निर्णय नं. १०३५२ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे
माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही
फैसला मिति : २०७६।५।१६
मुद्दा:- कर्तव्य ज्यान
०७३-CR-०८३५
पुनरावेदक / वादी : सुन्देश्वर मुखियाको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला सप्तरी, कटैया गाउँ विकास समिति वडा नं. ६ बस्ने रामलाल मुखियासमेत
०७३-RC-००९७
पुनरावेदक / वादी : सुन्देश्वर मुखियाको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला सप्तरी, कटैया गाउँ विकास समिति वडा नं.६ बस्ने मुखलाल मुखियाको छोरा हाल कारागार कार्यालय, राजविराजमा थुनामा रहेका वीरेन्द्र मुखिया
०७३-CR-१२२३
पुनरावेदक / प्रतिवादी : जिल्ला सप्तरी, कटैया गाउँ विकास समिति वडा नं. ६ बस्ने मुखलाल मुखियाको छोरा हाल कारागार कार्यालय, राजविराजमा थुनामा रहेका वीरेन्द्र मुखिया
विरूद्ध
प्रत्यर्थी / वादी : सुन्देश्वर मुखियाको जाहेरीले नेपाल सरकार
एकजनाभन्दा बढी पनि मुख्य अभियुक्त हुन सक्ने अवस्था पनि रहन्छ भने मुख्य अभियुक्तको तुलनामा अन्य अभियुक्तको आपराधिक कार्यको गाम्भीर्य कम हुन सक्ने देखिन्छ । कुनै कर्तव्य ज्यानको अपराधमा एकजनाभन्दा बढी व्यक्तिको संलग्नता रहेको त्यस्तो आपराधिक कार्यमा कुन व्यक्तिले के कस्तो भूमिका खेलेको छ, निजले खेलेको भूमिकाको गाम्भीर्यसमेतलाई विचार गर्नुपर्ने ।
(प्रकरण नं.११)
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री अर्जुनप्रसाद कोइराला
प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री दुर्गाप्रसाद खनाल
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
मा.जि.न्या.श्री चन्द्रबहादुर सारू
सप्तरी जिल्ला अदालत, राजविराज
पुनरावेदन तहमा फैसला गर्नेः-
मा.न्या.श्री बिनोदप्रसाद शर्मा
मा.न्या.श्री उमेशकुमार सिंह
पुनरावेदन अदालत राजविराज
फैसला
न्या.केदारप्रसाद चालिसे : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) र १० बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
तथ्य खण्ड
मिति २०६९।१२।१४ को अं.१६:०० बजेको समयमा जिल्ला सप्तरी, गा.वि.स.कटैया वडा नं.६ स्थित पूर्वमा रामा मुखियाको एकासगोलको घर र खाली जग्गा, पश्चिममा राजकुमार मुखियाको आँप बगैंचा, उत्तर तथा दक्षिणमा सार्वजनिक कच्ची बाटो, यति चार किल्लाभित्रमा रामा मुखियाको घर र सार्वजनिक बाटो, सो बाटोमा रामा मुखियाको आँगनको टाटबार खसी काठ तथा बाँसको खम्बाहरू भाँचिएर क्षतिग्रस्त अवस्थामा टुक्राटुक्रा भई बाटोमा छरपष्ट अवस्थामा रहेको, निज रामा मुखियाको दक्षिण मोहडा भएको घरको पश्चिमपट्टिको टाटीको बारमा ५ फिट उचाइसम्म माटोले पोतेको बाहिरी भागमा रगत जस्तो पदार्थको टाटाहरू रहेको देखिएको सोदेखि पश्चिम आँगन र सार्वजनिक बाटोमा मानिसहरूले संघर्ष गरेको जमिन माडिएको र उक्त घरको पूर्वपट्टिको सामानहरू छरपष्ट अवस्थामा रहेको, टि.भी. टेबुलबाट झरी भुइँमा रहेको र देवलाल मुखियासमेतले घरेलु हतियार फट्टासमेतले प्रहार गरी जय प्रकाश मुखियासमेतलाई गम्भीर घाइते बनाएको, घाइतेहरूलाई उठाई उपचारको लागि अस्पतालतर्फ लगिएको भन्नेसमेत बेहोराको मिति २०६९।१२।१४ को घटनास्थल मुचुल्का ।
मिति २०६९।१२।१४ को अं.१६:०० बजेको समयमा जिल्ला सप्तरी, गा.वि.स.कटैया वडा नं. ६ स्थित म निवेदक राजेश मुखियाको भाई जयप्रकाश मुखियासमेतलाई देवलाल मुखियासमेतले घरेलु हतियारसमेतले प्रहार गरी सख्त घाइते बनाएकोमा घाइतेहरूलाई उपचारको लागि न्युरो अस्पताल विराटनगर ल्याई उपचार गर्दागर्दैको अवस्थामा जयप्रकाश मुखियाको मृत्यु भएको भन्नेसमेत बेहोराको राजेश मुखियाले जिल्ला प्रहरी कार्यालय मोरङमा दिएको मिति २०६९।१२।१५ को निवेदन पत्र ।
जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं.१० स्थित कोशी अञ्चल अस्पतालभित्र रहेको शव गृहभित्र रहेको फलामको स्टेचरमाथि जयप्रकाश मुखियाको लास रहेको, मृतक जयप्रकाश मुखियाको टाउकोको बिच भागमा साढे १ इन्च लम्बाइको काटेको चोट घाउमा ८ ओटा टाँका लगाएको अवस्थामा रहेको भन्नेसमेत बेहोराको मिति २०६९।१२।१५ को लासजाँच प्रकृति मुचुल्का ।
जिल्ला सप्तरी, गा.वि.स. कटैया वडा नं.६ स्थित म जाहेरवालाको घर परिवारको सदस्यहरू आफ्नो गाउँ घरमा मलाह जाति अलवा अन्य जातिहरूसँग इस्टमित्रको व्यवहार गरी चाड पर्वमा एक अर्काको घरमा खानपिन गर्न जाने आउने गरेकोमा देवलाल मुखिया, वीरेन्द्र मुखिया, रामलाल मुखिया, मुखलाल मुखियासमेतले मनमा रिसइवी लिई राखेको कुरा पूर्वाभाससम्म थिएन । मिति २०६९।१२।१४ गते होली पर्व रहेकोले घनश्याम साह, राम नारायण यादवसमेतलाई आफ्नो घरमा बोलाई प्रसादीलगायत खानपिनलगायतको व्यवस्था मिलाई निजहरूलाई खुवाउँदै, रमाइलो गर्दै गरेको अवस्थामा देवलाल मुखियासमेतले घरेलु हतियार, फर्सा, लाठी, फलामको रडसमेत बोकी आई चारैतिरबाट घेरा हाली भाग्न उम्कन नदिने स्थिति सिर्जना गरी देवलाल मुखिया र दिनेश मुखियाले आदेश वचन दिँदै अरू जातलाई महत्त्व दिएर हाम्रो बेइज्जती गरियो, यिनीहरूलाई ज्यान मारी फालिदेउ भनी उनीहरू आफू पनि सरिक भई वीरेन्द्र मुखियाले फर्साले जयप्रकाश मुखियाको टाउकोमा प्रहार गरे लगत्तै रामलाल मुखियाले लाठीले पेटको कोखामा प्रहार गर्दा रगताम्य भई भुइँमा ढलेको अवस्थामा बचाउको लागि म जाहेरवालालगायत रामा मुखिया, परमेश्वर मुखिया र प्रमिला देवीसमेत जाँदा निजहरूसमेतलाई कुटपिट गरी घाइते बनाएको र घाइते बुबा रामा मुखिया, भाउजू प्रमिला देवी मुखिया, भाई जयप्रकाश मुखियासमेतलाई उपचारको लागि विराटनगरतर्फ लैजाँदै गरेको अवस्थामा भाई जयप्रकाश मुखियाको मृत्यु भएकोले कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको सुन्देश्वर मुखियाको मिति २०६९।१२।१६ को जाहेरी दरखास्त ।
मिति २०६९।१२।१४ को दिन म आफ्नै घरमा थिएँ । उक्त दिन घटनास्थलमा अं.१४:०० बजेको समयमा विपक्षी दिनेश मुखिया र जाहेरवाला सुन्देश्वर मुखियासमेत बिच झगडा भएको अवस्थामा गाउँका मानिस र प्रहरीसमेतका टोलीले शान्त गरिदिएको हो । त्यसपछि अं.१६/१७:०० बजेको समयमा जाहेरवाला सुन्देश्वर मुखिया, जयप्रकाश मुखिया, रामलाल मुखिया, दिनेश मुखियासमेतका मानिसहरू होली खेल्दै घटनास्थल नजिक रहेको चोकमा आइपुग्दा के कुन कुरामा हो दुवै पक्षबिच विवाद भई कुटपिटमा परिणत भयो । सो समयमा मसँग पक्राउ परेका प्रतिवादीहरू देवलाल मुखिया, सकलदेव मुखिया, रामबाबु मुखिया, रामलाल मुखिया, वीरेन्द्र मुखिया र फरार रहेका देवी मुखिया, लालु मुखिया, दिनेश मुखिया, नरेन्द्र मुखिया, कान्छा मुखियासमेत घटनास्थलमा आइपुगेको हो । दुवै पक्षबिच हानाहान हुन थालेपछि सुन्देश्वर मुखियाले देवलाल मुखियाको टाउकोमा लाठी खुकुरीसमेतले प्रहार गरी घाइते बनाएको, निजलाई बचाउन जाँदा मसमेतलाई निज सुन्देश्वर मुखियाले सोही हतियारले प्रहार गरी घाइते बनाएको हो । जाहेरवालाको भाई जयप्रकाश मुखिया, बुबा रामा मुखिया, भाउजू प्रमिला देवी मुखियासमेत घाइते भएका थिए । हामी घाइतेहरूलाई आ-आफ्नो मान्छेहरूले उपचारको लागि अस्पताल ल्याएको
हो । घाइतेमध्येका रामा मुखिया, जयप्रकाश मुखिया, प्रमिला देवी मुखिया, देवी मुखियासमेतलाई थप उपचारको लागि विराटनगरतर्फ लाँदालाँदै जयप्रकाश मुखियाको बाटैमा मृत्यु भएको हो । निजको मृत्यु सोही वारदातमा चोट लागेको कारणले भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी मुखलाल मुखियाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको मिति २०६९।१२।२२ को बयान ।
मिति २०६९।१२।१४ को दिन म आफ्नै घरमा थिएँ । उक्त दिन घटनास्थलमा अं.१४:०० बजेको समयमा विपक्षी दिनेश मुखिया र जाहेरवाला सुन्देश्वर मुखियासमेत बिच झगडा भएको अवस्थामा गाउँका मानिस र प्रहरीसमेतका टोलीले शान्त गरी दिएको हो । त्यसपछि अं.१६/१७:०० बजेको समयमा जाहेरवाला सुन्देश्वर मुखिया, जयप्रकाश मुखिया, रामलाल मुखिया, दिनेश मुखियासमेतका मानिसहरू होली खेल्दै घटनास्थल नजिक रहेको चोकमा आइपुग्दा के कुन कुरामा हो दुवै पक्षबिच विवाद भई कुटपिटमा परिणत भयो । सो समयमा मसँग पक्राउ परेका प्रतिवादीहरू देवलाल मुखिया, सकलदेव मुखिया, रामबाबु मुखिया, मुखलाल मुखिया, वीरेन्द्र मुखिया र फरार रहेका देवी मुखिया, लालु मुखिया, दिनेश मुखिया, नरेन्द्र मुखिया, कान्छा मुखियासमेत घटनास्थलमा आइपुगेको हो । दुवै पक्षबिच हानाहान हुन थालेपछि सुन्देश्वर मुखियाले देवलाल मुखियाको टाउकोमा लाठी खुकुरीसमेतले प्रहार गरी घाइते बनाएकोले निजलाई बचाउन जाँदा मसमेतलाई निज सुन्देश्वर मुखियाले सोही हतियारले प्रहार गरी घाइते बनाएको हो । जाहेरवालाको भाइ जयप्रकाश मुखिया, बुबा रामा मुखिया, भाउजू प्रमिला देवी मुखियासमेत घाइते भएका थिए । हामी घाइतेहरूलाई आ-आफ्नो मान्छेहरूले उपचारको लागि अस्पताल ल्याएको
हो । घाइतेमध्येका रामा मुखिया, जयप्रकाश मुखिया, प्रमिला देवी मुखिया, देवी मुखियासमेतलाई थप उपचारको लागि विराटनगरतर्फ लाँदालाँदै जयप्रकाश मुखियाको बाटैमा मृत्यु भएको हो । निजको मृत्यु सोही वारदात घटनामा चोट लागेको कारणले भएको हो निज जयप्रकाश मुखियालाई मैले कुनै हतियारले प्रहार गरेको होइन भन्नेसमेत बेहोराको प्रतिवादी रामलाल मुखियाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको मिति २०६९।१२।२२ को बयान ।
मिति २०६९।१२।१४ को दिन होलीको पर्व थियो । सो दिन अं.१२:०० बजेको समयमा भिनाजु नाता पर्ने ऐ. कटैया गा.वि.स. वडा नं.६ बस्ने धनजिव मुखियाको घरमा खाना खानको लागि गएको थिएँ । घटनास्थल नजिक रहेको चोकमा अं.१४:०० बजेको समयमा दिनेश मुखिया र जाहेरवालाबिच सामान्य विवाद भएको थियो । सो कुरा मैले सुनी थाहा पाएको हुँ । भिनाजुको घरबाट अं.१५:०० बजेको समयमा म आफ्नो घर आएको हुँ । अं.१६/१७:०० बजेको समयमा दुवै पक्षका मानिसहरू होली खेल्दै सोही चोकमा आएका थिए । दुवै पक्षबिच विवाद भर्इ हानाहान भएपछि म आफ्नो घरबाट घटनास्थलमा आई हेर्दा जाहेरवालाको भाई जयप्रकाश मुखिया र देवलाल मुखियासमेत घाइते भएका थिए । निजहरूलाई उपचारको लागि अस्पतालतर्फ लगेकोमा लाँदालाँदै घाइतेमध्येका जयप्रकाश मुखियाको बाटैमा मृत्यु भएको भन्ने कुरा सुनी थाहा पाएको हुँ । निजलाई को कसले प्रहार गरेको चोट लागी मृत्यु भएको हो मैले देखिन । मैले कुनै हतियारले प्रहार गरेको छैन । सोही घटनामा गम्भीर चोट लागेको कारणले मृत्यु भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी सकलदेव मुखियाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको मिति २०६९।१२।२२ को बयान ।
मिति ०६९।१२।१४ मा म आफ्नै गाउँ घरमा थिएँ । बिहानको समयमा म मलेकपुर गाउँ बस्ने डम्बर साहेवको पोखरीमा माछा मार्न गएको थिएँ । अं.१४:०० बजेको समयमा आफ्नो घर आएको हुँ । सो समयमा प्रहरीको टोलीले झैझगडा शान्त पारिसकेको थियो । त्यसको २ घण्टापछि घटनास्थलमा हल्ला खल्ला भएको आवाज सुनी मसमेतका मानिसहरू आई हेर्दा जाहेरवालाको भाई जयप्रकाश मुखिया र देवलाल मुखियासमेत घाइते भएको मैले देखेको हुँ । घाइतेहरूलाई उपचारको लागि अस्पतालतर्फ निजहरूका मान्छेले लगेकोमा जयप्रकाश मुखिया, रामा मुखिया, प्रमिला देवी मुखियासमेतलाई थप उपचारको लागि विराटनगरतर्फ लाँदालाँदै जयप्रकाश मुखियाको बाटैमा मृत्यु भएको कुरा सुनी थाहा पाएको हुँ । निजलाई मैले कुनै हतियारले प्रहार गरेको होइन । सोही घटनामा निज जयप्रकाश मुखियालाई गम्भीर चोट लागेको कारण मृत्यु भएको हो । निजलाई को कसले कुन हतियारले प्रहार गरेको हो मैले देखिन भन्नेसमेत बेहोराको प्रतिवादी वीरेन्द्र मुखियाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको मिति २०६९।१२।२२ को बयान ।
मिति २०६९।१२।१४ गते बिहान अं.८:०० बजेको समयमा गाई गोरु चराउन गाउँभन्दा पश्चिम चउरमा गएको थिएँ । गाउँमा जाहेरवाला पक्ष र मेरो दाजु दिनेश मुखियाबिच झैझगडा भएको सुनी थाहा पाएको हुँ । अं.१६/१७:०० बजेको समयमा म गाई गोरु चराई घटनास्थलमा आइपुग्दा मेरो बुबा देवलाल मुखिया, ठुलो बुबा मुखलाल मुखिया, जाहेरवालाको भाइ जयप्रकाश मुखिया, भाउजू प्रमिला देवी मुखियासमेत घाइते अवस्थामा रहेको देखेको हुँ । घाइतेहरूलाई आ-आफ्नो मान्छेले उपचारको लागि अस्पतालतर्फ लगेको हो । घाइतेमध्येका रामा मुखिया, जयप्रकाश मुखिया, प्रमिला देवी मुखियासमेतलाई थप उपचारको लागि विराटनगरतर्फ लाँदालाँदै जयप्रकाश मुखियाको बाटैमा मृत्यु भएको सुनी थाहा पाएको हुँ । निजलाई को कसले के कुन हतियारले प्रहार गरे देखिन । मैले कुनै हतियारले प्रहार गरेको होइन । सो वारदातमा गम्भीर चोट लागेको कारणले उनको मृत्यु भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी रामबाबु मुखियाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको मिति २०६९।१२।२२ को बयान ।
मिति २०६९।१२।१४ गते अं.१६/१७:०० बजेको समयमा घटनास्थलमा कुटपिट हुँदै छ भनी थाहा पाई गाउँघरका मानिसहरू घरेलु हतियारसमेत लिई दौडदै जाँदै गरेको देखी म पनि सो स्थानमा गई हेर्दा जयप्रकाश मुखिया र रामलाल मुखियासमेतको बिच कुटपिट हानाहान भइरहेको थियो । निजहरूलाई छुटाउन जाँदा सुन्देश्वर मुखियाले पछाडिबाट मेरो टाउकोमा फट्टाले प्रहार गरी पुनः निजले नै मेरो टाउकोमा खुकुरीले प्रहार गर्दा सख्त घाइते भई बेहोस भएको
हुँ । त्यसपछि मेरो छोरा बुहारी धनी देवी मुखियासमेत आई मलाई उठाई उपचारको लागि अस्पतालतर्फ ल्याएको हो । घाइते रामा मुखिया, जयप्रकाश मुखिया, प्रमिला देवी मुखियासमेतलाई थप उपचारको लागि विराटनगरतर्फ लाँदालाँदै जयप्रकाश मुखियाको बाटैमा मृत्यु भएको हो । निजलाई मैले कुनै हतियारले प्रहार गरिन, को कसले कुन हतियारले प्रहार गरेको हो मैले देखिन । सोही वारदातमा निजलाई गम्भीर चोट लागेको कारणले मृत्यु भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी देवलाल मुखियाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको मिति २०६९।१२।२२ को बयान ।
मिति २०६९।१२।१४ गतेका दिन होली पर्व थियो । प्रसादी र खाना खानको लागी घनश्याम साहसमेतलाई आफ्नै घरमा बोलाएको थिएँ । मेरो घरनजिकै रहेको चोकमा घनश्याम साह र दिनेश मुखियाबिच सामान्य विवाद भएको, त्यसपछि अं.१७:०० बजेको समयमा हामीहरू आफ्नै घर आँगनमा खाना खाँदै खुवाउँदै कुराकानी गरी बसेको समयमा देवलाल मुखियासमेतले हातहातमा फर्सा, लाठी, रडसमेत ल्याई घेरा हाली मेरो आँगनको टाटीको बार भत्काई मेरो घर आँगनमा प्रवेश गरी यो सालेहरू अरू जातिका मानिसहरूलाई ल्याई खाना खुवाउने हामीलाई अपमान गरेको हो, यिनीहरूलाई ज्यानै मारिदेउ, धन सम्पत्ति क्षति पुर्याइदेउ भनी देवलाल मुखियाले वचन दिई आफूसमेत सरिक भई मेरो भाई जयप्रकाश मुखियालाई वीरेन्द्र मुखियाले फर्साले टाउकोमा प्रहार गर्ने बित्तिकै भाइ भुइँमा ढलेपछि देवलाल मुखियासमेतले बोकेको हतियारले शरीरको विभिन्न भागमा प्रहार गरिरहेको अवस्थामा मसमेतका मानिसहरू बचाउन जाँदा सोही हतियारले प्रहार गरी मसमेतलाई घाइते बनाएको
हुन् । स्थानीय मानिसहरू आई हाम्रो ज्यान बचाएको र त्यसपछि घाइते बुबा रामा मुखिया, भाउजू प्रमिला देवी मुखिया, भाई जयप्रकाश मुखियालाई उपचारको लागि राजविराज अस्पताल ल्याई उपचार गराउँदा रिफर गरेकोले थप उपचारको लागि विराटनगरतर्फ लाँदालाँदै भाई जयप्रकाश मुखियाको बाटैमा मृत्यु भएको हो । निज भाइलाई वीरेन्द्र मुखियासमेतले फर्सा प्रहार गर्दा गम्भीर चोट लागेको कारणले मृत्यु भएको हो भन्नेसमेत बेहोराको प्रमेश्वर मुखियाले गरिदिएको मिति २०६९।१२।२६ को घटना विवरण कागज ।
मिति २०६९।१२।१४ गतेका दिन होली पर्व थियो । प्रसादी र खाना खानको लागि घनश्याम साहसमेतलाई आफ्नै घरमा बोलाएको थिएँ । मेरो घरनजिकै रहेको चोकमा घनश्याम साह र दिनेश मुखियाबिच सामान्य विवाद भएको थियो । त्यसपछि अं.१७:०० बजेको समयमा हामीहरू आफ्नै घर आँगनमा खाना खाँदै खुवाउँदै कुराकानी गरी बसेको समयमा देवलाल मुखियासमेतले हातहातमा फर्सा, लाठी, रडसमेत ल्याई घेरा हाली मेरो आँगनको टाटीको बार भत्काई मेरो घर आँगनमा प्रवेश गरी यो सालेहरू अरू जातिका मानिसहरूलाई ल्याई खाना खुवाउने हामीलाई अपमान गरेको हो । यिनीहरूलाई ज्यानै मारिदेउ, धन सम्पत्ति क्षति पुर्याइदेउ भनी देवलाल मुखियाले वचन दिई आफूसमेत सरिक भई मेरो छोरा जयप्रकाश मुखियालाई वीरेन्द्र मुखियाले फर्साले टाउकोमा प्रहार गर्ने बित्तिकै भाइ भुइँमा ढलेपछि देवलाल मुखियासमेतले बोकेको हतियारले शरीरको विभिन्न भागमा प्रहार गरिरहेको अवस्थामा मसमेतका मानिसहरू बचाउन जाँदा सोही हतियारले प्रहार गरी मसमेतलाई घाइते बनाएका हुन् । स्थानीय मानिसहरू आई हाम्रो ज्यान बचाएको र त्यसपछि घाइते छोरा जयप्रकाश मुखिया, बुहारी प्रमिलादेवी मुखिया र मसमेतलाई उपचारको लागि राजविराज अस्पताल ल्याई उपचार गराउँदा रिफर गरेकोले थप उपचारको लागि विराटनगरतर्फ लाँदालाँदै छोरा जयप्रकाश मुखियाको बाटैमा मृत्यु भएको हो । निज छोरालाई वीरेन्द्र मुखियासमेतले फर्सा प्रहार गर्दा गम्भीर चोट लागेको कारणले मृत्यु भएको हो भन्नेसमेत बेहोराको रामा मुखियाले गरी दिएको मिति २०६९।१२।२६ को घटना विवरण कागज ।
मिति २०६९।१२।१४ का दिन होली पर्व थियो । प्रसादी र खाना खानको लागि भन्सो भन्ने घनश्याम साहसमेतलाई आफ्नै घरमा बोलाएको
थियो । मेरो घर नजिकै रहेको चोकमा घनश्याम साह र दिनेश मुखियाबिच सामान्य विवाद भएको थियो । त्यसपछि अं.१७:०० बजेको समयमा हामीहरू आफ्नै घर आँगनमा खाना खाँदै खुवाउँदै कुराकानी गरी बसेको समयमा देवलाल मुखियासमेतले हातहातमा फर्सा, लाठी, रडसमेत ल्याई घेरा हाली मेरो आँगनको टाटीको बार भत्काई मेरो घर आँगनमा प्रवेश गरी यो सालेहरू अरू जातिका मानिसहरूलाई ल्याई खाना खुवाउने हामीलाई अपमान गरेको हो । यिनीहरूलाई ज्यानै मारिदेउ, धन सम्पत्ति क्षति पुर्याइदेउ भनी देवलाल मुखियाले वचन दिई आफूसमेत सरिक भई मेरो देवर जयप्रकाश मुखियालाई वीरेन्द्र मुखियाले फर्साले टाउकोमा प्रहार गर्ने बित्तिकै देवर भुइँमा ढलेपछि देवलाल मुखियासमेतले बोकेको हतियारले शरीरको विभिन्न भागमा प्रहार गरिरहेको अवस्थामा मसमेतका मानिसहरू बचाउन जाँदा सोही हतियारले प्रहार गरी मसमेतलाई घाइते बनाएका हुन् । स्थानीय मानिसहरू आई हाम्रो ज्यान बचाएको र त्यसपछि घाइते ससुरा रामा मुखिया, म र देवर जयप्रकाश मुखियालाई उपचारको लागि राजविराज अस्पताल ल्याई उपचार गराउँदा रिफर गरेकोले थप उपचारको लागी विराटनगरतर्फ लाँदालाँदै देवर जयप्रकाश मुखियाको बाटैमा मृत्यु भएको हो । निज देवरलाई वीरेन्द्र मुखियासमेतले फर्सा प्रहार गर्दा गम्भीर चोट लागेको कारणले मृत्यु भएको हो भन्नेसमेत बेहोराको प्रमिलादेवी मुखियाले गरिदिएको मिति २०६९।१२।२६ को घटना विवरण कागज ।
मिति २०६९।१२।१४ गते जाहेरवाला सुन्देश्वर मुखियाको एकासगोलको दाजु चन्देश्वर मुखियाको घरमा खाना खानको लागि निम्तो गरेकोले हामीहरू निजको घरमा गई होली पर्वको प्रसादी र खाना खाई कुराकानी गरी बसेको अवस्थामा देवलाल मुखियासमेतले हातहातमा लाठी फर्सा रडसमेत लिई आई चारैतिरबाट घेरा हाली आँगनको टाटी बार तोडफोड गरी घर आँगनभित्र जबरजस्ती प्रवेश गरी यी सालेहरूलाई मारी फालिदेउ, धनसम्पत्ति क्षति पुर्याइदेउ भनी देवलाल मुखियाले वचन दिई आफूसमेत सरिक भई जाहेरवालासमेतलाई कुटपिट गर्न लाग्दा हामीहरूले झैझगडा कुटपिट नगर्नु भन्दा हामीहरूसमेतलाई कुटपिट गर्न लाग्दा निजको आँगनबाट बाहिर निस्की झैझगडा नगर्नु भन्दै गरेको अवस्थामा वीरेन्द्र मुखियाले बोकेको फर्साले जयप्रकाश मुखियाको टाउकोमा प्रहार गर्नासाथ निज जयप्रकाश मुखिया भुइँमा ढलेको र निजलाई बचाउन आएका रामा मुखियासमेतलाई निजहरूले सोही हतियारले प्रहार गरी घाइते बनाएको हो । हामीहरूले हल्लाखल्ला गर्दा स्थानीय मानिसहरू आई रामा मुखियासमेतलाई बचाएको र घाइतेहरूलाई उपचारको लागि अस्पतालतर्फ पठाएको हो । घाइतेहरू रामा मुखिया, जयप्रकाश मुखिया, प्रमिला देवी मुखियासमेतलाई थप उपचारको लागि विराटनगरतर्फ लाँदा लाँदै जयप्रकाश मुखियाको बाटैमा मृत्यु भएको हो भन्ने सुनी थाहा पाएको हुँ । जयप्रकाश मुखियालाई वीरेन्द्र मुखियासमेतले फर्सासमेतले प्रहार गरेको कारणले निजको मृत्यु भएको हो भन्नेसमेत बेहोराको घन्सु भन्ने घनश्याम साह, राम नारायण यादव, जिवछलाल मुखिया र अमर मुखियाले गरिदिएको मिति २०६९।१२।२७ को कागज ।
प्रमेश्वर मुखिया, रामा मुखिया, सुन्देश्वर मुखिया र प्रमिला देवी मुखियाको शरीरमा चोटपटक देखिएको घाउजाँच केस फाराम ।
मिति २०६९।१२।१४ का दिन जाहेरवाला सुन्देश्वर मुखियाको एकासगोलको दाजु चन्देश्वर मुखियाको घरमा खाना खानको लागि निम्तो गरेकोले हामीहरू निजको घरमा गई होली पर्वको प्रसादी र खाना खाई कुराकानी गरी बसेको अवस्थामा देवलाल मुखियासमेतले हातहातमा लाठी फर्सा रडसमेत लिई आई चारैतिरबाट घेरा हाली आँगनको टाटी बार तोडफोड गरी घर आँगनभित्र जबरजस्ती प्रवेश गरी यी सालेहरूलाई मारी फालिदेउ, धनसम्पत्ति क्षति पुर्याइदेउ भनी देवलाल मुखियाले वचन दिई आफूसमेत सरिक भई जाहेरवालासमेतलाई कुटपिट गर्न लाग्दा हामीहरूले झैझगडा कुटपिट नगर्नु भन्दा हामीहरूसमेतलाई कुटपिट गर्न लाग्दा निजको आँगनबाट बाहिर निस्की झैझगडा नगर्नु भन्दै गरेको अवस्थामा वीरेन्द्र मुखियाले बोकेको फर्साले जयप्रकाश मुखियाको टाउकोमा प्रहार गर्नासाथ निज जयप्रकाश मुखिया भुइँमा ढलेको र निजलाई बचाउन आएका रामा मुखियासमेतलाई निजहरूले सोही हतियारले प्रहार गरी घाइते बनाएको हो । हामीहरूले हल्लाखल्ला गर्दा स्थानीय मानिसहरू आई रामा मुखियासमेतलाई बचाएको र घाइतेहरूलाई उपचारको लागि अस्पतालतर्फ पठाएको हो । घाइतेहरू रामा मुखिया, जयप्रकाश मुखिया, प्रमिला देवी मुखियासमेतलाई थप उपचारको लागि विराटनगरतर्फ लाँदालाँदै जयप्रकाश मुखियाको बाटैमा मृत्यु भएको हो भन्ने सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको भवीलाल सरदार र पुलकित सरदारले गरिदिएको मिति २०६९।१२।२७ को घटना विवरण कागज ।
Severe brain injury with cervical injury leading to cardio respiratory arrest and death भन्ने जयप्रकाश मुखियाको शव परीक्षण प्रतिवेदन ।
मिति २०६९।१२।१४ गतेको दिन अं.१७:०० बजेको समयमा जाहेरवाला सुन्देश्वर मुखियाको एकासगोलको दाजु चन्देश्वर मुखियाको घर आँगनमा हल्ला खल्ला भएको आवाज सुनी आई हेर्दा जयप्रकाश मुखिया, रामा मुखिया, प्रमिला देवी मुखियासमेत घाइते अवस्थामा थिए । देवलाल मुखियासमेतको हातमा लाठी, फर्सा, फलामको रडसमेत रहेको देखेको हुँ । घाइतेहरूलाई तत्कालै उपचारको लागि हामी स्थानीय मानिसहरूले राजविराज अस्पताल पठाइएकोमा रामा मुखिया, जयप्रकाश मुखिया, प्रमिला देवी मुखियासमेतको उपचार सगरमाथा अञ्चल अस्पताल राजविराजमा हुन नसकी रिफर गरिदिएकोले थप उपचारको लागि विराटनगरतर्फ लाँदालाँदै जयप्रकाश मुखियाको बाटैमा मृत्यु भएको हो भन्ने सुनी थाहा पाएको हुँ । घाइते रामा मुखिया र प्रमिला मुखियाको हात भाँचिएको छ, निजहरू हाल उपचारकै क्रममा छन् । जयप्रकाश मुखियालाई वीरेन्द्र मुखियासमेतले फर्सासमेतले प्रहार गरेको कारणले निजको मृत्यु भएको हो । उक्त घटना पुरानो रिसइवी र अन्य जातिका मानिसहरूलाई जाहेरवालाले आफ्नो घरमा बोलाई खाना खुवाएको कारणले यी अन्यायीहरूले योजना बनाई घटाएको हो । यी अन्यायी देवलाल मुखियासमेतलाई कानूनबमोजिम कडाभन्दा कडा कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको स्थानीय मानिस सुकदेव मुखियासमेतले खुलाई लेखाइदिएको मिति २०६९।१२।३१ को वस्तुस्थिति मुचुल्का ।
जय प्रकाश मुखियालाई देवलाल मुखिया र दिनेश मुखियाले वचन दिई आफूसमेत सरिक भई कुटपिट गरेको र सोही चोटको कारणले निज जय प्रकाश मुखियाको मृत्यु भएको भन्ने सिद्ध हुन आएको हुँदा पक्राउ परेका देवलाल मुखिया, रामबाबु मुखिया, वीरेन्द्र मुखिया, सकलदेव मुखिया, रामलाल मुखिया, मुखलाल मुखिया र फरार रहेका देवेन्द्र भन्ने देविन मुखिया, लालु मुखिया, दिनेश मुखिया, नरेन्द्र मुखिया, कान्छा मुखियासमेतलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३(३) को कसुरमा ऐ.को १३(३) तथा वचन दिनेलाई ऐ.को १३(४) नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र ।
मिति २०६९।१२।१४ गतेका दिन होली पर्व हुँदा घरमै थिएँ । त्यस दिन जाहेरवालाको घरमा २ ग्रुप रक्सी खाई रहेका थिए । त्यसै अवस्थामा वादविवाद भई हल्ला सुरू भयो । म पनि त्यहाँ गई झगडा छुट्याउन लाग्दा जिवछ मुखियाले मलाई खुकुरीले र सुन्देश्वरले फट्टाले हिर्काएपछि म बेहोस भई त्यहीँ लडेछु । त्यसपछि मलाई कुनै कुरा थाहा भएन । मृतक जयप्रकाश मुखियालाई मैले कर्तव्य गरी मारेको होइन । मउपरको जाहेरी दरखास्त एवं अभियोग दाबीसमेत झुठा हो । झुठा अभियोग दाबीबाट फुर्सद पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी देवलाल मुखियाले सुरू अदालतमा गरेको बयान ।
मिति २०६९।१२।१४ गतेका दिन म आफ्नो घरमा थिएँ । त्यस दिन होली पर्व भएकाले जाहेरवाला तथा मृतकको घरमा खसी काटी दुई ग्रुपमै रक्सी मासु खाइरहेका थिए । त्यसमा बोतल फुटाएको निहुँमा दुई ग्रुपबिच विवाद भई कुटपिट गर्न थाले । म वृद्ध मानिसको भनाइ मान्दछन कि भनी सम्झाउन झगडा भएको ठाउँमा गई यसो नगर झगडा गर्नु हुँदैन भनी सम्झाउँदा रामा मुखियाले मेरो विपक्षी आयो यसलाई पनि हान भन्दा जाहेरवालाले बाँसको फट्टाले मेरो टाउकोमा हान्दा म बेहोस भई सोही ठाउँमा ढलेँ । त्यसपछि मलाई कुनै कुरा थाहा भएन । म ६५ वर्षको वृद्ध मानिसले जाहेरवालाको जाहेरीबमोजिम मृतक जय प्रकाश मुखियालाई कुटपिट गर्न नसक्ने हुँदा मउपरको जाहेरी दरखास्त एवं अभियोग दाबीसमेत झुठा हो । झुठा अभियोगबाट फुर्सद पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी मुखलाल मुखियाले सुरू अदालतमा गरेको बयान ।
मिति २०६९।१२।१४ गतेका दिन बिहानै गाईवस्तु चराउन घरभन्दा करिब ४ कि.मि. टाढा गएको थिएँ । गाईवस्तु चराइरहेको अवस्था मेरो भतिजा भतिजी आई गाउँमा झगडा भइरहेको छ हाम्रो बाबुलाई मारिदियो भनी मलाई सुनाएकाले दौड्दै घटनास्थलमा आएँ । त्यहाँ बाबुबाहेक अन्य कोही थिएनन् । बाबुको टाउकोबाट रगत बगिरहेको थियो । रगत हातले रोकी रहेको अवस्थामा पथरगाडाबाट प्रहरी आई मलाई पक्राउ गरेका हुन् । यो घटनामा मेरो कुनै संलग्नता नभएको हुनाले झुठा जाहेरी एवं अभियोग दाबीसमेतबाट फुर्सद पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रामबाबु मुखियाले सुरू अदालतमा गरेको बयान ।
मिति २०६९।१२।१४ गतेका दिन बिहानै ०८:०० बजेको समयमा अम्बर साहुको पोखरीमा माछा मार्न भनी गई बेलुका ०५:३० बजे आफ्नो घर फर्किआएपश्चात् गाउँमा झगडा भयो तेरो बाबु पनि घाइते छ भनी सुनाएपछि मात्र घटना भएको कुरा थाहा पाएँ । म घरमै नभएकोले जाहेरी दरखास्तअनुसार मृतक जयप्रकाश मुखियालाई मैले टाउकोमा हिर्काएकोसमेत होइन । झुठा जाहेरी दरखास्त एवं अभियोग दाबीसमेतबाट फुर्सद गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी वीरेन्द्र मुखियाले सुरू अदालतमा गरेको बयान ।
मिति २०६९।१२।१४ का दिन म बिहानै उठी नुहाईवरी देउताको घर लिपपोत गरी पूजा आजा गरेर घरमै बसी रहेको थिएँ । केही वेरपछि दिदी आई मेरो घरमा खान हिँड भनेकाले दिदीसँगै दिदीको घरमा गई खाना खाई दिउँसो २ बजे आफ्नो घरमा आई छोरीलाई दवाई खुवाई सुतिरहेको थिएँ । केहीवेरपछि चोकमा हल्ला भएको आवाज सुनी जान लाग्दा आमाले जान दिनुभएन । म वारदात स्थालमा गइन । म त्यहाँ नगएकोले कसैसँग पनि भेट भएन । मेरो सो वारदातमा कुनै संलग्नता नभएकोले मउपरको जाहेरी दरखास्त एवं अभियोग दाबी झुठा भएकोले झुठा अभियोग दाबीबाट फुर्सद पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सकलदेव मुखियाले सुरू अदालतमा गरेको बयान ।
मिति २०६९।१२।१४ गतेका दिन हजुरबुबा हजुरआमाले खाना खान बोलाउनु भएकोले दिउँसो खाना खान गएँ । पथरगाडामा तेज नारायण महतोको पोखरी ठेक्कामा लिएकाले खाना खाएपछि पोखरीमा माछा मार्न गई भरदिन पोखरीमा माछा मारी साँझ ०८:०० बजेतिर घरमा आएपछि श्रीमतीले वारदात भएको कुरा सुनाइन । त्यसपछि म सुतिरहेको अवस्थामा प्रहरीहरू आई मलाई पक्राउ गरेका हुन् । सो दिन अन्य कोही प्रतिवादी तथा जाहेरवालासमेत सँग भेटघाट भएन । म वारदात स्थलमा नभए पनि जाहेरवालाले किन त्यस्तो झुठा जाहेरी दिए म
जान्दिन । मेरो वारदातमा संलग्नता नभएकोले झुठा जाहेरी दरखास्त एवं अभियोग दाबीसमेतबाट फुर्सद पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रामलाल मुखियाले सुरू अदालतमा गरेको बयान ।
प्रतिवादीमध्येका देवलाल मुखिया, रामलाल मुखिया, सकलदेव मुखिया, वीरेन्द्र मुखिया, रामबाबु मुखियालाई थुनामा राख्नु र प्रतिवादी मुखलाल मुखियाबाट रू. १८,०००।– धरौटी लिनु भनी सुरू सप्तरी जिल्ला अदालतबाट भएको आदेश ।
मिति २०६९।१२।१४ गतेका दिन म गाउँघरमै छु । त्यसदिन बाँसको भाटा बनाई बसी रहेको अवस्थामा मृतक जय प्रकाशको घरमा हल्ला भएको सुनी त्यस ठाउँमा पुग्दा जाहेरवाला र जयप्रकाशसमेतले मेरो बाबुलाई टाउकोमा कुटपिट गरी बुबा मुर्छित अवस्थामा रगताम्मे भई लडिरहनु भएको देखी रिस थाम्न नसकी मैले बोकी राखेको भाटा बनाउने फलामको कडाले मृतकको टाउको र कोखमा हानेको हुँ । मेरो चोटबाट नै मृतकको मृत्यु भएको हो । अन्य कसैको करकाप प्रलोभनबाट बयान गरेको होइन भन्नेसमेत बेहोराको प्रतिवादी लालुप्रसाद मुखियाले सुरू अदालतमा गरेको बयान ।
प्रतिवादी लालुप्रसाद मुखियालाई थुनामा राख्नु भन्ने सुरू सप्तरी जिल्ला अदालतको आदेश ।
प्रतिवादी वीरेन्द्र मुखियाले मृतकको टाउकोमा फर्साले प्रहार गरी निजको सोही घाउचोटको पिरले मृत्यु भएको देखिँदा निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. को कसुरमा ऐ.१३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुन्छ । अन्य प्रतिवादीहरू रामलाल मुखिया, सकलदेव मुखिया, रामबाबु मुखिया, लालु मुखिया वारदातस्थलमा मौजुद रही सामूहिक झैझगडामा सामेल भएका, मृतक पक्षका प्रमिलादेवी, रमादेवी मुखिया, परमेश्वर मुखियासमेतलाई कुटपिट गरी घटनालाई झनै उत्तेजित अवस्थामा पुर्याउन मद्दत गरेका, घटना रोकथाम गर्ने प्रयास नगरेका जस्ता क्रियाले मृतकलाई मार्न मराउन मद्दतगार भई मतियारको भूमिका खेलेको देखिँदा यी प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(२) नं.को कसुरमा सोही नं.बमोजिम जनही ५(पाँच) वर्ष कैद हुन्छ । प्रतिवादी देवलाल मुखियालाई वारदातस्थलमा उपस्थित भएको, वारदात रोक्न कुनै सक्रिय भूमिका नखेलेको, मृतकलाई मार्नबाट वचाउने नियतसमेत नराखेको निजको व्यवहारवाट देखिन आई ज्यानसम्बन्धी महलको १७(३) नं.को कसुरमा सोही नं.बमोजिम २ वर्ष कैद सजाय हुन्छ । प्रतिवादी मुखलाल मुखिया वारदातस्थलमा उपस्थित रहेको, कुटपिट हुँदा पनि मतलबीको हैसियतमा घटनास्थलमा रही रहेको हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) को कसुरमा सोही नं. अनुसार निजलाई १(एक) वर्ष कैद हुन्छ । फरार प्रतिवादीहरू देवेन्द्र भन्ने देविन मुखिया, दिनेश मुखिया, नरेन्द्र मुखिया र कान्छा मुखियाको हकमा मुलुकी ऐन, अ.बं.१९० नं.बमोजिम मुलतबिमा राखिदिएको छ । प्रतिवादी वीरेन्द्र मुखियालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने फैसला भए तापनि वारदात घट्न गएको परिस्थितिसमेतलाई विचार गर्दा सो सजाय चर्को पर्न जाने देखिएकोले निजको हकमा १२ (बाह्र) वर्ष मात्र कैद सजाय हुन अ.बं. १८८ नं. बमोजिमको राय प्रस्तुत गरिएको छ भन्नेसमेत बेहोराको सुरू सप्तरी जिल्ला अदालतको मिति २०७१।७।१९ को फैसला ।
मृतक एवं घाइतेहरूले आफ्नो दाजुको घरमा पाहुनाहरूलाई बोलाई होली खेली नाचगान खानपिन गरिरहेको अवस्थामा अन्य जातिहरूलाई महत्त्व दिई खान बोलाएको आफूहरूलाई अपमान गर्ने उद्देश्यले नबोलाएको निहुँमा एक आपसमा सल्लाह गरी पूर्वयोजना मुताबिक फर्सा, लाठी, फलामे रड जस्ता घातक हतियार प्रयोग गरी ४/४ जनालाई घाइते बनाएकोमा १ जनाको मृत्यु भएको, प्रतिवादीहरू वारदातस्थलमा रहे भएको, यिनै प्रतिवादीहरूको आक्रमणबाट घाइते भएका भाई जयप्रकाशको उपचार गर्न लाने क्रममा मृत्यु भएको, अन्य घाइतेहरू उपचारपश्चात् बाँच्न सफल भएको भनी किटानी जाहेरी रहेको, उक्त मौकाको जाहेरीलाई सनाखत गर्दै अदालतमा समेत उपस्थित भई जाहेरवालाले बकपत्र गरिदिएको अवस्था छ । अनुसन्धानको क्रममा बुझिएका घटनाबाट पीडित घाइते प्रमिलादेवी, परमेश्वर मुखिया, धनश्याम साह, अमर मुखिया, बुझिएका जीवछलाल मुखिया, पुलकित सरदार, भविलाल सरदार, वस्तुस्थितिका विन्देश्वर यादव, सुकदेव मुखियासमेतले अदालतसमक्ष उपस्थित भई आफूले गरेको कागजको सनाखत गर्दै यी प्रतिवादीहरू घटनामा संलग्न व्यक्तिहरू हुन् भनी किटानीसाथ बकपत्र गरिदिएको अवस्थामा सबै प्रतिवादीहरूका उपर दाबीबमोजिमको कसुर ठहर गर्नु पर्नेमा प्रमाणको यथोचित मूल्याङ्कन नगरी दाबीभन्दा घटी सजाय गर्ने गरेको सुरूको फैसला प्रमाण मूल्याङ्कनको रोहमा त्रुटिपूर्ण हुँदा उल्टी गरी घटना वारदातमा संलग्न विरूद्ध खण्डमा उल्लिखित सबै प्रतिवादीहरूलाई दाबीबमोजिम नै सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन पत्र ।
जाहेरवाला सुन्देश्वर मुखियासमेतका मानिसहरूले गरेको प्रहारबाट भुइँमा ढलेका देवलाल मुखिया र मसमेतले जयप्रकाश मुखियालाई प्रहार नगरेको र कुनै किसिमले केही नगरी म आफैँ गम्भीर घाइते भई बेहोस रहेको अवस्थामा म प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम २(दुई) वर्ष कैद गर्ने गरी गरेको सुरू फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दाबीवाट सफाइ पाउँ भन्ने प्रतिवादी देवलाल मुखियाको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन पत्र ।
मिति २०६९।१२।१४ गतेका दिन पथरगाडा गा.वि.स.मा हजुरआमाको घरमा खाना खाई तेजनारायण महतोको पोखरी ठेक्का लिएकाले पोखरीमा माछा मारी साँझ ८ बजे घरमा आएको हुँ । वारदात हुँदाको अवस्थामा म वारदातस्थलमा थिइन । घटनामा मेरो संलग्नता पनि नभएको, मृतक जयप्रकाश मुखिया र अन्य व्यक्तिमाथि मैले हतियार प्रहार नगरेको अवस्थामा मेरो मौकाको बयानलाई समेत प्रमाणमा नलिई मलाई ज्यानसम्बन्धी महलको १७(२) नं.बमोजिम ५ वर्ष कैद गर्ने गरेको सुरू सप्तरी जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादी रामलाल मुखियाको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन पत्र ।
म निर्दोष छु । घटनामा मेरो संलग्नता छैन, मृतक जयप्रकाश मुखिया र अन्य कसैमाथि कुनै हतियार छाडेको छैन, सो कुराहरू मैले मौकाको बयानमा समेत उल्लेख गरेको छु । वारदातको मिति र समयमा म मलेकपुर गाउँ बस्ने डम्बर साहको पोखरीमा माछा मार्न गएको थिएँ । मैले अनुसन्धान र अदालतमा गरेको इन्कारी बयानलाई प्रमाण ऐन, २०३१ को दफा ९ विपरीत अपराधमा संलग्नताको पुष्ट्याइँ मानी मउपर ज्यानसम्बन्धी महलको १ र १३(३) नं.को कसुर अपराध ठहर गरी मलाई सर्वस्वसहित जन्मकैद गर्ने गरेको सुरूको फैसला त्रुटिपूर्ण रहेकोले उल्टी गरी अभियोग दाबीवाट सफाइ पाउँ भन्ने प्रतिवादी वीरेन्द्र मुखियाको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन पत्र ।
वारदात मिति २०६९।१२।१४ गतेका दिन होली पर्व थियो । उक्त दिन म मेरो भिनाजु कटैया ६ बस्ने धनजीत मुखियाको घरमा खाना खान गएको
थिएँ । घटनामा मेरो संलग्नता छैन । म निर्दोष छु । मैले मृतक जयप्रकाश मुखियालगायत अन्य मानिसहरूलाई हतियार प्रहार गरेको छैन भनी मौकाको बयानमा समेत उल्लेख गरेको छु । सो बयानको न्यायिक मूल्याङ्कन गरी प्रमाण बुझ्नु पर्ने, म निर्दोष प्रतिवादीलाई निर्दोष कायम गर्नु पर्नेमा प्रमाण ऐन, २०३१ को दफा ९ विपरीत मेरो अपराधमा संलग्नता रहेको पुष्ट्याइँ मानी मलाई कसुदार ठहर्याई ५ (पाँच) वर्ष कैद गर्ने गरेको सुरूको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादी सकलदेव मुखियाको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन पत्र ।
मेरो बुबा देवलाल मुखियालाई प्रहार गरी घाइते बनाई लडाइदिएको देख्दा तत्कालको अवस्थामा रिसथाम्न नसकी रक्षाको क्रममा मैले जयप्रकाशलाई बाँसको फट्टाले प्रहार गरेको हो । संयोगले जयप्रकाश तत्काल घाइते भई उपचारको क्रममा निजको मृत्यु भएको हो । जाहेरवाला सुन्देश्वर मुखियालगायतका मानिसहरूको प्रहारबाट भुइँमा ढलेका पिता देवलाल मुखियाको ज्यान रक्षा हुन नसक्ने र अझै प्रहार गरिरहेको अवस्थामा म प्रतिवादी उपस्थित भई रक्षाका लागि अन्यकुनै उपाय नभएको र मेरो पनि ज्यान रक्षाका लागि एक पटक मात्र प्रहार गर्दा संयोगले जयप्रकाश मुखियालाई लाग्न गई तत्काल घाइते भई निजको मृत्यु भएको हो । होली पर्वमा तत्काल उठेको रिसले प्रहार गरेको र मान्छे मार्ने नियत नभएको अवस्थामा वारदात भवितव्यको भएको र ज्यानसम्बन्धीको ७(१) को अवस्था विद्यमान हुँदा म प्रतिवादीलाई सोही आधारबाट सफाइ दिलाई पाउँ भन्ने प्रतिवादी लालु मुखियाको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन पत्र ।
म प्रतिवादीले अनुसन्धानको क्रममा इन्कार रही बयान गरेको छु । वारदातको दिन र समयमा गाइगोरू चराउन गाउँभन्दा पश्चिमको खेतमा गएको थिएँ । मेरो बुबा देवलाल मुखियालगायतका मानिसहरू घाइते अवस्थामा रहेको मैले देखेको थिएँ । मैले कसुर अपराध गरेको छैन भनी गरेको इन्कारी बयानलाई प्रमाण ऐन, २०३१ को दफा ९ विपरीत अपराधमा संलग्नताको पुष्ट्याइँ मानी म निर्दोष प्रतिवादीलाई कसुरदार ठहर्याई ५ वर्ष कैद गर्ने गरेको सुरूको फैसलामा गम्भीर त्रुटि छ । मृतक र सोमा संलग्न रहेका मानिसहरूको प्रहारबाट मेरा बुबा देवलाल मुखिया र ठुला बुबा मुखलाल मुखियालाई गम्भीर खत परेको भन्ने देखिन्छ । प्रतिवादीहरू पनि सख्त र गम्भीर घाइते भएको अवस्थामा दोहोरो रूपमा तत्कालको अवस्थामा भएको विवादबाट कुटपिटको वारदातसम्म घटित भएको हो । मृतकलाई उपचारका लागि विराटनगर लगिएको अवस्थामा मृत्यु भएको अवस्थामा मनसाय प्रेरित हत्या नभई आवेश प्रेरित हत्या भएको भन्ने अवस्था प्रस्ट छ । यस्तो अवस्थामा वारदातस्थलमा म प्रतिवादीको संलग्नता नभएको हुँदा सजाय गर्ने गरेको सुरू फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादी रामबाबु मुखियाको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन पत्र ।
मेरो भाइ देवलाल मुखियाको टाउको र शरीरमा गम्भीर खतचोट देखिएको छ । मेरो आङजिउमा पनि घाउखत चोट लागी महिनौंसम्म उपचार गराउनु परेको भन्ने अनुसन्धानको कागजले समेत देखाएको छ । मृतकको शरीरको खत हेर्दा हाम्रोभन्दा कम घाउचोट रहेको देखिन्छ । लास जाँच मुचुल्कामा मृतकको टाउकोको बिच भागमा २१/४ इन्च काटेको चोट घाउमा ८ वटा टाँका लागेको बायाँ कोखमा १ इन्च लम्बाइको छाला पिल्सी खोस्रिएको, बायाँ आँखामा निलडाम रहेको भन्नेसम्म छ । उपचारको त्रुटि वा लापरवाहीले जयप्रकाशको मृत्यु भएको छ । मैले जयप्रकाश मुखियालाई प्रहार वा कुनै किसिमको केही नगरेको अवस्थामा म प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम १ वर्ष कैद गर्ने गरेको सुरूको फैसलामा गम्भीर त्रुटि रहेको हुँदा उक्त फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादी मुखलाल मुखियाको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन पत्र ।
वादी नेपाल सरकार र प्रतिवादी दुवैतर्फको पुनरावेदन परेको देखिँदा अ.बं.२०२ नं.को प्रयोजनार्थ पुनरावेदनको सम्बन्धमा दुवै पक्षलाई परस्परमा जानकारी गराई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत राजविराजको मिति २०७२।१०।१८ को आदेश ।
प्रतिवादी वीरेन्द्र मुखियालाई ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद, प्रतिवादीहरू रामबाबु मुखिया, सकलदेव मुखिया, रामलाल मुखिया तथा लालु मुखियालाई ज्यानसम्बन्धीको १७(२) नं.बमोजिम जनही ५(पाँच) वर्ष कैद र देवलाल मुखियालाई ज्यानसम्बन्धीको १७(३) नं.बमोजिम २(दुई) वर्ष कैद तथा मुखलाल मुखियालाई ज्यानसम्बन्धीको १७(३) नं.बमोजिम १(एक) वर्ष कैद गर्ने ठहर गरेको सुरू सप्तरी जिल्ला अदालतको मिति २०७१।७।१९ को फैसला एवं प्रतिवादी वीरेन्द्र मुखियाको हकमा १२ (बाह्र) वर्ष मात्र कैद सजाय हुन सुरू अदालतबाट प्रस्तुत अ.बं.१८८ नं. बमोजिमको रायसमेत सदर हुने ठहर्छ । वादी नेपाल सरकार र प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत राजविराजको मिति २०७३।०३।१२ को फैसला ।
मिति २०६९।१२।४ गते होलीको दिन इष्टमित्र बोलाई खानपिन गरिरहेको अवस्थामा प्रतिवादीहरू वीरेन्द्र मुखिया, रामबाबु मुखिया, सकलदेव मुखिया, रामलाल मुखिया, लालु मुखिया, देवलाल मुखिया र मुखलाल मुखियासमेतले हातहातमा फर्सा, लाठी, फठ्ठासमेत लिई आई आक्रमण गरी कुटपिट गर्दा भाइ जयप्रकाश मुखिया सख्त घाइते भई उपचार गर्न लादै गर्दा मृत्यु भएको भनी सबै प्रतिवादीहरूउपर जाहेरवाला सुन्देश्वर मुखियाको किटानी जाहेरी परेकोमा निजले अदालतमा बकपत्र गर्दा वारदातमा आफूलगायत पाहुनासमेत सख्त घाइते भएको भनी लेखाइदिएको पाइन्छ । मृतकलाई कुटपिट भएको अवस्थामा बचाउन गएका प्रमिलादेवी मुखिया, रामा मुखिया र प्रमेश्वर मुखियासमेत प्रतिवादीहरूले प्रहार गरेको लाठी, फठ्ठा लागी घाइते भएको तथ्य मिसिल संलग्न घाउ जाँच केस फारमले पुष्टि गरेको छ । पीडित घाइतेहरूले अदालतमा बकपत्र गर्दासमेत सबै प्रतिवादीहरूले कुटपिट गरेको भनी लेखाइदिएको अवस्था छ । वारदातमा घाइते भएबाहेकका बुझिएका सुकदेव मुखिया, घनश्याम साह, जीवछलाल मुखिया, विनदेश्वर यादव, भविलाल सरदारसमेतले प्रतिवादीहरूले हुलहुज्जत गरी मृतकलाई कुटपिट गरेको आफूहरूले देखेको हो भनी अदालतमा बकपत्र गर्दा खुलाइदिएको
पाइन्छ । उक्त बकपत्र प्रत्यक्ष प्रमाणको रूपमा ग्रहण गरी सबै प्रतिवादीहरूलाई माग दाबीबमोजिम सजाय गर्नु पर्नेमा प्रत्यक्ष प्रमाणको समेत कुनै विवेचना नै नगरी हचुवाको भरमा प्रतिवादीहरू रामबाबु मुखिया, सकलदेव मुखिया, रामलाल मुखिया, लालु मुखिया, देवलाल मुखिया र मुखलाल मुखियालाई वारदातको मतलबमा सम्म पसेको देखिएको भनी अभियोग दाबीभन्दा कम सजाय गर्ने गरी भएको सुरूको फैसलालाई सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला प्रमाण मूल्याङ्कनको रोहमा त्रुटिपूर्ण रहेको हुँदा सो हदसम्म उल्टी गरी प्रतिवादीहरू रामबाबु मुखिया, सकलदेव मुखिया, रामलाल मुखिया, लालु मुखिया, देवलाल मुखिया र मुखलाल मुखियालाई अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
पुनरावेदन अदालत राजविराजको मिति २०७३।२।१२ को फैसलाबमोजिम साधक जाँचका लागि प्राप्त हुन आएको मिसिल साधक दायरीमा दर्ता गरी नियमानुसार इजलाससमक्ष पेस गर्नु भनी यस अदालतबाट मिति २०७३।११।४ मा भएको आदेश ।
मिति २०६९।१२।१४ गते म मलेकपुर गाउँ बस्ने डम्बर साहको पोखरीमा माछा मार्न गई अं.१४:०० बजेको समयमा आफ्नो घर आएको
हुँ । सो समय प्रहरी टोलीले आई तत्काल देखिएको झगडा शान्त गरी गएको थियो । त्यसको २ घण्टापछि घटनास्थलमा हल्ला खल्ला भएको हो । मैले कुनै हतियार बोकेको पनि होइन, घटनामा म संलग्न पनि छैन । मैले कसैमाथि हतियार लाठासमेत प्रहार गरेको पनि छैन । म पुनरावेदक निर्दोष छु । घटनामा मेरो संलग्नता नरहेको र मैले मृतक जयप्रकाश मुखिया माथिसमेत कुनै हतियार र लाठासमेत प्रहार गरेको छैन । मैले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष समेत इन्कारी बयान गरेको छु । सो बयानकोसमेत मूल्याङ्कन नै नगरी मलाई कसुरदार ठहर्याई सुरू जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद गर्ने गरी गरेको फैसलालाई पुनरावेदन अदालत राजविराजले समेत कुनै विचार नै नपुर्याई मिति २०७३।०२।१२ मा सदर गर्ने गरी गरेको फैसला बदरयोग्य भएकोले उक्त फैसला बदर गरी अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी वीरेन्द्र मुखियाको यस अदालतमा दर्ता हुन आएको पुनरावेदन पत्र ।
मृतकको शरीरको विभिन्न भागमा घा खत भएको तथ्य मिसिलबाट देखिन आएको र समूहगत कुटपिट भएको सन्दर्भमा प्रतिवादीहरू रामलाल मुखिया, सकलदेव मुखिया, रामबाबु मुखिया, लाल मुखियालाई ज्यानसम्बन्धीको महलको १७ नं. को देहाय २ र प्रतिवादी मुखलाल मुखिया एवं देवलाल मुखियालाई ऐ. महलको १७ को देहाय ३ बमोजिम सजाय गर्ने गरी भएको पुनरावेदन अदालत राजविराजको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने हुँदा अ.बं.२०२ बमोजिम प्रत्यर्थी झिकाई लगाउका मुद्दा साथै राखी नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतको मिति २०७५।५।३ को आदेश ।
प्रतिवादीमध्येका लालुप्रसाद मुखियाले अदालतमा गरेको बयानको सन्दर्भमा प्रतिवादी वीरेन्द्र मुखियालाई सर्वस्वसहित जन्मकैदको सजाय हुने गरी भएको पुनरावेदन अदालत राजविराजको मिति २०७३।२।१२ को फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने हुँदा अ.बं. २०२ नं. को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई जानकारी दिई लगाउका मुद्दा साथै राखी नियमानुसार पेस गर्नू भन्ने यस अदालतको मिति २०७५।५।३ को आदेश ।
ठहर खण्ड
नियमबमोजिम आजको दैनिक पेसी सूचिमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन पत्रसहितका मिसिल संलग्न प्रमाण कागजहरूको अध्ययन गरियो ।
वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनुभएका विद्वान् उपन्यायाधिवक्ता श्री अर्जुनप्रसाद कोइरालाले जाहेरवाला, पीडित घाइतेहरू र अन्य बुझिएका व्यक्तिहरूसमेतले अदालतमा बकपत्र गर्दासमेत सबै प्रतिवादीहरूले कुटपिट गरेको आफूहरूले देखेको हो भनी खुलाइदिएको अवस्थामा बकपत्र जस्तो प्रत्यक्ष प्रमाणलाई प्रमाणको रूपमा ग्रहण गरी सबै प्रतिवादीहरूलाई अभियोग माग दाबीबमोजिम नै सजाय गर्नु पर्नेमा सो नगरी प्रतिवादीहरू रामबाबु मुखिया, सकलदेव मुखिया, रामलाल मुखिया, लालु मुखिया, देवलाल मुखिया र मुखलाल मुखियालाई अभियोग दाबीभन्दा कम सजाय गर्ने गरी भएको सुरू सप्तरी जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला प्रमाण मूल्याङ्कनसमेतको रोहमा त्रुटिपूर्ण रहेको हुँदा सो हदसम्म उल्टी गरी निज प्रतिवादीहरू सबैलाई सुरू अभियोग माग दाबीबमोजिम नै सजाय गरिपाउँ र प्रतिवादी वीरेन्द्र मुखियाको हकमा सुरू सप्तरी जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेको हुँदा निजको हकमा सदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी प्रतिवादीहरू रामबाबु मुखिया, सकलदेव मुखिया, रामलाल मुखिया, देवलाल मुखिया र मुखलाल मुखियाको तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ता श्री दुर्गाप्रसाद खनालले प्रतिवादीहरू रामबाबु मुखिया, सकलदेव मुखिया, रामलाल मुखिया, देवलाल मुखिया र मुखलाल मुखियालाई अभियोग दाबीभन्दा कम सजाय गर्ने गरी भएको सुरू सप्तरी जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेको हुँदा निजहरूको हकमा सदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
पुनरावेदन अदालत राजविराजबाट भएको फैसलाउपर प्रतिवादी वीरेन्द्र मुखियाको हकमा साधक दर्ता भएको र सोही फैसलामा चित्त नबुझाई वादी नेपाल सरकार एवं प्रतिवादी वीरेन्द्र मुखियाको तर्फबाट समेत पुनरावेदन परेको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनुभएका विद्वान् उपन्यायाधिवक्ता र प्रत्यर्थीहरूको तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ताले प्रस्तुत गर्नुभएको बहससमेत सुनी पुनरावेदन अदालत राजविराजबाट भएको फैसला मिलेको छ छैन ? वादी नेपाल सरकार र प्रतिवादी वीरेन्द्र मुखियाको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादीहरू देवलाल मुखिया, रामबाबु मुखिया, वीरेन्द्र मुखिया, सकलदेव मुखिया, रामलाल मुखिया, मुखलाल मुखिया, देवेन्द्र भन्ने देविन मुखिया, लालु मुखिया, दिनेश मुखिया, नरेन्द्र मुखिया र कान्छा मुखियालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. को कसुरमा ऐ.को १३(३) नं. तथा प्रतिवादीहरू देवलाल मुखिया र दिनेश मुखियाले वचन दिई आफूसमेत सरिक भएकाले ऐ.ऐनको १३(४) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी भएकोमा सुरू सप्तरी जिल्ला अदालतबाट प्रतिवादीमध्येका वीरेन्द्र मुखियालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. को कसुरमा ऐ.१३(३) नं. अनुसार सर्वस्वसहित जन्मकैद, अन्य प्रतिवादीहरू रामलाल मुखिया, सकलदेव मुखिया, रामबाबु मुखिया, लालु मुखियालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(२) नं. को कसुरमा सोही नं. बमोजिम ५ (पाँच) वर्ष कैद हुने, प्रतिवादीहरू देवलाल मुखियालाई ज्यानसम्बन्धी महलको १७(३) नं. को कसुरमा सोही नं. बमोजिम २ वर्ष कैद र प्रतिवादी मुखलाल मुखियालाई सोही महलको १७(३) नं. को कसुरमा सोही नं. अनुसार १ (एक) वर्ष कैद हुने ठहर्छ भनी भएको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट र कसुर ठहर भएका प्रतिवादीहरूको तर्फबाट पुनरावेदन अदालत राजविराजमा पुनरावेदन परेकोमा पुनरावेदन अदालत राजविराजबाट प्रतिवादी वीरेन्द्र मुखियालाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद, प्रतिवादीहरू रामबाबु मुखिया, सकलदेव मुखिया, रामलाल मुखिया तथा लालु मुखियालाई ज्यानसम्बन्धीको १७(२) नं. बमोजिम जनही ५(पाँच) वर्ष कैद र देवलाल मुखियालाई ज्यान सम्बन्धीको १७(३) नं. बमोजिम २(दुई) वर्ष कैद तथा मुखलाल मुखियालाई ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम १(एक) वर्ष कैद गर्ने ठहर गरेको सुरू सप्तरी जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ भनी भएको फैसलाउपर प्रतिवादी वीरेन्द्र मुखियाको हकमा साधक दर्ता भएको र अभियोग दाबीभन्दा कम सजाय भएका प्रतिवादीहरूउपर वादी नेपाल सरकारको र सर्वस्वसहित जन्मकैद गरेउपर प्रतिवादी वीरेन्द्र मुखियाको यस अदालतमा पुनरावेदन परेको देखियो ।
३. प्रतिवादी वीरेन्द्र मुखियाको तर्फबाट पुनरावदेन पर्न आएकोले पुनरावेदनको रोहबाट नै प्रस्तुत मुद्दामा इन्साफ हुने हुँदा साधक जाँचको लागि पर्न आएको मुद्दा नं. ०७३-RC-००९७ को साधकतर्फ विचार गरिरहनु परेन । उक्त साधकको दायरीको लगत कट्टा हुने ठहर्छ ।
४. फरार रहेका प्रतिवादीहरू देवेन्द्र भन्ने देविन मुखिया, दिनेश मुखिया, नरेन्द्र मुखिया र कान्छा मुखियाको हकमा मुलुकी ऐन, अ.बं.१९० नं. बमोजिम मुलतबी रहेको देखिन आएकोले निजहरूको हकमा समेत केही गरिरहनु पर्ने देखिएन ।
५. प्रतिवादीहरू रामबाबु मुखिया, सकलदेव मुखिया, रामलाल मुखिया, लालु मुखिया, देवलाल मुखिया र मुखलाल मुखियालाई अभियोग मागदाबीभन्दा कम सजाय गर्ने गरी सप्तरी जिल्ला अदालतबाट भएको फैसला सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला त्रुटिपूर्ण रहेकोले उल्टी गरी यी सबै प्रतिवादीहरूलार्इ अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर र मैले अभियोग दाबीबमोजिमको कसुर अपराध नगरेको अवस्थामा कसुरदार ठहर्याई सर्वस्वसहित जन्मकैदको सजाय गरेको सप्तरी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला नमिलेकोले उल्टी गरी अभियोग माग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादी वीरेन्द्र मुखियाको पुनरावेदन जिकिरतर्फ हेर्दा, मिति २०६९।१२।१४ गते अं.४ बजे दिउँसो जिल्ला सप्तरी कटैया गा.वि.स.वडा नं.६ स्थित घरमा धनश्याम साह, रामनारायण यादवसमेतलाई बोलाई होली पर्वको प्रसादी खानपिन गरी रमाइलो गर्दै रहेको अवस्थामा देवलाल मुखियासमेतले घरेलु हतियार फर्सा, लाठी, फलामको रडसमेत बोकी आई घेरा हाली देवलाल मुखिया र दिनेश मुखियाले आदेश वचन दिई वीरेन्द्र मुखियाले फर्साले जयप्रकाश मुखियाको टाउकोमा प्रहार गरे लगत्तै रामलाल मुखियाले लाठीले कोखमा प्रहार गर्दा निजलाई बचाउन लाग्दा मलगायत रामा मुखिया, भाउजू प्रमिलादेवी र परमेश्वर मुखियासमेतलाई कुटपिट गरी घाइते बनाएको र भाइ जयप्रकाशलाई उपचारको लागि विराटनगरतर्फ लैजाँदै गर्दा निजको मृत्यु भएको भनी जाहेरवाला सुन्देश्वर मुखियाले जाहेरी दरखास्त दिएको देखियो ।
६. प्रतिवादीहरूमध्येका मुखलाल मुखिया, रामलाल मुखिया, सकलदेव मुखिया, वीरेन्द्र मुखिया, रामबाबु मुखिया, देवलाल मुखियाले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा, जाहेरवाला सुन्देश्वर मुखिया, मृतक जयप्रकाश मुखिया, रामालाल मुखिया, दिनेश मुखियासमेतका मानिसहरू होली खेल्दै घटनास्थलनिर आइपुग्दा के कुन कुरामा हो दुवै पक्षबिच विवाद भई कुटपिट भएको हो, सबै प्रतिवादीहरू घटनास्थलमा थिए, जय प्रकाशको मृत्यु परस्परमा झगडा हुँदा चोट लागेको कारणबाट भएको हो, हामीले जय प्रकाश मुखियालाई कुटपिट गरेका छैनौं भनी लेखाएकोमा निजहरूले अदालतमा बयान गर्दा, दुई समूहबिच झगडा भएको हो, मृतक जय प्रकाशलाई कसले कुटपिट गर्यो थाहा छैन, वारदातमा हाम्रो संलग्नता छैन भनी उल्लेख गरेको देखियो । यी प्रतिवादीहरूको उल्लिखित बयान बेहोराबाट प्रतिवादीहरू र पीडितहरूको बिचमा परस्परमा झैझगडा, कुटपिट भएको र वारदातको समयमा आफूहरूसमेत घटनास्थलमा रहे भएको भन्ने तथ्यलाई स्वीकार गरेकै देखिन आयो ।
७. अनुसन्धानको क्रममा फरार रहेका प्रतिवादी लालु मुखियाले अदालतमा उपस्थित भई बयान गर्दा, मैले बाँसको भाटाले मृतकको टाउकोमा प्रहार गरेको कारणबाट जय प्रकाशको मृत्यु भएको हो भनी कसुरलाई स्वीकार गरेको देखियो ।
८. मिसिल संलग्न रहेको लास जाँच मुचुल्का हेर्दा, मृतकको टाउकोको बिच भागमा २१/२ इन्च लम्बाइको काटेको चोट घाउमा ८ वटा टाँका लगाएको, बायाँ कोखामा १ इन्च लम्बाइको छाला पिल्सी खोस्रिएको, बायाँ आँखामा निलो डाम रहेको भन्ने उल्लेख भएको देखिन्छ । मृतकको मृत्युको कारण Severe brain injury with cervical injury leading to cardio respiratory arrest and death भन्ने शव परीक्षण प्रतिवेदनबाट देखिन आएको छ ।
९. जाहेरवाला सुन्देश्वर मुखियाको जाहेरी बेहोरालाई समर्थन गर्दै घटनाका प्रत्यक्षदर्शी एवं प्रतिवादीहरूको कुटाइबाट घाइते भएका प्रमेश्वर मुखिया, रामा मुखिया र प्रमिला देवी मुखियाले मृतक जय प्रकाश मुखियालाई वीरेन्द्र मुखियाले फर्साले टाउकोमा प्रहार गरेको र हामी बचाउन जाँदा हामीलाई समेत कुटपिट गरेका हुन् भनी अनुसन्धानको क्रममा कागज गरिदिएकोमा जाहेरवाला सुन्देश्वर मुखिया र अनुसन्धानको क्रममा कागज गर्ने विन्देश्वर यादव, जिवछलाल मुखिया, सुकदेव मुखिया, पुल्कित सरदार, भविलाल सरदार, अमर मुखिया, घनश्याम साह र पीडितहरू प्रमिला देवी मुखिया एवं प्रमेश्वर मुखियाले अदालतमा बकपत्र गर्दासमेत प्रतिवादी वीरेन्द्र मुखियाले फर्साले मृतक जयप्रकाशको टाउकोमा हानेको, प्रतिवादी देवलाल मुखिया तथा दिनेश मुखियाले वचन दिएका हुन र यी सबै प्रतिवादीहरूले मिलेर जयप्रकाशलाई मारेका हुन् भनी उल्लेख गरेको देखियो ।
१०. मृतकको लास प्रकृति मुचुल्का, शवपरीक्षण प्रतिवेदन र घटनास्थल प्रकृति मुचुल्काको बेहोराले जाहेरवालालगायतका वादी पक्षका साक्षीहरूको बकपत्र बेहोरालाई समर्थन गरेको
देखिन्छ । लास प्रकृति मुचुल्का र शव परीक्षण प्रतिवेदनबाट मृतक जय प्रकाश मुखियाको टाउकोमा लागेको चोटको कारणबाट निजको मृत्यु भएको हो भन्ने पुष्टि हुन आएको पाइन्छ । यस तथ्यलाई प्रतिवादीहरूसमेतले अन्यथा भएको हो भनी भन्न सकेको देखिन आउँदैन ।
११. प्रस्तुत वारदातमा धेरैजना व्यक्ति संलग्न रहेको भन्ने देखिन आएको छ । कुनै वारदातमा एकजनाभन्दा बढी व्यक्ति सामूहिक रूपमा संलग्न रहेको अवस्थामा हरेक व्यक्तिको आपराधिक कार्यको विश्लेषण गरी हरेकको आपराधिक दायित्व निर्क्यौल गर्नुपर्ने हुन्छ । सबै व्यक्ति समान रूपले कसुरदार हुन् भन्ने अवधारणा न्यायिक हुन सक्दैन । यस्तो धेरै जना व्यक्ति संलग्न भएकोमा संलग्न व्यक्तिको भूमिकाको आधारमा सम्बन्धित व्यक्तिलाई आपराधिक दायित्व बहन गराउनु पर्ने मान्यता फौजदारी विधिशास्त्रमा रहेको छ । कर्तव्य ज्यानसम्बन्धी अपराधका सम्बन्धमा नेपालको फौजदारी कानूनमा भएको व्यवस्था पनि कसुरको मात्राअनुसार सजाय गर्नुपर्ने सिद्धान्तमा आधारित रहेको छ । साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलमा भएको व्यवस्था समग्रमा हेर्दा धेरैजना संलग्न भएको वारदातमा मुख्य व्यक्ति, आदेश दिने, मत सल्लाहमा रहेको, संयोग पारिदिने, समूहमा सामेल भई प्रहार गर्ने आदि फरकफरक कार्यमा संलग्न हुनसक्ने र सोही मात्राअनुरूप संलग्न व्यक्तिले दण्डको दायित्व बेहोर्नु पर्ने व्यवस्था रहेको छ । यसबाट एकजनाभन्दा बढी पनि मुख्य अभियुक्त हुन सक्ने अवस्था पनि रहन्छ भने मुख्य अभियुक्तको तुलनामा अन्य अभियुक्तको आपराधिक कार्यको गाम्भीर्य कम हुन सक्ने
देखिन्छ । कुनै कर्तव्य ज्यानको अपराधमा एकजनाभन्दा बढी व्यक्तिको संलग्नता रहेको त्यस्तो आपराधिक कार्यमा कुन व्यक्तिले के कस्तो भूमिका खेलेको छ, निजले खेलेको भूमिकाको गाम्भीर्यसमेतलाई विचार गर्नुपर्ने देखिन आउँछ ।
१२. साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलमा भएको कानूनी व्यवस्था हेर्दा, ज्यानसम्बन्धी महलको १३(१) नं. मा "धार भएको वा नभएको जोखमी हतियार गैह्रले हानी रोपी घोची ज्यान मारेमा जतिजना भई हतियार छाडेको छ उति जना ज्यानमारा ठहर्छन् । सर्वस्वसहित जन्मकैद गर्नुपर्छ" भन्ने, सोही महलको १३(३) नं. मा "लाठा ढुङ्गा र साधारण सानातिना हातहतियारले कुटी हानी रोपी घोची वा अरू ज्यान मर्ने गैह्र कुरा गरी ज्यान मरेमा एकैजनाले मात्र सो काम गरी ज्यान मारेमा सोही एकजना र धेरै जनाको हुल भई मारेमा यसैले मारेको वा यसको चोटले मरेको भन्ने प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा
ठहर्छ । त्यस्तालाई सर्वस्वसहित जन्म कैद
गर्नुपर्छ । सोबाहेक अरूलाई र यसैले मारेको वा यसैका चोटले मरेको भन्ने कुरा सो हातहतियार छाड्ने कसैउपर कुनै प्रमाणबाट देखिने ठहर्न नआएमा सबैलाई जन्म कैद गर्नुपर्छ" भन्ने, सोही महलको १३(४) नं. मा "जुनसुकै कुरा गरिकन पनि ज्यान मार्नामा वचन दिनेलाई वा वारदात भइरहेको ठाउँमा गई मार्नालाई संयोग पारिदिना निमित्त मर्ने मानिसको जिउमा हात हाली पक्री समाती दिनेलाई जन्मकैद गर्नुपर्छ" भन्ने, त्यसै गरी सोही महलको १६ नं. मा "ज्यान मार्ने काममा वा ज्यान मर्न सक्ने कुनै कुरामा मुख्य भई षड्यन्त्र गर्ने वा त्यस्तो काम गर्न लगाउनेलाई ज्यान मरेको रहेछ भने दश वर्षदेखि पन्ध्र वर्षसम्म कैदको सजाय गर्नुपर्छ । ज्यान मर्न पाएको रहेनछ भने पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद गर्नुपर्छ" भन्ने र सोही महलको १७ को देहाय (१)(२)(३) नं. मा ज्यान मार्नालाई मतलबमा भने पसेको तर मुख्य भई वचन पनि नदिने, हातहतियार पनि नछोड्ने, जिउमा पनि नछुने, ज्यान अपराधका मतियारलाई ज्यान मार्नमा निजहरूले खेलेको भूमिकाको आधारमा कसुरको दायित्व बहन गर्नुपर्ने गरी पृथक–पृथक दायित्व निर्धारण गरेको पाइन्छ । प्रस्तुत मुद्दामा यिनै विवेचित कानूनी व्यवस्थाको सेरोफेरोमा रहेर कुन प्रतिवादी कुन कानूनी व्यवस्थाबमोजिम दण्डको भागीदार हुने हो र निजहरूको हकमा कस्तो प्रकृतिको दण्ड आकर्षित हुने हो भन्ने विषयमा निरूपण गर्नुपर्ने देखिन आएको छ ।
१३. उल्लिखित सैद्धान्तिक विवेचनाको रोहमा प्रस्तुत वारदातमा क–कसको के कस्तो संलग्नता रहेको छ, कसुरको गाम्भीर्यअनुसार प्रतिवादीहरूलाई गरेको सजाय मिलेको छ छैन भन्नेतर्फ प्रत्येक प्रतिवादीको हकमा विवेचना गरी निष्कर्षमा पुग्न उचित हुने देखिएको हुँदा सर्वप्रथम वादी नेपाल सरकारको पुनरावेदन जिकिर सम्बन्धमा हेर्दा, प्रत्यर्थी प्रतिवादी देवलाल मुखियाले मृतकलाई मार्न वचन दिएको भन्ने अभियोग लगाएको देखिए तापनि निजले के कस्तो वचन आदेश कसलाई दिए भन्ने सम्बन्धमा वस्तुगत ढंगले पुष्टि हुन सकेको देखिन आउँदैन । प्रस्तुत घटना होलीको दिन खानपिन गरेको अवस्थामा समूहगत रूपमा झगडा भई घट्न गएको देखिएको छ । यी प्रतिवादीले मृतकलाई मार्न पूर्वरिसइवी लिई योजनाबद्ध रूपमा वारदातको योजना तय गरी मृतकलाई मराउन निश्चित मानिस खडा गरी ज्यानसम्बन्धी महलको १३(४) नं. मा उल्लेख भएअनुसारको क्रिया गरेको भन्ने घटनाको जरिया एवं परिस्थितिबाट पुष्टि हुन नआएकोले निजले वचन दिएको भन्ने अभियोग दाबी प्रमाणित हुन सकेको देखिँदैन । प्रत्यर्थी प्रतिवादीहरू मुखलाल मुखिया, रामलाल मुखिया, सकलदेव मुखिया, रामबाबु मुखिया, लालु मुखियाको वारदातमा संलग्नता रहेको भन्ने तथ्य जाहेरी बेहोरा र अनुसन्धानको क्रममा कागज गरी सो बेहोरा अदालतमा समेत बकपत्र गर्ने घटनाको चस्मदिद साक्षी प्रमिला देवीसमेतको कथनबाट देखिन आएको छ । तथापि लास प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदनबाट मृतकको शरीरमा, टाउकोमा काटेको चोट, बायाँ कोखामा छाला खोस्रिएको, बायाँ आँखामा निलडामसम्म रहेको देखिन्छ । मृतकको शरीरमा अन्यत्र साङ्घातिक घाउ चोट नदेखिनुले यी प्रत्यर्थी प्रतिवादीहरूसमेत भई फर्सा, लाठी, फलामे रडसमेतले मृतकउपर कुटपिट गरेको वा चोट छाडेको भन्ने पुष्टि हुन सकेको देखिँदैन । यी प्रत्यर्थी प्रतिवादीहरूउपरको मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. को दाबी पुष्टि हुन यी प्रतिवादीहरूसमेतले मृतकलाई जिउ शरीरमा हात हाली कुटपिट गरेको तथ्य प्रत्यक्ष प्रमाणबाट पुष्टि हुनुपर्दछ । यी प्रतिवादीहरूसमेतले मृतकलाई मारेका हुन् भन्ने गोश्वारा भनाइले मात्र यी प्रतिवादीहरू उपरको आरोपित कसुर पुष्टि हुन सक्ने देखिँदैन । यी प्रत्यर्थी प्रतिवादीहरू रामलाल मुखिया, सकलदेव मुखिया, रामबाबु मुखिया, मुखलाल मुखिया, लालु मुखियाउपरको मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिमको दाबी पुष्टि हुन नसकेकोले यी सबै प्रत्यर्थी प्रतिवादीहरूको हकमा सुरू सप्तरी जिल्ला अदालतबाट भएको फैसलालाई सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला मनासिब नै देखिन आएकोले यी सबै प्रत्यर्थी प्रतिवादीहरूलाई अभियोग माग दाबीबमोजिम नै सजाय हुनुपर्छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर र बहस जिकिसमेत सँग सहमत हुन सकिएन ।
१४. प्रतिवादी वीरेन्द्र मुखियाको पुनरावेदन जिकिर सम्बन्धमा हेर्दा, मिसिल संलग्न जाहेरवालालगायत, घटना वारदातको सम्बन्धमा कागज गरिदिने व्यक्तिहरूको मौकाको भनाइ र अदालतमा गरेको बकपत्रबाट पुनरावेदक प्रतिवादी वीरेन्द्र मुखियाले फर्साले जय प्रकाश मुखियाको टाउकोमा प्रहार गरेको र अन्य प्रतिवादीहरू पनि लाठा, रडसमेत लिई घटनामा उपस्थित भई वारदात घटाउन संलग्न भएको भन्ने पुष्टि हुन आएको भन्ने देखिन्छ । प्रतिवादी लालु मुखियाले अदालतमा उपस्थित भई मैले बाँसको भाटाले मृतकको टाउकोमा प्रहार गरेको कारणबाट जय प्रकाशको मृत्यु भएको हो भन्ने बयान गरेको देखिए तापनि निजको भनाइ मिसिल संलग्न अन्य तथ्य प्रमाणहरूबाट पुष्टि हुन सकेको
देखिँदैन । अनुसन्धानमा फरार रही अदालतमा बयान गर्दा निजले आफ्ना बाबु, दाजुभाइलाई बचाउने उद्देश्यबाट सोचविचर गरी व्यक्त गरेको भनाइलाई विश्वसनीय मान्न सकिँदैन । चस्मदिद साक्षीहरूले प्रतिवादी वीरेन्द्र मुखियाले फर्साले जय प्रकाश मुखियाको टाउकोमा प्रहार गरेको भनी किटान गरेको अवस्था छ । निजहरूले प्रतिवादी लालु मुखियाले कसुर गरेकोमा लालु मुखियालाई बँचाई प्रतिवादी वीरेन्द्र मुखियालार्इ आरोपित गर्नु पर्नेसम्मको कारण खुल्न आएको नहुँदा यी पुनरावेक प्रतिवादी वीरेन्द्र मुखियाले फर्साले मृतकको टाउकोमा प्रहार गर्दा निजको सोही घाउ चोट पीरले मृत्यु भएको देखिन आएको हुँदा यी पुनरावेदक प्रतिवादी वीरेन्द्रकुमार मुखियालार्इ तत्कालीन मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. को कसुरमा ऐ.१३(३) नं. अनुसार सर्वस्वसहित जन्मकैद सजाय हुने ठहर गरेको सुरू सप्तरी जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेकै देखिन आएकोले निजको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
१५. अब माथि उल्लेख भएबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम प्रतिवादी वीरेन्द्र मुखियालाई जन्मकैद हुने ठहर गरेको पुनरावेदन अदालत राजविराजको इन्साफ सदर हुने ठहरी फैसला भए तापनि यी पुनरावेदक प्रतिवादी वीरेन्द्र मुखियाको मृतक जयप्रकाश मुखियालाई मार्नुपर्नेसम्मको पहिलेदेखिकै रिसइवी रहे भएको भन्ने देखिन आउँदैन । प्रस्तुत वारदात होलीको दिन खानपिन गरी रमाईलो गर्ने क्रममा परस्परमा झैझगडा भई दोहोरो कुटपिट हुँदा जयप्रकाश घाइते भई उपचार गर्नको लागि विराटनगरतर्फ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको भन्ने देखिएको अवस्थामा वारदात घट्न गएको परिवेश, परिस्थिति, कारण र यी पुनरावेदक प्रतिवादीको उमेरसमेतलाई विचार गर्दा निज हकमा साबिक मुलुकी ऐन, अ.बं. १८८ नं. अनुसार १२ (बाह्र) वर्ष मात्र कैद सजाय हुने गरी सुरू सप्तरी जिल्ला अदालतबाट लगाएको रायलाई सदर गरी सोही अनुसार पुनरावेदन अदालत राजविराजबाट लगाएको रायसमेत मनासिब नै देखिन आयो ।
१६. तसर्थ, विवेचित आधार प्रमाणसमेतबाट प्रतिवादी वीरेन्द्र मुखियालाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद, प्रतिवादीहरू रामबाबु मुखिया, सकलदेव मुखिया, रामलाल मुखिया तथा लालु मुखियालाई ज्यानसम्बन्धी महलको १७(२) नं. बमोजिम जनही ५(पाँच) वर्ष कैद र प्रतिवादी देवलाल मुखियालाई ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम २(दुई) वर्ष कैद तथा प्रतिवादी मुखलाल मुखियालाई ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम १(एक) वर्ष कैद गर्ने ठहर गरेको सुरू सप्तरी जिल्ला अदालतको मिति २०७१।७।१९ को फैसला एवं पुनरावेदक प्रतिवादी वीरेन्द्र मुखियाको हकमा १२ (बाह्र) वर्ष मात्र कैद सजाय हुन सुरू सप्तरी जिल्ला अदालतबाट प्रस्तुत अ.बं.१८८ नं. बमोजिमको रायसमेत सदर गरेको पुनरावेदन अदालत राजविराजको मिति २०७३।०२।१२ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकार र प्रतिवादी वीरेन्द्र मुखियाको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.डम्बरबहादुर शाही
इजलास अधिकृत : नारदप्रसाद भट्टराई
इति संवत् २०७६ साल भाद्र १६ गते रोज २ शुभम् ।