निर्णय नं. १०२९६ - ज्यान मार्ने उद्योग

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
फैसला मिति : २०७६।५।२
०७०-CR-०७६८
मुद्दाः- ज्यान मार्ने उद्योग
पुनरावेदक / वादी : जिल्ला पाँचथर, भारपा गा.वि.स. वडा नं.५ बस्ने मुना रसाइली वि.क.को जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला पाँचथर, भारपा गा.वि.स. वडा नं.३ बस्ने कर्णबहादुरको छोरा अकिलबहादुर घिसिङसमेत
कुनै कानूनमा स्पष्ट रूपमा पुनरावेदन दिन पाउने अधिकारको व्यवस्था गरिएको छैन भने अधिकारप्राप्त अदालतबाट गरिएको फैसला वा आदेशउपर पुनरावेदन दिन पाउने अवस्था नरहने ।
(प्रकरण नं.३)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री मोहन सागर बस्याल
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
बालबालिकासम्बन्धी ऐन, २०४८
न्याय प्रशासन ऐन, २०४८
न्याय प्रशासन ऐन, २०७३
सुरू तहमा फैसला गर्ने:
माननीय न्यायाधीश श्री विमलप्रसाद ढुंगेल
पाँचथर जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने:
मा.मुख्य न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
माननीय न्यायाधीश श्री उदयप्रसाद चापागाई
पुनरावेदन अदालत इलाम
फैसला
न्या.बमकुमार श्रेष्ठ : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-
तथ्य खण्ड
मिति २०६८।४।१४ गतेका दिन जिल्ला पाँचथर भारपा गा.वि.स. वडा नं.५ स्थित पूर्वमा लालबहादुर वि.क.को घर, पश्चिममा मकैबारी उत्तर र दक्षिणमा बाँसघारी यति चार किल्लाभित्र अवस्थित चतुरे बजारबाट निगाले जाने कच्ची बाटोमा ऐ.ऐ.बस्ने वर्ष २६ को लालबहादुर वि.क.को शरीरको विभिन्न भागमा चोटपटक लागेको घटनास्थल वरपर रगत जस्तो रातो पदार्थको थोपाहरू देखिएको, रगतको जस्तो रातो पदार्थ लागेको पहेलो हरियो रंगको कम्बल थान १, काठको पिरा (पिर्का) थान १, शिशाको बोतलको माथिको टुक्रा, इँटाको टुक्रा साथै काठको बिँड भएको बामफोक (दाउ) थान १ समेत प्रहरीले हाम्रो सामुन्नेमा बरामद गरेको ठीक साँचो हो भनी देखाएको मिति २०६८।४।१४ को घटनास्थल मुचुल्का ।
मिति २०६८।४।१३ गते बेलुका अं. ८:०० बजेको समयमा जिल्ला पाँचथर भारपा-३ स्थित प्रतिवादी कल्पना घिसिङ तामाङको घर डेरामा म जाहेरवालीको एकाघरका देवर लालबहादुर विश्वकर्मा चतुरेमा लाग्ने हाटबजार भरी घर फर्कने क्रममा विपक्षी कल्पना घिसिङ तामाङको घर डेराको बाटो फर्कंदै गर्दा विपक्षी विर्खबहादुर ढकाल विपक्षी कल्पनाको घर डेरामा भएको देखी निजलाई घर जाउँ भनी बोलाउँदा साँझको बेलामा के को मानिस बोलाउँछस् भनी निहुँ खोजी विपक्षीहरू एक जमात भई विभिन्न घरेलु हतियार चुप्पी, बाम्फोक, बोत्तलसमेतले मेरो देवरलाई सांघातिक आक्रमण गरी ढुक्ढुकीसम्म राखी हाम्रो घर छेउमा फ्याली दिएको हुँदा र घाइतेको अवस्था चिन्ताजनक भएकोले प्रतिवादीहरू कल्पना घिसिङ, विर्खबहादुर ढकाल, नरबहादुर मोक्तान तामाङ, अकिलबहादुर घिसिङसमेतलाई पक्राउ गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको मुना रसाइली वि.क.को जाहेरी दरखास्त ।
मिति २०६८।०४।१३ गते दिउँसो अं.१२:०० बजेको समयमा म चतुरेमा लाग्ने चतुरदर्शी बजार भर्न गएको थिएँ । उक्त बजारमा मैले २ बोतल रक्सी खाएको कारण निकै मातेको थिएँ । बजारबाट घर जानलाई २०/२५ मिनेट लाग्ने हुँदा जान आँट
आएन । उक्त बजारबाट ५ मिनेट जति टाढा बुहारी कल्पना घिसिङ तामाङको घरमा गई सुतें । बेलुका खाना पनि खाइन, राति कति खेर हो मलाई विर्खबहादुरले उठाई लालबहादुरलाई हेरी देउ भनेकाले म बाहिर निक्ली हेर्दा लालबहादुर विश्वकर्मा सुतिरहेको देखेँ । भोलिपल्ट बिहान अं.८:३० बजेको समयमा आफ्नो घरमा गई हालेँ, पछि बुझ्दै जाँदा ऐ.१३ गते राति विर्खबहादुर ढकाल, नरबहादुरको छोरो तेन्जु तामाङ, निजकै ज्वाइँ प्रविण लिङदेन र मेरो बुहारी कल्पना घिसिङ तामाङले लालबहादुर वि.क.लाई बेस्सरी कुटपिट गरी लडाएका रहेछन् र राति मलाई उठाएर निजलाई नै देखाएका रहेछन् । उक्त घटनामा मेरो कुनै संलग्नता थिएन भन्नेसमेत बेहोराको प्रतिवादी अकिलबहादुर घिसिङ तामाङले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६८।४।१३ गते बेलुकी अं.६:०० बजेको समयमा विर्खबहादुर ढकाल मेरो घरमा आई बसी रहेका थिए । म सुती हालेँ, निजले मेरोमा खाना खाए खाएनन् मलाई थाहा भएन । गत ४ वर्ष अगाडिदेखि बेलाबेलामा काम छुटी म बेहोस भई ढल्ने गरेको छु । ऐ.बेलुकी अं.७:३० बजेको समयमा पुरानो बिमारले चापेको कारण विर्खबहादुरले चामल फुकी दिई मलाई खान दिएपछि चामल खाई सुती हालेँ । राति के भयो मलाई थाहा भएन, म ऐ. १४ गते दिनभरी नै घरमा सुतेको थिएँ । ऐ.अं. ०२:०० बजेको समयमा उठी बसी रहेको थिए । त्यति बेलामै १३ गते राति मेरो छोरा तेन्जु तामाङ, मेरो ज्वाइँ प्रविण लिङदेन, छिमेकी कल्पना घिसिङ र विर्खबहादुर ढकालले मरणासन्न हुने गरी लालबहादुर विश्वकर्मालाई कुटपिट गरेको र ऐ.१४ गते बिहानै एम्बुलेन्सद्वारा उपचारार्थ पाँचथर अस्पताल पठाए अरे भन्ने कुरा सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी नरबहादुर तामाङले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
पीडित घाइते लालबहादुर (लक्ष्मी) वि.क. रसाइलीको मेची अञ्चल अस्पताल, झापाबाट भएको घाउ जाँच केस फाराम मिसिल संलग्न रहेको ।
मिति २०६८।४।१३ गते राति म नरबहादुर तामाङकै घरमा थिएँ । ऐ.राति अ.१०:३० बजेको समयमा लालबहादुर विश्वकर्मा नरबहादुर तामाङको घर आँगनमा आई घर बाहिर बसेका तेन्जु तामाङ र प्रविण लिङदेनलाई निरे खोई भनी सोधी खोजी गरेपछि प्रविण र तेन्जुले मलाई भित्र गई तपाइँलाई लालबहादुर वि.क.ले खोजी रहेको छ भनेपछि हामी तीनैजना बाहिर निक्लियौं । त्यहाँ डिसकस पर्यो र लालबहादुरले मलाई १ बक्सिङ हिर्काएपछि म लडेँ र आक्रोसित भई तीनै जनाले लालबहादुर वि.क.लाई कुटपिट गर्यौं । कल्पना घिसिङसमेतले लालबहादुरलाई काठको पिराले हिर्काइन् भन्नेसमेत बेहोराको प्रतिवादी विर्खबहादुर ढकालले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६८।४।१३ गते राति अं.१०:३० बजेको समयमा मेरो घर बाहिर होहल्ला भएको सुनी को रहेछन् भनी ढोका खोली हेर्दा एकातिर विर्खबहादुर ढकाल, नरबहादुरको छोरा तेन्जु मोक्तान तामाङ र निजकै ज्वाइँ प्रविण लिङदेन थिए भने एकातिर लालबहादुर विश्वकर्मा थिए । एक अर्कामा झगडा गरी रहेका थिए । मैले ढोका लगाएँ, त्यसपछि एकैचोटी सिसा फुटेको आवाज आएपछि मैले पुनः ढोका
खोलेँ । लालबहादुर वि.क.मेरो घर ढोका अगाडि पसारिएको देखी यसले स्वाङ पार्यो भनी काठको पिराले ३/४ चोटी हिर्काएकी हुँ भन्नेसमेत बेहोराको प्रतिवादी कल्पना घिसिङ तामाङले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६८।४।१३ गते राति अं.१०:३० बजेको समयमा लालबहादुर विश्वकर्मा निरे भन्ने विर्खबहादुर ढकाललाई खोज्दै आयो । मैले र भिनाजुले विर्खबहादुरलाई लालबहादुरले खोज्दै छ भनी सुनाई दियौं । विर्खबहादुर बाहिर निक्लेपछि दुवैजना बिचमा विवाद सुरू भयो । विवाद हुँदा लालबहादुरले विर्खबहादुरलाई एक मुक्का हान्दा विर्खबहादुर ढले, त्यसपछि मेरो भिनाजु प्रविण लिङदेनले लालबहादुर वि.क. माथि झम्टेर जानुभयो भने मैले पनि १।२ बक्सिङ हिर्काएको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी तेन्जी तामाङले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६८।४।१३ गते म चतुरे बजार पुगी घर फर्किने क्रममा प्रतिवादीमध्येको देउराली काइलो भन्ने नरबहादुर तामाङको घरअगाडिको बाटोमा पुग्दा प्रतिवादीहरू भारपा-३ बस्ने निरे भन्ने विर्खबहादुर ढकाल, ऐ.ऐ.बस्ने घिसिङ कान्छा भन्ने अकिलबहादुर घिसिङ, ऐ.ऐ.बस्ने कल्पना घिसिङ, ऐ.ऐ.बस्ने नरबहादुर तामाङ, ऐ.ऐ.बस्ने निजकै छोरा तेन्जिङ तामाङ र पञ्चमी-१ बस्ने प्रविण लिङदेनसमेत ६ जना मानिसहरू बाटोमा बसेका थिए । म सो स्थानमा पुग्दा प्रतिवादीहरूमध्येको निरे भन्ने विर्खबहादुर ढकालले मसँग मोबाइल माग्यो । मैले नदिएपछि मलाई टाउकोमा हिर्काउन थालेपछि अन्य प्रतिवादीहरूसमेतले धारिलो हतियार ढुङ्गा बोतलसमेतले मलाई कुटपिट गरी घाइते बनाएका हुन् । मेरो स्वास्थ्य स्थिति पनि नाजुक अवस्था छ भन्नेसमेत बेहोराको घाइते लक्ष्मी भन्ने लालबहादुर वि.क.रसाइलीको घटना विवरण कागज ।
मिति २०६८।४।१३ गते बेलुका तथा रातिको समयमा म आफ्नै घरमा थिएँ । ऐ.१४ गते बिहान अं.६:०० बजेको समयमा लालबहादुर वि.क.को घर छेउमा मान्छे मारेर फालेको छ भन्ने कुरा सुनी म पनि उक्त ठाउँमा गई हेर्दा लक्ष्मी भनेर बोलाउने लालबहादुर वि.क.मुर्छा अवस्थामा फेला पारेका हौं । उक्त घटना कसले घटाए भनी बुझ्दा ऐ.१३ गते रातिको समयमा जाहेरीको उल्लिखित प्रतिवादीहरू र प्रविण लिङदेन तथा तेन्जी तामाङसमेतको मिलेमतोमा विभिन्न घरेलु हातहतियार प्रयोग गरी कुटपिट गरी लालबहादुर अब मर्यो भन्ने ठानी प्रतिवादीहरूले घर छेउमा लगी फाली दिएका रहेछन् । हाल उनको उपचार भइरहेको छ भन्नेसमेत बेहोराको प्रायः एकै मिलानको लिलाबहादुर कामीसमेतले गरेको वस्तुस्थिति मुचुल्का ।
मिति २०६८।४।१३ गते राति अं.१०:३० बजेको समयमा म चतुरे बजारबाट घर आउँदै थिएँ, बाटोमा आउँदै गर्दा कल्पना तामाङ घिसिङको घर अगाडि ठोकठोक भन्दै गरेको आवाज आएको
थियो । भोलिपल्ट बिहान लालबहादुर रसाइलीलाई घर छेउमा मारेर फालेको छ भन्ने खबर सुनी उक्त ठाउँमा गई हेर्दा ढुकढुकी मात्र रहेकोले एम्बुलेन्स झिकाई उपचारार्थ पठाएको हो निजलाई अघिल्लो रात कल्पना घिसिङको घरमा जाहेरीको विरूद्ध खण्डमा उल्लिखित प्रतिवादीहरूसमेतको मिलेमतोमा कुटपिट गरी घर छेउमा फाली दिएका रहेछन् । बिहान कल्पना घिसिङ्गको घरमा हेर्दा पिँडिभरि रगत, घरको ब्लाङ्केटमा रगत र सिसाका टुक्राहरू थिए भन्नेसमेत बेहोराको कुमार संग्रौलाले गरेको घटना विवरण कागज ।
मिति २०६८।४।१४ गते बिहानै म दुध लिएर लालबहादुरको घरको बाटो हुँदै चतुरे डेरीमा जाँदै थिएँ । लालबहादुरको घरमाथि कुलोमा एकजना मानिस लडेको देखेँ । मैले उक्त मानिसलाई चिन्न नसकेको कारण सन्तवीर गदाइलीलाई सो कुरा भनी म दुध पुर्याउन गएँ । दुध पुर्याई फर्केर आउँदा उक्त कुलोमा लडेको मान्छेलाई जाहेरीको विरूद्ध खण्डमा उल्लिखित प्रतिवादीहरू तथा प्रविण लिङदेन र तेन्जी तामाङसमेतले मरणासन्न हुने गरी कुटपिट गरी फाली दिएका रहेछन् भन्नेसमेत बेहोराको गंगाराम श्रेष्ठसँग बुझिएको घटना विवरण कागज ।
मिति २०६८।४।१३ गते रातिको समयमा प्रतिवादीहरू प्रविण लिङदेन, तेन्जी तामाङ, विर्खबहादुर ढकाल, अकिलबहादुर घिसिङ, नरबहादुर तामाङ, कल्पना घिसिङसमेत भएर घरेलु हतियारसमेत प्रयोग गरी लालबहादुर वि.क.लाई मरणासन्न हुने गरी कुटपिट गरेर अब यो मर्यो भनी लालबहादुरकै घर छेउ लगी प्रतिवादीहरूले फाली दिएका रहेछन् भन्नेसमेत बेहोराको बुझिएका कुमार संग्रौला, गंगाराम श्रेष्ठको कागज एवं सन्तवीर रसाइलीसमेतका व्यक्तिहरूले गरी दिएको वस्तुस्थिति मुचुल्का मिसिल संलग्न भई पीडित लालबहादुर वि.क.को स्वास्थ्य परीक्षण प्रतिवेदनमा पीडितको टाउकोलगायत शरीरका जत्रतत्र भागमा काटे कुटेका घाउ चोटहरू भएको भन्ने उल्लेख भएसमेतबाट प्रतिवादीहरूले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १५ नं. विपरीत ज्यान मार्ने उद्योगको कसुर अपराध गरेको कुरा सप्रमाण पुष्टि हुन आएको हुँदा प्रतिवादीहरू विर्खबहादुर ढकाल, कल्पना घिसिङ, नरबहादुर तामाङ, तेन्जी तामाङ, अकिलबहादुर घिसिङ र प्रविण लिङदेनलाई ऐ.ऐन महलको १५ नं.बमोजिमको सजाय गरिपाउँ र प्रतिवादीमध्येका तेन्जी तामाङ वर्ष १४ मात्रको हुँदा निजको हकमा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम हुन र फरार प्रतिवादी प्रविण लिङदेनलाई अदालतबाट वारेन्ट जारी गरिपाउँ भन्नेसमेतको वादी नेपाल सरकारको अभियोग पत्र ।
मिति २०६८।४।१३ गते बेलुका ११ बजेको समयमा प्रतिवादीमध्येकी कल्पना तामाङको घरमा पीडित लक्ष्मी भन्ने लालबहादुर वि.क रसाइली आएर कल्पना तामाङलाई हातपात गर्न खोज्दा पीडित रक्सी खाएर मातेको अवस्थामा हुँदा कल्पनाले गुहार गुहार भनेर कराएपछि मेरो घर र कल्पनाको घर एउटै आँगन भएकोले के भएछ भनी त्यसतर्फ जाँदा कल्पना र पीडित झगडा गर्दै रहेछन् । मसँग जाने अर्का प्रतिवादी विर्खबहादुर ढकालले छुट्टयाउन खोज्दा पीडित लक्ष्मीले बक्सिङले हाने, विर्खबहादुर ढकाल भित्तामा गएर पछारिएपछि म डरले त्यहाँबाट भागे । निज पीडितलाई प्रतिवादीमध्येकी कल्पनाले आफू बच्नको लागि कुटपिट गरेको हो । मैले पीडितलाई कुटपिट गरेको होइन भन्नेसमेत बेहोराको प्रतिवादी तेन्जी तामाङले सुरू अदालतमा गरेको बयान ।
मिति २०६८।४।१३ गतेका दिन म दिनभरी चतुरे बजारमा बसेर बेलुका आफ्नो घरमा आएर बसेको थिएँ । को को भएर पीडितलाई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको हो मैले देखिन । कुटपिट भएको घटनाबारे भोलिपल्ट १४ गते जोरपोखरीबाट प्रहरीहरू आएर बेलुका चतुरे देउरालीमा कुटपिट घटना भएको छ जानुपर्यो भन्दा मैले थाहा पाएको हो । मैले कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको होइन । को को भएर घटना घटाएको हो मैले देखिन भन्नेसमेत बेहोराको प्रतिवादी अकिलबहादुर तामाङले सुरू अदालतमा गरेको बयान ।
मिति २०६८।४।१३ गते पीडित लक्ष्मी भन्ने लालबहादुर वि.क रसाइलीलाई मैले कुटपिट गरेको होइन । म आफ्नै घरमा सुतेको हुँदा र रातको समय भएकोले अन्य कसैले कुटपिट गरे होलान् । मउपर किन जाहेरी दिए मलाई थाहा भएन । मैले पीडितलाई कुटपिट गरी ज्यान मार्ने उद्योग नगरेको हुँदा अभियोग माग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी नरबहादुर तामाङले सुरू अदालतमा गरेको बयान ।
म मिति २०६८।४।१३ गते दिनको ३ बजेदेखि प्रतिवादीमध्येका नरबहादुर तामाङ बिरामी भएर रूँगी बसेको थिएँ । प्रतिवादीमध्येका कल्पना तामाङको डेरामा पीडित लक्ष्मी भन्ने लालबहादुर वि.क आई कल्पना तामाङ र पीडितबिच रातको समयमा झगडा भइरहेको रहेछ । नरबहादुर र कल्पनाको घर एउटै आँगन भएकोले कल्पना घिसिङले गुहार भनेर चिच्याउँदा के भएछ भनेर म र तेन्जी तामाङ गयौं । कल्पनाले पीडितलाई पिराले हिर्काउनु भयो । किन हिर्काउनु भयो भन्दा मलाई समाउन खोज्यो, पीडितले त्यसैले हिर्काएको हो भनिन् । पीडितको गोजीमा क्वाटरको बोतल पनि थियो । मैले के भयो भनेर पीडितलाई सोध्ने बित्तिकै मेरो देब्रे गालामा कुटियो र म भित्तामा गएर ठोक्किएँ । त्यसपछि म उठें, मैले पीडितलाई कुटपिट गरिन । पीडित लालबहादुर वि.क भुइँमा आफैँ लड्यो । त्यसै अवस्थामा प्रतिवादीमध्येकी कल्पना घिसिङले लडेपछि पनि पिराले हिर्काइन् । पीडित लडेपछि निजले बोकेको क्वाटर रक्सीको सिसा फुटेर टुक्राटुक्रा भएको थियो । पीडित मादक पदार्थ सेवन गरी मातेका थिए । अन्य प्रतिवादीहरू कसैले पनि पीडितलाई कुटपिट गरेको होइन भन्नेसमेत बेहोराको प्रतिवादी विर्खबहादुर ढकालले सुरू अदालतमा गरेको बयान ।
मिति २०६८।४।१३ गतेका दिन बारीमा दिनभरी काम गरी बेलुका ६ बजेको समयमा घर डेरामा फर्की आएको हुँ । खाना खाएर २ जना नानीहरू लिएर बसेकी थिएँ, रातको ८ बजेतिर छोरा बिरामी भई रातको १०, ११ बजेतिर मेरो डेरा बाहिर पीडित लालबहादुर वि.क. आई एक्कासी बोतलले हाने, त्यसपछि म
उठेँ । मेरो डेरामा ढुङ्गा मुढा गर्ने को हो भन्दा ढोकामा लालबहादुरले लात्ताले हानी ढोका फुटाई आउन खोज्यो । मेरो कठालोमा समाई मलाई धकेली
दियो । मैले निजलाई केही गरिन । मेरो घरमा बोतल फुटाई छरपस्ट बनाएको थियो । म महिला भएको घरमा आई जबरजस्ती गरी मेरो शरीरमा समाउन खोजेकोले निज पीडित भागी गई मलाई ज्यान मार्ने उद्योग मुद्दा लगाएको हो । मैले पीडितलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको होइन । निज रातको समयमा मादकपदार्थ सेवन गरेको अवस्थामा बोतल ढुङ्गा हान्दै मेरो घर डेरामा आएको हो । अन्य प्रतिवादीहरूले कुटपिट गरे गरेनन् मलाई थाहा भएन । मैले अभियोग माग दाबीअनुसारको कसुर नगरेकी हुदाँ सफाइ पाउनु पर्दछ भन्नेसमेतको प्रतिवादी कल्पना घिसिङ तामाङले सुरू अदालतमा गरेको बयान ।
म मिति २०६८।४।१३ गते भारपा -३ मा विवाह गरेको हुँदा ससुरालीले टिकाटालो गर्ने भनी बोलाएको हुँदा श्रीमती र १ जना साथी लिई मेरो घरबाट हिँडी राति मात्र आई खाना खाई ससुराली घरमै सुती भोलिपल्ट बिहान घर फर्केको हुँ । मैले पीडित लालबहादुर वि.क लाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको होइन । निजलाई को कसले कुटपिट गर्यो थाहा भएन । झगडा भयो अरे भन्ने सुनेको हुँ । मैले अभियोग माग दाबीबमोजिमको कसुर नगरेको हुँदा सफाइ पाउनु पर्ने हो भन्ने प्रतिवादी प्रविन लिङदेनले सुरू अदालतमा गरेको बयान ।
मिति २०६८।४।१३ गते म गोसको काम गर्ने भएकोले भारापाको चतुरे बजारमा गई गोसको काम गरी बेलुकातिर घरमा फर्किन लाग्दा प्रतिवादी नरबहादुर, प्रविन, अकिलबहादुर र विर्खबहादुर ढकालसँग भेट भएको थियो । यी प्रतिवादीहरू मसँगै बजारमा भेट भई सँगै घरमा फर्किएकाले वारदात घटना भएको समयमा पीडित लालबहादुर वि.क.लाई यी प्रतिवादीहरूले कुटपिट गरी ज्यान मार्ने उद्योग गरेका होइनन् भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी अर्जुन मोक्तानले सुरू अदालतमा गरेको बकपत्र ।
यी प्रतिवादी प्रविन लिङदेनले पीडितलाई ज्यान मार्ने उद्योग गरी कुटपिट गरेको होइन । पीडितले अत्यधिक मादक पदार्थ प्रयोग गरी कल्पना घिसिङलाई हातपात गरेको भन्ने सुनेको हो । प्रतिवादी प्रविन लिङदेन मसँगै प्रविनकै ससुराली घरमा सुतेका
थियौं । त्यसैले प्रतिवादी प्रविनले पीडितलाई कुटपिट गरेको होइन भन्नेसमेत बेहोराको प्रतिवादी प्रविन लिङदेनको साक्षी अटल लिङदेनले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६८।४।१३ मा म चतुरे बजारबाट घरमा फर्कंदै गर्दा विर्खबहादुर ढकालसमेत भेला भई बाटोमा र विर्खबहादुर, कल्पना, तेन्जी, प्रविन लिङदेन, अकिलबहादुर, नरबहादुरसमेत भई कुटपिट गरी बेहोस पारेका हुन्, म घरमा पुग्न सकिन । मलाई ढुङ्गा, बोत्तल, खुर्पा, पिराले हानेपछि म बेहोस भएकाले केही थाहा भएन भन्नेसमेत बेहोराको पीडित लालबहादुर वि.क.ले सुरू अदालतमा गरेको बकपत्र ।
म मिति २०६८।४।१४ गते बिहान चतुरेमा दुध पुर्याउन डेरीमा जाँदै गर्दा बाटोमा पीडित लालबहादुर वि.क. लडी रहेको देखेपछि बाटोमा सन्तवीर गदाईलीलाई बाटोमा मान्छे लडेको
सुनाएँ । बढी पानी परेको भेल भएकोले प्रतिवादी कल्पना घिसिङको आँगनमा घर सिकुवामा माटो लगेर लगाउँदै थिए । मैले बाटोबाट देखेको हुँ । पीडित बेहोस अवस्थामा भई उसको हातको देब्रे नारीमा काटेको, टाउकोमा चोट, शरीरमा रगतहरू बगी रहेको
थियो । पीडितलाई विर्खबहादुर ढकाल, कल्पना घिसिङ, नरबहादुर घिसिङ, अकिलबहादुर घिसिङसमेत भएर ज्यान मार्ने उद्योग गरेका हुन् भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्कामा बस्ने गंगाराम श्रेष्ठले सुरू अदालतमा गरेको बकपत्र ।
पीडित लालबहादुर वि.क. लाई प्रतिवादी विर्खबहादुर ढकाल, कल्पना घिसिङ, नरबहादुर तामाङ, अकिलबहादुर घिसिङ र नरबहादुरको ज्वाइँसमेत भई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको हो । पीडित रगतपच्छे थिए, उपचारको लागि पाँचथर अस्पताल पठाएको र पछि भद्रपुर लगेको हो भन्नेसमेत बेहोराको अनुसन्धानको क्रममा बुझिएका युवराज गदाइलीले सुरू अदालतमा गरेको बकपत्र ।
पीडित लालबहादुर वि.क.लाई कल्पना घिसिङको घरमा बोतल, पिरा, बाम्फोक जस्ता धारिला हतियारले कल्पना, नरबहादुर, विर्खबहादुर, अकिलबहादुर, तेन्जी तामाङ, प्रविन लिङदेन भई कुटपिट गरेका हुन् भन्नेसमेत बेहोराको अनुसन्धानको क्रममा बुझिएका कुमार संग्रौलाले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी विर्खबहादुर ढकाल, तेन्जीको भिनाजु प्रविन लिङदेन कल्पना घिसिङसमेत अन्य २ जना भई पीडितलाई खुकुरी, बोतल, ढंुगा, लौरो, पिराले समेत कुटपिट गरेका हुन् । घटनास्थलमा जाँदा प्रतिवादीहरूले माटोले रगत पुर्दै थिए भन्नेसमेत बेहोराको जाहेरवाली मुना रसाइलीले सुरू अदालतमा गरेको बकपत्र ।
पीडितको तत्कालीन घा केस फाराम हेर्दा टाउकोमा पटकपटकको प्रहारले र शरीरको अरू भागमा समेत प्रशस्त घाउ चोटदेखि तत्काल मर्ने सम्भावना रहेको देखिएको अवस्था छ भने सघन उपचारपछि पीडित सामान्य हुन सकेको चिकित्सकीय कागजात तथा साक्षी बकपत्रसमेतबाट देखिएको छ । प्रतिवादी विर्खबहादुरलाई पीडितले बोलाई वारदात भएको ठाउँमा २ पक्षबिच झगडा भएको भन्ने कुरा विर्खबहादुरको बयानसमेतबाटै देखिएबाट बिना कारण अरू प्रतिवादीहरूले पीडितलाई कुट्नु पर्ने अवस्था पनि देखिएन । बरू प्रतिवादी कल्पनासमेतले पानी खुवाएको, कम्मल ओढ्न दिएकोसमेत कुरा खुलाएको र सो कुरा पीडित मुर्छित अवस्थामा फेला पर्दा देखिएको कम्मलसमेतले देखाएको छ । त्यसैले प्रतिवादी विर्खबहादुर ढकालले सम्म पीडितलाई ज्यान मार्ने उद्योग गरेको ठहर्छ । निजलाई ५ वर्ष कैद हुन्छ । अरू प्रतिवादीहरू नरबहादुर, अकिलबहादुर, प्रविन लिङदेन, तेन्जी लामा, कल्पना घिसिङले आरोपित अभियोगबाट सफाइ पाउने ठहर्छ भन्ने सुरू पाँचथर जिल्ला अदालतबाट मिति २०६९।५।१२।३ मा भएको फैसला ।
प्रतिवादीमध्येकी कल्पना घिसिङको घरमा बसिरहेका रूद्र ढकाल र पीडित लालबहादुरबिच विवाद भएको र सो घटनामा लालबहादुरले बोतल र कल्पना घिसिङले पीडितलाई टाउकोमा पिराले प्रहार गरेपछि कल्पनाकै घरमा सुतेका निजकै ससुरा अक्किलबहादुर, छिमेकी नरबहादुर, निजका छोरा तेन्जी तामाङ र ज्वाइँ प्रविण लिङदेन आई पीडितलाई घेरा गरी सामूहिक कुटपिट गर्दा बेहोस भई लडेपछि पीडित मर्यो भन्ने विश्वासमा प्रतिवादीहरूले कल्पनाको घरमा कम्मलमा पीडितलाई राखेर भारपा-५ स्थित पीडितको घर छेउमा वारदातस्थलबाट ७०० मिटर तल पुर्याई फाली दिएको, प्रतिवादी विर्खबहादुर १ जनाले मात्र पीडितलाई पक्रिन र एकहोरो कुटपिट गरी बेहोस पारी घटनास्थलबाट पीडित फेला परेको स्थानसम्म पुर्याउन सम्भव नहुने भएकाले यी प्रतिवादीहरूको वारदातमा सामूहिक कसुर देखिएकोले सुरू अदालतबाट सफाइ पाएका अक्किलबहादुर घिसिङ, नरबहादुर तामाङ, कल्पना घिसिङ तामाङ, तेन्जी तामाङ र प्रविण लिङदेनलाई कसुरबाट सफाइ दिने गरी भएको सुरू अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो बदर गरी निज प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन अदालत इलाममा पर्न आएको पुनरावेदनपत्र ।
बुझिएका मानिसहरूले वारदात भएको नदेखेको र मैले पीडितलाई कुटपिट गरेको भनी कसैले किटानसाथ भन्न नसकेको एवं पीडितलाई अन्य कसैले कुटपिट गरी घरमा लगेको हुन सक्ने अवस्था भएको, मैले पीडितलाई नकुटेको र कल्पनाले गुहार माग्दा छुट्याउन मात्र गएकोमा उल्टै मलाई लालबहादुरले कुटेको, मेरा साक्षीहरूको अदालतको बकपत्रलाई बेवास्ता गर्दै मेरो प्रमाणलाई अवमूल्यन गरी अनुमानको भरमा नभएको कसुर कायम गरी फौजदारी न्यायको सर्वमान्य सिद्धान्तसमेतको अवमूल्यन गर्दै सुरू अदालतबाट मलाई सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा सो बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादी बृखबहादुर ढकालको पुनरावेदन अदालत इलाममा पर्न आएको पुनरावेदनपत्र ।
यसमा बृखबहादुर ढकालले गरेको पुनरावेदन वादी नेपाल सरकारलाई सुनाई सफाइ पाएका प्रतिवादीहरूले समेत निजलाई कुटपिट गरेको भनी पीडितले बकपत्र गरेको रोहमा सुरू फैसला फरक पर्ने देखिँदा सफाइ पाएका प्रतिवादीहरूलाई मुलुकी ऐन अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलको लागि प्रत्यर्थी झिकाई हाजिर भएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०६९।१२।६ को आदेश ।
पुनरावेदक प्रतिवादी बृखबहादुर विरूद्धको अभियोग दाबी पुग्ने ठहर्याई निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १५ नं. बमोजिम ५ वर्ष कैद गरेको र प्रतिवादीहरू अकिलबहादुर घिसिङ तथा नरबहादुर तामाङले अभियोग दाबीबाट सफाइ पाउने ठहर्याएको पाँचथर जिल्ला अदालतको मिति २०६९।५।१२।३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहरे पनि प्रतिवादीहरू कल्पना घिसिङ तामाङ, तेन्जी तामाङ तथा प्रविन लिङदेनसमेतले पीडितलाई सामान्य कुटपिट गरेको देखिँदा निजहरूको हकमा कुटपिटमा परिणत नगरेको सुरू फैसला सो हदसम्म केही उल्टी भई सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम सरोकारवालाले सकार गरेमा प्रतिवादीहरू कल्पना घिसिङ तामाङ, तेन्जी तामाङ तथा प्रविन लिङदेनको हकमा यसै मुद्दाबाट कुटपिटमा कारबाही किनारा गर्नु भनी प्रस्तुत मिसिल सुरू पाँचथर जिल्ला अदालतमा पठाई दिनेसमेत ठहर्छ भन्नेसमेत पुनरावेदन अदालत इलामको मिति २०७०।३।११ को फैसला ।
उक्त फैसलामा चित्त बुझेन । प्रतिवादीहरू अकिलबहादुर घिसिङ र नरबहादुर तामाङसमेतले गरेको बयान मात्र सफाइको आधार हुन सक्ने
होइन । प्रतिवादीहरूले सामूहिक रूपमा पीडितलाई घेराउ गरी कुटपिट गरी बेहोस भइसकेपछि पीडित मर्यो भनी वारदात स्थलबाट ७०० मिटर तल पुर्याई फालिदिएका र भोलिपल्ट जाहेरवालीसमेतले फेला पार्दा पीडितको मृत्यु नभइसकेको र तत्काल सुविधा सम्पन्न अस्पतालमा पुर्याई उपचार गरेको कारणले मात्र पीडित बाँच्न सफल भएको कुरा जाहेरी दरखास्त, जाहेरवालाको बकपत्र, पीडितको घाउ जाँच केस फाराम र प्रतिवादीहरूको मौकाको बयान, पीडित र बुझिएका मानिसहरूको कागज र बकपत्रसमेतबाट पुष्टि भएको अवस्थामा बखबहादुर ढकाललाई मात्र अभियोग माग दाबीबमोजिम सजाय गर्ने र अन्य प्रतिवादीरूमध्ये केहीलाई सफाइ र केहीलाई कुटपिटमा परिणत गर्ने गरी भएको पुनरावेदन अदालतको फैसला प्रमाणको विरोधाभाष मूल्याङ्कन भई त्रुटिपूर्ण छ । वारदातस्थल प्रतिवादी कल्पना घिसिङको घर आँगनमा भएको छ तर पीडित मरेतुल्य अवस्थामा कल्पनाको घरदेखि ७०० मिटर टाढा कल्पनाकै कम्बलले बेरिएको अवस्थामा भेटिएका छन् । पीडितको अवस्था मर्नसक्ने रहेको भन्ने कुरा निजको घाउ जाँच केस फारामबाट पुष्टि भएको छ । पीडितलाई सबै प्रतिवादीहरूले सामूहिक रूपमा कुटपिट गरेको देखिन्छ । एक जना प्रतिवादी बृखबहादुर ढकालले मात्र उक्त आपराधिक कार्य गर्न सम्भव देखिँदैन । यस अवस्थामा उक्त घटनामा १ जना बृखबहादुरलाई कसुरदार ठहर गरी अन्य प्रतिवादीहरूका हकमा कुटपिटमा परिणत र दुईजना प्रतिवादीलाई सफाइ दिनेगरी भएको पुनरावेदन अदालत इलामको फैसलामा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको प्रतिकूल भई बदरभागी छ । अत: माथि विवेचित आधार र प्रमाणसमेतबाट प्रतिवादीहरूले अभियोग माग दाबीबमोजिम कसुर गरेको पुष्टि भइरहेको अवस्थामा केही प्रतिवादीहरूका हकमा कुटपिटमा परिणत गरी र केही प्रतिवादीलाई सफाइ दिने गरी भएको पुनरावेदन अदालत इलामले गरेको फैसला त्रुटिपूर्ण भई बदरभागी रहेकोले बदर गरी प्रतिवादीहरूलाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
यस वारदातमा पीडित घाइते लालबहादुर वि.क. मात्र रहेको देखिएको अवस्थामा प्रतिवादीमध्येका विर्खबहादुर ढकाललाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. अनुसारको कसुरमा कसुरदार ठहर गरेको र अन्य प्रतिवादीमध्येका कल्पना घिसिङ, तेन्जी तामाङ र प्रविन लिङदेनका हकमा कुटपिटतर्फ कारबाही गर्न भनी एउटै वारदातमा संलग्न एकजना प्रतिवादीका हकमा ज्यानसम्बन्धीको १५ नं. को कसुर कायम हुने गरी र अन्य केही प्रतिवादीका हकमा मुद्दा कुटपिटतर्फ परिणत हुने ठहर गरी पुनरावेदन अदालत इलामबाट मिति २०७०।३।११ मा भएको फैसला मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. को व्याख्या एवं मिसिल संलग्न प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. बमोजिम छलफलका लागि प्रत्यर्थी प्रतिवादीहरूलाई झिकाई आएपछि वा अवधि व्यतित भएपछि नियमानुसार गरी पेस गर्नु भन्नेसमेत बेहोराको यस अदालतबाट मिति २०७३।५।१३ मा भएको आदेश ।
यस अदालतको ठहर
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री मोहन सागर बस्यालले प्रतिवादीहरूले सामूहिक रूपमा घेराउ गरी पीडितलाई कुटपिट गरी अब मर्यो भन्ने ठानेपछि वारदात स्थलबाट करिब ७०० मिटर पर पुर्याई फालेकामा भोलिपल्टसम्म पीडितको मृत्यु नभएको, सुविधा
सम्पन्न अस्पतालमा तत्कालै पुर्याएका कारणले मात्र पीडित बाँच्न सफल भएको कुरा मिसिल संलग्न कागजातबाट देखिएको र एकजनाले मात्र उक्त कार्य गर्न नसक्ने अवस्थामा बृखबहादुर ढकाललाई मात्र
अभियोग माग दाबीबमोजिम सजाय गर्ने र अन्य प्रतिवादीहरूमध्ये केहीलाई सफाइ र केहीलाई कुटपिटमा परिणत गर्ने गरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी माग दाबीबमोजिम सजाय गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
यसमा सुरू जिल्ला अदालतको फैसलालाई केही उल्टी गरी पुनरावेदन अदालत इलामबाट मिति २०७०।३।११ मा भएको फैसला मिलेको छ छैन ? पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्ने हो वा होइन ? सो सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, मिति २०६८।४।१३ गते राति मोबाइलको विषयमा निहुँ झिकी सबै प्रतिवादीहरूले पीडित लालबहादुर वि.क. लाई घेराउ गरी सांघातिक रूपमा कुटपिट गरी मर्यो भन्ने विश्वास भइसकेपछि वारदातस्थलदेखि ७०० मिटर तल निजकै घर छेउमा फाली दिएकोमा भोलिपल्ट प्रमाणका मानिससमेतले हस्पिटल लगेका कारणले मात्र निजको ज्यान बचेकोमा प्रतिवादीहरूको उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १५ नं. विपरीत हुँदा सोही १५ नं. बमोजिम सजाय गरी पाउन र प्रतिवादी तेन्जीङ तामाङको हकमा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम गरी पाउन अभियोग दाबी दायर भएकोमा प्रतिवादी बृखबहादुर ढकालको हकमा अभियोग दाबी पुग्ने ठहर्याई ५ वर्ष कैद हुने, अन्य प्रतिवादीहरूले सफाइ पाउने ठहर्याई भएको सुरू फैसलामा वादी नेपाल सरकार तथा प्रतिवादी बृखबहादुर ढकालको पुनरावेदन परेकोमा बृखबहादुर ढकाल, अकिलबहादुर घिसिङ र नरबहादुर तामाङको हकमा सुरू फैसला सदर हुने र प्रतिवादीहरू कल्पना घिसिङ तामाङ, तेन्जी तामाङ तथा प्रविन लिङदेनको हकमा कुटपिटमा परिणत हुने गरी भएको फैसलामा चित्त नबुझाई वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।
३. प्रस्तुत पुनरावेदन साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम भनी दायर भएको पाइयो । उक्त दफामा “सुरू अदालत, निकाय वा अधिकारीले गरको निर्णय र सो निर्णयउपर पुनरावेदन सुनी पुनरावेदन अदालतले गरेको निर्णयमा तात्त्विक भिन्नता भएको मुद्दा” मा सर्वोच्च अदालतमा पुनरावेदन लाग्नेछ भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । हालको न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) मा उच्च अदालतले सुरू कारबाही र किनारा गरेका मुद्दा, उच्च अदालतबाट १० वर्ष वा सोभन्दा बढी कैद सजाय हुने गरी फैसला भएका मुद्दाका साथै ३ वर्ष वा सोभन्दा बढी कैदको सजाय भएको मुद्दामा सुरू अदालतले गरेको निर्णयउपर उच्च अदालतले पुनरावेदनको रोहमा निर्णय गर्दा आंशिक वा पूरै बदर गरेको मुद्दाका हकमा सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने कानूनी व्यवस्था रहेको पाइन्छ । पुनरावेदन दायर हुँदाका बखत कार्यान्वयनमा रहेको ऐनमा प्रयुक्त पुनरावेदन लाग्ने आधारमा “तात्त्विक भिन्नता” लाई लिइएको देखियो । तात्त्विक भिन्नता (Material difference) भन्नाले सुरू अदालत, निकाय वा अधिकारीले गरेको निर्णयउपर पुरावेदन अदालतले पुनरावेदन सुनी निर्णय गर्दा जुन निर्णयउपर पुनरावेदन सुनेको हो सो निर्णयमा सजाय घटीबढी पारी पूर्ण वा आंशिक उल्टी हुन गयो र ३ वर्षभन्दा बढी सजायको अवस्था छ भने प्रस्तुत दफाको खण्ड (ग) बमोजिम तात्त्विक भिन्नता भएको मानिने हो । प्रस्तुत मुद्दामा प्रतिवादीमध्येका विर्खबहादुर ढकाललाई सुरू अदालतले ५ वर्ष कैदको सजाय गरेकोमा सो फैसलालाई पुनरावेदन अदालतसमेतले सदर गरी सफाइ पाउने प्रतिवादीहरू कल्पना घिसिङ तामाङ, तेन्जी तामाङ र प्रविन लिङ्देनको हकमा मात्र कुटपिटतर्फ परिणत गर्ने गरी फैसला भएको
देखिन्छ । कुनै कानूनमा स्पष्ट रूपमा पुनरावेदन दिन पाउने अधिकारको व्यवस्था गरिएको छैन भने अधिकारप्राप्त अदालतबाट गरिएको फैसला वा आदेशउपर पुनरावेदन दिन पाउने अवस्था रहँदैन । दफा ९ अन्तर्गत सर्वोच्च अदालतमा पुनरावेदन नलाग्ने मुद्दाहरूमा खास खास आधारहरूमा सर्वोच्च अदालतले मुद्दा दोहोर्याई हेर्न सक्ने गरी कानूनमा व्यवस्था भएको र दश वर्ष वा सोभन्दा बढी कैदको सजाय भएको जुनसुकै मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन लाग्न सक्ने कानूनी व्यवस्था रहेकै सन्दर्भमा यी प्रतिवादी विर्खबहादुर ढकाललाई सुरू अदालतले गरेको ५ वर्ष कैदको सजायलाई नै पुनरावेदन अदालतबाट सदर गरेको अवस्था छ । सफाइ पाएकाबाहेक अन्य प्रतिवादीहरूका हकमा कुटपिटतर्फ परिणत हुने ठहरी कैदको सजाय तोकिएको अवस्था छैन । यस अवस्थामा पुनरावेदन दर्ता हुँदाका बखत प्रचलनमा रहेको न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) मा उल्लिखित “तात्त्विक असर परेको” वा हालको न्याय प्रशासन ऐन, २०७३ को सोही दफामा रहेको “आंशिक वा पूरै बदर गरेको” भनी अर्थ गर्दा मनासिब हुने देखिँदैन । त्यसैले लाग्न नसक्ने पुनरावेदनको औचित्यमा प्रवेश गर्नुपर्ने अवस्था नरहेबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) एवं न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) अन्तर्गत लाग्न नसक्ने प्रस्तुत पुनरावेदनको औचित्यतर्फ (Merit of case) प्रवेश गरिरहनु पर्ने देखिएन । जहाँसम्म सफाइ पाउने प्रतिवादीहरूमध्ये कल्पना घिसिङ तामाङ, तेन्जी तामाङ तथा प्रविन लिङ्देनको हकमा कुटपिटमा कारबाही किनारा गर्नु भन्ने विषय हो सो विषय कार्यविधिगत विषय भएको र कार्यविधिगत विषयका कारणले मात्र सुरूको फैसलामा “तात्त्विक असर परेको” वा “आंशिक वा पूरै बदर गरेको” अर्थ गर्दा कानूनको मनसायअनुरूप नहुने हुँदा त्यत्तिकै आधारले तात्त्विक असर परेको वा आंशिक वा पूरै बदर गरेको मान्न मिल्ने देखिँदैन ।
४. अतः प्रतिवादीमध्येका बृर्खबहादुरलाई तत्कालीन मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम ५ वर्ष कैद हुने ठहर गरी सुरू जिल्ला अदालतबाट भएको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत इलामबाट मिति २०७०।३।११ मा भएको फैसलामा माथि विवेचित आधार र कारणसमेतबाट यस अदालतमा पुनरावेदन लाग्न सक्ने अवस्था देखिएन । तसर्थ प्रस्तुत पुनरावेदन खारेज हुने ठहर्छ । दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.ईश्वरप्रसाद खतिवडा
इजलास अधिकृत: राजेन्द्र वाग्ले
इति संवत् २०७६ साल भाद्र २ गते रोज २ शुभम् ।