निर्णय नं. ८२६० - अबण्डा जग्गा बण्डा छुट्याई पाऊँ ।

निर्णय नं. ८२६० फागुन, २०६६
सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय का.मु. प्रधान न्यायाधीश श्री अनूपराज शर्मा
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
२०६१ सालको दे.पु.नं. : ८३१७
फैसला मितिः २०६६।७।२५।४
मुद्दा : अबण्डा जग्गा बण्डा गरिपाऊँ ।
पुनरावेदक/वादीः धनुषा जिल्ला, मानसिंहपटिृ गा.वि.स. वडा नं. ३ बस्ने तुरन्त मण्डल
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः धनुषा जिल्ला, मानसिंहपटिृ गा.वि.स. वडा नं. ३ बस्ने उत्तिमप्रसाद मण्डल
§ अंशबण्डा गोश्वाराको लिखतमा उल्लेख नभएको अवस्थामा पनि हिसाव शान्ति दुबै थरको भोग भएको वा भोग नभएकोमा समेत अघि बण्डा भै बाँकी रहेको सम्पत्ति पाऊँ भनी नालिस गर्नसक्ने ।
(प्रकरण नं. २)
§ बण्डापत्रमा अबण्डा भनी उल्लेख नहुँदैमा बण्डापत्रमा नसमेटिएको सम्पत्तिमा कुनै एक पक्षको मात्र हक लाग्छ भन्ने अर्थ गर्दा अंश हकको संकुचित व्याख्या हुन जाने ।
(प्रकरण नं. ३)
पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री प्रकाश के.सी.
प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता जानकीप्रसाद गिरी
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
§ अ.वं. ३५, १३९ नं.
फैसला
का.मु.प्र.न्या.अनूपराज शर्माः पुनरावेदन अदालत जनकपुरको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) बमोजिम यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छ :-
स्व.असर्फी मण्डलको ३ भाइ छोराहरूमध्ये जेठा नथुनी मण्डल, माहिला म फिरादी तुरन्त मण्डल, कान्छा प्रतिवादी उत्तिमप्रसाद भएकोमा हामीहरूको बीच मिति २०४३।८।२९ मा दे.नं. ८४७ को अंश मुद्दाबाट अंश लिई दिई मिलापत्र भएकोमा गाउँ ब्लक भित्रको अबण्डा जग्गा मिलापत्र नभएको र हाल आमा पनि स्वर्गीय भै सक्नु भएको, दाजु नथुनी मण्डल पनि बेग्लै बसेकोले अबण्डा जग्गा दुई भागको एक भाग लगाई पाउन पूर्वमा मुखलाल, पश्चिममा सडक, उत्तरमा मुखलाल र लखन मण्डल, दक्षिणमा वासुदेव मण्डल नथुनी मण्डल यति चार किल्ला भित्रको जिल्ला धनुषा, मानसिंहपट्टी गा.वि.स. वार्ड नं. ३ अन्तर्गतको उत्तर मुख पूर्व पश्चिम ६७ फीट दक्षिण मुख पूर्व पश्चिम वासुदेवको साधमा ४५ फीट नथुनीको साँधमा ४० फीट पूर्व मुख गोठ घर ३१ फीट भान्सा घर २४ जम्मा ५५ फीट पश्चिम मुख ४८ फीट भएको सो जग्गामा पाँच कोठाको पक्का घर भान्सा गोठ घर चर्पी समेत त्यस्तै सोही वार्डको सडकदेखि पश्चिम, सडकदेखि उत्तर, रामजी मण्डलदेखि पूर्व, विशेश्वर मण्डल जुगाई मण्डलदेखि दक्षिण यति चार किल्ला भित्रको १४ धुर समेतको अबण्डा जग्गा मध्ये बण्डा छुट्याई पाऊँ भन्ने फिराद दावी ।
वादी दावी झूठा एवं मनोगत हो, किन भने दे.नं. ८४७ को अंश मुद्दा मिलापत्र हुँदा गाउँ व्लकको घडेरी जग्गाहरू आपसी समझदारी अनुसार वाँडफाँड भैसकेपश्चात् वादीले जनकपुरको घर जग्गा वादीकै हक भोगमा परेको र दाजु नथुनी मण्डल आफ्नो भाग भोगको जग्गामा घर बनाई बसोबास गर्दै आएको र हाल वादीले दावी लिएको जग्गा घर म उत्तिमप्रसाद मण्डलको हक भोगमा रहेकोले वादीको दावी खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकीर ।
हामीहरू अंशियार भएकोमा कुनै विवाद छैन । मिति २०४३।९।२९ गतेमा मिलापत्र हुँदा गाउँ ब्लकको घडेरी जग्गा हामी तीनै अंशियारको समझदारीअनुसार मेरो भागको घडेरी जग्गा छुट्याई दिएका हुन् । त्यसमा कसैको अंश हक लाग्दैन र बाँकी घडेरी जग्गामा यी वादी प्रतिवादीको अंश हक लाग्छ, सो जग्गामा दुबैजनाको बराबरको हक लाग्छ भन्ने समेत व्यहोराको अ.वं. १३९ नं. बमोजिम बुझिएका नथुनी मण्डल केवटको बयान ।
वादीहरूको घडेरी जग्गा अबण्डा हुँदा बण्डा हुनु पर्छ भन्ने वादीको साक्षी सन्तु साह र वीरजु साहको बकपत्र ।
मिति २०४३।९।२९ गते नै मिलापत्र भैसकेकोले सोही समझदारीअनुसार बण्डा लाग्नु पर्ने होइन भन्ने प्रतिवादीको साक्षी जुरी मण्डल र भोला मण्डलको बकपत्र ।
अंश मुद्दाको मिलापत्रमा बाँडफाँड नगरेको वादी समेतको अंश हक लाग्ने अबण्डा राखेको देखिएको विवादित घर जग्गाको २ खण्डको १ खण्ड वादीको हक भएको पुष्टि हुँदा नरम गरम मिलाई २ भागको १ भाग वादीले आफ्नो हक छुट्याई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु धनुषा जिल्ला अदालतबाट मिति २०५७।९।१२ मा भएको फैसला ।
अबण्डा सम्पत्ति नरहेको भन्ने कुरा मिलापत्रको कागजातबाट स्थापित भई रहेको, साथै पुर्ख्यौली हवेली घर तोडी बाँडफाँड गरी अलग अलग बसोवास गर्दै आएको अवस्थामा मैले कृषि कर्म गरी बनाएको घरलाई यो अबण्डा सम्पत्ति हो भनी कानूनविपरीत अर्थ लगाई गरिएको शुरु फैसलामा गम्भीर कानूनी त्रुटि रहेको हुँदा बदर गरी न्याय प्रदान गरिपाऊँ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरमा पर्न आएको प्रतिवादीको पुनरावेदन पत्र ।
अंश मुद्दामा भएको मिलापत्रमा विवादको जग्गा अबण्डा रुपमै राख्ने भन्ने शर्त व्यहोरा परेको नदेखिएको परिप्रेक्ष्यमा वादी दावी पुग्ने गरी भएको शुरु फैसला बिचारणीय देखिँदा छलफल निमित्त अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भनी पुनरावेदन अदालत जनकपुरको मिति २०५९।१०।१७ को आदेश ।
सवै अंशियारहरू वा केही अंशियारहरू बीच बण्डा गर्न कुनै सम्पत्ति बाँकी रही अबण्डा रहेको भए प्रथमतः मिलापत्रमै अबण्डा रहेको व्यहोरा उल्लेख हुनु पर्ने, सो नभएको र अरु सबै अंशियाराहरू उपर समेत दावी लिन सक्नुपर्नेमा सो नसकी केवल एक जना पुनरावेदक प्रतिवादीउपर मात्र दावी लिएको देखिँदा वादीको दावी सत्य एवं विश्वसनीय रहेछ भन्न मिल्ने देखिएन । शुरु अदालतबाट मिति २०५७।७।५।७ मा भई आएको नक्सा मुचुल्का हेर्दा पनि वादीका नाममा समेत न.नं. ३ मा ०–०–१३–१/२ जग्गा छुट्टै रहे भएको पनि देखिएकै छ । सो जग्गा वादीले अन्य तवरबाट प्राप्त गरेको हो र पैत्रिक गाउँ व्लक भित्रको होइन भनी सप्रमाण भन्न सकेको समेत नदेखिएको परिपे्रक्ष्यमा वादी दावीको सो घर जग्गा अबण्डा नै हो र वादीको समेत अंश भाग लाग्ने हो भनी केवल अनुमानका भरले ठोस सबूदका अभावमा भन्न र बण्डा गरिदिन समेत मिल्ने देखिएन । बिना आधार प्रमाण वादी दावी पुग्ने ठहर्याएको शुरु धनुषा जिल्ला अदालतको मिति २०५७।९।१२।४ को इन्साफ मिलेको नदेखिँदा सो इन्साफ उल्टी भई प्रत्यर्थी वादीको दावी नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरको मिति २०६०।७।२६ को फैसला ।
अंशमुद्दामा भएको मिलापत्रमा विवादको घरजग्गा बण्डा नगरी अबण्डा रहेको भन्ने उल्लेख नभएको भन्ने तर्कका आधारमा पुनरावेदन अदालतबाट फैसला भएको छ, दावीको घर जग्गामा म समेतका दुबै थर झगडियाको निर्विवाद हक भोग चलन रहेको भन्ने तथ्य अन्यथा हुने प्रमाण मिसिलमा विद्यमान छैन । धनुषा जिल्ला अदालतबाट मिति २०५७।७।५ को नक्सा मुचुल्काको न.नं. ३,८,९ समेतको घरजग्गामा म समेतका वादी प्रतिवादीको भोग रहेको तथ्य उल्लेख भएबाट पनि सो तथ्य पुष्टि हुन्छ । अंशबण्डाको ३५ नं. ले अबण्डा गोश्वाराको लिखत भएको र लिखत नभएपनि हिसाव शान्ति दुबैथरको भोग भएकोमा जहिलेसुकै पनि नालिस लाग्ने व्यवस्था गरेको हुँदा अबण्डा सम्पत्तिको लिखत हुनै पर्ने बाध्यता रहेको छैन । पुनरावेदन अदालतबाट विवादित घर जग्गालाई प्रतिवादीको घर जग्गा भन्ने आधार लिई फैसला गरिएको छ । नक्सा मुचुल्काको न.नं. ३, ८, ९ मा विवादित घरजग्गा देखाईंदा सो जग्गाहरू मध्ये न.नं. ३ लाई वादी प्रतिवादीहरूको खलिहान र न.नं. ८ र ९ लाई वादी प्रतिवादीहरूको घर जग्गा भन्ने स्पष्ट उल्लेख भएबाट म पुनरावेदक समेतको भोग देखिएको घरजग्गालाई विना आधार प्रमाण प्रतिवादीको घरजग्गा भन्ने नामाकरण गरी भएको फैसला त्रुटिपूर्ण छ । त्यसैगरी अंशियार मध्येका नथुनी मण्डललाई प्रतिवादी नबनाइएको भन्ने फैसला आधार पनि वस्तुगत छैन । घर जग्गामा हामी वादी प्रतिवादीको मात्र अंश बाँकी रहेको र निज नथुनी मण्डलको फाँट र भोगमा छुट्टै घर जग्गा रहेको हुँदा निजलाई विपक्षी बनाउनु पर्ने अवस्था नै नरहेको स्पष्ट हुन्छ । अ.वं. १३९ नं. बमोजिम बुझिएका निज नथुनीले विवादको घरजग्गामा आफ्नो अंश हक नरही वादी प्रतिवादीको मात्र हक रहेको भनी वयान गरेबाट सो कुरा पुष्टि हुन्छ । अतः पुनरावेदन अदालत जनकपुरको फैसला त्रुटिपूर्ण रहेकाले उल्टी गरी धनुषा जिल्ला अदालतको फैसला सदर कायम गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन पत्र ।
यसमा २०४३।९।२९ मा भएको मिलापत्रमा गाउँ ब्लकको जग्गा नछुटिृएको र भैआएको नक्साको न.नं. ८, ९ मा वादी प्रतिवादीको घर भन्ने उल्लेख भएको र न.नं. ३ मा वादी प्रतिवादीको खलिहान भनी उल्लेख भएकोमा कसैको उजूर नभै त्यो नक्सालाई मानी आएको र नक्सा मुचुल्कामा दुबै पक्षको भोग देखिएको र अंशबण्डाको ३५ नं. मा लिखत नभए पनि दुबै पक्षको भोग भएमा जहिले सुकै पनि नालेस लाग्ने अवस्था हुँदा मिलापत्र हुँदा अबण्डा भन्ने नलेखेको भन्दैमा दर्ता स्रेस्ताबिनाको जग्गा बण्डापत्रमा नलेखिएकै आधारबाट बण्डा नपाउने भन्न नमिल्ने हुँदा पुनरावेदन अदालत जनकपुरको फैसला फरक पर्नसक्ने हुँदा छलफलको लागि अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि वा अबधि नाघेपछि पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतबाट मिति २०६३।३।२१ को आदेश ।
जेठा नथुनी मण्डल र वादी एवं मेराबीचमा मिलापत्र हुँदाकै अवस्थामा घर घडेरी बाँडफाँड भई नथुनी र म गाउँघरमा खेतीपाती गर्ने हुँदा त्यहीँ घर बनाई बसेको र वादी जागिरे हुँदा जनकपुरमा घर जग्गा खरीद गरी घर बनाई जेठी पत्नी र सन्तान २०४२ सालदेखि नै त्यहाँ राखी कान्छी पत्नी र आफू सुर्खेतमा बस्ने गरेबाट निजको भागको छुट्टै रहेको घडेरीमा भएको घर समेत भत्काई लगी हाल खाली रहेको अवस्था प्रष्ट छ । तसर्थ पुनरावेदन अदालत जनकपुरको फैसला मनासिव रहेको हुँदा सदर गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी उत्तिमप्रसाद मण्डलले यस अदालतमा पेश गरेको लिखित प्रतिवाद ।
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा मिति २०४३।८।२९ मा अंश मुद्दाबाट मिलापत्र भएकोमा गाउँ ब्लक भित्रको अबण्डा जग्गा मिलापत्र नभएको र हाल आमा पनि स्वर्गीय भै सक्नु भएको, दाजु नथुनी मण्डल पनि वेग्लै बसेकोले अबण्डा जग्गा दुई भागको एक भाग लगाई पाऊँ भनी वादीको फिराद परेकोमा अंश मुद्दा मिलापत्र हुँदा गाउँ व्लकको घडेरी जग्गाहरू आपसी समझदारीअनुसार वाँडफाँड भैसकेपश्चात् जनकपुरको घर जग्गा वादीकै हक भोगमा परेको र दाजु नथुनी मण्डल आफ्नो भाग भोगको जग्गामा घर बनाई बसोबास गर्दै आएको र वादीले दावी लिएको जग्गा घर म उत्तिमप्रसाद मण्डलको हक भोगमा रहेको हुँदा वादी दावी खारेज गरिपाऊँ भनी प्रतिउत्तर परेको देखिन्छ । शुरु अदालतबाट वादी दावी पुग्ने ठहर्याई भएको फैसलाउपर परेको पुनरावेदनको रोहमा पुनरावेदन अदालत जनकपुरबाट सवै अंशियारहरू वा केही अंशियारहरू बिच बण्डा गर्न कुनै सम्पत्ति बाँकी रही अबण्डा रहेको भए मिलापत्रमै अबण्डा रहेको व्यहोरा उल्लेख हुनु पर्नेमा उल्लेख नभएको भन्ने समेतका आधारमा वादी दावी पुग्न नसक्ने भनी शुरु फैसला उल्टी हुने ठहर्याई फैसला भएको देखिन्छ । सो फैसलाउपर वादीको यस अदालतमा पुनरावेदन परी नक्सा मुचुल्कामा दुबै पक्षको भोग देखिएको र अंशबण्डाको ३५ नं. मा लिखत नभए पनि दुबै पक्षको भोग भएमा जहिले सुकै पनि नालेस लाग्ने कानूनी व्यवस्था रहेको भन्ने समेतका आधारमा विपक्षी झिकाउने आदेश भै प्रस्तुत मुद्दा यस इजलाससमक्ष पेश हुन आएको छ ।
सुनुवाइका सिलसिलामा पुनरावेदक/वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री प्रकाश के.सी. ले प्रतिवादीको साक्षी जुरी मण्डलको वकपत्रबाट पनि विवादको जग्गा सगोलको रहेको भन्ने देखिएको छ, अ.वं. १३९ नं. बमोजिम बुझिएका नथुनी मण्डलको वयानमा पनि गाउँ ब्लकभित्रको जग्गा अबण्डा रहेको र विवादको जग्गामा दुबै जनाको संयुक्त भोग रहेको भनी उल्लेख गरेको अवस्थामा नक्सा मुचुल्का र अंशबण्डाको ३५ नं. समेतका आधारमा अबण्डा जग्गा बण्डा गर्ने गरी भएको शुरु फैसला सदर हुनु पर्छ भनी र प्रत्यर्थी/प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता जानकीप्रसाद गिरीले गाउँ ब्लकको जग्गा मिलापत्रमा उल्लेख नगरी आपसी समझदारीबाट भोग गरी बसेको, व्यवहारबाट ३ कित्ता जग्गा ३ जनालाई अलग अलग छुट्याएको अवस्था हुँदा पुनरावेदन अदालतबाट भएको फैसला मनासिव छ भनी बहस जिकीर प्रस्तुत गर्नुभयो ।
उल्लिखित तथ्य एवं विद्वान कानून व्यवसायीहरूको बहस जिकीर समेतलाई मध्यनजर गरी निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा मुख्य रुपमा देहायका प्रश्नहरूको निरुपण गरी पुनरावेदन अदालत जनकपुरको फैसला मिले नमिलेको के रहेछ भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन्छ :
१. अंशियारहरू बीच अंशबण्डा भैसकेको अवस्थामा अंशबण्डामा नदेखिएको र अबण्डा समेत नजनिएको कुनै घर जग्गाका सम्बन्धमा अबण्डा जग्गा बण्डा गरिपाऊँ भनी दावी लिन मिल्ने अवस्था रहन्छ वा रहँदैन ?
२. वादी दावीको विवादको घर जग्गा बण्डा हुन बाँकी अर्थात् अबण्डा हो वा होइन ?
२. प्रथमतः पहिलो प्रश्न अर्थात् अंशियारहरू बीच अंशबण्डा भैसकेको अवस्थामा अंशबण्डामा नदेखिएको र अबण्डा समेत नजनिएको कुनै घर जग्गाका सम्बन्धमा अबण्डा जग्गा बण्डा गरिपाऊँ भनी दावी लिन मिल्ने अवस्था रहन्छ वा रहँदैन ? भन्ने सम्बन्धमा विचार गर्दा मुलुकी ऐन, अ.वं. ३५ नं. ले अंशबण्डा नै नभएको बण्डा हुँदा अंशबण्डा गोश्वाराको लिखत भएको र लिखत नभएपनि हिसाव शान्ति दुबै थरको भोग भएकोमा जहिले सुकै पनि र लिखत र भोगै नभएकोमा अघि बण्डा भै बाँकी रहेको वा दबाए छपाएको पाऊँ भन्न आएमा भिन्न–भिन्न जीउसम्म मात्र नालिस लाग्छ भन्ने समेतको कानूनी व्यवस्था गरेको देखिन्छ । उल्लिखित कानूनी व्यवस्थाले अंशबण्डाको लिखतमा अबण्डा नजनिँदैमा अबण्डा जग्गा रहन नसक्ने भन्ने किसिमबाट संकुचन गरेको देखिँदैन । अंशबण्डा गोश्वाराको लिखतमा उल्लेख नभएको अवस्थामा पनि हिसाव शान्ति दुबै थरको भोग भएको वा भोग नभएकोमा समेत अघि बण्डा भै बाँकी रहेको सम्पत्ति पाऊँ भनी नालिस गर्नसक्ने गरी स्पष्ट व्यवस्था गरेको स्थितिमा सो सम्बन्धमा अन्य तथ्यगत विवेचना गर्नुपर्ने आवश्यकता रहेन । तसर्थ प्रस्तुत मुद्दामा पुनरावेदन अदालत जनकपुरले अंश मिलापत्रको लिखतमा अबण्डा नजनिएको भनी लिएको निर्णयाधारसँग सहमत हुन सकिएन ।
३. अब, दोस्रो अर्थात् वादी दावीको विवादको घर जग्गा बण्डा हुन बाँकी अर्थात् अबण्डा हो वा होइन ? भन्ने प्रश्नमा विचार गर्दा यी वादी प्रतिवादीहरू समेतका अंशियारहरू बीच चलेको अंश मुद्दामा मिति २०४३।९।२२ मा मिलापत्र भएको देखिन्छ । प्रमाणका रुपमा प्राप्त भएको २०४३ सालको दे.नं. ८४७ को उक्त अंश दर्ता मुद्दाको मिसिलबाट फिराद दावीको जिल्ला धनुषा मानसिंहपटिृ गा.वि.स. वार्ड नं. ३ अन्तर्गतको गाउँ ब्लकभित्रको जग्गा बण्डा भएको भन्ने देखिँदैन । प्रतिवादी स्वयंले पनि सो मिलापत्रमा विवादको घरजग्गा समेत समावेश भएको भनी जिकीर लिन सकेको अवस्था छैन । त्यसैगरी अ.वं. १३९ नं. बमोजिम बुझिएका वादी प्रतिवादीका दाजु नथुनी मण्डलले आफूहरूबीच अंश मुद्दामा मिलापत्र भएको व्यहोरा उल्लेख गर्दै अंशियारको समझदारीअनुसार आफ्नो भागको घडेरी जग्गा छुट्याई दिएकोले त्यसमा अरु कसैको अंश हक नलाग्ने र बाँकी घडेरी जग्गामा यी वादी प्रतिवादी दुबैको बराबरको हक लाग्छ भन्ने समेतको वयान गरेको देखिन्छ । निज नथुनी मण्डल स्वयं पनि पक्ष रहेको उक्त अंश मुद्दामा भएको मिलापत्रको सन्दर्भ समेतलाई उल्लेख गरी निजले गरिदिएको वयान व्यहोराको प्रामाणिक महत्व रहनु स्वाभाविक छ । बण्डापत्रमा अबण्डा भनी उल्लेख नहुँदैमा बण्डापत्रमा नसमेटिएको सम्पत्तिमा कुनै एक पक्षको मात्र हक लाग्छ भन्ने अर्थ गर्दा अंश हकको संकुचित व्याख्या हुन जान्छ ।
४. विवादित घर जग्गाको अवस्थिति र सोको भोग समेतको वस्तुस्थितिको पहिचानका लागि अदालतको आदेशबमोजिम गरिएको मिति २०५७।७।५ को नक्सा मुचुल्कामा विवादको घर जग्गालाई न.नं. ३, ८ र ९ मा देखाइएको छ । जसअनुसार न.नं. ३ लाई वादी प्रतिवादीको दाईं गर्ने खलिहान, न.नं. ८ लाई वादी प्रतिवादीको घर जग्गा र न.नं. ९ लाई वादी प्रतिवादीको जग्गा भनी उल्लेख गरिएको देखिन्छ । सो मुचुल्कामा रोहवरमा बस्ने प्रतिवादी वारेस देवानन्द झाले प्रतिवादीको बसोबासको र खरीदी जग्गा समेतलाई अबण्डा भनी वादीले दावी लिएको भन्ने व्यहोरा जनाई दस्तखत गरेको देखिन्छ । तर प्रतिवादीले प्रतिउत्तरपत्रमा उल्लेख गरेभन्दा फरक व्यहोराको वारेसको कथनलाई प्रमाणमा लिन मिल्ने अवस्था रहँदैन । त्यसरी घर र त्यसले चर्चेको जग्गा तथा खलिहानका रुपमा रहेको जग्गा समेतको अवस्थिति देखाउने सो नक्सा मुचुल्काले उल्लिखित न.नं. ३, ८ र ९ लाई वादी प्रतिवादीको भोगको घर जग्गा भन्ने स्पष्ट गरेको छ । सो नक्सा मुचुल्कालाई प्रतिवादीले कहिँ कतै चुनौती दिएको नपाइएको र विवादको जग्गालाई खरीदि जग्गा भन्ने कथनको पुष्टि हुने खालको प्रमाण समेत पेश गर्न नसकेको अवस्थामा बण्डापत्रमा नसमेटिएको विवादको घर जग्गा प्रतिवादीको एकलौटी हक भोगको भनी सम्झन मान्न मिल्ने अवस्था देखिएन । सगोलका अंशियारमध्येका ३ दाजुभाईमध्ये जेठा नथुनी र प्रतिवादी उत्तिमप्रसादको नाममा पुख्र्यौली गाउँमा बसोबासको घरजग्गा रहेको तर वादीको बसोबासको लागि सो स्थानमा छुटै घर रहेको भन्ने कहिँ कतैबाट नदेखिएको र प्रतिवादीले समेत सोसम्बन्धी प्रमाण पेश गर्न नसकेको अवस्थामा वादीले जनकपुरमा जग्गा खरीद गरी घर बनाएको भन्ने आधारमा गाउँब्लकको घर जग्गालाई प्रतिवादीको हकभोग भित्रको भनी वादीको हक नलाग्ने गरी अर्थ गर्नु न्यायोचित देखिँदैन । तसर्थ अ.वं. १३९ नं. बमोजिम बुझिएका वादी प्रतिवादीका सहोदर दाजु नथुनी मण्डलको वयानले पनि विवादको घर जग्गामा वादी प्रतिवादीको हक लाग्ने भन्ने देखिएको, बण्डापत्रमा नसमेटिएको पैत्रिक सम्पत्तिमा आफ्नो मात्र हक लाग्ने कुराको वस्तुनिष्ठ प्रमाण प्रतिवादीले पेश गर्न नसकेको र नक्सा मुचुल्काले पनि विवादको घर जग्गामा वादी प्रतिवादीको हक भोगको अवस्था देखाएको स्थितिमा अंश मिलापत्रमा नै अबण्डा रहेको व्यहोरा उल्लेख हुनुपर्ने भन्ने पुनरावेदन अदालतको तर्कसँग सहमत हुन सकिने अवस्था देखिएन ।
५. तसर्थ माथि गरिएको विश्लेषण समेतका आधारमा धनुषा जिल्ला, मानसिंहपटिृ गा.वि.स वार्ड नं. ३ अन्तर्गतको नक्सा मुचुल्कामा न.नं. ३, ८ र ९ जनिएको विवादको घर जग्गामा वादी प्रतिवादीको संयुक्त हक भोग रहेको र सो घर जग्गा वादी प्रतिवादीहरूका बीचमा भएको अंश मिलापत्रमा समावेश नभै अबण्डा रहेको भन्ने समेत पुष्टि हुन आएको देखियो । त्यसरी अबण्डा देखिएको स्थितिमा पनि पुनरावेदन अदालत जनकपुरबाट मिलापत्रमा अबण्डा नजनिएको भन्ने समेतका आधारमा बण्डा गरिदिन नमिल्ने भन्दै शुरु फैसला उल्टी हुने ठहर्याएको फैसला अंशबण्डाको ३५ नं. समेतका आधारमा मनासिव देखिएन । अतः पुनरावेदन अदालत जनकपुरको मिति २०६०।७।२६ को फैसला उल्टी भै वादी दावी पुग्ने ठहर्याएको शुरु धनुषा जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ । अरुमा तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम वादी दावी पुग्ने ठहरी वादीले बण्डा छुट्याई पाउने हुँदा जिल्ला धनुषा मानसिंहपटिृ गा.वि.स. वार्ड नं. ३ अन्तर्गतको नक्सा मुचुल्कामा न.नं. ३, ८ र ९ समेतको घर जग्गामध्ये दुई भागको एक भाग बण्डा छुट्याई पाऊँ भनी कानूनको म्यादभित्र वादीको दरखास्त पर्न आए नियमानुसार बण्डा छुट्याई दिनु भनी शुरु धनुषा जिल्ला अदालत, तहसील शाखामा लगत दिनू ............ १
वादीले शुरु अदालतमा फिराद गर्दा राखेको कोर्टफी रु.१,७७०।– र सर्वोच्च अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.२९७।– समेत गरी जम्मा कोर्टफी रु.२,०६७।– प्रतिवादीहरूबाट भराई पाउने हुँदा भराई पाऊँ भनी ऐनका म्यादभित्र वादीको दरखास्त परे कुनै दस्तूर नलिई कानूनबमोजिम भराई दिनु भनी शुरुमा लेखी पठाईदिनू ............ २
प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी बुझाईदिनू ............ ३
उक्त रायमा म सहमत छु ।
न्या. प्रकाश वस्ती
इति संवत् २०६६ साल कात्तिक २५ गते रोज ४ शुभम्
इजलास अधिकृतः उमेश कोइराला