निर्णय नं. १०२८९ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीरा खडका
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
फैसला मिति : २०७५।११।१२
०७४-CR-१०९०
मुद्दा:- कर्तव्य ज्यान
पुनरावेदक / प्रतिवादी : सन्ते वि.क.को नाति, गौदान विश्वकर्माको छोरा सोलुखुम्बु जिल्ला साबिक तामाखानी गा.वि.स. वडा नं. १ को हाल दुधकुण्ड नगरपालिका वडा नं. ३ घर भई हाल का.जि. गोकर्णेश्वर नगरपालिका वडा नं. ८ सुन्ताखानमा बसोबास भई हाल जिल्ला कारागार भिमफेदी, मकवानपुरमा थुनामा रहेको पंचे भन्ने हर्कबहादुर विश्वकर्मा
विरूद्ध
विपक्षी / वादी : सर्किनीमाया तामाङको जाहेरीले नेपाल सरकार
जहाँ अभियुक्तले एउटा कार्यको लागि जाँनी बुझीकन कार्य गरेको हुन्छ तर विषयवस्तु अर्को परेको हुन्छ भने यस्तोलाई दुर्भावना सरेको वा दायित्व स्थानान्तरण (Transferred malice) भएको मान्नुपर्छ । यदि कुनै व्यक्तिले मनसायपूर्वक कुनै अपराध गर्न खोज्दछ र उसको असक्षमताको कारण अर्को व्यक्ति परि सो अपराधको परिणाम निस्कन पुग्दछ भने यस्तो अवस्थामा सरेको मनसाय तथा दायित्व (Doctrine of transferred malice) को सिद्धान्त लागू भई सो व्यक्तिले कानूनले तोकेबमोजिमको दायित्व बहन गर्नुपर्ने ।
(प्रकरण नं.८)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री विश्वप्रकाश भण्डारी
विपक्षी / वादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने :
मा. न्यायाधीश श्री प्रकाशचन्द्र अधिकारी
सोलुखुम्बु जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री शालिग्राम कोइराला
माननीय न्यायाधीश श्री दिपेन्द्रबहादुर बम
उच्च अदालत विराटनगर, अस्थायी इजलास
ओखलढुङ्गा
फैसला
न्या.पुरूषोत्तम भण्डारी : नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दा तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दर्ता भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको छ । प्रस्तुत फैसला सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ९१(४) र अनुसूची १२ को ढाँचामा तयार गरिएको छ ।
सुरूको जाहेरी दरखास्त, बरामदी मुचुल्का, लास जाँच प्रकृति मुचुल्का, घटना विवरण कागज, पोष्टमार्टम रिपोर्ट, प्रतिवादीहरूको बयान, सुरू सोलुखुम्बु जिल्ला अदालतको फैसला, प्रतिवादी तथा वादी नेपाल सरकारले उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गामा दायर गरेको पुनरावेदन र उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाको फैसलासमेतको बेहोरा उक्त अस्थायी इजलास ओखलढुङ्गाको मिति २०७४।१०।८ को फैसलाबाट देखिने हुँदा यहाँ सो कुराको पुनरावृत्ति गरिएको छैन ।
यस अदालतको निर्णय
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित हुनुभएको विद्वान् वरिष्ठ अधिवक्ता श्री विश्वप्रकाश भण्डारीले यी प्रतिवादीले मृतकलाई मार्नुपर्नेसम्मको पूर्वरिसइवी नभएको, मार्ने मनसायसमेत नभएको, धनविर तामाङ र कुमार विश्वकर्माबिच कुटपिट झगडा भइरहेको देखी यी पुनरावेदक प्रतिवादीले झगडा छुट्याउन थाल्दा नमानेकोले यी प्रतिवादी हर्कबहादुर विश्वकर्माले झगडा छुट्याउने क्रममा लौरोले धनविर तामाङलाई हान्न लाग्दा छलेकोले फुर्वा तामाङलाई लाग्न गई निजको मृत्यु भवितव्यबाट भएको अवस्थामा यी प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गरेको उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सोही महलको ६(२)(४) नं. अनुसार भवितव्यमा मात्र सजाय गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।
उपर्युक्त बहस सुनी पुनरावेदनसहितको मिसिल संलग्न कागजातहरूको अध्ययन गर्दा, प्रतिवादीहरू कुमार विश्वकर्मा र पंचे भन्ने हर्कबहादुर विश्वकर्माले अंगेरीको घोचो किलो ल्याई मार्ने मनसाय राखी योजना बनाई जाहेरवालीको बाबु फुर्वा तामाङलाई टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएको र सोही कुटपिटको कारणबाट फुर्वा तामाङको मृत्यु भएको हुँदा प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(३) नं. को कसुरमा सोही १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी भएकोमा सोलुखुम्बु जिल्ला अदालतले प्रतिवादी हर्कबहादुर विश्वकर्मालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(३) नं. को कसुरमा सोही महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने र अर्का प्रतिवादी कुमार विश्वकर्मालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७ (३) नं. को कसुरमा सोही महलको १७(३) नं. ले दुई वर्ष छ महिना कैद सजाय हुने ठहर गरी यी प्रतिवादी हर्कबहादुर विश्वकर्मालाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गर्दा चर्को पर्न जाने देखिएकोले मुलुकी ऐन, अ.बं.१८८ नं. बमोजिम बाह्र वर्ष कैद सजाय गर्न राय पेस गरी मिति २०७४।१।२० मा फैसला गरेको देखिन्छ ।
उक्त फैसलामा चित्त नबुझी वादी नेपाल सरकारतर्फबाट प्रतिवादी कुमार विश्वकर्मालाई समेत अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भनी र प्रतिवादी हर्कबहादुर विश्वकर्माको तर्फबाट झगडा गर्ने धनविर तामाङलाई डर देखाउन साधारण लठ्ठीले हिर्काउन खोज्दा फुर्वा तामाङको टाउकोमा लागी भवितव्यमा परी निजको मृत्यु भएकोमा मलाई कर्तव्य गरी ज्यान मारेको कसुरमा सर्वस्वसहित जन्मकैदको सजाय गरेको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरी मलाई भवितव्यमा मात्र सजाय गरिपाउँ भनी उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गामा पुनरावेदन गरेकोमा उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाले सुरू सोलुखुम्बु जिल्ला अदालतले गरेको फैसला सदर हुने ठहर गरी मिति २०७४।१०।८ मा फैसला गरेको देखिन्छ ।
उक्त फैसलामा समेत चित्त नबुझाई प्रतिवादी हर्कबहादुर विश्वकर्माले यी मृतकलाई मार्नुपर्नेसम्मको पूर्वरिसइवी नभएको, मार्ने मनसायसमेत नभएको, धनविर तामाङ र कुमार विश्वकर्माबिच कुटपिट झगडा हुँदा झगडा छुट्याउन जाँदासमेत नमानेकोले मैले धनविर तामाङलाई झगडा छुट्याउने क्रममा लौरोले हान्दा छलेकोले फुर्वा तामाङको टाउकोमा लाग्न गई निजको मृत्यु भवितव्यबाट भएको अवस्थामा मलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गरेको उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सोही महलको ६(२)(४) नं. अनुसार भवितव्यमा मात्र सजाय गरिपाउँ भनी यस अदालतमा प्रस्तुत पुनरावेदन परेको देखिन्छ ।
यसमा उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाको फैसला मिलेको छ छैन ? तथा पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी हर्कबहादुर विश्वकर्मासमेतले काठको घोचो ल्याई मेरो बुबाको टाउकोमा प्रहार गरी निजको मृत्यु भएकोले आवश्यक कारबाही गरिपाउँ भन्ने किटानी जाहेरी दरखास्त, कुटपिट गर्दा प्रयोग गरेको लम्बाई ५ हात, गोलाई ४ इन्च भएको अंगेरी काठको लाठी घटनास्थलमा फेला परेको भन्ने घटनास्थल बरामदी मुचुल्का, मृतकको टाउकोको पछाडिको भागमा ४ इन्च लम्बाई र ३ इन्च गहिराई भएको चोट रहेको भन्ने लास जाँच प्रकृति मुचुल्का, टाउकोको चोटका कारण मृतकको मृत्यु भएको भन्ने शव परीक्षण प्रतिवेदन, अधिकारप्राप्त अधिकारीसमक्ष भएको घटना विवरण कागज र जाहेरवालासहितका मौकामा कागज गर्ने व्यक्तिहरूले अदालतमा आई गरेको बकपत्रसमेतबाट मृतक फुर्वा तामाङको मृत्यु सामान्य कालगतिले नभई कर्तव्यबाट भएको देखिन्छ ।
३. मृतक फुर्वा तामाङको मृत्युमा पुनरावेदक प्रतिवादी हर्कबहादुर विश्वकर्माको संलग्नता छ
छैन ? भएमा निजको के कस्तो संलग्नता छ ? भन्ने सम्बन्धमा विचार गर्दा, यी प्रतिवादी हर्कबहादुर विश्वकर्माले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा, म घटनास्थलमा पुग्दा प्रतिवादी कुमार विश्वकर्मा र धनविर तामाङको झगडा परेको रहेछ । मैले झगडा छुट्याउन धेरै कोसिस गरेँ । मलाईसमेत गाली गलौज गरी कुटपिट गर्न थालेपछि मलाई पनि धेरै रिस उठेको कारण घोचो उखेली धनविर तामाङलाई हानेकोमा फुर्वा तामाङको टाउकोमा बजारिन पुगी मसमेतको कुटपिटको कारण निजको मृत्यु भएको हो भनी र निजले अदालतमा बयान गर्दा धनविर तामाङले कुटपिट गरी मेरा दाजु भुइँमा लडिरहेका थिए । मैले दाजुलाई नकुट्नु भनी सम्झाउँदा धनविर तामाङले मलाई गाली गरी कुटपिट गरेको हुँदा मलाई धेरै रिस उठी काठको घोचोले धनविर तामाङलाई हान्न खोज्दा फुर्वा तामाङलाई लागेको हो । निजलाई मार्ने उद्देश्यले टाउकोमा प्रहार गरेको होइन । मादक पदार्थ सेवन गरी उत्तेजित भई रिस थाम्न नसकी प्रहार गर्दा अन्जानमा फुर्वा तामाङको मृत्यु भएको हो भनी आवेशप्रेरित हत्यासमेतको जिकिर लिएको पाइन्छ ।
४. यी प्रतिवादीले अधिकारप्राप्त अधिकारी र अदालतमा बयान गर्दासमेत मैले झगडा छुट्याउन लाग्दा मलाईसमेत गाली गलौज र कुटपिट गर्न थालेपछि मलाई धेरै रिस उठेको कारण घोचो उखेलेर धनविर तामाङलाई हानेकोमा फुर्वा तामाङको टाउकोमा बजारिन पुगी निजको मृत्यु भएको हो भनी आवेशप्रेरित हत्यासमेतको जिकिर लिएको देखिए तापनि यी प्रतिवादीले यस अदालतमा पेस गरेको प्रस्तुत पुनरावेदनमा कुमार विश्वकर्मा र धनविरबिचको झगडा छुट्याउन केही सीप नलागी उनीहरूको ज्यान जोगाउन लाठीले धनविरलाई प्रहार गर्दा भूलवश फुर्वाको टाउकोमा लागी निजको मृत्यु भएकोले भवितव्यमा सजाय गरिपाउँ भनी जिकिर लिई आवेशमा आई लाठीले हानेको भन्ने निजले अधिकारप्राप्त अधिकारी र अदालतमा गरेको बयानमा लिएको जिकिर पूर्ण रूपमा छोडी भवितव्यको मात्र जिकिर लिएको देखिँदा यी प्रतिवादीको भनाइमा समेत एकरूपता देखिँदैन भने यी प्रतिवादी सफा हात लिएर यस अदालतमा पुनरावदेन गर्न आएको पनि पाइएन ।
५. प्रतिवादी हर्कबहादुर विश्वकर्माले भवितव्यजन्य हत्याको जिकिर लिए तापनि जाहेरवाली सर्किनीमाया तामाङले प्रतिवादी कुमार विश्वकर्मा र धनविर तामाङबिच झगडा, कुटाकुट भएकोले मेरो बुबा फुर्वा तामाङले झगडा नगर भनी सम्झाउँदै छुट्याउन लाग्दा प्रतिवादी हर्कबहादुर विश्वकर्माले के कहाँबाट काठको घोचो ल्याई मेरो बुबाको टाउकोमा प्रहार गरेका हुन् भनी दिएको जाहेरी दरखास्तलाई पुष्टि गरी अदालतमा बकपत्र गरेको पाइन्छ । घटनामा प्रत्यक्ष संलग्न रहेका धनविर तामाङले पनि फुर्वा तामाङले झगडा छुट्याउन लाग्दा प्रतिवादी हर्कबहादुर विश्वकर्माले एक्कासी काठको घोचोले प्रहार गरेका हुन् भनी मौकामा लेखाएको बेहोरालाई पुष्टि गरी बकपत्र गरेको देखिन्छ । मौकामा बुझिएका घटनाका अन्य प्रत्यक्षदर्शी पेमामाया तामाङ, मानबहादुर तामाङ, निम दोर्जी तामाङ र भीमनारायण राजभण्डारीले मौकामा गरेको कागज र अदालतमा गरेको बकपत्रमा पनि यी प्रतिवादी हर्कबहादुर विश्वकर्माले मृतक फुर्वा तामाङको टाउकोमा लाठीले प्रहार गरी निजको मृत्यु भएको हो भनी लेखाएको देखिन्छ ।
६. यी प्रतिवादीले धनविर तामाङलाई लाठीले हान्दा फुर्वा तामाङको टाउकोमा लागी भवितव्यबाट निजको मृत्यु भएको हो भनी जिकिर लिएको देखिए तापनि जाहेरवालासहितका घटनामा उपस्थित प्रत्यक्षदर्शी व्यक्तिहरूले मौकामा र अदालतमा बकपत्र गर्दासमेत प्रतिवादीले धनविर तामाङलाई लाठीले हान्दा मृतक फुर्वा तामाङको टाउकोमा लागी निजको मृत्यु भएको हो भनी लेखाएको नदेखिई निजहरूले यी प्रतिवादीले मृतक फुर्वा तामाङलाई लाठीले टाउकोमा प्रहार गरी निजको मृत्यु भएको हो भनी स्पष्ट रूपमा लेखाएको देखिँदा धनविर तामाङलाई लाठीले हान्दा मृतकको टाउकोमा लागी भवितव्यमा निजको मृत्यु भएको हो भन्ने प्रतिवादीको पुनरावेदन जिकिर विश्वासयोग्य देखिँदैन ।
७. वारदातको प्रत्यक्षदर्शी जाहेरवाली सर्किनीमाया तामाङले दिएको जाहेरी दरखास्त र अदालतमा गरेको बकपत्र र मौकामा बुझिएका प्रत्यक्षदर्शी पेमामाया तामाङ, मानबहादुर तामाङ, निम दोर्जी तामाङ, धनविर तामाङ, कान्छीमाया तामाङ र भीमनारायण राजभण्डारीले मौकामा गरेको कागज र अदालतमा गरेको बकपत्रबाट प्रतिवादी कुमार विश्वकर्मा र धनविर तामाङको झगडा फुर्वा तामाङले छुट्याइरहेको अवस्थामा केही अगाडि पुगेका प्रतिवादी हर्कबहादुर विश्वकर्माले झगडा भएको थाहा पाई बाटैबाट अंगेरीको लाठी लिएर घटनास्थलमा आई धनविर तामाङलाई पातामा र फुर्वा तामाङलाई टाउकोमा प्रहार गरेको भन्ने देखिन्छ । प्रतिवादीले बाटैबाट लम्बाई ५ फिट र ४ इन्च गोलाई भएको अंगेरीको लाठी बोकी आएको देखिँदा प्रतिवादीले साङ्घातिक कुटपिट गर्ने मनसाय राखी उक्त लाठीले फुर्वा तामाङको टाउकोमा प्रहार गरेको देखिन्छ । टाउको जस्तो संवेदनशील स्थानमा लाठी जस्तो कडा वस्तुले प्रहार गर्दा मानिस मर्न सक्छ भन्ने जानकारी हुँदाहुँदै यी प्रतिवादीले मृतक फुर्वा तामाङको टाउकोमा जोडले हिर्काएको देखिन्छ । सो कुराको पुष्टि मृतकको टाउकोमा ४ इन्च लम्बाई, ३ इन्च गहिराइको चोट रहेको भन्ने लास प्रकृति मुचुल्का र मृत्युको कारण टाउकोको चोट भन्ने शव परीक्षण प्रतिवेदनसमेतले गरेको देखिन्छ ।
८. जहाँ अभियुक्तले एउटा कार्यको लागि जाँनी बुझी कन कार्य गरेको हुन्छ तर विषयवस्तु अर्को परेको हुन्छ भने यस्तोलाई दुर्भावना सरेको वा दायित्व स्थानान्तरण (Transferred malic) भएको मान्नु पर्छ । यदि कुनै व्यक्तिले मनसायपूर्वक कुनै अपराध गर्न खोज्दछ र उसको असक्षमताको कारण अर्को व्यक्ति परी सो अपराधको परिणाम निस्कन पुग्दछ भने यस्तो अवस्थामा सरेको मनसाय तथा दायित्व (Doctrine of transferred malice) को सिद्धान्त लागू भई सो व्यक्तिले कानूनले तोकेबमोजिमको दायित्व बहन गर्नुपर्छ ।
९. प्रस्तुत मुद्दामा यी प्रतिवादीले जिकिर लिएबमोजिम धनविर तामाङलाई हान्दा फुर्वा तामाङको टाउकोमा लागी निजको मृत्यु भएको अवस्थामा समेत यी प्रतिवादीले ५ फिट लम्बाई, ४ इन्च मोटाई भएको अंगेरीको लाठीजस्तो कडा वस्तुले मानिसलाई जोडले हिर्काउँदा मानिस मर्न सक्छ भन्ने जानकारी हुँदाहुँदै मार्ने मनसायले जोडले प्रहार गर्दा मृतक फुर्वा तामाङको टाउकोमा लाग्न गई निजको मृत्यु भएको देखिँदा उक्त कार्यमा यी प्रतिवादीको मार्ने मनसाय तथा मार्ने कार्यसमेत सम्पन्न भई व्यक्ति मात्र फरक परेको यस्तो अवस्थामा समेत उपर्युक्त सिद्धान्तबमोजिम फौजदारी दायित्वबाट यी प्रतिवादीले उन्मुक्ति पाउन सक्ने देखिँदैन ।
१०. ज्यानसम्बन्धी महलको ६ नं. हेर्दा "ज्यान लिने इविलाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला जस्तो नदेखिएको कुनै काम गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएमा भवितव्य ठहर्छ" भन्ने उल्लेख भएको देखिन्छ ।
११. उपर्युक्त कानूनी व्यवस्थालाई विचार गर्दा, मानिस मर्ला जस्तो नदेखिएको, कुनै काम गर्दा मानिस मर्न गएमा मात्र भवितव्य मान्नुपर्ने हुँदा प्रस्तुत मुद्दामा यी प्रतिवादीले मृतकको टाउकोमा ५ फिट लम्बाई र ४ इन्च गोलाई भएको अंगेरीको लाठी जस्तो कडा वस्तुले हान्दा निजको मृत्यु हुन सक्छ भन्ने जानकारी हुँदाहुँदै उक्त लाठीले मृतकको टाउकोमा जोडले हिर्काई ठुलो घाउ पारी निजको मृत्यु भएको देखिँदा भवितव्यमा परी मृतकको मृत्यु भएको हो भन्ने पुनरावेदन जिकिर कानूनसम्मत देखिएन ।
१२. यसरी यी प्रतिवादीले झगडा छुट्याउने क्रममा धनविर तामाङलाई लाठीले हान्दा मृतक फुर्वा तामाङको टाउकोमा लाग्न गई निजको भवितव्यबाट मृत्यु भएको हो भनी जिकिर लिए तापनि निजले तथ्ययुक्त प्रमाण पेस गरी आफ्नो जिकिर पुष्टि गर्न नसकेको, जाहेरवालासहितका घटनामा उपस्थित भई प्रत्यक्षरूपमा घटना देख्ने प्रत्यक्षदर्शी निम दोर्जी तामाङसमेतले यी पुनरावेदकले लिएको जिकिर खण्डन हुने गरी यी प्रतिवादीले नै मृतक फुर्वा तामाङको टाउकोमा लाठीले प्रहार गरी निजको मृत्यु भएको हो भनी मौकामा कागज गर्दा र अदालतमा बकपत्र गर्दा लेखाई दिएको देखिएको, ४ इन्च मोटो लाठी जस्तो कडा वस्तुले मृतकको टाउकोमा हान्दा मृतकको मृत्यु हुन सक्छ भन्ने जानकारी हुँदाहुँदै यी प्रतिवादीले मृतकको टाउकोमा लाठीले जोडले हानी मृतकको टाउकोमा ठुलो घाउ हुन गई सोही घाउ चोटका कारण मृतकको मृत्यु हुन गएको देखिँदा उक्त घटना ज्यानसम्बन्धी महलको ६ नं. ले गरेको भवितव्यको परिभाषाभित्र पर्ने नदेखिएकोले प्रतिवादीले मृतकलाई मार्ने मनसायले बाटोदेखि ४ इन्च मोटो लाठी उचालेर ल्याई उक्त लाठीले मृतकको टाउकोमा हान्दा निजको मृत्यु हुन्छ भन्ने जानकारी हुँदाहुँदै यी प्रतिवादीले मृतकको टाउकोमा उक्त लाठीले जोडले हानी सोही घाउ चोटको कारण निजको मृत्यु भएको भन्ने मिसिल संलग्न कागज प्रमाणहरूबाट पुष्टि भइरहेको देखिँदा भवितव्यमा परी मृतकको मृत्यु भएकोले भवितव्यमा सजाय गरिपाउँ भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिरसँग समेत सहमत हुन सकिएन ।
१३. माथि विवेचित आधार प्रमाणहरूबाट प्रतिवादी हर्कबहादुर विश्वकर्मालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३ (३) नं. को कसुरमा सोही १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर गरेको सुरू सोलुखुम्बु जिल्ला अदालतको मिति २०७४।१।२० को फैसलालाई सदर गरेको उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाको मिति २०७४।१०।८ को फैसला मिलेकै देखिए तापनि मिति २०७५।५।१ देखि लागू भएको मुलुकी अपराध संहिता, २०७४ को दफा ४०(२) बमोजिम यो ऐन प्रारम्भ भएपछि सर्वस्व हुने गरी सजाय गर्न मिल्ने नदेखिँदा प्रतिवादी पंचे भन्ने हर्कबहादुर विश्वकर्मालाई जन्मकैदको सजाय हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
१४. प्रतिवादीलाई ठहर भएको जन्मकैदको सजाय गर्दा चर्को पर्छ कि भनी विचार गर्दा, यी प्रतिवादी पंचे भन्ने हर्कबहादुर विश्वकर्मालाई मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम १२(बाह्र) वर्ष कैद सजाय गर्न व्यक्त गरेको राय उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाले सदर गरेको देखिन्छ । यी प्रतिवादी पंचे भन्ने हर्कबहादुर विश्वकर्माले फुर्वा तामाङलाई मार्ने पूर्वमनसाय नभएको, मार्नुपर्नेसम्मको रिसइवी पनि नदेखिएको, निजले अधिकारप्राप्त अधिकारी र अदालतमा बयान गर्दासमेत आफूले हानेको लाठीले मृतकको टाउकोमा लागी मृतकको मृत्यु भएको कुरामा साबित रही बयान गरी न्याय निरूपण गर्नुपर्ने कार्यमा सहयोग गरेको र अपराध हुँदाको परिस्थितिसमेतलाई विचार गर्दा यी प्रतिवादीलाई ठहरेबमोजिम ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने भई १०(दश) वर्ष कैद सजाय गर्दासमेत ऐनको मकसद पूरा हुने देखिँदा निज प्रतिवादी पंचे भन्ने हर्कबहादुर विश्वकर्मालाई मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम १०(दश) वर्ष कैद सजाय हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा उल्लेख भएबमोजिम पुनरावेदक प्रतिवादी पंचे भन्ने हर्कबहादुर विश्वकर्मालाई १०(दश) वर्ष कैद सजाय हुने ठहरेकोले सुरू फैसलाबमोजिम राखेको सर्वस्वसहित जन्मकैदको लगत कट्टा गरी यस फैसलाबमोजिम १० (दश) वर्ष कैदको लगत राख्नु भनी सुरू सोलुखुम्बु जिल्ला अदालत तहसिल शाखामा लेखी पठाउनू .....................................१
माथि ठहर खण्डमा उल्लेख भएबमोजिम पुनरावेदक प्रतिवादी पंचे भन्ने हर्कबहादुर विश्वकर्मालाई १०(दश) वर्ष कैद सजाय हुने ठहरेकोले निज मिति २०७३।३।५ गतेदेखि हिरासतमा रहेको मिसिल संलग्न उक्त मितिको थुनुवा पुर्जीबाट देखिँदा निजलाई मिति २०८३।३।४ गतेसम्म थुनामा राखी अन्य मुद्दामा थुनामा राख्न नपर्ने भए मिति २०८३।३।५ गते निजलाई थुना मुक्त गरिदिनु भनी सम्बन्धित कारागार कार्यालयलाई जानकारी दिनु भनी सुरू सोलुखुम्बु जिल्ला अदालत तहसिल शाखालाई लेखी पठाउनू ..................................२
फैसलाको प्रतिलिपिसमेत साथै राखी फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू ..३
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ..........४
उक्त रायमा सहमत छु ।
न्या.मीरा खडका
इजलास अधिकृत : अरूणकुमार कोइराला
इति संवत् २०७५ साल फाल्गुन १२ गते रोज १ शुभम् ।