निर्णय नं. १०२८८ - बिना इजाजत वन पैदावार ओसारपसार

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दीपककुमार कार्की
माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा
फैसला मिति : २०७६।२।३१
०७२-CR-१३७०
मुद्दाः- बिना इजाजत वन पैदावार ओसारपसार
निवेदक / वादी : जिल्ला प्रहरी कार्यालयको पत्र जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला दाङ गोबरडिहा गा.वि.स. १ जुरौनी बस्ने चपडे माइला भन्ने मोमदिन मियासमेत
घटनास्थलमा अवैध काठसहित पक्राउ पर्नु कसुर कायम हुन पर्याप्त हुँदैन । प्रतिवादीहरूको भूमिका, संलग्नताको स्तर, मनसायको अवस्था र कसुरजन्य कार्य आदि जस्ता तत्त्वहरूको समष्टिले मात्र प्रतिवादी कसुरदार हो होइन भनी पुष्टि गर्नुपर्ने ।
(प्रकरण नं.७)
निवेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता सोमकान्ता भण्डारी
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता नारायणप्रसाद देवकोटा
अवलम्बित नजिर :
ने.का.प.२०६५, अंक १०, नि.नं.८०२८, पृ.१२७१
ने.का.प.२०६८, अंक ६, नि.नं.८६२९, पृ.९०८
सम्बद्ध कानून :
वन ऐन, २०४९
सुरू तहमा फैसला गर्नेः
मा. न्यायाधीश श्री विष्णुप्रसाद उपाध्याय
प्यूठान जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री रत्नबहादुर वागचन्द
मा. न्यायाधीश श्री अनिता मानन्धर जोशी
पुनरावेदन अदालत तुलसीपुर
फैसला
न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम वादी नेपाल सरकारको तर्फबाट परेको मुद्दा दोहोर्याउने निवेदनमा निस्सा प्रदान हुँदा पुनरावेदनको रूपमा दर्ता भई नियमानुसार पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
मिति २०६९/२/३२ गते राति ३.३० बजेको समयमा लु.१ ख ५८०९ नं. को ट्रिपरमा सालजातको चिरान काठ लोड गरी गिट्टीले छोपेर ल्याउँदै गरेको अवस्थामा रम्दी गा.वि.स. ५ स्थित भालुवाङ-प्यूठान सडक खण्डमा जिल्ला प्यूठान खैरा गा.वि.स. घर भई हाल दाखाक्वाडी ६ बस्ने वसन्तकुमार बस्नेतसमेत ४ जना मानिसहरू सो काठ लोड गरी ल्याउने क्रममा विजुवार प्रहरी चौकीबाट पक्राउ परेका र लु.१.ख. ५८०९ नं. को ट्रिपरमा लोड गरी ल्याएको काठ विजुवार रे.पो.बाट नापतौल हुँदा सालजातको चिरान काठ थान २३० को परिमाण २५०.१६ क्यु. फिट काठ र वसन्तकुमार बस्नेतले प्रयोग गरेको लु.९ प ६८९३ नं. को मोटरसाइकलसमेत बरामद गरिएको बरामदी मुचुल्का ।
म पाल्पाबाट लाइसेन्सको ट्रायल दिन बुटवलमा आएको अवस्थामा हाम्रै गाउँको साथी लु.१ ख ५८०९ नं.को ट्रिपरको सहचालकसँग भेट भई उसले यतातिर घुम्न जाउँ भनेकाले ऊसँग घुम्न आएको थिएँ । गाडीमा सुत्न भनी आएको अवस्थामा ड्राइभरले ट्रिपरमा काठ र गिट्टी लोड गरी ल्याएकोले ड्राइभरले मलाई सो गिट्टी अनलोड गर्न जाउँ भनेर ल्याएको हो भन्नेसमेत बेहोराको प्रतिवादी मिलन थिङले मौकामा गरेको बयान कागज ।
म ससुराली गएको र घरमा आउने समयमा बांगेसाल गा.वि.स. वडा नं. ५ बस्ने सानो जितमान भन्ने जितमान मियासँग दाङ जिल्लाको कालाकाटेमा भेट भएको र निजले काठ अनलोड गरिदेउ म पैसा दिन्छु भनी मलाई ल्याएको हो भन्नेसमेत बेहोराको प्रतिवादी रामकृष्ण रावलले मौकामा गरेको बयान कागज ।
यो काठ जितमान मिया भन्ने व्यक्तिको हो । काठ प्यूठानको भिंग्रीसम्म लैजाने हो भनी ड्राइभरले भनेकोले उक्त काठ कालाकाटेबाट लोड गरेको हो, कहाँसम्म लैजाने हो मलाई थाहा भएन । हामी ४ जना गाडीमा थियौं, प्रहरीले पक्राउ गर्ने बेला ड्राइभर
भागेछ । केही समयपछि जितमान मियाले कालाकाटेबाट चढेर ल्याएको मोटरसाइकल चढेर वसन्तकुमार बस्नेत आउनुभयो । प्रहरीले सोधपुछ गर्दा गिट्टी मेरो भनेकाले प्रहरीले पक्राउ गरेको हो भन्नेसमेत बेहोराको देवेन्द्र दोङले मौकामा गरेको बयान कागज ।
जितमान भन्ने व्यक्ति कालो साइन मोटरसाइकल लिएर राति अं.३ बजेतिर मेरो घरमा आएको र तपाइँ स्थानीय मानिस भएकोले पैसाको कुरा गरेर भएपनि मिलाई दिनहोस् भन्दा कुरा मिल्छ भने मिलाई दिन्छु भनी गएको थिएँ । सोही कुरा गर्दा पक्राउ परेको हुँ, काठ ल्याउने र व्यापार गर्ने काम मैले गरेको होइन भन्नेसमेत बेहोराको प्रतिवादी वसन्तकुमार बस्नेतले मौकामा गरेको बयान कागज ।
मलाई बांगेसाल गा.वि.स. वडा नं. ५ बस्ने जितमान मिया र दाङ कालाकाटेभन्दा अलि अगाडि जुरैनी भन्ने स्थानमा बस्ने चपडे माइला भन्ने मोमदिन मिया भन्ने व्यक्तिले लोड गर्न लगाएका हुन् । उक्त काठ मैले चेरनेटाभन्दा ४/५ कि.मि.अगाडि झार्ने हो, यो वसन्तकुमार बस्नेत भन्ने मास्टरको माल हो । स्कुलमा झार्ने हो भनी लोड गराएका हुन् । काठ लोड गर्न मलाई गाडी धनीले पठाएको होइन, म आफैँ आएको हुँ, यसमा गाडी धनीको कुनै दोष छैन भन्नेसमेत बेहोराको प्रतिवादी काइतेन लामाले मौकामा गरेको बयान कागज ।
बरामदी मुचुल्कामा उल्लिखित जात परिमाणका चिरान काठ प्रहरीले पक्राउ गरी सेवा केन्द्र विजुवारमा अनलोड गर्दा देखेका हौं । काठ ल्याउने व्यक्ति वसन्तकुमार बस्नेत हो भन्ने सुनेका हौं । काठमा कुनै निस्सा प्रमाण थिएन । पक्राउ परेका प्रतिवादीहरूमध्ये वसन्तकुमार बस्नेतलाई चिन्दछौं भन्नेसमेत बेहोराको श्रीनारायण श्रेष्ठ, सुकबहादुर नेपाली, छविलाल थापा, गुणेन्द्र बस्नेत, लक्ष्मण गहतराजसमेतले गरिदिएको करिब एकै मिलानको कागज ।
पक्राउमा परेको लु.१ ख ५८०९ नं. को ट्रिपर र चालक काइतेन लामालाई हामीले क्रसर उद्योगको लागि ढुङ्गा बोक्न पठाएको मौकापारी हामीलाई कुनै जानकारी नदिई, हाम्रो अनुमतिबिना काठ लोड गरी ल्याएछ, मैले ढुङ्गा बोक्न पठाएको हुँ, काठ बोक्न जाँदैछ भन्ने कल्पनासमेत गरेको थिइन भन्नेसमेत बेहोराको ट्रिपर धनी ओमप्रकाश भुषालले गरेको कागज ।
प्रतिवादीहरू जितमान मिया, चपडे माइला भन्ने मोमदिन मिया, विनोद भन्ने व्यक्ति, ट्रिपर चालक काइतेन लामा र वसन्तकुमार बस्नेतसमेत ५ जनाले मिति २०६९/२/३२ गते राति लु.१ ख ५८०९ नं. को ट्रिपरमा बिगो रू.२,८०,१७९।- (दुइ लाख असी हजार एक सय उनासी) बराबरको अवैध साल काठ ओसारपसार गरेको देखिँदा निजहरूको सो कार्य वन ऐन, २०४९ को दफा ४९ (घ) नं. ले परिभाषित कसुर अपराध गरेको देखिँदा प्रतिवादीहरू वसन्तकुमार बस्नेत, काइतेन लामा, सानो जितमान भन्ने जितमान मिया र चपडे माइला भन्ने मोमदिन मियासमेतलाई सोही ऐनको दफा ५०(१)(घ) (४) बमोजिम सजाय हुन तथा प्रतिवादीहरू देवेन्द्र दोङ, मिलन थिङ र रामकृष्ण रावलले उक्त अवैध काठ लोड अनलोड गर्न र ओसारपसार गर्नमा सहयोग पुर्याई अपराध कार्यमा मिलोमतो गरेको देखिँदा निज प्रतिवादीहरूलाई ऐ.ऐनको दफा ५४ नं. बमोजिमको कसुरमा ऐ. ५४ नं. बमोजिम सजायको मागदाबी लिइएको छ । वारदातमा प्रयोग भएको लु.९ प ६८९३ नं. को मोटरसाइकल र बोझबाहक लु.१ ख ५८०९ नं. को ट्रिपरको हकमा सोही ऐनको दफा ६६ बमोजिम जफत गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग दाबी ।
म ड्राइभरको लाइसेन्सको लागि ट्रायल दिन बुटवलमा आएको थिएँ । भाइ देवेन्द्र पनि ट्रायल दिन आएको रहेछ । जेठ २९ गते ट्रायल दिई चन्द्रौटा घुम्न जाऔं भनी चन्द्रौटातर्फ आउँदा देवेन्द्रको गाडी
भेटियो । त्यही गाडीमा घुम्न जाउँ भनेकाले साथै बसी ३१ गते कालाकाटे क्रसर उद्योगमा ढुङ्गा झारी साथै आएको हुँ, कहाँ जाने हो मलाई थाहा भएन । विजुवार चौकीमा आएर मात्र काठ र गिट्टी भएको मैले थाहा पाएको हुँ । म गाडीमा सुतेको हुँदा बाटोमा के के भयो मलाई थाहा भएन भन्नेसमेत बेहोराको प्रतिवादी मिलन थिङले सुरू प्यूठान जिल्ला अदालतमा गरेको बयान ।
मिति २०६९/२/३० गते म मेरो ससुराली दाङको कालाकाटे गई सोको भोलिपल्ट घरतर्फ फर्कन लाग्दा प्रतिवादीमध्येका जितमान मियासँग भेट भयो र निजले तिमी अहिले घर नजाउ हाम्रो गाडी प्यूठानतिर जाँदैछ, त्यसैमा जाउँला भनेकोले म त्यही गाडीमा चढी प्यूठान दरभान ओर्लन खोज्दा तिमी अहिले नझर मेरो काठ छ अनलोड गर्नुपर्छ म तिमीलाई रू.६००।- दिउँला भनेका हुँदा सो गाडीमा आएको हुँ । जितमान सो गाडीको अगाडि अगाडि मोटरसाइकलमा आएका हुन् । म गाडीसँगै आउँदा प्रहरीले पक्राउ गरेका हुन् । ड्राइभर र जितमान भागिसकेका
रहेछन् । प्रहरीले हामीलाई सोधपुछ गर्दा वसन्तकुमार बस्नेत त्यहाँ पुगी प्रहरीलाई गिट्टी मेरो हो । काठ मेरो होइन मिलाई दिनुपर्यो भनी भनेका हुन् त्यसपछि निजलाई मोटरसाइकलमा र हामीलाई गाडीमा राखी विजुवार ल्याएका हुन्, काठ जितमान मियाको हो भन्ने सुनेको हुँ । उक्त काठ ओसारपसार गर्नेमा मेरो कुनै संलग्नता छैन भन्नेसमेत बेहोराको प्रतिवादी रामकृष्ण रावलले सुरू प्यूठान जिल्ला अदालतमा गरेको बयान ।
मिति २०६९/२/३१ गते राति अं.३ बजेको समयमा प्रतिवादीमध्येका जितमान मिया मेरो घरमा आई मलाई तपाइँको ना.२ ख ९२४० नं. को ट्रक चेरनेटादेखि पर बाटोमा फसेको छ जानुपर्यो भनेको हुँदा म निज जितमानको मोटरसाइकल चलाई जितमान र म ट्रक फसेको ठाउँतिर जाँदै गर्दा निज अलि अगाडि झरी म यहीँ बस्छु तपाइँ जानुहोस् भनेकाले म जाँदै गर्दा मेरो ट्रक नभई बरामद हुन आएको ट्रिपर रहेछ । म त्यहाँ पुगी ओर्लना साथ प्रहरीले ट्रिपरले काठ ल्याएको रहेछ त्यो काठ तिम्रो हो भनी मलाई प्रहरीले मोटरसाइकलमा राखी विजुवार चौकीमा ल्याएको हो । पछि चौकीमा आई गिट्टी र काठ अनलोड गर्दा बल्ल थाहा पाएको हुँ । उक्त काठ र गिट्टी के, कुन ठाउँबाट ल्याए मलाई थाहा छैन । मलाई रातिमा ट्रिपरतिर गएको प्रहरीले देखेकाले शंका गरेका हुन् । बरामदी काठ जितमान मियाको हो भन्ने सुनेको हुँ, काठ ओसारपसार गर्नमा मेरो कुनै संलग्नता छैन भन्नेसमेत बेहोराको प्रतिवादी वसन्तकुमार बस्नेतले सुरू प्यूठान जिल्ला अदालतमा गरेको बयान ।
मिति २०६९/२/३० गते कपिलवस्तुको चोरखोलाबाट ट्रिपरमा काठ लोड गरी प्यूठानको चेरनेटा नजिक ओरालोमा झार्ने भनी प्रतिवादी जितमानले काठ लोड गर्न लगाई गिट्टी पनि चाहिन्छ भनेको हुँदा जुरौनी क्रसरमा आउँदा गिट्टी नभएकोले काठ त्यहीँ झारी अर्को दिन साँझ ८ बजे जुरौनी क्रसरमा आई जितमान मियाले भेटी कागजपत्र सबै मिलेको छ काठ लोड गर भनी लोड गर्न लगाई काठमाथि गिट्टी हाली करिब राति ११ बजेतिर प्यूठानको चेरनेटाको ओरालो नजिक स्कुलमा झार्ने भनी आउँदै गर्दा चकचकेभन्दा २/३ कि.मि.यता मैले गाडी बन्द गरी बसेको अवस्थामा बाइकमा आएका प्रहरीले गाडीमा भएका मिलन थिङ, देवेन्द्र दोङ र रामकृष्ण रावललाई सोधपुछ गर्दा तत्कालै त्यहाँ जितमान र वसन्त गई काठ मेरो हो भनेको सुनी मैले बल्ल काठ २ नम्बरीको रहेछ भनी थाहा पाएको हुँ । जितमानले काठको कागजात छ भनेको हुँदा मैले काठ ओसारपसार गरेको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी काइतेन लामाले सुरू प्यूठान जिल्ला अदालतमा गरेको बयान ।
पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल यी प्रतिवादीहरू वसन्तकुमार बस्नेत र काइतेन लामाबाट जनही रू.५,६५,०००।- (पाँच लाख पैसठ्टी हजार) नगदै वा सो बराबरको जेथा जमानत दिए लिई तारेखमा राख्न दिन नसके कानूनबमोजिमको सिधा खान पाउने गरी कारागार कार्यालय प्यूठानमा थुनुवा पुर्जी दिई थुनामा राख्न पठाई दिनू । अन्य प्रतिवादी देवेन्द्र दोङ, मिलन थिङ र रामकृष्ण रावललाई अ.बं.४७ नं. बमोजिम तारेखमा राख्नु भन्नेसमेत बेहोराको सुरू प्यूठान जिल्ला अदालतबाट भएको थुनछेक आदेश ।
म घरको कृषि काम तथा भारततर्फ नोकरी गर्न जाने आउने गर्दछु । २०६८ साल माघ महिनामा भारतको पन्जावमा नोकरी गर्न गई २०६९ साल आषाढ महिनामा घरमा आएको हुँ । विनाइजाजत अवैध काठ ओसार पसार गर्यो भन्ने मितिमा म घरमा नभई भारतको पन्जावमा थिएँ । वारदातको सम्बन्धमा मलाई कुनै थाहा जानकारी छैन । रामकृष्ण रावल, देवेन्द्र दोङ, काइतेन लामाले मलाई के कसरी पोल गरे मलाई थाहा छैन । मैले अवैध काठ ओसारपसारसमेत नगरेको हुँदा अभियोग दाबीबमोजिम सजाय हुनु पर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी सानो जितमान भन्ने जितमान मियाले सुरू प्यूठान जिल्ला अदालतमा गरेको बयान ।
मैले प्रतिवादी कसैलाई चिन्दैन । निजहरूले मलाई पोलगरी के कसरी बयान दिए थाहा छैन, चपडे माइला भन्ने मोमदिन मियाले भनी मेरो नाममा म्याद गएपछि के रहेछ भनी बुझ्न आएको हुँ । मेरो नाम मोमदिन मिया हो, उक्त अवैध काठ ओसारपसार कार्यमा मेरो कुनै संलग्नता नभएकाले मलाई अभियोग दाबीबमोजिम सजाय हुनु पर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी मोमदिन मियाले सुरू प्यूठान जिल्ला अदालतमा गरेको बयान ।
मिसिल संलग्न सम्पूर्ण कागजातहरू घटना विवरण कागज गर्ने मानिसहरूको भनाइ, प्रतिवादीहरूको बयानसमेतका आधारमा प्रतिवादी ममदिन मियालाई पछि ठहरेबमोजिम हुने गरी हाल अ.बं.४७ नं. बमोजिम साधारण तारेखमा राख्नू । प्रतिवादी सानो जितमान भन्ने जितमान मिया अहिले नै कसुरदार रहेनछन् भनी विश्वास गर्न सकिने मनासिब आधार विद्यमान नभएबाट प्रतिवादी सानो जितमान भन्ने जितमान मियाबाट मु.ऐन अ.बं.११८(५)(१०) नं. बमोजिम रू.२५,०००।- (पच्चिस हजार) नगद वा सो बराबरको जेथा जमानत दिए लिई तारेखमा राख्नु भन्नेसमेत बेहोराको मिति २०७०/६/१९ मा सुरू प्यूठान जिल्ला अदालतबाट भएको आदेश ।
म प्रतिवादी वसन्तकुमार बस्नेतको घरमा डेरा गरी ३-४ वर्षदेखि बस्दै आएको छु । निज वसन्तकुमार अवैध काठ ओसारपसार गर्ने मान्छे होइनन्, निजको सो कार्यमा कुनै संलग्नता छैन, काठ कसको हो मलाई थाहा छैन, निजलाई सजाय हुनु पर्ने होइन, वसन्तको ट्रक बिग्रेको छ भनी बोलाउन आई लगी गएका हुन् भन्ने सुनेको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी वसन्तकुमार बस्नेतको साक्षी दिपेन्द्रकुमार श्रेष्ठले सुरू प्यूठान जिल्ला अदालतमा गरेको बकपत्र ।
मिति २०६९/२/३२ गते राति लु.१ ख ५८०९ नं. को ट्रिपरमा लोड़ गरी कागजात नभएको अवैध काठ वसन्तकुमार बस्नेत र अन्य ३ जना लेबरहरूले भालुवाङतर्फबाट ल्याउँदै गर्दा प्यूठान रम्दी ५ हेडट्रेस भन्ने स्थानमा पक्राउ परेको हो, पक्राउ परेको काठ अवैध हुन्, निज वसन्तकुमारले काठ मेरो हो यिनीहरू लेबर हुन् भनेका हुन् । लेवरहरूले पनि काठ वसन्तकुमारको भनेका थिए, मैले वसन्तलाई काठ लोड गरेको ट्रिपरमै भेटाएको हुँ भन्नेसमेत बेहोराको प्रतिवेदक प्रमोदकुमार क्षेत्रीले सुरू प्यूठान जिल्ला अदालतमा गरेको बकपत्र ।
बरामद भएको भनिएको काठ बाङ्गेसालको जितमान मियाको हो भन्ने सुनेको हुँ, काठ विजुवार चौकीमा देखेको हुँ । प्रतिवादीमध्येका वसन्तकुमारलाई चिन्दछु, निज शिक्षक पदमा कार्यरत हुँदा त्यस्तो अवैध काम गरेजस्तो लाग्दैन, निजले सफाइ पाउनु पर्छ भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने गुणेन्द्रबहादुर बस्नेतले सुरू प्यूठान जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादी काइतेन लामाले सहारा क्रसर उद्योगमा ट्रिपर चलाउने काम गर्नु हुन्थ्यो । मिति २०६९/२/३० गते ढुङ्गा बोक्ने काम नभएकाले भालुवाङमा जितमान मियाले गाडी त्यत्तिकै राख्नुभन्दा मैले काम र भाडा दिन्छु काठ र गिट्टी प्यूठान लगी दिनुपर्यो भनेकाले काठ र गिट्टी ल्याइदिनु भएको
हो । काठ र गिट्टी ल्याउँदै गर्दा चेरनेटा भन्ने स्थानमा पक्राउमा परेको हो । जितमान मियाले सबै कागजात ठीक छ भनी भनेका हुन् । यसमा दोषी जितमान नै हुन् । चालक काइतेन लामा निर्दोष छन् भन्नेसमेत बेहोराको प्रतिवादी काइतेन लामाको साक्षी दिपक थिङले सुरू प्यूठान जिल्ला अदालतमा गरेको बकपत्र ।
ट्रिपरसहित काठ चेरनेटामा पक्राउ परेको भन्ने सुनेको हुँ । काठ कहाँबाट कसले ल्याएको हो थाहा भएन । जितमान मिया आफ्नै घरमा भएको र ममदिन मिया चन्द्रौटामा आफ्नो फुपूको घरमा भएको हुँदा निजहरूको उक्त वारदातमा कुनै संलग्नता छैन, निजहरूलाई सजाय हुनु पर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी जितमान र ममदिन मियाको साक्षी रमतुल्ला मियाले सुरू प्यूठान जिल्ला अदालतमा गरेको बकपत्र ।
म वसन्त कुमारको घरमा बिगत ३-४ वर्षदेखि कोठा भाडामा लिई बस्दै आइरहेको छु । निज शिक्षक पेसामा कार्यरत हुँदा विद्यालय जाने आउने गर्नु हुन्थ्यो । निज त्यस्तो अवैध कार्य गर्ने मानिस होइन अवैध काठ ओसार पसार नगरेको हुँदा सजाय पाउनु पर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी वसन्तकुमार बस्नेतको साक्षी चन्द्रा पाण्डेले प्यूठान जिल्ला अदालतमा गरेको बकपत्र ।
मिति २०६९/२/३२ गते राति ट्रिपरमा लोड गरी ल्याएको काठ बाङ्गेसालको जितमान मियाले ल्याएको हो भन्ने सुनेको हुँ, उक्त काठ वैध,अवैध के
हो ? मलाई थाहा भएन । ट्रिपर मात्र देखेको हुँ भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने सुकबहादुर नेपालीले सुरू, प्यूठान जिल्ला अदालतमा गरेको बकपत्र ।
मिति २०६९/२/३२ गतेको राति लु.१.ख ५८०९ नं. को ट्रिपरमा लोड गरी ल्याएको काठ को, कसले, के, कसरी ल्याए थाहा छैन । प्रहरीले मुचुल्कामा सही गर भनेको हुँदा सहीसम्म गरेको हुँ । अरू केही थाहा छैन भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने लक्ष्मण गहतराजले सुरू प्यूठान जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादीहरूको मौकाको बयान, अदालतको बयान, अवैध काठसहित पक्राउ परेको बरामदी मुचुल्का, प्रतिवेदकको बकपत्र, सहअभियुक्तहरूको पोलसमेतबाट प्रतिवादी वसन्तकुमार बस्नेत, काइतेन लामा र जितमान मियाले विनाइजाजत अवैध साल काठ बिगो रू.२,८०,१७९।– (दुई लाख असी हजार एक सय उनासी) बराबरको काठ ओसारपसार बिक्री वितरण गरी वन ऐन, २०४९ को दफा ४९(घ) को कसुर गरेको देखिँदा निजहरूलाई ऐ.ऐनको दफा ५०(१)(घ) (४) बमोजिम बिगोको दोब्बर गर्दा हुने रू.५,६०,३५८।४० (पाँच लाख साठी हजार तीन सय अन्ठाउन्न रूपैयाँ चालिस पैसा) लाई कसुर ठहर भएका तीन जनालाई भाग लगाउँदा पर्न जाने रू.१,८६,७८६।१३ (एक लाख छयासी हजार सात सय छयासी रूपैयाँ तेह्र पैसा) जनही जरिवाना र जनही एक महिना कैद हुन्छ । अन्य प्रतिवादी मिलन थिङ, देवेन्द्र दोङ, रामकृष्ण रावल र ममदिन मियाको कसुर वस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुनसकेको नदेखिँदा निज प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । बोझबाहक धनीलाई मुद्दा नै नचलाइएको तथा कसुरमा निजको संलग्नता पुष्टि नभएको अवस्था हुँदा बोझबाहक ट्रिपर र मोटरसाइकल जफतको दाबी पुग्न सक्दैन भन्नेसमेत बेहोराको सुरू प्यूठान जिल्ला अदालतको मिति २०७०।५।२० को फैसला ।
रातको समयमा काठ लोड गर्न गएको, काठ लोड गरी माथिबाट गिट्टीले छोपी ल्याएको, सहअभियुक्तहरूले पोल गरी बयान गरेका, ठेकेदार जितमान मियाले गाडीमा काठ छ, कुराकानी मिलाएको काठ हो, डराउन पर्दैन काठ अनलोड गर २, ४ पैसा हुन्छ सँगै जाउँ भनेकाले ट्रिपरमा बसी आएको हुँ र काठसमेत कालाकाटेमा लोड गरेको भनी बयान गरेका अवस्थामा सो कुरालाई नजरअन्दाज गरी केबल अदालतमा गरेको इन्कारी बयानलाई मात्र आधार प्रमाणमा लिई प्रतिवादी मिलन थिङ, देवेन्द्र दोङ, रामकृष्ण रावल र ममदिन मियालाई अभियोग दाबीबाट सफाइ दिएको र मालबाहक लु.१.ख ५८०९ नं. को ट्रिपर र वसन्तकुमार बस्नेतले प्रयोग गरेको मोटरसाइकल वारदात स्थलबाटै बरामद भई आएको अवस्थामा वन ऐन, २०४९ को दफा ६६ बमोजिम जफत गर्नु पर्नेमा नगरेको र ऐनमा दामासाही भन्ने उल्लेख भएकोमा बाहेक दामासाहीले जरिवाना गर्न नहुनेमा दामासाहीले जरिवाना गर्ने गरेको फैसला कानूनी त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर उल्टी गरी सुरू अभियोग दाबीबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
यसमा दामासाहीले जरिवाना गर्ने गरी भएको मिति २०७०/०५/२० को प्यूठान जिल्ला अदालतको फैसला विचारणीय हुँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी प्रतिवादीहरूलाई झिकाइ पेस गर्नु भन्ने पुनरावेदन अदालत तुलसीपुरको मिति २०७०/१२/२४ गतेको आदेश ।
प्रतिवादीहरू मिलन थिङ, रामकृष्ण रावल, देवेन्द्र दोङ र मोमदिन मियाको वादी दाबीको कसुरमा मनसायसहितको संलग्नता रहेको पुष्टि हुने प्रमाण वादी पक्षबाट पेस हुन सकेको देखिँदैन । प्रतिवादीहरू वसन्तकुमार, जितमान र काइतेन लामालाई जरिवानाको सजाय गर्दा जनही जरिवाना गर्नुपर्ने भन्ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर रहे तापनि ....कुनै कसुर गरेबापत ऐनमा स्पष्टतः जनही सजाय हुने भनी उल्लेख भएको अवस्थामा बाहेक एकभन्दा बढी कसुरदार भएमा सो सजाय सामूहिक रूपमा भएको मान्नुपर्ने र उक्त सजाय दामासाहीले असुल गर्नुपर्ने, सामूहिक रूपमा गरेको कसुरका लागि सामूहिक रूपमै सजाय हुने हुँदा जनही सजाय नगरी दामासाहीले सजाय हुने (ने. का. प. २०६५, माघ, नि. नं. ८०२८, पृष्ठ १२७१) भन्ने सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादन भएको देखिँदा प्रस्तुत मुद्दामा कसुरदारलाई दामासाहीले सजाय गर्ने गरी भएको फैसला न्यायसङ्गत नै रहेको देखिन्छ । कसुरमा प्रयोग भएको बोझबाहक साधन जफत नगरेको भन्ने पुनरावेदक वादीको पुनरावेदन जिकिरका सम्बन्धमा विचार गर्दा, वन ऐनअन्तर्गतको कसुरमा प्रयोग भएको सवारी साधनका सम्बन्धमा “....साधन धनी स्वयंको संलग्नतामा वा निजको सहमति, स्वीकृति, मन्जुरी वा जानकारीमा बोझबाहक साधनको प्रयोग भएको ठहरिएमा त्यस्तो साधन जफत हुनु कानूनसम्मत मात्र नभई न्यायोचित र विवेकसम्मत समेत हुने....” (ने.का.प.२०६८, नि.नं. ८६२९ पृष्ठ ९०८) भनी सर्वोच्च अदालतबाट व्याख्या भएको सन्दर्भमा प्रस्तुत मुद्दामा बरामद बोझबाहकका धनी विरूद्ध प्रतिवादी नबनाइएको अवस्थामा निज सवारी धनीलाई सजाय गर्ने र सवारी जफत गर्नु न्यायसम्मत हुने देखिँदैन । अत: प्रतिवादीहरू मिलन थिङ, देवेन्द्र दोङ, रामकृष्ण रावल र मोमदिन मियालाई सफाइ दिई बरामद सवारी साधन जफत नहुनेसमेत गरी सुरू प्यूठान जिल्ला अदालतको मिति २०७०/५/२०/५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भनी पुनरावेदन अदालत तुलसीपुरबाट मिति २०७१।८।१७ मा भएको फैसला ।
पुनरावेदन अदालत तुलसीपुरबाट भएको फैसलामा संलग्न प्रमाणहरूको यथोचित मूल्याङ्कन नगरेबाट प्रमाण ऐन, २०३१ को दफा ३ को उल्लङ्घन तथा वन ऐन, २०४९ को दफा ६६ र ५० समेतको व्याख्यात्मक त्रुटि देखिएको छ । प्रतिवादी मोमदिन मिया मौकामा फरार भई अदालतमा हाजिर भई बयान गर्दा इन्कार रही बयान गरेको भएपनि प्रतिवादी चालक काइतेन लामाको पोलमा परेका छन् । निज काइतेन लामाले मौकामा बयान गर्दा काठ लोड गर्ने बेला यी प्रतिवादी पनि थिए भनी लेखाएका र अदालतमा बयान गर्दासमेत उक्त बेहोरालाई स्वीकार गरेका
छन् । प्रतिवादी मिलन थिङ, देवेन्द्र दोङ र रामकृष्ण रावलको हकमा हेर्दा यी प्रतिवादीहरू अवैध काठ बोकेको लु.१ ख ५८०९ नं. को टिपरमा बसी आएको अवस्थामा घटनास्थलबाटै पक्राउ परेको अवस्था
छ । यी प्रतिवादीहरू उक्त टिपरमा लोड भएको सामान अनलोड गर्न भनी सँगै आएका हुन् । यी प्रतिवादीहरू अवैध काठको कारोबारमा संलग्न रहेको दाबी नरही अवैध रूपमा काठको अर्थात् वन पैदावारको कारोबार र ओसारपसारको काम हो भन्ने थाहा हुँदाहुँदै पनि सहयोग गरेको दाबी रहेको र मतियार रहेको स्वयं प्रतिवादीहरूकै बयानबाट स्थापित भएको अवस्थामा निजहरूको उक्त कार्यमा दूषित मनसायसहितको आपराधिक काम भएको प्रस्ट देखिएको र अवैध रूपमा ओसार पसारमा सहयोग गरेको प्रस्ट हुँदाहुँदै पनि मनसायसहितको संलग्नता नरहेको भन्ने आधार लिई निजहरूलाई सफाइ दिई भएको फैसला न्यायसङ्गत नहुँदा खण्डनीय भई बदरभागी छ ।
बोझबाहक लु.१ ख ५८०९ नं. को टिपर र वसन्तकुमार बस्नेतले प्रयोग गरेको मोटरसाइकल जफत नभएको तर्फ हेर्दा उक्त टिपर अवैध रूपमा ठूलो परिमाणको वन पैदावार साल जातको काठ ओसार पसार गर्ने कार्यमा संलग्न भएको तथ्यमा कुनै विवाद छैन भने मोटरसाइकलसमेत उक्त टिपरलाई अघि पछि escorting गर्दै आएको र कसुरदार ठहरिएका वसन्त कुमार बस्नेतले चलाएको अवस्थामा वारदात स्थलबाटै बरामद भई आएको अवस्था छ । वन ऐन, २०४९ को दफा ६६ को व्यवस्थालाई हेर्दा यो ऐनबमोजिम सजाय हुने कसुर गरेको ठहरिएमा कसुरमा बरामद भएको सबै बोझबाहक, औजार, चौपाया र अन्य साधनहरू जफत हुने छन् भन्ने व्यवस्था रहेको छ । मोटरसाइकल बोझबाहक भएको नदेखिए तापनि विना इजाजत वन पैदावार काठको ओसारपसार गर्ने कार्यमा अन्य सहयोगी साधनका रूपमा प्रयोग भएको अवस्था प्रस्ट छ भने मोटरसाइकल चालकलाई कसुरदार ठहर पनि भएको अवस्था छ । उक्त मोटरसाइकल जफत नगरेको कार्य प्रत्यक्षतः वन ऐन, २०४९ को दफा ६६ विपरीत रहेको छ । सम्मानित अदालतबाट वन ऐन, २०४९ को दफा ६६ को कानूनी प्रावधानको व्याख्या गर्ने क्रममा प्रतिपादित नजिर सिद्धान्त (ने.का.प., माघ २०६६, पृ. १७५१, नि.नं. ८२५४, प्र.नं.६) समेतको विपरीत हुने गरी वारदातमा प्रयोग भएका बोझबाहक टिपर र मोटरसाइकलसमेत जफत नहुने ठहर्याई भएको प्रस्तुत फैसलामा नजिर सिद्धान्तको प्रयोग र परिपालनासमेत नभएकोले त्रुटिपूर्ण भई बदरभागी
छ । प्रतिवादी वसन्तकुमार बस्नेत, सानो जितमान भन्ने जितमान मिया र काइतेन लामालाई कसुर ठहर गरी जरिवाना दामासाही गरेको प्रत्यक्षतः कानूनी व्यवस्था प्रतिकूल छ । वन ऐन, २०४९ मा सामूहिक रूपमा कसुर गरेकोमा जरिवाना दामासाही गर्ने भन्ने उल्लेख छैन । तसर्थ, ऐनमा दामासाही भन्ने उल्लेख नभएकोमा दामासाहीले जरिवाना गरेको प्रस्तुत फैसला प्रत्यक्षतः कानूनी व्यवस्था प्रतिकूल छ । अतः पुनरावेदन अदालत तुलसीपुर दाङको प्रस्तुत फैसला बदर गरी उल्लिखित सबै प्रतिवादीहरूलाई सुरू अभियोग माग दाबीबमोजिम नै सजाय कायम गरी वारदातमा प्रयोग भएका उल्लिखित सवारी साधनहरूसमेत जफत गराई पाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको मिति २०७१।१२।१६ मा यस अदालतमा चढाएको मुद्दा दोहोर्याई हेरी पाउने निवेदन ।
यसमा सफाइ पाएका प्रतिवादीहरू काठ ओसारपसार गर्ने ट्रिपरमा सवार रहेको र ठुलो परिमाणको काठको ओसार पसारको वारदात रहेको प्रस्तुत मुद्दामा ३ जना प्रतिवादीलाई मात्र सजाय गरी अरू प्रतिवादीहरूलाई सफाइ दिएको पुनरावेदन अदालत तुलसीपुरको मिति २०७१।८।१७ को फैसलामा वन ऐन, २०४९ को दफा ४९, ५४ र ६६ का अतिरिक्त मुलुकी ऐन, अ.बं. १८४ क र १८५ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ३, ९ र ५४ समेतको त्रुटि देखिन आएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको यस अदालतबाट मिति २०७२।१०।१० मा भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता सोमकान्ता भण्डारीले सफाइ पाएका प्रतिवादीहरूमध्ये मोमदिन मिया चालक काइतेन लामाको पोलमा परेका छन् । निज काइतेन लामाले मौकामा बयान गर्दा काठ लोड गर्ने बेला यी प्रतिवादी पनि थिए भनी लेखाएका र अदालतमा बयान गर्दासमेत उक्त बेहोरालाई स्वीकार गरेका छन् । प्रतिवादी मिलन थिङ, देवेन्द्र दोङ र रामकृष्ण रावलको हकमा हेर्दा यी प्रतिवादीहरू अवैध काठ बोकेको लु.१ ख ५८०९ नं. को टिपरमा बसी आएको अवस्थामा घटनास्थलबाटै पक्राउ परेको अवस्था छ । निजहरूको संलग्नता स्पष्टतः पुष्टि भइरहेको छ । त्यसैगरी सजाय भएका प्रतिवादीहरू वसन्तकुमार बस्नेत, जितमान मिया र काइतेन लामाको हकमा हेर्दा कसुर ठहर गरी सजाय गरेको भए तापनि जरिवाना कायम गर्दा जरिवाना दामासाही गरेको प्रत्यक्षतः कानूनी व्यवस्था प्रतिकूल छ । वन ऐन, २०४९ मा सामूहिक रूपमा कसुर गरेकोमा जरिवाना दामासाही गर्ने भन्ने उल्लेख छैन । तसर्थ, ऐनमा दामासाही भन्ने उल्लेख नभएकोमा दामासाहीले जरिवाना गरेको प्रस्तुत फैसला प्रत्यक्षतः कानूनी व्यवस्था प्रतिकूल छ भने अवैध काठ बोकेको लु.१ ख ५८०९ नं. को टिपर र प्रतिवादी वसन्तकुमार बस्नेतले कसुरजन्य कार्य गर्दा प्रयोग गरेको सवारी साधन लु.९ प. ६८९३ नं. को मोटरसाइकलसमेत जफत नगरिएको वन ऐन, २०४९ को दफा ६६ को विपरीत हुँदा सुरू फैसलालाइ सदर गर्ने गरी भएको पुनरावेदन अदालत तुलसीपुरको मिति २०७१।८।१७ को फैसला त्रुटिपूर्ण हुँदा बदरभागी छ । उक्त फैसला उल्टी गरी सुरू अभियोग दाबीबमोजिम गरिपाउँ भनी बहस जिकिर प्रस्तुत गर्नुभयो ।
त्यसैगरी प्रतिवादीहरू चपडे माइला भन्ने मोमदिन मिया र रामकृष्ण रावलका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता नारायणप्रसाद देवकोटाले यी प्रतिवादीहरूको कसुरमा संलग्नता पुष्टि हुन सकेको अवस्था छैन । प्रतिवादी मोमदिन मिया घटनास्थलबाट पक्राउ भएका छैनन् भने अर्का प्रतिवादी रामकृष्ण रावलको हकमा मनसायपूर्वक कसुर गरेको वादी पक्षबाट पुष्टि हुन नसकेको हुँदा यी दुइजना प्रतिवादीहरूको हकमा कसुर पुष्टि भएको नहुँदा प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको सुरू फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत तुलसीपुरको फैसला मिलेकै हुँदा यी प्रतिवादीहरूको हकमा उक्त फैसला सदर हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।
पुनरावेदन अदालत तुलसीपुर दाङको फैसलाले सफाइ पाएका प्रतिवादीहरूमध्ये देवेन्द्र दोङ, मिलन थिङ र रामकृष्ण रावल वारदातस्थलबाट अवैध काठसहित पक्राउमा परेका छन् भने निजहरूले अदालतमै बयान गर्दासमेत बरामद अवैध काठ अनलोड गर्नका लागि काठ ओसारपसार गरिरहेको टिपरमा बसेर आइरहेको कुरा स्वीकार गरिरहेका
छन् । यस्तो अवस्थामा निज प्रतिवादीहरूलाइ सफाइ दिनु त्रुटिपूर्ण रहेको छ । त्यसैगरी अर्का प्रतिवादी मोमदिन मियाको हकमा हेर्दा निज प्रतिवादीसमेत बरामद अवैध काठ ओसार पसारमा संलग्न रहेको भनी प्रतिवादी काइतेन लामाले बयानको क्रममा खुलाएका छन् भने निज प्रतिवादीले वस्तुनिष्ठ प्रमाणबाट आफ्नो निर्दोषिता पुष्टि गर्न सकेका छैनन् । निजको इन्कारी बयान मात्रै स्वयंमा सफाइको आधार बन्न
सक्दैन । त्यसैगरी घटनास्थलबाट बरामद भएका सवारी साधनहरू जफत नगरेको सन्दर्भमा वन ऐन, २०४९ को दफा ६६ को प्रस्ट रूपमा विपरीत भई फैसला भएको छ । कसुरजन्य कार्यमा प्रयोग भएको पुष्टि भइरहेको अवस्थामा समेत उक्त सवारी साधनहरू बरामद नगरिनु त्रुटिपूर्ण रहेको छ । कसुर ठहर भएका प्रतिवादीहरू वसन्तकुमार बस्नेत, सानो जितमान भन्ने जितमान मिया र काइतेन लामालाई कसुर ठहर गरी जरिवाना दामासाही गरेको प्रत्यक्षतः कानूनी व्यवस्था प्रतिकूल छ । वन ऐन, २०४९ मा सामूहिक रूपमा कसुर गरेकोमा जरिवाना दामासाही गर्ने भन्ने उल्लेख छैन । तसर्थ, ऐनमा दामासाही भन्ने उल्लेख नभएकोमा दामासाहीले जरिवाना गरेको पुनरावेदन अदालत तुलसीपुर, दाङबाट भएको प्रस्तुत फैसला प्रत्यक्षतः कानूनी व्यवस्था प्रतिकूल भएको हुँदा सुरू अदालतको फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत तुलसीपुरको प्रस्तुत फैसला बदर गरी सुरू अभियोग दाबीबमोजिम गरिपाउँ भन्ने पुनरावेदक वादी नेपाल सरकारको मुख्य पुनरावेदन जिकिर रहेको देखिन्छ ।
यसमा प्रतिवादीहरू जितमान मिया, वसन्तकुमार बस्नेत, चपडे माइला भन्ने मोमदिन मिया र काइतेन लामाउपर वन ऐन, २०४९ को दफा ४९ (घ) बमोजिमको कसुरमा ऐ. दफा ५०(१)(घ)(४) बमोजिम सजाय हुन र प्रतिवादीहरू देवेन्द्र दोङ, मिलन थिङ र रामकृष्ण रावलउपर ऐ. ऐनको दफा ५४ बमोजिमको कसुरमा ऐ. दफा ५४ बमोजिम सजाय गरी बरामद सवारी साधनहरू लु. १ ख ५८०९ नं. को टिपर र लु. ९ प ६८९३ नं. को मोटर साइकलसमेत ऐ. ऐनको दफा ६६ बमोजिम जफत गरिपाउन अभियोग दाबी रहेकोमा प्रतिवादीहरू देवेन्द्र दोङ, मिलन थिङ, रामकृष्ण रावल र मोमदिन मियाको हकमा अभियोग दाबीबाट सफाइ पाउने, प्रतिवादीहरू वसन्तकुमार बस्नेत, काइतेन लामा र जितमान मियाको हकमा कसुर ठहर भई वन ऐन, २०४९ को दफा ५०(१)(घ)(४) बमोजिम जनही एक महिना कैद र बिगोको दोब्बर रू.५६०,३५८।४० तीन जना प्रतिवादीहरूलाई दामासाहीले जरिवाना हुने तथा बरामद सवारी साधनहरू जफत नहुने गरी सुरू प्यूठान जिल्ला अदालतबाट मिति २०७०।५।२० मा फैसला भएकोमा वादी नेपाल सरकारको फैसलाउपर पुनरावेदन परेकोमा पुनरावेदन अदालत तुलसीपुर, दाङबाट सुरू फैसला सदर हुने गरी मिति २०७१।८।१७ मा फैसला भएको र उक्त फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट मुद्दा दोहोर्याई हेरी पाउन यस अदालतसमक्ष निवेदन परेकोमा दोहोर्याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रूपमा दर्ता भई इजलाससमक्ष पेस हुन आएको देखिन्छ ।
पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर, पक्ष विपक्षबाट उपस्थित कानून व्यवसायीहरूको बहस जिकिर तथा पुनरावेदन अदालत तुलसीपुरबाट भएको फैसलासमेतको अध्ययन गरी हेर्दा मूलतः पुनरावेदन अदालतको फैसलाउपर पुनरावेदन जिकिरमा उठाइएका तिनवटा विषयवस्तुहरू सफाइ पाएका प्रतिवादीहरूले सफाइ पाउनु पर्ने हो होइन ? कसुर ठहर भएका प्रतिवादीहरूको हकमा दामासाहीले गरिएको जरिवाना मिलेको छ छैन ? र बरामद सवारी साधनहरू जफत हुनुपर्ने हो होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
मिति २०६९/२/३२ गते राति ३:३० बजेको समयमा लु.१ ख ५८०९ नं. को ट्रिपरमा सालजातको चिरान काठ थान २३० परिमाण २५०.१६ क्यु. फिट ढुवानी गरिरहेको अवस्थामा उक्त काठसहितको टिपर र प्रतिवादी वसन्तकुमार बस्नेतले चलाउँदै टिपरसँगै आइरहेको लु. ९ प ६८९३ नं. को मोटरसाइकलसमेत बरामद भएको र सोही घटनामा घटनास्थलमा प्रतिवादीहरू देवेन्द्र दोङ, मिलन थिङ, रामकृष्ण रावल र वसन्तकुमार बस्नेतसमेत पक्राउ परेको बरामदी मुचुल्काले देखाएको तथा प्रतिवादीहरूले काठको वैधानिकता पुष्टि गर्न नसकेको अवस्थामा उक्त परिमाणको साल काठ अवैध रूपमा ओसारपसार गरिएको तथ्यमा विवाद रहेको देखिँदैन ।
२. सफाइ पाएका प्रतिवादीहरूको हकमा प्रतिवादीहरूको कसुरमा संलग्नताको अवस्था र निजहरूले सफाइ पाएको मिलेको छ छैन ? भनी प्रथम प्रश्नमा विचार गर्दा अवैध काठ बरामद भएको घटनास्थलमा प्रतिवादीहरू देवेन्द्र दोङ, मिलन थिङ, रामकृष्ण रावल र वसन्तकुमार बस्नेतसमेत पक्राउ परेको तथ्यमा विवाद छैन । उक्त तथ्यलाई प्रहरी प्रतिवेदन, प्रतिवेदकलगायतको बकपत्र आदिले समेत पुष्टि गरेको छ भने प्रतिवादीहरू स्वयंले समेत इन्कारी गरेको देखिँदैन ।
३. म पाल्पाबाट लाइसेन्सको ट्रायल दिन बुटवलमा आएको थिएँ । हाम्रै गाउँको साथी लु.१ ख ५८०९ नं. को ट्रिपरको सहचालक देवेन्द्र दोङसँग भेट भई उसले यतातिर घुम्न जाउँ भनेकाले ऊसँग घुम्न आएको थिएँ । हामी खलासीहरूको सुत्ने ठाउँ नहुँदा गाडीमा सुत्न भनी आएको अवस्थामा ड्राइभरले ट्रिपरमा काठ र गिट्टी लोड गरी ल्याएको रहेछ । ड्राइभरले मलाई सो गिट्टी अनलोड गर्न जाउँ भनेर ल्याएको हो भनी प्रतिवादी मिलन थिङले मौकामा बयान गरेको देखिन्छ भने अदालतमा बयान गर्दासमेत जेठ २९ गते ट्रायल दिई चन्द्रौटातर्फ घुम्न आउँदा देवेन्द्रको गाडी भेटियो त्यही गाडीमा घुम्न जाउँ भनेकाले साथै बसी ३१ गते कालाकाटे क्रसर उद्योगमा ढुङ्गा झारी साथै आएको हुँ, कहाँ जाने हो मलाई थाहा भएन । विजुवार चौकीमा आएर मात्र काठ र गिट्टी भएको मैले थाहा पाएको हुँ । म गाडीमा सुतेको हुँदा बाटोमा के के भयो मलाई थाहा भएन भनी कसुरमा इन्कार रही बयान बेहोरा लेखाएका छन् ।
४. प्रतिवादी देवेन्द्र दोङले यो काठ जितमान मिया भन्ने व्यक्तिको हो । काठ प्यूठानको भिंग्रीसम्म लैजाने हो भनी ड्राइभरले भनेकोले उक्त काठ कालाकाटेबाट लोड गरेको हो, कहाँसम्म लैजाने हो मलाई थाहा भएन भनी मौकामा र मिति २०६९/२/२९ गते लाइसेन्स लिनको लागि बुटवल गएको थिएँ । मैले खलासी गर्ने गाडी चन्द्रौटामा भएको हुँदा म र मेरो साथी मिलन थिङ भई आएका थियौं, २ दिन काम गरी साँझ खाना खान गएको बेला क्रसर उद्योगमा गाडी लोड भएको रहेछ । गाडीमा गिट्टी लोड थियो । प्यूठान जाउँ भनेकाले मेरो साथी मिलनलाई पनि जाउँ भनी लिएको हुँ । म खाना खान गएको बेला लोड भएको हुँदा मैले लोड गरेको नदेखेको हो र खलासी भएको हुँदा जहाँ जाउ भन्यो त्यहीँ जानु पर्ने भएको हुँदा गाडीमा सँगै थिएँ भनी मौकामा र अदालतमा समेत कसुरमा इन्कार रही बयान गरेको देखिन्छ ।
५. त्यसैगरी मिति २०६९/२/३० गते म मेरो ससुराल दाङको कालाकाटे गई सोको भोलिपल्ट घरतर्फ फर्कन लाग्दा बाङ्गेसाल गा.वि.स. वडा नं. ५ बस्ने सानो जितमान भन्ने जितमान मियासँग दाङ जिल्लाको कालाकाटेमा भेट भएको र निजले तिमी अहिले घर नजाउ हाम्रो गाडी प्यूठानतिर जाँदैछ, त्यसैमा जाउँला भनेकोले म त्यही गाडीमा चढी प्यूठान दरभान ओर्लन खोज्दा तिमी अहिले नझर मेरो काठ छ अनलोड गर्नुपर्छ म तिमीलाई रू.६००।- दिउँला भनेका हुँदा सो गाडीमा आएको हुँ भनी प्रतिवादी रामकृष्ण रावलले मौकामा र अदालतमा समेत बयान लेखाएका छन् ।
६. मैले प्रतिवादीहरू कसैलाई पनि
चिन्दिन । निजहरूले मलाई पोल गरी के कसरी बयान दिए मलाई थाहा छैन । चपडे माइला भन्ने मोमदिन मिया भनी मेरो नाममा म्याद गएपछि के रहेछ भनी बुझ्न अदालत आएको हुँ । मेरो नाम मोमदिन मिया हो । उक्त अवैध काठ ओसार पसार कार्यमा मेरो कुनै संलग्नता नभएकाले मलाई अभियोग दाबीबमोजिम सजाय हुनु पर्ने होइन भनी प्रतिवादी मोमदिन मियाले अदालतमा बयान गरेको देखिन्छ ।
७. प्रतिवादीहरू देवेन्द्र दोङ, मिलन थिङ र रामकृष्ण रावल अवैध काठ ओसारपसार गरिरहेको गाडीमा आइरहेको र घटनास्थलबाट अवैध काठसँगै पक्राउ परेको विषयमा घटनास्थल मुचुल्का, प्रहरी प्रतिवेदन, प्रतिवेदकलगायतका साक्षीहरूको अदालतमा भएको बकपत्र तथा स्वयम् प्रतिवादीहरूको मौकाको र अदालतमा भएको बयानबाट पुष्टि भइरहेकोमा अन्यथा भन्न सकिएन । यी प्रतिवादीहरूमध्ये देवेन्द्र दोङ र मिलन थिङ बरामद टिपरको सहचालक र निजको साथी भएकोले चालकको आदेश मानेर काठ अनलोड गर्न बसेको देखिन्छ । रामकृष्ण रावललाई जितमान मियाले काठ अनलोड गरिदेउ पैसा दिउँला अर्थात् ज्याला दिउँला भनेको हुँदा मजदुरको रूपमा काम गर्न गएको देखिन्छ । यी प्रतिवादीहरू घटनास्थलबाट पक्राउ परेकोमा अन्यथा भन्न सक्ने अवस्था नरहे तापनि कसुरमा संलग्नताको स्थिति हेर्दा यिनीहरूलाई अन्य प्रतिवादीहरूले पोल गरेको अवस्थासमेत देखिँदैन । प्रतिवेदकलगायत सरकारी साक्षीहरूले समेत यी प्रतिवादीहरू समेतले अवैध काठ ओसारपसार गरेका हुन् भनी लेखाउन सकेकोसमेत देखिँदैन । यी प्रतिवादीहरूलाई काठ वैध अवैध के हो भन्ने जानकारी नभएको, मजदुरको रूपमा काठ अनलोड गरीदिन गाडीमा आइरहेको, काठ कहाँबाट आयो ? कहाँ लाने हो ? त्यसको बिक्री वितरण कसरी हुने र बिक्री वितरणको आय आर्जनसमेत यिनीहरूले प्राप्त गर्ने अवस्था रहे भएको देखिँदैन । घटनास्थलमा अवैध काठसहित पक्राउ पर्नु कसुर कायम हुन पर्याप्त हुँदैन उक्त कसुर गराउनमा प्रतिवादीहरूको भूमिका, कसुरमा संलग्नताको स्तर, कसुर घटाउन मनसाय तत्त्वको प्रस्फुटित अवस्था र कसुरजन्य कार्य गरेको पुष्टि हुनु आदि जस्ता तत्त्वहरूको समष्टिले मात्र प्रतिवादी कसुरदार हो होइन भनी पुष्टि गर्ने गर्दछ । सिमित र अपूर्णरूपमा कसुरमा मनसायविना जोडिएको अवस्थामा कसुरदार ठहर्याउँदा प्रमाण मूल्याङ्कनको त्रुटि हुन जान्छ । त्यसैगरी प्रतिवादी मोमदिन मियाको हकमा हेर्दा निजले कसुरमा इन्कार रही बयान बेहोरा लेखाएका छन्, निज घटनास्थलमा पक्राउ परेकासमेत छैनन् भने अन्य कुनै वस्तुनिष्ठ प्रमाणबाट निजको कसुरमा संलग्नता पुष्टि हुन सकेको देखिँदैन । अतः यी प्रतिवादीहरूको बरामद अवैध काठ ओसार पसारमा संलग्नता पुष्टि हुन सकेको देखिँदैन ।
८. कसुर ठहर भएका तिनजना प्रतिवादीहरू वसन्तकुमार बस्नेत, जितमान मिया र काइतेन लामाको हकमा भएको जरिवानालाई दामासाही गर्ने गरी भएको फैसला मिलेको छ छैन ? भनी दोस्रो प्रश्नमा विचार गर्दा यी प्रतिवादीहरूलाई कसुर ठहर गरी वन ऐन, २०४९ को दफा ५० (१ (घ) (४) बमोजिम बिगोको दोब्बर रू.५६०,३५८।४० जरिवाना हुने ठहरी उक्त जरिवाना तीनजना प्रतिवादीबाट दामासाहीले जनही रू.१८६,७८६।१३ जरिवाना हुने गरी फैसला भएको देखिन्छ । यस सम्बन्धमा वन ऐन, २०४९ तथा अन्य प्रचलित कानूनले सामूहिक रूपमा कसुर गरेको अवस्थामा कसुर ठहर भएका प्रतिवादीहरूबाट अलग अलग रूपमा हुन आउने बिगो असुलउपर गर्ने सम्बन्धमा कुनै कानूनी व्यवस्था गरेको देखिँदैन । वन ऐन, २०४९ को दफा ५० (१(घ)(४) मा दफा ४९ को खण्ड (घ), (ङ),(च), (छ) वा (ज) अन्तर्गतको कसुर गर्नेलाई कसुरसँग सम्बन्धित वन पैदावार जफत गरी पाँच हजारभन्दा बढीको बिगो भए बिगोको दोब्बर जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने भन्ने व्यवस्था रहेको देखिन्छ । उक्त दफाले समेत बिगोको दोब्बर जरिवाना हुने भनी स्पष्ट उल्लेख गरेको छ तर सामूहिक रूपमा कसुर गर्दा हरेक प्रतिवादीलाई बिगोको दोब्बर जरिवाना हुने भनी स्पष्ट उल्लेख गरेको
देखिँदैन । त्यसैगरी “कुनै कसुर गरेबापत ऐनमा स्पष्टतः जनही सजाय हुने भनी उल्लेख भएको अवस्थामा बाहेक एकभन्दा बढी कसुरदार भएमा सो सजाय सामूहिक रूपमा भएको मान्नुपर्ने र उक्त सजाय दामासाहीले असुल गर्नुपर्ने, सामूहिक रूपमा गरेको कसुरका लागि सामूहिक रूपमै सजाय हुने हुँदा जनही सजाय नगरी दामासाहीले सजाय हुने” (ने.का.प. २०६५, माघ, नि.नं. ८०२८, पृष्ठ १२७१, मुद्दाः वन पैदावार हटाई पाउँ) भन्ने सिद्धान्तसमेत प्रतिपादन भएको देखिँदा प्रतिवादीहरूलाई जम्मा ठहर भएको बिगो दामासाहीले जरिवाना हुने गरी भएको फैसलालाई अन्यथा मान्न सकिएन ।
९. त्यसैगरी बरामद भएका सवारी साधनहरू जफत नहुने गरी भएको फैसला मिलेको छ छैन ? भनी तेस्रो प्रश्नमा विचार गर्दा वन ऐन, २०४९ को दफा ६६ ले यो ऐनबमोजिम सजाय हुने कसुर गरेको ठहरिएमा कसुरमा बरामद भएका सबै बोझबाहक, औजार, चौपाया र अन्य साधनहरू जफत हुने छन् भन्ने उल्लेख गरी कसुरमा प्रयोग भएको सवारी साधन जफत हुने भन्ने कानूनी व्यवस्था गरेको देखिन्छ । तथापि उक्त व्यवस्था निरपेक्ष रूपले सबै अवस्थामा प्रयोग हुन सक्ने हुँदैन । सवारी धनीले जानी बुझी कसुर गर्नका लागि सवारी प्रयोग गरेको अवस्था हो होइन भनी न्याय सम्पादन गर्दा हेर्नु पर्ने हुन्छ । सवारी धनीको जानकारीविना उसको अनुमतिविना अन्य व्यक्तिले सवारी साधनको दुरूपयोग गरी कसुर गर्नमा प्रयोग गरेको अवस्थामा उक्त सवारी साधनको जफत हुने हो भने निर्दोष व्यक्ति अनाहकमा प्रताडित बन्न जाने अवस्था सिर्जना हुन जान्छ । त्यसैगरी “अवैध रूपमा वन पैदावार ओसार पसार गर्ने कार्यमा सवारी धनी आफू संलग्न पनि नभएको वा अवैध वन पैदावार ओसार पसार गर्ने निजको मनसाय पनि नभएको तथा आफ्नो सवारी साधन अवैध वन पैदावार ओसार पसार गर्ने कार्यमा प्रयोग हुँदैछ भन्ने थाहा जानकारी पनि नभएको र त्यस्तो कार्यमा निजको अनुमति, मन्जुरी वा सहमति रहेको पनि नदेखिएको अवस्थामा निजको सवारी साधन जफत हुनु न्याय वा औचित्य कुनै पनि दृष्टिबाट तर्कसङ्गत नहुने” भनी ने.का.प. २०६८, अंक ६, नि नं. ८६२९, पृ.९०८, मुद्दाः काठ चोरी निकासीमा सिद्धान्तसमेत प्रतिपादन भएको देखिन्छ ।
१०. प्रस्तुत मुद्दामा बरामद भएका सवारी साधनमध्ये लु.१ ख ५८०९ नं. को टिपरको सम्बन्धमा टिपरका धनी ओमप्रकाश भुषालको उक्त वारदात घटाउनमा कुनै संलग्नता नदेखिएको, निजले जानी बुझी आफ्नो सवारी साधन कसुरजन्य कार्य गर्नमा प्रयोग गर्न दिएकोसमेत नदेखिएको, चालक काइतेन लामाले सवारी धनीलाई काठ ओसार पसार गरेको सम्बन्धमा कुनै जानकारी थिएन भनी बयान बेहोरा लेखाइदिएको तथा निज ओमप्रकाश भुषालले आफ्नो सवारीमा अवैध काठ ओसारपसार गरेको सम्बन्धमा आफूलाई कुनै थाहा जानकारी थिएन भनी कागज गरिदिएको तथा निजलाई अभियोजन पक्षबाट प्रतिवादीसमेत कायम नगरिएको अवस्था देखिन्छ । त्यसैगरी जफत दाबी लिइएको लु.९ प ६८९३ नं. को मोटरसाइकलको सम्बन्धमा हेर्दा उक्त मोटरसाइकल धनी को हो भन्ने अभियोजन गर्दा खुलाएको देखिँदैन भने उक्त मोटरसाइकल धनीले जानी बुझी उक्त साधन कसुरजन्य कार्य गर्न दिएको भन्ने वादी पक्षबाट प्रमाणित गर्न सकेको देखिँदैन । अवैध काठ बरामद हुँदै गर्दा प्रतिवादी वसन्तकुमार बस्नेत उक्त मोटरसाइकलमा घटनास्थलमा पुगेकोसम्म देखिन्छ भने अन्य के कस्ता कसुरजन्य कार्यमा उक्त साधन प्रयोग भएको थियो वादी पक्षले खुलाउन सकेकोसमेत नहुँदा उक्त बरामद मोटरसाइकल कसुरमा प्रयोग भएकोसमेत प्रमाणित हुन नसकेको अवस्था देखिन्छ । सो हुँदा उक्त टिपर र मोटरसाइकल जफत नहुनु न्यायसङ्गत नै देखिन आएको छ ।
११. प्रतिवादीहरू मिलन थिङ, देवेन्द्र दोङ र प्रतिवादी रामकृष्ण रावल घटनास्थलबाट पक्राउ परेको भए तापनि निजहरूको कसुरमा संलग्नता पुष्टि हुन सकेको छैन । प्रतिवादी चपडे माइला भन्ने मोमदिन मिया वारदातमा उपस्थित छैनन् । निज आफैँ अदालतमा उपस्थित हुन आएको देखिन्छ । अनुसन्धानको क्रममा प्रतिवादी काइतेन लामाले काठ लोड गर्दा यिनी पनि उपस्थित थिए भनी लेखाइदिएको भए तापनि अदालतको बयानमा उक्त बेहोरा खुलेको देखिँदैन भने अन्य स्वतन्त्र र वस्तुनिष्ठ प्रमाणबाट यी प्रतिवादीको कसुरमा संलग्नता पुष्टि भएको
देखिँदैन । त्यसैगरी प्रस्ट रूपमा कानूनी व्यवस्थाले जनही जरिवाना गर्नुपर्ने भनी प्रस्ट उल्लेख नगरेको हुँदा सामूहिक रूपमा कसुर गरेको अवस्थामा जरिवानासमेत सामूहिक रूपमा हुन मनासिब हुने तथा सवारी धनीले जानी बुझी आफ्नो सवारी साधन कसुर गर्न प्रयोग गर्न दिएको अवस्था प्रमाणित नहुँदा बरामद सवारी साधनसमेत जफत गर्न मनासिब देखिन आएन ।
१२. अतः प्रतिवादीहरू मिलन थिङ, देवेन्द्र दोङ, रामकृष्ण रावल र चपडे माइला भन्ने मोमदिन मियाले आरोपित कसुरमा सफाइ पाउने, प्रतिवादीहरू वसन्तकुमार बस्नेत, जितमान मिया र काइतेन लामाको हकमा कसुर ठहर भई जरिवाना दामासाहीले असुल गर्ने र बरामद सवारी साधन जफत नहुने गरी सुरू फैसलालाई सदर गरी भएको पुनरावेदन अदालत तुलसीपुरको मिति २०७१।८।१७ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
उक्त रायमा सहमत छु ।
न्या.डा.मनोजकुमार शर्मा
इजलास अधिकृत: महेन्द्रप्रसाद पौड्याल
इति सवंत् २०७६ साल जेठ ३१ गते रोज ६ शुभम् ।