निर्णय नं. १०३५० - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दीपककुमार कार्की
माननीय न्यायाधीश श्री कुमार रेग्मी
फैसला मिति : २०७६।५।८
मुद्दाः- कर्तव्य ज्यान
०७४-RC-००५३
वादी : जुनेद आलम मुसलमानसमेतको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रतिवादी : जिल्ला कपिलवस्तु पिपरा गा.वि.स. वडा नं. १ भइ हाल जिल्ला कारागार कार्यालय कपिलवस्तुमा थुनामा रहेका अयुव मुसलमानको छोरा उजैर भन्ने सफिउर रहमान मुसलमान
०७४-CR-०८६०
पुनरावेदक / प्रतिवादी : जिल्ला कपिलवस्तु पिपरा गा.वि.स. वडा नं. १ बुलाडिहवा बस्ने याकुवा मुसलमानको छोरा वर्ष ६६ को अलिमुल्लाह मुसलमान
विरूद्ध
प्रत्यर्थी / वादी : जुनेद आलम मुसलमानसमेतको जाहेरीले नेपाल सरकार
०७४-CR-०९३८
पुनरावेदक / प्रतिवादी : जिल्ला कपिलवस्तु पिपरा गा.वि.स. वडा नं. २ बुलडिहवा बस्ने हालिम मुसलमानको छोरा मोटे भन्ने हविबुर रहमान मुसलमान
विरूद्ध
प्रत्यर्थी / वादी : जुनेद आलम मुसलमानसमेतको जाहेरीले नेपाल सरकार
घटना परिस्थितिसँग जोडिएका साक्षी प्रमाणहरूले जाहेरी बेहोरालाई पुष्टि गर्ने अवस्था भएमा मात्र जाहेरी दरखास्तले प्रमाणिक मूल्य प्राप्त गर्ने ।
जाहेरी दरखास्तले आफैँमा प्रमाणको रूप ग्रहण नगर्ने र यसले अन्य साक्षी प्रमाणको सापेक्षतामा प्रमाणको रूप ग्रहण गर्ने भएको हुँदा दोस्रो वा पुरक जाहेरी दिन नहुने वा दोस्रो जाहेरीको कुनै मूल्य नहुने भन्ने अवस्था नरहने ।
(प्रकरण नं.१२)
वादीका तर्फबाट :
प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
मा. न्यायाधीश श्री अच्युतप्रसाद भण्डारी
कपिलवस्तु जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री प्रकाशचन्द्र गजुरेल
माननीय न्यायाधीश श्री हरिप्रसाद भण्डारी
पुनरावेदन अदालत बुटवल
फैसला
न्या.दीपककुमार कार्की : पुनरावेदन अदालत बुटवलबाट भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) र १० बमोजिम प्रतिवादीको तर्फबाट पुनरावेदन परी तथा साधक जाँचको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
तथ्य खण्ड
जिल्ला कपिलवस्तु पिपरा गा.वि.स. वडा नं २ वुलाडिहवा स्थित आँगन र खाली जग्गाबिचमा अकवर हुसेन मुसलमानसमेतले ओवैदुर रहमानलाई कुटपिट गरी घाइते बनाएको स्थान रहेको, निवर मुसलमानको घरको बरन्डाबाट ११ फिट ९ इन्च उत्तरतर्फ आलो रगत जमेको देखिएको, सो वरपर मडारिएको देखिएको भन्नेसमेत बेहोराको मिति २०७०।४।६ गतेको घटनास्थल प्रकृति मुचुल्का ।
मेरो काका ओवैदुर रहमान मिति २०७०।४।६ गते बिहान अं. ९.०० बजे पिपरा गा.वि.स.वडा नं.१ वुलाडिहवामा बेहोस अवस्थामा लडेको भन्ने थाहा पाई निजलाई शिक्षण अस्पताल भैरहवामा लगी उपचार गराउँदा गराउँदै दिउँसो १ बजेतिर मेरो काकाको मृत्यु भएको हुँदा जाहेर गर्न आएको छु । मेरो काकालाई अकवर हुसेन मुसलमान, वजिउद्विन मुसलमान, इलियास मुसलमान, मोहम्मद अयुव मुसलमान, वरकतुल्लाह, महफुजुर रहमान, महरूद्विन, उजैर दर्जी, नुरूल हसन र अन्य व्यक्तिहरूसमेत मिली कुटपिट गरी मारेको भन्ने बुझिएको हुँदा निज प्रतिवादीहरू र अन्य संलग्न व्यक्तिहरूसमेत पत्ता लगाई कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जुनेद आलम मुसलमानले जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा दिएको जाहेरी दरखास्त ।
भिम अस्पताल भैरहवामा रहेको ओवैदुर रहमानको बायाँ हातको नाडीमा २ इन्च लम्बाइको निलो डाम रहेको, बायाँ आँखामाथि छाला खोस्रिएको र निलो भएको, दायाँ कानमाथि टाउकोमा डेढ इन्च लम्बाइको काटेको घाउ रहेको, भन्नेसमेत बेहोराको लास जाँच मुचुल्का ।
प्रतिवादीहरूमध्येका अकवर हुसेनको पिता तथा नुरूल हसनको बाजे सजरूल यकिनसँग म जाहेरवालाको कपिलवस्तु जिल्ला अदालतमा बाटो अवरोध हटाई पाउँ भन्नेसमेतका मुद्दाहरू चली विचाराधीन रहेकोमा निजहरूले रिसइवी लिई आएका र ज्यान लिनेसम्मको धम्की दिएका थिए । मिति २०७०।४।६ गते सोही जग्गामा निज प्रतिवादीहरू बजिउद्यिन, वरकतुल्लाह र इलियासले सव्वल, जावेदले हसिया र अन्य विरूद्ध महलका प्रतिवादीहरूले काठबाँसको लाठी लिई बाँसको खुटा गाड्न लागेकोमा मेरो छोरा ओवैदुर रहमानले सो नगर्न आग्रह गर्दा प्रतिवादी बजिउद्विनले फलामको सव्वलले टाउकोमा हानेको र त्यसपछि वरकतुल्लाह र इलियासले फलामको सव्वलले, हविवुर र अजिजुरले फलामको छडले, जावेद आलमले हसियाले, महरूद्विन, अकवर हुसेन, सफिउर रहमान, महफुर रहमान, नुरूल हसन, अयुव, जलालुद्विन, महताव, अलिमुल्लाहसमेतले काठबाँसले कुटी घाइते बनाएको भन्ने सुनी म घटनास्थलमा जाँदा प्रतिवादीहरू भागी गएको र छोरालाई उपचारको लागि मेडिकल कलेज भैरहवामा लगी उपचार गराउँदा गराउँदै निजको मृत्यु भएकोमा जावेद आलमले तत्काल थाहा पाएसम्मको जाहेरी दिएकोमा म मृतकको बाबुले विस्तृत विवरण खुलाइदिएको छु, भन्नेसमेत बेहोराको मोहम्मद मुस्तकिम मुसलमानले दिएको पुरक जाहेरी दरखास्त ।
अकवर हुसेन मुसलमानको घर खानतलासी गर्दा सो घरको बरन्डाको दाहिने कुनामा ठडाएर राखिएको ५ फिट ८ इन्च लम्बार्इ र ६.५ इन्च गोलार्इ भएको बाँसको लठ्ठी थान १ र सो घरको माथिल्लो तलाको उत्तरतर्फको कोठामा रहेको काठको घर्रावाला खाटभित्र ८.५ इन्च लम्बाई र ४.५ इन्च चौडाई भएको एयर पेस्तोल थान १ र ऐ को गोली (छर्रा) ५५ राउण्ड बरामद भएको भन्ने बेहोराको घर खानतलासी मुचुल्का ।
मृतक ओवैदुर रहमानको टाउकोको टुप्पी नजिक Tempo-parietal region 8x2x1 से.मी. चोट रहेको, बाँया पाखुरामा निल डाम रहेको, टुप्पीको बाँया काननिर (left temporal) र दाँया काननिर (right temporal) खप्पर फुटेको, टाउकोको बाँया कानमाथिको भित्री झिल्ली (Subdural) मा निलडाम रहेको, तथा टाउकोको चोटको कारण निजको मृत्यु भएको भन्नेसमेत बेहोराको लास जाँच प्रतिवेदन ।
मिति २०७०।४।६ गते बिहान ७ बजे म मैले पढ्ने गरेको भारतको मदरसामा गएकोमा स्कुलमा छुट्टी भएकोले साइकलमा घरमा आउँदा मेरो बाजे सजरूल यकिन घाइते अवस्थामा देखी मसमेत भई उपचारको लागि लगेको हो । म घटनामा संलग्न छैन भन्नेसमेत बेहोराको प्रतिवादी नुरूल हसन मुसलमानले गरेको बयान ।
नरूल हसन मुसलमानको जन्ममिति २०५७।३।८ रहेको भन्नेसमेत बेहोराको निजको नामको जन्मदर्ता प्रमाण पत्र ।
बरामद भएको बाँसको लाठीको रगत लागेको भाग काटी परीक्षणको लागि पठाइएको भन्नेसमेत बेहोराको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको पत्र ।
पिपरा गा.वि.स. वडा नं. २ मा रहेको अब्दुल हकको जग्गामा बाँसको किला गाड्न भनी वजिउद्विन मुसलमान, अकवर हुसेन दर्जी, इलियास मुसलमान, सफिउर रहमान मुसलमान र नुरूल हसन मुसलमान गई किला गाड्न लागेको अवस्थामा अब्दुल रसिद, अब्दुल खाँ र अब्दुल मोइत आई यस विवादित जग्गामा किन किला गाडेको हो भनेकोमा दुवै पक्षबिच विवाद भइरहेकोमा सोही समयमा ओवैदुर रहमान आए । त्यसपछि ओवैदुर रहमान, अब्दुल रसिद, अब्दुल मोहित, अब्दुल खाँ, जुनेद आलम, जावेद आलम, अब्दुल कयुम र अब्दुल रहेमान एक पक्ष र वजिउद्विन मुसलमान, अकवर हुसेन दर्जी, इलियास मुसलमान, सफिउर रहमान, नुरूल हसन मुसलमान, वरकतुल्लाह मुसलमान, महरूद्विन मुसलमान, जावेद अहमद मुसलमान, जलालुद्विन मुसलमान, अजिजुर रहमान मुसलमान, महफुजुर रहमान, महताव आलम मुसलमान, अलिमुल्लाह मुसलमान र मसमेत अर्को पक्ष भई वादविवाद एवं कुटपिट हुँदा ओवैदुर रहमान र मसमेत घाइते भई उपचारको क्रममा ओवैदुर रहमानको मृत्यु भएको हो, म उपचारपश्चात् फर्केको हुँ, मोटे भन्ने हविवुर रहमान घटना हुँदा सो स्थानमा थिएनन् । वारदातमा वजिउद्विन मुसलमानले फलामको सव्वलले, इलियास मुसलमान र अकवर दर्जीले फलामको सरियाले र सफिउर रहमानले बाँसको लाठीले प्रहार गरेका हुन् । नुरूल हसन मुसलमानसँग सव्वल र अन्य व्यक्तिहरूसँग बाँसको लाठी थियो भन्नेसमेत बेहोराको प्रतिवादी मोहमद अयुव भन्ने अयुव दर्जी मुसलमानले गरेको बयान ।
वारदातको समयमा म घटनास्थलदेखि ८०० मिटर टाढा आफ्नो घरमा बसेकोमा अब्दुल हकले घटनाबारे खबर गरेकोले म घटनास्थलमा जाँदा त्यहाँ कोही थिएनन् भन्नेसमेत बेहोराको प्रतिवादी मोटे भन्ने हविवुर रहमानले गरेको बयान ।
मिति २०७०।४।६ गते बिहान ८ बजे वजिउद्विन मुसलमान, अकवर हुसेन मुसलमान, इलियास मुसलमान, सफिउर रहमान मुसलमान, नुरूल हसन मुसलमान र अयुव दर्जी मुसलमानले अब्दुल हकको जग्गाअगाडि रहेको बाटोमा बाटो च्यापी बाँसको किला गाड्दै थिए । हामी अब्दुल रब, अब्दुल मोइत र अब्दुल रसिद गई यो विवादित बाटोमा किन किला गाडेको भन्दा निजहरूले यो हामीहरूको भइसक्यो भनी विवाद गर्न थाले सो स्थान नजिकै जावेद आलम मुसलमान, अजिजुर रहमान, हविवुर रहमान, महफुजुर रहमान, जलालुद्विन मुसलमान, महताव आलम, अलि मुल्लाह मुसलमान, वरकतुल्लाह मुसलमान, महिरूद्विन मुसलमान पनि हात हातमा बाँसको लाठी लिइरहेका थिए । सोही बेला ओवैदुर रहमान र निजको केहिपछि अब्दुल मोविन, अब्दुल कयुम, जावेद आलम, जुवेद आलम र अब्दुर रहमान आए । सोही क्रममा वजिउद्विन मुसलमानले ओवैदुर रहमानलाई सव्वलले पछाडिबाट हाने । त्यसपछि इलियास मुसलमान र अकवर हुसेन मुसलमानले फलामको रडले हाने भने सफिउर रहमानले बाँसको लाठीले हाने । सो प्रहारबाट ओवैदुर रहमान लडेपछि हामीहरूले किन बिना कारण ओवैदुर रहमानलाई हानेको भनी निजहरूलाई पनि कुटपिट गरेको र निजहरूले हामीहरूलाई पुनः कुटपिट गर्न थालेपछि हामीहरू त्यहाँबाट भागेका हौं । जाहेरीमा उल्लिखित प्रतिवादीहरू सबैजनाको ओवैदुर रहमानलाई मार्ने कार्यमा संलग्नता रहेको छ भन्नेसमेत बेहोराको घटनाका प्रत्यक्षदर्शी अब्दुल रब, अब्दुल मोइत, अब्दुल मोविन, जावेद आलम र अब्दुल रसिदले गरेको करिब एकै मिलानको छुट्टाछुट्टै कागज ।
घटनाबारे पछि सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको अब्दुल कयुमले गरेको कागज ।
प्रतिवादीहरू बजिउद्विन मुसलमान, अकवर हुसेन मुसलमान, इलियास मुसलमान र उजैर भन्ने सफिउर रहमान मुसलमानले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं. को कसुर अपराध गरेको प्रमाणित भएकोले निज प्रतिवादीहरू बजिउद्विन मुसलमान, अकवर हुसेन मुसलमान, इलियास मुसलमान र उजैर भन्ने सफिउर रहमान मुसलमानलाई उक्त ऐन उक्त महलको १३ नं. को देहाय (३) बमोजिम सजाय हुन, त्यसैगरी प्रतिवादीहरू मोहम्मद अयुव भन्ने अयुव दर्जी मुसलमान, वरकतुल्लाह मुसलमान, महफुजुर रहमान मुसलमान, महरूद्विन मुसलमान, नुरूल हसन मुसलमान, मोटे भन्ने हविवुर रहमान मुसलमान, जिजु भन्ने अजिजुर रहमान मुसलमान, जावेद आलम मुसलमान, जलालुद्दिन मुसलमान, महताव आलम मुसलमान र अलि मुल्लाह मुसलमानले ओबैदुर रहमानको पक्षमा आएका सहयोगीलाई भगाउने एवं ओवैदुर रहमानलाई प्रतिवादीहरू वजिउद्विन मुसलमानसमेतले मार्ने कार्यको मत सल्लाहमा पसी बाँसको लाठीसमेत साथमा लिई घटनास्थलमा मौजुद रहेको पुष्टि भई निज प्रतिवादीहरूले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ (१) नं. को कसुर अपराध गरेको प्रमाणित भएकोले निज प्रतिवादीहरूलार्इ मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ (१) नं. बमोजिम सजाय हुन तथा प्रतिवादी नुरूल हसन मुसलमानको उमेर वारदातको समयमा १३ वर्ष १ महिनाको देखिँदा निजको हकमा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(२) बमोजिम हुनसमेत मागदाबी लिई पेस भएको अभियोग पत्र ।
मिति २०७०।४।६ गते बिहान ७ बजे इन्डियाको कैथलिया भन्ने ठाउँमा मदरसामा पढ्न गएको थिएँ । ९१/२ बजेतिर फर्की घरमा आउँदा झगडा भएको र सजरूल एकीन र अयुव दर्जीलाई चोट पटक लागेको देखेको हुँ । सोध्दा ओवैदुर्रहमानसमेतसँग झगडा भएको भनी बताएकाले थाहा पाएको हुँ वारदात स्थलमा म थिइन । मृतकको मृत्यु के कारणले भयो थाहा छैन । म माथि किन जाहेरी दिए थाहा छैन । मैले कुनै कसुर नगरेकोले दाबीअनुसार मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी नुरूल हसन मुसलमानले अदालतमा गरेको बयान ।
२०७०।४।६ गते बिहानै आँप रखाउन गएको र ७/८ बजेको समयमा गाउँमा झगडा भएको र ४ वर्षको नाति बोलाउन गएकोले घरतर्फ फर्की आउन लाग्दा स्कुलको पछाडिबाट आई ओवैदुर्रहमानले वोगदाले मेरो टाउकोमा हानेका र म तत्काल बेहोस भएको हुँ होस आउँदा अस्पतालमा थिएँ । ओवैदुर्रहमान र अलिमुल्लाहबिच चलेको मुद्दामा भतिजो अकवर हुसेन साक्षी बसेकोले म अकवरको पटिदार नाताको भएकोले मलाई हानेका हुन्, झगडा हुँदा लागेको चोटका कारण ओवैदुर्रहमानको मृत्यु भएको भन्ने कुरा प्रहरीले भनेकाले थाहा पाएको हुँ को कससँग झगडा भएको मलाई थाहा भएन, जाहेरी बेहोरा झुठा हो । म घटनामा थिइन मैले कुनै कसुर गरेको छैन मउपरको अभियोग दाबी झुठा हो भन्नेसमेत बेहोराको प्रतिवादी मोहमद अयुव भन्ने अयुव दर्जी मुसलमानले अदालतमा गरेको बयान ।
म घरमा सुतेको थिएँ । अब्दुल हक आई गाउँमा झगडा भइसक्यो भनेकाले त्यहाँ पुग्दा कोही मानिस थिएनन् । बच्चाहरूलार्इ सोध्दा चोटपटक लागेका अयुव, सजरून एकिन र अयुवको बहिनीलार्इ उपचार गराउन लगे भनेपछि म घरमा फर्केको हुँ । ओवैदुर रहमानको मृत्यु कारण थाहा भएन । बयान भनेअनुसार लेखिएको होइन । मैले कसुर नगरेकोले सजाय पाउनु पर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी मोटे भन्ने हविवुर रहमान मुसलमानले अदालतमा गरेको बयान ।
घटना मुचुल्काबारे मलाइ थाहा छैन । मैले कुनै कुटपिट गरेको छैन । अयुव दर्जीले गरेको बयान झुठ्ठा हो भन्नेसमेत बेहोराको प्रतिवादी अलि मुल्लाह मुसलमानले अदालतमा गरेको बयान ।
म घटनाको दिन घरमा थिएन । घटना मुचुल्काबारे मलाइ थाहा छैन । मैले कुनै कुटपिट गरेको छैन । अयुव दर्जीले गरेको बयान झुठा हो भन्नेसमेत बेहोराको प्रतिवादी जलालुद्दिन मुसलमानले अदालतमा गरेको बयान ।
केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको च.नं.१३९८ मिति २०७०।९।७ को साथ परीक्षण प्रतिवेदन संलग्न रहेको ।
म जाहेरवालालाई चिन्छु । म दिदीको घरमा गएको थिएँ, घटनाको बारेमा मलाई केही थाहा
छैन । अभियोग दाबीबमोजिम सजाय हुनु पर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी महताव आलम मुसलमानले अदालतमा गरेको बयान ।
मिति २०७०।४।६ गते बहिनीको घर गएको थिएँ । कुटपिटबारे मलाई थाहा छैन । कुनै कसुर नगरेकोले सजाय हुनु पर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी जिजु भन्ने अजिजुल रहमान मुसलमानले अदालतमा गरेको बयान ।
मिति २०७०।४।१ गते मावलीको घर गएको थिएँ । कुटपिटबारे मलाई थाहा छैन । कुनै कसुर नगरेकोले सजाय हुनु पर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी जावेद आलम भनिएको जावेद अहमद मुसलमानले अदालतमा गरेको बयान ।
मिति २०७०।४।६ गते भारत ससुरालीमा गएको थिएँ । कुटपिटबारे मलाई थाहा छैन । कुनै कसुर नगरेकोले सजाय हुनु पर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी वसिरूद्दिन मुसलमानले अदालतमा गरेको बयान ।
मिति २०७०।४।४ गते बहिनीको घर गएको थिएँ । कुटपिटबारे मलाई थाहा छैन । कुनै कसुर नगरेकोले सजाय हुनु पर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी महिरूद्दीन मुसलमानले अदालतमा गरेको बयान ।
म भारत बजार गएको थिएँ । कुटपिटबारे मलाई थाहा छैन । कुनै कसुर नगरेकोले सजाय हुनु पर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी महफुज मुसलमानले अदालतमा गरेको बयान ।
मिति २०७०।४।६ गते मृतक ओवैदुर्हमान तथा अब्दुल मोविन, अब्दुल मोइद, अब्दुल रौफलगायत हातमा लठ्ठी लिई मेरो पिता मोहम्मद अयुव मुसलमान र मलाई हान्न लागे । मैले मेरो र पिताजीको सुरक्षा गर्न घरमा रहेको सव्वल निकाली त्यही सव्वलले उनीहरूले हानेको चोट रोक्ने क्रममा मेरो हातमा रहेको सव्वलले मृतक ओवैदुर्हमानलाई लाग्न गई मृत्यु भएको हुन सक्छ । म र मेरो पिताबाहेक अरू कोही घटनास्थलमा थिएनन् भन्नेसमेत बेहोराको प्रतिवादी उजेर भन्ने सफिउर रहमान मुसलमानले सुरू अदालतमा गरेको बयान ।
२०७० साल साउन ६ गते रोजाको दिन हविवुर रहमान र म साथै थियौं । गाउँमा हल्ला सुनी घटनास्थलमा जाँदा कोही थिएन । निर्दोष हुँदा सफाइ पाउनुपर्छ भन्नेसमेत बेहोराको हविवुर रहमानका साक्षी अब्दुल हक मुसलमानले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०७० श्रावण ६ गते बिहान ९ बजे अकवर हुसेन, नुरूल हसन, मोहम्मद अयुव मफजुर रहमान, सफिउर रहमान, इलियस, उजिरूद्दिन, मैरूद्दिन, वरकतुलासमेतका प्रतिवादीहरूले छडले अकवर हुसेन, अजिउद्दिनले बन्चरो, सफिउर रहमान लाठीले, इलियसले लाठीले अन्य प्रतिवादीहरूले लात्तीले कुटपिट गरेका हुन । भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । कर्तव्य गरी मारेकाले सजाय हुनुपर्छ भन्ने जाहेरवाला जुवेद आलम मुसलमान, मोहम्मद मुस्तकिम मुसलमान, अब्दुल रसिद, अब्दुल मोबिन मुसलमान, जावेद आलम, अब्दुर खाँले पृथक्पृथक् एकै मिलानको सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०७० श्रावण ६ गते गाउँमा घटना भएको भन्ने थाहा पाएका हौं । प्रतिवादीहरूले कुनै कसुर नगरेकाले सफाइ पाउनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवादीहरू जलालुद्दिनका साक्षी जमिरूल्ला मुसलमान र वसिउद्दीनको साक्षी जमाल अहमद मुसलमान, प्रतिवादी अयुबदर्जी र जावेदको साक्षी निसार अहमद मुसलमान, प्रतिवादी अलिमुल्लाका साक्षी नसरूद्दिन मुसलमान, प्रतिवादी अजुर्रहमानका साक्षी जमाल अहमद, प्रतिवादी महिरूद्दिन मुसलमानको साक्षी फजलु रहमान मुसलमान, प्रतिवादी महताव मुसलमान र महफुज मुसलमानको साक्षी महिब मुसलमानले पृथक्पृथक् एकै मिलानको सुरू अदालतमा गरेको बकपत्र ।
फरार प्रतिवादी वजिउद्दिन मुसलमान, इलियास मुसलमान र अकवर हुसेन मुसलमानको अंश रोक्का राख्नु भनी २०७१।३।३ मा भएको आदेश ।
यसमा प्रतिवादीमध्ये इलियास मुसलमान, वजिउद्दीन मुसलमान, अकवर हुसेन मुसलमान यस अदालतबाट जारी भएको वारेण्ट एवं म्यादी पुर्जीमा हाजिर नभई फरार रहेकाले प्रतिवादी इलियास मुसलमान, वजिउद्दीन मुसलमान, अकवर हुसेन मुसलमानहरूको हकमा अ.बं.१९० नं. बमोजिम मुलतबीमा रहने । प्रतिवादी उजैर भन्ने सफिउर रहमानलाई अभियोग मागदाबीबमोजिम ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैदको सजाय हुने, प्रतिवादीमध्ये मोहम्मद अयुव भन्ने अयुव दर्जी मुसलमानको हकमा ज्यानसम्बन्धी महलको १७(२) नं. बमोजिम ५(पाँच) वर्षको कैद सजाय
हुने । प्रतिवादीमध्ये मोटे भन्ने हविवुर रहमानको हकमा ज्यानसम्बन्धी महलको १७(३) बमोजिम २ (दुर्इ) वर्ष कैद हुने । प्रतिवादीमध्ये अलिमुल्लाह मुसलमानको हकमा ज्यानसम्बन्धी महलको १७(३) नं.बमोजिम २(दुर्इ) वर्ष कैद हुने । प्रतिवादीमध्ये नुरूल हसन मुसलमानको हकमा प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउने । प्रतिवादीहरूमध्येका महताव आलम मुसलमान, बरकतुल्लाह मुसलमान, महफुजुर रहमान मुसलमान, महरूद्दिन मुसलमान, जावेद आलम मुसलमान, जलालुद्दिन मुसलमान, जिजु भन्ने अजिजुर रहमान मुसलमानको हकमा प्रतिवादीहरूले अभियोग माग दाबीबाट सफाइ पाउने ठहर भई सुरू कपिलवस्तु जिल्ला अदालतबाट मिति २०७१।१०।२५ मा भएको फैसला ।
प्रतिवादीमध्येका मोहम्मद अयुव भन्ने अयुव दर्जीले मौकाको बयानमा लठ्ठी लिई कुटपिट गर्न गएको हुँ भनी गरेको बयानबाट निज वारदात स्थलमा हातहतियार लिई प्रहारसमेत गरी मौजुद रहेको निजलाई सोही वारदातमा चोटपटकसमेत लागेको देखिएको र मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७(१) नं. बमोजिमको कार्य गरेको पुष्टि भइरहेको अवस्थामा सुरू अदालतबाट ज्यानसम्बन्धीको महलको १७(२) नं. बमोजिम ५ वर्ष मात्र कैद गर्ने गरी फैसला भएको । साथै अर्का प्रतिवादी मोटे भन्ने हविवुर रहमान मुसलमानले फलामको छडले प्रहार गरेको भन्ने किटानी जाहेरी रहेको र सो जाहेरी मृतकको टाउकोमा लागेको चोटपटकले पुष्टि भइरहेको छ । यी प्रतिवादी घटनास्थलमा उपस्थित रहेको यसरी लाठी लिई घटनास्थलमा उपस्थित रहने यी प्रतिवादीलाई दाबीबमोजिम सजाय नगरी ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम सजाय हुने ठहरार्इ फैसला भएको । साथै प्रतिवादी अलिमुल्लाह मुसलमानको हकमा पनि काठबाँसको लाठी लिर्इ वारदात स्थलमा रहेको भन्ने किटानी जाहेरी परेको र निजले वारदात स्थलमा लिर्इ गएको लठ्ठी रगत लागेको अवस्थामा बरामद भएको देखिँदा निज वारदात स्थलमा उपस्थित रहेको अवस्थाको विद्यमानता देखिँदा निजलाईसमेत मागदाबीबमोजिम सजाय गर्नुपर्नेमा सो नगरी भएको सुरूको फैसला बदर भागी छ । साथै प्रतिवादीहरू नुरूल हसन मुसलमान, महताव आलम मुसलमान, वरकतुल्लाह मुलमान, महफुजुर रहमान मुसलमान, महरूद्दिन मुसलमान, जावेद आलम मुसलमान, जलालुद्दिन मुसलमान, जिजु भन्ने अजिवुर रहमान मुसलमानहरूको हकमा गोश्वरा दाबी भए तापनि प्रतिवादीमध्येका अयुव दर्जीले वारदातमा सबैजना प्रतिवादीहरूको संलग्नता देखाई पोल गरी बयान गरेको देखिन्छ जसलाई जाहेरवाला जुनेद आलम मुसलमान, प्रत्यक्षदर्शी अब्दुल रसिद, अब्दुल मोमिन मुसलमानसमेतले गरेको बकपत्रले सर्मथन गरेकाले निजहरूउपरको अभियोग दाबी पुष्टि भइरहेको स्थितिमा यी प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको सुरूको फैसला त्रुटिपूर्ण भई बदरभागी
छ । तसर्थ मिसिल संलग्न कागज प्रमाणको विवेचना गरी सुरू कपिलवस्तु जिल्ला अदालतबाट भएको फैसला प्रत्यर्थी प्रतिवादीहरूको हकमा बदर गरी निजहरूलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
सुरूमा परेको जाहेरी दरखास्तमा म प्रतिवादी मोटे भन्ने हविबुर रहमानको नाम र मेरो कसुर बारेमा कुनै उल्लेख भएको छैन । १ महिना ४ दिनपछि मिति २०७०।४।१० मा परेको अर्को जाहेरी प्रमाण योग्य
छैन । उक्त जाहेरीमा नाम उल्लेख गरे तापनि कसुर देखाउन सकेको छैन । घटना भएको दिन म घरमा नै रहेको थिएँ । सुरू फैसलामा समेत के कस्तो मतलबमा फसेको हो भन्ने बेहोरा उल्लेख गरिएको छैन । अदालतमा बकपत्र गर्ने साक्षीहरूले समेत दोषी देखाउन सकेका छैनन् । म निर्दोष रहेको हुँदा सुरू अदालतको फैसला बदर गरी सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी मोटे भन्ने हविबुर रहमान मुसलमानको पुनरावेदन पत्र ।
सुरूमा परेको जाहेरी दरखास्तमा म प्रतिवादी अलिमुल्लाह मुललमानको नाम उल्लेख गरिएको
छैन । जाहेरवालाले अदालतमा बकपत्र गर्दासमेत मेरो नाम उल्लेख गरेका छैनन् । सुरूको फैसलामा प्रतिवादी अलीमुल्लाह मतलबमा फसेको भनी उल्लेख गरिएको छ तर के कस्तो मतलबमा फसेको भन्ने उल्लेख गरिएको छैन । मौकामा गरेको बयान र अदालतमा भएको बयानमा समेत मेरो इन्कारी बयान छ भने मेरो बयानलाई समर्थन गर्ने गरी साक्षीबाट बकपत्र भएको छ त्यसलाई प्रमाणमा नलिई सुरूबाट भएको फैसला बदरभागी छ । सुरूको फैसला बदर गरी सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी अलिमुल्लाह मुसलमानको पुनरावेदन पत्र ।
जाहेरी दरखास्तमा मृतकको टाउकोमा हान्ने मुख्य मानिस वजिउद्दिन लेखाइएको छ भने उजिउद्दिनले फलामको सव्वलले प्रहार गरेको भनिएको छ । मलाई र मेरो बाबु अयुब दर्जीलाई मृतकले हान्न खोज्दा मैले आत्मरक्षा गर्न सव्वल चलाएकोसम्म हो भनी अदालतसमक्ष बयान गरेकोमा सोतर्फ विचारै नगरी मलाई जन्मकैदको सजाय गर्दा अन्याय पर्न गएको छ । जाहेरवालाले अदालतमा बयान गर्दासमेत मैले प्रहार गरेको भनी भन्न सकेका छैनन् । सरकारी साक्षीहरूले समेत मैले प्रहार गरेको भनी लेखाएका छैनन । तसर्थ मेरो पुनरावेदन जिकिरलाई विचार गरी सुरू अदालतको फैसला बदर गरी पूर्णत सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी उजैर भन्ने सफिउर रहमान मुसलामानको पुनरावेदन पत्र ।
अनुसन्धान अधिकारीसमक्ष गरेको बयान मेरो राजीखुसीको होइन भनी अदालतमा बयान गर्दा उल्लेख गरेको छु । घटनाको समयमा म घटनास्थलमा मौजुद नभएको, म घरमा आउने क्रममा ओवैदुर रहमानले बोगदाले मेरो टाउकोमा हानेको र म तत्कालै बेहोस भएको छु । घटना बारेमा मलाई कुनै जानकारी नै नभएको अवस्थामा मलाई ५ वर्ष कैद गर्ने गरी भएको सुरू फैसला बदर भागी छ । जाहेरी गर्ने व्यक्ति चस्मदिद होइनन् । त्यस्ता व्यक्तिको जाहेरी मेरो विरूद्ध प्रमाणमा लाग्ने होइन । अभियोजन पक्षका साक्षीहरूले समेत मैले वारदात स्थलमा उपस्थित रही यो यस्तो भूमिका प्रयोग गरे भनी अदालतमा बकपत्र गरको अवस्था पनि छैन । वारदात हुँदा म स्वयं पीडित भइसकेको र पछि वारदात घटेको भन्ने मिसिल संलग्न प्रमाणबाट पुष्टि हुँदाहुँदै अनुमानको भरमा मलाई ५ वर्ष कैद सजाय गर्ने गरी गरेको सुरूको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी पूर्णत सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी मोहम्मद अयुव भन्ने अयुव दर्जी मुसलमानको पुनरावेदन पत्र ।
यसमा कपिलवस्तु जिल्ला अदालतको मिति २०७१।१०।२५ को फैसला समग्र प्रमाण मूल्याङ्कनबाट फरक पर्न सक्ने देखिँदा वादी नेपाल सरकारको पुनरावेदनपत्रको जानकारी पुनरावेदन गर्ने प्रतिवादीहरूलाई दिई सफाइ पाएका प्रतिवादीहरूलाई अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई उपस्थित भए वा अवधि व्यतित भएपछि नियमानुसार गरी पेस गर्नू । साथै अ.बं.१९० नं. बमोजिम मुलतबी रहेका प्रतिवादीहरूलाई समेत वादी नेपाल सरकारबाट पुनरावेदन पत्रमा प्रत्यर्थी बनाएको भए पनि निजहरूका हकमा म्याद जारी गरिरहनु नपर्ने हुँदा सोतर्फ कानूनबमोजिम गर्नु भन्ने पुनरावेदन अदालत बुटवलको मिति २०७२।५।२३ को आदेश ।
पुनरावेदक प्रतिवादी उजैर भन्ने सफिउर रहमान अदालतसमक्ष उपस्थित भई बयान गर्दा मिति २०७०।४।६ को दिन भएको वारदातमा आफू उपस्थित रही आफ्नो घरमा रहेको सव्वल निकाली आफ्नो र आफ्नो पिताजीलार्इ मृतकबाट लाग्न सक्ने चोटबाट रोक्नका लागि सव्वल चलाएको र सोही सव्वलको चोटले मृतकको मृत्यु भएको हुन सक्छ भनी आफूले सव्वल जस्तो जोखिमी औजार उठार्इ मृतकलार्इ प्रहार गरेको र सो प्रहारबाट मृतकलार्इ चोट लाग्न गएको कुरा स्वीकार गर्दै सोही चोट पिरबाट मृतकको मृत्यु भएको हुन सक्ने कुरालार्इ सविस्तार उल्लेख गरेको पाइन्छ । घटना वारदातका प्रत्यक्षदर्शीसमेतले प्रतिवादी उजैर भन्ने सफिउर रहमानले मृतकउपर घर जग्गाको विषयको पूर्वरिसइवीका कारण षड्यन्त्र गरी मृतकलार्इ सव्वल एवं लाठीले प्रहार गरी लडार्इ सोही प्रहारका कारण लागेको चोटबाट उपचारका क्रममा मृतकको मृत्यु भएको हो भनी बकपत्र गरेको पाइन्छ । जाहेरवाला मोहमद मुस्तकिम मुसलमान र जुनैद आलमले घटना वारदातका प्रत्यक्षदर्शीसमेतका हैसियतले यी प्रतिवादीलाई किटान गरी बकपत्र गरेको र मृतकको मृत्युको कारण टाउकोको चोट (Head Injury) भनी उल्लेख गरेकोसमेतबाट प्रतिवादीउपर अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. को कसुर स्थापित गरी ऐ. १३(३) नं. बमोजिम जन्मकैदको सजाय हुने । पुनरावेदक प्रतिवादी मोटे भन्ने हविवुर रहमान मुसलमानको हकमा हेर्दा यी प्रतिवादीको घटना वारदातस्थलमा उपस्थित रहेकोमा विवाद रहेन । यद्यपि यिनै प्रतिवादीको चोट प्रहारबाट मृतकको मृत्यु भएको भन्ने तथ्य स्थापित नभए पनि मृतकलार्इ कुटपिट गरी चोट पुर्यार्इ ज्यान मार्नालार्इ कुनै न कुनै तरहबाट मतलबमा पसेको भन्ने तथ्य स्थापित भएको देखिएबाट प्रतिवादी भोटे भन्ने हविवुर रहमान मुसलमानलार्इ मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिमको कसुर अपराधमा सोही नं. बमोजिम २ वर्ष कैद सजाय
हुने । र पुनरावेदक प्रतिवादी अलिमुल्लाह मुसलमानको हकमा हेर्दा मौकामा फरार रहेका यी प्रतिवादी अदालतसमक्ष उपस्थित भई बयान गर्दा आफू घटना वारदातमा नभएको र आफूले कुनै कसुर नगरेको भनी उल्लेख गरे पनि मौकामा फरार रहनु र यीउपर किटानी जाहेरी परी घटना वारदात देख्ने प्रत्यक्षदर्शी अब्दुल आलमसमेतका मानिसहरूले घटनास्थलमा यिनको उपस्थिति एवं संलग्नता थियो भन्नु पर्ने अन्य युक्तियुक्त कुनै कारण थियो भन्ने कुरा प्रतिवादीले पुष्टि गर्न सकेको पाइँदैन । केवल अदालतसमक्षको इन्कारी बयानलार्इ मात्र आधार लिर्इ पुनरावेदक प्रतिवादी निर्दोष रहेछन् भन्न सकिने अवस्था नभएबाट यी प्रतिवादी घटना वारदातस्थलमा उपस्थित भई मृतकलार्इ कुटपिट गरी चोट पुर्यार्इ मार्नमा कुनै न कुनै तवरबाट मतलबमा पसेको भन्ने कुरा पुष्टि हुन आएको देखिँदा कसुरको मात्राअनुसार निजलार्इ मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम २ वर्ष कैद सजाय हुने गरी भएको सुरू फैसला सदर हुने गरी पुनरावेदन अदालत बुटवलबाट मिति २०७३।४।३२ मा भएको फैसला ।
मुद्दाको सुरूवात भएको सर्वप्रथम परेको जुनेद आलम मुसलमानको जाहेरीमा नै मेरो नाम उल्लेख नभई कुनै कसुर नगरेको प्रमाणित देखिएको र सुरू अदालतको फैसलाको ठहर खण्डमा पनि सुरू जाहेरीमा नाम उल्लेख नभएको भनी उल्लेख भएको आधार प्रमाणबाट म निवेदक प्रतिवादी निर्दोष रहेको प्रमाणित देखिएको छ । जाहेरवालाको अदालतमा भएको बकपत्र हेर्दासमेत निजले अन्य प्रतिवादीहरूले कुटपिट गरेको भनी उल्लेख गरेका छन् भने मेरो नाम उल्लेख गरेका छैनन् । घटना भएको लगभग १ महिना ४ दिनपछि मोहम्मद मुस्तकिम मुसलमानले दिएको दोस्रो जाहेरीको कुनै औचित्य छैन । १ महिना ४ दिनपछि मिति २०७०/४/१० गते परेको मोहम्मद मुस्तकिमको जाहेरी बेहोराको कागज कुनै प्रमाण योग्य छैन । दोस्रो जाहेरीमा मेरो नाम उल्लेख भए पनि पेट बेहोरामा कुनै कसुर देखाउन सकेको
छैन । म अलिमुल्लाहले काठको बाँसको लाठी लिएको भनी उल्लेख भएको तर सो काठको बाँसको लाठीले यो यस्तो घाउ चोट पारेको भन्ने कहिँकतै उल्लेख
छैन । सोबाटसमेत म पुनरावेदक प्रतिवादी निर्दोष रहेको स्पष्ट छ । जाहेरवाला मुस्तकिम मुसलमानले बकपत्र गर्दा म अलिमुल्लाहउपर लाठीको कुरा उल्लेख गरे पनि कुन प्रतिवादीले कहाँ प्रहार गरेको कुनै कुरा देखाउन सकेका छैनन् । म प्रतिवादी अलिमुल्लाह मुसलमान साउनको महिनामा खेती गर्नलाई गा.वि.स. पतरिया वडा नं.७ बकुलीमा गएको भनी इन्कारी बयान भई साक्षी नसरूद्दीन मुसलमानले सो तथ्यको समर्थन गरी बकपत्र गरिदिएकोबाट म प्रतिवादी निर्दोष रहेको प्रमाणित देखिएको छ । अतः सुरू कपिलवस्तु जिल्ला अदालतबाट मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ (३) नं. बमोजिम २ वर्ष कैद हुने गरी भएको फैसलालाई सदर गर्ने गरी भएको पुनरावेदन अदालत बुटवलबाट भएको फैसला त्रुटिपूर्ण भई बदरभागी रहेको छ भन्ने जिकिरसहित पुनरावेदक प्रतिवादी अलिमुल्लाह मुसलमानको यस अदालतमा परेको पुनरावेदन ।
जाहेरवाला जुनेद आलम मुसलमानको जाहेरीमा मेरो नाम उल्लेख रहेको छैन । सुरू अदालतको फैसलाको ठहर खण्डमा पनि सुरू जाहेरीमा नाम उल्लेख नभएको भनी उल्लेख भएको छ । जाहेरवाला जुनेद आलम मुसलमानको अदालतमा भएको बकपत्रमा समेत मलाई किटान पोल गरी लेखाउन नसकेको र दोस्रो जाहेरीमा मलाई उल्लेख गरी कसुरमा संलग्न भनी देखाए पनि यो यस्तो कार्य गरेको भनी किटानी बेहोरा उल्लेख गर्न नसकेकोबाट मेरो कसुरमा संलग्नता पुष्टि हुन सकेको अवस्था हुँदासमेत मलाई सुरू कपिलवस्तु जिल्ला अदालतबाट मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७ (३) नं. बमोजिम २ वर्ष कैद हुने गरी फैसला भएको र उक्त फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत बुटवलबाट भएको फैसला त्रुटिपूर्ण भई बदरभागी रहेको छ भन्ने जिकिरसहित पुनरावेदक प्रतिवादी मोटे भन्ने हबीबुर रहमान मुसलमानको यस अदालतमा परेको पुनरावेदन ।
यस अदालतबाट मिति २०७३।४।३२ मा फैसला भएको रेकर्ड नं.१०७०५/२० ख कपिलवस्तुको मिसिल थान १ र सुरू कपिलवस्तु जिल्ला अदालतको सुरू मिसिलसमेत गरी जम्मा थान २ मिसिल साधक जाँचका लागि पठाइएको भन्ने बेहोराको मिति २०७४।०६।१३ को च नं. २०३० को उच्च अदालत तुलसीपुर, बुटवल इजलासको पत्र ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा प्रतिवादीहरू बजिउद्विन मुसलमान, अकवर हुसेन मुसलमान, इलियास मुसलमान र उजैर भन्ने सफिउर रहमान मुसलमानउपर मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. को कसुरमा ऐ. १३(३) नं. बमोजिम र प्रतिवादीहरू मोहम्मद अयुव भन्ने अयुव दर्जी मुसलमान, वरकतुल्लाह मुसलमान, महफुजुर रहमान मुसलमान, महरूद्विन मुसलमान, नुरूल हसन मुसलमान, मोटे भन्ने हविवुर रहमान मुसलमान, जिजु भन्ने अजिजुर रहमान मुसलमान, जावेद आलम मुसलमान, जलालुद्दिन मुसलमान, महताव आलम मुसलमान र अलि मुल्लाह मुसलमानलार्इ मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ (१) नं. बमोजिम सजाय हुन तथा प्रतिवादी नुरूल हसन मुसलमानको उमेर वारदातको समयमा १३ वर्ष १ महिनाको देखिँदा निजको हकमा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(२) बमोजिम हुनसमेत मागदाबी लिई अभियोग पत्र पेस भएकोमा प्रतिवादी इलियास मुसलमान, वजिउद्दीन मुसलमान, अकवर हुसेन मुसलमानहरूको हकमा अ.बं. १९० नं. बमोजिम मुद्दा मुलतबीमा रहने, प्रतिवादी उजैर भन्ने सफिउर रहमानलाई अभियोग मागदाबीबमोजिम ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्म कैदको सजाय हुने, प्रतिवादी मोहम्मद अयुव भन्ने अयुव दर्जी मुसलमानको हकमा ज्यानसम्बन्धी महलको १७(२) नं. बमोजिम ५(पाँच) वर्षको कैद सजाय हुने, प्रतिवादीहरू मोटे भन्ने हविबुर रहमान र अलिमुल्लाह मुसलमानलाई ज्यानसम्बन्धी महलको १७(३) बमोजिम (दुर्इ) वर्ष कैद हुने, र अन्य प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने गरी सुरू कपिलवस्तु जिल्ला अदालतबाट फैसला भएकोमा सोउपर वादी नेपाल सरकार र प्रतिवादीहरू उजैर भन्ने सफिउर रहमान मुसलमान, मोटे भन्ने हबिबुर रहमान मुसलमान, अलिमुल्लाह मुसलमान र मोहम्मद अयुव भन्ने अयुव दर्जी मुसलमानको पुनरावेदन परेकोमा पुनरावेदन अदालत बुटवलबाट सुरू फैसला सदर गर्ने गरी भएको मिति २०७३।४।३२ को फैसलाउपर प्रतिवादी मोटे भन्ने हबिबुर रहमान मुसलमान र अलिमुल्लाह मुसलमानको पुनरावेदन परी र प्रतिवादी उजैर भन्ने सफिउर रहमान मुसलमानको हकमा साधकको रूपमा प्रस्तुत मुद्दा इजलाससमक्ष पेस हुन आएको देखियो ।
प्रतिवादी उजैर भन्ने सफिउर रहमान मुसलमानलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नं. बमोजिम जन्मकैद हुने र प्रतिवादीहरू हबिबुर रहमान मुसलमान र अलिमुल्लाह मुसलमानलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ (३) नं. बमोजिम २ वर्ष कैद हुने ठहर गरी भएको सुरू फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत बुटवलको फैसला, पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर, साधक जाहेरी तथा मिसिल संलग्न कागज प्रमाणको अध्ययन विश्लेषणसमेतको आधारमा हेर्दा मूल रूपमा पुनरावेदन अदालत बुटवलको फैसला मिलेको छ
छैन ? पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ? र प्रतिवादी उजैर भन्ने सफिउर रहमान मुसलामानको हकमा साधक जाँचको रोहमा फैसला मिलेको छ छैन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. यसमा सुरूमा जाहेरी दिने जाहेरवालाले मेरो नाम उल्लेख नगरेको तथा बकपत्र गर्दासमेत मलाई किटान पोल गरी लेखाउन सकेका छैनन् । १ महिना ४ दिनपछि परेको दोस्रो जाहेरीमा मेरो नाम उल्लेख भएको भए तापनि पेटबोलीमा मेरो कसुरमा यो र यस्तो कार्य गरेको भनी भूमिका प्रस्ट पारेको
देखिँदैन । मौकामा परेको जाहेरीमा मेरो नाम उल्लेख नहुनु र १ महिनापछि परेको दोस्रो जाहेरीको प्रामाणिक मूल्य नहुने हुँदा मेरो कसुरमा संलग्नता पुष्टि हुन सकेको छैन । सो हुँदासमेत सुरू फैसला सदर गरी पुनरावेदक प्रतिवादीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ (३) नं. बमोजिम २ वर्ष कैद हुने गरी पुनरावेदन अदालत बुटवलबाट भएको फैसला बदर गरी आरोपित कसुरमा सफाइ पाउँ भन्ने पुनरावेदकद्वय अलिमुल्लाह मुसलमान र मोटे भन्ने हबीबुर रहमान मुसलमानको एकै मिलानको अलग अलग पुनरावेदन जिकिर रहेको देखियो ।
३. प्रतिवादी उजैर भन्ने सफिउर रहमानको हकमा निज प्रतिवादी स्वयंले मिति २०७०।४।६ को दिन भएको वारदातमा आफू उपस्थित रही आफ्नो घरमा रहेको सव्वल निकाली आफ्नो र आफ्नो पिताजीलार्इ मृतकबाट लाग्न सक्ने चोटबाट रोक्नका लागि सव्वल चलाएको कुरा स्वीकार गर्दै अदालतमा बयानको क्रममा बेहोरा खुलाएको, घटना वारदातका प्रत्यक्षदर्शीसमेतले प्रतिवादी उजैर भन्ने सफिउर रहमानले मृतकउपर घर जग्गाको विषयको पूर्वरिसइवीका कारण षड्यन्त्र गरी मृतकलार्इ सव्वल एवं लाठीले प्रहार गरी लडार्इ सोही प्रहारका कारण लागेको चोटबाट उपचारका क्रममा मृतकको मृत्यु भएको हो भनी बकपत्रमा लेखाइदिएको छ भने जाहेरवाला मोहमद मुस्तकिम मुसलमान र जुनैद आलमले घटना वारदातका प्रत्यक्षदर्शीसमेतका हैसियतले यी प्रतिवादीलाई किटान गरी बकपत्र गरेको र मृतकको मृत्युको कारण टाउकोको चोट (Head Injury) भनी उल्लेख गरेको आधारमा प्रतिवादीउपर अभियोग दाबीबमोजिमको कसुर कायम गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत ऐ. १३(३) नं. बमोजिमको कसुरमा ऐ १३(३) नं. बमोजिम जन्मकैदको सजाय हुने गरी भएको सुरू फैसलालाई सदर गरी पुनरावेदन अदालत बुटवलबाट फैसला भई साधक जाहेरका क्रममा पेस हुन आएको रहेछ ।
४. मेरो काका ओवैदुर रहमानलाई मिति २०७०।४।६ गते बिहान अं. ९.०० बजे पिपरा गा.वि.स. वडा नं. १ वुलाडिहवामा प्रतिवादीहरू अकवर हुसेन मुसलमान, वजिउद्विन मुसलमान, इलियास मुसलमान, उजैर भन्ने सफिउर रहमानसमेतका व्यक्तिहरूले कुटपिट गरी मरणासन्न अवस्थामा बेहोस बनाई छाडेको अवस्थामा निजलाई शिक्षण अस्पताल भैरहवामा लगी उपचार गराउँदागराउँदै दिउँसो १ बजेतिर मृत्यु भएको हो भन्ने बेहोराको जुनेद आलम मुसलमानको जाहेरी दरखास्त तथा प्रतिवादीहरूमध्येका अकवर हुसेनको पिता तथा नुरूल हसनको बाजे सजरूल एकिनसँग म जाहेरवालाको कपिलवस्तु जिल्ला अदालतमा बाटो अवरोध हटाइ पाउँ भन्नेसमेतका मुद्दाहरू चलिरहेको अवस्था छ । निज प्रतिवादीहरूले सोही विषयमा रिसइवी लिई ज्यान लिनेसम्मको धम्की दिएका थिए । मिति २०७०।४।६ गते सोही जग्गामा निज प्रतिवादीहरूले बाँसको खुट्टा गाड्न लागेकोमा मेरो छोरा ओवैदुर रहमानले सो नगर्न आग्रह गर्दा प्रतिवादी बजिउद्विन मुसलमानले फलामको सव्वलले टाउकोमा हानेको र त्यसपछि वरकतुल्लाह मुसलमान र इलियास मुसलमानले फलामको सव्वलले, हविवुर रहमान मुसलमान र अजिजुर रहमान मुसलमानले फलामको छडले, जावेद आलमले हसियाले, महरूद्विन मुसलमान, अकवर हुसेन, सफिउर रहमान, महफुर रहमान, नुरूल हसन, अयुव दर्जी, जलालुद्विन मुसलमान, महताव आलम, अलिमुल्लाह मुसलमानसमेतले काठबाँसले कुटी घाइते बनाएको भन्ने सुनी म घटनास्थलमा जाँदा प्रतिवादीहरू भागी गएको र छोरालाई उपचारको लागि मेडिकल कलेज भैरहवामा लगी उपचार गराउँदा गराउँदै निजको मृत्यु भएकोमा जावेद आलमले तत्काल थाहा पाएसम्मको जाहेरी दिएकोमा म मृतकको बाबुले विस्तृत विवरण खुलाइदिएको छु, भन्नेसमेत बेहोराको मोहम्मद मुस्तकिम मुसलमानले दिएको पुरक जाहेरी दरखास्त रहेको देखिन्छ ।
५. मृतक ओवैदुर रहमानको बाँया हातको नाडीमा २ इन्च लम्बाइको निलो डाम रहेको, बाँया आँखामाथि छाला खोस्रिएको र निलो भएको, दाँया कानमाथि टाउकोमा डेढ इन्च लम्बाईको काटेको घाउ रहेको भन्नेसमेत बेहोराको लास जाँच मुचुल्का र मृतक ओवैदुर रहमानको टाउकोको टुप्पी नजिक Tempo-parietal region 8x2x1 से.मी. चोट रहेको, बायाँ पाखुरामा निल डाम रहेको, टुप्पीको बायाँ काननिर (left temporal) र दायाँ काननिर (right temporal) खप्पर फुटेको, टाउकोको बायाँ कानमाथिको भित्री झिल्ली (Subdural) मा निलडाम रहेको तथा टाउकोको चोटको कारण निजको मृत्यु भएको भन्नेसमेत बेहोराको लास जाँच प्रतिवेदन रहेकोसमेतबाट मृतक ओवैदुर रहमानको मृत्यु कर्तव्यबाट भएको भन्ने कुरामा अन्यथा देखिँदैन ।
६. मृतक ओवैदुर रहमानको कर्तव्यमा प्रतिवादीहरूको संलग्नताको सम्बन्धमा विवेचना गर्दा प्रतिवादी उजैरको हकमा जाहेरवालाहरू जुनेद आलम मुसलमान र मोहम्मद मुस्तकिम मुसलमानको जाहेरीमा यी प्रतिवादीसमेतले मृतकलाई प्रहार गरेको भनी किटानी जाहेरी रहेको देखिन्छ भने यी प्रतिवादीले अदालतमा बयान गर्दा वारदात मितिमा मृतक ओवैदुर रहमानसमेतले मलाई र मेरो पिता मोहम्मद अयुव मुसलमानलाई प्रहार गर्न थालेपछि मैले मेरो र पिताजीको सुरक्षा गर्न घरमा रहेको सव्वल निकाली त्यही सव्वलले उनीहरूले हानेको चोट रोक्ने क्रममा मेरो हातमा रहेको सव्वलले मृतक ओवैदुर रहमानलाई लाग्न गई मृत्यु भएको हुन सक्छ भनी आफ्नो प्रहारबाट मृतकलाई लाग्न गएको कुरामा स्वीकार रही बयान लेखाएको देखिन्छ । त्यसैगरी पिपरा गा.वि.स. वडा नं.२ मा रहेको अब्दुल हकको जग्गामा वजिउद्विन मुसलमान, अकवर हुसेन दर्जी, इलियास मुसलमान, सफिउर रहमान मुसलमानसमेत भई बाँसको किला गाड्न भनी लागेको अवस्थामा ओवैदुर रहमान र उनका पक्षका व्यक्तिहरू आई यस विवादित जग्गामा किन किला गाडेको हो भनेको हुँदा तत्पश्चात् दुवै पक्षबिच वादविवाद एवं कुटपिट हुँदा ओवैदुर रहमान र मसमेत घाइते भई उपचारको क्रममा ओवैदुर रहमानको मृत्यु भएको हो । वारदातमा वजिउद्विन मुसलमानले फलामको सव्वलले, इलियास मुसलमान र अकवर दर्जीले फलामको सरियाले र सफिउर रहमानले बाँसको लाठीले प्रहार गरेका हुन् । नुरूल हसन मुसलमानसँग सव्वल र अन्य व्यक्तिहरूसँग बाँसको लाठी थियो भनी प्रतिवादी मोहमद अयुव भन्ने अयुव दर्जी मुसलमानले अनुसन्धानको क्रममा बयान गरेको देखिन्छ ।
७. वारदात समयमा अब्दुल हकको जग्गाअगाडि प्रतिवादीहरूले बाटो च्यापी बाँसको किल्ला गाड्दै गरेको अवस्थामा विवाद हुँदा प्रतिवादीहरूले सव्वल, फलामे छड, बाँसको लठ्ठी, लात मुक्का आदिले मृतक ओवैदुर रहमानलाई प्रहार गरेको हुँदा निजको मृत्यु भएको हो । प्रतिवादी उजैर भन्ने सफिउर रहमानले बाँसको लाठीले प्रहार गरेका हुन् भनी घटनाका प्रत्यक्षदर्शी अब्दुल रब, अब्दुल मोइत, अब्दुल मोविन, जावेद आलम र अब्दुल रसिदको घटना विवरण कागज तथा बकपत्र बेहोरा रहेकोसमेतबाट प्रतिवादी सफिउर रहमानसमेत अन्य प्रतिवादीहरूको चोट प्रहारबाट मृतक ओवैदुरको मृत्यु हुन पुगेको कुरामा अन्यथा देखिन आएन ।
८. मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नं. ले “लाठा ढुङ्गा र साधारण सानातिना हातहतियारले कुटी हानी रोपी घोची वा अरू ज्यान मर्ने गैह्र कुरा गरी ज्यान मरेमा एकैजनाले मात्र सो काम गरी ज्यान मारेमा सोही एकजना र धेरैजनाको हुल भई मारेमा यसैले मारेको वा यसको चोटले मरेको भन्ने प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा ठहर्छ । त्यस्तालाई सर्वस्वसहित जन्मकैद गर्नुपर्छ । सोबाहेक अरूलाई र यसैले मारेको वा यसैका चोटले मरेको भन्ने कुरा सो हातहतियार छाड्ने कसैउपर कुनै प्रमाणबाट देखिने ठहर्न नआएमा सबैलाई जन्म कैद गर्नुपर्छ” भन्ने उल्लेख गरेको देखिन्छ । उक्त व्यवस्थाअनुसार जसको चोटले मृत्यु भएको हो सो छुट्टिन सक्ने अवस्था भएमा उक्त व्यक्ति मुख्य ज्यानमारा ठहर्ने र सर्वस्वसहित जन्मकैद हुने र छुट्टिन नसक्ने अवस्थामा सबैलाई जन्मकैद हुने भन्ने व्यवस्था रहेको देखिन्छ ।
९. मृतकलाई सामूहिक रूपमा सांघातिक तवरले फलामे छड, काठको लाठी तथा लात मुक्का आदिले प्रहार गरी मरणासन्न बनाएको अवस्थामा निजलाई उद्धार गरी वारदातस्थल कपिलवस्तुबाट भैरहवास्थित शिक्षण अस्पतालमा उपचारार्थ ल्याइएको अवस्थामा उपचारको क्रममा मृत्यु हुन पुगेको तथ्य जाहेरी बेहोरा, प्रतिवादीहरूको बयान, तथा लास जाँच मुचुल्कासमेतबाट पुष्टि हुन आएको
छ । लास जाँच मुचुल्का तथा Lacerated wound 8cm-2cm-1cm on right tempo parietal region of head; Fracture of left parietal bone, left temporal bone, right parietal bone; subdural hematoma present in left parieto temporal region of head. समेत उल्लेख रहेको शव परीक्षण प्रतिवेदनले देखाएको मृतकको शरीरमा लागेका चोटहरूको प्रकृति, धेरै तथा विभिन्न चोटहरू लागेको अवस्थासमेतबाट मृतकलाई सामूहिक रूपमा कुटपिट गरिएको र सोही कुटपिटका कारणबाट निजको मृत्यु हुन पुगेको देखिन आउँछ । प्रतिवादी उजैर भन्ने सफिउर रहमानले अन्य प्रतिवादीहरूसँगै समूहमा मृतकलाई चोट छाडेको देखिए तापनि यिनै प्रतिवादीको चोटले मृतकको मृत्यु भएको भन्ने खुल्न सक्ने अवस्था देखिँदैन । जाहेरवालाहरूको जाहेरी तथा बकपत्र, प्रत्यक्षदर्शी अब्दुल रब, अब्दुल मोइत, अब्दुल मोविन, जावेद आलम, अब्दुल रसिदसमेतको बकपत्र बेहोरामा समेत यी प्रतिवादीले अन्य प्रतिवादीहरूसँग समूहमा रही मृतकलाई प्रहार गरेको भन्ने बेहोरा रहेको तथा प्रतिवादी स्वयंको बयानबाटसमेत सोही तथ्य खुलेको अवस्था हुँदा निज प्रतिवादी उजैर भन्ने सफिउर रहमानले अभियोग दाबीबमोजिम मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नं. बमोजिमको कसुर गरेको भन्ने देखियो ।
१०. पुनरावेदक अलिमुल्लाह मुसलमानको हकमा निजको वारदातमा संलग्नता थियो थिएन तथा निज प्रतिवादीले लिएको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्ने सम्बन्धमा हेर्दा यी पुनरावेदक प्रतिवादीसमेत उपर किटानी जाहेरी रहेको, प्रतिवादी अलिमुल्लाह मुसलमानले काठबाँसको लठ्ठीले प्रहार गरेका हुन् भनी उल्लेख भएको, आफ्नो जाहेरी बेहोरालार्इ समर्थन गर्दै जाहेरवाला अदालतसमक्ष उपस्थित भई बकपत्र गरेको, घटना वारदातका प्रत्यक्षदर्शी अब्दुल आलम, अब्दुल रसिद, अब्दुल मोहित, अब्दुल मोविनसमेतका मानिसहरूले घटना विवरण कागज गर्दा यी पुनरावेदक प्रतिवादी वारदातस्थलमा आर्इ मृतकलार्इ कुटपिट गरेका हुन् भनी लेखाइदिएको र सोही बेहोरा समर्थन गरी अदालत समक्षसमेत उपस्थित भई बकपत्रसमेत गरेको
पाइन्छ । यी प्रतिवादी मौकामा फरार रहेको देखिन्छ भने अदालतसमक्ष बयान गर्दा आफू घटना वारदातमा नरहेको भन्ने जिकिर लिएको भए तापनि उनको इन्कारी बयानलाई पुष्टि हुने कुनै आधार प्रमाण निजले दिन सकेका छैनन् भने जाहेरवालालगायत अन्य प्रत्यक्षदर्शी साक्षीहरूले यिनलाई विना आधार र कारण किटान पोल गरी बकपत्र लेखाए भन्ने कुनै तर्कसङ्गत आधार नदेखिएको तथा पुनरावेदक प्रतिवादीको केवल अदालतसमक्षको इन्कारी बयानलार्इ मात्र आधार लिर्इ यी प्रतिवादी निर्दोष रहेछन् भन्न सकिने अवस्था देखिएन । यी प्रतिवादी अन्य प्रतिवादीहरूसँग घटना वारदात घटाउनमा मदतगार बनी समूहमा गएको र अन्य प्रतिवादीहरूले प्रहार गर्दा समूहमा सरिक भई कुनै न कुनै रूपमा सघाएको जाहेरवालाहरू तथा प्रत्यक्षदर्शी साक्षीहरूको बकपत्र तथा प्रतिवादी अयुव मुसलमानको मौकाको बयानसमेतबाट देखिएको हुँदा निज प्रतिवादीले लिएको निर्दोषिताको जिकिर पुष्टि भएको देखिन आएन । यी प्रतिवादीसमेत घटना वारदातमा संलग्न भएको पुष्टि हुन आयो ।
११. पुनरावेदक प्रतिवादी मोटे भन्ने हबिबुर रहमान मुसलमानको हकमा निजको वारदातमा संलग्नता थियो थिएन तथा निज प्रतिवादीले लिएको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्ने सम्बन्धमा हेर्दा यी प्रतिवादीउपर किटानी जाहेरी रही प्रतिवादी मोटे भन्ने हविवुर रहमानले फलामको छडले प्रहार गरेको भन्ने जाहेरी बेहोरालाई समर्थन गर्ने गरी जाहेरवालाले बकपत्र गरिदिएका, प्रत्यक्षदर्शी साक्षीहरूले मौकामा कागज गर्दा र अदालतमा बकपत्र गर्दासमेत यी प्रतिवादीले समेत मृतकलाई कुटपिट गरेका हुन भनी किटान पोल गरी लेखाइदिएका छन् । यी प्रतिवादीले अदालतमा बयान गर्दा कसुरमा इन्कार रही बयान बेहोरा लेखाएको भए तापनि अब्दुल हकले घटनाको बारेमा भनेपछि वारदातस्थलमा पुगेको कुरालाई स्वीकार नै गरेका छन् । प्रतिवादी कसुरमा इन्कार रहे तापनि निजले आफ्नो इन्कारी बयानलाई पुष्टि गर्ने कुनै आधार प्रमाण दिन सकेका छैनन् भने प्रत्यक्षदर्शी साक्षीहरूले अन्य प्रतिवादीहरूले मृतकलाई कुटपिट गर्दा यी प्रतिवादीसमेत समूहमा संलग्न रहेको भनी लेखाइदिएको बेहोरासमेतले यी प्रतिवादी घटना वारदातमा संलग्न थिएनन् भनी मान्न सकिने अवस्था देखिन आएन । यद्यपि यी प्रतिवादीकै चोटका कारणले मृतकको मृत्यु भएको अवस्था नदेखिएबाट यी प्रतिवादीले अन्य प्रतिवादीलाई घटना वारदातमा कुनै न कुनै रूपले सघाएको देखिन आएको छ ।
१२. पुनरावेदक प्रतिवादीहरूले दोस्रो जाहेरी दरखास्तमा मात्र आफ्नो नाम उल्लेख भएको र दोस्रो जाहेरीको कुनै अर्थ नहुने वा प्रामाणिक मूल्य नहुने र जाहेरी बेहोरामा वारदातमा यो र यस्तो कार्य गरेको भनी निर्दिष्ट गर्न नसकेको हुँदा आफ्नो कसुर पुष्टि हुन सकेको छैन भनी लिएको पुनरावेदन जिकिरका सम्बन्धमा हेर्दा जाहेरी दरखास्त आफैँमा प्रमाण हुने वा नहुने भन्ने नभई यो कसुरका बारेमा सूचना दिने माध्यम हो । अपराधको बारेमा सूचना दिनुलाई First Information Report (FIR) पनि भन्ने गरेको पाइन्छ । जाहेरी परेपछि घटना वा आपराधिक कार्यको विस्तृत अनुसन्धान हुने
गर्दछ । अनुसन्धानबाट संकलित प्रमाण कागजले जाहेरी बेहोरालाई समर्थन गर्छ वा गर्दैन भन्ने मुख्य विषय रहेको हुन्छ । घटना परिस्थितिसँग जोडिएका साक्षी प्रमाणहरूले जाहेरी बेहोरालाई पुष्टि गर्ने अवस्था भएमा मात्र जाहेरी दरखास्तले प्रामाणिक मूल्य प्राप्त गर्दछ । जाहेरी दरखास्तले आँफैमा प्रमाणको रूप ग्रहण नगर्ने र यसले अन्य साक्षी प्रमाणको सापेक्षतामा प्रमाणको रूप ग्रहण गर्ने भएको हुँदा दोस्रो वा पुरक जाहेरी दिन नहुने वा दोस्रो जाहेरीको कुनै मूल्य नहुने भन्ने अवस्था रहँदैन ।
१३. त्यसैगरी जाहेरी बेहोरामा प्रतिवादीको कार्य निर्दिष्ट गर्न नसकिएको भन्ने पुनरावेदन जिकिरका सम्बन्धमा हेर्दा जाहेरवाला र प्रत्यक्षदर्शी साक्षीहरूसमेतले यी प्रतिवादीहरूले अन्य प्रतिवादीहरूसँग समूहमा रही वारदात घटाउनमा संलग्न रहेको भनी बकपत्रमा खुलाइदिएको
देखिन्छ । समूहमा वारदात भएको अवस्थामा मुख्य कसुरदार र सहयोगी छुट्याउनु पर्ने र सोहीबमोजिम नै कसुर कायम गर्नु पर्ने हुन्छ । यी प्रतिवादीहरूको हकमा हेर्दा यिनै प्रतिवादीहरूको चोटले मृतकको मृत्यु भएको भन्ने नदेखिएको, मृतकसँग यी प्रतिवादीहरूको मार्नेसम्मको पूर्वरिसइवीसमेत पुष्टि नभएको अवस्था रहेको हुँदा यी प्रतिवादीहरू अन्य प्रतिवादीहरूसँग मत सल्लाहमा पसी सहयोगीका रूपमा घटनामा संलग्न रहेका र समूहमा रही वारदात घटाउनमा कुनै न कुनै रूपमा सघाउ पुर्याएकोसमेतको अवस्था पुष्टि भएको र मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ (३) नं. ले सोही स्थितिलाई इङ्गित गरेको पाइएबाट पुनरावेदक प्रतिवादीहरूको एकै मिलानको पुनरावेदन जिकिर स्थापित हुने अवस्था देखिन आएन ।
१४. पुनरावेदक प्रतिवादीहरूको कसुर सम्बन्धमा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ नं. ले “ज्यान मार्नलाई मतलबमा भने पसेको तर मुख्य भई वचन पनि नदिने, हात हतियार पनि नछोड्ने, जिउमा पनि नछुने देहायका अवस्थाका अरू मतलबीहरूलाई ज्यान मरेको रहेछ भने देहायबमोजिम र ज्यान मरेको रहेनछ भने देहायमा लेखिएको सजायको आधा सजाय गर्नुपर्छ ।” भन्ने उल्लेख गरी देहाय ३ मा “अरू किसिमसँग मत सल्लाहमा पसेकोमा मार्ने ठाउँमा गई अरू कुरा केही नगरी हेरी रहनेलाई र लेखिएदेखिबाहेक अरू किसिमका मतलबीलाई छ महिनादेखि तीन वर्षसम्म कैद गर्नुपर्छ” भन्ने व्यवस्था उल्लेख भएको पाइन्छ । उक्त व्यवस्थाले ज्यान मार्ने कुरामा मतियार रहेको र वारदातमा संलग्न हुने तर कुनै विशिष्टीकृत कार्य नगर्ने वा अन्य परिभाषित गर्न नसकिने कार्य गर्ने व्यक्तिलाई यो व्यवस्था आकर्षित हुने देखिन्छ ।
१५. प्रतिवादी उजैर भन्ने सफिउर रहमानले अन्य प्रतिवादीहरूसमेतसँग भई मृतकलाई प्रहार गरेको भन्ने जाहेरवालालगायत अन्य प्रत्यक्षदर्शीहरूले लेखाइदिएका, निज प्रतिवादी स्वयम्ले आफूले सव्वलले प्रहार गर्दा लागेको हुन सक्ने भनी बयान बेहोरा लेखाएबाट यी प्रतिवादीले समूहमा भई मृतकलाई प्रहार गरी चोट पुर्याएको पुष्टि हुन आएको र प्रतिवादीहरू अलिमुल्लाह मुसलमान र मोटे भन्ने हबिबुर मुसलमानले अन्य प्रतिवादीहरूसँग समूहमा गई वारदात घटाउने कार्यमा मतियार भई तथा सहयोगीको रूपमा भूमिका निभाएको तथ्य पुष्टि हुन आएको हुँदा सोहीबमोजिम प्रतिवादीहरूलाई सजाय गर्ने गरी भएको पुनरावेदन अदालत बुटवलको फैसला अन्यथा देखिन आएन ।
१६. अतः माथि विवेचित आधार कारणबाट प्रतिवादी उजैर भन्ने सफिउर रहमानलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नं. बमोजिम जन्मकैदको सजाय हुने र पुनरावेदक प्रतिवादीहरू अलिमुल्लाह मुसलमान र मोटे भन्ने हबिबुर मुसलमानलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ (३) नं. बमोजिम २ (दुई) वर्ष कैद सजाय हुने गरी भएको सुरू फैसला सदर गरी भएको पुनरावेदन अदालत बुटवलको मिति २०७३।४।३२ को फैसला प्रतिवादी उजैर भन्ने सफिउर रहमानको हकमा साधक जाँचको रोहमा र पुनरावेदक प्रतिवादीहरूको हकमा पुनरावेदनको रोहमा हेर्दा अन्यथा नदेखिएबाट सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरू अलिमुल्लाह मुसलमान र मोटे भन्ने हबिबुर मुसलमान दुवैको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
उक्त रायमा सहमत छु ।
न्या.कुमार रेग्मी
इजलास अधिकृत: महेन्द्रप्रसाद पौड्याल
इति सवंत् २०७६ साल भाद्र ८ रोज १ शुभम् ।