शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०३६२ - अपुताली हककायम खिचोला चलन

भाग: ६१ साल: २०७६ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.

माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना

फैसला मिति : २०७६।३।२५

०६८-CI-००१४

 

मुद्दा:- अपुताली हककायम खिचोला चलन

 

पुनरावेदक / प्रतिवादी : जिल्ला बारा, कलैया नगरपालिका वडा नं. ६ बस्ने जैनव अन्सारी

विरूद्ध

प्रत्यर्थी / वादी : जिल्ला बारा, बसन्तपुर गाउँ विकास समिति वडा नं. ८ बस्ने मासुमा भन्‍ने मनोरमा

 

कुनै ठोस र निश्चयात्मक प्रमाणबाट बाबुआमालाई वादी प्रतिवादीमध्ये यसैले नै पालन पोषण, स्याहार सम्भार र औषधी उपचार गरेको हो भन्‍ने पुष्टि नभएसम्म त्यस्तो अवस्थामा उनीहरूको पालन पोषण र स्याहार सम्भारको कार्यको अवस्थामा वादी प्रतिवादी सबैको नै भूमिका रहेको भनी बुझ्नुपर्ने ।

(प्रकरण नं.७)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र अधिवक्ता श्री राम विलास राउत

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान्‌ अधिवक्ता श्री ऋषिराज शर्मा

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री बालमुकुन्द दवाडी

बारा जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री एकराज आचार्य

माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ

पुनरावेदन अदालत हेटौंडा

 

फैसला

न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः- 

तथ्य खण्ड

मूल पुर्खा रामबाबु नेपाल श्रेष्ठ तथा पत्‍नी मकुला अन्सारीनको दाम्पत्य जीवनबाट हामी २ छोरीको जन्म भएको प्रतिवादी जैनव अन्सारी जिल्ला बारा, गाउँ विकास समिति रामपुर हाल कलैया नगरपालिका वडा नं. १२ बस्ने रोजमियाको छोरी 

हुन् । पिता माताले नै हामीहरूको विवाह गरिदिनुभएको र हामीहरूले नै पिता माताको साथमा नै आलोपालो गरी रही सेवा रेखदेख पालन पोषण गरी आएका 

थियौं । पिता रामबाबु नेपाल मिति २०५१।१२।२७ मा र माता २०५६।०३।१९ मा स्वर्गे हुनुभयो । आमाको नाममा नापी नक्सा भएको जिल्ला बारा, गाउँ विकास समिति भवानीपुर वडा नं. ६ कि.नं. ९७ को ०-०-११ र सोमा भएको खपडाको घरसमेत हामीले भोग चलन गरी आएकोमा प्रतिवादीले उक्त घरजग्गा आफ्नो नाममा नम्बरी दर्ता पाउन निवेदन दिनुभएकोमा हामीले लिखित जवाफसमेत दिएका छौं । जैनव हाम्रो दिदी होइन । हाम्रो अपुताली हक भोगको उक्त जिल्ला बारा, गाउँ विकास समिति भवानीपुर वडा नं. ६ कि.नं. ९७ को ०-०-११ र सोमा भएको खपडाको घरसमेतमा हाम्रो अपुताली हक कायम गरिपाउँ भन्‍नेसमेत बेहोराको वादीको फिरादपत्र । 

म रामबाबु नेपालको छोरीलाई विपक्षीहरूले रोजमियाको छोरी भनी फिराद गरेकोमा लिखित बेइज्जतीतर्फ छुट्टै उजुर गर्नेछु । मेरो पितामाताको सेवा सम्भार मैले नै गरेको छु । विपक्षीहरूले गरेको छैन । माता पिताको नाउँको कि.नं. ९७ को ०-०-११ जग्गाबाट वादीहरूको हक लाग्ने होइन । वादीहरूको झुट्टा फिराद दाबीबाट फुर्सद पाउँ भन्‍नेसमेत बेहोराको प्रतिउत्तरपत्र । 

रामबाबु नेपाल बिरामी हुँदा काठमाडौंमा उपचारका लागि जेठी छोरी र ज्वाइँले लगेका र उपचार गरेका हुन्, यहाँ आउँदा दुवै छोरीहरूले निजको सेवा टहल गरेका, मृत्युपछि सुनेअनुसार दुवै छोरी ज्वाइँले काज किरिया गरेका हुन् भन्‍नेसमेत बेहोराको वादीका साक्षी रामबहादुर साहले गरेको बकपत्र । 

वादी दाबी झुट्टा हो, प्रतिवादी जैनवको पिताको नाम रामबाबु नेपाल श्रेष्ठ हो, उक्त घरजग्गा बुबा हजुरबुबाको पालादेखि नै सँगसाथै बसिरहेको र हालसम्म पनि प्रतिवादी जैनव अन्सारीको भोगचलनमा छ भन्‍नेसमेत बेहोराको  प्रतिवादीका साक्षी मोहनप्रसाद वरैले गरेको बकपत्र । 

सुरू अदालतको आदेशानुसार डोरमुकामबाट मिति २०५९।९।२६ मा भई आएको सर्जमिन मुचुल्का मिसिल संलग्न रहेको । 

मिसिल संलग्न कागज प्रमाणहरूबाट प्रतिवादी जैनव स्व. रामबाबुको छोरी होइन भन्‍ने वादी कथन सत्य तथ्यमा आधारित रहेको देखिन नआएबाट यससम्बन्धी वादीको दाबीसँग सहमत हुन सकिएन । प्रतिवादी जैनव स्व. रामबाबु नेपाल श्रेष्ठ र मकुलाकै छोरी रहे भएको ठहर्छ र प्रतिवादी जैनव अन्सारी स्व. रामबाबु र मकुलाकै छोरी रहेभएको र निज साबिकदेखि नै विवादको घरजग्गामा निज मृतकहरूकै साथमा बसी निजहरूको स्याहार सुसार, पालन पोषण गरेको पुष्टि हुन आएको र मुलुकी ऐन, अपुतालीको महलको ३ नं. ले स्याहार सुसार गर्ने छोरीले अपुताली पाउने कानूनी व्यवस्था रहेको देखिन आएकोबाट यी वादीहरूले सो ऐनअनुरूपको दाबीसमेत नलिई अपुतालीको २ नं को दाबी लिई आएको अवस्था देखिँदा विवादको दाबीमा अपुताली हककायम गरिपाउँ भन्‍ने वादीको दाबी नपुग्ने ठहर्छ भन्‍नेसमेत मिति २०६६।२।१९ को सुरू बारा जिल्ला अदालतको फैसला । 

वादीले पिता माताको स्याहार सुसार पालन पोषण, औषधोपचार गरी आउँदा आमाबुबाको मृत्यु भएको हो । विपक्षी प्रतिवादीले स्याहार सुसार गरेको भन्‍ने कुरा झुट्टा हो । प्रतिवादीले मृतक आमाबाबुलाई उहाँहरूको जीवनकालमा स्याहार सुसार केही पनि गरेको छैन । बाँचुञ्जेल आमा बाबुलाई सामान्य मानवीय कर्तव्यसमेत नगरी उल्टै गाँजा सेवन गराउने अर्थात् कुलतमा लगाउने कार्य गरी आएकी हुन् । बुबाआमालाई लामो समयसम्म जीवनकालभरि नै औषधोपचार वादीबाटै भई आएको हो । सत्य तथ्य कुरा देखाई दाबी गर्न आएको हो । विपक्षीको प्रत्युत्तर जिकिर बिलकुल झुट्टा हो । वादीको साक्षी रामबहादुर साहले वादी दाबी प्रमाणित हुने गरी बकपत्र गरिदिएका छन् । यसरी मिसिल संलग्न तथ्य प्रमाणको समुचित मूल्याङ्कन र विश्लेषण नगरी मुलुकी ऐन, अ.बं. १८४क नं. १८५ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ३ एवं ५४ तर को गम्भीर त्रुटि गरी फैसला भएको । आमा मकुलिया अन्सारीले २०५०।१०।१४ मा गरिदिएको शेषपछिको बकसपत्र लिखतबाट समेत बाबुआमालाई स्याहार सुसार गर्ने वादी नै भएको पुष्टि भएको छ । आमाबाबुको जीवनकालमा आमाले नै गरिदिनुभएको लिखतबाट वादीले स्याहार सुसार रेखदेख सेवा टहल गरेको पुष्टि भएकोमा प्रतिवादीको प्रत्युत्तर जिकिरको भरमा वादी दाबी नपुग्ने गरी भएको फैसला त्रुटिपूर्ण छ । सर्जमिनको बेहोरा आफैँमा विरोधाभाषपूर्ण छ । सर्जमिनको भनाइ एकरूपको नभई अनेक छ । न्याय निरूपण कमी वेशी भनी गणितीय आधारमा हुने नभई तथ्य प्रमाणको आधारमा हुने भएबाट सुरू फैसला त्रुटिपूर्ण भएकोले सुरूको फैसला उल्टी गरी वादी दाबीबमोजिम न्याय पाउँ भन्‍नेसमेत बेहोराको मासुमा भन्‍ने मनोरमाको तर्फबाट पुनरावेदन अदालत हेटौंडामा दायर भएको पुनरावेदनपत्र । 

“यसमा प्रतिवादी मृतक बाबुआमाको घरमा बसी आएको भन्‍ने सर्जमिन बेहोराबाट देखिए तापनि मृतक बाबुआमाको स्याहार सुसार, पालन पोषण प्रतिवादीले मात्र गरी आएको भन्‍ने देखिन नआएको स्थितिमा अपुताली हककायम गरिपाउँ भन्‍ने वादी दाबी पुग्न नसक्ने ठहर्‍याई सुरू बारा जिल्ला अदालतबाट मिति २०६६।२।१९ मा भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्ने हुँदा छलफल निमित्त अ.बं. २०२ नं तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्‍नेसमेत पुनरावेदन अदालत हेटौंडाबाट भएको मिति २०६७।८।६ को आदेश ।

जिल्ला प्रशासन कार्यालयबाट गरिदिएको नाता प्रमाणितसम्बन्धी पत्रबाट जैनव अन्सारी रामबाबु श्रेष्ठको जेठी छोरी भन्‍ने देखिन आएकी 

छन् । जैनवले प्राप्‍त गरेको नागरिकता प्रमाणपत्रमा बाबुको नाम रामबाबु श्रेष्ठ भनी उल्लेख भई सो कुरा कायम रहेको अवस्था देखिन्छ । नगरपालिका कार्यालयको सिफारिसबाटसमेत जैनव रामबाबुको छोरी भनी लेखी आएको पाइन्छ । अदालतबाट भई आएको २०५९।०९।२६ को सर्जमिन मुचुल्कामा समेत जैनव रामबाबु श्रेष्ठको छोरी भएको कुरा उल्लेख भएको देखिन्छ । त्यसकारण प्रतिवादी जैनव अन्सारी रामबाबु श्रेष्ठको छोरी र वादी मनोरमा अन्सारीसमेतको दिदी भन्‍ने कुरा देखिन आएको छ । जैनव अन्सारी वादीहरूको दिदी कायम भएको स्थिति र अवस्थामा दाबीको अपुताली हक के हुने त?  भनी सो सन्दर्भमा विचार गर्दा तीनै दिदी बहिनी विवाह भइसकेका छोरीहरू हुन् । अदालतबाट भई आएको सर्जमिनमा मृतक बाबुआमाको स्याहार सुसार प्रतिवादीले मात्र गरेका हुन् भन्‍ने उल्लेख भएको पाइँदैन । वतन फरक परेकै एउटा मात्र कारणले स्याहार सम्भारमा वादीहरूको भूमिका रहेन भएन होला भनी भन्‍न त्यति स्वाभाविक हुने पनि देखिँदैन । त्यसकारण वादी प्रतिवादीहरू तीन बहिनी देखिन आएको र स्याहार सम्भार गर्ने काम वादीबाट भएन भन्‍नलाई युक्तिसङ्गत प्रमाण नभएकोले मृतक मकुलिया अन्सारीको नामको दाबी लिइएको दाबीमा वादीहरूको पनि अपुताली हककायम हुने ठहर्छ । वादीहरूले पनि तीन भागको एकएक भाग गरी दुई भाग अपुताली हककायम भई चलनसमेत चलाई पाउने हुँदा वादी दाबी पुग्न नसक्ने ठहर्‍याई बारा जिल्ला अदालतबाट मिति २०६६।२।१९ मा भएको फैसला केही उल्टी हुन्छ भन्‍ने पुनरावेदन अदालत हेटौंडाको मिति २०६७।१०।१७ को फैसला । 

रामबाबु नेपालको छोरीलाई विपक्षीहरूले रोज मियाँको छोरी हो भनी फिराद गरेकोमा लिखित बेइज्जतीतर्फ छुट्टै नालेस परी बाबुछोरीको नातासम्बन्धी बारेमा सुरू जिल्ला अदालतको आदेशबमोजिम खटी आएको कर्मचारी डोरबाट सोही वडाबाट भएको सर्जमिन मुचुल्का र कलैया नगरपालिकासमेतबाटै सिफारिस र पिता रामबाबु नेपाल श्रेष्ठको र श्रीमती मकुलाकै छोरी हो भनी नेपाली नागरिकताको प्रमाणपत्रसमेतबाट प्रमाणित भएको छ । प्रतिवादी जैनव अन्सारीले साबिकदेखि नै बाबुआमासँग बसी स्याहार सम्भार, पालन पोषण गरेको पुष्टि हुन आएको र अपुतालीको ३ नं. ले स्याहार सुसार गर्ने छोरीले अपुताली पाउने भनी कानूनी व्यवस्था प्रस्ट उल्लेख छ । यी वादीहरूले सो ऐनअन्तर्गतको दाबी नलिई अपुतालीको १, २ नं. को दाबी लिई आएको अवस्थामा विवादको सम्पत्तिमा अपुताली हककायम गरिपाउँ भन्‍ने दाबी नपुग्ने ठहर्‍याई गरेको सुरूको फैसला उल्टी हुने गरी भएको फैसला अपुतालीको ३ नं. को प्रतिकूल भएकोले बदरभागी छ ।

म पुनरावेदकको मिति २०४९।४।१४ मा नेपाली नागरिकता प्रमाणपत्र भएको कुरा विपक्षीहरूले थाहा पाएपछि म घरमा नभएको मौका छोपी आमाको नामको जग्गा धनी प्रमाण पुर्जा निकाल्नु भनेर मालपोत कार्यालय बारा लगी आमाको नामको ज.बि. ०-१८-० जग्गा मासुमा भन्‍ने मनोरमाको श्रीमान् उत्तम रसुल अन्सारीले र ०-९-० जग्गा र मन्जु रहमानको श्रीमान् रसिद रहमानले ०-९-१० मिति २०५०।१०।१४ मा मकुला अन्सारीको २ छोरी मात्र रहेको कुरा उल्लेख गरी शेषपछिको बकसपत्र लिखत पारित गराएको कुरा आमा मकुला अन्सारीको मृत्यु भएपछि निजको नामको घरजग्गा नामसारी गराउन जाँदा विपक्षीको लोग्नेले दूषित मनसायले शेषपछिको बकसपत्र लिखत पारित गराएकाले पनि आमालाई सेवा सम्भार नगरी दोहोरो दाबी लिई आएको कुरा आमाको नामको घरजग्गा नामसारी गराएको बखत थाहा भएकोले सो आधार प्रमाणबाट दाबी नपुग्ने प्रस्ट हुँदा सुरू जिल्ला अदालतको फैसला उल्टी गर्ने गरी भएको पुनरावेदन अदालत हेटौंडाको फैसला बदर गरी सुरूको फैसला सदर कायम गरिपाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी जैनव अन्सारीको तर्फबाट यस अदालतमा दायर हुन आएको पुनरावेदनपत्र । 

“यसमा सर्जमिनका अधिकांश व्यक्तिहरूले जैनव अन्सारीले पालन पोषण गरी सोही घरमा बसी आएको भनी उल्लेख गरिदिएकोलाई प्रमाणमा ग्रहण नगरी भएको पुनरावेदन अदालत हेटौंडाको मिति २०६७।१०।१७ को फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्नसक्ने देखिँदा विपक्षीलाई तत्कालीन मुलुकी ऐन, अ.बं. २०२ नं. र हालको मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा २१३(३) नं. को प्रयोजनार्थ झिकाई नियमानुसार पेस गर्नू” भन्‍ने यस अदालतको मिति २०७५।०५।२० को आदेश । 

ठहर खण्ड

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत पुनरावेदनसहितको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र अधिवक्ता श्री राम विलास राउतबाट विवादित जग्गा भिन्दै घडेरी हो, फिरादीले हामी दुईजना मात्र दिदी बहिनी हौं, प्रस्तुत मुद्दाको तथ्य नै ढाँटिएको अवस्था छ । यो मुद्दामा अपुतालीको ३ नं. आकर्षित हुने 

हो । सुरू अदालतबाट भएको सर्जमिन मुचुल्काअनुसार आमाको स्याहार सुसार गर्ने यिनै पुनरावेदक जैनवले नै पालेको भनेको हुँदा निजैले सम्पत्ति पाउने हो यी आधारहरूमा सुरू अदालतले गरेको फैसलालाई उल्टी गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला त्रुटिपूर्ण भएकाले सो फैसलालाई बदर गरी सुरू जिल्ला अदालतको फैसला कायम हुनुपर्छ भनी बहस प्रस्तुत हुन आएको छ ।

त्यसैगरी प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान्‌ अधिवक्ता श्री ऋषिराज शर्माबाट पुनरावेदक प्रतिवादी जैनव अन्सारीको बाबु अर्कै र आमा उही भएको, साबिक मुलुकी ऐनको अपुताली महलको २ नं. ले छोरीले अपुताली पाउने कुरा उल्लेख गरेको र यस मुद्दामा छोरा नभएको अवस्था हुँदा छोरीहरूले नै अपुताली पाउने हो । यो मुद्दाको Issue भनेको मुलुकी ऐनको एघारौं संशोधन अघिको विषय हो । तीनैजना छोरी विवाहिता भएको अवस्थामा बराबर अपुताली दिएको छ । सर्जमिनले कानूनलाई विस्थापित गर्न सक्ने विषय होइन । त्यसैले यस विषयमा अपुतालीको २ नं. आकर्षित हुने हुँदा पुनरावेदन अदालत हेटौंडाको फैसला सदर कायम हुनुपर्छ भनी बहस प्रस्तुत हुन आएको छ ।

प्रस्तुत मुद्दामा दुवैपक्षका तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता तथा अधिवक्ताले आआफ्नो पक्षहरूको तर्फबाट प्रस्तुत गर्नुभएको उल्लिखित बहस सुनी पुनरावेदन अदालत हेटौंडाबाट मिति २०६७।१०।१७ मा भएको फैसला मिले नमिलेको के हो ? पुनरावेदन जिकिरबमोजिम हुनुपर्ने हो वा होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, अदालतबाट भई आएको सर्जमिनमा मृतक बाबुआमाको स्याहार सुसार प्रतिवादीले मात्र गरेका हुन् भन्‍ने उल्लेख भएको पाइँदैन । वतन फरक परेकै एउटा मात्र कारणले स्याहार सम्भारमा वादीहरूको भूमिका रहेन भएन होला भनी भन्‍न त्यति स्वाभाविक हुने पनि देखिँदैन । त्यसकारण वादी प्रतिवादीहरू तीन बहिनी देखिन आएको र स्याहार सम्भार गर्ने काम वादीबाट भएन भन्‍नलाई युक्तिसङ्गत प्रमाण नभएकोले मृतक मकुलिया अन्सारीको नामको दाबी लिइएको दाबीमा वादीहरूको पनि अपुताली हककायम हुने ठहर्छ वादीहरूको पनि तीन भागको एकएक भाग गरी दुई भाग अपुताली हककायम भई चलनसमेत चलाई पाउने हुँदा वादी दाबी पुग्न सक्ने ठहर्‍याई पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसलामा चित्त नबुझाई प्रतिवादी जैनव अन्सारीले साबिकदेखि नै बाबुआमासँग बसी स्याहार सम्भार, पालन पोषण गरेको पुष्टि हुन आएको र अपुतालीको ३ नं. ले स्याहार सुसार गर्ने छोरीले अपुताली पाउने भन्‍ने कानूनी व्यवस्था छ । यी वादीहरूले सो अन्तर्गतको दाबी नलिई मुलुकी ऐन, अपुतालीको १, २ नं. को दाबी लिई आएको अवस्थामा विवादको सम्पत्तिमा अपुताली हककायम गरिपाउँ भन्‍ने दाबी नपुग्ने ठहर्‍याई गरेको सुरूको फैसला उल्टी हुने गरी भएको पुनरावेदन अदालत हेटौंडाको फैसला अपुतालीको ३ नं. को प्रतिकूल भएकाले उक्त फैसलालाई बदर गरी सुरूको फैसला सदर कायम गरिपाउँ भन्‍ने प्रतिवादीको यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।

३. अब उल्लिखित पुनरावेदन जिकिरका सन्दर्भमा हेर्दा जिल्ला प्रशासन कार्यालय बाराको मिति २०५२।०८।२५ को नाता प्रमाणित पत्रबाट पनि रामबाबु नेपाल श्रेष्ठ र पत्‍नी मकुला अन्सारीको छोरी भनी यी पुनरावेदक जैनव अन्सारी भनी प्रमाणित भई आएको देखिन्छ । प्रतिवादी जैनव अन्सारीले प्राप्‍त गरेको नागरिकता प्रमाणपत्रमा समेत बाबुको नाम रामबाबु नेपाल श्रेष्ठ भनी उल्लेख भएको देखिन्छ । रामबाबु नेपाल श्रेष्ठ र मकुला अन्सारीका तीन जना छोरीहरू भएको, जेठी जैनव अन्सारी माहिली मासुमा भन्‍ने मनोरमा र कान्छी मन्जु रहमान भनी जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयलाई पत्राचार गरी सोको बोधार्थ बारा जिल्ला अदालतलाई दिएको मिति २०६३।९।२० को खुलाई पठाएको पत्रबाट देखिन्छ । 

४. कलैया नगरपालिकाको कार्यालयको मिति २०५६।०५।२४ को प्रमाणित पत्रबाटसमेत जैनव अन्सारी रामबाबुको छोरी भनी लेखी आएको पाइन्छ । त्यसैगरी अदालतबाट भई आएको मिति २०५९।०९।२६ को सर्जमिन मुचुल्कामा समेत जैनव अन्सारी रामबाबु श्रेष्ठको छोरी र वादीहरू मनोरमा र मन्जु रहमानको दिदी भन्‍ने उल्लेख भएको देखिन आएको छ । यसरी उल्लिखित मिसिल संलग्न प्रमाणहरूबाट यी वादी प्रतिवादीहरू बाबु रामबाबु नेपाल श्रेष्ठ र आमा मकुला अन्सारीका विवाहिता छोरी नाताका व्यक्तिहरू भएको तथ्य स्थापित हुन आउँछ । 

५. मुलुकी ऐन, अपुतालीको महलको १ नं. मा “हकवाला भनेको सम्बन्धित व्यक्तिको सात पुस्तासम्मको सबैभन्दा नजिकको अंशियार 

हुन्छ । सात पुस्ता नाघेको टाढाको नातेदार हुन्छ” भन्‍ने र सोही महलको २ नं. मा “यस महलको अन्य नम्बरहरूको अधीनमा रही अपुताली पर्दा मर्नेको लोग्ने, स्वास्नी, छोरा, अविवाहिता छोरी, छोराको छोरा वा निजको अविवाहिता छोरी भएसम्म अरूले अपुताली पाउँदैन । मर्नेको छोरा नभई बिधवा बुहारी भएमा निजले छोरासरह अपुताली पाउँछे । त्यस्ता कोही नभएमा विवाहिता छोरी, विवाहिता छोरी पनि नभए निजका छोरा वा अविवाहिता छोरी र निजहरू पनि नभए त्यस्तो अपुताली ऐन बमोजिमको हकवालाले पाउँछन्” भन्‍ने कानूनी व्यवस्था रहेको छ । 

६. अपुताली सम्बन्धमा भएको उक्त कानूनी व्यवस्थालाई हेर्दा अपुतालीको महलको १ नं. ले प्रस्तुत मुद्दाका वादी तथा प्रतिवादीहरू रामबाबु नेपाल श्रेष्ठ र मकुला अन्सारीका विवाहिता छोरी भएकाले निजहरू नै आमाबाबुको सम्पत्तिमा सबैभन्दा नजिकका हकवाला भएको तथ्यमा विवाद देखिँदैन । त्यसैगरी सोही महलको २ नं. को व्यवस्थाअनुसार रामबाबु नेपाल श्रेष्ठका अन्य छोरा तथा अविवाहिता छोरी नाताका कुनै पनि हकवाला नभएको देखिँदा यिनै विवाहिता छोरीहरूमा नै निजको सम्पत्तिमा अपुताली पाउने हक स्थापित हुन आउँछ । 

७. पुनरावेदक प्रतिवादी जैनव अन्सारीले लिएको मुलुकी ऐन, अपुतालीको ३ नं. का जिकिर रहेतर्फ हेर्दा उक्त नं. मा “भिन्‍न भई बसेका लोग्ने, स्वास्नी, छोरा, अविवाहिता छोरी, छोराका छोरा वा निजको अविवाहिता छोरीले हेरचाह नगरी विवाहिता छोरी वा छोरी ज्वाइँ वा त्यस्ता छोरी ज्वाइँका छोरा वा अविवाहिता छोरीले स्याहार सम्भार गरी पालेको रहेछ भने त्यसरी पालेको बाबु, आमा, सासू, ससुरा वा बाजे, बज्यैको अपुताली पाल्ने विवाहिता छोरी, छोरी ज्वाइँ वा नाति नातिनाले पाउँछन् । अरू हकवालाले पाउँदैनन्” भन्‍ने कानूनी व्यवस्था रहेको छ । सो कानूनी व्यवस्था र पुनरावेदक प्रतिवादीले लिएको पुनरावेदन जिकिरका सन्दर्भमा हेर्दा प्रस्तुत मुद्दाका वादी र प्रतिवादी तिनैजना दिदी बहिनीहरू बाबु रामबाबु श्रेष्ठ र आमा मकुला अन्सारीनबाट जन्मेको र वादी मासुमा भन्‍ने मनोरमा र मन्जु रहमान तथा प्रतिवादी जैनव अन्सारी एक अर्कामा दिदी बहिनी नाता पर्नेमा  विवाद देखिँदैन । तीनैजना दिदी बहिनीहरू विवाहित रहेका छन् । वादीद्वयले आफूहरूले नै आमालाई स्याहार सम्भार गरी पालेको भनेका छन् भने प्रतिवादी जैनव अन्सारीले आफूले आमालाई पालन पोषण, स्याहार सम्भार र औषधी उपचार गरेको भन्‍ने जिकिर लिएका छन् । वतन हेर्दा वादीले आफ्नो वतन जिल्ला बारा वसन्तपुर गाउँ विकास समिति वडा नं. ८ भनी र प्रतिवादीको जिल्ला बारा कलैया नगरपालिका वडा नं. ६ भनी उल्लेख गरेका छन् । वादी प्रतिवादीहरू दुई फरक फरक वतनमा बसेको देखिएको अवस्था छ भने आमाबाबु भवानीपुर गाउँ विकास समिति वडा नं. ६ स्थित खपडाको घरमा बस्दै आएको देखिन्छ । वादीले प्रतिवादी जैनव अन्सारीलाई नातामा विवाद देखाएर सोही वतन उल्लेख गरेकी 

छिन् । प्रस्तुत मुद्दामा वादी प्रतिवादीका बाबु रामबाबु र आमा मकुलालाई कसले स्याहार सम्भार र पालन पोषण गरेको हो ? र निजको अपुताली कसले खान पाउने हो ? भन्‍ने सम्बन्धमा नै मुख्य विवाद रहेको पाइन्छ । त्यसतर्फ हेर्दा, वादी प्रतिवादीहरू दुई फरक वतनमा बसेको अवस्था देखिन्छ । फिराद लेखबाट आमाबाबु भवानीपुर गाउँ विकास समिति वडा नं. ६ स्थित खपडाको घरमा बस्दै आएको स्थिति छ । वादीले फिरादमा प्रतिवादीको वतन पनि त्यही नै उल्लेख गरेकी र आमाबाबुलाई आफूहरूले स्याहार सम्भार, पालन पोषण र औषधी उपचार गराएको भनी उल्लेख गरेकी छिन् । मुलुकी ऐन, अपुतालीको महलको ३ नं. मा भएको उल्लिखित कानूनी व्यवस्थालाई हेर्दा पनि “मर्नेको अपुताली बाँचुन्जेल निजको स्याहार सम्भार र पालन पोषण गर्नेले पाउँछ” भन्‍ने व्यवस्था रहेको 

छ । वादी प्रतिवादीहरू विवाहित छोरीहरू भएकाले एउटै कानूनी हैसियतमा रहेका छन् । सर्जमिन मुचुल्का हेर्दा बाबुआमालाई प्रतिवादी जैनव अन्सारीले मात्र पालन पोषण र औषधी उपचार गराएको भनी एकनासले लेखाइदिएको अवस्था छैन । विवाहित छोरी बाबुआमा बसेकै घरमा नै सँगै बसेर पालन पोषण, स्याहार सम्भार र औषधी उपचार गरिरहनुपर्ने अवस्था पनि 

आउँदैन । कुनै ठोस र निश्चयात्मक प्रमाणबाट बाबुआमालाई वादी प्रतिवादीमध्ये यसैले नै पालन पोषण, स्याहार सम्भार र औषधी उपचार गरेको हो भन्‍ने पुष्टि नभएसम्म त्यस्तो अवस्थामा उनीहरूको पालन पोषण र स्याहार सम्भारको कार्यको अवस्थामा वादी प्रतिवादी सबैको नै भूमिका रहेको भनी बुझ्नुपर्ने हुन्छ । अतः प्रस्तुत विवादमा यी वादीहरूले मात्र आमाबाबुको पालन पोषण र स्याहार सम्भार गरेको हो भन्‍ने कुनै ठोस, निश्चयात्मक एवम् विवादरहित प्रमाणबाट पुष्टि हुन नआएको र बाबुआमा जीवित छउन्जेल वादी प्रतिवादीहरू तीनैजनाले नै बाबुआमाको पालन पोषण,  स्याहार सम्भार गरेको  भन्‍ने तथ्य नै पुष्टि हुन आउँदा यिनै वादी प्रतिवादीका बाबुआमाको नाउँमा र हकभोगमा रहेको जिल्ला बारा, गाउँ विकास समिति भवानीपुर वडा नं. ६ कि.नं. ९७ को ०-०-११ र सोमा भएको खपडाको घरसमेतमा यी वादीहरू मासुमा भन्‍ने मनोरमा र मन्जु रहमान तथा प्रतिवादी जैनव अन्सारीसमेत तीनैजनाको अपुताली हककायम हुने नै देखिन आएकाले वादी दाबी पुग्न नसक्ने ठहर्‍याई बारा जिल्ला अदालतबाट भएको फैसलामा केही उल्टी हुने गरी वादीहरूको उक्त सम्पत्तिमा तीन भागको एक / एक भाग गरी दुई भाग अपुताली हककायम भई चलनसमेत चलाई पाउने ठहर्‍याएको पुनरावेदन अदालत हेटौंडाको फैसला मनासिब नै देखिन आयो ।

८. अतः उल्लिखित विवेचित आधार, कारणहरू तथा कानूनी व्यवस्थासमेतबाट विवादको दाबीमा अपुताली हककायम गरिपाउँ भन्‍ने फिराद दाबी नपुग्ने ठहर गरी सुरू बारा जिल्ला अदालतबाट भएको फैसलालाई उल्टी गरेको वादी दाबीको कि.नं. ९७ को जग्गा र घरमा वादी प्रतिवादीहरू तीनैजनाको बराबर हक लाग्ने भई तीन भागको दुई भाग यी वादीहरूको नाउँमा अपुताली हककायम हुने ठहर्‍याएको पुनरावेदन अदालत हेटौंडाको मिति २०६७।१०।१७ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । सुरू जिल्ला अदालतको फैसला उल्टी गर्ने गरी भएको पुनरावेदन अदालत हेटौंडाको फैसला बदर गरी सुरूको फैसला सदर कायम गरिपाउँ भन्‍ने पुनरावेदक प्रतिवादी जैनव अन्सारीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.प्रकाशकुमार ढुंगाना

 

इजलास अधिकृत: मिनबहादुर कुँवर

इति संवत् २०७६ साल असार २५ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु