शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०३८१ - लागु औषध (डाइजेपाम)

भाग: ६१ साल: २०७६ महिना: फागुन अंक: ११

सर्वोच्च अदालत,  संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपकराज जोशी

माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही

फैसला मिति : २०७५।७।२७

०७१-CR-१४९५

 

मुद्दाः- लागु औषध (डाइजेपाम)

 

पुनरावेदक / वादी : प्र.स.नि. देवबहादुर खत्रीसमेतको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला चितवन पिप्ले गा.वि.स. वडा नं.५ बस्ने देवबहादुर घले

 

लागु औषध बरामद भएपछि त्यसको प्रकृति अर्थात् त्यसले मानव स्वास्थ्यमा पार्ने असर, लागु औषधको परिमाण, वारदात र वारदात हुँदाको अवस्था, प्रतिवादीले पहिले पनि कारोबार गरे नगरेको र सेवन गर्ने नगर्ने अवस्थासमेतलाई मध्यनजर गरी कसुरको मात्रा निर्धारण गर्नुपर्ने ।

बिक्री वितरण गर्ने गरेको भन्ने दाबी लिँदा त्यसको वस्तुनिष्ठ आधारसमेत खुलाएको हुनुपर्ने ।

(प्रकरण नं.३)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री विश्वराज कोइराला

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

लागु औषध (नियन्त्रण) ऐन, २०३३

 

सुरू तहमा फैसला गर्नेः-

माननीय न्यायाधीश श्री दीपेन्द्र अधिकारी

मकवानपुर जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः-

माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य

माननीय न्यायाधीश श्री विनोद शर्मा

पुनरावेदन अदालत हेटौंडा

 

फैसला

न्या.डम्बरबहादुर शाही : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छः-

मिति २०७०।१२।३ गते अं.१६:३० बजेको समयमा विशेष सूचनाको आधारमा वीरगन्जबाट नारायणगढतर्फ आइरहेको ना.४ ख.६३ नं. को बस रोकी चेकजाँच गर्ने क्रममा जिल्ला चितवन पिप्ले गा.वि.स. वडा नं. ५ बस्ने वर्ष १९ को देवबहादुर घलेको शरीर तलासी लिँदा निजले शरीरमा लुकाई छिपाई ल्याएको लागु औषध डाइजेपाम २९ एम्पुल, फेनारगन २९ एम्पुल र नरफिन २७ एम्पुल फेला पारी बरामद गरी निज देवबहादुर घलेसमेतलाई पक्राउ गरेको भन्ने सुरूको सञ्चार जाहेरी ।   

मिति २०७०।१२।३ गते अं.१६:३० बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला मकवानपुर मनहरी गा.वि.स.वडा नं.३ स्थित प्रहरी चेक पोष्टमा वीरगन्जबाट नारायणगढतर्फ आइरहेको ना.४.ख. ६३ नं.को बस रोकी चेकजाँच गर्ने क्रममा जिल्ला चितवन पिप्ले गा.वि.स.वडा नं.५ बस्ने वर्ष १९ को देवबहादुर घलेको शरीर तलासी लिँदा निजले शरीरमा लुकाई छिपाई ल्याएको लागु औषध डाइजेपाम 2ml को २९ एम्पुल, फेनारगन 2ml को २९ एम्पुल र नरफिन 2ml को २७ एम्पुल फेला पारी बरामद गरेको भन्ने बरामदी मुचुल्का । 

मिति २०७०।१२।३ गते अं.१६.३० बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला मकवानपुर मनहरी गा.वि.स.वडा नं.३ स्थित प्रहरी चेकपोष्टमा वीरगन्जबाट नारायणगढतर्फ आइरहेको ना.४.ख.६३ नं. को बस रोकी चेकजाँच गर्ने क्रममा जिल्ला चितवन पिप्ले गा.वि.स.वडा नं.५ बस्ने वर्ष १९ को देवबहादुर घलेको शरीर तलासी लिँदा निजले शरीरमा लुकाई छिपाई ल्याएको लागु औषध डाइजेपाम 2ml को २९ एम्पुल, फेनारगन 2ml को २९ एम्पुल र नरफिन 2ml को २७ एम्पुल फेला पारी बरामद गरी आवश्यक कारबाहीको लागि मानिस तथा बरामद भएको लागु औषध डाइजेपामसमेत दाखिला गरेको भन्ने प्र.स.नि. देवबहादुर खत्रीसमेतको प्रतिवेदन ।

भौतिक सबुद नं.१ मा डाइजेपाम र सबुद नं.२ मा ब्युप्रिनोर्फिन पाइएको छ भन्ने केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन ।

बरामद भएको लागु औषध डाइजेपाम २० एम्पुल, फेनारगन २० एम्पुल र नरफिन १८ एम्पुल टुटाई फुटाई नष्ट गरेको भन्ने मुचुल्का ।

वारदात मिति, समयमा जिल्ला मकवानपुर मनहरी गा.वि.स. वडा नं.३ स्थित प्रहरी चेक पोष्टमा वीरगन्जबाट नारायणगढतर्फ आइरहेको ना.४.ख. ६३ नं. को बसको दाहिने साइडको पछाडिको अन्तिम सिटभन्दा अगाडिको सिटको झ्याल साइडमा बसी आएका वर्ष अं.१९ को देवबहादुर घले नाम बताउने मानिसको शरीर प्रहरीले तलासी लिँदा लागु औषध डाइजेपाम 2ml को २९ एम्पुल, फेनारगन 2ml को २९ एम्पुल र नरफिन 2ml को २७ एम्पुल फेला पारी बरामद गरेको हो । निज प्रतिवादीले त्यति ठूलो परिमाणमा उल्लिखित लागु औषध बोकी आएकोले सेवन गर्ने मात्र नभई ओसारपसार र बिक्री वितरणसमेत गर्ने गरेको हुनुपर्छ भन्ने बेहोराको मौकामा बुझिएका प्रमिलादेवी मोक्तानसमेतको घटना विवरण कागज । 

मिति २०७०।१२।३ गते बिहान भारतको रक्सौल बजारबाट रू.३,०००।– (तीन हजार) मा खरिद गरी लागु औषध डाइजेपाम 2ml को २९ एम्पुल, फेनारगन 2ml को २९ एम्पुल र नरफिन 2ml को २७ एम्पुल शरीरमा लुकाई छिपाई बसमा चढी ल्याइरहेको अवस्थामा सोही दिनको अं.१६.३० बजे जिल्ला मकवानपुर मनहरी गा.वि.स. वडा नं.३ स्थित प्रहरी चेक पोष्टअगाडि आई पुग्दा प्रहरीले के कसरी थाहा पाई उल्लिखित परिमाणको लागु औषध डाइजेपाम, नरफिन, फेनारगनसमेत मेरो शरीर तलासी लिँदा फेला पारी बरामद गरी मसमेतलाई पक्राउ गरेको हो, म सेवन मात्र गर्छु भन्नेसमेत बेहोराको प्रतिवादी देवबहादुर घलेले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मिति २०७०।१२।३ गते प्रतिवादी देवबहादुर घलेले भारतको रक्सौल बजारबाट लागु औषध डाइजेपाम 2ml को २९ एम्पुल, फेनारगन 2ml को २९ एम्पुल र नरफिन 2ml को २७ एम्पुल खरिद गरी सेवनसमेत गर्ने उद्देश्यले आफ्नो शरीरमा लुकाई छिपाई चितवनतर्फ लिई गइरहेको अवस्थामा जिल्ला मकवानपुर मनहरी गा.वि.स. वडा नं.३ स्थित प्रहरी चेकपोष्टमा निजलाई चेकजाँच गर्दा उल्लिखित लागु औषधसहित पक्राउ परेको हुँदा निज प्रतिवादीको उक्त कार्य लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को (ङ)(च)(छ) को कसुर अपराध भएकोले निजलाई सोही ऐनको दफा १४(१)(ज) र (झ) बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग मागदाबी । 

मैले लागु औषध डाइजेपाम प्रयोग गर्न लागेको करिब २ वर्ष भयो । म लागु औषध दुर्व्यसनी भई युथ भिजन शाखा कार्यालय भैरहवामा करिब ३ महिना बसी आएको थिएँ । सो ठाउँबाट आएपछि पनि लागु औषध सेवन गर्न मन लागेकोले बरामद भएको लागु औषध म आफूले सेवन गर्न भनी ल्याएको हुँ । उक्त लागु औषध चितवनमा महङ्गो पर्ने हुँदा भारत रक्सौल गई रू.३,०००।– मा खरिद गरी करिब ७ दिनको लागि ल्याएको हुँ । सो लागु औषध ल्याउँदै गरेको अवस्थामा मनहरी भन्ने ठाउँमा प्रहरीले चेकजाँच गर्दा मेरो साथबाट बरामद भएको हो । सो लागु औषध मैले बिक्री वितरण गर्न ल्याएको नभई म आफैँले सेवन गर्न ल्याएको हुँदा अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी देवबहादुर घलेले सुरू अदालतमा गरेको बयान ।  

मिति २०७०।१२।३ गते नारायणगढतर्फ जाँदै गरेको ना.४ख ६३ नं. को बसमा सवार भई आएका देवबहादुर घलेको शरीर खानतलासी गर्दा निजको साथबाट २९ एम्पुल डाइजेपाम, २९ एम्पुल फेनारगन र २७ एम्पुल नर्फिन बरामद भई निजलाई पक्राउ गरी प्रतिवेदनसाथ पेस गरेको हो भन्नेसमेत बेहोराको प्रतिवेदक प्र.स.नि. देवबहादुर खत्रीले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादी देवबहादुर घलेले लागु औषध ल्याई खाने गर्दा रहेछन् । हामीले देख्ने गरी खाने गरेका थिएनन् । निजलाई ३।४ महिनाजति सुधार गृहमा पनि राखिएको थियो । निजले लागु औषध बिक्री वितरण गरेको कुरा अहिलेसम्म थाहा छैन । निज सेवनकर्ता मात्र हुँदा अभियोग दाबीअनुसार सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी मसिना गुरूङले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादी देवबहादुर घलेले रक्सौलबाट बरामद भएको लागु औषध खरिद गरेको लागु औषध लिई आउँदाको बखत पक्राउ परेको देखिएको सुधार केन्द्रमा रहेको भने पनि सुधारात्मक बाटोमा गएको भन्ने निजको क्रियाकलापबाट नदेखिएको सेवन गर्ने प्रयोजनको लागि खरिद गरेको भन्ने बयानको रहेको भएपनि सेवन भनेकै भरमा सेवन मात्र हो भनी मान्नु कानूनसम्मत देखिँदैन । प्रतिवादीले सेवन गर्न खरिद गरेको कार्यलाई स्वीकार गरी सँगसाथमा सो लागु औषध लिएर आएको भन्ने निजकै बयान बेहोरा रहे भएबाट र परीक्षणबाट लागु औषध देखिई बरामद लागु औषधको मात्रा र परिमाणबाट सेवन मात्र भन्ने अवस्था पुष्टि नभएबाट निज प्रतिवादीले आरोपित कसुर गरेको ठहर्छ । सो ठहर्नाले सेवनतर्फ लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१) (ज) बमोजिम १ (एक) महिना कैद र रू.१,०००।- जरिवाना तथा ऐ.१४(१)(झ) बमोजिम कसुरको मात्रा प्रकृति र परिमाण, संलग्नता र लागु औषध लिई आउँदा अपनाएको तरिका र अवस्थासमेतको रोहबाट निजलाई २ (दुई) वर्ष कैद र रू.१,००,०००।- जरिवाना हुने ठहर्छ भन्नेसमेत बेहोराको सुरू मकवानपुर जिल्ला अदालतको मिति २०७१।२।१९ को फैसला । 

वादी पक्षले शंकारहित रूपमा निर्विवादित ठोस सबुद प्रमाणबाट अभियोग दाबी पुष्टि गर्न  सकेको छैन । शंकाको सुविधा अभियुक्तले पाउने भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त छ । प्रतिवेदक प्र.स.नि. देवबहादुर खत्रीले बकपत्र गर्दा निज देवबहादुर घलेको साथबाट २९ एम्पुल डाइजेपाम र २९ एम्पुल फेनारगान २७ एम्पुल नोर्फीन बरामद भएको हो भनी बरामद भएको तथ्यसम्मको मात्र बकपत्र गरेका छन्‌ । निज प्रतिवेदकले ठुलो परिमाणमा ल्याएको हुँदा ओसारपसार हुन सक्दछ भनी गरिएको बकपत्रले अभियोग दाबी पुष्टि हुन सक्दैन । त्यसैले वादी पक्षले पर्याप्त निर्विवादित सबुत प्रमाणबाट मउपर लगाएको अभियोग पुष्टि गर्न नसकेको अवस्थामा मलाई कसुरदार ठहर गर्ने गरी गरिएको फैसला त्रुटिपूर्ण छ । लागु औषध (नियन्त्रण) ऐन, २०३३ को परिभाषा खण्डले खरिदलाई छुट्टै अपराध भनी व्यवस्था गरेको अवस्थामा सेवनको लागि भनी खरिद गरेकोमा स्वीकारोक्ति छ भनी खरिदतर्फ सजाय हुने गरी गरिएको फैसलाले मलाई अन्याय परेको छ । म पुनरावेदक लागु औषध सेवन गर्ने दुर्व्यसनी हुँ । यसभन्दा अगाडि पनि लागु औषध सेवन गरी युथ भिजन सुधार गृह भैरहवामा १०० दिन बसी आएको र अब आइन्दा सेवन नगर्ने भन्ने मनस्थितिमा रही लामो समय सेवन गरिनँ । मिति २०७०।१२।२ गते बेलुकी अं.१९ बजेतिर लागु औषध डाइजेपामसमेतको लागु औषध सेवन गर्न मन लागी रक्सौल बजारमा गएकोमा रेलको लिगदेखि अं.२०० मिटर टाढा मलाई एकजना मानिसले तिमी ड्रग्स लिन आएको हो, हिँड मेरो पसलमा छ भनी लगेको र मैले आफैँ लैजान्छु भनी बसमा आउँदा प्रहरीले फेला पारी बरामद गरी पक्राउ परेको हुँ । अधिकारप्राप्त अधिकारी र अदालतमा मैले सेवन मात्र गर्छु भनी बयान गरेको छु । मैले खरिद बिक्री ओसारपसार गरेको छैन । मेरो इन्कारी बयानलाई मेरा साक्षीले पुष्टि गरिदिएका 

छन्‌ । यस्तो अवस्थामा मलाई सेवनसम्मको कसुरदार ठहर गर्नुपर्नेमा सुरू जिल्ला अदालतले दुई वर्ष कैद र रू.१,००,०००।- जरिवाना हुने ठहर गरेको फैसला त्रुटिपूर्ण भएकोले केही उल्टी गरी खरिदतर्फको अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादीको पुनरावेदन अदालतमा परेको पुनरावेदन ।

प्रतिवादीले सेवन गर्न ल्याएको भनी बयान गरेको देखिएको र बरामदी लागु औषधको परिमाणसमेतलाई ध्यानमा राख्दा सुरू मकवानपुर जिल्ला अदालतबाट मिति २०७१।२।१९ मा भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा विचारणीय भई फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.ब. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ को प्रयोजनार्थ छलफलका लागि पुनरावेदन सरकारी वकिल कार्यालय, हेटौंडालाई सूचना दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत हेटौंडाको मिति २०७१।८।१६ को आदेश ।

प्रतिवादी देवबहादुर घले युथ भिजन लागु औषध दुर्व्यसनी उपचार तथा पुनःस्थापना केन्द्र शाखा कार्यालय, सिद्धार्थनगर भैरहवामा पुनःस्थापना प्रयोजनको लागि बसेका हुन्‌ वा होइन ? बसेको भए कहिलेसम्म बसेका हुन्‌ सो कुरा पुष्टि हुने कुनै रेकर्ड भए सोसमेतको स्पष्ट जवाफ उक्त केन्द्रबाट लिई आएपछि नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत हेटौंडाको मिति २०७१।९।१ को आदेश ।

बरामद भएको लागु औषधको मात्रा एवम् वारदातको प्रकृतिसमेतबाट प्रतिवादीको कसुर लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१) को देहाय (ज) अनुसार सेवनसम्मको देखिएकोले पुनरावेदक प्रतिवादी देवबहादुर घलेलाई सोहीबमोजिम २ महिना कैद तथा रू.२०००।- समेतको दुवै सजाय हुने ठहर्छ । लागु औषध बिक्री वितरणतर्फको निजउपर अभियोग दाबी प्रमाणित हुन नसकेकोले मकवानपुर जिल्ला अदालतको मिति २०७१।१२।१९ को फैसला केही उल्टी हुने ठहर्छ भन्ने बेहोराको पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७१।१०।१३ मा भएको फैसला ।

प्रस्तुत मुद्दामा प्रतिवादीले भारतको रक्सौलबाट लागु औषध डाइजेपाम २९ एम्पुल, फेनारगन २९ एम्पुल र नरफिन २७ एम्पुल खरिद गरी लिई हिँडेको अवस्थामा पक्राउ परेको भन्ने बेहोराको जाहेरी प्रतिवेदनलाई समर्थन गर्ने गरी प्रमिलादेवी मोक्तानको ठुलो परिमाणमा उल्लिखित लागु औषध बोकी आएकोले सेवन गर्ने मात्र नभई ओसारपसार र बिक्री वितरण गर्ने गरेको हुनुपर्छ भन्ने बेहोराको घटना विवरण कागज, परीक्षण प्रतिवेदनसमेतबाट प्रतिवादीले आरोपित कसुर गरेको पुष्टि भइरहेको अवस्थामा सेवनसम्मको कसुर गरेको भनी कम सजाय हुने गरी भएको फैसला त्रुटिपूर्ण छ । डाइजेपाम एक एम्पुलमा २ एम.एल. हुन्छ । २ एम.एल अर्थात्‌ एक एम्पुलमा १० मि.ग्रा. हुन्छ । २९ थान डाइजेपाममा २९० मि.ग्रा. डाइजेपाम हुन्छ । Laboratory studies have shown that single dose of diazepam, (5-20mg) are capable of causing significant performance decrements भनिएको पाइन्छ । प्रतिवादीबाट बरामदित लागु औषधको परिमाण र प्रकृति हेर्दा निजले सेवनसम्मको लागि लिई हिँडेको भन्ने विश्वास गर्न सकिँदैन । प्रस्तुत सन्दर्भमा “सेवन प्रयोजनलाई खरिद गर्ने र बिक्री वितरण गर्नेलाई खरिद हुने अवस्था छुट्टयाउन लागु औषधको परिमाणलाई हेरिनुपर्ने हुन्छ । सेवन प्रयोजनको लागि एक दुई डोजसम्मको लागि खरिद हुने हुँदा बरामद लागु औषध अत्यधिक मात्रामा देखिएकोले सेवनसम्मको लागि खरिद गरेको हो भन्न नमिल्ने (नेकाप २०६९, अंक ११, नि.नं. ५९२३, पृष्ठ १७१०) भनी सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल हुने गरी पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७१।१०।१३ मा भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीहरूलाई सुरू अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदन ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान्‌ सहन्यायाधिवक्ता श्री विश्वराज कोइरालाले प्रतिवादीबाट लागु औषध बरामद भएकोमा विवाद 

छैन । बरामदी लागु औषध सेवनको लागि लिई आएको भनी प्रतिवादीले अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष बयान गरे पनि बरामदी परिमाण हेर्दा, सेवनको लागि मात्र ल्याएको भन्न मिल्ने 

देखिँदैन । तसर्थ प्रतिवादीलाई अभियोग दाबीबमोजिम ओसारपसार र बिक्री वितरणतर्फसमेत कसुर कायम गरी सजाय गरिनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।

अब प्रस्तुत मुद्दामा अभियोग दाबीबमोजिम सजाय गरेको सुरू फैसला केही उल्टी गरी प्रतिवादीलाई सेवनतर्फ मात्र सजाय गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०७१।१०।१३ को फैसला मिलेको छ, छैन र वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्ने हो, होइन ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी देवबहादुर घलेले भारतको रक्सौलबाट लागु औषध डाइजेपाम २९ एम्पुल, फेनारगन २९ एम्पुल र नरफिन २७ एम्पुल खरिद गरी वीरगन्जबाट नारायणगढतर्फ गाडीमा आउँदै गर्दा प्रहरी चेकजाँचको क्रममा भएको निज प्रतिवादीको सँगसाथबाट उल्लिखित लागु औषध बरामद भएकोले बरामदी परिमाणसमेतको आधारमा सो कार्य लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को ङ, च, छ को कसुर अपराध हुँदा निजलाई ऐ. १४ (१)(ज) र (झ) बमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको अभियोग दाबीबमोजिम सजाय गरेको र पुनरावेदन अदालतले सुरू फैसला केही उल्टी गरी प्रतिवादीलाई सेवनतर्फ मात्र सजाय गरेको फैसलाउपर चित्त नबुझाई वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदन परेको देखियो । पुनरावेदन पत्रमा ठूलो परिमाणको लागु औषध खरिद गरी लिई हिँडेको अवस्थामा लागु औषधसहित प्रतिवादी पक्राउ परेको, सेवन गर्ने प्रयोजनको लागि लिई हिँडेको भन्ने प्रतिवादीको बयान रहे पनि परिमाणले सेवनको लागि मात्र भन्ने नदेखिएकोले ओसारपसार र बिक्री वितरणतर्फ सजाय हुनुपर्छ भन्ने जिकिर लिएको  पाइयो ।

३. प्रतिवादी वीरगन्जतर्फबाट नारायणगढ आउँदै गर्दा चेकजाँचको क्रममा निजको साथबाट २९ एम्पुल डाइजेपाम, २९ एम्पुल फेनारगेन र २७ एम्पुल नरफिन बरामद भई पक्राउ परेको भन्ने बरामदी मुचुल्काबाट देखिन्छ । प्रतिवादी देवबहादुर घले अधिकारप्राप्त अधिकारीसमक्ष र अदालतको बयानमा समेत आफूले लागु औषध सेवन गर्ने गरेको, बिक्री वितरणको कार्य गर्ने नगरेको यसपूर्व सेवन गरेकै कारण सुधार गृहमा ३-४ महिनासम्म बसेको, पूर्व खाने लत परेको हुँदा नेपालमा खरिद गर्दा महङ्गो पर्ने भएका कारण भारत रक्सौलबाट खरिद गरी ल्याएको हो भनी एकै बेहोराको बयान गरेको देखिन्छ । वादी पक्षले सेवनको लागि मात्र होइन, बिक्री वितरणको लागि पनि ल्याएको हो भनी दाबी लिए पनि को कसलाई कहाँ के कसरी बिक्री वितरण गर्न लागेको हो भन्ने स्पष्ट रूपमा अभियोग दाबी लिन सकेको देखिँदैन । बरामदी परिमाण धेरै भएकोले बिक्री वितरणसमेत गर्ने प्रयोजन हो भनी हचुवाको भरमा दाबी लिएको र बरामदी लागु औषधको प्रकृति र त्यसको परिमाणलाई हेर्दा अति घातक प्रकृतिको पनि नदेखिएको र परिमाण पनि अत्यधिक रहेको भन्ने देखिँदैन । लागु औषध बरामद भएपछि त्यसको प्रकृति अर्थात् त्यसले मानव स्वास्थ्यमा पार्ने असर, लागु औषधको परिमाण वारदात र वारदात हुँदाको अवस्था, प्रतिवादीले पहिले पनि कारोबार गरे नगरेको र सेवन गर्ने नगर्ने अवस्थासमेतलाई मध्यनजर गरी कसुरको मात्रा निर्धारण गर्नुपर्ने हुन्छ । बिक्री वितरण गर्ने गरेको भन्ने दाबी लिँदा त्यसको वस्तुनिष्ठ आधारसमेत खुलाएको हुनुपर्छ । अनुसन्धानबाट यी प्रतिवादीले सेवनबाहेक बिक्री वितरणसमेत गर्ने गरेको र बरामदी लागु औषध को कसलाई, के कसरी बिक्री वितरण गर्ने गरेको सो यकिन गरी खुलाएको देखिन आउँदैन ।

४. प्रतिवादी पक्राउ पर्दा बिक्री वितरण गर्दैछन् भन्ने सूचना आएको भनी प्रतिवेदकले भनेको अवस्थासमेत छैन । प्रतिवादीले आफूले सेवन गर्ने कुरा अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा नै उल्लेख गरिसकेका र बिक्री वितरण गर्ने गरेको भन्ने कुरामा इन्कार रहेको अवस्था छ । अदालतमा समेत सेवन प्रयोजनार्थ ल्याएको भनेका छन् । प्रतिवादी लागु औषधको सेवनकै कारण सुधार गृहमा बसिसकेको भन्नेसमेत देखिएको र लागु औषधको प्रकृति र परिमाणसमेतलाई विचार गर्दा बिक्री प्रयोजनकै लागि ल्याएको भन्ने नदेखिएकोले वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

५. अतः माथि विवेचित आधार कारणबाट सुरू फैसला केही उल्टी गरी प्रतिवादी देवबहादुर घलेलाई लागु औषधको प्रकृति, त्यसको मात्रा र प्रतिवादीको प्रयोगको अवस्थासमेतलाई विचार गरी लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१) को देहाय (ज) को सेवनसम्मको कसुर ठहर्‍याई २ महिना कैद र रू.२०००।- जरिवाना गर्ने गरी भएको पुनरावेदन अदालत हेटौंडाको मिति २०७१।१०।१३ को फैसला मिलेकै दैखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.दीपकराज जोशी

 

इजलास अधिकृत: अनुपमा पन्त

इति संवत्‌ २०७५ साल कार्तिक २७ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु