निर्णय नं. १०३७१ - अग्नि बिमा दाबी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
फैसला मिति : २०७६।७।२५
०६९-RB-००११
मुद्दा: अग्नि बिमा दाबी
पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं म.न.पा.वडा नं.११ त्रिपुरेश्वरस्थित त्रिपुरेश्वर प्लाजामा कार्यालय रही सञ्चालनमा रहेको नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडका अख्तियारप्राप्त प्रमुख कार्यकारी अधिकृत डा.प्रणव सेन
विरूद्ध
प्रत्यर्थी / वादी : जिल्ला बाँके, नेपालगन्ज नगरपालिका वडा नं.१ मा अवस्थित जय श्री श्याम सप्लायर्स प्रो.अशोककुमार अग्रवाल
क्षति भएको भन्दा ज्यादै न्यूनतम मूल्याङ्कन गरेकोसमेत न्यायोचित नहुने ।
(प्रकरण नं.६)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री भरतकुमार लकाई
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री सिताराम अग्रवाल
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा निर्णय गर्नेः
अध्यक्ष श्री फत्तबहादुर के.सी.
सदस्य श्री तेजराज शाक्य
सदस्य श्री कमलशाली घिमिरे
सदस्य श्री राजुकुमार सिवाकोटी
बिमा समिति, काठमाडौं
पुनरावेदन तहमा फैसला गर्नेः-
मा.मु.न्या.श्री केशरीराज पण्डित
मा.न्या.डा.श्री कुलरत्न भुर्तेल
पुनरावेदन अदालत पाटन
फैसला
न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
तथ्य खण्ड
मेरो जिल्ला बाँके, नेपालगन्ज नगरपालिका वडा नं.१ स्थित जय श्री श्याम सप्लायर्समा मिति २०६२।७।८ को राति लगभग ११ बजेको समयमा विद्युत लाइन सर्ट भई आगलागी भएकोले सो पसलभित्र रहेका सामानहरू आगलागीबाट नष्ट भएकोले मैले विपक्षीहरूलाई तत्काल सो सम्बन्धमा जानकारी दिई प्रमाणसहित रू.६,६६,०४०।- क्षतिपूर्तिको लागि दाबी गरेको थिए ।
विपक्षी कहाँ पोलिसी नं. २४०/एन.एल.जी./३१०६६२२० मा मेरो उक्त पसलको अग्नि बिमा भएको थियो । क्लेम नं. एन.एल.जी ३१।०६-०७।०२ अन्तर्गत विपक्षी नं. २ को इ. सन् २४ अगस्त २००६ को पत्रानुसार रू.६६,१००।- मात्रको दाबी फछ्र्यौट पुर्जा म उजुरवालालाई प्राप्त भयो । सो पत्र र दाबी फछ्र्यौट पुर्जामा कुन सामान र के कति सामान के कति मूल्यको नोक्सानीबापत सो रकम प्राप्त भएको कुनै विवरण उल्लिखित छैन । सो कुरा प्रस्ट गर्नका लागि मैले विपक्षी नं. २ लाई मिति २०६३।५।२२ मा पत्र दिएको थिएँ । त्यसपछि विपक्षी नं. २ को २२ जनवरी २००७ को पत्रानुसार सामान र मूल्य उल्लेख भएको पत्र प्राप्त भयो । तर के कति परिमाणमा सो सामान नष्ट भएको सो कुरा उल्लिखित पत्रमा अंकित रहेको छैन । साथै मैले क्लेम गरेको नष्ट भएका कतिपय सामानको सम्बन्धमा पनि सो पत्रमा उल्लिखित छैन । उल्लिखित रकममा मेरो चित्त नबुझेकोले मैले सो रकम बुझेको
छैन ।
दाबी फछ्र्यौट पुर्जामा उल्लिखित रकममा मेरो चित्त बुझेको छैन, मलाई साह्रै नै मर्का पर्ने गरी क्षतिपूर्ति दायित्वको निर्धारण भएको छ, टायर थान १० को १,७०,०००।- को नोक्सानी भएकोमा हचुवा आधारमा रू.३६,०००।- मात्र क्षतिपूर्ति निर्धारण भएको कानूनी त्रुटिपूर्ण छ, त्यस्तै अन्य सामान नष्ट भएकोमा हचुवा आधारमा क्षतिपूर्ति निर्धारण भएको छ, ट्युब, मोटरसाइकल, टेबुल, कुर्सी, वायरिङ, पंखा, बल्ब, फोन, क्याकुलेटरसमेतको कुनै क्षतिपूर्ति निर्धारण भएको छैन, सोले गर्दा मलाई ठूलो आर्थिक नोक्सानी भएको छ, सर्वेयरले जानीजानी पूर्वाग्रही भई कपोलकल्पित प्रतिवेदन दिएको छ, सर्वेयरको प्रतिवेदन तथ्यमा आधारित छैन ।
विपक्षीले म उजुरवालालाई मर्का पर्ने गरी क्षतिपूर्तिको दायित्व निर्धारण गरेको हुँदा सोलाई बदर गरी यथार्थ रूपमा मलाई नोक्सानी भएको रू.६,६६,०४०।- क्षतिपूर्तिबापत बिमा ऐन, २०४९ को दफा १७ र दफा १७(१), १७(२) तथा बिमा ऐन, २०४९ र बिमा नियमावली, २०४९ समेतको आधारमा विपक्षीबाट म उजुरवालालाई दिलाई पाउँ भन्ने अशोककुमार अग्रवालको मिति २०६३।११।२८ को उजुरी निवेदन ।
बिमा दाबी सम्बन्धमा के कसो भए गरेको
हो ? सोको लिखित जवाफका साथ तत्सम्बन्धी सम्पूर्ण कागजात तथा विवरणसमेत १५ दिनभित्र समितिमा पेस गर्न बिमा नियमावली, २०४९ को नियम ३३ को उपनियम (१क) को व्यवस्थाबमोजिम समितिको मिति २०६४।२।३१ को पत्रबाट बिमकलाई निर्देशन ।
हामीले यस विषयमा फाइनल सर्वेयर एस.के.यादवको प्रतिवेदन अनुसार दाबी भुक्तानी गरेका हौं । सम्पूर्ण कागजातहरू Final survey report, police report, policy copy यसैसाथ पठाएको छौं । समितिले चाहेको खण्डमा हामी फोटोग्राफहरू उपलब्ध गराउँछौं भन्ने बेहोराको बिमकको मिति २०६४।३।१७ को लिखित जवाफ ।
त्यस कम्पनीबाट जारी भएको बिमा लेखको सेवा सर्तसहित (पोलिसी डकेट) को प्रमाणित प्रतिलिपि, प्रस्ताव फाराम, बिमा शुल्क बुझेको रसिदको प्रतिलिपि, अग्नि बिमासम्बन्धी ओरिजनल फोटोहरूको प्रमाण, नगरपालिकाको दमकल प्रयोग गरेको प्रमाण, सम्बन्धित नगरपालिकाको मुचुल्काको प्रमाणसहित निवेदकको मागबमोजिम बिमा दाबी भुक्तानी गर्नु नपर्ने सम्बन्धमा अन्य आवश्यक कागजात तथा विवरण भए सोसमेत लिखित जवाफका साथ ७ दिनभित्र समितिमा पेस गर्न बिमा ऐन, २०४९ को दफा १७ को उपदफा (३) तथा बिमा नियमावली, २०४९ को नियम ३३ को उपनियम (१ख) को व्यवस्थाबमोजिम समितिको मिति २०६४।३।२५ को पत्रबाट बिमकलाई निर्देशन ।
समितिबाट माग गरेबमोजिम बिमा लेखको प्रमाणित प्रतिलिपि, बिमा शुल्क बुझेको रसिदको प्रतिलिपि, प्रस्ताव फारामको प्रतिलिपि, सम्बन्धित नगरपालिकाको दमकल प्रयोग गरेको प्रमाण, नगरपालिकाको मुचुल्काको प्रमाण बिमितद्वारा पेस गरेको ओरिजनल फोटोहरू १५ थान यसै पत्रसाथ तहाँको आवश्यक कार्यार्थको लागि पेस गरेका छौं भन्ने बेहोराको बिमकको मिति २०६४।३।३२ को लिखित जवाफ ।
समितिमा प्राप्त उजुरी निवेदक जय श्री श्याम सप्लायर्सको अग्नि बिमा दाबी सम्बन्धमा तपाइँले पेस गर्नुभएको सर्भे प्रतिवेदन सम्बन्धमा केही बुझ्नु पर्ने भएकोले ७ दिनभित्र समितिमा उपस्थित हुन समितिको मिति २०६४।८।१२ को पत्रबाट सर्वेयर श्री शक्तिकुमार यादवलाई निर्देशन ।
With reference to above I would like to inform you as under,
1. As per submitted photographs of the occurrence, it would be very clear that fire was originated in the shop and destroyed the merchandise lying thereon. On my physical verification I found the damage particulars in various cartoons, sack etc inside the material where stand by smoke for this purpose. requestedto the insured to torn the said cartoons, sack etc but he refused to do. As per my physical verification of the loss, I had assessed the loss on its merit.
2. The insured has a kirana shop it is beyond imagined that the estimated loss was very huge quantity but the stored building was not for such capacity. How the insured required for such loss amount because fire was not spreading to attach goodown so there is no question for any loss in the material lying in the godwon. As well as the insured was not interested to show the said material. The loss was inspected with insurer representative Mr. A.K.L.Das and A.K.Karn
3. Finally, the insured did not allow me the segregation of the effected cartoons sacks etc but on the merit of the fire I have rassessed the loss. भन्ने बेहोरा सर्वेयर एस.के.यादवको मिति २३.१२.२००७ को जवाफ ।
स्वतन्त्र मूल्याङ्कनकर्ताले गरेको मूल्याङ्कन यो यति कारणले ठिक छैन भनी पुष्टि हुने कागज प्रमाणको अभावमा सर्वेयरले पूर्वाग्रही रूपमा प्रतिवेदन दिएको भन्ने निवेदकको भनाइलाई मान्यता दिन मिल्ने देखिएन । यस अवस्थामा सर्वेयरले गरेको क्षति मूल्याङ्कनको आधारमा रू.६६,१००।- दाबी भुक्तानी दिने बिमकको भनाइलाई अन्यथा भन्न मिल्ने नदेखिएकोले बिमा ऐन, २०४९ को दफा ८ (घ१), दफा १७ को उपदफा (४) बमोजिम निवेदन खारेज हुने ठहर्छ भन्नेसमेत बेहोराको मिति २०६६।१।९ को बिमा समितिको निर्णय ।
सर्वेयरले गरेको क्षति मूल्याङ्कन न्यायसङ्गत छ वा छैन ? विचार नै नगरी सो सर्वेयरको क्षति मूल्याङ्कनलाई नै मुख्य आधार बनाई अन्य प्रमाणलाई नजरअन्दाज गरी भएको निर्णय बदरभागी छ । गोदाम र पसल जोडिएको हुँदा पसल र गोदाम दुवैमा आगो लागी मालसामान जलेर नष्ट भएको छ । गोदाममा आगो नलागेको र पसलमा मात्र आगो लागेकोमा पसलमा जलेर नष्ट हुने सामान राख्ने क्षमता नभएको भन्ने सर्वेयरको प्रतिवेदन गलत रहेको छ । मैले माग दाबी गरेको सबै चिजवस्तु बिमा लेखअन्तर्गत समावेश भएको देखिएन भनी उल्लिखित छ तर मैले माग दाबी गरेको चिजवस्तुमध्ये कुन कुन चिजवस्तु बिमा लेखअन्तर्गत समावेश छैन भनी निर्णयमा प्रस्ट नभएकोले मलाई मर्का पर्ने गरी क्षतिपूर्तिको दायित्व निर्धारण गरेको हुँदा सोलाई सदर गर्ने गरी बिमा समितिबाट भएको निर्णय त्रुटिपूर्ण हुँदा बदर गरी मेरो नोक्सानी रू.६,६६,०४०।- विपक्षीबाट दिलाई भराइ पाउँ भन्नेसमेत बेहोराको अशोककुमार अग्रवालको मिति २०६६।३।३० को पुनरावेदन पत्र ।
बिमितले किराना सामानको होलसेल पसल खोलेको भनी सर्वेयरले स्वीकार गरिरहेको र बिमितको दाबी र सर्वेयरको प्रतिवेदनले देखाएको क्षतिको बिच ब्यापक अन्तर देखिएको यस स्थितिमा बिमा समितिको निर्णय इन्साफको रोहमा फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षीलाई झिकाई नियमानुसार गरी पेस गर्नु भनी पुनरावेदन अदालत पाटनबाट मिति २०६७।१०।२४ मा भएको आदेश ।
गोदाममा आगलागी नभई पसलमा मात्र आगलागी भएको हो । बिमितको किराना पसलमा माग दाबीबमोजिमको सामान रहन सक्ने स्थिति नभएको बेहोरा सर्वेयरको प्रतिवेदनबाट प्रस्ट हुन्छ । यस्तो अवस्थामा स्वतन्त्र मूल्याङ्कनकर्ताले गरेको मूल्याङ्कन यो यति कारणले ठिक छैन, पूर्वाग्रही छ भन्ने यकिन प्रमाण कागजात पेस गर्न नसकेको अवस्थामा बिमा समितिबाट भएको निर्णय सदर कायम गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०६८।१।३० र मिति २०६८।८।१९ गतेको नेशनल इस्योरेन्स कम्पनी लिमिटेड, त्रिपुरेश्वर, काठमाडौं र नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड, मेनरोड, नेपालगन्जको एकै मिलानको छुट्टाछुट्टै लिखित जवाफ ।
Valuation report मा उल्लिखित सि.नं. २, ११, १२, १३, १४ र १५ का आइटमहरूको कूल रकम रू.१,२८,२००।- लाई मात्र रकम रू.६,६६,०४०।- बाट घटाउँदा हुन आउने रकम रू.५,३७,८४०।- नै क्षतिको रकम हुन आउने
देखिन्छ । त्यसैले बिमा समितिको मिति २०६६।१।९ को निर्णय केही उल्टी भई बिमितले क्षतिको मूल्याङ्कनबापत रू.५,३७,८४०।- पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६८।९।११ को फैसला ।
आगलागीको घटनाको जानकारी प्राप्त भएको तत्कालै घटना भएको स्थलमा पुगी वस्तुगत छानबिन एवं अध्ययन गरी बिमक तथा बिमितका प्रतिनिधिलाई समेत रोहबरमा राखी भएको सर्भेलाई विपक्षीले अन्यथा भन्नु सक्नुभएको छैन । केवल आफूले मनोगत रूपमा कायम गरेको क्षतिको विवरण र सर्वेयरको वास्तविकतामा आधारित प्रतिवेदनबिच ठुलो रकमको फरक देखिएकोले सर्वेयरको प्रतिवेदनलाई पूर्वाग्रही भनी संज्ञा दिएको मात्र हो । यदि सर्भेको बखत सर्वेयरले कुनै क्षतिको विवरण छुटाएमा वा वास्तविकताभन्दा फरक पारेमा सो कुरा सर्वेयरलाई भन्न पाउने र सोउपर दाबी गर्न पाउने अधिकार बिमितमा निहित छ । यस्तो अवस्था सृजना नहोस् भनेर बिमक र बिमितका प्रतिनिधिलाई सर्वेक्षण गर्दा रोहबरमा राख्ने गरिएको
छ । सर्वेयरले के कति क्षति भएको हो भनी सर्भे गरेपछि बिमितले दिएको मूल्य तथा उस्तै वस्तुहरूको प्रचलित बजार मूल्य दरलाई नै आधारमानी मूल्याङ्कन गर्ने भएकोले यसको फरक खुलाउनु पर्ने बाध्यात्मक अवस्था पनि सृजना हुन सक्दैन । बिमितले दाबी गरेको वस्तुको प्रामाणिक मूल्यलाई नै मान्नु पर्ने भन्ने
होइन । क्षतिको रकम बढी गराई बिमकबाट सोहीबमोजिमको रकम लिने गतल उद्देश्यले बिमितले दाबी गरेकोमा सो तथ्य कुनै थप प्रमाणबाट पुष्टि भएको छैन । जम्मा रू.१०,००,०००।– (दश लाख रूपैयाँ) को कूल क्षतिलाई आधारमानी फ्लोटिङ बिमा पोलिसीअन्तर्गत बिमा गर्ने बिमितले गोदाममा कुनै नोक्सानी भएको भनी कहीँकतै उल्लेख गर्नुभएको
छैन । गोदाम र किराना पसलसँगै रहेको बिमितले किराना पसलमा मात्र त्यति ठुलो परिमाणमा वस्तु राखेको भनी अनुमान गर्न पनि सकिन्न, जुन कुरा सर्वेयरले प्रतिवेदनमा समेत उल्लेख गरेको छ । किराना पसल र गोदाम गरी जम्मा दश लाखको बिमा गर्ने बिमितले रू.६,६६,०४०।- बराबरको सामान किराना पसलमा सजाएर राखे र ती सबै वस्तु आगलागीबाट जलेर पूरै नष्ट भएको भन्ने पत्यारिलो र वस्तुनिष्ठ आधार पेस गर्ने दायित्व स्वयं बिमितमा निहित छ । यदि आगलागीको क्षति वास्तविक भएको भए बिमितले सर्वेयरलाई गोदामको जाँच गर्न रोक्नु पर्ने कुनै कारण पनि छैन । खरिद गरिएको बिल तथा स्टोर स्टकलाई आधार बनाएर बिमा दाबी गर्ने बिमितले सर्वेयरलाई गोदाम चेक जाँच गर्न दिँदा वास्तविकता पत्ता लाग्छ भनेर नै अनुमति नदिएको स्वतः प्रस्ट छ ।
सर्वेयरले बिमा सम्झौताबमोजिमको क्षति मापन गर्दा वास्तविक क्षतिको रकम निकाल्नु पर्ने निजको कर्तव्य नै हुन्छ । कुनै काटुनमा १० प्याकेट समान थियो र उक्त काटुनमा आगलागी हुँदा सोमध्ये ७ प्याकेट मात्र आगलागीबाट नष्ट भएको रहेछ भने बाँकी रहेको ३ प्याकेट सामानलाई पनि नोक्सानी भएको भनी देखाई १० प्याकेटको मूल्य बिमकबाट लिन वा असुल्न मिल्दैन । वास्तविक नोक्सानी भएको ७ प्याकेटको मूल्य बराबरको नोक्सानी मात्र बिमकले दिने हो । यदि पूरै १० प्याकेट सामानको मूल्य बराबरको नोक्सानी मानी बिमकलाई क्षतिपूर्ति तिराउने हो भने थोरै प्रिमियम रकम लिई ठूलो परिणामको नोक्सानीको पूरै जोखिम बहन गर्न तत्पर हुने बिमकहरू टाट पल्टने स्थिति हुन्छ भने, बिमितले अनुचित लाभ (Unjust benefit) धारण गर्दछ । यस्तो परिस्थितिको पूर्वानुमान गरेर नै बिमा ऐन तथा नियमावलीले सर्वेयर तथा एक्च्युअररीको व्यवस्था गरेका हो । विपक्षीको किराना पसलमा आगलागीबाट नोक्सान नभएका काटुन तथा बाक्सालाई सर्वेयरले Segregation अर्थात् छुट्याउन खोज्दा छुट्याउन नदिनुको अर्थ सहज रूपमा अनुमान गर्न सकिन्छ । क्षतिबाट भएको नोक्सानी निष्पक्ष र स्वतन्त्रपूर्वक निकाल्नको लागि मद्दत गर्नु पर्ने समान दायित्व भएको विपक्षीले नै सर्वेक्षणको कार्यमा अनावश्यक पावन्दी लगाउने कार्यलाई प्रस्तुत मुद्दामा विपक्षीको पुनरावेदनको विरूद्धमा लिनु पर्नेमा सोही तथ्यलाई बङग्याएर बिमा सिद्धान्त तथा सामान्य करारको मान्यतासमेतको विपरीत निर्णय आधार बनाई गरेको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण भएकोले बिमा सम्झौतामा समावेश नभएका वस्तुहरूको नोक्सानीलाई दाबी गर्न नमिल्ने भनी गरेको फैसलालाई सम्म सदर गरी बाँकी नोक्सानीको हकमा बीना कुनै कारण सर्वेयरको प्रतिवेदन तथा सुरू बिमा समितिको निर्णयभन्दा फरक हुने गरी निर्धारण भएको रकम रू. ५,३७,८४०।- पुनरावेदक कम्पनीले तिर्नुपर्ने भनी गरेको हदसम्मको फैसला बदर गरी सर्वेयरको प्रतिवेदन तथा सुरू बिमा समितिको निर्णयबमोजिमको दायित्व मात्र पुनरावेदकले तिर्नु पर्ने गरी न्यायिक इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादीको पुनरावेदन पत्र ।
सर्वेयर (Valuator) ले बिमक तथा बिमितका प्रतिनिधिलाई समेत रोहवरमा राखी भएको मूल्याङ्कन र ठहरका बिच बिगोमा अस्वाभाविक रूपमा फरक परी भिन्नता रहेको तथा सर्वेयर (Valuator) ले सन् २००६-०३-१९ मा दिएको प्रतिवेदनमा भवनको क्षमतासमेतलाई उल्लेख गरी प्रतिवेदन दिएको अवस्थामा Valuator ले वस्तुगत आधार प्रस्तुत नगरी गरेको रकमलाई वास्तविक क्षतिको अंक मान्न मिलेन भनी पुनरावेदन अदालत पाटनबाट मिति २०६८/९/११ गते भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा विचारणीय भई फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. प्रयोजनार्थ प्रतिवादीलाई झिकाई नियमानुसार गरी पेस गर्नू भनी यस अदालतबाट मिति २०७४।७।२९ मा भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन पत्रसहितका मिसिल संलग्न प्रमाण कागजातहरूको अध्ययन गरियो ।
पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ता श्री भरतकुमार लकाईले बिमा सिद्धान्त तथा सामान्य करारको मान्यतासमेतको विपरीत निर्णयाधार बनाई सुरू बिमा समितिको निर्णय उल्टी गर्ने गरी गरेको पुनरावेदन अदालत पाटनको फैसला नमिलेको हुँदा बदर गरी सर्वेयरको प्रतिवेदन तथा सुरू बिमा समितिको निर्णयबमोजिमको दायित्व मात्र पुनरावेदकले तिर्नु पर्ने गरी इन्साफ हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी वादीको तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ता श्री सिताराम अग्रवालले मेरो पक्षको जय श्री श्याम सप्लायर्समा मिति २०६२।७।८ गते राति विद्युत् लाइन सर्ट भई आगलागी भएकोले पसलभित्र रहेका रू.६,६६,०४०।– बराबरका सामानहरू आगलागीबाट नष्ट भएको हुँदा सो रकम बराबरको क्षतिपूर्ति पुनरावेदकबाट पाउनु पर्नेमा सो रकमभन्दा कम क्षतिपूर्ति दिलाउने गरी भएको पुनरावेदन अदालत पाटनसमेतको फैसला बदर गरी मेरो पक्षको क्षति भएको समानको मूल्य रू.६,६६,०४०।– क्षतिपूर्तिबापतमा दिलाई भराइ पाउनु पर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।
सुरू बिमा समितिबाट भएको निर्णयलाई उल्टी गरी पुनरावेदन अदालत पाटनबाट वादी जय श्री श्याम सप्लायर्सले रू.५,३७,८४०।– भराइ पाउने ठहर्याएको फैसलाउपर चित्त नबुझाई प्रतिवादीको पुनरावेदन परेको प्रस्तुत मुद्दामा पुनरावेदक र प्रत्यर्थीको तर्फबाट रहनु भएका विद्वान् अधिवक्ताहरूले आआफ्नो पक्षको तर्फबाट प्रस्तुत गर्नुभएको उल्लिखित बहससमेत सुनी पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ छैन ? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, मेरो जय श्री श्याम सप्लायर्समा मिति २०६२।७।८ गते राति विद्युत् लाइन सर्ट भई आगलागी भएकोले पसलभित्र रहेका रू.६,६६,०४०।– बराबरका सामानहरू आगलागीबाट नष्ट भएको हुँदा सो रकम बराबरको क्षतिपूर्ति बिमक नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडबाट दिलाई भराइ पाउँ भन्ने बिमित अशोककुमार अग्रवालको निवेदन माग दाबी । सर्वेयरले गरेको क्षति मूल्याङ्कनको आधारमा रू.६६,१००।- दाबी भुक्तानी दिने बिमकको भनाइलाई अन्यथा भन्न मिल्ने नदेखिएकोले निवेदन खारेज हुने ठहर्छ भन्ने सुरू बिमा समितिको मिति २०६६।१।९ को निर्णय । बिमा समितिको निर्णय केही उल्टी भई बिमित अशोककुमार अग्रवालले क्षतिको मूल्याङ्कनबापत रू.५,३७,८४०।- पाउने ठहर्छ भनी पुनरावेदन अदालत पाटनबाट मिति २०६८।९।११ मा भएको फैसला । सो फैसलामा चित्त नबुझाई बिमक नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट यस अदालतमा पुनरावेदन परेको देखियो ।
३. किराना पसल र गोदाम गरी जम्मा दश लाख रूपैंयाको बिमा गर्ने बिमितले रू.६,६६,०४०।- बराबरको सामान किराना पसलमा सजाएर राखे र ती सबै वस्तु आगलागीबाट जलेर पूरै नष्ट भएको भन्ने पत्यारिलो र वस्तुनिष्ठ आधार पेस गर्न सक्नुभएको
छैन । बिमितको दाबी अनुसार आगलागीबाट क्षति भएको भए बिमितले सर्वेयरलाई गोदामको जाँच गर्न रोक्नु पर्ने कुनै कारण थिएन । सर्वेयरले बिमा सम्झौताबमोजिमको क्षति मापन गर्दा वास्तविक क्षतिको रकम निकाल्नु पर्ने निजको कर्तव्य नै
हुन्छ । बिमा सम्झौतामा समावेश नभएका वस्तुहरूको नोक्सानीलाई दाबी गर्न नमिल्ने भनी गरेको हदसम्मको फैसलालाई सदर गरी बाँकी नोक्सानीको हकमा बिना कुनै कारण सर्वेयरको प्रतिवेदन तथा सुरू बिमा समितिको निर्णयभन्दा फरक हुने गरी निर्धारण भएको रकम रू. ५,३७,८४०।- पुनरावेदक कम्पनीले तिर्नुपर्ने भनी गरेको हदसम्मको सुरू पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण रहेकोले बदर गरी सर्वेयरको प्रतिवेदन तथा सुरू बिमा समितिको निर्णयबमोजिमको दायित्व मात्र पुनरावेदकले तिर्नु पर्ने गरी न्यायिक इन्साफ गरिपाउँ भन्ने पुनरावेदक नेशनल इन्स्योरेन्सको पुनरावेदन जिकिर रहेको देखिन्छ ।
४. मेरो जय श्री श्याम सप्लायर्समा मिति २०६२।७।८ को राति विद्युत् लाइन सर्ट भई आगलागी भई पसलभित्र रहेका सामानहरू आगलागीबाट नष्ट भएकोले मैले विपक्षीहरूलाई तत्काल सो सम्बन्धमा जानकारी दिई प्रमाणसहित रू.६,६६,०४०।- क्षतिपूर्तिको लागि दाबी गरेको थिए । विपक्षीले मलाई मर्का पर्ने गरी क्षतिपूर्तिको दायित्व निर्धारण गरेको हुँदा सोलाई बदर गरी यथार्थ रूपमा मलाई नोक्सानी भएको रू.६,६६,०४०।- क्षतिपूर्तिबापत विपक्षीबाट दिलाई पाउँ भन्ने बिमित अशोककुमार अग्रवालको मिति २०६३।११।२८ को उजुरी निवेदन रहेको देखियो ।
५. बिमितले सि.नं. २ मा ट्युब २८ थानको मूल्य रू.३३,६००।-, सि.नं. ११ मा मोटर साइकल १ थानको मूल्य रू.५०,०००।-, सि.नं. १२ मा टेबुल कुर्सी १ सेटको मूल्य रू.१०,०००।-, सि.नं. १३ मा वायरिङ, पंखा र बल्वको मूल्य रू.३०,०००।-, सि.नं. १४ मा फोन १ सेटको मूल्य रू.३,०००।– र सि.नं. १५ मा क्यालकुलेटर २ थानको मूल्य रू.१,६००।– समेत गरी जम्मा मूल्य रू.१,२८,२००।– को सामानहरू आगो लागी नोक्सान भएको भनी दाबी गरेको देखिएकोमा बिमकको Valuator Er.S.K.Yadav को मिति १९.०३.२००६ को रिपोर्टमा सि.नं. २, ११, १२, १३, १४ र १५ का सामानहरूको हकमा N/A भनी उल्लेख गरेको देखिन्छ । बिमितले सि.नं. १ मा गोरखकाली ट्रक टायर थान १० आगो लागी नोक्सान भएको भनी रू.१,७०,०००।- को दाबी गरेको देखिएकोमा बिमकको Valuator Er.S.K.Yadav को मिति १९.०३.२००६ को रिपोर्टको सि.नं.१ मा उल्लिखित सो टायरको क्षति भएको जम्मा रू.३६,०००।– मात्र हो भनी उल्लेख गरेको देखिन्छ । त्यसैगरी बिमितले सि.नं. ३ देखि १० सम्ममा उल्लेख गरेका सामानहरूको जम्मा मूल्य रू.३,६७,८४०।– बराबरको सामानहरूसमेत आगो लागी नोक्सान भएको भनी दाबी गरेको देखिएकोमा बिमकको Valuator Er.S.K.Yadav को मिति १९.०३.२००६ को रिपोर्टमा सि.नं. ३ देखि १० सम्मका सामानहरूको हकमा समेत बिमितले माग गरेको रकमभन्दा धेरै कम रकम मूल्याङ्कन गरेको देखिन्छ ।
६. मिसिल संलग्न रहेको आगो लागी भई क्षतिग्रस्त भएको पसलको फोटोहरू हेर्दा आगो लागी भएको पसलमा बिमितले माग दाबी लिएको सि.नं. १ मा उल्लेख भएको ट्रक टायर थान १० र अन्य उल्लिखित सम्पूर्ण सामग्रीहरू अट्न सक्ने क्षमता रहे भएको भन्ने देखिन आउँदैन । Valuator ले दिएको रिपोर्टमा गरिएको मूल्याङ्कन विपक्षीले माग गरेको मूल्यभन्दा ज्यादै न्यून रहेको देखियो । यस प्रकार न्यून मात्र नोक्सानी भएको पुष्टि हुने आधारसमेत पेस भएको देखिँदैन । Valuator ले निष्पक्ष र स्वतन्त्र रूपमा नोक्सान भएको वास्तविक मूल्याङ्कन गर्नुपर्ने हुन्छ । आगो लागि भएपछि डढेका काम नलाग्ने र काम लाग्ने सामानहरूको Physical verification हुनु आवश्यक हुन्छ । विपक्षीले सो कार्य गर्न नदिएको भनी आफ्नो दायित्वबाट विमुख भई न्यून क्षतिको मूल्याङ्कन गरिनु उपयुक्त हुँदैन । Valuator ले घटनास्थलको अवलोकन गरी वस्तुको physical verification गरी कति आइटम सामान आगोले डढेको, कति आइटम सामान आगो निभाउने क्रममा क्षति भएको भनी उल्लेख गर्नुपर्नेमा सो गरेकोसमेत देखिन आउँदैन । Valuator ले गरेको बिगो मूल्याङ्कन घटनास्थलको तत्काल खिचिएको फोटोसमतेबाट मेलखाएको देखिन
आउँदैन । निज Valuator ले वास्तविक क्षतिको गणना गरी पूर्ण रिपोर्ट दिनुपर्ने हुन्छ । बिमकले गोदाम हेर्न दिएन भनी रिपोर्टमा लेखी क्षति भएको भन्दा ज्यादै न्यूनतम मूल्याङ्कन गरेकोसमेत न्यायोचित हुने देखिन आएन ।
७. बिमकको Valuator ले बिमा समितिमा दिएको जवाफमा ....the insured did not allow me the segregation of the effected cartoons sack etc but on the merit of the fire I have assessed the loss उल्लेख गरेको हुँदा वास्तविक हानि नोक्सानी के कति भएको थियो भनी खुलाउन सक्ने स्थिति नरहेको अवस्थामा अनुमानको भरमा मूल्याङ्कन गरेको न्यायोचित मान्न सकिँदैन । Valuator ले नोक्सान भएका र काम नलाग्ने सामग्रीहरू छुट्याई यथार्थ रूपमा हानि नोक्सानीको बिगो उल्लेख गर्नुपर्ने थियो । विपक्षीले पसलमा खाद्यन्न सामग्री, तेल आदि पदार्थहरू राखेको भन्ने
देखिन्छ । त्यी सामग्रीहरू आगोलागी हुँदा सामान्यतया काम लाग्ने अवस्थामा रहन सक्ने हुँदैन । बोराको कुनै भागमा आगोलागीले डढेको भए सम्पूर्ण बोराभित्रको खाद्यान्न सामग्री नै प्रयोग गर्न नसकिने भई नोक्सानी हुन जान्छ । प्रहरीको मिति २०६२।७।२९ को पत्रमा उल्लिखित कुरालाई पनि Valuator ले अन्यथा भन्न सकेको देखिँदैन । Valuator को रिपोर्टको अन्तिम वाक्य “... It is observed that the damages are practical and genuine.” ले पनि बिमितको माग Justified छ भन्ने कुरा अर्थ निकाल्न मिल्ने नदेखिनेसमेत होइन ।
८. बिमकको Valuator Er.S.K.Yadav ले आफ्नो मिति १९-३-२००६ को रिपोर्टमा बिमितले माग गरेको सि.नं. २, ११, १२, १३, १४ र १५ का सामानहरूको हकमा N/A भनी उल्लेख गरेको र सि.नं.१ मा १० थान ट्रक टायरको जम्मा क्षति रू.३६,०००।– भनी दिएको मूल्याङ्कनको हदसम्म मनासिब देखिएको र सि.नं. ३ देखि १० सम्मका सामानहरूको रकमको हकमा Valuator ले वस्तुगत आधार प्रस्तुत नगरी गरेको Valuation रकमलाई वास्तविक क्षतिको अंक मान्न मिल्ने नदेखिएकोले फरक मूल्याङ्कन गरेको मिलेको देखिन आएन ।
९. त्यसैले बिमितले दाबी गरेको सि.नं.२, ११, १२, १३, १४ र १५ मा उल्लिखित सामानहरू Valuator ले आफ्नो रिपोर्टमा बिमा सम्झौतामा समावेश नभएको भनी (N/A) उल्लेख गरेको हुँदा बिमाले कभर नगरेको सामानहरूको मूल्य रू.१,२८,२००।- लाई हानि नोक्सानी भएको भनी मान्न मिलेन । टायरको नोक्सानी भनी सि.नं. १ मा उल्लिखित रू.१,७०,०००।– दाबीको सन्दर्भमा त्यति संख्यामा टायर पसलमा रहन सक्ने नदेखिएकोले Valuator ले सो सि.नं. १ को नोक्सानी सम्बन्धमा गरेको मूल्याङ्कन रू.३६,०००।– लाई मनासिब नै देखिएकोले बढी दाबी गरेको रू.१,३४,०००।– लाई मनासिब मान्न मिलेन । अतः बिमाले कभर नगरेको रू.१,२८,०००।– र टायर नोक्सानी भएको भनी बढी दाबी गरेको रू.१,३४,०००।– समेत गरी रू.२,६२,२००।– विपक्षी बिमितले भराइ पाउन सक्ने देखिन आएन ।
१०. तसर्थ, उल्लिखित आधार कारणहरूसमेतबाट सि.नं.३ देखि १० सम्ममा उल्लिखित सामानहरूको बिमितले दाबी गरेबमोजिमको मूल्य रू.३,६७,८४०।– र टायरको क्षति भएको मूल्य रू.३६,०००।– समेत गरी जाम्मा रू.४,०३,८४०।–बिमितको क्षति हुन गएको देखिएको अवस्थामा सो रकम बिमक पुनरावेदक नेशनल इन्स्योरेन्स कम्पनीबाट बिमित प्रत्यर्थी अशोककुमार अग्रवाललाई भराइ दिनु पर्नेमा रू.५,३७,८४०।– भराइ दिने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०६८।०९।११ मा भएको फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई बिमित प्रत्यर्थी अशोककुमार अग्रवालले बिमक पुनरावेदक नेशनल इन्स्योरेन्स कम्पनीबाट जम्मा रू.४,०३,८४०।– भराइ लिन पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल खण्ड
माथि ठहर खण्डमा उल्लेख भएबमोजिम पुनरावेदन अदालत पाटनको फैसला केही उल्टी भई बिमित प्रत्यर्थी अशोककुमार अग्रवालले बिमक पुनरावेदक नेशनल इन्स्योरेन्स कम्पनीबाट जम्मा रू.४,०३,८४०।– भराइ लिन पाउने ठहरेकोले सो रकम बिमक नेशनल इन्स्योरेन्स कम्पनीबाट बिमित अशोककुमार अग्रवाल भराइ दिनु भनी सुरू बिमा समिति, काठमाडौंमा लेखी पठाई दिनू -------------------------------------------१
प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू -----------------------२
उक्त रायमा सहमत छु ।
न्या.सुष्मालता माथेमा
इजलास अधिकृत : नारदप्रसाद भट्टराई
इति संवत् २०७६ साल कार्तिक २५ गते रोज २ शुभम् ।