शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०३०२ - कर्तव्य ज्यान

भाग: ६१ साल: २०७६ महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री दीपककुमार कार्की

माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल

फैसला मिति : २०७६।२।३०

 

मुद्दाः कर्तव्य ज्यान

 

०७५-CF-०००१

पुनरावेदक / प्रतिवादी : जिल्ला मोरङ पोखरिया गा.वि.स. वडा नं.६ वस्ने रमेश मण्डल गनगाईसमेत

विरूद्ध

प्रत्यर्थी / वादी : श्यामप्रसाद मण्डलको जाहेरीले नेपाल सरकार

 

०७५-CF-०००२

पुनरावेदक / प्रतिवादी : श्यामप्रसाद मण्डलको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / वादी : जिल्ला मोरङ पोखरिया गा.वि.स. वडा नं.६ बस्ने रमेश मण्डल गनगाईसमेत

 

वारदातको लास जाँच प्रकृति मुचुल्का हेर्दा मृतकको नाक तथा कानबाट रगत निस्केको भन्ने देखिएको र शव परीक्षण प्रतिवेदनबाट मृतकको घाँटीमा रगत जमेको भन्ने देखिएबाट मृतकको लासमा hanging को कुनै पनि लक्षण नदेखिएको हुँदा मृतकको मृत्यु hanging को कारणले नभई strangulation कै कारणबाट भएको हो भनी मान्नु पर्ने ।

(प्रकरण नं.९)

परिस्थितिजन्य प्रमाणको लागि तथ्यका प्रत्येक कडी एकआपसमा आबद्ध र अन्योन्याश्रित भएको हुनुपर्ने र तथ्यको कुनै एक कडीको पनि अनुपस्थिति भएमा सो प्रमाण खण्डित भएको मान्नु पर्ने । 

(प्रकरण नं.१८)

 

प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री प्रविण सुवेदी, विद्वान्‌ अधिवक्ता श्री विकास थापा र विद्वान्‌ अधिवक्ता श्री सुभाष पाठक

वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री महेशप्रसाद खत्री

अवलम्बित नजिर : 

ने.का.प.२०६७, अंक ५, नि.नं.८३७४, पृ.८१४

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः 

मा. जिल्ला न्यायाधीश श्री चण्डीराज ढकाल

मोरङ जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः 

माननीय न्यायाधीश श्री राजकुमार वन

मा. न्यायाधीश श्री सत्यमोहन जोशी थारू

पुनरावेदन अदालत विराटनगर

यस अदालतमा फैसला गर्नेः  

स. प्रधानन्यायाधीश श्री गोपाल पराजुली

मा. न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा

 

फैसला

न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत विराटनगरको फैसलाउपर प्रतिवादीहरू रमेश मण्डल गनगाई र विजय कुमार भन्ने विजय मण्डल गनगाई तथा वादी नेपाल सरकार दुवै पक्षको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दा यस अदालतको संयुक्त इजलासमा पेस भई फैसला हुँदा सम्माननीय प्रधानन्यायाधीश र माननीय न्यायाधीशको रायमा मतैक्य हुन नसकी रायबाझी फैसला भएको र सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२) (क) बमोजिम उक्त फैसला पूर्ण इजलासमा पेस गर्नु भनी व्यक्त भएको रायबमोजिम यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः

तथ्य खण्ड

म जाहेरवालाको छोरी २० वर्षीया सुनितादेवी मण्डल र प्रतिवादीमध्येका रमेश मण्डल गनगाईबिच प्रेम सम्बन्ध भई २०६४ सालमा प्रेम विवाह भएको हो र निजलाई मैले दाइजोबापत रू. ५१,०००।- समेत दिएको थिएँ । मेरो सम्धी भरतलाल मण्डल, सम्धिनी रामवती देवी मण्डल र विजय मण्डललाई रमेश मण्डलले प्रेम विवाह गरेको कुरा मन परेको थिएन । विवाह गरेदेखि नै भरतलाल मण्डलले रमेश मण्डल र सुनितादेवी मण्डललाई घरमा बस्न दिन्‍न, अलग गराएर छाड्‌छु भनेका थिए । मोटरसाइकल र टि.भी. दाइजो चाहियो भनी रमेश मण्डलसमेतले छोरीलाई शारीरिक तथा मानसिक यातना दिँदै आएका र मिति २०६८।११।२० गते साँझ निजले सुनितादेवी मण्डललाई कुटपिट गरी खाना खानसमेत नमानी त्यहाँबाट हिँडी गएका र सोही दिन राति निज सुनितादेवी मण्डललाई रमेश मण्डलसमेतका मानिसहरू भई कुटपिट गरी साडीको पासोले घाँटीमा कसी कर्तव्य गरी मारी घरबाट १ कि.मि. टाढा रहेको कदमको रूखमा लगी झुन्ड्याएको हुँदा निजहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍ने मिति २०६८।११।२२ को जाहेरी दर्खास्त ।

मोरङ नोचा-४ स्थित कदमको रूखमा मृतक सुनितादेवी मण्डलको लास रहेको, मृतकको नाक र मुखबाट रगत निस्किएको, घाँटीमा वरिपरि साडीको कसिएको डाम भई बायाँ साइडमा गाँठो भएको, अगाडि घाँटीको भागमा मसिनो डोरीले कसिएको डाम देखिएको र घाँटी नजिकै सानो आधा इन्च खोस्रिएको घाउ रहेको भन्‍ने मिति २०६८।११।२८ को लासजाँच प्रकृति मुचुल्का ।

मोरङ पोखरीया-६ स्थित पूर्वमा पोखरीया जाने बाटो, पश्चिममा बाँसघारी, उत्तरमा लडिलाल मण्डलको गहुँ बाली र दक्षिणमा रामचौक जाने बाटो यति चार किल्लाभित्र पर्ने टिनको छाना लगाएको २ तले भरतलाल मण्डलको घर रहेको, सो घरको भुइँ कोठामा मृतकको चुराको टुक्राहरू फुटेको अवस्थामा देखिएको, सो स्थानबाट २० फिट दक्षिणमा गाइवस्तु बाँध्ने गरेको ग्वाली घरमा प्रतिवादी रमेश मण्डलसमेत भई सुनितादेवी मण्डललाई कुटपिट गरेको, ग्वाली घरमा रहेका खम्बाहरूमा रगतको टाटा लागेको र उक्त स्थानमा बाँसको लाठीसमेत फेला परेको भन्‍ने मिति २०६८।११।२१ को घटनास्थल तथा बरामदी मुचुल्का ।

मृतक सुनिता देवी मण्डलको मृत्युको कारण Cause of death will be ascertained after taxological and pathological examination of visceral organs भनी उल्लेख भएको, मृतकको शरीरको विस्तृत अध्ययन गर्दा नाक र देब्रे कानबाट रगत बगेको एवं घाँटीमा fracture of thyroid cartilage भन्‍नेसमेतको कोशी अञ्चल अस्पतालका चारजना चिकित्सकहरूले गरेको मिति २०६८।११।२३ को शव परीक्षण प्रतिवेदन ।

मेरा छोरा रमेश मण्डलले मृतक सुनितादेवी मण्डलसँग २०६४ सालमा प्रेम विवाह गरेको 

हो । उक्त कुरा मलाई मन परेको थिएन । छोराले बुहारी सुनितालाई दाइजोको निहुँमा दिनहुँ कुटपिट 

गर्दथ्यो । मैले त्यसो गर्नु हुँदैन भनी सम्झाई बुझाई गर्दै गरेको थिएँ । यस्तैमा छोराको ससुराली पक्षबाट रू.५१,०००।- नगद दाइजोस्वरूप दिएपछि पनि निज छोराले पुनः मोटरसाइकल र टिभीसमेत दाइजो चाहियो भनी बुहारीलाई कुटपिट गरी यातना दिन थालेको हुँदा मिति २०६८।११।२० को साँझ पारी ससुरालीमा निज छोरा-बुहारीबिच कुटपिट भएको र निजले ससुरालीमा खाना नखाई आफ्नो घर फर्की खाना खाएको 

थियो । सोही रात निज सुनितादेवी मण्डललाई दाइजोको विषयमा विजय मण्डल र रमेश मण्डल भई कुटपिट गरी मारी रूखमा झुन्ड्याएको हुन सक्छ । उक्त वारदातमा म र मेरो श्रीमती रामवती देवी मण्डलको कुनै संलग्नता छैन भन्ने मिति २०६८।१२।५ को प्रतिवादी भरतलाल मण्डलको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान ।

मेरो छोरा २१ वर्षीय रमेश मण्डल र हाल मृतक २० वर्षीया सुनिता देवी मण्डलले एकआपसमा प्रेम सम्बन्ध राखी २०६४ सालमा प्रेम विवाह गरेको र निजहरूको विवाहपश्चात् मेरो छोरा-बुहारीबिच राम्रो सम्बन्ध थिएन । मेरो छोराले दाइजो चाहियो भनी पटकपटक निज बुहारीलाई कुटपिट गरी यातना दिँदै आएको र यातना दिएपश्चात् रू. ५१,०००।- ससुराली पक्षबाट दिएकोमा पुनः मोटरसाइकल र टिभी माग गरी पटकपटक शारीरिक यातना दिँदै आएको र हामीले सम्झाउँदा नमानेको थियो । यस्तैमा मिति २०६८।११।२० को राति अं. ७ बजे रमेश मण्डलले निज सुनितादेवी मण्डललाई कुटपिट गरेको हुँदा निज र अन्य विजय मण्डलसमेत मिली कुटपिट गरी साडीको पासो घाँटीमा लगाई कसी कर्तव्य गरी मारी कदमको रूखमा झुन्ड्याएको हुँदा निजहरूले उक्त वारदात घटाएको हुनसक्छ । म र मेरो श्रीमान् भरतलाल मण्डलको सो वारदातमा कुनै संलग्नता छैन भन्‍ने मिति २०६८।१२।५ को  प्रतिवादी रामवती मण्डलको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान ।

मिति २०६८।११।२० गते रातिको समयमा म आफ्नै घरमा थिएँ । उक्त मितिको भोलिपल्ट बिहान जाहेरवालाको छोरी सुनितादेवी मण्डललाई मारी झुन्ड्याइएको छ भनी हल्ला सुनी गई हेर्दा मृतक लासको नाक मुखबाट रगत निस्किएको, घाँटीमा नीलडाम देखिएपछि कसले कर्तव्य गरी मारेका रहेछन् त भनी बुझ्दा निज रमेश मण्डल गनगाई र सुनितादेवी मण्डलबिच प्रेम सम्बन्ध भई प्रेम विवाह भएको, निजहरूको विवाहपश्चात् दाइजो चाहियो भनी रमेश मण्डलले सुनितादेवी मण्डललाई शारीरिक र मानसिक यातना दिई कुटपिट गर्दै आएको र मिति २०६८।११।२० को साँझ अं. ७ बजे पनि निज रमेश मण्डलले आफ्नै श्रीमती सुनितादेवी मण्डललाई कुटपिट गरेको भन्‍ने मैले सुनी थाहा पाएको हुँदा उक्त मिति समयमा हाल मृतक सुनितादेवी मण्डललाई प्रतिवादी रमेश मण्डल गनगाई, रामवती देवी मण्डल, भरतलाल मण्डल विजय मण्डलसमेत भई कुटपिट गरी कर्तव्य गरी मारी कदमको रूखमा झुन्ड्याई वारदात गरेको हुँदा निजहरू सबैजनालाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍ने मिति २०६८।१२।५ को बैजनाथ मण्डलको घटना विवरण कागज ।

मैले मेरो घर नजिकमा रहेकी २० वर्षीया सुनितादेवी मण्डल गनगाईलाई प्रेम सम्बन्ध गरी यही २०६४ सालमा प्रेम विवाह गरेको र मैले विवाह गरेपछि ससुराली पक्षबाट दाइजोको रकम नदिएको हुँदा मैले निजलाई पटकपटक दाइजोको विषयमा कुटपिट गरी शारीरिक यातना दिँदै आएको थिएँ । मैले विवाह गरेको मेरो दाजु विजय मण्डललाई पनि मन परेको 

थिएन । मैले पटकपटक दाइजो चाहिन्छ भनेपछि मलाई ससुराली पक्षबाट रू. ५१,०००।- नगद दाइजोबापत पाएको थिएँ । त्यसपछि पनि मैले मोटरसाइकल र टिभी चाहिन्छ भनी कुटपिट गर्दै आएको थिएँ । मिति २०६८।११।२० को राति अं. १९.०० बजे मैले सुनितादेवी मण्डललाई झै-झैगडा हुँदा लात्ती र बक्सिङले हानेपछि निज रोइरहेकी थिइन् । त्यसपछि मलाई खाना खान जानु भनी भनेको हुँदा म खान्‍न भनी आफ्नो घरतिर गएँ । राति १०.०० बजे दाजु विजय मण्डल पनि घरमा आए, मैले आज सुनितालाई मार्नुपर्छ भनी सुनाए, निजले पनि हुन्छ भनेकोले योजना बनाई मैले निज सुनितादेवी मण्डललाई तिमी मेरो घरमा आउ भनी बोलाए, राति अं. ११/१२ बजे मेरो घरमा निज आएपछि मैले सधैँभरी किन यसरी झगडा गर्छेस् भनी लात्ती र मुड्कीले हिर्काएँ । मैले हिर्काएको सहन नसकी निज सुनितादेवी मण्डल रून थालिन् । त्यसपछि मेरो दाजु विजय मण्डलले मुख थुनी घाँटीमा समाती 

रहे । निजलाई कुटपिट गरी कोठाबाट निकाली ग्वाली घरतिर लगिसकेपछि मलाई झन् रिस उठेकोले रिसको आवेगमा आई बाँसको लठ्ठीसमेतले हिर्काई दाजुले मुखतिर बक्सिङले हिर्काएपछि निज बेहोस भई भुइँमा लडिन् । अनि मैले हाल बरामद भई आएको साडीको पासोले घाँटीमा कसेपछि निज बोल्न चटपटाउन छाडिन्‌ । निजको कान मुखबाट रगत निस्किरहेको थियो । त्यसपछि म र विजय मण्डल भई निज सुनितादेवीको लास कदमको रूखमा लगी झुन्ड्याई घर आई सुतेका हौं । निज सुनितादेवी मण्डललाई म र विजय कुमार दुई जना मिली कर्तव्य गरी मारेका हौं । अन्य भरतलाल मण्डल र रामवती देवी मण्डलको उक्त वारदातमा कुनै संलग्नता छैन भन्‍ने मिति २०६८।१२।९ को प्रतिवादी रमेश मण्डल गनगाईको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान ।

मेरी छोरी वर्ष २० की सुनिता देवी मण्डललाई प्रतिवादी रमेश मण्डल गनगाईले प्रेम सम्बन्ध राखी २०६४ सालमा प्रेम विवाह गरेको हो । निजको विवाहपश्चात् दाइजोको विषयमा रमेश मण्डल, निजको दाजु विजय मण्डल, बुबा भरतलाल मण्डल र आमा रामवतीदेवी मण्डलसमेत भई छोरीलाई कुटपिट गर्दै आएको र हामीले निजहरूलाई दाइजोबापत रू. ५१,०००।- पनि दिएका थियौं । यस्तैमा २०६८।११।२० को राति दाइजोको विषयलाई लिएर निज रमेश मण्डललगायतका मानिसहरू भई मेरो छोरी सुनितादेवी मण्डललाई कुटपिट गरी मारी साडीको पासोले घाँटीमा कसी लगी कदमको रूखमा झुन्ड्याई दिएको हुँदा निजहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍ने मिति २०६८।१२।९ को रेखादेवी मण्डलको घटना विवरण कागज ।

मिति २०६८।११।२० गते रातिको समयमा सुनितादेवी मण्डललाई प्रतिवादी रमेश मण्डल, विजय मण्डल, रामवती देवी मण्डल र भरतलाल मण्डलसमेत भई साडीको पासोले घाँटीमा कसी कदमको रूखमा लगी झुन्ड्याई दिएको हुँदा निजहरूलाई कानूनबमोजिम कारबाही होस् भन्‍ने राजानन्द मण्डलको मिति २०६८।१२।९ को घटना विवरण कागज । 

मिति २०६८।११।२० को राति म आफ्नै घरमा थिएँ । भोलिपल्ट बिहान अं. ६ बजे मैले जाहेरवालाको छोरी सुनितादेवी मण्डललाई मारेर झुन्ड्याएको छ भनी सुनी गई हेर्दा निजको मृत्यु भएको अवस्थामा देखेको र निजको नाक मुखबाट रगत बगिरहेको देखी निजलाई कसले मारेको रहेछ भनी बुझ्दै जाने क्रममा निज मृतक र रमेश मण्डलबिच प्रेमविवाह भएको र पछि दाइजोको विषयमा पटकपटक रमेश मण्डल, विजय मण्डल, भरतलाल मण्डल र रामवतीदेवी मण्डलसमेत भई शारीरिक तथा मानसिक यातना दिई कुटपिट गर्दै आएको र उक्त मिति समयमा पनि निजहरू सबैजना मिली सुनितादेवी मण्डललाई कुटपिट गरी कर्तव्य गरी मारी कदमको रूखमा झुन्ड्याई दिएको हुँदा निजहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍ने जयनाथ मण्डलको मिति २०६८।१२।९ को घटना विवरण कागज ।

मिति २०६८।११।२० गते रातिको समयमा मृतक सुनितादेवी मण्डल गनगाईलाई प्रतिवादी रमेश मण्डलसमेत भई दाइजोको विषयलाई लिएर कुटपिट गरी कर्तव्य गरी मारी मृतकको लासलाई घरबाट १ कि.मि. उत्तरमा पर्ने कदमको रूखमा साडीको पासो घाँटीमा लगाई झुन्ड्याई दिएको हुँदा निज प्रतिवादीहरूलाई कर्तव्य ज्यान मुद्दामा कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍ने मन्‍नन अन्सारी, पन्‍नालाल मण्डल र समसुल अन्सारीको एकै मिलानको मिति २०६८।१२।९ को घटना विवरण कागज ।

मिति २०६८।११।२० को राति मृतक वर्ष २० की सुनितादेवी मण्डललाई प्रतिवादी रमेश मण्डलसमेतका व्यक्तिहरूले पहिलेदेखि नै दाइजोको विषयमा निहुँ खोजी सुनितादेवी मण्डललाई पटकपटक कुटपिट गरी शारीरिक यातना दिई आइरहेकोमा उक्त वारदात मितिको साँझ अं. १९.०० बजे पनि रमेश मण्डलले सुनितादेवी मण्डललाई कुटपिट गरेको र राति घरका सबै परिवारहरू मिली निज सुनितादेवी मण्डललाई कुटपिट गरी कर्तव्य गरी मारी साडीको पासोले घाँटीमा कसी कदमको रूखमा लगी झुन्ड्याई दिएको हुँदा निजहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍ने मिति २०६८।१२।१४ को वस्तुस्थिति मुचुल्का । 

यसमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट अनुसन्धान भई रायसाथ प्राप्त हुन आएको जाहेरी दर्खास्त, घटनास्थल तथा लास जाँच मुचुल्का, बरामदी मुचुल्का, मृतकको पोष्टमार्टम रिपोर्ट, प्रतिवादीहरूको बयान, बुझिएका मानिसहरूको कागज, वस्तुस्थिति मुचुल्काका मानिसहरूले लेखाएको बेहोरासमेतका आधार प्रमाणहरूबाट मिति २०६८।११।२० को राति सुनितादेवी मण्डललाई कर्तव्य गरी मारेकोमा निजको लास नोचा-४ स्थित कदमको रूखमा झुन्डिएको अवस्थामा भेटिएको भन्‍ने वारदात पुष्टि भएकाले विरूद्ध खण्डमा उल्लिखित प्रतिवादीहरू रमेश मण्डल, भरतलाल मण्डल, रामवती देवी मण्डल र विजय मण्डलसमेत भई निज सुनितादेवी मण्डललाई कर्तव्य गरी कदमको रूखमा झुन्ड्याई मारी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं.बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निज प्रतिवादीहरूलाई सोही १३(३) नं.बमोजिम सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको मिति २०६८।१२।१९ को अभियोगपत्र । 

हाम्रो घर सडक वारिपारि पर्छ । छोरा रमेश मलेसिया गएपछि बुहारी माइतमा बस्थिन् । छोरा घर आएकोमा बुहारीको घर भित्रिने साइत नजुरेकोले घर आउन बाँकी नै हुँदा मिति २०६८।११।२० मा छोराहरू विजय र रमेश एवं हामी दुईजना दिनभर उखु काटी साँझ घर आयौँ । रातिको खाना खाएपछि सबैजना आफ्नै घरमा सुत्यौं । बुहारी माइतीमा नै थिइन् । भोलिपल्ट बिहान गाईवस्तु चराउने मानिसले एकजना आईमाई गाछीमा झुन्डिएको छ भनी हेर्न जाँदा बुहारी सुनिता पासो लागी झुन्डिएको देखी म रून थालेँ । उसको बाबु आएन । पछि झुट्टा जाहेरी दिएर हामीलाई समात्‍न लगायो । तर उक्त घटनाका सम्बन्धमा हामीले आँखाले नदेखेको हुँदा केही भन्‍न सक्दिन । जाहेरी झुट्टा हो । म निर्दोष हुँदा सजाय नपाउनु पर्ने हो भन्‍ने प्रतिवादी रामवतीदेवी मण्डलको मिति २०६८।१२।२० मा अदालतमा भएको बयान ।

जाहेरवालाको छोरी सुनिता र मेरो छोरा रमेशबिच प्रेम भएपछि जाहेरवालाले निकै विवाद गरी छुटाउन खोजेकोमा बाबु आमाले बिहे गर्न नदिएको कारण विष सेवन गरेकी र पछि गाउँ समाजले मेरो छोरासँग बिहे गराइदिने निर्णय गरी २०६४ सालमा विवाह भएको हो । हाम्रो घरमा रहुन्जेल बुहारीलाई एक थप्पड कसैले नहानेको र दहेजको विषयमा कहिल्यै वादविवाद नभएको हो । छोरा विदेश गएपछि बुहारी माइतीमा नै बस्थिन् । पछि छोरा आएपछि बुहारी घर आउने साइत नजुरेकोले आउन बाँकी थियो । मेरा सम्धी सम्धिनी अझै पनि मेरो घरमा पठाउन तयार थिएनन् । मिति २०६८।११।२० गते छोराहरू, म र मेरो पत्‍नी दिनभरी उखु काटी साँझ घर आएको हो । पछि छोरा एकछिन डुल्न गई घर आई खाना खाई आफ्नै घरमा सुतेको हो । भोलिपल्ट बिहान म गाई चराउन जाँदा एकैचोटी गाउँलेले हल्ला गरेपछि मात्र घटनास्थलतर्फ गई हेर्दा बुहारी झुन्डिरहेको अवस्थामा देखेको हुँ । के कारणले उनले यस्तो गरिन्, थाहा पाइन । हामी कसैले पनि बुहारीलाई कुटपिट गरी मारी झुन्ड्याएको 

होइन । मैले जाहेरीबमोजिमको कुनै कसुर नगरेकाले जाहेरी झुट्टा हो । मैले कुनै कसुर नगरेकोले सजाय पाउनुपर्ने होइन भन्‍ने प्रतिवादी भरतलाल मण्डलको मिति २०६८।१२।२० को अदालतमा भएको बयान । 

मेरो ससुराली घर र मेरो घर एकै गाउँको एउटै रोड वारिपारि रहेको र जाहेरवालाको छोरी सुनितासँग मेरो प्रेम सम्बन्ध भई २०६४ सालमा विवाह भएको हो । सोपश्चात् मलाई ससुरालीले रू. ५१,०००।- दहेज दिएको पनि हो । त्यसपछि कहिल्यै केही मागेको छैन । त्यसपछि म विदेश मलेसिया कमाउन गई चार महिना अगाडि मात्र घर आएको हुँ । पत्‍नीलाई विधि गरेर दोस्रोपल्ट घर भित्र्याउन बाँकी नै रहेकोले उनी माइतीमै बस्दै आएकी थिइन् । हामी कसैले उनलाई हेला गरेका थिएनौँ । उनी र मबिच माया प्रेम राम्रो 

थियो । बाबु आमाले पनि बुहारी मन पराएकै थिए । त्यसै क्रममा मिति २०६८।११।२० गते साँझ म सोराभाग गा.वि.स. मा गई एकजना मानिस ससुराली पक्षकै सायद लराई भन्‍नेसँग फोनमा गफ गरी घर फर्कंदा पहिला ससुराली घर पर्दथ्यो । त्यहाँनेर आउनासाथ सासुले साँझको खाना यहीँ खानु भनी जिद्दी गर्नुभएको र मैले कति खानु लाज लागिसक्यो भन्दासमेत दुईजनाले धेरै जिद्दी गरेको देखी यी मेरा ससुरा श्यामप्रसाद अचानक आवेसमा आई नखानेलाई किन कर गरेको भनी बाँसको भाटाले मेरो खुट्टा र ढाडमा हानी तिमी गइहाल भने । धेरै कुट्न थालेकोले हेर्न नसकी म आफ्नो घर आइहालेँ । उनले मेरो सर्टसमेत 

च्यातिदिए । त्यसपछि भोलिपल्ट बिहान मेरो घरबाट करिब १ कि.मि. टाढा घटनास्थलमा रूखमा एकजना स्वास्नी मान्छे झुन्डिएको छ रे भनी बुबाले गोरू फुकाउँदा थाहा पाई मलाई भनेकाले मसमेत त्यहाँ गई हेर्दा मेरी पत्‍नी साडीको पासो लगाई झुन्डिएको देखेपछि म बेहोस भइहालेँ । त्यसपछि केही थाहा 

पाइन । अनाहकमा प्रहरीले समाती चौकी ल्यायो । म र मेरो परिवार कसैले उनलाई कुटपिट गरी मारेको होइन । पत्‍नी माइतीमा भएको समयमा माइतीमा के के भयो र किन त्यस्तो घटना घट्‌यो, मलाई थाहा 

भएन । साँझ ससुराले कुट्न थालेकोले मैले डरले छुट्याउन जान नसकी घरमै सुती रात काटेँ । उल्टै घटनामा मेरो संलग्नता देखाई जाहेरी दिएछन् । मैले पत्‍नीलाई कर्तव्य गरी मारेको नहुँदा जाहेरी झुट्टा हो । मैले कसुर नै नगरेकोले सजाय पाउने होइन भन्‍ने प्रतिवादी रमेश मण्डल गनगाईको मिति २०६८।१२।२० को अदालतमा भएको बयान ।

यी जाहेरवालाको छोरी र मेरो भाइ रमेशबिच २०६४ सालमा विवाह भएको हो । भाइ विदेश गएपछि बुहारी माइतीमा नै बस्थिन् । भाइ आएपछि बुहारी घर आउने साइत नमिलेकोले माइतीमा नै रहेकी र मिति २०६८।११।२० का दिन निज हाम्रो घरमा पनि आएकी छैनन् । हामीले निजलाई राति घरमा नबोलाएको, उक्त दिन दिनभरी हामी परिवारका सदस्यले खेतमा उखु काटी बेलुका घर आई खाना खाई आ-आफ्ना कोठामा सुतेको र भोलिपल्ट बिहान गाउँमा हल्लाखल्ला भई पर रूखमा मानिस झुन्डिएको छ भनेकाले हेर्न जाँदा मेरो भाइबुहारी सुनिता साडीको पासो लगाएर झुन्डिएकी रहिछन् । निजले किन माइती घरमा रहँदा आत्महत्या गरिन् । सो मलाई थाहा भएन । मसमेत भई जाहेरीबमोजिमको कसुर नगरेकाले झुट्टा जाहेरीबाट सफाइ पाउँ भन्‍ने प्रतिवादी विजय मण्डलको मिति २०६८।१२।२९ को अदालतमा भएको बयान ।

यसमा प्रतिवादी रामवती, विजय र रमेश मण्डलसमेतको साक्षी भोला मण्डल, प्रतिवादी भरतलाल मण्डलको साक्षी श्याम मण्डल, प्रतिवादी रमेश मण्डलको साक्षी ठकनु मण्डल, शव परीक्षण प्रतिवेदन तयार गर्ने डा. विनोदप्रसाद जोशी, अनुसन्धानको क्रममा कागज गर्ने मन्‍नान अन्सारी, जाहेरवाला श्यामप्रसाद मण्डल, घटना विवरण कागज गर्ने रेखादेवी मण्डल र वस्तुस्थिति मुचुल्काका रन्जुकुमारी मण्डलले अदालतमा गरेको बकपत्र मिसिल सामेल रहेको ।

मृतकको शरीरको अन्यत्र भागमा कुनै प्रकारको चोटपटक भएको भन्‍ने लास जाँच प्रकृति मुचुल्का र शव परीक्षण प्रतिवेदनसमेतबाट नदेखिएको, नाकको दुवै प्वालबाट रगत निस्की मुखतर्फ बगेकोलाई strangulation भन्‍न नसकिने तथा प्रतिवादीहरूले कुटपिट गरेको भनिएको ठाउँबाट करिब एक किलोमिटर दूरीमा मृतक झुन्डिएको ठाउँ भएकोसमेतबाट अनुमानबाहेकका अन्य ठोस सबुद प्रमाणबाट प्रतिवादीहरूले कुटपिट गरी मृतकलाई मारेको भन्‍ने पुष्टि नभइरहेको आधारबाट प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्ने मोरङ जिल्ला अदालतको मिति २०६९।१२।१२ को फैसला ।

घटनास्थल प्रकृति मुचुल्का, लास जाँच प्रकृति मुचुल्का, प्रतिवादीहरूउपर किटानी जाहेरी, वस्तुस्थिति मुचुल्का तथा शव परीक्षण प्रतिवेदनसमेतबाट कर्तव्यबाटै मृतकको मृत्यु भएको भन्‍ने स्पष्ट भइरहेकोमा परिस्थितिजन्य प्रमाणको यथोचित मूल्याङ्कन नगरी कर्तव्य गरी मारेको भन्‍ने चश्मदिद नभएको र मृतकको घाँटीबाहेक अन्य भागमा चोटपटक लागेको नदेखिएकोसमेतका आधारमा प्रतिवादीहरूलाई अभियोग दाबीबाट सफाइ दिने ठहर गरेको सुरूको फैसला उल्टी गरी अभियोग दाबीबमोजिम हदैसम्म सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत विराटनगरमा मिति २०६९।१।२७ मा दायर भएको पुनरावेदन ।

यसमा प्रतिवादी रमेश मण्डल गनगाईले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान र घटनास्थल मुचुल्कासमेतको प्रमाण मूल्याङ्कनको सन्दर्भमा सुरूको फैसला फरक पर्नसक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलका लागि प्रत्यर्थीहरूलाई झिकाई नियमबमोजिम पेस गर्नु भन्‍ने पुनरावेदन अदालत विराटनगरको मिति २०७०।५।७ को आदेश ।

यसमा अभियोग दाबीबमोजिम मृतक सुनितादेवी मण्डललाई प्रतिवादीहरू रमेश मण्डल गनगाई र विजय मण्डलले कर्तव्य गरी मारेको प्रमाणबाट पुष्टि भएको देखिँदा सबै प्रतिवादीहरूलाई सफाइ दिई गरेको मोरङ जिल्ला अदालतको मिति २०६९।१२।१२ को फैसला केही मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादीमध्येका रमेश मण्डल गनगाई र विजयकुमार भन्‍ने विजय मण्डललाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्छ भन्‍ने तत्कालीन पुनरावेदन अदालत विराटनगरको मिति २०७०।११।२८ को फैसला । 

यसमा हामी प्रतिवादीहरूसमेतले अभियोग दाबीबाट सफाइ पाउने पर्याप्त आधारहरू हुँदाहुँदै सुरूले सबै प्रतिवादीहरूलाई सफाइ दिएको न्यायोचित फैसला केही उल्टी गरी हामी प्रतिवादीहरू रमेश मण्डल गनगाई र विजय मण्डल गनगाईलाई आरोपित कसुर गरेको ठहर गरी सजाय गरेको पुनरावेदन अदालत विराटनगरको फैसला त्रुटिपूर्ण छ । प्रस्तुत वारदातमा मृतक सुनिताले झुन्डिएर आत्महत्या गरेको हुनुपर्छ । निज मृतक सुनितासँग म प्रतिवादी रमेशको प्रेम सम्बन्ध रहेको थाहा पाई यी जाहेरवालाले मृतक सुनितासँग मेरो विवाह हुन नदिएका कारण निज सुनिताले पहिले पनि विष सेवन गरेकोले कोशी अञ्चल अस्पतालमा उपचार गरेपछि गाउँ समाजले जाहेरवालीको छोरी सुनितासँग २०६४ सालमा मेरो विवाह गरिदिएका हुन् । हाम्रो विवाहपछि जाहेरवालाले विवाद गरी हामीलाई छुटाउन भरमग्दुर प्रयास गर्दा पनि नसकेका हुन् । मैले सुनितालाई मन नपराई विवाह गरेको तथा दाइजो मागेको भन्‍ने कुरा जाहेरवालाले कहिँकतै उल्लेख गरेका छैनन् । जाहेरवालाको भनाइबमोजिम सुनितालाई कुटपिट गरेको अवस्था छैन । प्रेम विवाहमा दाइजोको प्रश्‍नै हुँदैन । हाम्रो प्रेम मागी विवाहमा परिवर्तन भई माइती पक्षले आफूखुसी दाइजो दिएका र हामीले दाइजोको दबाब दिएको भए सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ अनुसार जाहेरवालाले कहिँकतै उजुर गरेको अवस्था पनि छैन । यस्तो अवस्थामा मृतक सुनिताको मानसिक स्थितिको विश्लेषण नगरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भई बदरभागी छ । यसरी सुनिता झुन्डिई मरेको तथ्यमा विवाद छैन र कसको कर्तव्यले घटना भएको हो भन्‍ने कुराको वस्तुनिष्ठ प्रमाण वादीले पेस गर्न सकेका 

छैनन् । वारदात भएको तथ्य स्थापित हुनु र कसुर प्रमाणित हुनु अलग विषय हो । अनुसन्धानको क्रममा भएको मेरो साबितीलाई अन्य स्वतन्त्र प्रमाणबाट समर्थन नगरेको अवस्थामा ज्यानजस्तो गम्भीर फौजदारी अपराधमा शंकाको भरमा मात्र मलाई कसुरदार ठहराएको पुनरावेदन अदालत विराटनगरको फैसला उल्टी गरी सुरू फैसला सदर गरी हामीहरूसमेतलाई अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्‍ने प्रतिवादीहरू रमेश मण्डल गनगाई र विजयकुमार भन्‍ने विजय मण्डल गनगाईले यस अदालतमा मिति २०७१।४।१९ मा दायर गरेको पुनरावेदन ।

यसमा चारैजना प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम कसुर कायम गरी सजाय हुनुपर्ने पर्याप्त आधारहरू हुँदाहुँदै सबै प्रतिवादीहरूलाई सफाइ दिएको सुरू फैसला उल्टी हुनुपर्नेमा केही उल्टी गरी प्रतिवादीहरू रमेश मण्डल गनगाई र विजय मण्डल गनगाईलाई मात्र आरोपित कसुर गरेको ठहर गरी सजाय गरेको र प्रतिवादीहरू भरतलाल मण्डल र रामवती देवी मण्डललाई सफाइ दिएको पुनरावेदन अदालत विराटनगरको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी सबै प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम कसुर कायम गरी सजाय हुनुपर्दछ । मृतकका ससुरा भरत मण्डल र सासू रामवती देवी मण्डललाई छोरा रमेशले बुहारी सुनितासँग प्रेमविवाह गरेको पहिलेदेखि नै मन नपरेको र दाइजोको विषयमा विवाद रहेकोले मृतक सुनिता पति विदेश हुँदा घर नबसी माइतीमा बस्दै आएको 

हो । प्रतिवादीहरूमध्येका रमेश मण्डल गनगाई र विजय मण्डलउपर दाबीबमोजिम कसुर ठहर भएको छ । मृतक र प्रतिवादीहरूबिच संघर्ष हुँदा मृतकको फुटेको चुराका टुक्रा बरामद भएका छन् भने घरसँगै रहेको ग्वाली घरको खम्बामा रगत लागेकोसमेत भेटिएको अवस्था छ । एकै घरमा रहेका प्रतिवादी भरतलाल र रामवतीको वारदातमा उपस्थिति स्वाभाविक रूपमा भएको कुरा बेवास्ता गरी यी प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको फैसलामा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. तथा प्रमाण ऐन, २०३१ को दफा ५४ को विपरीत छ । एकाघरमा बसेका छोराहरूले मृतक बुहारीलाई कुटपिट गरी कर्तव्य गरी मारेर एक कि.मि. टाढा पुर्‍याई कदमको रूखमा लास झुन्ड्याउने कार्य गर्दा यी प्रतिवादीहरू भरतलाल र रामवती देवीलाई जानकारी भएन भन्‍ने कुरा पत्यारलायक नभएबाट मिसिल संलग्न प्रमाणको उचित मूल्याङ्कन नगरी प्रतिवादीहरूलाई सफाइ दिएको हदसम्म पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्म उक्त फैसला बदर गरी प्रत्यर्थी प्रतिवादीहरूलाई समेत अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा मिति २०७१।७।१० मा दायर भएको पुनरावेदन ।

यसमा प्रतिवादीहरू रमेश मण्डल गनगाई र विजयकुमार भन्ने विजय मण्डल गनगाईमध्ये ज्यानमारा को हो भन्ने ठहर नगरी दुवै पुनरावेदक प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्‍याई पुनरावेदन अदालत विराटनगरबाट मिति २०७०।११।२८ मा भएको फैसलामा सोही नं. को त्रुटि भई फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं.बमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई पुनरावेदनसहितको जानकारी दिई नेपाल सरकारको पुनरावेदनमा प्रत्यर्थी बनाइएका प्रतिवादीहरूलाई झिकाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७३।३।३० को आदेश ।

मृतकको शरीरमा परेको घा चोटतर्फ हेर्दा घाँटीमा बाहेक अन्य कुनैपनि किसिमको चोटपटक रहेको लास जाँच प्रकृति मुचुल्का र शव परीक्षण प्रतिवेदनबाट देखिँदैन । वारदात भएको भनिएको ठाउँ र मृतक झुन्डिएको ठाउँको दूरी करिब एक कि.मि. रहेकोले प्रतिवादीहरूले कर्तव्य गरी यति लामो दूरीसम्म लगी झुन्डाएको भनी तर्कपूर्ण रूपमा अनुमान गर्न पनि सकिँदैन । प्रतिवादीहरूमध्येका भरतलाल मण्डल र रामवतीदेवी मण्डल अधिकारप्राप्त अधिकारीसमक्ष कसुरमा इन्कार छन् । रमेश मण्डल र विजय मण्डलसमेत अदालतमा इन्कार भई बयान गरेका र सो इन्कारीलाई प्रतिवादीका साक्षीहरूले समर्थन हुने गरी बकपत्र गरेको देखिँदा अभियोग दाबीबमोजिमको कसुर प्रतिवादीहरूले गरेको प्रमाणित हुन नसकेको हुँदा सबै प्रतिवादीहरूले आरोपित कसुरबाट सफाइ पाउने देखिन आयो ।

अतः सबै प्रतिवादीहरूले सफाइ पाउने ठहराएको सुरू मोरङ जिल्ला अदालतको मिति २०६९।१२।१२ को फैसला केही उल्टी गरी प्रतिवादीहरू रमेश मण्डल गनगाई र विजय मण्डल गनगाईलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुने र प्रतिवादीहरू भरतलाल मण्डल गनगाई र रामवतीदेवी मण्डललाई सफाइ दिने ठहराएको पुनरावेदन अदालत विराटनगरको मिति २०७०।११।२८ को फैसला केही उल्टी भई सबै प्रतिवादीहरूले सुरू फैसलाबमोजिम सफाइ पाउने ठहर्छ । पुनरावेदन अदालत विराटनगरको मिति २०७०।११।२८ को फैसला सदर गर्ने माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडाको रायसँग मेरो राय फरक परेकोले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम प्रस्तुत मुद्दा पूर्ण इजलाससमक्ष पेस गर्नु भन्ने बेहोराको सम्माननीय प्रधानन्यायाधीश गोपाल पराजुलीको मिति २०७४।५।२५ को फैसलामा व्यक्त भएको राय ।

अभियोग दाबीबमोजिम मृतक सुनितादेवी मण्डललाई प्रतिवादीहरू रमेश मण्डल गनगाई र विजय मण्डलले कर्तव्य गरी मारेको देखिँदा निज प्रतिवादीहरूमध्येका रमेश मण्डल गनगाई र विजय कुमार भन्‍ने विजय मण्डल गनगाईलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहराएको पुनरावेदन अदालत विराटनगरको मिति २०७०।११।२८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादी रमेश मण्डल र विजय मण्डल गनगाईउपरको अभियोग दाबी प्रमाणित भएको देखिँदा पुनरावेदन अदालत विराटनगरको मिति २०७०।११।२८ को फैसला केही उल्टी गरी निज दुईजना प्रतिवादीहरूलाई सफाइ दिने ठहर गरेको हदसम्म सम्माननीय प्रधानन्यायाधीश श्री गोपाल पराजुलीको रायसँग मेरो सहमति नभएकोले फरक राय व्यक्त गरेको छु । प्रतिवादीहरू भरतलाल मण्डल गनगाई र रामवती देवी मण्डल गनगाईलाई सफाइ दिने गरी व्यक्त भएको रायको हदसम्म मेरो पनि सहमति भएकाले सोतर्फ थप विवेचना गरिरहन परेन । रायमा मतैक्य नभएको कुरामा सुनुवाइका लागि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम प्रस्तुत मुद्दा पूर्ण इजलाससमक्ष पेस गर्नु भन्ने बेहोराको माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडाको मिति २०७४।५।२५ को फैसलामा व्यक्त भएको राय । 

ठहर खण्ड

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री महेशप्रसाद खत्रीले माइतीमा बसी रहेकी मृतकलाई लोग्नेले वारदातको दिन घरमा बोलाएको र दाइजोको विषयमा कुटपिट भई वारदात भएको देखिएको छ । वारदात घटाएको कुरामा प्रतिवादीहरू मौकामा साबित भइरहेको अवस्था छ, प्रतिवादीहरूको बयान कागजबाट घटनाको सिलसिला मिली रहेको देखिन्छ । शव परीक्षण प्रतिवेदन चारजना चिकित्सकले तयार गरेका हुन् । विवादास्पद अवस्थामा मात्र चारजना चिकित्सकले शव परीक्षण गर्ने गर्दछन् । शव परीक्षण रिपोर्टमा cause of death मा hanging भनेको छैन । strangulation को अवस्था मृतकको लासमा देखिई रहेको छ, strangulation मा मृतकको नाकमुखबाट रगत आउँछ । यस वारदातमा पनि मृतकको नाकमुखबाट रगत आएको 

देखिन्छ । जबकि hanging मा नाकमुखबाट रगत आउँदैन । घटनास्थल तथा बरामदी मुचुल्काबाट प्रतिवादीको घरको भुइँ कोठामा मृतकको चुराको टुक्राहरू फुटेको अवस्थामा देखिएको, गाईवस्तु बाँध्ने गरेको ग्वाली घरमा प्रतिवादीहरूले मृतकलाई लगी कुटपिट गरेको र मृतकको खुट्टामा गोबर लागेको देखिएको छ भने ग्वाली घरका खम्बाहरूमा रगतको टाटा लागेको र उक्त स्थानमा बाँसको लाठीसमेत फेला परेको अवस्था छ, झुन्डिएको भनिएको रूखमा मृतक आफैँ चढ्न सक्ने अवस्था नरहेकोले आत्महत्या पुष्टि नहुने देखिएको छ । मृतक र प्रतिवादीबिच २०६४ सालमा प्रेम विवाह भएको, प्रतिवादीले ससुराली पक्षबाट रू. ५१,०००।– दाइजो दिएको ठिक हो भनी बयान गरेको, थप दाइजोको विषयलाई लिएर मृतक र प्रतिवादीबिच पटकपटक झगडा हुने गरेको र सोही कारणबाट वारदात घटाई कर्तव्य गरी मारेका हुन् भनी मृतकका बाबु र आमाले बकपत्र गरिदिएको देखिँदा प्रतिवादीहरू रमेश मण्डल गनगाई र विजयकुमार भन्ने विजय मण्डल गनगाईलाई सर्वश्वसहित जन्मकैद हुने गरी भएको पुनरावेदन अदालत विराटनगरको फैसला सदर हुने गरी यस अदालतको संयुक्त इजलासको फैसलामा माननीय न्यायाधीश ईश्वरप्रसाद खतिवडाबाट व्यक्त भएको राय सदर कायम हुनुपर्दछ भनी बहस गर्नुभयो । 

प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री प्रविण सुवेदी, विद्वान्‌ अधिवक्ता श्री विकास थापा र विद्वान्‌ अधिवक्ता श्री सुभाष पाठकले मृतकको शव परीक्षण प्रतिवेदनमा hanging भन्ने नलेखिएको, प्रेम विवाह नभएको कारण मृतकले अगाडि पनि विष सेवन गरेको हुँदा घरायसी झगडाको कारण यस पटक आत्महत्या नै गरेको हुन सक्ने अवस्था छ । वारदातको चश्मदिद गवाह कोही पनि छैन । गोठमा देखिएको रगतको टाटो मृतककै हो वा गाईवस्तुको हो भनी प्रस्ट नभएकोले उक्त रगतको जाँच गर्नुपर्नेमा सो पनि गरिएको छैन । मृतकको लासको मलद्वारबाट दिसा निस्केको कारणले पनि यो हत्या नभई आत्महत्या भएकोले सुरू मोरङ जिल्ला अदालतको फैसलाबमोजिम सबै प्रतिवादीहरूले सफाइ पाउने ठहराई यस अदालतको संयुक्त इजलासको फैसलामा व्यक्त भएको सम्माननीय प्रधानन्यायाधीश श्री गोपाल पराजुलीको राय सदर कायम हुनुपर्दछ भनी बहस गर्नुभयो ।

उपर्युक्तबमोजिमको बहस सुनी संयुक्त इजलासको फैसलामा अलग अलग व्यक्त भएको रायमध्ये कुन चाहिँ राय सदर हुने हो भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, यसमा सुनितादेवी मण्डललाई मिति २०६८।११।२० को राति कर्तव्य गरी मारेकोमा निजको लास घर नजिकैको कदमको रूखमा झुन्डिएको अवस्थामा भेटिएको भन्ने वारदात पुष्टि भएकोले विरूद्ध खण्डमा उल्लिखित प्रतिवादीहरू रमेश मण्डल, भरतलाल मण्डल, रामवती देवी मण्डल र विजय मण्डलसमेत भई निज सुनितादेवी मण्डललाई कर्तव्य गरी मारी कदमको रूखमा झुन्ड्याई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निज प्रतिवादीहरूलाई सोही महलको १३(३) नं.बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग माग दाबी रहेको 

देखियो ।

३. जाहेरवालाकी छोरी सुनितादेवी मण्डलको पति प्रतिवादी रमेश मण्डलले एक पटक दाइजोबापत रकम पाइसकेपछि पनि मोटरसाइकल र टिभी थप दाइजो नदिएको निहुँमा दैनिकजस्तो शारीरिक तथा मानसिक यातना दिँदै आएकोमा वारदातको दिन छोरी सुनितालाई ज्वाइँ रमेश मण्डलले माइतीबाट आफ्नो घरमा लगी निज रमेश तथा अन्य प्रतिवादी भरतलाल मण्डल, रामवती देवी मण्डल र विजय मण्डलसमेतले हरियो बाँसको लाठीसमेतले ग्वाली घरमा लगी कुटपिट गरी कर्तव्य गरी मारी नजिकैको कदमको रूखमा लगी झुन्ड्याएकाले प्रतिवादीहरूलाई कानूनबमोजिम हदैसम्म सजाय गरिपाउँ भनी किटानी जाहेरी दिएको देखियो । 

४. मिसिल संलग्न मिति २०६८।११।२१ को घटनास्थल तथा लासजाँच प्रकृति मुचुल्का हेर्दा मृतकको नाकको दुवै प्वालबाट रगत निस्की मुखतर्फ बगेको, मृतकको दुवै हातको नङमा माटो लागेको, बायाँ खुट्टाको गोली गाँठोनिर खोस्रिएको र दुवै खुट्टामा माटो गोबर लागेको, घाँटीको वरिपरि साडीको पासोको डामको बायाँ साइडको चिउँडो मुनिपट्टि गएको र घाँटी अगाडि मसिनो डोरी कस्सिएको डाम रहेको भन्नेसमेत उल्लेख भएको देखिन्छ भने मृतकको शव परीक्षण चार चारजना चिकित्सकबाट गरिएको देखिएबाट पनि मृतकको मृत्यु असामान्य तरिकाले भएको तथ्यलाई पुष्टि गर्दछ ।  मृतकलाई कुटपिट गरेको भनिएको घटनास्थलको प्रकृति हेर्दा ग्वाली घरको खम्बाहरूमा रगतको सुकेको टाटाहरू रहेको देखिएको, गाईवस्तुको गोबरमा मानिस लछार पछार गरेको चिह्न देखिएको र उक्त स्थानमा हरियो बाँसको लठ्ठीसमेत फेला परेको भन्ने बेहोराको घटनास्थल प्रकृति मुचुल्कामा उल्लेख भएको देखिन्छ । 

५. प्रतिवादी रमेश मण्डलका ससुरा जाहेरवालाले आफ्नो जाहेरीमा घटना भएको दिन साँझ ७:०० बजे ज्वाइँ रमेश मेरो घरमा आएर वादविवाद गर्नुका साथै छोरी सुनितालाई हातपातसमेत गरे, निज ज्वाइँले म तिमीहरूको घरमा खाना खान्न भन्दै छोरीलाई धक्का दिँदै निस्केका थिए र हामी पनि खानपिन गरी छोरी आफ्नो कोठामा र हामी श्रीमान् श्रीमती एउटा कोठामा सुत्यौं भनी उल्लेख गरेको देखिएको र घटना विवरण कागज गर्ने सासू रेखादेवी मण्डलले उक्त दिन साँझमा रमेश मण्डल आई आफ्नी श्रीमती सुनितादेवी मण्डलसँग झै-झगडा कुटपिट गरेका र तँलाई हाम्रो घर परिवार मिली मारी दिन्छौं भनी गाली गरेको मैले सुनेकी र निज रमेश मण्डललाई खाना खाएर जानुभन्दासमेत नखाई आफ्नो घरतिर जानु भएको थियो । त्यसपछि म एउटा कोठामा 

सुतेँ । निज छोरी अर्को कोठामा सुतिन् भनी लेखाएको देखिएबाट मृतकलाई प्रतिवादी रमेश मण्डलसमेतले कर्तव्य गरी मारेको तथ्यलाई थप पुष्टि गरेको देखियो । 

६. घटना विवरण कागज गर्ने मानिसहरूले तथा वस्तुस्थिति मुचुल्काका मानिसहरूले समेत यी प्रतिवादीहरूको संलग्नतामा ज्यान मारिएको कुरा व्यक्त गरेको देखियो । प्रतिवादी रमेश मण्डल अदालतमा बयान गर्दा आरोपित कसुरमा इन्कार रहे पनि मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा आरोपित कसुर गरेको कुरामा साबित भई बयान गरेको देखिएको, निजले बयान गर्दा घटनाक्रमको श्रृङ्खला सिलसिलेवार र क्रमबद्ध रूपमा उल्लेख गरेको र सहअभियुक्त विजय मण्डलसमेतउपर पोल गरेको देखिएसमेतबाट प्रतिवादी रमेश मण्डलले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको उक्त बयान प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रमाणका रूपमा ग्राह्य हुने नै देखियो ।

७. मृतकको मृत्यु आफैँ झुन्डिएर (hanging) भएको हो वा निजलाई प्रतिवादीहरूले घाँटी कसेर मारी सके (strangulation) पछि लगेर रूखमा झुन्ड्याएको हो भन्ने सन्दर्भमा विवेचना गर्दा Modi को Medical Jurisprudence and Toxicology 25th Edition मा hanging को सम्बन्धमा यसप्रकार उल्लेख छः  “Hanging can be defined as the ligature compression of the neck by the weight of one’s own body due to suspension. Hanging is mostly suicidal.” सामान्यतया hanging आत्महत्या हुन्छन् तर सम्बन्धित मिसिलमा संलग्न प्रमाणको विद्यमानता र प्रचुरताले यस्तो hanging आत्महत्या हो वा हत्या हो छुट्याउनु पर्दछ । मिसिलमा संलग्न भएको कागज प्रमाणहरूको आधारमा प्रस्तुत वारदातलाई hanging हो वा होइन भनी विश्लेषण गर्नुपर्ने देखियो । 

८. Modi को उक्त Medical   Jurisprudence and Toxicology 25th Edition को पृष्ठ ५०१ मा Strangulation को सम्बन्धमा यसप्रकार उल्लेख भएको छः "Strangulation is defined as the compression of the neck by a force other than hanging. Weight of the body has nothing to do with strangulation. Strangulation का प्रकारहरूमा Ligature strangulation, throttling (compressing with forearm or foot or wrist), mugging (compressing with forearm or foot or wrist), Ransdola (wooden stick is used to compress the neck), Garroting (a rope or a loincloth and a wooden stick as a lever to tighten the ligation is used). Accidental strangulation can arise in the course of person’s occupation when a neck tie or scarf is caught in moving machinery or belts as in mill workers or in an epileptic or an intoxicated person may be helpless in extrication himself from such tight encirclement of the neck or in utero when the movements of the foetus cause the umbilical cord to be wound around into neck भन्ने देखिन्छ । Ligature strangulation is a violent form of death, which results from constricting the neck by means of a ligature or by any other means without suspending the body. When constriction is produced by the pressure of the fingers and palms upon the throat, it is called the throttling. When strangulation is brought about by compressing the throat with a foot, knee, bend of elbow, or some other solid substances, it is known as mugging (strangle hold), Garroting is another method where a rope or a loincloth is suddenly thrown over the head and quickly tightened around neck. Due to sudden loss of consciousness, there is no struggle. The assailant is then able to tie the ligature." भनी उल्लेख गरेको देखिन्छ ।

९. माथि उल्लिखित कुराहरूको विश्लेषण गरी हेर्दा hanging र strangulation मा के कस्ता लक्षणहरू हुन्छन् भनी हेर्नुपर्ने र सो लक्षणहरूको आधारमा मृतकको मृत्यु केको कारणले भएको हो भनी निष्कर्षमा पुग्नु पर्ने अवस्था देखियो । शरीरको आफ्नै वजनले आफ्नो घाँटीमा लगाएको पासोको कसाइले गर्दा हुने मृत्युलाई hanging भनिन्छ । झुन्डिएर (hanging) मरेको लासहरूमा थोरै मात्र झुन्डिएको लक्षणहरू देखिने हुन्छन् । बाहिरी जाँचको क्रममा एउटा पासोको डामबाहेक अन्य लक्षणहरू बहुसंख्यक लासहरूमा देखिँदैन । घाँटीभित्रका अंगहरूमा कुनै चोटपटक पनि बहुसंख्यक लासहरूमा देखिँदैन । केवल Spiral Cord भाँचिएको वा खुम्चेको अवस्था मात्र देखिन्छ । झुन्डिएर (hanging) मरेको अवस्थामा लासको घाँटीभित्र रगत जमेको हुँदैन । तर यदि कसैले कुनै पासोले व्यक्तिको घाँटी कसेमा घाँटीभित्रका अंगहरूमा चोटहरू देखिन्छ । त्यसलाई hanging नभनेर ligature strangulation (अरूले घाँटी कसेको) भनी उल्लेख गरिन्छ । सामान्यतया hanging मा नाक तथा कानबाट रगत बगेको 

पाइँदैन । तर strangulation मा घाँटीभित्र रगत जमेको र नाक तथा कानबाट रगत बगेको अवस्था विद्यमान हुन्छ । प्रस्तुत वारदातको लास जाँच प्रकृति मुचुल्का हेर्दा मृतकको नाक तथा कानबाट रगत निस्केको भन्ने देखिएको र शव परीक्षण प्रतिवेदनबाट मृतकको घाँटीमा रगत जमेको भन्ने देखिएबाट मृतकको लासमा hanging को कुनै पनि लक्षण नदेखिएको हुँदा मृतकको मृत्यु hanging को कारणले नभई strangulation कै कारणबाट भएको हो भनी मान्नु पर्ने अवस्था देखियो । 

१०. मृतकको ससुरा भरतलाल मण्डल र सासू रामवतीदेवी मण्डललाई छोराले प्रेमविवाह गरेको पहिलेदेखि नै मन नपरी राखेको देखिएको, दाइजोको विषयमा विवाद रहेकै कारणबाट मृतक सुनिता पति विदेश हुँदासमेत घरमा बस्न नसकी माइती घरमा बस्दै आएको तथ्य पुष्टि भएको देखिएको र वारदातको दिन प्रतिवादीको घरभित्र कोठामा मृतक र प्रतिवादीहरूबिच संघर्ष भएको कुरा मृतकको फुटेको चुराका टुक्रा बरामद भएको देखिएबाट पुष्टि भएको देखियो । मृतकको शव परीक्षण प्रतिवेदनमा cause of death will be ascertained after toxicological and pathological examination of visceral organs भनी लेखिएबाट मृतकको मृत्यु सामान्य कारणबाट नभई विशेष कारणबाट भएको देखिएको, उक्त लास जाँच प्रतिवेदनमा मृतकको मृत्यु झुन्डिएर मरेको हो भनी उल्लेख गरेको पनि नदेखिएको, लासको घाँटी खोली हेर्दा घाँटीमा रगत जमेको र घाँटीको हड्डी भाँचिएको भनी शव परीक्षण गर्ने चिकित्सकमध्ये डा. विनोदकुमार जोशीले अदालतमा आई बकपत्र गरेको देखिएसमेतबाट मृतक सुनितादेवीको मृत्यु झुन्डिएर (hanging) भएको होला भनी मान्नु पर्ने अवस्था पनि देखिएन ।

११. वारदातस्थलमा मानिस लछार पछार भएको चिह्न आकृतिहरू देखिएको, वारदातस्थल भनिएको ग्वाली घरको खम्बामा रगतको सुकेको टाटा देखिएको, मृतकको दुवै खुट्टामा गोबर र माटो लागेको र दुवै हातको नङमा माटो लागेको देखिएको, मृतकको घाँटी अगाडि मसिनो डोरी कसिएको डाम देखिएको भनी लासजाँच प्रकृति मुचुल्कामा उल्लेख भएको देखिएको, यस्ता बेहोरालाई प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्षको बयानले समर्थन गरेको देखिएको, प्रतिवादीहरूउपर किटानी जाहेरी परेको देखिएको, घटना विवरण कागज गर्ने मानिसहरूले तथा वस्तुस्थिति मुचुल्काका मानिसहरूले समेत मृतकको मृत्यु प्रतिवादीहरूको कर्तव्यबाट भएको हो भन्ने कुरा व्यक्त गरेको देखिएको, प्रतिवादी रमेश मण्डलले अदालतमा बयान गर्दा आरोपित कसुरमा इन्कार रहे पनि मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा आरोपित कसुर गरेको कुरामा साबित भई बयान गरेको देखिएको, निजले बयान गर्दा एकपछि अर्को कार्य गर्दै मृतकलाई झुन्ड्याएको कार्यलाई क्रमबद्ध रूपमा उल्लेख गरेको र वारदातमा संलग्न सहअभियुक्त विजय मण्डलउपर पोल गरेको देखिएसमेतबाट प्रस्तुत वारदातमा प्रतिवादी रमेश मण्डल र विजय मण्डलको पर्याप्त संलग्नता रही निजहरूकै कर्तव्यबाट मृतकको मृत्यु भएको तथ्यलाई अन्य परिस्थितिजन्य प्रमाणहरूले पुष्टि गरिरहेको देखियो ।

१२. फौजदारी मुद्दामा प्रत्यक्ष प्रमाणको अभाव रहेको खण्डमा परिस्थितजन्य प्रमाणको श्रृङ्खलाहरूबाट जाहेरी बेहोरा र अभियोग दाबीलाई समर्थन गर्ने स्थिति हुन जान्छ भने त्यस्तो अवस्थामा परिस्थितिजन्य प्रमाणलाई सिलसिलेवार रूपमा अभियोग दाबीसँग समर्थित हुन्छ हुँदैन भनी विश्लेषण गर्नुपर्ने हुन आउँछ । अपराध र अपराधीको कार्यबाट पीडित व्यक्तिप्रति न्याय परोस् भन्ने कुरा पनि न्यायाधीशले त्यति नै सुनिश्चित गर्नु पर्दछ । अभियुक्त र अपराधबाट पीडित व्यक्ति दुवैलाई सन्तुलित रूपमा न्याय प्रदान गर्नु नै न्याय प्रणालीको आधारभूत लक्ष्य हुन्छ । कुनै एकप्रति मात्र लक्षित गरी गरिएको निर्णयले न्यायको आकार ग्रहण गर्न सक्दैन ।

१३. अपराध गर्दा अपनाइएका तरिका र अपराधको प्रकृति हेर्दा अपराधी पूर्णसचेत, सावधान रही नियोजित र संगठित रूपमा आफ्नो कार्य योजनालाई पूर्णता दिएको देखिन्छ । यस्तो अवस्थामा अभियोजन पक्षद्वारा प्रस्तुत अप्रत्यक्ष प्रमाण र खासगरी परिस्थितिजन्य प्रमाणको आधारमा नै अपराधीसम्म पुग्नु पर्ने र त्यस्तो प्रमाणको आधारमा कसुरदार देखिन आएको अभियुक्तलाई सजाय गर्नुपर्ने अनिवार्य हुन्छ । कानूनअनुरूप प्रमाणको रूपमा पेस गरिएका कुराहरूको मुद्दामा सम्बद्धता छ वा छैन भन्ने विषय अदालतले निर्धारण गर्न सक्ने नै देखिन्छ । 

१४. कुनै अभियोग लागेको अभियुक्तले कसुरसम्बन्धी कुरामा साबिती भएको वा इन्कार गरेको निजको कथनले मात्र निजको पक्ष वा विपक्षमा स्वतः प्रमाणको स्थान ग्रहण गर्दैन बरू सो साबिती वा इन्कारी बयानलाई कुनै आधारभूत, तथ्यपरक एवं निश्चयात्मक प्रमाणबाट समर्थित गराउनु पर्ने हुन्छ । कुनै प्रमाणविना इन्कारी बयान अर्थहीन र प्रयोजनहीन हुन्छ र त्यस्तोमा संकलित प्रत्यक्ष प्रमाणलाई पनि निजका विरूद्ध अदालतले निश्चयात्मक प्रमाणमा ग्रहण गर्नुपर्ने हुन्छ । 

१५. मुद्दामा ठहर गर्नुपर्ने कुनै कुरालाई प्रमाणित गर्न वा खण्डित गर्न सहायता हुने कुरालाई प्रमाण भनिन्छ । प्रमाणको मूल्याङ्कन न्यायाधीश वा न्यायिक अधिकारीको लागि तथ्य पत्ता लगाउने कच्चा पदार्थको प्रशोधन हो । प्रमाणको प्रस्तुति तथा प्रस्तुत भएको प्रमाणको विश्लेषण र मूल्याङ्कनबाट न्यायाधीशलाई तथ्य, कसुरदारको मनसाय र आपराधिक कार्यको सम्पादन भएको वा नभएको पत्ता लगाउन मद्दत पुग्दछ । प्रमाणको वर्गीकरणलाई हेर्दा प्रत्यक्ष प्रमाण र अप्रत्यक्ष तथा परिस्थितिजन्य प्रमाण गरी दुई किसिमका प्रमाण हुन्छन् । 

१६. प्रत्यक्ष प्रमाणले मुद्दामा सन्निहित विवादका विषयवस्तुको केन्द्र विन्दुसम्म सिधा र सरासर पुगी निर्णय गर्नुपर्ने प्रश्नलाई अनुमान र विवेकको प्रयोगविना नै प्रमाणित र स्थापित गर्दछ । हत्याको घटना वा अन्य अपराधको प्रत्यक्षदर्शी साक्षी वा चश्मदिद गवाह प्रत्यक्ष प्रमाणको उदाहरण हो । प्रत्यक्ष प्रमाण निश्चयात्मक एवं शक्तिशाली प्रमाणको कोटीमा आउँछ । तर जहाँ प्रत्यक्ष प्रमाणको अभाव हुन्छ, त्यहाँ परिस्थितिजन्य प्रमाणको आधारमा अपराध र अपराधीको खोजी गर्ने प्रयास गरिन्छ । 

१७. अप्रत्यक्ष र परिस्थितिजन्य प्रमाणले कुनै काम, घटना वा अपराधका सम्बन्धमा प्रत्यक्ष प्रमाणको अभाव भएमा अभियोजन पक्षले त्यस सम्बन्धमा अप्रत्यक्ष वा परिस्थितिजन्य तथ्य तथा सम्बद्ध सहायक प्रमाणहरूबाट अभियुक्तको कसुर स्थापित र प्रमाणित गर्ने प्रयास गर्दछ । त्यसैले परिस्थितिजन्य प्रमाणलाई अप्रत्यक्ष प्रमाण भनिन्छ ।

१८. कुनै काम, घटना वा अपराधका सम्बन्धमा अभियुक्तको काम वा व्यवहारका विभिन्न अवस्था र क्रियाकलापबाट तथ्यहरूको कडी एकआपसमा श्रृङ्खलाबद्ध रूपमा जोडिँदा आपराधिक कार्य सम्पादन भएको स्वभाविक निष्कर्ष निस्कने भएमा सो कार्य र व्यवहारबाट अभियुक्तले अपराध गरेको स्थापित भएको देखिएमा यस्तो तथ्यहरूको मालाकार कडीलाई परिस्थितिजन्य प्रमाण (circumstantial evidence) को रूपमा परिभाषित गरिन्छ । यसको लागि तथ्यका प्रत्येक कडी एकआपसमा आबद्ध र अन्योन्याश्रित भएको हुनुपर्ने र तथ्यको कुनै एक कडीको पनि अनुपस्थिति भएमा सो प्रमाण खण्डित भएको मान्नु पर्ने हुन्छ ।

१९. यसै सन्दर्भमा "घटनाको अवस्था तथा तत्काल विद्यमान परिस्थितिलाई पुनर्मूल्याङ्कन गरी परिस्थितिजन्य प्रमाणको अस्तित्वलाई नकार्न उचित हुन आउँदैन । तसर्थ परिस्थितिजन्य प्रमाणको भूमिका तथा अस्तित्वलाई विश्लेषण र विवेचना गर्नु त्यतिकै सान्दर्भिक देखिने" भनी यस अदालतबाट ने.का.प. २०६७, अंक ५ पृष्ठ ८१४ नि.नं. ८३७४ मा सोभराज गुरमुख विरूद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा प्रतिपादित सिद्धान्त प्रस्तुत मुद्दामा अत्यन्तै प्रासाङ्गिक र सान्दर्भिक रहेको देखियो ।

२०. प्रस्तुत मुद्दामा मृतक सुनिता र प्रतिवादी रमेश मण्डलबिच प्रेम विवाह भएको देखिएको, प्रतिवादी रमेश मण्डल विदेश गएको अवस्थामा निज सुनिता पति रमेशको घरमा बस्न नसकी माइतीघरमा आई बसेको देखिएबाट प्रतिवादी रमेश र मृतक सुनिताको प्रेम विवाहलाई रमेशका बाबु आमाले स्वीकार नगरेको कुरा पुष्टि भएको देखियो । मृतक सुनिताको माइती पक्षबाट थोरै दाइजो आएको र थप दाइजो ल्याउनको लागि प्रतिवादी रमेश, निजका बाबु, आमा र दाजु विजयसमेतले निरन्तर मानसिक र शारीरिक पीडा दिई दबाब दिइरहेको देखिएबाट थप दाइजो प्राप्त नभएपछि नै प्रतिवादीहरू रमेश र विजयले सुनिताको हत्या गर्ने षड्यन्त्र तयार गरेको र सोअनुरूप नै वारदातको दिन प्रतिवादी रमेश माइतीमा बसी रहेकी सुनिताको माइतीमा गई सुनिता तथा निजको बुबासँग भनाभन गरेको र निज रमेश सुनिताको माइतीमा खाना नखाई गएको देखियो । तत्पश्चात्‌ मृतक सुनितालाई आफ्नो घरमा बोलाई प्रतिवादीहरू दुवै दाजुभाइ मिली कुटपिट गरी साडीको पासोले घाँटीमा कसेर मृत्यु भएपछि मृतकको लासलाई दुवैजना प्रतिवादीहरूले बोकेर ग्वाली घरदेखि करिब एक कि.मी. टाढा रहेको निज मृतक आफैँ चढ्न नसक्ने कदमको रूपमा लगी झुन्ड्याएको भनी मौकामा गरेको साबिती बयानलाई प्रतिवादीउपर परेको किटानी जाहेरी, घटना विवरण कागज गर्ने मानिसहरूले यसभन्दा अघि पनि प्रतिवादीहरूले मृतकलाई कुटपिट गरेको देखेको भनी लेखाई दिएको कागज, जाहेरवाला बाबु तथा मृतककी आमाले मृतक छोरीलाई प्रतिवादीहरूले कर्तव्य गरी मारेको भनी अदालतमा आई गरेको बकपत्र, घटनास्थल तथा लास प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदन, बुझिएका मानिसहरूको भनाइ जस्ता परिस्थितिजन्य प्रमाणहरूसमेतले समर्थन गरिरहेको देखिएबाट प्रतिवादीहरू रमेश मण्डल गनगाई र विजय मण्डल गनगाईको अभियोग माग दाबीबाट सफाइ पाउँ भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

२१. अतः उल्लिखित सबुद प्रमाण, कारण र यस अदालतबाट प्रतिपादित नजिर सिद्धान्तसमेतका आधारहरूबाट अभियोग दाबीबमोजिम मृतक सुनितादेवी मण्डललाई प्रतिवादीहरू रमेश मण्डल गनगाई र विजय मण्डलले कर्तव्य गरी मारेको देखिँदा निज प्रतिवादीहरू रमेश मण्डल गनगाई र विजयकुमार भन्ने विजय मण्डल गनगाईलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहराएको तथा प्रतिवादीहरू भरतलाल मण्डल गनगाई र रामवती देवी मण्डल गनगाईलाई अभियोग दाबीबाट सफाइ दिने ठहराएको पुनरावेदन अदालत विराटनगरको मिति २०७०।११।२८ को फैसला सदर गर्ने गरी यस अदालतको संयुक्त इजलासबाट मिति २०७४।५।२५ मा भएको रायबाझी फैसलामा राय व्यक्त गर्नु हुने माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडाको राय मिलेकै देखिँदा उक्त राय नै सदर हुने ठहर्छ । प्रतिवादीहरू रमेश मण्डल गनगाई र विजय मण्डल गनगाईलाई अभियोग दाबीबाट सफाइ दिने गरेको हदसम्म सम्माननीय प्रधानन्यायाधीश श्री गोपाल पराजुलीले व्यक्त गर्नुभएको रायसँग सहमत हुन सकिएन । अरू तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी रमेश मण्डल गनगाई र विजयकुमार भन्ने विजय मण्डल गनगाईलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहराएको तत्कालीन पुनरावेदन अदालत विराटनगरको मिति २०७०।११।२८ को फैसला सदर गर्ने गरी यस अदालतको संयुक्त इजलासको मिति २०७४।५।२५ को फैसलामा राय व्यक्त गर्नुहुने माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडाको राय सदर हुने ठहरी फैसला भएकोमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४० ले "सर्वस्व" को सजाय नहुने व्यवस्था गरेको हुँदा सोही व्यवस्थाबमोजिम तत्कालीन पुनरावेदन अदालत विराटनगरको मिति २०७०।११।२८ को फैसलाको तपसिल खण्डको देहाय १ मा लेखिएको सर्वश्वको लगतकट्टा गरी जन्मकैदको मात्र लगत कसी असुल गर्नु भनी सुरू मोरङ जिल्ला अदालतमा लेखी पठाउनू ...............१

फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ............................................................२

 

उक्त रायमा हामी सहमत छौं ।

न्या. दीपककुमार कार्की

न्या. प्रकाशकुमार ढुंगाना

 

इजलास अधिकृतः ज्ञानेन्द्र इटेनी

इति संवत् २०७६ साल जेठ ३० गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु