शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०३५६ - करकाप

भाग: ६१ साल: २०७६ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा

माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही

फैसला मिति : २०७६।३।१९

०६७-CR-०९७३

 

मुद्दाः- करकाप

 

पुनरावेदक / वादी : भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. ६ बस्ने गणेशमान ख्याजु

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३४ शान्तिनगर बस्ने सूर्यकुमार राईसमेत

 

विवादित लिखतमा लेखिएको बेहोरा अवस्था, परिस्थितिअनुसार तथ्ययुक्त एवं वस्तुनिष्ठ प्रमाणबाट समर्थित हुन आवश्यक देखिने ।

(प्रकरण नं.६)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री पन्नामान तुलाधर र विद्वान्‌ अधिवक्ता श्री सत्यराम त्वायना

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री चन्द्रप्रसाद काफ्ले

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्ने:- 

मा. न्यायाधीश श्री नारायणप्रसाद दाहाल

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने:-

मा. न्यायाधीश श्री अलिअकबर मिकरानी

माननीय न्यायाधीश श्री हरिप्रसाद घिमिरे

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या.ईश्वरप्रसाद खतिवडा : तत्कालीन पुनरावेदन अदालत पाटनको मिति २०६५।५।१८ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) खण्ड (क)(ख) बमोजिम यस अदालतमा परेको निवेदनमा मिति २०६७।१२।१४ मा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-

विपक्षीमध्येकी लक्ष्मी राई, शम्भुप्रसाद भट्टराई, गोपाल घिमिरे, राम गोपाल बस्नेत र म फिरादीसमेत ५ जना भई करिब दुई अढाई वर्ष पहिले मेरो १५ प्रतिशत सेयर हुने गरी युनिटी प्रोपर्टी प्रा.लि. दर्ता गरी जग्गाको खरिद बिक्री कारोबार सञ्चालन गरी आएको र सुरू सुरूको बैठकमा मलाई बोलाउँदा उपस्थित भई कम्पनीको भलाइका लागि सल्लाह र सुझाव दिई आएको थिएँ । विगत केही महिनादेखि मलाई नबोलाएको र कारोबार सम्बन्धमा के छ भनी कम्पनी राखिएको कार्यालयमा गई बुझ्दा त्यहाँबाट उठेर गएको जानकारी पाएको र अन्य सेयरवालाहरूको खोजीनिति गर्दा पनि कसैलाई भेट गर्न नसकी मिति २०६२।९।१४ गते ई.प्र.का. जगाती, भक्तपुरका प्रहरीले माथिको आदेश छ भनी मलाई कार्यालयमा लाँदा त्यहाँ विपक्षीहरूले कम्पनी घाटामा गएको र सोबापत मैले विपक्षी लक्ष्मी राईलाई दुई लाखदेखि दुई लाख पचास हजारसम्म तिर्न पर्छ भनेको र मैले तिर्नु परे तिरौँलाभन्दा प्रहरीको माथिल्लो तहको धाकधम्की देखाई थुनामा राखी भोलिपल्ट १५ दिनभित्र रकम दिने समय राखी छोडिदिएपश्‍चात् विपक्षीहरूले जबरजस्ती कागज गराउने प्रवल सम्भावना रहेकोले मैले पुनरावेदन अदालत पाटनमा मिति २०६२।९।१८ मा निषेधाज्ञा मुद्दा दर्ता गरी अन्तरिम आदेशसमेत भई विपक्षीहरूले म्याद गुजारी बसेकोले विचाराधीन रहेको छ । मिति २०६२।१२।२३ गते साँझ करिब १८.१५ बजेको समयमा विपक्षीमध्येका सूर्यकुमार राईले म बाटो हिँडिरहेको अवस्थामा शान्तिनगर प्रवेश गेटनेर मलाई बोलाई घर जाउँ कुरा गरौं, कम्पनीको हिसाब किताब पनि हेरौं, तिम्रो मनले रकम तिर्नु नपर्ने भए नतिर भनी अनुरोध गर्दा विपक्षीको घरमा गएकोमा पहिलेदेखि नै त्यहाँ सुरक्षाकर्मी जस्ता देखिने २ जना व्यक्ति र लक्ष्मी राई पनि थिए । म भित्र पुगेको केही समयपछि नै अन्य सुरक्षाकर्मी जस्ता देखिने २ जना गुण्डा प्रकृतिका मानिससहित जम्मा ७ जना थियौं । मलाई सूर्यकुमार राईले बस्न भन्दै झ्याल ढोका पर्दासमेत लगाए । तैले हामीलाई धेरै हेपिस् भनी दराजबाट एउटा नेपाली कागज झिकी जिउँदै जाने हो भने यसमा सही गर भनी अन्य अपरिचित गुण्डा प्रकृतिको व्यक्तिहरूले कुटपिटसमेत गरी जबरजस्ती हात समाई औंठामा कालो ल्याप्चे लगाई दिएर सूर्यकुमार राईले कालो जेल पेन दिई सही गर भन्दै कुटपिट गर्दा बाध्य भई हस्ताक्षर गरी हस्ताक्षरको ठीक मुनी केही उपाय निस्कने विचारले मैले मिति २०६२।१२।२३ उल्लेख गरी सही गरेपछि राति करिब ८.०० बजेतिर शान्तिनगर गेटमा ल्याई छोडी दिएकोले कागज पढ्न नपाए पनि विपक्षीमध्येका सूर्यकुमार राईलाई वैदेशिक रोजगारको लागि विदेश पठाउँछु भनी रू. ९,००,०००।- बुझी लिएको बेहोरा लेखिएको छ भनी सुन्‍नमा आएको, म कुनै वैदेशिक रोजगारसम्बन्धी काम गर्ने मानिस 

होइन । विदेश पठाउँछु भनेकै भरमा त्यति ठूलो रकम कोही कसैलाई विश्‍वास गरी लिने दिने प्रश्‍न नै 

उठ्दैन । विपक्षीहरूउपर पुनरावेदन अदालतमा निषेधाज्ञा मुद्दा विचाराधीन रही रहँदै विपक्षीहरूले जोरजुलुम करकाप गरी कागज गराएको तथ्य प्रमाणित भएको हुँदा मिति २०६२।१२।२३ गते विपक्षीहरूले करकापमा पारी गराएको कागज बदर गरी करकापसँग कागज गराउने प्रतिवादीहरूलाई सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी गणेशमान ख्याजुको मिति २०६३।१।२७ को फिरादपत्र ।

वादीले म सूर्यकुमार राईलाई वैदेशिक रोजगारीमा क्यानाडा पठाइदिन्छु भनी रू.१३,००,०००।- रूपैंया बुझी लिई मिति २०६२।१०।२७ मा साक्षीको रोहवरमा स्वेच्छाले गरी दिएको कागजलाई करकापसँग गराएको भनी गरेको फिराद दाबी खारेज गरिपाऊँ । विपक्षीले हामीउपर दिएको निषेधाज्ञा मुद्दामा समेत हाम्रा नाउँको म्याद बेपत्ते तामेल गराई प्रतिवाद गर्ने मौका नदिए पनि दाबी पुग्न नसकी मिति २०६३।१।२७ मा निवेदन नै खारेज हुने ठहरी फैसला भइसकेको छ । यी वादीले फिरादमा जग्गासम्बन्धी कारोबार गर्दा कम्पनी घाटामा गएकोले सुरक्षा निकायको मिलेमतोमा रकम माग गरेको र त्यही क्रममा डर धाकधम्की देखाई कागज गराएको भनी उल्लेख गरेको छन्, सो सत्य नभई बनावटी कुरा हो । यिनै प्रतिवादी भएको वैदेशिक रोजगार मुद्दामा विपक्षीले बयान गर्दा म लक्ष्मी र विपक्षीसमेत भई चलाएको युनिटी प्रोपर्टी प्रा.लि. बाट मैले लिनुपर्ने रू. ५/७ लाख नतिरी पचाई खाने नियतले करकापसँग वैदेशिक रोजगारसम्बन्धी कागज गराएको भनी बयान गरेको हुँदा एउटै विषयसँग सम्बन्धित फरक-फरक मुद्दामा फरक-फरक बेहोरा लेखाएकोबाट विपक्षीको फिराद दाबी झुठ्ठा, भ्रामक कपोलकल्पित छ । वादीले म प्रतिवादी सूर्यकुमार राईलाई वैदेशिक रोजगारको लागि विदेश पठाइदिन्छु भनी रकम लिई कागज गरिदिएकोमा रोजगारीमा नपठाई एकपछि अर्को शृङ्खलाबद्ध रूपमा कुटनीतिक चालहरू रच्दै मिति २०६२।१०।२७ मा गरिदिएको कागजमा हस्ताक्षर सही मुनी मिति २०६२।१२।२३ उल्लेख गरे पनि मिति २०६२।१०।२७ को लिखतउपर हदम्याद नघाई गरेको फिराद खारेजभागी हुँदा खारेज गरी विपक्षीहरूलाई नै सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादीहरू सूर्यकुमार राई र लक्ष्मी राईको संयुक्त प्रतिउत्तरपत्र ।

वादी गणेशमान ख्याजु घरजग्गाको कारोबार गर्ने मानिस हुन् । वादीले कसैलाई पनि विदेश पठाउने काम गर्दैनन् । वादीले प्रतिवादी लक्ष्मी राईसमेतसँग साझेदारीमा सञ्चालन गरेको  प्रोपर्टी यूनिटी प्रा.लि. को हिसाब किताब गर्न गएको अवस्थामा प्रतिवादीहरूले जबरजस्ती कागज गराएको कुरा मलाई भन्नुभएको थियो । प्रतिवादी आफैँ विदेश जान सक्ने सक्षम व्यक्ति हुनुहुन्छ । प्रतिवादीका लक्ष्मी राईसँग व्यावसायिक कारोबारको सिलसिलामा लिखत बेहोरा नपढाई सही गराएको कागज वैदेशिक रोजगारीको हुनुपर्छ । मैले कागज देखेको छैन भन्नेसमेत बेहोराको वादीका साक्षी राकेश वासुकलाले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।

मैले थाहा पाएअनुसार सूर्यकुमार राइले विदेश क्यानाडा जान भनी वादीलाइ रू. १३ लाख बुझाएको हुन् प्रतिवादीले वादीलाई करकापमा कागज गराएका होइनन् भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी रामे कामीले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।

मिति २०६२।१०।२७ गते भएको लिखत म साक्षी बसेको हुँ, त्यसमा परेका सहिछाप मेरै हो । वादीले सूर्यकुमार राईलाई क्यानाडा पठाउन भनी रू. १३,००,०००।- लिएको र सो  कागज गणेशमान ख्याजुले आफ्ना स्वेच्छा, राजीखुसीले गरीदिएको हुन् भन्‍नेसमेत बेहोराको विवादित लिखतका साक्षी मिलनकुमार राईले सुरू अदालतमा गरेको बयान । 

मिति २०६२।१०।२७ गते भएको लिखतमा म साक्षी बसेको हुँ, त्यसमा परेको सहिछाप मेरै हो । वादीले सूर्यकुमार राईलाई क्यानाडा पठाउन भनी रू. १३,००,०००।- लिएका र सो कागज गणेशमान ख्याजुले आफ्नै स्वेच्छा, राजीखुसीले गरिदिएको हुन् भन्‍नेसमेत बेहोराको विवादित लिखतका साक्षी जहेन्द्रकुमार राईले सुरू अदालतमा गरेको बयान । 

यसमा जुन कागज करकापसँग गराएको भनी दाबी लिइएको छ, सो कागजमा रहेका साक्षीहरू मिलनकुमार राई, जहेन्द्रकुमार राईलाई अ.बं. १३९ नं. बमोजिम झिकाई बयान गराउँदा उक्त कागज वादीले रकम लिई स्वेच्छाले गरेको हो भनी बकपत्रसमेत गरेकोले लिखतको सहिछाप र कागज अन्यथाको देखिन नआएको हुँदा सबुद प्रमाणको अभावमा करकापसँग कागज गराएको भन्ने वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्ने सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६४।३।२६ मा भएको फैसला ।

प्रस्तुत मुद्दामा दाबी लिएको लिखत करकापसँग खडा नगरेको भए सो लिखतको लेखक साक्षीको सही हुनुपर्ने र मिति २०६२।१०।२७ मा खडा गरेको विवादित लिखत विपक्षीले मलाई आफ्नै घरमा बोलाई मिति २०६२।१२।२३ मा मात्र सहिछाप गराएको हुँ भनी आफैँ प्रस्ट बोलिरहेको अवस्थामा तथ्यभित्र प्रवेश नगरी मिसिल संलग्न प्रमाणहरूको मूल्याङ्कन नै नगरी वादी दाबी पुग्न नसक्ने ठहर गरेको सुरूको मिति २०६४।३।२६ को त्रुटिपूर्ण फैसला बदर गरी वादी दाबीबमोजिम करकाप ठहर गरिपाउँ भन्‍ने वादी गणेशमान ख्याजुले पुनरावेदन अदालत पाटनमा दायर गरेको पुनरावेदनपत्र ।

वादीले फिराद दिँदा प्रतिवादीले कुटपिट गरी जबरजस्तीसँग कागजमा सही गराएको भनी उल्लेख गरे तापनि कुटपिटको कुनै सबुद प्रमाण पेस भएको अवस्था छैन । वादीको साक्षीहरूमध्ये राकेश वासुकलाले अदालतमा आई बकपत्र गर्दा वादीले फिरादमा लेखेभन्दा अझ बढी विस्तार गरी बकी लेखाएको देखिँदा सो बकपत्र विश्‍वसनीय मान्‍न सकिएन भने अन्य साक्षी मिलन राई र जहेन्द्र राईलाई अदालतमा १३९ नं. बमोजिम बयान गराउँदा उक्त कागजमा वादीले रकम लिई स्वेच्छाले सहिछाप गरेका हुन् भन्‍नेसमेतको बेहोरा बकी लेखाई दिएको देखिँदा वादीको उक्त पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६४।३।२६ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने बेहोराको पुनरावेदन अदालत पाटनको मिति २०६५।५।१८ को फैसला ।

पुनरावेदन अदालत पाटनको फैसलामा चित्त बुझेन । विपक्षीले प्रहरी लगाई पैसा असुल्न कागज गराउने प्रयास गरेकोमा मैले निषेधाज्ञा मुद्दा दिई पुनरावेदन अदालत पाटनबाट विपक्षीसमेत उपर त्यस्तो कुनै कार्य नगर्नु भनी मिति २०६२।९।१९ मा अन्तरिम आदेशसमेत जारी भई आदेश क्रियाशील भई रहेको अवस्थामा उक्त आदेशको अवज्ञा गरी मिति २०६२।१२।२३ गते जबरजस्ती करकापमा पारी कागज गराएको, मैले आमहडतालको कारणले गर्दा घाजाँच गरी केस फाराम भर्न नपाएको, आमहडतालको बेलामा प्रहरीमा उजुरी दिन सम्भव नभएको तथ्यलाई अदालतले गलत अर्थ लगाई घा जाँच केस फाराम नदेखिएको हुनाले करकाप नठहर्ने भनी भएको पुनरावेदन अदालत पाटनको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ को त्रुटि भई फैसला भएको, साक्षीले गरिदिएको बकपत्रलाई गलत अर्थ लगाई यस अदालतबाट (ने.का.प. २०४७, अंक १, पृष्ठ १४, नि.नं. ४०३७ र ने.का.प. २०५६, अंक ९, पृ. ६७८ नि.नं. ६७८३ मा) प्रकाशित नजिर सिद्धान्तसमेतको विपरीत हुने गरी भएको फैसलामा कानूनको व्याख्यामा गम्भीर त्रुटि हुन गएको र सर्वोच्च अदालतबाट प्रतिपादित नजिरसमेतको विपरीत हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क), (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेरी उक्त फैसला बदर गरी वादी दाबीबमोजिम गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी गणेशमान ख्याजुको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र । 

यसमा विवादित लिखत मिति २०६२।१०।२७ मा तयार भएको भन्‍ने कुरा लिखतको पुछारमा लेखिएको बेहोराबाटै देखिएको तर सो लिखत गरिदिने यी वादीले आफ्नो सहिछाप गर्दा मिति २०६२।१२।२३ उल्लेख गरेको देखिएबाट सो लिखतको प्रामाणिकता र विश्‍वसनीयतामा प्रश्‍न उठेको अवस्थामा त्यसतर्फ विवेचना नगरी भएको पुनरावेदन अदालत पाटनको मिति २०६५।५।१८ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको त्रुटि रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) अनुसार मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरीदिएको भन्‍ने मिति २०६७।१२।१४ मा यस अदालतबाट भएको आदेश ।

वादीले म प्रतिवादी सूर्यकुमार राईलाई वैदेशिक रोजगारमा क्यानाडा पठाइदिन्छु भनी १३ लाख लिई विदेश नपठाएकोले आफ्नो विरूद्धमा कारबाही होला भनेर पहिला निषेधाज्ञा मुद्दा दिएका र उक्त निषेधाज्ञा मुद्दा खारेज भएपछि प्रस्तुत करकाप मुद्दा दिएका हुन् । कागजमा निज वादीले आफ्नै घरमा मसँग रू.१३ लाख बुझी सही गरेका हुन् । २०५८ सालमा म सूर्यकुमार राई कोरिया गई कमाई ल्याएको रूपैयाँ खर्च गरी सोभन्दा राम्रो देश क्यानाडा जान चाहेको र विपक्षी वादीले क्यानाडा पठाइदिन्छु भनेकाले मसँग रूपैयाँ लिएका हुन् । मिति २०६२।१०।२७ मा रूपैयाँ लिएकोमा निजले कुनियत चिताई लिखतमा मिति २०६२।१२।२३ लेखेको तत्काल मलाई थाहा भएन । मिति २०६२।१०।२७ मा नै विपक्षीले मसँग रूपैयाँ लिई कागजमा सहिछाप गरेको कुरा लिखतका साक्षीहरूले अदालतमा आई प्रमाणित गरिदिएको अवस्था छ । विपक्षीलाई कुटपिट गरी कागज गराएको होइन, छैन । विपक्षीले हामीबिच संयुक्त लगानीमा कम्पनी सञ्चालन गरेको र त्यसमा विवाद भएको कारणले करकापमा कागज गराएको भन्ने कुरा झुट्ठा हुँदा विपक्षी वादीको निवेदन दाबी खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रत्यर्थी प्रतिवादीहरूको संयुक्त लिखित प्रतिवाद ।

नियमबमोजिम साप्‍ताहिक तथा आजको दैनिक पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल कागजात अध्ययन गरियो । पुनरावेदक वादीको तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री पन्नामान तुलाधर र विद्वान्‌ अधिवक्ता श्री सत्यराम त्वायनाले वादी तथा प्रतिवादीबिच संयुक्त लगानीमा युनिटी प्रोपर्टी प्रा.लि. नामको कम्पनी सञ्चालन गरिएको र त्यसमा विवाद भएको कारण प्रत्यर्थी प्रतिवादीहरूले प्रहरी लगाई पैसा असुल्न कागज गराउने प्रयास गरेउपर पुनरावेदक / वादीले निषेधाज्ञा मुद्दा दिई पुनरावेदन अदालत पाटनबाट विपक्षीसमेत उपर त्यस्तो कुनै कार्य नगर्नु भनी मिति २०६२।९।१९ मा भएको अन्तरिम आदेशको अवज्ञा गरी विपक्षीहरूबाट मिति २०६२।१२।२३ गते जबरजस्ती करकापबाट कागज गराइएको हो । कागज गराएको भोलिपल्टबाट जनआन्दोलन सुरू भई आमहडताल भएको कारणले समयमा उजुरी दिन र घा-जाँच गराउन नपाएको हो । मिति २०६२।१०।२७ मा भएको लिखतको सहिछाप उल्टोपाल्टो छ । वादीको घर रहेको स्थान भक्तपुरमा भएको भनिएको उक्त लिखतमा वादीका घरपरिवार तथा भक्तपुरका साक्षीसमेत राखेको छैन । लिखतमा भएको सहिछापको मिति र लिखत मितिसमेत फरक-फरक लेखिएको अवस्थासमेतबाट करकापबाट भएको लिखतलाई सद्दे ठहर गरी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसलालाई सदर ठहर गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी फिराद दाबीबमोजिम करकाप ठहर हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

प्रत्यर्थी / प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री चन्द्रप्रसाद काफ्लेले लिखतमा भएको सहिछापको सम्बन्धमा विवाद रहेको छैन । वादीले प्रतिवादी सूर्यकुमार राईलाई वैदेशिक रोजगारमा क्यानाडा पठाइदिन्छु भनी नगद रू.१३ लाख लिई विदेश नपठाएकोले आफ्नो विरूद्धमा कारबाही होला भनेर पहिला निषेधाज्ञा मुद्दा दिएका र त्यसबाट असफल भएपछि प्रस्तुत करकाप मुद्दा दिएका हुन् । प्रतिवादी सूर्यकुमार राईलाई वैदेशिक रोजगारमा पठाइदिन्छु भनी वादीले रू. १३ लाख बुझी स्वइच्छाले कागज गरिदिएको कुरा लिखत साक्षी तथा जाहेरवालाले सुरू अदालतमा उपस्थित भई बकपत्र गरेको अवस्थामा वादी दाबी नपुग्ने गरी सुरू तथा पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेकै हुँदा सदर होस् भनी प्रस्तुत गर्नुभएको बहससमेत सुनियो ।

अब पुनरावेदन अदालत पाटनबाट मिति २०६५।५।१८ मा भएको फैसला मिलेको छ, छैन ? वादीको पुनरावेदन जिकिर पुग्ने नपुग्ने के हो ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, विपक्षी / प्रतिवादीहरूउपर पुनरावेदन अदालत पाटनमा निषेधाज्ञा मुद्दा विचाराधीन रहेको अवस्थामा विपक्षीहरूले जोरजुलुम करकाप गरी गराएको मिति २०६२।१२।२३ गतेको कागज बदर गरी करकापसँग कागज गराउने प्रतिवादीहरूलाई सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी दाबी तथा वादीले प्रतिवादी सूर्यकुमार राईलाई वैदेशिक रोजगारको लागि विदेश क्यानाडा पठाइदिन्छु भनी रकम लिई मिति २०६२।१०।२७ मा कागज गरिदिएकोमा निजले वैदेशिक रोजगारीमा नपठाएको, मिति २०६२।१०।२७ मा भएको लिखतउपर हदम्याद नघाई गरेको फिराद खारेज गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादीहरू सूर्यकुमार राई र लक्ष्मी राईको संयुक्त प्रतिउत्तरपत्र जिकिर रहेको प्रस्तुत मुद्दामा सबुद प्रमाणको अभावमा करकापसँग कागज गराएको भन्ने वादी दाबी पुग्न नसक्ने ठहरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६४।३।२६ मा भएको फैसला सदर गरी पुनरावेदन अदालत पाटनबाट मिति २०६५।५।१८ मा भएको फैसलाउपर वादीको यस अदालतमा मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी परेको निवेदनमा मिति २०६७।१२।१४ मा निस्सा प्रदान भई प्रस्तुत मुद्दा पुनरावेदनको रोहमा दायर भएको देखियो ।

३. वादी प्रतिवादीबिचमा मिति २०६२।१०।२७ मा भएको विवादित लिखतमा परेको सहिछाप वादी गणेशमान ख्याजुकै भएको कुरामा विवाद देखिँदैन । मिति २०६२।१२।२३ मा प्रतिवादीहरूले अन्य गुण्डा प्रकृतिका चार जनाको सहयोगमा कुटपिट गरी जबरजस्ती कागज गराएको भन्‍ने मुख्य दाबी रहेको देखिन्छ । वादीका साक्षी राकेश वासुकलाले सुरू अदालतमा उपस्थित भई गरेको बकपत्रमा वादी गणेशमान ख्याजु घरजग्गाको कारोबार गर्ने मानिस 

हुन् । निजले कसैलाई पनि विदेश पठाउने काम गर्दैनन् । वादी गणेशमान ख्याजुले प्रतिवादी लक्ष्मी राईसमेतसँग साझेदारीमा सञ्चालन गरेको प्रोपर्टी यूनिटी प्रा.लि. को हर हिसाब गर्न प्रतिवादीहरूको घरमा गएको अवस्थामा प्रतिवादीहरूले जबरजस्ती कागज गराएको कुरा मलाई भन्नुभएको थियो भनी लेखाएको देखिन्छ । विवादित लिखतको किनाराका बस्ने साक्षीहरू मिलनकुमार राई र जहेन्द्रकुमार राईले वादीले प्रतिवादी सूर्यकुमार राईलाई क्यानाडा पठाउन भनी रू. १३,००,०००।- लिएको र सो  कागज गणेशमान ख्याजुले आफ्ना स्वेच्छा, राजीखुसीले गरी दिएको हुन् भनी सुरू अदालतसमक्ष बयान गरेको पाइयो ।

४. धनीका नाम प्रतिवादीमध्येका सूर्यकुमार राई र ऋणीको नाममा यी पुनरावेदक वादी गणेशमान ख्याजु भई मिति २०६२।१०।२७ मा तयार भएको उक्त वैदेशिक रोजगारसम्बन्धी विवादित कागजमा भएको बेहोरा हेर्दा वादी गणेशमान ख्याजुले नगद रू.१३,००,०००।- (तेह्र लाख) वैदेशिक रोजगारको लागि क्यानडा पठाउन भनी लिएको ठिक साँचो हो । आजको मितिले २ महिनाभित्र विदेश क्यानडा पठाउन नसके तपाइँबाट लिएको रूपैयाँ भाखा नाघेको सात दिनभित्र सावाँ ब्याजसमेत फिर्ता गर्नेछु भनी उल्लेख गरेको देखिन्छ । सोबाहेक उक्त कागजमा के कस्तो रोजगारको लागि कुन कम्पनीमा, के कति तलब भत्ता पाउने गरी विदेश पठाउन वा जान लागेको हो "वादी गणेशमान ख्याजुको विदेश पठाउन सक्ने हैसियत छ छैन" विदेश पठाउनको लागि कुनै कार्यालय खोली बसेका हुन् या होइनन्, दुई महिनाभित्र क्यानाडा पठाउने गरी रूपैयाँ बुझाएपश्चात् पासपोर्ट बुझाए नबुझाएको के हो सो सम्बन्धमा उक्त लिखतमा केही उल्लेख भएको पाइँदैन । लिखतमा ऋणी अर्थात् गणेशमान ख्याजुले सहिछाप गर्दा लेखात्मक र रेखात्मक सहिछाप गरेको देखिन्छ । मिति २०६२।१०।२७ मा तयार भएको लिखतको किनारा र पुच्छारमा ऋणीले सहिछाप गर्दा मिति २०६२।१२।२३ गते उल्लेख गरेको पाइन्छ । लिखत मिति र उक्त लिखतमा ऋणीले सहिछाप गरी उल्लेख गरेको मिति फरकफरक रहेको देखिन्छ । ऋणी गणेशमान ख्याजुको घर अर्थात् भक्तपुर जिल्ला, भक्तपुर न.पा. वडा नं. ६ जगातीमा तयार भएको भनिएको उक्त लिखतको किनारामा खोटाङ जिल्ला, महेश्‍वरी गा.वि.स. वडा नं. ३ बस्ने जहेन्द्र राई र सोलुखुम्बु जिल्ला, जुवु गा.वि.स. वडा नं. ४ बस्ने मिलनकुमार राई साक्षी बसेका देखिन्छ भने विवादित लिखतमा लेखक साक्षीको महलसमेत खाली रहेको देखिन्छ । 

५. प्रतिवादी सूर्यकुमार राईको एकाघरकी श्रीमती विपक्षी प्रतिवादी लक्ष्मी राई र यी पुनरावेदक गणेशमान ख्याजुसमेत भई घर जग्गाको खरिद बिक्री गर्ने उद्देश्यले युनिटी प्रोपर्टी प्रा.लि. नामक कम्पनी दर्ता गरी उक्त कम्पनीमा वादी गणेशमान ख्याजुसमेतको १५ प्रतिशत सेयर रहेको, उक्त कम्पनी घाटामा गएको र सो घाटाबापतमा लक्ष्मी राईलाई दुई लाखदेखि दुई लाख पचास हजार रूपैयाँसम्म तिर्नु पर्ने भनी प्रहरीसमेत लगाई पटकपटक डर, धाक, धम्की दिएको र जिल्ला प्रहरी कार्यालय, काठमाडौंका प्रहरीले समेत जबरजस्ती थुनेर गैरकानूनी र बल पूर्वक कागज गराउने प्रवल आशङ्का विद्यमान रहेकोले त्यस्तो कार्य नगर्नु, गर्न नलगाउनु भनी विपक्षी सूर्यकुमार राईसमेत उपर यी पुनरावेदक वादी गणेशमान ख्याजुले पुनरावेदन अदालत पाटनमा मिति २०६२।९।१८ मा दर्ता भएको (२०६२ सालको मुद्दा नं. ६४२) निषेधाज्ञा मुद्दामा "निवेदकलाई कानूनको अख्तियार बिना पक्राउ गर्ने वा कारबाही गर्ने कार्य नगर्नु नगराउनु भनी विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी हुन्छ" भनी  पुनरावेदन अदालत पाटनबाट मिति २०६२।९।१९ मा आदेश भएको पाइन्छ । पुनरावेदन अदालत पाटनबाट विपक्षी सूर्यकुमार राईसमेत उपर अन्तरिम आदेश जारी भइरहेको अवस्थामा मिति २०६२।१०।२७ मा यी पुनरावेदक गणेशमान ख्याजु र सूर्यकुमार राईका बिचमा वैदेशिक रोजगारसम्बन्धी विवादित कागज भएको पाइयो । पुनरावेदन अदालत पाटनबाट उक्त निषेधाज्ञा मुद्दामा यी प्रतिवादीसमेत विरूद्धमा मिति २०६२।९।१९ मा जारी भएको अन्तरिम आदेश मिति २०६३।१।२७ गते मात्र निष्क्रिय भएको कुरा मिसिल सामेल रहेको पुनरावेदन अदालत पाटनको मिति २०६३।१।२७ मा भएको अन्तिम आदेशको प्रतिलिपिबाट देखिन्छ । 

६. यसरी यी पुनरावेदक वादी गणेशमान ख्याजु र प्रतिवादीमध्येका लक्ष्मी राई युनिटी प्रोपर्टी प्रा.लि.का सञ्चालक रहेको कुरामा विवाद 

देखिँदैन । घरजग्गाको कारोबार गर्ने उद्देश्यले सञ्चालन भएको उक्त संस्थाको हरहिसाबमा यी वादी तथा प्रतिवादीका बिचमा मतमतान्तर रहेको कुरा यिनै वादीले प्रतिवादी सूर्यकुमार राईसमेतका विरूद्धमा पुनरावेदन अदालत पाटनमा दिएको निषेधाज्ञा मुद्दासमेतबाट पुष्टि भएको देखिन्छ । विवादमा भएको कुनै पनि लिखतमा लेखिएको बेहोरा अवस्था, परिस्थितिअनुसार फरकफरक प्रकृतिबाट अन्य तथ्ययुक्त एवं वस्तुनिष्ठ प्रमाणबाट समर्थित हुन आवश्यक देखिन्छ । मिति २०६२।१०।२७ मा तयार भएको भनिएको लिखतमा ऋणीले सहिछाप गर्दा मिति २०६२।१२।२३ उल्लेख हुनु, वैदेशिक रोजगारको लागि साहु ऋणीकै घरमा गई रकम बुझाउनु, ऋणीको घर रहेको स्थान भक्तपुरमा भएको भनिएको लिखतमा ऋणीको एकाघरका कोही पनि साक्षी नबसी बेजिल्लाका साक्षी राखी लिखत तयार हुनु जस्ता आधारमा विवादित लिखत शुद्ध मनसाय र भावनाबाट तयार भएको थियो भन्‍ने कुरा विश्‍वसनीय देखिएन । वादीले यिनै प्रतिवादीसमेत उपर दिएको निषेधाज्ञा मुद्दामा पुनरावेदन अदालत पाटनबाट प्रतिवादीहरूउपर अन्तरिम जारी भई सो अन्तरिम आदेश कायम रहिरहेको अवस्थामा मिति २०६२।१०।२७ मा (मिति २०६२।१२।२३) गराइएको विवादित कागज स्वयम्‌मा दूषित देखिन आयो ।

७. अतः माथि उल्लिखित आधार कारणबाट वादी गणेशमान ख्याजु तथा प्रतिवादीमध्येका लक्ष्मी राई दुवैजना युनिटी प्रोपर्टी प्रा.लि.का सञ्चालक रहेको, सो संस्थाको सञ्चालनको सिलसिलामा भएको विवादका सम्बन्धमा प्रतिवादीमध्येका सूर्यकुमार राईसमेत विरूद्धमा पुनरावेदन अदालत पाटनमा परेको निषेधाज्ञा मुद्दामा अन्तरिम आदेश कायम रहिरहेको अवस्थामा दूषित रूपमा कागज गराइएको देखिएको, मिति २०६२।१०।२७ मा गराइएको कागजमा ऋणीले सहिछाप गर्दा मिति २०६२।१२।२३ उल्लेख गरी लिखतमा भएको सहिछापसमेत फरकफरक रही लिखतको विषयवस्तु, प्रकृति र अवस्थासमेतबाट उक्त लिखत स्वाभाविक रूपमा भएको देखिएन । यस अवस्थामा लिखत करकाप ठहर गरी रद्द गर्नु पर्नेमा वादी दाबी पुग्न नसक्ने ठहरी काठमाडौं जिल्ला अदालतबाट मिति २०६४।३।२६ मा भएको फैसला सदर गरी पुनरावेदन अदालत पाटनबाट मिति २०६५।५।१८ मा भएको फैसला मिलेको नदेखिँदा उक्त फैसला उल्टी भई विवादित मिति २०६२।१०।२७ (२०६२।१२।२३) मा भएको भनिएको लिखत कारकापबाट भएको देखिँदा सो लिखत रद्द भई मुलुकी ऐन, दण्ड सजायका महलको १२ नं. बमोजिम रू.५००।- (पाँच सय) प्रतिवादीहरूलाई जरिवाना हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत पाटनबाट मिति २०६५।०५।१८ मा भएको फैसला उल्टी भई प्रतिवादीहरू सूर्यकुमार राई र लक्ष्मी राईलाई मुलुकी ऐन, दण्ड सजायका महलको १२ नं. बमोजिम रू ५००।- (पाँच सय मात्र) जरिवाना हुने ठहरेकाले प्रतिवादीहरू बेरूजु हुँदा लगत कसी उक्त जरिवाना दामासाहीका दरले असुल गर्नु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनू ..........१

यसमा करकापबाट भएको मिति २०६२।१०।२७ को लिखत रद्द हुने ठहरेकाले सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६४।३।२६ को फैसलाको तपसिल खण्डमा उल्लेख भएअनुसार वादी गणेशमान ख्याजुलाई लागेको जरिवाना रू २५००।- निजले पुनरावेदन अदालत पाटनमा पुनरावेदन गर्दा र.नं. ५९८९ मिति २०६४।६।२३ मा नगदै दाखिल गरेको देखिँदा उक्त जरिवाना फिर्ता पाउने हुँदा फिर्ता पाउँ भनी वादीले माग गरे नियमानुसार फिर्ता दिनु भनी पुनरावेदन अदालत पाटनमा लेखी पठाई सुरू फैसलाको तपसिल खण्डको देहाय १ नं. मा रहेको लगत कट्टा गर्नु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनू ....२

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको विद्युतीय प्रति कम्प्युटर प्रणालीमा आबद्ध (अपलोड) गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ............................................................३

 

उक्त रायमा सहमत छु ।

न्या.डम्बरबहादुर शाही

 

इजलास अधिकृत:- धनबहादुर कार्की

इति संवत् २०७६ साल असार १९ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु