शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८२५८ - उत्प्रेषण

भाग: ५१ साल: २०६६ महिना: फागुन अंक: ११

निर्णय नं. ८२५८        फागुन, २०६६

 

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा

माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी

माननीय श्री राजेन्द्रप्रसाद कोइराला

पुनरावेदन नं. ०६५ –CF–०१३

फैसला मितिः २०६६।७।१२।५

 

मुद्दाकर्तव्य ज्यान ।

 

पुनरावेदक प्रतिवादीः पाँचथर जिल्ला, ओलने गा.वि.स. वडा न. ५ घर भई हाल कारागार शाखा झापामा कैदमा रहेको टेकबहादुर साँवा (लिम्बू)

विरुद्ध

पुनरावेदक प्रतिवादीः पाँचथर जिल्ला, ओलने गा.वि.स. वडा न. ५ घर भई हाल कारागार शाखा झापामा कैदमा रहेको टेकबहादुर साँवा (लिम्बू)

                                                                                                                                      

शुरु फैसला गर्नेः

मा.जि.न्या.श्री उमेशराज पौडेल

पुनरावेदन फैसला गर्नेः

का.मु.मु.न्या.श्री ऋषिराज मिश्र

मा.न्या.श्री एकराज आचार्य

 

§  यसमा स्वाभाविक मानवीय भावना र संवेदनशीलता जस्ता कुराहरू पनि विचारणीय हुन्छन् । प्रतिवादीकै मृतकको कार्यले प्रतिवादीले आत्मनियन्त्रण गुमाउने परिस्थितिको अवस्था थियो कि थिएन भन्ने कुरा गणितीय हिसावमा मापन गर्न नसकिए पनि यस्तो कुरा कुनै घटनाको प्रकृति र परिस्थितिद्वारा निर्धारण गरिने कुरा हो । क्रियाकलापको कारण अथवा प्रतिवादीले नै पहिला मृतकलाई उत्तेजित पारी मृतकको प्रतिक्रियात्मक गतिविधिबाट आवेशको अवस्था उत्पन्न गराउने क्रिया सिर्जित भएमा त्यस अवस्थालाई तत्काल उठेको रिस अथवा तात्कालीन आवेशको संज्ञा दिन नमिलने ।

(प्रकरण नं.११)

§  आफ्नो इच्छित कार्यबाट उत्पन्न भएको परिणामलाई अनिच्छाको वा वेहोशीको अवस्थामा गरिएको कार्यको रुपमा हेर्न मिल्दैन । सचेत अवस्थामा आफूले गरेको कुनै कार्यले खराव परिणाम निकाल्न सक्छ भन्ने जान्दाजान्दै पनि सो कार्यमा तल्लीन भई खराव परिणाम उत्पन्न भएमा त्यसको जवाफदेहीता पनि निजले नै बहन गर्नुपर्ने ।

§  आफ्नो स्वेच्छाले मादक पदार्थ सेवन गरेको र सो सेवनसमेतको असरबाट थप उत्तेजित भई मृतकलाई अन्धाधुन्ध कुटपीट गरेको कार्यबाट मृत्यु भएको हुँदा त्यस्तो अपराधलाई मनसायप्रेरित हत्याकै कोटीमा राखेर हेर्नुपर्ने ।

§  सामान्य समझबुझको व्यक्तिले नशा हुने मादक पदार्थसमेत सेवन गरी वा नगरी गरेको कसूरको लागि ऐनबमोजिम हुने सजायको भागी पनि सोही व्यक्ति बन्नुपर्ने ।

§  मादक पदार्थको सेवनबाट अपराधको प्रकृतिमा अन्तर नआउने र सजायमा छुटको आधार बन्न नसक्ने ।

(प्रकरण नं.१३)

पुनरावेदक प्रतिवादी तर्फवाटःविद्वान अधिवक्ता श्री भीष्मराज कडरिया

प्रत्यर्थी वादी तर्फवाटः

अवलम्वित नजीरः

§  नेकाप २०५७, नि.नं. ६९४३, पृ. ७०४

§  नेकाप २०६५,नि.नं. ७९९८ पृ. ९२८

सम्बद्ध कानूनः

§  ज्यानसम्बन्धी महलको १,१०, १३(३), १४ नं.

§  दण्ड सजायको महलको १ नं.

§  अदालती बन्दोवस्तको १८८, २१५ नं.

§  न्याय प्रशासन ऐन, २०४८ को दफा १०(३)

 

फैसला

      न्या.दामोदरप्रसाद शर्माः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(घ) बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्तमा तथ्य र ठहर निम्नबमोजिम छः-

      जिल्ला पाँचथर ओलने, गा.वि.स. वडा नं. ५ बस्ने टेकबहादुर साँवाले मेरी बहिनी कुलमाया शेर्मा (साँवा) लाई २०४७ सालमा हाम्रो सल्लाह बेगर ललाई फकाई श्रीमती बनाई लगी दमक बजारमा डेरा गरी बसेका थिए । निज टेकबहादुरले बहिनीलाई बारम्बार कुटपीट गर्ने गरेकाले मसमेत भई सम्झाई बुझाई गरेको   थिएँ । मिति २०६०।११।१८ गते जिल्ला झापा दमक१२ बस्ने मानबहादुर शेर्मा मेरो घर जिल्ला पाँचथर, ओलने २ मा आई बहिनी कुलामाया साँवा लिम्बूको मृत्युको खबर सुनाएकाले बहिनीको डेरा दमक१० मा आई लाश हेर्दा मृतक कुलमायाको शरीरको विभिन्न भागमा चोटपटक लागेको र २०६०।११।१५ गते ज्वाईँ टेकबहादुर साँवाले बहिनी कुलमाया साँवालाई कुटपीट गरेका र ऐ. १७ गते बहिनीको मृत्यु भएको भन्ने छिमेकीबाट थाहा पाएको हुँदा निज टेकबहादुर साँवाले आफ्नी श्रीमती कुलमाया साँवालाई कुटपीट गरी कर्तव्य गरी मारेको हुँदा कार्वाही गरिपाऊँ भन्ने समेत व्यहोराको मिति २०६०।११।२० को भीमबहादुर शेर्माको जाहेरी दरखास्त।

      जिल्ला झापा दमक नगरपालिका वडा नं. १० स्थित पूर्वमा बेलडागीदमक सडक, पश्चिम विद्या बज्राचार्यको खाली जग्गा, उत्तर लोकनाथ बरालको घर, दक्षिण विद्या बज्राचार्यको काठको घर, यति ४ किल्लाभित्र रहेको २२x१०x२ तले ६ कोठा भएको विद्या बज्राचार्यको पश्चिम उत्तर कोठामा प्लाष्टिकको चट्टी ओछ्याई पूर्व टाउको पश्चिम खुट्टा भै उत्तानो अवस्थामा सुताई राखेको वर्ष २९ की कुलमाया शेर्माको लाश रहेको, उक्त मृतक लाशको टाउकाको अगाडि भागमा रातो सुन्निएको चोट, बीच निधारमा १/२ इञ्चको चोट, बायाँ कुमदेखि घाँटीसम्म नीलो दाग, कम्मरको पछाडि भागमा खोस्रिएको जस्तो सानो सानो धर्सो, बायाँ पिल्सिएका चोटहरू भएको भन्ने घटनास्थल लाश जाँच मुचुल्का ।

      मृतक कुलमाया साँवाको भिषेरा परीक्षणपछि मात्र मृत्यु कारण खुलाउन सकिने भन्ने पोष्टमार्टम रिर्पोट ।

      म सुँगुर काटी गोस लाईनमा काम गरी बस्दै आएको, श्रीमती घर कोठामै बस्ने गर्थिन । म जाहेरीमा उल्लिखित मिति, समयमा गोस लाईनमा मासु बिक्री गरी डेरामा आउँदा श्रीमतीले मादक पदार्थ सेवन गरी बसेकी  रहिछन् । किन रक्सी खाएको भन्दा उल्टै मलाई गाली गरिन् । मैले रिस थाम्न नसकी लात्ती बक्सिङले हानी लडाएर मुख थुनी बोल्न कराउन नदिई न्याँकी मारेको हो । म सधै मासु बिक्री गरी २।३ सय ल्याई श्रीमतीलाई राख्न दिन्थें । राख्न दिएको पैसा खोई भन्दा मैले रक्सी खाई मासें भन्थिन् । मैले कमाएको पैसा खोजतलास गर्दा बारम्बार झगडा हुन्थ्यो । सोही कारणबाट मैले कुटपीट गरी मारेको हो भन्ने प्रतिवादीले जिल्ला सरकारी वकील कार्यालयमा जिल्ला न्यायाधिवक्ताको रोहवरमा अधिकार प्राप्त अधिकारीसमक्ष दिएको मिति २०६०।११।२५ को बयान ।

      जाहेरीमा उल्लिखित मिति समयमा म आफ्नै घर कोठामा थिएँ । कुलमाया साँवा मेरो भदैनी नाताकी भएको हुँदा दुवै जनालाई राम्ररी चिन्दछु । निजहरू एक वर्ष अगाडि मैले डेरा लिएको घरमा कोठा लिई बसेका हुन् । निज टेकबहादुर साँवा दिनभर सुँगुर काटी बिक्री गरी मादक पदार्थ सेवन गरी आई आफ्नी श्रीमती कुलमाया साँवालाई कुटपीट गर्ने गर्दथे । म लगायत छिमेकी समेतले सम्झाउँदा उल्टै हामीलाई गाली गर्ने, श्रीमतीलाई काट्छु मार्छु भन्ने गर्थे । मिति २०६०।११।१५ गते साँझ ७ बजे निजले मादक पदार्थ सेवन गरी आई श्रीमती कुलमाया साँवालाई कुटपीट गरी सोही कुटपीटबाट निज कुलमाया साँवा थला परी ऐ.१७ गते साँझ निजको मृत्यु भएको हो । निज टेकबहादुर साँवाले श्रीमती कुलमाया साँवालाई कुटपीट गरी कर्तव्य गरी मारेका हुन् भन्ने समेत विमला खड्काको कागज ।  

      मेरो घर जिल्ला पाँचथर सराङडाडा४ भई हाल दमक १० मा डेरा गरी बसी रिक्सा चालक काम गर्छु । १ वर्ष अघिदेखि एउटै घरमा डेरा गरी बसेको हुँदा टेकबहादुर साँवा र मृतक कुलमायालाई चिन्दछु । टेकबहादुर साँवा दिनभर सुँगुर काटी मासु बिक्री गर्ने र साँझमा मादक पदार्थ सेवन गरी डेरामा आई श्रीमती र छोराछोरीलाई कुटपीट गर्ने गर्थे । वारदातभन्दा एक महिनाअगाडि टेकबहादुर साँवाले आफ्नी श्रीमती कुलमायालाई कुटपीट गरेको मेरो कोठाबाट थाहा पाई ज्यान मर्ने संभावना भएकाले घरबेटी र म समेतले ढोका फोरी भित्र पसी छुट्याएका थियौं । मिति २०६०।११।१५ गते पनि निजले कुटपीट गरेको भन्ने कुरा म घरमा आउँदा थाहा पाएको हो । २०६०।११।१६ गते बिहान टेकबहादुर साँवाले श्रीमती कुलमाया साँवालाई धारामा नुहाउँदै गर्दा देखें । कुलमाया साँवाको शरीरभरी नीलडाम चोटपटक थियो । २०६०।११।१७ गते साँ निजको मृत्यु भएको हुँदा टेकबहादुर साँवाले नै कुलमाया साँवालाई कुटपीट गरी कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको यामबहादुर खड्काको कागज ।

      टेकबहादुर साँवा तथा मृतक कुलमाया साँवा मेरो घरमा १ वर्षदेखि वस्दै आएकाले सामान्य चिन्दछु । पहिले श्रीमान् श्रीमतीको राम्रो मेलमिलाप थियो । मेरो घरको तलामुनि ६ जनाको परिवार डेरा गरी बस्छन् । टेकबहादुर साँवा र निजकी श्रीमतीबीच मृत्यु हुनुभन्दा १४।१५ दिन अगाडि पनि पटकपटक झगडा भएको हुँदा घरधनीको नाताले सम्झाएकोमा मेरो कोठाको झगडा किन मतलब राख्छौं, म यसलाई मारिदिन्छु भन्थे । मसँग निहूँ खोजेकाले डेरा छाडी जान समेत भनेको थिएँ । २०६०।११।१५ गते कुटपीट गरी २०६०।११।१७ गते निज कुलमाया साँवाको मृत्यु भएको हुँदा निज टेकबहादुर साँवाले कुटपीट गरी कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्ने विद्या बज्राचार्यको कागज

      म जिल्ला झापा दमक न.पा. वडा नं. १० बस्ने पोखरेलको घरमा डेरा गरी बस्छु । टेकबहादुर साँवा र मृतक कुलमायालाई राम्ररी चिन्दछु । निजहरू मेरो नातामा भतिज र बुहारी पर्दछन् । निजहरू र मेरो परिवार पहिलासँगै डेरा गरी बसेको पनि हो । निज टेकबहादुर साँवा पहिलादेखि नै सुँगुर काटी बिक्री गरी साँझमा मादक पदार्थ सेवन गरी श्रीमतीलाई बारम्बार कुटपीट गर्ने गर्थे । २०६०।११।१३ मा पनि निजले श्रीमतीलाई कुटपीट गरी सख्त घाइते बनाई दिए भन्ने सुन्यौं । हामीले उपचार गर्न लैजाउ भन्दा मरे मर्छ भन्थे । २०६०।११।१५ गते राति निजले अत्याधिक मादक पदार्थ सेवन गरी कोठामा आई श्रीमतीलाई मरणासन्न हुने गरी कुटपीट गरे भन्ने सुनेको र २०६०।११।१७ गते निजको मृत्यु भएको हुँदा टेकबहादुर साँवाले कुलमाया साँवालाई कुटपीट गरी कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्ने कर्णबहादुर साँवाको कागज ।

      जाहेरीमा उल्लिखित मिति र समयमा म जिल्ला झापा दमक न.पा वडा नं. १० बस्ने विद्या बज्राचार्यको घर आफ्नै डेरामा थिएँ । टेकबहादुर साँवासँग मेरो चिनजान थिएन । पहिला टेकबहादुर साँवा मादक पदार्थ सेवन गरी हल्लिँदै आई श्रीमतीलाई कुटपीट गरेको देखेको र २०६० साल फाल्गुण महिना गते बार थाहा भएन, साँझको समयमा टेकबहादुर साँवाले ढोका थुनी श्रीमतीलाई कुटपीट गरेको रोएको कराएको आवाज समेत सुनें । अर्काको पारिवारिक झगडा भएकाले कुटपीट भएको ठाउँमा  गइन । कुटपीट गरेको ३ । ४ दिनपछि निजकी श्रीमती कुलमाया साँवाको मृत्यु भएको हो । लाश हेर्दा शरीरभरि घाउचोट भएकाले निजकी श्रीमती कूलमाया साँवाको मृत्यु भएको हो । लाश हेर्दा शरीरभरी घाउचोट भएकाले टेकबहादुर साँवाले आफ्नी श्रीमती कुलमाया साँवालाई कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ, अन्य कोही माथि शङ्का छैन भन्ने तीलकबहादुर खड्काको कागज ।

      टेकबहादुर साँवा र मृतक कुलमाया साँवा हाम्रो टोलको विद्या बज्राचार्यको घरमा डेरा गरी बस्ने मानिस हुन् । टेकबहादुर साँवा दमक बजारमा मासु काटी बेच्दै आएका थिए । निज श्रीमान श्रीमतीबीच बेलुका जहिले पनि आपसममा झैंझगडा, कुटपीट गर्दै आएको कुरा सुनेको बुझेको थिएँ । २०६०।११।१५ गते बेलुका पनि मादक पदार्थ सेवन गरी आई डेराको ढोका थुनी श्रीमतीलाई मरणासन्न हुने गरी कुटपीट गरेकोमा सोही कुटपीटको चोटपीरको कारण मृत्यु भएको कुरामा विश्वास लाग्छ भनी नेत्रबहादुर बस्नेत समेत ५ जनाले लेखाएको एकै मिलानको वस्तुस्थिति मुचुल्का ।

      मिसिल संलग्न जाहेरी दरखास्त, घटनास्थल लाश जाँच मुचुल्का, प्रतिवादीको बयान कागज, पोष्ट मार्टम रिर्पोट, मौकामा बुझिएका मानिसहरू र वस्तुस्थिति मुचुल्काका मानिसहरूको कागज समेतको आधार प्रमाणबाट मृतक कुलमाया साँवा शेर्मालाई प्रतिवादी टेकबहादुर साँवा लिम्बूले कर्तव्य गरी मारेको अभियोगमा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको मिति २०६०।१२।१२ मा दर्ता भएको अभियोग पत्र । 

      मिति २०६०।११।१५ गते बिहान सुँगुर किनी दमकको सार्वजनिक गोस खान टहरोमा सुँगुर काटी मासु बेच बिखन गरी बेलुका ५ बजेतिर आफ्नै भाडाको घर कोठामा पुगें । मेरी श्रीमती कुलमाया रक्सी सेवन गरी बसिरहेकी रहिछिन् । मैले पनि रक्सी सेवन गरेको थिएँ । मेरो र श्रीमतीको बीचमा भनाभन भयो । श्रीमतीले आफ्नो जीउ सम्हाल्न सकेकी थिइनन् । किन यति धेरै सेवन गरेको भनी गाली गरें । तैले खाँदा हुने, मैले किन नहुने भनी मलाई झम्टिँदा मैले पनि श्रीमतीलाई हातले गालामा र ढाडमा एकपल्ट मुड्कीले हानें । रक्सी सेवनको नशाले कति कुटपीट गरें, त्यो थाहा  भएन । भोलिपल्ट १० बजेतिर मलाई मुटु दुख्यो भनिन् । श्रीमतीको मृत्यु २०६०।११।१७ गते बेलुका ६ बजे भयो । भोलिपल्ट मैले खाना खाउ भनें, निजले म खाना खान्न, अब म बाँच्दिन होला, केटाकेटीलाई राम्रो गर्नु भनेकी हुन् । रक्सीको नशामा श्रीमतीलाई कुटपीट गरेको हो र सोही कारणबाट श्रीमतीको मृत्यु भएको हुँदा कानूनले तोकेबमोजिम सजाय भोग्न मञ्जूर छु भन्ने समेत व्यहोराको प्रतिवादी टेकबहादुर साँवा लिम्बूले अदालतमा गरेको २०६०।१२।१३ को बयान ।

      मिति २०६०।११।२०को जाहेरी दरखास्त सुनाउँदा सुनें, मेरो बहिनी कुलमायालाई ज्वाईं टेकबहादुर साँवाले कुटपीट गरी मारेको हो । निजले आफैंले कुटपीट गरेको भनेको समेत हुँदा र साविती भई बयान गरेकाले टेकबहादुर साँवाले कुटपीट गरी मारेको हो । निजलाई कानूनबमोजिम हदैसम्म सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको जाहेरवाला भीमबहादुर शेर्मा लिम्बूले अदालतमा गरेको बकपत्र ।

      आफ्नो श्रीमती कुलमायालाई कुटपीट गरी मारेको हो भनी प्रतिवादीले मौका अनुसन्धानको क्रममा र अदालतमा गरेको बयान, जाहेरवालाको मौकाको जाहेरी तथा अदालतको बकपत्र एवं मौकाको घटनास्थल प्रकृति मुचुल्कासमेतका मिसिलसंलग्न कागज प्रमाणबाट प्रतिवादीले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत कसूर अपराध गरेको प्रमाणित हुन आएकाले सोही महलको १३(३) नं. अनुसार प्रतिवादी टेकबहादुर साँवालाई सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहराई अ.वं. १८८ नं. बमोजिम ७ वर्ष कैद सजाय तोकिन राय समेत जाहेर गरेको झापा जिल्ला अदालतको मिति २०६२।३।१४ को फैसला ।

      मिसिल संलग्न सबूद प्रमाणको समुचित मूल्याङ्कन नै नगरी सर्वश्वसहित जन्मकैद हुने ठहर्‍याएको झापा जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी टेकबहादुर साँवा लिम्बूको मिति २०६२।५।१२ मा पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।

      भिसेरा परीक्षणको रिर्पोट (प्रतिवेदन ) प्राप्त भई व्यहोरा अवगत भयो । त्यस अनुसार मृतक कुलमायाको मृत्युको कारण Cumulatives effect of blunt force multiple injuries over the lower limbs and head leading to concussion of the brain भन्ने मृत्युको कारण खुलाइएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङ्गको २०६३।३।२५ ,च.नं. १२७५ को पत्र ।

आफ्नो निर्दोषिताको कुनै सबूद प्रमाण दिन नसकी आफ्नै कुटपीटका कारण निज श्रीमतीको मृत्यु भएको हुँदा कानूनले तोकेबमोजिम सजाय भोग्न मञ्जूर छ भनी अदालतमा बयान गरेको समेतका आधारहरूबाट प्रतिवादी टेकबहादुर साँवाले आरोपित कसूर गरेको ठहर्नाले निज प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहराएको शुरु झापा जिल्ला अदालतको मिति २०६२।३।१४।३ को इन्साफ मिलेकै देखिँदा सो इन्साफ सदर हुने ठहर्छ । प्रतिवादीको पूर्व योजना तथा मनसायसमेत नभएको, दुवै जनाले मादक पदार्थ सेवन गरेका कारणबाट विवाद उत्पन्न भई तत्कालको रिसबाट कुटपीट हुन गएको र सोही कारणबाट मृतकको मृत्यु भएको भन्ने देखिएको अवस्थामा कानूनबमोजिम पूरा सजाय गर्दा चर्को पर्ने र शुरुले ७ वर्ष मात्र कैद गर्ने भनी प्रकट गरेको रायसमेत अपराधको प्रकृति र गाम्भिर्यतालाई समेत विचार गर्दा चित्त बुझ्दो र मनासिबसमेत नहुने देखिँदा १० (दश) वर्षमात्र प्रतिवादीलाई कैद सजाय हुन मनासिब देखि अ.वं. १८८ नं.बमोजिम रायसमेत प्रकट गरेका छौं भन्ने समेत व्यहोराको पुनरावेदन अदालत इलामको मिति २०६३।७। १२ को फैसला ।      

म पुनरावेदकले घटनालाई स्वीकार गरेको छु । घटनाको परिस्थितिमा फैसला गर्न सकिएको छैन । एउटा मादक पदार्थ (रक्सी) सेवन गरेको व्यक्तिले अर्को पनि रक्सी सेवन गरेको आफ्नै श्रीमतीलाई मार्ने उद्देश्य नभएर केवल सामान्य तत्काल उठेको रिस थाम्न नसकी हात र खुट्टाले बेहोसी अवस्थामा नै के कसरी प्रहार  गरेछु । ज्यानै मार्नुपर्ने पूर्व रिसइबी छैन । मादक पदार्थ सेवनपछि नशाले मेरो कामको प्रकृति र परिणाम थाहा नपाउने अवस्थामा पुर्‍याएको  थियो । सजाय, निदान र निर्धारणको पक्षमा विचार गरिएको छैन । श्रीमतीको मृत्युपछि छोरा छोरीको भविष्यतर्फ मेरो दायित्व बढेको छ । मृतक स्वयम्‌ले पनि मादक पदार्थ सेवन गरेको अवस्थामा भएको झगडा, तत्काल उठेको रिस, उपचार र उद्धारमा देखाएको तत्परता जस्ता कुराले अपराधिक मनसाय तत्वको उपस्थिति देखिँदैन । कसूरदारको बाँकी पारिवारिक दायीत्व, उमेर सुधारको सम्भावनातर्फ ख्याल नगरी भएको चर्को सजाय न्यायपरक र चित्त बुझ्दो छैन । सर्वस्वसहित जन्मकैद गरिएको फैसलामा न्यायिक मन नहुँदा पुनरावेदन अदालत इलामको फैसला बदर गरी सफाइ दिलाई पाऊँ भन्ने प्रतिवादी टेकबहादुर साँवा (लिम्बू) को कारागार शाखा झापा मार्फत् प्राप्त भै मिति २०६३।१२।१९ मा यस अदालतमा दर्ता भएको पुनरावेदन पत्र । 

प्रतिवादीलाई सर्वस्वसहित जन्मकैद हुने ठहरी भएको मिति २०६३।७।१२ को फैसला साधक जाहेर गरी पठाउनु भनी उल्लेख भएबमोजिम यस अदालतको रेकर्ड मिसिल र शुरु मिसिलसमेत पठाइएको भन्ने पुनरावेदन अदालत इलामको २०६४।२।३ को पत्र प्राप्त भई मिति २०६४।५।७ मा साधकमा दर्ता भएको ।

मृतक कुलमाया लिम्बूको मृत्यु यिनै प्रतिवादी टेकबहादुर साँवा (लिम्बू) को कुटपीटको कारणबाट भएको हो भन्ने कुरामा विवाद नदेखिँदा निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्‍याएको शुरु झापा जिल्ला अदालतको फैसलालाई सदर हुने ठहराई गरेको मिति २०६३।७।१२ को पुनरावेदन अदालत इलामको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । मृतक प्रतिवादीबीच मार्नुपर्नेसम्मको पूर्व रिसइबी नभएको, निजलाई मार्ने प्रतिवादीको पूर्व योजना केही नदेखिएको र रक्सी खाएको अवस्थामा प्रतिवादीबाट कुटपीट भई मृतकको मृत्यु भएको भन्ने अवस्था हुँदा प्रतिवादीलाई पूरा सजाय गर्दा चर्को हुने देखिएकोले पुनरावेदन अदालत इलामबाट समेत विचार गरी अ.वं. १८८ नं. बमोजिम प्रतिवादीलाई १० (दश) वर्ष कैद गर्ने गरी व्यक्त गरेको पुनरावेदन अदालत इलामको रायसमेत सदर हुने ठहर्छ भन्ने यस अदालत संयुक्त इजलासबाट मिति २०६४।११।१७।६ मा साधक जाँचको रोहमा भएको फैसला ।   

      प्रस्तुत मुद्दामा यी पुनरावेदकको हकमा यस अघि नै साधकको रोहबाट सुनुवाई भै यस अदालतको संयुक्त इजलासबाट मिति २०६४।११।१७ मा फैसला भैसकेको देखिँदा पुनः निजको हकमा पुनरावेदनको रोहबाट संयुक्त इजलासबाट सुनुवाई गर्न जटिल कानूनी प्रश्न समावेश भएको देखिएको हुँदा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३ को (घ) बमोजिम पूर्ण इजलासमा पेश गर्न आदेश गरी दिएको छ भन्ने यस अदालत संयुक्त इजलासको २०६५।१०।२९ को आदेश ।

      नियमबमोजिम पेसी सूचीमा चढी आज यस इजलासमा पेश भएको प्रस्तुत मुद्दामा मिसिलसंलग्न सम्पूर्ण कागजातहरू अध्ययन गरी पुनरावेदक तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता भीष्मराज कडरियाले प्रतिवादीले मृतकलाई मार्ने उद्देश्यले कुटपीट गरेको होइन, प्रतिवादी र मृतकले मादक पदार्थ सेवन गरेको र दुवै जनाबीच भएको झगडाको क्रममा हातपात भएको कुरालाई प्रतिवादीले स्वीकार गरेको छ । मादक पदार्थ सेवन गरी नशाको सुरमा झगडा हुँदा तत्काल उठेको रिसले आफूलाई नियन्त्रण गर्न नसकी भएको कुटपीटबाट मृतकको मृत्यु भएकोमा सर्वस्वसहित जन्मकैदको सजाय हुने अवस्था आउँदैन, प्रतिवादीका ससाना बालबच्चा भएको कारण ती बालबच्चाको लालनपालनतर्फ पनि ध्यान दिनुपर्ने हुँदा पुनरावेदन अदालतले गरेको फैसला मिलेको छैन भनी गर्नु भएको बहस सुनियो ।

      उपर्युक्त बहस जिकीर एवम् मिसिल संलग्न तथ्य र प्रमाण समेतलाई दृष्टिगत गरी इन्साफतर्फ विचार गर्दा, प्रतिवादी टेकबहादुर साँवाले मिति २०६०।११।१५ गते मादक पदार्थ सेवन गरी कुटपीट गरेको कारण सोही चोटबाट कूलमाया साँवाको मिति २०६०।११।१७ गते मृत्यु भएको भन्ने खुल्न आएबाट मिसिल संलग्न प्रमाण कागजातको आधारमा प्रतिवादी टेकबहादुर साँवा (लिम्बू)ले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. अनुसारको कसूर अपराध गरेको देखिँदा निजलाई ऐ. ऐनको ऐ.महलको १३(३) नं. अनुसार सजाय हुन मागदावी लिई अभियोग पत्र दायर भएको देखिन्छ । शुरु अदालतले निज प्रतिवादीले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत कसूर अपराध गरेको भनी सोही महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्‍याई अदालती बन्दोबस्तको महलको १८८ नं. बमोजिम निज प्रतिवादीलाई ७ वर्षकैद गर्न उपयुक्त हुने भनी राय जाहेर गरेकोमा पुनरावेदन अदालतले शुरु फैसलालाई सदर गरी ७ वर्ष कैद गर्न जाहेर गरेको रायको हकमा केही विमती जनाउँदै १० वर्ष कैद गर्न उपयुक्त हुने भनी राय जाहेर गरेको पाइयो ।

      यिनै प्रतिवादीको हकमा पुनरावेदन अदालत इलामको फैसला साधकको रोहबाट जाँच भई यस अदालतबाट फैसला भैसकेको र प्रतिवादीको पनि पुनरावेदन परेको अवस्था रहेको प्रस्तुत मुद्दामा निम्न प्रश्नहरूको निरुपण हुनुपर्ने देखियो । 

(१)   प्रतिवादीको पुनरावेदन परिसकेपछि साधकको रोहबाट भएको यस अदालत संयुक्त इजलासको फैसलाको हैसियत के हुन्छ ?

(२)   साधकको रोहबाट एक पटक फैसला भई सकेपछि प्रतिवादीको पुनरावेदन जिकीरउपर विचार गर्न मिल्ने हो होइन ? मिल्ने हो भने पुनरावेदन अदालतको फैसला मिलेको छ छैन ?

२.    पहिलो प्रश्नको सन्दर्भमा विचार गर्दा, प्रस्तुत मुद्दामा पुनरावेदन अदालत इलामबाट मिति २०६३।७।१२ मा फैसला भई उक्त अदालतको मिति २०६४।२।३१, च.न.२२७४ को पत्रानुसार साधक जाहेर भै यस अदालतमा २०६४ साल भदौ महिनाको ७ गते प्रस्तुत मुद्दा साधकको लगतमा दर्ता भएको देखिन्छ । प्रतिवादीको पुनरावेदन परेको नदेखिएको भन्ने पुनरावेदन दर्ता शाखाको आन्तरिक पत्राचारको सम्बन्धमा जवाफ प्राप्त भै संयुक्त इजलासमा पेश हुँदा पुनरावेदन अदालतको फैसला र कैदको सम्बन्धमा अ.वं. १८८ नं. अनुसार व्यक्त भई आएको राय समेत सदर हुने ठहरी मिति २०६४।११।१७ मा यस अदालतबाट फैसला भएको देखिन्छ ।

३.    प्रस्तुत पुनरावेदन यस अदालतमा २०६३।१२।१९ मा नै दर्ता भएको पाईंदा साधक जाहेर हुनु अगावै प्रतिवादीको पुनरावेदन परिसकेको अवस्था छ । मुलुकी ऐन, अदालती बन्दोबस्तको २१५ नं.मा मुद्दाको साधक जाहेर गरेकोमा पुनरावेदन परेको रहेछ भने साधकको लगत काटी सो मुद्दा पुनरावेदनको तहबाट हेर्नुपर्छ भन्ने समेत उल्लेख भएको छ । त्यस्तै न्याय प्रशासन ऐन, २०४८ को दफा १० को उपदफा ३ मा पनि साधक जाहेर भएको मुद्दामा पुनरावेदन परेमा पुनरावेदनको रोहबाट हेर्नुपर्ने व्यवस्था गरी पुनरावेदनलाई साधकको तुलनामा महत्व दिएको देखिन आयो । यस्तै प्रकृति भएको २०५४ सालको फौ.पु.इ.नं. ३८ को पुनरावेदक/प्रतिवादी हिमाकुमारी भट्टराई विरुद्ध प्रत्यर्थी/वादी केशुनाथ उपाध्यायको जाहेरीले श्री ५ को सरकार भएको कर्तव्य ज्यान मुद्दामा यस अदालत बृहद पूर्ण इजलासबाट ...पुनरावेदन परेमा पुनरावेदनको रोहबाट हेर्नुपर्ने र साधकको लगत स्वतः कट्टा हुने व्यवस्था रहेबाट पुनरावेदन परिरहेको अवस्थामा साधकको रोहबाट फैसला भइसकेको भन्ने आधारमा पुनरावेदनको मार्गलाई निष्प्रभावतुल्य बनाउन मिल्ने देखिँदैन । ... साधकको रोहबाट इन्साफ जाँच भैसकेको भन्ने अर्थ गर्दा पुनरावेदन गर्न पाउने व्यक्तिको सारवान अधिकार (Substantive Right) मा नै संकुचन लाग्न जाने सम्भावना रहन्छ जो सर्वथा न्यायिक स्वविवेक अनुकूल हुन सक्तैन भन्ने समेत सिद्धान्त प्रतिपादन हुँदै साधकको रोहबाट संयुक्त इजलासबाट भएको फैसला बदर गरी पुनरावेदनको रोहबाट विचार भै फैसला भएको पाइन्छ । (नेकाप २०५७, नि.नं. ६९४३, पृ. ७०४) सोही फैसलामा कायम भएको कार्यविधिगत कानूनी सिद्धान्त (Procedural Ruling) लाई अनुशरण गर्दै दे.पु.इ.नं. ०६५–CF–००२७ र ००२८ को पुनरावेदक प्रतिवादी लोकबहादुर गोले र मदन थिङ तामाङ तथा प्रत्यर्थी वादी सेराजुल हक मिया अन्सारीको जाहेरीले नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा (नेकाप २०६५,नि.नं. ७९९८ पृ. ९२८) समेत पूर्ण इजलासबाट २०६५।८।५ मा संयुक्त इजलासले साधकको रोहमा जाँचेको फैसला बदर गरी पुनरावेदनको रोहबाट हेरी फैसला गरेको देखिन्छ ।

      ४.    यसरी पुनरावेदन अदालतको फैसलाउपर साधकको रोहबाट फैसला भैसके पनि प्रतिवादीको पुनरावेदन परेको रहेछ भने साधकको रोहबाट भएको फैसलाले मान्यता नपाउने अवधारणाको विकास भैसकेको अवस्था छ । पुनरावेदनको कानूनी हकलाई महत्वका साथ सम्मान गर्दै सो हकको प्रभावकारितामा पर्न सक्ने बाधाअडकाउको निराकरण गर्दै यस अदालतको अनेक पूर्व इजलासबाट प्रतिपादन गरिएको कानूनी सिद्धान्त र विकास गरिएको अवधारणाको विपरीत यस इजलासले फरक धार राख्नु पर्ने औचित्य र अवस्था छैन । अतएब प्रस्तुत मुद्दामा संयुक्त इजलासले मिति २०६४।११।१७ गते पुनरावेदन अदालत इलामको फैसला साधकको रोहमा जाँच गर्दा गरेको फैसला प्रतिवादीको पुनरावेदन परेको सन्दर्भमा कायम रहन नसक्ने हुँदा उक्त मितिको फैसला बदर हुन्छ ।

५.    अब, दोस्रो प्रश्नको सन्दर्भमा विचार गर्दा, यी प्रतिवादीको हकमा साधकको रोहमा भएको फैसला बदर भएपछि निजले यस अदालतमा दर्ता गराएको पुनरावेदनपत्रउपर विचार गर्न मिल्ने नै देखियो । प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दा मृतकलाई मार्ने मनसाय नभएको, केवल आफू र मृतक समेतले मादक पदार्थ सेवन गरेको कारण विवाद भै बेहोशी अवस्थामा तत्काल उठेको रीसको कारण कुटपीट भएको हुँदा ज्यानमारा ठहर्‍याई सजाय गरेको पुनरावेदन अदालतको फैसला नमिलेको भनी जिकीर लिएको अवस्था छ ।

६.    मृतक कुलमाया साँवाको लाश जाँच मुचुल्का हेर्दा टाउकोको पछाडि टुप्पीको भागमा रातो सुन्निएको चोट, बीच निधारमा १/२ इञ्च काटिएको जस्तो चोट, बायाँ घुँडामा छाला पिल्सिएको चोट, बायाँ कुमदेखि घाँटीसम्म निलो दाग जस्तो देखिएको, कम्मरको पछाडि भागमा बायाँतर्फ खोस्रिएको जस्तो सानोसानो धर्सा देखिएको, दाहिने नली खुट्टामा निलो दाग देखिएको छ । मृत्तकको लाश जाँचेको रिर्पोटमा मृत्युको कारण भिसेराको रिर्पोट प्राप्त भएपछि दिइने भन्ने उल्लेख भएकोमा भिसेरा प्राप्त भएपछि लाश जाँच गर्ने सम्बन्धित चिकित्सकले दिएको मृत्युको कारणमा धार नभएको प्रहार (Blunt Force) बाट टाउको समेतमा परेका विभिन्न चोटहरूको कारण दिमागलाई समेत असर पर्न गई मृत्यु भएको (Cummulative effect of blunt force multiple injuries over the lower limbs and head leading to concussion of the brain)  भन्ने देखिन्छ । यसबाट मृतकको मृत्युको कारण निजलाई धार नभएको चिजले प्रहार गरेको भन्ने तथ्य स्थापित भएको छ ।

७.    प्रतिवादीले जिल्ला सरकारी वकील कार्यालयमा जिल्ला न्यायाधिवक्तासमक्ष प्रहरी अधिकृतलाई दिएको बयानमा आफूले मासु बिक्री गरी कमाई ल्याएको पैसा श्रीमतीलाई राख्न दिएकोमा माग्दा नदिने र रक्सी खाने गरेको कारणबाट निजसँग रिस उठिरहेको र जाहेरीमा उल्लिखित मितिमा पनि मासु बिक्री गरी डेरामा आउँदा श्रीमतीले मादक पदार्थ सेवन गरी मात्तिई बेहोश अवस्थामा फेला पारेको, किन रक्सी खाएको भन्दा उल्टै गाली गरेकोले बक्सिङले कुटपीट गरी लडाई मुख थुनी बोल्न कराउन नदिई न्याकी मारेको भन्ने उल्लेख गरेको पाइन्छ । निजले अदालतमा गरेको बयान हेर्दा मासु बेचविखन गरी घर आउँदा श्रीमती पनि रक्सी सेवन गरी बसिरहेकीले किन रक्सी सेवन गरेको भनी भनाभन भएको, निजले आफ्नै जीउ सम्हाल्न नसकेकीले किन यति धेरै सेवन गरेको भनी गाली गर्दा निजले तैंले खाँदा हुने मैले किन नहुने भनी आफूलाई झम्टिँदा श्रीमतीलाई हातले गालामा र ढाडमा हानेको, आफूले पनि रक्सी सेवन गरेको नशाले कति कुटपीट गरेको थाहा नभएको, सोही कुटपीटका कारण निज श्रीमतीको मृत्यु भएको भन्ने उल्लेख गरेको देखिन्छ । यसरी अन्य कुनै रोग लागेर मृतकको मृत्यु भएको नभई कुटपीटको परिणामबाट भएको कुरामा कुनै शंका रहेन । यसमा प्रतिवादी अदालतमा समेत सावित रहेको देखिएको अवस्थामा मृतकको मृत्युको कारण सम्बन्धमा थप विवेचना गरिरहनु पर्ने अवस्था  छैन ।

८.    पुनरावेदक प्रतिवादीले पुनरावेदनपत्रमा आफूले मृत्तकलाई रक्सीको नशाको सुरमा तत्काल उठेको रिसको कारण कुटपीट गरेको भए पनि मार्ने मनसायले कुटपीट नगरेकोले परिणामको विचारै गर्न नसक्ने मानसिक अवस्थामा गरिएको कार्यलाई हत्याको कसूरको संज्ञा दिन र ज्यानमारा सरह सजाय गर्न नमिल्ने भन्ने जिकीर लिएको देखिन्छ । 

९.    सो सम्बन्धमा विचार गर्दा मुलुकी ऐन, दण्ड सजायको महलको १ नं.को व्यवस्था हेर्नुपर्ने हुन आउँछ । उक्त १ नं. ले आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको वा बौलाएको व्यक्तिले अपराध गरेको भए त्यस्ता व्यक्तिलाई आपराधिक दायित्वबाट उन्मुक्ति हुनसक्ने व्यवस्था गरेकोछ । सो अवस्था बाहेकको अवस्थामा आपराधिक दायित्वबाट पूर्ण उन्मुक्ति दिन कानूनतः मिल्दैन ।

१०.    मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं.ले मृतकप्रति अचानक उत्तेजित भै आत्मनियन्त्रण गुमाई अपराध गरेको अवस्था अर्थात आवेशप्रेरित हत्यामा नियतवश गरिएको हत्यामा हुने भन्दा कम सजायको व्यवस्था गरेको छ । उक्त नं.मा – “ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्ने सम्मको इवि पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ, उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुँगा, लात मुक्का इत्यादि हान्दा सोही चोट पीरले ऐनका म्याद भित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छभन्ने व्यवस्था रहेको देखिन्छ । यस्तो अवस्थाको हत्यालाई अपेक्षाकृत कम गम्भीर कसूर मानेर नियत र पूर्वयोजनासाथ गरिएको हत्यामा हुन सक्ने सजायभन्दा आधी सजाय गर्ने व्यवस्था उक्त दफाले गरेको छ ।

११.    प्रस्तुत मुद्दाको घटनाक्रम हेर्दा आफूले कमाई ल्याएको पैसा राख्न दिएकोमा सो पैसा माग्दा नदिने गरेको र बढी रक्सी खाने गरेको कारण प्रतिवादीको आफ्नो श्रीमतीप्रति पहिलादेखि नै रिस उठिरहेको अवस्था रहेको देखिन्छ । वारदातको दिन पनि निज मृतकले रक्सी खाई मात्तिएको अवस्थामा फेला परी किन रक्सी खाएको भन्दा उल्टै यी प्रतिवादी माथी दोषारापण गरेको कारण भनाभन भएको र सोही रीसले कुटपीट गरी घाँटी न्याकी दिएको र त्यसको दुई दिनपछि अर्थात ज्यानसम्बन्धी महलको १० नं.को म्यादभित्रै मृतकको मृत्यु भएको भन्ने देखिन्छ । ज्यानसम्बन्धीको १४ नं.ले वारदात पूर्वको इबी तथा मनसाय बाहेकको अवस्थालाई समेटेको छ । साथै जोखिमी हतियारको प्रयोगलाई पनि बाहेक गरेकोछ । सामान्य अवस्थामा मृतकको अचानक उत्तेजनाको प्रतिक्रिया स्वरुप तत्कालै उठेको रीसलाई नियन्त्रण गर्न नसकी साधारण लाठा, ढुंगा, लात, मुक्काले  आक्रमण गर्दा मृत्यु भएमा त्यस्तो अवस्थाको हत्यालाई आवेशपूर्ण हत्याको संज्ञा दिइन्छ । मृतकको कार्यले प्रतिवादीले आत्मनियन्त्रण गुमाउने परिस्थितिको अवस्था थियो कि थिएन भन्ने कुरा गणितीय हिसावमा मापन गर्न नसकिए पनि यस्तो कुरा कुनै घटनाको प्रकृति र परिस्थितिद्वारा निर्धारण गरिने कुरा  हो । यसमा स्वाभाविक मानवीय भावना र संवेदनशीलता जस्ता कुराहरू पनि विचारणीय हुन्छन् । प्रतिवादीकै क्रियाकलापको कारण अथवा प्रतिवादीले नै पहिला मृतकलाई उत्तेजित पारी मृतकको प्रतिक्रियात्मक गतिविधिबाट आवेशको अवस्था उत्पन्न गराउने क्रिया सिर्जित भएमा त्यस अवस्थालाई तत्काल उठेको रिस अथवा तात्कालीन आवेशको संज्ञा दिन मिल्दैन ।

१२.   प्रस्तुत मुद्दाको वारदातलाई दुई दृष्टिकोणबाट विचार गर्नुपर्ने देखिन्छ । प्रथमतः यी प्रतिवादी पहिलादेखि नै आफ्नो श्रीमती कुलमाया शेर्माको रक्सी खाने र पैसाको ठीक ढंगले संरक्षण नगरेको कारण रूष्ट रहेको देखिन्छ । त्यसमा पनि वारदातको दिन कुलमायाले आफ्नो प्रतिरक्षा गर्नुभन्दा प्रतिवादीमाथि दोषारोपण गरेबाट निजको व्यवहार प्रतिवादीका लागि असह्य हुन गएको देखिन्छ । त्यस्तो अवस्थामा श्रीमतीलाई ज्यानै मार्ने मनसाय प्रतिवादीमा सिर्जना भई सोही मनसायसाथ कुटपीट गरेको देखिन्छ । दोस्रो, शव परीक्षण प्रतिवेदन समेतबाट धार नभएको हतियार (Blunt Force) बाट टाउको समेतमा घातक प्रहार गरेको अवस्था छ । यस्तो प्रहारलाई तात्कालीक आवेशबाट गरिएको कार्य अथवा साधारण कुटपीट भन्न सकिँदैन । घाउ चोटको प्रकृतिले पनि यी प्रतिवादीको पहिलादेखिको घरायसी रिस कुलमायालाई मार्ने मनशायमा परिणत भई सोही मनशायले नै घातक प्रहार गरेको देखिन आएबाट यो वारदात ज्यानसम्बन्धीको १४ नं. अन्तर्गत आवेशप्रेरित हत्याको वारदात हो भन्न सकिँदैन । 

१३.   प्रतिवादीले आफूले पनि रक्सी सेवन गरेको कारण होशमा नरहेको र कामको परिणाम र प्रकृति थाहा नपाउने अवस्थामा मृतकलाई कुटपीट गरेकोले सजायबाट उन्मुक्ति पाउन जिकीर लिएको अवस्था छ । अधिक मादक पदार्थको सेवनले मानसिक उत्तेजना बढाउँछ भन्ने कुरा सामान्य समझबुझ भएको जोसुकैले बुझ्न सक्ने कुरा हो । प्रतिवादीको भनाइलाई नै मान्ने हो भने पनि प्रस्तुत मुद्दामा मादक पदार्थको सेवन गरी मानसिक उत्तेजना बढाउने कार्य प्रतिवादींको स्वेच्छा मुताविक भएको देखिन्छ । आफ्नो इच्छित कार्यबाट उत्पन्न भएको परिणामलाई अनिच्छाको वा वेहोशीको अवस्थामा गरिएको कार्यको रुपमा हेर्न मिल्दैन । सचेत अवस्थामा आफूले गरेको कुनै कार्यले खराव परिणाम निकाल्न सक्छ भन्ने जान्दाजान्दै पनि सो कार्यमा तल्लीन भई खराव परिणाम उत्पन्न भएमा त्यसको जवाफदेहीता पनि निजले नै बहन गर्नुपर्ने हुन्छ । प्रतिवादी वारदातभन्दा पहिला कुनै पनि मानसिक असन्तुलन (Mental Abnormally) बाट ग्रस्त भएको पाइँदैन । आफूले आफ्नो जीवनको दैनिकी र पेशा सम्बन्धी काम पनि सुचारूढंगले नियमित गरेको देखिन्छ । यस्तो अवस्थामा आफ्नो स्वेच्छाले मादक पदार्थ सेवन गरेको र सो सेवनसमेतको असरबाट थप उत्तेजित भई मृतकलाई अन्धाधुन्ध कुटपीट गरेको कार्यबाट मृतकको मृत्यु भएको हुँदा त्यस्तो अपराधलाई मनसायप्रेरित हत्याकै कोटीमा राखेर हेर्नुपर्ने हुन्छ । त्यसकारण मादक पदार्थको सेवनबाट मातेकोले होश नभएको अवस्थामा कुटपीट गरेको भन्ने आधारमा मनसायरहित हत्याको वारदात ठहर्‍याउनु न्यायोचित हुँदैन । सामान्य समझबुझको व्यक्तिले नशा हुने मादक पदार्थसमेत सेवन गरी वा नगरी गरेको कसूरको लागि ऐनबमोजिम हुने सजायको भागी पनि सोही व्यक्ति बन्नुपर्ने हुन्छ । यही फौजदारी न्यायको सिद्धान्त हो । मादक पदार्थको सेवनबाट अपराधको प्रकृतिमा अन्तर आउँदैन र सजायमा छुटको आधार बन्न सक्दैन ।

१४.   यस अवस्थामा प्रतिवादीले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत कसूर अपराध गरेको ठहर गरी सोही महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहराएको शुरु झापा जिल्ला अदालतको मिति २०६२।३।१४ को फैसला सदर हुने ठहराएको पुनरावेदन अदालत इलामको मिति २०६३।७।१२ को फैसला इन्साफको दृष्टिकोणबाट मिलेको देखिएकोले सदर हुन्छ ।

१५.   अब, मुलुकी ऐन, अदालती बन्दोवस्तको १८८ नं. बमोजिम सजाय घटाउने राय जाहेर गरेको मिलेको छ छैन भन्नेतर्फ विचार गर्नुपर्ने देखियो । उक्त कानूनी व्यवस्थाले फौजदारी न्याय सम्पादनको सिलसिलामा गम्भीर प्रकृतिको कसूर गरेबापत सर्वस्वसहित जन्मकैद वा जन्मकैदको सजाय भएका कसूरदाहरूका लागि ऐनले हुने सजायमा आँशिक छुट दिन सकिने अदालतलाई प्राप्त विशेष प्रकृतिको तजविजी अधिकार प्रदान गरेको छ । त्यसकारण यसको प्रयोग पनि सामान्य होइन, विशेष परिस्थितिका कसूरदारलाई वास्तविक न्याय दिलाउने प्रयोजनका लागि गर्नुपर्ने हुन्छ । यस अदालतले केही खास अवस्था र परिस्थितिहरूमा अपराध घटित भएको देखिएको अवस्थामा अपराध गर्दाको पूर्वावस्था, पृष्ठभूमि, अभियुक्तको उमेर, शारीरिक अवस्था, पारिवारिक निर्भरता, अनुसन्धान एवम् न्यायिक प्रक्रियामा उसले पुर्‍याएको सहयोग र उसको व्यवहारमा भविष्यमा हुन सक्ने सम्भावित सकारात्मक परिवर्तन जस्ता आधारहरूमा सजायको सुधारात्मक अवधारणाअनुरूप कसूरदारलाई ऐनले हुने सजाय घटाउन आफ्नो विशेष तजविजी अधिकारको प्रयोग गर्नुपर्ने परिपाटीको विकास गरेको छ । प्रस्तुत मुद्दाको सन्दर्भमा हेर्दा प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १३(३) नं.ले हुने सर्वस्वसहित जन्मकैदको सजाय पुनरावेदन अदालतले घटाई १० वर्ष कैद गर्न जाहेर गरेकामा यो अदालती बन्दोबस्तको १८८ नं. को व्यवस्थाको उद्देश्यअनुरूप छ, छैन भनी संक्षेपमा विचार गर्नुपर्ने देखिन्छ ।

१६.    प्रतिवादी र मृतक पति पत्नी नाताका व्यक्ति हुन् । पतिले आफ्नो पेशाबाट आर्जन गरेको रकम पत्नीले जथाभावी खर्च गर्ने र पतिले माग गर्दा नदिने गरेको जथाभावी मादक पदार्थ खाई पैसा खर्च गरेकी भन्ने समेत प्रतिवादीको बयानबाट खुल्दछ । वारदातको दिन २०६०।११।१५ गते पनि पति आफ्नो पेशाको काम सम्पन्न गरी डेरामा फर्किंदा पत्नीले मादक पदार्थ सेवन गरेको र पतिले यसरी धेरै मादक पदार्थ खान हुँदैन भनी सम्झाउँदा पनि नमानी विरोध गरेकीले एक आपसमा भनाभन भै पतिले कुटपीट गरेको कारण २०६०।११।१७ गतेका दिन पत्नी कुलमाया शेर्माको मृत्यु भएको देखिन्छ । यसबाट के स्पष्ट हुन्छ भने पत्नीको व्यवहारले पतिलाई आजित र दुःखी बनाइरहेको स्थिति रहेको छ । यस्तो अवस्था कुनै अनौठो नभई प्रचलित परिवेशमा यसलाई सामान्य अवस्था भन्न  सकिन्छ । यस्तो अवस्थामा पत्नीको विरोधी स्वभाव र अनपेक्षित प्रतिकूल व्यवहारले प्रतिवादीलाई झन् बढी दुःखी, क्रूद्ध र असहिष्णु बनाएको देखिन्छ । यसै अवस्थामा यी प्रतिवादीले आफूले मृतकलाई कुटपीट गरेको र त्यसैको कारण निजको मृत्यु भएको भनी अदालतमा तथा प्रहरीमा समेत सावित भई अनुसन्धान र न्यायिक प्रक्रियालाई समेत सहयोग गरेको पाइयो । निज प्रतिवादी पेशेवर अपराधी भन्ने मिसिलबाट देखिँदैन । आफू सुघ्रिन सक्ने भन्दै बालबच्चाप्रतिको दायित्व निर्वाह गर्नुपर्ने जिम्मेवारीसमेत आफूमा रहेको भनी यस अदालतमा पुनरावेदन गर्दा प्रतिवादीले पश्चातापपूर्ण अभिव्यक्ति व्यक्त गरेको अवस्था छ ।

१७.   कसैले कसैको ज्यान मार्नु निश्चय नै क्षमायोग्य अपराध होइन । गम्भीर अपराध  हो । लोग्नेले आफैंले विवाह गरी ल्याएकी आफ्नी जीवन सङ्गिनी पत्नीलाई मार्नु घोर अपराध हो । पतिबाट पत्निले जीउ र इज्जतको सुरक्षा चाहन्छिन् असुरक्षाको कल्पना पनि गर्दिनन् । त्यसैले पत्नीको असुरक्षा र जीउ ज्यानको खतरा हुने क्रियाकलाप र स्थितिलाई बढावा दिइनु पनि हुँदैन । तर मार्नु पर्ने खासै गम्भीर कारण र बदला नै लिनु पर्ने इबीको अभावमा यी पुनरावेदक प्रतिवादीले कसूर गरेको छ । अपराध गर्दा अभियुक्तको उमेर ३४ वर्ष र अहिले ४० वर्षको छ । निज प्रतिवादीले अपराध गरेको परिस्थिति, निजले अनुसन्धान र न्यायिक प्रक्रियामा देखाएको सहयोग र सदाशयता, बालबच्चाप्रति व्यक्त गरेको आफ्नो जिम्मेवारीको अनुभूति, पूर्व अपराधिक पृष्ठभूमिको अभाव र आफू सुध्रन सक्ने भनी व्यक्त गरेको याचनाभावबाट निज आफूले गरेको आपराधिक कार्यबाट नितान्त दुःखी भएको र पश्चाताप व्यक्त गरेको समेत देखिन्छ । यी सम्पूर्ण कुराहरूको विश्लेषण गरी हेर्दा प्रतिवादीलाई ऐनले हुने सजायमा कमी गर्न सक्ने विशेष तजविजी अधिकारको प्रयोग गर्नु उचित हुने देखिन्छ ।

१८.   अब के कति सजाय कम गर्दा ठीक हुन्छ र न्यायको मकसद पूरा हुन्छ भन्नेतर्फ विचार गर्दा अधिकाँश सजाय कमी गरी ज्यानसम्बन्धीको १३(३) नं. को कसूर र सजाय गरेको निर्णयमाथि नै प्रश्न चिन्ह खडा गर्नु वा प्रतीकात्मक रुपमा अत्यन्त न्यून मात्रामा मात्र सजायमा कमी गर्नु पनि उक्त अ.वं. १८८ नं. को उद्देश्य होइन । अपितु कसूरको अनुपातमा वास्तविक न्यायका लागि सजायमा कमी गर्नु नै उचित र ऐनको उद्देश्यअनुरूप हुन सक्दछ । तसर्थ अदालती बन्दोवस्तको १८८ नं. बमोजिम प्रतिवादी टेकबहादुर साँवा (लिम्बू) लाई ७ वर्ष कैद गर्न शुरूले जाहेर गरेको रायमा असहमति जनाई निज प्रतिवादीलाई १० (दश) वर्ष कैद गर्न पुनरावेदन अदालत इलामले जाहेर गरेको राय सजायमा सन्तुलित र उचित नै देखिन आएको हुँदा उक्त रायसमेत सदर हुन्छ । दायरीको लगत कट्टा गरी प्रतिवादीलाई १० (दश) वर्षको कैद ठेकी कैदी पूर्जी दिनु भनी शुरु जिल्ला अदालतमा लेखी पठाउनू ।

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या. ताहिर अली अन्सारी

न्या. राजेन्द्रप्रसाद कोइराला

 

इति संवत् २०६६ साल कात्तिक १२ गते रोज ५ शुभम्....

 

इजलास अधिकृत :–  दीपककुमार दाहाल

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु