निर्णय नं. १०३२७ - राज्य विरूद्धको अपराध
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दीपककुमार कार्की
माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
फैसला मिति : २०७६।५।३
०७४-CR-१८२४
मुद्दाः- राज्य विरूद्धको अपराध
पुनरावेदक / वादी : जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब निरीक्षक रमेशबहादुर चन्दसमेतको प्रतिवेदन जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला बर्दिया मोहम्मदपुर गा.वि.स. वडा नं.४ वहीपुर बस्ने गोब्रे खाँनको नाति ईमाम खाँनको छोरा स्वतन्त्र मधेस गठबन्धन केन्द्रीय प्रवक्ता अब्दुल खाँनसमेत
हातहतियार र विष्फोटक पदार्थको प्रयोग नगरी कुनै डर-त्रास वा आतङ्क बिना राजनीतिक विचारधाराको उद्देश्य पूर्तिका लागि जनताको स्वतःस्फूर्तरूपमा सहभागिता गराई अन्तर्क्रिया, कोणसभा, गोष्ठीमार्फत जनचेतना जगाई स्वयंसेवक दस्ता निर्माण र परिचालन, संगठन विस्तार र नमुना जनमत संग्रह जस्ता कार्यहरू गैरकानूनी हुन्छन् भनी मान्न नसकिने ।
(प्रकरण नं.६)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश गौतम
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प.२०७३, अंक ३, नि.नं.९५६३
सम्बद्ध कानून :
राज्य विरूद्धको अपराध र सजाय ऐन, २०४६
सुरू तहमा फैसला गर्नेः
सदस्य मा. न्या. श्री रत्नबहादुर बागचन्द
सदस्य मा. न्यायाधीश श्री चण्डीराज ढकाल
सदस्य मा. न्या. श्री प्रमोदकुमार श्रेष्ठ वैद्य
विशेष अदालत काठमाडौं ।
फैसला
न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-
जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं.११ स्थित पूर्वमा रंगशाला जाने पक्की सडक, पश्चिममा टाँगा स्टेशन जाने बाटो, उत्तरमा त्रिभुवन चोक जाने गल्ली, दक्षिणमा महेन्द्र पार्कको पर्खाल यति चारकिल्लाभित्र रहेको महेन्द्र पार्कमा स्वतन्त्र मधेस गठबन्धनका केन्द्रीय प्रवक्ता अब्दुल खाँनसमेतले पार्कमा जम्मा भएका मानिसहरूलाई भेला गराई मधेसलाई नेपाल राज्यबाट अलग गरी स्वतन्त्र मधेस देश निर्माण गर्ने भनी कार्यक्रम गरिरहेको अवस्थामा सो स्थानबाट स्वतन्त्र मधेस गठबन्धनको घोषणा-पत्र थान १, ‘अब क्या देखना बाँकी है’ लेखिएको पम्पलेट थान २८५, बैठक रजिस्टर थान १, डायरी थान ३, स्वतन्त्र मधेस गठबन्धन बाँकेको छाप थान १ समेत बरामद भएको भन्ने बेहोराको मिति २०७२।१२।०६ गतेको खानतलासी बरामदी मुचुल्का ।
मिति २०७२।१२।०६ गते जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नं.११ स्थित महेन्द्रपार्कभित्र सि.के. राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका केन्द्रीय प्रवक्ता अब्दुल खाँन, बाँके / बर्दिया संयोजक ईरफान अहमद शेष, बाँके संयोजकहरू हरपाल सिंह, राम मनोहर यादवसमेतले पार्कमा रहेका मानिसहरूलाई जम्मा गरी मधेसलाई नेपाल राज्यबाट अलग्याई छुट्टै स्वतन्त्र मधेस देश निर्माण गर्ने भनी राष्ट्रिय अखण्डता, सार्वभौमसत्तामा खलल पुग्ने गरी कार्यक्रम गरी घोषणा पत्र, पर्चा पम्प्लेटहरू बाँडेकाले निजहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको प्रहरी नायब निरीक्षक रमेशबहादुर चन्दसमेतको प्रतिवेदन जाहेरी ।
वादी नेपाल सरकार प्रतिवादी अब्दुल खाँनसमेत भएको राज्य विरूद्धको अपराध मुद्दाको अनुसन्धान तहकिकातको सिलसिलामा पक्राउ परेका प्रतिवादीहरूलाई प्रहरी हिरासतमा राख्नको लागि तलासी लिई निजहरूको सामान हिरासत कक्षमा रहेकोले अनुसन्धानको सिलसिलामा निजहरूले प्रयोग गर्ने मोबाइलहरू यसै प्रतिवेदनसाथ दाखिला गरेको छु भन्ने बेहोराको प्र.स.नि. पूर्णबहादुर वलीको प्रतिवेदन ।
जिल्ला बर्दिया मोहम्मदपुर गा.वि.स. वडा नं.४ स्थित पूर्वमा जिमिदार खटीकको घर, पश्चिममा अब्दुल सलाम खाँको घर, उत्तरमा बाटो, दक्षिणमा भुरई यादवको घर यति चारकिल्लाभित्र रहेको प्रतिवादी अब्दुल खाँनको १ तले खपडाले छाएको उत्तर मोहडा भएको घरबाट स्वतन्त्र मधेसका घोषणा पत्र थान २ र स्पाइरल कपी थान १ बरामद भएको भन्ने बेहोराको खानतलासी बरामदी मुचुल्का ।
म सि.के. राउत भन्ने चन्द्रकान्त राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको केन्द्रीय प्रवक्ता हुँ । हाम्रो गठबन्धनको केन्द्रीय संयोजक सि.के. राउत भन्ने चन्द्रकान्त राउत र सहसंयोजक कैलाश महतो हुन् । हाम्रो गठबन्धनको संगठन तराइका २० जिल्लामध्येका कैलाली र कन्चनपुरबाहेकका झापा, मोरड, सुनसरी, सिराहा, सप्तरी, सर्लाही, महोत्तरी, धनुषा, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया गरी १८ वटा जिल्लामा विस्तार भएको छ । हाम्रो संगठनमा केन्द्रीय संयोजक, सहसंयोजक र केन्द्रीय प्रवक्ताबाहेकका अन्य सबै पदहरूमा समानान्तर संयोजक हुन्छन् । हाम्रो संगठनका केन्द्रीय नेतृत्वकर्ता सि.के. राउत भन्ने चन्द्रकान्त राउतले नै हाम्रो गठबन्धनको प्रचार प्रसार सामाग्रीहरू इन्टरनेट, फोन तथा व्यक्तिहरूमार्फत हामीसम्म उपलब्ध गराउँछन् । उक्त स्वतन्त्र मधेस गठबन्धनको लक्ष्य भनेको नेपालको मधेस भनेर चिनिने भू–भागलाई नेपालबाट विखण्डन गरी स्वतन्त्र मधेस देश निर्माण गर्ने हो । हामीले हाम्रो गठबन्धनको लक्ष्य प्राप्तिको लागि हाम्रा कार्यक्रमहरूलाई संजिवनी (प्रचार, प्रसार र प्रशिक्षण), संगठन निर्माण, सम्बर्द्धन, संघर्ष र संरक्षण गरी ५ चरणमा विभाजन गरेका
छौं । सोको लागि हामीले युवा दस्तासमेत निर्माण गरी निजहरूलाई शारीरिक तथा मानसिक रूपमा अभ्यास गराई सिराहालगायतका जिल्लाहरूमा नेपालबाट मधेसलाई विखण्डन गरी स्वतन्त्र मधेस देश बनाउने वा नबनाउने भनी नमुना जनमत संग्रहसमेत गराई सकेकोसमेत अवस्था छ । हामीले हाम्रो स्वतन्त्र मधेस गठबन्धनको घोषणा पत्रमा स्वतन्त्र मधेस देशको प्रस्तावित मधेस देशको नक्सा, राष्ट्रिय गान र राष्ट्रिय झण्डासमेत सार्वजनिक गरी हाम्रा कार्यक्रमहरू सञ्चालन गर्नुपूर्व उक्त झण्डा राखी गानासमेत गाउने गरेका छौं भन्नेसमेत बेहोराको प्रतिवादी उक्त स्वतन्त्र मधेस गठबन्धनका केन्द्रीय प्रवक्ता अब्दुल खाँनले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
म सि.के. राउत भन्ने चन्द्रकान्त राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको बाँके बर्दिया संयोजक हुँ । यस गठबन्धनको केन्द्रीय संयोजक सि.के. राउत भन्ने चन्द्रकान्त राउत र सहसंयोजक कैलाश महतो हुन् । हाम्रो गठबन्धनको संगठन विस्तार तराईका कैलाली र कन्चनपुरबाहेकका झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी, सर्लाही, महोत्तरी, धनुषा, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया गरी १८ वटा जिल्लामा भएको
छ । हाम्रो संगठनमा केन्द्रीय संयोजक, सहसंयोजक र केन्द्रीय प्रवक्ताबाहेकका अन्य सबै पदहरू समानान्तर संयोजक हुन्छन् । हाम्रो संगठनका केन्द्रीय नेतृत्वकर्ता सि.के. राउत भन्ने चन्द्रकान्त राउतले नै हाम्रो गठबन्धनको प्रचार प्रसार सामाग्रीहरू इन्टरनेट, फोन तथा विभिन्न व्यक्तिहरूमार्फत हामीसम्म उपलब्ध गराउँछन् । म आबद्घ भएको सि.के. राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको लक्ष्य भनेको नेपालको मधेस भनेर चिनिने नेपालको भू–भागलाई नेपालबाट विखण्डन गरी स्वतन्त्र मधेस देश निर्माण गर्ने हो । हामीले हाम्रो गठबन्धनको लक्ष्य प्राप्तिको लागि हाम्रा कार्यक्रमहरूलाई संजिवनी, संगठन निर्माण, सम्बर्द्धन, संघर्ष र संरक्षण गरी ५ चरणमा विभाजन गरेका
छौं । सोको लागि हामीले युवा दस्तासमेत निर्माण गरी निजहरूलाई शारीरिक तथा मानसिक रूपमा अभ्यास गराई सिराहालगायतका जिल्लाहरूमा नेपालबाट मधेसलाई विखण्डन गरी स्वतन्त्र मधेस देश बनाउने वा नबनाउने भनी नमुना जनमत संग्रहसमेत गराई सकेको अवस्था छ । हामीले हाम्रो स्वतन्त्र मधेस गठबन्धनको घोषण पत्रमा स्वतन्त्र मधेस देशको नक्सा, प्रस्तावित राष्ट्रिय गान र राष्ट्रिय झण्डासमेत सार्वजनिक गरी हाम्रा कार्यक्रमहरू सञ्चालन गर्नुपूर्व उक्त झण्डा राखी गानासमेत गाउने गरेका छौं भन्नेसमेत बेहोराको प्रतिवादी सि.के. राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका बाँके, बर्दिया संयोजक ईरफान अहमद शेषले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
म सि.के. राउत भन्ने चन्द्रकान्त राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको बाँके जिल्ला संयोजक हुँ । यस गठबन्धनको केन्द्रीय संयोजक सि.के. राउत भन्ने चन्द्रकान्त राउत हुन् र सहसंयोजक कैलाश महतो छन् । हाम्रो गठबन्धनको संगठन विस्तार तराईका कैलाली र कन्चनपुरबाहेकका १८ वटा जिल्लामा भएको छ । सि.के. राउतले हाम्रो गठबन्धनको प्रचारप्रसार सामाग्रीहरू अनलाइन, फेसबुक, इन्टरनेट, वेबसाइटमार्फत हामीसम्म उपलब्ध गराउने गर्दछन् । उक्त स्वतन्त्र मधेस गठबन्धनको लक्ष्य भनेको नेपालको मधेस भनेर चिनिने भू–भागलाई नेपालबाट विखण्डन गरी स्वतन्त्र मधेस देश निर्माण गर्ने नै हो । सोही लक्ष्य प्राप्तिको लागि वारदात मिति २०७२।१२।०६ गते मसमेतका अब्दुल खाँन, ईरफान अहमद शेष, राम मनोहर यादवसमेतले वारदातस्थल जिल्ला बाँके, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ स्थित महेन्द्र पार्कमा मानिसहरू जम्मा गरी कार्यक्रम गरी स्वतन्त्र मधेस गठबन्धनको घोषणा पत्र र पर्चा पम्प्लेट बाँडिरहेको अवस्थामा मसमेत पक्राउमा परेको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी हरपाल सिंहले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
म सि.के. राउत भन्ने चन्द्रकान्त राउत
नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको बाँके जिल्ला संयोजक हुँ । हाम्रो गठबन्धनको केन्द्रीय संयोजक सि.के. राउत र सहसंयोजक कैलाश महतो हुन् । हाम्रो गठबन्धनको संगठन विस्तार तराईका २० जिल्लामध्येका कैलाली र कन्चनपुरबाहेकका १८ वटा जिल्लामा भइसकेको छ । हाम्रो संगठनका केन्द्रीय नेतृत्वकर्ता सि.के. राउतले नै हाम्रो गठबन्धनको प्रचार-प्रसार सामाग्रीहरू विभिन्न माध्यमहरूबाट हामीसम्म उपलब्ध गराउँछन् । म आबद्घ भएको उक्त स्वतन्त्र मधेस गठबन्धनको लक्ष्य नेपालको मधेस भनेर चिनिने भू–भागलाई नेपालबाट विखण्डन गरी स्वतन्त्र मधेस देश निर्माण गर्ने हो । हामीले हाम्रो गठबन्धनको लक्ष्य प्राप्तिको लागि हाम्रा कार्यक्रमहरूलाई संजिवनी, संगठन निर्माण, सम्बर्द्धन, संघर्ष र संरक्षण गरी ५ चरणमा विभाजन गरेका
छौं । सोको लागि हामीले युवा दस्तासमेत निर्माण गरी निजहरूलाई शारीरिक तथा मानसिक अभ्यास गराई सिराहालगायतका तराईका जिल्लाहरूमा नेपालबाट मधेसलाई विखण्डन गरी स्वतन्त्र मधेस देश बनाउने वा नबनाउने भनी नमुना जनमत संग्रहसमेत गराई सकेका छौं । हामीले हाम्रो स्वतन्त्र मधेस गठबन्धनको घोषणा-पत्रमा स्वतन्त्र मधेस देशको प्रस्तावित नक्सा, राष्ट्रिय गान, राष्ट्रिय झण्डासमेत सार्वजनिक गरी हाम्रा कार्यक्रमहरू सञ्चालन गर्नुपूर्व उक्त झण्डा राखी गाना गाउने गरेका छौं । मिति २०७२।१२।०६ गते मसमेतका अब्दुल खाँन, ईरफान अहमद शेष, हरपाल सिंह सिखसमेतले वारदातस्थल जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ स्थित रहेको महेन्द्रपार्कमा मानिसहरू जम्मा गरी कार्यक्रम गरी स्वतन्त्र मधेस गठबन्धनको घोषणा-पत्र र पर्चा पम्प्लेट बाँडिरहेको अवस्थामा मसमेत पक्राउमा परेको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी राम मनोहर यादवले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
प्रहरी प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सि.के. राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका केन्द्रीय प्रवक्ता अब्दुल खाँनसमेत भएको राज्य विरूद्धको अपराध मुद्दाको अनुसन्धान तहकिकातको सिलसिलामा पक्राउमा परेका प्रतिवादीहरू अब्दुल खाँन, ईरफान अहमद शेष, हरपाल सिंह सिख, राम मनोहर यादवसमेत भई अधिकारप्राप्त अधिकारीसमक्ष बयानको क्रममा नेपालको मधेस भनेर चिनिने नेपालको भू–भागलाई नेपालबाट विखण्डन गरी छुट्टै स्वतन्त्र मधेस देश बनाउने निज प्रतिवादीहरू आबद्ध भएको सि.के. राउत भन्ने चन्द्रकान्त राउतले नेतृत्व गरेको स्वतन्त्र मधेस गठबन्धनले विभिन्न जिल्लाहरूमा युवा दस्तालाई पि.टी., परेड खेलाएको, जनमत संग्रह गरेकोलगायतका क्रियाकलापहरू हामीले आफ्नो फेसबुक, फेसबुक मेसेन्जरको ग्रुप च्याटलगायतका सामाजिक सञ्जालमा राख्ने गरेका छौँ भनी खुलाई लेखाई दिएकोमा निजहरूले प्रयोग गर्ने फेसबुक आई.डी.मा नेपाललाई विखण्डन गरी स्वतन्त्र मधेस देश निर्माण गर्ने भनी नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र सामाजिक सद्भावमा खलल पुग्ने सामाग्रीहरू निजहरूले पोष्ट गरेको पाइएकोले निजहरूले पोष्ट गरेको सामग्री फोटोहरू डाउनलोड गरी पेस गरेको छु भन्ने बेहोराको प्रहरी नायब निरीक्षक मणीराम लामिछानेसमेतको प्रतिवेदन ।
प्रहरी प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सि.के. राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका केन्द्रीय प्रवक्ता अब्दुल खाँनसमेत भएको राज्य विरूद्धको अपराध मुद्दाको अनुसन्धान तहकिकातको सिलसिलामा प्रहरी नायब निरीक्षक मणीराम लामिछानेको प्रतिवेदनसाथ दाखिला हुन आएका मिसिल संलग्न रहेका ४४ वटा पानामा रहेका ८८ वटा सबै फोटाहरू सि.के. राउत भन्ने चन्द्रकान्त राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका केन्द्रीय संयोजक चन्द्रकान्त राउत र हामीहरूले पोष्ट र सेयर गरेका फोटाहरू हुन् । जसमा सि.के. राउतले भारतमा गरेका कार्यक्रम, बाँके जिल्लाको हिरमिनीयालगायत अन्य जिल्लामा युवा दस्ता निर्माण गरी शारीरिक अभ्यास गराएको, सिराहालगायतका जिल्लाहरूमा जनमत संग्रह गराएको, विभिन्न जिल्लाहरूमा मधेसी मूलका नागरिकहरूलाई स्वतन्त्र मधेस देश निर्माण गर्न आकर्षित गर्न गरेको कार्यक्रमहरूको फोटोहरू राखिएका छन् भन्ने बेहोराको करिब एकै मिलानको प्रतिवादीहरू अब्दुल खाँन, ईरफान अहमद शेष, हरपाल सिंह, राम मनोहर यादवले गरेको सनाखत कागज ।
मिति २०७२।१२।०६ गते म घुम्नको लागि जिल्ला बाँके नेपालगन्ज उ.म.न.पा. वडा नं.११ स्थित महेन्द्रपार्क गएको थिएँ । उक्त समयमा सि.के. राउत भन्ने चन्द्रकान्त राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका केन्द्रीय प्रवक्ता अब्दुल खाँन, बाँके / बर्दिया संयोजक ईरफान अहमद शेष, बाँके जिल्ला संयोजक हरपाल सिंह र राम मनोहर यादवसमेतले पार्कमा रहेका व्यक्तिहरूलाई जम्मा गराई बैठक रजिस्टरको उपस्थिति खण्डको पानामा सहिछापसमेत गर्न लगाई नेपालमा रहेको मधेस भनेर चिनिने भू–भागलाई विखण्डन गरी स्वतन्त्र मधेस देश निर्माण गर्ने, स्वतन्त्र मधेस देशको संसद् र संविधान निर्माण गर्ने, मधेसमा नेपाली उपनिवेश अन्त्य गरी स्वतन्त्र मधेस देश निर्माण गर्ने अभियानको लागि युवा दस्ता तयार गर्ने भनी घोषणा-पत्र, पर्चा, पम्प्लेट बाँडेका थिए र निजहरू आबद्ध रहेको उक्त संगठनले यस पूर्व सिराहालगायतका जिल्लाहरूमा मधेसलाई नेपालबाट विखण्डन गरी स्वतन्त्र मधेस देश बनाउने वा नबनाउने सम्बन्धमा नमुना जनमत संग्रह गर्नेलगायतका क्रियाकलाप गरी नेपालको राष्ट्रिय अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्तामा खलल पुर्याएकाले उक्त स्वतन्त्र मधेस गठबन्धनमा आबद्ध भएका सदस्यहरूलाई कानूनबमोजिम होस् भन्ने एकै बेहोरा मिलानको टिकानाथ यादव, मेराज सल्मानी, नारायण पाल गडरिया र गोविन्द राम पासवानले गरी दिएको अलग अलग घटना विवरण कागज ।
म विगत डेढ वर्षदेखि महेन्द्र पार्कको टिकट काउन्टरमा काम गर्दै आइरहेको छु । वारदात मिति २०७२।१२।०६ गते दिउँसो यस महेन्द्र पार्कमा सि.के. राउत नेतृत्वको गठबन्धनले कार्यक्रम गरेको भनी कार्यक्रम गर्ने अब्दुल खाँन, ईरफान अहमद शेष, हरपाल सिंह, राम मनोहर यादवसमेतलाई पक्राउ गरेका हुन् भन्ने बेहोराको गोविन्द बर्माले गरेको घटना विवरण कागज ।
प्र.ना.नि. रमेशबहादुर चन्दसमेतको प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सि.के. राउत भन्ने चन्द्रकान्त राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको केन्द्रीय प्रवक्ता अब्दुल खाँनसमेत भएको राज्यविरूद्धको अपराध मुद्दाको अनुसन्धान तहकिकातको सिलसिलामा पक्राउमा परेका प्रतिवादीहरूसँग अनुसन्धान अधिकृतले गरेको सोधपुछको सि.डी., प्रतिवादीहरूको फेसबुक आई.डी., मेमोरी कार्ड मोबाइल, पेन ड्राइभ डिजिटल फरेन्सिक ल्याबमा परीक्षण गरी परीक्षणपश्चात् प्राप्त भएको सि.डी.बाट निकालिएका फोटाहरू थान ५० समेत यसै प्रतिवेदनसाथ दाखिला गरेको छु । कानूनबमोजिम होस् भन्ने बेहोराको प्र.स.नि. पूर्णबहादुर वलीको प्रतिवेदन ।
प्र.ना.नि. रमेशबहादुर चन्दसमेतको प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सि.के. राउत भन्ने चन्द्रकान्त राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको केन्द्रीय प्रवक्ता अब्दुल खाँनसमेत भएको राज्य विरूद्धको अपराध मुद्दाको अनुसन्धान तहकिकातको सिलसिलामा स्वतन्त्र मधेस गठबन्धनका संयोजक सि.के. राउत भन्ने चन्द्रकान्त राउत र सहसंयोजक कैलाश महतोले विभिन्न मितिमा नेपालको मधेस भनेर चिनिने भू–भागलाई नेपालबाट अलग्याई स्वतन्त्र मधेस देश निर्माण गर्ने भनी जारी गरेका विज्ञप्तिहरूलाई संकलन गरी पेस गरेको छु भन्ने बेहोराको प्र.ना.नि. मणीराम लामिछानेको प्रतिवेदन ।
प्रतिवादीहरू सि.के. राउत भन्ने चन्द्रकान्त राउत, अब्दुल खाँन, इरफान अहमद शेष, हरपाल सिंह, राम मनोहर यादवलगायतका मानिसहरूले नेपालको मधेस भनेर चिनिने भू-भागलाई नेपाल राज्यबाट छुट्याई अलग मधेस देश निर्माण गर्ने उद्देश्यका साथ स्वतन्त्र मधेस गठबन्धन नामको संगठन निर्माण गरी नेपालका तराईका १८ जिल्ला संगठन विस्तार गरी मधेसी जनताप्रति पहाडिया मानिसहरूको व्यवहार विभेदयुक्त रहेको, विगतमा तराईको छुट्टै इतिहास र तरार्इ छुट्टै देश रहेकोमा हाल मधेस नेपालको उपनिवेशको रूपमा रहेकाले तराईमा बस्ने मधेसीहरूले हाल भोग्दै आएको विभेद र विभिन्न समस्याहरूको एक मात्र समाधान मधेसलाई छुट्टै स्वतन्त्र देश बनाउनु हो भनी मानिसहरू भेला जम्मा गरी बैठक, सभा, सम्मेलन, प्रशिक्षण गर्ने गराउने, शारीरिक र मानसिक प्रशिक्षण दिने, युवादस्ता तयार गरी मधेसलाई नेपालबाट छुट्याउने नछुट्याउने भनी जनमत संग्रह गर्ने जस्ता विभिन्न गतिविधिहरू गर्ने Online, Website, Facebook, Twitter लगायतका सामाजिक सञ्जाल, विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, पर्चा, पम्पलेटमार्फत आफ्ना गतिविधिहरू गर्ने र प्रचार गर्ने, गराउने, छुट्टै मधेस देशको नक्सा, संविधान, झण्डा, राष्ट्रिय गान तयार गरी सार्वजनिक गर्ने जस्ता कार्य गरी सर्वसाधारण जनतालाई स्वतन्त्र मधेस निर्माणको आन्दोलनमा आबद्ध हुन उत्प्रेरित गर्ने जस्ता भ्रमात्मक क्रियाकलाप गरी पहाडी र मधेसी मूलका नेपाली नेपाली बिचमा क्षेत्रीय, वर्गीय, जातीय घृणा उत्पन्न गराई सामाजिक सद्भाव खल्बल्यार्इ नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खलल पुर्याउने अवस्था उत्पन्न गरी निज प्रतिवादीहरू सि.के. राउत भन्ने चन्द्रकान्त राउत, अब्दुल खाँन, इरफान अहमद शेष, हरपाल सिंह सिख, राम मनोहर यादव, कैलाश महतो, चन्दन कुमार सिंह र सत्य नारायण खाँङ्ग खत्वे (मण्डल) लगायतका प्रतिवादीहरूले राज्य विरूद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३(१) बमोजिमको कसुर अपराध गरेकाले निज प्रतिवादीहरूलाई सोही ऐनको दफा ३(१) बमोजिम सजाय हुन मागदाबी रहेको अभियोगपत्र ।
स्वतन्त्र मधेस गठबन्धन एउटा अनौपचारिक संगठन हो । जसको मुख्य उद्देश्य मधेसलाई सामाजिक र राजनीतिक हिसाबले अधिकार सम्पन्न बनाउनु हो । नेपालको मधेस भू-भागलाई नेपालबाट छुट्टाउने यसको उद्देश्य होइन । म उक्त संगठनको बाँके, बर्दिया जिल्लाको संयोजक हो, हामीहरू मधेसको समसामयिक विषयमा छलफल गर्दै थियौं, सोही स्थानबाट प्रहरीले पक्राउ गरेको हो । नेपाल देशलाई टुक्राउने हाम्रो कुनै मनसाय होइन । मैले राज्य विरूद्धको अपराध हुने गरी कुनै कार्य गरेको छैन । सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी इरफान अहमद शेषले विशेष अदालत काठमाडौंसमक्ष गरेको बयान ।
सि.के. राउतको मिसन ठिक छ छैन, भनी आपसमा छलफल गर्न बसेका थियौं । हामी नेपाललाई अलग गराई छुट्टै मधेस राज्य बनाउने कुनै योजना छैन । हामी नेपालको एकता, सम्बृद्धि र विकासको साथ साथै मधेसलगायत सबै भू-भागको विकास चाहन्छौं । सोही छलफल भइरहेको स्थानबाट हामीलाई प्रहरीले पक्राउ गरेका हुन् । नेपाललाई टुक्राउने कुनै मनसाय नभएको हुँदा सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी अब्दुल खाँनले विशेष अदालत काठमाडौंमा गरेको बयान ।
म स्वतन्त्र मधेस गठबन्धनको बाँके जिल्लाको संयोजक हुँ । मैले छुट्टै राज्य बनाउने कुरा गरेको छैन । मधेसलाई अधिकार सम्पन्न बनाउनु पर्छ भन्ने हाम्रो संगठनको उद्देश्य हो । मैले देश टुक्राउने कुनै काम गरेको हैन तसर्थ राज्य विरूद्धको अपराधबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी हरपाल सिंह सिखले विशेष अदालत काठमाडौंमा गरेको बयान ।
डा.सि.के. राउतको संयोजकत्वमा गठन भएको स्वतन्त्र मधेस गठबन्धन एउटा अनौपचारिक संगठन हो । सम्बृद्ध मधेस बनाउने यो संगठनको उद्देश्य हो । मैले देश टुक्राउने कुनै कसुर अपराध नगरेको हुँदा सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी राम मनोहर यादवले विशेष अदालत काठमाडौंमा गरेको बयान ।
स्वतन्त्र मधेस गठबन्धनले स्वराज अभियान चलाएकोबारे मलाई थाहा छ सो संगठनको म समर्थक हो । सो संगठन शान्तिपूर्ण रूपमा सञ्चालित छ । उक्त गठबन्धनको म सहसंयोजक भएकोले सबै जनासँग फोन सम्पर्क हुनु स्वभाविकै हो । सार्वभौमसत्ता जनतामा भएको अवस्थामा देश टुक्रिने कुरा नै छैन । हामीले सन् १९५० को नेपाल भारतको सन्धिसमेतलाई आधार मानेर मधेसका लागि नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायसँग निवेदन गर्न मात्र लेखेको हो । आरोप दाबीअनुसार कसुर नगरेको हुँदा सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी कैलाश महतोले विशेष अदालत काठमाडौंमा गरेको बयान ।
स्वतन्त्र मधेस गठबन्धन एउटा राजनीतिक संगठन हो भन्ने सुनेको हुँ । म उक्त गठबन्धनको सदस्य छैन । म एउटा विद्यार्थी रहेको र राजनीतिदेखि मेरो खासै सम्बन्ध छैन । मेरो सम्बन्ध गठबन्धनसँग
छैन । गठबन्धनको कुनै सदस्य संगठनको कुनै सदस्यसँग फोन संवाद गर्दैमा आजको सञ्चारको युगमा रही फोनको कुरा लिएर मुद्दा चलाउनु विद्यार्थीलाई दुःख हैरानी गर्नु हो । यसको समस्याको समाधान हुन सक्दैन । मेरो साँठगाँठ गठबन्धनसँग नभएकोले सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सत्यनारायण खङ्गले विशेष अदालत काठमाडौंमा गरेको बयान ।
स्वतन्त्र मधेस गठबन्धन मधेस मुलका जनताको सामाजिक काम गर्ने संगठन हो भन्ने कुरा मैले सुनेको छु । म त्यस गठबन्धनको कुनै आधिकारिक सदस्य होइन । फोन सम्पर्कसम्म भएको होला उक्त सम्पर्ककै आधारमा उक्त संगठनसँग मेरो साँठगाँठ छ भन्न मिल्दैन । मैले थाहा पाएसम्म उक्त गठबन्धन मधेसको सामाजिक, राजनीतिक, आर्थिक क्रियाकलापहरूमा उत्थानको लागि कार्य गर्ने संगठन हो । मैले आरोप दाबीअनुसारको कसुर नगरेको हुँदा सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी चन्दनकुमार सिंहले विशेष अदालत काठमाडौंमा गरेको बयान ।
म इन्फरमेसन इन्जिनियरिङमा क्याम्ब्रिज विश्वविद्यालयबाट पि.एच.डि. गरेको हुँ । विगत लगभग ४ वर्षदेखि सामाजिक, आर्थिक, सांस्कृतिकलगायतका मधेसको समस्याहरूको उत्थान गर्ने हेतुले स्वराज अभियान सुरू गरेको हुँ । स्वतन्त्र मधेस गठबन्धन एउटा अनौपचारिक समूह हो । यो कहीँ पनि दर्ता भएको छैन । विभेदमा परेका मधेसी समुदायलाई समानतातर्फ डोर्याउनको लागि यो संस्थाको संयोजक भएर कार्य गर्दै आएको हुँ । नेपालको वर्तमान संविधानले सार्वभौमसत्ता जनतामा निहित रहने संवैधानिक व्यवस्था गरेको छ । समाजमा रहेका व्याप्त विभेद र असमानताको प्रेरणाबाट नै स्वराज अभियानमा लागेको छु । मसमेत प्रतिवादी भएको स.फौ.नं. ०७१-CR-००९३ को राज्य विरूद्धको अपराध मुद्दामा विशेष अदालतबाट सफाइ पाइसकेको र सो मुद्दा सम्मानित सर्वोच्च अदालतबाट पनि सदर भइसकेको अवस्थामा मलाई दुःख दिने नियतले मुद्दा दायर गरेको हुँदा सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सि.के. राउत भन्ने चन्द्रकान्त राउतले विशेष अदालत काठमाडौंमा गरेको बयान ।
विशेष अदालतको विभिन्न मितिको आदेशानुसार प्रतिवादी अब्दुल खाँनले र.नं. ३३७१ मिति २०७३।१।५ बाट रू.२०,०००।-, प्रतिवादी राम मनोहर यादवले र.नं.३३७० मिति २०७३।१।५ बाट रू.२०,०००।-, प्रतिवादी हरपाल सिंह शिखले र.नं.३३७३ मिति २०७३।१।५ बाट रू.२०,०००।- प्रतिवादी इरफान अहमद शेषले र.नं.३३७२ मिति २०७३।१।५ बाट रू.२०,०००।-, प्रतिवादी सत्यनारायण खङ्गखत्वेले र.नं.३४४० मिति २०७३।२।२५ बाट रू.५,०००।-, प्रतिवादी कैलाश महतोले र.नं.३४४१ मिति २०७३।२।२५ बाट रू.१५,०००।-, प्रतिवादी सि.के. राउतले र.नं.३४४५ मिति २०७३।२।२६ बाट रू.२०,०००।-, प्रतिवादी चन्दनकुमार सिंहले र.नं.३४४७ मिति २०७३।२।२७ बाट रू.५,०००।- धरौट रकम दाखिला गरी तारेखमा रहेको ।
मिति २०७२।१२।०६ गते उक्त समयमा सि.के. राउत भन्ने चन्द्रकान्त राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका केन्द्रीय प्रवक्ता अब्दुल खाँन, बाँके / बर्दिया संयोजक ईरफान अहमद शेष, बाँके जिल्ला संयोजक हरपाल सिंह र राम मनोहर यादवसमेतले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ स्थित महेन्द्रपार्कमा रहेका व्यक्तिहरूलाई जम्मा गराई नेपालमा रहेको मधेस भनेर चिनिने भू–भागलाई विखण्डन गरी स्वतन्त्र मधेस देश निर्माण गरी स्वतन्त्र मधेस देशको संसद् र संविधान निर्माण गर्ने, मधेसमा नेपाली उपनिवेश अन्त्य गरी स्वतन्त्र मधेस देश निर्माण गर्ने अभियानको लागि युवा दस्ता तयार गर्ने भनी घोषणा-पत्र, पर्चा, पम्प्लेट बाँडेका थिए । उक्त घटना विवरण कागजमा भएको बेहोरा ठिक साँचो हो भन्नेसमेत वादीका साक्षी नारायण पाल गडरीया, टिकानाथ यादव, मेराज सल्मानी, गोविन्द राय पासवानको एकै मिलान बेहोराको बकपत्र ।
आरोप पत्रको साक्षी खण्डमा उल्लिखित वादीका साक्षी मिति २०७२।१२।६ मा प्रतिवेदन दिने प्रतिवेदकहरूलाई उपस्थित गराउन विशेष अदालत काठमाडौंबाट पटकपटक आदेश भए तापनि उपस्थित गराएको नदेखिएको ।
अभियोजन पक्षले प्रतिवादीहरूउपरको आरोपदाबी पुष्टि गर्न सकेको नदेखिँदा सम्पूर्ण प्रतिवादीहरूले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको विशेष अदालतबाट मिति २०७४।११।३ मा भएको फैसला ।
मिसिल संलग्न दस्ताबेजहरूमा अभिव्यक्त प्रतिवादीहरूको विचारले निरन्तरता र प्रश्रय पाइरहने हो भने त्यसले मधेसका जनता विरूद्ध द्वेष र घृणा उत्पन्न गर्न सक्छ । संविधानबमोजिम भेला हुने स्वतन्त्रताअन्तर्गत सार्वजनिक भेला वा जुलुस पनि समावेश हुन सक्ने र अभिव्यक्तिको स्वतन्त्रताअन्तर्गत आफ्नो विचार वा भावना जुनसुकै तवरले व्यक्त गर्न सकिने भए तापनि नेपाल राज्यलाई नै विखण्डित तुल्याउने वा नेपालको अखण्डतामा खलल पर्न जाने र समाजमा कायम रहिरहेको शान्ति र व्यवस्थामा अवरोध पर्न जाने प्रकृतिको परिणाम निस्कने खालको भेला तथा विचार सम्प्रेषणलाई संविधानले समेत रोक लगाएको छ । विशुद्ध रूपमा राष्ट्र एवं मानवताको हितार्थ प्रकट गरिने र सम्प्रेषण गरिने विचार र अभिव्यक्ति तथा संगठित हुने कार्य मात्र मौलिक हक संरक्षणको परिधिभित्र राज्यद्वारा संरक्षित रहन्छ । तर कुनै पनि हक वा स्वतन्त्रता निरपेक्ष रूपमा प्रयोग गर्दा स्वतन्त्रताको प्रयोगकर्तालाई नियन्त्रण लगाउने ठाउँ नै रहँदैन भने व्यक्तिले जस्तोसुकै उदण्ड काम पनि गर्न सक्छ जसले गर्दा समाजमा अराजकता वा अव्यवस्थाको जन्म हुन्छ । संविधानमा प्रयोग भएका शब्दहरूको दायरा के कति हुन्छ भनेर यकिन गर्न घटनाको परिस्थिति, कानूनको उद्देश्य र प्रकृति, भेलाको कार्यको प्रकृति आदि कुराहरू विचार गरेर भेलाको उद्देश्य र प्रयोजनको निष्कर्ष निकाल्नुपर्ने हुन्छ । प्रतिवादीहरूले सञ्चालन गरेका कार्यक्रम, गतिविधि र क्रियाकलापहरू गैरकानूनी उद्देश्य प्राप्तिका लागि सञ्चालन भइरहेको अवस्थामा निजहरूलाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा सो बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको नेपाल सरकारको पुनरावेदन पत्र ।
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश गौतमले प्रत्यर्थी / प्रतिवादीहरूले अखण्ड नेपालमा रहेको तराईको भू-भागलाई विखण्डन गरी स्वतन्त्र मधेस देशको स्थापना गर्ने उद्देश्यले स्वतन्त्र मधेस गठबन्धन नामक संगठन सञ्चालन गरेका, छुट्टै झण्डा र राष्ट्रिय गान तयार गरेका साथै विभिन्न गतिविधिमा संलग्न भएर स्वतन्त्र एवं अविभाज्य नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खलल पार्ने नियतले जनताहरूलाई भेला गरी उत्तेजित बनाउने कार्य गरी राज्य विरूद्धको अपराध गरेकोतर्फ विशेष अदालत काठमाडौंले विचार नगरी प्रतिवादीहरूलाई सफाइ दिने गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा प्रत्यर्थी झिकाई उक्त फैसला उल्टी गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
उपर्युक्त तथ्य, पुनरावेदन जिकिर एवं वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ताले गर्नुभएको बहस जिकिर सुनी मिसिल संलग्न कागज प्रमाणसमेतको अध्ययन गरी हेर्दा विशेष अदालत काठमाडौंको फैसला मिलेको छ वा छैन ? वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादीहरू सि.के. राउत भन्ने चन्द्रकान्त राउत, अब्दुल खाँन, इरफान अहमद शेष, हरपाल सिंह सिख, राम मनोहर यादव, चन्दन कुमार सिंहलगायतले नेपालको मधेस भू-भागलाई नेपाल राज्यबाट छुट्याई अलग मधेस देश निर्माण गर्ने उद्देश्यका साथ तराईका १८ जिल्लामा स्वतन्त्र मधेस गठबन्धन नामको संगठन निर्माण गरी मधेसी जनताप्रति पहाडिया मानिसहरूको व्यवहार विभेदयुक्त रहेको, विगतमा तराईको छुट्टै इतिहास रहेको र तरार्इ छुट्टै देश रहेकोमा हाल मधेस नेपालको उपनिवेशको रूपमा रहेकाले तराईमा बस्ने मधेसीहरूले हाल भोग्दै आएको विभेद र विभिन्न समस्याहरूको एक मात्र समाधान मधेसलाई छुट्टै स्वतन्त्र देश बनाउनु हो भनी मानिसहरू भेला जम्मा गरी बैठक, सभा, सम्मेलन, प्रशिक्षण गर्ने गराउने, शारीरिक र मानसिक प्रशिक्षण दिने, युवादस्ता तयार गर्ने, मधेसलाई नेपालबाट छुट्याउने नछुट्याउने भनी जनमत संग्रह गर्ने जस्ता विभिन्न गतिविधिहरू गर्ने, विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, पर्चा, पम्प्लेटमार्फत आफ्ना गतिविधिहरू प्रचार गर्ने, गराउने, छुट्टै मधेस देशको नक्सा, संविधान, झण्डा, राष्ट्रिय गान तयार गरी सार्वजनिक गर्ने जस्ता कार्य गरी सर्वसाधारण जनतालाई स्वतन्त्र मधेस निर्माणको आन्दोलनमा आबद्ध हुन उत्प्रेरित गर्ने जस्ता भ्रमात्मक क्रियाकलाप गरी नेपाली नेपालीबिचमा क्षेत्रीय, वर्गीय, जातिय, घृणा उत्पन्न गराई सामाजिक सद्भाव खल्बल्याउने, नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खलल पुर्याउने अवस्था उत्पन्न गरी राज्य विरूद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३(१) बमोजिमको कसुर अपराध गरेकाले निज प्रतिवादीहरूलाई सोही ऐनको दफा ३(१) बमोजिम सजाय हुने अभियोग मागदाबी रहेको प्रस्तुत मुद्दामा विशेष अदालत काठमाडौंले प्रतिवादीहरूलाई सफाइ दिने गरी गरेको फैसलाउपर चित्त नबुझाई वादी नेपाल सरकारको पुनरावेदन परेको देखियो ।
३. यसमा जिल्ला बाँके, नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ स्थित महेन्द्रपार्कमा मिति २०७२।१२।६ गते स्वतन्त्र मधेस गठबन्धनका केन्द्रीय प्रवक्ता अब्दुल खाँनसमेतका मानिसहरूले पार्कमा जम्मा भएका मानिसहरूलाई भेला गराई नेपालको मधेस भू-भागलाई नेपाल राज्यबाट अलग गरी स्वतन्त्र मधेस देश निर्माण गर्ने भनी कार्यक्रम गरिरहेको स्थानबाट स्वतन्त्र मधेस गठबन्धनको घोषण–पत्र, ‘अब क्या देखना बाँकी है’ लेखिएको पम्प्लेटहरू, बैठक रजिस्टर, डायरीहरू, स्वतन्त्र मधेस गठबन्धन बाँकेको छापसमेत बरामद भएको बरामदी मुचल्कासहित पक्राउ परेका व्यक्तिहरूलाई समेत दाखिल गरी आवश्यक कारबाही गरिपाउँ भन्ने प्रहरी प्रतिवेदनबाट प्रस्तुत मुद्दाको कारबाही प्रारम्भ भएको देखिन आयो ।
४. प्रत्यर्थी / प्रतिवादीहरूले नेपाली नेपालीबिचमा क्षेत्रीय, वर्गीय, जातीय, घृणा उत्पन्न गराई सामाजिक सद्भाव खल्बल्याउने, नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खलल पुर्याउने अवस्था उत्पन्न गरी राज्य विरूद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३(१) बमोजिमको कसुर अपराध गरेकाले निज प्रतिवादीहरूलाई सोही ऐनको दफा ३(१) बमोजिम सजाय हुन मागदाबी रहेको देखिन्छ । प्रतिवादीहरूले अनुसन्धानमा बयान गर्दा आफू सि.के. राउत भन्ने चन्द्रकान्त राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनमा संलग्न रहेको, आफ्नो गठबन्धनको संगठन विस्तार तराईका कैलाली र कन्चनपुरबाहेकका १८ जिल्लामा भएको छ । म आबद्घ भएको सि.के. राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको लक्ष्य भनेको नेपालको मधेस भनेर चिनिने नेपालको भू–भागलाई नेपालबाट विखण्डन गरी स्वतन्त्र मधेस देश निर्माण गर्ने हो । हामीले हाम्रो स्वतन्त्र मधेस गठबन्धनको घोषणा-पत्रमा स्वतन्त्र मधेस देशको नक्सा, प्रस्तावित राष्ट्रिय गान र राष्ट्रिय झण्डासमेत सार्वजनिक गरी हाम्रा कार्यक्रमहरू सञ्चालन गर्नुपूर्व उक्त झण्डा राखी गानासमेत गाउने गरेका छौं भन्नेसमेत बेहोरा खुलाई आ-आफ्नो पद तथा जिम्मेवारीसमेत खुलाई ईरफान अहमद शेषसमेतका प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानबाट देखिन्छ भने अदालतमा बयान गर्दा विगत लगभग ४ वर्षदेखि सामाजिक, आर्थिक, सांस्कृतिकलगायतका मधेसको समस्याहरूको उत्थान गर्ने हेतुले स्वतन्त्र मधेस गठबन्धन नामक अनौपचारिक समूहमार्फत स्वराज अभियान सुरू गरेका हौं । यो संस्था कहीँ पनि दर्ता भएको छैन । विभेदमा परेका मधेसी समुदायलाई विभिन्न कार्यक्रममार्फत जनचेतना जगाई समानतातर्फ डोर्याउनको लागि यो संस्थाको स्थापना गरेका हौं । यस गठबन्धनका संयोजकका रूपमा सि.के राउत रहेको र तराई मधेसका विभिन्न जिल्लामा संगठन निर्माण गरी नागरिकलाई चेतनशील बनाउने कार्य गर्दै आएको हो । नेपालको वर्तमान संविधानले सार्वभौमसत्ता जनतामा निहित रहने संवैधानिक व्यवस्था गरेको छ । समाजमा रहेका व्याप्त विभेद र असमानताको प्रेरणाबाट नै स्वराज अभियानमा लागेको छौं भनी कसुरमा इन्कार रही प्राय: एकै मिलान बेहोराबाट बयान गरेको पाइन्छ ।
५. वारदात मिति २०७२।१२।६ मा यी प्रत्यर्थी / प्रतिवादीहरूले उक्त वारदातस्थलमा कुनै पनि किसिमको बल प्रयोग गरी शान्ति अमन–चयन भङ्ग गरी अशान्ति मच्चाएको वा हुलदङ्गा गरी शान्ति र व्यवस्थामा खलल पुर्याई अव्यवस्था उत्पन्न गरेको भन्न तथा प्रतिवादीहरूबाट कुनै हातहतियार, संवेदनशील विष्फोटक तथा प्रज्ज्वलनशील पदार्थ साथै मधेसलाई नेपालबाट विखण्डन गर्ने खालको कुनै वस्तु बरामद भएको मिसिल संलग्न कागजातहरूबाट देखिन आएन । प्रत्यर्थी / प्रतिवादीहरूले तयार पारेको दस्ताबेजहरू हेर्दा, शान्ति र अहिंसाका अग्रजहरूका रूपमा विश्वव्यापी स्थापित दार्शनिकहरू गौतम बुद्ध, महात्मा गान्धी र नेल्सन मण्डेलालाई सांकेतिक रूपमा आदर्श मानेको देखिन्छ । उक्त सामाग्रीहरू जनसाधारणले प्रयोग गर्ने खालका नै भए रहेको देखिन्छ । साथै यी सामाग्रीहरू देशको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा कुनै किसिमबाट खलल पुर्याउने तथा विद्रोह गर्न प्रयोग हुने खालका देखिन आउँदैनन् ।
६. प्रत्यर्थी / प्रतिवादीहरूको क्रियाकलापहरूलाई हेर्दा, कुनै राजनीतिक विचारधाराको उद्देश्य पूर्ति गर्नका लागि नागरिकहरूबिचमा गई जनचेतना अभियान, अन्तर्क्रिया, कोणसभा, गोष्ठी, स्वयंसेवक दस्ता निर्माण, संगठन विस्तार र नमुना जनमत संग्रह गर्ने जस्ता कार्यहरूको सञ्चालन गरेको देखिन्छ । यदि यस्ता क्रियाकलापहरू सञ्चालन गर्दा हातहतियार र विष्फोटक पदार्थको प्रयोग नगरिएको साथै बिना कुनै डर-त्रास वा आतङ्क बिना राजनीतिक विचारधाराको उद्देश्य पूर्तिका लागि जनताको स्वतःस्फूर्तरूपमा सहभागिता गराई अन्तर्क्रिया, कोणसभा, गोष्ठीमार्फत जनचेतना जगाई स्वयंसेवक दस्ता निर्माण र परिचालन, संगठन विस्तार र नमुना जनमत संग्रह जस्ता कार्यहरू सञ्चालन गरिन्छ भने त्यस्ता गतिविधिहरू गैरकानूनी हुन्छन् भनी मान्न सकिँदैन । यस्ता क्रियाकलापहरू विश्वव्यापी रूपमा स्वीकृत लोकतान्त्रिक मान्यता र व्यवहारअन्तर्गतका क्रियाकलापहरूमा
पर्दछन् । त्यस्ता गतिविधिहरूले प्रचलित राजनीतिक अभ्यासहरूको रूपमा मान्यता पाएका नै देखिन्छन् । त्यस्ता राजनीतिक अभ्यासहरू गर्दैमा पुनरावेदनमा जिकिर लिइएको जस्तो सर्वसाधारण जनता परस्पर मिलेर एक भई बसेको अवस्थामा कुनै किसिमले खलल, विघ्नबाधा, अवरोध र राज्यव्यवस्था विरूद्ध दंगा, उपद्रव, उत्पात र अशान्ति हुन गई मधेसका जनता विरूद्ध द्वेष र घृणा उत्पन्न गर्न सक्छ भनी मान्न सकिँदैन ।
७. नेपालको वर्तमान संविधानले सार्वभौमसत्ता जनतामा निहित रहने संवैधानिक व्यवस्था गरेको छ । नेपालको संविधानको भाग ३ धारा १७ मा स्वतन्त्रतासम्बन्धी हकको प्रावधान छ भने सोही धाराको उपधारा १ मा “कानूनबमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन” भन्ने उल्लेख छ भने सोही धाराको उपधारा २ मा प्रत्येक नागरिकलाई देहायबमोजिमको स्वतन्त्रताको प्रत्याभूत गरेको छ :-
(क) विचार र अभिव्यक्तिको स्वतन्त्रता ,
(ख) बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता,
(ग) राजनीतिक दल खोल्ने स्वतन्त्रता,
(घ) संघ र संस्था खोल्ने स्वतन्त्रतासमेतको व्यवस्था रहेको पाइन्छ ।
८. उल्लिखित संविधानको व्यवस्थालाई विश्लेषण गर्दा नागरिकको विचार र अभिव्यक्तिलाई प्रचलित कानूनले अपराध भनी परिभाषित गरेको आपराधिक तत्त्वको विद्यमानता नरहेसम्म सोउपर नियन्त्रण गर्ने परिकल्पना गरिएको पाइँदैन । त्यसैगरी मानवहित, समाजहित र राष्ट्रहितका लागि उक्त क्षेत्रका मानिसहरू सामेल गराई शान्तिपूर्ण भेलाको आयोजना गरिन्छ वा त्यस्ता उद्देश्यका लागि संघ संस्था खोल्दछन् भने त्यस्तो भेला हुने वा संघ संस्था खोल्ने हक नागरिकको मौलिक हक हुने कुराको प्रत्याभूति गरिएको पाइन्छ । विशुद्ध रूपमा राष्ट्र, समाज, जनता एवं मानवताको हितका खातिर अभिव्यक्त गरिने वा सम्प्रेषण गरिने विचार र अभिव्यक्ति तथा संगठित हुने कार्य मात्र मौलिक हकअन्तर्गत राज्यद्वारा संरक्षण गरिन्छ । यदि मौलिक हक संरक्षणको आवरणमा हातहतियार र बल प्रयोग गरी कुनै पनि कार्य गरिन्छ भने त्यस्तो अवस्थामा मात्र विचार र अभिव्यक्तिको स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र संघ संस्था खोल्ने स्वतन्त्रतासम्बन्धी हकको व्यापकताको हद समाप्त हुन गई कानूनी सीमाको हद सुरू हुन जान्छ । यसबाट विशुद्ध रूपमा राष्ट्र, समाज, जनता एवं मानवताको हितका खातिर अभिव्यक्त गरिने वा सम्प्रेषण गरिने विचार र अभिव्यक्ति तथा संगठित हुने कार्य मात्र मौलिक हकअन्तर्गत राज्यद्वारा संरक्षण गरिने भएकोले शान्तिपूर्ण रूपमा गरिने गतिविधि संवैधानिक अधिकारको परिधिभित्र अटाउँछ ।
९. प्रतिवादीउपर कसुर गरेको भनी दाबी लिइएको राज्य विरूद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३(१) को सम्बन्धमा हेर्दा, सो ऐनको दफा ३(१) मा “कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा निजलाई जन्मकैद हुन्छ” भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । साथै उक्त ऐनको प्रस्तावनामा नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकता अक्षुण्ण राख्न, विभिन्न वर्ग, जाति, धर्म एवं सम्प्रदायका जनताका बिच सुसम्बन्ध कायम राख्न, शान्ति र व्यवस्था कायम राख्न तथा विदेशी राज्यहरूसँग मित्रताको सम्बन्ध कायम राख्ने उद्देश्यले राज्य विरूद्ध गरिने अपराध र सजायको व्यवस्था गर्न सो ऐनको निर्माण भएको भन्ने उल्लेख भएको देखिन्छ ।
१०. प्रत्यर्थी / प्रतिवादीहरूद्वारा सञ्चालित जनचेतना अभियान, अन्तर्क्रिया, कोणसभा, गोष्ठी, स्वयंसेवक युवादस्ता गठन गर्ने जस्ता विचारहरू केही मानिसहरूसम्म सम्प्रेषण गर्ने जस्ता कार्यहरू राज्य व्यवस्थासँगको असन्तुष्टिका आवाज मात्र
देखिन्छन् । यसरी प्रतिवादीहरूले तराई मधेसका जनताहरूलाई र अन्य भू-भागका जनताहरूलाई राज्यबाट समान व्यवहार नगरी विभेदजन्य व्यवहार गरिँदै आएको भन्ने महसुसका साथ उत्पन्न भाव प्रकट गरेको पाइन्छ । राज्यबाट राज्यको स्रोत, साधन र शक्तिको प्रयोगमा समान पहुँच, अवसर र अधिकार प्रदान गर्नुपर्ने, राज्यको कानूनको नजरमा सबै नागरिकहरू समान मानिनुपर्ने र कानूनको प्रयोगमा सबै नागरिकहरूका बिच कुनै पनि किसिमको भेदभाव नहुनुपर्नेमा त्यसको विपरीत विभेदपूर्ण र असमान व्यवहार गरिएको छ भन्ने असन्तुष्टिका आवाजहरू प्रतिवादीहरूबाट व्यक्त भएको पाइन्छ । अभियोग दाबीबमोजिम प्रतिवादीहरूले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गर्ने वा सोको उद्योग गरेको भन्न सकिने अवस्थासमेत देखिएन ।
११. यस सम्बन्धमा यस अदालतबाट “अनुसन्धानको क्रममा बुझिएका मानिसहरूले अदालतमा गरेको बकपत्रबाट प्रतिवादीले जबरजस्ती मानिसहरू भेलाजम्मा गराई डर त्रास देखाई आतङ्कित बनाएको तथा शान्ति सुरक्षामा खलल पार्ने कार्य गरेको भन्ने देखिँदैन । प्रतिवादीले बल प्रयोग गरी शान्ति अमनचयन भङ्ग गरी अशान्ति मच्चाएको वा हुलदङ्गा गरी शान्ति र व्यवस्थामा खलल पुर्याई अव्यवस्था उत्पन्न गरेको भन्ने मिसिल संलग्न कागजातबाट देखिँदैन । प्रतिवादीबाट कुनै हातहतियार, आपत्तिजनक तथा संवेदनशील विष्फोटक पदार्थ, प्रज्ज्वलनशील तथा मधेसलाई नेपालबाट विखण्ड गर्ने खालका कुनै वस्तु बरामद भएको नदेखिँदा प्रतिवादीलाई अभियोग दाबीबमोजिम कसुरदार ठहर गर्न नमिल्ने” (ने.का.प. २०७३, अंक ३, नि.नं.९५६३) भनी सिद्धान्तसमेत प्रतिपादन भएको देखिन्छ र प्रस्तुत मुद्दामा समेत उक्त सिद्धान्त मेल खाने देखिन्छ ।
१२. अतः उपर्युक्त विवेचित तथ्य, संवैधानिक व्यवस्था, कानूनी व्यवस्था र प्रतिपादित सिद्धान्तसमेतका आधारमा प्रतिवादी चन्द्रकान्त राउतसमेतका जना ८(आठ) प्रतिवादीहरूले आरोपित कसुरबाट सफाइ पाउने ठहर्याई विशेष अदालत काठमाडौंबाट मिति २०७४।११।०३ मा भएको फैसला मिलेकै दखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी फैसलाको प्रतिलिपिसहितको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू । मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.टंकबहादुर मोक्तान
इजलास अधिकृत :- राजकुमार दाहाल
इति संवत् २०७६ साल भाद्र ३ गते रोज ३ शुभम् ।