निर्णय नं. १०२९१ - जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की
माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
फैसला मिति : २०७४।७।३०
०७३-CR-१४१४
मुद्दाः जबरजस्ती करणी
पुनरावेदक / वादी : परिवर्तित नाम “सि” कुमारीको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : सुनसरी जिल्ला, सत्तेरझोडा गा.वि.स.वडा नं.४ बस्ने सुनिलकुमार ऋषिदेव सदा
घटना वारदात हुँदाका अवस्थामा पीडितको उमेर के कति थियो भनी निर्धारण गर्ने मूलभूत प्रमाण जन्मदर्ता प्रमाणपत्र वा सो नभए स्कुल भर्ना हुँदा लेखाएको जन्ममिति र उमेरलाई मान्नु पर्ने ।
(प्रकरण नं.५)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारी
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
मा. जिल्ला न्यायाधीश श्री रमेशराज पोखरेल
सुनसरी जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
मा. मुख्य न्यायाधीश श्री तेजबहादुर के.सी.
माननीय न्यायाधीश श्री विदुर विक्रम थापा
उच्च अदालत विराटनगर
फैसला
न्या.हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
मिति २०७१/११/२८ गते राति मेरो नाबालिग वर्ष ११ कि छोरी परिवर्तित डी. कुमारीलाई दिसा गर्न गएको अवस्थामा विपक्षी सुनिलकुमार ऋषिदेवले डर त्रास देखाई जबरजस्ती करणी गरेको हुँदा निजलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम सि. कुमारीको जाहेरी दरखास्त ।
जिल्ला सुनसरी सत्तेरझोरा गा.वि.स. वडा नं.४ स्थित पूर्वमा नहर र बाँसघारी, पश्चिममा खाली खेत, उत्तरमा एकवाल अन्सारीको खाली र दक्षिणमा मजेवुल अन्सारी आलम खेत यति चार किल्लाभित्र आलम अन्सारीको खाली खेत सो खेतको पश्चिमपट्टिको आलीदेखि ४५ फिट पूर्व उत्तर आलीदेखि ४९ फिट दक्षिणमा पूर्व आलीदेखि ६ फिट पश्चिम दक्षिण आलीदेखि ११ फिट उत्तरमा रहेको खाली जग्गामा मिति २०७१/११/२८ गते राति अं.१९:०० बजेको समयमा सुनिलकुमार ऋषिदेव सदाले परिवर्तित नाम डी. कुमारीलाई जबरजस्ती करणी गरेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।
परिवर्तित नाम सि. कुमारीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुनिलकुमार ऋषिदेव सदा भएको जबरजस्ती करणी मुद्दामा वारदातपश्चात् फरार रहेका प्रतिवादी सुनिलकुमार ऋषिदेवलाई खोजतलास गर्दा निज गाउँघरमा लुकी छिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी प्रतिवेदनसाथ दाखिला गरेको भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन ।
मिति २०७१/११/२८ गते साँझको समयमा म दिदीको घरमा गएको थिएँ । अं. रातिको १९:०० बजेको समयमा दिदीको घरदेखि पश्चिम खाली जग्गातिर दिसा पिसाब गरी घरतर्फ आइरहेको अवस्थामा अन्यायी जिल्ला सुनसरी सत्तेरझोरा ४ बस्ने सुनिलकुमार ऋषिदेव सदा के कहाँबाट आई पछाडिबाट समाती मुखमा मेरो सल कोची बन्द गरी मलाई सो ठाउँबाट उठाई घरदेखि निकै पश्चिम नहरको छेउमा लगी खाली खेतमा जबरजस्ती सुताई मेरो कपडा खोली निजले आफ्नो उत्तेजित लिङ्ग मेरो योनिभित्र छिराई तलमाथि गर्दा मलाई पीडा भई म पीडा सहन नसकी कराउँदा मेरो मुख बन्द गरी जबरजस्ती करणी गरेर मलाई सोही स्थानमा राखी तिमीले यो कुरा कसैलाई नभन्नु भनी अन्यायी त्यहाँबाट भागी गएकाले म घरमा आई सो कुरा आमालाई भनेको हुँ भन्नेसमेत बेहोराको पीडित परिवर्तित नाम डी. कुमारीले खुलाई लेखाई दिएको कागज ।
Examination - painful भन्नेसमेत बेहोराको परिवर्तित नाम डी. कुमारीको स्वास्थ्य परीक्षण रिपोर्ट ।
जाहेरवालीको छोरी परिवर्तित नाम डी. कुमारीसँग मेरो पहिलादेखि नै सामान्य चिनजान थियो र निजसँग कुराकानी हुने गरेको थियो । मिति २०७१/११/२८ गते गाउँमा एउटा केटाको विवाह थियो उक्त विवाहमा गाउँमा मानिसहरू जन्ती गएको र जाहेरवालीको छोरी परिवर्तित नाम डी. कुमारी आफ्नो फुपूको घरभन्दा पश्चिमतिर राति दिसा पिसाब फेर्न गएकी रहिछिन् मैले देखी निजलाई आज जसरी पनि करणी गर्नुपर्छ भनी मनमा ठानी निज घरतिर आउन लाग्दाको समयमा मैले निजलाई मसँग हिँड् भन्दा नमानेकीले मैले जबरजस्ती समाती सो स्थानबाट अं. १ किलोमिटर पश्चिम खाली खेतमा ल्याई निजको कपडा खोली मैले एकपटक जबरजस्ती करणी गरेको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी सुनिलकुमार ऋषिदेव सदाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०७१/११/२८ गते बेलुका अं. ७।८ बजेको समयमा जाहेरवालीकी छोरी परिवर्तित नामकी डी. कुमारी गाउँघरदेखि पश्चिममा रहेको खाली खेततिर गई दिसा बसी आउँदै गरेको अवस्थामा अन्यायी सुनिलकुमार ऋषिदेव सदाले जबरजस्ती समाती गाउँदेखि अं. १ किलोमिटर पश्चिम खाली खेतमा लगी जबरजस्ती करणी गरेको हो भन्ने गाउँघरका मानिसहरूबाट सुनी थाहा पाएको हुँ र त्यस्तो गरेका भए कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको स्थानीय मानिसहरूले खुलाई लेखाई दिएको वस्तुस्थिति मुचुल्का ।
मिति २०७१/११/२८ गते साँझको समयमा पीडितको आफ्नो घरनजिक खाली जमिनमा दिसा पिसाब गरी फर्कने क्रममा प्रतिवादीले पीडितको मुखमा सल कोची बोल्न कराउन नदिई घटनास्थलमा उल्लिखित स्थानमा पुर्याई जबरजस्ती करणी गरेकाले प्रतिवादी सुनिलकुमार ऋषिदेव सदाको सो कार्य मुलुकी ऐन जबरजस्ती करणीको महलको १ र ३(२) नं. को बर्खिलाप कसुरमा निज प्रतिवादीलाई ऐ. ऐनको महलको ३(२) नं.बमोजिम सजाय गरी ऐ.ऐन महलको १० नं. बमोजिमा उचित र मनासिब माफिकको क्षतिपूर्ति निजै प्रतिवादीबाट पीडितलाई दिलाई भराइ पाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र ।
पीडितलाई आफूले जबरजस्ती करणी नगरेको जबरजस्ती करणी भएको भनिएको राति आफ्नो ठूलो बुबाको छोराको विवाहमा सहभागी भएको र आफूलाई जाहेरवालीले तिर्नुपर्ने रू.२०,०००।- नतिरेकोले भएको सामान्य झगडालाई इवी बनाई प्रस्तुत जाहेरी दिएको भनी प्रतिवादी सुनिलकुमार ऋषिदेव सदाले सुरू अदालतमा गरेको बयान ।
सुरू अदालतको मिति २०७१/१२/२५ को आदेशानुसार प्रतिवादी सुनिलकुमार ऋषिदेव मुद्दा पुर्पक्षका निमित्त थुनामा रहेको ।
मिति २०७२/१२/१६ गते प्रतिवादीको साक्षी टुनाई ऋषिदेवले सुरू अदालतमा बकपत्र गर्दा प्रतिवादी सुनिलकुमार ऋषिदेवले पीडित परिवर्तित नाम डी कुमारीलाई जबरजस्ती करणी नगरेको र उक्त मिति समयमा प्रतिवादी ठूलो बुबाको छोराको विवाहमा जन्ती गएको र यस मुद्दाको जाहेरवालीले आफूले बुझाउनुपर्ने रू.२०,०००।- ऋण नतिर्दा प्रतिवादी र जाहेरवालीबिच भएको विवादको इवी साँध्न प्रस्तुत जाहेरी दिएको भनी गरेको बकपत्र मिसिल सामेल रहेको ।
वस्तुस्थिति मुचुल्कामा बस्ने मानिस हलेसी ऋषिदेवले मिति २०७२/३/२३ गते प्रतिवादी सुनिलकुमार ऋषिदेवले जबरजस्ती करणी नगरेको, सो समय निज जन्ती गएको र जाहेरवालीसँग लेनदेनमा विवाद परेका कारण सोही रिस साँध्न प्रस्तुत जाहेरी दिएको हो भनी सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०७२/३/२३ गते घटना विवरण कागजमा सही गर्ने मङ्गल ऋषिदेवले जबरजस्ती करणी नभएको लेनदेन सम्बन्धमा विवादका समयमा जाहेरवालीले प्रतिवादी सुनिलकुमार ऋषिदेवलाई फसाउँछु भनी भनेकी थिइन् सोहीअनुरूप प्रस्तुत जाहेरी दिएकी हुन्, सो वारदातको समयमा प्रतिवादी जन्ती गएका थिए भनी गरेको बकपत्र ।
मिति २०७२/९/२३ गते जाहेरवालीले बकपत्र गर्दा आफ्नी छोरीलाई कसैले जबरजस्ती करणी नगरेको र जाहेरी कसले किन दिएका हुन् मलाई थाहा छैन र सोमा लागेको सहिछापसमेत आफ्नो भए वा नभएको आफूलाई थाहा नभएको भनी लेखाएको देखिन्छ ।
पीडितले अदालतमा बकपत्र गर्दा पनि प्रतिवादीले आफूलाई जबरजस्ती करणी नगरेको र आफ्नो उमेर १८ वर्ष भएको भनी लेखाई दिएको देखिन्छ ।
पीडितको शारीरिक जाँच गर्ने चिकित्सकले बकपत्र गर्दा मौकामा दिएको प्रतिवेदन बेहोरा समर्थन गरी लेखाई दिएको देखिन्छ ।
पीडित 'डी' कुमारीको उमेर १४ वर्षको देखिँदा निज प्रतिवादी सुनिलकुमार ऋषिदेवलाई मुलुकी ऐन जबरजस्ती करणीको महलको १ नं. र ३(२) नं. को कसुरमा सोही महलको ३(२) नं. बमोजिम सजाय हुने देखियो । सजाय निर्धारणतर्फ विचार गर्दा यी प्रतिवादीलाई उक्त कानूनी व्यवस्थाबमोजिम न्यूनतम सजाय गर्दा पनि कानूनको मकसद पूरा हुने नै देखिएकोले निजलाई जबरजस्ती करणीको महलको ३(२) बमोजिम ८ (आठ) वर्ष कैद हुने ठहर्छ । पीडितसमेतले अदालतमा आई गरेको बकपत्रसमेतलाई दृष्टिगत गर्दा प्रतिवादीबाट पीडितलाई भराइ दिनुपर्ने क्षतिपूर्तिको रकमका सम्बन्धमा समेत विचार पुर्याउनु वाञ्छनीय हुँदा कानूनी मकसद पूरा गर्नका लागि रकम रू.१०,०००।- मुलुकी ऐन जबरजस्ती करणीको महलको १० नं. बमोजिम प्रतिवादीबाट पीडित 'डी' कुमारीलाई भराइ दिने ठहर्छ भनी सुरू जिल्ला अदालतबाट मिति २०७२/१०/२१ मा भएको फैसला ।
स्वयम् पीडित भनिएकी 'डी' कुमारीले अदालतमा आई बकपत्र गरी आफूलाई प्रतिवादीले कहिल्यै कतै जबरजस्ती करणी नगरेको भनी प्रस्ट लेखाई दिई बकपत्र गरेकी छिन् । निजकी आमा जाहेरवाली 'सि' कुमारीले पनि जबरजस्ती करणी नभएको भनी अदालतमा पीडित भनिएकी डी कुमारीकै बकपत्रलाई समर्थन र स्वीकार हुने गरी बकपत्र गरेकी छिन् । मेडिकल रिपोर्टमा करणी भएको कुनै लक्षण देखिँदैन । डाक्टर विशेषज्ञले रिपोर्ट दिँदा करणी भएको हो वा होइन भनी प्रस्ट राय दिन सकेको देखिँदैन । योनिमा पुरूष वीर्य देखिँदैन छैन । भेजिनल र पेनियल स्वावको रिपोर्टमा करणी भएको कुनै वीर्य फेला परेको छैन । शरीरमा वा योनाङ्ग संवेदनशील अंगहरूमा तत्काल मौकैमा जाँच हुँदा कुनै संघर्षका चिह्न फेला परेको छैन, देखिँदैन, कुनै दशी प्रमाण आदि छैनन् । केबल मौकामा जाँच हुँदा पेनफुल भनी उल्लेख भएकोमा निज डी कुमारी मिन्सुरेसन स्टार्ट (रजश्वलाको समय) भएको अवस्था जाँचबाट देखिएकाले पेनाफुल हुनु स्वाभाविक हो, सोलाई अपभ्रंस गरी गलत अर्थ लगाई म निर्दोष व्यक्तिलाई दोषी भनी गरिएको कसुर ठहर गरेको फैसला मिलेको नभई अन्यायपूर्ण छ, त्यसर्थ सुरू सुनसरी जिल्ला अदालतले मलाई दोषी करार गरी दाबी ठहर गरी भए गरिएको मिति २०७२/१०/२१ को दोषपूर्ण फैसला कानून प्रमाण न्याय प्रतिकूलको फैसला हुँदा उक्त फैसला बदर गरी ससम्मान अभियोग मागदाबीबाट फुर्सद गरिपाउँ भनी प्रतिवादी सुनिलकुमार ऋषिदेवको उच्च अदालत विराटनगरमा परेको पुनरावेदनपत्र ।
यसमा पीडितको शारीरिक जाँच प्रतिवेदनमा करणीका अन्य लक्षणहरू नदेखाई Painful भनी उल्लेख गरिएको र पीडितले अदातमा बकपत्र गर्दा प्रतिवादी सुनिलकुमार ऋषिदेवले आफूलाई केही पनि गरेन भनी बकपत्र गरेको सन्दर्भमा प्रतिवादीलाई जबरजस्ती करणीको कसुरमा सजाय गर्ने गरी सुरू सुनसरी जिल्ला अदालतको मिति २०७२/१०/२१ मा गरेको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ प्रयोजनार्थ प्रत्यर्थी वादी नेपाल सरकारलाई पुनरावेदनको प्रतिलिपिसहित पेसीको जानकारी दिई नियमानुसार पेस गर्नु भनी सुरू सुनसरी जिल्ला अदालतको मिति २०७३/५/१ को आदेश ।
पीडितको मौकाको योनि परीक्षणबाट पीडितको योनि Painful भएको भन्ने आधारमा प्रतिवादीलाई जबरजस्ती करणीको उद्योगको कसुरमा सजाय गर्नुपर्नेमा जबरजस्ती करणीको कसुरमा नै सजाय गर्ने गरेको सुरू सुनसरी जिल्ला अदालतको मिति २०७२/१०/२१ को फैसला नमिलेको हुँदा सो उल्टी भई प्रतिवादी सुनिलकुमार ऋषिदेव सदालाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १/३(२) र ५ नं. को कसुरमा ऐ. को दफा ३(२) ले हुने सजायमा ऐ. को ५ नं. बमोजिम आधा सजाय ४(चार) वर्ष मात्र कैद हुने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत विराटनगरबाट मिति २०७३/७/१० मा भएको फैसला ।
पीडितको शारीरिक परीक्षण प्रतिवेदनबाट वारदातपछि पीडितले कपडा फेरेको देखिएको छैन । पीडितले लगाएको पेन्टी अनुसन्धानका लागि पठाएको उक्त प्रतिवेदनबाट देखिएको छ । सो पेन्टीमा Semen Screening का लागि भएको A.P. Test Positive भएको तथ्य केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाको च.नं.११४० मिति २०७२/०५/२० को पत्रसाथ प्राप्त प्रतिवेदनबाट देखिएको छ । प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको प्रमाण ऐन, २०३१ को दफा ९(२)(क) अनुसार प्रमाण ग्राह्य बयान र पीडितले मौकामा लेखाएको प्रमाण ऐन, २०३१ को दफा १० अनुसार प्रमाण ग्राह्य कागजमा उल्लेख गरेअनुसार प्रतिवादीले पीडितलाई गरेको करणीकै कारण पीडितको पेन्टीमा Semen देखिएको र त्यही करणीका कारण पीडितको योनि Painful भएको तथ्य जगजाहेर भएको हुँदा प्रतिवादीले पीडितको योनिमा करणीको क्रिया नै गरी जबरजस्ती करणीको कसुर गरेको तथ्य स्थापित भएको छ । अतः उल्लिखित आधार प्रमाण एवं प्रतिपादित सिद्धान्तसमेतको आधारबाट प्रतिवादी सुनिलकुमार ऋषिदेव सदाले पीडितलाई जबरजस्ती करणी गरेको स्पष्टरूपमा पुष्टि भई प्रतिवादीलाई अभियोग दाबीअनुसार सजाय गरी पीडितलाई प्रतिवादीबाट क्षतिपूर्तिसमेत भराउने गरी सुरू सुनसरी जिल्ला अदालतबाट भएको फैसला उल्टी गरी प्रतिवादीलाई जबरजस्ती करणीको उद्योगसम्मको कसुर ठहर गरी भएको उच्च अदालत विराटनगरको फैसला कानून एवं प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल हुँदा बदर गरी प्रतिवादीलाई सुरू अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन पत्रसहितको सुरू सक्कल मिसिल संलग्न कागजातहरू अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारीले पीडितले मौकामा कागज गर्दा यी पुनरावेदक प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेको भनी उल्लेख गरी लेखाइदिएको अवस्था छ । पीडितको शारीरिक परीक्षण हुँदा painful भन्ने उल्लेख रहेबाट पीडितलाई यी पुनरावेदक प्रतिवादीले जबरजस्ती करणी गरी पीडितको योनिमा Painful बनाएको भन्ने देखिन्छ । धेरै समय व्यतित भएपश्चात् विभिन्न सामाजिक कारणहरूले गर्दा पीडित अदालतमा आएर hostile हुँदैमा कसुर गरेको होइन भनी भन्न मिल्दैन । यस अवस्थामा सुरू सुनसरी जिल्ला अदालतबाट भएको फैसला उल्टी गरी प्रतिवादीलाई जबरजस्ती करणीको उद्योगसम्मको कसुर ठहर गरी भएको उच्च अदालत विराटनगरबाट भएको फैसला बदर गरी सुरू अभियोग मागदाबीबमोजिम प्रतिवादीलाई सजाय गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।
उपर्युक्त बहस जिकिरसमेत सुनी प्रतिवादीले जबरजस्ती करणीको उद्योगसम्मको कसुर गरेको ठहर्याई उच्च अदालत विराटनगरबाट भएको फैसला मिलेको छ छैन ? तथा वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी सुनिलकुमार ऋषिदेवले पीडितको मुखमा सल कोची बोल्न कराउन नदिई जबरजस्ती करणी गरेकाले निजलाई मुलुकी ऐन, जबरजस्ती करणी महलको १ र ३(२) नं. को बर्खिलापको कसुरमा ऐ. ऐनको ३(२) नं. बमोजिम सजाय गरी ऐ. ऐनको १० नं. बमोजिम उचित र मनासिब माफिकको क्षतिपूर्ति प्रतिवादीबाट पीडितलाई दिलाई भराइ पाउँ भन्नेसमेत बेहोराको अभियोग मागदाबी रहेको देखियो । प्रस्तुत मुद्दामा पीडित 'डी' कुमारीको उमेर १४ वर्षको देखिँदा प्रतिवादी सुनिलकुमार ऋषिदेव सदाले मुलुकी ऐन जबरजस्ती करणीको महलको १ नं. र ३(२) नं. को कसुर गरेको पुष्टि हुन आएको देखिँदा निजलाई जबरजस्ती करणीको महलको ३(२) बमोजिम ८ (आठ) वर्ष कैद हुने ठहर्छ । मुलुकी ऐन जबरजस्ती करणीको महलको १० नं. बमोजिम क्षतिपूर्तिबापत रू.१०,०००।– (दश हजार) प्रतिवादीबाट पीडित डी कुमारीलाई भराइ दिने ठहर्छ भनी सुरू सुनसरी जिल्ला अदालतबाट मिति २०७२/१०/२१ मा भएको फैसलाउपर प्रतिवादीको पुनरावेदन परी सुरू अदालतबाट भएको फैसला उल्टी भई प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १/३(२) र ५ नं.को कसुरमा ऐ.को दफा ३(२) ले हुने सजायमा ऐ.को ५ नं. बमोजिम आधा सजाय ४(चार) वर्ष मात्र कैद सजाय हुने ठहर्याई उच्च अदालत विराटनगरबाट मिति २०७३/७/१० मा भएको फैसलाउपर यस अदालतमा वादी नेपाल सरकारको पुनरावेदन परी निर्णयार्थ पेस हुन आएको देखियो ।
३. अब प्रतिवादीलाई जबरजस्ती करणीको उद्योगसम्मको कसुर ठहर गरी उच्च अदालत विराटनगरबाट भएको फैसला उल्टी गरी प्रतिवादीलाई अभियोग मागदाबीअनुसार नै सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ विचार गर्दा, प्रतिवादीले पीडित 'डी' कुमारीलाई (नाबालिग वर्ष ११ कि ) दिसा गर्न गएको अवस्थामा डर त्रास देखाई जबरजस्ती करणी गरेकोले आवश्यक कारबाही गरिपाउँ भनी जाहेरी दर्खास्तको आधारमा प्रस्तुत मुद्दाको उठान भएको पाइन्छ । पीडितले मौकामा अनुसन्धानको क्रममा कागज गर्दा मिति २०७१/११/२८ गते साँझको समयमा म दिदीको घरमा थिएँ । अन्दाजी १९ बजेको समयमा दिदीको घरदेखि पश्चिम खाली जग्गातिर दिसा पिसाब गरी घरतर्फ आइरहेको अवस्थामा प्रतिवादी सुनिलकुमारले पछाडिबाट मलाई समाती मुखमा मेरो सल कोची मलाई सो ठाउँबाट उठाई पश्चिम नहरको छेउमा लगी खाली खेतमा सुताई मेरो कपडा खोली निजको उत्तेजित लिङ्ग मेरो योनिमा छिराई जबरजस्ती करणी गरेको भनी लेखाई दिएको
पाइन्छ । निज पीडित सुरू अदालतमा उपस्थित भई बयान गर्दा मौकामा गरेको बयानको प्रतिकूल हुने गरी यी पुनरावेदक प्रतिवादीले आफूलाई जबरजस्ती करणी नगरेको भनी लेखाई दिएको पाइन्छ । पीडितउपर जबरजस्ती करणीको वारदात र क्रिया भए नभएको सन्दर्भमा घटना वारदात भएको लगतै भोलिपल्ट मिति २०७१/११/२९ मा भएको पीडितको योनि एवं शारीरिक परीक्षणको प्रतिवेदन हेर्दा Details of the incident and medical history महलमा She has gone outside for toilet When her distant uncle captured her and took near water canal (Nahar) and raped her at 7 PM 2071.11.28 भन्ने उल्लेख रही examination महलमा Painful भन्ने उल्लेख रहेको पाइन्छ ।
४. Clothes changed or private parts washed after incident भन्ने महलमा No भन्ने उल्लेख रहेको पाइन्छ । Examination of clothes महलमा Clothes not changed clothes normal भन्ने उल्लेख रहेको पाइन्छ । injuries on body मा No any उल्लेख गरेको पाइन्छ । examination of the Genital महलमा अधिकांश ठाउँमा Normal भन्ने उल्लेख रहेको पाइन्छ । Vaginal smeal (Preserved for identification of sperms) मा no र Vaginal swabs (for detection of acid phosphate) मा yes भन्ने उल्लेख रहेको
पाइन्छ । यसरी पीडितको मौकामा भएको शारीरिक परीक्षण प्रतिवेदनको Medical history महलमा उल्लेख रहेको बेहोराबाट जाहेरी तथा पीडितको मौकाको कथनबिच स्पष्ट तादाम्यता नरहे पनि पीडितको योनि पेनफुल भन्ने रहेबाट निजउपर करणीको वारदातको उद्योग भने हुन गएको देखिन आयो ।
५. घटना वारदात हुँदाका समयमा पीडितको उमेर कति हो त ? भन्ने सन्दर्भमा हेर्दा जाहेरी दर्खास्त र पीडितको मौकाको कागजमा पीडितले आफूलाई १८ वर्ष पुगेको भनी लेखाई दिएकी छिन् । मिसिल संलग्न जन्म दर्ता प्रमाणपत्रमा निजको जन्ममिति २०५८/०४/१६ उल्लेख भएबाट वारदात हुँदाको मिति २०७१/११/२८ का दिन पीडितको उमेर १३ वर्ष ६ महिना पुगेको देखिन आउँछ । मौकामा भएको पीडितको जन्मदर्ता प्रमाणपत्रबाट पीडितको उमेर १६ वर्ष पुगेको देखिँदैन । पीडित र निजको आमाले सुरू अदालतमा उपस्थित भई बकपत्र गर्दा पीडितको उमेर बयस्क भइसकेको (साबालक भइसकेका) भन्ने अर्थ आउने गरी बेहोरा लेखाएको देखिन्छ । पीडित र निजकी आमाको अदालतमा भएको बकपत्रअनुसार वास्तविक उमेरले पीडित बयस्क भएपनि घटना वारदात हुँदाका अवस्थामा पीडितको उमेर के कति थियो भनी निर्धारण गर्ने मूलभूत प्रमाण जन्मदर्ता प्रमाणपत्र वा सो नभए स्कुल भर्ना हुँदा लेखाएको जन्ममिति र उमेरलाई मान्नु पर्ने हुन्छ । मौकामा पेस भएको पीडितको जन्मदर्ता प्रमाणपत्र कहीँकतैबाट अन्यथा प्रमाणित पनि हुन सकेको अवस्था छैन । यस अवस्थामा पीडितको जन्मदर्ता प्रमाणपत्रबाट वारदात हुँदाका बखत पीडित १४ वर्षभन्दा मुनि की नाबालिग रहेको अवस्था देखिन आउँछ ।
६. अब वारदातमा प्रतिवादीको संलग्नता रहे नरहेकोबारे विचार गर्दा, प्रतिवादी आफू मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष कसुर गरेमा साबित रहेका छन् भने निज विरूद्ध जाहेरी पनि किटानी छ भने पीडित आफू र निजकी आमाले पनि पीडितलाई प्रतिवादीले जबरजस्ती करणी गरेको हो भनी किटान गरी कागज गरिदिएका छन् अदालतसमक्षको बयानमा प्रतिवादी कसुरप्रति इन्कार रही सो दिन आफू वारदात स्थलमा नरही अन्यत्र रहेको भनी जिकिर लिएका छन् भने पीडित र निजकी आमाले अदालतमा उपस्थित भई गरेको बकपत्रमा पीडितलाई प्रतिवादीले जबरजस्ती करणी गरेको हो भनी किटानी रूपमा भनी लेखाउन सकेको पाइँदैन । निज प्रतिवादी वारदातको दिन अन्यत्र रहे नरहेको सन्दर्भमा हेर्दा, यी पुनरावेदक प्रतिवादीले सुरू अदालतमा बयान गर्दा घटना वारदात हुँदाका समयमा आफू ठूलो बुबाको छोराको विवाहमा जन्ती गएको थिएँ भनी Alibi को जिकिर लिएको पाइन्छ । पुनरावेदक प्रतिवादी वारदातको समयमा त्यहाँ नरही अन्यत्र रहेको भनी लिएको Alibi को जिकिर पनि कुनै ठोस, तथ्यपरक, निश्चयात्मक एवम् शंकारहित तवरको प्रमाणबाट पुष्ट्याईं हुन सकेको नपाइँदा प्रतिवादी उक्त दिन अन्यत्र नरही वारदात स्थलमा नै संलग्न रहेको स्पष्टत: देखिन आउँछ ।
७. अब यी प्रतिवादीको वारदातमा संलग्नताको स्थितिबारे हेर्दा प्रतिवादी विरूद्ध कसुरप्रति मौकामा किटानी जाहेरी र पीडित एवं निजकी आमाको पीडितलाई प्रतिवादीले नै जबरजस्ती करणी गरेको हो भनी कागज गरिदिएका र प्रतिवादी पनि मौकामा अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा कसुरप्रति साबित नै रही बयान गरेका छन् भनी अदालतको बयानमा प्रतिवादी कसुरप्रति इन्कार छन् भने पीडित एवं निजकी आमाले पीडित आफूलाई यी प्रतिवादीले जबरजस्ती करणीको क्रिया गरेका हैनन् भनी प्रतिवादीलाई कसुरबाट उन्मुक्ति हुने गरी अदालतमा उपस्थित भई बकपत्र गरिदिएकी
छिन् । पीडितको मौकाको योनि परीक्षणको प्रतिवेदनमा योनि पेनफूल रहेको भनी उल्लेख भएको देखिन्छ । घटनाको विवरणमा उल्लेख भएको बेहोरा जाहेरी दर्खास्त र मौकामा पीडितले गरेको कागजसँग मौकामा भएको निज पीडितको शारीरिक र योनि परीक्षणको प्रतिवेदन एकआपसमा पूर्णतः मेल खाएको अवस्था देखिँदैन । अदालतमा उपस्थित भई पीडित र निजकी आमाले यी पीडितलाई प्रतिवादी र अन्य कसैले पनि जबरजस्ती करणी गरेको छैन भनी किटानी रूपमा बकपत्र गरिदिएकी छन् । चिकित्सकको मौकाको पीडितको योनि परीक्षणको राय प्रतिवेदन जस्तो स्वतन्त्र प्रमाणबाट पनि पीडितउपर जबरजस्ती करणीको कार्य भएको तथ्यसमेत पुष्टि हुन सकेको अवस्था छैन । यसप्रकार पीडित र पीडितको आमा जाहेरवालीले प्रहरीमा र मौकाको अनुसन्धानमा एकातर्फ प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेको भनी किटानी जाहेरी दिएका छन् भने अर्कोतर्फ अदालतमा आएर उनीहरूले नै प्रतिवादीले आफूलाई अर्थात् आफ्नो छोरीलाई जबरजस्ती करणी गरेको होइनन् भनी प्रतिवादीलाई कसुरबाट उन्मुक्ति दिने गरी बकपत्र गरिदिएकी छन् भने अर्कोतर्फ पीडितको मौकाको योनि परीक्षण प्रतिवेदनमा पीडितको योनि “पेनफुल” रहेको भनी उल्लेख रहेको छ । यी उपर्युक्त अवस्थाहरूको विश्लेषणबाट पीडितउपर जबरजस्ती करणीको क्रियाको उद्योगसम्ममा प्रतिवादी संलग्न रहेको देखिन आउँछ ।
८. यसप्रकार मौकामा घटना भएको भोलिपल्ट मिति २०७१/११/२९ मा भएको पीडितको योनि र शारीरिक परीक्षण प्रतिवेदनबाट पीडितको योनिमा Painful भन्ने देखिएको, शरीरको अन्य भागमा कुनै घाउ, चोट, निसान नदेखिएको र examination of the Genitals को अधिकांश महलमा Normal भन्ने उल्लेख रहेबाट पीडितलाई जबरजस्ती करणी नै गरेको भन्ने नदेखिई जबरजस्ती करणीको उद्योगसम्म गरेको मिसिल संलग्न प्रमाणबाट देखिन आएकोले पीडितको मौकाको योनि परीक्षणबाट पीडितको योनि Painful भएको भन्ने आधारमा प्रतिवादीलाई जबरजस्ती करणीको उद्योगको कसुरमा सजाय गर्नुपर्नेमा जबरजस्ती करणीको कसुरमा नै सजाय गर्ने गरेको सुरू सुनसरी जिल्ला अदालतको मिति २०७२/१०/२१ मा भएको फैसला नमिलेको हुँदा सो उल्टी भई प्रतिवादी सुनिलकुमार ऋषिदेव सदालाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १/३(२) र ५ नं. को कसुरमा ऐ. को दफा ३(२) ले हुने सजायमा ऐ. को ५ नं. बमोजिम आधा सजाय ४(चार) वर्ष मात्र कैद हुने ठहर्याई उच्च अदालत विराटनगरबाट मिति २०७३/७/१० मा भएको फैसला मनासिब नै देखिन आयो ।
९. अतः माथि विवेचित आधार र कारणहरूसमेतबाट प्रतिवादीले पीडितलाई जबरजस्ती करणीको उद्योगसम्मको कसुर गरेको पुष्टि हुन आएको देखिँदा निज प्रतिवादी सुनिलकुमार ऋषिदेव सदालाई जबरजस्ती करणीको कसुरमा नै सजाय गर्ने गरेको सुरू सुनसरी जिल्ला अदालतको मिति २०७२/१०/२१ मा भएको फैसला उल्टी भई प्रतिवादी सुनिलकुमार ऋषिदेव सदालाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १/३(२) र ५ नं. को कसुरमा ऐ. को दफा ३(२) ले हुने सजायमा ऐ. को ५ नं. बमोजिम आधा सजाय ४(चार) वर्ष मात्र कैद हुने ठहर्याई उच्च अदालत विराटनगरबाट मिति २०७३/७/१० मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीलाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न
सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाइ दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.टंकबहादुर मोक्तान
इजलास अधिकृत: लोकबहादुर हमाल
इति संवत् २०७४ साल कात्तिक ३० गते रोज ५ शुभम् ।