निर्णय नं. १०३४९ - मानव बेचबिखन तथा ओसारपसार

सर्वोच्च अदालत संयुक्त इजलास
माननीय न्यायाधीश श्री दीपककुमार कार्की
माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की
फैसला मिति : २०७५।११।२३
०७४-CR-००६७
मुद्दाः- मानव बेचबिखन तथा ओसारपसार
पुनरावेदक / प्रतिवादी : जिल्ला सर्लाही वरहथवा गा.वि.स. वडा नं.३ घर भई हाल कैद तथा जरिवानाबापत हाल कारागार कार्यालय महोत्तरी जलेश्वर थुनामा रहेको श्यामकुमार राम
विरूद्ध
प्रत्यर्थी / वादी : जोगेन्द्र चमारसमेतको जाहेरीले नेपाल सरकार
कानूनले आफ्नो निर्दोषिता प्रमाण गर्ने भार प्रतिवादीमा सारेको कारणले अभियोजन पक्षको उक्त दायित्व सीमित हुने वा समाप्त नहुने ।
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ९ ले प्रमाणको भार प्रतिवादीमा सारेको भए पनि अभियुक्तले गरेको कसुरको गहन अनुसन्धान गर्ने, कुन कानूनको उल्लङ्घन के कसरी भयो, कानूनको परिधिबाहिर गई भएको कार्य के कुन प्रमाणद्वारा पुष्टि गर्न सकिन्छ त्यसतर्फ अभियोजन पक्ष आफ्नो दायित्वबाट पन्छिन नमिल्ने ।
(प्रकरण नं.५)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री विमला यादव
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री हरिहर पौडेल
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४
सुरू तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री दलबहादुर के.सी.
सर्लाही जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
माननीय न्यायाधीश श्री रमेशबहादुर थापा
पुनरावेदन अदालत जनकपुर
फैसला
न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-
मिति २०७०।४।७ गते अं.१८:०० बजेको समयमा मेरो कमाण्डमा खटिएका प्रहरी गस्ती टोली गस्ती गर्दै जिल्ला सर्लाही म.न.पा.वडा नं.८ स्थित पुग्दा मलंगवाबाट सोनवर्षातर्फ २ जना केटा र २ जना केटीसमेत मिली गइरहेको अवस्थामा निजहरूलाई रोकी सोधपुछ गर्दा जिल्ला सर्लाही बरहथवा ३ बस्ने वर्ष २७ को श्यामकुमार राम, ऐ.बस्ने वर्ष १७ की राधाकुमारी राम, ऐ.बस्ने अ.वर्ष १६ को रिनाकुमारी राम र ऐ. म.न.पा.७ बस्ने अ.वर्ष २० को सनाउलाह मंसुरी बताएकोमा निज श्याम र सनाउलाह मंसुरीसमेतले ती २ जना केटीहरूसँग विवाह गर्न भारतको दिल्लीमा लगी जागिर गरेर बस्छु भनी बताउनुको साथै निज श्याम र सनाउलाहसमेतले केटीहरूलाई भारतको वेश्यालयमा लगी बेचबिखन गर्न लागेको बुझिन आएकोले निजहरूलाई पक्राउ गरी दाखिला गरेको छु । कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको प्र.ह.सुबोधकुमार मिश्रसमेतको प्रतिवेदन ।
म जाहेरवाला कपलेश्वर चमारको छोरी राधाकुमारी र जोगेन्द्र चमारको छोरी रिनाकुमारी रहेको, हामी जाहेरवालाहरू गरिब व्यक्ति भएकोले बाहिर जाने गरेको कारण निज अपराधीमध्येका श्यामकुमार राम गाउँकै छिमेकी हुन् । निज विपक्षीले हाम्रो छोरीलाई जागिर लगाइदिन्छु भनी विभिन्न किसिमका प्रलोभनमा पारी जानकारी नदिई मिति २०७०।४।७ गते बिहान १० बजेको समयमा सोमवारी व्रतको बहाना बनाउन लगाई घरबाट फकाई भारततर्फ लगिरहेकोमा जिल्ला सर्लाही म.न.पा. वडा नं. ८ स्थित गोरखकाली चेकपोस्टमा खटिएका प्रहरीले रोकी सोधपुछ गर्दा निज विपक्षीहरूले छोरीहरूलाई भारततर्फ बेचबिखन गर्ने उद्देश्यले लगिरहेको अवस्थामा पक्राउ परेको कुरा थाहा पाएकोले निज विपक्षीहरूलाई बेचबिखन मुद्दामा आवश्यक कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जोगेन्द्र चमारसमेतको जाहेरी ।
जिल्ला सर्लाही बरहथवा गा.वि.स. वडा नं.३ बस्ने दुखी रामको छोरा अ.वर्ष २२ को श्यामकुमार राम मेरो छिमेकी भएकोले निजसँग चिनजान भई बोलचाल भएको थियो । निजको आमाबाबु भारतमा बसी ज्याला मजदुरीको काम गर्दै आएका थिए । श्यामकुमार रामको बिहे भएपश्चात् ५ वटा छोराछोरीको जाय जन्म भएको र निज छोराछोरीहरू छँदै छन् । म ५ कक्षामा पढ्दै गर्दा पढ्न छाडेको छु । श्यामकुमार रामसँग भेटघाट हुँदा निज मसँग बिहे गर्छु र भारतमा लगी जागिर लगाई दिन्छु भनेकोले ठिकै जस्तो लागि हुन्छ भनिदिए । सो कुरा आमाबुबालाई जानकारी दिएको थिएन । श्यामकुमार रामले आफ्नो साथी जिल्ला सर्लाही म.न.पा. वडा नं. ७ बस्ने सनाउलाह मंसुरीसँग कुराकानी गरी मिलाइराखेको थियो । त्यसैगरी सनाउलाहले मेरो छिमेकी रिनाकुमारी रामलाई फकाई प्रलोभनमा पारी बिहे गर्छु भनेको थियो । मिति २०७०।४।७ गते अ.११ बजे बरहथवा बजारमा बोलाएकोमा म बसपार्कमा पुग्दा श्यामकुमार राम, सनाउलाह र रिना कुमारी रामसमेत पहिलादेखि बसेका थिए । त्यसपछि हामी चारैजना मलंगवा आउने बसमा चढेको र बस भाडा सनाउलाहले दिइसकेको थियो । अ.५ बजेतिर बसबाट मलंगवामा पुगी ओर्ली त्यहाँबाट चारै जना पैदल मलंगवाबाट भारत सोनवर्षातर्फ जाँदै गर्दा गोरखकाली नजिक पुग्दा प्रहरीले पक्राउ गरेका हुन् । निज श्यामकुमार राम र सनाउलाहसमेतले म र मेरो छिमेकी रिनाकुमारी रामलाई बिहे गर्छु भनी ललाई फकाई प्रलोभनमा पारी भारत दिल्लीतर्फ लगी बिक्री गर्ने उद्देश्यले लगेको हो भन्नेसमेत बेहोराको पीडित राधाकुमारी रामले गरेको कागज ।
म करिब ६ महिना पहिला मामा नाता पर्ने जि.स. लक्ष्मीपुर गा.वि.स. वडा नं. ५ बस्ने देवेन्द्र रामको छोरी मिर्करा कुमारीको बिहेमा गएको थिएँ । सोही बिहेमा ऐ. म.न.पा. वडा नं. ७ बस्ने सनाउलाह मंसुरी ऐ. लक्ष्मीपुर ५ मा नानीको घरमा बस्दै आएकोले निजसँग भेटघाट भई कुराकानी भएको
थियो । त्यसपछि म आफ्नो घरमा गएको बेला सनाउलाह मंसुरीले आफ्नो मोबाइल नम्बरबाट बाबुको मोबाइलमा फोन गरेर निजसँग कुराकानी हुँदै आएको थियो । मिति २०७०।४।७ गतेका दिन बरहथवा बजारमा अन्दाजी ११ बजेतिर आउने भनी हामी चारैजनाको सल्लाह भएअनुसार आमाबाबुलाई जानकारी नदिई आफ्नो घरबाट निस्की बरहथवा बजारतर्फ आउँदै गरेको क्रममा श्यामकुमार रामसँगै रहेकी राधाकुमारीसमेतसँग भेटघाट भएकोले तीनैजना बसपार्कमा पुग्दा पहिलादेखि नै सनाउलाह मंसुरी बसिरहेको थियो । श्यामकुमार रामले राधाकुमारीसँग र सनाउलाहले मसँग बिहे गर्छु, जागिर लगाई दिन्छु भनी प्रलोभनमा पारी म तथा राधाकुमारी र निज श्याम र सनाउलाहसमेत बसमा चढिसकेपछि बस भाडा सनाउलाहसमेतले दिएको थियो । त्यसपछि मलंगवामा आई बसबाट ओर्ली मलंगवाबाट हामी चारैजना सोनवर्षातर्फ जान लागेको अवस्थामा पक्राउ परेको हो । निज श्याम र सनाउलाहसमेतले बिहे गर्छु भनी प्रलोभन देखाई भारततर्फ लगी बिक्री गर्ने मनसायले लगेको हो भन्नेसमेत बेहोराको पीडित रिनाकुमारी रामले गरेको कागज ।
हामी निवेदकहरूको छोरी रिनाकुमारी र राधाकुमारीसमेतलाई विपक्षी श्यामकुमार राम र सनाउलाह मंसुरीसमेतले ललाई फकाई भारतमा बेच्ने मनसायले लगेकोमा निजहरूउपर बेचबिखन मुद्दामा कारबाही गरिपाउँ भन्ने महिला तथा बालबालिका कार्यालय सर्लाहीको च.न.५ मिति २०७०।४।८ गतेको पत्रसाथ जोगेन्द्र रामसमेतको निवेदन ।
म भारतको दिल्लीमा १।२ वर्ष जति बसेर घरमा पेन्ट गर्ने काम गर्थें, त्यसपछि पञ्जाबमा ७।८ वर्ष बसेर काम गरेको हुँ । मेरो साथी प्रतिवादी सनाउलाह मंसुरीले पनि भारतको सुरत भन्ने ठाउँमा बसी साडीमा जडी भर्ने काम गरी आएको हुँदा प्रतिवादी सनाउलाह पीडित रिनाकुमारी रामसँग र मैले राधाकुमारी रामसँग भारत पञ्जाबमा गएर विवाह गर्ने र उतै काम गरेर बस्ने भनी म तथा प्रतिवादी सनाउलाह मंसुरीले पीडित रिना र राधासमेतलाई ललाई फकाई बिहे गर्छु भनी प्रलोभनमा पारी निज पीडितहरूलाई बरहथवाबाट साथी सनाउलाहलाई मलंगवासम्म लिएर आऊ म घरबाट ससुराली विराटनगरमा जान्छु; तिमी केटीहरूलाई लिएर आएमा फोन गर्नु, म आउँछु भनी सल्लाह गरे । सोही सल्लाहअनुसार सनाउलाहले केटीहरूलाई लिएर आएपछि मलाई फोन गरेकोले म विराटनगरबाट मलंगवा आइपुगी निजहरू तीनजनासँग भेटघाट भई चारैजनासँगै भारततर्फ पैदल जाँदै गर्दा नेपाल भारत सिमाना नजिक गोरखकाली भन्ने स्थानमा प्रहरीले पक्राउ गरेको हो । निज केटीहरूसँग बिहे गर्ने मनसायले भारतको दिल्लीमा जान लागेको हो भन्नेसमेत बेहोराको प्रतिवादी श्यामकुमार रामको बयान ।
मेरो ५।६ महिनाअघिदेखि रिनाकुमारी रामसँग भेटघाट भई प्रेम प्रसङ्ग चलेपछि बिहे गर्ने कुरा भएको थियो र बारम्बार मोबाइलबाट निज रिनाकुमारीको मोबाइल नं.९८१५८४४३११ मा कुरा भई तिमीसँग बिहे गर्छु तर भारतको दिल्लीमा गएर गर्ने, उतै काम पनि गर्ने भनी सल्लाह भएको र सोही क्रममा राधाकुमारी रामको प्रतिवादी श्यामकुमार रामसँग प्रेम प्रसङ्ग पहिलेदेखि भएकोले चारैजना सँगै जाने सल्लाह भएको थियो । घरबाट कसरी जाने भनी २ दिनअगाडि नै म ससुराली जान्छु तिमी मेरो मोबाइलमा फोन गर, म आउँछु भनी मोबाइलबाट सल्लाह भएअनुसार रिनाकुमारी र राधाकुमारीलाई तिमीहरू श्रावण महिनाको सोमवारी महादेवको व्रत बसेको बहाना बनाई बरहथवा बजारमा आउ भनी सल्लाह भएपछि रिनाकुमारी र राधाकुमारी आफ्नो घरबाट बरहथवा बजारमा आएपछि मैले मलंगवा जाने बसको टिकटको व्यवस्था मिलाई प्रतिवादी श्यामकुमार रामको मोबाइल नं.९८१७६१८६६६ मा फोन गरी तपाइँ तुरून्त मलंगवा आउनु केटीहरू ल्याइसकेको छु भनी कुरा गरिसकेपछि निज श्यामकुमार राम बस चढेर मलंगवा आइसकेकोमा हामी चारैजना सँगै मलंगवाबाट सोनवर्षातर्फ पैदल गइरहेको अवस्था गोरखकाली भन्ने स्थानमा प्रहरीले पक्राउ गरेको
हो । मैले बिहे गर्ने उद्देश्यले भारतको दिल्लीतर्फ लैजान लगेको हो भन्नेसमेत बेहोराको प्रतिवादी सनाउलाह मंसुरीको बयान कागज ।
मिति २०७०।४।७ गते साँझ अन्दाजी ६ बजेको समयमा दुईजना केटीलाई दुईजना केटाहरूले साथमा लिई मलंगवातर्फबाट भारतको सोनवर्षा पैदल गइरहेको अवस्थामा जिल्ला सर्लाही म.न.पा. वडा नं.८ स्थित गोरखकालीमा गस्तीमा रहेका प्रहरी टोलीले निजहरूलाई रोकी सोधपुछ गर्दा जिल्ला सर्लाही बरहथवा ३ बस्ने वर्ष २२ को श्यामकुमार राम, ऐ.बस्ने वर्ष १७ की राधाकुमारी राम, ऐ.बस्ने अ.वर्ष १६ को रिनाकुमारी राम र ऐ.म.न.पा.७ बस्ने अ.वर्ष २० को सनाउलाह मंसुरी र हामी भारतको दिल्लीतर्फ जान लागेको र सनाउलाह रिना कुमारीसँग र श्यामकुमार राम राधाकुमारीसँग विवाह गर्ने, उतै काम गरेर बस्ने गरी जान लागेका हौं भनी बताएकोमा निजहरूउपर शङ्का लागी प्रहरीले पक्राउ गरेको सुनी थाहा पाएको हुँ । प्रतिवादी श्यामकुमार रामसमेतले ती दुईजना केटीहरूलाई भारतको दिल्लीमा लगी बेचबिखन गर्ने उद्देश्यले ललाई फकाई विवाह गर्छु भनी प्रलोभन देखाई घरको अभिभावकलाई जानकारी नदिई भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेको हो भन्नेसमेत बेहोराको संजयकुमार राउतसमेतले गरेको घटना विवरण कागज ।
प्रतिवादी श्यामकुमार राम र सनाउलाह मंसुरीले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष बयान कागज गर्दा पीडित रिनाकुमारी र राधाकुमारीलाई विवाह गर्ने र भारतमै काम लगाई दिने भनी झुक्याई निजलाई भारत लैजान लागेको हो, विवाह गर्ने र विदेश लैजाने सम्बन्धमा पीडितका पिताहरूलाई कुनै थाहा जानकारी छैन । हामीले आफूखुसी पीडितलाई फकाई बोलाई योजना बनाई लगेको हो भनी कसुरमा पूर्ण रूपमा साबित भई पारस्परिक पोल गरेको
पाइन्छ । अनुसन्धानमा बुझिएका संजयकुमार राउतसमेतका घटना विवरण कागज गर्ने व्यक्तिले २०७०।४।७ गते साँझको समयमा राधाकुमारी र रिनाकुमारी नाम गरेका २ जना केटीहरूलाई प्रतिवादी श्यामकुमार राम र सनाउल्लाह मंसुरीले फकाई दिल्ली लैजाने उद्देश्यले भारत सोनवर्षातर्फ लैजाँदै गर्दा मलंगवा न.पा. वडा नं. ८ स्थित सडकमा पक्राउ परेको भनी प्रतिवादीहरूलाई किटान गरी लेखाइदिएको आधार प्रमाणहरूवाट प्रतिवादी श्यामकुमार राम र सनाउल्लाह मंसुरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(क) अनुरूप किन्ने बेच्ने उद्देश्यले पीडितलाई विदेश लैजान लागेकाले निज प्रतिवादीहरूलाई सो ऐनको दफा ४(२)(क) एवं दफा ३ अनुरूपको कसुर अपराधमा सोही ऐनको दफा १५(१)(ङ) को देहाय १ बमोजिम सजाय भई दफा १७ बमोजिम पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराइ पाउनु पर्ने भन्नेसमेत बेहोराको अभियोग मागदाबी ।
मिति २०७०।४।७ गतेका दिन म बिहानतिर बरहथवा बजारमा थिएँ । त्यहाँबाट रिना र राधालाई लिई मलंगवा आएँ । मित्र श्यामकुमारसँग भेट भई ४ जना मजदुरीको लागि भारततर्फ जान लाग्दा प्रहरीले पक्राउ गरेका हुन् । प्रतिवादी श्यामसँग विदेशमा कामको सिलसिलामा मेरो भेटघाट मित्रता भएको हो । फोनमा सुख दु:ख गफ हुन्थ्यो । जाहेरी दरखास्त बेहोरा झुठ्ठा हो । म मुसलामान जातिको र रिना हिन्दू जातिकी हुन् । रिनासँग माया प्रेम भएकोले अभिभावकहरूसँग भय डर भएकोले भारततिरै बिहे गरी श्रीमान् श्रीमती भई बस्ने, काम गर्ने, जीवन बिताउने रहर थियो । हाम्रो जाति पनि नमिल्ने हुँदा निज रिनाको पिताले मलाई फसाउन झुठ्ठा जाहेरी गरेको हुन् भन्नेसमेत बेहोराको प्रतिवादी सनाउलाह मंसुरीले अदालतमा गरेको बयान ।
मिति २०७०।४।७ गते बेलुका ५:३० बजे उक्त व्यक्तिहरूसँग मेरो यही मलंगवा बसपार्कमा भेटघाट भएको हो । जाहेरी दरखास्त झुठ्ठा हो । मेरो राधाकुमारीसँग करिब ८/९ महिनादेखि प्रेम, शारीरिक सम्बन्ध थियो । राधाले हाम्रो सम्बन्ध गाउँ घरमा फैली नराम्रो हुन्छ, तपाइँ भारतमा काम गर्नुहुन्छ, उतै गई विवाह गरी बसौं भनेकी र मलाई पनि बाबुआमा परिवार छिमेकीदेखि डराइरहनु परेकोले उतै लगी विवाह गरी बस्ने निधो गरी भारत जान लागेको बखत प्रहरीले पक्राउ गरेका हुन् । केटीलाई बिक्री गर्ने उद्देश्यले नलगी श्रीमती बनाई राख्ने गरी लान खोजेको थिएँ भन्नेसमेत बेहोराको प्रतिवादी श्यामकुमार रामले गरेको बयान ।
मिति २०७०।४।८ को बयान कागज र सोमा भएको सहिछाप मेरो हो । बेहोरा प्रहरी आफैँले लेखेको हो । मेरो र प्रतिवादी श्यामकुमार रामबिच मिति २०६९ साल फागुन महिनादेखि चिनजान भएको छ । प्रतिवादी श्यामकुमारको घरमा श्रीमती र ५ छोराछोरी छन् । म र श्यामकुमार तथा रिनाकुमारी र सनाउलाहसमेत भई भारतमा विवाह गर्न जान विचार गरी हिँडेको अवस्थामा हामीलाई पक्राउ गरेको हो । निज प्रतिवादीहरूले हामीलाई वेश्या बनाउने उद्देश्यले लगेको होइन । विवाह गर्ने उद्देश्यले हामी हिँडेको हौं भन्नेसमेत बेहोराको पीडित राधाकुमारी रायले गरेको बकपत्र ।
मिति २०७०।४।८ को बयान कागज र सोमा भएको सहिछाप मेरो हो । करीब ७/८ महिना पहिले मामाघर लक्ष्मीपुर मेरो मामाको छोरीको विवाहमा गएको थिएँ सोही अवस्थामा निज प्रतिवादी सनाउलाहको मामाघर लक्ष्मीपुरमा भएकोले त्यहीबाट चिनजान भई मोबाइलसमेतबाट कुराकानी हुँदै आएको हो । सनाउलाहको विवाह भएको छैन । घरमा सरसल्लाह थिएन । हामी आफ्नो मन्जुरले विवाह गर्न भनी घरबाट भागेको हौं भन्नेसमेत बेहोराको पीडित रिनाकुमारी रामले गरेको बकपत्र ।
प्रतिवादीहरूको जाहेरवाली राधाकुमारी तथा रिना रामसँग क्रमशः श्यामकुमार महरा र सनाउलाहसँग धेरै दिन अगाडिदेखि प्रेम सम्बन्ध
थियो । गाउँ समाजको डरले प्रतिवादीहरूले उनीहरूसँग बिहे गर्न उनीहरूको राजीखुसीले नै लगेका हुन् । ललाई फकाई बेचबिखन गर्ने उद्देश्यले लगेको होइन भन्नेसमेत बेहोराको प्रतिवादीहरूको साक्षी विरेन्द्र रामले गरेको बकपत्र ।
प्रतिवादी सनाउलाह र पीडित रिनाकुमारीको माया प्रेम चलेको हुँदा निजहरू बिहे गर्न भनी घरबाट भागेर भारतको दिल्ली जाँदै थिए । प्रहरीले मलंगवाको गोरखकालीनिर पक्राउ गरेको हो । निज युवतीलाई प्रतिवादीले बेच्न लगेको थिएन भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी सद्दाम मन्सुरले गरेको बकपत्र ।
मिति २०७०।४।७ गतेका दिन केटाकेटी मिली भागेको तथा गोरखाली चौकीमा पक्राउ परेपछि जानकारी गराएपछि घटनाको बारेमा थाहा पाएको हुँ । जाहेरी दरखास्तको सहिछाप मेरै हो । हामी चारजना भई महिला कार्यालयमा गई जाहेरी दरखास्त लेखाएका थियौं भन्नेसमेत बेहोराको जाहेरवाला जोगिन्द्र रामले गरेको बकपत्र ।
प्रतिवादीहरू पक्राउ परी मलाई जानकारी भएपछि यो घटनाको बारेमा थाहा भएको हो । प्रहरीले नै मेरी छोरीबाट लिएको बयान र लेखाएको कुराबाट प्रतिवेदन दिएको हो । जाहेरीको सहिछाप मेरो हो । बेहोरा कानूनबमोजिम महिला कार्यालयमा लेखाएका हुन् । मैले केही लेखाएको छैन भन्नेसमेत बेहोराको जाहेरवाला कपलेश्वर चमारले गरेको बकपत्र ।
यस मुद्दामा मैले प्रतिवेदन दिएको हुँ । मेरो कमाण्डमा मिति २०७०।४।७ गते दिउँसो ४:०० बजेको समयमा मलंगवा न.पा. वडा नं.८ को गोरखकाली भन्ने ठाउँमा गस्ती गर्ने क्रममा सो ठाउँमा २ जना केटा २ जना केटी मलंगवाबाट सोनवर्षा जाने क्रममा हामीलाई शङ्का लागी सोधपुछ गर्दा हामी बिहे गर्नलाई दिल्लीतर्फ जाँदै छौं । उतै जागिर गरेर बस्छौं भनेका थिए । तर हामीलाई सिमा नजिक भएकोले भारततिर लगी बेच्ने हुन् कि भन्ने शङ्काले निजहरूलाई पक्री जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाएका हौं भन्नेसमेत बेहोराको प्रतिवेदक सुबोधकुमार मिश्रले गरेको बकपत्र ।
प्रतिवादी श्यामकुमार महरा र सनाउलाह मंसुरीले रिनाकुमारी र राधाकुमारीलाई बिहे गर्ने, जागिर लगाइदिने प्रलोभन देखाई बेच्ने उद्देश्यले भारततर्फ लान बरहथवादेखि मलंगवासम्म ल्याई पुर्याएको पुष्टि भएकोले निज प्रतिवादीहरूले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा ४(२)(क) अनुरूपको कसुर अपराध गर्ने उद्योग गरेको पुष्टि भएको र पीडित दुवैजना बालिका भएकोले ऐ.ऐनको दफा १५(१)(ङ) को देहाय (१) ले हुने सजायमा ऐ. ऐनको दफा १५(१)(ज) बमोजिम आधा जनही ८ वर्ष कैद र रू.७५,०००।– जरिवाना हुने ठहर्छ भन्ने सुरू सर्लाही जिल्ला अदालतको मिति २०७१।७।२४ गतेको फैसला ।
पीडितहरूले हामीलाई सफाइ दिई बकपत्र गरेको छ । सो बकपत्र बेहोरालाई प्रमाणको रूपमा ग्रहण नगरी अदालतबाहिरको कागज बेहोरालाई अन्यथा भन्न मिल्दैन भनी तार्किक आधार लिई भएको सुरू सर्लाही जिल्ला अदालतको मिति २०७१।७।२४ गतेको फैसला उल्टी गरी पूर्ण रूपले सफाइ पाउँ भन्ने पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन अदालत जनकपुरमा पेस भएको पुनरावेदनपत्र ।
पीडितले अदालतमा गरेको बकपत्रसमेतको सन्दर्भमा सुरू जिल्ला अदालतबाट कसुर कायम गर्ने गरी भएको फैसला विचारणीय देखिँदा अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलको लागि प्रत्यर्थीहरूलाई झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत जनकपुरको मिति २०७२।३।२ गतेको आदेश ।
पुनरावेदन सरकारी वकिल कार्यालय जनकपुरबाट फौ.पु.नं.०७१-CS-०५७७ को पुनरावेदनपत्र दर्ता भएको भनी बहसको क्रममा छलफल हुँदा उक्त पुनरावेदनपत्र साथै राखी नियमानुसार पेस गर्नु भनी पुनरावेदन अदालत जनकपुरबाट मिति २०७२।३।१६ मा भएको आदेश ।
प्रतिवादीहरूलाई अभियोग दाबीअनुसारको कसुरको उद्योग गरेको देखिएको भनी उद्योगतर्फ सजाय गर्ने गरी भएको हदसम्मको सुरू सर्लाही जिल्ला अदालतको मिति २०७१।७।२४ गतेको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला सो हदसम्म बदर गरी प्रतिवादीहरूलाई सुरू अभियोग दाबीअनुसार सजाय गरी पीडितहरूलाई क्षतिपूर्तिसमेत दिलाई भराइ पाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत जनकपुरमा परेको पुनरावेदनपत्र ।
प्रतिवादीहरू श्यामकुमार रायसमेत पुनरावेदक विपक्षी नेपाल सरकार भएको स.फौ.नं.०७१-CS-०५०३ को मानव बेचबिखन तथा ओसारपसार मुद्दामा मिति २०७२।३।२ मा प्रत्यर्थी झिकाउने आदेश भएको र प्रस्तुत नेपाल सरकारको पुनरावेदनपत्रमा प्रत्यर्थी झिकाइएको नदेखिँदा वादी नेपाल सरकारको तर्फबाट परेको मुद्दामा पनि अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु साथै प्रतिवादी सनाउल्लाह अन्सारीको तर्फबाट प्रतिरक्षार्थ कानून व्यवसायी नियुक्त भएको नदेखिँदा निजको हकमा प्रतिरक्षा गर्न वैतनिक कानून व्यवसायीलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भनी पुनरावेदन अदालत जनकपुरबाट मिति २०७२।५।२ मा भएको आदेश ।
यी प्रतिवादीहरूले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(क) अनुसारको कसुर उद्योग गरेको ठहराई यी प्रतिवादीहरूलाई जनही ८ वर्ष कैद र जरिवाना जनही रू.७५,०००/- हुने ठहर्याई सुरू सर्लाही जिल्ला अदालतबाट मिति २०७१।७।२४ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने बेहोराको पुनरावेदन अदालत जनकपुरबाट मिति २०७३।३।२९ मा भएको फैसला ।
प्रतिवादीहरू र पीडित भनिएकी राधाकुमारी राम र रिनाकुमारी राम विवाह गर्ने उद्देश्यले जान लागेको भनी स्वयं प्रतिवेदक कथनबाट नै पुष्टि भइरहेको अवस्था छ । त्यस्तै जाहेरवाला जोगेन्द्र चमार र कपलेश्वर चमारको जाहेरीमा समेत गोरखकाली चेकपोस्टमा सोधपुछ गर्दा “निज अभियुक्तहरूले सबै कुरा बताउँदा सोही पोस्टमा रहेको प्रहरीले जानकारी गराउँदा थाहा पाई” भनी भन्नुभएको छ । प्रहरी कर्मचारीले प्रहरी प्रतिवेदनको बेहोरा जाहेरवालालाई जानकारी गराएको हुन् भनी अनुमान गर्नुपर्ने हुन्छ र उक्त प्रहरी प्रतिवेदनमा समेत विवाह गर्न भारतको दिल्लीतर्फ जान लागेको भनी उल्लेख गरिएबाट प्रहरी प्रतिवेदन तथा जाहेरी बेहोराको मात्रै आधारमा मलाई कसुरदार भनी भन्न मिल्दैन । “फौजदारी मुद्दामा जाहेरी दरखास्त आफैँमा प्रमाण होइन, प्रमाण हुन सक्दैन केवल अपराध अनुसन्धानको आधार मात्र हुन सक्छ, त्यसलाई स्वतन्त्र आधार प्रमाणहरूबाट पुष्टि भएको हुनुपर्छ, स्वतन्त्र र निर्विवाद सबुत प्रमाणहरूबाट आरोपित कसुरको पुष्टि हुनुपर्दछ ....” भनी सम्मानित सर्वोच्च अदालतबाट (ने.का.प.२०५६, अंक १, नि.नं.६३५६) मा न्यायिक सिद्धान्त प्रतिपादित भएको छ । केवल शङ्काको आधारमा दिइएको जाहेरी र सोही आधारमा भएको फैसला सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिरसमेतको प्रतिकूल रहेको छ । म प्रतिवादी श्यामकुमार रामले अनुसन्धान अधिकारी तथा अदालतमा बकपत्र गर्दासमेत आरोपमा इन्कारी रहेको छ । प्रहरीले हामीलाई सोधपुछ गर्दाकै अवस्थामा नै एक अर्काको सल्लाहमा हामी विवाह गरी सँगै बस्ने उद्देश्यले दिल्ली जान लागेको भनी भनेका थियौं । प्रहरीले राधाकुमारी रायसँग निजको बुबाको फोन नम्बर लिई प्रहरीले कपलेश्वर चमार तथा जोगेन्द्र चमारलाई फोन गरी तपाइँँको छोरी विवाह गर्न भारत जाँदै छन्, तपाइँको मन्जुरी छ भनी सोध्दा जाहेरवालाहरू तत्कालै आई ममाथि मानव बेचबिखनको झुठा जाहेरी दिएका हुन् । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा (४)(२)(क) बमोजिमको अपराध पुष्टि गर्ने कुनै पनि तत्त्वहरू विद्यमान भएको अवस्था छैन र सोबमोजिमको कार्यलाई पुष्टि गर्ने आवश्यक अपराधका तत्त्वहरू वादी पक्षबाट पुष्टि गर्न सकेको अवस्थासमेत छैन । प्रतिवेदक स्वयं सर्लाही जिल्ला अदालतसमक्ष आई बकपत्र गर्दाको अवस्थामा स.ज.१ मा “....२ जना केटा र २ जना केटीलाई शङ्का लागी सोधपुछ गर्दा हामी बिहे गर्न दिल्लीतर्फ जाँदै छौ” भनी भनेको कुरा प्रतिवेदकबाट पुष्टि भएको अवस्था छ । सोही कुराको पुष्टि स्वयं पीडित भनिएकी राधाकुमारी रायले अदालतमा बकपत्र गर्दा विवाह गर्न हामी हिँडेको हौं बेच्ने उद्देश्यले हामीलाई लगेको होइन, हामी स्वेच्छाले गएको भनी बकपत्र गरिएको अवस्था छ । त्यस्तै प्रतिवेदक तथा पीडित भनिएकी राधाकुमारी रायसमेतले अदालतसमक्ष गरेको बकपत्रलाई प्रमाणको रूपमा ग्रहण गर्नुपर्ने हुन्छ । अनुसन्धान अधिकारीले अनुसन्धानको क्रममा तयार गरेको कुनै कागजबाट म निवेदक मानव बेचबिखन पेसामा संलग्न छु भनी अकाट्य प्रमाण पेस गर्न सक्नुभएको छैन । यस अवस्थामा केवल शङ्काको आधारमा ममाथि मुद्दा चलाई मलाई सजाय हुने गरी भएको फैसला कानूनसम्मत छैन । अतः मेरो निवेदनको आधारमा न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) को (क) र (ख) नं. बमोजिम पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला दोहोर्याई हेर्ने निस्सा प्रदान गरी सुरू जिल्ला अदालतले म निवेदकलाई दोषी ठहर गरी भएको फैसलालाई नै सदर हुने गरी पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने श्यामकुमार रामको यस अदालतमा परेको मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदनपत्र ।
पीडितले अदालतसमक्ष गरेको बकपत्रमा विवाह गर्ने उद्देश्यले भारतर्फ जान लागेको अवस्थामा पक्राउ परेको भनी उल्लेख भएको र बिक्री गर्ने वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले लगेको भन्ने तथ्य प्रमाणबाट समर्थित हुन आएको नदेखिएको अवस्थामा कसुरदार ठहर गरेको पुनरावेदन अदालत जनकपुरको ०७३।३।२९ को फैसलामा मानव तथा ओसारपसार ऐन, २०६४ को दफा ४(२)(क) र (ख) दफा १५(१)(ज), प्रमाण ऐन, २०३१ को दफा ३, ५४, मुलुकी ऐन, अ.बं १८४ क नं.समेतको व्याख्यात्मक त्रुटि कायम रहेको देखिँदा न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) को अवस्था विद्यमान रहेको पाइएकोले मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान गरिदिएको छ । सुरू र भए प्रमाण मिसिलसमेत सम्बन्धित अदालतबाट झिकाई महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने यस अदालतबाट मिति २०७४।४।१९ मा भएको आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री विमला यादवले पीडित र प्रतिवादीबिच प्रेम सम्बन्ध भई एक आपसमा विवाह गरी सँगै बस्ने सल्लाह भएको र उनीहरूबिचको सम्बन्धलाई घर परिवारले स्वीकार नगर्ने भएका कारण नै अन्यत्र गई विवाह गरी सँगै बस्ने, सँगै काम गर्ने सल्लाह भई हिँडेको अवस्थामा नेपाल भारत सीमा भएका कारण केटाकेटी हिँडेको देखी प्रहरीले शङ्काको भरमा पक्राउ गरेको र पक्राउपछि अभिभावक बोलाई जाहेरी दिन लगाएको अवस्था हुँदा यी प्रतिवादीलाई मानव बेचबिखन उद्योग ठहर गरेको सुरू र पुनरावेदनको फैसला त्रुटिपूर्ण
छ । प्रतिवेदक स्वयं अदालतमा आई शङ्काको भरमा मात्र पक्राउ गरेको भनी लेखाएका छन् भने पीडितले हामी राजीखुसीले विवाह गर्न हिँडेको हो प्रतिवादीले ललाई फकाई गरेको होइन, बिक्री गर्ने उद्देश्यले लगेका पनि होइनन् भनी अदालतमा उपस्थित भई बकपत्र गरेकोसमेत हुँदा यी प्रतिवादी श्यामकुमार रामसमेत निर्दोष हुँदा पुनरावेदन अदालतको फैसला उल्टी गरी प्रतिवादीले सफाइ पाउनुपर्छ भनी बहस प्रस्तुत
गर्नुभयो । प्रत्यर्थीतर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री हरिहर पौडेलले प्रतिवादीले विवाहको बाहना बनाई ललाई फकाई दिल्ली पुर्याउने र उतै बिक्री गर्ने उद्देश्य राखेको हुँदा निजहरूलाई सजाय गर्ने गरी सुरू र पुनरावेदन अदालतबाट भएको फैसला मनासिब हुँदा सदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
अब प्रस्तुत मुद्दामा प्रतिवादीहरूलाई मानव बेचबिखन तथा ओसारपसारको उद्योग गरेको ठहर्याई भएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत जनकपुरको मिति २०७३।३।२९ को फैसला मिलेको छ, छैन र प्रतिवादीको पुनरावेदन जिकिर पुग्ने हो वा होइन ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी श्यामकुमार राम र सनाउलाह मंसुरीले पीडित रिनाकुमारी र राधाकुमारीलाई विवाह गर्ने र भारतमै काम लगाई दिने भनी झुक्काई भारततर्फ लाँदै गरेको अवस्थामा पक्राउ परेकोले प्रतिवादीहरूलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(क) एवं दफा ३ बमोजिमको कसुर अपराधमा ऐ. दफा १५(१)(ङ)(१) बमोजिम सजाय गरी प्रतिवादीहरूबाट पीडितलाई ऐ. दफा १७ बमोजिम क्षतिपूर्तिसमेत भराइ पाउँ भन्ने अभियोग मागदाबी भएकोमा प्रतिवादीहरूलाई मानव बेचबिखन उद्योग ठहर गरी ऐ. दफा १५(१)(ज) बमोजिम अभियोग मागदाबीको हुने सजायको आधा सजाय अर्थात् जनही ८(आठ) वर्ष कैद र रू. ७५ हजार जरिवाना हुने ठहर्याई भएको सुरू फैसलालाई सदर गरेको पुनरावेदन अदालतको फैसलाउपर प्रतिवादीको मध्येका श्यामकुमार रामको यस अदालतमा मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन परी सो निवेदनमा यस अदालतबाट अनुमति प्रदान भई प्रस्तुत मुद्दा पुनरावेदनको रोहमा पेस भएको
देखियो । निवेदनपत्रमा पीडित र प्रतिवादीहरू विवाह गरी सँगै बस्ने उद्देश्यले हिँडेको र सो कुरा प्रहरी प्रतिवेदन एवं पीडितको अदालतमा भएको बकपत्रबाटै पुष्टि भएको अवस्थामा उद्योगतर्फ कसुरदार ठहर गरेको फैसला त्रुटिपूर्ण रहेको भन्ने जिकिर लिएको र यस अदालतबाट अनुमति प्रदान गर्दा विवाह गर्ने भनी हिँडेको तथा मानव बेचबिखन एवं वेश्यावृत्तिमा लगाउने उद्देश्य रहेको भन्ने पुष्टि नभएको अवस्थामा कसुरदार ठहर गरेको मिलेन भन्ने मुख्य आधार ग्रहण गरेको पाइयो ।
३. मिति २०७०।४।७ गते अन्दाजी १८ बजेको समयमा गस्ती गर्ने क्रममा मलंगवाबाट भारत सोनवर्षातर्फ २ जना केटा र २ जना केटी मिली गइरहेको अवस्थामा सोधपुछ गर्दा वर्ष २७ को श्यामकुमार राम, १७ वर्षकी राधाकुमारी राम, वर्ष २० को सनाउलाह मंसुरी र वर्ष १६ की रीनाकुमारी राम रहेको र निजहरूले भारतको दिल्ली गई विवाह गरी सँगै बस्ने सल्लाहले हिडेको भनेको हुँदा बेचबिखनको लागि हिडेको शङ्का लागी पक्राउ गरी पेस गरेको भन्ने प्रहरी प्रतिवेदनपश्चात् अनुसन्धान सुरू भएको र पछि सोही प्रतिवेदनका आधारमा जोगेन्द्र चमारसमेतको जाहेरी परेको देखिन्छ । जाहेरीमा अभिभावकलाई जानकारी नदिई जागिर लगाइदिने प्रलोभनमा परी भारततर्फ लैजान लागेकोले मानव बेचबिखनमा कारबाही गरिपाउँ भन्ने उल्लेख भएको पाइन्छ । पीडितहरूले घटना विवरण खुलाई कागज गरेकोमा प्रतिवादी श्यामकुमार राम र सनाउलाह मंसुरी विवाह गर्नको लागि भारततर्फ जान लागेको भन्ने बेहोरा लेखिएको देखिन्छ । प्रतिवादीहरू अधिकारप्राप्त अधिकारी र अदालतमा समेत आरोपित कसुरमा इन्कार रही बयान गरेको र केटीहरूसँग विवाह गर्ने उद्देश्यले दिल्लीतर्फ जान लागेको हो भन्ने बेहोराको बयान दिएको पाइन्छ ।
४. पीडित राधाकुमारी रामले अदालतमा उपस्थित भई बकपत्र गर्दा प्रतिवादी श्यामकुमार रामसँग २०६९ साल फागुनदेखि चिनजान भएको हो । म र श्यामकुमार तथा रिनाकुमारी र सनाउलाह मंसुरीले भारतमा विवाह गर्न जाने विचार गरी हिँडेको अवस्थामा हामीलाई पक्राउ गरिएको हो । प्रतिवादीहरूले हामीलाई वेश्या बनाउने उद्देश्यले लगेको होइन । विवाह गर्ने उद्देश्यले हिँडेको हो भनी उल्लेख गरेको देखिन्छ । पीडित रिनाकुमारीको बकपत्र र प्रतिवादीहरूको बयान एक आपसमा मिली विवाहकै लागि जान लागेको भन्ने तथ्यलाई पुष्टि गरेको छ । प्रतिवादी सनाउलाहसँग मोबाइलमा कुराकानी हुँदै आएको र मन्जुरीले विवाह गर्न भनी घरबाट हिँडेको भनी बकपत्रमा पीडित रिनाकुमारीले लेखाएको र प्रतिवादी श्यामकुमार रामले राधाकुमारीसँग करिब ८/९ महिनादेखि प्रेम र शारीरिक सम्बन्ध थियो । निजले हाम्रो सम्बन्ध गाउँमा फैलिई नराम्रो हुन्छ भारतमा गई उतै विवाह गरी बसौं भनेकोले भारत जान लागेको हो भनी बयान गरेको देखिन्छ । प्रतिवादी सनाउलाह मंसुरीले म मुसलमान जातिको र रिनाकुमारी हिन्दू जातिकी हुँदा घरमा नस्वीकार्ने भएकोले भारत गई विवाह गरी श्रीमान् श्रीमती भई बस्ने र कतै काम गर्ने सल्लाह भई जान लागेको हो भनी बयान दिएको पाइन्छ । प्रतिवेदक प्रहरी कर्मचारी सुवोधकुमार मिश्रले अदालतमा उपस्थित भई बकपत्र गर्दा गस्तीको क्रममा दुई केटा र दुई केटी मलंगवाबाट सोनवर्षा जानेक्रममा शङ्का लागी सोधपुछ गर्दा हामी बिहे गर्नको लागि दिल्ली जाँदै छौ, उतै जागिर गरेर बस्छौं भनेका थिए । सिमा नजिक हुँदा भारततिर लगी बेच्ने हो कि भन्ने शङ्का लागेर पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएका हौं भनी बकपत्र गरेको देखिन्छ ।
५. सामान्यतः सरकारवादी फौजदारी मुद्दामा कसुरदारको कसुर प्रमाणित गर्ने भार वादीमा
रहन्छ । अभियोग लगाएर मात्र हुँदैन सो अभियोग पुष्टि हुने प्रमाण वादी पक्षले प्रस्तुत गर्न सक्नुपर्छ । जसलाई प्रमाण ऐन, २०३१ को दफा २५ ले स्पष्ट गरेको छ । के कस्तो कार्यबाट के कस्तो कानूनको उल्लङ्घन भई अपराधजनित कार्य भयो र त्यस्तो कार्यमा को कसको के कसरी संलग्नता रहेको छ भन्ने कुरा पनि अभियोजन पक्षले शङ्कारहित तवर (Beyond the Reasonable Doubt) ले पुष्टि गरेको
हुनुपर्छ । विधायिकी कानूनले आफ्नो निर्दोषिता प्रमाण गर्ने भार प्रतिवादीमा सारेको कारणले अभियोजन पक्षको उक्त दायित्व सीमित हुने वा समाप्त हुने
होइन । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ९ ले प्रमाणको भार प्रतिवादीमा सारेको भए पनि वादी पक्षले अभियुक्तले गरेको कसुरको गहन अनुसन्धान गर्ने, कुन कानूनको उल्लङ्घन के कसरी भयो, कानूनको परिधिबाहिर गई भएको कार्य के कुन प्रमाणद्वारा पुष्टि गर्न सकिन्छ त्यसतर्फ अभियोजन पक्ष आफ्नो दायित्वबाट पन्छिन मिल्दैन ।
६. प्रस्तुत मुद्दामा प्रतिवादीले बेचबिखनको लागि लैजान लागेको भनी किटानी गर्न सकेको
देखिँदैन । पीडित अदालतसमक्ष उपस्थित भई आफू प्रेममा रही विवाहको लागि जान लागेको भनी बकपत्र गरेको अवस्था छ । प्रतिवादीहरू कसुरमा इन्कार रहेको देखिन्छ । प्रतिवादीको इन्कारीलाई सरकारी गवाहको रूपमा पीडितको बकपत्र र प्रतिवेदकको अदालतसमक्षको बकपत्रले समेत पुष्टि गरेको छ । प्रतिवादी पक्राउ परेदेखि अदालतको बयानसम्म एकरूपमा आफूहरू विवाहको लागि दिल्लीसम्म जान लागेको कुरालाई निरन्तर सिलसिलेवार कडीको रूपमा उल्लेख गरेको देखिन्छ । यी पुनरावेदक प्रतिवादीसमेत यस अगाडि आपराधिक क्रियाकलापमा लागेको वा आपराधिक गिरोहका सदस्य हुन् भन्ने पनि
देखिँदैन । मिसिल संलग्न सबुद प्रमाणबाट प्रतिवादीहरूले पीडितहरूलाई बेचबिखनको लागि लैजान लागेको भन्ने वस्तुनिष्ठ प्रमाणको अभावमा शङ्काकै भरमा मात्र प्रतिवादीहरूलाई दोषी ठहर गर्नु न्यायोचित नहुँदा प्रतिवादीहरूलाई मानव बेचबिखन उद्योगतर्फ कसुरदार ठहर गरेको सुरू र पुनरावेदन अदालतको फैसला मिलेको देखिन आएन ।
७. अतः माथि विवेचित आधार कारणबाट प्रतिवेदक तथा पीडितहरूको बकपत्रसमेतका मिसिल संलग्न प्रमाणबाट प्रतिवादीले आरोपित कसुर गरेको देखिन नआएकोले पुनरावेदन अदालत जनकपुरको मिति २०७३।३।२९ को फैसला उल्टी भई पुनरावेदक प्रतिवादी श्यामकुमार रामले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । प्रस्तुत मुद्दाको वारदात नै स्थापित नभएको हुँदा मुलुकी ऐन, अ.बं. २०५ नं. बमोजिम पुनरावेदन नगर्ने प्रतिवादी सनाउलाह मंसुरीले समेत अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
१. माथि ठहर खण्डमा उल्लेख भएबमोजिम प्रतिवादी श्यामकुमार राम र प्रतिवादी सनाउलाह मंसुरीले अभियोग दाबीबाट सफाइ पाउने ठहरेकोले निजहरू कैद मुक्त हुने भई संक्षिप्त आदेशबाट छुटी गएको देखिँदा हाल केही गरिरहनु परेन ।
२. प्रतिवादीहरू श्यामकुमार राम र सनाउलाह मंसुरीको हकमा सुरू फैसलाबमोजिम राखिएको कैद र जरिवानाको लगत कट्टा गरिदिनू भनी सुरू सर्लाही जिल्ला अदालतमा लेखी पठाउनू ।
३. प्रस्तुत फैसलाको प्रतिलिपि साथै राखी महान्यायाधिवक्ताको कार्यालयलाई जनाउ दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.हरिकृष्ण कार्की
इजलास अधिकृत: अनुपमा पन्त
इति संवत् २०७५ साल फागुन २३ गते रोज ५ शुभम् ।