निर्णय नं. १०३८५ - आगो लगाई कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की
माननीय न्यायाधीश श्री कुमार रेग्मी
फैसला मिति : २०७६।१।२२
०७४-CR-०२८४
मुद्दाः आगो लगाई कर्तव्य ज्यान
पुनरावेदक / वादी : आरिफ अहमद राइनको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला बर्दिया, गुलरिया न.पा.वडा नं.८ वतन भएकी हसिना हास्मीसमेत
०७४-CR-०९७२
पुनरावेदक / प्रतिवादी : रहिस अहमद हास्मीको छोरा बर्दिया जिल्ला, गुलरिया नगरपालिका हाल वडा नं.६ घर भई हाल कारागार कार्यालय बर्दिया, गुलरियामा थुनामा रहेको रिजवान अहमद हास्मीसमेत
विरूद्ध
प्रत्यर्थी / वादी : आरिफ अहमद राइनसमेतको जाहेरीले नेपाल सरकार
मरेको व्यक्तिले आफू मर्न लागेको अवस्थामा होस छँदै आफ्नो मृत्युको सम्बन्धमा व्यक्त गरेको कुरा प्रमाणमा ग्रहण गर्नको लागि दुई वा दुईभन्दा बढी कागज पेस भएकोमा ती कागजहरू वा दुई वा दुईभन्दा बढी व्यक्तिहरूले सुनेको भनी लेखाएको विषय एकापसमा विरोधाभाषपूर्ण हुनुहुँदैन । अस्पतालमा गराइएको भनिएको कागजमा उपचारमा संलग्न चिकित्सक वा अन्य कर्मचारीलाई रोहवरमा राखी निजहरूले अदालतसमक्ष सोको विषयमा बकपत्र गरेको हुनुपर्दछ । पेस गरिएका कागजमा उल्लिखित बेहोरा मिसिल संलग्न कागजबाट समर्थित भएको हुनुपर्दछ, सो नभए पनि खण्डित भएको हुनु नहुने ।
(प्रकरण नं.२०)
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्त भण्डारी
प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प.२०६९, अंक १२, नि.नं.८९३०
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्नेः
मा. जिल्ला न्यायाधीश श्री बसन्तराज पौडेल
बर्दिया जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री वीरबहादुर डाँगी
मा. न्यायाधीश श्री रमेशप्रसाद राजभण्डारी
उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास
फैसला
न्या.हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
मिति २०६९।८।२२ गते बर्दिया जिल्ला, गुलरिया नगरपालिका-८ स्थित मेरो घरमा बहिनी शिवा हास्मीलाई बाबु खाँले रातो रङ्गको प्लाष्टिकको जगमा ल्याएको पेट्रोल हाली सलाई कोरी आगो लगाई दिई सख्त घाइते बनाएको र निजले पटकपटक बहिनीलाई विवाह गरौं भनी फोनबाट भनेको र विवाह नगर्ने भए तँलाई मारी सिध्याई दिन्छु भनेकोसमेत हुँदा ज्यान मार्ने उद्योगअन्तर्गत आवश्यक कानूनी कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको रिजवान हास्मीको जाहेरी दरखास्त ।
बर्दिया जिल्ला, गुलरिया नगरपालिका वडा नं.८ स्थित पूर्वमा राज्जा अली हलवाईको घर, पश्चिममा बारीस अली शाहको बारी, उत्तरमा मदन थापाको बारी, दक्षिणमा मस्जिद टोलको बाटो यति चार किल्लाभित्र शिवा हास्मीको एकतले पक्की घर, सोही घरको उत्तरतर्फ फोहर पानी फाल्ने पानी जमेको खाल्डो, सो खाल्डोको पश्चिम किनारामा हरियोमा सेतो रातो धर्का भएको कपडा जलेको, उक्त कपडा प्रहरीले जिम्मा लिएको, सो स्थानमा बाबु खाँले शिवा हास्मीलाई आगो लगाई दिएको भन्ने देखाएको घटनास्थलमा मुद्दासँग प्रमाण लाग्ने चिजवस्तुहरू केही फेला नपरेको, सो घरको भित्र पस्दा तीन वटा कोठामध्ये बिचको कोठामा खाटमुनि कोकको डेढ लिटरको बोतलमा अन्दाजी ५० मि.लि. मट्टितेल र सिसीको टुकी बत्ती फेला पारी प्रहरीले आफ्नो जिम्मामा लिएको ठीक छ भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।
मिति २०६९।८।२२ गते धाराबाट पानी ल्याउँदै गरेको अवस्थामा बाबु खाँले पछाडिबाट पेट्रोल छरी आगो लगाएको हो जस्तो लाग्छ भन्नेसमेत बेहोराको पीडित शिवा हास्मीले उपचारको क्रममा जिल्ला अस्पताल बर्दियामा मेडिकल अधिकृत डा. अमित लामगादेको रोहवरमा गरेको मौकाको कागज ।
जाहेरवाला रिजवान हास्मीले मिति २०६९।८।२१ गते दिएको ठाडो निवेदनका सम्बन्धमा रिजवान हास्मी र बाबु खाँ दुवैलाई कार्यालयमा राखी बाबु खाँले निवेदकको बहिनीलाई अब आउँदाका दिनहरूमा आँखा नलगाउने, कुनै नराम्रो दृष्टिकोणले नहेर्ने, निवेदकका तर्फबाट समेत बाबु खाँलाई अपशब्द गाली गलौज नगर्ने, बाबु खाँले मोबाइलमा शिवा हास्मीलाई पठाएका एस.एम.एस.सबै हटाई दुवै पक्षले अब यसै विषयलाई लिएर वादविवाद झैझगडा नगर्ने भनी मौखिक सहमति भएको भन्नेसमेत बेहोराको प्र.स.नि.सुनिलजंग शाहले रिजवान हास्मीले दिएको निवेदन साथै राखी पेस गरेको प्रतिवेदन ।
जिल्ला बर्दिया, गुलरिया नगरपालिका वडा नं.८ स्थित प्रतिवादी बाबु खाँको मोटरसाइकल ग्यारेज खानतलासी गर्दा मुद्दासँग प्रमाणलायक चिजवस्तुहरू केही फेला नपरेको भन्नेसमेत बेहोराको खानतलासी बरामदी मुचुल्का ।
मैले शिवा हास्मीलाई पेट्रोल हाली आगो लगाएको होइन । निज र मेरोबिच गहिरो प्रेमसम्बन्ध थियो । शिवा र मबिचको विवाहको कुरा गर्दा घरपरिवारले स्वीकार नगरी धाक, धम्की दिने गरेको, शिवा हास्मीसँग मेरो फोन सम्पर्क हुँदा तिमीले मसँग विवाह गरी लाँदैनौ भने मलाई मेरो घरका मानिसले आगो लगाई मारी दिन्छौं भनेका छन् भनी मसँग फोनमा भन्थिन्, त्यसैले मलाई निज शिवालाई आगो लगाउने निजकै घरपरिवार हुन् भन्ने कुरामा शंका लाग्छ भन्नेसमेत बेहोराको प्रतिवादी बाबु खाँ भन्ने रहिस खाँको मौकाको बयान कागज ।
मिति २०६९।८।२२ गते आगोलागी भएको छ, तुरून्त जानु भन्ने आदेश भई गाडी घरसम्म नजाने भएकाले पैदल जाँदा शिवा हास्मी आगोले जली घाइते अवस्थामा म्याक्सी लगाई घरको उत्तरतर्फको कोठामा खटियामाथि राखिएको थियो । निजले पानी मागिरहेकी र अवस्था चिन्ताजनक भएकाले गाडी मगाएँ । घटना कसरी भयो भनी बुझ्दा आमा रोइकराई रहेकी, छोराहरूमध्ये जेठो मुन्ना र माहिलो चुन्नाले बाबु खाँले उत्तरतर्फको पर्खालबाट पेट्रोल छर्की आगो लगाई भागेको भनेपछि पर्खालतर्फ गई हेर्दा पछाडि अर्कैको करेसाबारी रहेको, पर्खाल नजिक शौचालय रहेको, पानीको हिलो रहेको, वरपर कुनै गन्ध थिएन, हिलोमा कुनै जुत्ता चप्पलको डाम थिएन, त्यति बेलासम्म गाडी आएकोले घाइतेलाई अस्पताल पुर्याउँदा ६:३०/ ६:४५ बजेको थियो होला । केही समयपछि बाबु खाँले आगो लगाएको भन्ने बाहिर हल्ला हुन थालेपछि प्रहरी टोली बाबु खाँको डेरा कोठामा पुगी बोलाउँदा घरबाहिर आएपछि निजलाई पक्राउ गरेको हो भन्नेसमेत बेहोराको प्र.ना.नि. विष्णुबहादुर के.सी.को प्रतिवेदन ।
Burn injury over body, swelling of face and neck region साथै शरीरको अगाडिको भाग बढी जलेको हुनाले सोही भागबाट आगो लागेको अनुमान गर्न सकिने भन्नेसमेत बेहोराको शिवा हास्मीको घाउ जाँच केस फाराम ।
प्रतिवादी बाबु खाँको मोबाइल नं.९८४८०४७९६९, ९८१९५४९७४२ र पीडित शिवा हास्मीको मोबाइल नं.९८०४५०२५५० नं. बिच पटकपटक फोन सम्पर्क भएको देखिने कल डिटेल्स कागज मिसिल सामेल रहेको ।
बाबु खाँले मेरो बहिनी शिवा हास्मीलाई विवाह गर्छु भनी फोनबाट दबाब दिँदै आएको, शिवाले विवाह गर्दिनँ भनी अस्वीकार गरेपछि मिति २०६९।८।२२ गते बिहान पेट्रोल हाली आगो लगाएको र निजको उपचारको क्रममा मिति २०६९।८।२७ गते वीर अस्पताल, काठमाडौंमा मृत्यु भएको हुँदा कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको तनवीर अहमद हास्मीले महानगरीय प्रहरी परिसर, काठमाडौंमा दिएको किटानी जाहेरी दरखास्त ।
मृतक शिवा हास्मीको कपाल जली खुइलिएको, निधार, दुवै कान, अनुहार, घाँटीदेखि खुट्टाको गोलीगाँठोसम्म, दुवै हात, पाखुरा, पञ्जासमेत जली छाला खुइलिएको, योनि मलद्वार जलेको, ओल्टाईपल्टाई हेर्दा कपाल जली खुम्चिएको, गर्धन तथा पिठ्यूँको भाग आगोले जली छाला खुइलिएको भन्नेसमेत बेहोराको लास जाँच प्रकृति मुचुल्का ।
मिति २०६९।८।२२ गते बिहान म ट्वाइलेट गई हात धुन लागेको अवस्थामा छोरी शिवा उठी उत्तरतर्फ रहेको दिवाल नजिक गई घोप्टो अवस्थामा ट्वाइलेट जाने भाँडो टिप्ने क्रममा एक्कासी कराउँदा आगो दन्किएको देखी मसमेत कराएको, सुतिरहेका छोराहरूले सुनी आगो निभाउने प्रयास गरेका हुन्, स्थानीय व्यक्तिहरूसमेत आई आगो निभाई प्रहरीले गाडीमा राखी शिवालाई उपचारको लागि लगेका हुन्, निजको शरीरमा आगो के कसरी लाग्न पुगेको हो यकिन मलाई थाहा छैन, रेडियोमार्फत बाबु खाँले आगो लगाएको भन्ने सुनेकी हुँ भन्नेसमेत बेहोराको शिवा हास्मीकी आमा हसिना हास्मीको घटना विवरण कागज ।
मिति २०६९।८।२२ गते बिहान सुतिराखेको अवस्थामा आमा जोड जोडले कराएपछि बाहिर जाँदा दिवाल नजिक बहिनी शिवाको शरीरमा आगो लागेको देखी निभाई बहिनीलाई उपचार गर्न पठाएपछि आमा यो के भयो भन्दा बहिनी शिवाले मलाई बाबु खाँले पेट्रोल हाली आगो लगाई दिई उत्तरतर्फको पर्खालबाट भागी गए भनेकी हुन् भन्नेसमेत बेहोराको तनवीर अहमद हास्मीको घटना विवरण कागज ।
मिति २०६९।८।२२ गते बिहान सुतिराखेको अवस्थामा दाजु रिजवान कराएको सुनी उठी बाहिर जाँदा बहिनीको शरीरमा आगो लागी फोहर पानी फाल्ने खाडलमा थिइन्, त्यहाँ बहिनीले मलाई पोल्यो भन्दै कराएकी थिइन्, अन्य कुनै कुरा गरेको मैले सुनिन भन्नेसमेत बेहोराको सिद्धु भन्ने रिहान अहमद हास्मीको घटना विवरण कागज ।
भान्जी शिवाको शरीरमा आगो के कसरी लाग्न पुगेको हो मलाई यकिन थाहा जानकारी छैन, दिदी बाहिर जोडजोडसँग कराएको सुनी जाँदा भान्जी शिवाको शरीरमा आगो लागेको मैले देखेको हुँ भन्नेसमेत बेहोराको अब्दुल मोइज हास्मीको कागज ।
मेरो बहिनी शिवा हास्मीलाई बाबु खाँले प्रेमसम्बन्ध राखेको भनेपछि रिस उठी मैले मिति २०६९।८।२० गते निज बाबु खाँलाई २/३ थप्पड हानेको हुँ, बहिनीको बेइज्जत हुने भयो भनी रिजवानले प्रहरीमा उजुरी दिई सहमति भएको थियो । मिति २०६९।८।२२ गते बिहान मेरो आमा जोडजोडसँग कराएको सुनी के भयो भनी बाहिर जाँदा बहिनी शिवा जल्दै गरेको अवस्थामा देखी बहिनीको शरीरको आगो निभाएको हुँ । निजको शरीरमा आगो के कसरी लाग्न पुगेको हो मलाई थाहा छैन, जाहेरवाला भाइ रिजवान अहमद हास्मीले आफ्नो जाहेरीमा बाबु खाँले पेट्रोल हाली आगो लगाई दिएको कुरा के कसरी उल्लेख गरेका हुन् यकिन मलाई थाहा छैन भन्नेसमेत बेहोराको मुन्ना भन्ने सुभान अहमद हास्मीको कागज ।
वारदातस्थलबाट बहिनी शिवा हास्मीलाई भित्र कोठामा लिई जाने क्रममा के कसरी आगो लाग्न पुगेको हो भन्दा बहिनी शिवाले मलाई बाबु खाँले रातो जगमा ल्याएको पेट्रोल हाली सलाई कोरी आगो लगाएको हो भनेकी हुँदा मैले तत्काल सोही बेहोराको जाहेरी जिल्ला प्रहरी कार्यालय बर्दियामा दिएको हुँ, बाबु खाँ भाग्दै गरेको देखेको होइन भन्नेसमेत बेहोराको रिजवान अहमद हास्मीको कागज ।
जाहेरवालाको आमा कराएको सुनी घटनास्थलमा गएकीमा मैले देख्दाको अवस्थामा शिवा हास्मी फोहर पानी फाल्ने खाडलमा थिइन्, शरीरको आगो निभिसकेको थियो । निजलाई मामा र दाइले खाडलबाट निकाल्दा निजको शरीरमा कपडा नभएपछि तन्नाले शिवालाई लपेटी भित्र लग्दाको अवस्थामा शिवाले आमा पानी दिनु भनेकी हुन्, अन्य केही कुरा बोलिनन् र केही समयपछि प्रहरीको गाडी आई उपचारको लागि जिल्ला अस्पताल बर्दियातर्फ पठाएका हौं । निजको शरीरमा आगो के कसरी लाग्न पुगेको हो यकिन मलाई थाहा छैन भन्नेसमेत बेहोराको जैतुन सैयदको कागज ।
हल्ला भएको सुनी जाहेरवालाको घरमा जाँदा शिवालाई कोठामा लगेका रहेछन् । टर्च बाली हेर्दा निजको मुख डढेको थियो, मैले कसरी आगो लाग्यो भन्दा मलाई केही थाहा छैन भनिन् । निजको शरीरमा कपडा नभएपछि म्याक्सी ओढाई दिएकी हुँ भन्नेसमेत बेहोराको राधा कुँवरको कागज ।
म नवाज पढी आउने क्रममा होहल्ला भएपछि के भएको हो भनी शिवाको घरमा जाँदा निजको घर पछाडि फोहर पानी फाल्ने खाडलबाट शिवालाई मामा र दाजुले निकाल्दै थिए । मैले निजलाई देख्दाको अवस्थामा पानी भन्दै दुईपटक बोलेकी हुन्, अन्य केही कुरा गरिनन् भन्नेसमेत बेहोराको मोहम्मद अहमदको कागज ।
आमा बचाउ भन्ने आवाज आएको सुनी के भयो भनी बाहिर आउँदा रिजवानको घरमा आगोको लप्का बलिरहेको देखी श्रीमतीलाई उठाएँ । श्रीमती त्यसतर्फ गएकी हुन्, के कसरी आगो लाग्यो थाहा भएन भन्नेसमेत बेहोराको मोहम्मद हनिफको कागज ।
मिति २०६९।८।२१ गते म शिवा हास्मीको घरमा सुतेकी थिएँ । भोलिपल्ट बिहानको समयमा म पिसाब फेरी सुत्न भित्र कोठामा गएँ, मामु धारामा हुनु हुन्थ्यो । शिवा हास्मी उठी बाहिर गएको केही छिनमै जोड जोडसँग कराएको सुनी के भयो भनी जाँदा शिवा हास्मीको शरीरमा आगो दन्किएको मैले देखेकी हुँ भन्नेसमेत बेहोराको तजकीरा हास्मीको कागज ।
शिवा हास्मीको उपचारको लागि म सँगै गएकी थिएँ । जिल्ला अस्पताल बर्दियामा प्रहरीले घटना सम्बन्धमा शिवा हास्मीलाई सोधपुछ गर्दा मलाई बाबु खाँले पेट्रोल हाली आगो लगाई दिएको भनेर भनिन् भन्ने कुरा सुनी थाहा पाएकी हुँ । निजको शरीरमा आगो के कसरी लाग्न पुगेको हो यकिन मलाई थाहा छैन भन्नेसमेत बेहोरा सविना हास्मीको कागज ।
मिति २०६९।८।२० गते कम्प्युटर लिई मेरो पसलमा गएका रिहानले घर फर्कने सवारी साधन नपाएपछि मेरो मोटरसाइकलमा २ लिटर पेट्रोल हाली लिई गएका हुन् । उक्त मोटरसाइकल २०६९।८।२५ गते फिर्ता ल्याएको हो भन्नेसमेत बेहोराको आजम हास्मीको कागज ।
जाहेरवाला रिजवान अहमद हास्मीको घरभित्र ग्यालरीबाट शरीरमा आगो बल्दै बाहिर निस्किएको मैले देखेकी हुँ, पछि बुझ्दा शिवाको शरीरमा आगो लागेको रहेछ, निजको शरीरमा आगो के कसरी लाग्न पुगेको हो यकिन थाहा भएन भन्नेसमेत बेहोराको लक्ष्मी थापा, जुमा अन्सारी, शिखा मण्डलको अलग अलग कागज ।
मिति २०६९।८।२२ गते बिहान अं.६:३० बजेको समयमा म पिसाब फेर्न भनी बाहिर निस्किएको अवस्थामा सिद्धु जलादिया भनी हसिना हास्मी २ पटक कराएको मैले सुनेकी हुँ । तत्पश्चात् म ट्वाइलेटबाट फर्कने क्रममा निजले नै बाबुले जलाई दियो भन्दै कराएकी थिइन् । म घटनास्थलमा गइनँ । तत्काल के भयो थाहा भएन । पछि बुझ्दा शिवा हास्मीको शरीरमा आगो लागेको थाहा पाएकी हुँ भन्नेसमेत बेहोराको हरीसुन शेषको कागज ।
मिति २०६९।८।२२ गते शिवा हास्मीलाई निजकै दाइ सिद्धु हास्मी, रिजवान हास्मी र आमा हसिना हास्मीले पेट्रोल हाली आगो लगाई दिएको र निजको उपचारको क्रममा ऐ.२७ गते वीर अस्पताल काठमाडौंमा मृत्यु भएको हुँदा ज्यानसम्बन्धीको महलबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको आरिफ अहमद राइनको जाहेरी दरखास्त ।
मैले देख्दा शिवा हास्मीको शरीरमा आगो निभिसकेको थियो । शिवा हास्मीलाई उपचार गराउन लैजाउ भन्दा निजको आमा, दाइ रिजवान र सिद्धुले मर्न देऊ औषधी गर्न लैजान्न भनेका कारणबाट सिद्धुले पेट्रोल खन्याएको रिजवान र हसिनाले आगो लगाएको हुनुपर्छ भन्नेसमेत बेहोराको आरिफ अहमद राईनको कागज ।
मिति २०६९।८।२२ गते बिहान नल्कामा पानी लिन गएको अवस्थामा मलाई समातेर दिवाल पछाडि ल्याई तँलाई मारिदिन्छु भनी बाबु खाँले प्लाष्टिकको बोतलमा ल्याएको पेट्रोल खनाई सलाई कोरी शरीरमा फालिदिएको हो भन्नेसमेत बेहोराको शिवा हास्मीले भेरी अञ्चल अस्पतालमा गरिदिएको मौकाको कागज ।
बाबु खाँको मोबाइल नं.मा शिवाले पठाएका तिमी बिना बाँच्न सक्दिन भन्नेसमेत बेहोराका एस.एम.एस.डिटेल्स मिसिल सामेल रहेको ।
मैले शिवालाई विवाह गर्न कर लगाएको र शिवाले नमानेपछि पेट्रोल छर्की आगो लगाएको भन्ने कुरा झुठ्ठा हो । शिवालाई मैले कर्तव्य गरी मारेको
होइन । निजको मृत्यु कालगतिले नभई कर्तव्य जस्तो लाग्छ, तर को कसले कर्तव्य गरे भन्न सक्दिन भन्नेसमेत बेहोराको पक्राउ प्रतिवादी बाबु खाँको ततिम्बा बयान कागज ।
म नवाज पढी फर्कने क्रममा रिजवान हास्मीको घरअगाडि आरिफ अहमद राईनसमेत ५/६ जना भेला भएको देखी के भयो भन्दा यिनीको घरको केटी जल्यो भनेपछि म भित्र जाँदा ग्यालरीमा मट्टितेल वा पेट्रोलको जस्तो गन्ध आएको थियो, सोध्दा हसिना हास्मीले मुनुवाको घरका मानिसले मेरो छोरीलाई जलाइदियो भन्दै यता उता गर्दै थिइन्, घर पछाडि खाडलमा शरीरमा लागेको आगो निभेको अवस्थामा शिवा हास्मीलाई देखेको हुँ । मैले बाहिरका मानिसलाई बोलाउँदा कोहीलाई नबोलाउ, मर्न देउ, गाडी नबोलाउ भनेपछि म बाहिर आएको र आरिफले प्रहरीलाई खबर गरेपछि प्रहरी आई शिवालाई लिएर गएको हो । शिवालाई कसरी आगो लाग्न पुग्यो थाहा छैन भन्नेसमेत बेहोराको निब्बर मनिहारको कागज ।
मिति २०६९।८।२० गते बाबु खाँलाई शिवाको आमाले घाँटीमा समातेकी, तनवीर, चुन्ना, मुन्ना, रिजवानसमेतले कुटपिट गर्न लागेको देखी सोध्दा यसले शिवालाई जिस्कायो भनेका थिए । ऐ.२२ गते शिवालाई कसरी आगो लाग्यो थाहा छैन, यसमा बाबु खाँको संलग्नता छैन जस्तो लाग्छ भन्नेसमेत बेहोराको मोहम्मद अयुव हलवाईको कागज ।
हसिनाले हाम्रा बिटियाको बाबु जलाई दियो भन्दै कराएको सुनी जाँदा शिवाको शरीर पूरै जलेको अवस्थामा राधा कुँवरले च्यादर ओढाउँदै कोठामा ल्याउँदै गरेको देखेकी हुँ । उपचार गर्न लैजाउ भन्दा हसिनाले पहिले प्रहरीलाई खबर गर भनेकी, ९० प्रतिशत जल्दा पनि सँगै रहेकी आमाले आगो निभाउने कोसिस नगरेकीले घरपरिवारबाटै उक्त घटना घटाएकोमा विश्वास लाग्छ भन्नेसमेत बेहोराको अनिता दाहाल राईनको कागज ।
मेरो छोरी शिवाको शरीरमा आगो लगाउने व्यक्ति को हो मलाई यकिन थाहा छैन । उपचारको क्रममा मलाई आगो लगाउने बाबु खाँ हो भनी शिवाले भनिन् भन्ने कुरा मलाई जुमा अन्सारीले बताएपछि मात्र थाहा पाएकी हुँ । मैले निजलाई आगो लगाएकी हैन, छोरीलाई बिहे गरी लान नपाएको कारणले बाबुले आगो लगाएको हुनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवादी हसिना हास्मीको बयान कागज ।
मेरो बहिनीको शरीरमा के कसरी आगो लाग्यो थाहा छैन, मैले आगो लगाएको होइन । बाबु र शिवाले एक अर्कालाई प्रेम गर्छन् भन्ने सुनेको थिएँ । शिवाले आफैँले आत्महत्या गर्नलाई आगो लगाएको हो जस्तो लाग्छ भन्नेसमेत बेहोराको प्रतिवादी सिद्धु भन्ने रिहान अहमद हास्मीको बयान कागज ।
बाबुलाई फसाउन शिवाको शरीरमा पेट्रोल हाली आगो लगाउने निजकै घरपरिवार सिद्धु भन्ने रिहान अहमद हास्मी हुन् भन्नेसमेत बेहोराको पप्पु अहमद हलवाईको कागज ।
पर्खाल हेर्दा बाहिरका मानिसले आगो लगाइदिने अवस्था नरहेको, शिवा र बाबु खाँको बिचमा गहिरो प्रेमसम्बन्ध रहेको हुँदा घरपरिवारकै सदस्यमध्ये को कसले शिवालाई जलाएका हुन्, घरपरिवारबाटै कर्तव्य भएकोमा पूर्णविश्वास लाग्छ भन्नेसमेत बेहोराको अब्बुल हसनको कागज ।
मिति २०६९।८।२१ गते बेलुकाको समयमा म शिवाको घरमा गएका अवस्थामा निजको घरपरिवारमा कुनै प्रकारको झैझगडा भएको थिएन । अर्को दिन बिहान शिवालाई आगो लाग्यो भनी होहल्ला भएपछि के भएको रहेछ भनी शिवाको घरमा जाँदा शिवालाई उपचारको लागि अस्पताल लगेका रहेछन्, घरमा कोही
थिएनन् । पछि म अस्पताल गई हेर्दा शिवाको हात जलेको, ग्लुकोज चढाई रहेका थिए । निजको शरीरमा आगो के कसरी लाग्न पुगेको हो, मलाई थाहा भएन भन्नेसमेत बेहोराको आरजु इराकीको कागज ।
शिवा हास्मी मेरो आमाको दिदीको छोरी हुन्, मिति २०६९।८।२१ गते बेलुकाको समयमा मेरो घरपरिवार निजको घरमा गई खाना खाई म, मम्मी र बुबा आफ्नो कोठामा आई सुतेका हौं, भोलिपल्ट बिहानको समयमा तनबिरको घरमा आगो लाग्यो भनी होहल्ला भएपछि मम्मी हतारहतार गर्दै जानु भयो, म केहिछिनपछि जाँदा शिवालाई अस्पताल लानको लागि गाडीमा हालेका थिए भन्नेसमेत बेहोराको महमद कैफको कागज ।
मिति २०६९।८।२२ गते बिहानको समयमा शिवा हास्मीलाई डा.अमित लामगादे एवं मसमेतले उपचार गरेका हौं । निजको अगाडिको भागमा बढी जलेको थियो, मैले कसरी आगो लाग्यो भन्दा मलाई पछाडिबाट कसैले आगो लगाई दियो भनिन् । पानी मागिरहेकी थिइन् । शरीर पोल्यो भन्दै थिइन्, अन्य केही बोलिनन् डेढ घण्टा उपचार गरी थप उपचारको लागि भेरी अञ्चल अस्पताल बाँकेमा एम्बुलेन्सद्वारा लिई गएका हुन् भन्नेसमेत बेहोराको अ.हे.व.शर्मिला सुवेदीको कागज ।
शिवालाई जिल्ला अस्पतालबाट नेपालगन्ज स्थित भेरी अञ्चल अस्पतालमा उपचारको लागि लैजाँदा एम्बुलेन्समा म पनि गएको थिएँ । सो अवस्थामा शिवा पोल्यो भन्दै कराएकी थिइन्, अन्य केही बोलिनन्, भेरी अञ्चल अस्पतालमा उपचार हुँदाको अवस्थामा प्रहरीद्वारा सोधपुछ हुँदा मलाई बाबु खाँले जलाएको हो भनेपछि प्रहरीले सोही बेहोराको कागज गरी मेरो रोहवरमा सहीछाप गराएको हो भन्नेसमेत बेहोराको मोहम्मद ऐजाद उर्फ राजुको कागज ।
बाबुले फोन नउठाएपछि शिवा हास्मीले मलाई फोन गरी बाबुले फोन उठाई रहेको छैन भन्दा मैले कि आफ्नो घरकालाई सम्झाउ नभए बाबुलाई यसरी नसताउ तिमीलाई छोड्न भनी तिम्रा घरपरिवारले बाबुलाई कुटपिट गर्ने धम्की दिने गरेका छन् भनी बाबुले मलाई बताएको छ भनेको हुँ । शिवा हास्मीलाई निजकै परिवारका सिद्धु भन्ने रिहान अहमद हास्मी, हसिना हास्मी र रिजवान हास्मीसमेत जना ३ ले जलाई मारेको हुनुपर्छ भन्नेसमेत बेहोराको सुरज राईको कागज ।
बाबु खाँको मोबाइलको मेमोरीमा सेभ भएका आवाजमध्ये चौथो नम्बरमा रेकर्ड भएको आवाज सुन्दा सोमा बोलेको आवाज मेरो मृतक बहिनी शिवा हास्मीको र केटाको आवाज बाबु खाँको हो । अन्य रेकर्ड भ्वाइस यकिन भएन भन्नेसमेत बेहोराको तनवीर अहमद हास्मी र उक्त मोबाइलमा सेभ भएका सबै भ्वाइस रेकर्डहरू शिवा हास्मी र बाबु खाँले बोलेका आवाजहरू हुन् भन्नेसमेत बेहोराको अब्बुल हसनसमेतको सनाखत कागज ।
मिति २०६९।०८।२० गते साँझ आजम हास्मीसमेतका तीन जना आई मेरो पसलबाट मसँग एक लिटर पेट्रोल र मेरो बहिनीसँग १ लिटर पेट्रोल गरी जम्मा दुई लिटर पेट्रोल किनेर लगेका हुन् । आजम हास्मीसँग आएका अन्य दुईजनालाई म चिन्दिन भन्नेसमेत बेहोराको गिता बर्माले गरिदिएको घटनाविवरण कागज ।
फरार प्रतिवादी रिजवान हास्मी फेला नपरेको भन्ने प्रहरी प्रतिवेदन ।
मृत्युको कारण आगोमा जली परेको चोटबाट भएको (Cause of death flame burn injuries) भन्ने बेहोराको शिवा हास्मीको शव परीक्षण प्रतिवेदन ।
भ्वाइस रेकर्ड उपलब्ध गराउन नसकिने भन्ने बेहोराको इमेल प्राप्त भएको भन्ने प्र.ज. नवराज भण्डारीको प्रतिवेदनसाथ संलग्न इमेल पत्र मिसिल सामेल रहेको रहेछ ।
अनुसन्धानको क्रममा संकलित सबुद प्रमाणहरू जाहेरी दरखास्त, अनुसन्धानको क्रममा बुझिएका अब्दुल मोइज हास्मीसमेतका व्यक्तिहरूको कागज बेहोरा, प्रतिवादीहरूको अनुसन्धानको क्रममा भएको बयानसमेतका कागज प्रमाणहरूबाट मृतक शिवा हास्मीलाई प्रतिवादीहरू बाबु भन्ने राइस खाँ, रिहान अहमद हास्मी, हसिना हास्मी, रिजवान अहमद हास्मीसमेतको कर्तव्य एवं संलग्नताबाट शिवा हास्मीलाई आगोले जलाई कर्तव्य गरी मारेको भन्ने तथ्य प्रमाणित हुन आएकोले प्रतिवादीहरूको उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३ नं. बमोजिमको कसुर भएकोले यी प्रतिवादी बाबु भन्ने राइस खाँ, रिहान अहमद हास्मी, हसिना हास्मी, रिजवान अहमद हास्मीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३नं. को देहाय ३ नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग मागदाबी ।
छोरी शिवा हास्मीको जिउमा मिति २०६९।०८।२२ गतेको बिहान आगो लागी उपचारको लागि गुलरिया अस्पताल, नेपालगन्ज अस्पताल हुँदै काठमाडौं वीर अस्पतालमा उपचार हुँदाहुँदै मिति २०६९।०८।२७ गते मृत्यु भएको हो । शिवा हास्मी र प्रतिवादी बाबु खाँको बिच प्रेमसम्बन्ध रहेछ, सो कुरा तीन महिना अगाडि थाहा भएको हो । छोरीले बाबु खाँसँगै विवाह गर्दछु भनेकी थिइन् । त्यसो हो भने दुई वर्षपछि गर्ने भनी हामी बाबु आमाले भनेका थियौं । बाबु खाँले अहिले नै गर्ने भागी जाउँ भन्ने कुरा गरेका रहेछन्, त्यसपछि हामीहरूले प्रहरीमा उजुर गरी एकअर्काले फोन सम्पर्क नगर्ने, कुनै सन्देश नपठाउने सहमति भएको थियो । छोरीको शरीरमा बिहान करिब ६:०० बजेतिर आगो लागेको हुनु पर्दछ । आगो लागेको देखेपछि म बेहोस भएँ, आगोले छोरी जलेको देखेँ अरू कसैलाई छोरीलाई अस्पतालमा भेट्न जाँदा बाबुले जलाई दियो भनेकी थिइन् । बाबु खाँ छोरीसँग रिसाएको थियो । आफूसँग भागेर नगएको रिसमा निजले छोरी ट्वाइलेट गर्न बाहिर आएको बेला मौका छोपी आगो लगाएको हुनुपर्छ । हाम्रो घरपरिवारले आगो लगाएको भन्ने बेहोरा झुट्टा हो, मैले अभियोग दाबीबमोजिमको कसुर नगरेकाले मलाई सजाय हुनुपर्ने होइन । मउपरको दाबी झुट्टा हो भन्नेसमेत बेहोराको प्रतिवादी हसिना हास्मीले सुरू अदालतमा गरेको बयान ।
मृतक शिवा हास्मीको शरीरमा के कसरी आगो लाग्यो, आफैँ आगो लगाइन् वा अरू कसैले लगाई दिए, मैले नदेखेकोले केही भन्न सक्दिन । मैले आगो लगाएको होइन । हामी एक अर्कोले विवाह गर्न चाहेका थियौं । शिवा हास्मीका बाबु, आमा, दाजु, भाइले मानेका थिएनन् । बाबु, आमा, दाजु, भाइले मलाई मार्ने धम्की दिनुका साथै शिवा हास्मीलाई समेत मसँग विवाह गरेमा मारिदिने कुरा गरेका भन्ने कुरा शिवा हास्मीले मलाई भनेकी थिइन् । मलाई निजबाट अलग गराउन निकै प्रयास गरेका थिए । हामी अलग हुन सक्दैनथ्यौं । मिति २०६९।०८।२२ गते बिहान म आफ्नै डेरामा थिएँ, निजसँग सो दिन भेट भएन । म जाहेरवालाको घरमा गएको थिइनँ । आफ्नै घर डेराबाट चिल्लाएको आवाज सुनेँ । मेरो बुबाले बाहिर नजा, तँलाई गाली गरेका छन् भनेकाले बाहिर निस्कन पाइनँ, पछि तँलाई प्रहरीले खोजेका छन् भनी ढोका खोलिदिएपछि म बाहिर निस्कँदा प्रहरीले पक्राउ गरेका हुन् । मैले उद्धार गर्न पाइन । मैले अभियोग दाबीअनुसारको कसुर नगरेकाले सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको बाबु भन्ने रइस खाँले सुरू अदालतमा गरेको बयान ।
मिति २०६९।०८।२२ गते म आफ्नै घर कोठामा सुतेको थिएँ । बिहान अचानक दाजु रिजवान जोडले कराएका र अम्मी-अम्मी के भयो भनेको आवाज कानमा परेकाले मेरो निद्रा खुली उठेँ, आमाले मेरो छोरीलाई बचाउ, आगो लाग्यो भन्ने आवाज सुनी बाहिर निस्कँदा बहिनी शिवा हास्मीको शरीरमा आगो लागेको थियो । बहिनी कराउँदै पानी फाल्ने खाल्डोमा ढलिन् । मसमेतले बहिनीको शरीरको कपडा तान्दै आगो निभाउने प्रयास भयो । आगो निभाइयो, शरीर जलेको थियो, तन्नाले शरीर लपेटी उपचारको लागि गुलरिया अस्पतालमा लगियो । त्यहाँबाट नेपालगन्ज हुँदै काठमाडौंमा उपचार हुँदाहुँदै बहिनी शिवा हास्मीको मृत्यु भएको हो । बहिनीको शरीरमा के कसरी आगो लाग्यो, म भन्न सक्दिन । मैले आगो लगाएको होइन र अरू कसैले आगो लगाएको देखिन । मैले अभियोग दाबीअनुसारको कसुर गरेको होइन । मलाई दाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी रिहान अहमद हास्मीले सुरू अदालतमा गरेको बयान ।
मिति २०६९।०८।२१ गते राती हाम्रो घरमा हामी दाजुभाइ, आमा, मृतक शिवा हास्मी, सानीमाकी छोरी वर्ष ६ की तजकिरा, मामा मोइजु अहम्मद हास्मीसमेत आठ जना थियौं । साँझ खाना खाई १०:०० बजेतिर सुतेका हौं । अगाडिको कोठामा घरका चार दाजुभाइ र मामा सुत्यौं, बिचको कोठामा आमा, बहिनी शिवा र सानीआमाको छोरी तजकिरा सुते । भोलिपल्ट बिहान करिब ६:०० बजेतिर हो पछाडिबाट चिच्याएको आवाज आयो । सो आवाजले हामी सबैको निद्रा खुल्यो । सो आवाज बहिनीको
रहेछ । निजले बचाउ-बचाउ भनेकी थिइन् । म उठेँ र अरू कोठामा भएका भाइहरूसमेतलाई उठाई हामीहरू खाली खुट्टा घरको पछाडिपट्टि दौडियौं । बहिनी फोहोर पानीको खाल्डोमा ढलेकी थिइन् । निजको शरीरमा आगो लागेको थियो । हामी सबैले बहिनीलाई उपचारका लागि जिल्ला अस्पताल लग्यौं । उपचारको अवस्थामा प्रहरीले सोधपुछ गर्दा बाबु खाँले आगो लगाई दियो भनिन्, सोही आधारमा प्रहरीले बाबु खाँलाई पक्राउ गरेको हो । मैले बाबु खाँले आगो लगाएको देखिनँ । मसमेतका उपरको जाहेरी बेहोरा झुट्टा हो । मैले जाहेरी तथा अभियोग दाबीबमोजिमको कसुर गरेको होइन । बाबु खाँ र बहिनीको बिचमा प्रेमसम्बन्ध
थिएन । बाबु खाँले बहिनीलाई फोन गरेर सताउने गरेकाले सो सम्बन्धमा मिति २०६९।०८।२१ गते बाबु खाँ र मेराबिच प्रहरीको रोहवरमा अब आइन्दा फोन नगर्ने सम्झौता भएको थियो । मिति २०६९।०८।२० गते बाबु खाँलाई कुटपिट गरेको भन्ने बेहोरा झुट्टा हो । मलाई अभियोग दाबीबमोजिम सजाय हुनु पर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी रिजवान अहमद हास्मीले सुरू अदालतमा गरेको बयान ।
शिवा हास्मीको मृत्यु आगोले जलेर भएको हो । आगो को कसले लगाएका हुन्, मैले देखिनँ । बाहिरको व्यक्तिले शिवा हास्मीलाई आगो लगाई मारेको होइन । घटना हेर्दा घरभित्रको जो कोही व्यक्तिले उक्त घटना घटाएको हुनुपर्दछ भन्नेसमेत बेहोराको घटना विवरण खुलाई कागज गर्ने अनिता दाहाल राइनले सुरू अदालतमा गरेको बकपत्र ।
मेरो पसलदेखि शिवा हास्मीको घर आमनेसामने करिब १०/१२ मिटरको फरकमा छ । म पसलमा थिएँ । शिवा हास्मी घरको बिच कोठाबाट आगोले जल्दै बरन्डाबाट पछाडितर्फ जाँदै गरेको देखेकी हुँ को कसले आगो लगाएको हो सो मलाई थाहा भएन भन्नेसमेत बेहोराको जुमा अन्सारीले सुरू अदालतमा गरेको बकपत्र ।
शिवा हास्मीको शरीरमा आगो लागी उपचारको क्रममा मृत्यु भएको कुरा थाहा छ । बाबु खाँले आगो लगाएको होइन, आगो लगाएको भए घरभित्रकै कसैले लगाएका होलान्, यसैले हो भनी म भन्न सक्दिन भन्नेसमेत बेहोराको प्रहरीमा कागज गर्ने हसिव हल्वाईले सुरू अदालतमा गरेको बकपत्र ।
बाहिर कोही कराएको आवाज आयो, सो आवाज आएपछि म घरबाहिर आएँ, शिवा हास्मीको आमा हसिना हास्मी कराएकी रहिछन् । निजले हाय-हाय हमारा बेटीका सद्दु जलाई दियो भन्दै दुईपटक भनेको आवाज सुने, केहिछिनपछि म निजको घर नजिक आएँ, मानिस जम्मा भइसकेका थिए । सो बखतमा शिवाकी आमाले बाबु जलाई दिइस् भन्दै थिइन्, शिवा हास्मीको शरीरमा के कसरी आगो लाग्यो मलाई केही थाहा छैन तर बाबु खाँले आगो लगाएको जस्तो लाग्दैन भन्नेसमेत बेहोराको प्रतिवादी बाबु खाँको साक्षी हरिसुन शेषले सुरू अदालतमा गरेको बकपत्र ।
शिवा हास्मीलाई प्रतिवादी बाबु खाँले आगो लगाएका होइनन् । घरभित्रैबाट आगलागी भएको हो । घरभित्र को कसले किन आगो लगाए वा के कसरी आगो लाग्यो म भन्न सक्दिन भन्नेसमेत बेहोराको घटना विवरण खुलाई कागज गर्ने मो.आयुव हल्वाईले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६९।०९।०३ गते जिल्ला प्रहरी कार्यालय, बर्दियामा दिएको जाहेरी बेहोरा मेरै हो । मैले जाने बुझेसम्मको कुरा खुलाई जाहेरी दिएको
हुँ । मृतक शिवा हास्मी र प्रतिवादी बाबु खाँ भन्ने रइस खाँबिच प्रेमसम्बन्ध धेरै अगाडिदेखि रहेको थियो । यी दुईजनाको प्रेमसम्बन्धको बारेमा दुवै परिवारबिच वादविवाद पनि थियो । बाबु खाँलाई शिवा हास्मीका दाइभाइले मारपिट गरेको अवस्थामा शिवा हास्मीले बाबु खाँलाई मारपिट नगर बचाउ भनेकी थिइन् । शिवा हास्मीको आमासँग सबै कुरा मिलेकै छ, विवाह गरी देउभन्दा विवाह हुन सक्दैन, बरू शिवा हास्मीलाई मारिदिन्छु भन्नु भयो । निज दुईजनाको प्रेमसम्बन्धको बारेमा जिल्ला प्रहरी कार्यालय, बर्दियामा समेत छलफल भएको हो । छलफलमा अब दुवै पक्षले एकअर्कालाई कुनै सम्बन्ध नराख्ने भन्ने समझदारी पनि भएको हो । मिति २०६९।०८।२२ गते बिहान शिवा हास्मीलाई आगो लगाइएको कुरा सुनेँ । म घटनास्थलमा पुग्दा निजको अवस्था नाजुक थियो । पुलिसलाई खबर गरौं, एम्बुलेन्स बोलाई उपचारको लागि लैजाउँ भन्दा शिवाका दाजुभाइ, आमाले उपचार गर्ने होइन जली मर्न देउ भन्दै थिए । निजहरूले जे भने पनि एम्बुलेन्स बोलाई पुलिसलाई खबर गरी उपचारको लागि अस्पताल लगेको हो । घटनास्थलको भौतिक अवस्थासमेतबाट बाबु खाँउपरको जाहेरी बेहोरा अविश्वसनीय भएको देखिएबाट शिवा हास्मीको शरीरमा आगो लगाउने व्यक्ति घरभित्रकै हुन् प्रतिवादी बाबु खाँ होइनन् भनी मैले जाहेरी दिएको हुँ भन्नेसमेत बेहोराको जाहेरवाला आरिफ अहमद राइनले सुरू अदालतमा गरेको बकपत्र ।
मेरो घरदेखि शिवा हास्मीको घर २०/२२ फिटको फरकमा छ । शिवा हास्मीको घर, आँगन, धारा, ग्यालरी सबै देखिन्छ । मृतक शिवा हास्मीको शरीरमा आगो घरभित्रै लागी बाहिर ग्यालरी हुँदै आएको देखेको हुँ । घटना देखेपछि म गई केटीलाई सोधपुछ गर्दा म सुतिरहेको अवस्थामा आगो लाग्यो भनेकी थिइन्, प्रतिवादी बाबु खाँले आगो लगाएका
होइनन् । निजउपरको जाहेरी झुट्टा हो भन्नेसमेत बेहोराको प्रतिवादी बाबु खाँको साक्षी शिखा मण्डलले सुरू अदालतमा गरेको बकपत्र ।
शिवा हास्मीलाई आगो लाग्दाको अवस्थामा देखिनँ । शिवा हास्मीको घरदेखि मेरो घर अं. १५० मिटर टाढा पर्दछ । निज जली उपचारका लागि लाँदै गर्दा देखेको हुँ । अस्पतालमा निजको उपचार हुँदै थियो, प्रहरी आई शिवा हास्मीको बयान लिन लागे, बयानमा बाबु खाँले पेट्रोल छर्केर आगो लगाएको हो भनिन् । अस्पतालले अब यहाँ बढी उपचार हुँदैन, थप उपचारका लागि नेपालगन्ज लानुपर्छ भनेकाले एम्बुलेन्समा राखी थप उपचारको लागि लगेका
हुन् । घरपरिवारसँग सम्बन्ध राम्रो थियो । घरपरिवारले निजलाई कुटपिट गरी मार्नुपर्ने कारण केही थिएन । आरीफ अहमदको जाहेरी बेहोरा झुट्टा हो भन्नेसमेत बेहोराको रिहान हास्मीको साक्षी मोविन हास्मीले सुरू अदालतमा गरेको बकपत्र ।
शिवा हास्मीलाई प्रतिवादी रइस खाँले आगो लगाएका होइनन् भन्नेसमेत बेहोराको प्रतिवादी रइस खाँको साक्षी निम्बर मनिहारले सुरू अदालतमा गरेको बकपत्र ।
बर्दिया जिल्ला अस्पतालमा सोधपुछको क्रममा बाबु खाँले पेट्रोल छर्की आगो लगाइदियो भनी शिवा हास्मीले भनेकी हुन् भन्नेसमेत बेहोराको घटना विवरण खुलाई कागज गर्ने मोहमद ऐजाज (उर्फ राजु) ले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६९।०८।२२ गते म दिदी हसिना हास्मीको घरमा थिएँ । भान्जा ४ वटा र म एउटै कोठामा सुतेका थियौं, भित्री कोठामा भान्जी शिवा हास्मी, दिदी हसिना हास्मी र सानो भान्जी तसकिरा सुतेका थिए । बिहान ५:३० बजेतिर रोए कराएको आवाज म सुतिरहेको अवस्थामा सुनी मलगायत सो कोठामा सुतेका भान्जाहरू सबै उठी बाहिर आयौं । गल्लीबाट बाहिर हेर्दा शिवा हास्मी जलिरहेको अवस्थामा दौडँदै जाँदै थिइन् । म जाँदाजाँदै भान्जी शिवा हास्मीले पानीको खाल्डोमा हाम फालिन् । केटीसँग कोही कसैले सोधपुछ गरेनन् र निजले पनि केही भनिनन् । केटीले पुलिससँग के भनिन् मलाई केही थाहा छैन । केटी जलेको मात्र देखेको हुँ भन्नेसमेत बेहोराको अब्दुल मोहिज हास्मीले सुरू अदालतमा गरेको बकपत्र ।
बाबु खाँले बहिनी शिवा हास्मीलाई टेलिफोन गरी विवाह गरौं भनेका रहेछन् । सो कुरा बहिनीले आमालाई भनिन् । सो विषयमा गाउँघरमा र जिल्ला प्रहरी कार्यालयसमेतमा छलफल भयो । छलफलबाट अब कसैले कसैलाई फोन सम्पर्क नगर्ने सम्झदारी
भयो । समझदारीअनुसार केटा केही दिनको लागि बाहिर गए । पुनः बाबु खाँले बहिनीलाई फोन गर्ने विवाहको कुरा गर्ने गरेपछि जिल्ला प्रहरी कार्यालय, बर्दियामा समेत निवेदन दिई मिति २०६९।०८।२१ गते छलफल र समझदारीसमेत भएको हो । भोलिपल्ट २२ गते बहिनीको शरीरमा आगलागी भयो । आगो लगाउँदा मैले देखिनँ । उपचारको क्रममा बहिनीले पुलिस, डाक्टर र पत्रकारको रोहवरमा बाबु खाँले मलाई आगो लगाएको हो भनिन् । निजको भनाइअनुसार मैले जाहेरी दिएको हुँ भन्नेसमेत बेहोराको जाहेरवाला तनवीर अहमद हास्मीले सुरू अदालतमा गरेको बकपत्र ।
शिवालाई आगो लगाएको कुरा हल्ला भई सुनी म घटनास्थलमा गएँ, जाँदा त्यहाँ पुलिससमेत आई पुगेका थिए । उपचारको लागि जिल्ला अस्पताल बर्दियामा लगियो । म पनि गएको थिएँ, त्यहाँ केही कुरा भएन । भेरी अञ्चल अस्पतालमा गइसकेपछि त्यहाँ पनि पूरा उपचार हुन नसकेकोले थप उपचारको लागि काठमाडौं लगियो । काठमाडौंमा उपचारकै क्रममा तीन दिनपछि शिवा हास्मीको मृत्यु भएको हो । शिवा हास्मीले प्रहरीसमक्ष कागज गर्दा बाबु खाँले आगो लगाई दिएको भनेकी रहिछन् । नेपालगन्ज अस्पतालमा भने मसमेतको रोहवरमा बाबु खाँले पेट्रोल छर्की आगो लगाई दिएको भनी कागज गरेकी हुन् । आगो लगाउँदा मैले देखिनँ । उक्त कागज हुँदा म रोहवरमा थिएँ र रोहवरमा मैले पनि सहीछाप गरेको छु । शिवा हास्मीलाई घरका मानिस हसिना हास्मीसमेतले आगो लगाएका होइनन् । भन्नेसमेत बेहोराको घटना विवरण खुलाई कागज गर्ने सविना हास्मीले सुरू अदालतमा गरेको बकपत्र ।
आमाले केटी जलेकी छ भन्दै हल्ला गर्नुभयो, सो हल्ला सुनेपछि हामी पाँचजना नै बाहिर आयौं । बहिनी जलिरहेकी थिइन् । मैले हातले आगो निभाउन खोजेँ, मेरो हात पनि जल्यो, बहिनी पानीको खाल्डोमा हाम फालिन्, आगो निभ्यो, बहिनीलाई उठाई भित्र लगी राखियो, बाहिरका मानिसहरूसमेत जम्मा भए, उपचारको लागि जिल्ला अस्पतालमा लगियो, पत्रकार आई बहिनीसँग सोधपुछ गर्दा बाबु खाँले जलाएको भनिन् । बहिनीको उपचारको क्रममा मृत्यु भएको हो । बहिनीलाई कसले आगो लगायो मैले देखिनँ भन्नेसमेत बेहोराको घटना विवरण खुलाई कागज गर्ने सुभान अहमद हास्मीले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी बाबु भन्ने रइस खाँले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । प्रतिवादी रिजवान अहमद हास्मी र सिद्धु भन्ने रिहान अहमद हास्मीका हकमा निजहरूलाई अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. को कसुरमा जन्मकैदको सजाय हुने ठहर्छ । प्रतिवादी हसिना हास्मीका हकमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम २ वर्ष कैद सजाय हुने ठहर्छ भन्नेसमेत बेहोराको सुरू बर्दिया जिल्ला अदालतबाट मिति २०७१।०५।१५ मा भएको फैसला ।
प्रतिवादी हसिना हास्मीसमेत उपर किटानी जाहेरी परेको र सो किटानी बेहोरालाई समर्थन गर्दै जाहेरवालाले अदालतसमक्ष बकपत्र गर्दा मृतक शिवा हास्मी र बाबु भन्ने रहिस खाँको प्रेम सम्बन्धको विषयलाई लिएर परिवारमा वादविवाद हुँदा जाहेरवाला अरिफ अहमदले निजहरूको विवाह गराइदिने भन्दा प्रतिवादी हसिना हास्मीले शिवा हास्मीलई मारिदिने भनी भनेको थिइन् भनी लेखाई दिएको, आगो लागी घाइते भएको शिवालाई उपचार गर्न लान निजले समेत आलटाल गरेको भन्ने जाहेरी तथा मृतकको घरको भित्रबाट मानिसको शरीरको आगोको लप्का घर पछाडिपट्टि गएको र निभेको देखेको भन्ने लक्ष्मी थापासमेतले लेखाई दिएको कागज, हरिसुन शेषले कागज गर्दा हसिना हास्मीले सिद्धु जलाई दियो भन्ने दुई पटक कराएको सुनेको भन्ने बेहोरा लेखाई दिएको अवस्था हुँदाहुँदै उल्लिखित प्रमाणहरूको विवेचना नै नगरी समानसरहका अन्य प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय गरे तापनि यी प्रतिवादी हसिना हास्मीलाई कम सजाय हुने गरी तथा अर्का प्रतिवादी बाबु भन्ने रहिस खाँउपर किटानी जाहेरी परी उक्त किटानी बेहोरालाई मृतक शिवा हास्मीले मौकामा कागज गर्दा प्रतिवादी बाबुले पेट्रोल खनाई आगो लगाई दियो भनी लेखाई दिएको देखिन्छ । घटनामा स्वयम् घाइतेले मौकामा व्यक्त गरेको कुरालाई प्रमाणको रूपमा लिनु पर्ने कानूनी व्यवस्था हुँदाहुँदै उक्त प्रमाणको बेवास्ता गरी प्रतिवादी बाबु भन्ने रहिस खाँलाई अभियोग दाबीबाट सफाइ दिने गरी भएको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत नेपालगन्जमा परेको पुनरावेदन पत्र ।
हामी प्रतिवादीउपर मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. को अभियोग दाबी लिइएकोमा अभियोग दाबी पूरा हुने गरी फैसला गरिएको छ । आफ्नी एक मात्र बहिनी छोरीलाई आगो लगाएर मार्नु पर्ने कुनै आधार, प्रमाण मिसिल संलग्न कागजातहरूबाट पुष्टि भएको छैन । म प्रतिवादी आमा र छोराहरूको कर्तव्यबाट मारिएको भनिएको छ तर हामीलाई मृतकलाई मार्नुपर्नेसम्मको कारण, मार्नलाई बनाएको योजना सहमति र तयारी (Meeting of mind) हाम्रो मानसिक अवस्था यस्तो प्रकृति थियो र अपराध घटाउँदा हामी प्रतिवादीहरूको आपराधिक दायित्व, भूमिका, संलग्नता यसरी सम्पन्न भएको हो भनी प्रतिव्यक्ति प्रमाणहरू पुर्याई अभियोग लगाएको अवस्था पनि नरहेको र फैसलामा आत्मनिष्ठ आधारमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. को कसुर नै स्थापित हुन नसकेको अवस्थामा हामीहरूलाई ऐ. ऐनको १३(३) नं. बमोजिम सजाय हुने गरी जानाजान कानूनको व्याख्यात्मक त्रुटि गरी तथा प्रमाण ऐन, २०३१ को दफा ३, ७(ग), १०, १८, २५ र ५४ बमोजिम वादी पक्षले बुझ्नु पर्ने प्रमाण नबुझेको र नबुझ्नु पर्ने प्रमाण बुझी गरेको तर्कसङ्गत अनुमान नगरी आत्मनिष्ठ अनुमान गरेको, वादी पक्ष र प्रतिवादी बाबु खाँका संयुक्त साक्षीहरूको सुरू र अदालतमा भएको विवादास्पद बकपत्रलाई मात्र आधार बनाएको र वादी दाबी प्रमाणित गर्ने भार अभियोजन पक्षले पूरा नगरेको अवस्थामा समेत कसुर ठहर गरी बर्दिया जिल्ला अदालतबाट मिति २०७१।०५।१५ मा भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी पूर्ण इन्साफ पाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी रिहान अहमद हास्मी र रिजवान अहमद हास्मीको तर्फबाट पुनरावेदन अदालत नेपालगन्जमा परेको संयुक्त पुनरावेदन पत्र ।
म प्रतिवादीउपर मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. को अभियोग दाबी लिइएकोमा ऐ.१७(३) नं. बमोजिम कसुर ठहर गरी फैसला गरिएको छ । आफ्नी एक मात्र छोरीलाई जलाएर मार्नु पर्ने कुनै आधार, प्रमाण मिसिल संलग्न कागजातहरूबाट पुष्टि भएको छैन । म प्रतिवादी आमा र छोराहरूको कर्तव्यबाट मारिएको भनिएको छ तर हामीलाई मृतकलाई मर्नुपर्नेसम्मको कारण, मार्नलाई बनाएको योजना सहमति र तयारी (Meeting of mind) हाम्रो मानसिक अवस्था यस्तो प्रकृति थियो र अपराध घटाउँदा हामी प्रतिवादीहरूको आपराधिक दायित्व, भूमिका, संलग्नता यसरी सम्पन्न भएको हो भनी प्रतिव्यक्ति प्रमाणहरू पुर्याई अभियोग लगाएको अवस्था पनि नरहेको र फैसलामा आत्मनिष्ठ आधारमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. को कसुर नै स्थापित हुन नसकेको अवस्थामा म प्रतिवादीलाई ऐ. ऐनको १७(३) नं. बमोजिम जानाजान कानूनको व्याख्यात्मक त्रुटि गरी तथा प्रमाण ऐन, २०३१ को दफा ३, ७(ग), १०, १८ २५ र ५४ बमोजिम वादी पक्षले बुझ्नु पर्ने प्रमाण नबुझेको र नबुझ्नु पर्ने प्रमाण बुझी गरेको तर्कसङ्गत अनुमान नगरी आत्मनिष्ठ अनुमान गरेको, वादी पक्ष र प्रतिवादी बाबु खाँका संयुक्त साक्षीहरूको सुरू र अदालतमा भएको विवादास्पद बकपत्रलाई मात्र आधार बनाएको र वादी दाबी प्रमाणित गर्ने भार अभियोजन पक्षले पूरा नगरेको अवस्थामा समेत कसुर ठहर गरी सुरू बर्दिया जिल्ला अदालतबाट मिति २०७१।०५।१५ मा भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी पूर्ण इन्साफ पाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी हसिना हास्मीको तर्फबाट पुनरावेदन अदालत नेपालगन्जमा परेको पुनरावेदन पत्र ।
यसमा दुवै पक्षको पुनरावेदन परेको देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ दुवै पक्षको पुनरावेदन एक अर्कालाई जानकारी गराई अनुपस्थित प्रतिवादीहरूलाई म्याद जारी गरी झिकाई आएपछि नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत नेपालगन्जबाट मिति २०७२।०१।२७ मा भएको आदेश ।
पुनरावेदक प्रतिवादी हसिना हास्मीसमेतको कानून व्यवसायी विद्वान् अधिवक्ता श्री शालिकराम सापकोटा, प्रतिवादी बाबु भन्ने रहिस खाँको कानून व्यवसायी विद्वान् अधिवक्ता श्री टीकाजंग सिंह तथा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उच्च सरकारी वकिल कार्यालय, नेपालगन्जले पेस गरेको बहसनोट मिसिल सामेल रहेको रहेछ ।
शिवा हास्मीले आफू आगोले जलेको अवस्थामा रहेको भए तापनि निज बोल्न सक्ने अवस्थामा थिइन् । निजलाई देख्दा शरीर जलेको अवस्थामा थियो । निजले मसमक्ष कागज गर्दा कागजमा लेखिएकै बेहोरा भनेकी थिइन् भनी पुनरावेदन अदालत नेपालगन्जमा बुझिएका पूर्णबहादुर वलीले गरेको बकपत्र ।
शिवा हास्मी चिन्ताजनक अवस्थामा बर्दिया जिल्ला अस्पतालमा उपचार गराइरहेको अवस्थामा मेरोसमक्ष कागज भएको हो । निजलाई आगो कसले लगाएको हो भनी सोध्दा निजले भनिन्; म धारामा पानी लिन गएकी थिएँ, त्यसै अवस्थामा मेरो पछाडिबाट बाबु खाँजस्तो व्यक्तिले पेट्रोल खन्याई आगो लगाई दियो भनी भनेकी थिइन् भनी अनुसन्धान गर्ने प्रहरी कर्मचारी अरूणकुमार सिंहले पुनरावेदन अदालत नेपालगन्जमा गरेको बकपत्र ।
अत: माथि विवेचित आधार, कारण र प्रमाणबाट प्रतिवादी रिजवान अहमद हास्मी र प्रतिवादी सिद्धु भन्ने रिहान अहमद हास्मीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जनही जन्म कैद हुने र प्रतिवादी हसिना हास्मीलाई ऐ.को १७(३) नं. बमोजिम २ (दुई) वर्ष कैद सजाय हुने तथा प्रतिवादी बाबु खाँ भन्ने रइस खाँलाई अभियोग दाबीबाट सफाइ दिने ठहर्याई सुरू बर्दिया जिल्ला अदालतबाट मिति २०७१।५।१५ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट मिति २०७३।१०।२४ मा भएको फैसला ।
प्रस्तुत मुद्दामा प्रतिवादी हसिना हास्मीसमेत उपर किटानी जाहेरी परेको छ । सो किटानी जाहेरी बेहोरालाई समर्थन गर्दै जाहेरवालाले अदालतसमक्ष बकपत्र गर्दा मृतक शिवा हास्मी र बाबु भन्ने रइस खाँको प्रेमसम्बन्धको विषयलाई लिएर परिवारमा वादविवाद हुँदा जाहेरवाला आरिफ अहमदले निजहरूको विवाह गराइदिने भन्दा प्रतिवादी हसिना हास्मीले शिवा हास्मीलाई मारिदिने भनी भनेकी थिइन् भनी लेखाई दिएकोसमेतबाट प्रतिवादी हसिना हास्मीको उक्त घटनामा मुख्य भूमिका रहेको पुष्टि भइरहेको छ । यी प्रतिवादी आमा हसिना हास्मीको चाहनाविपरीतको व्यक्तिसँग मृतकले प्रेमसम्बन्ध राखेको रिसइवी लिई निजलाई आगो लगाई मार्ने कार्यमा संलग्नता रहेको र मृतक प्रतिवादी हसिना हास्मीले मृतकको प्रेम सम्बन्ध छुटाउन जेसुकै पनि गर्न तयार रहेको परिस्थितिको मूल्याङ्कन एवं विश्लेषण नै नगरी भएको फैसला त्रुटिपूर्ण छ । प्रतिवादी हसिना हास्मी र मृतक शिवा हास्मी एउटै कोठामा सुतेको र बिहान सबेरै हास्मीलाई आगो लगाएको र आगो लागी घाइते भएको शिवालाई उपचार गर्न लैजान निजले समेत आलटाल गरेको भन्ने जाहेरी तथा मृतकको घरको भित्रबाट मानिसको शरीरको आगोको लप्का घर पछाडिपट्टि गएको र निभेको देखेको भन्ने लक्ष्मी थापा, शिवा मण्डल, जुमा अन्सारीसमेतले लेखाई दिएको कागज, हरिसुन शेषले कागज गर्दा हसिना हास्मीले सिद्धु अर्थात् रिहान अहमद हास्मीले जलाई दियो भन्ने २ पटक कराएको सुनेको भन्ने घटनाका प्रत्यक्षदर्शी एवं थाहा पाउने अन्य मानिसहरूले बेहोरा लेखाई दिएको अवस्था विद्यमान हुँदाहुँदै उल्लिखित प्रमाणहरूको विवेचना नै नगरी समान स्तरका अन्य प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम नै सजाय गरे तापनि यी प्रतिवादी हसिना हास्मीलाई कम सजाय हुने गरी भएको फैसला त्रुटिपूर्ण छ ।
प्रतिवादी बाबु भन्ने रइस खाँउपर किटानी जाहेरी परेको छ । सो किटानी बेहोरालाई मृतक शिवा हास्मीले आफू जीवित छँदै मौकामा कागज गर्दा अर्थात् मृत्युकालीन घोषणा (Dying Declaration) गर्ने क्रममा बाबु भन्ने रइस खाँले बिहान धारामा पानी लिन गएको अवस्थामा मलाई पर्खालपछाडि ल्याई तँलाई मारिदिन्छु भनी प्लास्टिकको बोतलमा ल्याएको पेट्रोल खनाई सलाई कोरी शरीरमा फालिदिएको हो भनी किटानीपूर्वक लेखाई दिएको देखिन्छ । घटनामा स्वयं घाइतेले मौकामा व्यक्त गरेको कुरालाई प्रमाणको रूपमा लिनु पर्ने कानूनी व्यवस्था हुँदाहुँदै उक्त प्रमाणको बेवास्ता गरी प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिने गरी भएको फैसलामा प्रमाणको मूल्याङ्कन एवं विश्लेषणमा गम्भीर कानूनी त्रुटि रहेको छ । अतः उल्लिखित आधार र कारणबाट प्रतिवादी हसिना हास्मीलाई दाबीभन्दा कम सजाय हुने र प्रतिवादी बाबु भन्ने रइस खाँलाई अभियोग मागदाबीबाट सफाइ दिने गरी भएको सुरू फैसला सदर हुने ठहर्याई उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट भएको फैसला त्रुटिपूर्ण हुँदा सो बदर गरी निज प्रतिवादीहरूलाई सुरू अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा दर्ता भएको पुनरावेदनपत्र ।
उच्च अदालतले गरेको फैसलामा मुख्य आधारको रूपमा आरिफ अहमद राइनको किटानी जाहेरी दरखास्त र निजको अदालतसमक्ष भएको बकपत्रलाई लिएको छ । जाहेरी दरखास्त आफैँमा अभियोग पुष्टि गर्ने महत्त्वपूर्ण प्रमाण हुन सक्दैन । यो त केवल अपराध अनुसन्धानको एउटा सूचनासम्म
हो । जाहेरी दरखास्त कुनै व्यक्तिको नाम उल्लेख गर्दैमा उक्त जाहेरी दखास्तलाई किटानी जाहेरी भन्न
मिल्दैन । जाहेरवाला आरिफ अहमद राइनले अनुमानको भरमा हामी परिवारका सदस्यले शिवा हास्मीलाई मारेको भनी लेखाउनु भएको छ । यदि कुनै व्यक्तिले कुनै अपराधमा कसैको संलग्नता पुष्टि हुने तरिकाले प्रमाणसहित नाम उल्लेख गर्दछ भने त्यसलाई किटानी जाहेरी दरखास्त भन्न सकिन्छ । प्रस्तुत मुद्दामा किटानी भनिएको जाहेरी दरखास्त तथ्य र प्रमाणमा आधारित नभई अनुमान र शंकामा आधारित भएकोले उक्त जाहेरी दरखास्त किटानी हुन सक्दैन । अनुमानका आधारमा जाहेरी दिने जाहेरवालाले अदालतमा आई गरेको बकपत्रको कुनै प्रामाणिक मूल्य हुन सक्दैन ।
उक्त घटनामा हाम्रो बहिनी शिवा हास्मीको मृत्यु भएको छ । सुरूमा पुनरावेदकमध्येको म रिजवान अहमद हास्मीले बाबु खाँ भन्ने व्यक्तिउपर शंका गरी जाहेरी दरखास्त दिएको थिएँ । अदालतले फैसला गर्दा निजलाई सफाइ दिई जबरजस्ती तर्कका आधारमा हामी पुनरावेदकलाई सजाय गरेको अवस्था छ । कतिपय मुद्दामा चश्मदिद गवाहको अभाव हुनु स्वाभाविक रहे तापनि कसैलाई दोषी प्रमाणित गर्न वस्तुनिष्ठ प्रमाणको आवश्यकता हुन्छ । प्रमाण ऐन, २०३१ को दफा २५ ले पनि फौजदारी कसुरमा दाबी प्रमाणित गर्ने भार वादी पक्षमा रहने स्पष्ट व्यवस्था गरेको छ ।
बाहिरी मानिसले आगो लगाएको भए प्रतिवादी हसिनाले देख्नु पर्ने भन्ने पनि निर्णयाधार बनाइएको छ । निजले पनि बयानमा कहिँकतै हामी पुनरावेदकले आगो लगाएको पनि भन्नुभएको छैन प्रतिवादीले पीडितलाई अस्पताल लैजान पहल नगरेको भनी गलत तथ्यलाई फैसलामा उल्लेख गरिएको
छ । आगो लागेको देखेपश्चात् आमा चिच्याउनु भएको, हामी पुनरावेदकलगायत परिवारका सदस्यहरू उठेका, पीडितको आगो निभाएको र प्रहरीसमेत आइसकेपछि तुरून्त अस्पताल लगेको तथ्यलाई फरक ढंगले व्याख्या गरिएको छ । आमा चिच्याउँदा हामी पुनरावेदक सुतिरहेको अवस्था प्रमाणित भइसकेपछि हामीले कसरी आगो लगाउन सक्दछौं ? उक्त कुरालाई ध्यान दिइएको छैन ।
प्रस्तुत मुद्दाको पीडित शिवा हास्मीले जिल्ला अस्पताल बर्दिया र नेपालगन्जजमा उपचार गरेको अवस्थामा र बाटोमा समेत आफूलाई बाबु खाँले आगो लगाएको भनेर भनेको उक्त बेहोरा भनेको भनी विभिन्न व्यक्तिहरूले भनेको र पीडित स्वयंले कागज गरेको अवस्थामा उक्त तथ्यलाई प्रमाणमा नलिई गरेको फैसला प्रमाण ऐन, २०३१ को दफा ११ को प्रतिकूल भई त्रुटिपूर्ण रहेको हुँदा सो फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरू रिजवान अहमद हास्मी र सिद्धु भन्ने रिहान अहमद हास्मीको तर्फबाट यस अदालतमा दर्ता भएको संयुक्त पुनरावेदनपत्र ।
नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनु भएका विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्त भण्डारीले प्रस्तुत मुद्दामा प्रतिवादी हसिना हास्मीसमेत उपर किटानी जाहेरी परेको छ । सो किटानी जाहेरी बेहोरालाई समर्थन गर्दै जाहेरवालाले अदालतसमक्ष उपस्थित भई बकपत्र गरिदिएको छ । मृतक शिवा हास्मी र बाबु भन्ने रइस खाँको प्रेमसम्बन्धको विषयलाई लिएर परिवारमा वादविवाद हुँदा जाहेरवाला आरिफ अहमदले निजहरूको विवाह गराइदिने भन्दा प्रतिवादी हसिना हास्मीले शिवा हास्मीलाई मारिदिने भनी भनेकी थिइन् भनी लेखाई दिएकोसमेतबाट प्रतिवादी हसिना हास्मीको उक्त घटनामा मुख्य भूमिका रहेको पुष्टि भइरहेको छ । प्रतिवादी हसिना हास्मी र मृतक शिवा हास्मी एउटै कोठामा सुतेको र बिहान सबेरै हास्मीलाई आगो लगाएको र आगो लागी घाइते भएको शिवालाई उपचार गर्न लैजान निजले समेत आलटाल गरेको भन्ने जाहेरी तथा मृतकको घरको भित्रबाट मानिसको शरीरको आगोको लप्का घर पछाडिपट्टि गएको र निभेको देखेको भन्ने लक्ष्मी थापा, शिवा मण्डल, जुमा अन्सारीसमेतले लेखाई दिएको कागज, हरिसुन शेषले कागज गर्दा हसिना हास्मीले सिद्धु अर्थात् रिहान अहमद हास्मीले जलाई दियो भन्ने २ पटक कराएको सुनेको भन्ने घटनाका प्रत्यक्षदर्शी एवं थाहा पाउने अन्य मानिसहरूले बेहोरा लेखाई दिएको अवस्था विद्यमान हुँदाहुँदै उक्त प्रमाणहरूको विवेचना नै नगरी समान स्तरका अन्य प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम नै सजाय गरे तापनि यी प्रतिवादी हसिना हास्मीलाई कम सजाय हुने गरी भएको फैसला त्रुटिपूर्ण छ ।
त्यसैगरी अर्का प्रतिवादी बाबु भन्ने रइस खाँउपर किटानी जाहेरी परेको छ । सो किटानी बेहोरालाई मृतक शिवा हास्मीले आफू जीवित छँदै मौकामा कागज गर्दा अर्थात् मृत्युकालीन घोषणा (Dying Declaration) गर्ने क्रममा बाबु भन्ने रइस खाँले बिहान धारामा पानी लिन गएको अवस्थामा मलाई पर्खालपछाडि ल्याई तँलाई मारिदिन्छु भनी प्लास्टिकको बोतलमा ल्याएको पेट्रोल खनाई सलाई कोरी शरीरमा फालिदिएको हो भनी किटानीपूर्वक लेखाई दिएको देखिन्छ । घटनामा स्वयं घाइतेले मौकामा व्यक्त गरेको कुरालाई प्रमाणको रूपमा लिनु पर्ने कानूनी व्यवस्था हुँदाहुँदै उक्त प्रमाणको बेवास्ता गरी प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिने गरी भएको फैसलामा प्रमाणको मूल्याङ्कन एवं विश्लेषणमा गम्भीर कानूनी त्रुटिरहेको हुँदा प्रतिवादी हसिना हास्मीलाई अभियोग मागदाबीभन्दा कम सजाय हुने र प्रतिवादी बाबु भन्ने रइस खाँलाई अभियोग मागदाबीबाट सफाइ दिने गरी भएको सुरू फैसला सदर हुने ठहर्याई उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट भएको फैसलामा गम्भीर कानूनी त्रुटि रहेको हुँदा सो बदर गरी निज प्रतिवादीहरूलाई सुरू अभियोग दाबीबमोजिम नै सजाय हुनुपर्दछ भनी गर्नु भएको बहससमेत सुनियो ।
उल्लिखित बहस जिकिर र तथ्य भएको प्रस्तुत मुद्दामा उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट भएको फैसला मिलेको छ वा छैन ? पुनरावेदक वादी नेपाल सरकार र प्रतिवादी दुवै पक्षको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
यसमा मृतक शिवा हास्मीलाई प्रतिवादीहरू बाबु भन्ने राइस खाँ, रिहान अहमद हास्मी, हसिना हास्मी, रिजवान अहमद हास्मीसमेतको कर्तव्य एवं संलग्नताबाट शिवा हास्मीलाई आगोले जलाई कर्तव्य गरी मारेको भन्ने तथ्य प्रमाणित हुन आएकोले प्रतिवादीहरूको उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३ नं. बमोजिमको कसुर भएकोले यी प्रतिवादी बाबु भन्ने राइस खाँ, रिहान अहमद हास्मी, हसिना हास्मी, रिजवान अहमद हास्मीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको अभियोग मागदाबी रहेको देखिन्छ ।
प्रतिवादी बाबु भन्ने रइस खाँले अभियोग दाबीबाट सफाइ पाउने, प्रतिवादी रिजवान अहमद हास्मी र सिद्धु भन्ने रिहान अहमद हास्मीलाई अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. को कसुरमा जन्मकैदको सजाय हुने र प्रतिवादी हसिना हास्मीका हकमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम २ वर्ष कैद सजाय हुने ठहर्याई सुरू बर्दिया जिल्ला अदालतबाट मिति २०७१।०५।१५ मा भएकोमा फैसलाउपर वादी नेपाल सरकार र प्रतिवादीहरूको तर्फबाट उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा पुनरावेदन परेकोमा सुरू जिल्ला अदालतको फैसला सदर हुने ठहर्याई उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट मिति २०७३।१०।२४ मा फैसला भएको देखियो । सो फैसलाउपर वादी र प्रतिवादी दुवै पक्षको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।
२. निर्णयतर्फ विचार गर्दा सर्वप्रथम प्रस्तुत मुद्दामा मिसिल संलग्न प्रमाणहरूको मूल्याङ्कन नै नगरी प्रतिवादी हसिना हास्मीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम २ वर्ष कैद सजाय हुने र अर्का प्रतिवादी बाबु भन्ने रइस खाँलाई अभियोग दाबीबाट सफाइ दिने ठहर्याई सुरू जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर्याई उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट भएको फैसलामा गम्भीर कानूनी त्रुटि रहेको हुँदा सो फैसला बदर गरी निज प्रतिवादीहरूलाई सुरू अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन भन्ने सम्बन्धमा हेर्नु पर्ने देखियो ।
३. सो सम्बन्धमा हेर्दा पीडित मृतक शिवा हास्मीको मृत्यु कर्तव्यबाटै भएको हो भनी यी प्रतिवादीहरूउपर अलग अलग जाहेरी परेको
देखिन्छ । पहिलो जाहेरी मृतककै दाजु रिजवान हास्मीको तर्फबाट परेको देखिन्छ । मृतक शिवा हास्मीको मृत्यु नहुँदै परेको उक्त जाहेरीमा बाबु खाँ भन्ने व्यक्तिले मेरो घरको पछाडि उत्तरतर्फको पर्खालबाट रातो रङ्गको प्लाष्टिकको जगमा लिई आएको पेट्रोल मेरो बहिनीको शरीरमा हाली सलाई कोरी ज्यान मार्नको लागि आगोसमेत लगाई मृतक बहिनीलाई जलाएको भनी बाबु खाँउपर किटानी जाहेरी दिएको देखिन्छ । दोस्रो जाहेरी मृतककै अर्का दाजु तनवीर अहमद हास्मीले दिएको देखिन्छ । निजले पनि आफ्नो जाहेरीमा बहिनीलाई पेट्रोल छर्केर आगो लगाएको भनी बाबु भन्ने रईस खाँउपर नै किटानी जाहेरी दिएको देखिन्छ । तेस्रो जाहेरी घरपरिवार बाहिरका मृतकका छिमेकी आरिफ अहमद राइनको तर्फबाट परेको देखिन्छ । उक्त तेस्रो जाहेरीमा घरपरिवारका सदस्यहरूमध्ये सिद्धु भन्ने रिहान अहमद हास्मी, रिजवान अहमद हास्मी र हसिना हास्मी मिली मृतक शिवा हास्मीलाई पेट्रोल छर्की मार्ने काम गरेका हुन् भनी निजहरूउपर किटानी जाहेरी दिएको अवस्था छ । यसरी मृतकका घरपरिवारका जाहेरवाला दाजुहरूले बाबु खाँलाई र घरपरिवारदेखि बाहिरका मृतकका छिमेकी आरिफ अहमद राइनले मृतकका घरपरिवारका आमा र दाजुहरूलाई नै कसुरदार देखाई किटानी जाहेरी दिएको देखिन्छ ।
४. पहिलो र दोस्रो जाहेरीमा बाबु खाँले विवाह गरौं भनी बहिनीलाई दबाब दिँदै आएकोमा बहिनीले अस्वीकार गरेकीले घरको उत्तरतर्फको पर्खालबाट पेट्रोल छर्की फाली आगो लगाई जलाएको भनी उल्लेख गरिएको छ भने तेस्रो जाहेरीमा बाबु खाँ र शिवा हास्मीबिच प्रेमसम्बन्ध रहेको, सो सम्बन्धलाई लिएर मिति २०६९।०८।२० मा शिवा हास्मीका साहिला दाजु रिजवान र कान्छा दाजु सिद्धुले शिवा हास्मीका प्रेमी बाबु खाँलाई लतारेर आफ्नै घरमा लगी कुटपिट गरेका, शिवा हास्मीलाई एउटा कोठामा थुनेको देखेको अवस्थामा मैले मुस्लिम समाजको रीतिरिवाजअनुसार मौखिक मिलापत्र गराई गएकोमा २० गतेको कुरालाई जरीया लिई २१ गते राति केटी शिवा हास्मीलाई कुटपिट गरेका, तेरो विवाह कुनै हालतमा बाबु खाँसँग हुन दिन्नौं, त्यसको नाम लिइस् भने पेट्रोल छर्केर मारी फाल्छौं भनेका रहेछन्, मिति २०६९।८।२२ गते बिहान अन्यायीहरूले बाबु खाँसँगको सोही प्रेम सम्बन्धको जरीयालाई लिएर पेट्रोल छर्की आगो लगाई सख्त घाइते बनाएकोमा निज मृतकको उपचारको क्रममा मृत्यु हुन गएकोले शिवा हास्मीको मृत्यु अन्य कोही व्यक्तिबाट नभई मृतकका आफ्नै घरपरिवारका सदस्यमध्ये सिद्धु हास्मी, रिजवान हास्मी र हसिना हास्मीसमेत मिली निज शिवा हास्मीलाई पेट्रोल छर्की मार्ने काम गरेकोले कारबाही गरिपाउँ भन्ने आरिफ अहमद राईनको जाहेरी दरखास्तको बेहोरा रहेको देखिन्छ ।
५. निज मृतक शिवा हास्मीको शरीरमा मिति २०६९।०८।२२ गते बिहान अन्दाजी ६ बजेको समयमा पेट्रोल छर्की आगोले जलेकोमा उपचारको क्रममा मिति २०६९।०८।२७ गते निजको मृत्यु भएको भन्ने सम्बन्धमा वीर अस्पतालमा भएको लास जाँच प्रकृति मुचुल्का हेर्दा मृतक शिवा हास्मीको निधारको भागमा छाला उस्किएको, दुवै आँखा बन्द, मुख अर्ध खुल्ला, दुवै कान जलेको, अनुहारको भाग पूरै जली छाला खुइलिएको, घाँटीदेखि दुवै खुट्टाको गोलीगाँठासम्म उपचारको क्रममा बाँधिएको ब्यान्डेज खोली हेर्दा मृतक शरीरको छाला पूरै जली खुइलिएको, दुवै हात पाखुरा पञ्जासमेत जली छाला खुइलिएको, योनि मलद्वार जलेको, योनिबाट तरल पदार्थ निस्किएको, कपाल जली खुम्रिएको, गर्धन तथा पिठ्युँसमेतको भाग आगोले जली छाला खुइलिएको, मृतकको शरीर ९०% आगोले जलेको भन्नेसमेत बेहोराको लास जाँच प्रकृति मुचुल्का एवं मृतकको शव परीक्षण प्रतिवेदन हेर्दा मृत्युको कारणमा (Flame burn injuries) उल्लेख भएको र (Burn injury over body. Burn injury is about 80-90%. Swelling of face and neck region) भन्ने बेहोराको घाउ जाँच केस फाराम रहेको देखिन्छ । साथै शरीरको अगाडिको भाग बढी जलेको हुनाले सोही भागबाट आगो लागेको अनुमान गर्न सकिने भन्नेसमेत बेहोराको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाको मिति २०६९।९।२४ को पत्रबाट लेखिआएको देखिन्छ । यी सबै कागज प्रमाणहरू र मौकामा बुझिएका व्यक्तिहरूको भनाइसमेतका आधारमा मृतक शिवा हास्मीको मृत्यु आगोले जलेर भएको तथ्यमा कुनै विवाद रहेको देखिँदैन ।
६. मृतककी आमा प्रतिवादी हसिना हास्मीले मौकामा घटना विवरण कागज गर्दा छोरी शिवा हास्मीलाई को कसले आगो लगायो, मैले कसैलाई देखिनँ भनी लेखाई दिएको र अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा शिवा हास्मीलाई शरीरमा आगो लागेको अवस्थामा निजले मलाई बचाउ, आगो निभाउ भन्दै कराएकी थिइन् भनी आफ्नो बेहोरा लेखाएको देखिन्छ । मुन्ना भन्ने सुभान अहमद हास्मीले आफ्नो घटना विवरण कागजमा भाइजान बचाउ भनेकी थिइन् भनी बेहोरा लेखाएको र निजले अदालतमा समेत उपस्थित भई बकपत्र गर्दा बहिनी पानीको खाल्डोमा हामफालिन् भनी आफ्नो बेहोरा लेखाएको देखिन्छ । मृतकका मामा अब्दुल मोईज हास्मीले अदालतसमक्ष बकपत्र गर्दा गल्लीबाट बाहिर हेर्दा शिवा हास्मी जलिरहेको अवस्थामा दौडँदै जाँदै थिइन्, म जाँदाजाँदै भान्जी शिवा हास्मी पानीको खाल्डोमा हामफालिन् भनी आफ्नो बेहोरा लेखाएको देखिन्छ । उल्लिखित व्यक्तिहरूसमेतका कथनबाट मृतक शिवा हास्मी आफ्नो शरीरमा आगो लागेपछिको अवस्थामा बाँच्नको लागि प्रयासरत रहेको भन्ने देखिन्छ । निज मृतकले एकाबिहानै उठी आफ्नो शरीरमा आफैँ पेट्रोल खन्याई आत्महत्या गर्नुपर्नेसम्मको अवस्था रहेभएको मिसिल संलग्न कागज प्रमाणहरूबाट देखिँदैन ।
७. मृतक शिवा हास्मी र प्रतिवादी बाबु खाँ एकअर्काप्रति प्रेम सम्बन्धमा रही उनीहरूको प्रेम सम्बन्ध वैवाहिक बन्धनमा बाँधिने चरणमा पुगेको अवस्था रहेको कुरा निजहरूको बिच मोबाइलमा भइरहेको “बाबु हम नरही रहपाते तुम्ने बिना” भन्ने जस्ता सन्देश मृतकले आफ्नो प्रेमी बाबु खाँलाई पठाएको मिसिल सामेल रहेको मोबाइल कल डिटेल तथा प्रतिवादी बाबु खाँको मौकाको र अदालतको बयान बेहोरा एवं मृतककी आमा प्रतिवादी हसिना हास्मीले अदालतसमक्ष बकपत्र गर्दा मृतक छोरीले बाबु खाँलाई म तिमी बिना बाँच्न सक्दिन भनेको सुनेको र (स.ज. २४ मा) मेरी छोरीको विवाहको लागि काठमाडौंबाट धनी परिवारको मुस्लिम केटाबाट विवाहको प्रस्ताव आएकोमा छोरीले म टाढा विवाह गर्दिन, बाबुसँगै विवाह गर्छु भनी जिद्दी लिएको भन्नेसमेतको बयान बेहोरा लेखाई दिएको कथनबाट मृतक शिवा हास्मी र प्रतिवादी बाबु खाँ एकआपसमा प्रेमी प्रेमिका भएको प्रस्ट देखिन्छ ।
८. मृतक शिवा हास्मीलाई आगो लगाएको वारदात हुनु २ दिनअघि अर्थात् मिति २०६९।८।२० गते शिवा हास्मीका साहिला दाजु रिजवान र कान्छा दाजु सिद्धुले शिवा हास्मीका प्रेमी बाबु खाँलाई लतारेर आफ्नै घरमा लगी कुटपिट गरेको र शिवा हास्मीलाई एउटा कोठामा थुनेको र निज शिवा हास्मीलाई तेरो विवाह कुनै हालतमा बाबु खाँसँग हुन दिन्नौं, त्यसको नामसमेत लिइस् भने पेट्रोल छर्केर मारी फाल्छौं भनेका र सोको २ दिनपछि २२ गते आगो लगाई जली उपचारको क्रममा निजको मृत्यु भएको हुँदा निज शिवा हास्मीको मृत्यु अन्य कोहीबाट नभई आफ्नै घरका सदस्यमध्ये सिद्धु रिजवान र हसिनासमेत मिली पेट्रोल छर्की जलाई मार्ने काम गरेका हुन् भनी आरिफ अहमद राईनले दिएको किटानी जाहेरी दरखास्तको बेहोराबाट प्रतिवादी बाबु खाँ र मृतक शिवा हास्मीबिच रहेको प्रेम सम्बन्धलाई लिएर प्रतिवादीहरू हसिना हास्मी, रिहान अहमद हास्मी र रिजवान अहमद हास्मीले अस्वीकार गरेको र आक्रोश रहेको देखिन्छ ।
९. मृतक शिवा हास्मी र प्रतिवादी बाबु खाँबिच रहेको प्रेम सम्बन्ध टुटाउन बाबु खाँलाई निजको घरबाट आफ्नो घरसम्म लतारेर ल्याउने, हातपात गरी धम्क्याउने, मृतकलाई आगो लगाई जलाएको, वारदात भएको अघिल्लो दिन मृतकका दाजु रिजवानद्वारा प्रहरी कार्यालयसमक्ष उजुर पारी बाबु खाँ र मृतक शिवा हास्मीबिच फोन तथा एस.एम.एस. केही गर्न नपाउने, बाबु खाँको मोबाइलको मेसेज डिलिट गर्न लगाउनेलगायतका प्रयासहरू प्रतिवादीहरू हसिना, रिजवान र रिहानसमेतबाट भएको तथ्य बाबु खाँको बयान, जाहेरवाला आरिफ अहमदको जाहेरी एवं निजको बकपत्रको बेहोराबाट पुष्टि हुन आएको
देखिन्छ । त्यसैगरी मेरो बहिनी शिवा हास्मीलाई प्रतिवादी बाबु खाँले प्रेम सम्बन्ध राखेको भनेपछि रिस उठी मैले मिति २०६९।०८।२० गते निज बाबु खाँलाई २/३ थप्पड हानेको हुँ भनी मृतककै माहिला दाजु मुन्ना भन्ने सुभान अहमद हास्मीले मौकामा अनुसन्धान अधिकारीसमक्ष गरिदिएको कागजसमेतबाट प्रेम सम्बन्ध छुटाउन धेरै प्रयत्न भइरहेको भए तापनि उनीहरूबिचको प्रेम सम्बन्ध टुटाउन नसकिरहेको अवस्था रहेको भन्ने मिसिलबाट देखिएको स्थितिमा प्रतिवादी बाबु खाँले मृतक शिवा हास्मीलाई आगोले जलाई मार्नुपर्ने कुनै स्वाभाविक कारण र परिस्थिति रहेभएको देखिँदैन ।
१०. सर्वप्रथम प्रतिवादी बाबु भन्ने रइस खाँ कसुरदार हुन् वा होइनन् भन्ने सम्बन्धमा हेर्दा प्रतिवादी बाबु भन्ने रईस खाँको स्थायी घर भारतको बहराइचमा रहेको र बिगत १२ वर्षदेखि नेपालमा खासगरी बर्दियामा आमा बुबाको साथमा डेरा गरी बस्ने मोटरसाइकल रिपेरिङ काम गर्ने कामदार मजदुर जम्मा ५ कक्षासम्म अध्ययन गरेका, २२ वर्षीय निज प्रतिवादी र भारतको नानपाराबाट हाइस्कूल पास गरी ११ कक्षा पढ्ने तरखरमा रहेकी १९ वर्षीय शिवा हास्मीबिच प्रेम सम्बन्ध रहन गएको देखिन्छ । निजहरूबिचको प्रेम सम्बन्ध रहेको कुरा निजहरूबिच मोबाइल फोनमा हुने गरेको “म तिमी बिना बाँच्न सक्दिन” “बाबु हम नही रहपाते तुम्ने बिना” जस्ता सन्देशहरू शिवा हास्मीले पठाएको सन्देशबाट पुष्टि भइरहेको देखिन्छ ।
११. प्रतिवादी बाबु खाँ र मृतक शिवा हास्मीबिच प्रेम सम्बन्ध रहेको भन्ने देखिइरहेको अवस्थामा मिति २०६९।८।२२ गते एकाबिहानै आफ्नै घर परिसरभित्र शिवा हास्मीको शरीरमा पेट्रोल छर्की आगो लगाई ९० प्रतिशत शरीर जलेको अवस्थामा उपचारको क्रममा निजको मृत्यु भएको घटनाको तथ्य रहेकोमा सो घटना हुनुअघि यी दुई प्रेमी प्रेमिकाबिच कुनै मनमुटाव, वादविवाद झैझगडा केही भएको वा कुनै असहज परिस्थिति उत्पन्न भएको भन्ने कहीँकतैबाट पनि खुल्न आएको देखिँदैन । आफ्नो प्रेमिका मृतक शिवा हास्मीलाई यी प्रतिवादी बाबु खाँले पेट्रोल छर्की आगो लगाई जलाई हत्या गर्नुपर्नेसम्मको कुनै कारण रहेभएको भन्ने कुरा मिसिल संलग्न कागज प्रमाणहरूबाट देखिँदैन ।
१२. मृतकका दाजुहरू जाहेरवाला रिजवान र तनवीरको जाहेरीअनुरूप मृतकको घर पर्खाल बाहिरबाट यदि प्रतिवादी बाबु खाँले नै पेट्रोल फाली मृतक शिवा हास्मीलाई जलाएको हो भनी मान्ने हो भने सो समयमा मृतकको आमा सोही ठाउँमा रहेको भन्ने देखिन्छ । निज प्रतिवादीले त्यसरी पेट्रोल फ्याँक्दा मृतकको आमा हसिना हास्मीले स्वाभाविक रूपमा देख्नु पर्नेमा निज प्रतिवादीलाई पेट्रोल छर्केको देखेको भनी भन्न पनि सकेको देखिँदैन । मृतककी आमाले कसैलाई नदेखेको भनाइ व्यक्त गरेको देखिन्छ । निजले छोरी शिवा हास्मीको शरीरमा एक्कासी आगो लागेको मात्र देख्नु र आगो लगाउने मानिस कसैलाई नदेख्नुबाट जाहेरवालाहरूले यी प्रतिवादीलाई फसाउने उद्देश्यबाट जाहेरी दरखास्त दर्ता गराएका हुन् भन्ने पुष्टि हुन्छ ।
१३. घटनास्थलको प्रकृतितर्फ विचार गर्दा प्रतिवादी बाबु भन्ने रईस खाँले पर्खाल बाहिरबाट पेट्रोल छर्की मृतक शिवा हास्मीलाई आगो लगाएको भन्ने निजउपरको अभियोग दाबी वस्तुपरक रहेको मान्न सकिने अवस्था देखिँदैन । जाहेरवाला रिजवान हास्मीको जाहेरीमा जाहेरवालाको घरको उत्तरतर्फको पर्खालबाट प्रतिवादी बाबु खाँले रातो प्लाष्टिकको जगमा लिई आएको पेट्रोल बहिनी शिवा हास्मीको शरीरमा हाली सलाई कोरी ज्यान मार्नको लागि आगोसमेत लगाई दिएको भन्ने उल्लेख गरेको भए तापनि जाहेरीमा उल्लिखित उक्त रातो प्लाष्टिकको जग बरामद हुन सकेको देखिँदैन ।
१४. त्यसैगरी यदि उत्तरतर्फको पर्खाल बाहिरबाट पर्खालभित्र रहेकी भनिएकी मृतकको शरीरमा पेट्रोल फाली आगो लगाइएको भए त्यहाँ पेट्रोलको गन्ध आएको स्थिति हुनुपर्ने, कसैले पनि सो पर्खालभित्र पेट्रोलको गन्ध आएको भन्ने बेहोरा लेखाएको मिसिलबाट देखिँदैन । सो वारदात मिति र समयमा गाडी मोबाइल ड्युटीमा रहेका प्र.ना.नि. विष्णुबहादुर के.सी. ले पेस गरेको प्रतिवेदनमा निजले सो वारदात मितिका दिन बिहान ६:१५ बजे सो आगलागी भएको स्थानमा आदेशानुसार घटना भएको लगत्तै सो उत्तरतर्फको पर्खालतिर गई हेर्दा पछाडि अर्कैको करेसाबारी पर्खाल नजिक चटाइले बेरेको शौचालय रहेको र पानीको हिलो रहेको देखेँ, पर्खाल वरिपरि कुनै किसिमको गन्ध थिएन । हिलोमा कुनै खुट्टा वा जुत्ताको वा चप्पलको डाम देखिएन भन्ने बेहोराको प्रतिवेदन पेस गरेको देखिन्छ । यदि त्यस स्थानमा पर्खाल बाहिरबाट पेट्रोल फालिएको भए वरिपरि पेट्रोलको गन्ध आउनु पर्नेमा पेट्रोलको गन्ध नआएको देखिनु तथा खुट्टाको, जुत्ताको र चप्पलको डामसमेत रहेको नपाइनुबाट पर्खाल बाहिरबाट प्रतिवादी बाबु खाँद्वारा पेट्रोल फालिएको भन्ने तथ्य वस्तुनिष्ठ रूपमा पुष्टि हुन सकेको देखिँदैन ।
१५. प्रतिवादी बाबु खाँले अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा अभियोग दाबीबमोजिमको कसुरमा इन्कार रही आफ्नो विगत दुई वर्षअगाडिदेखि मृतक शिवा हास्मीसँग प्रेम सम्बन्ध रहेको, सो कुरा मृतकका घरपरिवारलाई स्वीकार्य नभएको, मृतकले म तिमीसँगै आत्महत्या गरी तिमीलाई फसाउँछु भन्दै आएकी, मैले त्यस्तो कुरा नगर बरू घरपरिवारलाई राजी बनाउ भन्दा घरपरिवारले मान्दैनन् भन्दै आएकी थिइन् । मैले मृतकलाई पेट्रोल हाली आगो लगाएको होइन । मृतकसँग सम्पर्क हुँदा तिमीले मलाई विवाह गरी लग्दैनौ भने मलाई मेरो घरका मानिसले आगो लगाई मारिदिन्छौं भनेका छन् भन्थिन् भन्नेसमेतका बेहोरा लेखाएको देखिन्छ ।
१६. निज प्रतिवादीले अदालतमा बयान गर्दा मृतक शिवा हास्मी र मेरोबिचमा २ वर्ष अघिदेखि प्रेम सम्बन्ध थियो । उक्त वारदात मितिमा म आफ्नै घर डेरामा सुतिरहेको थिएँ । म र शिवा हास्मीबिच प्रेम सम्बन्ध भई हामीबिच फोनबाट कुराकानी
हुन्थ्यो । शिवा हास्मीले भागेर जाउँ भन्थिन्, सोही कुरामा निजको आमाले थाहा पाएपछि मलाई बोलाई तिम्रो र छोरी शिवा हास्मीबिच विवाह गरिदिन्छौं तर तिमीले मेरो सर्त मान्नु पर्छ भनेपछि निजले गुलरिया बजारमा ५ धुर जग्गा र २ तोला सुन छोरीको नाउँमा गराई दिई तिमी ३ वर्ष बाहिर कमाउन जाउ, तब विवाह गरिदिन्छु भनेकीले सो सर्त मान्न मन्जुर गरी म कमाइको सिलसिलामा सुर्खेततिर गएँ, त्यसको करिब १ हप्तापछि शिवा हास्मीले मलाई अन्यत्रै विवाह गरिदिने कुरा गरेका छन्, तिमीलाई ३ वर्षपछि विवाह गरिदिन्छु भन्ने आमाको बहाना मात्र हो, तिमी छिट्टै आउ भनेकीले म आएँ, त्यसपछि निज शिवा हास्मी र मेरोबिच फोन सम्पर्क भएको थाहा पाई निजको आमाले फोनबाट मलाई मेरो छोरीको किन पिछा लागेको छस् भनी गालीसमेत गरेकी थिइन्, शिवा हास्मीले भागेर जाँदा बुबा हर्टको बिरामी हुनुहुन्छ, पछि म आमा बुबालाई सम्झाई तब जाउँला भनेकी थिइन् । सोही विषयमा निज शिवा हास्मीको आमा र दाजुहरूले मलाई मार्ने पिट्ने कुरासमेत गरेको र मेरो आमाले सो कुरा थाहा पाई बाबु केही समयको लागि बाहिर जाउ भन्नु भएको थियो भनी र (स.ज.९ मा) मिति २०६९।०८।२२ गतेभन्दा ४ दिन अगाडि निज शिवा हास्मीले मिस कल गरिन् र मैले फोन गर्दा निजले मैले तिमीसँग विवाह गर्छुभन्दा आमा दाजुसमेत घर परिवारले मानेका छैनन् । त्योसित विवाह गरिदिनु भन्दा बरू मारिदिन्छौं भनेका छन् भनी फोन गरेकी थिइन् भनी आफ्नो बेहोरा लेखाएको देखिन्छ । निज प्रतिवादीको उक्त बयानलाई समर्थित हुने गरी मौकामा कागज गर्ने केही व्यक्तिहरूले सुरू अदालतमा उपस्थित भई गरिदिएको बकपत्रलगायतका मिसिल संलग्न अन्य कागजहरूबाट पुष्टि हुन आएको पाइन्छ भने निजहरूको प्रेम सम्बन्धमा कुनै किसिमको मनमुटाव अथवा असमझदारी भई तनाव उत्पन्न भएको अवस्था मिसिल संलग्न प्रमाणहरू देखिएको छैन । यस्तो अवस्थामा आफ्नो प्रेमिकालाई विना कारण आगो लगाई मारे भन्ने अनुमान गर्न सकिँदैन ।
१७. मृतकका दाजु प्रतिवादी सिद्धु भन्ने रिहान अहमद हास्मीले मौकामा घटना विवरण कागज गर्दा बहिनीलाई के कसरी आगो लाग्न गएको हो सो सम्बन्धमा मलाई केही थाहा छैन भनेको देखिन्छ भने निजले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा दाइ रिजवान अहमद हास्मीले मेरो बहिनी शिवा हास्मीलाई पेट्रोल हाली आगो लगाउने बाबु खाँ हो भनी जिल्ला प्रहरी कार्यालयमा दर्खास्त दिएका रहेछन् । के कुन प्रमाणबाट उक्त किटानी जाहेरी दरखास्त दिएका हुन् मलाई थाहा जानकारी भएन, मेरो बहिनीसँग कुरा हुँदाको अवस्थामा आगो के कसरी लाग्न पुगेको हो सोसम्बन्धी केही कुरा नबताएकाले आगो के कसरी लाग्न पुगेको हो यकिन थाहा छैन भनी बेहोरा लेखाएको देखिन्छ । निजले अदालतसमक्ष बयान गर्दा बाबु खाँले पनि आगो लगाएजस्तो मलाई लाग्दैन भनी बयान गरेको देखिएबाट प्रतिवादी बाबु खाँको कसुरमा संलग्न नहरेको पुष्टि हुन्छ ।
१८. त्यसैगरी घटना विवरण कागज गर्ने पप्पु अहमद हलुवाई, मोहम्मद अयुव हलवाई, अब्बुल हसनसमेतका मानिसले बाबु खाँले मृतक शिवा हास्मीलाई जलाएको होइन भनेको देखिन्छ । अदालतमा आई बकपत्र गर्दा मोहम्मद अयुब हलवाई, शिखा मण्डल, हसिब हलवाई, जाहेरवाला अरीफ अहमद राइनले बाबु खाँले शिवा हास्मीलाई आगो लगाई मारेका होइनन् भनी बकपत्र गरेको देखिन्छ । घटना विवरण कागज गर्ने हरिसुन शेषले म पिसाब फेर्न निस्किएको अवस्थामा जाहेरवाला रिजवान हास्मीको आमाले सिद्धु जलादिया भन्दै दुई पटक कराएको सुनेको हुँ भनी लेखाई दिएको र निजले अदालतमा समेत सोही बेहोराको बकपत्र गरेको तथा मृतक शिवा हास्मी जाहेरवाला रिजवान अहमद हास्मीको घरभित्र ग्यालरीबाट शरीरमा आगो बल्दै बाहिर निस्किएको मैले देखेकी हुँ भन्नेसमेत बेहोराको लक्ष्मी थापा, जुमा अन्सारीसमेतको अलग अलग कागजसमेत भएको अवस्थामा निजहरूका भनाइहरू हेर्दा मृतक शिवा हास्मीलाई प्रतिवादी बाबु खाँले पेट्रोल छर्की आगो लगाएको हो भनी निष्कर्ष निकाल्न मिल्ने अवस्था देखिँदैन ।
१९. जहाँसम्म मृतक शिवा हास्मीको मौकाको कागज जसलाई मृत्यु हुनुपूर्व होस छँदै व्यक्त गरेको मृत्युकालीन घोषणाको संज्ञा दिइएको र जिकिर लिइएको छ सो सम्बन्धमा विचार गर्दा मृतक शिवा हास्मीबाट बर्दिया जिल्ला अस्पताल गुलरियामा र भेरी अञ्चल अस्पताल नेपालगन्जमा व्यक्त भएको भनिएको मिति २०६९।०८।२२ को मौकाको कागज मृत्युकालीन घोषणाको रूपमा मिसिल सामेल रहेको पाइन्छ । मृत्युकालीन घोषणालाई प्रमाणमा ग्रहण गर्ने सम्बन्धमा प्रमाण ऐन, २०३१ को दफा ११ को व्यवस्था यसप्रकार रहेको छ “कुनै मरेको व्यक्तिले आफू मर्न लागेको अवस्थामा होस छँदै आफ्नो मृत्युको सम्बन्धमा व्यक्त गरेका कुरा प्रमाणमा लिन हुन्छ” । यस कानूनी व्यवस्थाअनुसार मृत्युकालीन घोषणालाई प्रमाणमा लिनका लागि त्यसको सत्यता र विश्वसनीयताको परीक्षण मिसिल संलग्न अन्य तथ्य प्रमाणबाट गरिनु पर्ने हुन्छ । यदि दुई ठाउँमा वा एक पटकभन्दा बढी त्यस्तो अभिव्यक्ति अभिलिखित गरिएको अवस्था छ भने त्यसमा एकरूपता छ या छैन भन्ने पनि हेरिनु पर्ने हुन्छ । यसरी हेर्दा निज पीडितको मौकामा भएको भनिएको २ वटा कागजमध्ये मृतक शिवा हास्मीले जिल्ला अस्पताल बर्दियामा उपचारको क्रममा अस्पतालका मेडिकल अधिकृत डा.अमित लामगादेको रोहवरमा भएको भनिएको मौकाको कागजको बेहोरा हेर्दा मिति २०६९।०८।२२ गते धारोबाट पानी ल्याउँदै गरेको अवस्थामा बाबु खाँले पछाडिबाट पेट्रोल ल्याई छरी आगो लगाएको हो “जस्तो लाग्छ” मेरा दुवै हातका औंलाहरू जली सहीछाप गर्न नसक्ने भएकाले यस कागजमा मेरो बायाँ खुट्टाको बुढी औंलाले छाप लगाई दिएँ भन्ने बेहोरा उल्लेख भएको देखिन्छ ।
२०. त्यसैगरी सोही मिति २०६९।८।२२ मा भेरी अञ्चल अस्पतालमा गरेको कागजको बेहोरा हेर्दा बाबु खाँले घर पछाडि नल्कामा पानी लिन गएको अवस्थामा तिमी मसँग विवाह गर्नुपर्छ र तिमी मसँग नगएमा तिमीलाई म मारी दिन्छु भनी भनेकोमा म तँसँग विवाह पनि गर्दिन र जाँदा पनि जाँदिन भनी भन्दा मलाई नल्काबाट समातेर देवाल पछाडि लिई तँलाई मारिदिन्छु भनी प्लाष्टिकको बोतलमा ल्याएको पेट्रोल मेरो शरीरमा खन्याई सलाईको काँटी सल्काई शरीरमा फालिदिएको हो भन्नेसमेत बेहोरा उल्लेख भएको देखिन्छ । मिति २०६९।०८।२२ गते केही समय पहिला जिल्ला अस्पताल, बर्दियामा कागज गर्दा यकिनसाथ भन्न नसकी प्रतिवादी रइस भन्ने बाबु खाँले नै मलाई पेट्रोल छरी आगो लगाएको “जस्तो लाग्छ” भनी कागज गर्ने मृतक शिवा हास्मीले सोही दिन केही समयपछि भेरी अञ्चल अस्पतालमा भने यकिन साथ मलाई प्रतिवादी रइस भन्ने बाबु खाँले नै पेट्रोल छरी आगो लगाएको हो भनी सुरूमा बर्दिया जिल्ला अस्पतालमा व्यक्त गरेको भन्दा फरक किसिमको बेहोरा उल्लेख गरी एकआपसमा विरोधाभासपूर्ण कथन व्यक्त भएको भन्ने पाइन्छ । भेरी अञ्चल अस्पतालमा गरिएको भनेको कागजमा चिकित्सकलगायत अस्पतालमा उपचारमा संलग्न व्यक्तिहरूलाई रोहवरमा राखेको देखिँदैन भने बर्दिया जिल्ला अस्पतालमा गरिएको भनेको कागजमा डाक्टरलाई रोहवरमा राखेको भए तापनि निज डाक्टरलाई अदालतमा उपस्थित गराई बकपत्र गराएको पाइँदैन । सोही समयमा उपचारमा संलग्न रहेकी अ.हे.व. शर्मिला सुवेदीलाई मौकामा कागज गराइएकोमा निजले कागज गर्दा मृतक शिवा हास्मीले मलाई कसैले पछाडिबाट आगो लगाइदियो भनेकी थिइन् अन्य केही बोलिनन् भनी उल्लेख गरेकोबाट बर्दिया जिल्ला अस्पतालको मृतकले सहीछाप गरेको भनिएको कागजको प्रमाणिकता खण्डित भएको
पाइन्छ । त्यसैगरी प्रतिवादी बाबु खाँले मृतक शिवा हास्मीलाई आगो लगाइदिएको भनी देखाइएको घटनास्थलमा र बाबु खाँको मोटरसाइकल रिपेयरिङ वर्कसपमा मुद्दासँग प्रमाण लाग्ने चीजवस्तु केही फेला नपरेको भन्ने मिति २०६९।८।२४ को बरामदी मुचुल्का तथा निज प्रतिवादी बाबु खाँ तत्कालै पक्राउ परेको, घटनाको सम्बन्धमा बुझ्दा आमा रोइकराई रहेको, छोराहरूमध्ये जेठो मुन्ना र माहिलो चुन्नाले बाबु खाँले उत्तरतर्फको पर्खालबाट पेट्रोल छर्की आगो लगाई भागेको भनेपछि पर्खालतर्फ गई हेर्दा पछाडि अर्कैको करेसाबारी रहेको, पर्खाल नजिकै शौचालय रहेको, पानीको हिलो रहेको, वरपर कुनै चीजको गन्ध थिएन, हिलोमा कुनै जुत्ता चप्पलको डाम थिएन भन्नेसमेत बेहोराको घटनास्थलमा तत्काल पुगेको प्रहरी विष्णुबहादुर के.सी. को प्रतिवेदनबाट मौकामा मृतक शिवा हास्मीले गरेको कागज भनी प्रस्तुत भएका कागजमा उल्लिखित बेहोराबाट खण्डित भएका
छन् । कुनै मरेको व्यक्तिले आफू मर्न लागेको अवस्थामा होस छँदै आफ्नो मृत्युको सम्बन्धमा व्यक्त गरेको कुरा प्रमाणमा ग्रहण गर्नको लागि दुई वा दुईभन्दा बढी कागज पेस भएकोमा ती कागजहरू एकापसमा विरोधाभाषपूर्ण रहेको हुनुहुन्न, दुई वा दुईभन्दा बढी व्यक्तिहरूले सुनेको भनी लेखाएको विषय एकापसमा विरोधाभासपूर्ण हुनुहुँदैन । अस्पतालमा गराइएको भनिएको कागजमा उपचारमा संलग्न चिकित्सक वा अन्य कर्मचारीलाई रोहवरमा राखी निजहरूले अदालतसमक्ष सोको विषयमा बकपत्र गरेको हुनुपर्दछ र पेस गरिएका कागजमा उल्लिखित बेहोरा मिसिल संलग्न कागजबाट समर्थित भएको हुनुपर्दछ, सो नभए पनि खण्डित भएको हुनुहुँदैन । प्रस्तुत मुद्दामा मृतकले मृत्यु हुनुभन्दा अगाडि होस छँदै व्यक्त गरेको भनी पेस भएका कागजहरू एकआपसमा विरोधाभासपूर्ण रहेको, एउटा कागजमा डाक्टरलाई रोहवरमा राखिएको भए तापनि डाक्टर अदालतमा उपस्थित भई सोको सत्यता प्रमाणित नभएको, सो अवस्थामा उपचारमा संलग्न कर्मचारीले कागजको बेहोरा खण्डित हुने गरी मौकामा कागज गरेको र उक्त कागजहरूमा उल्लिखित बेहोरा मिसिल संलग्न अन्य प्रमाणहरूबाट समर्थित नभई खण्डित भएको अवस्थामा अकाट्य प्रमाणको रूपमा ग्रहण गर्न सकिने देखिँदैन ।
२१. कर्तव्य ज्यानजस्तो गम्भीर प्रकृतिको फौजदारी कसुरमा प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम वादी पक्षले प्रतिवादीउपरको अभियोग दाबी शंकारहित तवरबाट प्रमाणित गर्नु पर्दछ अन्यथा शंकाको सुविधा अभियुक्तले पाउने फौजदारी न्यायको मान्य सिद्धान्त रहेको छ । विवेचित आधार र प्रमाणहरूबाट प्रतिवादी बाबु खाँउपर किटानी जाहेरीसम्म दिएको देखिए तापनि मृतककै घरपरिवारभित्रका सदस्यले बाबु खाँउपर किन जाहेरी दिए थाहा छैन भन्ने बेहोरा लेखाएका, जाहेरवाला मृतकका दाजुहरू रिजवान अहमद र तनवीर अहमदले बाबु खाँउपर दिएको किटानी जाहेरी निजहरूकै बयानबाट खण्डित भएको र घटनास्थलको वस्तुस्थितिबाट यी प्रतिवादी बाबु खाँले मृतकलाई पेट्रोल छर्की सलाई कोरी आगो लगाएको भन्ने वस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुन नसकेको र मृतकले उपचारका क्रममा मौकामा व्यक्त गरेका भनी पेस भएका कागजहरू प्रमाणयोग्य नदेखिएको अवस्थामा प्रतिवादी बाबु खाँ भन्ने रइस खाँलाई कसुरदार ठहर गर्नु फौजदारी न्यायको सिद्धान्त प्रतिकूल हुने हुँदा निज प्रतिवादीले अभियोग मागदाबीबाट सफाइ पाउने ठहर्याई सुरू बर्दिया जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर गरी उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासबाट भएको फैसला मनासिब नै रहेको देखियो ।
२२. अब प्रस्तुत मुद्दाका अर्का प्रतिवादी मृतककी आमा हसिना हास्मीउपर अभियोग दाबीअनुसार नै सजाय हुनु पर्नेमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम घटी सजाय गरेको मिलेन भनी वादी नेपाल सरकारको पुनरावेदन जिकिरको सम्बन्धमा विचार गर्दा शिवा हास्मीलाई निजकै दाइ सिद्धु हास्मी, रिजवान हास्मी र आमा हसिना हास्मीले पेट्रोल हाली आगो लगाई दिएको र निजको उपचारको क्रममा मृत्यु भएको हुँदा निज प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको महलबमोजिम कारबाही गरिपाउँ भनी आरिफ अहमद राइनले जाहेरी दिएको देखिन्छ भने यी प्रतिवादी हसिना हास्मीले अनुसन्धानमा र अदालतमा कसुर गरेकोमा इन्कार गरी बयान गरेको पाइन्छ ।
२३. शिवा हास्मी घरको बिच कोठाबाट आगोले जल्दै बरन्डाबाट पछाडितर्फ जाँदै गरेको देखेकी हुँ भनी अदालतमा बकपत्र गर्ने जुमा अन्सारीले उल्लेख गरेकी छन् भने घरभित्रैबाट आगलागी भएको हो । घरभित्र को कसले किन आगो लगाए म भन्न सक्दिन भनी मो. आयुव हलवाईले बकपत्र गरेका छन् । मौकामा कागज गर्ने शिवा हास्मीका दाजु सुभान अहमद हास्मीले मेरो आमा जोडजोडसँग कराएको सुनी के भयो भनी बाहिर जाँदा बहिनी शिवा हास्मी जल्दै गरेको अवस्थामा देखेको हुँ भनी उल्लेख गरेका छन् भने मृतक शिवा हास्मीको मामा अब्दुल मोइज हास्मीले कागज गर्दा दिदी बाहिर जोडजोडसँग कराएको सुनी जाँदा भान्जी शिवा हास्मीको शरीरमा आगो लागेको देखेँ भनी लेखाएको पाइन्छ । यी भनाइहरूबाट शिवा हास्मीको शरीरमा आगो घरभित्र लागेको र यी प्रतिवादी हसिना हास्मी बाहिर कराउँदै गरेको भन्ने देखिएको स्थितिमा यी प्रतिवादी हसिना हास्मीले समेत पेट्रोल छर्की आयो लगाएको भन्ने दाबी खण्डित भएको पाइन्छ ।
२४. अभियोग दाबीबमोजिम यी प्रतिवादीले मृतक शिवा हास्मीलाई आगो लगाएको भन्ने वस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुन आएको देखिँदैन । कर्तव्य ज्यानजस्तो गम्भीर प्रकृतिको फौजदारी कसुरमा प्रतिवादीलाई अभियोग दाबीबमोजिम कसुरदार ठहर गर्न कसुर वस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुनु पर्दछ । प्रतिवादीउपरको अभियोग दाबी वादी पक्षले शंकारहित तवरबाट प्रमाणित गर्नुपर्दछ । जाहेरी दरखास्त आफैँमा प्रमाण होइन, अन्य परिस्थितिजन्य प्रमाणहरूबाट समर्थित हुन नसकेको अवस्थामा जाहेरी दरखास्तलाई प्रमाणमा लिन मिल्दैन । प्रस्तुत वारदातमा निज प्रतिवादीले मृतकलाई आगो लगाएको भन्ने अभियोग दाबी वादी पक्षले सप्रमाण पुष्टि गर्नसकेको देखिँदैन । एक जनाभन्दा बढी प्रतिवादी रहेको ज्यानजस्तो गम्भीर प्रकृतिको फौजदारी कसुरमा प्रत्येक प्रतिवादीउपरको अभियोग प्रतिप्रमाणबाट प्रमाणित हुनुपर्ने फौजदारी न्यायको मान्य सिद्धान्त रहेको छ । कुनै पनि फौजदारी कसुरमा केवल गोश्वारा अभियोगको आधारमा कसुरदार ठहर गर्न मिल्दैन । निज प्रतिवादीले मृतक छोरी शिवा हास्मीलाई आगो लगाई मार्ने कार्य गरेको भन्ने तथ्य वस्तुनिष्ठ प्रमाणबाट प्रमाणित हुन नसकेको अवस्थामा जाहेरी दरखास्तमा सुनेको आधारमा आरोपित गरेकै भरमा निजलाई अभियोग माग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गर्न मिल्ने देखिन आएन ।
२५. प्रतिवादी बाबु खाँ र मृतक शिवा हास्मीको बिच रहेको प्रेमसम्बन्ध छुटाउनको लागि निज प्रतिवादी हसिना हास्मीसमेतको मतसल्लाहबमोजिम प्रतिवादी बाबु खाँलाई आफ्नो घरमा ल्याई कुटपिटसमेत गरेको तथ्य निर्विवाद रूपमा रहेको छ । आफ्नो घरमा छोरी जलेर छटपटाई रहेको अवस्थामा मृतकलाई उपचार गरी बचाउन प्रयास गर्नु घरपरिवारका सदस्यहरूको त्यसमा पनि आमाको मुख्य दायित्व भएकोमा सो दायित्व यी प्रतिवादीले पूरा गरेको नदेखिएको, मृतकको छिमेकी घटना विवरण कागज गर्ने अनिता दाहाल राईनले आगोले जलेकी शिवा हास्मीले म जलिरहेको छु भनी कराइरहेको र निजको अनुहार पूरै जलेको अवस्था हुँदा मैले अस्पताल लान एम्बुलेन्सलाई खबर गर्नु पर्यो भन्दा मृतककी आमा हसिना हास्मीले प्रहरीलाई देखाएर मात्र अस्पताल लाने हो भनेपछि हामी चुप लाग्यौं भनी लेखाई दिएकोबाट छिटोभन्दा छिटो उपचारको लागि अस्पताल लैजानु पर्नेमा ढिलो गर्न खोजेको प्रस्ट देखिन आउँछ । शिवा हास्मीलाई आगो लगाइएको कुरा सुनेँ । म घटनास्थलमा पुग्दा निजको अवस्था नाजुक
थियो । पुलिसलाई खबर गरौं, एम्बुलेन्स बोलाई उपचारको लागि लैजाउँ भन्दा शिवाका दाजुभाइ, आमाले उपचार गर्ने होइन जली मर्न देउ भन्दै थिए भन्नेसमेत बेहोराको जाहेरवाला आरिफ अहमद राइनले सुरू अदालतमा गरेको बकपत्रको बेहोराबाट पुष्टि भइरहेको देखिएको र बाबु खाँलाई यी प्रतिवादीको घरमा ल्याई यिनका छोराहरूले कुटपिट गरेको निर्विवाद तथ्य रहेकोमा जाहेरवाला आरिफ अहमद राइनले झगडा भएको बेला विवाह गराइदिए हुन्छ, मिलेकै छ भन्दा विवाह गरिदिँदैनौं बरू मारिदिन्छौं भनी लेखाएकोसमेतबाट यी प्रतिवादी हसिना हास्मीसमेत छोरी शिवा हास्मीलाई मार्न मतसल्लाहमासम्म पसेको भन्ने परिस्थितिजन्य प्रमाणबाट पुष्टि हुन आएको अवस्थामा निज प्रतिवादी हसिना हास्मीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिमको कसुरमा निजलाई सोही १७(३) नं. बमोजिम २ वर्ष कैद सजाय हुने ठहर्याई सुरू बर्दिया जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर गरी उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासबाट भएको फैसला मनासिब नै रहेको देखियो ।
२६. अब प्रतिवादीहरू सिद्धु भन्ने रिहान अहमद हास्मी र रिजवान अहमद हास्मीले आफूहरू निर्दोष भएकोले सुरू अदालतबाट भएको फैसला सदर हुने ठहर्याई उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासबाट भएको फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने पुनरावेदन जिकिरको सम्बन्धमा विचार गर्दा मृतक शिवा हास्मीलाई निजकै दाइ सिद्धु हास्मी, रिजवान हास्मी र आमा हसिना हास्मीले पेट्रोल हाली आगो लगाई दिएको र निजको उपचारको क्रममा ऐ.२७ गते वीर अस्पताल काठमाडौंमा मृत्यु भएको हुँदा ज्यानसम्बन्धीको महलबमोजिम कारबाही गरिपाउँ भन्ने आरिफ अहमद राइनको जाहेरी दरखास्त परेको देखिन्छ । मैले देख्दा शिवा हास्मीको शरीरमा आगो निभिसकेको थियो । शिवा हास्मीलाई उपचार गराउन लैजाउ भन्दा निजको आमा, दाइ रिजवान र सिद्धुले मर्न देउ औषधी गर्न लैजान्न भनेका कारणबाट सिद्धुले पेट्रोल खन्याएको रिजवान र हसिनाले आगो लगाएको हुनुपर्छ भनी निज जाहेरवाला आरिफ अहमद राइनले मौकामा कागज गरेको देखिन्छ । मृतक शिवा हास्मी र प्रतिवादी बाबु खाँ भन्ने रइस खाँबिच प्रेमसम्बन्ध धेरै अगाडिदेखि रहेको थियो । यी दुईजनाको प्रेमसम्बन्धको बारेमा दुवै परिवारबिच वादविवाद पनि थियो । बाबु खाँलाई शिवा हास्मीका दाइभाइले मारपिट गरेको अवस्थामा शिवा हास्मीले बाबु खाँलाई मारपिट नगर बचाउ भनेकी थिइन् । शिवा हास्मीको आमासँग सबै कुरा मिलेकै छ, विवाह गरी देउभन्दा विवाह हुन सक्दैन, बरू शिवा हास्मीलाई मारिदिन्छु भन्नुभयो । निज दुईजनाको प्रेमसम्बन्धको बारेमा जिल्ला प्रहरी कार्यालय, बर्दियामा समेत छलफल भएको हो । छलफलमा अब दुवै पक्षले एकअर्कालाई कुनै सम्बन्ध नराख्ने भन्ने समझदारी पनि भएको हो । मिति २०६९।०८।२२ गते बिहान शिवा हास्मीलाई आगो लगाइएको कुरा सुनेँ । म घटनास्थलमा पुग्दा निजको अवस्था नाजुक
थियो । पुलिसलाई खबर गरौं, एम्बुलेन्स बोलाई उपचारको लागि लैजाउँ भन्दा शिवाका दाजुभाइ, आमाले उपचार गर्ने होइन जली मर्न देउ भन्दै थिए । निजहरूले जे भने पनि एम्बुलेन्स बोलाई पुलिसलाई खबर गरी उपचारको लागि अस्पताल लगेको हो । घटनास्थलको भौतिक अवस्थासमेतबाट बाबु खाँ उपरको जाहेरी बेहोरा अविश्वसनीय भएको देखिएबाट शिवा हास्मीको शरीरमा आगो लगाउने व्यक्ति घरभित्रै हुन् प्रतिवादी बाबु खाँ होइनन् भनी मैले जाहेरी दिएको हुँ भनी जाहेरवाला आरिफ अहमद राइनले सुरू अदालतमा बकपत्र गरेको देखिन्छ ।
२७. प्रस्तुत घटनाको सम्बन्धमा मौकामा कागज गर्ने मानिसहरूले उक्त वारदात घरपरिवारभित्रकै मानिसहरूबाट भएको भन्ने बेहोरा उल्लेख गरेको देखिन्छ । शिवा हास्मी घरभित्र ग्यालरीबाट शरीरमा आगो बल्दै बाहिर निस्किएको मैले देखेकी हुँ भन्ने लक्ष्मी थापा, जुमा अन्सारी, शिखा मण्डलले मौकामा गरेको अलग अलग कागज, म शिवा हास्मीको घरभित्र जाँदा ग्यालरीमा मट्टितेल वा पेट्रोलको जस्तो गन्ध आएको थियो, भन्नेसमेत बेहोरा निब्बर मनिहारले मौकामा गरेको कागज, शिवा हास्मीको शरीर पूरै जलेको अवस्थामा राधा कुँवरले च्यादर ओढाउँदै कोठामा ल्याउँदै गरेको देखेकी हुँ । उपचार गर्न लैजाउभन्दा हसिनाले पहिले प्रहरीलाई खबर गर भनेकी, ९० प्रतिशत जल्दा पनि सँगै रहेकी आमाले आगो निभाउने कोसिस नगरेकीले घरपरिवारबाटै उक्त घटना घटाएकोमा विश्वास लाग्छ भन्नेसमेत बेहोराको अनिता दाहाल राइनले मौकामा गरेको कागज, बाबु खाँलाई फसाउन शिवा हास्मीको शरीरमा पेट्रोल हाली आगो लगाउने निजकै घरपरिवारकै मानिस हुन् भन्नेसमेत बेहोराको पप्पु अहमद हलवाईले मौकामा गरेको कागज, वारदातस्थलमा रहेको पर्खाल हेर्दा घर बाहिरका मानिसले आगो लगाई दिने अवस्था नरहेको, शिवा हास्मी र बाबु खाँको बिचमा प्रेमसम्बन्ध रहेको हुँदा घरपरिवारकै सदस्यमध्ये को कसले शिवालाई जलाएका हुन्, घरपरिवारबाटै कर्तव्य भएकोमा पूर्णविश्वास लाग्छ भन्नेसमेत बेहोराको अब्बुल हसनले मौकामा गरेको कागज, शिवा हास्मीलाई निजकै घरपरिवारका सिद्धु भन्ने रिहान अहमद हास्मी, हसिना हास्मी र रिजवान हास्मीसमेत जना ३ ले जलाई मारेको हुनुपर्छ भन्नेसमेत बेहोराको सुरज राईले मौकामा कागज गरिदिएको देखिन्छ ।
२८. शिवा हास्मीको मृत्यु आगोले जलेर भएको हो । आगो को कसले लगाएका हुन्, मैले देखिनँ । बाहिरको व्यक्तिले शिवा हास्मीलाई आगो लगाई मारेको होइन । घटना हेर्दा घरभित्रको जो कोही व्यक्तिले उक्त घटना घटाएको हुनु पर्दछ भन्नेसमेत बेहोराको घटना विवरण खुलाई कागज गर्ने अनिता दाहाल राइनले सुरू अदालतमा बकपत्र गरेको देखिन्छ । त्यसैगरी मेरो पसलदेखि शिवा हास्मीको घर आमनेसामने करिब १०/१२ मिटरको फरकमा छ । म पसलमा थिएँ । शिवा हास्मी घरको बिच कोठाबाट आगोले जल्दै बरन्डाबाट पछाडितर्फ जाँदै गरेको देखेकी हुँ भन्नेसमेत बेहोराको जुमा अन्सारीले सुरू अदालतमा बकपत्र गरेको
देखिन्छ । यसरी उल्लिखित मौकामा कागज गर्ने मानिसहरूको भनाइ, अनिता दाहाल राइन र जुमा अन्सारीले सुरू अदालतमा गरेको बकपत्रसमेतबाट जाहेरवाला आरिफ अहमद राइनको जाहेरी दरखास्तलाई समर्थन गरेको देखिन आउँछ ।
२९. शिवा हास्मी मिति २०६९।८।२२ गते बिहान अं. ६:०० बजे आफ्नै घर परिसरभित्र जलेकी छिन् । निजको मृत्यु यी प्रतिवादीहरूको घर परिसरभित्र जलेको कारणबाट उपचारको क्रममा अस्पतालमा भएको तथ्यमा विवाद पनि देखिँदैन । मिति २०६९।८।२१ गते बेलुका उक्त घरमा यी प्रतिवादीहरू र अन्य जेठो छोरा चुन्ना भन्ने तनवीर अहमद, माहिलो मुन्ना भन्ने सुभान अहमद, प्रतिवादी हसिनाका भाइ मोइज अहमद, प्रतिवादी हसिनाकै बहिनीको छोरी अं. वर्ष ४ की तच्किरा र मृतकसमेत गरी आठजना रहेको भन्ने देखिन्छ । निजहरूमध्ये प्रतिवादी हसिना हास्मी, मृतक र बच्चा एउटा कोठामा सुतेको भन्ने छ भने प्रतिवादीसहितका अन्य सबै पाँचजना एउटा कोठामा सुतेको भनिएको छ । मिति २०६९।८।२२ को बिहान सबैभन्दा पहिला प्रतिवादी हसिना हास्मी उठेको, बहिनीको छोरीलाई पिसाब फेराई पुन: सुताई आफू ट्वाइलेट जान बाहिर आएको, ट्वाइलेटबाट फर्की फेरि भित्र गएको, छोरी शिवा हास्मीलाई उठाउन खोजेको, छोरीले नउठी सिरकले मुख ढाकेको, आफू बाहिर आई मञ्जन गरी आँगनमा हात धुन लागिरहेको भन्ने निजको अदालतसमक्ष भएको बयान बेहोराबाट खुल्न आएको छ । प्रतिवादी हसिना हास्मीले आफू बाहिर आँगनमा हात धुन लागिरहेका बेला छोरी उठी ट्वाइलेट जाने डब्बा कहाँ छ भनिन्, मैले आँगनको ढिकमा छ भने, छोरी डब्बा भएतिर गइन् र एकैछिनमा कराउन लागिन समेत भनेकी छन् । तर बोलाउँदा नउठी सिरकले मुख ढाकेर सुतेकी छोरी अकस्मात उठी बाहिर आएपछि नै निजको शरीरमा घर बाहिरको व्यक्तिबाट पेट्रोल छर्की आगो लागेको भए बाहिरै रहेकी प्रतिवादी हसिना हास्मीले त्यसरी पेट्रोल छर्की आगो लगाउने व्यक्तिलाई आगो लगाउँदै गरेको अवस्थामा वा भाग्दै गरेको वा कुनै क्रियाकलाप गरेको अवस्थामा देख्नु पर्नेमा देखिन भनी उल्लेख गरेकी छन् जबकी मृतकसँग निजको ट्वाइलेटको डब्बा सम्बन्धमा दोहोरो कुराकानी भइरहेको भन्ने निजकै बयानबाट खुल्न आएको स्थिति छ । आमा र छोरी एकआपसमा नजिकै र त्यतिन्जेल छोरी शिवा हास्मीलाई केही नभएको भन्ने सोही वार्तालापबाट पुष्टि हुन्छ । मानिस चिन्न सक्ने उज्यालो भइसकेको थियो भन्ने पनि निज हसिना हास्मीकै बयान बेहोराबाट खुल्न आएको छ ।
३०. यी पुनरावेदक प्रतिवादीहरू रिजवान अहमद हास्मी र सिद्धु भन्ने रिहान अहमद हास्मी आरोपित कसुरमा इन्कार रहेको देखिन्छ । निजहरूले वारदात घटाएको देख्ने प्रत्यक्ष प्रमाण साक्षी सबुद प्रस्तुत मुद्दामा रहेको पाइँदैन । यस्तो अवस्थामा अदालतले अनुसन्धानका क्रममा संकलित कागज प्रमाणहरूमध्ये के कुन कागज प्रमाण बढी विश्वसनीय र भरपर्दो देखिन्छन् सोतर्फ विचार पुर्याउनु पर्ने हुन्छ । यसै सम्बन्धमा सर्वोच्च अदालतबाट शुक्रराज विश्वकर्मा वि. बमबहादुर विश्वकर्माको जाहेरीले नेपाल सरकार वादी भएको ०६७-CR-०२१० कर्तव्य ज्यान मुद्दामा (ने.का.प. २०६९ अंक १२ नि.नं.८९३०) “वारदात प्रतिवादीकै घर कोठाभित्र हुनुको साथसाथै रातको समय भन्ने पनि देखिएको अवस्थामा यस्तो स्थान र समयमा चश्मदिद गवाहको अभाव रहनु स्वाभाविक नै हुन्छ र सबै वारदात एवं अपराधमा चश्मदिद गवाह हुनैपर्छ भन्ने पनि छैन । कसुरदारले गरेको कसुर प्रमाणित हुन अपराधको अनुसन्धान हुँदा विभिन्न कोणहरूबाट प्राप्त तथ्य एवं अभिव्यक्त भएका भनाइहरूलाई परिस्थितिजन्य प्रमाणहरूबाट समर्थित भने हुनुपर्ने” भनी प्रतिपादन भएको सिद्धान्त प्रस्तुत मुद्दामा आकर्षित हुने देखिन्छ ।
३१. मृतक शिवा हास्मी र बाबु खाँबिच गहिरो प्रेम सम्बन्ध रहेको भन्ने देखिन्छ । निजहरूको बिच मोबाइलमा कुराकानी हुने गरेको र मोबाइलमार्फत सन्देशहरू आदानप्रदान हुने गरेको पनि
देखिन्छ । मृतकले बाबु खाँसँग विवाह गर्ने इच्छा गरेको भन्ने कुरा प्रतिवादी हसिना हास्मीले अदालतसमक्ष गरेको बयानमा (स.ज.२४) लेखिएको बेहोराबाट पनि खुल्न आउँछ । मृतकको घरपरिवारका सदस्यहरूलाई मृतक र बाबु खाँबिचको प्रेम सम्बन्ध स्वीकार्य नभएको भन्ने समग्र घटनाको विश्लेषणबाट देखिएको छ । सुभान अहमद हास्मीले मौकामा घटना विवरण कागज गर्दा प्रेम सम्बन्ध रहेको भनेपछि मलाई रिस उठी बाबु खाँलाई मैले र दाइ तनवीरले मिति २०६९।८।२० गते हाम्रो घरमा ल्याई २/३ थप्पड लगाएको हो भनी बेहोरा लेखाएको देखिन्छ । सोही क्रममा मिति २०६९।८।२१ गते प्रतिवादी रिजवान अहमद हास्मीले मेरो बहिनीलाई बाबु खाँले अपशब्द प्रयोग गरी व्यवहार गरेकाले कारबाही गरिपाउँ भनी प्रहरी कार्यालयमा दरखास्त दिएको र सोही दिन जिल्ला प्रहरी कार्यालयमा बाबु खाँले शिवा हास्मीलाई आँखा नलगाउने एवं कुनै नराम्रो दृष्टिकोणले नहेर्ने, बाबु खाँलाई अपशब्द गालीगलौज नगर्ने, बाबु खाँको मोबाइलमा शिवा हास्मीले पठाएका एस.एम.एस. हरू हटाई दिने भनी मौखिक सहमति भएको देखिन्छ । सो कुराको पुष्टि तनवीर अहमद हास्मीले अदालतमा गरेको बकपत्र बेहोराबाट समर्थित भएको देखिन्छ । यसबाट घरपरिवारले बाबु खाँलाई मृतक शिवा हास्मीबाट छुटाउन खोजेको देखिन्छ । शिवा हास्मी मृत्यु नहुँदै बाबु खाँउपर ज्यान मार्ने उद्योगअन्तर्गत कारबाही गरिपाउँ भनी जाहेरी दिने पछि प्रतिवादी कायम हुन आएका रिजवान अहमद अन्सारी आफ्नो जाहेरीलाई पुष्टि गर्नेतर्फ नलागी निजहरूसमेत उपर आरिफ अहमद राइनको किटानी जाहेरी परेपछि फरार रही घटना भएको लामो समयपछि मिति २०७०।२।१६ मा मात्र प्रतिवादी रिजवान अहमद अन्सारी अदालतमा हाजिर हुन आएको देखिन्छ । अदालतसमक्ष उपस्थित भई कसुरमा इन्कार रही बयान गरे तापनि आफ्नो बहिनीले बाबु खाँले रातो जगमा ल्याएको पेट्रोल मेरो शरीरमा हाली सलाई कोरी आगो लगाई दिएको भनेकी हुन् भनी बेहोरा लेखाउने यी प्रतिवादीले सो कुरालाई पुष्टि गर्नेतर्फ लागी अनुसन्धानको कार्यमा समेत सहयोग गर्नुपर्नेमा उल्टै फरार रहेको देखिन्छ ।
३२. अनुसन्धानका क्रममा र अदालतबाट बुझ्ने क्रममा मौकामा घटना विवरण कागज गर्ने लक्ष्मी थापाले मृतक शिवा हास्मी शरीरमा आगो बलिरहेको अवस्थामा बाहिर निस्कँदा कराउँदै निस्किएकी थिइन् भनेकी छन् । त्यसैगरी शिखा मण्डलले मृतक कोठाबाट ग्यालरी हुँदै शरीरभरी आगोको लप्का हुँदै कराउँदै बाहिर निस्किएकी हुन् भनेको देखिन्छ । निजले अदालतमा बकपत्र गर्दा केटीले म सुतेकै बेलामा आगो लाग्यो, कसले लगाएभन्दा सुतिरहेको अवस्थामा मट्टितेल छर्की आगो लगाए भनिन्, कसैको नाम लिएनन् भनेकी छन् । निजले सोही बकपत्रमा (स.ज.६) मृतक शिवा हास्मीको शरीरमा आगो घरभित्रै बिच कोठामा लागि कोठाबाट बाहिर ग्यालरी हुँदै आाएको मैले देखेकी हुँ भनेकी छन् । मौकाको घटना विवरण कागजमा जुमा अन्सारीले बिच कोठाबाट शरीरमा आगो बली घरको पछाडिपट्टिको भागमा गएको मैले देखेकी हुँ भनेकी छन् भने निजले अदालतसमक्ष बकपत्र गर्दा (स.ज.४५) शिवा हास्मीलाई आफ्नो घरको बिच कोठाबाट आगोले जल्दै गरेको अवस्थामा बाहिर भएर बरन्डाबाट पछाडितर्फ जाँदै गरेको देखेकी हुँ भनेको पाइन्छ । सोही बकपत्रमा (स.ज.११) शिवा हास्मी आफ्नो घरभित्रबाट शरीरमा आगो बलेको अवस्थामा कोठाबाट आँगनतर्फ भाग्दै गरेको अवस्थामा देखेँ, निजले आमा आमा मलाई के भयो भन्दै चिच्याउँदै आँगनतर्फ भागिन् भनेको देखिन्छ । मौकामा कागज गर्ने हरिसुन शेषले म पिसाब फेर्न निस्किएको अवस्थामा जाहेरवाला रिजवान अहमद हास्मीको आमाले सिद्धु जलादिया भन्दै दुई पटक कराएको मैले सुनेकी हुँ भन्ने बेहोरा लेखाएको देखिन्छ । जाहेरवाला आरीफ अहमद राइनले यिनै प्रतिवादीहरू सिद्धु भन्ने रिहान अहमद हास्मी तथा रिजवान अहमद हास्मी र हसिना हास्मी कसुरदार रहेभएको भनी अदालतमा उपस्थित भई बकपत्रको बेहोरा लेखाई दिएको देखिन्छ ।
३३. यसरी मौकामा बुझिएका मानिसहरूले गरिदिएका घटना विवरण कागजमा उल्लिखित बेहोराहरू, अनुसन्धानका क्रममा र अदालतसमक्ष व्यक्त गरेका बयान बेहोराहरू र अदालतबाट बुझिएका साक्षी प्रमाणमा उल्लिखित बेहोराहरूसमेतका आधारमा हेर्दा जाहेरवाला आरीफ अहमद राइनले दिएको जाहेरी दरखास्त र निजले आफ्नो जाहेरीलाई पुष्टि हुने गरी अदालतसमक्ष उपस्थित भई गरेको बकपत्रको बेहोरा परिस्थितिजन्य प्रमाणहरूबाट पुष्टि भइरहेको आधारसमेतबाट मृतक शिवा हास्मीको मृत्यु यी प्रतिवादीहरूको कर्तव्यबाटै भएको पुष्टि हुन आएको देखियो ।
३४. अत: माथि विवेचित आधार, कारण र प्रमाणहरूबाट प्रतिवादी रिजवान अहमद हास्मी र प्रतिवादी सिद्धु भन्ने रिहान अहमद हास्मीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जनही जन्मकैद हुने र प्रतिवादी हसिना हास्मीलाई ऐ.को १७(३) नं. बमोजिम २ (दुई) वर्ष कैद सजाय हुने तथा प्रतिवादी बाबु खाँ भन्ने रइस खाँलाई अभियोग दाबीबाट सफाइ दिने ठहर्याई सुरू बर्दिया जिल्ला अदालतबाट मिति २०७१।५।१५ मा भएको फैसला सदर हुने ठहर्याई उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट मिति २०७३।१०।२४ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकार र प्रतिवादी दुवै पक्षको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको प्रतिलिपिसहितको जानकारी थुनुवा प्रतिवादीलाई दिनू । फैसलाको प्रतिलिपिसहितको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू । प्रस्तुत फैसला अपलोड गर्नु र प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.कुमार रेग्मी
इजलास अधिकृत: गोपी विश्वकर्मा
इति संवत् २०७६ साल वैशाख २२ गते रोज १ शुभम् ।