निर्णय नं. १०३१२ - कर्तव्य ज्यान

सर्वोच्च अदालत संयुक्त इजलास
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई
फैसला मिति : २०७५।५।२१
०७२-CR-२१२५
मुद्दाः- कर्तव्य ज्यान
पुनरावेदक / प्रतिवादी : तेह्रथुम जिल्ला ओख्रे गा.वि.स. वडा नं. ५ घर भई हाल मोरङ जिल्ला शनिश्चरे नगरपालिका वडा नं. ४ घर भई हाल कारागार कार्यालय तेह्रथुममा कैदमा रहेको जीतबहादुर भन्ने जितेन्द्र कार्की
विरूद्ध
प्रत्यर्थी / वादी : टेकबहादुर तामाङको जाहेरीले नेपाल सरकार
मृत्युकालीन घोषणा प्रमाणमा गाह्य हुनको निम्ति निश्चित सर्तहरू पूरा भएको हुनुपर्ने :
क) मृत्युकालीन घोषणालाई प्रमाणको रूपमा पेस गर्दाको अवस्थासम्ममा सो घोषणा गर्ने व्यक्तिको मृत्यु भइसकेको हुनुपर्ने
ख) घोषणा गर्ने व्यक्तिले आफ्नो मृत्युपूर्व घोषणा गरेको हुनुपर्ने
ग) घोषणा आफ्नो मृत्युको कारण वा परिस्थितिसँग सम्बन्धित हुनुपर्ने
घ) घोषणा गर्ने व्यक्तिले आफू बाँच्न सक्छु कि भन्ने आशा त्यागिसकेको हुनुपर्ने
ङ) मर्ने व्यक्तिले आफ्नो वास्तविक ज्ञानको आधारमा स्वेच्छिक रूपमा गरिएको घोषणा हुनुपर्ने
च) मर्ने व्यक्तिले आफू होसमा हुँदा नै सो घोषणा गरेको हुनुपर्ने
छ) घोषणा गर्ने व्यक्ति मानसिक रूपले सबल रहेको हुनुपर्ने
ज) घोषणा गर्ने व्यक्तिले आफ्नो मृत्युको कारणको बारेमा एकभन्दा बढी फरक फरक घोषणा गरेको हुन नहुने
झ) मृत्युकालीन घोषणा सुन्ने व्यक्ति अदालतमा साक्षीको रूपमा उपस्थित हुनको निम्ति योग्य हुनुपर्ने र
ञ) मृत्युकालीन घोषणा मौकामा व्यक्त भई अदालतमा आएर पुष्टि गरिएको हुनुपर्ने ।
(प्रकरण नं.४)
बकपत्रमा उल्लेख भएको मृत्युकालीन घोषणा मौकाको कागजातबाट पुष्टि हुन नसकेको अवस्था हुँदा सोलाई प्रमाणको रूपमा ग्रहण गर्न मनासिब नदेखिने ।
(प्रकरण नं.५)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री शेरबहादुर कार्की र श्री धनेन्द्रबहादुर श्रेष्ठ
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री गोपाल लामिछाने
अवलम्बित नजिर :
ने.का.प.२०४४, अंक ४, नि.नं.३०६८
ने.का.प.२०६३, अंक ३, नि.नं.७६६३
ने.का.प.२०६४, अंक ११, नि.नं.७८९८
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्ने:
श्री मातृकाप्रसाद आचार्य
तेह्रथुम जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने:
श्री प्रकाशकुमार ढुंगाना
श्री मेघनाथ भट्टराई
पुनरावेदन अदालत धनकुटा
फैसला
न्या.डा.आनन्दमोहन भट्टराई : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र रही दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-
मेरो सहोदर भाइ डिकबहादुर तामाङले प्रतिवादी जीतबहादुर भन्ने जितेन्द्र कार्कीका बाबुलाई मारेको भन्ने आरोपमा २०४५ सालदेखि कारागार कार्यालय तेह्रथुममा कैदमा बसी २०५७ सालमा जेल भुक्तान गरी घर फर्किई २०६२ साल भाद्र महिनादेखि रत्नदेवी प्रा. वि. ओख्रेमा पियन काम गर्दै आएका थिए । मिति २०६२।११।१९ गते बिहान विद्यालय छुट्टी भई भाइ घर फर्कँदै गर्दा अं. १०:१५ बजेको समयमा ओख्रे गा.वि.स. वडा नं. ५ को ठोक्रे खोलामा आइपुग्दा प्रतिवादी जीतबहादुर भन्ने जितेन्द्र कार्कीले मेरो भाइ डिकबहादुर तामाङलाई कुटपिट गरेको, उक्त वारदात रत्नदेवी प्रा. वि. मा कक्षा १ मा पढ्ने सिर्जना तामाङ र निर्मला न्यौपानेले देखेको र पीडित घाइते भाइ सो ठाउँबाट अलि पर पुगेर भुइँमा सुतेको अवस्थामा बाख्रा चराउन गएकी धनमाया तिम्सिनालाई बोलाएछन् र धनमाया तिम्सिनाले भाइलाई पानी खुवाई मेरी भाउजू चन्द्रमाया तामाङ र छोरी सोबिना तामाङलाई बोलाइछन्, निजहरू त्यहाँ पुग्दा निज भाइले पानी मागेछन् र मेरी छोरीले पानी खुवाउँदा खुवाउँदै भाइको मृत्यु भएछ । म उक्त दिन विवाहको निम्तो मान्न फाक्चामारा गा.वि.स. मा गएको थिएँ, मलाई खबर भई घटनास्थलमा आई हेर्दा भाइ डिकबहादुर तामाङको मृत्यु भइसकेको र शरीरभरि नीलडाम रहेको देखेको हुँ । प्रतिवादी जितेन्द्र कार्कीले पहिलादेखि नै मृतक भाइलाई धम्क्याउने हप्काउने गर्दथे र घटना भएको दिन सोही ठाउँ बस्ने हिमराज कार्की, सर्वे कार्की र रवि कार्कीसमेतले प्रतिवादी जितेन्द्र कार्कीलाई वारदातस्थल नजिक खिर्राको डाँडा भन्ने ठाउँमा सिमलीको काँचो लठ्ठी र खुकुरी बोकेर बसेको अवस्थामा भेटेका र प्रतिवादीले निजहरूलाई यहाँ तलतिर एउटा मान्छे पानी पानी भन्दैछ हेर्न जाओ भनेको रहेछ, पुरानो रिसइवीका कारण निज प्रतिवादी जितेन्द्र कार्कीले लठ्ठी ढुङ्गाले कुटपिट गरी मेरो भाइ डिकबहादुर तामाङलाई मारेकोमा विश्वास लागेर यो जाहेरी दिन आएको छु भन्नेसमेत बेहोराको टेकबहादुर तामाङले मिति २०६२।११।२१ गते दिएको जाहेरी दरखास्त ।
मृतकको बायाँ कुमको जोर्नी खुस्किएको, पाखुरामा यत्रतत्र नीलो कालो नीलडाम रहेको, पाखुराभन्दा तल कुहिनाको छेउमा ६ इञ्च लामो घाउ रहेको, दाहिने हातको जोर्नी खुस्किएको र पूरै हातमा नीलो कालो डाम रहेको भन्नेसमेत बेहोराको मिति २०६२।११।२१ गतेको घटनास्थल तथा लासजाँच मुचुल्का ।
मिति २०६२।११।१९ गते बिहान १०:३० बजेको समयमा ब्याट्री चार्ज गर्न भनी जिल्ला तेह्रथुम ओख्रे गा.वि.स. वडा नं. ६ स्थित गोविन्दबहादुर कार्कीको घरमा गई त्यहाँबाट सर्वे कार्की, रवि कार्की र मसमेत अं. ११.३० बजेको समयमा मेरो घरतर्फ आउँदै गर्दा ऐ. वडा नं. ५ स्थित खिर्रा डाँडामा आइपुग्दा अं. ११.४५ बजेतिर सिमलीको लठ्ठी र खुकुरी बोकिरहेका प्रतिवादी जितेन्द्र कार्कीसँग भेट भयो, निजले हामीलाई तल को मान्छे पानी पानी भन्दै छ हेर्न जाओ जाओ भने र हामी तीनैजना केही तल झरेर हेर्दा मृतक डिकबहादुर तामाङलाई चन्द्रमाया तामाङ र सोबिना तामाङले पानी खुवाउँदै थिए, हामी फर्किएर निज प्रतिवादी जितेन्द्र कार्की भएको ठाउँमा आउँदा निज त्यहीँ रहेछन् र केही समयपछि म वस्तुलाई पानी खुवाउन आएको अब घर जान्छु भनी निज हिँडेका हुन्, हामी पुनः घटनास्थलमा जाँदा डिकबहादुर तामाङको मृत्यु भइसकेको रहेछ, डिकबहादुर तामाङलाई निज जितेन्द्र कार्कीले कुटेको मैले देखिनँ तर सोही रातिदेखि निज फरार रहेका निज प्रतिवादीका बाबु खड्गबहादुर कार्कीलाई २०४५ सालमा डिकबहादुर तामाङसमेतले कर्तव्य गरी मारेको पुरानो रिसइवीसमेत रहेको हुँदा प्रतिवादी जितेन्द्र कार्कीले निज डिकबहादुर तामाङलाई कुटपिट गरी मारेकोमा विश्वास लाग्छ भन्ने बेहोराको हिमराज कार्कीले मिति २०६२।११।२२ गते गरेको घटना विवरण कागज ।
The cause of death is mainly due to gangrenous right upper limb because of right shoulder dislocation with vascular compartment syndrome causing cardiac arrest भन्ने बेहोराको मृतक डिकबहादुर तामाङको शव परीक्षण प्रतिवेदन ।
मिति २०६२।११।१९ गते बिहानको खाना खाएर अर्कैको खेतमा काम गर्दै गर्दा दिनको अं. १२.०० बजेको समयमा गाउँकी धर्मकुमारी तिम्सिनाले डिकबहादुर तामाङलाई कसले कुटेर घाइते बनाएको छ तपाइँहरू तुरून्तै आउनु भनेकी हुँदा मसँगै काम गर्न गएकी सोबिना तामाङसमेतलाई लिएर घटनास्थलमा आउँदा डिकबहादुर तामाङको शरीरभरि चोटैचोट थियो, निजले मलाई पानी खुवाउ भनेको र मैले निजलाई पानी खुवाउँदै गर्दा निजको मृत्यु भयो, केहिछिन पछि गाउँका हिमराज कार्की, सर्वे कार्की र रवि कार्की घटनास्थलमा आए, पछि बुझ्दा गाउँका सिर्जना तामाङ र निर्मला न्यौपानेसहित स्कुलबाट घर फर्कँदा डिकबहादुर तामाङलाई बाटोमा प्रतिवादी जीतबहादुर भन्ने जितेन्द्र कार्कीले कुटपिट गरेका रहेछन्, निज प्रतिवादीका बाबुलाई डिकबहादुर तामाङले कर्तव्य गरी मारेको रिसइवीका कारण प्रतिवादी जितेन्द्र कार्कीले लाठा ढुङ्गाले कुटपिट गरी डिकबहादुर तामाङलाई मारेको विश्वास लाग्छ भन्नेसमेत बेहोराको चन्द्रमाया तामाङले मिति २०६२।१२।११ गते गरेको घटना विवरण कागज ।
मिति २०६२।११।१९ गते बिहान अं. १०.१५ बजेको समयमा बाख्रा चराउन लाँदै गर्दा ठोक्रे खोलामा बाटो माथिबाट साँहिली दिदी साँहिली दिदी भनी डिकबहादुर तामाङले मलाई बोलाएको आवाज सुनेर के भएछ भनी हेर्न जाँदा डिकबहादुर तामाङ मरणासन्न अवस्थामा थिए, निजले मलाई पानी खुवाउनुहोस् न भने, त्यसपछि मैले खोल्सीमा जमेको पानीमा पछ्यौरा भिजाई ल्याएर पछ्यौराबाट निजलाई पानी खुवाएँ र निजका भाउजू चन्द्रमाया तामाङ र भतिजी सोबिना तामाङ तल मेलामा काम गर्दै गरेको देखेर माथिबाटै निजहरूलाई बोलाई म बाख्रा चराउन गएँ । चन्द्रमाया तामाङ र सोबिना तामाङ घटनास्थलमा पुगेर निज डिकबहादुर तामाङलाई पानी खुवाउँदा खुवाउँदै निजको मृत्यु भयो भन्ने सुनेकी हुँ, पछि बुझ्दा गाउँकै सिर्जना तामाङ र निर्मला न्यौपानेसमेत स्कुलबाट घर फर्कँदै गर्दा प्रतिवादी जीतबहादुर भन्ने जितेन्द्र कार्कीले डिकबहादुर तामाङलाई कुटेको देखेका रहेछन्, कसले कुटेको भनी मृतक डिकबहादुर तामाङले मलाई भनेनन्, प्रतिवादी जीतबहादुर भन्ने जितेन्द्र कार्की वारदातपछि फरार रहेको हुँदा निजले नै घटना घटाएकोमा विश्वास लाग्छ भन्नेसमेत बेहोराको धर्मकुमारी तिम्सिनाले गरेको घटना विवरण
कागज ।
मिति २०६२।११।१९ गते बिहान अं.११.०० बजेको समयमा म र चन्द्रमाया तामाङ मेलामा काम गर्दै गरेको अवस्थामा छिमेकी धर्मकुमारी तिम्सिनाले डिकबहादुर तामाङ अचेत अवस्थामा छन्, छिटो आउनु भनी बोलाएकीले म र चन्द्रमाया तामाङ डिकबहादुर तामाङ भएको ठाउँमा जाँदा निज अचेत अवस्थामा भुइँमा लडिरहेको, निजको हातखुट्टामा यत्रतत्र नीलडाम रहेको थियो । निजले बिस्तारै पानी पानी भनेको हुँदा पानी ल्याएर निजलाई खुवाउँदै गर्दा गाउँकै सर्वजित कार्की र रवि कार्कीसमेतका मानिसहरूले हेरेर गएका हुन् । सो समयमा डिकबहादुर तामाङले कसले कुटपिट गरेको भनी भनेनन् । पछि छिमेकी निर्मला न्यौपाने र सिर्जना तामाङले जीतबहादुर भन्ने जितेन्द्र कार्कीले बाटोमा कुटपिट गरेको देखेको भनी भन्दा थाहा पाएकी हुँ, पुरानो रिसइवीका कारण प्रतिवादी जीतबहादुर कार्कीले लाठी ढुङ्गा, बक्सिङले कुटपिट गरी डिकबहादुर कार्कीलाई मारेकोमा विश्वास लाग्छ भन्नेसमेत बेहोराको सोबिना तामाङले गरेको घटना विवरण कागज ।
मिति २०६२।११।१९ गते बिहानको खाना खाई रत्न प्रा. वि. मा अध्ययन गर्न गई स्कुल छुट्टी भएर म, निरू न्यौपाने, कोपिला न्यौपाने र रत्न प्रा. वि. का पियन डिकबहादुर तामाङसमेत ४ जना घरतर्फ आउँदै गर्दा ओख्रे गा.वि.स. वडा नं. ५ को ठोक्रे खोलामा आइपुग्दा एकजना नचिनेको मानिस एक्कासी बाटोमा निस्किएर हामी सबैलाई २।४ मिनेट रोकेर डिकबहादुर तामाङसँग मुखामुख भइरहेको थियो । त्यसपछि नचिनेको मानिसले साथमा बोकेर ल्याएको काँचो लठ्ठी, मुड्कीले डिकबहादुर तामाङलाई कुटपिट गरी लडाइदिएको देखेको हुँ । हामी तीन जना डरले भागेर घरमा गई गाउँमा हल्ला खल्ला गरेको हो भन्नेसमेत बेहोराको सिर्जना तामाङले गरेको घटना विवरण कागज ।
मिति २०६२।११।१९ गते म बाख्रा चराउन गएको थिएँ र बाख्रा खर्काएर मास्तिर आउँदै गर्दा मानिसहरूको हल्ला खल्ला सुनी सो ठाउँतिर जाँदा डिकबहादुर तामाङको मृत्यु भइसकेको देखेको हुँ । पछि बुझ्दा डिकबहादुर तामाङ स्कुलबाट घर फर्कँदै गर्दा ठोक्रे खोला भन्ने ठाउँमा जितेन्द्र कार्कीले कुटेको गाउँकै सिर्जना तामाङ र निर्मला न्यौपानेले देखेको भन्ने सुनेको हुँ । म, रवि कार्की र हिमराज कार्की घटनास्थलमा पुग्दा डिकबहादुर तामाङको मृत्यु भइसकेको थियो । प्रतिवादीका बाबु खड्गबहादुर कार्कीलाई डिकबहादुर तामाङले कर्तव्य गरी मारेर कारागार कार्यालय तेह्रथुममा जेल बसी कैद भुक्तान गरेर घरमा गई बसेका थिए, सोही पुरानो रिसइवीका कारण प्रतिवादी जीतबहादुर कार्कीले कुटपिट गरी डिकबहादुर तामाङलाई मारेकोमा विश्वास लाग्छ भन्नेसमेत बेहोराको सर्वजित कार्कीले गरेको घटना विवरण कागज ।
मिति २०६२।११।१९ गते जिल्ला तेह्रथुम ओख्रे गा.वि.स. वडा नं. ५ बस्ने हिमराज कार्की र सर्वे कार्कीले सोलारबाट ब्याट्री चार्ज गर्न मेरो घरमा ल्याएका हुँदा ब्याट्री चार्जमा हाली म र हिमराज कार्की गाउँतिर घुम्न जाँदा खिरा डाँडामा जितेन्द्र कार्की सिमलीको लाठी र खुकुरी बोकेर बसिरहेका रहेछन् । निजले तल को मान्छे पानी पानी भन्दै कराउँदैछ हेर्न जाओ जाओ भनेको हुँदा हामी तल झरेर हेर्दा केही तल चन्द्रमाया तामाङ र सोबिना तामाङ डिकबहादुर तामाङलाई पानी खुवाउँदै थिए । त्यसपछि हामी फर्किएर जितेन्द्र कार्की भएको ठाउँमा गयौं, जितेन्द्र कार्की निजकै घरतिर
गए । त्यसपछि सर्वजित कार्की पनि त्यहीँ आएकोले के भएछ भनी हामी पुनः घटनास्थलमा जाँदा डिकबहादुर तामाङको मृत्यु भइसकेको रहेछ । पछि बुझ्दा जितेन्द्र कार्कीले नै डिकबहादुर तामाङलाई कुटपिट गरी मारेको भन्ने सुनेको हुँ । हाल जितेन्द्र कार्की फरार रहेको हुँदा निजले नै डिकबहादुर तामाङलाई कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्नेसमेत बेहोराको रबिन्द्र कार्कीले गरेको घटना विवरण कागज ।
२०६१ सालमा मेरी श्रीमती लिएर म मोरङ जिल्लाको उर्लाबारीमा बस्दै आएको थिएँ, मेरी आमा र भाइ बहिनीहरू जिल्ला तेह्रथुम ओख्रे गा.वि.स. वडा नं. ५ मा बस्नुभएको थियो, म वैदेशिक रोजगारको लागि कतार जान मेरो भिसा आइसकेकोले वारदात हुनुभन्दा एक हप्ताअगाडि ओख्रे गा.वि.स. वडा नं. ५ स्थित घरमा आएको थिएँ, मिति २०६२।११।१९ गते बिहान खाना खाएर गाई वस्तु फुकाएर ठोक्रे खोलामा पानी खुवाई चरनमा वस्तु छोडेर घर फर्किँदा साँगुरो बाटोमा डिकबहादुर तामाङसँग भेट भयो र निजले मलाई एक्कासी अपशब्द प्रयोग गरी मेरो बायाँ कम्मरमाथि हाने र मैले पनि प्रतिकार गर्दा हात हालाहाल भई उक्त ठाउँ भिरालो भएकोले लड्दै केही तलसम्म पुग्यौं, त्यसपछि मैले छोडेँ, डिकबहादुर तामाङ पनि उठेर कपडा टक्टक्याउँदै पानीमा हात मुख पखाली आफ्नो बाटो लागे, म आफ्नो बाटो गएको हुँ, निजको मृत्यु भयो भन्ने मैले कतार पुगेको एक हप्तापछि थाहा पाएको हुँ, निजलाई मैले कर्तव्य गरी मारेको नहुँदा मलाई अभियोग माग दाबीबाट सफाइ हुनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवादी जीतबहादुर भन्ने जितेन्द्र कार्कीले अधिकारप्राप्त अधिकारीसमक्ष मिति २०७१।१०।१५ गते गरेको बयान ।
मिति २०६२।११।१९ गते दिनको अं. ११:४५ बजेको समयमा प्रतिवादी जितेन्द्र कार्कीले डिकबहादुर तामाङलाई ठोक्रे खोलामा लाठी ढुङ्गा मुढासमेतले कुटपिट गरी मारे भन्ने हल्ला सुनी तत्काल घटनास्थलमा गई हेर्दा डिकबहादुर तामाङको शरीरको विभिन्न भागहरूमा नीलडाम चोटपटक रहेको र रगतपच्छे अवस्थामा मृत्यु भएको देखेको
हुँ । सो घटनापछि जितेन्द्र कार्कीलाई खोजतलास गर्दा फेला नपरेको र हाल पक्राउ परेपछि मात्र निजलाई देखेको हुँ, निज जितेन्द्र कार्कीको बाबुलाई डिकबहादुर तामाङसमेतले कर्तव्य गरी मारेर निज डिकबहादुर तामाङ जेल बसी कैद भुक्तान गरेर ५/६ वर्षअघि मात्र घरमा आई बसेका थिए, जितेन्द्र कार्कीले मेरो बुबा मार्नेलाई त्यसरी नै मार्छु भन्दै ३/४ पटक लाठी मुङ्ग्रो बोकी खेदाउँदा मसमेतले छुट्याएको हो । निजले योजना बनाई बाटो ढुकी एकान्त ठाउँ पारेर डिकबहादुर तामाङलाई कर्तव्य गरी मारेको हो भन्नेसमेत प्रायः एकै मिलान हुने गरी भोला कार्की, छिरमान तामाङ र भिमबहादुर तामाङले मिति २०७१।१०।२३ गते गरेको वस्तुस्थिति मुचुल्का ।
मिति २०६२।११।१९ गते बिहान ११:१५ बजेको समयमा स्कुलबाट घर फर्कँदै गरेका डिकबहादुर तामाङलाई आफ्नो बाबुको हत्या गरेको भन्ने पहिलादेखि नै रिसइवी राखिरहेका प्रतिवादी जीतबहादुर भन्ने जितेन्द्र कार्कीले बाटो ढुकी जिल्ला तेह्रथुम ओख्रे गा.वि.स. वडा नं. ५ स्थित ठोक्रे खोलामा लाठी मुड्कीसमेतले कुटपिट गरी मरणासन्न पारेको र सोही कुटपिटको कारणबाट उसै दिन डिकबहादुर तामाङको मृत्यु भएको हुँदा प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम सजाय गरिपाउँ भन्ने बेहोराको अभियोगपत्र ।
जाहेरवाला टेकबहादुर तामाङ, मृतक डिकबहादुर तामाङ र मेरो घर पैदल हिँड्दा १० मिनेटको फरकमा पर्छ, मिति २०६२।११।१९ गते बिहान म कहीँ नगई आफ्नै घरमा बसेको थिएँ, १ हप्ताअगाडि मात्र म ठुलो बुबाको घर जिल्ला मोरङ उर्लाबारीबाट जिल्ला तेह्रथुम ओख्रे गा.वि.स. वडा नं. ५ स्थित घरमा आएको थिएँ, म ठुलो बुबाको घरमा बसेको थिएँ, मैले वैदेशिक रोजगारमा कतार जानको लागि पासपोर्ट पेस गरेको र तत्काल मेरो भिसा आएको हुँदा आमासँग बिदा मागेर उक्त २०६२।११।१९ गतेका दिन बिहान अं.१०.३० बजेतिर घरबाट हिँडेको हुँ, उक्त दिन डिकबहादुर तामाङको मृत्यु भएको भन्ने गाउँमा कतै मैले सुनिनँ, १ हप्तापछि फोनबाट घरमा कुराकानी हुँदा निजको मृत्यु भएको कुरा सुनेको हुँ, मैले निजलाई कर्तव्य गरी मारेको होइन, मेरा बुबा खड्गबहादुर कार्कीलाई निज डिकबहादुर तामाङसमेतले कर्तव्य गरी मारी २०४५ सालदेखि १० वर्ष कारागारमा बसी कैद भुक्तान गरेर निज घरमा आएर बसेका थिए, उक्त समयमा नेपालमा सङ्कटकाल घोषणा भएको थियो र माओवादीहरूले विदेश जानसमेत नदिने हुँदा गाउँघरमा कसैलाई जानकारी नगराई मेरी आमालाई मात्र बिदा मागेर म विदेश हिँडेको हुँ र सोही दिन डिकबहादुर तामाङको पनि मृत्यु भएको कारण मउपर शङ्का गरी जाहेरी दिएको हुनसक्छ । डिकबहादुर तामाङको मृत्यु के कारणबाट भएको हो मलाई थाहा छैन । म उसै दिन घरबाट हिँडी काठमाडौं गएँ र ऐ. २३ गते गल्फ एयरको विमानबाट विदेश उडेको हुँ । माओवादी द्वन्द्वको समयमा कोही कसैले निजलाई मारेर मलाई फसाउन यो झुठ्ठा जाहेरी दिएको हुनसक्छ भन्नेसमेत बेहोराको प्रतिवादी जीतबहादुर भन्ने जितेन्द्र कार्कीले सुरू अदालतमा मिति २०७१।१०।२५ गते गरेको बयान ।
घटना विवरण कागज, प्रतिवादीको प्रहरीसमक्षको बयान, लासजाँच मुचुल्का तथा शव परीक्षण प्रतिवेदनसमेतका तत्काल प्राप्त प्रमाणहरूको सापेक्षतामा प्रतिवादीले आरोपित कसुरमा इन्कार रही प्रहरीले पढीबाची नसुनाई बयानमा सहिछाप गराएको भनी र मृतकको फोटोसमेत चिन्दिनँ भनी अदालतमा गरेको बयान विश्वसनीय नदेखिएको हुँदा प्रतिवादी निर्दोष छन् भनी अहिले नै भन्न सकिने अवस्था नभएकोले पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाल मुद्दा पुर्पक्षका लागि प्रतिवादीलाई मुलुकी ऐन अ. बं. ११८ नं. को देहाय २ अनुसार थुनामा राख्न रीतपूर्वकको थुनुवा पुर्जी दिई स्थानीय कारागारमा पठाउनु भन्ने बेहोराको सुरू अदालतबाट मिति २०७१।१०।२६ गते भएको पुर्पक्षसम्बन्धी आदेश ।
मिति २०६२।११।१९ गते म तेह्रथुम जिल्लाको फाक्चामारा गा.वि.स. मा मेरो नातेदारको विवाहमा गएको थिएँ, मेरो भाइ डिकबहादुर तामाङ जिल्ला तेह्रथुम ओख्रे गा.वि.स. को रत्नदेवी प्राथमिक विद्यालय बाँसपानीमा शिक्षक काम गर्ने गर्दथे, उक्त दिन शुक्रबार भएको र शुक्रबार बिहान स्कुल लाग्ने हुँदा स्कुल छुट्टी भएपछि भाइ, सिर्जना तामाङ र निर्मला न्यौपाने सँगै घर आउँदै रहेछन् । प्रतिवादी जितेन्द्र कार्की ठोक्रे खोलामा बाटो ढुकेर बसेका रहेछन् र भाइ त्यहाँ आइपुगेपछि प्रतिवादीले भाइलाई पहिले लठ्ठीले हानी लडाएछन् र ठूलो ढुङ्गा ल्याएर किचेछन् । प्रतिवादीले भाइका साथमा आएका सिर्जना तामाङ र निर्मला न्यौपानेलाई भाग भनी भगाएछन् । सिर्जना तामाङ र निर्मला न्यौपानेले सो कुराभन्दा मैले थाहा पाएको हुँ । मेरो निज भाइलाई मार्छु, काट्छु भनी प्रतिवादी जितेन्द्र कार्कीले पहिलादेखि नै भन्ने गर्दथे, त्यसैले निजले नै भाइलाई कर्तव्य गरी मारेको हुनुपर्छ । घटना भएपछि मसमेत प्रतिवादीको घरमा जाँदा निज प्रतिवादी घरमा थिएनन् भन्नेसमेत बेहोराको जाहेरवाला टेकबहादुर तामाङको बकपत्र ।
मिति २०६२।११।१९ गते छिमेकी गोपाल बस्नेतको घरमा गई मल बोक्दै गरेको अवस्थामा तिम्सिना थरकी महिलाले माथि खोलामा जितेन्द्र कार्कीले डिकबहादुर तामाङलाई कुटेर मार्न लागेछन्, मैले देखेको भनेपछि म र मसँगै मल बोक्न गएकी मेरी बडिआमा चन्द्रमाया तामाङ घटनास्थलमा जाँदा काका डिकबहादुर तामाङ पानी पानी भन्दै चिच्याई रहनुभएको थियो । मैले मेरो सल भिजाएर ल्याई पानी खुवाइदिएँ र तपाइँलाई कसले कुट्यो भनी सोध्दा मलाई जितेन्द्र कार्कीले कुटपिट गर्यो भनी बोल्नुभयो, त्यसपछि म हल्लाखल्ला गर्न मास्तिर लागेँ । बडिआमा त्यहीँ रूँगेर बस्नुभयो, एक घण्टापछि म र मेरा दाजु कुमार तामाङ घटनास्थलमा जाँदा काकाको मृत्यु भइसकेको थियो । प्रतिवादी जीतबहादुर भन्ने जितेन्द्र कार्कीले कुटपिट गरेर नै मेरा काकाको मृत्यु भएको हो भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने सोबिना तामाङको बकपत्र ।
मिति २०६२।११।१९ गते म छिमेकी गोपाल बस्नेतको घरमा मल बोक्न गएकी थिएँ, दिउँसो ११.०० बजेतिर माथि ठोक्रे खोलामा मान्छे कुटेको छ अरे भन्ने सुनेर म र मेरी छोरी सोबिना तामाङ घटना भएको ठाउँ ठोक्रे खोलामा जाँदा डिकबहादुर तामाङ पानी पानी भन्दै भुइँमा लडिरहनु भएको थियो । म निजलाई रूँगेर बसेँ, छोरी सबिना पानी लिन गइन् र पानी ल्याएर खुवाउँदा डिकबहादुर तामाङले मलाई जितेन्द्रले कुटपिट गरेको हो भने र त्यसको आधा घण्टापछि निजको मृत्यु भयो भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने चन्द्रमाया तामाङको बकपत्र ।
मिति २०६२।११।१९ गते दिउँसो १२:३० बजेतिर डिकबहादुर तामाङलाई मारे अरे भन्ने हल्ला सुनेर घटना भएको ठाउँ तेह्रथुम जिल्लाको ओख्रे गा.वि.स. वडा नं. ५ स्थित ठोक्रे खोलामा जाँदा डिकबहादुर तामाङ शरीरभरि घाउ चोट लागी मरिरहेका थिए, निज मृतकको साथमा रहेका नाम थाहा नभएका ६।७ वर्षका बहिनीहरूले जीतबहादुर भन्ने जितेन्द्र कार्कीले मृतक डिकबहादुर तामाङलाई पछाडिबाट लठ्ठीले हानी ढुङ्गाले किचे र हामीलाई भाग भने भनी बताएका हुन्, प्रतिवादी जितेन्द्र कार्कीले मृतकलाई कुटेको मैले आँखाले देखिनँ तर डिकबहादुर तामाङको मृत्यु भएपछि जितेन्द्र कार्की घरमा नभएको हुँदा निजले नै डिकबहादुर तामाङलाई मारेको हो कि भन्ने शंका लाग्छ भन्ने बेहोराको वस्तुस्थिति मुचुल्काका भोला कार्कीले गरेको बकपत्र ।
मिति २०६२।११।१९ गते गाउँमा हल्ला भएको हुँदा हामी भेला भई घटना भएको ठाउँमा जाँदा डिकबहादुर तामाङ मरिरहेका थिए । प्रतिवादी जितेन्द्र कार्कीका बाबु खड्गबहादुर कार्कीलाई डिकबहादुर तामाङले मारेको र बाबु मार्नेलाई म पनि मार्छु भनी जितेन्द्र कार्कीले डिकबहादुर तामाङलाई खेदेको देखी मैले प्रतिवादीलाई सम्झाएर कुटपिट गर्न दिइनँ, पहिलेको उक्त रिसइवीका कारण प्रतिवादी जितेन्द्र कार्कीले डिकबहादुर तामाङलाई मारेको जस्तो लाग्छ भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका भिमबहादुर तामाङको बकपत्र ।
प्रतिवादी जितेन्द्र कार्की मेरा माहिँला दाजु हुन्, निज मोरङको उर्लाबारीमा ठूलो बुबाको घरमा बस्ने गर्दथे, निज मिति २०६२।११।१८ गते उर्लाबारीबाट जिल्ला तेह्रथुम ओख्रे गा.वि.स. वडा नं. ५ स्थित आफ्नो घरमा आई मिति २०६२।११।१९ गते नै वैदेशिक रोजगारीमा जानका लागि घरबाट हिँडेका हुन्, डिकबहादुर तामाङलाई कसले मारेको हो मलाई थाहा छैन भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी नगेन्द्र कार्कीको बकपत्र ।
वस्तुस्थिति मुचुल्का तथा घटना विवरण कागज गर्ने मानिसहरूको बकपत्र, जाहेरवालाको बकपत्र र लासजाँच मुचुल्का एवं मिसिल संलग्न फोटोग्राफ तथा शव परीक्षण प्रतिवेदनसमेतको आधार प्रमाणबाट निजको अनुसन्धान अधिकारीसमक्षको बयान समर्थित भएको तथा मृतकले मृत्यु हुनुअघि चन्द्रमाया तामाङ र सोबिना तामाङसमक्ष व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा ११ बमोजिम मृत्युकालीन घोषणाको रूपमा प्रमाणमा लिन मिल्ने देखिएकोले प्रतिवादी जीतबहादुर भन्ने जितेन्द्र कार्कीले मृतक डिकबहादुर तामाङलाई पुरानो रिसइवीसमेतको कारणबाट कुटपिट गरेको र उक्त कुटपिटका कारण मृतकको मृत्यु भएको देखिन आएको हुँदा निजलाई अभियोग मागदाबीबमोजिम ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुने
ठहर्छ । वारदातको पृष्ठभूमिलाई विचार गर्दा प्रतिवादीलाई कानूनले ठहरेको सर्वश्वसहित जन्मकैदको सजाय चर्को हुने र नौ वर्ष कैद गरे पनि न्यायको उद्देश्य पूरा हुने चित्तमा लागेको हुँदा अ. बं. १८८ नं.अनुसार प्रतिवादी जीतबहादुर भन्ने जितेन्द्र कार्कीलाई ९ (नौ) वर्ष कैद सजाय गर्ने राय व्यक्त गरेको छु भन्ने सुरू तेह्रथुम जिल्ला अदालतको मिति २०७२।२।१० को फैसला ।
अधिकारप्राप्त अधिकारीसमक्षको मेरो बयान मैले भनेबमोजिम लेखिएको होइन । उक्त बयान मलाई पढेर नसुनाई सही गर्न बाध्य बनाएकोले मैले सही मात्र गरेको हुँ । मैले अदालतमा गरेको इन्कारी बयान तथा मुद्दाको समग्र विश्लेषण नगरी मलाई सजाय भएको
छ । प्रत्यक्षदर्शी नभएका मौकामा बुझिएका मानिसहरूको भनाइलाई आधार लिई मलाई कसुरदार ठहर गर्न मिल्ने होइन । मैले कुटपिट गरेको कारणबाट मृतकको शरीरमा घाउचोट लागेको भने कहिँकतैबाट पुष्टि भएको छैन । चन्द्रमाया तामाङ र सोविना तामाङले मौकामा कागज गर्दा मृतक अचेत अवस्थामा हुनुहुन्थ्यो हात खुट्टामा नीलडाम थियो‚ विस्तारै पानी भनेकोले पानी ल्याई खुवाउन लाग्दा निजको मृत्यु भएको हो, मृतकले कसैले कुटेको भनी जानकारी गराएनन् भनी लेखाएको अवस्थामा अदालतमा आई बकपत्र गर्दा निजहरूसँग मृतकले व्यक्त गरेको भनी प्रमाण ऐन‚ २०३१ को दफा ११ बमोजिम मृत्युकालीन घोषणाको रूपमा लिई मलाई अभियोग दाबीबमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्ने गरी भएको सुरू फैसला त्रुटिपूर्ण छ । म रोजगारीको लागि विदेश हिँडेको दिन मृतकको मृत्यु भएको कारणले मलाई शंका गरेको हुन सक्छ, सिर्जना तामाङको अदालतसमक्ष बकपत्रसमेत हुन नसकेको अवस्थामा निजले मौकामा लेखाएको बेहोराको आधारमा मलाई सर्वस्वसहित जन्मकैदको सजाय गर्ने गरी भएको सुरू फैसला त्रुटिपूर्ण भएकोले उक्त फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादीको पुनरावेदन पत्र ।
यसमा आफूले मौकामा गरेको बयानको आधारमा कसुर कायम गरी सजाय गरेकोले अन्याय पर्यो भनी लिएको पुनरावेदन जिकिर र निजउपर कसुर कायम गरी अ.बं. १८८ नं.बमोजिम लगाएको ९ वर्षको रायको हकमा समेत सुरू अदालतको इन्साफ विचारणीय देखिँदा अ.बं. २०२ नं. को प्रयोजनार्थ छलफलको लागि पुनरावेदन सरकारी वकिल कार्यालय धनकुटालाई पेसीको जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत धनकुटाको मिति २०७२।९।२३ को आदेश ।
प्रतिवादी जीतबहादुर भन्ने जितेन्द्र कार्कीले मृतक डिकबहादुर तामाङलाई पुरानो रिसइवीसमेतका कारण बाटोमा कुटपिट गरेको र उक्त कुटपिटका कारण केही समयपछि निजको मृत्यु भएको देखिन आएको हुँदा निज प्रतिवादीलाई आरोपित कसुरमा अभियोग मागदाबीअनुसार मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्याएको सुरू तेह्रथुम जिल्ला अदालतको मिति २०७२।०२।१० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत धनकुटाको मिति २०७३।१।१३ को फैसला ।
मेरो संलग्नताबाट मृतकको मृत्यु भएको भन्ने कुरा शंकारहित स्वतन्त्र तवरले अभियोजन पक्षले पुष्टि नगरेको अवस्थामा अधिकारप्राप्त अधिकारीसँगको मेरो स्वइच्छाविपरीत बयानका आधारमा मात्र कर्तव्य ज्यानजस्तो गम्भीर फौजदारी कसुरमा शंका, अनुमानका भरमा कसैलाई करार गर्न मिल्दैन । कानूनी व्यवस्थाको सूक्ष्म रूपले अध्ययन मनन र न्यायिक विश्लेषण नै नगरी म निर्दोष मानिसलाई सर्वश्वसहित जन्मकैदको सजाय गर्ने भनी गरेको प्रत्यक्ष नेपाल कानून तथा न्यायका मान्य सिद्धान्तविपरीत भएको पुनरावेदन अदालत धनकुटाको फैसला त्रुटिपूर्ण भएकोले सो फैसला उल्टी गरी सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी जितेन्द्र कार्कीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
यसमा विश्वास लाग्छ भनी मौकाका व्यक्ति जाहेरवाला टेकबहादुर तामाङ र घटना विवरणका सविना तामाङसमेतले गरिदिएको बकपत्रलाई आधार लिई भएको पुनरावेदन अदालत धनकुटाको फैसला प्रमाण मूल्याङ्कनको रोहमा विचारणीय देखिई फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई पुनरावेदन परेको जानकारी गराई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७४।७।६ को
आदेश ।
नियमबमोजिम पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट विद्वान् अधिवक्ताद्वय श्री शेरबहादुर कार्की र श्री धनेन्द्रबहादुर श्रेष्ठले घटनाका प्रत्यक्षदर्शी भनिएका सिर्जना तामाङसमेतको बकपत्र हुन सकेको छैन; मौकामा कहिँकतै व्यक्त नभएको तर अदालतमा बकपत्र गर्दा उल्लेख भएको कुरालाई मृत्युकालीन घोषणा भनी प्रमाणमा लिन मिल्दैन; प्रतिवादी जितेन्द्र कार्कीलाई कसुरदार कायम गरेको पुनरावेदन अदालत धनकुटाको फैसला मिलेको नहुँदा उल्टी हुनुपर्छ भनी बहस गर्नुभयो । प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट विद्वान् उपन्यायाधिवक्ता श्री गोपाल लामिछानेले प्रतिवादीले अनुसन्धानको क्रममा आफ्नो कुटपिटको कारणले नै डिकबहादुर तामाङको मृत्यु भएको भन्ने स्वीकार गरेका छन्; आफ्नो बाबुलाई मारेको पूर्वरिसिवीका कारणले निजले उक्त वारदात गरेको भन्ने प्रस्ट छ; सो कुरालाई किटानी जाहेरी तथा जाहेरवाला र साक्षीको बकपत्रसमेतबाट पुष्टि भएको छ; अतः सुरू तेह्रथुम जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत धनकुटाबाट भएको फैसला मिलेको हुँदा सदर हुनुपर्छ भनी गर्नुभएको बहस सुनियो ।
यसमा निर्णयतर्फ हेर्दा, जितेन्द्र कार्कीको कुटपिटको कारणबाट डिकबहादुर तामाङको मिति २०६२।११।१९ मा मृत्यु भएको भन्ने टेकबहादुर तामाङको किटानी जाहेरी दरखास्तबाट अनुसन्धान प्रारम्भ भएको प्रस्तुत मुद्दामा डिकबहादुर तामाङलाई कर्तव्य गरी मारेकोले प्रतिवादी जितेन्द्र कार्कीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम सजाय गरिपाउँ भन्ने अभियोगदाबी रहेको पाइयो । उक्त अभियोगदाब पेस भएपछि सुरू तेह्रथुम जिल्ला अदालतबाट निज प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर्याई फैसला भएको देखिन आयो । उक्त फैसला पुनरावेदन अदालत धनकुटाबाट सदर भएकोमा सोउपर चित्त नबुझाई प्रतिवादीको यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।
अब पुनरावेदन अदालत धनकुटाको मिति २०७३।०१।१३ को फैसला मिलेको छ वा छैन र प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. सो सन्दर्भमा हेर्दा, डिकबहादुर तामाङलाई आफूले कर्तव्य गरी मारेको नहुँदा सर्वस्वसहित जन्मकैदको सजाय गर्ने ठहर्याएको पुनरावेदन अदालत धनकुटाको फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने नै प्रतिवादी जितेन्द्र कार्कीको मुख्य पुनरावेदन जिकिर रहेको पाइन्छ । प्रतिवादी जितेन्द्र कार्कीले अनुसन्धान अधिकृतसमक्षको बयानमा "मृतक डिकबहादुर तामाङलाई ढुङ्गा लाठीले कुटेको होइन, हात बक्सिङले र लात्ताले कुटेको हुँ । सोही कारण निजको मृत्यु भएको हो" भनी बयान गरे तापनि "निज डिकबहादुर तामाङलाई मैले कर्तव्य गरी मारेको नहुँदा मलाई अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्ने होइन" भनी कसुरमा इन्कार रही अदालतसमक्ष बयान गरेको देखिन्छ । यी प्रतिवादीउपर मृतकको दाजु जाहेरवाला टेकबहादुर तामाङले मिति २०६२।११।२१ मा किटानी जाहेरी दिए तापनि बकपत्र गर्दा "मैले सुनी थाहा पाएकोले किटानी जाहेरी दिएको हुँ । पहिले पनि मेरो भाइलाई मार्छु, काट्छु भन्दथ्यो । त्यसकारण प्रतिवादीले मेरो भाइलाई कर्तव्यबाट मारेको हुनुपर्छ" भनी स.ज.५ र ७ मा लेखाएको पाइयो । घटनाका प्रत्यक्षदर्शी भनिएकी सिर्जना तामाङले "नचिनेको मानिसले साथमा बोकेर ल्याएको काँचो लठ्ठी र मुड्कीले डिकबहादुर तामाङलाई कुटपिट गरी लडाइदिएको देखिको हुँ" भनी मौकामा कागज गरे तापनि प्रतिवादी पक्राउ परेपछि सनाखत गराएको वा निजलाई अदालतसमक्ष उपस्थित गराई घटना विवरण कागजमा लेखिएको कुरा पुष्टि गराउनु पर्नेमा वादी पक्षले सो गर्न सकेकोसमेत देखिएन । प्रतिवादी कसुरमा इन्कार रही अदालतसमक्ष बयान गरेको तथा प्रत्यक्षदर्शी भनिएकी सिर्जना तामाङले प्रतिवादीलाई कानूनबमोजिम सनाखत गरेको वा अदालतमा उपस्थित भई आफ्नो मौकाको बेहोरा पुष्टि प्रमाणित नगराएको परिप्रेक्ष्यमा यिनै प्रतिवादीले नै मृतकलाई मारेको हुनुपर्छ भनी यकिनन् पुष्टि हुन सक्ने अवस्था रहेको देखिएन ।
३. प्रतिवादीलाई कसुरदार कायम गर्न तेह्रथुम जिल्ला अदालत र पुनरावेदन अदालत धनकुटाले मुख्य प्रमाणको रूपमा ग्रहण गरेको मृत्युकालीन घोषणातर्फ पनि विचार गर्न आवश्यक देखिन्छ । मौकाको कागजहरू र जाहेरी दरखास्तको बेहोरा अध्ययन गर्दा कहिँकतै पनि मृतकबाट अन्तिम समयमा आफ्नो मृत्युको कारणबारे केही उल्लेख भएको थियो भन्ने
देखिँदैन । वादीका साक्षी चन्द्रमाया तामाङले तेह्रथुम जिल्ला अदालतमा बकपत्र गर्दा "जितेन्द्र कार्कीले कुटे भनी घाइते डिकबहादुर तामाङले भनेका थिए । त्यसको केही समयपछि निजको मृत्यु भएको हो" भनी स.ज.५ र ८ मा लेखाएको देखिन्छ । त्यस्तै वादी पक्षको अर्का साक्षी सोविना तामाङले "तपाईलाई कसले यसरी कुटपिट गरी सख्त घाइते बनायो भनी सोध्दा मलाई जितेन्द्र कार्कीले कुटपिट गरी यस्तो बनायो भनेर बोल्नुभयो" भनी (स.ज.५) सुरू अदालतमा बकपत्र गरेको पाइयो । यी कुराहरू अनुसन्धानको अवस्थामा व्यक्त भएका छैनन् । घटना घटेको करिव ९ वर्षपछि मिति २०७१।११।१७ मा भएको बकपत्रमा उल्लेख भएको उपर्युक्त भनाइहरूलाई अदालतले मृत्युकालीन घोषणाको प्रमाणको रूपमा ग्रहण गरी फैसला भएको देखिन आयो ।
४. प्रमाण ऐन, २०३१ को दफा ११ मा व्यवस्था भएको मृत्युकालीन घोषणा सुनिजान्ने प्रमाणको अपवादको रूपमा रहेको भए तापनि यो आफैँमा अकाट्य र निसर्त प्रमाण नभएको भनी सर्वोच्च अदालतबाट समय समयमा सिद्धान्तहरूसमेत प्रतिपादन भएका छन् । सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त एवं अन्य मुलुकको न्यायिक अभ्यासलाई हेर्दा मृत्युकालीन घोषणा प्रमाणमा गाह्य हुनको निम्ति निश्चित सर्तहरू पूरा हुनु आवश्यक देखिन्छ । उदाहरणको लागिः क) मृत्युकालीन घोषणालाई प्रमाणको रूपमा पेस गर्दाको अवस्थासम्ममा सो घोषणा गर्ने व्यक्तिको मृत्यु भइसकेको हुनुपर्ने; ख) घोषणा गर्ने व्यक्तिले आफ्नो मृत्युपूर्व घोषणा गरेको हुनुपर्ने; ग) घोषणा आफ्नो मृत्युको कारण वा परिस्थितिसँग सम्बन्धित हुनुपर्ने; घ) घोषणा गर्ने व्यक्तिले आफू बाँच्न सक्छु कि भन्ने आशा त्यागिसकेको हुनुपर्ने; ङ) मर्ने व्यक्तिले आफ्नो वास्तविक ज्ञानको आधारमा स्वेच्छिक रूपमा गरिएको घोषणा हुनुपर्ने; च) मर्ने व्यक्तिले आफू होसमा हुँदा नै सो घोषणा गरेको हुनुपर्ने; छ) घोषणा गर्ने व्यक्ति मानसिक रूपले सबल रहेको हुनुपर्ने; ज) घोषणा गर्ने व्यक्तिले आफ्नो मृत्युको कारणको बारेमा एकभन्दा बढी फरक फरक घोषणा गरेको हुन नहुने; झ) मृत्युकालीन घोषणा सुन्ने व्यक्ति अदालतमा साक्षीको रूपमा उपस्थित हुनको निम्ति योग्य हुनुपर्ने र ञ) मृत्युकालीन घोषणा मौकामा व्यक्त भई अदालतमा आएर पुष्टि गरिएको हुनुपर्ने आदि कुराहरूलाई मृत्युकालीन घोषणाको अन्तरतत्त्वको रूपमा हेरिन्छ ।
५. उपर्युक्त सैद्धान्तिक सन्दर्भमा प्रस्तुत मुद्दाको मिसिल हेर्दा सोविना तामाङको घटना विवरण कागजमा "मृतक डिकबहादुर तामाङले कोही कसैले मलाई कुटेको भनी जानकारी गराएनन्" भनी लेखाएको देखियो । त्यस्तै चन्द्रमाया तामाङले आफ्नो मौकाको कागजमा "मैले पानी ल्याई खुवाउँदै गर्दा निजको मृत्यु भएको हो । पछि गाउँमा बुझ्दा जितबहादुर कार्कीले मारेको हुन् भन्ने सुनेको हुँ ।" भनी घटना विवरण कागज लेखाएको पाइन्छ । तर पछि अदालतमा बकपत्र गर्ने क्रममा"जितेन्द्र कार्कीले कुटे भनी घाइते डिकबहादुर तामाङले भनेका थिए । त्यसको केही समयपछि निजको मृत्यु भएको हो" भनी निजहरूले आफ्नो मौकाको भन्दा फरक बेहोरा लेखाएको पाइयो । मिति २०६२।११।१९ मा घटना घटेको भनिएको छ । घटना घटेको करिब ९ वर्षपछि मिति २०७१।११।१७ गते भएको बकपत्र आफैँमा विरोधाभाषपूर्ण देखिन
आयो । अतः बकपत्रमा उल्लेख भएको मृत्युकालीन घोषणा मौकाको कागजातबाट पुष्टि हुन नसकेको अवस्था हुँदा सोलाई प्रमाणको रूपमा ग्रहण गर्न मनासिब देखिएन । शङ्काको सुविधा अभियुक्तले पाउने भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त रहेको अवस्थामा शङ्काको भरमा मात्र कर्तव्य ज्यानजस्तो जघन्य अपराधमा प्रतिवादी जितेन्द्र कार्कीलाई कसुरदार ठहर गरी सजाय गर्न मिल्ने देखिन आएन ।
६. तसर्थ, माथि उल्लिखित आधार र कारणहरूबाट प्रतिवादी जीतबहादुर भन्ने जितेन्द्र कार्की आरोपमा इन्कार रहेको, घटनाको प्रत्यक्षदर्शी भनिएकी सिर्जना तामाङको बकपत्र हुन नसकेको, मृत्यकालीन घोषणा भनिएको तथ्य र घोषणासम्बन्धी कुराको प्रामाणिकता पुष्टि हुन सकेको नपाइएको समेतबाट प्रतिवादीउपरको आरोप शंकारहित तवरबाट प्रमाणित हुन आएन । निज प्रतिवादी जीतबहादुर भन्ने जितेन्द्र कार्कीलाई सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर्याएको सुरू तेह्रथुम जिल्ला अदालतबाट मिति २०७२।२।१० मा भएको फैसलालाई सदर गर्ने गरी मिति २०७३।१।१३ मा पुनरावेदन अदालत धनकुटाबाट भएको फैसला मिलेको नदेखिँदा उल्टी भई प्रतिवादी जीतबहादुर भन्ने जितेन्द्र कार्कीले अभियोगदाबीबाट सफाइ पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम सुरू एवं पुनरावेदन अदालतको फैसला उल्टी भई प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउने ठहरी फैसला भएकाले थुनामा रहेका प्रतिवादी जीतबहादुर भन्ने जितेन्द्र कार्कीलाई आजै थुनामुक्त गरिदिनु भनी सुरू तेह्रथुम जिल्ला अदालतमा लेखी पठाइ दिनू ....................१
प्रतिवादी जितेन्द्र कार्कीलाई आजै अलग्गै आदेशद्वारा थुनामुक्त गरिएकोले सुरू तेह्रथुम जिल्ला अदालतको मिति २०७२।२।१० को फैसलाबमोजिमको लगत कायम राख्नु नपर्ने हुँदा सोही बेहोरा जनाई लगत कट्टा गर्न भनी सुरू तेह्रथुम जिल्ला अदालतमा लेखी पठाउनू ........................................................२
प्रतिवादी जितेन्द्र कार्कीको नाउँमा कुनै जग्गा जमिन नभएको भनी मिति २०७२।८।१६ मा अंश सर्वस्वको मुचुल्का भई आएको देखिँदा सो सम्बन्धमा केही बोलिरहनु परेन ..............................................३
सरोकारवालाले यो फैसलालगायतका मिसिल संलग्न कागजातहरूको नक्कल माग गरे नियमानुसार लाग्ने दस्तुर लिई नक्कल दिनू ..................................४
प्रस्तुत फैसलाको विद्युतीय प्रति सफ्टवयर प्रणालीमा राख्नको निम्ति कम्प्युटरको डाटावेसमा इन्ट्री गर्नू ..५
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ..........६
उक्त रायमा सहमत छु ।
न्या. ईश्वरप्रसाद खतिवडा
इजलास अधिकृत:- शिवप्रसाद आचार्य
इति संवत् २०७५ साल भाद्र २१ गते रोज ५ शुभम् ।