शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०३२६ - बन्डापत्र बदर दर्ता बदर दर्तासमेत

भाग: ६१ साल: २०७६ महिना: मंसिर अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपककुमार कार्की

माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही

फैसला मिति : २०७६।६।७

०७२-CI-०९६७

 

मुद्दाः- बन्डापत्र बदर दर्ता बदर दर्तासमेत

 

निवेदक / वादी : अशोककुमार लामाको बुहारी सुनिलकुमार लामाको पत्‍नी का.जि.का.म.न.पा. वडा नं. ६ बौद्ध बस्ने नानु लामा

विरूद्ध

विपक्षी / प्रतिवादी : पेमा ध्याम्जो लामाकी बुहारी स्व. अशोककुमार लामाको पत्‍नी ऐ.भ. घर नं. ४७ मा बस्ने श्रीमती सोममाया लामासमेत

 

अघिल्ला पुस्ताका अंशियारले आफ्नो अंश हक छुट्‍याउने नाममा अंश नलिने गरी वा अति कम सम्पत्ति लिई निजको सम्पत्तिमा हक लाग्ने सन्तानहरूको हक मेटिने परिणाम सिर्जना गर्न नमिल्ने ।

(प्रकरण नं.५)

 

निवेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री श्यामप्रसाद खरेल, श्री रामनाथ मैनाली र श्री नारायणबल्लभ पन्त तथा विद्वान् अधिवक्ताहरू श्री गणेशबहादुर थापा र श्री बिक्रम राई

विपक्षी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू र विद्वान्‌ अधिवक्ता श्री सन्तोषकुमार पाण्डे

अवलम्बित नजिर :

ने.का.प.२०६८, अंक १०, नि.नं.८७०१

ने.का.प.२०७१, अंक ११, नि.नं.७२७९

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्ने:-

माननीय न्यायाधीश श्री नरिश्वर भण्डारी

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः- 

माननीय न्यायाधीश श्री विदुरविक्रम थापा

माननीय न्यायाधीश श्री नित्यानन्द पाण्डेय

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत दोहोर्‍याई हेर्ने निस्सा प्राप्त भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवम् ठहर निम्नानुसार रहेको छः-

विपक्षी सासू सोममाया लामाको नाउँमा दर्ता रहेका जग्गाहरू रोक्का राख्‍ने सिलसिलामा मोही विपक्षी सासू सोममाया लामा जग्गाधनी पशुपति महास्नान गुठी जनिई मालपोत कार्यालय चाबहिलमा दर्ता रहेको काठमाडौं ६ सिट नं. १०६८-०३ को कि.नं. ३२६ को क्षे.फ. १-५-२-० जग्गा कि.का गरी कि.नं. ३९७ को क्षे.फ. ०-१०-३-० जग्गा विपक्षी पति सुनिलकुमार लामाको नाउँमा र ऐ.ऐ. कि.न. ३९६ को क्षे.फ. ०-१०-३-० देवर शुशिल लामाको नाउँमा मेरोसमेत अंश हक लाग्ने सगोलको उक्त पैतृक सम्पत्ति आपसमा दूषित अंशबन्डा गरी विपक्षी सासू सोममायाको नाउँमा भने सम्पूर्ण रैकर बौद्धनाथ मन्दिरसँगै रहेको काठमाडौं नगर ६, सिट नं. १०२८-२३ को कि.न. ३१९ को क्षे.फ. ०-२-३-३ जग्गा घरसमेत, ऐ.ऐ. सिट नं. १२८-१८ को कि.नं. २४५ को क्षे.फ. ०-९-२-२ जग्गा ऐ.ऐ. कि.नं. २४७ को क्षे.फ. ०-४-१-१- जग्गा र ऐ.ऐ. कि.नं. ४१४ को क्षे. फ. ३१.८० व.मि. जग्गासमेत आफ्नो नाउँमा राखी छोराहरूलाई भने जग्गाधनी पशुपतिनाथ महास्नान गुठी मोही विपक्षी सोममाया लामा जनिएको काठमाडौं नगर ६, सिट नं. १०६८-०३ को कि.नं. ३२६ को क्षे.फ. १-५-२-० जग्गा कि.का. गरी बौद्धदेखि टाढा वडा नं. ८ को सिमामा पर्ने कम मूल्य कम क्षे.फ. ऐ.ऐ. कि.नं. ३९७ को क्षे.फ. ०-१०-३-० जग्गा विपक्षी देवर शुशिल लामाको नाउँमा राखी मिति २०६९।९।२९ र.नं. ३१६४ ख को अंश बन्डाको लिखतमार्फत पैतृक सम्पत्ति बाँडफाँड गरी मेरो पति सुनिलकुमार लामाले बुझेको सम्पत्ति विपक्षी सोममाया लामाले प्राप्त गरेको सम्पत्तिको तुलनामा अत्यन्त कम मूल्य, कम क्षेत्रफल, महत्त्वहीन, मूल्यहीन, घरसमेत नपरेको हुँदा पैतृक सम्पत्ति एकलौटी हडप्ने र मलाई निरअंशी बनाउने मेरो अंश हकलाई निस्क्रिय, कुण्ठित तथा संकुचित पार्ने र नोक्सान पुर्‍याउने उद्देश्यबाट उक्त अंशबन्डापत्रमा उल्लिखित दुवै जनाको सम्पत्तिलाई एकै ठाउँमा राखी त्यसलाई न्यायोचित रूपले दुई भाग लगाई एक भाग विपक्षीमध्येको सुनिलकुमार लामाको नाउँमा कायम गरी त्यसलाई पनि दुई भाग लगाई त्यसको आधा भागसम्म मैले प्राप्त गर्ने अंश हकसम्म मेरो नाउँमा कायम गरी मेरो नाउँमा दर्तासमेत गरिपाउँ भन्‍ने फिराद दाबी । 

वादीको दाबी गरेको मिति २०६९।९।२९ गतेको मितिमा उल्लिखित र.न. बाट हामी अंशियारले कुनै पनि अंशबन्डा गरेको होइन छैन । विपक्षीको अंशहक मार्ने नियतले आफ्नो परिवारसँग अंशबन्डा गरेको नभई विपक्षीकै सल्लाह सहमतिअनुसार अंशबन्डा गरेको, वादीकै सल्लाहअनुसार घरमा लागेको ऋणकर्जा तिर्न बुझाउन आमालाई नै जिम्मेवारी दिई आफू दुई भाइले केही कम नै जग्गा लिई बन्डा गरेकोमा पछि मनमा कुनियत चिताई विपक्षीले सबैलाई दु:ख दिन यो झुठा मुद्दा गरेको हो । वादीले दाबी लिएको कानूनी व्यवस्था आकर्षित नहुने, दाबी लिएको मितिमा हामीले कुनै बन्डापत्र नै नगरेकोसमेतका आधारमा फिराद दाबी पुग्न नसक्ने भएकोले झुठा दाबी नपुग्ने ठहर गरिपाउँ भन्‍ने प्रतिवादी सुनिलकुमार लामाको प्रतिउत्तर जिकिर ।

विपक्षीको अंशहक मार्ने नियतले मूल अंशियारबिचमा अंशबन्डा गरेको नभई विपक्षीकै सल्लाह सहमतिले बराबर जग्गा लिई बन्डा गरी चित बुझाई अलग भिन्‍न भई बस्ने कुरा गरी निजकै उपस्थितिमा अंशबन्डा गरेको हो । विपक्षीले पति पत्नीबिचमा मन मुटाव गरी मनमा कुनियत चिताई विपक्षीले सबैलाई दु:ख दिन यो झुठ्ठा मुद्दा गरेको हो । दाबी लिएको मितिमा हामीले कुनै बन्डापत्र नै नगरेकोसमेतका आधारमा फिराद दाबी पुग्न नसक्ने भएकोले झुठ्ठा दाबी नपुग्ने ठहर गरिपाउँ भन्‍ने प्रतिवादी शुशिल लामा र सोममाया लामासमेतको संयुक्त प्रतिउत्तर जिकिर ।

वादीले दाबी लिएको मिति २०६९।९।२८ मा प्रतिवादीहरूबिच अंश बन्डा पारित नभएको र मिति २०६९।१०।२ मा पारित अंशबन्डाको भाग बन्डा व्यावहारिक र मानवीय हिसाबले समेत न्यायोचित नै हुँदा सो लिखत बदर गरी सबै सम्पत्तिलाई एकै ठाउँमा मिलाई वादीको अंश भाग छुट्टयाई पाउँ भन्‍नेसमेतको वादीको फिराद दाबी पुग्न सक्तैन भन्‍नेसमेत बेहोराको सुरू अदालतको मिति २०७०।११।१३ गतेको  फैसला । 

विपक्षीहरूले मेरो पतिलाई कमजोर, कम मूल्य पर्ने जग्गा र आफूहरूलाई अब्बल बढी मूल्य पर्ने सम्पत्ति बाडफाँड गरी मिति २०६९।०९।२९, र नं.३१६४(ख) बाट दूषित अंशबन्डा गरेको भनी मैले दाबी लिएकोमा कारबाही हुँदा विपक्षी प्रतिवादीहरूले अंशबन्डा मिति २०६९।१०।२ मा भएको भनी जिकिर लिएको भए पनि उक्त विवादित बन्डापत्र, त्यसको र.नं., मगाई आएको मालपोतको कागजात र त्यसमा उल्लिखित प्रतिवादीहरू र त्यसमा उल्लिखित जग्गा जमिनको तथ्यमा भने कुनै विवाद नरहेको कुरामा विपक्षीसमेत सहमत भई कारबाही भएको कुरा मिसिलबाट प्रस्ट देखिन्छ । साथ साथै त्यो बन्डापत्रको र नं. ३१६४ (ख) को सम्बन्धमा पनि कुनै विवाद नरहिरहेको कुरालाई घुमाउरो ढंगले फैसलामा उल्लेख गरेको देखिन्छ जुन सरासर तथ्यमा त्रुटि गरी गैरकानूनी ढंगले सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला अन्यायपूर्ण हुँदा मेरो फिराद दाबी तथा पुनरावेदनपत्र मागबमोजिम प्रतिवादीहरूबिच असमान तथा जालसाजीपूर्ण ढंगले मिति २०६९।१०।२ मा भएको र.नं. ३१६४(ख) को बन्डापत्र लिखतलाई बदर गरी सम्पूर्ण सम्पत्तिलाई एक ठाउँमा राखी त्यसलाई ३ भाग लगाई त्यसको १ भाग मेरो पति विपक्षी सुनिलकुमार  लामाको नाउँमा कायम गरी त्यसलाई पनि २ भाग लगाई त्यसको १ भाग मेरो नाउँमा हक कायम गरी न्याय इन्साफ पाउँ भन्‍नेसमेत बेहोराको नानु लामाको पुनरावेदन पत्र ।

यसमा अंशियारहरूका बिच भएको बन्डा पत्रमा सबै अंशियारका बिच समान सम्पत्ति लिनु दिनु नगरी घटी बढी लिनु दिनु गरेको देखिएको अवस्थामा प्रमाण मूल्याङ्कनको रोहमा सुरूको फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नु भन्‍नेसमेत बेहोराको मिति २०७१।०७।१३ गतेको आदेश । 

प्रतिवादीहरूबिच मिति २०६९।१०।२ मा पारित बन्डापत्रको लिखत बदर गरी सम्पूर्ण सम्पत्तिबाट अंश भाग कायम गरिपाउँ भन्‍नेसमेत वादीको दाबी पुग्न नसक्ने ठहरी भएको सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७०/११/१३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ र पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत पाटनबाट मिति २०७२।०२।१८ मा भएको फैसला ।

सुरू अदालतले मलाई हराई फैसला गर्दा कुनै कानूनी व्यवस्था तथा प्रतिपादित सिद्धान्तको आधारमा नगरी केवल प्रतिवादीको जिकिरलाई आधार बनाई भावनात्मक तथा पक्षपात ढंगले गरेको फैसलालाई नै पुनरावेदन अदालतले सुरू सदर गरेको छ । कुनै पनि न्यायिक फैसला कानूनी व्यवस्था, नजिर, प्रतिपादित सिद्धान्तमा आधारित हुनुपर्छ, न कि भावना र मानवीयतामा यस सम्बन्धमा निर्णय गर्दा भावनामा अडेर होइन कि कानूनको आधारमा हुनुपर्छ भनी ने.का.प.२०४३, नि.नं. २७४०, पृष्ठ ५४२ मा सिद्धान्तसमेत प्रतिपादन भएको छ । न्यायकर्ताले विद्यमान अंशबन्डा महलको १ नं. मा भएको “जियजियैको अंश गर्नुपर्छ” भन्ने र ऐ.ऐ. को २ नं. बमोजिम “अंश पाउने सबैको बराबर अंश गर्नुपर्छ” भन्ने कानूनी व्यवस्था र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तहरूको अनुशरण नगरी गैरकानूनी फैसला गरेको कुरा प्रथमदृष्टिबाटै स्पष्ट हुन्छ । मलाई विपक्षीहरूले घरबाट निकाला गरिदिइसकेपछि मैले कुनै पनि बेला अंशमा दाबी गरी धेरै सम्पत्ति दिनुपर्छ भन्ने आशंकाले विपक्षी आमा छोराहरू मिली आपसमा मिलोमतो गरी मेरो अंश हकमा अंश हक मार्न मिति २०६९/१०।२ मा र.नं.३१६४(ख) को बन्डापत्र खडा गरी महङ्गो, धेरै क्षेत्रफल भएको काठमाडौं बौद्ध स्थित बौद्ध मन्दिर परिसरभित्र रहेको क्षे.फ.१-२-०-२ को रैकर जग्गा र त्यसमा बनेको इँटा सिमेन्ट जडान भएको बौद्धनाथ स्तुपा मन्दिरसँगै जोडिएको ३ तल्ले २ थान घर विपक्षी सोममाया लामाको नाउँमा राखी जग्गाधनी पशुपति महास्तान गुठीको अत्यन्त कम क्षेत्रफल भएको मोही हक, कम मूल्यको, आफू बस्ने घरसमेत नलिई बौद्धनाथ स्तुपा मन्दिरदेखि टाढा रहेको काठमाडौं नगर-६, सिट नं.१०६८-०३ को कि.नं. क्षे.फ.०-१०-३-० जग्गासम्म विपक्षी पति सुनिलकुमार  लामाले आफ्नो, नाउँमा राखी बन्डापत्र गरेको छ, जुन कार्य अंशबन्डा महलको १, २, १५ र ३२ नं.को कानूनी व्यवस्थाविपरीत छ । यसरी विपक्षीहरूको उक्त बन्डापत्रको काम कार्य अशियारहरूबिच बराबरी र जियजियैको अंश गर्नुपर्छ, नगरे बदर हुन्छ भन्ने कानूनी व्यवस्था र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत छ । यसरी मलाई घरबाट मिति २०६९ साल श्रावण महिनातिर निकाला गरी विपक्षी पति सुनिलकुमार लामाको नाउँमा अत्यन्त कम, कमसल, घर नभएको गुठीको मोही हक मात्र रहेको जग्गा मिति २०६९।१०।२ मा बन्डापत्रमार्फत लिएजस्तो गरी विपक्षीहरू सगोलमै रही बसी केवल मैले अंशको दाबी गरेको अवस्थामा विपक्षी पति सुनिलकुमार लामाको नाउँमा कमसल र घरसमेत नभएको गुठीको (रैकर नहुने) मोही हक जग्गाबाट मात्र अंश पाओस् भनी कलुषित भावनाबाट प्रेरित भई योजना बनाई मेरो अंश हक मार्ने नियतले उक्त बन्डापत्र खडा गरेको प्रस्ट छ । अन्यथा सगोलमा बसिरहेको विपक्षीहरूबिच बन्डापत्र खडा गरिरहनु पर्ने कुनै कारण देखिँदैन । विपक्षीहरूको प्रभावकारी आयस्रोत नभएकोले प्रतिवादी सोममाया लामाले बढी  सम्पत्ति राखेको उचित हुने भनी सुरू काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाई सदर गरेको पुनरावेदन अदालतको फैसला कानूनसङ्गत, न्यायसङ्गत तथा तर्कसङ्गत देखिँदैन । मलाई घरबाट निकाला गरिसकेपछि विपक्षीहरू सगोलमै बसिरहेकै अवस्थामा हतार हतार विपक्षीहरूबिच असमान ढंगले गैरकानूनी बन्डापत्र गर्नुपर्ने कुनै कारण छैन । केवल मैले ती सम्पत्ति माथि अंशमा दाबी गर्छ भन्ने आशंकाले मात्र विपक्षीहरूले सम्पत्ति जोगाउन यस्तो असमान ढंगको दूषित बन्डापत्र गरेको स्पष्ट छ । पुनरावेदन अदालत पाटनले फैसला गर्दा अंशबन्डा महलको २८ नं.बमोजिम प्रतिवादीहरूले असल कमसल मिलाई अलिकति बढी सम्पत्ति आमा सोममाया लामाको नाउँमा बन्डा गरेको मिल्ने नै हो भनी निर्णय आधारको रूपमा लिएको छ । जबकि यो दफाको कानूनी व्यवस्थालाई हेर्दा अंशियारहरूबिच बन्डा गर्दा घटीबढी गर्न पाउने छुट दिएको पनि छैन । बरू बन्डा गर्दा कुनै अंशियारलाई कमसल र कुनै अंशियारलाई असल मात्र नपरोस्, नहोस् भनी कानूनी व्यवस्था गरिदिएको छ । पुनरावेदन अदालत पाटनले ऐ. महलको २८ नं. को कानूनी व्यवस्थालाई गलत ढंगले आकर्षित गरी मलाई हराउन दुरूपयोग गरेको स्पष्ट देखिन्छ, जुन गैरकानूनीपूर्ण, अन्यायपूर्ण तथा पक्षपातपूर्ण छ । अत: कानूनी रीत नपुर्‍याई अंश पाउने अंशियारले घटी अंश पाउन भन्ने उद्देश्य राखी विपक्षीहरू असमान रूपमा बन्डापत्र गरेको प्रस्ट भएको हुँदा उक्त बन्डापत्रको लिखत सदर हुने गरी भएको फैसला उल्टी गरिपाउँ भन्नेसमेत बेहोराको नानु लामाको पुनरावेदनपत्र ।

यसमा मिति २०६९।१०।२ को बन्डापत्र अंशबन्डाको महलको २ नं.बमोजिम भएको नदेखिएकोले पुनरावेदन अदालत पाटनबाट भएको फैसलामा मुलुकी ऐन अंशबन्डाको महलको २ नं. र प्रमाण ऐन, २०३१ को दफा ३, ५४ को व्याख्यात्मक त्रुटि एवम्‌ ने.का.प.०७१ अंक ११ नि.नं. ९२७९ (बिक्रीरत्न शाक्यसमेत विरूद्ध कुलरत्न शाक्यसमेत भएको अंश चलन मुद्दा) मा यस अदालतको पूर्ण इजलासबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) र (ख) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । प्रत्यर्थी र मिसिलसमेत झिकाई आएपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतबाट मिति २०७२।०८।१५ मा भएको आदेश ।

नियमबमोजिम आजको पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल, विद्वान् वरिष्ठ अधिवक्ता श्री रामनाथ मैनाली र विद्वान् वरिष्ठ अधिवक्ता श्री नारायणबल्लभ पन्त तथा विद्वान् अधिवक्ता श्री गणेशबहादुर थापा र विद्वान् अधिवक्ता श्री बिक्रम राईले हाम्रो पक्षलाई ठग्न प्रतिवादीहरूको मिलेमतोमा असमान बन्डापत्र भएको छ । प्रतिवादीहरूले गरेको अंशबन्डा रकमका आधारमा, क्षेत्रफलका आधारमा र घरजग्गा कर मूल्याङ्कनका आधारमा समेत समान नभएको पुष्टि भइरहेको अवस्थामा सोतर्फ विचार नै नगरी मिति २०६९।१०।२ मा पारित अंश बन्डाको भाग बन्डा व्यावहारिक र मानवीय हिसाबले समेत न्यायोचित नै हुँदा सो बन्डापत्र लिखत बदर गरी सबै सम्पत्तिलाई एकै ठाउँमा मिलाई वादीको अंश भाग छुट्टयाई पाउँ भन्‍नेसमेतको वादीको फिराद दाबी पुग्न सक्तैन भन्‍ने सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७०।११।१३ गतेको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको मिति २०७२।०२।१८ को फैसला उल्टी गरी मिति २०६९।१०।२ मा पारित अंशबन्डाको लिखत बदर गरी उक्त अंशबन्डापत्रमा उल्लिखित सम्पत्तिलाई एकै ठाउँमा राखी तीन भाग लगाई त्यसको एक भाग विपक्षीमध्येको सुनिलकुमार  लामाको नाउँमा कायम गरी त्यसलाई पनि दुई भाग लगाई त्यसको आधा अंश हक हाम्रो पक्षको नाउँमा कायम गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

यसैगरी प्रत्यर्थीका तर्फबाट उपस्थित हुनुभएका विद्वान्‌ अधिवक्ता श्री जयनारायण पौडेल र विद्वान्‌ अधिवक्ता श्री सन्तोषकुमार पाण्डेले विपक्षीको समेत सहमति र मन्जुरीले बन्डापत्र गरेको हो । मूल अंशियारहरूबिच कानूनबमोजिम अंशबन्डा भएको छ, बन्डापत्रमा मूल अंशियारले विवाद जनाएको अवस्था पनि छैन । काम गर्नसक्ने र नसक्नेका बिचमा विभेद हुनसक्छ । बुढी भएकी बिरामी आमालाई केही बढी राखेर गरेको बन्डापत्र न्यायोचित भएकोले उक्त बन्डापत्र बदर हुन नसक्ने ठहराई काठमाडौं जिल्ला अदालतबाट मिति २०७०।११।१३ गते भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको मिति २०७२।०२।१८ को फैसला मिलेको हुँदा पुनरावेदन अदालत पाटनबाट मिति २०७२।०२।१८  मा भएको फैसला सदर गरिपाउँ भनी बहस प्रस्तुत गर्नु भयो ।

विद्वान् कानून व्यवसायीको बहस बुँदालाई मध्यनजर गरी मिसिल संलग्न कागज प्रमाणको अध्ययन गरी हेर्दा पुनरावेदन अदालत पाटनको फैसला मिले नमिलेको के रहेछ ? पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा विपक्षीहरूले मेरोसमेत अंश हक लाग्ने सगोलको पैतृक सम्पत्ति आपसमा दूषित अंशबन्डा गरी बौद्धनाथ मन्दिरसँगै रहेको काठमाडौं नगर ६, सिट नं. १०२८-२३ को कि.नं. ३१९ को क्षे.फ. ०-२-३-३ जग्गा घरसमेत, ऐ.ऐ. सिट नं. १२८-१८ को कि.नं. २४५ को क्षे.फ. ०-९-२-२ जग्गा ऐ.ऐ. कि.नं. २४७ को क्षे.फ. ०-४-१-१- जग्गा र ऐ.ऐ. कि.नं. ४१४ को क्षे. फ. ३१.८० व.मि. सम्पूर्ण रैकर जग्गा विपक्षी सासू सोममायाले आफ्नो नाउँमा राखी छोराहरूलाई भने जग्गाधनी पशुपतिनाथ महास्नान गुठी मोही विपक्षी सोममाया लामा जनिएको काठमाडौं नगर ६, सिट नं. १०६८-०३ को कि.नं. ३२६ को क्षे.फ. १-५-२-० जग्गा कि.का. गरी बौद्धदेखि टाढा वडा नं. ८ को सीमामा पर्ने कम मूल्य कम क्षेत्रफल ऐ.ऐ. कि.न. ३९७ को क्षे.फ. ०-१०-३-० जग्गा विपक्षी देवर शुशिल लामाको नाउँमा राखी मिति २०६९।९।२९ र.नं. ३१६४ ख को अंशबन्डाको लिखतमार्फत पैतृक सम्पत्ति बाँडफाँड गरी विपक्षी सोममाया लामाले प्राप्त गरेको सम्पत्तिको तुलनामा मेरो पति सुनिलकुमार लामाले बुझेको सम्पत्ति अत्यन्त कम मूल्य, कम क्षेत्रफल, महत्त्वहीन, मूल्यहीन, घरसमेत नपरेको हुँदा पैतृक सम्पत्ति एकलौटी हडप्ने र मलाई निरअंशी बनाउने, मेरो अंश हकलाई निष्क्रिय, कुण्ठित तथा संकुचित पार्ने र नोक्सान पुर्‍याउने उद्देश्यबाट गरिएको बन्डापत्र बदर गरी उक्त अंशबन्डापत्रमा उल्लिखित सम्पत्तिलाई एकै ठाउँमा राखी त्यसलाई पुन: बराबरी मिलाई न्यायोचित रूपले दुई भाग लगाई त्यसको एक भाग विपक्षीमध्येको सुनिलकुमार लामाको नाउँमा कायम गरी त्यसको आधा भाग मैले प्राप्त गर्ने अंश हक मेरो नाउँमा कायम गरी दर्तासमेत गरिपाउँ भन्‍ने फिरादपत्रबाट उठान भएको प्रस्तुत मुद्दामा विपक्षी वादीको सल्लाह सहमतिअनुसार बन्डा गरेको, घरमा लागेको ऋण कर्जा तिर्न बुझाउन आमालाई जिम्‍मेवारी दिई दुई भाइले कम नै जग्गा लिई बन्डा गरेकोमा पछि कुनियत चिताई विपक्षीले मुद्दा गरेको हुँदा दाबी पुग्न नसक्ने गरिपाउँ भन्‍नेसमेत प्रतिवादीहरूको प्रतिउत्तर जिकिर रहेकोमा बन्डापत्र बदर हुन नसक्ने ठहराई काठमाडौं जिल्ला अदालतबाट मिति २०७०।११।१३ गते भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको मिति २०७२।०२।१८ को  फैसलामा चित्त नबुझाई वादीको पुनरावेदन परेको देखिन्छ ।

३. अशोककुमार लामाको शेषपछि निजकी श्रीमती सोममाया लामा-१ र छोराहरू सुशिल लामा-१, सुनिलकुमार लामा-१ गरी मूल तीनजना (आमा छोरा) मूल अंशियारहरू रहेकोमा कुनै विवाद देखिँदैन । प्रतिवादीमध्येको सुनिलकुमार लामाको अंश हकतर्फबाट हक खाने निजकी श्रीमती यी वादी । पुनरावेदक रहेको अवस्था देखिन्छ । प्रतिवादीहरू सोममाया लामा-१, सुशिल लामा-१, सुनिलकुमार लामा-१ गरी मूल तीनजना अंशियारहरूका बिचमा मिति २०६९।१०।२ र.नं. ३१६४(ख) बाट सगोलको सम्पत्ति बन्डा गर्ने गरी बन्डापत्र पारित भएको देखिन्छ । बन्डापत्रमा उल्लिखित सम्पत्ति हेर्दा सोममाया लामाको भागमा कि.नं. ३१९ क्षेत्रफल ०-२-३-३ कि.नं. २४५ क्षेत्रफल ०-९-२-२, कि.नं. २४७ क्षेत्रफल ०-४-१-१ र कि.नं. ४१४ क्षेत्रफल ००३१.८० व.मि. गरी जम्मा क्षेत्रफल ०-१७-३-२ जग्गा रहेको देखिन्छ भने प्रतिवादी सुनिलकुमार लामाका भागमा कि.नं. ३२६ मध्येबाट क्षे.फ.०-१०-३-० र अर्का प्रतिवादी सुशिल लामाको भागमा ऐ. कि.नं. ३२६ मध्येबाट ०-१०-३-० जग्गा रहने गरी बन्डा भएको देखिन्छ ।

४. प्रतिवादीहरू आमा सोममाया लामा-१ र छोराहरू सुशिल लामा-१, सुनिलकुमार लामा-१ गरी मूल तीनजना (आमा छोरा) मूल अंशियारहरू रहेको देखिन्छ । मूल अंशियार प्रतिवादीहरू आमा सोममाया लामा र छोराहरू सुनिलकुमार लामा, सुशिल लामाबिच बन्डापत्र पारित गर्दा आमा सोममाया लामाका भागमा बढी जग्गा र घरसमेत पर्ने गरी र छोराहरूको भागमा केही थोरै जग्गाहरू मात्र पर्ने गरी बन्डा भएको देखिन्छ । प्रस्तुत मुद्दाको मुख्य विवाद प्रतिवादीहरूको मिलेमतोमा समान अंशियारका बिचमा असमान बन्डापत्र भएको छ । उक्त बन्डापत्रले आफ्नो अंश हकलाई निष्क्रिय, कुण्ठित तथा संकुचित पार्ने र नोक्सान पुर्‍याउने उद्देश्यबाट गरिएको हुँदा बन्डापत्र बदर गरिपाउँ भन्‍ने रहेको देखिन्छ ।

५. यी वादी प्रतिवादीहरूको सम्पूर्ण बन्डा गर्नुपर्ने सम्पत्ति २-७-१-२ जग्गा र २ (दुई) वटा घरसमेत रहेको देखिन्छ । उक्त सम्पत्ति ३ अंशियारलाई बराबर भाग लगाउँदा ०-१३-०-२ जग्गा मात्र पर्न आउँछ । यी वादीका पति सुनिलकुमार लामाको भागमा ०-१०-३-० जग्गा मात्र पर्ने गरी र आमा सोममाया लामाको भागमा ०-१७-३-२ जग्गा र दुईवटा घरसमेत पर्ने गरी बन्डा गरेको देखिएको अवस्थामा क्षेत्रफलको हिसाबले उक्त बन्डापत्र असमान रहेको देखिन्छ । यसैगरी उक्त बन्डापत्र पारित गर्दा राखेको मूल्यको हिसाबले हेर्दा यी वादीका पति सुनिलकुमार लामाको भागमा ८२,७७,५००।- मूल्य पर्ने गरी र आमा सोममाया लामाको भागमा १,७२,०४,३७५।- मूल्य पर्ने गरी बन्डा गरेको देखिएको अवस्थामा मूल्यको हिसाबले पनि उक्त बन्डापत्र असमान रहेको देखिन्छ । यसरी अघिल्ला पुस्ताका अंशियारले आफ्नो अंश हक छुट्‍याउने नाममा अंश नलिने गरी वा अति कम सम्पत्ति लिई निजको सम्पत्तिमा हक लाग्ने सन्तानहरूको हक मेटिने परिणाम सिर्जना गर्न मिल्दैन । यसबाट प्रतिवादीहरूले समान अंशियारका बिचमा गरेको असमान बन्डापत्रले वादीको अंश हकमा असर पार्ने नै देखिन्छ ।

६. यस सम्बन्धमा मुलुकी ऐन अंशबन्डाको महलको १ नं. मा “अंशबन्डा गर्दा बाबु आमा स्वास्नी छोराहरूको जियजियैको अंश गर्नुपर्छ भन्ने उल्लेख छ” भने अंशबन्डाको महलको २ नं. मा “यस महलमा अन्यथा लेखिएमा बाहेक यसै महलको १ नम्बरबमोजिम अंशबन्डा गर्दा अंश पाउने सबैको बराबर अंश गर्नुपर्छ” भन्‍ने व्यवस्था रहेको छ । प्रस्तुत मुद्दाका पक्षहरूका बिच अंशबन्डा गर्दा जियजियैको अंश गरेको भए पनि आमा सोममाया लामाका भागमा बढी जग्गा र घरसमेत पर्ने र छोराहरूको भागमा थोरै जग्गाहरू मात्र पर्ने गरी बन्डा भएको देखिन्छ । यसरी भएको बन्डा प्रस्तुत कानूनी व्यवस्था मुताबिक भएको देखिन्‍न । अंशबन्डाको महलको २ नं. मा “यस महलमा अन्यथा लेखिएमा बाहेक भनी उल्लेख भएकोले अंशबन्डाको महलको १५ नं.को कानूनी व्यवस्था हेर्दा “अंशबन्डामा घटी बढी गरी लिनु दिनुलाई जिउनी भन्दछन् । जिउनी दिँदा उसले पाउने अंशभन्दा सयकडा पाँचसम्म बढ्ता दिएको सदर हुन्छ । जिउनी लिई दिइसकेपछि अंशै गरिपाउँ भनी यसै महलका ३२ नम्बरका म्यादभित्र उजुर गरे सो जिउनीसमेत मिसाई ऐनबमोजिम अंश गरी दिनुपर्छ” भन्‍ने व्यवस्था रहेको छ । यी वादी प्रतिवादीहरूबिच बन्डापत्र पारित गर्दा आमा सोममाया लामाका भागमा बढी जग्गा र घरसमेत पर्ने गरी बन्डा भएको र छोराहरूको भागमा थोरै जग्गाहरू मात्र पर्ने गरी बन्डा भएको देखिन्छ । उक्त बन्डापत्रमा जिउनी भनी उल्लेख भएकोसमेत छैन । उक्त घटी बढी लिएको अंश अंशबन्डाको महलको १५ नं.को कानूनी व्यवस्थाले तोकेको आमा सोममाया लामाले पाउने अंशभन्दा सयकडा पाँचभन्दा बढ्ता नै लिएको देखिन्छ ।

७. यस सम्बन्धमा यस अदालतबाट “अंश हक नैसर्गिक हक हो । कसैले आफ्नो हक छोडपत्र गर्दा अरूको अंश हक पनि गुमेको अर्थ गर्ने हो भने नैसर्गिक हकबाट वञ्चित हुन पुग्दछ । के कति अंश बुझेको छ र समस्त सम्पत्तिको तुलनामा उसले बुझेको सम्पत्ति न्यायोचित छ भने मात्र उसका श्रीमती छोराछोरीले अरू अंशियारबाट दाबी गर्न नसक्ने” (ने.का.प.२०६८ अंक १० नि.नं.८७०१) भन्‍ने सिद्धान्त प्रतिपादन भएको छ । यसैगरी अर्को सिद्धान्तमा “सगोलको सम्पत्तिमा प्रत्यक्ष वा परोक्षरूपमा कानूनी हक वा हित भएका सन्तानहरूको अंश अपुतालीको हकमा अघिल्लो पुस्ताको अंशियार भएको नाताले जसरी पनि प्रभाव पार्न पाइन्छ भन्ने कुरा कानून, न्याय र विवेकसङ्गत हुँदैन । त्यसैले अंशियारहरूबिच अंश लिनुदिनु गर्दा अंशियारले कानूनबमोजिम भागशान्ति लिए पाएको छ वा छैन र त्यसबाट तिनका आआफ्नो सन्तानमा असर पर्न गएको छ वा छैन भन्ने कुरा हेर्न जरूरी 

हुने । प्रथम वा अघिल्ला पुस्ताका अंशियारले आफ्नो अंश हक छुट्ट्याउने नाममा अंश नलिने गरी वा पाउने हिसाब शान्ति नलिई वा अति कम लिई निजको सम्पत्तिमा हक लाग्ने सन्तानहरूको हक मेटिने परिणाम सिर्जना गर्दछ र त्यसमा निजहरूको मन्जुरी लिइएको छैन भने त्यसको भिन्न कानूनी परिणाम 

रहने । सगोलको अमुक सम्पत्ति अविभाजित रहँदासम्म सगोलका सबै अंशियारहरू र अंशियारका सम्पत्तिमा हक लाग्ने तिनका सन्तानहरूको समेत हक र हित रहने हुनाले अविभाजित सगोलको सम्पत्तिमाथि प्रथम पुस्ताका अंशियारहरूको मात्रै आफूखुसी गर्न पाउने सम्पत्तिको रूपमा लिन नमिल्ने” (ने.का.प.२०७१ अंक ११ नि.नं.७२७९) भन्ने उल्लेख छ । प्रस्तुत सिद्धान्तमा उठाइएको विषयवस्तु प्रथम वा अघिल्ला पुस्ताका अंशियारले आफ्नो अंश हक छुट्ट्याउने नाममा अंश नलिने गरी वा अति कम लिई निजको सम्पत्तिमा हक लाग्ने सन्तानहरूको हक मेटिने परिणाम सिर्जना गर्दछ र त्यसमा निजहरूको मन्जुरी लिइएको छैन भने त्यसको भिन्न कानूनी परिणाम रहने भन्‍ने व्यवस्था प्रस्तुत मुद्दाको विषयवस्तुसँग मेल खाने देखिन्छ ।

८. उल्लिखित तथ्य,कानूनी व्यवस्था र यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको रोहबाट हेर्दा प्रतिवादीहरू तीनजना आमा सोममाया लामा-१ र छोराहरू सुशिल लामा-१, सुनिलकुमार लामा-१ गरी तीनजना (आमा छोरा) मूल अंशियारहरू रहेको र उक्त बन्डापत्र भएको समयमा यी वादीसमेत सगोलमा रहेको देखिन्छ । यी वादी प्रतिवादीहरू अंशियार नाता सम्बन्धको रहेको तथ्यमा विवाद देखिएन । यी वादीले अंश पाइसकेको अवस्था पनि छैन । अंश पाउनेले जति पाउनुपर्ने हो त्यति नै पाउनुपर्नेमा यी प्रतिवादीका पतिको भागमा कम जग्गा परेको र घरसमेत परेको देखिँदैन । यसरी प्रतिवादीहरूले समान अंशियारका बिचमा गरेको असमान बन्डापत्रले वादीको अंश हकमा असर पार्ने प्रस्ट देखिइरहेको अवस्थामा उक्त बन्डापत्र बदर नगर्ने गरी भएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर हुने गरी भएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको 

देखिएन । उक्त फैसला सदर हुनुपर्छ भन्ने प्रतिवादीहरूका कानून व्यवसायीहरूको बहस जिकिरसँग सहमत हुन सकिएन ।

९. तसर्थः मिति २०६९।१०।२ मा पारित अंश बन्डाको भाग बन्डा व्यावहारिक र मानवीय हिसाबले समेत न्यायोचित नै हुँदा सो लिखत बदर गरी सबै सम्पत्तिलाई एकै ठाउँमा मिलाई वादीको अंश भाग छुट्टयाई पाउँ भन्‍नेसमेतको वादीको फिराद दाबी पुग्न सक्तैन भन्‍ने सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७०।११।१३ गतेको फैसला सदर हुने ठहर्‍याई पुनरावेदन अदालत पाटनबाट मिति २०७२।०२।१८ मा भएको फैसला मिलेको नदेखिँदा उक्त फैसला उल्टी भई मिति २०६९।१०।२ मा पारित अंशबन्डाको लिखतमध्ये तीन भागको एक भागको आधा सम्पत्ति वादीको अंश भागमा पर्ने भएकोले सो बराबरको बन्डापत्रको लिखत बदर हुने ठहर्छ । दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाई दिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या.डम्बरबहादुर शाही

 

इजलास अधिकृत : राजकुमार दाहाल

इति संवत् २०७६ साल असोज ७ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु