शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०३५१ - कर्तव्य ज्यान

भाग: ६१ साल: २०७६ महिना: पौस अंक:

सर्वोच्च अदालत,  संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपककुमार कार्की

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल

फैसला मिति : २०७६।९१३

०६७-CR-०२११ 

 

मुद्दाः कर्तव्य ज्यान

 

पुनरावेदक / वादी : सिता परियारको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : काठमाडौ जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.८ घर भई कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं.११ बस्ने राजु बोगटी

 

आत्मरक्षाको अधिकार भन्‍नाले कसैले आफूमाथि गैरकानूनी रूपले आक्रमण गरेको अवस्थामा उक्त गैरकानूनी आक्रमणबाट आफू बच्न नसक्ने वा भाग्न उम्कन नसक्ने अवस्थामा विकल्प विहीन अवस्था भर्इ आफ्नो ज्यान बचाउनको लागि प्रतिक्रियात्मक बल प्रयोग गर्न पाउने शक्तिलार्इ बुझाउने ।

आत्मरक्षाको अधिकार प्रयोग गर्दा तत्काल कुनै काम नगरेमा आफ्नो वा अरू कसैको जिउ ज्यान वा सम्पत्तिलार्इ कुनै गैरकानूनी क्षतिबाट बचाउन सकिँदैन भन्‍ने विश्‍वास गर्नुपर्ने मनासिब कारण भएमा मात्र प्रयोग हुने ।

(प्रकरण नं.६)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री ध्रुवकुमार चौहान

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वैतनिक अधिवक्ता श्री इन्दिरा सिलवाल र अधिवक्ता श्री युवककुमार गौतम

अवलम्बित नजिर :

ने.का.प.२०७०, अंक ४, नि.नं.९००२ 

ने.का.प.२०७४, अंक ३, नि.नं.९७९३

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

 

सुरू फैसला गर्नेः-

माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल

कास्की जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः- 

माननीय न्यायाधीश श्री ओमप्रसाद सुवेदी

माननीय न्यायाधीश श्री खेमराज शर्मा

पुनरावेदन अदालत पोखरा

 

फैसला

न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) र न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भर्इ दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य र ठहर यस प्रकार छः

तथ्य खण्ड

मिति २०६५।२।८ गते बेलुकी कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं. ११ स्थित राति राजु बोगटीले चौकीदार काम गरी बसेको घरमा निज राजु बोगटी र राजु परियारबिच विवाद झगडा हुँदा राजु बोगटीले राजु परियारलाई चक्‍कु प्रहार गरी घाइते भएकोमा उपचारको लागि लैजाने क्रममा राजु परियारको मृत्यु भएको र उक्त वारदातमा संलग्न रहेका राजु बोगटी, श्रवणकुमार राई र सूर्य परियारलाई कारबाहीको लागि दाखिला गराएको भन्‍ने प्रहरीको प्रतिवेदन ।

श्रवणकुमार रार्इ, सूर्य परियार र राजु बोगटीको स्वास्थ्य परीक्षण रिपोर्ट मिसिल संलग्न रहेको छ ।

कास्की जिल्ला, पोखरा उपमहानगरपालिका नं. ११ रानीपौवा स्थित राजु श्रेष्‍ठको एक तले निर्माणाधीन घर, सो घरको बिच प्यासेजमा ढोका रहेको, सो ढोकाको छिस्कीनी भाँचिई भुइँमा रहेको, ढोकाको खापा सामान्य फुटेको, ढोकामा रगत लतपतिएको, प्यासेजभित्रको कोठामा ढुंगा फालिएको अवस्थामा रहेको, कोठाभित्र रहेको सिमेन्टको बोरामा १२ इन्च लम्बाइको काठको बिँड भएको रगत लागी सुकेको अवस्थाको चक्‍कु फेला परेको, प्यासेज ढोका पछाडि रगत लागेको बाँसको कप्टेरो फेला परेको भन्‍नेसमेत बेहोराको घटनास्थल मुचुल्का । 

मिति २०६५।२।८ गते राति ९.०० बजेको समयमा कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं. ११ रानीपौवा स्थित राजु श्रेष्‍ठको निर्माणाधीन घरमा चौकिदार बसेका राजु बोगटीसँग मेरो छोरा राजु परियार, श्रवणकुमार राई र सूर्य परियारले चुरोट मागेकोमा निज राजु बोगटीले त्यसै विषयमा विवाद गरी मेरो छोरा राजु परियारलाई चक्‍कु प्रहार गरी घाइते बनाएकोमा तत्काल उपचारको लागि लैजाने क्रममा निज छोरा राजु परियारको मृत्यु भएकोले कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको सिता परियारको जाहेरी दरखास्त । 

पश्‍चिमाञ्‍चल क्षेत्रीय अस्पताल पोखराको मुर्दाघरमा रहेको मृतक राजु परियारको छाती र पेटको भागमा रगत लतपतिएको, छातीको बायाँतर्फ करङको भागमा २ इन्च लम्बाइ र १ इन्च चौडाइको काटेको घाउ र सो घाउबाट रगत बगेको, लिङ्गबाट तरल पदार्थ निस्किएको भन्‍नेसमेत बेहोराको लास जाँच प्रकृति मुचुल्का । 

सूर्य परियार र श्रवणकुमार राईको नाउँको घा जाँच केस फाराम प्रतिवेदन मिसिल सामेल रहेछ । 

राजु परियारको मृत्युको कारण Death is due to stab injury भन्‍नेसमेत बेहोराको शव परीक्षण प्रतिवेदन । 

मिति २०६५।२।८ गते राति राजु श्रेष्‍ठको कास्की जिल्ला, पोखरा उपमाहानगरपालिका ११ रानीपौवा स्थित निर्माणाधीन घरमा रहे बसेको अवस्थामा राजु परियारसमेत आई मसँग चुरोट मागेको र मैले आफूसँग चुरोट नभएको कुरा बताएपछि मसँगै उल्टै विवाद गरी जबरजस्ती म बसेको कोठाको ढोका धकेली हानी म बसेको कोठामा प्रवेश गरी कुटपिट गरेको र घाइतेसमेत बनाएपछि म अपाङ्गलाई मार्छन् जस्तो लागि मेरो आत्मरक्षाको लागि मैले चक्‍कु प्रहार गरेको हुँ । मैले चक्‍कु प्रहार गर्दा मलाई पिट्नेमध्येका राजु परियारको मृत्यु भएको हो । राजु परियार, श्रवणकुमार राई र सूर्य परियारसमेतका व्यक्तिहरूले मलाई कुटपिट गरेका हुन् भन्‍नेसमेत बेहोराको प्रतिवादी राजु बोगटीले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान । 

मेरो घरसँगै नजिकमा रहेको राजु श्रेष्‍ठको निर्माणाधीन घरमा चौकिदार काम गर्ने राजु बोगटीलाई मिति २०६५।२।८ गते राति सूर्य परियार, राजु परियार र श्रवणकुमार राईसमेतका व्यक्तिहरूले कुटपिट गरेको देखेको हुँ । राजु बोगटीलाई ढुंगा र बोतलसमेतले हान्‍न थालेपछि राजु बोगटीले चक्‍कुले हान्दा राजु परियारको मृत्यु भएको हो भन्‍नेसमेत बेहोराको बुझिएका जितमान श्रेष्‍ठले मौकामा गरेको कागज । 

मिति २०६५।२।८ गते राति कास्की जिल्ला, पोखरा उपमहानगरपालिका ११ रानीपौवास्थित राजु श्रेष्‍ठको निर्माणाधिन घरमा राजु बोगटी र सूर्य परियार, राजु परियार, श्रवणकुमार राईसमेत बिच विवाद भर्इ झगडा हुँदा राजु बोगटीले राजु परियारलाई चक्‍कुले हान्दा राजु परियारको मृत्यु भएको र राजु बोगटी घाइते भएको भन्‍नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्कामा बुझिएका मानिस धर्मराज बरालसमेतले गरेको कागज ।

मिति २०६५।२।८ गते राति ९.०० बजेको समयमा कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं. ११ रानीपौवा स्थित राजु श्रेष्‍ठको निर्माणाधीन घरमा चौकीदार बसेका राजु बोगटीले जाहेरवालीको छोरा राजु परियारसमेतसँग विवाद गरी चक्‍कुले हान्दा निज राजु परियारको मृत्यु भएको तथ्य जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, शव परीक्षण प्रतिवेदन, प्रतिवादीको बयान, बुझिएका मानिसले गरेको कागज र वस्तुस्थिति मुचुल्कासमेतबाट पुष्टि हुन आएको र प्रतिवादीले आत्मरक्षाको लागि चक्‍कुले राजु परियारलाई प्रहार गरेको हुँ भन्‍ने तथ्य कानूनसङ्गत नरहेकोले यी प्रतिवादी राजु बोगटीलार्इ मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(१) नं. को कसुर अपराधमा ऐ. महलको १३(१) नं. बमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको अभियोगपत्र । 

मैले ज्यान मार्ने मनसायले कर्तव्य ज्यानको कसुर गरेको होइन । मैले अन्यत्र बाहिर स्थानमा गई मारेको एवम् हानेको पनि होइन । म ड्युटीमा बसिरहेको अवस्थामा निज मृतक राजु परियारसमेतका १०-१२ जनाको समूहले मलाई सामूहिक रूपमा पटकपटक आक्रमण गरेको अवस्था र मलाई मेरो टाउकोमा धारिलो वस्तुले प्रहार गरी मेरो ज्यानै मार्न लागेको हुँदा मलार्इ लागेको चोट पीडाको कारणले आत्मरक्षाको लागि मैले छुरी प्रहार गर्दा निज राजु परियारको मृत्यु हुन गएको हो । मैले जानी जानी रिसइवीका कारणले निज राजु परियारलार्इ चक्‍कु प्रहार गरी हत्या गरेको होइन । भवितव्य वश आत्मरक्षा गर्दा ज्यान मर्न गएको हो भन्‍नेसमेत बेहोराको प्रतिवादी राजु बोगटीले सुरू अदालतसमक्ष गरेको बयान । 

प्रतिवादी राजु बोगटीले आत्मरक्षाको लागि प्रतिकार गर्दा उक्त घटना घटन गएको अवस्था हो । राजु बोगटी एक्लो व्यक्ति चौकीदारको रूपमा घरमा रहे बसेको अवस्थामा १०-१२ जना व्यक्तिहरू आई प्रतिवादी बसेको ढोका फोडी ढुंगा मुढाले प्रहार गरी कोठाभित्र प्रवेश गरी राजु बोगटीमाथि कुटपिट गरेकाले निज राजु बोगटीले आत्मरक्षाको लागि प्रतिकार गर्दा उक्त हतियार प्रयोग गरेको अवस्था हो भन्‍नेसमेत बेहोराको प्रतिवादी राजु बोगटीको साक्षी रामबहादुर कालीकोटेले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादीले मृतकलाई चक्‍कु हानेको र छातीमा लागेका भन्‍ने मैले देखेको होइन, सुनेकोसम्म हो । यी प्रतिवादी राजु बोगटीले जानजान चक्‍कु हानी उक्त घटना घटाएको नभई निज राजु बोगटीलाई मृतकहरूसमेतले आफू बसेको ठाउँमा आई आक्रमण गरेकोले सोको प्रतिकार गर्दा प्रस्तुत घटना घटेको हो भन्‍नेसमेत बेहोराको बुझिएका मानिस जितमान श्रेष्‍ठले सुरू अदालतमा गरेको बकपत्र । 

घटनास्थलबाट बरामदी सामान र वस्तु परीक्षणको लागि पठाइएकोमा केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट प्राप्‍त परीक्षण प्रतिवेदन मिसिल संलग्न रहेको छ । 

मृतक राजु परियारको मृत्यु यी प्रतिवादी राजु बोगटीको चक्‍कु प्रहारबाट भएको भन्‍ने तथ्य जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, शव परीक्षण प्रतिवेदन, प्रतिवादीको बयान, बुझिएका मानिसले गरेको कागज, वस्तुस्थिति मुचुल्का र वारदातको प्रकृतिसमेतका आधार कारणबाट पुष्टि भएको देखिँदा निज प्रतिवादी राजु बोगटीलार्इ मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने र निज प्रतिवादीले गरेको बयानले न्याय प्रशासनलाई सहज बनाएको अवस्थासमेतबाट निजलार्इ सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने महसुस गरी १० (दश) वर्ष कैदको सजाय हुन राय व्यक्त गर्दछु भन्‍नेसमेत बेहोराको सुरू कास्की जिल्ला अदालतबाट मिति २०६६।२।६ मा भएको फैसला । 

मृतक राजु परियारसहितका मानिसहरूले मलाई मार्नका लागि षड्यन्त्र रची जबरजस्ती घरभित्र पसी गरेको आक्रमणमा तत्कालै मैले केही उपचार नअपनाए मेरो ज्यान जाने निश्चित थियो । यस अवस्थामा आफनो ज्यान बचाउनका खातिर मैले गरेको कार्यबाट कसैको मृत्यु हुन पुग्छ भने त्यस्तो अवस्थामा मेरो दोष मान्‍न नमिल्ने र त्यस्ता अवस्थाको विद्यमानतामा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ७(१) नं. आकर्षित भई मलाई निर्दोष घोषित गर्नु पर्नेमा ऐ. ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्ने गरी भएको सुरू कास्की जिल्ला अदालतको मिति २०६६।२।६ को फैसला बदर गरी सुरू अभियोग मागदाबीबाट सफाइ पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी राजु बोगटीको पुनरावेदनपत्र । 

यसमा मृतकसमेतको अग्रसरताबाटै वारदात घटन गएको भन्‍ने बुझिएका मानिसहरूको भनाइ, घटनास्थलको प्रकृति, पुनरावेदकको शारीरिक अवस्था र निजलाई परेको घाउ चोट तथा पूर्वरिसइवीको अभाव रहेको देखिएकाले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ७(१) नं. को अवस्था विद्यमान हुन सक्ने स्थितिलाई मूल्याङ्कन नगरी अभियोग मागदाबीबमोजिम प्रतिवादीलार्इ सजाय हुने ठहर गरेको सुरू कास्की जिल्ला अदालतका फैसला फरक पर्न सक्ने देखिएकोले छलफलको निमित्त अ.बं.२०२ नं. बमोजिम पुनरावेदन सरकारी वकिल कार्यालयलाई सूचना दिर्इ नियमानुसार पेस गर्नु भन्‍नेसमेत बेहोराको पुनरावेदन अदालत पोखराबाट मिति २०६६।७।११ मा भएको आदेश । 

मृतक राजु परियारसमेतका व्यक्ति प्रतिवादी बसेको घर कोठामा प्रवेश गरी चुरोट माग्दा नदिएको कारण ढोका फोडी प्रतिवादीलाई नै आक्रमण गरेको घटनामा प्रतिवादी भाग्न उम्कन नपाई हार गुहारसमेत नपाई आक्रमणकारीको चोटबाट ज्यान बचाउन प्रतिकार गर्दा लागेको चोटबाट मृतक राजु परियारको मृत्यु हुन गएको भनी गरेको प्रतिवादीको बयान जिकिरलाई घटनास्थल मुचुल्काले समर्थन गरेको र प्रतिवादीउपर मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं.को सजायको माग गर्ने वादी पक्षले आफनो दाबी पुष्‍टि गर्नका लागि आफ्ना साक्षी र जाहेरवालासमेत उपस्थित गराई बकपत्र गराउन नसकेको अवस्थामा घटनाको यथार्थ विवरण बताई आफूमाथि भएको आक्रमणबाट भाग्ने उम्कने अवसर नपाई हारगुहारसमेत नपाएका अवस्थामा 

आक्रमणकारीमाथि केही नगरे आफनो ज्यानै रहँदैन भन्‍ने लागी प्रतिकार गर्दा लागेको चोटबाट आक्रमणकारीमध्येका राजु परियारको मृत्यु हुन गएको भन्‍ने कुरा मिसिल प्रमाणबाट स्पष्‍ट देखिएको अवस्थामा यी प्रतिवादी राजु परियारलार्इ कास्की जिल्ला अदालतले निज प्रतिवादी राजु बोगटीले मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(१) नं.को कसुर गरेको ठहर गरी सजाय गर्ने गरी भएको फैसला नमिलेकोले उल्टी भई निजले आत्मरक्षाको सन्दर्भमा गरेको क्रियाबाट मृतकको ज्यान मर्न गएको देखिँदा निज प्रतिवादीलाई ऐ. ज्यानसम्बन्धी महलको ७(१) नं.बमोजिम ज्यानमाराको बात लाग्न नसक्ने अवस्था देखिँदा निज प्रतिवादी राजु बोगटीले वादी नेपाल सरकारको अभियोग मागदाबीबाट सफाइ पाउने भन्‍नेसमेत बेहोराको पुनरावेदन अदालत पोखराबाट मिति २०६६।९।२२ मा भएको फैसला ।

प्रतिवादीले मौकामा र अदालतमा बयान गर्दा मृतक राजु परियारसहितका व्यक्तिहरू निज बसेको ठाउँमा चुरोट माग्न आई गाली गलौज गरी बोतल तथा ढुङ्गा प्रहार गरी पहिलो पटक आई गएका र पुन: निजहरूसमेतका अन्य १०-१२ जना व्यक्ति आई कुटपिट गर्न थालेपछि तरकारी काट्न प्रयोग गर्दै आएको चक्‍कुले प्रहार गर्दा मृतकलाई चोट लागी मरेको भनी उल्लेख गरेको अवस्था छ । प्रतिवादीले आफूले आत्मरक्षा गर्ने क्रममा हतियार प्रहार गर्दा मृतकलाई चोट लागी मरेको भने पनि मृतकसमेतका १०-१२ जना व्यक्तिले आफूलाई मार्नका लागि जोखिमी हतियार लिएर आई मार्न लाग्दा आत्मरक्षाको लागि चक्‍कु प्रयोग गरेको भनी लेखाउन सकेको अवस्था देखिँदैन । त्यसैगरी उक्त हुलको पञ्जाबाट भागी उम्की आफनो ज्यान बचाउन फुर्सद नपाउने कुन अवस्था प्रतिवादीलाई परेको हो ? सोसमेत स्पष्ट खुलाउन सकेको छैन । मृतकसमेतका व्यक्तिले गरेको कस्तो आपराधिक कार्यको परिणामतः यी प्रतिवादीले निजहरूको पञ्जाबाट भागी उम्की ज्यान बचाउनसमेत फुर्सद नपाएको भन्‍ने स्पष्ट खुलाउन सकेको 

छैन । मृतकलाई उक्त चक्‍कु प्रहार नगरिएको भए यी प्रतिवादीको ज्यान नरहने भन्‍नेसमेत स्पष्‍ट खुलाउन सकेको अवस्था पाइँदैन । मृतकसमेत एक साथ रहेका १०-१२ जनाको हुलले यी प्रतिवादीलाई मार्ने नियतबाटै उक्त वारदात गरेको भन्‍ने तथ्य वारदातका बखत प्रतिवादीको शरीरमा लागेको चोटले चित्रण गरेको 

छैन । प्रतिवादीले आत्मरक्षाको लागि चक्‍कु प्रहार गरेको भने पनि लक्षित ठाउँमा चक्‍कु प्रहार भर्इ उक्त घटना घटेको देखिँदा प्रस्तुत वारदात ज्यानसम्बन्धीको ७(१) नं. अन्तर्गतको नरहेको स्पष्टदेखि रहेकोमा कानूनको गलत प्रयोग गरी सुरू अदालतको फैसला उल्टी गरी प्रस्तुत वारदात ज्यानसम्बन्धीको महलको ७(१) नं. अन्तर्गतको ठहर्‍याई प्रतिवादीलार्इ अभियोग मागदाबीबाट सफाइ दिने गरी पुनरावेदन अदालत पोखराबाट मिति २०६६।९।२२ मा भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी निज प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा दर्ता भएको पुनरावेदनपत्र ।

यसमा मिति २०६५।२।८ गते बेलुकी ९.०० बजे प्रतिवादी चौकीदार बसेको घरमा  वारदात भएको र मृतक राजु परियारसमेतले प्रतिवादीसँग चुरोट मागेको विषयमा विवाद हुँदा प्रतिवादी उक्त स्थानबाट भाग्ने उम्कने मौका हुँदाहुँदै धारिलो हतियार चक्‍कु प्रहार गर्दा मृतकको मृत्यु हुन गएको अवस्थामा ज्यानसम्बन्धीको ७(१) नं. बमोजिम आत्मरक्षा कायम गरी प्रतिवादीलाई सफाइ दिने ठहर्‍याएको पुनरावेदन अदालत पोखराको फैसला फरक पर्न सक्ने देखिँदा छलफलको निमित्त अ.बं.२०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नु भन्‍ने यस अदालतबाट मिति २०७१।९।२७ मा भएको आदेश ।

यसमा प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम वादी पक्षले आफ्नो दाबी पुष्टि गर्नु पर्नेमा वादी पक्षले दाबी पुष्टि गर्न आफ्ना साक्षी र सूचनाको मुख्य स्रोत जाहेरवालासमेतलार्इ अदालतमा उपस्थित गराई बकपत्र गराउन सकेको अवस्था छैन । मैले मृतकलार्इ मार्नेसम्मको कुनै रिसइवी रहेको भन्‍ने तथ्य अभियोजन पक्षले पुष्टि गर्न सकेको छैन । मैले पूर्व तयारी गरी मृतकलाई खोजी खोजी मार्न गएको पनि होइन । म बसेको घरमा तेस्रो पटक आक्रमण भएपछि आक्रमणकारीहरूले म बसेको घरको सिसाहरू फुटाएको, ढोकाको छिस्किनी भाँचिई भुइँमा रहेको, ढोकाको खापा सामान्य फुटेको, प्यासेजभित्रको कोठामा ढुङ्गा फालिएको तथ्य घटनास्थल मुचुल्काबाट स्थापित भएको अवस्था छ । मलाई मृतकसमेतले कुटपिट गरी रगताम्मे बनाइसकेपछि तत्काल मेरो विवेकले ज्यान बच्दैन भन्‍ने लागेकोले सो खतराबाट बच्न शक्तिको प्रयोग भएको अवस्था स्वयं अभियोजन पक्षले मृतकबाहेकका श्रवणकुमार राई र सूर्य परियारका उपर जाहेरवाला राजु श्रेष्‍ठ भएको कास्की जिल्ला अदालत चलेको ज्यान मार्ने उद्योग मुद्दा दायर गरेबाटसमेत पुष्‍टि भइरहेको छ । उक्त मुद्दामा अभियोजन पक्षले प्रतिवादीहरू श्रवणकुमार राई, मृतक राजु परियार र सूर्य परियारसमेतले घरधनी राजु श्रेष्‍ठको घरमा चौकीदार बसेका अपाङ्ग अवस्थाको राजु बोगटीलाई आक्रमण गरी टाउको जस्तो संवेदनशील अङ्गमा गम्भीर चोट पुर्‍यार्इ घाइते बनाइएको भन्‍ने सम्बन्धमा पेस भएको घा-जाँच केस फारामबाट पुष्‍टि भइरहेको हुँदा मैले कसैलाई मार्नलाई नभई आफ्नो जिउ जोगाउन खोज्दा उक्त घटना घट्न पुगेको हुँदा मलार्इ मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ७(१) नं. बमोजिम ज्यानमाराको बात लाग्न नसक्ने अवस्थादेखि अभियोग मागदाबीबाट सफाइ दिने गरी पुनरावेदन अदालत पोखराबाट मिति ०६६।९।२२ मा भएको फैसला सदर गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी राजु बोगटीको लिखित प्रतिवाद ।

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ सहन्यायाधिवक्ता श्री ध्रुवकुमार चौहानले मृतक राजु परियारलाई यी प्रतिवादी राजु बोगटीले चक्‍कु प्रहार नगरिएको भए प्रतिवादीको ज्यान नरहने भन्‍ने वस्तुगत आधार खुलाउन सकेको अवस्था छैन । मृतकसमेतका १०-१२ जनाको हुलले यी प्रतिवादीलाई मार्ने नियतबाटै उक्त वारदात गरेको भन्‍ने तथ्य वारदातका बखत प्रतिवादीका शरीरमा लागेका चोटले चित्रण गरेको छैन । प्रतिवादीले आत्मरक्षाको लागि चक्‍कु प्रहार गरेको भने पनि मृतकलार्इ संवेदनशील ठाउँमा चोट प्रहार गरी घटना घटाएको हुँदा प्रस्तुत वारदात ज्यानसम्बन्धी महलको ७(१) नं. अन्तर्गतको नरहेको स्पष्ट देखिरहेकोमा कानूनको गलत व्याख्या गरी सुरू अदालतको फैसला उल्टी गरी प्रस्तुत वारदातलार्इ ज्यानसम्बन्धी महलको ७(१) नं. अन्तर्गतको ठहर्‍याई प्रतिवादीलार्इ अभियोग मागदाबीबाट सफाइ दिने गरी पुनरावेदन अदालत पोखराबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी निज प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो । 

प्रत्यर्थी प्रतिवादी राजु बोगटीको तर्फबाट उपस्थित विद्वान्‌ वैतनिक अधिवक्ता श्री इन्दिरा सिलवाल र अधिवक्ता श्री युवककुमार गौतमले प्रतिवादीले चौकीदार गरी बसेको घरमा निजलार्इ मृतकसमेतले आक्रमण गरी घरको सिसाहरू फुटाएको, ढोकाको छिस्किनी भाँचिई भुइँमा रहेको, ढोकाको खापा सामान्य फुटेको, प्यासेजभित्रको कोठामा ढुङ्गा फालिएको तथ्य घटनास्थल मुचुल्काबाट स्थापित भएको छ । प्रतिवादीलार्इ मृतक राजु परियारसमेतले कुटपिट गरी रगताम्मे बनाइसकेको पछि ज्यान बच्दैन भन्‍ने लागेकोले खतराबाट बच्नको लागि अपाङ्ग अवस्थाका प्रतिवादीले तरकारी काट्ने चक्‍कुले राजु परियारलार्इ प्रहार गरी आफ्नो ज्यान बचाएको अवस्था हो । सो तथ्य स्वयं अभियोजन पक्षले मृतकबाहेकका श्रवणकुमार राई र सूर्य परियारका उपर कास्की जिल्ला अदालतमा चलाएको ज्यान मार्ने उद्योग मुद्दाबाटसमेत पुष्टि भइरहेको अवस्था हुँदा प्रतिवादीले कसैलाई मार्नलाई नभई आफ्नो जिउ जोगाउन खोज्दा उक्त घटना घटन पुगेको हुँदा निज प्रतिवादीलार्इ मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ७(१) नं. बमोजिम ज्यानमाराको बात लाग्न नसक्ने अवस्थादेखि अभियोग दाबीबाट सफाइ पाउने गरी पुनरावेदन अदालत पोखराबाट भएको फैसला मिलेको हुँदा सदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।

उपर्युक्त तथ्य एवम् बहस जिकिर रहेको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी हेर्दा प्रतिवादीले आत्मरक्षाको लागि राजु परियारलाई चक्‍कुले प्रहार गरी हत्या गरेको देखिँदा निज प्रतिवादी राजु बोगटीलार्इ मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(१) नं. को कसुर अपराधमा ऐ. महलको १३(१) नं. बमोजिम सजाय गरिपाउँ भन्‍ने अभियोग मागदाबी लिएको देखियो । निज प्रतिवादी राजु बोगटीलार्इ मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर गरी प्रतिवादीलार्इ उक्त सजाय गर्दा चर्को पर्न जाने भनी १० (दश) वर्ष कैद सजायको राय व्यक्त गरी सुरू कास्की जिल्ला अदालतबाट मिति २०६६।२।६ मा फैसला भएको देखिन्छ । सो फैसलाउपर प्रतिवादीको पुनरावेदन परेकोमा सुरू फैसला नमिलेकोले उल्टी भई निज प्रतिवादी राजु बोगटीलाई ऐ. ज्यानसम्बन्धी महलको ७(१) बमोजिम ज्यानमाराको बात लाग्न नसक्ने अवस्था देखिँदा निज प्रतिवादीले अभियोग मागदाबीबाट सफाइ पाउने ठहर गरी पुनरावेदन अदालत पोखराबाट मिति २०६६।९।२२ मा फैसला भएको देखियो । प्रतिवादीले आत्मरक्षाको लागि चक्‍कु प्रहार गरेको भने पनि मृतकको संवेदनशील अङ्गमा चोट प्रहार भएको प्रस्तुत वारदात ज्यानसम्बन्धी महलको ७(१) नं. अन्तर्गतको नरहेको स्पष्ट देखिरहेको अवस्थामा कानूनको गलत व्याख्या गरी सुरू अदालतको फैसला उल्टी गरी प्रस्तुत वारदात ज्यानसम्बन्धीको महलको ७(१) नं. अन्तर्गतको ठहर्‍याई प्रतिवादीलार्इ अभियोग मागदाबीबाट सफाइ दिने गरी पुनरावेदन अदालत पोखराबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको पुनरावेदन जिकिर र म प्रतिवादीलार्इ मृतकसमेतले कुटपिट गरी रगताम्मे बनाइसकेको पछि ज्यान बच्दैन भन्‍ने लागेकोले सो खतराबाट बच्नको लागि तरकारी काट्ने चक्‍कुले प्रहार गरी आफ्नो ज्यान बचाएको अवस्थादेखि प्रतिवादीलार्इ अभियोग दाबीबाट सफाइ दिने गरी पुनरावेदन अदालत पोखराबाट भएको फैसला सदर गरिपाउँ भनी प्रतिवादी राजु बोगटीको लिखित प्रतिवाद भएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ? भन्‍ने प्रश्‍नको निरूपण उपलब्ध तथ्य एवम् प्रमाणको विश्‍लेषण गरी दिनु पर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा मिति २०६५।२।८ गते राति ९.०० बजेको समयमा कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं.११ रानीपौवास्थित राजु श्रेष्‍ठको निर्माणाधीन घरमा चौकीदार बसेका राजु बोगटीसँग मेरो छोरा राजु परियार, श्रवणकुमार राई र सूर्य परियारले चुरोट मागेकोमा निज राजु बोगटीले त्यसै विषयमा विवाद गरी मेरो छोरा राजु परियारलाई चक्‍कु प्रहार गरी हत्या गरेको हुँदा आवश्यक कारबाही गरिपाउँ भनी सिता परियारले जाहेरी दिर्इ प्रस्तुत मुद्दा उठान भएको देखिन्छ । 

३. प्रतिवादी राजु बोगटीले मौकामा अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष बयान गर्दा मिति २०६५।२।८ गते राति राजु श्रेष्‍ठको निर्माणाधीन घरमा चौकीदार गरी बसेको अवस्थामा राजु परियारसमेतका १०-१२ जना व्यक्ति आई मसँग चुरोट मागेको र मैले आफूसँग चुरोट नभएको कुरा बताएपछि मसँगै उल्टै विवाद गरी जबरजस्ती म बसेको कोठाको ढोका धकेली हानी कोठामा प्रवेश गरी म अपाङ्ग व्यक्तिलार्इ रगताम्य हुने गरी मार्ने नियतले कुटपिट गरेर घाइते बनाएपछि मेरो ज्यानै मार्छन् जस्तो लागी मैले आत्मरक्षाको लागि मलार्इ पिटनेमध्येका राजु परियारलार्इ तरकारी काट्ने चक्‍कु प्रहार गरी घाइते बनाएकोमा सोही चोट र पीडाको कारण निजको मृत्यु भएको हो भनी आफूले प्रहार गरेको चक्‍कुको चोटबाट मृतक राजु परियारको मृत्यु भएको तथ्यमा साबित रहेको देखिन्छ । सो साबितीलार्इ निज प्रतिवादीले अन्यथा पुष्‍टि गर्न सकेको देखिँदैन ।  

४. घटनास्थल प्रकृति मुचुल्का हेर्दा राजु श्रेष्‍ठको एक तले निर्माणाधीन घरको बिच प्यासेजमा ढोका रहेको, सो ढोकाको छिस्कीनी भाचिई भुइँमा रहेको, ढोकाको खापा सामान्य फुटेको, ढोकामा रगत लतपतिएको, प्यासेजभित्रको कोठामा ढुंगा फालिएको अवस्थामा रहेको, कोठाभित्र रहेको सिमेन्टको बोरामा १२ इन्च लम्बाइको काठको बिँड भएको रगत लागी सुकेको अवस्थाको चक्‍कु फेला परेको, प्यासेजको ढोकापछाडि रगत लागेको बाँसको कप्टेरो फेला परेको, प्यासेजको ढोकादेखि ३१ फिट दक्षिण भुइँमा आलो रगत रहेको, सो रगतदेखि १८ फिट पूर्व बाटोको भुइँमा आलो रगत रहेको, सो रगतदेखि ३० फिट पूर्व बाटोको भुइँमा आलो रगत रहेको भन्‍ने उल्लेख भएको 

पाइन्छ । साथै मृतक राजु परियारको घटनास्थल तथा लास प्रकृति विवरण हेर्दा मृतकको छाती र पेटको भागमा रगत लतपतिएको, छातीको बायाँतर्फ करङको भागमा २ इन्च लम्बाइ र १ इन्च चौडाइको काटेको घाउ र सो घाउबाट रगत बगेको भन्‍ने उल्लेख भएको देखिन्छ । त्यसैगरी मृतक राजु परियारको मृत्युको कारण Death is due to stab injury भन्‍ने शव परीक्षण प्रतिवेदनमा उल्लेख भएको पाइन्छ । 

५. यसरी प्रतिवादी राजु बोगटीउपर किटानी जाहेरी परेको र सो जाहेरी बेहोरालार्इ घटनास्थल प्रकृति मुचुल्का, लास प्रकृति विवरणले समर्थन गरेको देखिन्छ । प्रतिवादीले आफू राजु श्रेष्‍ठको निर्माणाधीन घरमा चौकीदार गरी बसेको अवस्थामा मृतक राजु परियारसमेतका १०-१२ जना व्यक्तिहरू आर्इ चुरोट माग्दा नदिएपछि विवाद भर्इ दुवै पक्षबिच झगडा हुँदा यी प्रतिवादी राजु बोगटीले मृतक राजु परियारलार्इ तरकारी काट्ने चक्‍कुले छाती जस्तो संवेदनशील अङ्गमा प्रहार गरी घाइते बनाएको र निज उपचारको क्रममा सोही चोट एवम् पीडाको कारणले मृत्यु भएको तथ्य स्वीकार गरी प्रतिवादी राजु बोगटीले मौकामा अधिकारप्राप्‍त अधिकारी र अदालतसमक्ष बयान गरेको पाइन्छ । प्रतिवादीको उक्त साबिती बयानलार्इ घटनास्थल प्रकृति मुचुल्का, मृतकको लास प्रकृति विवरणले समर्थन गरेको र मृतकको मृत्युको कारण Death is due to stab injury भन्‍ने उल्लेख भएको देखिँदा मृतक राजु परियारको मृत्यु यी प्रतिवादी राजु बोगटीले चक्‍कु प्रहार गरी कर्तव्यबाट भएको देखिन आयो । 

६. यसरी प्रतिवादी राजु बोगटी र मृतक राजु परियारबिच झगडा भर्इ कुटाकुट हुँदा प्रतिवादी राजु बोगटीले मृतक राजु परियारको छातीमा चक्‍कु प्रहार गरी घाइते बनाएकोमा सोही चोटको पीडाबाट मृतकको मृत्यु भएको देखिरहेको अवस्थामा प्रतिवादी राजु बोगटीले आफ्नो ज्यानै नहरने अवस्था भएकोले आत्मरक्षाको लागि चक्‍कु प्रहार गर्दा मृतकको मृत्यु भएको हो भनी जिकिर लिएकोतर्फ हेर्दा सर्वप्रथम आत्मरक्षाको अधिकार भन्‍नाले कसैले आफूमाथि गैरकानूनी रूपले आक्रमण गरेको अवस्थामा उक्त गैरकानूनी आक्रमणबाट आफू बच्न नसक्ने वा भाग्न उम्कन नसक्ने अवस्थामा विकल्पविहीन अवस्था भर्इ आफ्नो ज्यान बचाउनको लागि प्रतिक्रियात्मक बल प्रयोग गर्न पाउने शक्तिलार्इ बुझाउँछ । आत्मरक्षाको अधिकार प्रयोग गर्दा तत्काल कुनै काम नगरेमा आफ्नो वा अरू कसैको जिउ ज्यान वा सम्पत्तिलार्इ कुनै गैरकानूनी क्षतिबाट बचाउन सकिँदैन भन्‍ने मनासिब विश्‍वास गर्नुपर्ने कारण भएमा मात्र प्रयोग गर्नु पर्ने 

हुन्छ । प्रस्तुत वारदातमा प्रतिवादीले आफ्नो ज्यानै जान लागेको अवस्था नभएको स्थितिमा धारिलो हतियार चक्‍कु प्रयोग गरेको तथ्य आत्मरक्षाको अधिकारभित्र पर्ने देखिँदैन ।

७. यसप्रकार प्रतिवादी र मृतकसमेतका व्यक्तिहरूबिच चुरोटको विषयमा विवाद भर्इ झगडा हुँदा दुवै पक्षबिच कुटाकुट भएको भन्‍ने देखिन्छ । त्यसरी कुटकुट हुँदा यी प्रतिवादीको शरीरमा अङ्गभङ्ग हुने वा मर्नेसम्मको चोटपटक लागेको भन्‍ने शारीरिक परीक्षण प्रतिवेदन र घाउ केस फरामबाट देखिएको छैन । प्रतिवादीले मृतक राजु परियारको छाती जस्तो संवेदनशील अङ्गमा चक्‍कु प्रहार गरेको कारण मृतकको शरीरबाट १८ फिट टाढासम्म रगतको छिटा देखिएको भन्‍ने घटनास्थल मुचुल्कामा उल्लेख भएको पाइन्छ । प्रतिवादीले मृतकलार्इ चक्‍कु जस्तो धारिलो हतियारले मृतकको संवेदनशील अङ्ग छातीमा प्रहार गरेको देखिन्छ । यी प्रतिवादीले आत्मरक्षाको लागि जिकिर लिएकोमा सो जिकिर लिएर मात्र पुग्दैन । त्यस्तो आत्मरक्षाको जिकिर लिने पक्षले नै सो कुराको पुष्टि गर्न सक्‍नुपर्दछ । आत्मरक्षाको जिकिर लिने पक्षले आफ्नो ज्यान जान सक्ने सबै अवस्था समाप्‍त हुन लागेको भन्‍ने देखाउन सक्नुपर्छ । उक्त वारदातमा यी प्रतिवादीले आत्मरक्षाको जिकिर लिएको भए तापनि आफ्नो ज्यानै जान सक्‍ने अवस्था सृजना भएको भन्‍ने निजको शरीरमा लगेको चोटपटक, घटनाको प्रकृति र परिस्थितिसमेतबाट देखिएको छैन । साथै प्रतिवादीले लिएको आत्मरक्षाको जिकिर पुष्टि गर्ने दायित्व प्रमाण ऐन, २०३१ को दफा २७ अनुसार यी प्रतिवादीमा रहेकोमा सोअनुसार निजले आत्मरक्षा जिकिर पुष्टि हुने प्रमाण पेस गर्न सकेको पाइँदैन । 

८. प्रतिवादीले आत्मरक्षाको अधिकार प्रयोग गर्न पाउने सम्बन्धमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ७(१) नं.को कानूनी व्यवस्था हेर्दा कसैले हात हतियार लिर्इ वा नलिर्इ आफ्नो ज्यान लिनासम्मको जोरजुलुम गर्न लागेकोमा त्यस्तालार्इ पक्राउ गर्न वा गुहार मद्दत माग्न नसकिने वा मागे पनि बखतमा मद्दत पुग्न नसक्ने वा त्यस्ताको पञ्जाबाट भागी उम्की आफ्नो ज्यान बचाउनसमेत फुर्सत नपाउने अवस्थामा आफूले केही नगरे आफ्नो ज्यान रहँदैन भन्‍ने पूरा विश्‍वास भर्इ ज्यान बचाउनका खातिर उसै मौकामा केही गर्दा सो जुलुमीको ज्यान मरेमा ज्यानमाराको बात लाग्दैन भन्‍ने उल्लेख भएको पाइन्छ । सोअनुसार यी प्रतिवादी राजु बोगटीलार्इ मृतकसमेतका व्यक्तिले ज्यानै लिनेसम्मको जोरजुलुम गरेको भन्‍ने घटनाको प्रकृति र परिस्थितिबाट देखिएको छैन । प्रतिवादीको शरीरमा गम्भीर किसिमको चोटपटकसमेत रहेको नदेखिएको अवस्थामा प्रतिवादीले मृतकलार्इ धारिलो हतियार चक्‍कुले ज्यानै मर्ने गरी छाती जस्तो संवेदनशील अङ्गमा प्रहार गरी घाइते बनार्इ सोही चोट पीडाको कारण मृतकको मृत्यु भएको देखिएको हुँदा सो कानूनी व्यवस्थाअनुसार प्रस्तुत वारदातमा यी प्रतिवादी राजु बोगटीले आत्मरक्षाको जिकिर लिन सक्ने अवस्था सृजना भएको थियो भनी अनुमान गर्नु न्यायसङ्गत हुँदैन ।

९. यसै सन्दर्भमा ने.का.प.२०७० अंक ४ नि.नं.९००२ को गजेन्द्रकुमार चन्द विरूद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा  कुनै पनि हत्या औचित्यपूर्ण प्रतिरक्षाको सिद्घान्तअन्तर्गत परी प्रतिवादीले सजायबाट छूट पाउन सो हत्यामा बल अन्तिम विकल्प (Last Resort) को रूपमा प्रयोग भएको हुनुपर्दछ । कुनै व्यक्तिले ज्यान लिने मनसायले कुनै पनि माध्यमबाट जोरजुलूम गरेको कारण निजको नियन्त्रण वा पञ्जाबाट उम्कन नसक्ने अवस्था सिर्जना भएको वा निजको नियन्त्रणबाट भाग्ने, उम्कने, गुहार मागी सहयोग प्राप्त गर्नसक्ने वा प्रहरीलाई खबर गर्न सक्ने अवस्था नभएबाट त्यस्तो जुल्मीका विरूद्घ केही गर्दा निजको मृत्यु भएको प्रमाणबाट देखिनु औचित्यपूर्ण प्रतिरक्षाको पहिलो आवश्यकता हो । यस्तो कार्य तत्काल नै हुनुपर्दछ । धेरै समयपछि आफूलाई मृतकबाट ज्यानको खतरा थियो भन्‍ने प्रतिरक्षाको आधार बन्न नसक्ने भन्‍ने सिद्धान्त प्रतिपादन भएको पाइन्छ । त्यसैगरी ने.का.प. २०७४ अंक ३ नि.नं.९७९३ को लक्ष्मी लावती विरूद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा आफूलाई गैरकानूनी आक्रमण गरिरहेका अवस्थामा उक्त आक्रमणबाट आफू बाँच्न नसक्ने वा भाग्न नपाउने वा आफ्नो धर्म वा सतीत्व बचाउन नसक्ने अवस्था भई आफू बाँच्न वा सतीत्व रक्षाका लागि प्रतिक्रियात्मक बल प्रयोग गर्दा ज्यान मर्न गएको अवस्थामा आपराधिक दायित्वबाट छुट वा उन्मुक्ति पाउने भन्ने कानूनको मकसद हो । अपितु आत्मरक्षाको दाबी लिने पक्षले उक्त सुविधा पाउनु पर्ने अवस्थाको विद्यमानता भएको स्थापित गर्न सक्नुपर्छ । त्यस्तो दाबी लिनु नै दायित्वबाट उन्मुक्तिको आधार हुन  नसक्ने भन्‍ने सिद्धान्त प्रतिपादन भएको पाइन्छ । सोअनुसार यी प्रतिवादी राजु बोगटीले आफूलार्इ मृतकसमेतले गरेको गैरकानूनी आक्रमणबाट आफू बाँच्न नसक्ने वा भाग्न नपाउने अवस्थामा मृतकलार्इ धारिलो हतियार चक्‍कु प्रहार गरेको हो भन्‍ने वस्तुनिष्‍ठ आधार प्रमाण पेस गर्न सकेको मिसिलबाट देखिँदैन । प्रतिवादीले आक्रमणबाट आफू बाँच्न नसक्ने वा भाग्न नपाउने अवस्था भई आफू बाँच्नको लागि प्रतिक्रियात्मक बल प्रयोग गर्दा मृतकको ज्यान मर्न गएको भन्‍ने नदेखिएबाट उल्लिखित वारदातमा निज प्रतिवादीले आत्मरक्षाको सुविधा पाउन सक्ने अवस्थाको विद्यमानता देखिन आएन । 

१०. मृतक राजु परियारसमेत र प्रतिवादी राजु बोगटीबिच चुरोटको विषयमा विवाद भर्इ दुवै पक्षबिच झगडा भएको तथ्यमा कुनै विवाद 

देखिँदैन । प्रतिवादी र मृतकसमेतका व्यक्तिहरूबिच कुटाकुट हुँदा मृतकसमेतले गरेको प्रहारबाट प्रतिवादी राजु बोगटीको बायाँ आँखामाथि सामान्य चोट रहेको भन्‍ने निजको स्वास्थ्य परीक्षण प्रतिवेदनमा उल्लेख भएको पाइन्छ । यसरी मृतकसमेत र प्रतिवादीबिच झगडा हुँदा प्रतिवादीको शरीरमा ज्यानै जाने किसिमको चोटपटक रहेको भन्‍ने प्रतिवादीको घाउ केस फारामबाटसमेत नदेखिएको अवस्थामा निज प्रतिवादीले आफ्नो ज्यानै जान सक्ने भनी आत्मरक्षाको लागि चक्‍कु प्रहार गरेको हो भनी लिएको जिकिर वस्तुनिष्‍ठ नदेखिएको अवस्थामा आधार प्रमाण विना ज्यानमाराको बात नलाग्ने भनी प्रस्तुत वारदातलार्इ मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ७(१) नं. प्रयोग गरी प्रतिवादीलार्इ अभियोग मागदाबीबाट सफाइ दिने गरी पुनरावेदन अदालत पोखराबाट मिति २०६६।९।२२ मा भएको फैसला मिलेको नदेखिएकाले सो फैसला उल्टी भर्इ प्रतिवादी राजु बोगटीलार्इ सुरू अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्छ । 

११. प्रस्तुत मुद्दामा मिसिल संलग्न सम्पूर्ण प्रमाण अवलोकन गर्दा प्रतिवादी राजु बोगटी र मृतकबिच पूर्वरिसइवी नरहेको र मृतकसमेतले चुरोट मागेको विषयमा विवाद हुँदा झगडा भर्इ कुटाकुट हुँदा प्रतिवादीले मृतक राजु परियारलार्इ चक्‍कु प्रहार गरी घाइते बनार्इ उपचारको क्रममा निजको मृत्यु भएको देखिन्छ । उक्त परिदृश्यको मूल्याङ्कन गर्दा निज प्रतिवादीलाई ठहर भएको मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम जन्मकैदको सजाय नै उपयुक्त छ वा छैन भन्‍नेतर्फ हेर्दा साबिक मुलुकी ऐन, अ.बं. १८८ नं. मा ऐनले सर्वस्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्दामा साबित ठहरे पनि इन्साफ गर्ने हाकिमका चित्तले भवितव्य हो कि भन्‍न हुनेसम्मको शङ्काले वा अपराध गरेको अवस्था विचार गर्दा कसुरदारलाई ऐनबमोजिमको सजाय दिँदा चर्को हुने भई घटी सजाय हुनुपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने सजाय ठहराई आफ्ना चित्तले देखेको कारणसहितको राय पनि साधक तोकमा लेखी जाहेर गर्नु हुन्छ । अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजायमा घटाई तोक्न हुन्छ भन्‍ने कानूनी व्यवस्था रहेको 

पाइन्छ । सोअनुसार यी प्रतिवादी राजु बोगटी र मृतक राजु परियारसमेतका व्यक्तिहरूबिच पूर्वरिसइवी रहेको अवस्था नदेखिएको र मृतकसमेतले प्रतिवादीसँग चुरोट माग्दा नदिएपछि विवाद भर्इ मृतकसमेतका १०-१२ जनाको हुलले रातको अं.९.०० बजेतिर बत्ती नभएको अँध्यारो अवस्थामा प्रतिवादीलार्इ चौकीदार गरी बसेको घरको ढोकामा ढुंगाले हानी प्रतिवादी बसेको कोठामा हुलहुज्जतसहित प्रवेश गरी कुटपिट गर्दा सोको प्रतिकार स्वरूप रातको अँध्यारोमा तरकारी काट्ने चक्‍कुले प्रहार गर्दा कुटपिट गर्नेमध्येका राजु परियारको छातीमा चोट लाग्न जाँदा घाइते भर्इ सोही चोटको कारणले मृत्यु भएको देखिन्छ । प्रतिवादीले आफूले मृतकलार्इ छुरी हानेको स्वीकार गरी अदालत प्रक्रियामा सहयोग गरेको अवस्था छ । सम्पूर्ण घटनाको प्रकृति र परिस्थिति एवम् कसुरको मात्रा साथै प्रतिवादीको शारीरिक अपाङ्गतासमेतलार्इ विचार गर्दा निज प्रतिवादी राजु बोगटीलार्इ सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्ने देखिँदा ऐ. अ.बं.१८८ नं. बमोजिम निज प्रतिवादीलार्इ ५ (पाँच) वर्ष कैद सजाय गर्दा पर्याप्‍त र ऐनको मकसदसमेत पूरा हुने देखिँदा निज प्रतिवादी राजु बोगटीलार्इ मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम ५ (पाँच) वर्ष कैद सजाय हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल खण्ड

माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी राजु बोगटीलार्इ मुलुकी ऐन, अ.बं.१८८ नं. बमोजिम ५ (पाँच) वर्ष कैद सजाय कायम हुने ठहरेकाले निज प्रतिवादी मिति २०६५।२।८ देखि मिति २०६६।९।२२ सम्म १।७।१४ (एक वर्ष सात महिना चौध दिन) कैद बसेको कैद असुली जनार्इ ३।४।१६ (तीन वर्ष चार महिना सोह्र दिन) बाँकी कैद निज प्रतिवादी बेरूजु हुँदा लगत कसी असुल गर्नु भनी सुरू कास्की जिल्ला अदालतमा लेखी पठार्इ दिनू -------------------------१

प्रस्तुत फैसलाको जानकारी महान्यायाधिवक्ता कार्यालयलार्इ दिनू -----------------------------------२

सरोकारवालाले नक्‍कल माग गरे लाग्ने दस्तुर लिर्इ नियमानुसार नक्‍कल दिनू ---------------------------३

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसला विद्युतीय प्रणालीमा अपलोड गरी मिसिल अभिलेख शाखामा बुझार्इ दिनू ----------------------------------४

 

उक्त रायमा सहमत छु ।

न्या.हरिप्रसाद फुयाल

 

इजलास अधिकृत :- रामचन्द्र खड्का

इति संवत् २०७६ साल पुस १३ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु