शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०३५५ - राजस्व चुहावट

भाग: ६१ साल: २०७६ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा

फैसला मिति : २०७६।३।६

०६८-CR-०६१६

 

मुद्दा : राजस्व चुहावट

 

पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १४ कुलेश्‍वर बस्‍ने रमेश खरेल भन्‍ने बालकृष्ण खरेल

विरूद्ध

विपक्षी / वादी : अर्थ मन्त्रालय राजस्व अनुसन्धान विभागको पत्रले नेपाल सरकार

 

विदेशबाट ल्याएको सामानको राजस्व कम तिर्ने नियत लिएको, कम राजस्व बुझाएको र बुझाउनु पर्ने सबै राजस्व नबुझाई सामान पैठारी गरेको कार्य राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४(क) (ख) र (ग) विपरीतको कसुर हुने । 

(प्रकरण नं.४)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री प्रेमबहादुर खडका तथा अधिवक्ता श्री कृष्ण मुरारी रौनियार

विपक्षी / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली

अवलम्बित नजिर : 

सम्बद्ध कानून :

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२

सुरू फैसला गर्नेः-

माननीय न्यायाधीश श्री हेमराज पन्त

काठमाडौं जिल्ला अदालत

पुनरावेदन फैसला गर्नेः-

माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ

माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा

पुनरावेदन अदालत पाटन, ललितपुर

 

फैसला

न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दायर भई न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः

मिति २०५७।३।५ गते रघुनाथ ओभरसिजको नामबाट भन्सार छुटाई ल्याएका सामानहरू प्रहरीले जाँच गरी बरामदी मुचुल्कासहित यस विभागमा प्राप्त हुँदा सो सम्बन्धमा तयार भएका तीनवटा प्रज्ञापनपत्र र सामानहरूको अवस्था निम्नबमोजिम देखिन्छ :सि नं. सामानको विवरण सामानको प्र.द.नं. १६८९३

(पहिलो प्र.द.नं. १६९१३

(दोस्रो)

प्र.द.नं. १६९१६

(तेस्रो) प्र.प. अनुसारको 

जग्गा परिमाण प्रहरीको मुचुल्काबाट यस देखिएको विभागमा बुझाएको सामान फरक देखिएको सामान

१ पाइन्ट १६ दर्जन ६ दर्जन ९६ दर्जन ११८ दर्जन ५६ दर्जन ६२ घटी पाइएको

२ हाफ पाइन्ट २० दर्जन - १५ दर्जन ३५ दर्जन १२१ दर्जन ८६ दर्जन बढी

पाइएको

३ भेष्ट हाफ ६७ दर्जन - १३४ दर्जन २०१ दर्जन २३३ दर्जन ३२ दर्जन बढी

पाइएको

४ सेण्डो भेष्ट ६१ दर्जन - - ६१ दर्जन - सामान

नभएको

५ सेण्डो ९५ दर्जन - - ९५ दर्जन ८५ दर्जन १० दर्जन घटी

६ सर्ट ४८ दर्जन - ३९३ दर्जन ४४१ दर्जन २२५ दर्जन २१६ दर्जन

घटी

७ ह्याङ्की १५२ दर्जन - - १५२ दर्जन - सामान नभएको

८ पेण्टी ९८ दर्जन - - ९८ दर्जन ८८ दर्जन १० दर्जन घटी

९ बेबी सेट १५ दर्जन - १४ दर्जन २९ दर्जन ५७ दर्जन २८ दर्जन बढी

१० सन क्याप १२४ दर्जन - - १२४ दर्जन ८७ दर्जन ३७ दर्जन घटी

११ कटन लेस ६३ दर्जन - - ६३ दर्जन १२१ दर्जन ५८ दर्जन बढी

१२ लुगी कटन ७५ दर्जन - - ७५ दर्जन १२ दर्जन ६३ दर्जन घटी

१३ सु २ दर्जन - - २ दर्जन २५ जोर १ जोर बढी

१४ पकेटमनी पर्स २५ दर्जन - - २५ दर्जन सामान नभएको सामान नभएको

 

प्रज्ञापनपत्रमा उल्लेख नभएका तर प्रहरीबाट पेस भएका सामानको भौतिक रूपमा देखिएको सामानहरूको विवरण :-

wind Cheater (ज्याकेट)-७ दर्जन, २) लेडिज ब्याग-५५ पिस, ३) स्कुल व्याग-२३ पिस, ४) ट्राउजर-१२ थान, ५) बेबी टिसर्ट-१४ दर्जन (१६८ थान), ६) बेबी भेष्ट-३५ दर्जन (४२० थान, ७) बेवी कटन भेष्ट-५४ दर्जन (६४८ पिस), ८) हाफ सट १७० दर्जन (सर्ट ४४१ दर्जन घोषणा गरिएको), ९) टि सर्ट १६४ दर्जन, १०) गोलगन्जी ४० थान, ११) स्कार्फ  ठूलो -१०८० थान (९० दर्जन) । 

प्रज्ञापनपत्रमा घटी घोषणा भई भौतिक परीक्षणमा बढी देखिएका सामानहरू:- १२) जुत्ता १ जोर, १३) हाफ पेन्ट ८६ दर्जन, १४) भेष्ट ३२ दर्जन, १५) बेबी सेट २८ दर्जन, १६) कटन लेस ५८ दर्जन ।

तत्काल मालसहित पक्राउ पर्ने मालधनी बालकृष्ण खरेलका बाबु रविलाल खरेलले प्रहरीसमक्ष मिति २०५७।३।५ र ६ मा कागज गर्दा प्रज्ञापनपत्र नं. १६८९२ र १६९१३ बाहेक अन्य कागजातहरू छैनन् प्रज्ञापन पत्र नं.१६९२१६ आज यहाँ कसरी आई पुग्यो कसले ल्यायो मलाई थाहा छैन भनी कागज गरेको देखिए तापनि यस विभागसमक्ष बयानका सिलसिलामा उक्त कागजको सन्दर्भमा निजलाई सोधनी गर्दा प्रहरीले यो कागजमा सही गर्नु होस् छिटो चाँडो काम टुगिन्छ भनेकोले मैले उक्त कागजहरूमा सही गरेको हुँ कागजका बेहोरा मलाई केही थाहा छैन भनी रविलालले राजस्व अनुसन्धान विभागमा गरेको बयान कागज ।

रधुनाथ ओभरसिजको सम्पूर्ण कारोबार मैले नै गर्छु मिति २०५७।३।५ मा १७ अदल सामान छुटाउने क्रममा १७ अदल सामान एयरर्पोटमा लोड गर्दा गर्दै भन्सार गेटमा नै सामान प्रहरीले पक्राउ गरी वडा प्रहरी कार्यालय गौशालामा लगेको हो हामीले भन्सार दस्तुर जरिवानासमेत ३ वटै प्रज्ञापन पत्रबाट रकम बुझाएको हो प्र.प.द.नं.१६८९३ बा १७ अदल सामान छुटाउन घोषणा गरेभन्दा बढी सामान पाएकोले थप छुट जरिवाना दाखिला गर्न भन्सार कार्यालयबाट थप २ वटा प्रज्ञापनपत्र भरेर महसुल बुझाउन भनी भन्सार कार्यालयबाट भनेकोले प्र.प.द.नं.१६९१३ र १६९१६ बाट पनि महसुल बुझाएको हुँ कसरी थप प्र.प.द.न. १६९१६ मिति २०५७।३।५ को प्रज्ञापनपत्र पेस गर्न भुलेछु भनी प्रतिवादी बालकृष्ण खरेलले राजस्व अनुसन्धान विभागमा गरेको बयान कागज ।

रघुनाथ ओभरसिजको नामबाट ल्याएका १७ अदल सामानहरू जाँच पास गर्दा तयार भएका तीनवटा प्रज्ञापनपत्र १६८९३,१६९१३ तथा १६९१६ जाँच पास गर्ने कर्मचारीलाई झिकाई यस विभागमा बयान गराउँदा उक्त प्रज्ञापनपत्रमा १४ जना जाँचकीको नाम उल्लेख भएको भन्ने देखिएकोमा बयान गर्ने जाँचकीमध्ये खरिदार रामप्रसाद भट्टराई, उद्धव थपलिया ना.सु. उद्धव राउत, केदारबहादुर थापा, अशोक शर्मा, मुकुन्दप्रसाद पाण्डे र दिव्य आचार्य गरी ७(सात) जनाले मात्र उक्त प्रज्ञापनपत्रबमोजिम सामान आफूहरूले जाँच पास गरेको बयान देखिन्छ भने अन्य जाँचकीहरूले प्रज्ञापनपत्रमा आफूहरूले नाम उल्लेख भए तापनि उक्त कुराको जानकारी आफूहरूलाई थाहा नभएकोले आफूहरूले जाँच पास नगरेको भनी बयान गरेको देखिन्छ । तीनवटै प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा बढी सामान बरामद भएको सम्बन्धमा प्रहरीले आफूखुसी बरामदी मुचुल्का बनाएकोले थप के भयो प्रहरीले के कसरी फरक पारेको हो निजहरूलाई नै थाहा होला बरामद गर्ने प्रहरीले नै थपघट गरेका हुन सक्छ भन्नेसमेत बेहोराको उल्लेख गरी उक्त प्रज्ञापनपत्रहरू जाँच पास गर्ने कर्मचारीहरूले गरेको बयान कागज । 

प्रतिवादी भन्सार अधिकृत कृष्णप्रसाद अधिकारीले आफूले कार्य व्यस्तताको कारणले हरेक सामानहरू जाँच पास गर्न नभ्याउने हुँदा जाँचकी कर्मचारीहरूले भौतिक परीक्षण गरी, फरक देखिएको भनी पेस गरेको आधारमा छुट्टै राजस्व तथा जरिवाना असुल गर्नका लागि आदेश दिई सोहीबमोजिम प्र.१६९१३ तथा १६९१६ बाट असुल गरे गराएको छ भनी बयान गर्नुभएको देखिन्छ भने भन्सार अधिकृत कृष्णमान अमात्यले बयान गर्दा प्रमुख भन्सार अधिकृतले निर्देशनअनुसार काम गर्न गरेको व्यापारीले घोषणा गरेको सबै सामानहरू कामको व्यस्तताले गर्दा भन्सार अधिकृतले हेर्न नसकिने हुँदा सामान निरीक्षण गरी जाँचकीहरूले सामान बढी छ भनी रिर्पोट गरेअनुसार छुट असुलउपर गर्न निवेदन दिएको हो । प्र.प. द.नं.१६९१३ र १६९१६ का सम्बन्धमा १६८९३ को भौतिक परीक्षण गरी सोबाट छुट्टाछुट्टै सामानको छुटाछुटै फाराम भरी पुनः राजस्व असुल गर्नु भन्ने व्यवस्था छ, सोहीअनुसार गरेको हुँ, बरामदी मुचुल्का भन्सार क्षेत्रमा नभई सिनामंगलमा तयार गरिएकोले केही भन्न सक्दिन भनी गरेको बयान 

कागज । 

बरामदी सामान पञ्चकिर्ते मूल्यमा प्रतिवादी रमेश भन्ने बालकृष्ण खरेलले रू.१७,३४,२४२।- मा सकारी लिएको ।

प्रस्तुत वारदात संलग्न बहालवाला कर्मचारीहरूलाई कारबाही र सजायको कार्य सम्पन्न गरी निर्णयका लागि जिल्ला सरकारी वकिल कार्यालयमा फाइल गएकोमा निज प्रतिवादीले कानूनबमोजिमको राजस्व तिरी सामान छुटाई लैजानु पर्नेमा सो नगरी रू.६,९४,०५९।- पर्ने सामानको मूल्य रू.२,७५,५४१।- राजस्व नतिरी राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४ (क) (ख) र (ग) को कसुर अपराध गरेको हुँदा निज प्र.रमेश भन्ने बालकृष्ण खरेललाई माथि उल्लिखित बिगो कायम गरी ऐ. ऐनका दफा २३(१) बमोजिम सजायका माग दाबीलाई मुद्दा चलाउने भन्नेसमेत बेहोराको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्णयसहितको पत्र ।

सोह्र (१६) प्रकृतिका बढी देखिएका सामानहरूको मूल्य रू.६,९४,०५९।- को हुने राजस्व  रू.२,७५,५४१।४१ राजस्व चुहावट गरी लैजान लागेको देखिँदा र सम्बन्धित व्यापारीको रोहवरमा चेक जाँच गर्दा उक्त सामान मेरै हो भनी प्रतिवादी बालकृष्ण खरेलले सकारेको हुँदा निज माल धनी रमेश भन्ने बालकृष्ण खरेलले नै राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ४(क) (ख) र (ग) को कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा सोही ऐनको दफा ३३ बमोजिम बरामद भन्सार नतिरेको अवस्थामा पठाइएको १६ प्रकृतिका सामानहरू जफत गरी सोही ऐनको दफा २३(१) बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग पत्र । 

मउपरको अभियोग झुट्ठा हो फुर्सद दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रमेश खरेल भन्ने बालकृष्ण खरेलले अदालतमा गरेको बयान ।

प्रतिवादीबाट रू.७,२१,०५९।– को धरौट लिने र सो रकम अनुसन्धानको क्रममा प्रतिवादीबाट दाखेल भएको रू.१४,००,०००।- रकममध्येबाट धरौट आम्दानी बाँधी तारेखमा राखी मुद्दाको कारबाही गर्ने गरी अ.बं.१२४ (ग) नं. बमोजिम पर्चासहितको आदेश गरिदिए भन्ने काठमाडौं जिल्ला अदालतको मिति २०६३।११।२३ मा भएको थुनछेक आदेश ।

प्रतिवादी बालकृष्ण खरेलको साक्षी केशव शर्मा पराजुली निवेदन दिने खरिदार बलबहादुर के.सी. निवेदन दिने स.ले.पा नवराज सुवेदीले अदालतमा उपस्थित भई गरेको बकपत्र कागज मिसिल संलग्न रहेको । 

प्रतिवादी रमेश भन्ने बालकृष्ण खरेलले प्रज्ञापनपत्रमा उल्लिखित सामानभन्दा बढी सामान भन्सार नतिरी लैजान लाग्दा पक्राउ परेकाले र सामान आफ्नो हुने भनी सकार गरेकोसमेतबाट निज प्रतिवादीलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४(क) (ख) (ग) को कसुरमा सोही ऐनको दफा २३(१) बमोजिम सजाय गरिपाउँ भनी अभियोग दाबी लिएकोमा प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष आफूबाट सामान बरामद भएको तथ्य स्वीकार गरे पनि अदालतमा बयान गर्दा आफूले ल्याए जति सामानको भन्सार महसुल तिरेको र उल्लेख गरेभन्दा बढी सामान नल्याएको भनी आरोपित कसुरमा इन्कार रहेको देखिन्छ । यी प्रतिवादीले आफूले ल्याएका सामानको भन्सार ऐनबमोजिम भर्नु पर्ने प्रज्ञापनपत्र भरी भन्सार कर्मचारीबाट जाँच हुने क्रममा नै प्रतिवादीका सामानहरू प्रहरीले खोसी लगेको भन्ने विष्णुबहादुरलगायतका भन्सार कर्मचारीहरूको प्रतिवेदन रहेको र मिसिलमा कार्वनसहितका रसिद संलग्न रहेकोबाट समेत सो कुराको पुष्टि हुन आएको देखियो । यी प्रतिवादीले राजस्व नतिरी सामान लगेको भन्ने तथ्य पुष्टि हुन नसकी राजस्व तिर्ने क्रममै पक्राउ परेको देखिन आएको र निजले तीनवटै प्रज्ञापनबाट तिरेको राजस्व र निजबाट बरामद गरिएको सामानसमेतलाई राजस्व अंक यकिन गरेकोसमेत नदेखिएकोले प्रतिवादीले राजस्व छली सामान लगेकाले सजाय गरिपाउँ भन्ने अभियोग दाबी पुग्न नसकी प्रतिवादीले सफाइ पाउने ठहर्छ भन्ने सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६५।१२।२० को फैसला ।

यी प्रतिवादीबाट तीनवटा प्रज्ञापनपत्रमा उल्लिखित समानहरूको राजस्व असुल भएको देखिए तापनि तीनवटा प्रज्ञापनपत्रबाट घोषणा गरेकोभन्दा १६ प्रकृतिका सामानहरू बढी बरामद भएको तथ्यलाई यी प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा स्वीकार गरेका छन् । उक्त बरामद सामानहरूसमेतलाई यी प्रतिवादीले स्वीकार गरेको देखिन्छ । प्रतिवादीले अनुसन्धानको क्रममा बयान गर्दा मैले प्रज्ञापनपत्रमा घोषणा गरी भन्सार जाँच गराई छुट्याइएका सामान प्रज्ञापनपत्रमा घोषणा भएभन्दा बढी पाइएको ठीक हो भनी आरोपित कसुर स्वीकार गरी बयान गर्नुका साथै बरामदी सामान पञ्चकृति मूल्यमा तिनै प्रतिवादीले रू.१७,३४,२४२।- मा सकार गरी लगेको अवस्थामा प्रतिवादीले १६ प्रकृतिका बढी देखिएका सामानहरूको मूल्य रू.६,९४,०५९।- को हुने राजस्व रू.२,७५,५४१।४१ राजस्व चुहावट गरेको स्पष्ट देखिँदा पनि निज प्रतिवादीलाई आरोपित कसुरमा सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी अभियोग माग दाबीबमोजिम प्रतिवादी रमेश भन्ने बालकृष्ण खरेललाई सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको पुनरावेदन अदालतमा दायर गरेको मिति २०६६।६।२३ को पुनरावेदन पत्र ।

यसमा प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा बढी सामान बरामद भएको अवस्थामा पनि प्रतिवादीलाई सफाइ दिने गरी भएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलको लागि प्रत्यर्थी झिकाई आए वा अवधि व्यतित भएपछि नियमानुसार गरी पेस गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६७।३।१५ को आदेश ।

यी प्रतिवादीले भरेको प्रज्ञापन पत्रमा उल्लेख भएकाभन्दा बढी १६ प्रकारका विभिन्न सामान आयात गरेको भन्ने बरामद भएका सामानहरूबाट पुष्टि भएको र ती बरामद भएका सामानहरू प्रतिवादीको भएको भन्ने देखिएको हुँदा प्रतिवादी बालकृष्ण खरेलले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को परिभाषाअन्तर्गतको कसुर गरेको स्थापित हुन 

आउँछ ।

अत: मिसिल प्रमाणबाट प्रतिवादी रमेश भन्ने बालकृष्ण खरेलले अभियोगपत्र माग दाबीबमोजिम राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ४ को देहाय (क) (ख) र (ग) विपरीत कार्य गरी सो राजस्व छल्ने प्रयत्‍न गरेको तथ्य प्रमाणित भएको देखिँदा निजलाई सोही ऐनको दफा २३ बमोजिम सो राजस्व चुहावट गर्ने प्रयत्‍न गरेको बिगो रकम रू.२,७५,५४१।४१ को दोब्बर रू.५,५१,०८२।८२ (पाँच लाख एकाउन्न हजार बयासी रूपैयाँ बयासी पैसा) जरिवाना र तजबिजी ३ तीन महिना कैद सजाय हुने ठहर्छ । साथै राजस्व छल्न खोजिएको १६ प्रकृतिका बरामदी सामान उल्लिखित ऐनको दफा ३३ बमोजिम जफत हुन्छ । माथि लेखिएबमोजिम नगरी प्रतिवादी बालकृष्ण खरेललाई सफाइ दिने गरी भएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६५।१२।२० को फैसला उल्टी हुन्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनको  मिति २०६७।९।१ को फैसला ।

म पुनरावेदकले वर्षौंदेखि रघुनाथ ओभरसिज नामक फर्मबाट काम गरी आएको छु । आजसम्म राजस्व छली नगरेको र हाल सानो रकम राजस्व छल्ने प्रश्न नै आउँदैन । मैले काठमाडौं जिल्ला अदालतमा मिति २०६३।११।२३ मा गरेको बयानमा सम्पूर्ण सामानको भन्सार तिरेको रसिद मसँग मौजुद रहेको र सो रसिदहरू सक्कलै मिसिलमा पनि हुनुपर्छ भनी लेखाइदिएको छु । सो कुराहरू मिसिलका कागजातबाट समर्थित भएका छन् । त्यस्तै मबाट जफत गरिएका सामानहरू मैले लिलाम सकार गर्न पाउने र सकारेको रूपैयाँ मैले फिर्ता पाउँने कानूनी व्यवस्था रहेकोमा सोतर्फ पनि विवेचना गरिएको छैन । अनुसन्धानबाट समेत म कसुरदार नरहेको पुष्टि हुँदाहुँदै अनुसन्धानमा गरिएको कागजातलाई गलत रूपमा प्रमाणमा लिई मलाई रू.२,७५,५४१।– राजस्व चुहावट गर्‍यो भनी दोषी ठहर्‍याई ३ महिना कैद र रू.५,५१,०८२।– जरिवान हुने र सामानसमेत जफत हुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको मिति २०६७।०९।०१ को फैसला कानूनविपरीत तथा त्रुटिपूर्ण हुँदा उल्टी गरी सफाइ पाउँ र मैले सकारेका सामानहरूको मोल रू.१७,३४,२४२।– फिर्ता गरिदिनू भन्ने आदेशसमेत गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

यसमा प्रतिवादीले बरामद भएको सामानको समेत राजस्व तिरिसकेको भन्ने देखिएको र भन्सारका कर्मचारीको बयानबाट समेत राजस्व छल्ने नियत नभएको देखिँदा राजस्व छलीको कसुरमा सजाय हुने तथा बरामदी सामान जफत हुने ठहर्‍याइ तत्कालीन पुनरावेदन पाटनबाट भएको मिति २०६७।०९।०१ को फैसला प्रमाण मूल्याङ्कनको परिप्रेक्ष्यमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियमानुसार पेस गर्नू भन्नेसमेत बेहोराको यस अदालतको मिति २०७४।१२।०६ गतेको आदेश ।

अदालतको ठहर

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा  पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री प्रेमबहादुर खडका तथा अधिवक्ता श्री कृष्ण मुरारी रौनियारले प्रज्ञापन पत्र भरी सामान ल्याएको छ । तीनवटै प्रज्ञापन पत्रबाट थप राजस्व तथा जरिवाना बुझाएको छ । प्रक्रियाले पूर्णता नपाउँदै सम्बन्धित कागजात तथा सामानहरूसमेत बरामद गरी पक्षलाई समेत पक्राउ गर्ने प्रहरीबाट ज्यादतिपूर्ण कार्य भएको छ । सम्पूर्ण सामानको भन्सार तिरेको रसिद पक्षसँग मौजुद रहेको र सो रसिदहरू सक्कलै मिसिलमा पनि छन् । राजस्व चुहावट नगरेको कुरा भन्सारका कर्मचारीको अनुसन्धानका क्रममा गरेका कागज तथा निवेदनबाट पुष्टि भएको छ । कसुर दाबी वादी पक्षबाट पुष्टि भएको छैन । तसर्थ पुनरावेदन अदालतको फैसला उल्टी गरी सुरू फैसला कायम गरिपाउँ भनी प्रस्तुत गर्नुभएको बहस तथा प्रत्यर्थी वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवालीले प्रतिवादीले प्रज्ञापन पत्रमा उल्लेख गरेकोभन्दा बढी सामान विदेशबाट ल्याएकोमा पहिलो प्रज्ञापन पत्रमा थप गरी बेहोरा जनाउनु पर्नेमा पटकपटक प्रज्ञापन पत्र भरेका छन् । तीनवटै प्रज्ञापन पत्रमा उल्लेख भएकाभन्दा बढी १६ प्रकारका सामान राजस्व छली लगेको तथ्य बरामदी मुचुल्काबाट देखिन्छ । पुनरावेदन अदालतको फैसला सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

मिसिल अध्ययन गरी हेर्दा, प्रतिवादी बालकृष्ण खरेलले थाइल्यान्डबाट ल्याएका १७ अदल रेडिमेट कपडाहरू सम्पूर्ण रूपमा नै विभिन्न ३ प्रज्ञापन पत्रका आधारमा ल्याएको र उक्त सामानमध्ये केहीको राजस्व तिरी र केहीको नतिरी लग्न लागेको भन्ने सुराकीको आधारमा निजलाई सामानसहित  प्रहरीद्वारा पक्राउ गरी चेकजाँच हुँदा प्रज्ञापन पत्रमा उल्लिखित भन्दा १६ प्रकृतिका बढी देखिएका, उक्त सामानहरूको मूल्य रू.६,९४,०५९/- को हुने र सोको राजस्व रू.२,७५,५४१।४१ राजस्व चुहावट गरी लैजान लागेको देखिँदा र सम्बन्धित व्यापारीको रोहवरमा चेकजाँच गर्दा उक्त सामानहरू मेरै हो भनी प्रतिवादी बालकृष्ण खरेलले स्वीकारेबाट निजले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ४(क) (ख) र (ग) को कसुर गरेको सप्रमाण पुष्टि भएको हुँदा सोही ऐनको दफा ३३ बमोजिम बरामद भन्सार नतिरेको अवस्थामा पाइएको १६ प्रकृतिका सामानहरू जफत गरी सोही ऐनको दफा २३(१) बमोजिम हदैसम्मको सजाय गरिपाउँ भन्ने अभियोग दाबी रहेको देखिन्छ । यी प्रतिवादीले राजस्व नतिरी सामान लगेको भन्ने तथ्य पुष्टि हुन नसकी राजस्व तिर्ने क्रममै पक्राउ परेको देखिन आएको र निजले तीनवटै प्रज्ञापनबाट तिरेको राजस्व र निजबाट बरामद गरिएका सामानसमेतलाई राजस्व अंक यकिन गरेकोसमेत नदेखिएकोले प्रतिवादीले राजस्व छली सामान लगेकोले सजाय गरिपाउँ भन्ने अभियोग दाबी पुग्न नसकी प्रतिवादीले सफाइ पाउने ठहर्‍याई सुरू काठमाडौं जिल्ला अदालतबाट फैसला भएको 

देखिन्छ । उक्त फैसला बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको पुनरावेदन परेकोमा प्रतिवादीले रू.२,७५,५४१।४१ राजस्व छलि गरेकोले रू.५,५१,०८२।८२ जरिवाना र तजबिजी ३ तीन महिना कैद सजाय हुने र सामानसमेत जफत हुने ठहर्‍याई पुनरावेदन अदालतबाट फैसला भएको देखिन्छ । सो फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भनी प्रतिवादीको यस अदालतमा प्रस्तुत पुनरावेदन परेको पाइयो । 

उपर्युक्त दुवै पक्षतर्फको बहस सुनी पुनरावेदनसहितको मिसिल संलग्न कागज अध्ययन गरी हेर्दा पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्ने हो, होइन ? सोही विषयमा निर्णय दिनु पर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादीले प्रज्ञापन पत्रमा उल्लिखित भन्दा १६ प्रकृतिका बढी सामानहरूको मूल्य रू.६,९४,०५९।- को हुने राजस्व रू.२,७५,५४१।४१ राजस्व चुहावट गरी लैजान लागेको देखिँदा निजले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४(क), (ख) र (ग) को कसुर गरेकोले सोही ऐनको दफा २३ बमोजिम सजाय गरी ऐ. को दफा ३३ बमोजिम सामानसमेत जफत गरिपाउँ भन्ने अभियोग दाबी रहेको छ । विदेश थाइल्यान्डबाट रधुनाथ ‌ओभरसिजको नामबाट विभिन्न रेडिमेट कपडा ल्याई एरपोर्ट भन्सारको २ नं. गोदामबाट केही सामानको भन्सार तिर्ने र बाँकी सामानको भन्सार छली चोरी पैठारी गरी लैजाने गरेको हुँदा सो कार्यप्रति निगरानी राखी पक्राउ गरी कारबाहीको लागि वडा प्रहरी कार्यालय गौशालामा प्रहरी कर्मचारीको सुराकी प्रतिवेदन तथा मिति २०५७।०३।०५ मा मालसमान तथा कागजातसाथ निज पक्राउ परेबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । ऐ. ६ गतेको बरामदी मुचुल्काबाट प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा १६ प्रकृतिका विभिन्न सामानहरू भेटिएका उक्त सामानहरू प्रतिवादी बालकृष्ण खरेलको भएको भन्ने तथ्यबाट देखिन्छ ।

३. उक्त १६ प्रकृतिका विभिन्न सामानहरूको मूल्य रू.६,९४,०५९।- हुने र सोको राजस्व रू.२,७५,५४१।४१ प्रतिवादीले चुहावट गरेको भन्ने अभियोग दाबी देखिन्छ । सोतर्फ हेर्दा प्रतिवादी बालकृष्ण खरेलले थाइल्यान्डबाट ल्याएका १७ कार्टुन (अदल) रेडिमेट विभिन्न प्रकारका सामानहरू त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट पैठारी गर्ने क्रममा भन्सार एरियाबाट प्रज्ञापनपत्र नं. १६८९३ र १६९१३ र सामानसहित प्रहरीले तत्काल बरामद गरेको भन्ने देखिन्छ । पैठारी सामानको सम्पूर्ण रूपमा नै पहिलो प्रज्ञापन पत्र नं.१६८९३ मा घोषणा गर्नु पर्नेमा सो गरेको देखिँदैन । पटकपटक प्रज्ञापनपत्र भरेको देखिन्छ । यसरी पटकपटक प्रज्ञापनपत्र भर्नु पर्ने कारणका सम्बन्धमा प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा सो छुट समानहरू बढी देखिएकोले सोको लागि छुटै प्रज्ञापनपत्र भरेको भन्ने देखिन्छ । त्यसरी बढी सामान देखिएमा सुरूकै प्रज्ञापनपत्रमा थप गरी बेहोरा जनाउनु पर्नेमा सो नगरी सुरूको प्रज्ञापनपत्र नं.१६८९३ पश्चात् पुनः १६९१३ र १६९१६ नं.को प्रज्ञापनपत्र भरेको पनि देखियो । सो नं. १६९१६ को प्रज्ञापनपत्र पेस गर्न भुलेछु भन्ने निजको राजस्व अनुसन्धानको बयानमा देखिन्छ । साथै तीनवटै प्रज्ञापनपत्रबाट महसुल र जरिवानासमेत गरी निजबाट थप राजस्व असुल गरेको पनि मिसिलबाट देखिन्छ ।

४. प्रज्ञापनपत्रमा घोषणा गरेकोभन्दा बढी सामान ल्याएको भन्ने कुरा बरामदी मुचुल्काबाट देखिन्छ । बरामद भई आएका उल्लिखित मूल्यका सामानहरूको विवरण कुनै पनि ३ वटा प्रज्ञापनपत्रमा उल्लेख भएको देखिँदैन । उक्त कसुर हुन लागेको भनी २०५७।३।४ मा सुराकी प्रतिवेदन परेको 

देखिन्छ । प्रज्ञापनपत्रहरू मिति २०५७।३।५ को भएको र सोही दिन प्रहरी प्रधान कार्यालयबाट आएको भनी प्रहरीको टोलीले सामान लगेको भन्ने बेहोरा खुलाई विष्णुबहादुर कार्कीसमेतले सोही मितिमा प्रमुख भन्सार प्रशासकसमक्ष निवेदन दिएको अवस्था छ । उक्त सामान जाँचपासमा लापरवाही भएको भन्ने आधारमा सम्बन्धित भन्सार कर्मचारीलाई राजस्व अनुसन्धान विभागले मिति २०६२।०९।२८ मा ५ वर्ष बढुवा रोक्का गर्ने विभागीय कारबाहीसमेत भएको भन्ने देखिन्छ । उल्लिखित तथ्यबाट राजस्व तिर्ने प्रक्रियामा रहेको अवस्थामा सामान र प्रतिवादीसमेतलाई प्रहरीले पक्रिलगेको भन्ने प्रतिवादीको पुनरावेदन जिकिर तथा पुनरावेदकका विद्वान् कानून व्यवसायीको बहस जिकिरसँग सहमत हुन सकिएन । अर्कोतर्फ पक्राउ परेपछि राजस्व तिर्न मन्जुर गरेको कार्यबाट निजले बेहोर्नु पर्ने आपराधिक दायित्वबाट उन्मुक्ति पाउने आधार हुन पनि सक्दैन । बरामद भएका सामानहरू प्रतिवादीको भएको हुँदा प्रतिवादी बालकृष्ण खरेलले विदेशबाट ल्याएको सामानको राजस्व कम तिर्ने नियत लिएको, कम राजस्व बुझाएको र बुझाउनु पर्ने सबै राजस्व नबुझाई सामान पैठारी गरेकोले राजस्व छल्ने कार्य गरेको देखियो । प्रतिवादीको उक्त कार्य राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४(क) (ख) र (ग) विपरीतको कसुर भएको पुष्टि हुन आयो । 

५. अब दण्ड सजायतर्फ हेर्दा उक्त राजस्व छलीको कसुरको बिगो रू.२,७५,५४१।४१ देखिएको र ऐनको दफा २३(१) मा राजस्व चुहावटको कसुर गर्ने व्यक्तिलाई बिगोको दोब्बरसम्म जरिवाना गरी कसुरको मात्रा हेरी तीन वर्षसम्म कैद हुनेछ । भन्ने व्यवस्था उल्लेख भएको देखिँदा निजलाई बिगोको दोब्बर रू.५,५१,०८२।८२ जरिवाना र तजविजी कैद हुने पनि देखियो ।

६. जहाँसम्म मेरो कब्जा गरिएको मालवस्तु कानूनबमोजिम लिलाम भई मैलै सकारेको हुँदा सो रकमसमेत फिर्ता दिलाई पाउँ भन्ने पुनरावेदन जिकिर छ । सोतर्फ हेर्दा प्रतिवादीको उल्लिखित कार्य ऐनबमोजिम राजस्व छलीको कसुर भई निजलाई कसुर गरेकोमा सजाय हुने ठहरिएको अवस्थामा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३३ बमोजिम बरामद भएको मालवस्तु जफत हुने नै देखियो । जफत भएको मालवस्तु कानूनबमोजिम लिलाम हुँदा जोसुकैले सकार गर्न सक्नेमा निज आफैँले कानूनबमोजिम सकार गरेको अवस्थामा सो लिलाम सकार रकम फिर्ता पाउँ भन्ने पुनरावेदकको जिकिरसमेत कानूनसङ्गत 

देखिएन । तसर्थ उल्लिखित विवेचित आधार कारण, मिसिल संलग्न प्रमाण तथा कानूनी प्रावधानसमेतका आधारमा प्रतिवादी बालकृष्ण खरेलले अभियोग दाबीबमोजिमको कसुर गरेको देखिन आएकोले निजलाई कसुरदार ठहर्‍याई कैद जरिवानासमेत हुने ठहर्‍याएको पुनरावेदन अदालतको फैसला अन्यथा हुन सक्ने देखिएन, मिलेकै देखिन आयो ।  

७. अत: प्रतिवादी बालकृष्ण खरेललाई सफाइ दिने गरी भएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६५।१२।२० को फैसला नमिलेकोले उल्टी गरी प्रतिवादी रमेश भन्ने बालकृष्ण खरेलले अभियोगपत्र माग दाबीबमोजिम राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४ को देहाय (क) (ख) र (ग) विपरीत कार्य गरी सो राजस्व छल्ने प्रयत्‍न गरेको तथ्य प्रमाणित भएको देखिँदा निजलाई सोही ऐनको दफा २३ बमोजिम सो राजस्व चुहावट गर्ने प्रयत्‍न गरेको बिगो रकम रू. २,७५,५४१।४१ को दोब्बर ५,५१,०८२।८२ (पाँच लाख एकाउन्न हजार बयासी रूपैयाँ बयासी पैसा) जरिवाना र तजविजी ३ तीन महिना कैद सजाय हुने साथै राजस्व छल्न खोजिएको १६ प्रकृतिका बरामदी सामान उल्लिखित ऐनको दफा ३३ बमोजिम जफतसमेत हुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको मिति २०६७।०९।०१ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।

                                       

उक्त रायमा सहमत छु ।

न्या.डा.मनोजकुमार शर्मा

 

इजलास अधिकृतः टेकराज जोशी

इति संवत् २०७६ साल असार ६ गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु