शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०३०७ - गौवध

भाग: ६१ साल: २०७६ महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे

माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल

फैसला मिति : २०७५।९।१८

०७३-CR-०७८४

 

मुद्दा : गौवध

 

पुनरावेदक / प्रतिवादी : जिल्ला दैलेख, मालिका गाउँ विकास समिति वडा नं. ५ घर भई हाल कारागार कार्यालय बाँकेमा थुनामा रहेका चन्द्रबहादुर शाही

विरूद्ध

प्रत्यर्थी / वादी : केशवबहादुर शाहीको जाहेरीले नेपाल सरकार

 

तत्कालीन मुलुकी ऐन, चौपायाको महलको १ नं. विपरीतको कसुर गरेकोले उक्त कसुरमा चौपायाको महलको ११ मा रहेको व्यवस्थाको सन्दर्भमा प्रतिवादीलाई ऐ. महलको ११ नं. बमोजिम १२ वर्षको सजाय गरेको मिलेको देखिन आए तापनि फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ५ र केही नेपाल कानूनलाई संशोधन, एकीकरण समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९(२) (ख) बमोजिम प्रतिवादीलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २८९ को उपदफा (२) बमोजिम कैद ३ वर्ष हुने ।

(प्रकरण नं.९)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : 

प्रत्यर्थी / वादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी अपराध (संहिता) ऐन, २०७४

फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४

केही नेपाल कानूनलाई संशोधन, एकीकरण समायोजन र खारेज गर्ने ऐन, २०७४

 

सुरू फैसला गर्ने : 

मा. जिल्ला न्यायाधीश श्री विश्‍वमंगल आत्रेय

दैलेख जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

मा. मुख्य न्यायाधीश श्री तेजबहादुर के.सी.

माननीय न्यायाधीश श्री गुणराज ढुंगेल

पुनरावेदन अदालत सुर्खेत

 

फैसला

न्या.केदारप्रसाद चालिसे : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम पुनरावदेन अदालत सुर्खेतको फैसलाउपर प्रतिवादीको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको फैसला सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ९१ (४) र अनुसूची १२ को ढाँचामा तयार गरिएको छ । सुरू जाहेरी दरखास्त, अभियोगपत्रसमेतका तथ्य खण्ड, जिल्ला अदालतको फैसला, पुनरावेदन अदालत सुर्खेतको फैसलाको बेहोरा सो अदालतको मिति २०७३।०३।१३ को फैसलाबाट देखिने हुँदा यहाँ सो कुराको पुनरावृत्ति गरिएको छैन । 

ठहर खण्ड

प्रतिवादी चन्द्रबहादुर शाहीले पुनरावेदन पत्रमा सुरू तथा पुनरावेदन अदालतको फैसलामा चित्त बुझेन । म पुनरावेदक प्रतिवादीको मगजले काम नगरेको अवस्थामा उक्त वारदात घट्न गएको हो । उक्त तथ्यलाई घटनास्थल प्रकृति मुचुल्काबाट पुष्टि भइरहेको अवस्थामा भवितव्यतर्फ सजाय गर्नु पर्ने र मेरो मानसिक जाँचसमेत गरी मुलुकी ऐन, चौपायाको महलको १५ नं.बमोजिम सजाय हुने गरी फैसला गर्नुपर्नेमा सोतर्फ ध्यान नै नदिई न्यायिक मनको प्रयोग नगरी मलाई अभियोग मागदाबीबमोजिम सजाय हुने ठहर्‍याई गरेको दैलेख जिल्ला अदालतको फैसला र सो फैसलालाई सदर गरेको पुनरावेदन अदालत सुर्खेत मिति २०७३।०३।१३ को फैसला न्यायोचित नभएकोले उक्त दुवै फैसलाहरू त्रुटिपूर्ण हुँदा बदरभागी छ, बदर गरिपाउँ भन्‍ने पुनरावेदन जिकिर लिएको देखियो ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा सम्पूर्ण मिसिल अध्ययन गरी हेर्दा प्रतिवादी चन्द्रबहादुर शाहीले मिति २०७२।५।२१ गते जिल्ला दैलेख, मालिका गाउँ विकास समिति वडा नं.५ तल्लो हल्म स्थित बारीमा बाँधेको कालो रंगको वर्ष २.५ को आफ्नै गाई बञ्चरोले हानी मारी चारैवटा खुट्टा काटी अलग अलग पारी मुलुकी ऐन, चौपायाको महलको १ नं.विपरीत सोही महलको ११ नं.अनुसारको कसुर अपराध गरेकोले निज प्रतिवादी चन्द्रबहादुर शाहीलाई सोही मुलुकी ऐन, चौपायाको महलको ११ नं.बमोजिम सजाय गरिपाउँ भन्‍ने अभियोग दाबी भएकोमा प्रतिवादी चन्द्रबहादुर शाहीलाई मुलुकी ऐन, चौपायाको महलको ११ नं.बमोजिम १२ (बाह्र) वर्ष कैदको सजाय हुने ठहर्‍याई दैलेख जिल्ला अदालतबाट फैसला भएकोमा सो फैसलाउपर प्रतिवादी चन्द्रबहादुर शाहीको पुनरावेदन परेकोमा सो फैसला सदर हुने ठहर्‍याई पुनरावेदन अदालत वीरेन्द्रनगर सुर्खेतबाट भएको फैसलाउपर प्रतिवादीको प्रस्तुत पुनरावेदन पर्न आएको देखिन्छ ।

प्रस्तुत मुद्दामा पुनरावेदन अदालत सुर्खेतबाट यी पुनरावेदकको हकमा मुलुकी ऐन, चौपायाको महलको ११ नं.बमोजिम १२(बाह्र) वर्ष कैदको सजाय गर्ने गरेको फैसला मिलेको छ, छैन । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन भन्‍ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो । 

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी चन्द्रबहादुर शाहीले बाँधेको गाईलाई बञ्चरोले हानी काटी मारेको हुँदा निजलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍ने जाहेरी दरखास्त परेको 

देखिन्छ । जिल्ला दैलेख मालिका गा.वि.स. वडा नं. ५ तल्लो दुल्म स्थित चन्द्रबहादुर शाहीको घर आँगनको पाखो बारीमा कालो रंगको अन्दाजी अढाई वर्षको गाई, उक्त गाईको दाहिने गर्धनमा ८ ईन्च लम्बाई, अढाई ईन्च चौडाई, चारवटै खुट्टा काटिएको मृतक अवस्थामा गाई रहेको, उक्त मृतक गाईदेखि अन्दाजी ७ फिट उत्तरमा चारवटा खुट्टाहरू रहेको, दक्षिणमा सिरान उत्तरमा गोड्यान, दाहिने कोल्टो अवस्थामा, मृतक गाईदेखि१० मिटर पूर्व साइडमा गाई बाँध्ने ठाउँमा रगत बगी जमेको, मृतक सिनो गाईको योनि सामान्य रहेको मलद्वारमा गोबर लागेको, दुवै आँखा खुल्ला रहेको, जिब्रो बाहिर निस्केको, नाकमा रगत लागेको, घटनास्थलमा माटो खोस्रिएको, झारपात मडारिएको अवस्थामा रहेको, गाई सिनो मुचुल्का ठीक छ भन्‍नेसमेत बेहोराको गाई सिनो मुचुल्का रहेको देखिन्छ ।

३. घटनास्थलमा खिचिएको फोटोहरू प्रत्यक्ष देखाएकोमा हेरेँ । उक्त फोटोहरू मैले हानी काटी मारेको गाईको फोटोहरू हुन् । बरामद भई दाखिला हुन आएको बन्चरोले गाईलाई हानी काटी मारेको हुँ । हेरी चिनी सनाखत गरिदिएँ । उक्त घटनामा अन्य कोही कसैको संलग्नता छैन । म एक्लैले मारेको हुँ भन्‍नेसमेत बेहोराको प्रतिवादी चन्द्रबहादुर शाहीले अधिकारप्राप्त अधिकारीसमक्ष सबिती बयान गरेको देखिन्छ । कालो रंगको २.५ वर्ष उमेरको गाईको घाँटी बन्चरोले हानेर ठुलो घाउ बनाई मुख्य रगतको नली काटिएको, टाउकोमा काटिएको, नाकबाट रक्तस्राव भएको, चारवटै खुट्टा छिनालिएको, सुत सामान्य अवस्थामा रहेको, घाँटीको मुख्य रगत नली (जुगुलर भेन) काटिएपछि रक्तस्राव भई रगतको कमी हुन गई अंगहरूमा अक्सिजनको कमी भई गाईको मृत्यु भएको देखिन्छ भन्‍नेसमेत बेहोराको जिल्ला स्वास्थ्य कार्यालय दैलेखको पत्रसहित मृतक गाईको पोष्‍टमार्टम रिपोर्ट देखिन्छ । गाईलाई प्रतिवादी चन्द्रबहादुर शाहीले बन्चरोले हानी काटी मारेको हुँदा कानूनबमोजिम कारबाही हुनुपर्छ भनी मौकामा बुझिएका व्यक्तिहरूले घटना विवरण कागज गरिदिएको देखिन्छ । 

४. घटनास्थल मुचुल्का, प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान, मृतक गाईको पोष्‍टमार्टम रिपोर्ट, मौकामा घटना विवरण कागज गर्ने मानिसहरूले गरिदिएको घटना विवरण कागजसमेतबाट गाईको मृत्यु स्वभाविक नभई प्रतिवादीको कर्तव्यले भएको तथ्यमा विवाद देखिएन । 

५. अब यी पुनरावेदक प्रतिवादी चन्द्रबहादुर शाहीको मानसिक अवस्था ठीक नभएको र भवितव्यतर्फ लिएको पुनरावेदन जिकिरतर्फ विचार गर्दा, मुलुकी ऐन चौपायाको महलको २ नं. मा “मारौं भन्‍ने नियत नगरी उपकारका निम्ति वा अरू केही कुरा गर्दा अकस्मात लाग्न गई वा केही भई गोरू मर्न गएको भए भवितव्य ठहर्छ” भन्‍ने कानूनी व्यवस्था रहेको देखिन्छ । उक्त कानूनी व्यवस्थाअनुसार भवितव्यलाई आकस्मिक घटना वा दुर्घटनाको रूपमा लिइन्छ । भवितव्यलाई दुर्घटनाको रूपमा लिइने हुँदा भवितव्य हुनलाई वारदात घटाउनेसम्मको कुनै कारण तथा रिसइवी भएको देखिन हुँदैन । प्रस्तुत मुद्दाको सन्दर्भमा प्रतिवादी चन्द्रबहादुर शाहीले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानलाई समर्थन हुने गरी सुरू अदालतमा बयान गर्दासमेत कसुरमा पूर्ण रूपमा साबित रही आफूले बन्चरो हान्दा गाईको मृत्यु भएको कुरालाई स्वीकार गरेका छन् । निज प्रतिवादीको उक्त भनाइलाई बरामद भई आएको बन्चरो र निजले सो बन्चरोलाई सनाखत गरी पुष्टि गरेको देखिन्छ । जसमा Hypovolemic shock and hemorrhage as a result of cut throat injury caused by hard and sharp edged object भनी लेखिएको छ । उक्त कुराले प्रतिवादीको अनुसन्धान अधिकारीसमक्ष र सुरू अदालतमा गरेको बयानलाई पुष्टि गर्दछ । मौकामा कागज गरिदिने व्यक्तिहरूले र जाहेरवालाले समेत सुरू अदालतमा आई  बकपत्र गर्दा केही भिन्‍न तरिकाले आफ्नो कुरा लेखाई दिएको भए तापनि यी प्रतिवादीले नै गाईलाई हानी मारेका होइनन् भनी भन्‍न सकिने अवस्थाको विद्यमानता देखिन आएन । 

६. निज प्रतिवादीको मानसिक अवस्था ठिक नभएको भन्‍ने पुनरावेदन जिकिरतर्फ हेर्दा, निजले वारदात घटनाक्रमका क्रममा देखाएको क्रियाकलापलाई स्वस्थ मानसिक अवस्थाको कार्य भन्‍न नसकिए पनि निज मानसिक रूपमा अस्वस्थ भएको प्रमाण निजले पेस गरेको देखिन आएन । निजले वारदातका समयमा देखाएको घटनाक्रम हेर्दा होस नभएको अवस्थामा गरे भएको मान्‍न सकिने अवस्थाको विद्यमानता 

देखिएन । सो भएबाट प्रतिवादी चन्द्रबहादुर शाहीले बन्चरो प्रहार गरी गाईलाई मारेको देखिँदा प्रतिवादीउपरको अभियोग दाबी पुष्टि भएकै देखिँदा नेपाल सरकारको अभियोग दाबीबमोजिम प्रतिवादी चन्द्रबहादुर शाहीलाई चौपायाको महलको १ नं. कसुर ठहर गरी ११ नं.बमोजिम सजाय हुने ठहर्‍याई सुरू अदालतबाट भएको फैसला सदर हुने ठहर गरी पुनरावेदन अदालत सुर्खेतबाट भएको फैसला अन्यथा देखिन आएन । 

७. साबिक मुलुकी ऐन, चौपायाको महलको १ नं. मा "मारौं भन्‍ने नियत लिई गाई, गोरू मार्न लगाउन, मार्नाको उद्योग गर्न, सो नियतले विदेशमा लैजान वा लगी बिक्री गर्नसमेत हुँदैन" भन्‍ने कानूनी व्यवस्था रहेको देखिन्छ । प्रस्तुत मुद्दामा यी पुनरावेदक प्रतिवादी चन्द्रबहादुर शाहीलाई अभियोग दाबीबमोजिम बाह्र वर्ष (१२ वर्ष) कैदको सजाय हुने ठहर्‍याएको पुनरावेदन अदालत सुर्खेतबाट मिति २०७३।०३।१३ मा भएको फैसला मिलेको देखिए तापनि मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले सो सम्बन्धमा व्यवस्था गरेको सन्दर्भमा सम्बन्धित कानूनी व्यवस्थाहरू उल्लेख गर्न सान्दर्भिक हुने देखियो ।

८. मिति २०७५ साल भाद्र १ गते देखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन, २०७४ दफा २८९ को उपदफा (१) मा “कसैले गाई वा गोरू मार्ने वा कुनै चोट पुर्‍याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैन" भन्‍ने र सोही दफाको उपदफा (२) मा "उपदफा १ बमोजिमको कामबाट कुनै गाई वा गोरू मर्न गएमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुनेछ" भनी व्यवस्था गरेको देखिन्छ, त्यसैगरी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ५ मा "कुनै कसुरका सम्बन्धमा कसुर गर्दाका बखतभन्दा सजाय निर्धारण गर्दाका बखत कानूनबमोजिम घटी सजाय हुने रहेछ भने घटी सजाय हुने गरी निर्धारण गर्नु पर्दछ" भन्‍ने कानूनी व्यवस्था रहेको देखिन्छ । त्यस्तै केही नेपाल कानूनलाई संशोधन, एकीकरण समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९(२)(ख)मा “कुनै कानूनअन्तर्गत कुनै अदालतमा दायर भएको कुनै फौजदारी कसुरका मुद्दामा सजाय गर्नुपर्दा सोही कानूनबमोजिम गर्नुपर्नेछ तर कुनै फौजदारी कसुरको सजाय मुलुकी अपराध संहितामा लेखिएभन्दा बढी रहेछ भने मुलुकी अपराध संहितामा लेखिएको हदसम्म मात्र सजाय हुनेछ" भन्‍ने कानूनी व्यवस्था रहेको देखिन्छ ।

९. तत्कालीन मुलुकी ऐन, चौपायाको महलको १ नं.विपरीतको कसुर गरेकोले उक्त कसुरमा चौपायाको महलको ११ मा रहेको उपर्युक्त व्यवस्थाको सन्दर्भमा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत सुर्खेतबाट यी पुनरावेदक प्रतिवादीलाई ऐ. महलको ११ नं.बमोजिम १२ वर्षको सजाय गरेको मिलेको देखिन आए तापनि फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ५ र केही नेपाल कानूनलाई संशोधन, एकीकरण समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९(२) (ख) मा उपर्युक्त व्यवस्था रहेको तथा यही भाद्र १ गतेदेखि लागू भइसकेको सन्दर्भमा प्रस्तुत मुद्दामा यी पुनरावेदक प्रतिवादी चन्द्रबहादुर शाहीलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ दफा २८९ को उपदफा (२) बमोजिम कैद ३ वर्ष हुने ठहर्छ । मिति २०७२।५।२२ बाट प्रहरी हिरासतमा रही फैसलाबमोजिमको कैद भुक्तान गरिरहेकोमा उल्लिखित ऐनको व्यवस्थाबमोजिम हुन सक्ने कैद भुक्तान गरिसकेको र निज यस अदालतको मिति २०७५।७।११ को पत्रबाट समेत कैद भुक्तान भइसकेको देखिएकोले थप केही गर्नु पर्ने अवस्था रहेन । उक्त फैसला बदर गरी सफाइ पाउँ भनी लिएको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम यी पुनरावेदक प्रतिवादी चन्द्रबहादुर शाहीलाई ३ वर्ष कैद सजाय हुने ठहरेकाले दैलेख जिल्ला अदालतको मिति २०७२।०८।०८ को फैसलाबमोजिम निज प्रतिवादीका नाममा १२ वर्ष कैद सजायको लगत राखेकोमा निज प्रतिवादी मिति २०७२।०५।२२ देखि कैदमा बसिरहेको र २०७५।७।११ मा यस अदालतबाट प्रस्तुत गौवध मुद्दाबाहेक अन्य मुद्दाबाट थुनामा राख्‍न नपर्ने भए प्रस्तुत गौवध मुद्दाबाट थुनामुक्त गरी दिनु भनी आदेश भएको देखिँदा निज प्रतिवादी कानूनले तोकेको समयवधिभन्दा बढी  कैदमा नै बसेको र सोबमोजिम उक्त अदालतको लगत कायम नरहने भएकोले सोको लगत कट्टा गरी निज प्रतिवादी थुनामा रहेको मितिदेखि ३ वर्षको सजायको लगत राखी असुल जनाउनू ......१

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाई दिनू ............................२

 

उक्त रायमा सहमत छु ।

न्या. सपना प्रधान मल्ल

 

इजलास अधिकृत: सरिता रिजाल

इति संवत् २०७५ साल पुस १८ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु