शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०३२९ - परमादेश

भाग: ६१ साल: २०७६ महिना: मंसिर अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल 

आदेश मिति : २०७६।५।१५

०६९-WO-१२८१

 

विषयः परमादेश

 

निवेदक : इलाम जिल्ला, इलाम नगरपालिका वडा नं. ८ बस्ने टंकबहादुर निरौला

विरूद्ध

विपक्षी : शिक्षा मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत

 

अवकाश दिएको अवधिलाई स्वतः अमान्य गरी सेवामा पुनर्स्थापना गरेको पाइन्छ । अवकाश दिएको कार्यलाई अमान्य गरी अवकाश नपाएसरह सेवामा पुनर्स्थापना मानेर पुनर्बहाली गरेकोले त्यस्तो स्वेच्छाचारी किसिमले अवकाश दिएको अवधिलाई नोकरी टुटेको अवधि मान्‍न नमिल्ने ।

(प्रकरण नं.४)

 

निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू श्री बद्री पाठक र श्री हरिबहादुर कार्की

विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री कैलाश के.सी.

अवलम्बित नजिर : 

सम्बद्ध कानून :

शिक्षा नियमावली (छैठौं सैशोधन), २०२८

शिक्षा नियमावली (संशोधनसहित), २०५९

 

आदेश

न्या.केदारप्रसाद चालिसे : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम निवेदन पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः-

म निवेदक जिल्ला शिक्षा समितिले स्वीकृत गरेको दरबन्दीमा जिल्ला शिक्षा सेवा आयोगको सिफारिसबमोजिम प्राथमिक तहको शिक्षक पदमा नियुक्त भई २०३० साल फागुन १ (एक) गतेदेखि नवीन प्रगति प्राथमिक विद्यालय इलाममा कार्यरत थिएँ । त्यसपछि जिल्ला शिक्षा सेवा आयोगको सिफारिसबमोजिम २०३३ साल असार ३१ गते श्री आदर्श व्यावसायिक माध्यमिक विद्यालयमा निम्न माध्यमिक तहको शिक्षक पदमा नियुक्ति पाएँ । यी दुवै नियुक्तिबमोजिम निरन्तर रहेको मेरो सेवाअनुरूप त्यहाँबाट श्री सिंहदेवी माध्यमिक विद्यालय, आमचोक, इलाममा सरूवा भयो । सिंहदेवी माध्यमिक विद्यालयमा कार्यरत रहेकै अवस्थामा बहुदलीय व्यवस्थाको पक्षपोषण गरेको भनी पूर्वाग्रह राखेर शिक्षा नियमावली, २०२८ को छैटौं संशोधनसहितको नियम ४७ (क) को (ङ) अनुसार काम गरेको देखिएको हुनाले शिक्षा नियमावली, २०२८ को छैटौं संशोधनसहितको नियम ४७ (ख) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम पर्चा गरी शिक्षा नियमावली, २०२८ को छैटौं संशोधनसहितको नियम ४७ को खण्ड (ङ) बमोजिम भविष्यमा शैक्षिक नोकरीको निमित्त अयोग्य नठहरिने गरी क्षेत्रीय शिक्षा निर्देशनालय, पूर्वाञ्चल, धरानको निर्णयअनुसार भनी शिक्षा शाखा इलामको च.नं.२/०३७/३८ को पत्रअनुसार मिति २०३७ साल पुस मसान्तदेखि शिक्षकको सेवाबाट जबरजस्ती हटाइयो । मलाई सेवाबाट हटाइनुको कारण पञ्‍चायती व्यवस्थाको प्रतिशोधपूर्ण व्यवहार भएको कुरामा विवाद छैन । 

विक्रम संवत् २०४६ सालको परिवर्तनपछि जिल्ला शिक्षा निरीक्षकको कार्यालय, इलामको च.नं. ५०६ को पत्रानुसार सो कार्यालयको मिति २०४८ साल भदौ २० गतेको निर्णयबमोजिम सुरूको स्थायी नियुक्ति मिति कायम हुने र नयाँ तलबमानअनुसारको तलब तथा अवकाशप्राप्त गरेको अवस्थामा खाइपाई आएको ग्रेड संख्यामा थप एक ग्रेड बहाल रहेको अवधिदेखि खान पाउने गरी मेरो शिक्षा सेवाको पुनः बहाली भयो । त्यसअनुसार श्री आदर्श माध्यमिक विद्यालय, इलाममा अध्यापन गर्दै आएकोमा मिति २०५८ साल वैशाख १ गते श्री अमर उच्च माध्यमिक विद्यालय बरबोटे, इलाममा सरूवा भयो । सो विद्यालयमा कार्यरत रहँदाकै अवस्थामा शिक्षक सेवा आयोगको मिति २०६८/८/९ गतेको निर्णयअनुसार ज्येष्ठताका आधारमा निम्न माध्यमिक तहको द्वितीय श्रेणीको शिक्षक पदमा बढुवा भयो । त्यसअनुसार सोही विद्यालयमा कार्यरत रहँदाकै अवस्थामा मेरो उमेर २०६९ असोज २२ गते ६० वर्ष पूरा भएकाले उमेर हदका आधारमा मिति २०६९ साल असोज २३ गतेबाट अनिवार्य अवकाश पाई सेवानिवृत्त भएको छु । यसैबिच सेवानिवृत्त भएपछि सुरू नियुक्ति मितिबाटै सेवा अवधि गणना गरी मलाई निवृत्तभरणको पट्टा दिनुपर्नेमा मलाई जबरजस्ती सेवाबाट हटाइएको अवधिबाहेक गरी २५ वर्ष सात महिना एक दिन सेवा अवधि उल्लेख गरिएको पेन्सनपट्टा दिइएको छ । मेरो सेवाको गणनाका लागि सुरूको स्थायी नियुक्ति मिति नै कायम हुने गरी पुनर्बहाली गरिएकाले म कार्यरत विद्यालय अमर उच्च माध्यमिक विद्यालयले सेवा अवधिको गणना सोहीअनुसार नै अटुट मानिने गरी मिति २०६८ साल असोज १० गते जिल्ला शिक्षा कार्यालय इलामलाई सिफारिस गरेको 

थियो । सो सिफारिस मुताबिकै जिल्ला शिक्षा कार्यालय इलामले पनि सुरू स्थायी नियुक्ति मिति कायम हुने गरी पुनर्बहाली भएकाले बिचको अवधि सेवा अवधिकै रूपमा गणना गर्ने कारबाहीका लागि च.नं. ८५५, मिति २०६२/९/१५ को पत्रबाट श्री विद्यालय शिक्षक किताबखाना, ताहाचल काठमाडौंमा पठायो । सो अनुरोध पत्राचारबारेको कारबाहीसम्बन्धी निकासाको कुनै जानकारी प्राप्त नभएपछि जिल्ला शिक्षा कार्यालय इलामले च.नं. २१, मिति २०६९/४/१ को पत्रबाट श्री विद्यालय शिक्षक किताबखाना, ताहाचल, काठमाडौंलाई पुनः पत्राचार गरेको थियो । यी दुवै निवेदन तथा सिफारिस पत्राचारउपर विद्यालय शिक्षक किताबखानाबाट हालसम्म पनि कुनै निर्णय भएको छैन । म उमेर हदका कारण सेवा निवृत्त हुने अवधि नजिकिँदै गएपछि मिति २०६९ साल असोज १७ गते विद्यालय शिक्षक किताबखाना कार्यालय, छाउनी, काठमाडौंमा मेरो छुटेको सेवा अवधिमा जोडिएको छ कि छैन र नजोडिएको भए के कारणले नजोडिएको हो सोको जानकारी पाउँ भनी निवेदन गर्न गएँ । मेरो निवेदन दर्ता पनि गरिएन र दर्ता नगरिएको सूचना पनि दिइएन । त्यसपछि मैले हुलाकमार्फत रजिस्ट्री गरी निवेदन पठाएँ र श्री राष्ट्रिय सूचना आयोगमा सोबारेमा मिति २०६९ साल कार्तिक १७ गते दर्ता नं. ७२६ मा उजुरी दर्ता गराएँ । उक्त उजुरी दर्ता भएपछि “अवकाश पाएको मितिदेखि पुनर्बहाली हुँदाको अवधि १० वर्ष सात महिना २० दिन (मिति २०३७/९/३० देखि २०४८/५/२० सम्म) को सेवा अवधि जोडिपाउँ भनी शिक्षा मन्त्रीसमक्ष पेस गर्नुभएको निवेदन यस किताबखानामा प्राप्त हुन आएकोमा शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को दफा ११४ को उपदफा (ङ) मा स्थायी सेवा अवधि बिचमा टुटेको भए सो टुटेको अवधि कटाइनेछ भनी उल्लेख भएको र यस्तो समस्या समाधान गर्ने सम्बन्धमा शिक्षा नियमावलीको दफा १२७ कबमोजिम परामर्श समितिको व्यवस्था भएकोमा उक्त फाइल मिति २०६९ साल कार्तिक २३ गते सो समितिमा राखिएकोमा उक्त टुटेको सेवा अवधि गणनासम्बन्धी विषयमा सोही प्रकृतिका शिक्षकहरूको सेवा गणना गर्नेबारेमा मिति २०६९ साल साउन १४ गतेको परामर्श समितिको निर्णय नं. २ मा उल्लेख भएअनुसार शिक्षा मन्त्रालयबाट निर्णय भई आएबमोजिम गर्ने भन्ने निर्णय भएबमोजिम शिक्षा मन्त्रालय पठाइएकोले उक्त मन्त्रालयबाट निर्णय भई आएबमोजिम हुने” भन्ने बेहोराको विपक्षी विद्यालय शिक्षक किताबखानाको च.न. ३३८४ मिति २०६९ साल मार्ग २५ गतेको पत्र विद्यालयमार्फत प्राप्त 

भयो । यो पत्र पाउनुपूर्व नै मैले उमेरका कारण अनिवार्य अवकाश पाइसकेको छु । 

म निवेदकलाई जबरजस्ती सेवाबाट वञ्चित गरिएकोमा विद्यालय शिक्षक किताबखानाले मलाई दिएको पत्रसमेत साथै राखी शिक्षा मन्त्रीसमक्ष मिति २०६९/११/१४ गते द.नं. ५७० मार्फत सेवाअवधि गणना गरिपाउँ भनी पुनः निवेदन गरेँ । शिक्षा मन्त्रालयबाट च.नं.६२३ मिति २०६९/११/१५ गते मन्त्रीज्यूसमक्ष सेवा अवधिको गणना सम्बन्धमा दिएको तोक आदेशसहितको सक्कलै निवेदन र निवेदनसाथ पेस भएका कागजातहरू संलग्न गरी आवश्यक कारबाहीका लागि श्री विद्यालय शिक्षक किताबखाना ताहाचल, काठमाडौंलाई लेखिपठाउने काम मात्र 

भयो । यसरी म निवेदकको निवेदनलाई विद्यालय शिक्षक किताबखानाले मन्त्रालयबाट निर्णय भई आएबमोजिम गर्ने भन्ने र शिक्षा मन्त्रालयले विद्यालय शिक्षक किताबखानालाई निवेदन पठाउने गर्दै विपक्षीहरू आपसमै दायित्व पन्साउने काम मात्र भइरह्यो । ठोस निर्णय दिने गरी हालसम्म कुनै कारबाही नगरी सेवा अवधि जोडिने हो वा होइन भन्ने विषयमा विपक्षीहरू नै लामो समय अनिर्णयमा रहँदै मलाई अन्यायमा पार्ने कार्य भएबाट अन्य वैकल्पिक उपचारको बाटोको अभावमा सम्मानित अदालतको असाधारण अधिकारक्षेत्रको प्रयोग गरी न्याय पाउन बाध्य भई यो निवेदन गर्न आएको छु । 

म निवेदक नेपाली नागरिक भई कानूनले तोकेको सर्त र योग्यता हासिल गरी सेवा प्रवेशका सर्त, परीक्षा र प्रक्रिया सबै पूरा गरी शिक्षक सेवामा प्रवेश गरेको हुँ । इमान्दारीपूर्वक सेवा गर्दागर्दैको अवस्थामा २०३६ सालमा सुधारिएको पञ्‍चायती व्यवस्था रोज्ने वा बहुदलीय व्यवस्था रोज्ने भन्ने विषयमा राज्यबाटै जनमतसङ्ग्रह गर्ने घोषणा भएको 

थियो । बहुदलीय व्यवस्थाको पक्षधर भएको कारणले नै पञ्‍चायती व्यवस्थाको प्रतिशोधको कोपोभाजनस्वरूप २०३७ सालमा सेवाबाट जबरजस्ती हटाउने काम भयो । २०४६ सालको परिवर्तनपछि सो पूर्वाग्रह र प्रतिशोधपूर्ण कार्य भएको ठहराईकन तत्कालीन सरकारबाट सेवाबाट हटाइएको मजस्ता शिक्षकलाई सुरू नियुक्ति मितिलाई नै सेवाप्रवेश गरेको मिति कायम गरी बिचमा टुटाइएको अवधिलाई समेत निरन्तर सेवामै रहेको मान्ने गरी सेवामा पुनर्बहाली गरेको हो । सो कुरा यकिन रहेको अवस्थामा विपक्षीहरूले सोको अभिलेख व्यवस्थित गरी मेरो सेवाअवधिको गणना गरी समयमै जानकारी दिनुपर्नेमा सेवाअवधि गणना गरिपाउन निवेदन गर्दा पनि स्पष्ट कुरा नगरी खाली अन्योलमा राख्ने विपक्षीको कार्यबाट मेरो संवैधानिक तथा कानूनी अधिकारको प्रचलनमा गम्भीर रूपमा बाधा गएको छ ।

विपक्षी विद्यालय शिक्षक किताबखानाको च.नं. ३३८४ मिति २०६९ साल मार्ग २५ गतेको पत्रले कुनै निष्कर्ष नदिई विपक्षी शिक्षा मन्त्रालयले विद्यालय शिक्षक किताबखानालाई आवश्यक कारबाहीको लागि सक्कलै निवेदन पठाइएको भनी पत्राचार गर्ने र विद्यालय शिक्षक किताबखानाले शिक्षा मन्त्रालयबाट निर्णय भई आएबमोजिम हुने भनी मेरो सेवाअवधि गणनाको विषयलाई अति अस्पष्ट र अन्योलपूर्ण बनाएको छ । यसैगरी प्रकरण ५ मा लेखिएअनुसार मैले दिएको निवेदनउपर पनि विपक्षी मन्त्रालय तथा किताबखानाबाट कुनै निकासा नदिई अन्योल र अनिर्णयको अवस्था कायम गरिएको छ । मलाई दिएको पुनर्बहालीको पत्रमा सुरू स्थायी नियुक्ति मिति कायम हुने भन्ने स्पष्ट व्यवस्था भएकोले सोबमोजिमको सेवाअवधि गणना गरी मेरो निवृत्तभरणको गणनासमेत गरी सोहीबमोजिमको पेन्सनपट्टासमेत दिनुपर्ने विपक्षीको दायित्व स्पष्टै छ । सो नगरी अन्योलमा राख्ने विपक्षीको कार्यले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२, १३ र १८ का हकहरूको प्रचलनमा गम्भीर बाधा पुगेकोले र अन्य उपचारको अभावमा धारा ३२ बमोजिम निवेदन गर्न आएको छु । उमेरको हदबाट सेवानिवृत्त भइसकेका निवेदकको पुनर्बहाली पत्रमा उल्लेख भएबमोजिम सेवाको गणनाका लागि सुरूको स्थायी नियुक्ति मिति नै कायम हुने गरी अमर उच्च माध्यमिक विद्यालयले मिति २०६८ साल असोज १० गते जिल्ला शिक्षा कार्यालय, इलामलाई सिफारिस गरेबमोजिम निवेदकको सेवाअवधिको गणना गरिदिनु र सोहीबमोजिमको सेवाअवधिको सुनिश्चिततासहितको पेन्सनपट्टासमेत दिनु भनी नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम विपक्षीहरूका नाममा परमादेशलगायत उपयुक्त आज्ञाआदेश जारी गरिपाउँ भन्‍नेसमेत बेहोराको टंकबहादुर निरौलाको निवेदनपत्र ।

यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? यो आदेश प्राप्त भएको मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पठाउनु भनी यो आदेश रिट निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरूलाई सूचना दिई त्यसको बोधार्थ महान्यायाधिवक्ताको कार्यालयमा पठाई लिखित जवाफ प्राप्त भएपछि वा अवधि नाघेपछि नियमबमोजिम गरी पेस गर्नु भन्‍ने मिति २०७०।३।५ मा यस अदालतबाट भएको आदेश । 

मिति २०३०।११।०१ देखि शिक्षण सेवामा प्रवेश गरी २०३३।०३।३१ मा स्थायी नियुक्ति भई सेवारत अवस्थामा बहुदलीय व्यवस्थाको पक्ष पोषण गरेको भनी क्षेत्रीय शिक्षा निर्देशनालय धरानको निर्णयानुसार जिल्ला शिक्षा कार्यालय इलामको पत्रबाट २०३७ पौष मसान्तदेखि भविष्यमा शैक्षिक नोकरीको निमित्त अयोग्य नठहरिने गरी शिक्षक पदबाट हटाइएको र सुरूको स्थायी नियुक्ति मिति कायम हुने र नयाँ तलबमानअनुसारको तलब तथा अवकाश प्राप्त गरेको अवस्थामा खाइपाई आएको ग्रेड संख्यामा थप १- ग्रेड बहाल रहेको अवधिदेखि खान पाउने गरी जिल्ला शिक्षा कार्यालय इलामको मिति २०४८।०५।२० को निर्णयबमोजिम पुनर्बहाली गरी पुनःसेवामा प्रवेश भएको र ६० वर्ष उमेर पूरा भई मिति २०६९।०६।२३ देखि अनिवार्य अवकाश हुनु भएको छ । सेवाबाट हटाइएको अवधिबाहेक २५ वर्ष ७ महिना १ दिनको पेन्सन पट्टालगायतको सेवा, सुविधा विद्यालय शिक्षक किताबखानाबाट लिएको भन्ने कुरा रिट निवेदक टंकबहादुर निरौलाले रिट निवेदनमा उल्लेख गर्नुभएको छ ।

निज रिट निवेदक टंकबहादुर निरौलाको उमेर ६० वर्ष पूरा भई श्री जिल्ला शिक्षा कार्यालय इलामको च.नं. ६७९ मिति २०६९।०६।२२ को पत्रबाट अनिवार्य अवकाश गरिएको । मिति २०३३।०३।३१ मा स्थायी नियुक्ति भई मिति २०६९।०६।२३ मा अनिवार्य अवकाश हुनु भएको । उक्त अवधिभित्र सेवामा नरहेको अवधि (२०३७।०९।३० देखि २०४८।०५।२१ सम्म) १० वर्ष ०७ महिना २१ दिन बिचमा टुटेको अवधि कट्टी गरी जम्मा सेवा अवधि २५ वर्ष ०७ महिना ०१ दिनको निवृत्तभरणलगायतको सेवा, सुविधा यस किताबखानाको मिति २०६९।११।२८ को निर्णयानुसार उपलब्ध गराइएको ।

रिट निवेदक मिति २०३३।०३।३१ मा स्थायी सेवामा प्रवेश गरी २०३७ पौष मसान्तदेखि सेवाबाट अवकाश हुनु भई मिति २०४८।०५।२० देखि सुरूको स्थायी नियुक्ति कायम हुने गरी पुनर्बहाली हुनु भएको । मिति २०६९।०६।२३ देखि अनिवार्य अवकाश हुनु भई श्री जिल्ला शिक्षा कार्यालय इलामको च.नं. १८११ मिति २०६९।११।०८ को पत्रबाट टुटेको सेवा अवधि कट्टा गरी सेवा, सुविधा उपलब्ध गराउनको लागि सिफारिस भई आएको र बिचमा टुटेको सेवा अवधि जोडी पाउँ भन्ने निवेदनको सम्बन्धमा शिक्षा नियमावली, २०५९ (संशोधनसहित) नियम ११४ को उपनियम (ङ) मा स्थायी नोकरी अवधि गणना गर्दा स्थायी सेवा अवधि बिचमा टुटेको भए सो टुटेको अवधि कटाउने उल्लेख व्यवस्था भएको र शिक्षा ऐन तथा नियमावलीमा त्यस्तो टुटेको सेवा अवधि गणना गर्ने कहाँकतै व्यवस्था नभएको । निजले मिति २०३७।०९।३० देखि २०४८।०५।२० सम्म (१० वर्ष ०७ महिना २१ दिन) अवकाश गरिएको अवधि कट्टी गरी जम्मा सेवा अवधि २५ वर्ष ०७ महिना ०१ दिन कायम गरी सेवा, सुविधा उपलब्ध गराई दिनु हुन भनी मिति २०६९।११।२२ मा यस किताबखानामा निवेदनसमेत पेस गर्नुभएको र निजलाई जिल्ला शिक्षा कार्यालय इलामबाट मिति २०४८।०५।२० मा पुनर्बहाली गर्दा र निजले रिट निवेदनमा माग गरेबमोजिम तथा शिक्षा ऐन नियमअनुसार सुरूको स्थायी नियुक्ति मिति २०३३।०३।३१ देखि अवकाश मिति २०६९।६।२३ सम्मको सेवामा टुटेको सेवा अवधि १० वर्ष ०७ महिना २१ दिन कट्टा गरी जम्मा सेवा अवधि २५ वर्ष ०७ महिना ०१ दिनको पेन्सनलगायतको सेवा, सुविधा यस किताबखानाको मिति २०६९।११।२८ को निर्णयानुसार अपलब्ध गराइएको र निजले सो सेवा, सुविधा स्वीकार गरी पेन्सन पट्टा, ल्याप्चे सहिछापसमेत गरी औषधी उपचारलगायतको पाउने रकमसमेत बुझिसक्नु भएकोले यस किताबखानाबाट मिति २०६९।११।२८ मा निजलाई सेवा, सुविधा उपलब्ध गराउनु भएको निर्णय कानूनसम्मत रहेकोले निजको कानूनी तथा संवैधानिक हक अधिकारमा आघात नपरेको हुँदा प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्‍ने विद्यालय शिक्षक किताबखानाको लिखित जवाफ । 

नोकरीबाट हटाइएका शिक्षकको पुनः बहालीका सम्बन्धमा शिक्षा ऐन, २०२८ को दफा १६(छ) ले विभागीय सजाय भई नोकरीबाट हटाइएको वा बर्खास्त भएको शिक्षक अदालतको आदेश वा फैसलाबमोजिम मात्र नोकरीमा पुनः बहाली हुन सक्ने र यसरी अदालतको आदेश वा फैसलाबाट पुनः बहाली भएको शिक्षकले नोकरीबाट हटेदेखि पुनः बहाली भएको मितिसम्मको बिचको अवधिको तलब, भत्ता र तलब वृद्धि पाउने व्यवस्था गरेको अवस्थामा शिक्षा मन्त्रालयबाट पुनः बहाली भएको शिक्षकको सोबिचको अवधि सेवा अवधिमा गणना गर्ने वा सोबिचको अवधिको सेवा सुविधा उपलब्ध गराउने कुरा कानूनसम्मत छैन ।

शिक्षकको निवृत्तभरणको प्रयोजनका लागि नोकरी अवधि गणना सम्बन्धमा शिक्षा नियमावली, ११४ ले गरेको व्यवस्थाअनुसार सो नियम ११४ को खण्ड (ङ) ले स्थायी नोकरी अवधि गणना गर्दा स्थायी सेवा अवधि बिचमा टुटेको भए सो टुटेको अवधि कटाइनेछ भन्ने उल्लेख भएबाट रिट निवेदकको दाबी निराधार र कानूनी आधारबेगर हचुवाको भरमा दिएको रिट निवेदन खारेज गरिपाउँ भन्‍ने बेहोराको शिक्षा मन्त्रालयको लिखित जवाफ ।

जिल्ला शिक्षा कार्यालय इलामको मिति २०४८/०५/२० को पत्रमा पुनर्बहाली हुँदा निजको सुरू स्थायी नियुक्ति मिति कायम हुने र नयाँ तलबमानअनुसारको तलब भत्ता अवकाश प्राप्त गरेको अवस्थामा खाइपाई आएको ग्रेड संख्यामा १ ग्रेड बहाल रहेको अवधिदेखि खान पाउने सर्त राखिएको र सेवाबाट हटाइएको र पुनर्बहाली बिचको अवधिको नोकरी गणना सम्बन्धमा कहीँकतै उल्लेख नभएको साथै शिक्षा नियमावली, २०५९ संशोधनसहितको नियम ११४ (ड) मा स्थायी अवधि बिचमा टुटेको भए सो टुटेको अवधि कटाइने छ भनी उल्लेख भएको हुँदा निजको टुटेको अवधि नोकरी गणनाको माग दाबी कानूनसम्मत देखिँदैन । 

नोकरी अवधि निर्धारण सिफारिस समितिको मिति २०६९/०३/३१ गतेको निर्णयानुसार निजलाई सेवाबाट हटाइएपछि पुनर्बहाली बिचको अवधि गणना गर्न विद्यालय शिक्षक किताबखानामा कार्यबाही अगाडि बढाई दिन सिफारिस गरी पठाइएकोमा त्यसको हालसम्म कार्यबाही किनारा लाग्न नसकेको । कानूनसम्मतको जिकिर भए निजको माग दाबीअनुसार शिक्षक किताबखानाले पहिले नै निजको नोकरी गणना गरी दिनु पर्ने हो । निजलाई पुनर्बहाली गरिँदाको टिप्पणी आदेशमा समेत बहाली भएको मितिदेखि लागू हुने पुनर्बहाली हुने भनिएकोले निजको माग दाबीअनुसार नोकरी गणना हुने अवस्था देखिँदैन भन्‍नेसमेत बेहोराको जिल्ला शिक्षा कार्यालय इलामको लिखित जवाफ ।

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत निवेदनमा निवेदकतर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ताहरू श्री बद्री पाठक र श्री हरिबहादुर कार्कीले निवेदक मिति २०३०।११।१ मा प्राथमिक तहको शिक्षक पदमा नियुक्ति भई मिति २०३३।३।३१ मा निम्न माध्यमिक तहको शिक्षक पदमा नियुक्ति भई कार्यरत रहेकोमा बहुदलीय व्यवस्थाको पक्षपोषण गरेको भनी पर्चा खडा गरी भविष्य शैक्षिक नोकरीको निमित्त अयोग्य नठहरिने गरी मिति २०३७।९।३० देखि लागू हुने गरी बर्खास्त गरिएकोमा २०४८।५।२० मा शिक्षा सेवाको पुनर्बहाली गरियो । निवेदक मिति २०६९।६।२२ मा उमेर हदको कारण अवकाश भएकोमा निजको विद्यालय शिक्षक किताबखानाले पेन्सन पट्टालगायत निजले पाउने सुविधासमेतमा अवकाश पाएको मितिदेखि पुनर्बहाली हुँदाको अवधि १०वर्ष ७ महिना २० दिन जोडिदिएको छैन । उक्त अवधि नजोडिँदा निजले पाउने सेवा सुविधासमेतमा कटौती भएको छ । बहुदलीय व्यवस्थाको पक्षपोषण गरेको आरोपमा अवकाश दिएका व्यक्तिलाई बहुदलपछि पनि सेवा अवधि नजोडी निजले पाउने सेवा सुविधामा कटौती गर्न मिल्दैन । अन्य कारणले सेवाबाट अवकाश भएको र पछि सेवा जोडिएको अवस्थामा सेवा अवधि जोडिँदैन । राजनीतिक आस्थाको कारण सेवाबाट अवकाश दिएका व्यक्तिको हकमा शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ११४ को उपनियम (ङ) को व्यवस्था लागु हुन सक्दैन । तसर्थ विद्यालय शिक्षक किताबखानाले सेवा टुटेको अवधि कट्टा गरी निवृत्तभरण अधिकार पत्र र अन्य सेवा सुविधाहरू कटौती गरी निवृत्तभरण अधिकार पत्रमा समेत सेवा अवधि कम जनाई जारी गरेको निवृत्तभरण अधिकार पत्रसमेत बदर गरी सम्पूर्ण सेवा अवधि कायम गरी निवृत्तभरण उपलब्ध गराउनु भनी विपक्षीहरूको नाउँमा परमादेश जारी हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो । 

विपक्षी सरकारी निकायहरूको तर्फबाट उपस्थिति विद्वान्‌ उपन्यायाधिवक्ता श्री कैलाश के.सी.ले निवेदकले मिति २०६९।११।२८ मा विद्यालय किताबखानामा सहिछाप गरी निवृत्तभरण अधिकार पत्र बनाई सकेका छन् । सुविधा स्वीकार गरिसकेपछि पुनः थप सुविधा पाउनु पर्छ भन्‍न मिल्दैन । निज मिति २०७०।२।२२ मा मात्र अदालत प्रवेश गरेका छन । शिक्षा नियमावली (संशोधनसहित), २०५९ को नियम ११४ (ङ) ले सेवा अवधि जोड्ने व्यवस्था छैन । सेवा टुटेको अवधिलाई कट्टा गरी बाँकी सेवा अवधि गणना गरी निवृत्तभरण अधिकार पत्र बनाई सकेको अवस्थामा रिट जारी हुन सक्दैन । रिट खारेज हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।

विद्वान्‌ अधिवक्ता र विद्वान्‌ उपन्यायाधिवक्ताले गर्नुभएको बहससमेत सुनी निवेदनसहितको मिसिल अध्ययन गर्दा निवेदक मागबमोजिम आदेश जारी गर्नु पर्ने हो होइन ? भन्‍ने विषयमा निर्णय दिनु पर्ने देखिन आयो । 

निर्णयतर्फ विचार गर्दा निवेदक मिति २०३०।११।१ मा प्राथमिक विद्यालयको स्थायी शिक्षकमा नियुक्ति पाएकोमा मिति २०३३।३।३१ मा निम्न माध्यमिक तहको शिक्षक पदमा स्थायी नियुक्ति पाई कार्यरत रहेकोमा बहुदलीय व्यवस्थाको पक्षपोषण गरेको भनी शिक्षा नियमावली (छैठौं संशोधन), २०२८ को नियम ४७ को खण्ड (ङ) को विपरीत काम गरेको देखिएकोले सोही नियमावलीको नियम ४७(ख) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम पर्चा खडा गरी भविष्यमा शैक्षिक नोकरीको निमित्त अयोग्य नठहरिने गरी क्षेत्रीय शिक्षा निर्देशनालय पूर्वाञ्‍चल, धरानको निर्णयअनुसार शिक्षा शाखा इलामको च.नं. २/०३७/०३८ मिति २०३७।९।३० देखि लागू हुने गरी शिक्षक सेवाबाट जबरजस्ती हटाइएकोमा मिति २०४८।५।२० को निर्णयबमोजिम सुरू स्थायी नियुक्ति मिति कायम हुने र नयाँ तलबमानअनुसारको तलब तथा अवकाश प्राप्त गरेको अवस्थामा खाइपाई आएको ग्रेट संख्यामा थप १ ग्रेट बहाल रहेको अवधिदेखि खाना पाउने गरी पुनर्बहाली भएकोमा २०६९।६।२३ मा उमेर हदका कारण सेवाबाट अनिवार्य अवकाश प्राप्त गरिसकेपछि उक्त टुटेको सेवा अवधि जोडिपाउँ भनी शिक्षा विभाग, शिक्षा मन्त्रालय र विद्यालय शिक्षक किताबखानामा निवेदन दिएकोमा कुनै निर्णय नगरी मिति २०६९।११।२८ मा सेवा अवधि २५ वर्ष ७ महिना १ दिन कायम गरी सेवा सुविधा र निवृत्तभरण अधिकार पत्र जारी गरियो । आफूले दिएको निवेदनउपर कुनै कारबाही नगरी बहुदलीय व्यवस्थाको पक्षपोषण गरेको आरोपमा सेवाबाट जबरजस्ती हटाइएको र सो हटाइएको कुरा गलत भएको भनी पुनः सेवामा पुनर्बहाली गरी सेवा गरेकोमा अवकाशपछि उक्त टुटेको अवधिको गणना नगरी आफूले पाउने सेवा सुविधासमेत बाधा पुग्न गएकोले उक्त टुटेको सेवा अवधि गणना गरी सेवा सुविधा र निवृत्तभरण अधिकार पत्र दिनु भनी विपक्षीहरूको नाउँमा परमादेशलगायत आदेश जारी गरिपाउँ भन्‍ने निवेदन भएकोमा नोकरीबाट हटाइएका शिक्षकको पुनः बहालीको सम्बन्धमा शिक्षा ऐन, २०२८ को दफा १६(ख) ले विभागीय सजाय भई नोकरीबाट हटाइएको वा बर्खास्त भएका शिक्षक अदालतको आदेश वा फैसलाबमोजिम मात्र नोकरीमा पुनः बहाली हुन सक्ने र अदालतको आदेश वा फैसलाबाट पुनः बहाली भएको शिक्षकले नोकरीबाट हटेदेखि पुनः बहाली भएको मितिसम्मको बिच अवधिको तलब भत्ता र तलब वृद्धि पाउने व्यवस्था गरेको अवस्थामा शिक्षा मन्त्रालयबाट पुनः बहाली भएको शिक्षकको सोबिचको अवधि सेवा अवधिमा गणना गर्ने वा सोबिचको अवधिको सेवा सुविधा उपलब्ध गराउने कुरा कानूनसम्मत नभएको हुँदा खारेज गरिपाउँ भन्‍ने लिखित जवाफ रहेको पाइयो ।

२. सो सन्दर्भमा हेर्दा निवेदक टंकबहादुर निरौला मिति २०३०।११।१ मा प्राथमिक तहको शिक्षक पदमा र मिति २०३३।३।३१ मा निम्न माध्यमिक तहको शिक्षक पदमा नियुक्ति भई शिक्षक सेवा गरी आएकोमा विवाद देखिँदैन । निवेदकलाई २०३७।९।३० देखि शिक्षा नियमावली (छैठौं संशोधन), २०२८ को नियम ४७(क) को खण्ड (ङ) अनुसार काम गरेको देखिएकोले सोही नियमावलीको नियम ४७ को खण्ड (ङ) बमोजिम भविष्यमा शैक्षिक नोकरीको निमित्त अयोग्य नठहरिने गरी क्षेत्रीय शिक्षा निर्देशनालय, पूर्वाञ्‍चल धरानको निर्णय भनी शिक्षा शाखा इलामको च.नं.२/०३७/०३८ मिति २०३७।९।३० को पत्रअनुसार सेवाबाट हटाइएको देखिएको छ । २०४६ सालको परिवर्तनपछि निजलाई पुनर्बहालीसम्बन्धी पत्रमा “तपाइँलाई क्षेत्रीय शिक्षा निरीक्षकको कार्यालय, पूर्वाञ्‍चल धनकुटाको च.नं. ७३० मिति २०४७।८।५ को पत्रको आधारमा यस कार्यालयको मिति २०४८।५।२० को निर्णयअनुसार सुरूको स्थायी नियुक्ति मिति कायम हुने र नयाँ तलबमानअनुसारको तलब तथा अवकाश प्राप्त गरेको अवस्थामा खाईपाई आएको ग्रेट संख्यामा थप १ ग्रेट बहाल रहेको अवधिदेखि खान पाउने गरी श्री आदर्श माध्यमिक विद्यालय इलामको निम्न माध्यमिक विद्यालय तहमा पुनर्बहाली गरिएको छ” भनी जिल्ला शिक्षा निरीक्षकको कार्यालय, इलामको च.नं. ५०६ मिति २०४८।५।२० को पत्रद्वारा पुनर्बहाली गरिएको देखिन्छ । निवेदक मिति २०६९।६।२३ मा उमेर हदका कारण सेवा निवृत्त भएको देखिएको 

छ । निजलाई पद मुक्त गरिएको मिति २०३७।९।३० देखि मिति २०४८।५।२० सम्मको करिब १० वर्ष ७ महिना २० दिनको सेवा अवधि गणना नगरी विद्यालय किताबखानाले निवृत्तभरणको अधिकार पत्र जारी गरेको देखियो । 

३. शिक्षा नियमावली, २०५९ को नियम ११४ (ङ) मा “स्थायी नोकरी अवधि गणना गर्दा स्थायी सेवा अवधिबिचमा टुटेको भए सो टुटेको अवधि कटाइने छ” भन्‍ने कानूनी व्यवस्था रहेको देखिन्छ । यही कानूनी व्यवस्थाको आधारमा निवेदकको टुटेको नोकरी अवधि गणना गर्न नमिल्ने भन्‍ने विपक्षीहरूको लिखित जवाफबाट देखिएको छ । निवेदकको नोकरी अवधि निवेदकको आफ्नो कारणबाट टुटेको नभई राजनीतिक आस्थाको कारण कुनै कारबाही नै नगरी स्वेच्छाचारी किसिमले ठाडो पत्रको आधारमा निजलाई अवकाश दिएको भन्‍ने देखिन्छ । निवेदक टंकबहादुर निरौलालाई क्षेत्रीय शिक्षा निर्देशनालय, पूर्वाञ्‍चल, धनकुटाले मिति २०३७।९... को निर्णयानुसार शिक्षा नियमावली (छैठौं संशोधन), २०२८ को नियम ४७ को खण्ड (ङ) बमोजिम भविष्यमा शैक्षिक नोकरीको निमित्त अयोग्य नठहरिने गरी अवकाश दिँदा अर्थात् विभागीय कारबाही गर्दा सोही नियमावलीको नियम ४७(ख) को खण्ड (क) मा “सजाय दिन पाउने अधिकारीले कुनै शिक्षक वा कर्मचारीलाई सजाय गर्ने आदेश दिनुभन्दा अघि निजलाई आफ्नो सफाइ पेस गर्ने मौका दिनुपर्छ । यसरी सफाइ मौका दिँदा निजमाथि लगाइएको आरोप र सजाय स्पष्ट रूपले किटिएको हुनुपर्छ” भन्‍ने कानूनी व्यवस्था रहेको देखिन्छ । निवेदकलाई विभागीय सजाय गरी सेवाबाट हटाउँदा उक्त कार्यविधि अवलम्बन गरेको 

देखिएन । निवेदकको नोकरी अवधि के कारणबाट टुटेको हो भन्‍ने स्पष्‍ट आधार विपक्षीहरूको लिखित जवाफबाट खुल्न आएको छैन । स्थायी शिक्षक पदमा कार्यरत निवेदकलाई नोकरीबाट हटाउँदा कुन अभियोगमा कारबाही भएको हो ? निजले के कस्तो कसुर गरेकोले सेवाबाट अवकाश दिनु परेको भन्‍ने कारण र आधार उल्लेख गरेको देखिएन । निवेदकलाई लगाइएको आरोप यी यी हुन भनी स्पष्ट उल्लेख गरी स्पष्टीकरण माग गरेको पनि देखिँदैन । निवेदकलाई अवकाश दिनुपूर्व सफाइ पेस गर्ने मौकासमेत दिएको देखिएन । कसैलाई सेवाबाट हटाउन उसलाई लागेको आरोपको सम्बन्धमा सफाइ पेस गर्न पर्याप्त समयसहितको मौका प्रदान गर्नु पर्ने हुन्छ तर यी निवेदकलाई उपर्युक्तबमोजिम सफाइ पेस गर्ने मौका प्रदान गरेको नभई ठाडो आदेशको भरमा सेवाबाट बर्खास्त गरेको देखिन्छ । सार्वजनिक पद धारण गर्ने राष्ट्र सेवकले आफ्नो अधिकारको प्रयोग कानूनद्वारा निर्धारित प्रक्रियाअनुसार गर्नुपर्ने हुन्छ । 

४. निवेदकलाई जिल्ला शिक्षा निरीक्षकको कार्यालय इलामले मिति २०४७।८।५ को निर्णयानुसार भनी जिल्ला शिक्षा निरीक्षकको कार्यालय इलामले निवेदकलाई सुरूको नियुक्ति मिति कायम हुने र नयाँ तलबमानअनुसारको तलब तथा अवकाश गरेको अवस्थामा खाइपाई आएको ग्रेड संख्यामा थप एक ग्रेड खान पाउने गरी निवेदकलाई अवकाश दिएको अवधिलाई स्वतः अमान्य गरी सेवामा पुनर्स्थापना गरेको पाइन्छ । अवकाश दिएको कार्यलाई अमान्य गरी अवकाश नपाए सरह सेवामा पुनर्स्थापना मानेर पुनर्बहाली गरेकोले त्यस्तो स्वेच्छाचारी किसिमले अवकाश दिएको अवधिलाई नोकरी टुटेको अवधि मान्‍न मिल्ने नदेखिएकोले शिक्षा नियमावली, (संशोधनसहित), २०५९ को नियम ११४(ङ) मा उल्लेख भएको “बिचमा टुटेको भए सो टुटेका अवधि कटाई” भन्ने कुरा निवेदकको हकमा आकर्षित हुने देखिएन । 

५. निवेदकले निवृत्तभरणको अधिकार पत्र बनाएको भन्‍ने सन्दर्भमा निजले नोकरी अवधि जोडी पाउँ भनी मिति २०६९।७।१७ मा विद्यालय शिक्षक किताबखानामा निवेदन दिएकोमा उक्त कार्यालयले दर्ता नगरेकोले हुलाकमार्फत रजिस्टरी गरी राष्ट्रिय सूचना आयोगमा निवेदन दर्ता गराएको देखिन्छ । यसैगरी निवेदकले शिक्षा मन्त्रीसमक्ष मिति २०६९।११।१४ मा सेवा अवधि गणना गरिपाउँ भनी पुनः निवेदन दिएकोमा सो निवेदनउपर कुनै कारबाही नगरी निवेदकको नाउँमा विद्यालय शिक्षक किताबखानाले उक्त १० वर्ष ७ महिना २० दिनलाई गणना नगरी सेवा अवधि २५ वर्ष ७ महिना१ दिन कायम गरी निवृत्तभरणको अधिकारपत्र जारी गरेको कारणले निजले सेवा सुविधा स्वीकार गरिसकेपछि निवेदन दिन आएकोले रिट खारेज हुनुपर्छ भन्‍ने विद्वान्‌ उपन्यायाधिवक्ताको तर्कसँग सहमत हुन सकिएन । निजले दर्ता गराएको निवेदनमा कारबाही नगरी अधिकार पत्र जारी गर्ने कार्य कानूनसङ्गत मान्‍न मिलेन ।

६. तसर्थ निवेदकले सुविधा पाउन बिचमा टुटेको अवधि जोडन निरन्तर प्रयास गरिरहेकै अवस्थामा निवृत्तभरण अधिकारपत्र लिएकोले निवेदकले सेवा अवधि टुटेको स्वीकार गरेको भनी अर्थ गर्न मिल्ने देखिएन । शिक्षा नियमावली (संशोधनसहित), २०५९ को नियम ११४(ङ) बमोजिमको निवेदकको आफ्नो कारणबाट सेवा टुटेको अवस्था नभई कानूनी आधार र प्रक्रियाबेगर निवेदकको सेवा टुटाइएको अवस्था विद्यमान भएको र निजलाई पुनर्बहाली गर्दा “सुरूको स्थायी नियुक्ति मिति कायम हुने” भनी पुनर्बहाली गरेकोसमेत देखिँदा निजलाई मिति २०३७।९।३० मा सेवाबाट हटाई मिति २०४८।५।२० मा पुनर्बहाली गरेको मितिसम्मको १० वर्ष ७ महिना २० दिनको सेवा अवधिसमेत जोडी निजको हुन आउने सेवा अवधिलाई एकमुष्ट कायम गरी सेवा सुविधा र निवृत्तभरणको अधिकारपत्र दिनु भनी विद्यालय शिक्षक किताबखानासमेतका विपक्षीहरूका नाउँमा परमादेश जारी हुने ठहर्छ । आदेशको जानकारी महान्यायाधिवक्ताको कार्यालयमार्फत जानकारी दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.हरिप्रसाद फुयाल

 

इजलास अधिकृत : जगतबहादुर पौडेल

इति संवत् २०७६ साल भदौ १५ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु