शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०२८७ - कर्तव्य ज्यान

भाग: ६१ साल: २०७६ महिना: असोज अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपककुमार कार्की

माननीय न्यायाधीश श्री कुमार रेग्मी  

फैसला मिति : २०७६।५।८

०७४-CR-११४२

 

मुद्दाः- कर्तव्य ज्यान

 

पुनरावेदक / प्रतिवादी : गडुलबहादुर तामाङको छोरा दोलखा जिल्ला साबिकको भ्याकु गा.वि.स. वडा नं. ९ घर भई हाल कारागार कार्यालय जगन्‍नाथदेवल काठमाडौंमा थुनामा रहेको वर्ष ३४ को वरूण लामा भन्‍ने वरूण सिंह लामा

विरूद्ध

प्रत्यर्थी / वादी : लेखबहादुर रेग्मी मगरको जाहेरीले नेपाल सरकार

 

घटनाको समग्र स्वरूप एक प्रकृतिको हुने र प्रतिवादीको जिकिर अर्कै प्रकृतिको भएको अवस्थामा निरपेक्ष रूपले प्रतिवादीको बयान जिकिरलाई मात्र आधार लिएर निष्कर्षमा पुग्नु त्रुटिपूर्ण हुने ।

(प्रकरण नं.१०)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता डा. श्री रजितभक्त प्रधानाङ्ग र वरिष्ठ अधिवक्ता श्री शम्भु थापा

प्रत्यर्थी / वादीका तर्फबाट : 

अवलम्बित नजिर : 

ने.का.प.२०७३, अंक ३, नि.नं.९५६७

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

मा. न्यायाधीश श्री कृष्ण कमल अधिकारी

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ वैद्य

माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना

उच्च अदालत, पाटन

 

फैसला

न्या.दीपककुमार कार्की : उच्च अदालत पाटनबाट मिति २०७४।५।६ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम प्रतिवादीको तर्फबाट पुनरावेदन परी नियमानुसार पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः-

तथ्य खण्ड

जिल्ला काठमाडौं, काठमाडौं

महानगरपालिका वडा नं.७ सरस्वतीनगर स्थित पूर्व याङतारू सेकुवा कर्नर घर, पश्‍चिममा गोपीकृष्‍णबाट सात तलेतर्फ जाने सडक, उत्तरमा सानुमाया डंगोलको नाममा दर्ता रहेको जग्‍गा टहरा, दक्षिणमा निज सानुमाया डंगोलको नाममा दर्ता रहेको जग्‍गा यति चार किल्लाभित्र सडकको पूर्व किनारमा रगत रहेको, सो नजिकै भुइँमा रगतजस्तो रातो पदार्थ लागेको गोलाई १० ईन्च, लम्बाई ५ ईन्‍च भएको सेतो रङ्गको ढुङ्गा रहेको सोही ढुङ्गा रहेको स्थानमा मिति २०६७।७।१७ गतेका अं.२०.०० बजेको समयमा श्यामबहादुर रेग्मी मगरलाई संजिव गुरूङसमेतले लात मुक्‍का तथा ढुङ्गासमेत प्रहार गरी कुटपिट गरी गम्भीर घाइते बनाएको र घटनास्थलमा फेला परेको उल्लिखित ढुङ्गा प्रहरीले उठाई लगेको भन्‍नेसमेत बेहोराको घटनास्थल प्रकृति मुचुल्का ।

मिति २०६७।७।१७ गतेको बेलुका का.जि., का.म.न.पा.७ स्थितमा रहेको याङतारू सेकुवा कर्नरबाट म जाहेरवालाको भाइ वर्ष ३१ को श्यामबहादुर रेग्मी मगर तथा निजका साथीहरू अशोककुमार यादवसमेत खाजा खाई घरतर्फ फर्कने क्रममा सोही बेलुकी अं.२०:४० बजेको समयमा मेरो भाइ श्यामबहादुर रेग्मी मगरलाई प्रतिवादीहरू वरूण लामासमेत निजका मतियारहरू गरी जम्मा ७/८ जना मानिसहरूले लात, मुक्‍का र ढुङ्गासमेतले टाउकोसमेतमा प्रहार गरी कुटपिट गरी गम्भीर घाइते बनाएको तत्काल उपचारको क्रममा सोही बेलुका राति अं. ११:४५ बजेतिर मृत्यु भएकोले मेरो भाइलाई यसरी कुटपिट गरी कर्तव्य गरी मार्ने वरूण लामासमेतलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको लेखबहादुर रेग्मी मगरको जाहेरी दरखास्त ।

मृतक श्यामबहादुर रेग्मी मगरको निधारको बायाँ साइडमा २ ईन्‍च लम्बाई २ ईन्‍च चौडाई भएको काटेको घाउ, बायाँ गालामा निलो घाउ भएको, मुखबाट रगत बगेको, अनुहारको भाग सुन्‍निएको, च्यापुको दायाँ साइडमा निलो खोस्रिएको घाउ, बायाँ कन्चटमा सुन्‍निएको भन्‍नेसमेत बेहोरा उल्लेख भएको लासजाँच प्रकृति मुचुल्का ।

मिति २०६७।०७।१७ गतेका बेलुका का.जि., का.म.न.पा.७ सरस्वतीनगर स्थित बिमा समितिको भवन नजिकै एक्‍कासी मेरो साथीहरू वरूण लामा, आशिष गुरूङ र राजु श्रेष्‍ठसँग भेट भयो । निजहरूसँग साततारे स्थितमा स्नोकर बाजी 

खेली हामी सबैजना का.जि., का.म.न.पा.७ सरस्वतीनगर स्थितमा रहेको याङतारू सेकुवा कर्नरमा खाजा खान गयौं । सो खाजा घरमा गई हामी खाजा खान थालेपछि साथी राना भन्‍ने देव लामालाई पनि मैले सोही स्थानमा खाजा खान बोलाएँ । साथी राजुको व्रत भएको र केही खान नमिल्ने भएकाले निज केही बेरमा आफ्‍नो घरतिर गए ।  हामी ४ जना बसी सेकुवा र बियर अर्डर गरी खान थाल्यौं ।  हामीलाई हल्का वियरको नसासमेत लागेको थियो । हामी खाजा खाने क्रममा पछि नाम थाहा भएका मृतक श्यामबहादुर रेग्मी मगर र निजका साथीहरू गरी जम्मा ३ जना मानिसहरू पनि सोही स्थानमा आई अर्को टेबुलमा बसी खाजा खान थाले । खाजा खाने क्रममा मृतक र वरूण लामाको आँखा तरातर भएपछि वरूण र आशिषले मृतकलाई पिट्ने सल्लाह गरी निजहरू बाहिर निस्की मानिस कुट्न थाले । त्यसरी वरूण र आशिषले मृतकलाई ढुङ्गा र लात मुक्का प्रहार गरी जमिनमा ढाले । मृतकको अनुहारबाट रगत बगिरहेको थियो । मृतकका साथीहरूलाई निजहरूले धकेल्न थाले । त्यसै क्रममा होटलवालासमेतले थाहा पाई बाहिर निस्के, मलाई डर लाग्यो । म सो स्थानबाट भागेर घरतर्फ गएको 

हुँ । घाइतेको उपचारको क्रममा मृत्यु भएको रहेछ भनी प्रतिवादी संजिव भन्‍ने संजिभ गुरूङको बयान कागज । 

मिति २०६७।०७।१७ गतेका बेलुका साथी संजिभ गुरूङले फोन गरी खाजा खान बोलाएका कारण सेकुवा कर्नरमा गएँ । सेकुवा कर्नरमा वरूणसमेत खाजा खाँदै रहेछन् । खाजा खाँदै गर्दा मृतक र वरूणबिच आँखा तरातर भएछ । यताबाट मृतकलाई वरूणले आमाचकारी गाली गर्‍यो । उताबाट मृतकले पनि अपने जग्गामे कुत्ता भि शेर होता हे भनेर जवाफ दिएपछि वरूणलाई रिस उठेछ । वरूण र आशिषले झगडा गर्ने कुरा गरी होटलको ढोका बाहिर कुराकानी गरी बसिरहेको थियो । त्यसैक्रममा मृतक र निजका साथीहरू होटलबाट निस्किएपछि वरूण र आशिषले लात, मुक्का, ढुङ्गा प्रहार गरी कुटपिट गर्न 

थाल्यो । मृतक रगताम्य भई सोही स्थान जमिनमा ढले । मृतकका साथीहरूलाई पिट्न थाले मैले सोही स्थानमा गई छुट्याएको हुँ । मृतक बेहोस जस्तै भई लडिरहेको थियो । घाइतेको उपचारको क्रममा मृत्यु भएको रहेछ भनी प्रतिवादी राना भन्‍ने देव लामाको बयान कागज ।

BLUNT FORCE TRAUMA TO THE HEAD भन्‍ने बेहोराको मृतक श्यामबहादुर रेग्मी मगरको शव परीक्षण प्रतिवेदन ।

वरूण लामासमेत ४ जना म र मेरो श्रीमान्‌ले सञ्चालन गरेको सेकुवा कर्नरमा आई एउटै टेबलमा बसी खाजा खान थाले । केहीबेरमा निजहरूका साथी राना भन्‍ने देव लामा आए र सँगै बसी सेकुवा र वियर खान थाले । राजु भन्‍ने व्यक्ति चाहीँ उठेर घरतर्फ लागे । पछि मृतक श्यामबहादुर रेग्मी मगर र निजका साथीहरूसमेत आई अर्को टेबलमा बसी खाजा खान थाले । संजिभका ग्रुपहरू होटल बाहिर निस्की गएका थिए । मृतकका ग्रुपहरू २०/२५ मिनेटपछि बाहिर निस्किए । त्यसैबेला बाहिर मानिस हल्ला गरी मार्‍यो मार्‍यो भन्दै कराएको सुनी बाहिर निस्की हेर्दा सडक छेउमा श्यामबहादुर रेग्मी मगर रगताम्य भई लडेका र लडेका माथि आशिष गुरूङले लातले मुख छाड्दै पिटेको देखेँ । मैले हार गुहार मागेपछि त्यसपछि आशिष पनि भागेर गए । मृतकका साथीहरू पनि सो स्थानमा आई मृतकलाई उठाए । घाइतेलाई ट्याक्सीमा हाली उपचारको लागि हस्पिटलमा लागेका हुन् । उपचार गराउँदा गराउँदै निज श्यामबहादुर रेग्मी मगरको मृत्यु भएको हो भन्‍नेसमेत बेहोराको दुर्गा आङ्दङ्वे लिम्बूको कागज । 

वरूण लामासमेत ४ जना म र मेरो श्रीमतीले सञ्चालन गरेको सेकुवा कर्नरमा आई एउटै टेबलमा बसी खाजा खान थाले । केहीबेरमा निजहरूका साथी राना भन्‍ने देव लामा आए र सँगै बसी सेकुवा र वियर खान थाले ।  राजु भन्‍ने व्यक्ति चाहीँ उठेर घरतर्फ लागे । पछि मृतक श्यामबहादुर रेग्मी मगर र निजका साथीहरूसमेत आई अर्को टेबलमा बसी खाजा खान थाले । संजिभका ग्रुपहरू होटल बाहिर निस्की गएका थिए । मृतकका ग्रुपहरू २०/२५ मिनेटपछि बाहिर निस्किए । त्यसैबेला बाहिर मानिस हल्ला गरी मार्‍यो मार्‍यो भन्दै कराएको सुनी बाहिर निस्की हेर्दा सडक छेउमा श्यामबहादुर रेग्मी मगर रक्ताम्य भई लडेको 

देखेँ । घाइतेलाई ट्याक्सीमा हाली मसमेतले उपचारको लागि हस्पिटलमा पठाएको हुँ । उपचार गराउँदा गराउँदै निज श्यामबहादुर रेग्मी मगरको मृत्यु भएको हो । पछि थाहा पाएअनुसार प्रतिवादी वरूण सिंह लामासमेतले कुटपिट गरेका रहेछन् भन्‍नेसमेत बेहोराको थिरेन्द्र थाम्सुहाङको कागज । 

मिति २०६७/०७/१७ गतेको बेलुका ६ बजेतिर म, मृतक श्यामबहादुर रेग्मी मगर र राकेश महतो का.जि., का.म.न.पा. वडा नं.७ मा रहेको याङतारू सेकुवा कर्नरमा खाजा खान गएका 

थियौं । होटलमा बसी खाजा खाने क्रममा होटलको अर्को टेबुलमा वरूण सिंह लामासमेत बसी खाजा वियर खाँदै गरेको देखेका हौं । आशिष गुरूङसमेत वियर खाँदै अलि ठुलो स्वरमा हल्ला गर्दै कुराकानी गरेका र हामीले हेर्दा निजहरूले हामीलाई आमाचकारी गाली गर्‍यो । हामी चुप लागेर बस्यौं र बाहिर गएर ठिक पार्छु भन्दै कुरा गर्न थाले । त्यसपछि बिल तिरेर निजहरू 

निस्किए । हामी पनि बिल तिरेर बाहिर निस्की जान लाग्दा एक्कासी वरूण लामासमेत ५/६ जना मानिसहरूले हातमा ढुङ्गा लिई आई श्यामबहादुर रेग्मी मगरलाई प्रहार गर्न थाले । मृतक सोही स्थानमा जमिनमा ढले । निजहरूले लात मुक्का, ढुङ्गाले मृतकलाई प्रहार गरी रक्ताम्य बनाए । म र राकेशलाई समेत लात मुक्का प्रहार गर्न थालेपछि हामीहरूले हार गुहार माग्यौं । होटलको साहुजी र साहुनीसमेतले थाहा पाएपछि निजहरू भागेर गएपछि मसमेतले घाइते श्यामबहादुर रेग्मी मगरलाई उपचार गराउन अस्पताल लगेका हौं । पछि उपचारको क्रममा निजको मृत्यु भएको हो भन्‍नेसमेत बेहोराको अशोककुमार यादवको कागज । 

मिति २०६७/०७/१७ गते बेलुका ६ बजेतिर म, मृतक श्यामबहादुर रेग्मी मगर र अशोककुमार यादव का.जि.का.म.न.पा. वडा नं.७ मा रहेको याङतारू सेकुवा कर्नरमा खाजा खान गएका थियौँ । होटलमा बसी खाजा खाने क्रममा होटलको अर्को टेबुलमा वरूण सिंह लामासमेत बसी खाजा वियर खाँदै रहेछन् । खाजा खाने क्रममा वरूण लामासमेतका मानिसहरू अलि ठुलो स्वरले कुराकानी गर्न 

थाले । पछि हामीले हेर्दा के हेरेको भनी निजहरूले हामीलाई आमाचकारी गाली गर्‍यो । हामी चुप लागेर बस्यौं र बाहिर गएर ठिक पार्छु भन्दै कुरा गर्न 

थाले । त्यसपछि बिल तिरेर निजहरू निस्किए । हामी पनि बिल तिरेर बाहिर निस्की जान लाग्दा एक्कासी वरूण लामासमेतले हातमा ढुङ्गा लिई श्यामबहादुर रेग्मी मगरलाई लाता मुक्का र ढुङ्गा प्रहार गरे । मृतक सोही स्थानमा जमिनमा ढले । मृतक रक्ताम्य भई लडेका थिए । हामीहरूलाई समेत निजहरूले हातपात गर्न थालेपछि हामीहरूले हार गुहार माग्दा होटलको साहुजी र साहुनीसमेतले थाहा पाएपछि निजहरू भागेर गएपछि मसमेतले घाइते श्यामबहादुर रेग्मी मगरलाई उपचार गराउन अस्पताल लगेका हौँ । पछि उपचारको क्रममा निजको मृत्यु भएको हो भन्‍नेसमेत बेहोराको राकेश महतोको कागज । 

मिति २०६७/०७/१७ गतेका बेलुकाको समयमा का.जि., का.म.न.पा. वडा नं. ७ सरस्वतीनगर स्थितमा वरूण लामासमेतले श्यामबहादुर रेग्मी मगरलाई लाता, मुक्का, ढुङ्गा प्रहार गरी कुटपिट गरी घाइते बनाएका र पछि उपचारको क्रममा निज श्यामबहादुर रेग्मी मगरको मृत्यु भएको भन्‍ने सुनी थाहा पाएका हौं भन्‍नेसमेत बेहोराको करिब एकै मिलानको प्रकाशकुमार मगर, सानु पूर्वछाने मगर, होमराज खपाङ्गी मगरको घटना विवरण कागज । 

घटनाका दिन कमल श्रेष्ठ हामीसँग भेट भएको छैन, निजलाई हामीले घटनाका दिन देखेको छैनौँ । कमल श्रेष्ठले निज श्यामबहादुर रेग्मी मगरलाई कुटपिट गरेको देखेनौं भन्‍नेसमेत बेहोराको एकै मिलानको प्रतिवादीहरू संजिव भन्‍ने संजिभ गुरूङ र राना भन्‍ने देव लामाको ततिम्बा बयान । 

मिति ०६७।७।१७ गते प्रतिवादी संजिव गुरूङ, देव लामा, आशिष गुरूङ र वरूण लामासमेतका व्यक्तिहरू र मृतक श्यामबहादुर रेग्मीको समूहबिच आँखा तरातर भएको विषयमा विवाद उत्पन्न भई प्रतिवादीहरूले लात मुक्का ढुङ्गासमेतले कुटपिट गरेको चोटले श्यामबहादुर रेग्मीको मृत्यु भएको हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं.को कसुरमा सोही महलको १३ नं. बमोजिम सजायको मागदाबी लिई प्रतिवादी देव लामा, संजिव भन्ने संजय गुरूङलाई अभियोग पत्रसाथ पेस गरी प्रतिवादी वरूण लामा, आशिष गुरूङ र कमल श्रेष्ठको हकमा निजहरूको यकिन ठेगाना खुली वा पक्राउ परी आएका बखत वरूण लामासमेत उपर कानूनबमोजिम मुद्दा दायर गरिनेसमेत बेहोराको अभियोग माग दाबी । 

मिति ०६७।०७।१७ गते बेलुका अं. २०:०० बजेको समयमा का.जि., का.म.न.पा वडा नं. ७ सरस्वतीनगर स्थित याङ याङतारू सेकुवा कर्नरमा खाजा खान गएका प्रतिवादीहरू राना भन्ने देव लामा र संजिव भन्ने संजिव गुरूङसमेतको ग्रुप र मृतक श्यामबहादुर रेग्मी मगरसमेतको ग्रुपबिच आँखा तरेको भन्ने विषयमा दुई ग्रुपबिच झगडा भई निज प्रतिवादीहरूले ज्यान मार्ने गरेको देखिँदा निज प्रतिवादीरूको कार्य ज्यानसम्बन्धी महलको १७(२) को अवस्था देखिँदा निजहरूलाई ५ वर्ष कैद हुने ठहर्छ भन्नेसमेत बेहोराको काठमाडौं जिल्ला अदालतको फैसला कागज । 

मिति ०६७।०७।१६ गते का.जि., का.म.न.पा. वडा. नं ७ स्थित वारदातस्थानबाटै भागी फरार रहेका प्रतिवादीहरूमध्ये तत्काल यकिन नामथर र वतन नखुली हाल यकिनसाथ वतनसमेत खुली पक्राउमा परी आएका वरूण सिंह लामाउपर कानूनबमोजिम होस् भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन ।

मिति ०६७।०७।१७ गते दिउँसो अं. १६:०० बजेका समयमा का.जि., साततलेस्थित स्नुकर खेल्न भनी जाँदै गर्दा साथी संजिभ गुरूङसँग भेट भयो, निज संजिभ र म सँगै स्नुकर हाउसमा गयौं, स्नुकर हाउसमा अरू साथी संजिभले कतिबेर प्रतिक्षा गर्ने भनी खेल्दै गरेका व्यक्तिको गोटी फाली दिएपछि साथी संजिभ र म स्नुकर गेम खेल्यौं, गेम मैले जितेँ, नास्ता बाजी खेलेको हुँदा हामी सबै जना याङतारू सेकुवा कर्नरमा गयौँ, मासु चिउरा अडर भएपश्चात्‌ संजिभले साथी देव लामालाई पनि बोलाई आए राजु श्रेष्ठले व्रत छ भनी सामान्य नास्ता खाई गएका हुन् । अरू हामी ४ जना नास्ता वियर खायौँ, मैले एउटा जति वियर खाएको हुँ । हामीले नास्ता खाएको टेबल नजिकैको टेबलमा बसेका व्यक्तिहरूबिच सामान्य विवाद भएको थियो । विवाद सामान्य भएपश्चात्‌ म सेकुवा कर्नरबाट बाहिरपट्टि निस्किए लगत्तै साथी संजिभ गुरूङ, आशिस गुरूङ, देव लामा पनि निस्किए । हामीहरूले आपसमा कुरा गर्दै थियौँ, श्यामबहादुर रेग्मी र निजका साथीहरू पनि निस्की आए दुवै पक्षबिच गाली अपशब्द प्रयोग भई धाकधम्की भए । सोही कारण घटनास्थलमा कुटपिट भएको हो, सोही अवस्थामा म बाइक लिई हिँडेको हुँ, साथी आशिस गुरूङ, देव लामा र संजिभ गुरूङले के-कुन चिजले श्यामबहादुर रेग्मी मगरलाई प्रहार गरे निजहरूलाई नै थाहा होला, यो घटना विवाद र रिसको आवेगमा भएको हो, निज श्यामबहादुर रेग्मी मगरमाथि मुक्का मुक्की कुटपिट भएको हो, मैले त्यतिबेला रिसका आवेगमा ठिक पार्नुपर्छ भन्ने कुरा भनेको थिएँ होला हाल त्यो कुरा सम्झना छैन, सो घटना याङतारू सेकुवा कर्नर बाहिरपट्टि भएको हो, निज श्यामबहादुर रेग्मी मगरलाई मैले कुटेको तरहरा भन्ने ठाउँमा १०/१५ दिन बसेपछि भारतको गोवा भन्ने ठाउँमा केही दिन बसेँ पुनः झापा जिल्ला फर्की ईलाम गई बसेँ । यस्तै यस्तै गरी विभिन्न ठाउँमा बसी दिनहरू बिताउँदै आएको थिएँ । मनमा शान्ति नभएकाले काठमाडौंतिरै आई बसेको थिएँ । मिति ०७२।०३।२९ गते प्रहरीले पक्राउ गरी ल्याएका हुन् । साथी आशिस गुरूङ हालसम्म पनि फरार नै रहेछन् । मार्ने नै उद्देश्य होइन, विवाद झगडाको कारण यस्तो ठूलो घटना हुन गएको हो भन्नेसमेत बेहोराको प्रतिवादी वरूण लामा भन्ने वरूण सिंह लामाको अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज । 

वारदात हुनुपूर्व मृतक श्यामबहादुर रेग्मी मगर व्यावहारिक व्यक्ति हुन् । श्यामबहादुर रेग्मी मगरलाई याङतारू सेकुवा कर्नरमा आँखा तरातर भएको विषयमा संजिभ गुरूङ, देव लामा, आशिस गुरूङ, वरूण सिंह लामाले रिसइवी लिई याङतारू सेकुवा कर्नर बाहिरपट्टि हातमुक्कासमेतले मर्म स्थानमा कुटपिट गरी श्यामबहादुर रेग्मी मगरको मृत्यु भएको कुरा सोही राति अं. ०१:०० बजेको समयमा थाहा पाएको हुँ, घटना मैले प्रत्यक्ष देखेको होइन । यो घटनाको जानकारी भएपश्चात्‌ संलग्न व्यक्तिहरूको खोजी गर्न प्रहरीलाई सहयोग गरेको हुँ, घटनामा संलग्न प्रतिवादीहरूमध्येका देव लामा, राजिव गुरूङ भन्ने व्यक्ति पक्राउ भएका हुन् । अरू दुईजना फेला परेका थिएनन्, हाल वरूण सिंह लामा पक्राउ परेको कुरा थाहा पाए विपक्षीहरूले विवादको कुरालाई रिसइवी लिई ज्यानै जाने कर्तुत गरेको कुरा सत्य हो ढुङ्गा प्रहार गर्ने व्यक्ति हालसम्म फरार रहेको र निजको नाम आशिस गुरूङ हो भन्ने थाहा पाएको छु । यी कुराहरू संलग्न पक्राउ प्रतिवादीहरूलाई नै प्रस्ट थाहा छ भन्नेसमेत बेहोराको बुझिएका मानिस दयाराम रानाले गरिदिएको कागज । 

फरार रहेका प्रतिवादी आशिष गुरूङलाई खोजतलास गर्दा गराउँदा हालसम्म फेला नपरेको भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन ।

संजिव भन्‍ने संजिभ गुरूङ र राना भन्‍ने देव लामासँग मिली प्रतिवादी वरूण सिंह लामा र आशिष गुरूङले याङतारू सेकुवा कर्नरमा भएको विवादबाट इवी लिई योजना बनाई मनसायपूर्वक बाटो ढुकी मृतक श्यामबहादुर रेग्मी मगरलाई कुटपिट गरी कर्तव्य गरी मारेको पुष्टि हुन आएकोले प्रतिवादी वरूण सिंह लामालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(३) नं. को कसुरमा सोही महलको १३(३) नं. बमोजिम सजाय हुन अभियोग माग दाबी । 

को-कसले के कसरी कुटपिट गरी श्यामबहादुर रेग्मीको मृत्यु भयो थाहा भएन । श्यामबहादुर रेग्मी मगरको मृत्यु सम्बन्धमा साथी संजिव गुरूङ, देव लामाले मलाई पोल गरेको कुरा थाहा पाई तर त्यस समयमा प्रहरीमा जान मेरो श्रीमतीको डेलीभरी भएकाले गइन । त्यसपछि प्रहरीमा जानलाई वतन नमिलेकाले म गइन । मैले अभियोग दाबीअनुसार कसुर गरेको 

छैन । तसर्थ दाबीअनुसार मलाई सजाय हुने होइन भनी प्रतिवादी वरूण सिंह लामाले सुरू अदालतसमक्ष गरेको बयान ।

वारदातको लगत्तै परेको जाहेरीमा यी प्रतिवादीको नाम उल्लेख छ । मौकामा पक्राउ परेका प्रतिवादी संजिव गुरूङसमेतले यी प्रतिवादीसमेत भई कुटपिट गरेको बेहोरा किटान गरेका छन् । मौकामा दुर्गा आङदेम्बेले वरूण लामासमेत भई मृतकलाई कुटपिट गरी घाइते बनाई मृत्यु भएको बेहोरा लेखाई दिएकी छन् । त्यसैगरी अशोककुमार यादवले मृतकलाई यी प्रतिवादीसमेत भई ढुङ्गा लात मुक्काले प्रहार गरेको बेहोरा किटान गरी लेखाई दिएका छन् । यसरी उल्लिखित मिसिल संलग्न आधार प्रमाणबाट यी प्रतिवादीलाई तत्काल निर्दोष मान्‍न मिलेन । पछि बुझ्दै जाँदा ठहेरबमोजिम हुने गरी निज प्रतावादी वरूण सिंह लामालाई अ.बं.११८ को देहाय २ बमोजिम नियमानुसार सिधा खान पाउने गरी थुनुवा पुर्जी दिई थुनामा राख्‍न केन्द्रीय कारागार कार्यालय, काठमाडौंमा पठाई दिनु भनी मिति २०७२/०४/१८ को सुरू अदालतको आदेश । 

प्रस्तुत घटना हुँदाका समयमा म घटनास्थलमा थिइनँ । तर वरूण सिंह लामाको श्रीमती बच्चा जन्माउने भएको हुँदा निजले मलाई कोठामा आवश्यक परे जानु भनी भन्‍नु भएको थियो । घटना भएको दिन म वरूण सिंहको कोठामा थिएँ । राति ९ बजे वरूण सिंह कोठामा आएको थियो । मैले दाइ किन ढिलो आउनु भएको भन्दा होटलमा सामान्य विवाद भयो त्यसैले ढिलो भएको हो भनी भनेको थियो । मेरो साथीहरूले विवाद गरिरहेको हुँदा एकछिन म झगडा नगर भनी बाहिर निस्किएर आएको हुँ भनी भन्‍नु भएको थियो । उहाँ होटलमा सामान्य विवाद हुने बित्तिकै निस्कनु भएको थियो । उक्त होटलमा मान्छे मरेको कुरा अर्को दिन मैले थाहा पाएको हो । वरूण सिंहले पनि पछि उहाँकै साथीबाट तिमी गइसकेपछि मान्छेको ज्यान जाने गरी नै झगडा भयो भनी फोन गर्दा मैले थाहा पाएको हुँ । घटना हुँदा निज घर कोठामा आइसकेको अवस्था हुँदा यो घटनासँग निजको कुनै संलग्नता 

छैन् । निज निर्दोष छन् । त्यसैले अभियोग दाबीबाट सफाइ पाउनु पर्दछ भनी प्रतिवादी वरूण सिंह लामाको साक्षी मनोज तामाङले सुरू अदालतसमक्ष गरेको बकपत्र ।

मिति २०६७/०७/१७ का दिन यी प्रतिवादीसमेत भई जाहेरवालाको भाइ श्यामबहादुर रेग्मी मगरलाई कुटपिट गरी कर्तव्य गरी मारेको भनी जाहेरी परी प्रस्तुत मुद्दामा अनुसन्धान भई मौकामा पक्राउ परेका देव लामासमेतका हकमा अभियोग दायर भएको र उक्त अभियोग पत्रमा वरूण सिंह लामासमेतका हकमा यकिन वतन खुली आएमा वा पक्राउ परी आएका बखत कानूनबमोजिम हुने भनी उल्लेख भएकोमा यी प्रतिवादी वरूण सिंह लामा मिति २०७२/०३/२९ मा पक्राउ परी मिति २०७२/०४/१७ मा पूरक अभियोग दायर भएको देखिन्छ । प्रतिवादी मौकामा तथा अदालतमा कसुरमा इन्कार रहेका छन् । मृतकको मृत्यु सम्बन्धमा परेको जाहेरी, लास जाँच प्रकृति मुचुल्का तथा शव परीक्षण प्रतिवेदनमा उल्लिखित मृत्युको कारण Blunt force Trauma to the head भनी लेखी आएकोसमेतका आधार प्रमाणबाट मृतक श्यामबहादुर रेग्मी मगरको मृत्यु कर्तव्यबाट भएको देखिन आयो । सो तथ्यलाई देव लामासमेतका प्रतिवादीहरूका हकमा यसपूर्व भएको फैसलासमेतबाट स्थापित भएको छ । मिति २०६७/०७/१७ मा वारदात भएपश्चात्‌ परेको जाहेरी दरखास्तको बेहोरा हेर्दा मिति २०६७/०७/१७ का दिन का.जि.का.म.न.पा. वडा नं.७ चाबहिल सरस्वती नगर स्थित सेकुवा कर्नरअगाडि यी प्रतिवादीसमेतले जाहेरवालाको भाइ श्यामबहादुर रेग्मी मगरलाई कुटपिट गरी घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको भनी उल्लेख गरेको पाइन्छ । मौकामा पक्राउ परेका देव लामा र संजिव गुरूङले बयान गर्दा यी प्रतिवादीसमेत भई सेकुवा कर्नरमा गई सेकुवा, वियर खाने क्रममा वरूण लामा र मृतकका बिच आँखा तरातर भएछ । वरूणले मृतकलाई आमा चकारी गाली गरे । मृतकले अपना जग्गा मै कुत्ता भी शेर होता है भनी जवाफ दिएपछि वरूण सिंह लामाले यसलाई ठिक पार्नुपर्छ भनी होटलको कोठा बाहिर आशिषसँग सल्लाह गरी बसेकोमा मृतकसमेत तीन जना बाहिर निस्किएपछि आशिष, वरूणले दौडेर मृतकलाई लात मुक्‍काले प्रहार गरी रगताम्य बनाई लडाएको भनी यी प्रतिवादीउपर किटानी बेहोरा लेखाएका छन् । निज देव लामा एवं संजिव गुरूङका हकमा सम्मानित श्री सर्वोच्च अदालतबाट मिति २०७२/०९/१३ मा जन्मकैद हुने ठहरी फैसला भएको बेहोरा मिसिल संलग्न फैसलाको प्रतिलिपिबाट देखिन्छ । प्रस्तुत मुद्दामा यी प्रतिवादी आरोपित कसुरमा इन्कार रहे पनि सेकुवा कर्नरमा गई खाजा, वियर खाइरहेको अवस्थामा हल्ला गरेको भनी मृतक र संजिव गुरूङसमेतसँग आँखा तरातर भएको निहुँमा विवाद भई झै-झगडा भएको तथ्यलाई उल्लेख गर्दै अदालतमा बयान गरेका छन् । निजको बयान र वारदात लगतै पक्राउ परेका देव लामासमेतको बयानबाट दुवै पक्षका बिच विवाद भई वारदात भएको तथ्य स्थापित भएको छ । एउटै वारदातमा संलग्न देव लामासमेतका हकमा संकलित प्रमाणका आधारमा श्री सर्वोच्च अदालतबाट जन्मकैदको सजाय ठहर भई मिति २०७२/०९/१३ मा फैसला भइरहेबाट यी प्रतिवादीलाई निर्दोष मानी उन्मुक्ति दिने अवस्था नहुँदा प्रतिवादी वरूण लामा भन्‍ने वरूण सिंह लामाले अभियोग दाबीबमोजिमको कसुर गरेको ठहर्छ । निजलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहर्छ भन्ने सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७३/३/१ मा भएको फैसला ।

म प्रतिवादी वरूण भन्ने वरूण सिंह लामा अनुसन्धान अधिकारी तथा अदालतमा आरोपित कसुरमा इन्कारी बयान रहेको, म प्रतिवादीउपर दायर भएको अभियोग पत्रमा म र सहअभियुक्त प्रतिवादीहरूको यो यस कार्यको कारणले उक्त वारदात घट्न गएको भन्ने उल्लेख नभई गोलमटोल आधारमा अभियोग पत्र दायर भएको छ । प्रत्यक्षदर्शी भनिएका राकेश महतो, अशोककुमार यादव, दुर्गा आङ्गदम्बे लिम्बू र जाहेरवाला लेखबहादुर रेग्मी मगरको अदालतमा भएको बकपत्रबाट उल्लिखित वारदातमा मेरो संलग्नता नभएको भन्ने सिद्ध भइरहेको सम्मानित अदालतबाट फैसला हुँदा ठहर खण्डमा मैले मृतकउपर कुनै चोट नछाडेको, कुनै चिनजान झै-झगडा रिसइवी नभएको भन्ने बेहोरा मिसिल संलग्न प्रमाणबाट पुष्टि भइरहेको भन्ने तथ्यलाई अदालतबाट ठहर खण्डमा स्वीकार गरिएको हुँदाहुँदै अनुमानको आधारमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय हुने गरी भएको फैसला प्रमाण विश्‍लेषणमा गम्भीर त्रुटि भई कानून एवं फौज्दारी मान्य सिद्धान्त तथा सम्मानित श्री सर्वोच्च अदालतबाट प्रतिपादित विभिन्न सिद्धान्तहरूको समेत विपरीत भएको हुँदा सम्मानित काठमाडौं जिल्ला अदालतको मिति २०७३/३/१ को फैसला उल्टी गरी सफाइ दिलाई न्याय पाउँ भन्ने प्रतिवादी वरूण लामा भन्ने वरूण सिंह लामाको उच्च अदालत पाटनमा परेको पुनरावेदन पत्र ।

यसमा प्रतिवादी वरूण लामा भन्ने वरूण सिंह लामालाई "एउटै वारदातमा संलग्न देव लामासमेतका हकमा संकलित प्रमाणका आधारमा सर्वोच्च अदालतबाट जन्मकैदको सजाय ठहर भइरहेबाट प्रतिवादी निर्दोष मान्न नमिल्ने" भनी अभियोग माग दाबीबमोजिम ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहर्‍याएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला ने.का.प. २०६९ अंक १ निर्णय नं. ८७५८ मा प्रतिपादित सिद्धान्त एवं न्यायका रोहमा फरक पर्न सक्ने देखिँदा छलफलका निमित्त अ.बं.२०२ को प्रयोजनार्थ प्रत्यर्थी झिकाउने भन्ने उच्च अदालत पाटनबाट मिति २०७४/३/१९ मा भएको आदेश ।

श्री सर्वोच्च अदालतबाट फैसला हुँदा प्रतिवादीहरू देव लामा र संजिभ गुरूङको मौकाको बयानलाई समेत प्रमाणमा ग्रहण गरिएको हुँदा कसुरदार कायम भएका प्रतिवादीहरू देव लामा र संजिभ गुरूङले प्रतिवादी वरूण सिंह लामालाई मौकाको बयानमा पोल गर्दै प्रतिवादी वरूण सिंह लामासमेतले लात, मुक्‍का र ढुङ्गासमेतले मृतकलाई प्रहार गरेकोले मृतक भुइँमा लडेको भन्नेसमेत उल्लेख गरेको र प्रतिवादी वरूण सिंह लामासमेतको सामूहिक कुटपिटबाट मृतकको मृत्यु भएको भन्नेसमेत श्री सर्वोच्च अदालतबाट भएको फैसलामा समेत उल्लेख भई न्यायिक निरूपण भएको पाइन्छ । प्रतिवादी वरूण सिंह लामा आफूले मृतकलाई कुटपिट नगरेको भनी कसुरमा इन्कार रहेपनि वारदात मिति, समय र स्थानमा निज प्रतिवादी आफूसमेतको उपस्थितिमा झगडा कुटपिटसमेत भएको सविस्तार वर्णन गरी बयान गरेको तथा निज प्रतिवादी वारदातपश्चात्‌ लामो अवधिसम्म भागी, लुकी, छिपी बसेको तथा आफू बेकसुर भए भागी हिँड्‍नुको अवस्था नरहेको र निज प्रतिवादी वरूण सिंह लामाकै मौकाको बयान, अन्य प्रतिवादीहरू देव लामा र संजिभ गुरूङको किटानी पोल एवं प्रतिवादी वरूण सिंह लामाउपर किटानी जाहेरीलगायतका मिसिल संलग्न कागज प्रमाणबाट प्रतिवादी वरूण सिंह लामासमेतको संलग्नता र कुटपिटबाट मृतक श्यामबहादुर रेग्मी मागरको मृत्यु भएको देखिएको स्थितिमा निज प्रतिवादी वरूण सिंह लामाको कोरा इन्कारी बयानलाई मात्र प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने नदेखिँदा प्रतिवादीले आरोपित कसुरबाट सफाइ पाउनु पर्छ भन्ने जिकिरसँग सहमत हुन सकिएन । अतः प्रतिवादी वरूण सिंह लामाले अभियोग दाबीबमोजिम कसुर गरेको हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहर भएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७३/३/१ को फैसला मिलेको देखिँदा सदर हुने ठहरी उच्च अदालत पाटनबाट मिति २०७४।५।६ मा भएको फैसला ।

म पुनरावेदक प्रतिवादीकै कारण वारदात भएको भन्ने कुरा खम्बिर हुन नसकेको, सहअभियुक्तको पोललाई अन्य स्वतन्त्र प्रमाणले पुष्टि गर्न नसकेकोसमेतबाट म पुनरावेदक प्रतिवादी वरूण लामा घटना हुनुभन्दा अगाडि नै सो स्थानमा रहेको तथ्य स्वीकार गरेको अवस्था छ भने आरोपित कसुर अपराध भने नगरेको अवस्था छ भने यस घटनाको कलहको सुरूवात आँखा तरातरको अवस्थामा भएको थियो र म पुनरावेदक प्रतिवादीले नै सो अवस्था निम्त्याएको भन्ने घटना विवरण गर्ने व्यक्तिसमेतले उल्लेख नगरेबाट सहअभियुक्तले गरेको मौकाको बयान र अन्य तथ्यलाई प्रमाणमा लिन मिल्दैन । विशेषत: म पुनरावेदक प्रतिवादीको अनुसन्धान अधिकारीसमक्षको बयानमा वारदातमा मेरो कुनै संलग्नता नभएको, मृतकसँग कुनै रिसइवी पनि नरहेको, चिनजान झै-झगडा केही पनि नभएको, मृतकलाई मार्नु पर्ने कुनै कारण नरहेको आधार कारणहरूले पुष्टि गर्नको साथै उक्त तथ्यलाई वारदातका प्रत्यक्षदर्शीहरू राकेश महतो, अशोककुमार यादव र दुर्गा आड्दम्बे लिम्बूको बकपत्रबाट समेत पुष्टि भइरहेको अवस्था रहेको छ । उल्लिखित तथ्यको आधारमा पनि वारदात घटना हुनुभन्दा पूर्व एउटै रेष्टुरेन्टमा छुट्टाछुट्टै टेबलमा बसी खाजा खाएको तथ्यलाई स्वीकार गर्नु भनेको उक्त वारदातलाई नै स्वीकार गर्नु होइन । वस्तुनिष्ठ प्रमाणविना कसैलाई पनि दोषी ठहर गर्न मिल्दैन भनी फौजदारी न्यायको मान्य सिद्धान्तहरूलाई, सम्मानित सर्वोच्च अदालतबाट फटक भन्ने अनुप सहनीसमेत नेपाल सरकार मुद्धाः कर्तव्य ज्यान, ने.का.प. २०६५, अंक ४, नि.नं. ७९५३, पृ. ४२३ मा स्वीकार गरिएको अवस्था रहेको छ । प्रस्तुत मुद्धामा म पुनरावेदक प्रतिवादीलाई आरोपित कसुरमा कसुरदार ठहर गरी सम्मानित काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरी उच्च अदालत पाटनबाट भएको फैसला उक्त नजिर सिद्धान्तसमेतले विपरीत भएको हुँदा त्रुटिपूर्ण भई बदर भागी छ । उक्त फैसला बदर गरी अभियोग दाबीबाट सफाइ दिई न्याय इन्साफ दिलाई पाउँ भन्ने बेहोराको पुनरावेदक प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन । 

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता डा. श्री रजितभक्त प्रधानाङ्ग र वरिष्ठ अधिवक्ता श्री शम्भु थापाले पुनरावेदक प्रतिवादी वारदात नजिकमा रहेको याङतारू रेस्टुरेन्टमा गएको र साथीहरूसँग बसी खाजासम्म खाएको भए तापनि घटना घट्नुभन्दा अगाडि नै निज वारदातस्थलबाट हिँडिसकेको अवस्था हो । सो हदसम्मको तथ्यलाई निज प्रतिवादीले स्वीकार नै गरेका छन् । सहप्रतिवादीहरू तथा प्रत्यक्षदर्शी साक्षीहरू कसैले पनि अदालतसमक्ष बयान बकपत्र गर्दासमेत पुनरावेदकलाई पोल गरेको अवस्था छैन । घटनाको प्रकृति हेर्दासमेत तत्काल भएको झै-झगडामा आवेशमा आई कुटपिट गर्दा मृतक श्यामबहादुर मगरको मृत्यु भएको देखिन्छ । पूर्वरिसइवी तथा मृतकलाई मार्नेसम्मको मनसायसमेत पुष्टि हुन सकेको छैन । अतः वारदातस्थलमा पुनरावेदक नरहेको र वारदात हुनुभन्दा अगाडि सो स्थान नजिक रहेको रेस्टुरेन्टमा खाजा खाएको आधारमा मात्र मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैद हुने गरी भएको उच्च अदालत पाटनको फैसला प्रमाण मूल्याङ्कनको रोहमा त्रुटिपूर्ण रहेको छ भनी गर्नुभएको बहस सुनियो । 

यसमा प्रतिवादी वरूण सिंह लामाउपर मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(३) नं. बमोजिमको कसुरमा ऐ.१३(३) नं. बमोजिम सजाय हुन अभियोग मागदाबी रहेकोमा सुरू काठमाडौं जिल्ला अदालतबाट निज प्रतिवादीलाई अभियोग दाबीबमोजिम कसुर गरेको ठहरी ऐ.१३(३) नं. बमोजिम जन्मकैद हुने ठहरी फैसला भएकोमा सोउपर प्रतिवादीको तर्फबाट उच्च अदालत पाटनमा पुनरावेदन परेको र उक्त अदालतको मिति २०७४।०५।०६ को फैसलाले सुरू फैसला सदर हुने ठहरी फैसला भएको हुँदा सोउपर प्रतिवादीको तर्फबाट पुनरावेदन परी इजलाससमक्ष पेस हुन आएको देखियो । 

प्रतिवादी वरूण लामा भन्ने वरूण सिंह लामालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नं. बमोजिम जन्मकैद हुने ठहर गरी भएको सुरू फैसला सदर गर्ने गरी भएको उच्च अदालत पाटनको फैसला, पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर, उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ताहरूको बहस जिकिर तथा मिसिल संलग्न कागज प्रमाणको अध्ययन विश्लेषणसमेतको आधारमा हेर्दा मूल रूपमा उच्च अदालत पाटनको फैसला मिलेको छ छैन ? र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो । 

२. पुनरावेदक प्रतिवादीकै कारण वारदात भएको भन्ने कुरा खम्बिर हुन सकेको छैन भने सहअभियुक्तको पोललाई अन्य स्वतन्त्र प्रमाणले पुष्टि गर्नसमेत सकेको देखिँदैन । म पुनरावेदक प्रतिवादी वरूण लामा घटना हुनुभन्दा अगाडि नै सो स्थानमा रहेको र घटना घट्नुअगावै सो स्थानबाट हिँडिसकेको अवस्था हो र सो हदसम्मको तथ्यलाई स्वीकार नै गरेको अवस्था छ । म पुनरावेदक प्रतिवादीले नै वारदात घटाएको भन्ने घटना विवरण गर्ने व्यक्तिसमेतले उल्लेख नगरेबाट सहअभियुक्तले गरेको मौकाको बयान र अन्य तथ्यलाई प्रमाणमा लिन मिल्दैन । म पुनरावेदक प्रतिवादीको वारदातमा कुनै संलग्नता नभएको, मृतकसँग कुनै रिसइवी पनि नरहेको, चिनजान झै-झगडा केही पनि नभएको, मृतकलाई मार्नु पर्ने कुनै कारण नरहेको र उक्त तथ्यलाई वारदातका प्रत्यक्षदर्शीहरू राकेश महत्तो, अशोककुमार यादव र दुर्गा आड्दम्बे लिम्बूको बकपत्रबाट समेत पुष्टि भइरहेको अवस्था 

छ । सो तथ्य अन्यथा हुने गरी पुष्टि हुनसमेत सकेको छैन । उल्लिखित तथ्यको आधारमा पनि वारदात घटना हुनुभन्दा पूर्व एउटै रेष्टुरेन्टमा छुट्टाछुट्टै टेबलमा बसी खाजा खाएको तथ्यलाई स्वीकार गर्नु भनेको उक्त वारदातलाई नै स्वीकार गर्नु होइन । अतः वस्तुनिष्ठ प्रमाणविना कसैलाई पनि दोषी ठहर गर्न मिल्दैन भन्ने फौजदारी न्यायको मान्य सिद्धान्तविपरीत उच्च अदालत पाटनको फैसला भएको हुँदा उक्त त्रुटिपूर्ण फैसला बदर गरी आरोपित कसुरमा सफाइ दिलाई पाउँ भन्ने पुनरावेदक प्रतिवादीको मुख्य पुनरावेदन जिकिर रहेको देखियो ।

३. मिति २०६७/०७/१७ का दिन यी प्रतिवादीसमेत भई जाहेरवालाको भाइ श्यामबहादुर रेग्मी मगरलाई कुटपिट गरी कर्तव्य गरी मारेको भनी जाहेरी परी प्रस्तुत मुद्दामा अनुसन्धान भई मौकामा पक्राउ परेका देव लामासमेतका हकमा अभियोग दायर भएको र उक्त अभियोग पत्रमा वरूण सिंह लामासमेतका हकमा यकिन वतन खुली आएमा वा पक्राउ परी आएका बखत कानूनबमोजिम हुने भनी उल्लेख भएकोमा यी प्रतिवादी वरूण सिंह लामा मिति २०७२/३/२९ मा पक्राउ परी मिति २०७२/४/१७ मा पूरक अभियोग दायर भएको देखिन्छ । 

४. मिति २०६७।७।१७ गतेको बेलुका काठमाडौं महानगरपालिका ७ स्थितमा रहेको याङतारू सेकुवा कर्नरमा म जाहेरवालाको भाइ श्यामबहादुर रेग्मी मगर र निजका साथीहरू अशोककुमार यादवसमेत खाजा खाई घरतर्फ फर्कने क्रममा सोही बेलुकी अं. २०.४० बजेको समयमा मेरो भाइ श्यामबहादुर रेग्मी मगरलाई प्रतिवादीहरू वरूण लामासमेत निजका मतियारहरू ७/८ जनाले लात, मुक्‍का र ढुङ्गासमेतले टाउकोसमेतमा प्रहार गरी कुटपिट गरी गम्भीर घाइते बनाएका र घाइते भाइलाई तत्काल उपचारमा पुर्‍याएकोमा उपचारको क्रममा सोही बेलुका राति अं. ११.४५ बजेतिर मृत्यु भएको हो । मेरो भाइलाई यसरी कुटपिट गरी कर्तव्य गरी मार्ने वरूण लामासमेतलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको लेखबहादुर रेग्मी मगरको जाहेरी रहेको देखिन्छ । मृतक श्यामबहादुर रेग्मी मगरको निधारको बायाँ साइडमा २ ईन्‍च लम्बाई २ ईन्‍च चौडाई भएको काटेको घाउ, बायाँ गालामा निलो घाउ भएको, मुखबाट रगत बगेको, अनुहारको भाग सुन्‍निएको, च्यापुको दायाँ साइडमा निलो खोस्रिएको घाउ, बायाँ कन्चटमा सुन्‍निएको भन्‍नेसमेत बेहोरा उल्लेख भएको लासजाँच प्रकृति मुचुल्का रही मृतक श्यामबहादुर रेग्मी मगरको मृत्युको कारणमा BLUNT FORCE TRAUMA TO THE HEAD भन्‍ने बेहोरा खुलेको शव परीक्षण प्रतिवेदन रहेको देखिन्छ । 

५. प्रतिवादी वरूण सिंह लामाले अनुसन्धानको क्रममा र अदालतमा समेत बयान गर्दा आफू वारदात मिति र समयमा घटनास्थल नजिकको याङ्तारू रेस्टुरेन्टमा साथीहरूसँग खाजा खान गएको भए तापनि मृतकसँग कुनै झगडा र कुटपिट नभएको र वारदात हुनुभन्दा अगावै सो स्थानबाट हिँडिसकेको हुँदा घटना कसले घटाएका हुन् आफूलाई थाहा नभएको भनी कसुरमा इन्कार रही बयान गरेको भए तापनि सोही वारदातमा संलग्न रहेका देव लामा र संजिव गुरूङले मौकामा बयान गर्दा यी प्रतिवादीसमेत भई सेकुवा कर्नरमा गई सेकुवा, वियर खाने क्रममा वरूण लामा र मृतकका बिच आँखा तरातर भएछ । वरूणले मृतकलाई आमा चकारी गाली गरे । मृतकले आफ्ना जग्गामै कुत्ता भी शेर होता है भनी जवाफ दिएपछि वरूण सिंह लामाले यसलाई ठिक पार्नुपर्छ भनी होटलको कोठा बाहिर आशिषसँग सल्लाह गरी बसेकोमा मृतकसमेत तीनजना बाहिर निस्किएपछि आशिष, वरूणले दौडेर मृतकलाई लात मुक्‍काले प्रहार गरी रगताम्य बनाई लडाएको भनी यी प्रतिवादीउपर किटानी बेहोरा लेखाएका छन् ।  

६. प्रतिवादीले कसुरमा इन्कार रही बयान लेखाएको भए तापनि मृतक र निजका साथीहरूसँग झगडा भएको स्वीकार गरेका छन् । प्रतिवादी वरूण सिंहको अदालतमा भएको बयानमा उक्त मितिका दिन रातको ८ बजेतिर साथी आशिष गुरूङ, संजिभ गुरूङ, देव लामा र मसमेत ४ जना याङ्तारू रेस्टुरेन्टमा खाजा खान गई वियरहरूसमेत खाइरहेको अवस्थामा अर्को टेबुलमा बसेका ३ जनाले हामीलाई हल्ला गरेको भनी भन्न लागे त्यही निहुँमा मृतक बसेको टेबुलमा आशिष गुरूङ र संजिभ गुरूङसँग आँखा तरातर भएको निहुँमा सामान्य विवाद झै-झगडा भएकोले मैले छुट्याएँ । केहीबेर सामान्य भएको थियो । मृतकको टेबुलमा रहेका ३ जनामध्ये मृतकले आफ्नो इलाकामा कुत्ता पनि शेर होता है भनेपछि फेरि झगडा भएकाले छुट्याई त्यहाँबाट बाहिर निस्किएपछि अब हामीलाई डाइलग दिनेलाई कुटपिट गर्नुपर्छ भनी संजिभ आशिषले भनेपछि म आफ्नो मोटरसाइकल चलाई त्यहाँबाट निस्किएको हो भनी बयान बेहोरा लेखाएबाट यी प्रतिवादी वारदातस्थलमा रहेको र प्रतिवादीहरूको समूह र मृतक पक्षको समूहबिच झगडा भएको भन्ने तथ्य प्रतिवादीकै बयानबाट नै खुली आएको देखिन्छ ।  

७. वरूण लामासमेत ४ जना हामीले सञ्चालन गरेको सेकुवा कर्नरमा आई खाजा खान थाले । पछि मृतक श्यामबहादुर रेग्मी मगर र निजका साथीहरूसमेत आई अर्को टेबलमा बसी खाजा खान थाले । प्रतिवादीहरूको ग्रुप होटल बाहिर निस्की गएका थिए । मृतकका ग्रुपहरू २०/२५ मिनेटपछि बाहिर निस्किए । त्यसैबेला बाहिर मानिस हल्ला गरी मार्‍यो मार्‍यो भन्दै कराएको सुनी बाहिर निस्की हेर्दा सडक छेउमा श्यामबहादुर रेग्मी मगर रगताम्य भई लडेका 

देखेँ । घाइतेलाई ट्याक्सीमा हाली मसमेतले उपचारको लागि हस्पिटलमा पठाएको हुँ । उपचार गराउँदा गराउँदै निज श्यामबहादुर रेग्मी मगरको मृत्यु भएको हो । पछि थाहा पाएअनुसार प्रतिवादी वरूण सिंह लामासमेतले कुटपिट गरेका रहेछन् भन्‍नेसमेत बेहोराको थिरेन्द्र थाम्सुहाङ र आङदङ्वे लिम्बूको कागज रहेको छ भने मिति २०६७/०७/१७ गतेको बेलुका ६ बजेतिर म, मृतक श्यामबहादुर रेग्मी मगर र राकेश महतो का.जि., का.म.न.पा. वडा नं.७ मा रहेको याङतारू सेकुवा कर्नरमा खाजा खान गएका थियौँ । होटलमा बसी खाजा खाने क्रममा होटलको अर्को टेबलमा वरूण सिंह लामासमेत बसी खाजा वियर खाँदै गरेको देखेका 

हौँ । आशिष गुरूङसमेत वियर खाँदै अलि ठूलो स्वरमा हल्ला गर्दै कुराकानी गरेका र हामीले हेर्दा निजहरूले हामीलाई आमाचकारी गाली गर्‍यो । हामी चुप लागेर बस्यौं र बाहिर गएर ठीक पार्छु भन्दै कुरा गर्न थाले । त्यसपछि बिल तिरेर निजहरू निस्किए ।  हामी पनि बिल तिरेर बाहिर निस्की जान लाग्दा एक्कासी वरूण लामासमेत ५/६ जना मानिसहरूले हातमा ढुङ्गा लिई आई श्यामबहादुर रेग्मी मगरलाई प्रहार गर्न थाले । मृतक सोही स्थानमा जमिनमा ढले । निजहरूले लात मुक्का, ढुङ्गाले मृतकलाई प्रहार गरी रगताम्य बनाए । पछि उपचारको क्रममा निजको मृत्यु भएको हो भन्‍नेसमेत बेहोराको अशोककुमार यादव र राकेश महतोको एकै मिलानको कागज रहेको देखिन्छ ।  

८. प्रतिवादी वरूण सिंहले आफू वारदातस्थलमा रहेको स्वीकार गरेका छन्, झगडा प्रतिवादी र मृतक पक्षबिच भएको र सोही झगडामा मृतकलाई प्रतिवादी र निजका साथीहरूले कुटपिट गरेको र सोही कुटपिटका कारणले मृतकको मृत्यु भएको भन्ने मृतक श्यामबहादुरको लास जाँच मुचुल्का, शव परीक्षण प्रतिवेदन, जाहेरी बेहोरा, प्रतिवादीहरूको बयान, घटनाका साक्षीहरूको कागज बेहोरासमेतबाट पुष्टि हुन आएको देखिएबाट मृतक श्यामबहादुरको मृत्यु प्रतिवादी र निजका साथीहरूको कर्तव्यबाट भएकोमा कुनै विवाद देखिँदैन । प्रतिवादीहरू देव लामा र संजिभ गुरूङले अनुसन्धानको क्रममा बयान गर्दा वरूण सिंहले नै कुटपिट गरेका हुन् भनी किटान गरी लेखाएका 

छन् । भने अन्य प्रत्यक्षदर्शी साक्षीहरूले समेत प्रतिवादी वरूण सिंहसमेतले मृतक श्यामबहादुरलाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन् र सोही कुटपिटका कारणले निजको मृत्यु हुन पुगेको हो भनी किटान गरी लेखाइदिएसमेतले उक्त वारदातमा यी प्रतिवादी वरूण सिंहको संलग्नता थिएन भनी भन्न सकिने अवस्था देखिन आएन । 

९. प्रतिवादी वरूण सिंहले आफ्नो निर्दोषिताको जिकिर लिएको सम्बन्धमा घटनाक्रमलाई विवेचना गर्दा प्रतिवादीको समूह र मृतकको समूहबिच रेस्टुरेन्टमा खाजा वियर खाने क्रममा झगडा भएको, उक्त झगडामा प्रतिवादीहरूले मृतकलाई रेस्टुरेन्ट बाहिर कुटपिट गरेको, तत्काल पक्राउमा परेका प्रतिवादीहरू देव लामा र संजिभ गुरूङले वरूण सिंहलाई किटान गरी पोल गरेका छन् भने घटना लगत्तै वरूण सिंह भागी फरार रहेको र मिति २०७२।३।२९ मा मात्र पक्राउ परेपश्चात्‌ पुरक अभियोगसहित अदालतमा पेस भएका छन् । अदालतसमक्षको बयानमा कसुरमा इन्कार रहेको भए तापनि घटना वारदातलाई स्वीकार गरेका छन् भने साथीहरूले कुटपिट गरेका हुन् भनी साथीहरूलाई पोल गरेका छन् । मृतकको मृत्यु भएकोमा अन्यथा छैन भने मृत्युको कारणमा Blunt Force Trauma to Head भन्ने खुलेबाट मृतकलाई कुटपिट गर्दा निजको मृत्यु भएकोमा समेत अन्यथा देखिँदैन । प्रतिवादी वरूण सिंह लामाले आशिष गुरूङ र संजिभ गुरूङलाई पोल गरेका छन् भने मौकामा पक्राउ परेका देव लामा र संजिभ गुरूङले वरूण सिंह लामा र आशिष गुरूङले घटना घटाएका हुन् भनी पोल गरेबाट प्रतिवादीहरू सबै मिली मृतकलाई कुटपिट गरेको र सोही कुटपिटका कारणले मृतकको मृत्यु भएको भन्ने पुष्टि हुन आएको छ । 

१०. प्रतिवादीले बयान गर्दा कसुरमा साबित रहनु वा इन्कार रहनुले मात्र कुनै मुद्दाको स्वरूप निर्धारण गर्न सक्दैन । प्रतिवादीको बयानलाई अन्य परिस्थितिजन्य प्रमाणहरूले समर्थन गर्दछ वा गर्दैन भन्ने कुरा महत्त्वपूर्ण रहेको हुन्छ । घटनाको समग्र स्वरूप एक प्रकृतिको हुने र प्रतिवादीको जिकिर अर्कै प्रकृतिको भएको अवस्थामा निरपेक्ष रूपले प्रतिवादीको बयान जिकिरलाई मात्र आधार लिएर निष्कर्षमा पुग्नु त्रुटिपूर्ण हुन्छ । समग्र घटनाक्रमका एक पछि अर्को कडीलाई जोडेर हेर्दा प्रतिवादीले लिएको जिकिरसँग मेल नखाएमा प्रतिवादीको जिकिर स्थापित भएको मान्न सकिँदैन । अतः प्रतिवादीले आफू निर्दोष रहेको जिकिर लिए तापनि आफ्नो इन्कारी बयानलाई प्रमाणित गर्न सकेका छैनन् । प्रमाणविनाको इन्कारी बयानको कुनै प्रामाणिक मूल्य नहुने हुँदा निजले लिएको जिकिरसँग सहमत हुन सक्ने अवस्था देखिन नआएबाट प्रतिवादी र निजका साथीहरूको कुटपिटबाट नै मृतकको मृत्यु भएको देखिन आएको छ ।

११. मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ (३) नं. ले “लाठा ढुङ्गा र साधारण सानातिना हातहतियारले कुटी, हानि, रोपी, घोची वा अरू ज्यान मर्ने गैह्र कुरा गरी ज्यान मरेमा एकै जनाले मात्र सो काम गरी ज्यान मारेमा सोही एकजना र धेरैजनाको हुल भई मारेमा यसैले मारेको वा यसको चोटले मरेको भन्ने प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा ठहर्छ । त्यस्तालाई सर्वस्वसहित जन्मकैद गर्नुपर्छ । सोबाहेक अरूलाई र यसैले मारेको वा यसैका चोटले मरेको भन्ने कुरा सो हातहतियार छाड्ने कसैउपर कुनै प्रमाणबाट देखिने ठहर्न नआएमा सबैलाई जन्मकैद गर्नुपर्छ” भन्ने उल्लेख गरेको 

देखिन्छ । मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ (३) नं. को व्यवस्थाले यदि सामूहिक रूपमा आपराधिक कार्य भएको छ र मुख्य अपराधी छुट्टिन नसक्ने अवस्था छ भने सबै कसुरदारलाई एउटै सजाय जन्मकैद हुने उल्लेख गरेको देखिन्छ । त्यसैगरी समूहमा अपराध भएको र मुख्य अपराधी र सहयोगी छुट्टिन नसक्ने अवस्था भएमा सबै कसुरदारहरूलाई मुख्य कसुरदार मान्नु पर्ने र सबैलाई एकै रूपमा एउटै सजाय गर्नुपर्ने तथा सामूहिक रूपमा घटाइएको कसुरमा सामूहिक रूपमा सबै प्रतिवादीहरूले बराबर रूपमा आपराधिक दायित्व वहन गर्नु पर्ने मनासिब हुन आउँछ भने जुन कुरालाई फौजदारी कानूनको मान्य सिद्धान्तसमेतले आत्मसात् गरेको देखिन्छ । 

१२. प्रस्तुत कर्तव्य ज्यान मुद्दामा  सोही वारदातमा संलग्न रहेका प्रतिवादीहरू देव लामा र संजिभ गुरूङको हकमा  मुद्दा तहतह हुँदै यसै अदालतबाट मिति २०७२ पौष १३ मा ०६९-CR-०४७८ को मुद्दामा (ने.का.प. २०७३ अंक ३ निर्णय नं. ९५६७ मा समेत प्रकाशित) प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहरी फैसला भएको 

देखिन्छ । सामूहिक रूपमा घटाइएको कसुरमा सामूहिक रूपमा सबै प्रतिवादीहरूमा बराबर रूपमा आपराधिक दायित्व वहन गर्नु पर्ने कानूनी व्यवस्था तथा स्थापित कानूनी सिद्धान्तसमेतका आधारमा एकै वारदातमा संलग्न प्रतिवादीहरू देव लामा र संजिभ गुरूङलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैदको सजाय भएकोमा यी प्रतिवादीलाई समेत एकै सजाय हुनु मनासिब देखिन आउँछ । 

१३. अतः प्रतिवादी वरूण सिंह लामासहित अन्य प्रतिवादीहरूले संयुक्त रूपमा वारदात घटाएको पुष्टि हुन आएको र प्रतिवादीहरू देव लामा र संजिभ गुरूङलाई जन्मकैदको सजाय हुने ठहरी फैसलासमेत भइसकेको हुँदा यी प्रतिवादीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिमको कसुरमा सोही १३(३) नं. बमोजिम जन्मकैद हुने ठहरी सुरू अदालतको फैसला सदर गर्ने गरी भएको उच्च अदालत पाटनको मिति २०७४।५।६ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । 

१४. घटना वारदात भएको अवस्थालाई विचार गर्दा प्रतिवादीहरू र मृतक पक्षबिच खाजा खाने क्रममा एक आपसमा भनाभन हुँदा अचानक रिसको आवेशमा आई प्रतिवादीहरूले मृतकलाई कुटपिट गर्दा मृतकको ज्यान जान पुगेको देखिन्छ । प्रतिवादीहरूले पहिले नै योजना बनाई वा पहिलेदेखिको रिसइवी साँध्नको लागि मृतकको ज्यान लिन खोजेको अवस्था नदेखिएको हुँदा यी प्रतिवादीलाई जन्मकैदको सजाय गर्दा चर्को पर्ने तथा एकै वारदातमा संलग्न प्रतिवादीहरू देव लामा र संजिभ गुरूङको हकमा यसै अदालतबाट मिति २०७२।९।१३ मा फैसला हुँदा मुलुकी ऐन अदालती बन्दोबस्तको महलको १८८ नं. बमोजिम ८ वर्ष कैद हुने गरी फैसला भएको र सजाय निर्धारणमा एकरूपताको सिद्धान्तसमेतका आधारमा यी प्रतिवादीलाई समेत मुलुकी ऐन अदालती बन्दोबस्तको महलको १८८ नं. बमोजिम ८ वर्ष कैद हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू । 

तपसिल खण्ड

माथि ठहर खण्डमा लेखिएबमोजिम उच्च अदालत पाटनको फैसला सदर हुने र प्रतिवादीलाई अ.बं. १८८ नं. बमोजिम ८ वर्ष कैद सजाय हुने ठहरी फैसला भएकोले सोहीबमोजिम लगत कायम गरी प्रतिवादीबाट असुलउपर गर्नु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनू ................................................१

मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू .....................२

 

उक्त रायमा सहमत छु ।

न्या.कुमार रेग्मी

 

इजलास अधिकृत: महेन्द्रप्रसाद पौड्याल

इति सवंत् २०७६ साल भाद्र ८ गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु