निर्णय नं. १०२७१ - जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही
फैसला मिति : २०७४।८।४
०६७-CR-०४६४
मुद्दा: जबरजस्ती करणी
पुनरावेदक / वादी : सर्वोच्च कको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जंगबहादुर पराजुलीको छोरा जिल्ला लमजुङ भारते गा.वि.स. वडा नं. ९ बस्ने पुन्टे भन्ने प्रेमबहादुर पराजुली
मालाकार कडी तथा एकआपसमा मेल नखाएको तथ्यको आधारमा कसुर ठहर गर्नु न्यायको दृष्टिले मनासिब नदेखिने ।
(प्रकरण नं.४)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सोमाकान्ता भण्डारी
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने :
मा.जि.न्या. श्री अच्युतप्रसाद भण्डारी
लमजुङ जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या. श्री नारायणप्रसाद दाहाल
मा.न्या. श्री शिवराज अधिकारी
पुनरावेदन अदालत, पोखरा
फैसला
न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन परी न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :
विशेष प्रकृतिको मुद्दाहरूको कारबाहीमा पक्षहरूको गोपनीयता कायम राख्नेसम्बन्धी कार्यविधि निर्देशिका,२०६४ बमोजिम प्रस्तुत मुद्दामा जाहेरवालाको नाम सर्वोच्च क र पीडितको नाम सर्वोच्च ख कायम गरी गोप्य राखिएको छ ।
तथ्य खण्ड
मिति २०६४।०२।१७ गतेका दिन घरमा कोही नभएको मौका छोपी वर्ष १२ की मेरी नाबालक छोरी सर्वोच्च खलाई डर, धम्की देखाई रू.५।- र चकलेट दिई पुन्टे भन्ने प्रेमबहादुर पराजुलीले जबरजस्ती करणी गरेको हुँदा कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने सर्वोच्च कको जाहेरी दरखास्त ।
बालिकालाई जाँच गराउन ७ दिनपछि मात्र ल्याएको हुँदा त्यति मात्र भन्न सकिन्छ कि Human (झिल्ली) थिएन भन्ने सामुदायिक अस्पताल लमजुङको पत्र ।
जिल्ला लमजुङ भार्ते गा.वि.स. वडा नं. ८ स्थित पूर्वमा सर्वोच्च कको मकैबारी, पश्चिममा टिकाराम परियारको घर, उत्तरमा पराजुली गाउँतर्फ र दक्षिणमा गणेश परियारको मकैबारी यो चार किल्लाबिचमा पर्ने पूर्व ढोका ढुंगाले छाएको एकतले घर, घरको दाहिने पट्टि भुइँतलामा सुत्ने कोठाको बायाँ किनारामा दुईवटा खाट जोडिएको बिस्तारा, बिस्तारा लथालिंग भएको भन्ने मिति २०६४।०२।२४ गतेको घटनास्थल मुचुल्का ।
मेरो हजुरआमा आँखाको उपचार गर्न भोटेओडार गएको अवस्थामा जिल्ला लमजुङ, भार्ते गा.वि.स. वडा नं. ९ बस्ने पुन्टे भन्ने प्रेमबहादुर पराजुली साँझ ८ बजेको समयमा मेरो घरमा आई मसँग सुतेको सिर्जना परियारलाई घर पठाई मलाई जबरजस्ती करणी गरेको भन्ने सर्वोच्च खले खुलाई लेखाई दिएको घटना विवरण कागज ।
मिति २०६४।०२।१७ गतेका दिन साँझ अफिसबाट घरतर्फ गइरहेको अवस्थामा जाहेरवालाको घरमा आइपुग्दा सर्वोच्च ख र सिर्जना परियार घरमा थिए । म घरभित्र पसेपछि मलाई सिर्जना परियारले देखिन् र उनी आफ्नो घर गइन् । मैले चार, पाँचवटा चकलेट र रू. ५।- को नोट दिएर कोही कसैलाई नभन भनी सर्वोच्च खको सुरूवाल र पेन्टी खोली निजकै विस्तारामा सुताई आफूले लगाएको पाइन्ट र कट्टु खोली मेरो उत्तेजित लिंग योनिभित्र छिराई भित्र बाहिर केहिबेर गरेपछि दुख्यो भनी रून थालिन् र वीर्य स्खलन नगराई छोडेर गएको हुँ भन्ने प्रतिवादी पुन्टे भन्ने प्रेमबहादुर पराजुलीको मौकाको बयान कागज ।
मिति २०६४।०२।१७ गतेका दिन म सर्वोच्च खको घरमा गएकी थिएँ । रातको अन्दाजी ८ बजेको समयमा पुन्टे भन्ने प्रेमबहादुर पराजुली सर्वोच्च खको घरमा आयो मलाई प्रेमबहादुर पराजुलीले घर जाउ भनी आधा बाटोसम्म पुर्याएर फेरी सर्वोच्च खको घरमा गयो । घरमा गएपछि बत्ती निभाएर दुवैजना बसे । त्यसपछि के गर्यो थाहा भएन । मिति २०६४।०२।१८ गते बेलुका अन्दाजी ८ बजेको समयमा न्याङखुरी ठूलीआमाले सर्वोच्च खलाई पुन्टे भन्ने प्रेमबहादुर पराजुलीले जबरजस्ती गर्यो भन्ने कुरा मलाई भनेपछि थाहा पाएको हुँ भन्ने सिर्जना परियारले खुलाई लेखाएको घटना विवरण कागज ।
मिति २०६४।०२।१७ गते म आफ्नै घरमा थिएँ । जाहेरवाला र मेरो घर नजिकै पर्दछ । साँझ अन्दाजी ८ बजे सिर्जना परियार मेरो घरमा आई सर्वोच्च खको घरमा प्रेमबहादुर पराजुली आएको थियो भनेकी थिई । भोलिपल्ट मिति २०६४।०२।१८ गते बिहान ६ बजेको समयमा सार्वजनिक पानीको धारामा पीडित सर्वोच्च खलाई सोधनी गर्दा हैन भनेकी र पछि गाउँमा उसका साथीहरूले सोधनी गर्दा मेरो घरमा आमा नभएको मौका छोपी प्रेमबहादुर पराजुलीले जबरजस्ती करणी गरेको हो भनी स्वीकार गरेकी
थिइन् । पहिला मलाई किन हैन भनेकी भनेर सोधनी हुँदा तपाइँले पिट्नु हुन्छ भन्ने डरले हैन भनेकी हुँ भनी पीडित सर्वोच्च खको मुखबाट सुनेकी हुँ भन्नेसमेत बेहोराको न्याङखुरी परियारले खुलाई लेखाएको घटना विवरण कागज ।
सर्वोच्च खलाई पुन्टे भन्ने प्रेमबहादुर पराजुलीले जबरजस्ती करणी गरेको गाउँमा हल्ला खल्ला भएपछि थाहा पाएका हौं । घटना घटिसकेपछि गाउँबाट फरार रहेका हुँदा निजले नै जबरजस्ती करणी गरेको हुनुपर्छ भन्नेसमेत बेहोराको थकित अधिकारीसमेतका व्यक्तिहरूले बकी लेखाई दिएको वस्तुस्थिति मुचुल्का ।
यसमा सर्वोच्च कको जाहेरी दरखास्त, सामुदायिक अस्पताल लमजुङको पत्र, घटनास्थल मुचुल्का, पीडित सर्वोच्च खको घटना विवरण कागज, प्रतिवादी पुन्टे भन्ने प्रेमबहादुर पराजुलीको बयान कागज, सिर्जना परियारले खुलाई लेखाई दिएको घटना विवरण कागज, न्याङखुरी परियारले खुलाई लेखाई दिएको घटना विवरण कागज र वस्तुस्थिति मुचुल्काहरूबाट मिति २०६४।०२।१७ गते साँझ अन्दाजी ८ बजेको समयमा प्रतिवादी पुन्टे भन्ने प्रेमबहादुर पराजुलीले सर्वोच्च खलाई जबरजस्ती करणी गरेको पुष्टि हुन आएकाले प्रतिवादी पुन्टे भन्ने प्रेमबहादुर पराजुलीको उक्त कार्य मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुर अपराध भएको हुँदा सोही महलको ३ (२) नं. बमोजिम सजाय गरी सोही महलको १० नं. बमोजिम निजबाट पीडित सर्वोच्च खलाई क्षतिपूर्तिसमेत दिलाई पाउन मागदाबी लिइएको अभियोगपत्र र सो प्रयोजनका लागि मालपोत कार्यालय, लमजुङको मिति २०६४।०२।३० का मिसिल संलग्न पत्रमा उल्लेख भएका प्रतिवादी प्रेमबहादुर पराजुलीका बाबु जंगबहादुर पराजुलीका नाउँमा दर्ता रहेको जग्गा सोही महलका १० ग नं. बमोजिम रोक्कासमेत गरिपाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र ।
म उक्त दिन दिउँसो १०-५ बजेसम्म मैले काम गर्ने अफिस महिला आपसी सहयोग केन्द्र भार्तेमा थिए । ५ बजे अफिस नजिकको पसलमा साहुहरूसँग गफ गरी ६ बजे आफ्नो घरमा गएको हुँ । अफिसबाट मेरो घर जाने बाटोमा जाहेरवालाको घर पर्दछ । जाहेरवालाको घरमा त्यसबखत निजको छोरी मात्र थिइन । म निजको घरमा पसी हजुरआमा खै भनेर
सोधेँ । निजले भोटेओडार जानुभयो भनिन् र निजले मसँग कलम छैन कलम किन्न पैसा ल्याउनु भनेर मागेकी र मैले एकवटा कलम र रू.१० दिएको र घरतर्फ गएको हुँ । घरमा साढे ६ बजे पुगेँ र राति घरमै बसेको हुँ भन्नेसमेत बेहोराको पुन्टे भन्ने प्रेमबहादुर पराजुलीको बयान कागज ।
वस्तुस्थिति मुचुल्काका मानिस कुमारी परियारले पीडित सर्वोच्च खलाई जबरजस्ती करणी गरेको थाहा भएन भनी गरेको बकपत्र ।
प्रतिवादीका साक्षी खिलबहादुर पराजुलीले प्रतिवादी खराब आचरणका मानिस होइनन्, घटना भएको हो जस्तो लाग्दैन भनी गरेको बकपत्र ।
घटना विवरणको कागज गर्ने न्याङखुरी परियारले प्रेमबहादुरले सर्वोच्च खलाई जबरजस्ती करणी गरे गरेनन् भन्ने कुरा भन्न सक्दिन भनी गरेको बकपत्र ।
प्रतिवादी पुन्टे भन्ने प्रेमबहादुर पराजुलीले जबरजस्ती करणी महलको १ नं. को कसुर अपराध गरेको पुष्टि हुन आएकोले सोही महलको ३(२) नं. बमोजिम ८ वर्ष कैद हुने ठहर्छ । प्रतिवादीको आर्थिक अवस्था र पीडितको शारीरिक एवं मानसिक अवस्थालाई समेत मध्यनजर गरी यी कसुरदार पुन्टे भन्ने प्रेमबहादुर पराजुलीबाट पीडितले रू.५०,०००।- (पचास हजार) क्षतिपूर्तिसमेत भराई पाउने ठहर्छ भन्नेसमेत बेहोराको सुरू लमजुङ जिल्ला अदालतको फैसला ।
उक्त फैसलामा मेरो चित्त बुझेन । प्रत्यक्ष साक्षी भनिएकी न्याङखुरी परियारले अदालतमा बकपत्र गर्दा जबरजस्ती करणी भयो भएन म भन्न सक्दिन भनी बकपत्र गरेकी र अन्य साक्षीहरूले पुन: प्रहरीमा कागज र अदालतमा बकपत्र गर्दासमेत वारदात वा वारदातको संकेत आफ्नो आँखाले देखेको वा कुनै इन्द्रियको सहायताले थाहा पाएको भन्ने नभई पीडितले भनेकी भनी पीडितको भनाइलाई आधार बनाई बकपत्र गरेको अवस्थातर्फ विवेचना नै नगरी मलाई ८ वर्ष कैद र रू.५०,०००।- क्षतिपूर्ति दिलाउने गरी मिति २०६७।०८।०५ मा भएको फैसला कानूनी त्रुटिपूर्ण हुँदा मेरो सबुद प्रमाणको राम्रो मूल्याङ्कन गरी न्यायिक विवेचना भई म निर्दोष हुँदा सुरूको फैसला बदर गरी मलाई सफाइ दिलाई न्याय पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी पुन्टे भन्ने प्रेमबहादुर पराजुलीले पुनरावेदन अदालतमा दिएको पुनरावेदनपत्र ।
यसमा जाहेरीलाई स्वतन्त्र प्रमाणबाट पुष्टि गर्न नसकेको र पीडितको स्वास्थ्य परीक्षणबाट जबरजस्ती करणीको अवस्था प्रस्ट हुन नसकेको अवस्थामा प्रतिवादीलाई सजाय गर्ने गरेको सुरू फैसला सोही आधारमा फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षी नेपाल सरकारलाई पेसीको सूचना दिई नियमानुसार गरी पेस गर्नु भन्ने पुनरावेदन अदालत पोखराको मिति २०६६।२।४ को आदेश ।
प्रतिवादी प्रेमबहादुर पराजुलीले पीडित भनिएकी सर्वोच्च ख माथि जबरजस्ती करणीको कसुर गरेको भन्ने ठोस एवं शंकारहित सबुद प्रमाणबाट वादी पक्षले प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम आफ्नो दाबी प्रमाणित गर्न नसकेको र केवल प्रतिवादी प्रेमबहादुर पराजुलीको अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानको आधारमा मात्र प्रतिवादी प्रेमबहादुर पराजुलीलाई कसुरदार ठहर्याई गरेको सुरू लमजुङ जिल्ला अदालतको मिति २०६५।०८।०५ को फैसला उल्टी भई निज प्रतिवादीले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत, पोखराको मिति २०६७।०१।०६ को फैसला ।
प्रतिवादी प्रेमबहादुर पराजुलीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा पीडित सर्वोच्च खको भनाइसँग परस्पर मेल खानेगरी स.जं.७ मा आफू मिति २०६४।०२।१७ गते साँझ सर्वोच्च खको घरमा गएको र आफू गएपछि निजको साथमा रहेकी सिर्जना घरबाट बाहिर गएकी र आफूले सर्वोच्च खलाई ४/५ वटा चकलेट र रू.५ को नोट दिई निज सर्वोच्च खले हुँदैन भन्दाभन्दै बल प्रयोग गरी विस्तारामा पल्टाई निजलाई आफूले करणी गरेको । करणी गर्दा दुखेर निज रून थालेपछि छाडेर घर गएको भनी कसुरमा पूर्ण साबिती रही बयान गरेको अवस्था छ भने अदालतसमक्ष निज प्रेमबहादुर पराजुलीले बयान गर्दा केवल अपराधबाट बच्ने अभिप्रायबाट कसुर गरेकोमा इन्कार रही बयान गरे तापनि निज मिति २०६४।०२।१७ गते ५ बजे आफू कार्यरत अफिस बन्द गरी घरतर्फ जाँदा पीडित सर्वोच्च खको घर पसी एउटा कलम र रू.१०।- दिएको तथ्यमा साबित रही बयान गरेका छन् । यी प्रतिवादीले अदालतसमक्षको बयानमा मौकामा बयान गर्दा आफूलाई यो यसले यसरी बाध्य पारी बयान गराएको थियो भनी लेखाई दिन सकेको अवस्थासमेत नहुँदा निज मौकाको बयान प्रमाण ऐन, २०३१ को दफा ९(२) को (क) तथा १०(१)(क) बमोजिम प्रमाणयोग्य भएकोमा सोतर्फ विचार नै नगरी केवल प्रतिवादीको इन्कारीलाई आधारमानी प्रतिवादीलाई सफाइ दिने गरी भएको पुनरावेदन अदालत, पोखराको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादी प्रेमबहादुर पराजुलीलाई अभियोग दाबीबमोजिम सजाय होस् भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदनपत्र ।
यसमा प्रतिवादी प्रहरीमा साबित रहेको देखिएको र पीडितले अदालतमा आई बकपत्र गर्दा प्रतिवादीले जबरजस्ती करणी गरेको भनी किटानी बकपत्र गरेको देखिएकोले पुनरावेदन अदालत, पोखराको मिति २०६७।०१।०६ को इन्साफ फरक पर्न सक्ने देखिएकोले अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि व्यतित भएपछि नियमबमोजिम पेस गर्नु भन्ने यस अदालतको मिति २०७०।११।०४ को आदेश ।
ठहर खण्ड
नियमबमोजिम आजको दैनिक मुद्दा पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री सोमाकान्ता भण्डारीले पीडितको किटानी जाहेरी परेको र सोही बेहोरा अदालतमा आई बकपत्र गरी दिएकी छन् । प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष कसुर स्वीकार गरी बयान गरेको अवस्थामा सफाइ दिने गरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएकाले बदर गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय होस् भनी गर्नुभएको बहस सुनियो ।
उपर्युक्त विद्वान् उपन्यायाधिवक्ताको बहस जिकिर सुनी मिसिल संलग्न कागजातको अध्ययन गरी प्रतिवादीलाई सफाइ दिने गरी पुनरावेदन अदालत, पोखराबाट मिति २०६७।०१।०६ मा भएको फैसला मिलेको छ, छैन पुनरावेदन जिकिर एवं अभियोग दाबीबमोजिम प्रतिवादीलाई सजाय गर्नुपर्ने हो, होइन भन्ने विषयमा निर्णय दिनु पर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी पुन्टे भन्ने प्रेमबहादुर पराजुलीले सर्वोच्च खलाई जबरजस्ती करणी गरेको पुष्टि हुन आएकाले निजको उक्त कार्य मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुर अपराध भएको हुँदा सोही महलको ३(२) नं. बमोजिम सजाय गरी सोही महलको १० नं. बमोजिम निजबाट पीडित सर्वोच्च खलाई क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्ने अभियोग मागदाबी रहेकोमा सुरू लमजुङ जिल्ला अदालतले निज प्रतिवादीले जबरजस्ती करणी महलको १ नं. को कसुर अपराध गरेको पुष्टि हुन आएकोले सोही महलको ३(२) नं. बमोजिम ८ वर्ष कैद हुने र रू.५०,०००।- पीडितलाई क्षतिपूर्ति भराउने गरी भएको फैसलाउपर प्रतिवादी प्रेमबहादुर पराजुलीको पुनरावेदन परी पुनरावेदन अदालतले निजलाई अभियोग दाबीबाट सफाइ दिने ठहर्याई भएको फैसलाउपर वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदन परी प्रस्तुत मुद्दा निर्णयार्थ पेस हुन आएको देखियो ।
३. प्रतिवादी पुन्टे भन्ने प्रेमबहादुर पराजुलीउपर मिति २०६४।२।१७ मा सर्वोच्च खलाई जबरजस्ती करणी गरेको भनी सर्वोच्च कले मिति २०६४।२।२३ मा जाहेरी दिएको देखिन्छ । वारदात घटेको भनेको ७ दिनपछि मात्र किन उजुर गर्नु परेको हो सो कुरा खुल्दैन । जाहेरी दिएकै दिन पीडित भनिएकी सर्वोच्च खको स्वास्थ्य परीक्षण भएको देखिन्छ । जिल्ला सामुदायिक अस्पताल लमजुङबाट भएको स्वास्थ्य परीक्षण हेर्दा पीडित सर्वोच्च खको history अनुसार आजभन्दा सात दिन पहिले Rape गरेको भनी उल्लेख गरी But No history of pre bleeding, No sign of defuse seen on her body, No vaginal swelling, No brush in value, No sign of recently by men torn, Vaginal swab not taken भनी उल्लेख गर्दै जबरजस्ती करणीको कुनै लक्षण र चिह्न मेडिकल रिर्पोटबाट देखिँदैन भन्ने उल्लेख भएको पाइन्छ ।
४. प्रतिवादी प्रेमबहादुर पराजुलीले मौकामा आरोपित कसुरमा साबिती भई बयान गरे तापनि अदालतमा आई बयान गर्दा कसुरमा इन्कार रही बयान गरेको देखिन्छ । पीडित भनिएकी सर्वोच्च खले सुरू अदालतमा गरेको बकपत्रको सवाल ९ को जवाफमा प्रतिवादी प्रेमबहादुर पराजुली घरमा आएपछि सिर्जना परियार २ घण्टा बसेर आफ्नो घरमा गएको भन्ने उल्लेख गरेकी र सोही बकपत्रको सवाल १२ को जवाफमा प्रेमबहादुर पराजुली आधा घण्टाजति बसेका थिए भन्ने र सवाल १३ को जवाफमा सिर्जना प्रेमबहादुरभन्दा पहिला गएकी हुन् भनी बकपत्र गरेको पाइन्छ । प्रेमबहादुर आएपछि सिर्जना २ घण्टा बसेको भन्ने भनाइ र प्रेमबहादुरभन्दा सिर्जना पहिला गएकी हुन् भन्ने भनाइ परस्पर विरोधाभाषपूर्ण रहेको
पाइन्छ । यस तथ्यको आधारमा जुन घटनाबाट पीडित भनिएकी व्यक्ति हो उसैको भनाइ मालाकार कडिमा मेल खाएको देखिएन । एक आपसमा मेल नखाएको तथ्यको आधारमा कसुर ठहर गर्नु पनि न्यायको दृष्टिले मनासिब देखिएन ।
५. प्रतिवादी प्रेमबहादुरले मलाई एक्लै पारी सुरूवाल खोली जबरजस्ती करणी गरेपछि कसैलाई भने मारिदिन्छु भनी घर गएका हुँदा डराई एक्लै सुती भोलिपल्ट गाउँकै न्याङखुरी परियारलाई घटना बताएको भनी अदालतमा बकपत्र गर्दा लेखाएको पाइन्छ । न्याङखुरी परियारले अदालतमा बकपत्र गर्दा स.ज. ५ मा पुन्टे भन्ने प्रेमबहादुर पराजुलीले सर्वोच्च खलाई जबरजस्ती करणी गरे, गरेनन् भन्ने कुरा भन्न सक्दिन भनी र स.ज. ६ मा मैले सर्वोच्च खलाई प्रेमबहादुरसँग बसेकी हौं भनेर सोधेकी थिएँ, निजले पहिले होइन भनी, पछि सँगै बसेको हो भनेर भनेकी हुन् भनी बकपत्र गरेको पाइन्छ । मौखिक प्रमाणलगायत मौकामा बुझिएका कुमारी परियार र न्याङखुरी परियारको कागज र बकपत्रसमेतबाट जाहेरी दरखास्त र पीडिताको बकपत्र एकआपसमा मेल खाएको
पाइएन । कुनै घटनाको बारेमा देखेको नभई सुनेको आधारमा मात्र व्यक्त गरेको भनाइ परिस्थितिजन्य प्रमाणले समेत पुष्टि गर्न नसकेको अवस्थामा त्यस्तो भनाई विश्वसनीय प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने देखिएन ।
६. फौजदारी मुद्दामा अभियुक्तउपर कसुर प्रमाणित गर्ने भार वादी पक्षमा हुने भन्नेबारेमा प्रमाण ऐनले कानूनी व्यवस्था गरेको देखिन्छ । अभियोग दाबीबमोजिमको आरोपित कसुर यी प्रतिवादीले गरेका हुन् भनी शंकारहित तवरबाट पुष्टि गराउन सकेको पाइँदैन । वस्तुनिष्ठ प्रमाणको अभावमा पीडितलाई जबरजस्ती करणी गरे भन्ने कुरा प्रमाणित गराउन वादी पक्षबाट सकेको देखिँदैन । अभियुक्तउपर अभियोग लगाउनु मात्र पर्याप्त हुँदैन, प्रमाणबाट पुष्टि पनि हुनु पर्छ । केवल शंकाको भरमा अभियोग दाबी स्वतन्त्र तथा वस्तुनिष्ठ प्रमाणबाट पुष्टि नभई सजाय गर्नु मनासिब हुँदैन । शंकाको सुविधा अभियुक्तले पाउँछ । यस अवस्थामा प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय होस् भन्ने पुनरावेदन दाबी एवं बहस जिकिरसँग सहमत हुन सकिएन ।
७. अत: उपर्युक्त आधार प्रमाण एवं कारणबाट प्रतिवादी प्रेमबहादुर पराजुलीलाई अभियोग दाबीबमोजिम ८ वर्ष कैद र रू.५०,०००।- क्षतिपूर्ति भराई दिने ठहर्याएको सुरू लमजुङ जिल्ला अदालतको फैसलालाई उल्टी गरी प्रतिवादीले आरोपित कसुर गरेको पुष्टि नहुँदा अभियोग दाबीबाट सफाइ दिने ठहर्याएको पुनरावेदन अदालत पोखराको मिति २०६७।०१।०६ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसला विद्युतीय प्रणालीमा अपलोड गरी मिसिल अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.डम्बरबहादुर शाही
इजलास अधिकृत : दुर्गाप्रसाद भट्टराई
इति संवत् २०७४ साल मंसिर ४ गते रोज २ शुभम् ।