शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०३३६ - ज्यान मार्ने उद्योग

भाग: ६१ साल: २०७६ महिना: मंसिर अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा

माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल

फैसला मिति : २०७५।१२।४

०६७-CR-१०२६

 

मुद्दाः- ज्यान मार्ने उद्योग

 

पुनरावेदक / वादी : इन्दिरा महर्जनको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. २६ बस्ने सन्जु श्रेष्ठसमेत

प्रतिवादीले ज्यान मार्ने मनसाय राखेर पीडितमाथि कुनै किसिमको प्रहार गर्दछ र उसलाई वैध प्रतिरक्षा उपलब्ध छैन भने त्यस्तो प्रतिवादीले ज्यान मार्ने उद्योगको अपराध गरेको मान्नुपर्ने हुन्छ । ज्यान मर्न नपाएको अवस्था हुनको लागि तेस्रो पक्षको उपस्थिति अनिवार्य भने होइन । तेस्रो पक्षले हस्तक्षेप गरेको पनि हुन सक्दछ वा नगरेको पनि हुन सक्दछ । कारण जेसुकै भए पनि ज्यान मर्नबाट बच्नु र कर्तव्य ज्यानको वारदातको लागि आवश्यक सबै तत्त्वहरूको विद्यमानता हुन नै ज्यान मार्ने उद्योगको वारदात स्थापित हुन पर्याप्त हुने ।

(प्रकरण नं.५)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मी

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर : 

ने.का.प.२०६६, अंक ५, नि.नं.८१५०

सम्बद्ध कानून : 

सरकारी मुद्दासम्बन्धी ऐन, २०४९

 

सुरू तहमा फैसला गर्नेः 

मा. न्यायाधीश श्री नरेन्द्रकुमार शिवाकोटी

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने:

माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.

माननीय न्यायाधीश श्री मीरा खड्का

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या.सपना प्रधान मल्ल : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः-

मिति २०६४।३।३ गते बेलुका १९:०० बजेको समयमा काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं.२८ सिगल भन्ने स्थानमा सञ्जु श्रेष्ठसहितका व्यक्तिहरूले मेरो छोरा मनिष महर्जनलाई कुटपिट गरी अंगभंगसमेत तुल्याएको र वीर अस्पतालमा लगेर भर्ना गरेका छन् भन्ने थाहा पाई म उक्त अस्पतालमा गएर हेर्दा मेरो छोराको उपचार भइरहेको थियो । निजको शरीरमा गम्भीर चोट लागी अंगभंगसमेत भएको भनी उपचारमा संलग्न चिकित्सकबाट थाहा पाएँ । मेरो छोरालाई मरणासन्न हुने गरी कुटपिट गरी अपराध गर्ने व्यक्ति एक जना मात्र पक्राउ परेको र अरू व्यक्तिहरू फरार रहेको हुँदा प्रतिवादीहरूलाई पक्राउ गरी कानूनी कारबाही गरी सजाय होस् र औषधी उपचारमा लाग्ने खर्च तथा क्षतिपूर्तिसमेत भराई पाउँ भन्नेसमेत बेहोराको इन्दीरा महर्जनको जाहेरी दर्खास्त ।

सञ्जु श्रेष्ठलाई खोज्दै जाँदा किलागलमा फेला पारी प्रतिवेदनसाथ दाखिला गरी कानूनी कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको प्रहरी 

प्रतिवेदन ।

काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. २८ सिगलदेखि पूर्वमा राम श्रेष्ठको घर, पश्चिममा गुम्बा, उत्तरमा ठमेल जानेबाटो र दक्षिणमा बाङ्गेमुढा आउने बाटो यति चार किल्लाभित्र रहेको स्थानमा मिति २०६४।३।३ गते बेलुका १९:०० बजेको समयमा खिचापोखरी बस्ने वर्ष २१ को मनिष महर्जनलाई किलागल बस्ने अं. वर्ष २४ को सञ्जु श्रेष्ठसमेतका अन्य नाम, थर, वतन थाहा नभएका व्यक्तिहरूले धारिलो हतियार खुकुरी प्रहार गरी ढाड, टाउको, बायाँ हातमा गहिरो चोट पुर्‍याई घाइते बनाएको भन्ने बेहोराको घटनास्थल मुचुल्का ।

 मिति २०६४।३।८ गतेको Stab Injury भन्ने बेहोराको घाउ केस फारामको वीर अस्पतालको प्रतिवेदन ।

मिति २०६४।३।३ गते १९:०० बजेको समयमा म बाङ्गेमुढातर्फ गइरहेको अवस्थामा मेरो साथी शिव लामासँग बाङ्गेमुढामा भेट भयो । शिव लामाले मलाई भाइ नाता पर्नेको मोबाइल सेट थान दुई मनिष महर्जनले लुटी लगेको छ, त्यसलाई भेटी माग्न पर्‍यो भनी मलाई पनि जाउँ भनी भनेकोमा म र शिव लामा सिगलतर्फ गएको र त्यहाँ मनिष महर्जन भन्ने केटो त्यही हो भनी देखाई नजिकबाट चिनायो । त्यसपछि अन्य दुईजना अपरिचित शिव लामाको साथी त्यहाँ आयो र मलाई ती केटाहरू मेरो साथी हुन् भनी चिनायो । मसमेतका मानिसहरूले मनिष महर्जनसँग वादविवाद भनाभन भएको र म त्यस ठाउँबाट अलि पर गई बसेँ । त्यसपछि  अमृत महर्जन, शिव लामा र अपरिचित व्यक्तिसहितका मानिसहरूले मनिषलाई कुटपिट गर्दा गर्दै शिव लामाले कम्मरबाट धारिलो हतियार खुकुरी झिकी मनिष महर्जनलाई प्रहार गरेको र अर्को एक जनाले कम्मरबाट फलामको रड निकाली प्रहार गरी घाइते बनाएको हो । उक्त फलामको रड आफैँले लिई भागेको हो । शिव लामाले खुकुरी आफैँले साथमा लिई गई फरार रहेको र उक्त घटनास्थलबाट शिव लामालगायत सबै जना तत्काल फरार भएको र म त्यहाँबाट घरतर्फ गएको हो भन्ने बेहोराको प्रतिवादी सञ्जु श्रेष्ठको बयान ।

मेरो जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सञ्जु श्रेष्ठसमेत भएको ज्यान मार्ने उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा मेरो छोरा मनिष महर्जनलाई हतियार प्रहार गरेको देख्ने प्रत्यक्षदर्शी राजेश महर्जन, सुनिल लामा र कृष्ण आचार्यसमेत भएकोमा निजहरू आफू लागु औषध मुद्दामा यसै कार्यालयको बन्दी गृहमा राखेको हुँदा निजहरूबाट खुलाई प्रमाणमा लगाई पाउँ भन्नेसमेत बेहोराको जाहेरवाली इन्दीरा महर्जनको निवेदन ।

मिति २०६४।३।३ गते बेलुका १९:०५ बजे मैले घाइते मनिष महर्जनलाई रगताम्मे अवस्थामा क्षेत्रपाटी चोकमा फेला पारी सोध्दा किलागलमा केटाहरू शिव लामा र अमृत महर्जन, सञ्जुलगायतका मानिसहरूले मलाई खुकुरी प्रहार गरी घाइते बनाएको भनेपछि मैले मनिष महर्जनलाई सुनिल लामाको सहयोगबाट उपचारार्थ वीर अस्पतालमा लगेको हो भन्नेसमेत बेहोराको कृष्ण आचार्यको घटना विवरण कागज ।

मिति २०६४।३।३ गते अं.१९:०० बजे क्षेत्रपाटी चोकमा मनिष महर्जनलाई रगताम्मे भई हिँडिरहेको अवस्थामा भेट भई सोध्दा सञ्जु श्रेष्ठ, शिव लामा, अमृत महर्जनलगायतका ३/४ जनाले खुकुरी, खुँडा, फलामे रडसमेतले प्रहार गरी घाइते बनाएको भन्ने कुरा सुनेको हो भन्नेसमेत बेहोराको सुनिल लामाले गरेको घटना विवरण कागज ।

मिति २०६४।३।३ गते १९:०० बजेको समयमा मनिष महर्जनसँग कुराकानी गरी बसिरहेको अवस्थामा शिव लामा, अमृत महर्जन, सञ्जु श्रेष्ठ, पारस भन्ने मानिसलगायतका १०/१२ जना मानिसहरू हामी भएको ठाउँमा आई शिव लामाले मनिष महर्जनलाई मन्दिर परिसरको कुनामा लगी गाली गर्दै वादविवाद गरी कुटपिट गरी शिव लामासमेतले खुकुरी, फलामको रडसमेतका हतियारले मनिष महर्जनलाई प्रहार गरी मरणासन्न अवस्थामा पुर्‍याएको मैले आँखाले देखेको हो । उक्त घटना करिब १५।२० मिनेट जति भएको थियो । घाइते मनिष महर्जन रगताम्मे अवस्थामा त्यहाँबाट बाहिर निस्किएको बाटोमा हिँडी क्षेत्रपाटीतर्फ गएको र शिव लामा, अमृत महर्जनले हतियार खुकुरी शरीरको कम्मरबाट निकाली प्रहार गरेको, सञ्जु श्रेष्ठ पारस भन्ने व्यक्तिसमेतको १०/१२ जना मानिसहरूले कुटपिट गरी मनिषलाई घाइते बनाई तत्काल निजहरू हतियार साथमा लिई फरार रहेको मैले देखेको हो भन्ने बेहोराको राजेश महर्जनले खुलाई दिएको घटना विवरण कागज ।

मिति २०६४।३।३ गते १९:०० बजेको समयमा सिगलस्थित बुद्धको मन्दिर परिसरमा घाइते मनिष महर्जनसँग चिया खाई सँगै बसिरहेको अवस्थामा सञ्जु श्रेष्ठलगायतका १०/१२ जना मानिसहरूले ममाथि कुटपिट तथा तरबार, खुँडा, खुकुरीलगायतका हतियार प्रहार गरेको थियो । उक्त समयमा मलाई सञ्जु श्रेष्ठले मेरो हात समातेको र १०/१२ जना मानिसहरूले हतियार प्रहार गरी कुटपिट गरेपछि म असक्त अवस्थामा रगताम्मे भएको थिए । सञ्जु श्रेष्ठले मलाई हतियार प्रहार गरी घाइते बनाएको हो । सञ्जु श्रेष्ठलाई मैले कहिलेकाहीँ देखेको तर नाम पछि मात्र थाहा भएको हो । सञ्जु श्रेष्ठलगायतका १०/१२ जना मानिसहरू तत्काल हतियार आफैँ लिई भागेर 

गए । त्यसपछि साथीहरू सुनिल लामा, कृष्ण आचार्यले मलाई उपचार गराउने काममा एम्बुलेन्सद्वारा वीर अस्पतालसम्म पुर्‍याउने कार्य गर्नुभएको हो । सञ्जु श्रेष्ठलगायतका १०।१२ जना मानिसहरूले साङ्घातिक आक्रमण गरी मेरो टाउको, हात ढाडसमेतमा तरबार खुँडाले काटी अशक्त बनाएका छन् । निजहरूलाई पक्राउ गरी कानूनबमोजिम सजाय गरी औषधी उपचार खर्चसमेतको क्षतिपूर्ति दिलाई पाउँ भन्नेसमेत बेहोराको घाइते मनिष महर्जनले गरेको कागज ।

सिगल स्थित बुद्ध मन्दिर परिसरमा कुटपिट गर्ने मानिसहरू सञ्जु श्रेष्ठसमेत हुन् भनी घाइते मनिष महर्जनले चिनी गरी दिएको सनाखत कागज ।

प्रतिवादी सञ्जु श्रेष्ठको साबिती बयान, कृष्ण आचार्य, सुनिल लामा, राजेश महर्जन र प्रमेश श्रेष्ठको घटना विवरण कागज, घाइते मनिष महर्जनले कुटपिट गरेको मानिस चिनी गरी दिएको सनाखत कागजसमेतका तथ्य एवं आधार प्रमाणबाट मनिष महर्जनलाई मार्ने योजना बनाई साथी शिव लामासमेतलाई भेटी अन्य १०/१२ जनासमेत भई मनिष महर्जनलाई धारिलो हतियार खुकुरी, फलामको रडसमेतले प्रहार गरी कुटपिट गरेको देखिन्छ । सुनिल लामा, कृष्ण आचार्यसमेतले एम्बुलेन्समा राखी वीर अस्पतालमा उपचारका लागि ल्याएको कारण घाइते मनिष महर्जनको ज्यान मर्न नपाएको देखियो । तसर्थ प्रतिवादी सञ्जु श्रेष्ठ, शिव लामा, अमृत महर्जन (लामा) र पारस शाहीसमेतले ज्यान मार्ने उद्योग गरेको पुष्टि हुन आएकोले निजहरूको उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं मा परिभाषित ऐ. १५ नं. बमोजिमको कसुर अपराध हुँदा प्रतिवादीहरू सञ्जु श्रेष्ठ, शिव लामा, अमृत महर्जन (लामा) र पारस शाहीलाई सोही महलको १५ नं.बमोजिम सजाय हुन माग दाबी लिई सक्कल मिसिल र पक्राउ परेका प्रतिवादी सञ्जु श्रेष्ठलाई पेस गरेका छौं । फरार प्रतिवादी शिव लामा, अमृत महर्जन (लामा) र पारस शाहीको हकमा सम्मानित अदालतबाटै वारेन्ट जारी भई कानूनबमोजिम हुनका साथै नाम थर वतन नखुलेका अन्य व्यक्तिहरूको हकमा सो खुली आएका बखत कानूनबमोजिम हुने बेहोरासमेत अनुरोध छ भन्नेसमेत बेहोराको अभियोग मागदाबी ।

जाहेरवालाका छोरा मनिष महर्जनलाई मैले केही गरेको छैन । अनुसन्धान अधिकारीसमक्ष मैले बयान गरेको होइन । बुबा बाजेको नाम सोधेका 

थिए । त्यही मात्र बताएको थिएँ, अरू केही पनि सोधेका थिएनन् । सहिछाप म आफैँले गरेको हुँ । म घटनामा थिइन भन्नेसमेत बेहोराको प्रतिवादी सञ्जु श्रेष्ठले सुरू अदालतमा गरेको बयान ।

प्रतिवादीले पीडितलाई मार्नु पर्नेसम्मको पूर्वरिसइवी र कारणबाट चोट प्रहार गरेको भन्ने अवस्था पुष्टि हुन सकेको देखिँदैन । यस्तो अवस्थामा प्रस्तुत मुद्दाको वारदात कुटपिटको सम्म देखिन आएकोले सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को अनुसूची (१) भित्रको पर्ने अवस्थाको नरहेकोले सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम कुटपिटतर्फ कारबाहीको प्रयोजनार्थ सरोकारवाला पीडितलाई झिकाई निजले कुटपिटतर्फ कारबाही गरी पाउन सकार गरेमा वादी पक्ष कायम गरी प्रस्तुत मिसिलबाटै कुटपिटतर्फ कारबाही किनारा गर्ने ठहर्छ भन्ने बेहोराको मिति २०६६।३।१५ गते काठमाडौं जिल्ला अदालतको फैसला । 

प्रतिवादीहरूमध्येका सञ्जु श्रेष्ठले मौकामा गरेको बयानमा साबित भएको, जाहेरी, पीडितको कागज, तथा घा जाँच केस फारामसमेतका मिसिल संलग्न प्रमाणहरू एक अर्कोमा अन्योन्याश्रित रही प्रयोग भएको धारिलो हतियार र सोबाट भएको परिणाम अर्थात् गम्भीर घाउ चोटहरूको अवस्थाबाट मनसाय तत्त्व स्पष्ट हुनेमा र पूर्वरिसइवीसमेत थप पुष्टि भइरहेको अवस्थामा निज प्रतिवादीहरूलाई आरोपित कसुरमा सजाय नगरिएको र फरार रहेको तीनजना प्रतिवादीहरूको हकमा मुलुकी ऐन, अ.बं.१९० नं बमोजिम मुल्तबी राख्नु पर्नेमा सो नगरी सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण भएको हुँदा बदर गरिपाउँ भन्ने बेहोराको पुनरावेदन अदालत पाटनमा परेको वादी नेपाल सरकारको पुनरावेदनपत्र ।

प्रतिवादीहरूमध्ये शिव लामा, अमृत महर्जन (लामा) र पारस शाही फरार रहेको हुँदा त्यस्ता फरारी अभियुक्तका हकमा मुलुकी ऐन, अ.बं. को १९० नं. ले मुल्तबी राख्नु पर्नेमा सो नराखी निजहरूको हकमा समेत फैसला गरेबाट काठमाडौं जिल्ला अदालतको मिति २०६६।३।१५ को फैसला नमिलेको हुँदा सो हदसम्म बदर गरिदिएको छ । फरारी अभियुक्तको हकमा अ.बं. १९० नं. ले मुल्तबी राखी अवधि पुगेपछि जगाई कानूनबमोजिमको कारबाही गर्ने गराउनेसमेत ठहर्छ । अभियोग दाबीबमोजिम ज्यानसम्बन्धी महलको १/१५ नं. विपरीतको ज्यान मार्ने उद्योगको कसुरमा ऐ. को १५ नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी नठहर्ने र मिति ०६४।३।३ गतेको वारदात सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को अनुसूची (१) भित्र नपर्ने भई सम्बन्धित ऐनको दफा २७ बमोजिम कुटपिटमा परिणत हुने र पीडितले सकार गर्न आएमा कुटपिटको कसुरतर्फ कारबाही गर्ने गरी सुरू काठमाडौं जिल्ला अदालतले मिति २०६६।३।१५ मा गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनको मिति २०६७।३।१० को फैसला ।

मुद्दाको वारदात नै कुटपिटतर्फ परिणत गरिसकेपछि पुनः सोही वारदातमा संलग्न फरारीको हकमा सरकारवादी फौजदारी मुद्दाको कारबाही बाँकी राखी गरेको फैसला कानूनी रूपमै मिलेको देखिँदैन । एकातर्फ वारदात नै सरकारी मुद्दासम्बन्धी ऐनअन्तर्गतको होइन भन्ने अर्कोतर्फ सोही वारदातमा संलग्न फरारीको हकमा सरकारी मुद्दासम्बन्धी ऐनको अनुसूची १ अन्तर्गतको ज्यान मार्ने उद्योगमै कारबाही बाँकी राख्ने गरी भएको फैसला आफैँमा विरोधाभाष, अस्पष्ट र दुविधाग्रस्त छ । प्रतिवादी सञ्जु श्रेष्ठ अनुसन्धान अधिकारीसमक्ष साबित रही बयान गरेको र उक्त बयानलाई घा केस फाराम एवं मौकामा बुझिएका व्यक्तिहरूको कागज बेहोराले समर्थन गरेको अवस्था देखिन्छ । पीडित एवं जाहेरवालालगायतका व्यक्तिहरू बकपत्रको लागि उपस्थित नभए तापनि स्वयं घटना वारदातले पुष्टि गरिरहेको अवस्थामा पक्राउ परेका प्रतिवादीसहितका अन्य फरार प्रतिवादीहरूले खुकुरी, रडलगायतका घातक हतियार प्रहार गरी मरणासन्न अवस्थामा पुर्‍याई छोडेको र पीडितलाई तत्काल सुविधा सम्पन्न अस्पतालमा भएको उपचारको कारण पीडित बाँच्न सफल भएको भन्ने अवस्था 

देखिन्छ । मोबाइल लुटी लगेको भन्ने आधारमा पीडितउपर कुटपिट गरिएको भन्ने प्रतिवादी सञ्जु श्रेष्ठको अनुसन्धानको बयानसमेतले रिसइवी र मनसाय पुष्टि भइरहेको अवस्था देखिन्छ । अतः उल्लिखित आधार प्रमाणहरूबाट प्रतिवादीहरूलाई सजाय हुनु पर्ने स्पष्ट हुँदाहुँदै प्रतिवादी सञ्जु श्रेष्ठको हकमा सफाइ र प्रस्तुत मुद्दालाई कुटपिटतर्फ परिणत हुने ठहराई भएको फैसला त्रुटिपूर्ण हुँदा प्रतिवादीहरूलाई अभियोग मागदाबीअनुसार सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको  यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

यसमा मुद्दा नै कुटपिटमा परिणत भइसकेको अवस्थामा प्रतिवादीहरू शिव लामा, अमृत महर्जन (लामा) र पारस शाहीको हकमा अ.बं. १९० नं.बमोजिम मुल्तबीमा राख्ने गरी भएको पुनरावेदन अदालत पाटनको मिति २०६७।३।१० को फैसलामा यस अदालतबाट ने.का.प. २०६६ अङ्क ५ नि.नं. ८१५० पृ. ८०३ मा प्रतिपादित सिद्धान्तसमेतको त्रुटि भएको देखिँदा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनको सो निर्णय फरक पर्न सक्ने देखिएकोले मुलुकी ऐन, अ.बं. २०२ नं.बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७३।०९।४ को आदेश ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मीले प्रतिवादी सञ्जु श्रेष्ठसहितका अन्य फरार प्रतिवादीहरूले खुकुरी, रडलगायतका घातक हतियार प्रहार गरी मनिष महर्जनलाई मरणासन्न अवस्थामा पुर्‍याई छोडेको र पीडितको तत्काल सुविधा सम्पन्न अस्पतालमा भएको उपचारको कारण बाँच्न सफल भएको भन्ने अवस्था देखिन्छ । सञ्जु श्रेष्ठ अनुसन्धान अधिकारीसमक्ष साबित रही बयान गरेको, मोबाइल लुटी लगेको भन्ने आधारमा पीडितउपर कुटपिट गरिएको भन्ने प्रतिवादी सञ्जु श्रेष्ठको अनुसन्धानको बयानसमेतले रिसइवी र मनसाय पुष्टि भइरहेको अवस्था हुँदाहुँदै प्रतिवादी सञ्जु श्रेष्ठको हकमा सफाइ र प्रस्तुत मुद्दालाई कुटपिटतर्फ परिणत हुने तथा अन्य  फरार प्रतिवादीहरूको हकमा मुल्तबीमा राख्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग मागदाबीअनुसार सजाय गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।

अब पुनरावेदन अदालत पाटनबाट मिति २०६७।३।१० मा भएको फैसला मिलेको छ छैन ? वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी सञ्जु श्रेष्ठसमेतले जाहेरवालाको छोरा मनिष श्रेष्ठलाई खुकुरी, फलामको रडसमेतले प्रहार गरी ज्यान मार्नेसम्मको कार्य गरेको हुँदा निज प्रतिवादीहरूलाई ज्यानसम्बन्धी महलको १५ नं.अनुसार सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी भएको प्रस्तुत मुद्दामा सुरू जिल्ला अदालतबाट प्रतिवादी सञ्जु श्रेष्ठले अभियोग दाबीबाट सफाइ पाउने तथा प्रस्तुत वारदातलाई सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम कुटपिटमा परिणत हुने गरी भएको फैसलाउपर पुनरावेदन परी पुनरावेदन अदालत पाटनबाट सुरूको फैसला केही उल्टी गरी फरार प्रतिवादीहरूका हकमा मुलुकी ऐन, अ.बं. १९० नं.बमोजिम मुल्तबीमा राखी प्रतिवादी सञ्जु श्रेष्ठको हकमा अभियोग दाबी नपुग्ने र प्रस्तुत वारदात सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम कुटपिटमा परिणत हुने गरी भएको सुरू जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसलाउपर चित्त नबुझी वादी नेपाल सरकारको पुनरावेदन परेको देखियो ।

३. प्रतिवादी सञ्जु श्रेष्ठको हकमा अभियोग दाबी नपुग्ने र प्रस्तुत वारदात सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम कुटपिटमा परिणत गरी  फरार प्रतिवादीहरूका हकमा मुलुकी ऐन, अ.बं. १९० नं.बमोजिम मुल्तबीमा राख्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला आफैँमा विरोधाभास छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ विचार गर्नु पर्ने देखियो । सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ हेर्दा “यस ऐनबमोजिम नेपाल सरकार वादी भई दायर भएको कुनै मुद्दा अनुसूची-१ भित्र नपर्ने भन्ने देखिएमा अदालतले आदेश दिई सरोकारवाला व्यक्तिलाई झिकाई निजले सकार गरेमा वादी पक्ष कायम गरी सोही मुद्दाको मिसिलबाट प्रचलित कानूनबमोजिम कारबाही किनारा गर्नु पर्नेछ” भन्ने कानूनी व्यवस्था रहेको देखियो । उक्त व्यवस्थाअनुसार सरकार वादी भई चलेको मुद्दामा मुद्दाको कारबाहीअगाडि बढ्दै जाँदा सबुद प्रमाणबाट सरकारी मुद्दासम्बन्धी ऐनको अनुसूचीमा पर्न नसकी सरकार वादी हुन नसक्ने देखिएमा जाहेरवाला वा पीडितले सकार गरे त्यस्तो मुद्दालाई व्यक्तिवादी मुद्दामा परिणत गर्न सकिने 

देखियो । सरकारी मुद्दासम्बन्धी ऐनको उक्त व्यवस्था मुद्दा नै सरकारवादीबाट व्यक्तिवादीमा परिणत हुने व्यवस्था हो । एउटै मुद्दाको एउटै वारदातमा केही प्रतिवादीको हकमा सरकारवादी कायम राख्ने र केही प्रतिवादीको हकमा व्यक्तिवादीमा परिणत गर्ने कानूनी व्यवस्था होइन । एउटै वारदातलाई दुईवटा ऐनअन्तर्गतको दुईवटा बेग्लाबेग्लै वारदात कायम गर्न मिल्ने देखिँदैन । यसै सन्दर्भमा  एउटै वारदातलाई केही प्रतिवादीको हकमा व्यक्तिवादी मुद्दामा परिणत गर्ने र केही प्रतिवादीको हकमा सरकारवादी मुद्दा कायम गर्न नसक्ने भनी ने.का.प.२०६६, अंक ५, निर्णय नं.८१५० मा सिद्धान्त प्रतिपादन भएको

पाइन्छ । 

४. प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी हेर्दा मिति २०६४।३।३ गते बेलुका १९:०० बजेको समयमा काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. २८ सिगल भन्ने स्थानमा सञ्जु श्रेष्ठसहितका मानिसहरूले मेरो छोरा मनिष महर्जनलाई मरणासन्न हुने गरी कुटपिट गरेका र छोराको वीर अस्पतालमा उपचार भई बाँच्न सफल भएकोले निजहरूलाई पक्राउ गरी सजाय गरिपाउँ भन्ने बेहोराको इन्दीरा महर्जनको जाहेरी दरखास्तको आधारमा प्रस्तुत मुद्दाको अनुसन्धान प्रारम्भ भएको देखिन्छ । प्रतिवादी सञ्जु श्रेष्ठको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान, कृष्ण आचार्य, सुनिल लामा, राजेश महर्जन र प्रमेश श्रेष्ठको घटना विवरण कागज, घाइते मनिष महर्जनले कुटपिट गरेको मानिस चिनी गरी दिएको सनाखत कागजसमेतका तथ्य एवं आधार प्रमाणबाट मनिष महर्जनलाई मार्ने योजना बनाई साथी शिव लामासमेतलाई भेटी अन्य १०/१२ जनासमेत भई मनिष महर्जनलाई धारिलो हतियार खुकुरी, फलामको रडसमेतले प्रहार गरी कुटपिट गरेको र अन्य व्यक्तिले वीर अस्पताल पुर्‍याएको कारणले मनिष महर्जनको ज्यान बच्न सफल भएको हुँदा प्रतिवादीहरूले ज्यान मार्ने मनसायले उक्त वारदात गराएकोले निज प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १५ नं.बमोजिमको कसुरमा ऐ.ऐनको १५ नं.बमोजिम सजाय गरिपाउँ भनी अभियोगपत्र दायर भएको देखियो । 

५. प्रतिवादीहरूलाई अभियोग मागदाबीअनुसार सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको मुख्य पुनरावेदन जिकिर रहेको 

देखिन्छ । मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. हेर्दा “ज्यान मार्ने मनसायले गोली चलाउने वा बम हान्‍ने वा घातक हतियारले काट्ने वा मार्नका लागि अरू जुनसुकै कुराको उद्योग गरी मर्नेसम्मको काम गरेकोमा कुनै करणले ज्यान मर्न पाएको रहेनछ भने त्यस्तो काम गर्ने र गर्न लगाउने तथा सो ठाउँमा गई वचन दिने वा मद्दत गर्नेलाई पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद गर्नुपर्छ” भन्‍ने कानूनी व्यवस्था रहेको देखियो । मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. ले ज्यान मार्ने उद्योगलाई अपराधको रूपमा परिभाषित गरी सोही महलको १५ नं. मा सो अपराधको लागि सजायको व्यवस्था गरिएको पाइयो । यसबाट ज्यान मार्ने उद्योगको अपराधमा कर्तव्य ज्यानको अपराधको लागि आवश्यक पर्ने आपराधिक कार्य, आपराधिक मनसाय र वैध प्रतिरक्षाको अभावसमेतका सबै तत्त्वहरूको विद्यमान हुनुपर्दछ तर परिणामका दृष्टिले पीडितको मृत्यु भएको हुनु हुँदैन । प्रतिवादीले ज्यान मार्ने मनसाय राखेर पीडितमाथि कुनै किसिमको प्रहार गर्दछ र उसलाई वैध प्रतिरक्षा उपलब्ध छैन भने त्यस्तो प्रतिवादीले ज्यान मार्ने उद्योगको अपराध गरेको मान्नुपर्ने हुन्छ । ज्यान मर्न नपाएको अवस्था हुनको लागि तेस्रो पक्षको उपस्थिति अनिवार्य भने होइन । तेस्रो पक्षले हस्तक्षेप गरेको पनि हुन सक्दछ वा नगरेको पनि हुन सक्दछ । कारण जेसुकै भए पनि ज्यान मर्नबाट बच्नु र कर्तव्य ज्यानको वारदातको लागि आवश्यक सबै तत्त्वहरूको विद्यमानता हुन नै ज्यान मार्ने उद्योगको वारदात स्थापित हुन पर्याप्त हुने प्रस्तुत कानूनी व्यवस्थावाट देखिन्छ ।

६. जाहेरवालाले आफ्नो जाहेरी बेहोरामा यी प्रतिवादीहरूले ज्यान मार्ने उद्देश्यले छोरा मनिष महर्जनमाथि यो यो तरिकाले यो यो हतियार प्रयोग गरी यो यसले प्रहार गरेका हुन् भनी उल्लेख गर्न सकेको देखिँदैन । प्रतिवादीहरूले प्रहार गरेको भनिएका जाहेरवालाले उल्लेख गरेको खुकुरी, फलामको रडलगायतका हातहतियार बरामद भएको 

पाइएन । प्रतिवादीमध्येका पक्राउ परेका सञ्जु श्रेष्ठले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा साथीहरूको आग्रहमा घटनास्थलसम्म गए पनि पीडितमाथि कुनै हातहतियारले चोट छोडेको भन्ने देखिँदैन । अदालतमा बयान गर्दा घटनामा नभएको भनी इन्कारी बयान गरेको देखिन्छ ।  पीडित मनिष महर्जन र प्रतिवादी सञ्जु श्रेष्ठबिच पूर्व चिनजान र रिसइवीसमेत देखिँदैन । पीडितको तत्काल गरिएको घा जाँच केस फाराममा हेर्दा Stab Injury भन्ने उल्लेख भएको देखिन्छ । यसबाट मौकामा भएको घा जाँच केस फारामबाट पीडितको अवस्था ज्यान मर्ने हदसम्मको गम्भीर रहेको भन्ने देखिँदैन । जाहेरवाली इन्दीरा महर्जन  तथा अनुसन्धानको क्रममा कागज गर्ने व्यक्तिहरू अदालतमा उपस्थित भई प्रतिवादी सञ्जु श्रेष्ठ विरूद्धको कसुर पुष्टि गर्न सकेकोसमेत देखिँदैन । पीडितले गरिदिएको कागज हेर्दासमेत निजको अवस्था गम्भीर नरहेकोले ज्यान मार्नेसम्मको कार्य गरेको मान्‍न सकिएन । प्रतिवादी सञ्जु श्रेष्ठलाई प्रस्तुत मुद्दाबाट सफाइ दिई सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम कुटपिटमा परिणत गरिदिएको पुनरावेदन अदालत पाटनको मिति २०६७।०३।१० को फैसला सो हदसम्म मिलेकै देखियो ।

७. अतः माथि विवेचित आधार र कारणबाट अभियोग दाबीबमोजिम ज्यानसम्बन्धी महलको १/१५ नं. विपरीतको ज्यान मार्ने उद्योगको कसुरमा ऐ.को १५ नं.बमोजिम अभियोग दाबी नठहर्ने र मिति २०६४।३।३ को वारदात सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को अनुसूची (१) भित्र नपर्ने भई कुटपिटको वारदातसम्म भएको देखिँदा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम सरोकारवाला व्यक्ति मुद्दा सकार गर्न आए वादी पक्ष कायम गरी कारबाही किनारा गर्ने गरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६६।३।१५ मा कुटपिटमा परिणत हुने गरी भएको फैसला  सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०६७।३।१० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या.ईश्वरप्रसाद खतिवडा

 

इजलास अधिकृत:- डल्लुराम चौधरी

इति संवत् २०७५ साल चैत्र ४ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु