निर्णय नं. १०३४३ - जबरजस्ती करणी
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०७६।३।१३
मुद्दा:- जबरजस्ती करणी
०७१-CR-०४२४
पुनरावेदक / वादी : परिवर्तित नाम शान्ति पुनको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : डडेलधुरा जिल्ला, भद्रपुर गा.वि.स. वडा नं. ५ स्थायी वतन भई हाल कैलाली जिल्ला अत्तरिया गा.वि.स. वडा नं. ३ मा बस्ने भैरव सिंह मल्लको छोरा धर्मबहादुर मल्लसमेत
०७२-CR-१२२९
पुनरावेदक / प्रतिवादी : डडेलधुरा जिल्ला, भद्रपुर गा.वि.स. वडा नं. ५ स्थायी घर भई हाल कैलाली जिल्ला अत्तरिया गा.वि.स. वडा नं. ३ बस्ने तत्काल प्रहरी चौकी पुरन्धारा दाङमा कार्यरत प्रहरी हवल्दार धर्मबहादुर मल्ल
विरूद्ध
प्रत्यर्थी / वादी : परिवर्तित नाम शान्ति पुनको जाहेरीले वादी नेपाल सरकार
After thought को तर्कलाई अन्य प्रमाणहरूको अवस्था, पीडितको परिस्थिति तथा पीडितले आरोपीहरूलाई फसाउने मनसाय पर्याप्त रूपमा विद्यमान छ छैन भन्ने तत्वहरूसँग तुलना गरेर हेर्नु पर्दछ । मूलत: after thought का तत्त्वहरूमा तथाकथित पीडितको आरोपी व्यक्तिलाई सताउने वा फसाउने मनसाय भएको तथ्य र प्रमाणबाट पुष्टि हुनु पर्ने ।
After thought मा समयको अन्तराल महत्त्वपूर्ण होइन, सो अन्तरालमा पहिले परिसकेको जाहेरी वा तथ्य वा कुरामा फरक वा असर पर्ने गरी पछि फसाउने मनसायसहित अर्कै बेहोराको जाहेरी वा विचार वा कुरा आएको हुनुपर्छ । त्यसमा व्यक्तिले द्वेषपूर्ण तरिकाले कसैसँग बदला लिने वा फसाउने मनसाय देखिनु पर्छ र त्यसको पछाडि कुनै जरिया हुनु आवश्यक हुने ।
(प्रकरण नं.४)
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री गंगाप्रसाद पौडेल
प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता वैतनिक कानून व्यवसायी श्री टिकाराम लिम्बू र विद्वान् अधिवक्ता वैतनिक कानून व्यवसायी श्री इन्दिरा सिलवाल, विद्वान् वरिष्ठ अधिवक्ता श्री लभकुमार मैनाली र विद्वान् अधिवक्ता श्री वासुदेव शर्मा
अवलम्बित नजिर :
ने.का.प.२०६३, अंक १०, नि.नं.६६६२
ने.का.प.२०७५, अंक ३, नि.नं.९९६६
ने.का.प.२०७५, अंक ५, नि.नं.१०००७
सम्बद्ध कानून :
मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४
सुरू तहमा फैसला गर्ने :-
माननीय न्यायाधीश श्री दयानाथ खरेल
दाङ देउखुरी जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :-
माननीय न्यायाधीश श्री मेघनाथ भट्टराई
माननीय न्यायाधीश श्री कृष्णलाल भट्टराई
पुनरावेदन अदालत तुलसीपुर दाङ
फैसला
न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छः-
तथ्य खण्ड
शान्ति पुनको (परिवर्तित नाम) योनिबाट निकालिएको स्वावको सूक्ष्मदर्शक यन्त्रले हेरेर परीक्षण गर्दा शुक्रकिटहरू एउटा पनि देखिएन उपकला कोषहरू केही मात्रामा देखिएको भन्ने राप्ती अञ्चल अस्पताल तुल्सीपुर दाङको परीक्षण रिपोर्ट ।
शान्ति पुनको योनि वरिपरि कुनै पनि घाउ चोट, निलडाम छैन, योनिभित्र कुनै घाउ चोट, निलडाम छैन, दाहिने साप्रामा नङले चिथोरिएको एउटा निशान छ, पीडितको योनिको झिल्ली खुकुलो छ । पेटको दाहिनेपट्टि टल्कने सुकी सकेको पदार्थ रहेको भन्नेसमेत बेहोराको शान्ति पुनको स्वास्थ्य परीक्षण प्रतिवेदन ।
धर्मबहादुर मल्ल र बालाराम चनाराको शरीरमा घाउ चोट, टोकेको दाग, निलडाम देखिएको छैन, लिङ्ग सुन्निएको, चिथोरिएको, खुल्सिएको छैन, लिङ्ग र लिङ्गको वरिपरि कुनै पनि भेजेनल सिक्रिसन पाइएको छैन भन्ने प्रतिवादी धर्मबहादुर मल्ल र बालाराम चनाराको स्वास्थ्य परीक्षण प्रतिवेदन ।
म जाहेरवालासँग मेरो छिमेकी दाङ पुरन्धारा गा.वि.स. वडा नं. ८ जौबारी बस्ने जमुना भन्ने पवित्रा सुनार खत्रीसँग आँठो साँध सिमानासम्बन्धी विवाद भएकोमा सोही विवादलाई लिएर पवित्राले प्रहरी चौकी हंशपुरमा म र मेरो छोरा खिमबहादुर पुनउपर निवेदन दिएकीले विवाद मिलाउनका लागि प्रहरी चौकी हसंपुरबाट आएका प्रहरी र सुशीला भन्ने व्यक्तिको मिलेमतोमा र सहयोगमा अन्यायी प्रहरी हवल्दार धर्मबहादुर मल्लले मिति २०६७।९।१२ गते दिउँसो अं. २ बजेको समयमा पुरन्धारा गा.वि.स. वडा नं. ८ कुइरेपानी अप्ठ्यारो गौंडा भन्ने स्थानको सडक बाटोदेखि अं.३० मिटरभित्र एकान्त जंगलमा पहिले प्रहरी हवल्दार धर्मबहादुर मल्लले मलाई लडाइसकेपछि प्रहरी जवान बालाराम चनाराले मेरो हात पकडेको अवस्थामा प्रहरी हवल्दार धर्मबहादुर मल्लले डर, धाक, धम्की दिँदै जबरजस्ती करणी गरेर पुनः सो स्थानलाई छोडेर म जाहेरवालाको हात बालाराम चनाराले पकडी अं. ७०० मिटर पर लगी जबरजस्ती करणी गरी धाक, धम्कीसमेत दिएकाले निज अपराधीहरूलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलअन्तर्गत सजाय गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम, थर शान्ति पुनको मिति २०६७।९।१६ को जाहेरी दरखास्त ।
मिति २०६७।९।१२ गते बिहान १० बजेको समयमा प्रहरी चौकी पुरन्धारा, हंशपुरबाट ३ जना प्रहरी कर्मचारीहरू मेरो घरमा मलाई र मेरो छोरालाई लिन आएका रहेछन् । सो दिनको बिहान ८ बजेतिर घाँस लिन गई १ बजेतिर घरमा आएपछि मलाई प्रहरीले उजुरीबारे जानकारी गराएपछि खाना खाएर हामीसँग हिँड्नुस् भनेकाले म खाना खाई तयार भई अन्यायी प्रहरी कर्मचारीहरूको साथमा चौकीतर्फ गएँ । मेरो छोरा खिमबहादुर पुनलाई प्रहरी जवान मोहनलाल बुढाले केही अगाडि लिएर गए । मनसुता सामुदायिक वन उपभोक्ता समितिको जंगलमा आई पुगेपछि सुशीला भन्ने महिलाले माथि बाटोबाट इसारा गरेकीले प्रहरी हवल्दार धर्मबहादुर मल्लले मेरो हात समाती खोला नजिकबाट उकालोमा लगी जबरजस्ती करणी गरेको र निजले जबरजस्ती करणी गरिसकेपछि बाटोमा आउँदा प्रहरी जवान बालाराम चनाराले मेरो कपाल समाती ७०० मिटर दक्षिणमा पुर्याई मलाई धाक, धम्की दिई मेरो कपडा फुकाई एक पटक जबरजस्ती करणी गरेको र मलाई करणी गरिसकेपछि निज त्यहाँबाट भागेर बाटोमा आइसकेपछि म अन्यायीहरूको साथमा चौकीमा आएको हो भन्नेसमेत बेहोराको पीडित जाहेरवाली शान्ति पुनको घटना विवरण कागज ।
जिल्ला दाङ, पुरन्धारा गा.वि.स. वडा नं ८ अप्ठ्यारो गौंडा स्थित कुइरेपानी मनसुता सामुदायिक वन स्थित पूर्वमा सोही सामुदायिक वनको साझको रूख, पश्चिम अं. २० मिटर टाढा कुइरेपानी खोला, उत्तरमा खोलो, दक्षिणमा साझको रूख तथा बगरपुरदेखि जौबारी जाने बाटो यति चार किल्लाभित्र रहेको वनमा रहेका मोतेझार, जंगल, सालका बोटहरू रहेका उत्तरतर्फ पुकारको खोस्टा, एक मिटर भागमा मोते झार माडिएको अवस्थामा रहेको पहिलो घटनास्थल र सो घटना स्थलदेखि अं. ३०० मिटर पूर्वमा बगरपुरदेखि जौबारी जाने सडकमा निस्की सो स्थानदेखि ८०० मिटरपूर्वमा कालापानी जाने सडकमा निस्की सो सडकदेखि ७०० मिटरपूर्वमा कालापानी महिला सामुदायिक वनको लामो डाँडा स्थित बगरपुर जौबारी सडकको दक्षिणमा दोस्रो घटनास्थल सोको पूर्व त्यारीको रूख, पश्चिम अं.२० मिटर टाढा खोल्सो, उत्तरमा तिते ज्यामुना, दक्षिणमा सालको रूख, यति चार किल्लाभित्र उत्तर दक्षिण एक मिटर लम्बाई आधा मिटर चौडाइमा खर वनकस माडिएको अवस्थामा भएको सो स्थानदेखि उत्तरतर्फ रहेको सालको सानो बिरूवा भाँचिएको अवस्थामा रहेको, सो सडकदेखि घटनास्थलसम्मको भाग केही ओरालो रहेको, उक्त सडकदेखि घटनास्थलसम्म सालका बोट, थाग, खरसमेत रहेका उक्त बोटविरूवा माडिएको अवस्थामा नदेखिएका भन्ने बेहोराको घटनास्थल मुचुल्का ।
जिल्ला दाङ पुरन्धारा गा.वि.स. वडा नं. ८ बस्ने पवित्रा सुनारले मलाई मेरै घरछेउकी परिवर्तित नाम, थर शान्ति पुनसमेतले कुटपिट गरेकाले कारबाही गरिपाउँ भनी प्रहरी चौकी पुरन्धारा दाङमा निवेदन दिएकोमा मिति २०६७।९।१२ गते बिहानको समयमा प्रहरी हवल्दार धर्मबहादुर मल्लको कमान्डमा प्रहरी जवान बालाराम चनारा र मसमेत ३ जना शान्ति पुनको घरमा निजको श्रीमान्समेतलाई लिन गएका थियौं । शान्ति पुनको घरमा पुग्दा जाहेरवाली र निजको श्रीमान् घरमा नभएपछि शान्ति पुनको घर नजिकै पवित्रा सुनारको घरमा गई खाना खाने सल्लाह गरी शान्ति पुनको घरबाट रू.१८०।– मा कुखुरा किनी पकाएर खायौँ । त्यसपछि जाहेरवालीको श्रीमान् घरमा नभई गाउँतर्फ गएकाले जाहेरवाली, निजको छोरा परिवर्तित नाम खिमबहादुर पुन हामी ३ जना प्रहरी चौकीतर्फ हिँड्यौं । अप्ठ्यारो गौडा जंगल आउनुभन्दा केही अगाडि बाटामा म र जाहेरवालीको छोरा अगाडि अगाडि हिँड्यौं, पछि शान्ति पुन, प्रहरी हवल्दार धर्मबहादुर मल्ल, प्रहरी जवान बालाराम चनारा र सुशीला भन्ने महिला पनि आएकी थिइन् । म र जाहेरवालीको छोरा बगरपुर भन्ने स्थानको चौतारामा बसी राखेकोमा करिब ४५ मिनेटपछि प्रहरी हवल्दार धर्मबहादुर मल्ल, प्रहरी जवान बालाराम चनारा, शान्ति पुन र सुशीला भन्ने महिला उक्त स्थानमा आएपछि सबै जना चौकीमा गएका हौं । वारदात मितिमा प्रहरी हवल्दार धर्मबहादुर मल्लले जबरजस्ती करणी गरेको सम्बन्धमा तत्काल थाहा भएन । ऐ.१५ गते सुनेपछि मात्र थाहा पाएको
हो । सुशीला भन्ने महिलाले इसारा गरे नगरेको सम्बन्धमा मलाई थाहा भएन भन्नेसमेत बेहोराको प्रहरी जवान मोहनलाल बुढामगरको घटना विवरण कागज ।
मिति २०६७।९।८ गतेका दिन साँध सम्बन्धमा झै-झगडा हुँदा जाहेरवाली शान्ति पुनसमेतले कुटपिट गर्दा मेरी बहिनी पवित्रा सुनार घाइते भई थप उपचारको लागि नेपालगन्जतर्फ गएकोमा मलाई नेपालगन्जबाट फोन गरेर मेरो घर छोरीको रेखदेख गरिदिनु भनेपछि सो कुटपिट सम्बन्धमा थाहा पाई मेरी बहिनीको घरमा गई बसेकी थिएँ । मिति २०६७।९।१२ गते बिहान मलाई बहिनी पवित्रा सुनारले पञ्चकुलेमा आउनु भनेपछि पञ्चकुलेतर्फ जाँदा बाटोमा सात खोली भन्ने स्थानमा तीनजना प्रहरीसँग भेट भएपछि प्रहरी जाहेरवालीको घरमा गएका र म बहिनीको घरमा गएकी थिएँ । प्रहरी टोलीले जाहेरवाली शान्ति पुन र निजको छोरालाई साथमा लिएर चौकीतर्फ लागेका र म पनि पछिपछि गएकी थिएँ । बाटोमा मेरो बुबा आमासँग भेट भई कुराकानी भएको थियो । बाटोमा जाहेरवालीको छोरा र एक जना प्रहरी हामीभन्दा केही अगाडि गएका र दुईजना प्रहरी धर्मबहादुर मल्ल, बालाराम चनारा, जाहेरवाली शान्ति पुन र म साथैमा चौकीतर्फ हिँडेका थियौं । अगाडि हिँडेका जाहेरवालीको छोरा र निजको साथमा गएका प्रहरीलाई ट्वाङ्ग खोलानजिक भेट्टाई पछि सबैजना चौकीमा गएका हौं । जाहेरवालीले आफ्नो जाहेरीमा खुलाएअनुसार प्रहरी हवल्दार धर्मबहादुर मल्ल र प्रहरी जवान बालाराम चनाराले जाहेरवालीलाई चौकीतर्फ ल्याउने क्रममा बाटोमा जबरजस्ती करणी गरेका होइनन् । मैले सो कार्यमा प्रहरीलाई कुनै सहयोग तथा मिलेमतो गरेको होइन भन्नेसमेत बेहोराको प्रतिवादी सुशीला सुनारको बयान कागज ।
जिल्ला दाङ, पुरन्धारा गा.वि.स. वडा नं. ८ जौबारी बस्ने पवित्रा सुनारलाई परिवर्तित नाम, थर, शान्ति पुनसमेतले जग्गाको साँध सम्बन्धमा झैझगडा भई कुटपिट भएको मिति २०६७।९।८ गतेको घटना सम्बन्धमा ऐ.११ गते प्रहरी चौकी पुरन्धारामा निवेदन परेकाले ऐ.१२ गते बिहान निवेदनका विपक्षीहरूलाई पक्राउ गर्न भनी मेरो कमान्डमा प्रहरी जवान बालाराम चनारा, प्रहरी जवान मोहनलाल बुढासहित तीनजना जिल्ला दाङ पुरन्धारा गा.वि.स. वडा नं. ८ जौबारीमा खटी गएका थियौं ।
यसरी सरकारी कामको सिलसिलामा सो ठाउँमा जाने क्रममा सात खोली भन्ने स्थानमा सुशीला सुनारलाई फेला पारी जाहेरवाली शान्ति पुनको घर देखाई दिनुहोस् भनी निज सुशीला सुनारलाई साथमा लिई जाहेरवालीको घरमा गएका थियौं । जाहेरवाली शान्ति पुनको घर र पवित्रा खत्री सुनारको घर नजिक नजिक भएकाले मसमेतका प्रहरी पवित्रा सुनारको घरमा गई पवित्रा सुनारको दिदी सुशीला परियारलाई खाना पकाउन लगायौं । छलफल गर्दा कुखुरा खाने सल्लाह भएबमोजिम जाहेरवाली शान्ति पुनको घरबाट रू.१८०।– को भाले किनी काटी मासु भात खाएका थियौं ।
सोपश्चात् परिवर्तित नाम, थर शान्ति पुन र निजको छोरा खिमबहादुर पुनलाई साथमा लिई चौकीतर्फ जान भनी दिउँसो अं.१२:३० बजेको समयमा जौबारीबाट प्रहरी चौकीतर्फ हिडेका थियौं । त्यहाँबाट हिँड्दा शान्ति पुन निजको छोरा खिमबहादुर पुन, सुशीला सुनार र मसमेतका ३ जना कर्मचारीहरू हिँडेका हौं । बाटोमा हिँड्ने क्रममा सुशीला सुनारले आफन्त फेला पारी कुराकानी गरी आफूसाथ ल्याएको रक्सी दिई, घर हेरफेर गर्नु होला भनी भनेकीमा सोही क्रममा जाहेरवालीको छोरा खिमबहादुर पुन आफ्नो बुबा अगाडि कतै फेला पर्दछन् कि भनेर अगाडि जान्छु भनी अगाडि जान लाग्दा प्रहरी जवान मोहनलाल बुढा पनि अगाडि गएका थिए । हामी पनि पछाडिपछाडि हिँडेका थियौँ । अप्ठेरो गौडा कुइरेपानी जंगलको बाटोमा हिँड्दासमेत शान्ति पुन, सुशीला सुनार, प्रहरी जवान बालाराम चनारा र म सँगसँगै थियौँ र बाटोमा कहिँकतै अलमल गर्ने, बस्ने नगरी अगाडि जाँदा बगरपुरको ट्वाङ्ग खोला पुग्दा हामीहरूभन्दा केही अगाडि हिँडेकाहरूसँग पनि भेट भई सबैजना छिटोछिटो हिँडी चौकीमा गएका हौं । सो दिन छलफल नभएपछि जाहेरवालीलाई जिम्मामा छाडिएको र भोलिपल्ट बिहान कुटपिट सम्बन्धमा छलफल भएको थियो । मिति २०६७।९।१२ गते जाहेरवाली परिवर्तित नाम, थर शान्ति पुनलाई कोही कसैले जबरजस्ती गरेको होइन । जाहेरवालीसँग सुरूदेखि चौकीमा पुग्दासम्म सुशीला सुनार, बालाराम चनारा र मसँगै हिँडेकाले जाहेरवालीलाई जबरजस्ती करणी भएको नै छैन भन्नेसमेत बेहोराको प्रतिवादी धर्मबहादुर मल्लको इन्कारी बयान कागज ।
मिति २०६७।९।८ गतेका दिनमा पवित्रा सुनारलाई जाहेरवालीसमेतका निजका परिवारले साँध, किनारको सम्बन्धमा झैझगडा, कुटपिट भएको सम्बन्धमा मिति २०६७।९।११ गते पवित्रा सुनारले प्रहरी चौकी हंशपुर पुरन्धारामा निवेदन दिएकीले सो निवेदन सम्बन्धमा छलफल गराउनको लागि मिति २०६७।९।१२ गते बिहान ६ बजेतिर प्रहरी हवल्दार धर्मबहादुर मल्ल, प्रहरी जवान मोहनलाल बुढा र म प्रहरी जवान बालाराम चनारा जाहेरवालीको घरतर्फ गएका थियौँ । जाहेरवालीको घरतर्फ जाने क्रममा पुरन्धारा गा.वि.स. अन्तर्गत सातखोली भन्ने स्थानमा सुशीला सुनारसँग भेटभई जाहेरवाली शान्ति पुनको घरसम्म गएका थियौं । सुशीला सुनार पवित्रा सुनारको घरतर्फ गइन् भने हामी तिन जना प्रहरी जाहेरवालीको घरतर्फ गएका थियौं । जाहेरवालीको घरमा निजको छोराछोरी मात्र थिए । सो समयमा जाहेरवाली घाँस लिन गएकी र जाहेरवालीको श्रीमान्समेत घर बाहिर गएकाले जाहेरवालीको छोरासँग कुखुरा किनी सोही कुखुराको झोलसँग सुशीला सुनारले बनाएको खाना खाएका थियौं ।
जाहेरवाली आफ्नो घरमा आएपछि तीनजना प्रहरी, जाहेरवाली र निजको छोरालाई साथमा लिई चौकीतर्फ हिँडेका थियौं । हाम्रो पछिपछि सुशीला सुनारसमेत आएकी थिइन् । चौकीतर्फ जाने क्रममा पुरन्धारा गा.वि.स. वडा नं. ८ स्थित बाटोमा सुशीला सुनारको बुबा आमासँग भेट भएको थियो । सोही समयमा जाहेरवालीको छोरा र प्रहरी जवान मोहनलाल बुढा अगाडि हिँडिसकेका थिए । बाटोमा हिँड्नेक्रममा बगरपुरको चौतारीमा प्रहरी जवान मोहनलाल बुढा र जाहेरवालीको छोरासँग भेट भई चौकीतर्फ सँगै गएका थियौँ । मसमेतले जाहेरवालीलाई पुरन्धारा गा.वि.स. वडा नं. ८ को कुइरेपानी अप्ठारा गौंडा भन्ने स्थानको जंगलमा जबरजस्ती करणी गरेको होइन । धाक धम्कीसमेत दिएको होइन भन्नेसमेत बेहोराको प्रतिवादी बालाराम चनाराको इन्कारी बयान कागज ।
पीडित शान्ति पुनले वारदात मितिमा लगाएको भनिएको पेटीकोट परीक्षणको लागि पठाइएको भन्नेसमेत बेहोराको पत्र ।
मिति २०६७।९।१३ गते प्रहरी चौकी हंशपुरमा ऐ. ८ गते पवित्रा सुनारलाई जाहेरवाली शान्ति पुनसमेतले कुटपिट गरे सम्बन्धमा छलफल भएको रहेछ । सो छलफल भएको २।३ दिनपछि मात्र प्रहरी हवल्दार धर्मबहादुर मल्ल, प्रहरी जवान बालाराम चनाराले प्रतिवादी सुशीला सुनारको सहयोगमा मिति २०६७।९।१२ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने हल्ला मैले सुनेको थिएँ । प्रतिवादी सुशीला सुनारले सहयोग गरी प्रतिवादी धर्मबहादुर मल्ल र बालाराम चनाराले जाहेरवाली शान्ति पुनलाई जबरजस्ती करणी गरे भन्ने कुरामा मलाई विश्वास लाग्दैन भन्नेसमेत बेहोराको झक्कु सिंह बाठा मगरको घटना विवरण कागज ।
मिति २०६७।९।८ गते परिवर्तित नाम, थर, शान्ति पुनको श्रीमान् भिमबहादुर पुन र छोरा खिमबहादुर पुनले मलाई कुटपिट गरेका र शान्ति पुनले मेरो आमा र मलाई गाली गलौज गरेकोले म घाइते भई उपचार गराएपश्चात् मिति २०६७।९।११ गते प्रहरी चौकी पुरन्धारामा निवेदन दिई छलफलको लागि अनुरोध गरेकाले प्रहरी चौकी पुरन्धाराबाट मिति २०६७।९।१२ गते बिहान निज शान्ति पुनसमेतलाई छलफलको लागि ल्याउन प्रहरी हवल्दार धर्मबहादुर मल्ल, प्रहरी जवान बालाराम चनारा र प्रहरी जवान मोहनलाल बुढा खटी गएका थिए । निज प्रहरी टोलीले सोही बेलुकी अं.३ बजेको समयमा भिमबहादुर पुनलाई फेला नपारी शान्ति पुन र खिमबहादुर पुनलाई पक्राउ गरी चौकीमा ल्याइएको थियो । सो समयमा मेरी दिदी सुशीला सुनार पनि आएकी थिइन् । सो बेलुकासम्म निज भिमबहादुर पुन आएपछि भोलिपल्ट मिति २०६७।९।१३ गते छलफलमा आउने गरी शान्ति पुनसमेतलाई आफन्त बोलाई जिम्मामा छाडिएको थियो । ऐ. १३ गते चौकीमा मलाई कुटपिट गर्दा उपचार गर्दा लागेको खर्च सम्बन्धमा छलफल भएको थियो ।
वारदात मिति र समयमा जाहेरवाली शान्ति पुनलाई मेरो दिदीको सहयोग, मिलोमतोमा पक्राउ गर्न खटी गएका प्रहरी हवल्दार धर्मबहादुर मल्ल र प्रहरी जवान बालाराम चनाराले जबरजस्ती करणी गरेका होइनन् । प्रहरीले मेरो पक्षमा लागि छलफल गर्यो भनी रिसले केही नगरेका राष्ट्रसेवकलाई आक्षेप लगाई निजले तिर्न बाँकी र थप उपचारमा लगेको रकम तिर्नबाट बच्न यस प्रकारको बनावटी कुरा बनाई पक्राउ गर्न गएका प्रहरी हवल्दार धर्मबहादुर मल्ल र प्रहरी जवान बालाराम चनाराले मेरो दिदी सुशीला सुनारको मिलेमतोमा जबरजस्ती करणी गरेका हुन् भनी जाहेरवालीले आरोप मात्र लगाएकी हुन् भन्नेसमेत बेहोराको पवित्रा खत्री सुनारको घटना विवरण कागज ।
मिति २०६७।९।८ गते जिल्ला दाङ पुरन्धारा गा.वि.स. वडा नं. ८ बस्ने परिवर्तित नाम, थर, शान्ति पुनसमेतले सोही ठाउँ बस्ने पवित्रा खत्री सुनारलाई ऐ. ११ गते घाइते प्रहरी चौकी पुरन्धारामा लिर्इ सो सम्बन्धमा निवेदन दिएकोमा ऐ. १२ गते बिहान प्रहरी हवल्दार धर्मबहादुर मल्ल, प्रहरी जवान बालाराम चनारा, प्रहरी जवान मोहनलाल बुढालाई प्रहरी चौकीबाट खटाई कुटपिटमा संलग्न शान्ति पुनसमेतलाई छलफलको लागि ल्याउन पठाइयो । खटी गएका प्रहरीले सो दिनको बेलुकी अं.३.३० बजेको समयमा शान्ति पुन र निजको छोरालाई प्रहरी चौकी पुरन्धारामा ल्याइएको र सो बेलुकी छलफल हुन नसकेपछि भोलिपल्ट १३ गते बिहान १० बजे छलफलमा बस्ने गरी एकजना मानिसको जिम्मा लगाई शान्ति पुन र निजको छोरालाई पठाइयो । ऐ.१३ गते बिहान दुवै पक्षलाई राखी छलफल गर्दा पवित्रा खत्री सुनारलाई कुटपिट गर्दा लागेको औषधी उपचारको खर्च रू.१८,०००।– मध्ये सोही दिन रू.१०,०००।– दिने र बाँकी रकम रू.८०००।- पछि दिने सहमति भई शान्ति पुनसमेत आ–आफ्नो घरतर्फ गएका थिए । मिति २०६७।९।१२ गते शान्ति पुनलाई चौकीमा ल्याउँदा जबरजस्ती करणी भएको भन्ने कुरा जाहेरवालीले छलफलमा उठाएकी थिइनन् । पवित्रा खत्री सुनारलाई तिर्न बाँकी रहेको रकम र थप उपचारमा खर्च भएको रकम तिर्नबाट पन्छिनको लागि ड्युटीमा खटिएका प्रहरी हवल्दार धर्मबहादुर मल्ल र प्रहरी जवान बालाराम चनाराले सुशीला सुनारको मिलेमतोमा आफूलाई जबरजस्ती करणी भएको भनी जाहेरी दिएकी छन् । शान्ति पुनलाई वारदात मिति र समयमा प्रहरी हवल्दार धर्मबहादुर मल्ल र प्रहरी जवान बालाराम चनाराले जबरजस्ती करणी गरेको मलाई विश्वास लाग्दैन भन्नेसमेत बेहोराको दुर्गाप्रसाद वि.क.को घटना विवरण कागज ।
हाम्रै छिमेकी पवित्रा खत्री सुनारसँग आली साँध सम्बन्धमा वादविवाद झै-झगडा हुँदा निज पवित्रा खत्री सुनारलाई सामान्य चोट लाग्न गएको थियो । निजले सो कुटपिट सम्बन्धमा प्रहरी चौकी पुरन्धारामा निवेदन दिएकी रहिछन् । सोही कारण मिति २०६७।९।१२ गते प्रहरी चौकी पुरन्धाराबाट प्रहरी हवल्दार धर्मबहादुर मल्ल, प्रहरी जवान बालाराम चनारा र प्रहरी जवान मोहनलाल बुढामगर जना तिन भई जौबारीमा आएका थिए । निजहरू सो दिनको ९:३० बजेको समयमा आउँदा म आफ्नै घरमा थिएँ । जाहेरवाली शान्ति पुन मेरो सहोदर आमा हुन् । सो समयमा मेरी आमा घाँस काट्न जानु भएको थियो । प्रहरी टोलीले मासु खान पर्यो भनी मेरो घरमा कुखुराको भालेको व्यवस्था गरी मेरै घरमा पकाउन पठाउनु भयो भने भात पवित्राको घरमा पकाउन लगाउनु भयो र सोही ठाउँमा खाना खानु भयो । अं.१२ बजेको समयमा आमा आउनु
भयो । सोपश्चात् सुशीला सुनार, म, मेरो आमा शान्ति पुन र प्रहरीहरू चौकी जान भनी हिँड्यौं ।
यसरी हिँड्ने क्रममा अं. पौने १ बजे कुइरेपानी अप्ठेरो गौंडा भन्ने स्थानभन्दा केही पश्चिमको डाँडोसम्म हामी ६ जना नै साथमा
थियौं । बुके खोला भन्ने स्थानमा रहेको डाँडोनेर प्रहरी हवल्दार धर्मबहादुर मल्लले प्रहरी जवान मोहनलाल बुढालाई यसलाई लिएर अगाडि जा म यो महिलालाई साथमा लिएर आउँदछु भनेका थिए । म र प्रहरी जवान मोहनलाल बुढा अगाडि हिँड्यौं र करिब अं. २ कि.मि. पूर्व पातीहाल्ना डाँडामा आई हामी दुईजना अं. १५ मिनेटजति बसेका थियौं । आमा नआएपछि हामी दुवैजना पुन: हिँड्यौं र बगरपुरको चौतारो नजिक
बस्यौँ । सो स्थानमा करिब ४५ मिनेटजति बसेपछि प्रहरी हवल्दार धर्मबहादुर मल्ल, प्रहरी जवान बालाराम चनारा, मेरो आमा शान्ति पुन, सुशीला सुनारसमेत ४ जना भई आइपुगे । म र आमा अगाडिअगाडि हिँड्यौ प्रहरी र सुशीला सुनार पछिपछि थिए । पौने पाँच बजे चौकीमा पुग्यौं सो समयसम्म मलाई केही भन्नु भएको थिएन । सो दिन चौकीमा छलफल नहुने भएपछि भोलिपल्ट आउने गरी पूर्णबहादुर वलीको जिम्मामा हामी गयौं । मिति २०६७।९।१३ गतेका दिन प्रहरी चौकीमा पुन: गयौं र छलफल भयो । छलफलको क्रममा पनि आमाले मलाई करणी गरे भन्ने कुरा गर्नु भएन, छलफलको क्रममा निज पवित्राखत्री सुनारलाई कुटपिट गरेकोमा औषधी उपचारको लागि रू.१८,०००।- दिनु पर्ने सोमध्ये रू.१०,०००।– तत्काल दिने भनिएकोमा ऐ.१४ गते रू.१०,०००।- दिने भन्ने सहमति मिलापत्र गरी हिँड्यौं । ऐ.१३ गते म र आमा घरमा गयौं । ऐ.१४ गते बिहान अं.६ बजे आमाले मलाई प्रहरी हवल्दार र प्रहरी जवानले कुइरेपानी अप्ठेरो गौंडा भन्ने स्थानमा करणी गरे, पहिले धर्मबहादुर मल्लले करणी गरे र सो स्थानभन्दा केही अगाडि आएपछि पुन: प्रहरी जवान बालाराम चनाराले करणी गरेको र सुशीला सुनारले आँखाले इसारा गरेको भन्नु भएको थियो भन्नेसमेत बेहोराको खिमबहादुर पुनको घटना विवरण कागज ।
मिति २०६७।९।१४ गते बिहान ११ बजेको समयमा मलाई जाहेरवाली शान्ति पुनको छोरी शर्मिला पुनले फोन गरी मेरी आमालाई प्रहरी चौकी पुरन्धारामा कार्यरत प्रहरी हवल्दार धर्मबहादुर मल्ल र प्रहरी जवान बालाराम चनाराले मिति २०६७।९।१२ गतेका दिन जंगलमा करणी गरे के कसो गर्ने हो भनी सर सल्लाह मागेकीले तिम्रो आमालार्इ यहाँ झिकाउनु सबै बुझौं भनी सो साँझ निज पीडित साँझ अं.७ बजेको समयमा आएपछि सोधपुछ गर्ने क्रममा ऐ.१२ गते दिउँसो मलाई प्रहरी चौकी पुरन्धाराबाट खटिएका २ जना प्रहरीले करणी गरे भनेपछि मेरो सल्लाहअनुसार ई.प्र.का. दाङमा गई मौखिक उजुर गरेका हौं । पीडितको कुरा र अवस्था हेर्दा करणी गरेको विश्वास लाग्छ भन्ने बेहोराको चन्द्रबहादुर वलीको घटना विवरण कागज ।
मिति २०६७।९।१२ गते हंशपुर पुरन्धारा चौकीमा कुटपिट भएको सम्बन्धमा छलफल भइरहेको थियो । चौकीमा कुटपिट सम्बन्धमा छलफल भई सबै पक्ष चौकीबाट गएका थिए । ऐ.१४ गते साँझ ६.३० बजेको समयमा ट्वाङ्ग खोलामा जाहेरवाली शान्ति पुनसमेतसँग भेट भएपछि जाहेरवालीले मलाई प्रहरी चौकीका प्रहरीले मिति २०६७।९।१२ गते जबरजस्ती करणी गरेका थिए भनी भनेपछि सो वारदातबारे सुनी थाहा पाएको थिएँ । पीडितले भनेको र निजको अवस्थासमेत सामान्य नदेखेको कारण प्रतिवादी धर्मबहादुर मल्ल र बालाराम चनाराले बाटोको जंगलमा जबरजस्ती करणी गरेको मलाई विश्वास लाग्छ भन्नेसमेत बेहोराको कृष्णबहादुर खड्काको घटना विवरण कागज ।
मिति २०६७।९।८ गते बिहान मेरो घरनजिकै बस्ने पवित्रा सुनारले घाँस काटेको सम्बन्धमा पवित्रा सुनारसँग वादविवाद भई हातपात भएको थियो । पवित्रा सुनारसँग हातपात हुँदा निजलाई सामान्य चोटपटक लाग्न गएको थियो । निज पवित्रा सुनार सो कुटपिट सम्बन्धमा उपचार गराई ऐ.१२ गते हंशपुर (पुरन्धारा) प्रहरी चौकीमा मेरो नाउँमा समेत उजुर दिएकीले सोही उजुरी सम्बन्धमा मसमेतलाई लिनका लागि प्रहरी हवल्दार धर्मबहादुर मल्लसमेतको ३ जना प्रहरी टोली मेरो घरमा आई मेरो घरमा कुखुरा काटी पवित्रा सुनारको घरमा मासु लिई खाना खाएपछि मेरी श्रीमती शान्ति पुन घाँस लिई घरमा आएपछि मेरी श्रीमती शान्ति पुन, छोरा खिमबहादुर पुनलाई प्रहरीले लिई चौकीतर्फ आएका रहेछन् । सो समयमा सुशीला सुनारसमेत साथमा चौकीतर्फ आएकी
रहिछन् । प्रहरी टोली गाउँको बाटोसम्म सँगै आई जंगलको बाटो आउँदा एक जना प्रहरी र मेरो छोरा अगाडि हिँडेका र अर्का प्रहरी जवान बालाराम चनारा मेरो छोराभन्दा केही पछाडिपछाडि गई बसेको रहेछ । पुरन्धारा गा.वि.स. अन्तर्गतको बाटोमा पर्ने बुके खोला भन्ने स्थानको उकालो बाटोमा सुशीला सुनार अगाडि गएपछि मेरी श्रीमतीसमेत हिँड्नेक्रममा प्रहरी हवल्दार धर्मबहादुर मल्लले मेरी श्रीमतीलार्इ जंगलतर्फ लगी अप्ठ्यारो गौंडा भन्ने स्थानको जंगलमा जबरजस्ती करणी गरिसकेपछि प्रहरी हवल्दार धर्मबहादुर मल्लले र पुन: चौकीतर्फ जाने बाटोमा आई हिँड्ने क्रममा मेरी श्रीमती शान्ति पुनलाई कुइरेपानी भन्ने ठाउँमा प्रहरी जवान बालाराम चनाराले जबरजस्ती जंगलमा लगी करणी गरेका रहेछन् । पछि बगरपुर भन्ने स्थानमा मेरो छोरासँग भेट भई चौकीमा सबैजना गएका रहेछन् । मैले वारदात घटेको नदेखेको भए पनि मेरी श्रीमती, छोरा र गाउँका मानिसले भनेकाले सो वारदात घटेको विश्वास लाग्छ भन्नेसमेत बेहोराको भिमबहादुर पुनको घटना विवरण कागज ।
मिति २०६७।९।१२ गतेका साँझ अं.४ बजेको समयमा जाहेरवाली शान्ति पुन र निजको छोरा खिमबहादुर पुनलाई जिम्मामा लिन मलाई खबर भएकोले मैले निज पीडित शान्ति पुन र खिमबहादुर पुनलाई जिम्मामा लिई गएको थिएँ । निजहरूलाई ऐ. ८ गते छिमेकी पवित्रा खत्री सुनारलाई कुटपिट गरे सम्बन्धमा चौकीमा प्रहरी हवल्दार धर्मबहादुर मल्लसमेतले चौकीमा ल्याएका रहेछन् । ऐ.१२ गते दुवै आमा छोरा मेरो घरमा बसेका र ऐ.१३ गते निज आमा छोरालाई प्रहरी चौकीमा लिएर गएँ । सो चौकीमा पवित्रा खत्री सुनारलाई घाउचोटको उपचार खर्चबापतको रू.१८,०००।– मध्ये तत्काल रू.१०,०००।– दिने सहमति भई सबै आ–आफ्नो घरतर्फ गयौँ । ऐ. १४ गते बिहान ८ बजेको समयमा निज शान्ति पुनको छोरी शर्मीला पुन मेरो घरमा आई भेटी मिति २०६७।९।१२ गतेका दिन प्र. चौकीबाट खटिएका प्रहरीले आमालाई जबरजस्ती करणी गरेका रहेछन्, आमाले डरले गर्दा भन्न सक्नु भएनछ भनेपछि मात्र मैले सो घटनाको बारे थाहा पाएको थिएँ । को कसले उक्त घटना घटाएका हुन् भन्ने सम्बन्धमा बुझ्दा उक्त दिन शान्ति पुनसमेतलाई लिन जाने प्रहरी हवल्दार धर्मबहादुर मल्ल र प्रहरी जवान बालाराम चनाराले जिल्ला दाङ पुरन्धारा गा.वि.स. वडा नं. ८ अप्ठेरो गौंडा तथा कुइरेपानी खोला स्थित जंगलमा जबरजस्ती करणी गरेका हुन् भन्ने बुझेको थिएँ । सुशीला सुनारले इसारा गरी करणी गर भनेको भन्ने पीडितबाट बुझेको हुँ भन्नेसमेत बेहोराको पूर्णबहादुर वलीको घटना विवरण कागज ।
मिति २०६७।९।८ गतेका दिन मेरो घरनजिक बस्ने पवित्रा सुनारसमेतसँग मेरो आमा, बुबा, भाइको साँधमा घाँस काटेको सम्बन्धमा झै-झगडा भई हातपात भएको थियो । सोही झगडा सम्बन्धमा पवित्रा सुनारले प्रहरी चौकी हंशपुर पुरन्धारामा उजुर गरेकीले छलफलको लागि चौकीबाट प्रहरी हवल्दार धर्मबहादुर मल्ल, प्रहरी जवान बालाराम चनारा, प्रहरी जवान मोहनलाल बुढा मेरो घरमा मिति २०६७।९।१२ गते अं.१० बजेको समयमा आएका थिए । सो समयमा घरमा म र मेरो भाइ मात्रै थियौं । सो समयमा आमा घाँस लिन जानु भएको थियो । बुबा गाउँतर्फ जानु भएको थियो । प्रहरीले मेरो घरमा कुखुरा काटी पकाई पवित्रा सुनारको घरमा लगी खाना खाएका थिए ।
सोही दिनको अं.१ बजेतिर आमा घरमा आएपछि १.१५ बजेतिर प्रहरी कर्मचारी, म, मेरी आमा, भाइ स्कुलसम्म सँगै गई पछि सो स्कुलबाट भाइ आमा प्रहरीको साथमा चौकीतर्फ गएका र साथमा सुशीला सुनारसमेत गएकी थिइन् । ऐ.१३ गते साँझ मेरी आमा शान्ति पुन र भाइ खिमबहादुर पुन घरमा आएका थिए । सो राति आमाले मलाई केही भन्नु
भएन । भोलिपल्ट मिति २०६७।९।१४ गते बिहान मात्र मिति २०६७।९।१२ गते दिउँसो चौकी जान लाग्दा पुरन्धारा गा.वि.स. वडा नं. ८ को सामुदायिक वनको अप्ठ्यारा गौडा भन्ने स्थानमा पुग्दा प्रहरी हवल्दार धर्मबहादुर मल्लले मेरी आमाको पाखुरा समाति जंगलमा लगी जबरजस्ती करणी गरेको र पछि आमा बाटोमा आइपुग्दा पुन: प्रहरी जवान बालाराम चनाराले बाटोमा हिँड्ने क्रममा आमाको कपाल समाती जबरजस्ती जंगलमा लगी जबरजस्ती करणी गरेको भन्ने कुरा भनेपछि थाहा पाएको थिएँ । वारदात मितिमा प्रहरी हवल्दार धर्मबहादुर मल्ल र प्रहरी जवान बालाराम चनाराले अप्ठ्यारा गौंडा भन्ने स्थान र सल्ली डाँडाको जंगलमा छुट्टाछुट्टै स्थानमा जबरजस्ती करणी गरेको मलाई विश्वास लाग्छ । निज दुईजना प्रहरीलाई मेरी आमालाई जबरजस्ती करणी गर्नु भनी साथमा हिँडेकी सुशीला सुनारले इसारा गरी सहयोग गरेको पनि मलाई विश्वास लाग्छ भन्नेसमेत बेहोराको शर्मिला पुनको घटना विवरण कागज ।
मिति २०६७।९।१४ गते बिहान ८ बजे भिमबहादुर पुन मेरो घरमा आएको अवस्थामा सोही समयमा मेरो घरमा लोकबहादुर खड्काले फोन गरी शान्ति पुनलाई जबरजस्ती करणी भयो भन्ने जानकारी गराएपछि भिमबहादुर पुनले वारदातबारे थाहा पाएका थिए । ऐ.१६ गते मसमेतका मानिसहरू घटनास्थलमा गई घटनास्थल हेर्दा झारपात माडिएको थियो । वारदात मितिमा सुशीला सुनारको सहयोगमा प्रहरी हवल्दार धर्मबहादुर मल्ल र प्रहरी जवान बालाराम चनाराले जबरजस्ती करणी गरेको भन्ने सुनेको हुँ । कसरी गरे थाहा भएन भन्नेसमेत बेहोराको भिमबहादुर खड्काको घटना विवरण कागज ।
मिति २०६७।९।१२ गते म र मेरो कान्छी श्रीमती ईन्दुकुमारी सुनार पुरन्धारा गा.वि.स. वडा नं. ८ जौबारी जान लाग्दा बाटोमा प्रहरी टोलीसहित मेरो छोरी सुशीला सुनार, शान्ति पुनलाई देखी छोरीसँग कुराकानी भएपछि सबैजना चौकीतर्फ लागेका थिए । मेरी छोरी सुशीला सुनारको सहयोग मिलेमतोमा प्रहरी हवल्दार धर्मबहादुर मल्ल, प्रहरी जवान बालाराम चनाराले जाहेरवाली शान्ति पुनलाई बाटोमा जबरजस्ती करणी गरेको जस्तो लाग्दैन, आरोप लगाएको हो भन्ने गंगाराम सुनारको घटना विवरण कागज ।
राप्ती अञ्चल अस्पतालबाट गरिएको स्वास्थ्य परीक्षण रिपोर्ट, जाहेरी दरखास्त, पीडित नाम परिवर्तित शान्ति पुनले गरेको घटना विवरण कागज, सुरू घटनास्थल प्रकृति मुचुल्का, प्रहरी जवान मोहनलाल बुढा मगरको घटना विवरण कागज, प्रतिवादीहरूको बयान, खिमबहादुर पुनले गरेको घटना विवरण कागज र बुझिएका मानिसहरू चन्द्रबहादुर वलीसमेतले गरिदिएको कागजसमेतका आधार प्रमाणबाट प्रहरी जवान बालाराम चनाराले जाहेरवाली शान्ति पुनलाई डर धम्की देखाई जबरजस्ती करणी गरेको देखिएकाले प्रतिवादीहरू प्रहरी हवल्दार धर्मबहादुर मल्ल, प्रहरी जवान बालाराम चनारा दुईजनाले गरेको उक्त कार्य मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं. ले परिभाषित कसुर अपराध गरेको पुष्टि र प्रमाणबाट प्रमाणितसमेत भएकोले प्रतिवादीहरू प्रहरी हवल्दार धर्मबहादुर मल्ल र प्रहरी जवान बालाराम चनारालाई जबरजस्ती करणीको महलको ३ नं. को देहाय ५ नं.बमोजिम सजाय हुन मागदाबी गरिएको छ । प्रतिवादी धर्मबहादुर मल्ल र प्रहरी जवान बालाराम चनाराले सामूहिकरूपमा जबरजस्ती करणी गरेको देखिएकोले प्रतिवादीद्वय प्रहरी हवल्दार धर्मबहादुर मल्ल र प्रहरी जवान बालाराम चनारालाई मुलुकी ऐन जबरजस्ती करणीको महलको ३ क.बमोजिम थप सजाय हुनसमेत मागदाबी लिइएको छ । प्रतिवादीहरूमध्येकी सुशीला सुनारले जबरजस्ती करणीको महलको १ नं. बमोजिमको कसुर अपराध गर्न प्रतिवादी धर्मबहादुर मल्लसमेतलाई अह्राएको देखिएकाले जबरजस्ती करणीको महलको ६ नं. को कसुर अपराध गरेको देखिँदा निज प्रतिवादी सुशीला सुनारलाई ऐ. महलको ६ नं.बमोजिम सजाय गरी प्रतिवादी धर्मबहादुर मल्ल, प्रहरी जवान बालाराम चनारा र सुशीला सुनारबाट जबरजस्ती करणी महलको १० नं.बमोजिम जाहेरवाली शान्ति पुनलाई मनासिब क्षतिपूर्ति दिलाई भराई पाउँ भन्ने अभियोगपत्र ।
मिति २०६७।९।१२ गते बिहान जाहेरवाली शान्ति पुनउपर निवेदन परेको हुँदा पक्राउ गर्नको लागि मसमेत गएका हौं । सुशीलालाई जाहेरवालीको घर चिनाउनको लागि साथ साथै लगेका हौं । सुशीलाको घरमा खाना खाई शान्ति पुन घाँस काटेर आएपछि निजलाई र निजको छोरा खिम पुनलाई प्रहरी चौकी हंसपुरमा ल्याएका हौं । मसमेत आफैँ पक्राउ गर्ने कार्यमा छौं कसैको इसाराबाट केही भएको होइन । मसमेतले जाहेरवालीलाई जबरजस्ती करणी गरेका होइनौं भन्नेसमेत बेहोराको प्रतिवादी बालाराम चनाराले सुरू अदालतमा गरेको इन्कारी बयान ।
जाहेरवाली र पवित्रा सुनारबिच आँठो साँधसम्बन्धी विवाद भई जाहेरवालीसमेतले पवित्रा सुनारलाई कुटपिट गरेपछि उक्त कुराको उजुरी पवित्राले प्रहरी चौकी हंशपुरमा दिएपछि मेरो कमान्डमा २०६७।९।१२ गते म, बालाराम चनारा, र मोहनलाल बुढा बाटोमा भेटेकी सुशीला सुनार नाम गरेकी महिलासँग जाहेरवालीसमेतलाई पक्राउ गर्न गएकोमा पवित्राको घरमा गई खाना खाई शान्ति पुन घाँस लिएर आएपछि निजको श्रीमान् घरमा फेला नपरेको कारण निज शान्ति पुन र निजको छोरा खिमबहादुर पुनलाई प्रहरी चौकीमा लिएर आएका हौं । सुशीलाले इसारा गरेको र हामी प्रतिवादीहरूले सामूहिक जबरजस्ती करणी गरेको भन्ने दाबी झुट्टा हो भन्नेसमेत बेहोराको प्रतिवादी धर्मबहादुर मल्लले सुरू अदालतमा गरेको इन्कारी बयान ।
मिति २०६७।९।८ गते शान्ति पुन र मेरो आमाबिच आँठो साँधसम्बन्धी झगडा भई मिति २०६७।९।११ गते प्रहरी चौकी पुरन्धारामा कुटपिटको निवेदन दिएकोमा सोही विषयमा छलफल गराउनको लागि प्रहरीहरू शान्ति पुनसमेतलाई बोलाउनको लागि गएकोमा बिच बाटोमा मिति २०६७।९।१२ गते निज प्रहरीसँग मेरो भेट भएको हो र प्रहरीहरूले शान्ति पुनको घर देखाइदिनु पर्यो भनी भनेपछि घर देखाउनको लागि गएको हुँ । मेरी बहिनी पवित्रा सुनारको घरमा खाना खाई शान्ति पुन र निजको छोरा खिम पुन, म तथा तीनजना प्रहरीसँगै आएका हौं । प्रहरीहरूले मेरो इसारामा जाहेरवाली शान्ति पुनलाई जबरजस्ती करणी गरेको भन्ने कुरा झुट्टा हो भन्नेसमेत बेहोराको प्रतिवादी सुशीला सुनारले सुरू अदालतमा गरेको इन्कारी
बयान ।
उक्त मितिका दिन र समयमा प्रहरी हवल्दार धर्मबहादुर मल्ल र प्रहरी जवान बालाराम चनाराले निज शान्ति पुनलाई जबरजस्ती करणी गरेका हुन् भन्नेसमेत बेहोराको वादीका साक्षी चन्द्रबहादुर वलीले सुरू अदालतमा गरेको बकपत्र ।
उक्त वारदातका समय र मितिमा प्रहरी हवल्दार धर्मबहादुर मल्लले अप्ठ्यारो गौंडा र प्र. बालाराम चनाराले उक्त ठाउँदेखि करिब ७०० मिटर पर निज शान्ति पुनलाई जबरजस्ती करणी गरेका
हुन् । निज प्रहरीहरूले पीडित शान्ति पुनलाई पालैपालो जबरजस्ती करणी गर्दा पनि निज सुशीला सुनारले निज पीडित महिलालाई बचाउने र उद्दार गर्ने प्रयाससम्म नगरी मुकदर्शक भएकोले उक्त वारदातमा सुशीला सुनारको पनि भूमिका रहेको थियो भन्नेसमेत बेहोराको वादीका साक्षी कृष्णबहादुर खड्काले सुरू अदालतमा गरेको बकपत्र ।
कमजोर आर्थिक स्थिति भएको पवित्रा सुनारलाई औषधी खर्च तिर्न नसक्ने हैसियत र प्रहरी जवानहरू दुईजना नै पक्रिन गएको कारण र रिसइवीको कारणले उनीहरूलाई झुठ्ठा रूपमा आरोप लगाइएको सत्य साँचो हो । प्रहरी जवानहरू निर्दोष छन् भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी टोपेन्द्र थापाले सुरू अदालतमा गरेको बकपत्र ।
उक्त मितिका दिन दुईजना प्रहरी जवानले शान्ति पुनलाई जौंवारी भन्ने ठाउँमा जबरजस्ती करणी गरे भनेर जौबारीकै लोकबहादुर खड्काले मलाई ऐ.१४ गते ८ बजे फोनबाट भनेपछि थाहा पाएको हुँ भन्नेसमेत बेहोराको वादीका साक्षी भिमबहादुर खड्काले सुरू अदालतमा गरेको बकपत्र ।
उल्लिखित मितिमा म पुरन्धारा प्रहरी चौकीमा थिएँ । त्यहाँ शान्ति पुन र खिमबहादुर पुनलाई प्रहरीले ल्याएर कुटपिटको बारेमा छलफल भई भोलिपल्ट शान्ति पुनलाई औषधी गरेको बिलको हिसाब गरी सो हिसाब तिर्न मन्जुर गरी गएको र ऐ.१६ गते मात्र यस घटनाको जाहेरी दरखास्त दिनु भएको हो । यी प्रतिवादीले पवित्रा सुनारलाई अठार हजार तिर्न नपरोस् भन्ने उद्देश्यले झुट्टा मुद्दा दिएका हुन् भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी दुर्गा वि.क. ले सुरू अदालतमा गरेको बकपत्र ।
पीडितलाई धर्मबहादुर मल्ल र बालाराम चनाराले जबरजस्ती करणी गरेको कुरा शर्मीला पुनले मलाई भनेपछि थाहा पाएको हुँ । सुशीलाले हातको इसारा गरी जबरजस्ती करणी गर्न लगाएको कुरा सुन्नमा आएको हो भन्नेसमेत बेहोराको वादीका साक्षी पूर्णबहादुर वलीले सुरू अदालतमा गरेको बकपत्र ।
उक्त मितिमा निज प्रहरीहरू, म र मेरो छिमेकीबिच झगडा परेको हुँदा झगडा मिलाउन मेरो घरमा मलाई लिन भनी आउनु भएको थियो । छोरा खिमबहादुर, सुशीला वि.क र लिन आएका तीनजना प्रहरीहरूसँग चौकीमा जान भनी घरबाट हिँडेकोमा छोरालाई एउटा प्रहरीले अगाडि लिई गएको र दुइजना प्रहरी, सुशीला र म पछाडि थियौं । पहिला हवल्दार र पछि बालाराम चनारा भन्ने प्रहरीले मलाई उक्त स्थानमा जबरजस्ती करणी गरेका हुन् । प्रतिवादी बालारामले यो कुरा कतै भनिस् भने तेरो परिवारै नाश् गरिदिन्छु र तेरी छोरीलाई पनि जबरजस्ती करणी गर्छु भनी मलाई धम्की दिएको हुँदा मैले कसैलाई पनि भन्न सकिँन । उक्त घटनामा निज सुशीलाले मेरो मुखमा हेर्ने, खासखुस गर्ने र प्रहरीले मलाई हप्काउने कार्य गरी प्रतिवादी सुशीला वि.क. समेतको भूमिका थियो भन्नेसमेत बेहोराको पीडित परिवर्तित नाम शान्ति पुनले सुरू अदालतमा गरेको किटानी बकपत्र ।
उक्त मिति र स्थानमा मेरो आमा शान्ति पुनलाई प्रतिवादी धर्मबहादुर मल्ल र बालाराम चनाराले सामूहिक रूपमा जबरजस्ती करणी गरेका हुन् । घर फर्केपछि आमाले मेरो दिदी शर्मिला पुनसँग भनेपछि उक्त घटनाको बारेमा थाहा पाएको हुँ । प्र. धर्मबहादुर मल्लले यो खिमबहादुर पुनलाई अगाडि लगेर जाउ भनेपछि मलाई प्रहरी मोहन बुढाले आमासँग छुटाई अगाडि लगेका हुन् । प्रतिवादी सुशीलाले यी प्रहरीहरूलाई साथैमा लगी चौकीतिर आउने बेलामा रक्सी खुवाई आँखाद्वारा इसारा गरी धर्मबहादुर मल्ल र बालाराम चनारासँग आमालाई प्रतिवादी शान्ति पुनले छाडी आफू चौकीतिर गई प्रतिवादीहरूलाई जबरजस्ती करणी गराउन सहयोग गरेकी हुन् भन्नेसमेत बेहोराको प्रहरीमा कागज गर्ने खिमबहादुर पुनले सुरू अदालतमा गरेको बकपत्र ।
जाहेरवाली शान्ति पुनलाई प्रहरी हवल्दार धर्मबहादुर मल्ल र प्रहरी जवान बालाराम चनाराले पुरन्धारा र जौबारी गाउँको पूर्वतर्फ बुके खोलामा २०६७।९।१२ गते जबरजस्ती करणी गरेका हुन् भन्नेसमेत बेहोराको प्रहरीमा कागज गर्ने शर्मिला पुनले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६७।९।१२ गते प्रतिवादी प्रहरी हवल्दार धर्मबहादुर मल्ल र प्रहरी जवान बालाराम चनाराले जाहेरवालीलाई जबरजस्ती करणी गरेका हुन् भन्नेसमेत बेहोरोको वादी पक्षका साक्षी भीमबहादुर पुनले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६७।९।१५ गते रातिको ९ बजेको समयमा परिवर्तित नाम शान्ति पुनको स्वास्थ्य जाँच परीक्षण गरेको हुँ । पीडितको दाहिने साप्रामा चिथोरिएको सानो निसान थियो । निजको योनिको झिल्लीको अवस्था खुकुलो, दाहिने पेटमा टल्कने र सुकेको पदार्थ थियो । त्यसको भेजिनल स्वाव निकाली जाँचको लागि पठाइएको हो । स्वास्थ्य परीक्षण गर्दा यौन दुर्व्यवहार भएको र नभएको सम्बन्धमा यति परीक्षणले मात्र पुष्टि हुन नसक्ने हुँदा उक्त परीक्षण रिपोर्ट ल्याब परीक्षणको लागि केन्द्रमा पठाइएको हो भन्नेसमेत बेहोराको विशेषज्ञ डाक्टर निर्मल रसाइलीले सुरू अदालतमा गरेको बकपत्र ।
मसमेतले मिति २०६७।१२।४ मा दिएको परीक्षण प्रतिवेदनमा पीडित शान्ति पुनले वारदातको समयमा लगाएको पेटीकोट थान १ प.चि.नं. ए मा भेटिएको दागको परीक्षण गर्दा मानव वीर्य कोषहरू भेटिएको साथै उक्त पेटीकोटमा र्याल रगत
भेटिएन । उक्त दागबाट रक्त समूह खुलाउने केन्द्रीय प्रविधि विज्ञान प्रयोगशाला नभएको हुँदा खुलाउन सकिएन भन्नेसमेत बेहोराको वादी पक्षका साक्षी विशेषज्ञ मोहन सिंह धामी र पुष्करराज भट्टले सुरू अदालतमा गरेको करिब एकै मिलानको छुट्टाछुट्टै बकपत्र ।
प्रस्तुत मुद्दामा अभियोग दाबी पुष्टि गर्ने मालाकार कडीका रूपमा प्रस्तुत भएका प्रमाण देखिन आएन । अभियोग पुष्टि गर्ने प्रमाणको भार वादीमा रहने र शंकाको सुविधा प्रतिवादीले पाउने हुनाले शंकारहित दाबी पुष्टि हुन नआएको हुनाले प्रतिवादी धर्मबहादुर मल्ल, प्रतिवादी बालाराम चनारा र प्रतिवादी सुशीला सुनारले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्ने दाङ देउखुरी जिल्ला अदालतको मिति २०६८/१०/२५ को फैसला ।
प्रतिवादीहरू धर्मबहादुर मल्ल र बालाराम चनाराले मलाई जबरजस्ती करणी गरेका हुन् भनी जाहेरी दिने पीडित जाहेरवालीले मौकाको जाहेरी समर्थन हुने गरी बकपत्र गरेकी, जबरजस्ती करणीपश्चात् प्रतिवादीहरूले डर त्रासमा पारेको तथा भौगोलिक विकटतासमेतको कारणबाट जाहेरी दिनमा ढिला भएको भनी जाहेरवालीले ढिला जाहेरी पर्नुको युक्तियुक्त कारण खुलाएको, जबरजस्तीको वारदात प्रहरी विरूद्धको रहे भएको र भौगोलिक विकटता एवं अन्य प्रक्रिया हेर्दा लाग्ने समयको रोहमा सान्दर्भिकतायुक्त जाहेरीलाई यथासमयमा नपरेको गलत अर्थ लगाइएको, पीडितको कथन, शारीरिक परीक्षण प्रतिवेदनलगायत पेटीकोटको परीक्षणबाट समेत प्रतिवादीहरूले पीडितलार्इ जबरजस्ती करणी गरेको पुष्टि भएको, जबरजस्ती करणीजस्तो जघन्य कसुरमा प्रत्यक्षदर्शी अपवादको रूपमा मात्र फेला पर्ने अवस्था, मौकामा कागज गर्ने भीमबहादुर पुनसमेतका वादी पक्षका साक्षीहरूले यी प्रतिवादीहरूले पीडितलाई जबरजस्ती करणी गरेको हुन् भनी कागज गरी बकपत्रसमेत गरेको अवस्थामा वादी पक्षका साक्षीहरूको भनाइलाई प्रमाण ग्राह्य नगरेको, जबरजस्ती करणीको वारदातको प्रमाणको पहिलो कडी पीडित रही अर्को कडी पीडितको शारीरिक परीक्षणलाई मान्नु पर्ने, प्रतिवादीहरूले इन्कारी बयान गर्नु मात्र निर्दोषी ठहर हुने आधार बन्न नसक्ने, पीडितको जाहेरी, मौकाको कागज र बकपत्र, मौकामा बुझिएका व्यक्तिहरूको भनाइ, पीडितको शारीरिक परीक्षण एवं पेटीकोट परीक्षण प्रतिवेदनलगायतका सम्बद्ध प्रमाणहरूबाट सामूहिक जबरजस्ती करणीको वारदात स्थापित भएको र सो वारदातमा प्रतिवादी सुशीला सुनारको मिलोमतो रहेको र निजकै सहयोगमा सो वारदात घटेको भन्ने तथ्य जाहेरी पीडितले गरेको बकपत्रसमेतबाट पुष्टि हुन आएकोले मिसिल संलग्न प्रमाणहरूको ठोस मूल्याङ्कन नै नगरी गलत आधारमा प्रतिवादीहरूलाई सफाइ दिएको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर उल्टी गरी प्रत्यर्थी प्रतिवादीहरूलाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन अदालत तुल्सीपुरमा परेको पुनरावेदन जिकिर ।
यसमा प्रतिवादीहरूउपर जाहेरवालीको किटानी जाहेरी परेको, मिति २०६७/९/१६ गते पीडित महिलाले गरेको घटना विवरण कागजमा पनि प्रतिवादीहरूले जबरजस्ती करणी गरेको बेहोरा स्पष्ट रूपमा किटानीपूर्वक लेखाएको देखिएको र पीडित जाहेरवालीले मिति २०६७/१२/२७ मा दाङ देउखुरी जिल्ला अदालतमा गरेको बकपत्रमा पनि जाहेरी र घटना विवरण कागजमा लेखाएको बेहोरालाई समर्थन गरी प्रतिवादीहरूले जबरजस्ती करणी गरेको बेहोरा स्पष्ट रूपमा लेखाएको र वादीका साक्षी चन्द्रबहादुर वली, कृष्णबहादुर खड्कालगायतले पनि अदालतमा बकपत्र गर्दा स्पष्ट रूपमा प्रतिवादीहरूले पीडित जाहेरवालीलाई जबरजस्ती करणी गरेको बेहोरा लेखाएको र पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनसमेतका मिसिल संलग्न सबुद प्रमाणहरूको परिप्रेक्ष्यमा प्रतिवादीहरूलाई आरोपित कसुरबाट सफाइ दिने गरी गरिएको सुरू फैसला फरक पर्न सक्ने देखिँदा छलफलका लागि अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी प्रतिवादीहरूलाई झिकाई उपस्थित हुन आए वा अवधि नाघेपछि पेस गर्नु भन्ने पुनरावेदन अदालत तुलसीपुर दाङको मिति २०६९/१०/२२ को आदेश ।
यसमा पीडितले मौकामा किटानी जाहेरी दिई अदालतमा समेत सोही बेहोरालाई समर्थन हुने गरी गरेको बकपत्र, निजको स्वास्थ्य परीक्षण प्रतिवेदन, मौकाको घटनास्थल प्रकृति मुचुल्का, निजका पति भिमबहादुर पुन, छोरा खिमबहादुर पुन, छोरी शर्मिला पुनले गरेको कागजलगायतका मिसिल संलग्न कागज प्रमाणसमेतका आधारमा पीडितालाई प्रतिवादीहरूमध्ये धर्मबहादुर मल्ल र बालाराम चनाराले जबरजस्ती करणी गरेको भन्ने तथ्य पुष्टि भइरहेकोमा सोलाई मध्यनजर नगरी सुरू दाङ देउखुरी जिल्ला अदालतबाट भएको मिति २०६८/१०/२५ को फैसला निजहरूको हकमा मिलेको नदेखिँदा उल्टी भर्इ प्रतिवादीहरू धर्मबहादुर मल्ल र बालाराम चनारालाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुरमा सोही महलको ३(५) नं.बमोजिम जनही ७ (सात) वर्षका दरले कैद हुने तथा ऐ. महलको १० नं.बमोजिम पीडितलाई प्रतिवादीहरूबाट जनही एक लाख रूपैयाँ क्षतिपूर्तिबापत भराइदिने ठहर्छ । प्रतिवादी सुशीला सुनारले यी पीडितलाई करणी गर्न भनी इसारा गरेको वा आदेश दिएको भन्ने तथ्य र प्रमाणबाट समेत प्रमाणित भएको नदेखिँदा निजलाई सफाइ दिने गरी भएको सुरूको फैसला सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत तुलसीपुर दाङको मिति २०७१।०१।०८ को फैसला ।
जाहेरवालीले मौकामा प्रतिवादीहरूउपर किटानी जाहेरी दिई सोही बेहोरालाई समर्थन हुने गरी पीडित परिवर्तित नाम शान्ति पुन तथा मौकामा कागज गर्ने खिमबहादुर पुनलगायतका व्यक्तिहरूले अदालतमा आई बकपत्र गरिदिएको देखिन्छ । वारदातको समयमा पीडितले लगाएको पेटीकोट परीक्षण हुँदा सोमा human sperm cells were detected भन्ने परीक्षण प्रतिवेदनबाट प्रतिवादीहरूले पीडितलाई जबरजस्ती करणी गरेका हुन् भन्ने पुष्टि भएको छ । प्रतिवादीहरूले पालोपालो गरी पीडितलाई जबरजस्ती करणी गरेको तथ्य स्वयं अदालतले समेत स्वीकार गरेको, दुवै प्रतिवादीहरूले जबरजस्ती करणी गरेको घटनास्थलहरू नजिक नजिक रहेको र घटना भएको समयको अन्तराल पनि ज्यादै कम रहेको, जबरजस्ती करणीको दुवै वारदातमा एक प्रतिवादीले अर्को प्रतिवादीलाई प्रत्यक्ष सहयोग गरेको, दुवै प्रतिवादीहरू सँगसाथ रहेकोसमेतका आधारबाट दुवै प्रतिवादीले सामूहिक रूपमा जबरजस्ती करणी गरेको पुष्टि भइरहेकोमा सामूहिकतर्फको कसुर नठहर्ने गरी फैसला भएको अवस्था छ । त्यस्तै प्रतिवादी सुशीला सुनारको मिलेमतो र सहयोगमा अन्य प्रतिवादीहरूले जबरजस्ती करणी गरेका हुन् भनी जाहेरीमा उल्लेख गरी अदालतसमक्षको बकपत्रमा समेत सोही बेहोरालाई पुष्टि हुने गरी बकपत्र गरेको तथा प्रतिवादी सुशीला सुनारले बयान गर्दा अन्य सहअभियुक्त एवं पीडितसँगै घरबाट जंगलको बाटो हुँदै चौकीमा गएको बेहोरा उल्लेख गरेको अवस्थामा सोही वारदातका प्रतिवादीहरूमध्येका धर्मबहादुर मल्ल र बालाराम चनारालाई जबरजस्ती करणी गरेतर्फ कसुर ठहर गरी कम सजाय गर्ने गरी तथा अर्का प्रतिवादी सुशीला सुनारलाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट पर्न आएको पुनरावेदन पत्र ।
जाहेरवाली शान्ति पुनले तथाकथित वारदात घटेको भनिएको मिति २०६७।९।१२ को चार दिनको अन्तरालपश्चात् मिति २०६७।९।१६ मा मसमेत उपर जबरजस्ती करणी गरेको भनी जाहेरी दर्ता गराएको अवस्था छ । पीडित भनिएकी जाहेरवाली शान्ति पुन (परिवर्तित नाम) को परिवारको छिमेकी पवित्रा सुनारसँग जग्गा आली साँधमा झगडा परी पवित्रा सुनारलाई कुटपिट गरेको भनी चौकीमा निवेदन दिएकोले पीडितसमेतलाई पक्राउ गरी चौकीमा ल्याउने क्रममा निजको छोरा १७ वर्षीय खिमबहादुर पुन, प्रतिवादी सुशीला सुनारलगायतका ६ जना चौकीसम्म आएको अवस्था हो । मैले अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष समेत उक्त कसुरउपर पूर्णत: इन्कार रही बयान गरेको छु भने मौकामा कागज गर्ने व्यक्तिहरू प्रहरी जवान मोहन बुढा, गंगाराम सुनार, झक्कुसिंह बाठा मगर, दुर्गाप्रसाद वि.क. र पवित्रा खत्री सुनारसमेतले करणी वारदात भएकै होइन, प्रतिवादीलाई झुठ्ठा आरोप लगाएकी मात्र हुन् भनी मेरो इन्कारी बयानलाई समर्थन हुने गरी कागज गरिदिएको पाइन्छ । पीडित भनिएकी जाहेरवाली शान्ति पुनको शारीरिक परीक्षण प्रतिवेदनमा कुनै घाउचोट, निलडाम देखिएको छैन भने साप्रामा चिथोरिएको एउटा निसान, योनिको झिल्ली खुकुलो, पेटको दाहिनेपट्टि टल्कने सेतो पदार्थ तथा भेजाइनल स्वावमा शुक्रकीट छैन भन्ने देखिन आएको छ । उक्त परीक्षणबाट मउपरको कुनै कसुर स्थापित भएको देखिन आएको छैन । प्रतिवादीले चिथोरेको भनी स्वयं पीडित भनिएकी जाहेरवालीले भन्न सकेको अवस्थासमेत छैन । पीडित भनिएकी जाहेरवालीले आफूले छिमेकीलाई कुटपिट गरेकोमा रू.१८,०००।– घाउ खर्च तिर्नुपर्ने कागज भएपछि मसमेतलाई फसाउने नियतले बनावटी विचार (after thought) समेतका आधारमा उक्त जाहेरी दर्ता गराएकी मात्र हुन् । घटना घटेको भनिएको चार दिनपछि पीडितको शरीरमा मानव वीर्य तथा पेटीकोटमा सेतो पदार्थ देखिएको भन्ने जस्ता कुरालाई आधार बनाई शंका र अनुमानको भरमा कैद तथा क्षतिपूर्ति भराइदिने ठहर गरी पुनरावेदन अदालत तुलसीपुर दाङबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी धर्मबहादुर मल्लको तर्फबाट पर्न आएको पुनरावेदनपत्र ।
यसमा वादी नेपाल सरकार र प्रतिवादी धर्मबहादुर मल्लको समेत दोहोरो पुनरावेदन परेकाले उक्त पुनरावेदन परस्पर दुवै पक्षलाई सुनाई पुनरावेदन नगर्ने प्रतिवादीहरूलाई अ.बं.२०२ नं.को प्रयोजनार्थ झिकाई नियमानुसार पेस गर्नू भन्नेसमेत बेहोराको यस अदालतको मिति २०७४।९।२५ को आदेश ।
प्रतिवादीमध्येका बालाराम चनाराको मृत्यु भइसकेको भनी निजको नामको अ.बं.२०२ नं. बमोजिमको म्याद निजको एकाघरको बुबा लक्ष्मण चनाराले मिति २०७४।११।९ मा बुझेको तामेली म्याद मिसिल सामेल रहेको ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको सुरू रेकर्ड तथा यस अदालतमा परेको पुनरावेदन-पत्रसहितको मिसिल अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री गंगाप्रसाद पौडेलले पीडितले प्रतिवादीहरूउपर किटानी जाहेरी दिई सोही बेहोरालाई पुष्टि हुने गरी बकपत्र गरिदिएको, पीडितको शारीरिक परीक्षण, मौकामा बुझिएका खिमबहादुर पुन, चन्द्रबहादुर वली, कृष्णबहादुर खड्का, भीमबहादुर पुन, कर्णबहादुर वली, शर्मिला पुन र भीमबहादुर खड्कासमेतले घटना विवरण कागज गरी सोही बेहोरालाई पुष्टि हुने गरी अदालतसमक्ष गरिदिएको बकपत्रसमेतबाट प्रतिवादीउपरको कसुर पुष्टि भएको अवस्थामा केवल जाहेरी दरखास्त ढिलो परेको भनी सामाजिक परिवेशलाई बेवास्ता गरी यान्त्रिक रूपमा विश्लेषण गर्न न्यायोचित नहुने हुँदा अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
विपक्षी सुशीला सुनारका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता वैतनिक कानून व्यवसायी श्री टिकाराम लिम्बू र विद्वान् अधिवक्ता वैतनिक कानून व्यवसायी श्री इन्दिरा सिलवालले मेरो पक्ष निर्दोष रहेको, निज अनुसन्धान तथा अदालतसमक्ष इन्कार रहेकी, निजको मिलेमतोमा पीडितलाई करणी भएको भन्ने तथ्ययुक्त प्रमाण पेस गर्न नसकेको हुँदा निजको हकमा पुनरावेदन अदालत तुलसीपुर, दाङको फैसला सदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
प्रतिवादी धर्मबहादुर मल्लका तर्फबाट विद्वान् वरिष्ठ अधिवक्ता श्री लभकुमार मैनाली र विद्वान् अधिवक्ता श्री वासुदेव शर्माले मेरा पक्षले मौका तथा अदालतसमक्ष उक्त कसुर गरेउपर इन्कार रहेको, जबरजस्ती करणी देखिने संघर्षको कुनै दाग घाउ चोट पीडितमा केही नदेखिएको पीडित तथा प्रतिवादीसमेतको शारीरिक परीक्षणबाट कुनै पनि कसुर प्रमाणित भएको देखिँदैन । मेरो पक्षलाई फसाउने नियतले बनावटी विचार (after thought) समेतका आधारमा जाहेरी दिएको अवस्था हुँदा सोही आधारमा सजाय ठहर गर्ने गरी पुनरावेदन अदालत तुलसीपुर दाङबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट छुटकारा दिलाई पाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
प्रस्तुत मुद्दामा विद्वान् उपन्यायाधिवक्ता, विद्वान् वरिष्ठ अधिवक्ता, विद्वान् अधिवक्ता, विद्वान् अधिवक्ता वैतनिक कानून व्यवसायीहरूको बहस जिकिरसमेत सुनी सुरू दाङ देउखुरी जिल्ला अदालतले प्रतिवादीहरू धर्मबहादुर मल्ल, बालाराम चनारा र सुशीला सुनारले अभियोग दाबीबाट सफाइ पाउने ठहर गरी भएको फैसलालाई पुनरावेदन अदालत तुलसीपुर दाङबाट प्रतिवादीहरू धर्मबहादुर मल्ल र प्रतिवादी बालाराम चनाराको हकमा उल्टी भई निजहरूलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुरमा सोही महलको ३(५) नं. बमोजिम जनही ७ (सात) वर्षका दरले कैद र मुलुकी ऐन, जबरजस्ती करणीको महलको १० नं. बमोजिम पीडितलाई प्रतिवादीहरूबाट जनही एक लाख रूपैयाँ क्षतिपूर्तिबापत भराई दिने ठहर गरी तथा प्रतिवादी सुशीला सुनारलाई सफाइ दिने गरी भएको मिति २०६८।१०।२५ को फैसला सदर हुने ठहर गरी मिति २०७१।१।८ मा फैसला भएको । सो फैसलामा चित्त नबुझाई वादी नेपाल सरकारको मिति २०७१।७।४ मा र धर्मबहादुर मल्लको तर्फबाट मिति २०७२।९।२९ मा यस अदालतसमक्ष पुनरावेदन पर्न आएको देखियो ।
वादी नेपाल सरकारको तर्फबाट पर्न आएको पुनरावेदन जिकिरमा मुलत: वारदातको समयमा पीडितले लगाएको पेटीकोट परीक्षण प्रतिवेदनमा human sperm cells were detected भन्ने रहेको, प्रतिवादीहरूले पालोपालो गरी पीडितलाई जबरजस्ती करणी गरेको तथ्य स्वयं अदालतले समेत स्वीकार गरेको, घटनास्थलहरू नजिक नजिक रहेको र घटना भएको समयको अन्तराल पनि ज्यादै कम रहेको, जबरजस्ती करणीको दुवै वारदातमा एक प्रतिवादीले अर्को प्रतिवादीलाई प्रत्यक्ष सहयोग गरेकोसमेतका आधारबाट सामूहिक जबरजस्ती करणी गरेको पुष्टि भइरहेकोमा सामूहिकतर्फको कसुर नठहर्ने गरी भएको फैसला तथा प्रतिवादी सुशीला सुनारले बयान गर्दा अन्य सहअभियुक्त एवं पीडितसँगै घरबाट जंगलको बाटो हुँदै चौकीमा गएको बेहोरा उल्लेख गरेको अवस्थामा निजलाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत पुनरावेदन जिकिर रहेको देखियो ।
प्रतिवादी धर्मबहादुर मल्लको तर्फबाट पर्न आएको पुनरावेदन जिकिरमा मुलत: मेरो अधिकारप्राप्त अधिकारी र अदालतसमक्षको इन्कारी बयान मौकामा कागज गर्ने व्यक्तिहरूले गरिदिएको कागज, पीडित भनिएकी जाहेरवाली शान्ति पुनको शारीरिक परीक्षण प्रतिवेदनमा कुनै घाउचोट, निलडाम नदेखिएको तथा भेजाइनल स्वावमा शुक्रकीट छैन भन्ने देखिन आएबाट समेत मेरो इन्कारी बयान पुष्टि भइरहेको अवस्था हुँदा बनावटी विचार (after thought) समेतका आधारमा घटना घटेको भनिएको चार दिनपछि दिएको जाहेरीलाई आधार लिई कैद तथा क्षतिपूर्ति भराई दिने ठहर गरी पुनरावेदन अदालत तुलसीपुर दाङबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्नेसमेत पुनरावेदन जिकिर रहेको देखियो ।
उपर्युक्तबमोजिमको बहस जिकिर रहेको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत तुलसीपुर दाङको मिति २०७१।१।८ को फैसला मिलेको छ वा छैन ? पुनरावेदक / वादी नेपाल सरकार तथा पुनरावेदक / प्रतिवादी धर्मबहादुर मल्लको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, जाहेरवालीको परिवारको छिमेकी जमुना भन्ने पवित्रा सुनार खत्रीसँग आली साँध सिमानासम्बन्धी विवाद मिलाउनका लागि प्रहरी चौकी जाने क्रममा सुशीला पुनसमेतको मिलेमतो र सहयोगमा मिति २०६७।९।१२ गते दिउँसो अं.२ बजेको समयमा अप्ठ्यारो गौंडा भन्ने स्थानको एकान्त जंगलमा पहिले प्रहरी हवल्दार धर्मबहादुर मल्लले र त्यसपछि करिब ७०० मिटर पर लगी प्रहरी जवान बालाराम चनाराले जबरजस्ती करणी गरी सो घटना सार्वजनिक गरेमा लोग्ने र छोरासमेतको ज्यान लिने र छोरीलाई समेत जबरजस्ती करणी गर्ने भनी धाकधम्की दिएको कारण सो घटना सार्वजनिक गर्न नसकेको र पछि पीडा सहन नसकी यो जाहेरी दिन आएको छु भनी प्रतिवादीहरूउपर स्पष्ट किटानी गरी वारदात मिति २०६७।९।१२ को चार दिनपछि मिति २०६७।९।१६ मा जाहेरी दर्ता गराएको देखिन आयो ।
३. सुरू दाङ देउखुरी जिल्ला अदालतबाट आरोपित प्रतिवादीहरूलाई सफाइ दिँदा जाहेरी यथासमयमा नपरेको, ढिला हुनुपर्ने युक्तियुक्त कारण प्रमाणित नभएको, पीडित र प्रतिवादीको शारीरिक परीक्षणबाट कुनै ठोस प्रमाण फेला नपरेको, प्रतिवादी इन्कारी रहेको, मौकामा कागज गर्ने व्यक्तिहरूले पीडितको भनाइमा मात्र आधारित भई कागज गरेको र आफूले रू.१८,०००।– घा खर्च तिर्न पर्ने कागज भएपछिको बनावटी विचार (after thought) भएको कारण मान्यता दिन नमिल्ने भन्ने आधार लिएको देखिन्छ भने प्रतिवादीले आफ्नो पुनरावेदन जिकिरमा उक्त जाहेरी आफूले कुटपिटबापत रू.१८,०००।– तिर्न परेपछि सोही इवीको कारण परेको हुँदा after thought भएको भन्ने जिकिर लिएको देखिन्छ । सोतर्फ विवेचना गर्दा after thought के हो ? यो कति अवधिसम्मलाई मान्नु पर्ने हो वा after thought को अवस्था कस्तो परिस्थितिमा आउन सक्छ भन्नेतर्फ पनि मध्यनजर गर्नु पर्ने देखिन आयो ।
४. After thought लाई oxford dictionary मा “thing thought of or added later.”, Black’ law dictionary मा “a thought composed after the event and with deliberation.”, Cambridge dictionary मा “an idea, thought, or plan that was not originally intended but is thought of at a later time”, West’s Legal Thesaurus dictionary मा “Second thought, Reconsideration”, The Random house Dictionary मा “a Second or later thought, a belated idea, an addition not originally planned for.” त्यसैगरी Ekta Comprehensive dictionary मा "१. आफूले भन्ने वा जवाफ दिने मौका सकिएपछि मनमा आउने विचार, पश्चविचार, २. पूरा भइसकेको कुरामा पछि थपिने कुरा, सुरूको योजना नराखिएको तर पछि आएको कुरा" भनी परिभाषा गरेको पाइन्छ । After thought यति अवधिलाई मान्नु पर्ने भन्ने सर्वमान्य सीमा निर्धारण भएको पाइएन । सरकार वादी फौजदारी मुद्दामा सूचना वा जाहेरी दिने सम्बन्धमा भएको कानूनी व्यवस्थालाई हेर्दा, मुलुकी ऐन जबरजस्ती करणीको महलको ११ नं. मा "जबरजस्ती करणीको कुरामा सो भए गरेको मितिले ६ महिनाभित्र नालिस नदिए लाग्न सक्तैन" भन्ने व्यवस्था भएको पाइन्छ । after thought को तर्कलाई अन्य प्रमाणहरूको अवस्था, पीडितको परिस्थिति तथा पीडितले आरोपीहरूलाई फसाउने मनसाय पर्याप्त रूपमा विद्यमान् छ छैन भन्ने तत्त्वहरूसँग तुलना गरेर हेर्नु पर्दछ । मूलत: after thought का तत्त्वहरूमा तथाकथित पीडितको आरोपी व्यक्तिलाई सताउने वा फसाउने मनसाय भएको तथ्य र प्रमाणबाट पुष्टि हुनु पर्दछ । जाहेरीमा घटनाको सत्य तथ्यपरक सूचना आउँदछ भन्ने मानिन्छ । यदि जाहेरी प्रत्यक्ष रूपमा अपराधको पीडित वा देख्ने व्यक्ति स्वयंले दिएको भए र तत्काल दिएको भए त्यसको प्रामाणिक महत्त्व उच्च रहन्छ । तर समयको अन्तरालमा एउटा उजुरी वा जाहेरी दिएर फेरी अर्को जाहेरी दिएको भए वा जाहेरीलाई फरक पार्ने बकपत्र गरेको भए वा जाहेरीलाई समर्थन नगर्ने अन्य प्रमाणहरू मिसिलसाथ संलग्न भए त्यस्तो जाहेरीलाई after thought वा बनावटी वा सोची विचारी दिएको वा सुनी सुनाई प्रकृतिको भन्न सकिन्छ । कुनै एक अपराधमा घटनाको सत्य तथ्य बाहिर आउँदै गर्दा एक वा एकभन्दा बढी निवेदन वा जाहेरी परेको हुन सक्दछ तर एकभन्दा बढी निवेदन वा जाहेरी पर्दैमा त्यस्ता सबै जाहेरीहरू after thought भन्न मिल्दैन । अपराधको अवस्था र अन्य प्रमाणहरू हेर्दा कुनै एक मात्र जाहेरी परेको भए पनि र अपराध भएकै दिन वा भोलिपल्ट जाहेरी परेको भएपनि फसाउने मनसायसहित त्यस्तो जाहेरी परेको भए after thought हुन सक्दछ । तसर्थ after thought मा समयको अन्तराल महत्त्वपूर्ण होइन, सो अन्तरालमा पहिले परिसकेको जाहेरी वा तथ्य वा कुरामा फरक वा असर पर्ने गरी पछि फसाउने मनसायसहित अर्कै बेहोराको जाहेरी वा विचार वा कुरा आएको हुनुपर्छ । त्यसमा व्यक्तिले द्वेषपूर्ण तरिकाले कसैसँग बदला लिने वा फसाउने मनसाय देखिनु पर्छ र त्यसको पछाडि कुनै जरिया हुनु आवश्यक छ । बनावटी विचार (after thought) बाट सिर्जित परिणामबाट गरिने अनुसन्धान कार्यसमेत बनावटी हुन्छ, त्यसको आधारमा न्यायालयले कसुर ठहर गर्न मिल्दैन । तर मिसिल संलग्न अन्य प्रमाणहरू जाहेरीलाई समर्थन गर्ने प्रकृतिका भए हदम्यादभित्र दिएको उजुरी वा जाहेरीलाई after thought भन्न नसकिने देखिन्छ ।
५. प्रस्तुत मुद्दाको समग्रतालाई हेर्दा वारदात मिति २०६७।०९।१२ मा चौकीसम्म आउने क्रममा बाटोमा घटना घटेको देखिन आएको छ भने मिति २०६७।०९।१६ मा जाहेरी पर्न आएको छ । यसरी हेर्दा घटना घटेको चार दिनपश्चात् जाहेरी पर्न आएको देखियो, जुन कानूनले निर्दिष्ट गरेको हदम्यादभित्रकै देखिन आयो । कानूनत: सरकार वादी फौजदारी मुद्दामा जाहेरी दरखास्त वा सूचनाको प्रमुख भूमिका रहेको हुन्छ, यसको महत्त्वलाई नकार्न सकिँदैन । त्यसमा पनि जबरजस्ती करणी यस्तो जघन्य अपराध हो जहाँ कुनै पनि महिलालाई निजको इच्छाविपरीत पुरूषले डर त्रासमा पारी धाक धम्की दिई निजको शारीरिक र मानसिक रूपमा क्षति पुर्याई करणी गरेको हुन्छ । यस्तो कार्यलाई नेपाललगायत विश्वका अन्य मुलुकहरूले समेत गम्भीर अपराध मानी राज्यले नै पीडितको प्रतिनिधित्व गरी सोहीअनुरूपको सजायको व्यवस्था गरेको पाइन्छ ।
६. जहाँसम्म जाहेरी ढिलो परेको भन्ने पुनरावेदन जिकिर छ सोतर्फ विवेचना गर्दा, पीडितको परिवेशतर्फ पनि विचार पुर्याउनु पर्ने हुन आउँछ । पीडित एक सामान्य ग्रामीण परिवेशको महिला रहे भएको, निजका पति तथा हुर्किसकेका छोराछोरीहरू भएको, त्यसमा पनि छिमेकीसँगको कुटपिटको छलफलको क्रममा चौकीमा जाँदै गरेको, प्रतिवादीहरू शक्ति सम्पन्न हतियारसहितका राष्ट्रसेवक प्रहरी कर्मचारी रहेका साथै पीडित निजहरूकै नियन्त्रणमा रही बाटोमा जाँदै गर्दाको अवस्थामा घटना घटेको भन्ने देखिन आएको छ । भौगोलिक विकटता, असमान स्तर, डर त्रास द्विविधाजनक मनोविज्ञान पीडितको चेतनास्तर, आर्थिक सामाजिक र सांस्कृतिक भेदभाव, परिवारको इज्जत र प्रतिष्ठा जस्ता कारणले गर्दा खुलेर आफूउपर भएका गम्भीर प्रकृतिको यौनजन्य हिंसा विरूद्ध समयमा उजुर गर्न नसक्नुका कारक तत्त्वहरू रहेका हुन सक्छन् । निश्चित समयसम्म सहेर बसेकी पीडितले पीडा खप्न नसकी केही समयको अन्तरालमा आफूमाथि भएको ज्यादतीको उजागर भएको हुन सक्छ । सोही जटिलतालाई मध्यनजर गरेर मुलुकी ऐनमा लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७२ द्वारा मिति २०७२।६।१४ मा संशोधन गरी जाहेरी गर्ने समयावधि ३५ दिनलाई बढाएर ६ (छ) महिनासम्म राखिएको देखिन्छ । यस्तो अवस्थामा २०६७।९।१२ मा भएको घटनामा २०६७।९।१६ मा परेको जाहेरीलाई तत्काल जाहेरी नपरेको भन्ने मात्र आधारमा कसुरदारलाई सजायबाट उन्मुक्ति दिनु न्यायोचित देखिँदैन ।
७. यसै सन्दर्भमा सर्वोच्च अदालतबाट (ने.का.प.२०६३, अंक १० नि.नं.६६६२, पृष्ठ १२९४) कृष्णहरी माकको जाहेरीले नेपाल सरकार विरूद्ध दिपक तुलसी वाख्यो भएको जबरजस्ती करणी मुद्दामा "जाहेरी दरखास्त यति घण्टा, वा दिनभित्र दिई सक्नु पर्ने भनी यान्त्रिक तवरबाट गणना गरी कठोरतापूर्वक निर्धारण गरिने हदम्याद जस्तो विषय भने होइन । अपराधको प्रकृति, समाजको चेतनाको स्तर, भौगोलिक अवस्था, पीडितको पारिवारिक पृष्ठभूमि, कसुरको पीडा, पीडित भएर पनि पीडितउपर नै धार्मिक वा सामाजिक कुसंस्कारको परिणाम स्वरूप पीडितलाई नै दागी बनाउने (stigmatization) प्रवृत्तिको फलस्वरूप कसुरको जाहेर गर्ने वा नगर्ने भन्ने कुरामा नै दुविधा हुने मनोवैज्ञानिक दबाब (psychological stress) जस्ता तत्त्वहरूले यसमा प्रभाव
पारिरहने ।" भन्ने तथा (ने.का.प.२०७५, अंक ३ नि.नं.९९६६) शान्ति धामीको जाहेरीले नेपाल सरकार विरूद्ध डिल्ली स्वाँर भएको जबरजस्ती करणी मुद्दामा "जाहेरी ढिला गरी परेको कारण सम्बन्धमा विवेचना गर्दा पीडितको परिवेशतर्फ पनि विचार पुर्याउनु पर्ने हुन्छ । अशिक्षा, अभाव, अज्ञानतासमेत रहेको समाजमा ढिला गरी जाहेरी पर्दैमा सोही कारणले मात्र वारदात नै नभएको निष्कर्षमा पुग्दा अन्यायको पृष्ठपोषण गरेसरह हुन जाने" भन्ने सिद्धान्तसमेत प्रतिपादित भइसकेको परिप्रेक्ष्यमा अन्य घटनाक्रमहरूले मालाकार रूपमा पुष्टि गरिरहेको अवस्थामा कानूनले निर्दिष्ट गरेको अवधि ६ महिनाभित्र जाहेरी पर्यो वा परेन सोलाई हेरिनु नै महत्त्वपूर्ण हुन आउँछ । यसर्थ घटना घटेको चार दिनपछि परेको जाहेरीलाई after thought भनी अन्यथा अर्थ गरी व्याख्या गरिनु तर्कसङ्गत देखिन आएन । पीडितले प्रहरी कर्मचारीहरूलाई फसाउनु पर्नेसम्मको अवस्था विद्यमान रहेको देखिन पनि आएन । जहाँसम्म घा जाँच खर्चबापतको रकम तिर्नु पर्छ भनेर आरोप लगाएको हो भन्ने तर्क छ अन्य प्राप्त प्रमाणहरूसँग तुलना गर्दा यति मात्र कारणले पीडितले सोची विचारी जाहेरी दिइन् होला भन्ने कुरामा विश्वास गर्न सकिएन । पीडितले पहिला एउटा विषयमा उजुरी दिएर उक्त उजुरीको बेहोरा फेरेको पनि
देखिएन । पीडितले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान र अदालतसमक्ष गरेको बकपत्र गर्दा कुनै नयाँ वा अर्को कुरा थप गरेको देखिएन ।
८. प्रस्तुत मुद्दामा जाहेरवालीले प्रतिवादीहरूउपर गडाउ गरी किटानी जाहेरी दिएको र सोलाई पुष्टि हुने गरी निजले मौकामा बयान तथा अदालतसमक्ष बकपत्र गरेको पाइन्छ । त्यस्तै पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा शान्ति पुनको दाहिने साप्रामा नङले चिथोरिएको निशान देखिएको, योनिको झिल्ली खुकुलो रहेको तथा पेटको दाहिनेपट्टि टल्कने सुकिसकेको पदार्थ रहेको भन्ने उल्लेख भई आएको पाइन्छ । त्यस्तै गरी वारदातको समयमा लगाएको पीडितको पेटीकोट परीक्षण गर्दा मानव वीर्य रहेको भन्ने देखिन आएको छ भने दुवै वारदातस्थलको चार किल्लाभित्र रहेको वनमा रहेका झार जंगल, खर, वनकस माडिएको तथा सालका सानो बिरूवा भाँचिएको अवस्थामा रहेको भन्ने बेहोराको घटनास्थल मुचुल्का देखिन्छ, घटनास्थल र पीडितको भनाई एकआपसमा मिलेको देखिएको, यी प्रतिवादीहरूले जाहेरवाली शान्ति पुनको घरबाट कुखुरा किनेको, पवित्रा सुनुवारको घरमा अर्को प्रतिवादी सुशीला सुनारलाई खाना पकाउन लगाई मासु भात खाई जाहेरवाली र निजको छोरासमेतलाई सँगै लिएर हिँडेकोमा जंगलको बाटोमा सँगै नभई केही अगाडि रहे भएको भनी निज प्रतिवादीहरूको बयानमा एकरूपता रहेको, पति भिमबहादुर पुन, छोरा खिमबहादुर पुन, छोरी शर्मिला पुन, मौकामा कागज गर्ने कृष्णबहादुर खड्का, चन्द्रबहादुर वली र पूर्णबहादुर वलीसमेतले गरेको मौकाको कागज एवं बकपत्रसमेतका प्रत्यक्ष एवं परिस्थितिजन्य प्रमाणहरूबाट पनि जाहेरी बेहोरालाई समर्थन गरेको देखियो । "जबरजस्ती करणीको कार्य लुकीछिपी गरिने आपराधिक कार्य भएकोले त्यसमा प्रत्यक्षदर्शी साक्षी हुन सक्दैन । यस्तो अपराधमा पीडित महिलाको भनाइलाई अन्यथा नभएसम्म सर्वमान्य प्रमाणको रूपमा लिनु पर्दछ । अन्य वस्तुगत प्रमाणले पीडितको भनाइलाई गलत साबित नगराएसम्म त्यसलाई स्वीकार गर्नु पर्ने ।..." (दिपक रावल विरूद्ध कमलादेवी खत्रीको जाहेरीले नेपाल सरकार, ने.का.प.२०७५ नि.नं.१०००७, भाग ६० अंक) भन्ने सिद्धान्त प्रतिपादन भएको पाइन्छ । निज प्रतिवादीहरू राष्ट्रसेवक प्रहरी कर्मचारी रहेको र कर्तव्यको समयमा आफूले संरक्षण गर्नु पर्ने दायित्व भएकी आफ्नो जिम्मामा रहेकी पीडितउपर गरिएको कार्य सर्वथा अस्वीकार्य हुँदा अन्य वस्तुनिष्ठ प्रमाणको अभावमा केवल प्रतिवादीको इन्कारी बयान तथा सो बयानलाई समर्थन गर्दै निजका साक्षीहरूले गरेको बकपत्रलाई मात्र ठोस आधार मान्न सकिएन ।
९. अब वादी नेपाल सरकारले लिएको प्रतिवादीहरूउपरको सामूहिक जबरजस्ती करणीको जिकिर छ सोतर्फ हेर्दा, डा. शंकरकुमार श्रेष्ठको कानूनी शब्दकोषमा - "एक जनाभन्दा बढी व्यक्तिहरूबाट हुने सामूहिक बलात्कार" त्यस्तै Cambridge dictionary मा "an occasion when a group of people use violence or threatening behavior to force someone to have sex with all of them" भनी परिभाषित गरेको पाइन्छ । प्रस्तुत वारदातमा मिति २०६७।९।१२ का दिन अभियोजित प्रतिवादीहरूमध्येका प्रहरी हवल्दार धर्मबहादुर मल्लले पुरन्धारा गा.वि.स. वडा नं.८ कुइरेपानी अप्ठ्यारो गौंडा भन्ने स्थानको सडक बाटोदेखि अं.३० मिटरभित्र अन्दाजी २ बजेतिर एकान्त जंगलमा र पछि अर्का प्रतिवादी प्रहरी जवान बालाराम चनाराले करिब ४५ मिनेटपछाडि अं.७०० मिटर पर लगी जबरजस्ती करणी गरेका हुन् भन्ने पीडितको जाहेरी बेहोरा रहेको देखिन्छ । वारदातको दिन एउटै भए पनि वारदात स्थान र समय फरकफरक परेको देखिन आयो । यस्तो अवस्थामा यी प्रतिवादी धर्मबहादुर मल्ल र प्रतिवादी बालाराम चनाराले सामूहिक जबरजस्ती करणी गरेका हुन् भनी ठहर गर्न न्यायोचित देखिएन ।
१०. प्रतिवादीमध्येकी अर्का व्यक्ति सुशीला सुनारको हकमा विचार गर्दा, जाहेरवालीले आफ्नो जाहेरी बेहोरामा यी प्रतिवादीको समेत उक्त वारदात घटाउनमा मिलेमतो रहेको, अन्य प्रतिवादीहरूलाई आँखाले इसारा गरेको भनी बेहोरा लेखाए तापनि निजउपर पर्याप्त प्रमाणको आधारमा अभियोग दाबी प्रमाणित गराउन सकेको देखिएन साथै निज प्रतिवादी मौकामा र अदालतसमक्ष समेत आरोपित कसुरमा इन्कार रही बयान गरेकोसमेतका आधार प्रमाणबाट निजको हकमा सुरू दाङ देउखुरी जिल्ला अदालत तथा पुनरावेदन अदालत तुलसीपुर दाङले गरेको फैसला मनासिब नै देखियो । अभियोग दाबीबमोजिम गरिपाउँ भनी वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता तथा अभियोग दाबीबाट सफाइ पाउनु पर्दछ भनी प्रतिवादी धर्मबहादुर मल्लको तर्फबाट बहस गर्नुहुने विद्वान् वरिष्ठ अधिवक्ता तथा अधिवक्ताको बहस जिकिरसँग सहमत हुन सकिएन ।
११. अत: सुरू दाङ देउखुरी जिल्ला अदालतले प्रतिवादीहरूलाई अभियोग दाबीबाट सफाइ दिने गरी गरेको फैसलालाई केही उल्टी हुने ठहर गरी प्रतिवादीहरू धर्मबहादुर मल्ल र बालाराम चनारालाई मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं. को कसुरमा ऐ. ३(५) नं.बमोजिम जनही ७ (सात) वर्षको दरले कैद र ऐ. महलको १० नं.बमोजिम पीडितालाई प्रतिवादीहरूबाट जनही रू.१,००,०००।- (एक लाख रूपैयाँ) क्षतिपूर्ति भराई दिने तथा प्रतिवादी सुशीला सुनारलाई सफाइ दिने गरी पुनरावेदन अदालत तुलसीपुर दाङबाट मिति २०७१।१।८ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । सामूहिक रूपमा जबरजस्ती करणी गरेको भनी तथा सुशीला सुनारलाई समेत अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन ।
१२. प्रतिवादी बालाराम चनाराको नाममा यस अदालतबाट जारी भएको सूचना म्याद निजको मृत्यु भइसकेको भनी निजका एकाघरका बुबा लक्ष्मण चनाराले मिति २०७४।११।९ मा बुझेको देखिँदा निज प्रतिवादीको मृत्यु भइसकेको पुष्टि हुन आएको देखियो । अब निजलाई सुरू जिल्ला अदालतले सफाइ दिने गरी भएको फैसलालाई पुनरावेदन अदालत तुलसीपुर, दाङले केही उल्टी गरी मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं. को कसुरमा सोही महलको ३(५) नं.बमोजिम ७ वर्ष कैद र ऐ.को १० नं. बमोजिम जाहेरवालालाई भराई दिनुपर्ने रू.१,००,०००।- क्षतिपूर्ति रकमलाई यस अदालतबाट सदर ठहर भएकोमा निज जीवित रहेको अवस्था नदेखिँदा "अपराधीसँगै अपराध मर्दछ" भन्ने कानूनी मान्यतालाई नेपाली कानूनी प्रणालीले समेत पूर्णत: स्वीकार गरेको, मुलुकी ऐन, दण्डसजायको महलको ३ नं. मा "जरिवाना, कैद वा विशौंद लागेको मानिस सो असुल नहुँदै मर्यो भने ऊ मरेपछि माफ हुन्छ .... । उसको अपुताली खाने वा जमानी हुनेलाई पक्राउ गर्न हुँदैन बिगो भराउने वा लिनु पर्ने कुरा रहेछ भने अपुताली खानेले तिर्नुपर्छ । जायजात गरी लिएपछि नपुगेको बाँकीमा अपुताली खानेलाई पक्रन
हुँदैन ।" भन्ने कानूनी व्यवस्था रहेको तथा हाल प्रचलित मुलुकी फौज्दारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १५८ मा निम्नबमोजिम व्यवस्था भएको पाइन्छ ।
(१) "अदालतबाट कसुरदार ठहरी सजाय पाएको व्यक्तिको मृत्यु भएमा मृत्यु हुँदाका बखतसम्म कार्यान्वयन हुन बाँकी रहेको सम्पूर्ण कैद सजाय वा जरिवाना स्वतः मिनाहा हुनेछ ।",
(२) मा "उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा अन्य कुनै रकम भर्नु पर्ने व्यक्तिको त्यस्तो बिगो, क्षतिपूर्ति वा रकम भराउनु अगावै मृत्यु भएमा निजको हकको सम्पत्तिबाट असुलउपर हुनेसम्म यस ऐनबमोजिम असुलउपर गरी भराई दिनु पर्नेछ ।",
(३) "उपदफा (२) बमोजिम बिगो, क्षतिपूर्ति वा रकम भराउँदा त्यस्तो व्यक्तिको सम्पत्तिले खामेसम्म क्रमशः सरकारी बिगो, क्षतिपूर्ति, निजी क्षतिपूर्ति र बिगोलाई प्राथमिकता दिई क्रमशः भराउनु पर्नेछ ।"
भन्ने व्यवस्था भएको देखिँदा निजको हकमा कैद स्वत: मिनाहा हुने तथा क्षतिपूर्ति भने भराई पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल खण्ड
माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत तुलसीपुर, दाङको मिति २०७१।१।८ को फैसला सदर हुने ठहरेकोले प्रतिवादीमध्येका बालाराम चनाराको मृत्यु भइसकेको देखिँदा पुनरावेदन अदालत तुलसीपुर दाङको फैसलाबमोजिम निजलाई लागेको कैद वर्ष ७ (सात) स्वत: मिनाहा हुने हुँदा सोको लगत कट्टा गर्नु भनी तथा निज प्रतिवादीले जाहेरवालालाई भराई दिनु पर्ने क्षतिपूर्तिबापतको रकम रू.१,००,०००।- को हकमा जाहेरवालाको दर्खास्त पर्न आए निजको हकको सम्पत्तिबाट कानूनबमोजिम भराइदिनु भनी सुरू दाङ देउखुरी जिल्ला अदालतमा लेखी पठाई दिनू --------१
प्रतिवादीमध्येका धर्मबहादुर मल्लले यस अदालतमा पुनरावेदन दायर गर्दा पुनरावेदन अदालत तुलसीपुर दाङबाट १९४ नं. को सुविधा लिई र.नं. ६० मिति २०७२।०९।२९ मा रू.१,२५,०००।– धरौटी राखेको देखिँदा निजले जाहेरवालालाई भराई दिनु पर्ने क्षतिपूर्तिबापतको रकम रू.१,००,०००।– भराई पाउँ भनी जाहेरवालाको निवेदन पर्न आए उक्त धरौटी रकमबाट भराई दिई बाँकी रकम निजलाई लागेको कैद असुलउपर भएपछि फिर्ता दिनु भनी पुनरावेदन अदालत तुलसीपुर दाङमा लेखी पठाई दिनू ---------२
फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई र जाहेरवालालाई दिनू ----------------३
यो फैसलाको प्रति विद्युतीय प्रणालीमा अपलोड गरी प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी नियमानुसार मिसिल अभिलेख शाखामा बुझाई दिनू --------------४
उक्त रायमा सहमत छु ।
न्या.तेजबहादुर के.सी.
इजलास अधिकृत : उषा श्रेष्ठ
इति संवत् २०७६ साल असार १३ गते रोज ६ शुभम् ।