शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०३४० - नक्‍कली नोट

भाग: ६१ साल: २०७६ महिना: मंसिर अंक:

सर्वोच्‍च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा 

माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.

फैसला मिति : २०७६।१।११

 

मुद्दाः- नक्‍कली नोट

 

०६८-CR-०२५२

पुनरावेदक / वादी : अर्जुन शर्माको नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : चितवन जिल्ला, भरतपुर नगरपालिका वडा नं. १२ बस्ने गंगा प्रसादको छोरा जीवन भन्‍ने जीवनाथ देवकोटा

 

०६८-CR-०७५६

पुनरावेदक / वादी : टिकाप्रसादको नाति, पूर्णप्रसादको छोरा, चितवन जिल्ला, जुटपानी गाउँ विकास समिति वडा नं. ६ खोलेसिमल बस्ने बुद्धिप्रसाद अर्याल

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : अर्जुन शर्माको जाहेरीले नेपाल सरकार

 

०६८-CR-०८४३

पुनरावेदक / वादी : बृहस्पति वाग्लेको छोरा, चितवन जिल्ला, जुटपानी गाउँ विकास समिति वडा नं. ५ बस्ने जितेन्द्र वाग्ले

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : अर्जुन शर्माको जाहेरीले नेपाल सरकार

 

अनुसन्धान गर्ने अधिकारीबाट तयार भएका कागजातहरूबाहेक कानूनी प्रक्रियाविपरीत तयार भएका कागजका आधारमा कसैका विरूद्ध अभियोजन गर्नु एक विश्लेषण र व्याख्याको विषय हुन सक्ला तर कानूनभन्दा बाहिर गएर गरिएको कार्यका विरूद्ध छुट्टै कानूनी प्रक्रिया अपनाउन आवश्‍यक हुन्छ । कुनै राजनीतिक दलसँग आबद्ध संगठन वा समूहले कुनै अपराधको अनुसन्धान गर्ने, कारबाही गर्ने, थुनामा राख्‍ने जस्ता कार्य गर्ने छुट नेपालको संविधान वा अन्य प्रचलित कानूनले नदिने । 

कार्यपालिका मातहतका अनुसन्धान र अभियोजन गर्ने निकाय वा पदाधिकारीले पनि यस्ता निश्‍चित राजनीतिक संगठन, समूह वा अमूक राजनीतिक दलसँगको आबद्धताको आडमा शक्ति प्रदर्शन गरी सामान्य जनताको संविधान प्रदत्त हकमा आघात पुर्‍याउने वा तिनीहरूको एकतर्फी भनाइमा लागेर कसैउपर अभियोग लगाउने कार्य गर्ने हो भने देशमा संविधान, कानून एवम‍् कानूनी राज्यको अवधारणाको उपहास हुन पुग्ने ।

(प्रकरण नं.६)

वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री डम्बरप्रसाद काफ्ले

प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्तात्रय श्री गुणनिधि न्यौपाने, श्री रामप्रसाद भट्टराई, श्री कृष्णप्रसाद सापकोटा तथा विद्वान्‌ अधिवक्तात्रय श्री साहेब झा, श्री रामेश्‍वरप्रसाद कोइराला र श्री कमल नयन पन्त

अवलम्बित नजिर :

सम्बद्ध कानून : 

राष्ट्र बैंक ऐन, २०५८

 

सुरू तहमा फैसला गर्नेः-

माननीय न्याधीश श्री पदमराज भट्ट

चितवन जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः- 

माननीय मुख्‍य न्यायाधीश श्री पुरूषोत्तम पराजुली

माननीय न्यायाधीश श्री मोहनरमण भट्टराई

पुनरावेदन अदालत हेटौंडा

 

फैसला

न्या.अनिलकुमार सिन्हा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम‍् ठहर यसप्रकार छः-

मिति २०६५/३/१२ गते चितवन जिल्ला, जुटपानी गाउँ विकास समिति वडा नं. ६ बस्ने बुद्धि अर्याल र ऐ.ऐ. वडा नं. ५ बस्ने जितेन्द्र वाग्लेले चितवन जिल्ला, जुटपानी गाउँ विकास समिति वडा नं. ५ स्थित खोलेसिमल क्षेत्रमा भारतीय जाली नोटको कारोबार गरी सर्वसाधारणलाई ठगी गरी हिँडिरहेका छन् भन्‍ने कुरा बुझिन आएकोले म जाहेरवालासमेत उक्त स्थानमा जाँदा निज अभियुक्तहरूको साथबाट भारतीय रू.५००।- दरको २५२ थान गरी जम्मा भा. रू.१,२६,०००।- फेला परेको र नोट जाली भएकोले आवश्यक कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको मिति २०६५।३।१२ को अर्जुन शर्माको जाहेरी दरखास्त । 

जिल्ला चितवन जुटपानी गाउँ विकास समिति वडा नं. ५ खोलेसिमलस्थित पूर्वमा सडक, पश्चिममा रेडक्रस भवन, उत्तरमा सडक र दक्षिणमा नाईको पसल अवस्थित चार किल्लाभित्र रहेको सार्वजनिक प्रतिक्षालयमा जिल्ला चितवन जुटपानी गाउँ विकास समिति वडा नं. ६ बस्ने बुद्धि अर्यालको साथबाट भारतीय नक्‍कली नोट रू.५००।- दरको थान १२६ गरी जम्मा भा.रू.६३,०००/-, जिल्ला चितवन जुटपानी गाउँ विकास समिति वडा नं. ५ बस्ने जितेन्द्र वाग्लेको साथबाट भारतीय नक्‍कली नोट रू. ५००/- दरको थान १२६ गरी जम्मा भा.रू. ६३,०००।-समेत गरी जम्मा भारू १,२६,०००।- बरामद भएको भन्‍नेसमेत बेहोराको मिति २०६५।३।१२ को बरामदी मुचुल्का । 

मिति २०६५/३/१२ गते जिल्ला चितवन जुटपानी गाउँ विकास समिति वडा नं. ५ खोलेसिमलमा खटी गई जाहेरवालासमेतले नियन्त्रणमा लिई राखेका जिल्ला चितवन जुटपानी गाउँ विकास समिति वडा नं ६ बस्ने बुद्धि अर्याल र चितवन जिल्ला, जुटपानी गाउँ विकास समिति वडा नं. ५ बस्ने जितेन्द्र वाग्लेबाट बरामदी भा.रू.५००।- दरका थान २५२ नोटसमेतलाई दाखिला गरिएको छ भन्‍नेसमेत बेहोराको प्र.ना.नि.अरूणकुमार सिंहको प्रतिवेदन । 

यही असार महिनाको २ वा ३ गते यकिन 

भएन । मैले चिनेका जीवन देवकोटाले आफूसँग भारतीय नक्‍कली नोटहरू बजारमा चलाउन सक्ने अवस्थाका छन् । कोही कारोबार गर्ने व्यक्ति भए खोज्नुहोस् फाइदा हुन्छ भनेपछि मेरा छिमेकी जितेन्द्र वाग्लेसँग मैले जीवन देवकोटासँग भारतीय नोटको बारेमा भएको कुरा सुनाएपछि फाइदा हुनेदेखि कारोबार गर्ने भनी जितेन्द्र वाग्लेले जीवन देवकोटासँग फोनमा कुरा गरेपछि लगानी गरी कारोबार गर्न मन्जुर भए । हामी तिनै जना नारायणगढमा भेटी माइक्रोबस चढेर काठमाडौं 

गयौं । भोलिपल्ट जीवन देवकोटाले हामीलाई काठमाडौं नयाँबजार स्थित कोठामा लगी एकजना मधेसी मूलको मानिस लिई आई र भा.रू. ५००/- दरका नोट जितेन्द्रलाई गन्न दिई २,००,०००।- भा.रू. भएकोले जितेन्द्रले जीवनलाई ने.रू.१,६०,०००।- बुझाएको 

हो । बरामदी मुचुल्कामा उल्लेख भएका नोटहरू भा.रू. ५००/- दरका १२६ थानको भा.रू. ६३,०००।- देखाउँदा देखेँ । उक्त नोटहरू प्रहरीले मेरो साथबाट बरामद गरेको हो भन्‍नेसमेत बेहोराको प्रतिवादी बुद्धि अर्यालको बयान । 

मेरो छिमेकी बुद्धि अर्यालसँग सम्बन्ध राम्रो भएकोले निजले भारतीय नोटको कारोबार गरौं फाइदा हुन्छ भन्दै आएका थिए । मिति २०६५/३/३ गते बुद्धि अर्यालसँग भेट हुँदा निजले मसँग पैसा लगानी गर्नुस् भनी भरतपुर निवासी जीवन देवकोटासँग मेरो कुरा भएकोले निजले भारतीय नोट मिलाउँछन् ५०% लगानी गर्नुपर्छ भनेको र मिति २०६५/३/५ गते जीवन देवकोटासँग भेट्ने योजना बनाई निजसँग चिनजान गरी नोटहरू काठमाडौं लिन जानुपर्ने भनेको हुँदा सोही दिन म, बुद्धि अर्याल र जीवन देवकोटा माइक्रोबस चढी काठमाडौं गयौं । भोलिपल्ट बालाजु बसपार्क नजिकको कुमारी बैंकबाट रू.२,००,०००।- को चेक साटेपछि जीवन देवकोटाले हामीलाई नयाँबजार स्थित कोठामा लिई गए । केही समयपछि १ जना मधेसी जस्तो देखिने व्यक्तिले भा.रू. ५००/- दरका नोटको ४ गड्डी निकाली मेरो हातमा दियो । एक गड्डीमा १००/१०० थानका दरले भा.रू. २,००,०००।- भएकोले मैले जीवन देवकोटामार्फत ने.रू.१,६०,०००।- बुझाई हामी त्यहाँबाट निस्की म र बुद्धि अर्याल फर्की 

आयौं । नोटहरू सबै मैले राखेकोले मिति २०६५/३/७ मा छिमेकी विनोद रेग्मी पैसा सापटी माग्न आएकाले केही नोटहरू दिई पठाएको र पछि नक्‍कली रहेछन् चलेनन् भनी निजले भनेकाले मैले सबै कुरा बताएपछि निजले लगानी उठाइदिन्छु भनी सबै नोटहरू लिई गए । बरामदी नोटहरू देखाउँदा देखेँ । उक्त नोटहरू मेरो साथबाट बरामद भएको हो भन्‍नेसमेत बेहोराको प्रतिवादी जितेन्द्र वाग्लेको बयान । 

फरार प्रतिवादी जीवन देवकोटालाई पक्राउ गरी दाखिला गरेको छ भन्‍ने बेहोराको प्र.ना.नि. कृष्णबहादुर पाण्डेको प्रतिवेदन । 

One Hundred and Twenty Six Indian Currency notes (from Jitendra Wagle) of Rs 500/- and One Hundred and Twenty Six Indian Currency notes (from Buddhi Aryal) of Rs 500/- are COUNTERFEIT भन्नेसमेत बेहोराको श्री केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, काठमाडौंको प्रतिवेदन । 

मिति २०६५/३/५ गते म काठमाडौं जानको लागि पुल्चोकमा बसेको समयमा बुद्धि अर्याल र जितेन्द्र वाग्लेसँग भेट भई काठमाडौं जाने कुरा गरी एकै माइक्रोबसमा चढी गई मैले छोरीलाई अस्ट्रेलिया पठाउन लागेको र रकम जम्मा गर्ने क्रममा भा.रू. २ लाख जम्मा भएकाले तपाइँसँग भए सापटी दिनुस्‌ भन्दा निजहरूले जितेन्द्र वाग्लेको कुमारी बैंकमा खाता भएकाले भोलि बैंकमा भेटी साटौंला भनेकाले मिति २०६५/३/६ गते म बालाजु स्थित कुमारी बैंकमा गई बसें । निज बुद्धि र जितेन्द्र आई पैसा निकाली मलाई आफ्नो कोठामा लगी जितेन्द्र वाग्लेले ने.रू. १,६०,०००/- दिएका 

हुन् । बरामद भएका नोट देखाउँदा देखे, उक्त नोटहरू मैले जितेन्द्र वाग्लेलाई दिएको रू. दुई लाखमध्येकै हुन् भन्‍नेसमेत बेहोराको प्रतिवादी जीवननाथ देवकोटाको बयान । 

मिति २०६५/३/१२ गते ने.क.पा. माओवादी वाई.सि.एल. कार्यकर्ताले जुटपानी गाउँ विकास समिति वडा नं. ५ स्थित प्रतिक्षालयमा प्रतिवादी जितेन्द्र वाग्ले र बुद्धि अर्याललाई भा.रू.५००।- दरका नक्‍कली नोट थान २५२ सहित प्रहरीलाई बुझाएको हुँदा निजहरूले नक्‍कली भारतीय नोटको कारोबार गरेकोमा विश्वास लाग्छ । उक्त कारोबारमा भरतपुर नगरपालिका वडा नं. १२ बस्ने जिवनाथ देवकोटा, जुटपानी वडा नं. ५ बस्ने विनोद रेग्मी र एकजना मधेसीको संलग्नता छ भन्‍ने सुनेको हुँ भन्‍नेसमेत बेहोराको राजु अमगाईसमेतका व्यक्तिहरूले गरिदिएको घटना विवरण कागज । 

फरार प्रतिवादी विनोद रेग्मी र मधेसी फेला नपरेको भन्‍ने बेहोराको प्रतिवेदन । 

प्रतिवादी जीवन देवकोटा, जितेन्द्र वाग्ले र बुद्धि आर्यालले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६१(१)(क) र (ख) द्वारा निषेधित कार्य गरी खोटा एवम् नक्‍कली मुद्रा जारी गर्नेलगायत त्यस्तो प्रकारको मुद्रा वितरण तथा लेनदेनमा संलग्न भई सोही ऐनको दफा ९५ बमोजिमको कसुर गरेकाले निज प्रतिवादीहरूलाई सोही ऐनको दफा ९६(१) बमोजिम नै हुन मागदाबी लिएको अभियोग पत्र । 

बरामदी मुचुल्कामा भएको सहिछाप मेरो 

हो । मैले भारतीय नोटको कारोबार गरेको छैन । वाई.सि.एल. ले चुनावमा जाहरेवालालाई सहयोग गर्नु भनेको थियो तर मबाट सहयोग भएन, त्यही कारणले यो झुठ्ठा जाहेरी दिएको होला । प्रहरीमा भएको बयान कागज पढेर सुनाएको होइन । अभियोग दाबीअनुसार मैले कसुर अपराध नगरेकाले मलाई सजाय हुनुपर्ने होइन भन्‍नेसमेत बेहोराको प्रतिवादी बुद्धि अर्यालको मिति २०६५।४।७ गते अदालतमा भएको बयान । 

मैले भारतीय जाली नोटको कारोबार गरेको छैन । म नेपाली काङ्ग्रेसको कार्यकर्ता भएको र जाहेरवाला माओवादी भएकाले राजनीतिक प्रतिशोधका कारण यो झुठ्ठा जाहेरी दिएका हुन् । मबाट भारतीय नक्‍कली नोट बरामद भएको छैन । प्रहरीले मलाई जबरजस्ती कागजमा सहिछाप गराएका हुन् । अभियोग दाबीअनुसार मैले कसुर अपराध नगरेकाले मलाई सजाय हुनपर्ने होइन भन्‍नेसमेत बेहोराको प्रतिवादी जितेन्द्र वाग्लेको मिति २०६५।४।७ गतेको अदालतको बयान । 

मैले भारतीय जाली नोटको कारोबार गरेको छैन । यस विषयमा म पूर्ण अनविज्ञ छु । जाहेरवालालगायतका प्रतिवादीलाई मैले चिन्दिन । म प्रतिवादीहरूसँग काठमाडौं गएको छैन । प्रहरीमा भएको बयान कागज पढेर सुनाएको होइन । सहिछाप चाहिँ मेरो हो । अभियोग दाबीअनुसार मैले कसुर अपराध नगरेकोले मलाई सजाय हुनुपर्ने होइन भन्‍नेसमेत बेहोराको प्रतिवादी जिवनाथ देवकोटाले मिति २०६५।४।७ गते अदालतमा गरेको बयान । 

मैले भारतीय नक्‍कली नोटको कारोबार गरेको छैन । मेरो बुद्धि अर्यालसँग भेट भएको पनि छैन । जितेन्द्र वाग्लेसँग लेनदेनसमेत गरेको छैन । जीवन देवकोटासमेतलाई मैले चिनेको छैन । राजु अमगाईसमेतले मेरो नाउँ उल्लेख गरी गरेको कागज झुट्ठा हो । अभियोग मागदाबीअनुसारको कसुर अपराध नगरेकाले मलाई सजाय हुनुपर्ने होइन भन्‍नेसमेत बेहोराको प्रतिवादी विनोद रेग्मीको मिति २०६५/४/१९ गतेको अदालतको बयान । 

मिति २०६५।३।१२ गते खोलेसिमलमा प्रतिवादीहरू जितेन्द्र वाग्ले र बुद्धि अर्याल दुईजनाले नक्‍कली भारू नोट ल्याएकाले निजहरूलाई हामीले पक्राउ गरेको हो । रू.५००/- दरका उक्त नोटहरू जनही १२६ थान २ जनाबाट बरामद भएको हो भन्नेसमेत बेहोराको बरामदी मुचुल्कामा काम तामेल गर्ने प्र.ना.नि. कुष्णबहादुर पाण्डेको मिति २०६५।१०।१२ को बकपत्र । 

प्रतिवादीहरूमा जिवनाथ देवकोटाको साक्षी गोपालप्रसाद कडरिया र जितेन्द्र वाग्ले, बुद्धि अर्यालका साक्षी होमबहादुर थापा, जितेन्द्र वाग्लेका साक्षी प्रेमकुमार श्रेष्ठ तथा विनोद रेग्मीका साक्षी दिपक अधिकारी र सुरेन्द्र दवाडीले गरेको बकपत्र मिसिल सामेल रहेको । 

जितेन्द्र वाग्ले र बुद्धि अर्यालबाट बरामद भएका नोटहरू नक्‍कली पाइएको हो । विनोद रेग्मीले निजहरूलाई प्रलोभनमा पारी परिचालन गरेको हो भन्‍नेसमेत बेहोराको जाहेरवाला अर्जुन शर्माको   बकपत्र । 

बजारमा नक्‍कली नोट पाइएकाले जितेन्द्र वाग्ले र बुद्धि अर्यालसँग शंका लागी निजहरूलाई सोध्दा कमलनगरमा बस्ने मधेसीको होटलबाट रू.५००।- दरका जाली नोट फेला परेको हो ।  सो काममा विनोद रेग्मी र मधेसीको संलग्नता छ भन्नेसमेत बेहोराको घटना विवरणमा कागज गर्ने राजु अमगाई र सुदर्शन अधिकारीको बकपत्र । 

प्रतिवादीहरू बुद्धि अर्याल, जितेन्द्र वाग्ले र जीवन भन्‍ने जीवनाथ देवकोटाले अभियोग दाबीअनुसारको कसुर गरेको पुष्टि हुन आएकाले निजहरूलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ (१) को कसुरमा ऐ. ऐनको दफा ९६ (१) बमोजिम जनही रू ३,००,०००/- (तीन लाख) जरिवाना र १ (एक) वर्ष कैद हुने ठहर्छ । अर्को प्रतिवादी विनोद रेग्मीलाई वस्तुनिष्ठ प्रमाणविना सहअभियुक्तको पोलकै आधारमा मात्र दोषी करार गर्न नमिल्ने हुँदा अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्‍ने सुरू चितवन जिल्ला अदालतको मिति २०६७।१।८ को फैसला । 

मेरो साथबाट नक्‍कली नोट बरामद भएको छैन । जाहेरवालाले जाहेरीमा मेरो नाम किटान गरी अपराधमा संलग्न भएको किटानी जाहेरी दर्खास्त दिन सकेको छैन । सहअभियुक्तको प्रहरीमा भएको पोलबाहेक कुनै वस्तुनिष्ठ आधार प्रमाण मेरो विरूद्धमा प्रस्तुत गर्न र सोको पुष्टि गर्न सकेको अवस्था स्थिति छैन । सहअभियुक्तको पोललाई लिइएको आधार बनाई सुरू चितवन जिल्ला अदालतबाट जनही रू. ३,००,०००/- जरिवाना र १ वर्ष कैद हुने ठहर्‍याई २०६७।१।८ गते भएको फैसला बदर गरी आरोपित कसुरबाट सफाइ पाउँ भन्‍ने प्रतिवादी जीवनाथ देवकोटाको पुनरावेदन पत्र । 

मबाट रू.५००/- दरका २५२ थान नक्‍कली नोट बरामद भएको होइन । बरामदी मुचुल्का कपोलकल्पित झुठ्ठा हो । म नेपाली काँग्रेसको कार्यकर्ता भएको कारण मेरो बदनाम गर्न माओवादी कार्यकर्ताले मलाई झुठ्ठा लाञ्छना लगाई अपहरणको शैलीमा बन्धक बनाई उनीहरूले नै ल्याएका नक्‍कली भारतीय नोट ल्याई मलाई र उक्त नोट प्रहरीलाई बुझाएका हुन् । सहअभियुक्तहरूले मप्रति राजनीतिक पूर्वाग्रहबाट पोल गरेको र गैरकानूनी बरामदी मुचुल्काको मात्र आधार लिई घटनाको कुनै विश्लेषण नै नगरी मलाई कसुरदार ठहर गरी गरेको सुरू फैसला उल्टी गरी आरोपित कसुरबाट सफाइ पाउँ भन्‍ने प्रतिवादी जितेन्द्र वाग्लेको पुनरावेदन पत्र । 

सुरू चितवन जिल्ला अदालतले आधार लिएको बरामदी मुचुल्का कानून विपरीतको छ । ममाथि लगाइएको अभियोग शंकारहित तबरले प्रमाणित हुन सकेको छैन । मैले अदालतसमक्ष गरेको इन्कारी बयानलाई प्रमाण नै नलिई मलाई कसुरदार ठहर गरी सुरू अदालतबाट भएको फैसला बदर गरी आरोपित कसुरबाट सफाइ पाउँ भन्‍ने प्रतिवादी बुद्धिप्रसाद अर्यालको पुनरावेदन पत्र । 

प्रतिवादीहरू अदालतमा बयान गर्दा इन्कार रहेका प्रतिवादीमध्येका जीवनाथ देवकोटासँग बरामद नभएको, निजले नक्‍कली नोट भन्‍ने थाहा पाई पाई उल्लिखित भारतीय रू.५००/- दरका नोटहरू लिएको भन्‍ने निजको अनुसन्धानको क्रममा भएको बयानबाट समेत नपाइँदा प्रमाण मूल्याङ्कनको सन्दर्भमा जरिवाना र कैदसमेत हुने ठहराएको सुरूको फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ पुनरावेदन सरकारी वकिल कार्यालय, हेटौंडालाई छलफलमा उपस्थित हुन पेसीको सूचना दिई नियमानुसार गरी पेस गर्नु भन्‍नेसमेत पुनरावेदन अदालत हेटौंडाको मिति २०६८।२।३१ को आदेश ।

यसमा प्रतिवादीहरू बुद्धि अर्याल र जितेन्द्र वाग्लेको साथबाट रू.५००।- दरका २५२ थान भारतीय नक्‍कली नोट बरामद भएको कुरा बरामदी मुचुल्काबाट देखिएको छ । बरामदी मुचुल्का काम तामेल गर्ने ब्यक्ति, बरामदी मुचुल्काका व्यक्तिहरू तथा जाहेरवालाले समेत अदालतमा आई यिनै प्रतिवादीहरूबाट उक्त नक्‍कली नोटहरू बरामद भएको हो भनी बकपत्र गरिदिएको देखिन्छ । उक्त नोटहरू नक्‍कली हुन् भनी केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट प्रमाणित भएको पाइन्छ । अदालतमा बयान गर्दा यी प्रतिवादीहरू कसुरमा इन्कार रहे तापनि अनुसन्धान अधिकारीसमक्ष कसुरमा पूर्ण साबित भएको पाइँदा उक्त कार्यमा यी प्रतिवादीहरूको संलग्नता रहे भएको पुष्टि भएकोले अभियोग दाबीबमोजिम यी प्रतिवादीहरू बुद्धिप्रसाद अर्याल र जितेन्द्र वाग्लेलाई जनही एक (१) वर्ष कैद र तीन लाख (३,००,०००) जरिवाना हुने ठहर्छ तथा प्रतिवादी जीवनाथ देवकोटाउपर किटानी जाहेरी परेको देखिँदैन । जाहेरवालाले सुरू जिल्ला अदालतमा गरेको बकपत्रमा यी प्रतिवादीलाई कसुरदार हुन् भनी भन्न सकेका छैनन् । यी प्रतिवादीले अदालतमा बयान गर्दा कसुरमा इन्कार रही बयान गरेको 

देखिन्छ । अधिकारप्राप्त अधिकारीसमक्ष यी प्रतिवादीलाई पोल गर्ने सहअभियुक्तहरूद्वय जितेन्द्र वाग्ले र बुद्धिप्रसाद अर्यालले यी प्रतिवादी जीवनाथलाई नचिनेको कुरा अदालतको बयानमा उल्लेख गरेको देखिन्छ । यी प्रतिवादीबाट नक्कली नोट बरामद भएको पनि देखिँदैन । वादी पक्षका साक्षीहरू सुदर्शन अधिकारी, राजु अमगाई तथा जाहेरवालाले समेत यी प्रतिवादी कसुरदार भएको स्पष्ट प्रमाण देखाउँन सकेका छैनन् । उल्लिखित तथ्य आधार प्रमाणबाट यी प्रतिवादीको कसुरमा संलग्नता रहेको भन्ने ठोस आधार पाइएन । शंकाको भरमा मात्रै यी प्रतिवादीले कसुर गरेकै रहेछन् भनी विनाआधार यकिन गर्न सकिने अवस्था नभएकोले फौजदारी न्यायको मान्य सिद्धान्तअनुसार शंकाको सुविधा यी प्रतिवादीले पाउने नै हुँदा प्रतिवादी जीवनाथ देवकोटालाई कसुरदार कायम गरेको सुरू चितवन जिल्ला अदालतको फैसला सो हदसम्म मिलेको मान्न सकिएन । तसर्थ चितवन जिल्ला अदालतको मिति २०६७।१।८ को फैसला केही उल्टी भई निज प्रतिवादी जीवनाथले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत हेटौंडाको मिति २०६८।३।१४ को फैसला । 

प्रतिवादी जीवनाथ देवकोटाले आफ्नो छोरीलाई अस्ट्रेलियामा पढाउने सिलसिलामा पैसाको आवश्यकता परी खोजी गरिरहेकोमा भारतीय नागरिक सुशील भन्नेबाट प्राप्त गरेको भा.रू. नक्‍कली नोटहरू प्रचलनमा ल्याउन सहप्रतिवादीहरू जितेन्द्र वाग्ले र बुद्धि अर्यालसमेतलाई उक्त नोटहरू प्रचलन गर्न सहमत गराई काठमाडौंमा लगी जितेन्द्र वाग्लेको कुमारी बैंकमा भएको खाताबाट ने.रू.१,६०,०००।- निकाली सो रकम प्रतिवादी जीवनाथ देवकोटालाई दिई जीवनाथ देवकोटाबाट जितेन्द्र वाग्लेले नक्‍कली भा.रू. २,००,०००।- लिई आआफ्नो घर चितवन भरतपुर तथा रत्ननगरमा आई जितेन्द्र वाग्ले तथा बुद्धि अर्यालले उक्त नोटहरू प्रचलनमा ल्याउने तैयारी गरिरहेको अवस्थामा मिति २०६५।३।१२ गते निज प्रतिवादीहरूबाट जनही १२६ थान भा.रू.५००।- दरका नक्‍कली नोटहरू बरामद भई प्रतिवादी जितेन्द्र वाग्ले र बुद्धि अर्याललाई अभियोग मागदाबीबमोजिम सजाय गरेको सुरू फैसलालाई पुनरावेदन अदालत हेडौंडाले सदर गरेको अवस्थाले वारदातलाई पुष्टि गरिरहेको छ । 

प्रतिवादी जीवनाथ देवकोटाले मौकामा बयान गर्दा भारतीय नागरिक सुशील भन्‍ने व्यक्तिबाट प्राप्त गरेको भारतीय नोटहरू प्रचलनमा ल्याउन प्रतिवादी जितेन्द्र वाग्लेसमेतलाई दिएको कुरा स्वीकार गरी बयान गरेको छन् भने बरामद भएका भा.रू. नक्‍कली नोटहरू आफूले जितेन्द्र वाग्लेलाई दिएका नोटहरू नै हुन् भनी चिनी सनाखतसमेत गरी दिएका छन् । त्यस्तै कसुर ठहर भएका प्रतिवादीहरू जितेन्द्र वाग्ले र बुद्धि अर्यालको मौकाको बयानमा आफूहरूबाट बरामद भएको भा.रू. नक्‍कली नोटहरू जीवनाथ देवकोटाले दिएका नोटहरू नै हुन् भनी पोल गरी बयान गरेको अवस्था छ । अदालतको बयानमा जितेन्द्र तथा बुद्धि अर्यालले जीवनाथलाई चिन्दैनौं माओवादीले हामीलाई फसाएको हो भनी बयान गरेकोतर्फ हेर्दा यदि जीवनाथलाई नचिनेको हो भने सो बेहोरा मौकाकै बयानमा लेखाउन सक्नु 

पर्दथ्यो । जितेन्द्र तथा बुद्धि अर्यालले आफूहरूलाई यातना तथा कुटपिट गरी मौकामा साबिती बयान लेखाएको हो भनी अदालतको बयानमा लेखाए पनि अनुसन्धानकै क्रममा आफूउपर कुटपिट तथा यातना भएको निवेदन सुरू अदालतमा गर्न सकेको नदेखिँदा मौकाको यी प्रतिवादीहरूको पोलयुक्त बयान सही र सत्य हो भन्‍ने पुष्टि हुन्छ । माओवादीले यी प्रतिवादीलाई फसाउनु पर्ने कुनै कारण पनि देखिँदैन । त्यसैगरी यी प्रतिवादी जीवनाथ देवकोटाले नक्‍कली भारतीय नोट प्राप्त गरी प्रचलन गराउन जितेन्द्र वाग्लेसमेतलाई दिएको मौकाको बयानको स्वीकारोक्तिलाई निजले अदालतमा बयान गर्दा म मधुमेहको रोगी भएकाले मलाई नसुनाई मौकाको बयानमा सही गराएका हुन् । नक्‍कली नोटको कारोबारमा म संलग्न छैन भनी बेहोरा लेखाए पनि उक्त बयान अन्यथा प्रमाणित भएको छैन । बरामद भएका नक्‍कली नोटका मुख्य कारोबारकर्ता नै यी प्रतिवादी हुन् भन्‍ने देखिएको छ साथै बरामद नोटहरू नक्‍कली (counterfeit) भन्‍ने परीक्षण रिपोर्टबाट समेत देखिएको छ । जीवनाथ देवकोटाले दिएको नक्‍कली नोटहरू कसुर ठहर भएका प्रतिवादीहरूले प्रचलनमा ल्याउन लागेको अवस्थामा बरामद भएका नोटहरू सुरूमा यिनै जीवनाथले दिएका हुन् भन्‍ने जाहेरवाला अर्जुन शर्मालाई थाहा जानकारी हुन सक्ने अवस्था नरहेकाले जाहेरवालाले सो कुरा खुलाउनसम्म नसकेका भए पनि अन्य प्रमाणबाट यी प्रतिवादी कसुरदार हुन् भन्‍ने पुष्टि भइरहेको अवस्था छ । फौजदारी अभियोग लागेका अधिकांश व्यक्तिहरू अदालतमा कसुरमा इन्कार रहने परिपाटी रहेको सन्दर्भमा अदालतमा कसुरमा इन्कार रही बयान गरेको भन्‍ने आधारमा भारतीय नक्‍कली नोटको कारोबारका मुख्य कर्ताको रूपमा रहेका यी प्रतिवादीले सबै नोटहरू कसुर ठहर भएका उल्लिखित प्रतिवादीहरूलाई दिइसकेको अवस्थामा निजबाट नक्‍कली नोट बरामद हुन सक्ने अवस्था छैन । तसर्थ अत्यन्त हचुवा आधारहरू लिई निजलाई सफाइ दिने गरी भएको फैसला प्रमाण ऐन, २०३१ को दफा ९, १० र २५ समेतको प्रतिकूल भएकाले सो फैसला बदरभागी छ । प्रतिवादी जीवनाथले दिएका नक्‍कली भा.रू. नोटहरू प्रतिवादीहरू जितेन्द्र वाग्ले र बुद्धि अर्यालबाट बरामद हुँदाको अवस्थामा प्रत्यक्ष देख्‍ने थाहा पाउने व्यक्तिहरू भनेका सुदर्शन अधिकारी, राजु अमगाईसमेत हुन् । प्रतिवादी जीवनाथ देवकोटा नक्‍कली नोट बरामद हुँदाको अवस्थामा सो ठाउँमा नभई कसुर ठहर भएका प्रतिवादीहरूको पोलयुक्त बयानका आधारमा पक्राउ परेको हुँदा यी सरकारी साक्षीहरूलाई यी प्रतिवादी कसुरमा संलग्नताबारे थाहा जानकारी हुन सक्ने अवस्था रहँदैन । यसरी यी प्रतिवादीको मौकाको साबिती बयान, सहप्रतिवादीहरूको मौकाको पोलयुक्त तथा नक्‍कली नोटको कारोबारमा साङ्गठनिक रूपमा संलग्न रहेको अवस्थासमेतका उपर्युक्त तथ्यसमेतका आधारमा निजको कसुर पुष्टि भइरहेकोमा यी प्रतिवादीलाई सरकारी साक्षीसमेतले कसुर देखाउन नसकेको भनी निजलाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण भई बदरभागी छ ।

उल्लिखित आधार प्रमाणबाट पुनरावेदन अदालत हेटौंडाबाट भएको मिति २०६८।३।१४ को फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्म उक्त फैसला बदर गरी यी प्रतिवादी जीवनाथ देवकोटालाई सुरू अभियोग माग दाबीबमोजिम सजाय गरी पाउन सम्मानित अदालतसमक्ष सादर अनुरोध छ भन्‍नेसमेत बेहोराको पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन पत्र ।

म पुनरावेदकसमेतले भारतीय जाली नोटको कारोबार गरी सर्वसाधारणलाई ठगी गर्दै हिँडेको हुँदा मुलुकी ऐन खोटा चलनको महलबमोजिम कारबाही गरिपाउँ भनी दिएको जाहेरीको आधारमा म पुनरावेदकसमेतको विरूद्ध सुरू चितवन जिल्ला अदालतसमक्ष नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६१(क) (ख) द्वारा निषेधित कार्य गरी ऐ.ऐनको दफा ९५(१) बमोजिम कसुर गरेकोले ऐ.ऐनको दफा ९६(१) बमोजिमको सजायको मागदाबी लिई दायर गरिएको अभियोग दाबीको आधारमा म पुनरावेदकलाई सजाय हुने ठहरी फैसला गरिएको छ । सर्वप्रथमतः वादी पक्षले म पुनरावेदकसमेत विरूद्ध सजायको माग दाबी गर्दा जुन ऐनको सहारा लिई अदालतसमक्ष अभियोग दायर गर्नुभएको छ, सो ऐनको आधारमा प्रस्तुत मुद्दाको अभियोग दायर हुन सक्दैन । त्यस्तो अभियोगको आधारमा म पुनरावेदकलाई सजाय गर्न कानूनतः मिल्दैन । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५(१) मा उल्लिखित कानूनी व्यवस्थालाई हेर्ने हो भने सोमा “...जाली वा खोटा वा नक्कली वा प्रतिलिपि (मुद्रा) जारी गरेमा वा त्यस्तो मुद्रा वितरण वा लेनदेनमा संलग्न भएमा, विदेशी विनिमय कारोबार गरेमा वा त्यस्तो कार्यमा संलग्न भएमा यस ऐनबमोजिम कसुर गरेको मानिनेछ” भनी उल्लेख गरेको पाइन्छ । सो ऐनको दफा २(ज) मा मुद्रा भन्ने शब्दको स्पष्ट परिभाषा गरिएको छ र सोमा विदेशी मुद्रा अङ्कित नभई विदेशी मुद्राको सम्बन्धमा सोही ऐनको दफा २(ञ) मा छुट्टै परिभाषा गरिएको छ । वादी पक्षले दाबी लिएको ऐनको दफालाई हेर्दा, सोमा नेपाली मुद्रा जाली वा खोटो वा नक्कली वा प्रतिलिपि बनाई जारी गरेको हकसम्म मात्र सो दफा आकर्षित हुने हो, वादी नेपाल सरकारबाट म पुनरावेदकसमेतले भारतीय नक्कली नोट कारोबार गरेको भनी कथित रूपमा जुन आधार र ऐनको सहारा लिई अभियोग दायर भएको छ, सो आधार र ऐन प्रस्तुत मुद्दाको हकमा आकर्षित हुन सक्दैन ।

प्रस्तुत मुद्दामा मुख्य अभियुक्तको रूपमा देखाइएका प्रतिवादी जीवन भन्ने जीवनाथ देवकोटालाई श्री पुनरावेदन अदालत हेटौंडाबाट आरोपित कसुरबाट सफाइ पाउने ठहरी फैसला गरिएको छ । उक्त फैसलाको ठहर खण्डमा अधिकारप्राप्त अधिकारीसमक्षको साबिती बयानलाई इन्कार गरी अदालतमा बयान गरेपछि यी पुनरावेदक प्रतिवादी जीवनाथ देवकोटाले कसुरमा यो यस्तो संलग्नता रहेछ भनी प्रस्ट रूपमा औंल्याउन मिल्ने ठोस आधार पाइएन । प्रतिवादी विनोद रेग्मीले सफाइ पाएको सुरू फैसला नै अन्तिम भएको देखिएको अवस्थामा शंकाको भरमा मात्र यी प्रतिवादीले कसुर गरेकै रहेछन् भनी बिना आधार यकिन गर्न सकिने अवस्था नभई शंकाको सुविधा प्रतिवादीलाई दिनु पर्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्तसमेत भएको भन्ने आधार उल्लेख गरिएको छ । सर्वप्रथमतः फौजदारी मुद्दामा वादी पक्षले आफ्नो अभियोग प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम निर्विवाद रूपमा प्रमाणित गर्नु पर्ने हुन्छ । यसरी प्रमाणित नभएको अभियोगमा प्रतिवादी पक्षले आफ्नो निर्दोषितालाई पुष्टि गरिरहनु पर्दैन तथापि म पुनरावेदकले सम्मानित सुरू चितवन जिल्ला अदालतसमक्ष आरोपित कसुरमा पूर्णतः इन्कार रही बयान गरेको अवस्थामा सो बयानलाई प्रमाणमा ग्रहण नै नगरी फैसला गरिएको अवस्था छ । समान अभियोग लागेका प्रतिवादीहरूले अदालतसमक्ष गरेको कुनै बयानलाई प्रमाण लिने,  कुनै बयानलाई प्रमाण लिन इन्कार गर्ने गरी फैसला गर्न कदापि पनि मिल्दैन । तसर्थ मुख्य अभियुक्तको रूपमा देखाइएको प्रतिवादी जीवनाथ देवकोटाले नै अभियोग दाबीबमोजिमको कसुर गरेको नदेखिई अभियोग पुष्टि नभई अभियोग दाबीबाट सफाइ पाउने गरी फैसला गरिसकेपछि म पुनरावेदकसमेतलाई पनि अभियोग दाबीबाट सफाइ पाउने ठहरी फैसला गर्नु पर्नेमा सो नगरी भए गरिएको फैसला त्रुटिपूर्ण भई बदरभागी छ, बदर गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी बुद्धिप्रसाद अर्यालको यस अदालतमा परेको पुनरावेदन ।

पुनरावेदन अदालत हेटौंडाले सुरू चितवन जिल्ला अदालतबाट मलाई हराई गरेको फैसलालाई सदर गरी फैसला गर्दा मबाट रू.५०० दरका नक्‍कली भारतीय नोटहरू १२६ थान बरामद भएको बरामदी मुचुल्का मिसिल सामेल रहेको भन्ने आधार लिएको छ । उक्त आधार विल्कुलै गलत छ । सोका आधारमा मलाई दोषी ठहर गर्न मिल्ने अवस्था मिसिल संलग्न प्रमाण कागजातबाट देखिँदैन । सर्वप्रथमत: उक्त बरामदी मुचुल्का भनिएको कागज नै कानूनले तोकिएको रीतपूर्वक तयार गरिएको छैन । त्यस्तो गैरकानूनी ढंगबाट तयार पारिएको बरामदी मुचुल्कालाई प्रमाणको रूपमा ग्रहण गरी मलाई दोषी ठहर गर्न मिल्दैन । कानूनले नै के कुन निकायको के कुन तहको व्यक्ति तथा अधिकारीले के कुन कानूनी प्रक्रिया अवलम्बन गरी सामान बरामद गर्ने, खान तलासी लिने साथै के कुन निकायका के कस्ता व्यक्तिलाई रोहबरमा राखी बरामदी मुचुल्का तयार गर्ने हो सो सम्बन्धमा प्रस्ट व्यवस्था गरेको छ । सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ८ लाई हेर्दा बरामदी मुचुल्का तयार गर्दा वा खान तलासी लिँदा सो ठाउँमा भएका कम्तीमा दुईजना स्थानीय व्यक्ति र सम्बन्धित गा.वि.स. वा न.पा.का एकजना सदस्य वा त्यस्तो सदस्य नभए कुनै सरकारी कार्यालयको एकजना कर्मचारीलाई रोहबरमा राख्नु पर्ने अनिवार्य व्यवस्था गरेको छ । उक्त कानूनी व्यवस्थामा उल्लेख भएबमोजिम प्रस्तुत बरामदी मुचुल्का गर्दा सम्बन्धित गा.वि.स. का कुनै पनि सदस्यलाई रोहबरमा राखिएको छैन । त्यस्तो सदस्य नभएमा कुनै सरकारी कार्यालयका एकजना कर्मचारीलाई रोहबरमा राख्नु पर्नेमा सरकारी कर्मचारीलाई पनि रोहबरमा राखिएको छैन । ऐ.ऐनको दफा १० बमोजिमको खान तलासी गर्दा अवलम्बन गर्नुपर्ने कानूनी व्यवस्थासमेतको अवलम्बन गरिएको छैन । त्यसैगरी मुलुकी ऐन, अ.बं. १७२ नं. ले निर्देशित गरेअनुसारको कानूनी प्रक्रिया एवम् रोहबरमा राख्नुपर्ने भनी उल्लेख भएका व्यक्तिहरूलाई रोहबरमा राखिएको छैन । कानूनअनुकूल नभएको कुनै पनि प्रमाण कागजातले निर्विवाद प्रमाणको भूमिका निर्वाह गर्न सक्दैन । कानूनअनुकूल नभएको बरामदी मुचुल्काको आधारमा आरोपित कसुरमा दोषी ठहर गर्नु कानूनसङ्गत हुँदैन । 

बरामदी मुचुल्का झुट्ठा र गैरकानूनी छ भन्ने कुरा उक्त बरामदी मुचुल्कामा काम तामेल गर्ने भनिएका प्र.ना.नि. कृष्णबहादुर पाण्डेको जिल्ला अदालतको बकपत्रलाई हेर्दा प्रस्ट हुन्छ । निजको बकपत्रको स.ज. ७ मा प्रतिवादीहरूलाई जाहेरवालासमेतले कहिले समाते थाहा भएन । पैसा कहाँबाट ल्याएका हुन् थाहा भएन । मति २०६५।०३।१२ गते प्रतिवादीहरूलाई हामीले नियन्त्रणमा लिएका छौं भनी खबर गरेकाले मसमेत गएको हुँ भनी बकपत्र गरेका छन् । निजको उक्त बकपत्रबाट समेत बरामद भएको भनिएका भारतीय नोटहरू प्रहरी आफैँले बरामद गरेको नभई ने.क.पा. माओवादीका कार्यकर्ताहरूले बरामद गरेका हुन भन्ने कुरा प्रस्ट हुन्छ । जाहेरवाला तथा बरामदी मुचुल्काका सबै व्यक्तिहरू ने.क.पा.का कार्यकर्ताहरू हुन । निजहरूले निर्वाचनमा आफ्नो दललाई सघाउन दबाब दिएका थिए । उक्त कुरा म नेपाली कांग्रेससँग आबद्ध भएकोले मानिन तसर्थ राजनीतिक पूर्वाग्रहबाट ग्रासित भई म र बुद्धिप्रसाद अर्यालसमेतलाई दुई दिन अगाडि नै अपहरण शैलीमा समाती निजहरूको चितवन जिल्लाको शक्तिखोरस्थित वाइ सि एलको क्याम्पमा राखी चुनावमा नसघाएको भनी यातना दिई अब तिमीहरूलाई मुद्दामा फसाउने भन्दै दुई दिनपछि प्रहरी बोलाई बुझाएका हुन् । ती भारतीय नोटहरू मसँगबाट बरामद भएका होइनन् । निजहरूले नै ल्याई प्रहरीसमक्ष देखाएका हुन् । उक्त बरामदी मुचुल्का भनिएको कागजमा निज जाहेरवालालगायतका माओवादी कार्यकर्तासमेत भई प्रहरी बोलाई जबरजस्ती सहिछाप गराएका हुन् । सो कुरा मैले सम्मानित चितवन जिल्ला अदालतमा बयान गर्दा स.ज.४, ५, ६, ७ मा प्रस्ट उल्लेख गरेको छु । जाहेरी दरखास्त दिने, बरामदी मुचुल्कामा साक्षी बस्ने र अनुसन्धानको क्रममा घटनास्थल वरिपरिका मानिस भनी कागज गरिदिनेसमेतको सबै कागजमा उनै उनै व्यक्तिहरू, माओवादी पार्टीको कार्यकर्ता मात्र संलग्न छन् । सर्वसाधारण जनता र स्थानीय जन प्रतिनिधि वा गा.वि.स. सचिवसमेत कोही राखेका छैनन् । यसरी कानूनविपरीत एकलौटी ढंगबाट तयार गरिएको जाहेरी दरखास्त, बरामदी मुचुल्कालगायतका कागजातहरूलाई प्रमाणमा लिन मिल्दैन । प्रहरीमा कागज गर्ने व्यक्तिहरू प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम अदालतसमक्ष बकपत्र गर्न नआएको अवस्थामा निजहरूको उक्त कागज र बेहोरालाई प्रमाणमा लिन मिल्दैन । अधिकारप्राप्त अधिकारीसमक्षको बयान मैले लेखाएको बयान होइन । उक्त बयानको बेहोरा झुट्ठा हो । पहिले नै लेखी राखेको बयानमा मलाई जबरजस्ती सहिछाप गराएका हुन् । मैले पढ्न खोज्दा पिटेकोले ज्यानको मायाले जहाँ भन्छन् त्यहीँ सहि गरी दिएको हुँ । सो कुरा मैले सम्मानित चितवन जिल्ला अदालतमा बयान गर्दासमेत स.ज.९ मा उल्लेख गरेको छु । उल्लिखित कागजातहरूलाई प्रमाणमा लिई चितवन जिल्ला अदालतबाट मलाई हराई भएको फैसलालाई सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला मुलुकी ऐन अ.बं. १८४क र १८५ तथा  प्रमाण ऐन, २०३१ दफा ३ तथा ५४ को प्रतिबन्धात्मक वाक्यांशसमेतको प्रतिकूल भएकोले पुनरावेदन अदालत हेटौंडाको उक्त फैसलालाई बदर गरी सफाइ पाउने गरी इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी जितेन्द्र वाग्लेको यस अदालतमा परेको पुनरावेदन ।

यसमा प्रतिवादी जीवन भन्‍ने जीवनाथ देवकोटाबाट नै बरामद भएको जाली नोट प्राप्त गरेको भन्‍ने प्रतिवादीमध्येका बुद्धिप्रसाद अर्याल र जितेन्द्र वाग्लेसमेतले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेको देखिएको, सोही बयानका आधारमा प्रतिवादी जितेन्द्र वाग्लेसमेतलाई कसुरदार ठहर गरी फैसला भएको देखिएको, प्रतिवादी जीवनाथ देवकोटा अनुसन्धानको क्रममा बयान हुँदा कसुरमा साबित रहेको देखिएको अवस्थामा निजलाई सफाइ दिने गरी भएको पुनरावेदन अदालत हेटौंडाबाट भएको मिति २०६८।०३।१४ को फैसला फरक पर्न सक्ने देखिँदा छलफलका लागि प्रतिवादी जीवन भन्‍ने जीवनाथ देवकोटालाई झिकाई तथा मुलुकी ऐन, अदालती बन्दोबस्त महलको २०२ नं. को प्रयोजनार्थ लगाउको ०६८-CR-०७५६ र ०६८-CR-०८४३ नं.का पुनरावेदनहरूको जनाउ महान्यायाधिवक्ताको कार्यालयलाई दिई नियमानुसार पेस गर्नु भन्‍नेसमेत बेहोराको यस अदालतको आदेश ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री डम्बरप्रसाद काफ्लेले प्रतिवादीहरू बुद्धिप्रसाद अर्याल र जितेन्द्र वाग्लेसमेतले अनुसन्धानको क्रममा बयान गर्दा साबिति रहेको देखिन्छ । सहअभियुक्तहरूले अनुसन्धानमा बयान गर्दा प्रतिवादी जीवनाथ देवकोटालाई पोल गरेकोमा निज स्वयम्‌ पनि अनुसन्धानको क्रममा बयान गर्दा साबित रहेको देखिन्छ । तसर्थ यिनै प्रतिवादीहरूबाट रकम लिए दिएको कुरा मिसिलबाट देखिँदा, निजैहरूको मिलोमतोमा नक्कली नोटको कारोबार भए गरेको देखिन्छ । प्रतिवादीहरू जितेन्द्र वाग्ले र बुद्धिप्रसाद अर्याल नक्कली नोट प्रचलन गराउन हिँडिरहेको अवस्थामा प्रक्राउ परेका र यिनीहरूबाट बरामद भएको नक्कली नोट प्रतिवादी जीवनाथ देवकोटाबाट प्राप्त भएको भनी सहअभियुक्तहरूले भनेकोमा उक्त नोटहरू प्रतिवादी जीवनाथबाट सनाखतसमेत भएको 

देखिन्छ । तसर्थ प्रतिवादीहरू जितेन्द्र वाग्ले र बुद्धिप्रसाद अर्यालको हकमा पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला सदर गरी पाउनुका साथै प्रतिवादी जीवनाथ देवकोटाको हकमा समेत सुरू अभियोग माग दाबीबमोजिम सजाय हुनुपर्नेमा सफाइ दिने गरी भएको पुनरावेदन अदालत हेटौंडाको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी निज प्रतिवादीलाई समेत सुरू अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भनी प्रस्तुत गर्नुभएको बहससमेत सुनी सुनियो ।

प्रतिवादी जीवनाथ देवकोटाको तर्फबाट रहनु भएको विद्वान्‌ वरिष्ठ अधिवक्ताद्वय श्री गुणनिधि न्यौपाने र रामप्रसाद भट्टराई तथा विद्वान्‌ अधिवक्ता श्री साहेब झाले जालीनोटको कारोबार गर्नेको खोजी गर्दै जाँदा पसलबाट प्राप्त भएको थाहा पाएको भनिएको तर जाहेरवालाले अदालतमा बयान गर्दा आफैँले पक्राउ गरी प्रहरीलाई बुझाएको भनी बयान दिएबाट समेत जाहेरीको बेहोरामा नै फरक तथ्य खुल्न आएको देखिन्छ । हाम्रा पक्ष जीवनाथबाट कुनै किसिमका जाली नोटहरू बरामद भएको छैन । न त निज विरूद्ध किटानी जाहेरी नै परेको छ । सहअभियुक्तहरूको पोलबाट जीवनाथका विरूद्ध अनुसन्धान सुरू भएकोमा अदालतमा बयान गर्दा तिनै सहअभियुक्तहरूले जीवनाथ देवकोटालाई चिन्दैनौं भनी बयान गरेबाट शंकाको सुविधा अभियुक्तले पाउँछ । अनुसन्धानमा भएको बयानले कानूनी मान्यता पाउँदैन । हाम्रा पक्षले अदालतमा बयान गर्दा कसुरका सम्बन्धमा इन्कारी छन् । निज निर्दोष भएकाले सफाइ पाउनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।

त्यसैगरी प्रतिवादी जितेन्द्र वाग्लेको तर्फबाट रहनु भएको विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा तथा विद्वान्‌ अधिवक्ताद्वय श्री रामेश्‍वरप्रसाद कोइराला र श्री कमलनयन पन्तले हाम्रो पक्ष निर्दोष 

छन् । राजनीतिक पूर्वाग्रहबाट प्रस्तुत मुद्दाको उठान भएको छ । जाहेरी, बरामदी मुचुल्कालगायतका कागजातहरू झुठ्ठा हुन् । माओवादी कार्यकर्ताहरूले जबरजस्ती पक्री शक्तिखोरमा लगी गैरकानूनी थुनामा राखी मानसिक तथा शारीरिक यातना दिई कानूनले निर्दिष्ट गरेको प्रक्रियाभन्दा फरक किसिमले जाहेरीलगायतका कागजात बनाई जबरजस्ती सहीछाप गर्न लगाई झुठ्ठा मुद्दालगाएका हुन् । उल्लिखित कागजातहरूमा रहेका सबै साक्षीहरू स्थानीय व्यक्ति नभई मा‌ओवादी कार्यकर्ताहरू हुन् । जाहेरवाला, बरामदी मुचुल्कासमेतका व्यक्तिहरूले आफ्ना भनाइहरूलाई अदालतमा गई पुष्ट्याईं गर्न सकेका छैनन् । बरामद भएको भनिएका नक्‍कली नोटहरू कहाँबाट के कसरी बरामद भएका हुन् भन्ने कुरामा नै अस्पष्टता रहेको अवस्थामा हाम्रा पक्षलाई सुनियोजित रूपमा फसाइएको कुरा प्रस्ट भएकाले सफाइ दिलाई पाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

विद्वान्‌ उपन्यायाधिवक्ता र विद्वान्‌ वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले प्रस्तुत गर्नुभएको उल्लिखित बहससमेत सुनी मिसिल अध्ययन गरी प्रस्तुत मुद्दामा पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक वादी नेपाल सरकारको तथा प्रतिवादीहरूमध्ये बुद्धिप्रसाद अर्याल र जितेन्द्र वाग्लेको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो । 

२. निर्णयतर्फ विचार गर्दा, अर्जुन शर्माले बुद्धि अर्याल र जितेन्द्र वाग्लेसमेतलाई भारतीय जाली नोटको कारोबार गर्दै गर्दाको अवस्थामा निजहरूको साथबाट जनही भा.रू.५००।- दरको २५२ थान गरी जम्मा भा.रू.१,२६,०००।- बरामद भएकाले आवश्यक कारबाही गरिपाउँ भन्‍ने किटानी जाहेरी मिति २०६५।३।१२ मा परी प्रतिवादी जीवन देवकोटा, जितेन्द्र वाग्ले र बुद्धि अर्यालले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६१(१)(क)र(ख) द्वारा निषेधित कार्य गरी खोटा एवम‍् नक्‍कली मुद्रा जारी गर्नेलगायत त्यस्तो प्रकारको मुद्रा वितरण तथा लेनदेनमा संलग्न भई सोही ऐनको दफा ९५ बमोजिमको कसुर गरेकाले निज प्रतिवादीहरूलाई सोही ऐनको दफा ९६(१) बमोजिम हुन मागदाबी लिई प्रस्तुत मुद्दाको उठान भएको पाइयो । प्रस्तुत मुद्दामा प्रतिवादीहरू जीवन भन्‍ने जीवनाथ देवकोटा, बुद्धिप्रसाद अर्याल र जितेन्द्र वाग्लेले अभियोग दाबीअनुसारको कसुर गरेको पुष्टि हुन आएकाले निजहरूलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५(१) को कसुरमा ऐ.ऐनको दफा ९६(१) बमोजिम रू.३,००,०००/- (तीन लाख) जरिवाना र १(एक) वर्ष कैद हुने ठहर्छ भनी सुरू चितवन जिल्ला अदालतबाट मिति २०६७।१।८ मा फैसला भएकोमा यी कसुरदार ठहरिएका तीन जना प्रतिवादीहरूको पुनरावेदन परेको देखिन्छ । प्रतिवादीहरूमध्ये जीवनाथ देवकोटाको पुनरावेदन जिकिर हेर्दा, मेरो साथबाट नक्‍कली नोट बरामद भएको छैन, मेरो नाममा किटानी जाहेरी दर्खास्तसमेत परेको छैन, सहअभियुक्तहरूको प्रहरीमा भएको पोलबाहेक कुनै वस्तुनिष्ठ आधार प्रमाण मेरो विरूद्धमा प्रस्तुत गर्न र सोको पुष्टि गर्न सकेको स्थिति पनि छैन, सहअभियुक्तको पोललाई आधार बनाई सुरू चितवन जिल्ला अदालतबाट मलाई ठहर भएको १ वर्ष कैद र रू.३,००,०००/- जरिवाना बदर गरी आरोपित कसुरबाट सफाइ पाउँ भनी पुनरावेदन परेको देखियो । यसैगरी प्रतिवादी बुद्धिप्रसाद अर्यालको पुनरावेदनमा सुरू चितवन जिल्ला अदालतले आधार लिएको बरामदी मुचुल्का कानूनविपरीतको छ । ममाथि लगाइएको अभियोग शंकारहित तबरले प्रमाणित हुन सकेको छैन । मैले अदालतसमक्ष गरेको इन्कारी बयानलाई प्रमाण नै नलिई मलाई कसुरदार ठहर गरी सुरू अदालतबाट भएको फैसला बदर गरी आरोपित कसुरबाट सफाइ पाउँ भन्‍ने जिकिर लिएको देखिन्छ । प्रतिवादी जितेन्द्र वाग्लेले आफ्नो पुनरावेदनमा मबाट रू.५००।- दरका २५२ थान नक्‍कली नोट बरामद भएको होइन । बरामदी मुचुल्का झुठ्ठा हो । म नेपाली काँग्रेसको कार्यकर्ता भएको कारण मेरो बदनाम गर्न माओवादी कार्यकर्ताले मलाई झुठ्ठा लाञ्छना लगाई अपहरणको शैलीमा बन्धक बनाई उनीहरूले नै ल्याएका नक्‍कली भारतीय नोट ल्याई मलाई र उक्त नोट प्रहरीलाई बुझाएका हुन् । सहअभियुक्तहरूले मप्रति राजनीतिक पूर्वाग्रहबाट पोल गरेको र गैरकानूनी बरामदी मुचुल्काको मात्र आधार लिई घटनाको कुनै विश्लेषण नै नगरी मलाई कसुरदार ठहर गरी गरेको सुरू फैसला उल्टी गरी आरोपित कसुरबाट सफाइ पाउँ भन्‍ने जिकिर लिएकोमा पुनरावेदन अदालत हेटौंडाले फैसला गर्दा प्रतिवादी जीवनाथ देवकोटाउपर किटानी जाहेरी परेको देखिँदैन । जाहेरवालाले सुरू जिल्ला अदालतमा गरेको बकपत्रमा यी प्रतिवादी जीवनाथ देवकोटालाई कसुरदार हुन् भनी भन्न सकेका छैनन् । यी प्रतिवादीले अदालतमा बयान गर्दा कसुरमा इन्कारी रही बयान गरेको देखिन्छ । अधिकारप्राप्त अधिकारीसमक्ष यी प्रतिवादीलाई पोल गर्ने सहअभियुक्तहरूद्वय जितेन्द्र वाग्ले र बुद्धिप्रसाद अर्यालले यी प्रतिवादी जीवनाथलाई नचिनेको कुरा अदालतको बयानमा उल्लेख गरेको देखिन्छ । यी प्रतिवादीबाट नक्‍कली नोट बरामद भएको पनि देखिँदैन । वादी पक्षका साक्षीहरू सुदर्शन अधिकारी, राजु अमगाईं तथा जाहेरवालाले समेत यी प्रतिवादी कसुरदार भएको स्पष्ट प्रमाण देखाउन सकेका छैनन् । उल्लिखित तथ्य आधार प्रमाणबाट यी प्रतिवादीको कसुरमा संलग्नता रहेको भन्ने ठोस आधार पाइएन । शंकाको भरमा मात्रै यी प्रतिवादीले कसुर गरेकै रहेछन् भनी विनाआधार यकिन गर्न सकिने अवस्था नभएकोले फौजदारी न्यायको मान्य सिद्धान्तअनुसार शंकाको सुविधा यी प्रतिवादीले पाउने नै हुँदा प्रतिवादी जीवनाथ देवकोटालाई कसुरदार कायम गरेको सुरू चितवन जिल्ला अदालतको फैसला सो हदसम्म मिलेको मान्न सकिएन । तसर्थ चितवन जिल्ला अदालतबाट मिति २०६७।१।८ मा भएको फैसलालाई केही उल्टी गरी प्रतिवादी जीवनाथलाई अभियोग दाबीबाट सफाइ पाउने ठहर गरी पुनरावेदन अदालत हेटौंडाबाट मिति २०६८।३।१४ मा फैसला भएको देखिन्छ । अर्कोतर्फ प्रतिवादीहरू बुद्धिप्रसाद अर्याल र जितेन्द्र वाग्लेको हकमा रू.३,००,०००/- (तीन लाख) जरिवाना र १ (एक) वर्ष कैद हुने ठहर्छ भनी फैसला भई सुरू अदालको फैसलालाई सदर गरेको पाइयो ।

३. उक्त फैसलाउपर नेपाल सरकारको तर्फबाट यस अदालतमा प्रतिवादी जीवनाथ देवकोटाले छोरीलाई अस्ट्रेलियामा पढाउने सिलसिलामा आफूसँग भएको भा.रू.नक्‍कली नोटहरू प्रचलनमा ल्याउन सहप्रतिवादीहरू जितेन्द्र वाग्ले र बुद्धि अर्यालसमेतको सहयोगमा जितेन्द्र वाग्लेबाट ने.रू.१,६०,०००।- लिई जितेन्द्र वाग्लेलाई नक्‍कली भा.रू. २,००,०००।- दिएकोमा निज सहअभियुक्तहरूबाट बरामद भएका उक्त नक्‍कली भारतीय नोटहरूलाई सनाखतसमेत गरेको तथा ती सहअभियुक्तहरूलाई सुरू तथा पुनरावेदन अदालतले समेत कसुरदार कायम गरी कैद सजायसमेत गरेको अवस्थामा अभियोग दाबीबमोजिमको कसुरजन्य कार्य भए गरेको पुष्टि भइरहेको अवस्थामा पुनरावेदन अदालत हेटौंडाले यी अभियुक्त जीवनाथलाई सफाइ दिने ठहर गरी गरेको फैसला नमिलेकाले सुरू अभियोग दाबीबमोजिम यी प्रतिवादी जीवनाथलाई पनि सजाय गरिपाउँ भन्ने मुल पुनरावेदन जिकिर रहेको पाइयो । यस्तै प्रतिवादीहरू जितेन्द्र वाग्ले र बुद्धिप्रसाद अर्यालले राजनीतिक पूर्वाग्रह साँधी बदनियतपूर्वक गैरकानूनी रूपमा तयार पारिएको बरामदी मुचुल्कालाई मूल आधारमानी पुनरावेदन अदालत हेटौंडाबाट हामीहरूलाई कसुरदार ठहर गर्ने गरी मिति २०६८।३।१४ मा भएको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी सफाइ पाउँ भन्ने भन्ने मूल पुनरावेदन जिकिर रहेको पाइयो ।

४. यस मुद्दामा लिएको अभियोग दाबीका सम्बन्धमा रहेको कानूनी व्यवस्था निम्नानुसार रहेको देखिन्छ:- नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६१(१):- कसैले पनि देहायबमोजिमको कुनै काम गर्न र गराउन हुँदैन :-

(क) नेपालभित्र चलन चल्तीमा रहेका कानूनी ग्राह्य बैंक नोट तथा सिक्का वा चेक वा भुक्तानी कार्डको जालसजी वा किर्ते गरी वा रूप फेरी वा अन्य कुनै प्रकारले नक्कली मुद्रा बनाउन वा सोको प्रतिलिपि बनाउन वा सोसम्बन्धी कुनै कार्य गर्न वा त्यस्तो कुनै कार्यमा सघाउ पुर्‍याउन, वा

(ख) बैंक नोट वा सिक्‍का, चेक वा भुक्तानी कार्ड, नक्‍कली, झुत्रा, किर्ते वा जालसाजी गरी वा जालसाजी वा रूप फेरेर बनाएको हो भन्ने थाहा पाई पाई पनि त्यस्ता बैंक नोट वा सिक्‍का वा चेक वा भुक्तानी कार्ड कसैले आफूसँग राख्‍न, ‌ओसार पसार गर्न वा त्यस्तो कुनै कार्यमा सघाउ पुर्‍याउन,

त्यसैगरी ऐ.ऐनको दफा ९५(१) मा:- "कसैले यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियम वा विनियम वा सोअन्तर्गत जारी गरिएको आदेश वा निर्देशनविपरीत हुने गरी निक्षेप लिएमा वा कर्जा दिएमा वा डिबेन्चर वा अन्य वित्तीय उपकरण जारी गरेमा वा बैंकले निर्धारण गरेको नीतिविपरीत ब्याज लिनु वा दिनु गरेमा वा जाली वा खोटो वा नक्‍कली वा प्रतिलिपि मुद्रा जारी गरेमा वा त्यस्तो मुद्रा वितरण वा लेनदेनमा संलग्न भएमा, विदेशी विनिमय कारोबार गरेमा वा त्यस्ता कार्यमा संलग्न भएमा यस ऐनबमोजिम कसुर गरेको मानिनेछ" भन्ने उल्लेख भएको छ ।

 

५. फौजदारी मुद्दामा वादी पक्षले आफ्नो अभियोग प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम निर्विवाद रूपमा प्रमाणित गर्नु पर्ने हुन्छ । यसरी प्रमाणित नभएको अभियोगमा प्रतिवादी पक्षले आफ्नो निर्दोषितालाई पुष्टि गरी रहनु पर्दैन । यस्तो अवस्थामा शंकाको सुविधा अभियुक्तले पाउने नै हुन्छ । शंकाको भरमा अन्य वस्तुनिष्ठ प्रमाणले पुष्टि नगरेको अवस्थामा कसैलाई पनि फौजदारी मुद्दामा अभियुक्त करार गर्न मिल्दैन । प्रतिवादीहरू अदालतमा कसुरमा इन्कार रहेको देखिन्छ । यद्यपि प्रतिवादीहरू जितेन्द्र वाग्ले र बुद्धिप्रसाद अर्यालका विरूद्ध किटानी जाहेरी परेको छ । जाहेरवाला तथा घटना विवरणमा कागज गर्ने सबैले यी प्रतिवादीहरूको नक्‍कली भारतीय नोटको कारोबारमा प्रत्यक्ष संलग्नता छ भनी अनुसन्धानको क्रममा र अदालतमा समेत स्पष्टसँग खुलाई दिएको 

पाइन्छ । यदि यी प्रतिवादीहरूलाई फसाउनु पर्नेसम्मको कुनै आधार कारण भएको भए त्यस सम्बन्धमा प्रतिवादीहरूले अनुसन्धानको क्रममा तथा सक्षम अदालतबाट म्याद थपको बेलामा समेत जानकारी गराउनु पर्नेमा सोतर्फ कुनै प्रयास भए गरेको 

पाइँदैन । अनुसन्धानको क्रममा प्रतिवादीहरूले उक्त कार्यमा पूर्णरूपमा आफ्नो संलग्नतालाई स्वीकार गरेको पाइन्छ । पैसा कमाउने लोभमा आफ्ना परिचयका साथीहरूसँग मिली नक्‍कली भारतीय नोटको कारोबार गरेकोतर्फ प्रतिवादीहरू स्वइच्छाले लागेको भन्ने कुरा मिसिलबाट देखिन आउँछ । आफू नेपाली कांग्रेसको समर्थक भएकाले फसाउनका लागि माओवादी कार्यकर्ताहरूको सक्रिय संलग्नतामा आफूलाई सुनियोजित रूपमा फसाइएको भन्ने प्रतिवादीहरूको भनाइतर्फ विचार गर्दा सो कुरा यी प्रतिवादीहरूले प्रहरी तथा अदालतमा समेत खुलाई त्यसको उपचार लिनेतर्फ कुनै पनि प्रयास गरेको देखिँदैन । करकापमा कुनै लिखत गराइएको हो भन्‍ने त्यसबारे उपचार खोज्नेतर्फ यी प्रतिवादीहरू लाग्नुपर्ने हो । बयानमा कुनै कुरा उल्लेख गर्दैमा पुग्दैन । त्यसलाई पुष्‍टि गर्न आफ्नो तर्फबाट वस्तुनिष्‍ठ प्रमाण आवश्यक हुन्छ । जाहेरी, बरामदी तथा सम्पूर्ण कागजातमा माओवादीका कार्यकर्ता रहेका र उनिहरूले नै आफूहरूलाई फसाउन नक्‍कली भारतीय नोट ल्याई समाती वाई.सि.यलको कार्यालय शक्तिखोरमा दुई दिनसम्म थुनामा राखी जबरजस्ती सहिछाप गर्न लगाई उक्त नोटहरूसहित प्रहरी कार्यालयमा बुझिएको भने तापनि सो कुरालाई पुष्टि गर्ने विश्वसनीय आधार प्रमाण गुजार्न सकेको पाइँदैन । प्रतिवादीहरूसँग जाहेरवाला बरामदी मुचुल्का तथा घटना विवरणमा कागज गर्ने सबैसँग के कुन कारणले दुश्मनी भयो र फसाउन खोजियो सोतर्फ समेत प्रतिवादीहरूले स्पष्ट पार्न सकेको देखिँदैन । तसर्थ अदालतमा बयान गर्दा राजनीतिक पूर्वाग्रहका कारण माओवादी कार्यकर्ताहरूले आफूसमेतलाई फसाउन खोजेको, आफ्नो उक्त कार्यमा कुनै संलग्नता नरहेको भन्ने प्रतिवादीहरूको जिकिरसँग सहमत हुन सकिएन । 

६. प्रस्तुत मुद्दामा दसीसाथ यी प्रतिवादीहरू पक्राउ परेको मिसिलबाट देखिए पनि प्रतिवादीहरूलाई कहाँबाट कसरी पक्राउ गरिएको हो, फौजदारी कसुरमा अनुसन्धान गर्न पाउने राज्यको साधिकार निकाय प्रहरी प्रशासनले प्रतिवादीहरूलाई पक्राउ गरेको हो कि होइन ? प्रतिवादीहरूसँगबाट नै उक्त नक्‍कली नोटहरू बरामद भएका हुन कि होइनन् भन्नेतर्फ पनि विचार गर्नु पर्ने देखियो । कुनै व्यक्ति कुनै गैरकानूनी कार्यमा संलग्न छ भन्ने कुरा कसैलाई जानकारी भएको भएमा पनि त्यसको कानूनी प्रक्रिया पुर्‍याई कारबाही चलाउनुपर्ने हुन्छ । कानूनी राज्यमा कानूनले जसलाई जुन काम गर्ने अधिकार दिएको छ सोहीबमोजिम कानूनले निर्दिष्ट गरेअनुसार नै गर्नु गराउनु पर्छ । आफूसँग नभएको अधिकार प्रयोग गर्नु पनि गैरकानूनी कार्य हो । एक गैरकानूनी कार्यको उपचार अर्को गैरकानूनी कार्य कदापि हुन सक्दैन । प्रस्तुत मुद्दामा केही व्यक्तिहरूले प्रतिवादीहरूलाई समाती खानतलासी गरी नक्‍कली भारतीय नोट बरामद भएपछि कानूनले तोकेको कार्यविधिको पालना नगरी कानूनबमोजिमको प्रक्रियासमेत पूरा नगरी निज प्रतिवादीहरूलाई सार्वजनिक गरी दुई दिनसम्म वाई.सि.यलको कार्यालय शक्तिखोरमा राखी जाहेरी दरखास्त दिनुका साथै बरामदी मुचुल्कासमेतका कागजातहरू खडा भए गराएको भन्‍ने विषय अदालतसमक्ष आएको पाइयो । अनुसन्धान गर्ने अधिकारप्राप्‍त अधिकारीबाट तयार भएका कागजातहरूबाहेक कानूनी प्रक्रियाविपरीत तयार भएका कागजका आधारमा कसैका विरूद्ध अभियोजन गर्नु एक विश्लेषण र व्याख्याको विषय हुन सक्ला तर कानूनभन्दा बाहिर गएर गरिएको कार्यका विरूद्ध छुट्टै कानूनी प्रक्रिया अपनाउन आवश्‍यक हुन्छ । कुनै राजनीतिक दलसँग आबद्ध संगठन वा समूहले कुनै अपराधको अनुसन्धान गर्ने, कारबाही गर्ने, थुनामा राख्‍ने जस्ता कार्य गर्ने छुट नेपालको संविधान वा अन्य प्रचलित कानूनले दिएको छैन‍् । यस्ता संगठन वा समूहले राज्यको दर्जा, हैसियत वा अधिकार पाउन सक्दैन । कार्यपालिका मातहतका अनुसन्धान र अभियोजन गर्ने निकाय वा पदाधिकारीले पनि यस्ता निश्‍चित राजनीतिक संगठन, समूह वा अमुक राजनीतिक दलसँगको आबद्धताको आडमा शक्ति प्रदर्शन गरी सामान्य जनताको संविधान प्रदत्त हकमा आघात पुर्‍याउने वा तिनीहरूको एकतर्फी भनाइमा लागेर कसैउपर अभियोग लगाउने कार्य गर्ने हो भने देशमा संविधान, कानून एवम‍् कानूनी राज्यको अवधारणाको उपहास हुन पुग्दछ ।

७. त्यस्ता पूर्वाग्रहयुक्त एवम‍् कानून विरूद्धका कार्य गर्नेलाई संरक्षण गर्ने वा तिनीहरूको गैरकानूनी कार्यको ढाकछोप गर्ने छुट कुनै पनि सुरक्षा वा अनुसन्धानसँग आबद्ध राष्ट्रसेवकलाई दिएको छैन‍ । यस्ता कार्य न्यायको रोहमा स्वीकार्य हुँदैन र अदालतले समेत कानून आफ्ना हातमा लिई काम गर्नेप्रति उदारता देखाउँदैन । आफ्नो पदीय दायित्वविपरीतको आचरण प्रदर्शन गर्ने वा काम गर्ने पदाधिकारीलाई सम्बन्धित निकायले समेत निजको सेवा सर्तबमोजिम अविलम्ब कारबाही गर्नुपर्ने हुन्छ । गैरकानूनी काम गर्ने वा त्यस्ता कार्य गर्नेलाई संरक्षण दिनेहरूलाई कारबाहीको दायरामा नल्याएमा राज्य अराजकतातर्फ धकेलिने खतरा सिर्जना हुन्छ । यस्तो अवस्थाहरू आजको नेपालको परिवेशमा यदाकदा देखिने तथ्यलाई इन्कार गर्न सकिँदैन । तर यी पुनरावेदक प्रतिवादीहरू जितेन्द्र वाग्ले र बुद्धि अर्याल प्रहरीको नियन्त्रणमा आउँदा बुद्धि अर्यालबाट भा.रू.५००।- दरको १२६ थान र जितेन्द्र वाग्लेबाट भा.रू. ५००।- दरका १२६ थान नक्‍कली नोटहरू साथमा रहेको अवस्थामा चितवन जुटपानी गाउँ विकास समिति वडा नं.५ खोले सिमलको सार्वजनिक प्रतिक्षालयमा प्रहरीलाई जाहेरवालासमेतले बुझाएको देखियो । यसरी सार्वजनिक स्थानमा यी प्रतिवादीहरूका साथ उपर्युक्त नक्‍कली नोट मुद्रा बरामद भएको होइन भनी अदालतमा इन्कार रहे पनि वस्तुनिष्‍ठ रूपमा कुनै प्रमाण पेस हुन आएको 

देखिएन । यी प्रतिवादीहरूलाई जबरजस्ती कब्जा गरिराखेको भन्‍ने आरोपको पुष्‍टि गराउन यी प्रतिवादीले प्रचलित कानूनबमोजिम कुनै उजुरी गरेको वा कुनै कारबाही चलाएको वा चलाउने प्रयत्‍नसमेत गरेको पाइएन । गैरकानूनी रूपमा बन्दी बनाएको वा थुनेको वा कुटपिट, डर, धाक, धम्की दिएउपर त्यस्तो कब्जाबाट मुक्त भएपछि वा प्रहरीको नियन्त्रणमा आएपछि उजुरी दिन नसक्ने अवस्था थिएन । त्यस्तो उजुरी दिए पनि प्रहरीले सो लुकायो कारबाही गरेन भन्‍ने पनि 

देखिँदैन‍् । अनुसन्धानमा यी प्रतिवादीहरू साबित रहेका छन् । यस अवस्थामा कुनै अमुक स्थानीय समूहले दसीसहित प्रहरीमा बुझाएकै कारणबाट मात्र यी प्रतिवादीहरू निर्दोष रहेको भन्‍न सकिने अवस्था देखिएन । 

८. अब यी प्रतिवादीहरू बुद्धिप्रसाद र जितेन्द्र वाग्लेको कसुरको मात्रातर्फ विचार गर्दा, अनुसन्धान गर्ने अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा अरू कुनै व्यक्तिबाट उक्त नोटहरू लिएकोमा साबित रहेका छन् । तर सो नोटहरू यी प्रतिवादीहरूले आफैँले जारी गरेको वा कोही कसैलाई वितरण गरेको भन्‍ने मिसिल संलग्न प्रमाणबाट देखिँदैन । अन्य व्यक्तिबाट खरिद गरी लिएको उक्त नक्‍कली मुद्रा केही आर्थिक लाभको प्रलोभनमा लिई कसैलाई वितरण गर्नुअगावै पक्राउ परेबाट यी पुनरावेदक प्रतिवादीहरूको भूमिका मूल अभियुक्तको रूपमा नभई त्यस्तो नोट जारी गर्नेलाई सहयोग पुर्‍याउने व्यक्तिको रूपमा रहेको पुष्‍टि भएबाट यी  पुनरावेदक प्रतिवादीहरू मूल अभियुक्तको रूपमा रहेको देखिएन । यस अवस्थामा कसुरको प्रकृति हेर्दा यी प्रतिवादीहरू नेपाल राष्‍ट्र बैंक ऐन, २०५८ को दफा ९६(१) बमोजिमको कसुरदार नभई दफा ९६(४) अन्तर्गतको परिधिभित्र पर्ने कसुर गर्ने उद्योग गर्ने व्यक्तिको रूपमा रहेको देखिँदा कसुरको मात्राअनुसार उक्त दफा ९६(४) बमोजिम तजबिजी ६० दिन कैद तथा रू.१,५०,०००।- (एक लाख पचास हजार) जरिवाना गर्दा ऐनको मनसाय पूरा हुने देखियो । 

९. फौजदारी मुद्दामा शंकाको सुविधा अभियुक्तले पाउने नै हुन्छ । शंकाको भरमा अन्य वस्तुनिष्ठ प्रमाणले पुष्टि नगरेको अवस्थामा सहअभियुक्तको पोलका आधारबाट मात्रै कसुरदार ठहर गर्नु फौजदारी न्यायका मान्य सिद्धान्तहरूको बर्खिलाप हुन जान्छ । प्रतिवादी जीवनाथ देवकोटा अदालतमा कसुरमा इन्कार रहेको देखिन्छ भने यिनीबाट कुनै नक्‍कली नोटहरू पनि बरामद भएको पाइँदैन । त्यसैगरी यी प्रतिवादी जीवनाथका विरूद्ध किटानी जाहेरी परेको पनि देखिँदैन । जाहेरवाला तथा घटना विवरणमा कागज गर्ने सबैले यी प्रतिवादी जीवनाथलाई चिन्दैनौं भनी भनेको पाइन्छ । यसै प्रकृतिका अवस्थाका सम्बन्धमा स्थापित नजिर हेर्दा, ने.का.प.२०४३ भाग २८ अंक ५ नि.नं. २७३० मा सर्वोच्च अदालतबाट "प्रहरीमा साबित भए पनि अदालतमा इन्कारी रहेको उजुरी र साबितीलाई अन्य स्वतन्त्र प्रमाणले पुष्ट्याईं गरेकोसमेत नदेखिँदा प्रतिवादीहरूले सफाइ पाउँने ठहर्छ" भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ । त्यसैगरी ने.का.प.२०६३ भाग ४८ अंक ८ नि.नं. ७७४९ मा "सहअभियुक्तको पोल आफैँमा सारभूत प्रमाण होइन, यो त केवल न्याय निर्क्यौल गर्न वा कुनै प्रमाणित तथ्यलाई पुनः पुष्टि गर्ने वा अझ बल प्रदान गर्ने एउटा थप आधार मात्र हो । सहअभियुक्तको पोललाई आधारभूत एवम‍् सारभूत (Substantive) प्रमाणको रूपमा लिन नमिल्ने,  मुद्दाको जग (Foundation) अर्थात् यसकै आडमा कसुर प्रमाणित भएको मान्न नमिल्ने, अर्कालाई पोल गर्ने सहअभियुक्तको गैरन्यायिक (प्रहरीमा भएको) साबितीलाई निजका विरूद्ध प्रमाणमा लिए नलिएको आधारमा मात्रै निजको पोललाई विचार गर्नु पर्ने । गैरन्यायिक साबिती र न्यायिक निकायसमक्ष भएको साबितीको पोललाई सोही अनुपातमा प्रामाणिक मूल्यलाई फरक राखी हेर्नुपर्ने । एकैसाथ सहअभियुक्तहरूको मुद्दामा पुर्पक्ष गरिएको अवस्था हुनुपर्ने, कसुरमा साबित भई अरूलाई सोही कसुरमा पोल गरेको हुनुपर्ने" भनी व्याख्या भएको पाइन्छ ।

१०. तसर्थ प्रतिवादी जीवनाथले नै अभियोग दाबीबमोजिमको कसुर गरेका हुन् भनी वादी पक्षले ठोस सबुत प्रमाण प्रस्तुत गरी पुष्ट्याइँसमेत गर्न नसकेको परिप्रेक्ष्यमा नक्‍कली नोटजस्तो गम्भीर फौजदारी अभियोगमा कसुरदार कायम गर्न मनासिब देखिएन ।

११. अत: माथि उल्लेख भएबमोजिमको तथ्य र प्रमाण रहेको प्रस्तुत मुद्दामा गरिएको विवेचनाका आधारमा सहअभियुक्तहरूको अनुसन्धानका क्रममा गरिएको पोललाई मात्र प्रमुख आधार मानी प्रतिवादी जीवनाथ देवकोटालाई कसुरदार कायम गर्न मनासिब नहुने हुँदा निजलाई अभियोग दाबीबाट सफाइ दिने गरी भएको पुनरावेदन अदालत हेटौंडाको मिति २०६८।३।१४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । त्यसैगरी अन्य प्रतिवादीहरू जितेन्द्र वाग्ले र बुद्धिप्रसाद अर्यालका हकमा पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला मिलेको नदेखिँदा केही उल्टी हुने ठहरी निज प्रतिवादीहरूलाई जनही ६०(साठी) दिन कैद र रू. १,५०,०००।- (एक लाख पचास हजार) जरिवाना हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू । 

तपसिल

यसमा पुनरावेदन अदालत हेटौंडाबाट प्रतिवादीहरू बुद्धिप्रसाद अर्याल र जितेन्द्र वाग्लेलाई १(एक वर्ष) कैद र रू.३,००,०००।- (तीन लाख) जरिवाना हुने ठहरी भएको फैसला केही उल्टी भई निज प्रतिवादीहरूलाई जनही ६०(साठी) दिन कैद र रू.१,५०,०००।- (एक लाख पचास हजार) जरिवाना हुने ठहरी फैसला भएकोले सोहीबमोजिमको लगत कायम गर्नु भनी सुरू जिल्ला अदालत चितवनमा लेखी पठाई दिनू ।

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.तेजबहादुर के.सी.

 

इजलास अधिकृत:- दिपेन्द्रनाथ योगी

इति संवत् २०७६ साल वैशाख ११ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु