शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०३७४ - ठगी

भाग: ६१ साल: २०७६ महिना: माघ अंक: १०

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत

माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही

फैसला मिति : २०७६।१।११

 

मुद्दाः ठगी

 

०७१-CR-०५४६

पुनरावेदक / वादी : भीमबहादुर खत्रीसमेतको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : बागलुङ जिल्ला हटिया गा.वि.स. वडा नं. ३ बस्ने ओमबहादुर खड्कासमेत

 

०७२-CR-०१८४

पुनरावेदक / प्रतिवादी : बागलुङ जिल्ला हटिया गा.वि.स. वडा नं.३ बस्ने ओमबहादुर खड्का

विरूद्ध

प्रत्यर्थी / वादी : भीमबहादुर खत्रीसमेतको जाहेरीले नेपाल सरकार  

 

कानूनले कसुर नमानेको विषयमा कसैउपर मुद्दा चलाउने र कसुरदार ठहर गर्ने कार्य फौजदारी न्यायको सिद्धान्तविपरीत 

हुन्छ । देवानी दायित्वअन्तर्गतको विषयलाई समेत मिसाई फौजदारी कसुरमा प्रतिवादीलाई सजाय गर्न जाहेरी परेको अवस्थामा बलजफ्ती फौजदारी प्रकृतिको विवाद सिर्जना गर्न नहुने ।

(प्रकरण नं.६)

आफ्नो रकम फिर्ता माग्दा फिर्ता नगरी लुकिछिपी हिँड्ने, सम्पर्क नगर्ने जस्तो कार्य गरेको देखिएकोले झुक्याइ गफलतमा पारी जाहेरवालाहरूको रकम लिने खाने पचाउने नियत लिएको कार्य ठगीजन्य कसुरअन्तर्गत पर्ने ।

(प्रकरण नं.१२)

अभिभावक बाबुले आफ्नो दायित्व निर्वाह गर्न रकम खर्च गरेको कारणले मात्र छोरा छोरीलाई कसुरदार ठहर गर्नु न्यायको रोहबाट नमिल्ने ।

(प्रकरण नं.१६)

 

वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री श्यामकुमार भट्टराई, विद्वान् अधिवक्ता श्री कृष्णराज शर्मा

प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रमनकुमार श्रेष्ठ, विद्वान् अधिवक्ताहरू श्री ज्ञानेन्द्रप्रसाद पोखरेल, श्री योगेन्द्रबहादुर अधिकारी, श्री भोजबहादुर ढकाल र श्री नरबहादुर योगी

अवलम्बित नजिर :

ने.का.प.२०६६, अंक ४, नि.नं.८११९

सम्बद्ध कानून : 

 

सुरू तहमा फैसला गर्नेः

माननीय श्री डिल्लीरमण तिवारी

बागलुङ जिल्ला अदालत

पुनरावेदनमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री उमेशराज पौड्याल

माननीय न्यायाधीश श्री लेखनाथ घिमिरे

पुनरावेदन अदालत, बागलुङ

 

फैसला

न्या.प्रकाशमान सिंह राउत : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतको अधिकार क्षेत्रभित्रको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य र ठहर यसप्रकार छः-

तथ्य खण्ड

एउटै परिवारका सबै विपक्षीहरूले म भीमबहादुर खत्रीको छोरा विदेश पठाई दिन्छु भनी रू.९६,०००।-, म तेजबहादुर खत्रीको मानिस विदेश पठाउने भनी रू.७२,०००।-, म बमबहादुर बस्नेतको छोरा बाहिर पठाउन भनी रू.१,४६,५००।, म टेकबहादुरको छोरालाई बाहिर पठाउन भनी रू.१,३१,०००।-, म कृष्णबहादुर खड्कालाई भैंसी दिन्छु भनी रू.३०,०००।-, म कृष्णदत्त उप्रेतीको छोरा विदेशमा पढाउन पठाउने भनी रू.१३,७४,०००।-, म भीमबहादुर खड्काको श्रीमतीलाई उपचार गराउँछु भनी झुक्याई रू.१,००,०००।-, म टिकाबहादुर खड्कालाई सुन किनिदिने भनी रू.१,०४,०००।- र गाउँका अन्य १४६ जना व्यक्तिहरूसँग झुटो बहाना बनाई हुँदै नभएको नगरेको कामको प्रयोजनको लागि रू.१,५०,००,०००।- (एक करोड पचास लाख) बराबर रकम झुक्यानमा पारी ठगी गरेको हुँदा निजसमेतका पाँचजनालाई आवश्यक कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको भीमबहादुर खत्रीसमेतको जाहेरी दरखास्त ।

विपक्षी ओमबहादुरले आफू फाइनान्स जस्तै संस्था हुँ भनी ढाँटी म यामबहादुर अधिकारीसँग रू.१,४२,०००।-, म नइन्द्रबहादुर खड्काबाट रू.१,२५,०००।-, म प्रेमबहादुर अधिकारीबाट रू.१,०३,५००।-, म नरबहादुर खड्काबाट रू.५०,०००।-, म खगबहादुर नेपालीबाट रू.१,४८,०००।-, म यमबहादुर नेपालीबाट रू.२,७१,०००।-, म गंगाधर गैरेबाट रू.१,००,०००।, म गंगदत्त उप्रेतीबाट रू.१,९२,०००।-, म होमबहादुर अधिकारीबाट रू.२,०५,०००।-, म जिवन्तकुमारी रेग्मीबाट रू.१,००,०००।-, म मसुरी नेपालीबाट रू.६१,०००।-, म रूपा बुढाथोकीबाट रू.३९,०००।-, म टिकाराम नेपालीबाट पहिला नम्बर सुन तोला २ १/२, म भविन्द्रबहादुर पाण्डेबाट रू.२,३०,०००।-, म दुर्गा थापाबाट रू.३६,०००।, म सन्तकुमारी बोहराबाट रू.२५,०००।-, म रामबहादुर खत्रीबाट रू.१,५६,०००।-, म तुलबहादुर बोहराबाट रू.१,००,०००।-, म गोविन्दप्रसाद गौतमबाट रू.४१,५०४।-, म दुर्गाबहादुर खड्काबाट रू.१,२०,०००।-, म तुलसी बोहराबाट रू.५,०००।, म हर्कबहादुर खत्रीबाट रू.९५,०००।, म भीमबहादुर खत्रीबाट रू.१,४८,०००।-, म प्रेमबहादुर बोहराबाट रू.५८,६००।-, म लालबहादुर बस्नेतबाट रू.१,५०,०००।-, म जंगबहादुर बोहराबाट रू.३१,०००।-, म गजिन्द्रबहादुर खत्रीबाट रू.२,२१,०००।-, म जमुना थापाबाट रू.४४,०००।-, म छविलाल के.सी.बाट रू.९०,०००।-, म तुलबहादुर भण्डारीबाट रू.३,५६,०००।-, म टेकबहादुर उप्रेती (ख) बाट रू.१,४१,०००।-, म भद्रबहादुर खत्रीबाट रू.१,००,०००।-, म टीकाकुमारी बुढाथोकीबाट रू.१,००,०००।-, म दुर्गाबहादुर खड्काबाट रू.६८,०००।-, म झमबहादुर थापाबाट रू.५०,०००।- बचत लिएका छन् । विपक्षीले हामीमध्ये कसैलाई पनि सो रकम फिर्ता नगरेको साथै सहकारी ऐनअन्तर्गत सहकारी र कानूनबमोजिम फाइनान्स पनि दर्ता नगरी सहकारी हो, फाइनान्स हो भन्दै हामीलाई झुक्याई गफलतमा पारी रकम हात पारिसकेपछि हाल कारोबार नै बन्द गरी लुकीछिपी बसेकोले विपक्षीबाट हामीमाथि धोका हुन गई ठगिएको थाहा हुन आएकोले यो जाहेरी दिन आएका छौं । विपक्षीहरूलाई सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको ओमबहादुर अधिकारीसमेतको जाहेरी दरखास्त ।

म पदमराज पाण्डेबाट रू.१,४२,०००।, म गोविन्दबहादुर खत्रीबाट रू.१,१५,६००।, म प्रेमबहादुर खत्रीबाट रू.१,८०,०००।-, म प्रेमबहादुर खड्काबाट रू.५०,०००।-म बमबहादुर खड्काबाट २,०६,३६८।, म रत्‍नबहादुर बोहराबाट रू.२०,०००।, म रिमबहादुर कार्कीबाट रू.१,५०,०४०।, म पदम नेपालीबाट रू.१,५०,०००।, म दलबहादुर पन्तबाट रू.२२,५००।, म मीनबहादुर खत्रीबाट रू.५०,०००।, म टेकबहादुर थापाबाट रू.४४,०००।, म कृष्णप्रसाद शर्माबाट ५०,०००।-, भवानीप्रसाद पाण्डेको हकवालाले पाउने गरी लिएको रू.४२,०००।, म यामबहादुर वि.क.को रू.२३,०००।, म प्रेमबहादुर खड्काको रू.५०,०००।, म कृष्णप्रसाद गौतमबाट रू.५०,०००।, म फमबहादुर खड्काबाट रू.३१,०००।, म विष्णुकुमारी गौतमबाट रू.२०,०००।-, म खिमकुमारी बस्नेतबाट रू.५०,०००।-, म धनबहादुर नेपालीबाट रू.१,६०,०००।-, म मिनाकुमारी खड्काबाट रू.४०,०००।-, म बुद्धिबहादुर खड्काबाट रू.४४,६००।-, म भेषराज पन्तको रू.२,९०,२००।, म भविन्द्रबहादुर बोहराबाट रू.२,१८,०००।-, म डिलबहादुरबाट रू.२०,०००।-, म हर्कबहादुर खत्रीबाट रू.२,००,०००।-, म नवराज गौतमबाट रू.४०,०००।, म खड्कबहादुर खड्काबाट रू.१,००,०००।-, म सम्मरबहादुर खत्रीबाट रू.१,०००००।- म लोकनाथ गैरेबाट रू.१,९५,०००।-, म अम्मरबहादुर बस्नेतबाट रू.८०,६००।-, म देवेन्द्र खत्रीबाट रू.८७,०००।, म लक्ष्मण थापाको रू.६०,०००।– र म राजेन्द्र सुनारबाट रू.२,२६,०००।- हामीलाई झुक्याई लिई ठगी गरेकोले कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको पदमराज पाण्डेसमेतको जाहेरी दरखास्त ।

विपक्षी ओमबहादुर खड्काले आफू फाइनान्स जस्तै संस्था हो भनी ढाँटी रू.१,४८,०००।– बुझिलिएकोमा फिर्ता नगरेको र सो रकम पचाउने नियतले फाइनान्स संस्था दर्ता गरी कारोबार गरेको भनी झुक्याई रकम हात पारेकोले म ठगिन गएको कुरा थाहा पाई जाहेरी दिन आएको छु । विपक्षीलाई कारबाही गरी बिगो भराई पाउँ भन्‍नेसमेत बेहोराको चन्द्रबहादुर कार्कीको जाहेरी ।

विपक्षी ओमबहादुरले फाइनान्स जस्तै संस्था हो भनी ढाँटी मबाट रू.६०,०००।- र मेरी एकाघरकी बुहारी शोभाबाट रू.५०,०००।- बुझी लिएकोमा हाल आएर विपक्षीले कारोबार बन्द गरी लुकीछिपी बस्न थालेकोले ठगिन पुगेको थाहा हुन आएकोले जाहेरी दरखास्त लेखी आएको छु । विपक्षीलाई कानूनबमोजिम कारबाही गरी मेरो ठगिएको बिगो भराइ पाउँ भन्‍नेसमेत बेहोराको ढुण्डिराज पाण्डेको जाहेरी ।

विपक्षी ओमबहादुरले आफू फाइनान्स जस्तै संस्था हुँ भनी झुक्याई म प्रेमप्रसाद पाण्डेको बैनी लालकुमारी न्युरेसँग रू. ७०,०००।-, म ओमबहादुर थापाको साहिँलो बुबा नरबहादुर थापासँग रू.१,००,०००।-, एकाघरको भाइ बुहारी पद्मकुमारीसँग रू.१,००,०००।- बचत रकम बुझिलिएकामा तोकिएको समयमा फिर्ता नगरेको र कारोबार बन्द गरी लुकिछिपी बस्न थालेकोले ठगिन गएको थाहा जानकारी हुन आयो । विपक्षीलाई ठगी मुद्दामा कारबाही गरी हाम्रो बिगो दिलाई भराई पाउँ भन्‍नेसमेत बेहोराको ओमबहादुर थापासमेतको जाहेरी दरखास्त ।

प्रतिवादी ओमबहादुर खड्काले आफू फाइनान्स जस्तो स्वीकृत प्राप्त संस्था हुँ । अन्य संस्थामा भन्दा ब्याज बढी दिन्छु भनी ढाँटी मिति २०६३।१०।२३ मा रू.१,२९,०००।– र  मिति २०६४।३।४ मा रू.३५,०००।- बुझिलिएकोमा रकम हात पारी मिति २०६७।१।२ गतेदेखि कारोबार बन्द गरी लुकिछिपी बसेकोले विपक्षीलाई ठगीमा मुद्दा चलाई मेरो बिगो भराइ पाउँ भन्‍नेसमेत बेहोराको दुर्गादत्त कँडेलको जाहेरी दरखास्त ।

अन्य संस्थामा भन्दा बढी ब्याज दिन्छु भनी ढाँटी रू.४,६८,०००।- बचत रकम बुझी तोकिएको समयमा फिर्ता नगरेको र आफू सहकारी संस्था भएको जस्ता झुट्टा कुरा गरी रकम हात पारेपछि कारोबार बन्द गरी लुकीछिपी बसेकोले पक्राउ गरी ठगी खाएको बिगो भराई पाउँ भन्‍नेसमेत बेहोराको देवेन्द्रबहादुर थापाको जाहेरी दरखास्त ।

बागलुङ जिल्ला हटिया गा.वि.स. वडा नं.३ स्थित हटिया बजार पूर्वमा गल्कोट उच्च मा.वि., पश्‍चिममा फिल्म हल, उत्तरमा बागलुङ बुर्तिबाङ राजमार्ग, दक्षिणमा ईश्‍वर गौतम फोटोग्राफ यति ४ किल्लाभित्र ओमबहादुरको घर, उक्त घरभित्र प्रवेश गरी हेर्दा ओमबहादुर खड्का सुत्‍ने कोठादेखि १० मिटर दक्षिण कोठामा काठको दराज, उक्त दराज खोली हेर्दा रातो कभरमा सङ्गम लेखिएको विभिन्‍न नामको हिसाब किताब रहेको रजिस्टर लेजर थान ३ र नोभा लेखिएको डायरीसमेत बरामद गरिएको भन्‍ने बरामदी मुचुल्का ।

मैले जाहेरी दरखास्तमा उल्लेख गरिएबमोजिमको रकम लिएको हुँ । बैङ्कजस्तो सहकारी संस्था सञ्‍चालनसमेत गरेको भनेको हुँ । उक्त कार्य गर्नको निमित्त कुनै संस्था वा सरकारी निकायमा दर्ता गरेको छैन । जाहेरवालाहरूसँग पैसा उठाउन मेरो छोरा दीपक खड्का, दिनेश खड्का, छोरी रूपा खड्का र बुहारी नारायणी खड्कासमेत भई पैसा उठाई ल्याउने काम गरेका हुन् । बेरोजगार युवाहरूलाई युरोपमा विभिन्‍न देशहरूमा पठाई दिने भनी झुक्याइ जाहेरीमा उल्लेख भएबमोजिमको रकम ठगी गरेको हुँ । जाहेरी दरखास्तको बेहोरा ठिक हो । भरपाई कागजमा पैसा बुझी मैले नै सहिछाप गरेको हुँ भन्‍नेसमेत बेहोराको प्रतिवादी ओमबहादुर खड्काले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मैले नेपाल राष्ट्र बैङ्क काठमाडौंबाट इजाजत पत्र प्राप्त गरेको हुँ । सहकारी संस्था खोली जनताको सेवा गर्ने हो । पैसा जम्मा गर्नुहोस् । बैङ्कले भन्दा बढी ब्याज दिन्छु भनी हामी सोझा जनतालाई पैसा जम्मा गर्न लगाई निज ओमबहादुर खड्काले ठगी गरेका हुन् । निजले बेरोजगार युवा वर्गलाई युरोप जस्ता राम्रा देशमा पठाइदिने भनी झुटो आश्‍वासन दिई मोटो रकम उठाई युवाहरूलाई विदेश नपठाइकन ठगी गरेका हुन् । जाहेरीमा उल्लेख गरेका बाहेक अन्य मानिसहरूलाई समेत निजले ठगी गरेका छन् । गाउँको शिक्षकजस्तो मानिस जनताको भलाइका लागि निजले सहकारी संस्था फाइनान्स खोली रीतपूर्वक सञ्‍चालन गरे होलान् भनी रकम जम्मा गरेका हौं । विभिन्‍न लोभ लालच देखाई झुक्यानमा पारी ठगी गरेको हुँदा निजलाई कानूनबमोजिम कारबाही हुनुपर्दछ भन्‍नेसमेत बेहोराको जाहेरवाला खगबहादुर नेपालीसमेतले जाहेरीमा नखुलेको कागज लेखाई दिएको ।

जाहेरवाला देवेन्द्र थापासमेतका सबै व्यक्तिहरूबाट जाहेरीमा उल्लिखित रकम उठाई ठगी गरेको हुँ । जाहेरीमा उल्लिखित भरपाईमा गरेको सहिछाप मेरा हुन् । अक्षरसमेत मैले नै लेखेको हुँ भन्‍ने बेहोराको प्रतिवादी ओमबहादुर खड्काको ततिम्बा बयान कागज ।

प्रतिवादी ओमबहादुर खड्काले राजनीतिक अस्थिरताका कारण हरिचौरमा रहेका बैङ्क विस्थापित भएपछि राष्ट्र बैङ्क काठमाडौंबाट इजाजत ल्याई सहकारी संस्था खोलेको हुँ भनी झुटो आश्‍वासन र प्रलोभनमा पारी जाहेरवालाहरूबाट रकम सङ्कलन गर्ने र विभिन्‍न स्थानमा घर घडेरी किनी सिधा जनतालाई ठगी गरेको भनी सुनेको हुँ । प्रतिवादीहरू दीपक खड्का, दिनेश खड्का, छोरी रूपा खड्का, बुहारी नारायणी खड्कासमेतले विभिन्‍न युवाहरूलाई विदेश पठाइदिने भनी पैसा उठाई नपठाई ठगी गरेको हो निजहरूलाई कानूनबमोजिम कारबाही हुनुपर्दछ भन्‍नेसमेत बेहोराको बाबुराम नेपाली, लालकुमारी न्युरे, धनबहादुर शाहनी र अर्जुन चोखालसमेतका मानिसहरूले लेखाइदिएको घटना विवरण कागज एवं वस्तुस्थिति मुचुल्का ।

प्रतिवादीहरू दीपक खड्का, दिनेश खड्का, नारायणी खड्का र रूपा खड्कालाई खोजतलास गर्दा फेला नपरेको भन्‍नेसमेत बेहोराको प्रहरीको प्रतिवेदन ।

जाहेरवालाहरूबाट रू.१,०४,६४,०१२।– लिन खानको लागि लिई जग्गा खरिद गरेको, बेलायत गई बसेको, अध्ययन गरेको र चाहिएको बखत फिर्ता नगरेकोसमेतको प्रतिवादीहरूको कार्य मुलुकी ऐन, ठगीको महलको १ र ५ नं. विपरीतको कसुर अपराध भएको हुँदा मुख्य व्यक्ति ओमबहादुर खड्कालाई सोही ऐनको ठगीको महलको ४ नं. बमोजिम र अन्य प्रतिवादीहरूलाई सोही महलको ५ नं. बमोजिम सजाय हुन साथै पीडित जाहेरवालाहरूबाट प्रतिवादीहरूले ठगी गरिलिएको बिगो रकमसमेत जाहेरवालाहरूलाई दिलाई भराई पाउन र फरार रहेका प्रतिवादीहरू जना ४ लाई म्याद जारी गरी पाउनसमेत भनी मागदाबी लिई सक्कल मिसिल र पक्राउ प्रतिवादी जना १ लाई यसै अभियोग पत्रसाथ पेस गरिएको बेहोरा सादर अनुरोध छ भन्‍नेसमेत बेहोराको अभियोगपत्र ।

मिति २०६७ वैशाख ८ को जाहेरीमा उल्लिखित कुरामा मैले ठगी गरेको छैन । उक्त जाहेरीमा उल्लिखित रकमहरू केही अलि तिर्नु छ । धेरै लगिसकेका छन् । अन्य सबै जाहेरीको रकमसमेत ठगी गरेको हैन । मैले कसैलाई विदेश लगी दिन्छु भनी भनेको पनि हैन र सहकारी खोल्न इजाजत लिएको छु भनी भनेको पनि छैन । सहकारी वा त्यस्तो संस्थासमेत खोलेको हैन । जाहेरवालाहरूमध्ये केहीसँग मेरो लिनु पनि भएको र दिनु पनि भएकोले उक्त लेनदेन व्यवहारलाई बङ्गाएर यस्तो ठगी मुद्दाको जाहेरी गरेको हुनुपर्दछ । उक्त मितिको बरामदी मुचुल्काबमोजिमका रजिस्टर डायरी मेरो दराजबाट बरामद भएको ठिक हो । मेरो तमसुक र लालपुर्जासमेत बरामद भएका 

हुन् । घटना विवरणका कागजहरू झुट्टा हुन् । मैले विदेश पठाइदिन्छु वा बैङ्क सहकारी खोलेको छु भनी पैसा लिएको होइन र विदेश पठाइदिने आश्‍वासन कसैलाई दिएको छैन । अभियोगबमोजिम कुनै ठगी गरेको छैन । ठगी नगरेकोले सजाय हुनुपर्ने होइन भन्‍नेसमेत बेहोराको प्रतिवादी ओमबहादुर खड्काले सुरू अदालतमा गरेको बयान ।

पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी प्रतिवादीलाई हाल मुलुकी ऐन, अ.बं.११८ को देहाय (५) (१०) नं. बमोजिम रू. ५०,०००।– धरौटी लिई तारेखमा राख्‍नु, दिन नसके थुनामा राखी मुद्दामा पुर्पक्ष गर्नु, साथै फरार रहेका अभियुक्तहरूको नाममा म्याद जारी गरी नियमानुसार पेस गर्नु भन्‍नेसमेत बेहोराको बागलुङ जिल्ला अदालतको मिति २०६७।२।२ को आदेश ।

प्रतिवादीहरू दीपक खड्का, दिनेश खड्का, रूपा खड्का र नारायणी खड्काका नाउँमा जारी भएको म्याद मिति २०६७।२।१४ तामेल भएकोमा उपस्थित नभई सुरू म्यादै गुजारी बसेका रहेछन् ।

प्रतिवादीले १ लाख ५६ हजार ६ सय सानो चिरपट बनाई आफ्ना छोरा छोरीलाई पढाउन विदेश पठाउन भनी लगी ठगी गरेका हुन् । कानूनबमोजिम रकम पाउनुपर्छ । जाहेरी दरखास्त मेरो हो भन्‍नेसमेत बेहोराको जाहेरवाला रामबहादुर खत्रीको बकपत्र ।

मेरो भाइ बुहारीको १ लाख, साहिँलो बुबाबाट १ लाख दिउँला भनी लगेका, नदिई ठगेका हुन् भन्‍नेसमेत बेहोराको जाहेरवाला ओमबहादुर थापाको बकपत्र ।

मसमेतले जाहेरी दिएको हुँ । दुई लाख छ हजार रूपैयाँ लगेका र सावाँ ब्याज दिएका छैनन् । चिट भरपाई कागज लेखिदिएका छन् भन्‍नेसमेत जाहेरवाला बमबहादुर खड्काको बकपत्र ।

मिति २०६७ सालमा ओमबहादुर खड्काले २५ हजार रूपैयाँ लगी हालसम्म दिएका छैनन् । ठगी गरेको मेरो रकम रू.२५ हजार हो भन्‍नेसमेत सन्तकुमारी बोहराको बकपत्र ।

प्रतिवादीले पहिला १६ हजार र पछि २० हजार लगेका हुन् । जाहेरी दरखास्त मैले भनेबमोजिम लेखिएको ठिक साँचो हो भन्‍नेसमेत बेहोराको जाहेरवाला दुर्गा थापाको बकपत्र ।

प्रतिवादी ओमबहादुरसँग रू.१ लाख ४१ हजारको कारोबार भएको हो । जाहेरीमा भएको सहिछाप र बेहोरा मेरो हो भन्‍नेसमेत बेहोराको टेकबहादुर उप्रेती (ख) को बकपत्र ।

प्रतिवादी ओमबहादुरले रू.१ लाख मसँग २ महिनामा दिन्छु भनी सापटी लगी दिएनन्, पछि दिन्‍न भनी हाँक लगाए भन्‍नेसमेत बेहोराको जाहेरवाला गंगाधर गैरेको बकपत्र ।

म गिट्टी, बालुवा सोर्ने काम गर्दछु । ओमबहादुर खड्कालाई दुई रूपैयाँ ब्याज दिने गरी दुइपटकमा ६१ हजार दिएकी हुँ । जाहेरीमा भएको बेहोरा सहिछाप मेरो हो भन्‍नेसमेत बेहोराको मसुरी नेपालीको बकपत्र । 

प्रतिवादी ओमबहादुरलाई पहिला १ लाख २९ हजार, पछि ३५ हजार दिएको हुँ । मलाई आवश्यक पर्दा नदिएकोले जाहेरी दिएको हुँ भन्‍नेसमेत बेहोराको दुर्गादत्त कँडेलको बकपत्र ।

प्रतिवादी ओमबहादुरले पटक पटक गरी १ लाख ४८ हजार लगी तमसुक गरिदिनु भएको छ । जाहेरीमा भएको सहिछाप मेरो हो भन्‍नेसमेत बेहोराको चन्द्रबहादुर कार्कीको बकपत्र ।

ओमबहादुर खड्काका छोरा बुहारी सपरिवार लन्डनमा भएकोले मेरो छोरालाई पनि लन्डन पठाइदिन्छु भनी रू.१ लाख रूपैयाँ लगेका हुन् । झुटो लालच र लोभ देखाई मलाई ठगी गरे । जाहेरीमा भएको सहिछाप मेरो हो भन्‍नेसमेत बेहोराको भीमबहादुर खड्काको बकपत्र ।

ओमबहादुरसँग छोरा नातिलाई बाहिर पठाउँछु भनी १ लाख ४६ हजार लेनदेन कारोबार 

हो । लगेको ३/४ वर्ष भयो । पैसा माग्न जाँदा लुक्ने जस्तो कार्य गरी मलाई ठगी गरे, जाहेरी बेहोरा र सहिछाप मेरो हो भन्‍नेसमेत बेहोराको बमबहादुर बस्नेतको बकपत्र ।

महिनाको रू.२ का दरले ब्याज दिने गरी रू.५० हजार लिई ओमबहादुर खड्काले तमसुक गरी दिनु भएकोमा रू.२ हजार ब्याज दिनु भएको हो । पछि थप गरेर ७२ हजार गराई तमसुक गरिदिनु भएको हो । जाहेरी बेहोरा र सहिछाप मेरो हो भन्‍नेसमेत बेहोराको जाहेरवाला तेजबहादुर खत्रीको बकपत्र ।

प्रतिवादी ओमबहादुरले आफ्नो छोरा छोरीलाई लन्डन पठाउन भनी रू.१ लाख ३१ हजार लगेको हो । पैसा माग्दा नदिई लुकेको लुक्यै गरेर ठगी गरे । जाहेरी बेहोरा र सहिछाप मेरो हो भन्‍नेसमेत बेहोराको टेकबहादुर उप्रेती (क) को बकपत्र ।

ओमबहादुरले मसँगबाट ६० हजार र बुहारी शोभासँगबाट ५० हजार लगेकोमा दिउँलादिउँला भनी आलटाल गरी नदिई ठगी गरे । जाहेरी बेहोरा र सहिछाप मेरो हो भन्‍नेसमेत बेहोराको ढुण्डिराज पाण्डेको 

बकपत्र ।

ओमबहादुर खड्काले सहकारी खोल्छु भनी मसँगबाट रू.१ लाख ४८ हजार लगी तमसुक गरिदिएका छन् । पैसा माग्न जाँदा दिएनन् । चौकीमा समेत लाँदा दिन्‍न भनी हाँक गरे । जाहेरी बेहोरा र सहिछाप मेरो हो भन्‍नेसमेत बेहोराको खगबहादुर नेपालीको बकपत्र ।

मिति २०६२ साल मङ्सिर १५ गते सहकारी खोल्न भनी रू.२ लाख ५ हजार सयकडा २ रूपैयाँका दरले ब्याज दिने गरी लगेका हुन् । सहकारी नखोली ठगी गरे । जाहेरी बेहोरा र सहिछाप मेरो हो भन्‍नेसमेत बेहोराको जाहेरवाला होमबहादुर अधिकारीको बकपत्र ।

प्रतिवादी ओमबहादुर खड्काले मैले छोरा छोरी पढाउन विदेश पठाउनु पर्‍यो भनी २०६१ सालमा ७० हजार २०६२ सालमा ८० हजार २०६३ सालमा ५० हजार रूपैयाँ तमसुक गरी लगेकोमा पैसा नदिने झुक्याउने गरे । ठगी गरेकोमा जाहेरी मसमेतले दिएको र सहिछाप मेरो हो भन्‍नेसमेत बेहोराको गङ्गादत्त उप्रेतीको बकपत्र ।

ओमबहादुर खड्कालाई छोरा छोरी पढाउनको लागि रू. ९६ हजार दिएकोमा चिट दिएका हुन् । जाहेरी मसमेतले दिएको हो, सहिछाप मेरै हो भन्‍नेसमेत बेहोराको भीमबहादुर खत्रीको बकपत्र ।

ओमबहादुरलाई २ लाख ३० हजार सहकारी खोल्छु, के के गर्छु भनी दिएको थिएँ । पछि पैसा नदिई ठगी गरे जाहेरीमा भएको सहिछाप बेहोरा मेरो हो भन्‍नेसमेत बेहोराको जाहेरवाला भविन्द्र पाण्डेको बकपत्र ।

प्रतिवादी ओमबहादुर खड्कालाई पसल गर्न पैसा चाहियो भनेर १ लाख ५ हजार दिएको थिएँ । पैसा दिएपछि उनकै ठेली बुकमा चढाएका छन् । रूपैयाँ पैसा लगेर हालसम्म माग्दा नदिएपछि नतिर्ने नियत राखी ठगी गरेका हुन् । जाहेरी मसमेतले दिएको सहिछाप मेरो हो भन्‍नेसमेत बेहोराको जाहेरवाला कृष्णबहादुर खड्काको बकपत्र ।

ओमबहादुरसँग आर्थिक कारोबार हुँदा २ वटा ढालेर गेडी बनाई राखेको २ तोला सुन र आधा तोलाका २ वटा माडवरी लगेको हो । कुनै कागज पनि गरिदिएका छैनन् । पैसा माग्दा भोलिभोलि भनी नदिई ठगी गरे भन्‍नेसमेत बेहोराको टिकाराम नेपालीको बकपत्र ।

प्रतिवादीले रू.१ लाख २५ हजार छोरा बाहिर पठाउन भनी माग्नु भएको थियो । माग्न जाँदा खाटमुनि लुक्ने भाग्ने गरेकोले ठगीमा जाहेरी दिएको हो भन्‍नेसमेत बेहोराको नइन्द्रबहादुर खड्काको बकपत्र ।

रू.२३ हजार तेरो छोरालाई विदेश पठाइदिन्छु भनी प्रतिवादीले लगेका हुन् । जाहेरी बेहोरा र सहिछाप मेरो हो भन्‍नेसमेत बेहोराको जाहेरवाला यामबहादुर वि.क.को बकपत्र ।

मैले केही दिन चलाउनको लागि छोरालाई विदेश पठाउन भनी ओमबहादुर खड्कालाई रू.४० हजार बिना तमसुक दिएको हुँ । आज दिन्छु भोलि दिन्छु भनी नदिई ठगी गरे । जाहेरीको बेहोरा र सहिछाप मेरो हो भन्‍नेसमेत बेहोराको झमबहादुर थापाको बकपत्र ।

ओमबहादुरले १ लाख ५७ हजार ७ सय ९० रूपैयाँ दोकान गर्न, छोरा छोरी पढाउन भनी लगेका 

हुन् । २०६४ सालसम्म मलाई ब्याज दिँदै आउनु भएको थियो । त्यसपछि माग्न जाँदा कहिले के कहिले के भन्थे । जाहेरी बेहोरा र सहिछाप मेरो हो भन्‍नेसमेत बेहोराको रिमबहादुर कार्कीको बकपत्र ।

ओमबहादुरले छोरा विदेश पठाउन र श्रीमतीको उपचार गर्न रकम अप्ठ्यारो पर्‍यो २/४ महिनामा हिसाब मिलाउँछु भनी १३ लाख ७४ हजार रूपैयाँ लानु भएकोमा पछि रकम माग्दा लुक्ने भाग्ने र भेट हुँदा पछि छोराहरूले तिर्छन् यत्रो रकम तिर्न सक्दिन भनी आलटाल गरी नतिर्ने नियत राखेकोले ठगीमा जाहेरी दिएको हँु । जाहेरी सुनेँ, देखेँ, सहिछाप मेरो हो भन्‍नेसमेत बेहोराको कृष्णदत्त उप्रेतीको 

बकपत्र ।

ओमबहादुरले सापटी भनी २ लाख ७१ हजार लगी कपाली तमसुक लेखी दिनुभएको थियो । रकम हालसम्म मलाई केही दिनु भएको छैन । जाहेरी दरखास्त र सहिछाप मेरो हो भन्‍नेसमेत बेहोराको यमबहादुर नेपालीको बकपत्र ।

ओमबहादुर खड्काले ६० हजार बैंकिङ कारोबार गर्छु भनी २४ प्रतिशत ब्याजमा लानु भएकोमा रू.२० हजार दिई रू.४० हजार दिन बाँकी छ । माग्न जाँदा नदिएकोले मसमेतले ठगीको जाहेरी दिएका हौँ । जाहेरी बेहोरा र सहिछाप मेरो हो भन्‍नेसमेत बेहोराको नवराज गौतमको बकपत्र ।

सङ्कटकालले बैङ्क बागलुङ बजार 

आयो । त्यसपछि ओमबहादुरले मैले बैङ्कको स्वीकृति लिएको छु । बैङ्किङ कारोबार गर्न सहयोग गर्नुहोस् भनी मबाट रू.५० हजार लानु भएको, १ वर्षको चलनचल्तीको ब्याज दिनु भएको छ । अरू हिसाब बाँकी छ । बैङ्क खोलेको थाहा भएन, साइनबोर्ड राख्‍ने, कर्मचारी राख्‍ने गरेको थाहा भएन, आफूले कारोबार 

गर्नुहुन्थ्यो । जाहेरी बेहोरा र सहिछाप मेरो हो भन्‍नेसमेत बेहोराको कृष्णप्रसाद गौतम बकपत्र ।

प्रतिवादीले बैङ्क चलाउने भनी ४१ हजार ५०० सय लगेका हुन् । बैङ्क खोलेको केही थाहा छैन । जाहेरीको बेहोरा र सहिछाप मेरो हो भन्‍ने गोविन्दप्रसाद गौतमको बकपत्र ।

बैङ्कसरहको ब्याज दिन्छु भनी रू.५० हजार दिएकोमा हालसम्म पैसा दिएका छैनन् । ठगी गरेको रूपैयाँ पाउनु पर्छ । निजले बैङ्क खोलेनन् । निजको ठगी गर्ने नियत रहेछ । जाहेरी लेखिएबमोजिम ठिक 

छ । सहिछाप मेरो हो भन्‍नेसमेत नरबहादुर खड्काको बकपत्र ।

ओमबहादुरले बैङ्क खोल्नु पर्‍यो बैङ्कको ब्याज दिन्छु भनेकाले नगद रू.१ लाख दिएकोमा सो रकम फिर्ता नदिई ठगी गरेका हुन् भन्‍नेसमेत बेहोराको जिवन्तकुमारी रेग्मीको बकपत्र ।

ओमबहादुरले बैङ्क खोल्नु पर्‍यो बैङ्कको भन्दा बढी ब्याज दिन्छु भनी पैसा मागेकोले १ लाख रूपैयाँ दिएको हुँ, हालसम्म सावाँ ब्याज पाएको छैन । बैङ्क खोलेनन् रूपैयाँ ठग्ने नियत रहेछ ठगी गरे, जाहेरीमा भएको सहिछाप मेरो हो भन्‍नेसमेत खड्कबहादुर खड्काको बकपत्र ।

मिति २०६७।१।२७ को अनुसन्धानको क्रममा गरेको कागज मेरै हो । जाहेरवाला जीवन्तकुमारी रेग्मीबाट रू.१,००,०००।– प्रतिवादीले लिएको ठिक हो भन्‍नेसमेत बेहोराको वादीका साक्षी यामकुमारी पाठकको बकपत्र ।

प्रहरीमा भएको कागज मेरो हो । कर्जा दिने साहुहरूले ओमबहादुरले राष्ट्र बैङ्कबाट इजाजत लिई कारोबार गरेको छु भनी ठगी गर्‍यो भनी सुनाएकोले मैले सुनेको छु भन्‍नेसमेत बेहोराको अर्जुन चोखालको बकपत्र ।

प्रहरीमा भएको मिति २०६७।१।२८ को कागज मेरो हो । बिल भरपाईबमोजिमको रकम जाहेरवालाहरूलाई दिनुपर्दछ भन्‍नेसमेत बेहोराको वादीका साक्षी भविन्द्रबहादुर सहनीको बकपत्र । 

प्रतिवादीले जाहेरवालासँग घरायसी काम व्यवहारको लागि रकम मागी काम व्यवहार चलाएका हुन् । यस मुद्दाको बारेमा कोहीलाई भरपाई कोहीलाई तमसुकसमेत गरिदिएको हुनाले ठगी गरेको भन्‍ने कुरा आउँदैन । ८४ जनाले दिएको ठगी मुद्दा होइन । लेनदेन कारोबारको मुद्दा हुँदा लेनदेन कारोबारबमोजिम 

हुनुपर्छ । लिए खाएको पैसा ओमबहादुरले तिर्नुपर्छ भन्‍नेसमेत बेहोराको प्रतिवादीका साक्षी भीमसेन श्रेष्ठको बकपत्र ।

जिल्ला सरकारी वकिल कार्यालय बागलुङको च.नं.१७९ मिति २०६८।९।७ का पत्रसाथ बमबहादुरसमेत जना ३६ का नाउँको सक्कल कागजात प्राप्त भई मिसिल सामेल रहेको ।

जिल्ला सरकारी वकिल कार्यालय बागलुङमार्फत प्राप्त हुन आएका सक्कल भरपाईहरू प्रतिवादीलाई देखाउँदा मिति २०५९।१२।१ मा यामबहादुर वि.क.को रू.२३,०००।- मलाई थाहा 

छैन । मिति २०६३।६।२३ को जीवन्तकुमारीको नाउँको १ लाखको तमसुक साँचो होइन । मेरो सहिछाप केही नभई भरिएको प्रस्टै छ भन्‍ने उल्लेख गरी अरू देखाइएका सोबाहेकका तमसुक, भरपाई सद्दे साँचो हुन् र ती तमसुक भरपाईमा लेखिएको मध्ये केही रकम तिरिसकेको, भरपाई च्यात्‍न बाँकी रहेको भन्‍नेसमेत बेहोराको प्रतिवादी ओमबहादुर खड्काले सुरू अदालतमा अ.बं.७८ नं. बमोजिम गरेको बयान ।

प्रतिवादी ओमबहादुर खड्काले अदालतमा बयान गर्दा जाहेरवालाहरूसँग केही रकम लिएको र केही रकम फिर्तासमेत गरेको छु । मैले विदेश पठाइदिन्छु भनी कसैसँग ठगी गरेको होइन । मैले सहकारी खोलेको पनि छैन भनी बयान गरेका र जाहेरवालाहरूले बकपत्र गर्दा यी प्रतिवादीले विभिन्‍न मितिमा विभिन्‍न रकम लगी ठगी गरेका भनी बकपत्र गरेको भए पनि जाहेरवालाहरू भीमबहादुर खत्रीलगायतका विभिन्‍न व्यक्तिहरूसँग यी प्रतिवादी ओमबहादुर खड्काले रकम लिई लेनदेनको कारोबार भई आसामी र साहुबिच तमसुक लिखत भरपाई निस्साहरू भई तिर्ने बुझाउने भाकासमेत उल्लेख भएको र दुवै पक्षबिच स्वेच्छाले यस्तो कागज भएको देखिँदा र प्रतिवादीले अ.बं. ७८ नं. बमोजिम उक्त लिखतहरूमा सनाखत गर्दा धेरै रकम तिरे बुझाएको 

छु । केही रकम तिर्न बुझाउन बाँकी छ भनी भने तापनि लिखत पेस गर्न नसकेकोले उल्लिखित जाहेरवालाबाट पेस दाखिल भएका लिखतबमोजिमका कारोबारलाई ठगी भन्‍न मिलेन लेनदेनमा ठहरेबमोजिम हुने हुँदा यी जाहेरवालाको हकमा नेपाल सरकारको यी प्रतिवादीउपर ठगीमा दाबी पुग्न सक्दैन । सक्कल लिखत भरपाई दाखिल हुन आएका र प्रतिवादीले लिखत गरेको कुरामा इन्कार रहेको नदेखिँदा यामबहादुर अधिकारीसमेतका जाहेरवालाहरू जना ५५ को बिगो रू.४७,१४,४१२।- सम्म निज प्रतिवादी ओमबहादुर खड्काले ठगी गरी लिई मुलुकी ऐन, ठगीको १ नं. बमोजिमको कसुर गरेको ठहरेकाले मुलुकी ऐन, ठगीको ४ नं. बमोजिम जाहेरवालाहरूले प्रतिवादीबाट बिगो भराई लिन पाउने ठहर्छ । साथै यी प्रतिवादी ओमबहादुर खड्कालाई ठगीको बिगोबमोजिमको रू.४७,१४,४१२।- जरिवाना र ५ वर्ष कैद हुने 

ठहर्छ । अन्य फरार प्रतिवादीहरू दीपक खड्का, दिनेश खड्का, रूपा खड्का र नारायणी खड्काको हकमा मिसिल संलग्न कागजातहरूबाट ठगी कार्यमा संलग्न रहेको भन्‍ने पुष्टि हुन नआएकोले निजहरूउपरको अभियोग दाबी पुग्न सक्दैन भन्‍नेसमेत बेहोराको सुरू बागलुङ जिल्ला अदालतको मिति २०६९।१।७ को फैसला ।

जाहेरवालाहरूको प्रतिवादीउपरको किटानी जाहेरी, मौकामा गरिएका कागजहरू, प्रतिवादीको अनुसन्धानमा भएको बयान, जाहेरवालाहरूको अदालतको बकपत्रसमेतका मिसिल संलग्न विभिन्‍न कागज पत्रहरूबाट ओमबहादुर खड्कासमेतका प्रतिवादीहरू जना ५ भई कुल बिगो रू.१,०४,६४,०१२।- ठगी गरेको कुरा पुष्टि भइरहेको अवस्थामा सुरू जिल्ला अदालतले यामबहादुर अधिकारीसमेतका जाहेरवालाहरू जना ५५ को बिगो रू.४७,१४,४१२।- मात्र प्रतिवादी ओमबहादुर खड्काले ठगी गरेको भनी जाहेरवाला भीमबहादुर खत्रीसमेत जना २९ को बिगो रू.५७,४९,६००।- ठहर नगरेको र अन्य प्रतिवादीहरू दीपक खड्का, दिनेश खड्का, रूपा खड्का र नारायणी खड्कासमेत जना ४ लाई सफाइ दिने गरी भएको सुरू जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबमोजिम गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन अदालत बागलुङमा परेको पुनरावेदनपत्र ।

मेराउपर जाहेरी दिने जाहेरवालाहरू सबै अदालतमा आई बकपत्र गरी जाहेरी बेहोरालाई समर्थन गर्नुपर्ने हो । सो हुन सकेको छैन । केवल दाबी पुग्ने भनिएका ५५ जनामध्ये १४ जना व्यक्तिहरूले मात्र अदालतमा आई बकपत्र गरेका छन् । जाहेरवालाहरूमध्ये कतिपयले तमसुक भरपाई कुनै किसिमका लिखतहरू पेस गर्न सकेका छैनन् । मैले बैंकलगायत सहकारी खोलेको र विदेश पठाइदिन्छु भनी जाहेरवालाले झुट्टा कुरा लगाई ठगी गरेको भनेको पाइन्छ । मेरो अ.बं. ७८ बमोजिमको बयानमा भएअनुसार विभिन्‍न व्यक्तिहरूसँग गरेको लेनदेनको व्यवहारमध्ये कतिपयको रकम तिरिसकेको र कतिपयको तिर्न बाँकी रकम खातामा लेखेको छु । क-कसलाई के कति रकम तिर्न बुझाउन बाँकी छ भन्‍ने कुरा सो खाता हेरेमा स्पष्ट हुन्छ । उक्त खातालाई प्रमाणमा नलिई म अनुसन्धानमा कसुरमा साबित भएको भन्दै मैले ठगी गरेको भनी मलाई कसुरदार ठहर्‍याई भएको सुरू जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाइ पाउँ भन्‍नेसमेत बेहोराको ओमबहादुर खड्काको अदालत बागलुङमा परेको पुनरावेदनपत्र ।

यसमा प्रत्यर्थी ओमबहादुर खड्कालाई अभियोग दाबीभन्दा घटी बिगो कायम गरी कम सजाय गर्ने र अन्य प्रत्यर्थीहरूलाई सफाइ दिने ठहर गरी सुरू बागलुङ जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन पत्र र मलाई सजाय गर्ने गरी सुरू बागलुङ जिल्ला अदालतबाट भएको फैसला कानूनसम्मत नभएको हुँदा झुट्टा दाबीबाट सफाइ पाउँ भन्‍ने प्रतिवादी ओमबहादुर खड्काको पुनरावेदन पर्न आएको देखिँदा पर्न आएका पुनरावेदन पत्रहरूमध्ये वादी नेपाल सरकारको पुनरावेदन पत्रको जानकारी थुनामा रहेका प्रतिवादी ओमबहादुरलाई दिई र ओमबहादुर खड्काको पुनरावेदन पत्रको जानकारी वादी नेपाल सरकारलाई दिई वादी नेपाल सरकारको पुनरावेदन पत्रमा उल्लिखित सफाइ पाएका प्रतिवादीहरू दीपक खड्का, दिनेश खड्का, रूपा खड्का र नारायणी खड्कालाई अ.बं.२०२ नं. बमोजिम झिकाई आएपछि नियमानुसार पेस गर्नु भन्‍ने पुनरावेदन अदालत बागलुङको मिति २०७०।३।१९ को आदेश ।

प्रस्तुत मुद्दाका जाहेरवालामध्येका सुरू अदालतमा उपस्थित भई बकपत्र नगर्ने व्यक्तिहरूलाई प्रस्तुत मुद्दाको रोहबाट नबुझी नहुने देखिँदा निजहरूलाई अ.बं.११५ नं. को प्रक्रिया पुर्‍याइ झिकाई बुझी नियमानुसार पेस गर्नु भन्‍ने पुनरावेदन अदालत बागलुङको मिति २०७०।११।१२ को आदेश ।

प्रतिवादी ओमबहादुर खड्काले घर खर्च गर्नका लागि पटक पटक गरी लानु भएको ९६ हजार नियतवश नतिर्नु भई ठगी गर्नु भएको हो, निजले मलाई भरपाई गरिदिनु भएको थियो भन्‍नेसमेत बेहोराको जाहेरवाला भीमबहादुर खत्रीले पुनरावेदन अदालतमा गरेको बकपत्र ।

प्रतिवादी ओमबहादुर खड्काले घर खर्च गर्नका लागि रू.१,००,०००।- लानु भई नियतवश नतिर्नु भएकाले ठगी गर्नु भएको हो भन्‍नेसमेत बेहोराको जाहेरवाला टिकाबहादुर खड्काले पुनरावेदन अदालतमा गरेको बकपत्र ।

प्रतिवादी ओमबहादुर खड्काले छोरालाई विदेश पठाउन भनी रू.९५,०००।- लानु भएको नियतवश नतिर्नु भई ठगी गर्नु भएको हो भन्‍नेसमेत बेहोराको जाहेरवाला हर्कबहादुर खत्रीले पुनरावेदन अदालतमा गरेको बकपत्र ।

प्रतिवादी ओमबहादुर खड्काले आमा बिरामी हुँदा म र मेरो श्रीमान्‌सँग गरी रू.५६,०००।- लानु भएकोमा ब्याज लिन बाँकी छ भन्‍नेसमेत बेहोराको रूपा भन्‍ने गौतमी बुढाथोकीको बकपत्र ।

प्रतिवादी ओमबहादुर खड्काले घर खर्च गर्नका लागि दुई पटक गरी लानु भएको रू.७० हजार माग्न जाँदा लुक्नु भई रकम नदिएकोले ठगी गर्नु भएको हो भन्‍नेसमेत बेहोराको जाहेरवाला छविलाल के.सी.ले पुनरावेदन अदालतमा गरेको बकपत्र ।

प्रतिवादी ओमबहादुर खड्काले ऋण गरी लानु भएको रू.२० हजार नतिर्नु भएकाले ठगी गर्नु भएको हो भन्‍नेसमेत बेहोराको जमुना थापाले पुनरावेदन अदालतमा गरेको बकपत्र ।

प्रतिवादी ओमबहादुर खड्काले छोराछोरी पढाउनका लागि लानु भएको रू.१ लाख ४२ हजार फिर्ता नगर्नु भई ठगी गर्नुभएको हो भन्‍नेसमेत बेहोराको जाहेरवाला पदमराज पाण्डेले पुनरावेदन अदालतमा गरेको बकपत्र ।

प्रतिवादी ओमबहादुर खड्काले मेरो छोराबाट रू.४४,०००।- भरपाई गरी लानु भएको थियो भन्‍नेसमेत बेहोराको टेकबहादुर थापाले पुनरावेदन अदालतमा गरेको बकपत्र ।

प्रतिवादी ओमबहादुर खड्काले ब्याज दिन्छु भनी रू.१ लाख लगी मलाई भरपाई गरी दिनु भएकोमा हालसम्म रकम तिर्नुभएको छैन भन्‍नेसमेत बेहोराको जाहेरवाला भद्रबहादुर खत्रीले पुनरावेदन अदालतमा गरेको बकपत्र ।

प्रतिवादी ओमबहादुर खड्काले रू.५० हजार लगी नतिर्नु भएकाले ठगी गर्नुभएको हो भन्‍नेसमेत बेहोराको जाहेरवाला मीनबहादुर खत्रीले पुनरावेदन अदालतमा गरेको बकपत्र ।

प्रतिवादी ओमबहादुर खड्काले समस्या आपत पर्‍यो भनी लानु भएको रू.५० हजार नियतवश नतिर्नु भई ठगी गर्नु भएको हो भन्‍नेसमेत बेहोराको जाहेरवाला प्रेमबहादुर खड्काले पुनरावेदन अदालतमा गरेको बकपत्र ।

प्रतिवादी ओमबहादुर खड्काले मासिक रू.२ का दरले ब्याज दिने गरी लानु भएको रकममध्ये रू.१ लाख ८० हजार नतिर्नु भएकाले ठगी गर्नु भएको हो भन्‍नेसमेत बेहोराको जाहेरवाला प्रेमबहादुर खत्री क्षेत्रीले पुनरावेदन अदालतमा गरेको बकपत्र ।

प्रतिवादी ओमबहादुर खड्काले घर खर्च गर्नका लागि पटक पटक गरी लानु भएका रू.५० हजारमा अब रू.२३ हजार लिन बाँकी छ भन्‍नेसमेत बेहोराको जाहेरवाला यामबहादुर वि.क.ले पुनरावेदन अदालतमा गरेको बकपत्र ।

प्रतिवादी ओमबहादुर खड्कासँग भएको लेनदेन व्यवहारमा रू.१,२०,०००।- लानु भएकोमा हालसम्म सावाँ र ब्याज बाँकी छ । ब्याज मासिक रू.२ हो भन्‍नेसमेत बेहोराको जाहेरवाला दुर्गाबहादुर खड्काले पुनरावेदन अदालतमा गरेको बकपत्र ।

प्रतिवादी ओमबहादुर खड्काले रू.५० हजार लानु भएकोमा हालसम्म तिर्नु बुझाउनु भएको छैन भन्‍नेसमेत बेहोराको फमबहादुर खड्काले पुनरावेदन अदालतमा गरेको बकपत्र ।

प्रतिवादी ओमबहादुर खड्काले लानु भएका ४ लाख ६८ हजार नियतवश नतिर्नु भएकाले ठगी गर्नु भएको हो भन्‍नेसमेत बेहोराको जाहेरवाला देवेन्द्रबहादुर थापाले पुनरावेदन अदालतमा गरेको बकपत्र । 

प्रतिवादी ओमबहादुर खड्काले रू.१ लाख पचास हजार र श्रीमतीसँग रू.७ हजार गरी रू.१ लाख ५७ हजार रकम लगी सावाँ र ब्याज केही पनि दिएका छैनन् भन्‍नेसमेत बेहोराको जाहेरवाला रिमबहादुर कार्कीले पुनरावेदन अदालतमा गरेको बकपत्र ।

प्रतिवादी ओमबहादुर खड्काले लानु भएको रू.७० हजार नदिनु भएकाले ठगी गर्नुभएको हो भन्‍नेसमेत बेहोराको जाहेरवाला प्रेमप्रसाद पाण्डेले गरेको बकपत्र ।

प्रतिवादी ओमबहादुर खड्काले रू.१ लाख ५० हजार लानु भएकोमा तिर्नु बुझाउनु भएको छैन भन्‍नेसमेत बेहोराको जाहेरवाला पदम नेपालीले पुनरावेदन अदालतमा गरेको बकपत्र ।

प्रतिवादी ओमबहादुर खड्काले रू.५० हजार लगी नतिर्नु भएकाले ठगी गर्नु भएको हो भन्‍नेसमेत बेहोराको जाहेरवाली खिममाया बस्नेतले पुनरावेदन अदालतमा गरेको बकपत्र ।

प्रतिवादी ओमबहादुर खड्काले छोराहरू पढाउनको लागि पटकपटक गरी लानु भएको रू.१ लाख ६५ हजार नतिर्नु भएकाले ठगी गर्नु भएको हो भन्‍नेसमेत बेहोराको जाहेरवाला भविन्द्रबहादुर बेहोराको पुनरावेदन अदालतमा गरेको बकपत्र ।

प्रतिवादी ओमबहादुर खड्काले बैङ्क खोल्न भनी रू.६० हजार लानु भई ठगी गर्नुभएको हो भन्‍नेसमेत बेहोराको लक्ष्मण थापा साहनीले पुनरावेदन अदालतमा गरेको बकपत्र ।

प्रतिवादीले रू.१ लाख ६० हजार लगी नतिर्नु भएकाले ठगी गर्नु भएको हो भन्‍नेसमेत बेहोराको जाहेरवाला राजेन्द्र सुनारको बकपत्र ।

प्रतिवादीले चिट भरपाईबाट जाहेरवालाहरूसँग रकम लिएको कार्य ठगीजन्य अपराध भई उक्त कार्यमा प्रतिवादी ओमबहादुर खड्काको मात्र संलग्नता देखिएकोले चिट भरपाईबाट सङ्कलन गरेको रकमलाई ठगीको बिगो कायम नगरेको तथा तमसुक कागजबमोजिमको रकमलाई समेत ठगीको कसुर कायम गरेको हदसम्मको सुरू बागलुङ जिल्ला अदालतको फैसला केही उल्टी गरी नइन्द्रबहादुर खड्कासमेतका ५४ जना जाहेरवालाहरूको बिगो रू.५६,०२,०१२।– प्रतिवादी ओमबहादुर खड्काले मात्र ठगी गरेको देखिएकोले निजबाट उक्त बिगो रकम जाहेरवालाहरूलाई भराई निजलाई ठगीको ४ नं. अनुसार बिगोबमोजिम जरिवाना र ३ वर्ष कैद सजाय हुने तथा अन्य प्रतिवादीहरूलाई सफाइ हुने ठहर्छ भन्‍नेसमेत बेहोराको पुनरावेदन अदालत बागलुङको मिति २०७१।३।५ को फैसला ।

प्रतिवादीले ठगीजन्य कार्य गरेको तथ्यमा सहमत भएकोमा कागज तमसुक गरिदिएका अन्य जाहेरवालाको हकमा बिगो कायम नगरेको तथा अन्य प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको पुनरावेदन अदालत बागलुङको फैसलामा चित्त 

बुझेन । धेरै संख्याका जाहेरवालाहरूबाट ठुलो रकम झुक्याइ प्रतिवादीहरूले ठगी गरेकोमा उक्त फैसलामा तमसुक गरी कर्जा लिएको भन्दै गङ्गादत्त उप्रेतीसमेतका जाहेरवालाहरूको जम्मा रू.३०,२१,०००।-, अ.बं. ११५ नं. बमोजिमको सम्पूर्ण प्रक्रिया नअपनाएको अवस्थामा पनि अदालतसमक्ष बकपत्र गर्न नआएको भनी यामबहादुर अधिकारीसमेतका जाहेरवालाहरूको बिगो रू.१४,१७,०००।- ठहर नगरेको, ससुरा ढुण्डिराज पाण्डेले आफ्नो र बुहारी शोभा पाण्डेसमेतको हकमा जाहेरी दिई निजले बकपत्रसमेत गरेकोमा शोभा पाण्डे बकपत्र गर्न नआएको भनी निजको बिगो ठहर नगरेको, जाहेरवाला खगबहादुर नेपालीले अदालतमा बकपत्र गरेकोमा बकपत्र गर्न नआएको भनी निजको बिगो ठहर नगरेको, जाहेरवालाहरू पद्मराज पाण्डे, भीमबहादुर खत्री, जमुना थापा, छविलाल के.सी., झमबहादुर थापा, झविन्द्रबहादुर बोहरा, र लक्ष्मण थापा सहनीको पूरै बिगो नठहर्‍याएको साथै अन्य प्रतिवादीहरूलाई सफाइ दिएको पुनरावेदन अदालत बागलुङले फैसला मिलेको छैन । प्रतिवादी ओमबहादुर खड्कालाई कम बिगोमा सजाय ठहर गरेको र अन्य प्रतिवादीहरूलाई सफाइ दिएको हदसम्म उक्त फैसला त्रुटिपूर्ण भएकोले बदर गरी निजहरूलाई पुनरावेदन जिकिर एवं अभियोग माग दाबीबमोजिम हुन भनी वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा दायर हुन आएको पुनरावेदनपत्र ।

लेनदेनको कारोबारमा ठगीमा सजाय गरेको पुनरावेदन अदालतको फैसलामा चित्त 

बुझेन । मैले कुनै पनि जाहेरवालाहरूलाई ठगी गरेको छैन । जाहेरवालाहरूसँग भएको लेनदेन कारोबारमा तिर्नुपर्ने बाँकी रकम र तिरिसकेको रकमको विवरण उल्लेख गरी अ.बं. ७८ नं. बमोजिम बयान गर्दा उल्लेख गरिसकेको छु । मैले विदेश पठाउन, फाइनान्स जस्तै संस्था भनी झुक्याई रकम लिएको भनी निजहरूको बकपत्रमा उल्लेख गरेको पाइँदैन । जाहेरवालाहरूलाई चलनचल्तीको ब्याज दिनेछु भनी भरपाई गरी सोअनुसार रकम तिरे बुझाएको थिएँ । जाहेरवालाहरूले प्रमाण स्वरूप पेस गरेको भरपाईमा कर्जा लेनदेन भन्‍ने बेहोरा भएकोले विदेश लान वा सहकारी फाइनान्स खोल्न लिएको भनी परेको जाहेरी बेहोरा आफैँमा झुट्टा हो । उक्त बेहोरा यस सम्मानित अदालतबाट (ने.का.प. २०५६ अङ्क १ पृष्ठ ४५ नि.नं. ६६५५) प्रतिपादित सिद्धान्तविपरीत छ । अनुसन्धान तहकिकातको सिलसिलामा तयार पारेको कुनै पनि कागजातहरूले मैले अभियोग दाबीबमोजिमको ठगीको कसुर गरेको पुष्टि हुन सक्दैन । फौजदारी मुद्दामा प्रत्येक प्रमाणलाई अन्य स्वतन्त्र प्रमाणले पुष्टि हुनुपर्दछ । यस्तो पुष्टि गर्ने दायित्व अभियोजन पक्षको हो । अदालतले प्राप्त प्रमाणहरूको परीक्षण एवम् मूल्याङ्कन गरी ती प्रमाणहरूले ठहरेबमोजिम मात्र न्याय निरूपण गर्नुपर्ने .... भन्‍ने यस अदालतको पूर्ण इजलासबाट (ने.का.प. २०६९ अङ्क २ नि.नं. ८७६) मा सिद्धान्त प्रतिपादन भएको छ । त्यस्तै वस्तुनिष्ठ प्रमाण नहुँदा नहुँदै प्रचार हल्ला वा दबाबमा लोकप्रियतालाई माध्यम बनाई अनुसन्धान प्रारम्भ गर्ने र अभियोजन गर्ने परम्परालाई प्रोत्साहन दिई स्वतः अङ्गीकार गर्ने पात्र अदालत हुन नसक्ने भन्‍ने यस अदालतबाट (ने.का.प. २०६९ अङ्क १ नि.नं. ८७६०) सिद्धान्त प्रतिपादन भएको 

छ । लेनदेन कारोबारको विषयलाई ठगीमा सजाय गरेको पुनरावेदन अदालत बागलुङको फैसला उल्टी गरी सफाइ पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी ओमबहादुर खड्काको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

यसमा प्रतिवादी ओमबहादुर खड्का र वादी नेपाल सरकारको दोहोरो पुनरावेदन परेको देखिँदा मुलुकी ऐन, अदालती बन्दोबस्तको २०२ नं. को प्रयोजनार्थ उक्त पुनरावेदनहरू परस्पर सुनाई जानकारी दिई पुनरावेदन नगर्ने प्रतिवादीहरू दीपक खड्का, दिनेश खड्का, रूपा खड्का र नारायणी खड्काका नाममा म्याद जारी गरी झिकाई म्यादभित्र हाजिर भए वा अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नु भन्‍नेसमेत बेहोराको यस अदालतबाट मिति २०७४।११।१६ मा भएको आदेश ।

यस अदालतको ठहर खण्ड

नियमबमोजिम दैनिक तथा साप्ताहिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित महान्यायाधिवक्ताको कार्यालयका विद्वान् सहन्यायाधिवक्ता श्री श्यामकुमार भट्टराईले प्रतिवादीहरूले विभिन्‍न झुट्टा आश्‍वासन देखाई चलन चल्तीको ब्याज दिने भनी रकम सङ्कलन गरेकोमा के कति ब्याज दिने हो सो खुलाएका छैनन् । यति धेरै जाहेरवालाहरूबाट बेइमानीका नियतले प्रतिवादीहरू मिली ठुलो रकम सङ्कलन गरेको कार्य ठगीको महलको १ नं. को अन्तर्गत पर्दछ । सहकारी संस्थाले पनि तोकेको समयमा सङ्कलन गरेको बचत रकम फिर्ता नदिए ठगी हुने सिद्धान्त सम्मानित अदालतबाट प्रतिपादन भएको छ । प्रतिवादीहरूले गलत नियतले रकम सङ्कलन गरेकोले निजहरूलाई अभियोग दाबीबमोजिम सजाय गरी सबै जाहेरवालाहरूको बिगो रकम भराई दिनुपर्नेमा प्रतिवादी ओमबहादुर खड्कालाई आंशिक दायित्व मात्र बहन गराई, अन्य प्रतिवादीहरूलाई फौजदारी दायित्वबाट उन्मुक्ति दिएको पुनरावेदन अदालत बागलुङको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला सो हदसम्म बदर गरी अभियोग माग दाबीबमोजिम हुनुपर्दछ भनी तथा जाहेरवाला रामबहादुर खत्री, भद्रबहादुर खत्री, गंगाधर गैरे, टेकबहादुर उप्रेती (क), यामबहादुर नेपाली, भविन्द्र पाण्डे, ढकबहादुर खत्री र भीमबहादुर खत्रीसमेतको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री कृष्णराज शर्माले प्रतिवादीहरूले गिट्टी ढुङ्गा कुट्ने व्यक्तिहरूसमेतको विभिन्‍न बहाना बनाई रकम सङ्कलन गरी फिर्ता नगरेकोले निजहरूलाई ठगीमा सजाय गरी सबै जाहेरवालाहरूको बिगो रकम फिर्ता हुनुपर्दछ भनी र पुनरावेदक प्रतिवादी ओमबहादुर खड्काको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री रमनकुमार श्रेष्ठ, विद्वान् अधिवक्ताहरू श्री ज्ञानेन्द्रप्रसाद पोखरेल, श्री योगेन्द्रबहादुर अधिकारी, श्री भोजबहादुर ढकाल र श्री नरबहादुर योगीले ऋण दिने व्यक्तिहरूले उजुरी दिएका छन् । प्रतिवादीले जाहेरवालाहरूबाट व्यापार गर्न, व्यवहार चलाउन सापटी लिएको हो । सोमध्ये अधिकांश तिरिसकेको 

छ । जो जससँग रकम लिएको हो, सबैको विवरण बही खातामा जनाइएको छ । कतिपय जाहेरवालाको रकम लिएको होइन । केही तमसुकमा सहिछाप पनि छैन । जुन जुन जाहेरवालाको रूपैयाँ प्रतिवादीले लिएको हो । सो कुरा निजले सहज रूपमा स्वीकार गरेको अवस्था छ । जाहेरवालाहरूलाई धोका दिई वा कुनै विश्‍वासमा पारी रूपैयाँ लिएको होइन । शुद्ध लेनदेन कारोबार भएको हो । बाँकी रकम सबै तिर्न मन्जुर छ । लेनदेन व्यवहार देवानी दायित्वभित्र पर्ने हुँदा फौजदारी कसुरमा कारबाही चलाउन मिल्दैन । सुरू तथा पुनरावेदन अदालतले देवानी दायित्वको विषयलाई ठगीमा सजाय गरेको फैसला मिलेको छैन । सो फैसला उल्टी गरी प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउनु पर्दछ भनी गर्नुभएको बहस सुनियो ।

विद्वान् सहन्यायाधिवक्ता तथा विद्वान् वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूको उल्लिखित बहस सुनी पुनरावेदनसहितको सक्कल मिसिल अध्ययन गरी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत बागलुङको फैसला मिलेको छ वा छैन ? वादी नेपाल सरकार वा प्रतिवादी ओमबहादुर खड्कामध्ये कस्को पुनरावेदन जिकिर पुग्ने हो ? वा दुवैको नपुग्ने हो ? सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. प्रतिवादीहरूले विभिन्‍न बहानामा रकम सङ्कलन गरी ठगी गरेकोले कारबाही गरी बिगो रकम दिलाइ भराइ पाउँसमेत भनी ८४ जना 

जाहेरवालाहरूको संयुक्त र छुट्टाछुट्टै जाहेरी परी सङ्कलित प्रमाणहरूको आधारमा रू.१,०४,६४,०१२।– रकम प्रतिवादीहरूले ठगी गरेकोले प्रतिवादीमध्येका ओमबहादुर खड्कालाई साबिक मुलुकी ऐन, ठगीको ४ नं. र अन्य 

प्रतिवादीहरूलाई ठगीको ५ नं. अनुसार सजायको मागदाबी लिई अभियोग दायर भएकोमा प्रतिवादी ओमबहादुर खड्काले ठगी गरेको यामबहादुर अधिकारीसमेतका ५५ जना जाहेरवालाको बिगो रू.४७,१४,४१२।– भराई निजलाई ठगीको बिगोबमोजिम जरिवाना र ५ वर्ष कैद सजाय तथा अन्य प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको सुरू अदालतको फैसलालाई केही उल्टी गरी प्रतिवादी ओमबहादुर खड्काले ठगी गरेको ५४ जना जाहेरवालाहरूको बिगो रू.५६,०२,०१२।– भराई निजलाई बिगोबमोजिम जरिवाना र ३ वर्ष कैद सजाय हुने तथा अन्य प्रतिवादीहरूलाई सफाइ दिने ठहर्‍याएको पुनरावेदन अदालत बागलुङको फैसलामा चित्त नबुझाई प्रतिवादी ओमबहादुर खड्का र वादी नेपाल सरकारको तर्फबाट छुट्टाछुट्टै पुनरावेदन परेको देखियो । 

३. जाहेरवाला भीमबहादुर खत्रीसमेतका ८४ जनाको रकम प्रतिवादीहरूले ठगी गरेकोले साबिक मुलुकी ऐन, ठगीको महलको १ नं. अन्तर्गत प्रतिवादीहरूलाई सजाय गरी बिगोसमेत भराइ पाउँ भन्‍ने अभियोग मागदाबी रहेकोमा देवानी दायित्वको विषयमा ठगीमा सजाय गरेको पुनरावेदन अदालतको फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भनी प्रतिवादीले जिकिर लिएको पाइन्छ । प्रस्तुत दाबी र जिकिरको सन्दर्भमा मुलुकी ऐन, ठगी र लेनदेन व्यवहारको महलको कानूनी व्यवस्था समग्रतामा समेत विचार गर्नुपर्ने देखिएको छ । मुलुकी ऐन, ठगीको महलको १ नं. मा कसैले आफ्नो हक नपुग्ने अर्काको हकको चल अचल धनमाल हक पुग्नेलाई वा जसका जिम्मामा रहेको छ उसलाई ललाई–फकाई वा जाल परिपञ्च गरी वा आफ्नो हक नभएको सम्पत्तिमा आफ्नो हक पुग्ने किर्ते कागज बनाई, दिई वा पेस गरी वा आफूसँग नभएको कुरा आफूसँग छ भनी झुक्याई वा झुठो कुरालाई सद्दे हो भनी झुक्याई वा अरू जुनसुकै बेहोरासँग धोका दिई गफलतमा पारी आफ्नो हक नपुग्ने अर्काको हकको चल–अचल धनमाल लिए दिए दिलाएमा वा अर्काको माल मेरो हो भनी वा मेरो भएको भनी लिखत गरी वा नगरी सोही माल लिए दिए बिक्री व्यवहार गरेमा वा सट्टापट्टा गरी लिएमा ठगी गरेको ठहर्छ भन्‍ने कानूनी व्यवस्था देखिन्छ । त्यस्तै लेनदेन व्यवहारको १ नं. मा कानूनबमोजिम लिखत नगरी लेनदेन व्यवहार गरेकोमा नालिस लाग्न सक्तैन भन्‍ने र सोही महलको ५ नं. मा साहू असामीले सावाँ ब्याजसमेत लिँदा बुझाउँदा देहायबमोजिमको रीत पुर्‍याई लिनु 

दिनुपर्छ । सोबमोजिम नगरेको सदर हुँदैन । तथा ऐ. नं. को देहाय (१) मा सावाँ जम्मै बुझाउँदा असामीले सो सम्बन्धमा गरिदिएको लिखत फट्टा गराई वा सोही लिखतमा असुली जनाउन लगाई बुझाउनु पर्छ । कुनै कारणले सो लिखत फेला नपरेमा सोही बेहोरा जनाई साहूबाट भरपाई गराई लिनुपर्छ । ऐ.को दहाय (२) मा सावाँमध्ये केही मात्र बुझाउँदा वा ब्याज बुझाउँदा असामीले साहूबाट माथि १ दफामा लेखिएबमोजिम  भरपाई गराई लिई यथासम्भव तमसुक, खाताबही वा भरपाईसमेत सो सावाँको सम्बन्धमा अघि जुन लिखत भएको छ सो लिखतको पीठमा सो बेहोरा खोली लेखी असामीको सहिछाप गर्नु गराउनु पर्छ । सो दरपिठ गर्ने कागजमा दरपिठको बेहोरा नअटाएमा अर्को कागज गाँसी लेखी बन्दमा समेत सोबमोजिम सहिछाप गर्नु गराउनु पर्छ र ६ नं. मा कर्जा लेनदेन भएकोमा ब्याजको ब्याज लिन हुँदैन, लिइसकेको भए पनि फिर्ता गर्नुपर्छ । लिखतमा ब्याज नलेखिएकोमा ब्याज पाउँदैन । वर्ष एकको सावाँको सयकडा दशभन्दा घटी ब्याज लेखिएकोमा लिखतबमोजिम नै हुन्छ । लिखतमा ब्याज लिने दिने कुरा लेखी ब्याजको अङ्क किटिएकोमा वा वर्ष एकको सावाँको सयकडा दशभन्दा बढी ब्याजको अङ्क लेखिएकोमा वा ऐनबमोजिम ब्याज भराउनुपर्ने अरू अवस्थामा साहूलाई आसामीबाट ब्याज भराउँदा वर्ष एकको सावाँको सयकडा दशभन्दा बढी भराउनु हुँदैन । ब्याज नलेखी मुनाफा लिने दिने कुरा लेखिएकोमा पनि ब्याजसरह नै हुन्छ भन्‍ने कानूनी व्यवस्था रहेको पाइन्छ ।

४. उल्लिखित ठगीको १ नं. अनुसार ठगीको वारदात स्थापित हुन अर्काको हकको सम्पत्ति लिने खाने उद्देश्यले धोका गफलत परिपञ्‍च गरेको हुनु पर्ने भन्‍ने पाइन्छ । आफ्नो हक नपुग्ने अर्काको हकको सम्पत्ति लिने दिने दिलाउने नियतले ललाई फकाई गरी विश्‍वास, जाल परिपञ्‍च, धोका गफलत आदि जुनसुकै वा कुनै किसिमले धोकाजन्य व्यवहार गरेर अर्काको हकको चल अचल सम्पत्ति लिने खाने नियत राखी कार्य गरेमा ठगीको कसुरअन्तर्गत पर्ने देखिन्छ । त्यस्तै लेनदेन व्यवहारको महलअन्तर्गतको कारोबारमा मान्यता पाउन कानूनबमोजिमको लिखत हुनु पर्ने भन्‍ने र सावाँ ब्याज चुक्ता गर्दाको अवस्थामा लिखत फट्टा गराई वा लिखतमा असुली जनाउन लगाई बुझाउनु पर्ने, लिखत फेला नपरेमा सोही बेहोरा जनाई साहूबाट भरपाई गराउनु पर्ने, सावाँमध्ये केही मात्र बुझाउँदा वा ब्याज मात्र बुझाउँदा भरपाई गराई लिनु पर्ने, आसामीले साहूबाट सयकडा १० भन्दा बढी ब्याज लिन नहुने भन्‍नेसमेतको कानूनी व्यवस्था रहेको पाइन्छ ।

५. जाहेरवालाहरूमध्ये तेजबहादुर खत्री, कृष्णदत्त उप्रेती, टेकबहादुर उप्रेती (क), टेकबहादुर उप्रेती (ख), गंगादत्त उप्रेती, गजिन्द्रबहादुर खत्री, तुलबहादुर भण्डारी, राजेन्द्र सुनुवार, चन्द्रबहादुर कार्की, ढुण्डिराज पाण्डे, नरबहादुर थापा खत्री र खगबहादुर नेपालीसँग प्रतिवादी ओमबहादुर खड्काले भाखा राखी कर्जा लेनदेनको कागज गरेको देखिन्छ । प्रतिवादीलाई रकम दिँदा तमसुक कागज गरिदिएको भन्‍ने निज जाहेरवालाहरूको जाहेरी दरखास्त र अदालतको बकपत्रमा देखिएको तथा प्रतिवादी ओमबहादुर खड्काले पनि अ.बं. ७८ नं. बमोजिम गरेको बयानमा निजहरूसँग तमसुक कागज गरेको भन्‍ने पाइन्छ । उक्त जाहेरी दरखास्त, बकपत्र तथा बयानबाट निजहरूबिच सहमतिमा लेनदेनको कागज गरी रकम कारोबार भएको कुरामा विवाद रहेको देखिँदैन ।

६. कुनै पनि देवानी दायित्वलाई नियमित गर्ने कानून प्रचलनमा रहिरहेको अवस्थामा फौजदारी कसुरमा कारबाही चलाउनु कानूनको उचित प्रयोग भएको मान्‍न सकिँदैन । फौजदारी कानूनले कसुर नमानेको विषयमा कसैउपर मुद्दा चलाउने र कसुरदार ठहर गर्ने कार्य फौजदारी न्यायको सिद्धान्तविपरीत हुन्छ । यसरी देवानी दायित्वअन्तर्गतको विषयलाई समेत मिसाई फौजदारी कसुरमा प्रतिवादीलाई सजाय गर्न जाहेरी परेको अवस्थामा बलजफ्ती फौजदारी प्रकृतिको विवाद सिर्जना गर्ने गराउनेतर्फ लाग्नु उचित नहुने हुँदा विधिवत् रूपमा तमसुक कागज भएका माथि उल्लिखित तेजबहादुर खत्रीसमेतका जाहेरवालाहरूको हकमा लेनदेन कारोबारअन्तर्गतको कानूनी प्रक्रियाबाट बिगो भरिभराउ हुने नै देखिँदा निजहरूको हकमा यी प्रतिवादीहरूउपर लगाइएको अभियोग दाबी ठगीको १ नं. को परिभाषाभित्र पर्ने देखिएन । 

७. प्रतिवादी ओमबहादुर खड्काले बाँकी जाहेरवालाहरूसँग चिट भरपाईबाट रकम बुझेको देखिन्छ । निजले त्यसरी रकम बुझेको जाहेरवालाहरूमध्ये यामबहादुर अधिकारी, प्रेमबहादुर अधिकारी, तुलसी बोहरा, प्रेमबहादुर बोहरा, लालबहादुर बस्नेत, दलबहादुर पन्त, भवानीप्रसाद पाण्डे, विष्णुकुमारी गौतम, मिनाकुमारी खड्का, भेषराज पन्त, बुद्धिबहादुर खड्का, डिलबहादुर खड्का, लोकनाथ गैरे, अम्मरबहादुर बस्नेत, देवेन्द्र खत्री, दुर्गाबहादुर खड्का र शोभा पाण्डे सुरू बागलुङ जिल्ला अदालतको आदेशानुसार बकपत्र गर्न उपस्थित भएको देखिँदैन । त्यसरी उपस्थित नभएका जाहेरवालाहरूलाई पुनरावेदन अदालत बागलुङले मुलुकी ऐन, अ.बं.११५ नं. बमोजिम नबुझी नहुने भनी म्याद जारी गरेकोमा सो म्यादमा समेत निजहरू उपस्थित भई आफ्नो रकम प्रतिवादीले ठगी गरेका हुन् भनी भन्‍न र सो कुरा पुष्टि गर्न कुनै प्रमाण पेस गर्न सकेको पाइँदैन । प्रमाणको अभावमा अभियोग दाबीकै आधारमा मात्र उल्लिखित जाहेरवालाहरूको रकमसमेत यी प्रतिवादीले ठगी गरेको मान्‍न मिल्ने देखिएन ।

८. जाहेरवाली रूपा बुढाथोकीसँग प्रतिवादी ओमबहादुर खड्काले चिट भरपाईबाट रू.३९,०००।– रकम बुझेको देखिएकोमा रू.६०,०००।- फिर्ता पाइसकेको भनी जाहेरवालाले अदालतमा उपस्थित भई बकपत्र गरेको देखिएकोले दाबीको रकमका सम्बन्धमा प्रतिवादीले ठगी गरेको भनी मान्‍न मिलेन ।

९. अब चिट भरपाईबाट प्रतिवादीले रकम बुझेको नइन्द्रबहादुर खड्कासमेतका ५४ जना जाहेरवालाहरूको सम्बन्धमा हेर्दा प्रतिवादी ओमबहादुर खड्काले विभिन्‍न बेहोरा उल्लेख गरी सहिछाप गरी चिट भरपाईद्वारा रकम बुझेको 

देखिन्छ । निजले अधिकारप्राप्त अधिकारीसमक्ष बैङ्कजस्तो सहकारी संस्था सञ्‍चालन गरेको भनी ढाँटी झुक्याई रकम ठगी गरेको हो भनी आरोपित कसुरमा साबित रही बयान गरेको पाइन्छ भने अदालतसमक्ष गरेको बयानमा गाउँका मानिससँग सानोतिनो लेनदेन कारोबार गरेको हो । जाहेरीमा उल्लिखित रकम केही अलि अलि तिर्न बाँकी छ, धेरै लगिसकेका छन् भन्‍ने देखिन्छ । निजको मुलुकी ऐन, अ.बं. ७८ नं. बमोजिमको बयानमा जाहेरवालाहरूमध्ये यामबहादुर वि.क.को भरपाईलाई मात्र किर्ते भनी नामकरण गरी अन्य ठिक रहेको भन्‍ने पाइन्छ ।

१०. चिट भरपाईको बेहोरामा प्रतिवादी ओमबहादुर खड्काले बचत, सापटी र ब्याजमा समेत भनी रकम लिएको देखिन्छ । त्यसरी रकम लिएपछि फिर्ता नगरी प्रतिवादी लुकिछिपी बस्ने, सम्पर्कविहीन हुनेसमेत गरेको भनी बागलुङ जिल्ला अदालत तथा पुनरावेदन अदालत, बागलुङसमक्ष जाहेरवालाहरूले बकपत्र गरेको पाइन्छ । चिट भरपाईमा रकम कहिलेसम्म फिर्ता गर्ने, चलन चल्तीको ब्याज के कति हुने भन्‍ने खुलाएको पाइँदैन । प्रतिवादीले जाहेरवालाहरूको रकम तिरेको भनी बयान गरे  तापनि उक्त कुरा खुल्ने, देखिने र प्रमाणित हुने कुनै लिखत प्रमाण कागज पेस गर्नसकेको पाइँदैन । त्यसो हुँदा रकम बुझाएको तिरेको भन्‍ने प्रतिवादीको भनाइमा विश्‍वसनीयता देखिँदैन ।

११. प्रतिवादीको घरको दराजबाट विभिन्‍न नाम हिसाब लेखिएको रजिस्टर लेजरबुक बरामद भएको कुरा निजले अदालतको बयानमा स्वीकार गरेको पाइन्छ । धेरै जाहेरवालाहरू पेसाले खेती किसान रहेको, केही जागिरे र केही गिट्टी बालुवा सोर्ने जस्ता ज्याला मजदुरी काम गर्नेसमेत रहेको र प्रतिवादी पेसाले शिक्षक रहेको देखिन्छ । प्रतिवादीले बैङ्किङ कारोबार गरेकोमा इन्कार रही अदालतमा बयान गरेको भए तापनि जाहेरवालामध्येका धनबहादुर नेपालीलाई बचत गर्ने बेहोराको भरपाई दिई निजबाट रकम बुझी गरिदिएको कागज ठिक रहेको भनी अ.बं. ७८ नं. को बयानमा स्वीकार गरेको पाइन्छ । उक्त बयान तथा निजको घरबाट बरामद भएको विभिन्‍न हिसाब लेखिएको रजिस्टर लेजरबुकबाट बैङ्क जस्तो सहकारी संस्था सञ्‍चालन गर्न जाहेरवालाहरूबाट रकम लिएको भन्‍ने प्रतिवादीको मौकाको बयान समर्थित भएको पाइन्छ । 

१२. यसरी यत्तिका धेरै सर्वसाधारण जाहेरवालाहरूसँग चिट भरपाईमार्फत रकम बुझेको कुरा प्रतिवादीले स्वीकार गरेको र त्यसरी लिएको रकमको कारोबार गर्दा रजिस्टर लेजरबुकमा हिसाब राख्‍ने गरेकोसमेत देखिएकोमा निजले बैङ्किङ कारोबार गर्न भने अनुमति लिएको देखिँदैन । यस अदालत, संयुक्त इजलासबाट "निश्‍चित समयपश्चात् रकम फिर्ता गर्नुपर्ने दायित्व भएको सञ्‍चालक समितिले आफ्नो दायित्व पूरा नगरेको र निज प्रतिवादीले अदालत एवं अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा जाहेरीवालहरूको बचत रकम फिर्ता गरिसकिएको छ भनी भन्‍न नसकेको अवस्थामा जाहेरी कथन र अभियोग दाबी सत्य साँचो नै देखिने । आफ्नो सहकारी संस्थामा राम्रो ब्याज दिने भनी आकर्षण देखाई रकम जम्मा गर्न लगाई निजहरूले मागेका बखत रकम फिर्ता नदिई संस्था नै बन्द गरी हिँडेको कार्यलाई वचतकर्ताहरूलाई गफलतमा पारी धोका दिएको होइन भन्‍न कानूनतः नमिल्ने" (ने.का.प. २०६६ ,अङ्क  ४, नि. नं. ८११९) सिद्धान्त प्रतिपादन भएको पाइन्छ । कानूनी रूपमा खुलेको सहकारी संस्थाले समेत मागेको बखत सर्वसाधारणको बचत फिर्ता नगरी संस्था बन्द गरेमा ठगी गरेको मानिने कानूनी सिद्धान्त प्रतिपादन भएको हुँदा यी प्रतिवादी ओमबहादुर खड्काले इजाजतबिना नै धेरै सर्वसाधारणको रकम बैङ्कको भन्दा बढी ब्याज दिनेसमेत भनी चिट भरपाईबाट लिएको र जाहेरवालाहरूले आफ्नो रकम निजसँग फिर्ता माग्दा फिर्ता नगरी लुकिछिपी हिँड्ने, सम्पर्क नगर्ने जस्तो कार्य गरेको देखिएकोले झुक्याइ गफलतमा पारी निज जाहेरवालाहरूको रकम लिने खाने पचाउने नियत लिएको देखिन आयो । प्रतिवादी ओमबहादुरको उक्त कार्य साबिक मुलुकी ऐन, ठगीको महलको १ नं. बमोजिमको ठगीजन्य कसुरअन्तर्गत पर्ने देखिदा उक्त कार्यलाई लेनदेन व्यवहार हो भन्‍ने जिकिरसँग सहमत हुन सकिएन । 

१३. अब माथि उल्लिखित जाहेरवालाहरूको रकम ठगी गर्ने कार्यमा प्रतिवादीहरू क-कसको संलग्नता रहेको छ भन्‍ने सम्बन्धमा विचार गर्दा प्रतिवादी ओमबहादुर खड्कालाई मुख्य अभियुक्त भन्दै ठगीको ४ नं. अन्तर्गतको सजाय र अन्य प्रतिवादीहरूउपर ठगीको ५ नं. अन्तर्गतको सजायको मागदाबी लिएको पाइन्छ ।

१४. अन्य प्रतिवादीहरूसमेत गाउँमा गई पैसा उठाई ल्याउने र त्यस्तो रकम निजहरूका लागिसमेत खर्च भएको भन्‍ने पुनरावेदन जिकिर देखिन्छ । जाहेरवालाहरूले प्रतिवादी ओमबहादुर खड्काउपर किटानी जाहेरी दरखास्त दिएको 

पाइन्छ ।  निजले यामबहादुर वि.क.को बाहेक अन्य सबै रकम बुझेको भरपाई ठिक रहेको भनी अ.बं. ७८ नं. बमोजिम बयान गरेको देखिन्छ । रकम बुझेको चिट भरपाईहरूमा प्रतिवादी ओमबहादुर खड्काको सहिछाप रहेको र निजले उक्त रकम लिई खाएको देखिएकोले प्रस्तुत मुद्दाको ठगीजन्य कसुर अपराधमा प्रतिवादी ओमबहादुर खड्काको संलग्नता रहेको देखिन आयो ।

१५. अन्य प्रतिवादीहरू दिपक खड्का, दिनेश खड्का, रूपा खड्का र नारायणी खड्काको प्रस्तुत कसुरमा संलग्नता रहेको छ छैन भन्‍नेतर्फ हेर्दा सुरू तथा पुनरावेदन अदालतबाट निजहरूलाई अभियोग दाबीबाट सफाइ दिएको पाइन्छ । मिसिल संलग्न कागजातहरूबाट निजहरूमध्ये प्रतिवादी दिपक खड्का र नारायणी खड्का विदेश लण्डनमा रहेको, प्रतिवादी दिनेश खड्का र रूपा खड्का काठमाडौंमा रहेको देखिन्छ । जाहेरवालाहरूबाट पेस भएका मिसिल संलग्न भरपाईहरूमा निजहरूले रकम बुझी भरपाई गरिदिएको देखिँदैन । यी प्रतिवादीहरूमध्येका कुन कुन प्रतिवादीले जाहेरवालाहरूको के कति रकम ठगी गरेको भनी निजहरूले अदालतमा किटानसाथ बकपत्र गर्न सकेकोसमेत पाइँदैन ।

१६. यी प्रतिवादीहरू प्रतिवादी ओमबहादुर खड्काकै एकाघरको छोरा, छोरी, बुहारीहरू रहेको देखिन्छ । एकाघरको अभिभावक बाबुले आफ्नो छोरा छोरीलाई अध्ययन गराउने, सोका लागि आवश्यक रकम खर्च गर्ने कुरा अभिभावक बाबुको दायित्वभित्र पर्ने नै हुन्छ । यसरी अभिभावक बाबुले आफ्नो दायित्व निर्वाह गर्न रकम खर्च गरेको कारणले मात्र छोरा छोरीलाई कसुरदार ठहर गर्नु न्यायको रोहबाट मिल्ने देखिँदैन ।

१७. ओमबहादुर खड्काबाहेकका यी प्रतिवादीहरूले के कति रकम जाहेरवालाहरूबाट ठगी गरेका हुन् । निजहरूको उक्त ठगी कार्यमा के कस्तो संलग्नता रहेको हो । वादी पक्षले स्पष्ट खुलाउन सकेको पाइँदैन । बाबु प्रतिवादी ओमबहादुर खड्काले गरेको कसुरमा निजका छोरा, छोरी, बुहारीलाई फौजदारी जस्तो गम्भीर कसुरमा कसुरदार ठहर्‍याउन आधार प्रमाण बिना शङ्काको भरमा मिल्ने देखिएन । तसर्थ, प्रस्तुत ठगीको कसुरमा प्रतिवादीहरू दिपक खड्का, दिनेश खड्का, रूपा खड्का र नारायणी खड्कालाई कसुरदार ठहर्‍याई निजहरूलाई समेत सजाय हुनुपर्ने भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । 

१८. अब पुनरावेदन अदालत बागलुङले नइन्द्रबहादुर खड्कासमेतका बाँकी ५४ जना जाहेरवालाहरूको जम्मा बिगो रू.५६,०२,०१२।– मात्र पुनरावेदन अदालत बागलुङले ठगी गरेको ठहर्‍याएको पाइन्छ । निज जाहेरवालाहरूको हकमा अभियोग मागदाबीमा बिगो रू.५८,०९,०१२।– देखिन्छ । यी जाहेरवालाहरूको के कति रकम प्रतिवादीले ठगी गरेको हो भन्‍ने सम्बन्धमा हेर्दा, जाहेरवाला यामबहादुर वि.क.बाट रू.२३,०००।- लिएकोमा इन्कार रही निजले पेस गरेको भरपाई किर्ते भनी प्रतिवादी ओमबहादुर खड्काले अ.बं. ७८ नं. बमोजिम बयान गर्दा उल्लेख गरेको देखिए पनि यी प्रतिवादीले मौकाको बयानमा उक्त रकम लिए खाएको कुरा स्वीकार गरेको र जाहेरवाला यामबहादुर वि.क.ले छोरालाई विदेश पठाइदिन्छु भनी रू.२३,०००।- लगी यी प्रतिवादीले फिर्ता नगरेको भनी अदालतमा बकपत्र गरेको पाइएबाट प्रतिवादीको उक्त जिकिर विश्‍वसनीय देखिएन । तसर्थ, निज जाहेरवाला यामबहादुर वि.क.को रू.२३,०००।– प्रतिवादी ओमबहादुर खड्काले लिईखाई ठगी गरेको नै देखिन आयो ।

१९. प्रतिवादीले अ.बं. ७८ नं. बमोजिम जाहेरवाली जिवन्तकुमारी  रेग्मीको  तमसुकमा  आफ्नो सहिछाप नै परेको नदेखिएबाट सो लिखतमा भएको रू.१,००,०००।- भराई दिनुपर्ने होइन भनी बयान गरेकोमा निज जाहेरवालीले पेस गरेको उक्त लिखतमा प्रतिवादीको सहिछाप नदेखिकोले सो तमसुक कागजका सम्बन्धमा केही गरिरहनु परेन । निज जाहेरवाली जिवन्तकुमारी रेग्मीले जाहेरीका साथ पेस गरेको चिट भरपाईमा यी प्रतिवादीको सही रहेको पाइन्छ । अभियोग मागदाबीमा पनि निजको हकमा चिट भरपाईको रकम मात्र दाबी गरेको देखिएको र निजले अदालतमा उपस्थित भई उक्त रकम फिर्ता नपाएको भनी बकपत्रसमेत गरेको देखिँदा निजको भरपाई बराबरको रकम यी प्रतिवादीले ठगी गरेको देखिन 

आयो ।

२०. जाहेरवालाहरू भीमबहादुर क्षेत्रीले रू.१,४८,०००।– मध्ये रू.१,००,०००।- लिन बाँकी रहेको, जमुना थापाले रू.४४,०००।- मध्ये रू.२०,०००।- लिन बाँकी रहेको, छविलाल के.सी.ले रू.९०,०००।- मध्ये रू.७०,०००।- लिन बाँकी रहेको, झमबहादुर थापाले रू.५००००।- मध्ये रू.४०,०००।- लिन बाँकी रहेको, झविन्द्रबहादुर बोहराले रू.२१८०००।– मध्ये रू.१,६५,०००।- लिन बाँकी रहेको भनी बकपत्र गरेको देखिन्छ । जाहेरवाला पदमराज पाण्डेले रू.१,४२,००० । र लक्ष्मण थापा सहनीले रू.६०,०००।- ठगी गरेको भनी जाहेरी दिएकोमा निजहरूको क्रमश रू.१,००,०००।- र रू.५०,०००।- को मात्र भरपाई रहेको पाइन्छ ।

२१. प्रतिवादीले झुट्टा गफलतमा पारी जाहेरवालाहरूलाई झुक्याई लिए खाएको रकमसम्म प्रतिवादीले ठगी गरेको मानिने हुनाले बकपत्र तथा भरपाईमध्ये जुनबाट जाहेरवालाहरूको रकम तिर्न बुझाउन बाँकी रहेको देखिन आउँछ सो रकमसम्म यी प्रतिवादीले ठगी गरेको मानिने हुँदा जाहेरवालाहरू भीमबहादुर क्षेत्रीको रू.१,००,०००।-, जमुना थापाको रू.२०,०००।-, छविलाल के.सी.को रू.७०,०००।-, झमबहादुर थापाको रू.४०,०००।, झविन्द्रबहादुर बोहराको रू.१,६५,०००।-, पदमराज पाण्डेको रू.१०००००।–, लक्ष्मण थापा सहनीको रू.५०,०००।– लिए खाएको बकपत्र तथा भरपाईबाट देखिएकोले उल्लिखित रकम तथा अन्य जाहेरवालाहरूको दाबीको रकम प्रतिवादीले तिरे बुझाएको प्रमाण पेस गर्न सकेको नदेखिँदा देहायका जाहेरवालाहरूको देहायबमोजिमको तालिकामा उल्लिखित रकम प्रतिवादी ओमबहादुर खड्काले ठगी गरेको देखिन आयो ।

१ नइन्द्रबहादुर खड्का  १,२५,०००।-

२ यमबहादुर नेपाली २,७१,०००।-

३ गंगाधर गैरे १,००,०००।-

४ नरबहादुर खडका ५०,०००।-

५ होमबहादुर अधिकारी २,०५,०००।-

६ जिवन्तकुमारी  रेग्मी १,००,०००।-

७ मसुरी नेपाली ६१,०००।-

८ टिकाराम नेपाली ६५,०००।-

९ भविन्द्रबहादुर पाण्डे २,३०,०००।-

१० दुर्गा थापा ३६,०००।-

११ सन्तकुमारी बोहारा २५,०००।-

१२ रामबहादुर खत्री १,५६,०००।-

१३ तुलबहादुर बोहरा १,००,०००।-

१४ गोविन्दप्रसाद गौतम ४१,५०४।-

१५ दुर्गाबहादुर खड्का १,२०,०००।-

१६ भीमबहादुर क्षेत्री ९६,०००।-

१७ हर्कबहादुर खत्री ९५,०००।-

१८ जंगबहादुर बोहरा ३१,०००।-

१९ नवराज गौतम ४०,०००।-

२० जमुना थापा २०,०००।-

२१ छविलाल के.सी. ७०,०००।-

२२ भद्रबहादुर खत्री १,००,०००।-

२३ टीकाकुमारी बुढाथोकी १,००,०००।-

२४ झमबहादुर थापा ४०,०००।-

२५ देवेन्द्रबहादुर थापा ४,६८,०००।-

२६ पदमराज पाण्डे १,००,०००।-

२७ गोविन्दबहादुर खत्री १,१५,६००।-

२८ प्रेमबहादुर खत्री १,८०,०००।-

२९ प्रेमबहादुर खड्का ५०,०००।-

३० रत्नबहादुर बोहोरा २०,०००।-

३१ रिमबहादुर कार्की १,५०,०४०।-

३२ पदमबहादुर नेपाली १,५०,०००।-

३३ मीनबहादुर खत्री ५०,०००।-

३४ टेकबहादुर थापा ४४,०००।-

३५ कृष्णप्रसाद शर्मा ५०,०००।-

३६ यामबहादुर वि.क. २३,०००।-

३७ कृष्णप्रसाद गौतम ५०,०००।-

३८ फमबहादुर खडका ३१,०००।-

३९ खिमकुमारी बस्नेत ५०,०००।-

४० धनबहादुर नेपाली १,६०,०००।-

४१ भविन्द्रबहादुर बोहरा १,६५,०००।-

४२ हर्कबहादुर खत्री २,००,०००।-

४३ सम्मरबहादुर खत्री १,००,०००।-

४४ लक्ष्मण थापा सहनी ५०,०००।-

४५ दुर्गादत्त कडेल १,६४,०००।-

४६ लालकुमारी न्युरे ७०,०००।-

४७ पद्मकुमारी थापा १,००,०००।-

४८ भीमबहादुर क्षेत्री १,००,०००।-

४९ बमबहादुर बस्नेत    १,४६,५००।-

५० कृष्णबहादुर खड्का ३०,०००।-

५१ भीमबहादुर खड्का १,००,०००।-

५२ टिकाबहादुर खड्का १,००,०००।-

५३ बमबहादुर खड्का २,०६,३६८।-

५४ खडकबहादुर खड्का १,००,०००।-

जम्मा ५६०२०१२।-

 

 

२२. तसर्थ, नइन्द्रबहादुर खड्कासमेतका ५४ जना जाहेरवालाहरूको माथि उल्लेख भएअनुसारको बिगो रकम रू.५६,०२,०१२।– प्रतिवादीले गफलतमा पारी चिट भरपाईमार्फत झुक्याई लिए खाएको देखिएकोले सुरू जिल्ला अदालतको फैसला केही उल्टी गरी प्रतिवादी ओमबहादुर खड्कालाई बिगोबमोजिम जरिवाना र ठगीको ४ नं.बमोजिम ३ वर्ष कैद सजाय हुने तथा अन्य प्रतिवादीहरूलाई सफाइ दिने गरी पुनरावेदन अदालत, बागलुङबाट मिति २०७१।३।५ मा भएको फैसलालाई अन्यथा भन्‍न मिलेन । प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरी जाहेरवालाहरू सबैको बिगो रकम दिलाई भराई पाउँ भन्‍ने वादी नेपाल सरकारको र पुनरावेदन अदालतको फैसला उल्टी गरी सफाइ पाउँ भन्‍ने प्रतिवादी ओमबहादुर खड्काको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

२३. अतः माथि उल्लिखित आधार कारण तथा कानूनी सिद्धान्तसमेतबाट यामबहादुर अधिकारीसमेतका ५५ जना जाहेरवालाहरूको ठगी गरेको बिगो रू.४७,१४,४१२।– प्रतिवादी ओमबहादुर खड्काबाट भराई निजलाई बिगोबमोजिम जरिवाना र ठगीको महलको ४ नं. बमोजिम ५ वर्ष कैद सजाय तथा अन्य प्रतिवादीहरूले सफाइ दिने गरी भएको सुरू बागलुङ जिल्ला अदालतको मिति २०६९।१।७ को फैसला केही उल्टी गरी माथि उल्लिखित नइन्द्रबहादुर खड्कासमेत ५४ जना जाहेरवालाहरूको ठगी गरेको बिगो रू.५६,०२,०१२।- प्रतिवादी ओमबहादुर खड्काबाट जाहेरवालाहरूलाई भराई निजलाई ठगीको ४ नं. अनुसार ३ वर्ष कैद सजाय र बिगोबमोजिम जरिवाना तथा प्रतिवादी ओमबहादुर खड्काबाहेक अन्य प्रतिवादीहरूलाई सफाइ दिने ठहर्‍याएको पुनरावेदन अदालत बागलुङको मिति २०७१।३।५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकार र प्रतिवादी ओमबहादुर खड्काको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी फैसलाको विद्युतीय प्रति अपलोड गरी मिसिल नियमानुसार बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.डम्बरबहादुर शाही

 

इजलास अधिकृतः मेघनाथ चापागाँई

इति संवत् २०७६ साल वैशाख ११ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु