याक गरी गोटा गोटा बनाएको निलो चुन्नीको कपडामा छुट्टाछुट्टै पारी सिलाई गरी राखेको अवस्थामा ७ पिस, सेतो पुरानो कपडामा, सोहीअनुसारको ७ पिस आकासे रङ्गको कपडामा, सोहीअनुसारको ७ पिस हरियो कालो धर्का भएको कपडामा सोहीअनुसारको ६ पिस, सेलेक्सका २ साइडतर्फ २ पिस र कार्टुनमा प्लाष्टिकले प्याक गरी बनाएको २१ पिस गरी टोटल ५० पिस तौल गर्दा ४० के.जी., सोही खाटको तल कालो कम्मरमा बाँध्ने ब्यागभित्र बुर्तीवाङबाट बुटवलतर्फ यात्रा गरी आएको २।१५ गतेको ६ जना यात्रुको टिकट, १०००।- दरका नेपाली नोट थान ३ रू.५००।- दरका भारतीय नोट थान ३, १२०९ मोडलको भारतीय मोबाइलसहितको नोकिया मोबाइल थान १, नोकिया ६५१० मोडलको मेरो मोबाइलको सिमकार्डसहितको पुरानो मोबाइल थान-१, भारतीय सिमकार्ड थान १, दिलबहादुर घर्तीको नागरिकता प्रमाण पत्र थान १, बरामद भएको भन्नेसमेत बेहोराको खानतलासी बरामदी मुचुल्का । 

मिति २०६६।२।१८ गतेका दिन बुटवल नगरपालिका वडा नं. ८ खयरघारी स्थित लम्बु भन्ने दिलबहादुर घर्तीको घरबाट बरामदी मृचुल्कामा उल्लिखित ५० गोटा तथा तौल ४० के.जी. लागु औषध चरेस बरामद भएको र सोही घरबाट २।१५ गते बुर्तीवाङबाट बुटवलतर्फ यात्रा गरी आएको २।१५ गतेको ६ जना यात्रुको टिकट, १०००।- दरका नेपाली नोट थान ३, रू.१००।- दरका भारतीय नोट थान ३, १२०९ मोडलको भारतीय मोबाइलसहितको नोकिया मोबाइल थान १, नोकिया ६५१० मोडलको मेरो मोबाइलको सिमकार्डसहितको पुरानो मोबाइल थान-१, भारतीय सिमकार्ड थान १, दिलबहादुर घर्तीको नागरिकता प्रमाण पत्र फेला परेको र कुमारी घर्ती मगर र आकाश घर्ती मगरसमेत सोही लागु औषध लिई आई बसेको हुँदा निजहरूलाई समेत पक्राउ गरी दाखिला गरेको छु भन्नेसमेत बेहोराका प्र.ना.नि. ओमप्रकाश यादवसमेतको प्रतिवेदन । 

साहुनी घर्ती मगर र निजको छोरी मनमाया घर्ती मगरसँग राम्रो चिनजान थियो । बुर्तीवाङबाट बुटवलतर्फ आउने दिनभन्दा ४ दिन पहिला मनमाया घर्ती मगरले मलाई भेट गरी बुटवलसम्म पुर्‍याउनु पर्ने अलिकति सामान छ, अरूपनि साथीहरू जान्छन्‌ आउने जाने भाडा खर्च र खानपिनको व्यवस्था सबै मैले मिलाउँछु र सामान पुर्‍याएबापत तिमीलाई रू.३०००।- दिन्छु हिँड भनी भनेकाले म सहमत भएँ । निजले मलाई २०६६।२।१४ गते बुर्तिवाङ बोलाएकी हुँदा घरबाट उक्त दिन म बुर्तिवाङ आए बुर्तिवाङ आउँदा मनमायासमेतसँग भेटघाट भयो । मनमायाको आमा साहुनी घर्तीमगर र अन्य मलाई नाम, थर वतन थाहा नभएका देखेमा चिन्ने बागलुङतर्फका महिलाहरू पनि आएका थिए । मनमायाले मसमेत ६ जनालाई बसको टिकट काटिन्‌ । लग्नु पर्ने सामान कपडामा बेरेको प्लाष्टिकमा प्याक गरेका गोटा गोटा बनाएको अवस्थाको लागु औषध चरेश रहेछ । सबैले लिई जाने भएपछि के होला त भनी मैले ६ गोटा भएको चरेश कम्मरमा लुकाई छिपाई गरी लु.१.छ ४७५४ नं. को बसबाट मिति २०६६।२।१५ गतेको बेलुका बुटवलमा आई होटलमा आई बस्यौं । २।१६ गते निज मनमाया, मलाई नामथर ठेगाना थाहा नभएका साहुनी र मसमेत लागु औषध लिई दिलबहादुर घर्तीको घरमा गई उक्त लागु औषध चरेश सोही घरमा राख्यौं । मिति २०६६।२।१७ गतेका दिउँसो आकाश घर्तीमगर पनि लम्बु भन्ने दिलबहादुर घर्तीको घरमा आएका थिए । मिति २०६६।२।१८ गतेका दिन मनमाया घर्ती मगर बाहिर गएका थिए । जगमाला घर्ती र साहुनी घर्ती मगर प्रहरी आएको थाहा पाई फरार भए मलाई र आकाश घर्ती मगरलाई पक्राउ गरेका हुन्‌ भन्नेसमेत बेहोराको प्रतिवादी कुमारी भन्ने देउमाया घर्ती मगरले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

म मेरो श्रीमतीसहित भारतमा नोकरी गरी बस्दथ्यौं । मेरो गाउँदेखि नै चिनजान भएका मनमाया घर्ती मगर, दिलबहादुर घर्ती मगरले पहिलेदेखि भारतमा लागु औषध चरेश लगी बिक्री वितरण गर्दा रहेछन्‌ । म भारतको सिमला लाऔल भन्ने ठाउँमा बसी नोकरी गर्ने हुँदा मनमाया घर्ती मगर र दिलबहादुर घर्ती मगरले मलाई आजभन्दा १ वर्षपहिले सो ठाउँमा भेटेका थिए । भेटका क्रममा निजहरूले चरेश नेपालबाट लगी भारतमा सम्पर्क गरी बिक्री गर्दा रहेछन्‌ भन्ने कुरा थाहा भयो । म पनि निजहरूसँग सम्पर्क गरी अं. ६।७ महिना पहिला मनमायासमेतसँग उक्त चरेश सिमलातर्फ लगी प्रति के.जी. ५०००।- रूपैयाँका दरले बिक्री गरेका हौँ । मेरो, दिलबहादुर घर्ती, मनमाया घर्ती मगरको बिचबिचमा कन्ट्याक हुने हुँदा निजहरूले हामीले बाग्लुङतिरबाट माल लिई बुटवल दिलबहादुरको घरमा राख्छौं, तिमी जेष्ठको १५।१६ तिर बुटवल आउनु भनेको हुँदा म मिति २०६६।२।१७ गते बुटवल दिलबहादुरको घरमा थिएँ । मनमाया घर्ती मगर, दिलबहादुर घर्ती, निजको श्रीमती गजमाला घर्ती, साहुनी घर्ती मगर र कुमारी घर्ती मगर घरमा थिए । बाग्लुङबाट ६ जना महिलालाई चरेश बोकाई लिई आएका हौँ भन्थे । मिति ०६६।२।१८ गतेका बिहान दिलबहादुर घर्ती, मनमाया घर्ती मगर बाहिर गएका थिए । प्रहरी गएको थाहा पाएपछि साहुनी घर्ती मगर र राजमाला घर्ती पनि फरार भएका छन्‌ । म र कुमारी घर्ती मगरलाई प्रहरीले पक्राउ गरेका हुन्‌ भन्नेसमेत बेहोराको प्रतिवादी आकाश घर्ती मगरले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

भौतिक सबुद नं. १ मा चरेश पाइएको छ भन्नेसमेत बेहोराको परीक्षण प्रतिवेदन । 

मिति २०६६।२।१८ गतेका दिन प्रतिवेदकसमेतका प्रहरी कर्मचारीले बुटवल न.पा. वडा नं. ८ खयरघारी स्थित लम्बु भन्ने दिलबहादुर घर्तीको घरबाट ४० के.जी. लागु औषध चरेश बरामद गरेका रहेछन्‌ । उक्त चरेश बाग्लुङतर्फबाट मनमाया घर्ती मगर, साहुनी घर्ती मगर, कुमारी भन्ने देउमाया घर्ती मगरसमेत अन्य नाम थर नखुलेका महिलाहरूले बुटवलमा ल्याई दिलबहादुर घर्ती र निजको श्रीमतीको मिलोमतोमा भारततर्फ पुर्‍याउन भनी आकाश घर्ती मगरसमेतलाई बोलाई राखेका रहेछन्‌ । प्रहरीले चरेश बरामद गर्दाका अवस्थामा अन्य प्रतिवादीहरू फरार भएकाले आकाश घर्ती मगर र कुमारी भन्ने देउमाया घर्ती मगर पक्राउमा परेका रहेछन्‌ भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्का । 

प्रतिवादीहरू कुमारी भन्ने देउमाया घर्ती मगर, आकाश घर्ती मगर, लम्बु भन्ने दिलबहादुर घर्ती, गजमाला घर्ती, भगिमाला भन्ने मनमाया घर्ती मगर र साहुनी घर्ती मगरसमेतले लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को देहाय (क) बमोजिमका कसुर अपराध गरको पुष्टि हुन आएकाले निजहरूलाई सोही ऐनको दफा १४(१) को देहाय (घ)(५) बमोजिम सजाय हुन र उक्त लागु औषध चरेश सञ्चय तथा बिक्री वितरण गर्ने सन्दर्भमा प्रयोगमा आएको प्रतिवादी दिलबहादुर घर्तीको घर ऐ. ऐनको दफा १५९ बमोजिम जफत गरी पाउँनसमेत पक्राउ परेका कुमारी भन्ने देउमाया घर्ती मगर र आकाश घर्ती मगरलाई पेस गरिएको छ । फरार लम्बु भन्ने दिलबहादुर घर्ती, गजमाला घर्ती, भगिमाला भन्ने मनमाया घर्ती मगर र साहुनी घर्ती मगरका नाउमा वारेन्ट म्याद जारी गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग मागदाबी । 

बरामदी मुचुल्काबारेमा मलाई थाहा 

छैन । कहाँबाट कसरी बरामद गरिएको हो मलाई थाहा छैन । म वैशाख महिनादेखि सिलाइकटाई सिक्न बुटवलमा आई नातेदार कहाँ बसेकी थिएँ । मिति ०६६।२।१८ गते बजार गर्न बुटवल गई खयरघारीमा आफ्नो नातेदारलाई भेट्न गएको अवस्थामा प्रहरीले पक्राउ गरेका हुन्‌ । मबाट चरेश बरामद भएको 

होइन । अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान बेहोरा मेरो होइन । प्रहरीले कुटपिट गरी सही गराएका हुन्‌ । आकाश घर्तीले गरेको बयान मलाई थाहा 

छैन । मैले अभियोग मागदाबीबमोजिम लागु औषध चरेश ओसार्ने काम नगरेकीले मलाई सजाय हुनु पर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी कुमारी भन्ने देउमाया घर्ती मगरले सुरू अदालतमा गरेको बयान ।

बरामदी मुचुल्का सम्बन्धमा मलाई केही थाहा छैन । प्रहरीले कुन अवस्थामा लागु औषध चरेश बरामद गरेका हुन्‌ मलाई थाहा छैन । म मिति २०६६।२।१८ गते आफ्नो नाता पर्ने दिलबहादुरको घरमा गएको बेलामा पक्राउ गरेका हुन्‌ । म भारतबाट घर बाग्लुङ जान आएको थिएँ । मैले लागु औषध चरेश ल्याएर दिलबहादुरको घरमा राखेका होइन । अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान बेहोरा मेरो होइन । बयान लेखी मलाई जबरजस्ती सही गराएका हुन्‌ । अभियोग दाबीबमोजिम मैले लागु औषध चरेश कारोबार नगरेकाले मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी आकाश घर्ती मगरले सुरू अदालतमा गरेको बयान ।

यसमा प्रहरी प्रतिवेदन, बरामदी मुचुल्कासमेतका मिसिल संलग्न परिस्थितिजन्य प्रमाणको आधारबाट प्रतिवादीहरू कुमारी भन्ने देउमाया घर्ती मगर र आकाश घर्ती मगरले लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को देहाय (क) बमोजिमको कसुर अपराध गरेको पुष्टि हुन आएकोले निजहरूलाई सोही ऐनको दफा १४(१) को देहाय (घ) (५) बमोजिम ५ वर्ष कैद र रू.१० हजार जरिवानासमेत हुने ठहर्छ । उल्लिखित लागु औषध चरेश सञ्चय तथा बिक्री वितरण गर्ने कार्यमा प्रयोगमा आएको घर ऐ.ऐ.को दफा १५ बमोजिम जफतसमेत हुने ठहर्छ । फरार प्रतिवादीहरूको हकमा मुलुकी ऐन, अ.बं.१९० नं. बमोजिम मुल्तबीमा राखिदिने ठहर्छ भन्ने सुरू रूपन्देही जिल्ला अदालतको मिति २०६७।५।२३ को फैसला ।

सुरू अदालतले फैसला गर्दा न्यायिक मनको प्रयोग गरेको छैन भने प्रमाणको उचित मूल्याङ्कन पनि गरेको छैन । एकापट्टि वादीले दाबी पुष्टि गर्न सकेको छैन भनी स्वीकार गरेको छ भने प्रतिवादीहरू बयानमा इन्कार रहे तापनि परिस्थितिजन्य प्रमाणबाट कसुरदार होइनन्‌ भन्न सकिएन भन्दै हामीलाई कसुरदार ठहर गरेको छ । सजाय गर्दा सबै प्रतिवादीलाई दामाशाहीले कैद जरिवाना गर्नु पर्नेमा समुच्चा रूपमा गरिएको 

छ । मौकाको बयानलाई नै मुख्य प्रमाण मानिएकोले सो बयानबाट देखिएका अन्य व्यक्तिहरू नै मुख्य योजनाकार भन्ने भएकोमा हामीलाई मतियारसम्मको मात्र सजाय गरिनु पर्नेमा कसुरदार नै मानी भएको फैसला सर्वोच्च अदालतबाट प्रतिपादित नजिरहरूको समेत प्रतिकूल भएकोले उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने बेहोराको प्रतिवादीहरू आकाश घर्ती मगर तथा देउमाया घर्ती मगरको छुट्टाछुट्टै पुनरावेदन जिकिर ।

यसमा लागु औषध बरामद भएको घरको घरधनी लम्बु भन्ने दिलबहादर घर्तीलाई बरामदी मुचुल्कामा नराखी भएको बरामदीलगायत जाहेर गर्ने व्यक्तिसमेतलाई बुझ्दै नबुझी प्रतिवादीहरूउपर अभियोग दाबीबमोजिम सजाय गरी घरसमेत जफत गर्ने गरेको सुरू रूपन्देही जिल्ला अदालतको मिति २०६७।५।२३ को फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलको लागि पुनरावेदन सरकारी वकिल कार्यालय बुटवललाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत बुटवलको मिति २०६८।३।३० को आदेश ।

यी पुनरावेदक प्रतिवादीहरूले कसुर गर्दाको अवस्था र निजहरूको भूमिकालाई दृष्टिगत गर्दा प्रतिवादी आकाश घर्ती मगरलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ को उपदफा (१) को खण्ड (घ) को उपखण्ड (५) बमोजिम ४ वर्ष कैद र तीस हजार रूपैयाँ जरिवाना तथा प्रतिवादी देउमाया घर्ती मगरलाई सोही दफाबमोजिम तीन वर्ष कैद र पन्ध्र हजार रूपैयाँ जरिवाना हुने ठहर्छ । निजहरूलाई जनही ५ वर्ष कैद र पचास हजार रूपैयाँ जरिवाना गर्ने र मुद्दा नै मुल्तबी रहेका अवस्थाका फरारी प्रतिवादीको घर जफत गर्ने गरी श्री जिल्ला अदालतबाट मिति २०६७।५।२३ मा भएको फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत बुटवलको फैसला ।

लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १५ ले घर जग्गाको धनीले नै अपराध गरेको वा अपराध गर्न अनुमति दिएकोमा त्यस्तो घर जग्गा जफत हुने स्पष्ट कानूनी व्यवस्था गरेको छ । बरामद भएको लागु औषध चरेश प्रतिवादी दिलबहादुर घर्तीसमेतको मिलोमतोमा भारतमा लगी बिक्री वितरण गर्ने उद्देश्यले निजको घरमा सञ्चय गरी राखेको तथ्य मिसिल संलग्न सबुद प्रमाणहरूबाट स्थापित भएकै छ । यस्तो अवस्थामा केवल प्रतिवादी दिलबहादुर घर्ती फरार रहेकाले निजको हकमा सजाय गर्नेतर्फ मुद्दा मुल्तबीमा रहेको आधारमा मात्र उक्त घर जग्गा जफत गर्न कुनै कानूनले रोक लगाएको पाइँदैन । लागु औषध सञ्चय तथा बिक्री वितरण गर्ने कार्यमा प्रयोगमा आएको उक्त घर सुरू अदालतले जफत गर्ने गरी गरेको फैसलाउपर निज प्रतिवादी दिलबहादुर घर्तीको पुनरावेदन नपरी घर जग्गा जफत गरेको फैसलालाई निजले स्वीकार गरी बसेको अवस्थामा स्वयं पुनरावेदन अदालत आफैँले सक्रियता देखाई उक्त घर जफत गरेको फैसला सो हदसम्म उल्टी गर्ने गरेको फैसला नमिलेकोले उल्टी गरी अभियोग दाबीबमोजिम घर जफत हुने गरी फैसला गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदन पत्र ।

यसमा सुरू रूपन्देही जिल्ला अदालतको फैसलाउपर पुनरावेदन अदालत बुटवलमा प्रतिवादी आकाश घर्ती र देउमाया घर्तीको मात्र पुनरावेदन परेको अवस्थामा पुनरावेदन नै नगरेका प्रतिवादी लम्बु भन्ने दिलबहादुर घर्तिको घर जफत गर्ने सुरूको फैसलासमेत उल्टी ठहरेको पुनरावेदन अदालत बुटवलको मिति २०६८।९।१९ को फैसला इन्साफको रोहमा विचारणीय देखिँदा अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई उपस्थित भए वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नु भनी मिति २०७३।४।३२ गते यस अदालतबाट भएको आदेश ।   

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन पत्रसहित सुरू मिसिल अध्ययन गरियो ।

यसमा प्रतिवादीहरूले लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को खण्ड (क) बमोजिमको कसुर अपराध गरेको पुष्टि हुन आएकोले निजहरूलाई सोही ऐनको दफा १४(१) को खण्ड (घ)(५) बमोजिम सजाय हुन र उक्त लागु औषध चरेश सञ्चय तथा बिक्री वितरण गर्ने सन्दर्भमा प्रयोगमा आएको प्रतिवादी दिलबहादुर घर्ती मगरको घर सोही ऐनको दफा १५ बमोजिम जफत गरिपाउँ भनी अभियोग मागदाबी रहेकोमा फरार प्रतिवादीहरूको हकमा अ.बं.१९० नं. बमोजिम मुद्दा मुल्तबीमा राखी प्रतिवादीहरू आकाश घर्ती मगर र देउमाया घर्ती मगरलाई अभियोग माग दाबीबमोजिम ५ वर्ष कैद र रू.१० हजार जरिवाना हुने र लागु औषध चरेश सञ्चय तथा बिक्री वितरण गर्ने कार्यमा प्रयोगमा आएको घरसमेत जफत हुने ठहरी सुरू अदालतबाट फैसला भएको पाइन्छ । सो फैसलाउपर चित्त नबुझाई प्रतिवादीहरू आकाश घर्ती मगर र देउमाया घर्ती मगरको पुनरावेदन परी पुनरावेदन अदालतबाट सुरू फैसला केही उल्टी भई कसुर गर्दाको अवस्था र प्रतिवादीहरूको भूमिकालाई दृष्टिगत गर्दा प्रतिवादी आकाश घर्ती मगरलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ को उपदफा (१) को खण्ड (घ) को उपखण्ड (५) बमोजिम ४ वर्ष कैद र तीस हजार रूपैयाँ जरिवाना तथा प्रतिवादी देउमाया घर्ती मगरलाई सोही दफाबमोजिम तीन वर्ष कैद र पन्ध्र हजार रूपैयाँ जरिवाना हुने ठहर्‍याई र मुद्दा नै मुल्तबी रहेका अवस्थाका फरारी प्रतिवादीको घर जफत गर्ने गरी भएको फैसला मिलेको नदेखिँदा केही उल्टी हुने ठहर्‍याई फैसला भएको पाइन्छ । सो फैसलाउपर घर जफत नहुने ठहर्‍याएको हदसम्म पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएकोले उल्टी गरी घर जफत गरिपाउँ भनी यस अदालतमा पुनरावेदन परी आज इजलाससमक्ष पेस हुन आएको छ । 

प्रस्तुत सन्दर्भमा सुरू अदालतले गरेको फैसला केही उल्टी गरी घर जफत नहुने ठहर्‍याई भएको फैसला मिलेको छ वा छैन ? तथा वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? भन्ने विषयमा नै निर्णय दिनु पर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, यसमा प्रतिवादी आकाश घर्ती मगरलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ को उपदफा (१) को खण्ड (घ) को उपखण्ड (५) बमोजिम चार वर्ष कैद र तीस हजार रूपैयाँ जरिवाना तथा प्रतिवादी देउमाया घर्ती मगरलाई सोही दफाबमोजिम तीन वर्ष कैद र पन्ध्र हजार रूपैयाँ जरिवाना हुने ठहर्‍याएको हदसम्ममा पुनरावेदन अदालतबाट भएको फैसलाउपर वादी नेपाल सरकारको कुनै पुनरावेदन जिकिर रहेको नदेखिएकोले सो सम्बन्धमा केही विवेचना गरिरहनु 

परेन । फरार प्रतिवादीमध्येका दिलबहादुर घर्तीको जिल्ला रूपन्देही बुटवल न.पा. वडा नं.८ खयरघारीस्थित घर जफत नहुने ठहर्‍याएको हदसम्ममा पुनरावेदन अदालतको फैसला नमिलेको भनी वादी नेपाल सरकारबाट पुनरावेदन जिकिर रहेकोले सो सम्बन्धमा नै विवेचना गरी निर्णयमा पुग्नु पर्ने देखिन आयो । यसमा प्रतिवादीमध्येका दिलबहादुर घर्ती फरार रहेको पाइन्छ । निज फरार रहेकोले नै निजको हकमा मुलुकी ऐन अ.बं. १९० नं. बमोजिम मुद्दा मुल्तबी रहने गरी फैसला भएको 

हो । कुनै पनि व्यक्तिका विरूद्ध निर्णय गर्दा वा कुनै पनि व्यक्तिलाई सजाय गर्दा सुनुवाइको पर्याप्त मौका दिनुपर्छ तथा एक पक्षको कुरा सुनेर मात्र निर्णयमा पुग्नु हुँदैन भन्ने प्राकृतिक न्यायको सिद्धान्त हो । वारेन्ट जारी हुने मुद्दामा एकपटक पनि मुद्दा हेर्ने अड्डामा हाजिर नभई सुरूदेखि नै फरार रहेको प्रतिवादीको हकमा उसको कुरा अदालतमा राख्ने प्रर्याप्त मौका दिनको लागि नै त्यस्ता फरार रहेका प्रतिवादीको हकमा मुद्दा मुल्तबी राख्ने कानूनी व्यवस्था भएको हो । यसरी कुनै प्रतिवादीको हकमा मुद्दा नै मुल्तबी राखिएको अवस्थामा निजलाई प्रतिकूल असर पर्ने वा निजको विरूद्धमा कुनै निर्णय गर्दा मुल्तबीको कुनै अर्थ नै रहँदैन ।

३. यसमा यी प्रतिवादी दिलबहादुर घर्तीउपर दायर भएको लागु औषध ओसारपसार मुद्दा मुलुकी ऐन, अ.बं. ९४ नं. अनुसार वारेन्ट जारी हुने मुद्दाभित्र पर्न आउँछ । निजलाई अनुसन्धानको क्रममा प्रहरीले पक्राउ गरी अभियोग पत्रसाथ अदालतमा पेस गर्न सकेको देखिँदैन । अभियोगपत्र अदालतमा दायर भएपश्चात वारेन्ट जारी हुने मुद्दामा फरार अभियुक्तका हकमा अदालतबाट अ.बं. ९४ नं. अनुसारको वारेन्ट जारी भई सो जारी भएको सात दिनसम्म खोजतलास गर्दा पनि निज गिरफ्तार हुन नसके सोपछि तामेल गर्न सत्तरी दिन म्यादी पुर्जी जारी गर्दा पनि निज प्रतिवादी पक्राउ पर्न सकेको वा अदालतमा हाजिर हुन आएको पाइँदैन । यसो गर्दा पनि प्रतिवादी पक्राउ नपरे वा हाजिर हुन नआएपछि सुरू जिल्ला अदालतले अ.बं. १९० नं. अनुसार निजको हकमा मुद्दा मुल्तबीमा राखी अन्य उपस्थित प्रतिवादीहरूको हकमा फैसला गरिदिएको पाइन्छ । यसरी दिलबहादुर घर्तीको हकमा मुद्दा मुल्तबीमा रहेको अवस्थामा निजको हक हितमा प्रतिकूल असर पर्ने गरी कुनै निर्णय गर्न पाइने 

देखिँदैन । प्रस्तुत मुद्दामा सुरू अदालतले यी प्रत्यर्थी प्रतिवादी दिलबहादुर घर्तीको हकमा मुद्दा मुल्तबीमा राखेको भनेपनि निजको स्वामित्वमा रहेको घरलाई जफत गर्ने गरी फैसला गरेकोबाट निज दिलबहादुरलाई प्रतिकूल असर पर्ने नै हुन्छ । एकातिर निजको हकमा मुद्दा मुल्तबीमा राख्‍नु र अर्कोतिर निजको हक स्वामित्व रहेको घरमा लागु औषध सञ्चय गरेको भनी सो घर जफत गर्ने निर्णय गर्नु परस्पर विरोधाभाषपूर्ण रहेको देखिन आउँछ । यसो गर्दा निजको हकमा मुद्दा मुल्तबी राख्‍नुको औचित्यतामा समेत असर पुग्न सक्ने हुन्छ । 

४. कुनै कसुरमा कसैको विरूद्धमा निर्णय गर्नु भनेको निजलाई कैद र जरिवानाको सजाय मात्र गर्नु भन्ने होइन । निजको हकको सम्पत्ति जफत गर्नु तथा निजको अन्य कुनै हकहित र अधिकारमा असर पर्ने गरी निर्णय गर्नु पनि निजको विरूद्धमा निर्णय गर्नु नै हो । त्यसैले कसैको हकमा मुद्दा मुल्तबी राख्नु पर्ने अवस्थामा निजलाई सजाय हुनेलगायत निजलाई कुनै प्रकारले थोरै मात्र भए पनि हकहितमा असर पर्ने गरी निर्णय गर्न मिल्ने देखिन आउँदैन । यदि गरेमा मुद्दा मुल्तबी राख्‍नुको कुनै अर्थ रहँदैन र त्यो प्राकृतिक न्यायको सिद्धान्तलगायतका न्यायिक मूल्य मान्यताको प्रतिकूल हुन जान्छ । यसमा पुनरावेदक नेपाल सरकारले जफत हुनुपर्छ भनी जिकिर लिएको घर यी प्रत्यर्थी प्रतिवादी दिलबहादुर घर्तीको भएकोमा कुनै विवाद रहेको 

छैन । निजको हकमा मुद्दा नै मुल्तबी रहेको अवस्थामा निजको घर जफत गर्ने गरी निर्णय गर्न मिल्दैन । यस सम्बन्धमा निजको हकमा मुद्दा मुल्तबीबाट जागेपछि बुझिएका प्रमाणका आधारमा ठहर हुने नै हुन्छ । त्यसैले यी प्रत्यर्थी प्रतिवादी दिलबहादुर घर्तीको घर जफत नहुने ठहर्‍याई पुनरावेदन अदालत बुटवलबाट भएको फैसला मिलेको नै देखिन आयो ।

५. अतः माथि विवेचित आधार र कारणबाट प्रतिवादी दिलबहादुर घर्तीको हकमा मुद्दा मुल्तबी राखी निजको घर भने जफत हुने ठहर्‍याई सुरू रूपन्देही जिल्ला अदालतबाट मिति २०६७।५।२३ मा भएको फैसला केही उल्टी गरी सो घर जफत नहुने ठहर्‍याई पुनरावेदन अदालत बुटवलबाट मिति २०६८।९।१९ मा भएको फैसला मिलेकै देखिएकोले सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.हरिकृष्ण कार्की

 

इजलास अधिकृत :- यदुराज शर्मा 

इति संवत् २०७४ साल फागुन २२ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु