निर्णय नं. १०३८६ - टप घर भत्काई खिचोला छोडाई बाटो कायम चलन

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
फैसला मिति : २०७५।३।१२
मुद्दाः- टप घर भत्काई खिचोला छोडाई बाटो कायम चलन
०७३-CI-०१८७
पुनरावेदक / प्रतिवादी : पन्नालाल साहको छोरा बारा जिल्ला छातापिप्रा गा.वि.स. वडा नं. २ हाल परिवर्तित बारा जिल्ला गढीमाई नगरपालिका वडा नं. ७ बस्ने जगतप्रसाद साह
विरूद्ध
प्रत्यर्थी / वादी : बारा जिल्ला छातापिप्रा गा.वि.स.वडा नं.९ हाल परिवर्तित बारा जिल्ला गढीमाई नगरपालिका वडा नं.१० बस्ने जानकीदेवी धनुकाइन
०७३-CI-१०७५
पुनरावेदक / प्रतिवादी : अनिसुर रहमान अंसारीको श्रीमती जिल्ला बारा गा.वि.स. भवानीपुर जितपुर वडा नं. ३ परिवर्तित ऐ. गढीमाई नगरपालिका वडा नं. ७ बस्ने नइमुन नेसा
विरूद्ध
प्रत्यर्थी / वादी : जिल्ला बारा गा.वि.स. छातापिप्रा वडा नं. ९ बस्ने जानकीदेवी धनुकाइनसमेत
दाताले बाटो निकास रहेको भनी लिखतमा उल्लेख गरेको बेहोरालाई पछि जग्गा खरिद गर्ने दातालाई पनि सो तथ्य बन्धनकारी हुने र बाटो निकासलाई अवरोध गर्न नमिल्ने ।
(प्रकरण नं.३)
वादीका तर्फबाट :
प्रतिवादीका तर्फबाट : विद्बान् वरिष्ठ अधिवक्ता श्री दीपक राजभण्डारी, विद्बान् अधिवक्ता श्री पुण्यप्रसाद दंगाल
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने:-
मा.न्या.श्री तेजेन्द्रप्रसाद शर्मा सापकोटा
बारा जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने:-
माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल
माननीय न्यायाधीश श्री रेवन्तबहादुर कुँवर
पुनरावेदन अदालत हेटौंडा
फैसला
न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र रही निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छ :
म जानकीदेवी धनुकाइनको नामदर्ताको जिल्ला बारा, गा.वि.स. जीतपुर भवानीपुर, वडा नं. ९, कि.नं. ३७१७, को ज.वि. ०-०-५१/२ जग्गा र म मसौदादेवी धनुकाइनको ऐ., कि.नं. ३७१६ को ज.वि. ०-०-६१/२ जग्गाको पूर्वमा टाँसिएको १० फिट चौडाइको बाटो हाम्रो जग्गाको दक्षिणतर्फ रहेको कि.नं. २०७८ को जग्गासम्म रहेको छ । हाम्रो कि.नं. ३७१६ र कि.नं. ३७१७ को पूर्वबाटो सोदेखि पूर्व नइमुन नेसाको कि.नं. १७५४ को जग्गा छ । कि.नं. ३६१० को जग्गा महमद याकुबले बाटो बनाई आफ्नो नाउँमा बचाई राखेका थिए र हामीले निजलाई आफ्नो नामको लगत कट्टा गरी चलिआएको सो बाटोलाई कायम गराउनु होस् भनी भन्दै आएकोमा विपक्षीले आलटाल गर्दै आएका थिए, र मिति २०६७।०९।१५ मा मजदुर लगाई बाटो जग्गामा नइमुन नेसाले पक्की घर बनाउन जग खन्न सुरू गर्दा विवाद बढेपछि यो जग्गा मैले खरिद गरेकी छु, घर बनाउँछु भनेकीले जग्गासँग सम्बन्धित रहेका कित्ताहरूको लिखतहरूको नक्कल लिई हेर्दा महमद याकुबले कि.नं. ३६१० को जग्गा मालपोत कार्यालय, बाराको र.नं. ११४९२, मिति २०६०।०२।३० मा नइमुन नेसालाई हस्तान्तरणण गरेको र नइमुन नेसाले र.नं. १२४६ , मिति २०६३।०७।०१ मा पारित गरेको लिखतबाट ज.वि. ०-०-१८-८ जग्गा महमद याकुबको नाउँमा गई कित्ता काट हुँदा कि.नं. ३६१० तीन कित्तामा विभाजित भई कि.नं. ४४९५ महमद याकुबको नाउँमा गएको, कि.नं. ४४९६ र कि.नं.४४९७ को जग्गा विपक्षी नइमुन नेसाकै नाउँमा कायम रही कि.नं. ४४९७ को बाटो जग्गामा विपक्षी नइमुन नेसाले पक्की घर बनाई निकास बाटो बन्द गर्नुभएकोले यो फिराद लिई आएका छौं । महमद याकुबले आफ्नो नाममा कि.का. गराई लिएको कि.नं. ४४९५ को ज.वि. ०-०-१८-८ जग्गा मालपोत कार्यालय, बाराको र.नं. ४२६९/२ बाट मिति २०६४।२।२७ को राजीनामा लिखतले शारदाकुमारी धनुकाइनलाई हस्तान्तरण गरेको र शारदाकुमारी धनुकाइनले सो कि.नं. ४४९५ को बाटो जग्गालाई मालपोत कार्यालय, बाराको र.नं. २५१९ बाट मिति २०६७।९।९ को लिखतले जगतप्रसाद साहलाई हस्तान्तरण गरेकी
रहिछन् । विपक्षी नइमुन नेसाले कि.नं. ४४९७ को बाटो जग्गामा मिति २०६७।११।२५ सम्ममा टप निकाली पक्की घर निर्माण गरी हाम्रो १० फिट चौडाइको बाटो निकास मारी बाटो साँगुरो पारी निकास बन्द गरिदिएकी र कि.नं. ४४९५ खरिद गरेका विपक्षी जगतप्रसाद साहले आफ्नो जग्गामा केही निर्माण नगरे तापनि बाटोको जग्गा विपक्षीको नाउँमा दर्ता भएकोले निजले निकास बन्द हुने गरी टन्टा झमेला गर्दैछन् । अतः बाटो जग्गालाई कि.का. गराई कि.नं. ४४९५, ४४९६ र ४४९७ कायम गराई कि.नं. ४४९७ को ज.वि. ०-०-२-१४ जग्गा च्यापी विपक्षी नइमुन नेसाले पक्की घर बनाई लिएकी र कि.नं. ४४९५ को ज.वि. ०-०-१८-८ जग्गा विपक्षी जगतप्रसाद साहले आफ्नो नाउँमा दर्ता गराई निकास बाटो मार्नलाई टन्टा झमेला गर्नु भएकोबाट र कि.नं. ४४९७ को कित्ता जग्गाको घर टप भत्काउनु पर्ने भएको हुँदा कि.नं. ४४९५, ४४९६ र ४४९७ समेतको बाटो जग्गाको खिचोला छोडाई टप घर भत्काई बाटो कायम गरी सबैले बाटो उपभोग गर्न पाउने गरी चलन चलाई पाउँ भन्नेसमेत बेहोराको वादीहरू जानकीदेवी धनुकाइन र मसौदादेवी धनुकाइनको संयुक्त फिरादपत्र ।
प्रतिवादी नइमुन नेसाका नाममा सुरू अदालतबाट जारी भएको फिराद नक्कलसहितको ३० दिने इतलायनामा म्याद मिति २०६८।३।३० मा तामेल भएकोमा सुरू म्यादै गुजारी बसेको ।
वादीको फिराद दाबीबमोजिम मैले दाबीको १० फिट बाटोमा टन्टा खिचोला लगाई कब्जा भोग चलनसमेत केही गरेको छैन । महमद याकुब हुसेन ठकुराईको नाउँमा दर्ता भएको जिल्ला बारा, गा.वि.स. भवानीपुर जितपुर, वडा नं. ३ को कि.नं. ३६१० को ज.वि. ०-१-२-६ जग्गामा पश्चिमतर्फ विवादित कि.नं. २०७८ सम्म १० फिटको बाटो भई सो बाटोसमेतको कि.नं. ३६१० को जग्गा महमद याकुब हुसेन ठकुराइले प्रतिवादी नइमुन नेसालाई रजिस्ट्रेसन पास गरिदिएकोले सो जग्गा नइमुन नेसाको दर्ता भई सो जग्गामध्ये ज.वि. ०-०-१८-८ प्रतिवादी नइमुन नेसाले महमद याकुब हुसेन ठकुराइलाई राजीनामा लेखी रजिस्ट्रेसन पास गरिदिँदा सो कि.नं. ३६१० को ०-१-२-६ जग्गा कि.का. भई कायमी कि.नं. ४४९५, ४४९६, ४४९७ को जग्गामध्ये सो लिखतको आधारमा कि.नं. ४४९५ को ०-०-१८-८ जग्गा महमद याकुब हुसेन ठकुराइको नाउँमा दर्ता भई सो कि.नं. ४४९५ र प्रतिवादी नइमुन नेसाको नाउँमा दर्ता भएको कि.नं. ४४९७ को जग्गामा विवादित १० फिटको बाटो भई सो बाटोको जग्गा छुट्याई अलग कि.नं. कायम नभए पनि सोही जाग्गाहरूका विवादित १० फिटको बाटो भई वादीहरूलगायतका त्यहाँ बसेका मानिसहरूले आवत-जावत गरी बाटो उपभोग गरी आएकोमा महमद याकुब हुसेन ठकुराईले उक्त कि.नं. ४४९५ को ज.वि. ०-०-१८-८ जग्गा शारदा कुमारी धनुकाइनलाई राजीनामा लेखी मालपोत कार्यालय, बाराबाट र.नं. ४२६९ बाट मिति २०६४।२।२७ मा रजिस्ट्रेसन पास गरिदिएकोमा सो लिखतको आधारमा उक्त कि.नं. ४४९५ को जग्गा शारदाकुमारी धनुकाइनको नाउँमा दर्ता हुन आई शारदाकुमारी धनुकाइनले सो कि.नं. ४४९५ को ज.वि. ०-०-१८-८ जग्गा म प्रतिवादी जगतप्रसाद साहलाई बिक्री गरी राजीनामा लेखी र.नं. २५१९/२ बाट मिति २०६७।९।९ मा मालपोत कार्यालय, बाराबाट रजिस्ट्रेसन पास गरी दिई मैले जग्गा खरिद गरी आफ्नो नाममा दर्ता गराई लिए पनि उक्त कि.नं. ४४९५ र कि.नं. ४४९७ मा विवादित १० फिटको बाटो भई सो बाटो कायम नै रही सो बाटोबाट वादीहरूको आवत जावत, रोख निस्कार भइरहेकोमा यता आएर प्रतिवादी नइमुन नेसाले सो बाटो च्यापी पक्की घर निर्माण गरी टप हाली बाटो मिचेकोमा वादीहरूले नइमुन नेसाको नाउँमा मात्र प्रस्तुत फिराद दिनुपर्नेमा म प्रतिवादी जगतप्रसाद साहले बाटोमा टन्टा खिचोला गरे भन्ने कुरा वादीहरूसमेतले देखाउन नसकेबाट मैले १० फिटको विवादित बाटोमा टन्टा खिचोला गरे भन्ने वादी लेख झुठ्ठा जालफरेवी मात्र
हो । विवादित जग्गामा अर्थात् मेरो कि.नं. ४४९५ मा भोग भइराखेको जग्गादेखि पश्चिम र वादीहरूको जग्गादेखि पूर्व साबिकदेखि १० फिटको रोख निस्कारको बाटो कायम भई सो १० फिटको बाटोमा मैले टन्टा खिचोला गर्ने आवश्यक नभई कायम सो बाटोबाट पनि मेरो आवत जावत भइराखेको हुँदा मैले बाटोमा टन्टा खिचोला गरेको नहुँदा वादी दाबी झुट्ठा हो भन्नेसमेत बेहोराको प्रतिवादी जगतप्रसाद साहको प्रतिउत्तरपत्र ।
फिराद लेखमा भुलवश लेखिन गएको वडा नं. संशोधन गरिपाउँ भनी वादीका वारेसले दिएको नि.द.नं. १४६८ मिति २०६८।६।२९ को निवेदन इजलाससमक्ष पेस हुँदा, “फिरादमा उल्लिखित वादी दाबीको कि.नं.३७१७ र कि.नं.३७१६ का जग्गाहरू जिल्ला बारा, गा.वि.स. भवानीपुर जीतपुर, वडा नं.३ को रहे भएको यसै लगाउको दे.नं. १५९३ को लिखत बदर मुद्दामा संलग्न जग्गाधनी दर्ता प्रमाण पुर्जा, राजीनामा लिखतका प्रतिलिपिसमेतबाट देखिनुका अतिरिक्त लगाउका दे.नं. १५९३, १५९५ र १५९६ को मुद्दाहरूको फिरादपत्रमा सोहीअनुरूप दाबीका कित्ताहरू जिल्ला बारा, गा.वि.स. भवानीपुर जीतपुर, वडा नं. ३ भन्ने देखिएबाट वादीको प्रस्तुत फिरादपत्रको प्रकरण २ मा कि.नं. ३७१७ र ३७१६ का जग्गाहरू जिल्ला बारा, गा.वि.स. भवानीपुर जीतपुर, वडा नं. ९ को साटो वास्तविक वडा नं. ३ कायम गरिपाउँ भन्ने निवेदन माग दाबी बेमनासिब देखिएन । अतः प्रस्तुत मुद्दाको फिरादपत्रको प्रकरण २ को पहिलो हरफमा उल्लिखित “वडा नं.९” को सट्टा “वडा नं.३” जिल्ला अदालत नियमावली, २०५२ को नियम १७ अनुसार कायम गरिदिएको छ । यो आदेशको जानकारी विपक्षीसमेतलाई दिनु” भन्ने सुरू बारा जिल्ला अदालतको मिति २०६८।७।४ को आदेश ।
सुरू अदालतको आदेशानुसार मिति २०६९।५।१८ मा डोरबाट भई आएको नाप नक्सा मुचुल्का ।
प्रतिवादी नइमुन नेसाको वारेस देवीलाल गुप्ताले बेरीतको म्याद तामेल सम्बन्धमा दिनु भएको नि.द.नं.४७८३ मिति २०६९।१०।१४ मा दिनु भएको निवेदन पत्रमा, “यसमा यो निवेदनसहितको मिसिल अध्ययन गरी हेरियो । यी निवेदिकाउपर प्रस्तुत मुद्दाका वादीले नै दे.नं.१५९३, दे.नं.१५९६ को लिखत बदर मुद्दासमेत दायर गरेको देखियो । प्रस्तुत मुद्दा र उक्त मुद्दासमेतमा यी निवेदिकाको नाममा यस अदालतबाट म्याद जारी भई मिति २०६८।३।३० मा तामेल भएको म्याद बेरितको भएकाले बदर गरिपाउँ भनी दे.नं.१५९६ को लिखत बदर मुद्दामा यी निवेदिकाले मिति २०६९।६।३ मा दिएको निवेदनअनुसार म्याद बदर भई प्रतिवाद गरेको अवस्था छ भने अर्को दे.नं.१५९३ को लिखत बदर मुद्दामा पनि सोही मितिको म्याद बदर गरिपाउँ भनी मिति २०६९।८।८ मा निवेदन गरेकोमा सोमा समेत म्याद बदर भई प्रतिवाद गरेको
देखिन्छ । एउटै मितिमा तामेल भएको म्यादलाई बेरितको भो भनी यी निवेदिका दुई दुई महिनाको अन्तरालमा यो तेस्रो पटक निवेदन लिई उपस्थित भएको पाइन्छ । लगाउको मुद्दामा एकै पटक म्याद जारी भई एकै मितिमा तामेल भएको म्यादलाई पटक पटक बेरितको भनी मुद्दामा प्रमाण बुझ्ने कार्य पुराई अंग पुगिसकेको मुद्दामा निवेदन ल्याइ मुद्दा लम्ब्याउन खोजेको देखिन्छ । यसरी अदालतमा आफूउपर मुद्दा पारेको कुरा थाहा पाई निवेदन दिई म्याद बदर गराई प्रतिवाद गरी तारेखमा बसेपछि लगाउको मुद्दासमेत आफूउपर परेको कुरा एकै पटक निवेदिकालाई थाहा जानकारी भएन होला भनी विश्वास गर्ने मनासिब आधार पनि निवेदिकाले निवेदनमा खुलाउन सकेको नपाइँदा निवेदन मागबमोजिम गर्न मिलेन, कानूनबमोजिम गर्नु” भन्ने सुरू बारा जिल्ला अदालतको मिति २०६९।१०।१५ को आदेश ।
प्रतिवादी नइमुन नेसाको वारेस रामप्रकाश पण्डितले बारा जिल्ला अदालतको बेरितको आदेश सम्बन्धमा पुनरावेदन अदालतमा चढाएको निवेदनउपर आदेश भई आदेशानुसार कैफियत प्रतिवेदन भई जाँदा, “यसमा आदर्श गा.वि.स. कार्यालयको सिफारिस र मतदाता परिचय पत्रसमेतबाट निवेदक प्रतिवादीको वतन बारा, भवानीपुर जीतपुर गा.वि.स. भन्ने देखिएकोमा जारी भएको इतलायनामाको म्यादमा पर्सा बेलुवा भन्ने वतन उल्लेख भई टाँस भएको भनी भन्न मिल्ने नदेखिँदा मिति २०६९।१०।१५ मा त्यहाँबाट भएको आदेश बेरितको देखिन आएकोले बदर गरिदिएको छ । अब निवेदक प्रतिवादी नइमुन नेसाको नाममा निजले देखाएको वतनमा इतलायनामा जारी गरी अ.बं. ११० नं. बमोजिम रीत पुर्याई तामेल गराउनु होला” भन्ने पुनरावेदन अदालत हेटौंडाबाट भएको मिति २०६९।११।१७ को आदेश ।
जिल्ला बारा, गा.वि.स. जीतपुर भवानीपुर, वडा नं. ९ मा वादीहरूको कि.नं. ३७१७, ३७१६ र सोही वडा नं. ९ मा मेरो नाउँमा कित्ता नं. १७५४, ४४९६ र ४४९७ समेत दर्ता भएको दर्साई अदालतमा प्रस्तुत फिराद दर्ता गराउनु भएको छ । जिल्ला बारा, गा.वि.स. जीतपुर भवानीपुर, वडा नं. ९ मा फिरादमा उल्लिखित कित्ताका जग्गा नै छैनन् । वादीबाट हुँदै नभएको जग्गाको दाबी गरिएको हुँदा फिरादको तथ्यभित्र प्रवेश गर्ने अवस्था छैन । मिति २०६७।९।१३ मा मैले घर बनाउँदा विपक्षीसँग विवाद हुँदा सो जग्गा खरिद गरेकोले घर बनाएको भनी फिरादको प्रकरण ३ मा उल्लेख गर्नुभएको रहेछ । विपक्षीले उल्लेख गरेको जिल्ला बारा, गा.वि.स. जीतपुर भवानीपुर, वडा नं. ९ मा जग्गा नै नभएकोले विपक्षीले काल्पनिक संवाद रचना गरी निराधार तथ्य दर्साई झुठ्ठा फिराद दिनु भएको प्रस्ट छ भन्नेसमेत बेहोराको प्रतिवादी नइमुन नेसाको प्रतिउत्तरपत्र ।
यसमा वादीले फिरादमा गा.वि.स. जीतपुर भवानीपुर, वडा नं. ९ को सट्टा वास्तविक वडा नं. ३ कायम हुने गरी संशोधन गरिपाउँ भनी निवेदन दिएबमोजिम यस अदालतबाट मिति २०६८।८।४ मा संशोधनको आदेश भएको र सो संशोधन आदेशमा संशोधनको जानकारी दिइएको देखिएन । प्रतिवादी नइमुन नेसाको प्रतिउत्तरको मूल बेहोरामा वडा नं. ९ मा उक्त विवाद उठाइएका जग्गाहरू नै नभएको हुँदा दाबी इन्साफ योग्य छैन भन्ने जिकिर रहेको
छ । सो सम्बन्धमा प्रतिवादी नइमुन नेसाको प्रतिक्रिया लिई थप भनाइ राख्ने भए मनासिब समयसमेत दिई पेस गर्नुहोला । साथै नापी कार्यालय बाराबाट प्राप्त नाप साइजसहितको टायल चेक गरी पठाइएको च.नं.११३९ मिति २०७०।१२।५ को पत्र बेहोरामा यस कार्यालयमा रहेको पुरानो फायल नक्सामा बाटो केही फरक देखिएकाले सो नक्साअनुसार पनि माथि उल्लिखित कित्ताहरूको टायल चेक गरी पठाइएको भन्ने बेहोरासहित दुइवटा पृथक-पृथक क्षेत्रफल उल्लेख भएका जस्तै कि.नं. ४४९५, ४४९६ टायल चेक पठाइएकोमा कुन चाहीँलाई आधार मानी निर्णय ठहरमा पुग्नु पर्ने हो पुरानो मुद्दा हुँदा १ हप्ताभित्रमा जवाफ आइपुग्ने गरी मगाई नियमानुसार पेस गर्नुहोला भन्ने सुरू बारा जिल्ला अदालतको मिति २०७०।१२।२६ को आदेश ।
जिल्ला बारा, गा.वि.स. जीतपुर भवानीपुर, वडा नं. ३ को कि.नं. ४४९७ को ०-०-२-१४ जग्गाको मेरो घरको टप भत्काई पाउँ भनी प्रस्तुत फिराद दायर गरिएको रहेछ । विपक्षीले जग्गा आवाद गर्नेको ४ नं., जग्गा मिच्नेको १, १४, १८ नं., घर बनाउनेको ३ नं. आधारमा लिखत दर्ता बदरको दाबी गर्नु भएको छ । मालपोत ऐन, २०३४ को दफा ६ बमोजिम मालपोत कार्यालय बारामा विधिवत् मेरो नाउँमा दर्ता स्रेस्ता भएको सो जग्गाको घरको टप भत्काई पाउँ भनी फिराद दिन पाउने प्रावधान वादीले दाबी गरेको उक्त कुनै पनि दफामा उल्लेख नहुँदा सर्वोच्च अदालतबाट (ने.का.प. २०४४, अङ्क ४, नि नं.३०६३) प्रतिपादित सिद्धान्तसमेतको आधारमा विपक्षीको फिराद दाबी खारेजभागी छ भन्नेसमेत बेहोराको प्रतिवादी नइमुन नेसाको पूरक प्रतिवाद ।
यसमा मिसिल संलग्न कागज प्रमाणको आधारमा वादी दाबीको बाटो सार्वजनिक ठहर हुन आएबाट अदालतबाट भई आएको नक्सा मुचुल्काको न.नं. ७, ८, ९, १०, ११ र १२ सम्मका हकमा प्रतिवादी नइमुन नेसाले दूषित तवरबाट कब्जा गरेर भौतिक संरचना निर्माण गरेको देखिँदा सोमा बनेका भौतिक संरचनालगायतको कब्जा अनाधिकार र दूषित हुन आयो । निज प्रतिवादी नइमुन नेसाको कि.नं. १७५४ न.नं. २, ३, ४, ५ र ६ समेतको क्षेत्रफल स्रेस्तामा भएको क्षेत्रफलभन्दा ०-०-९१/२ बढी नै भोगमा रहेको समेत देखिन आएको छ । त्यसैगरी कि.नं. ४४९५ लाई न.नं. १९ मा झगडा जनिई आएकोले सो झगडा जनिएको कि.नं. ४४९५ साबिक कि.नं. ३६१० को भई सोही कारणले लिखतसमेत बदर हुने ठहरेकाले त्यस्तो लिखत बदर भइरहेको जग्गामा झगडा जनिई प्रतिवादी जगतप्रसाद साहको भोगमा रहेको पाइन्छ । अतः दाबीबमोजिम साबिक कि.नं. ३६१० यथावत् कायम रहने भएबाट सोही कि.नं. ३६१० बाट कित्ताकाट भई हाल कायम हुन आएको कि.नं. ४४९७ को जग्गा सार्वजनिक बाटोमा पर्ने हुँदा सो बाटोमा परेका सबै संरचनासमेत भत्काई कि.नं.३६१० कि.का. भई कायमी कि.नं. ४४९५, ४४९६ र ४४९७ को जग्गाबाट प्रतिवादीहरूको खिचोला छोडाई सार्वजनिक बाटोको रूपमा उपभोग गर्न पाउने गरी चलनसमेत पाउने ठहर्छ भन्नेसमेत बेहोराको सुरू बारा जिल्ला अदालतबाट मिति २०७१।०१।२८ मा भएको फैसला ।
वादीहरूले आफ्ना फिरादपत्रमा हाम्रो कि.नं. ३७१६ तथा ३७१७ को पूर्वमा १० फिट चौडाइको बाटो भएको सो बाटोको जग्गा प्रतिवादीहरूले कब्जा गरी घर टप बनाएका भन्ने दाबी लिइएको
देखिन्छ । अर्थात् वादीहरूले १० फिट चौडाइको बाटो आवत जावत निक्सार पैसारका लागि माग दाबी गरेकाले सोही दाबीमा सीमित रही फैसला गर्नुपर्नेमा अदालतबाट भई आएको नक्साअनुसार नक्सामा बाटो भनी देखाइएको ९.९” सोको पूर्वमा भएको मेरो कि.नं. ४४९५ को उत्तरतर्फको चौडाइ २४.६ फिट दुवैलाई जोड्ने हो भने ३५ फिट हुन्छ । वादीहरूको माग दाबी १० फिट छ । अतः मेरो कि.नं. ४४९५ को जग्गामा नपुग बाटोको जग्गा ६ इन्च मात्र भएकोले सोही ६ इन्चसम्मको जग्गामा खिचोला मान्नु पर्नेमा कि.नं. ४४९५ को जग्गालाई नै बाटो मानी खिचोला ठहर गरिएको फैसला त्रुटिपूर्ण हुँदा सुरू जिल्ला अदालतको मिति २०७१।१।२८ को दूषित फैसलालाई बदर गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी जगतप्रसाद साहको तर्फबाट पुनरावेदन अदालत हेटौंडामा परेको पुनरावेदनपत्र ।
विपक्षीको दाताको मूल कित्ता नं. १६७२ कित्ताकाट भई विपक्षीहरूले ३७१६ र ३७१७ प्राप्त गरी दाताको नाउँमा बाँकी रहेको कित्ता नं. ३७१८ को जग्गाको नक्सामा भएको बाटोलाई निजले स्वीकारी कुनै उजुर गरेको छैनन् । कि.नं. ३७१६, ३७१७ को कुनै निकास बाटो नभई कि.नं. ३६१० मा १० फिटको बाटो भएको भन्ने फिराद झुठ्ठा हो । विपक्षीको जग्गाको प्रत्येक कित्ताको ४ फिटको बाटो देखाई नापी शाखाको नक्सामा रेखाङ्कन गरिएको स्पष्ट देख्नुको साथै अदालतबाट भई आएको नक्सामा समेत विपक्षीहरूले सबै कित्ताको पूर्व बाटो भएको नक्सामा देखिँदादेखिँदै विपक्षीहरूको निकास बाटो नभएको आधारमा मेरो हकभोग दर्ताको जग्गामा खिचोला ठहर्याई गरिएको फैसला त्रुटिपूर्ण हुँदा सुरू जिल्ला अदालतबाट मिति २०७१।१।२८ मा भएको फैसला उल्टी गरी विपक्षीको झुठ्ठा फिराद दाबीबाट मुक्त गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी नइमुन नेसाको तर्फबाट पुनरावेदन अदालत हेटौंडामा परेको पुनरावेदनपत्र ।
यसमा यसै लगाउको ०७१-DP-०१०१९ को बाटो जग्गाको लिखत बदर दर्ता बदर मुद्दामा आज यसै इजलासबाट प्रत्यर्थी झिकाउने आदेश भएकोले प्रस्तुत मुद्दा उल्लिखित मुद्दासँग अन्तरप्रभावी हुँदा यसमा पनि मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम, ४७ बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नुहोला भन्ने पुनरावेदन अदालत हेटौंडाको मिति २०७१।११।१८ को आदेश ।
न.नं. १८ मा देखाइएको ३ फिट बाटोलाई पूर्वतर्फ ७ फिट थप गरी १० फिट चौडाइको कायम गरी कि.नं. २०७८ को जग्गाको दक्षिण कुनासम्म घर टप भत्काई वादीलाई बाटो चलन चलाई दिनुपर्नेमा कि.नं. ४४९५, ४४९६ र ४४९७ का जग्गामा बनाइएको सम्पूर्ण घर भत्काई दिने ठहर गरी बारा जिल्ला अदालतबाट मिति २०७१।०१।२८ मा भएको फैसला मिलेको नदेखिँदा सो हदसम्म उल्टी भई न.नं. १८ को बाटोको पूर्वतर्फबाट उत्तर दक्षिण ७ फिटभित्र प्रतिवादीले बनाएका घर टप भत्काई बाटो कायम गरी दिने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७२।०८।२० मा भएको फैसला ।
वादीहरूको जग्गाको पूर्वतर्फ बाटो रहेको, सो पूर्वतर्फको बाटो हुँदै निजहरूको निकास उत्तरतर्फको बाटोमा जोडिने अवस्था विद्यमान हुँदा हुँदै शारदाकुमारी धनुकाइनको कि.नं.२०७८ र मेरो कि.नं.४४९५ को जग्गाको बिचबाट बाटो कायम गरी दिँदा मेरो र शारदाकुमारी धनुकाइनको कित्ताको क्षेत्रफल कम हुन गई घर बनाउन नमिल्ने भएको छ, मेरो जग्गाको बिचबाट नक्सा तथा ट्रेस नक्सामा बाटो कायम
छैन । मेरो कि.नं.४४९५ कि.नं.२०७८ को पूर्वतर्फ पर्ने जग्गा हो, बाटोको जग्गा होइन । वादीहरूको जग्गाको पूर्वतर्फ तथा शारदाकुमारी धनुकाइनको कि.नं.२०७८ को उत्तरतर्फ बाटो कायम हुने गरी भएको फैसलामा मलाई चित्त बुझेको छ, तर मेरो र.नं.२५१९।२ मिति २०६७।०९।०९ को राजीनामा लिखत बदर हुने गरी भएको फैसला त्रुटिपूर्ण छ ।
कि.नं.४४९५ म पुनरावेदकले मिति २०६७।०९।०९ मा र.नं.२५१९।२ बाट राजीनामाको लिखत पारित गरी खरिद गरेको नम्बरी जग्गा हो । नागरिक अधिकार ऐन, २०१२ को दफा ६(६) बमोजिम मैले भोग गर्न, आर्जन गर्न पाउने जग्गालाई बाटोको जग्गा भनी केही लिखत बदर गर्ने गरी फैसला भएको छ । म पुनरावेदकको साँधमा जोडिएको शारदाकुमारी धनुकाइनको नाउँको कि.नं.२०७८ र म पुनरावेदकको कि.नं.४४९५ को जग्गाको बिचबाट अन्य व्यक्तिको लागि बाटोको रूपमा प्रयोगमा नआउने र मसमेतलाई बाटोको रूपमा प्रयोग गर्न नपर्ने, वादी मस्यौदादेवी धनुकाइनको जग्गासँग नजोडिएको, निजले पनि बाटोको रूपमा प्रयोग नगरेको म पुनरावेदकले मालपोत कार्यालयबाट रजिस्ट्रेसन पारित गरी खरिद गरी लिई मेरो निर्विवाद हक अधिकार रहेको उक्त जग्गाको केही लिखत बदर गर्ने गरी भएको फैसला त्रुटिपूर्ण छ ।
कि.नं.२०७८ को उत्तरी सिमासम्म मात्रै १० फिटको बाटो कायम गर्नु पर्नेमा कि.नं.२०७८ को दक्षिण सीमासम्म बाटो कायम गर्ने गरी म पुनरावेदक र शारदा कुमारी धनुकाइनको जग्गाको समेत क्षेत्रफल घट्ने गरी पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७२।०८।२० मा भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला केही उल्टी गरी म पुनरावेदकको कि.नं.४४९५ र मुद्दामा वादी प्रतिवादी नरहेकी सँधियारा शारदा कुमारी धनुकाइनको कि.नं.२०७८ को उत्तरतर्फको साँध सीमासम्म मात्रै १० फिटको बाटोको लम्बाइ कायम हुने गरी र मेरो नाउँमा दर्ता रहेको जग्गाको क्षेत्रफल नघट्ने गरी फैसला गरी न्याय पाउँ भन्नेसमेत बेहोराको प्रतिवादीमध्येका जगतप्रसाद साहको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।
जिल्ला बारा, गा.वि.स. भवानीपुर जितपुर वडा नं. ३ कित्ता नं. ४४९६ क्षेत्रफल ०-०-१, ऐ. कित्ता नं. ४४९७ क्षेत्रफल ०-०-२-१४ का जग्गा मेरो विधिवत् हक स्वामित्व भएका जग्गा हुन् । यसरी मुलुकी ऐन, रजिस्ट्रेसनको महलको १ नं. अनुसार लिखत पारित गरी हक भोग स्थापित भएको आफ्नो जग्गामा घर बनाइएको हो ।
जग्गाको भौतिक स्थितिको स्रेस्ता रहेको मालपोत कार्यालयको जग्गा दर्ता स्रेस्ताबाट उक्त जग्गा मेरो एकलौटी हकभोग दर्ताको जग्गा भएको स्पष्ट छ । मेरो हकभोग दर्ताको जग्गामा मैले बनाएको घर हटाई पाउन उजुर दिने हकदैया विपक्षीलाई नभएको हुँदा मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको ८२ नं. ले फिराद दाबी खारेज गर्नुपर्नेमा घर हटाउनु पर्ने भनी फैसला भएको छ । कुनै निजी जग्गालाई सार्वजनिकीकरण गर्न कानूनमा निर्धारण गरिएको कानूनी विधि र प्रक्रिया पूरा गरिएपश्चात् मात्र सो जग्गामा सम्बन्धित व्यक्तिको हक समाप्त भई सार्वजनिक हुन्छ । त्यसैले विपक्षीको मौखिक कथनको आधारमा मेरो हकभोग दर्ता भएको जग्गा कानूनले तोकेको प्रक्रिया र व्यवस्था प्रतिकूल सार्वजनिक गर्न मिल्ने होइन ।
र.नं.१२४६ को लिखतमा मालपोत कार्यालय बाराले मूल्याङ्कन प्रयोजनको लागि कि.नं. ३६१० को जग्गा साबिकदेखि हालसम्म पिच रोड, रेल्वे तथा अन्य कुनै बाटोसँग जोडिएको छ छैन भनी सोधनी भएको विषयमा नक्सा हेरी कच्ची बाटोसँग जोडिएको भनी नापी शाखाले उल्लेख गरेकोलाई मेरो जग्गा निजी नभई सार्वजनिक भएको भनी गलत अर्थ गरी फैसला गरिएको छ । जबकि यही कि.नं. ३६१० मूल लिखतको पारित हुँदा र.नं. ११४९२ को लिखतमा नापी शाखाबाट कि.नं. ३६१० को जग्गा साबिकदेखि हालसम्म प्लटको बाटोसँग जोडिएको देखिन्छ भनी स्पष्टरूपले उल्लेख गरिएबाट पनि उक्त राजीनामा लिखतमा उल्लिखित तथ्यको गलत अर्थ गरिएको पुष्टि भएको छ । अदालतबाट भएको नक्साको न.नं. १८ भन्दा बाहेकको जग्गामा मेरो घर बनेकोमा सोलाई हटाउने भनी फैसला गरिएको छ ।
मूल रूपमा जिल्ला बारा, गा.वि.स. भवानीपुर जितपुर वडा नं. ३, कित्ता नं. १६७२ क्षेत्रफल ०-१-० जग्गा चन्द्रदेव राउतको नाउँमा दर्ता रहेको जग्गा हो । सोही जग्गा निज चन्द्रदेवको दाजुभाइबिच मिति २०५८/९/१० मा बन्डा हुँदा कित्ता नं.३७१६, ३७१७, ३७१८ मा विभाजन गरी नक्सा ट्रेससमेत बनाइएको छ । जसमा सो जग्गाहरूको पूर्वपट्टि ४ फिटको बाटो भएको रेखाङ्कन गरिएको छ । सोही जग्गा विपक्षीहरूले प्राप्त गरेको हुँदा उक्त नक्सा स्रेस्तामा ४ फिट बाटो भएको देखिँदादेखिँदै १० फिटको बाटो कायम गर्न मिल्ने होइन । त्यसमा पनि वादीको दाताको मूल कि.नं. १६७२ को जग्गा कित्ताकाट भई विपक्षी मस्यौदादेवीको नाउँमा कि.नं.३७१६ र विपक्षी जानकीदेवीको नाउँमा कि.नं.३७१७ को जग्गा दर्ता भई कित्ता नं.३७१८ मूल दाता चन्द्रदेव राउतको नाउँमा बाँकी रहेकोमा सो कित्ता नं. ३७१८ को जग्गा बिक्री गर्दाको लिखतमा जग्गाको ४ किल्लामा सो जग्गाको पूर्वतर्फ ४ फिट बाटो रहेको उल्लेख गरी गढीमाई नगरपालिकाबाट सो जग्गाको पूर्वतर्फ ४ फिट बाटो रहेको प्रमाणित प्रतिलिपि पेस गरी जग्गाको लिखत पारित गरिएको छ । यसरी स्वयम् विपक्षीको दाताले ४ फिट मात्र बाटो भएको भनी लिखित रूपमा स्वीकार गरेकोमा विपक्षीले इन्कार गर्न विबन्धित हुनाको साथै विपक्षीहरूको दाबी निजहरूको दाताको लिखतबाट समेत खण्डित हुन गई विपक्षीको झुठ्ठा फिराद दाबीबमोजिम लिखत बदर गरिएको फैसला त्रुटिपूर्ण छ । तसर्थ, सुरू फैसला आंशिक उल्टी गर्ने गरी पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७२।०८।२० मा भएको फैसला बदर गरी सुरू फैसलासमेत उल्टी गरी विपक्षीको झुठ्ठा फिराद दाबीबाट मुक्त गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी नइमुन नेसाको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी यस इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन-पत्रसहितको मिसिल अध्ययन गरी हेरियो । पुनरावेदक प्रतिवादी नइमुन नेसाको तर्फबाट उपस्थित विद्बान् वरिष्ठ अधिवक्ता श्री दीपक राजभण्डारीले पुनरावेदक नइमुन नेसाले मुलुकी ऐन, रजिस्ट्रेसनको महलको १ नं. अनुसार लिखत पारित गरी विधिवत् रूपमा आफ्नो हक भोग स्थापित भएको जग्गामा घर बनाएका हुन् । पुनरावेदकको एकलौटी हकभोग दर्ताको जग्गामा निजले बनाएको घर हटाई पाउन उजुर दिने हकदैया विपक्षीलाई नभएको हुँदा फिराद दाबी खारेज गर्नुपर्नेमा घर हटाउनु पर्ने भनी पुनरावेदन अदालतबाट फैसला भएको छ । र.नं. १२४६ को लिखतमा मालपोत कार्यालय बाराले मूल्याङ्कन प्रयोजनको लागि सोधनी भएको विषयमा नक्सा हेरी कच्ची बाटोसँग जोडिएको भनी नापी शाखाले उल्लेख गरेकोलाई पुनरावेदक नइमुन नेसाको जग्गा निजी नभई सार्वजनिक भएको भनी गलत अर्थ गरी फैसला गरिएको छ । अदालतबाट भएको नक्साको न.नं. १८ भन्दा बाहेकको जग्गामा पुनरावेदक नइमुन नेसाको घर बनेकोमा सोलाई हटाउने भनी फैसला गरिएको छ । मूल रूपमा चन्द्रदेव राउतको नाउँमा दर्ता रहेको कित्ता नं. १६७२ को जग्गा निजका दाजुभाइबिच बन्डा हुँदा कित्ता नं. ३७१६, ३७१७, ३७१८ मा विभाजन भएकोमा सो जग्गाहरूको पूर्वपट्टि ४ फिटको बाटो भएको रेखाङ्कन गरिएको छ । यसरी वादीको दाताको मूल कि.नं. १६७२ को जग्गा कित्ताकाट भई विपक्षी मस्यौदादेवीको नाउँमा कि.नं.३७१६ र विपक्षी जानकीदेवीको नाउँमा कि.नं.३७१७ को जग्गा दर्ता भई कित्ता नं. ३७१८ मूल दाता चन्द्रदेव राउतको नाउँमा बाँकी रहेकोमा सो कित्ता नं. ३७१८ को जग्गा बिक्री गर्दाको लिखतमा जग्गाको ४ किल्लामा सो जग्गाको पूर्वतर्फ ४ फिट बाटो रहेको उल्लेख गरी गढीमाई नगरपालिकाबाट सो जग्गाको पूर्वतर्फ ४ फिट बाटो रहेको प्रमाणित प्रतिलिपि पेस गरी जग्गाको लिखत पारित गरिएको छ । यसरी स्वयम् विपक्षीको दाताले ४ फिट मात्र बाटो भएको भनी लिखित रूपमा स्वीकार गरेकोले सुरू फैसला आंशिक उल्टी गर्ने गरी पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला तथा सुरू बारा जिल्ला अदालतबाट भएको फैसलासमेत उल्टी गरी पुनरावेदकउपर परेको झुठ्ठा फिराद दाबीबाट मुक्त गरिपाउँ भनी बहस गर्नुभयो ।
यसैगरी पुनरावेदक प्रतिवादी जगतप्रसाद साहको तर्फबाट उपस्थित विद्बान् अधिवक्ता श्री पुण्यप्रसाद दंगालले कि.नं.४४९५ पुनरावेदक जगतप्रसाद साहले मिति २०६७।०९।०९ मा र.नं.२५१९।२ बाट राजीनामाको लिखत पारित गरी खरिद गरेको नम्बरी जग्गा हो । पुनरावेदक जगतप्रसाद साहको साँधमा जोडिएको शारदाकुमारी धनुकाइनको नाउँको कि.नं.२०७८ र पुनरावेदक जगतप्रसाद साहको कि.नं.४४९५ को जग्गाको बिचबाट अन्य व्यक्तिको लागि बाटोको रूपमा प्रयोगमा नआउने पुनरावेदकले मालपोत कार्यालयबाट रजिस्ट्रेसन पारित गरी खरिद गरी लिई निजको निर्विवाद हक अधिकार रहेको उक्त जग्गाको केही लिखत बदर गर्ने गरी भएको फैसला त्रुटिपूर्ण छ । कि.नं.२०७८ को उत्तरी सीमासम्म मात्रै १० फिटको बाटो कायम गर्नु पर्नेमा कि.नं.२०७८ को दक्षिण सिमासम्म बाटो कायम गर्ने गरी पुनरावेदक जगतप्रसाद साह र शारदाकुमारी धनुकाइनको जग्गाको समेत क्षेत्रफल घट्ने गरी पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला केही उल्टी गरी पुनरावेदक जगतप्रसाद साहको कि.नं.४४९५ र मुद्दामा वादी प्रतिवादी नरहेकी पुनरावेदककी सँधियारा शारदाकुमारी धनुकाइनको कि.नं.२०७८ को उत्तरतर्फको साँध सीमासम्म मात्रै १० फिटको बाटोको लम्बाई कायम हुने गरी फैसला गरिपाउँ भनी बहस गर्नुभयो ।
हाम्रो कि.नं. ३७१६ र ३७१७ को पूर्वतर्फको १० फिट चौडाइ भएको र कि.नं. २०७८ को जग्गाको दक्षिण सिमानासम्मको लम्बाइमा रहेको बाटो भोग चलन भई आएकोमा बाटो जग्गालाई कित्ता काट गराई कि.नं. ४४९५, ४४९६ र ४४९७ को जग्गा कायम गराई कि.नं. ४४९७ को ज.वि. ०-०-२-१४ जग्गा च्यापी विपक्षी नइमुन नेसाले पक्की घर बनाई लिएकी र कि.नं. ४४९५ को ज.वि. ०-०-१८-८ जग्गा विपक्षी जगतप्रसाद साहले आफ्नो नाउँमा दर्ता गराई निकास बाटो मार्नलाई टन्टा झमेला गर्नुभएकोबाट र कि.नं. ४४९७ को कित्ता जग्गाको घर टप भत्काउनु पर्ने भएको हुँदा कि.नं. ४४९५, ४४९६ र ४४९७ समेतको बाटो जग्गाको खिचोला छोडाई टप घर भत्काई बाटो कायम गरी सबैले बाटो उपभोग गर्न पाउने गरी चलन चलाई पाउँ भन्नेसमेत बेहोराको वादीहरू जानकीदेवी धनुकाइन र मसौदादेवी धनुकाइनको संयुक्त फिराद दाबी रहेछ । दाबीबमोजिम साबिक कि.नं. ३६१० यथावत् कायम रहने भएबाट सोही कि.नं. ३६१० बाट कित्ताकाट भई हाल कायम हुन आएको कि.नं. ४४९७ को जग्गा सार्वजनिक बाटोमा पर्ने हुँदा सो बाटोमा परेका सबै संरचनासमेत भत्काई कि.नं.३६१० कि.का. भई कायमी कि.नं. ४४९५, ४४९६ र ४४९७ को जग्गाबाट प्रतिवादीहरूको खिचोला छोडाई सार्वजनिक बाटोको रूपमा उपभोग गर्न पाउने गरी चलनसमेत पाउने ठहराई सुरू बारा जिल्ला अदालतबाट फैसला भएको देखिन्छ । सुरू अदालतको सो फैसलाउपर चित्त नबुझी प्रतिवादी नइमुन नेसा तथा प्रतिवादी जगतप्रसाद साहको तर्फबाट पुनरावेदन अदालत हेटौंडामा पुनरावेदन-पत्र दायर भएको रहेछ । बारा जिल्ला अदालतबाट भएको फैसला केही उल्टी गरी न.नं. १८ को बाटोको पूर्वतर्फबाट उत्तर दक्षिण ७ फिटभित्र प्रतिवादीले बनाएका घर टप भत्काई बाटो कायम गरी दिने ठहराई पुनरावेदन अदालत हेटौंडाबाट फैसला भएको रहेछ । पुनरावेदन अदालत हेटौंडाको उक्त फैसलामा चित्त नबुझी प्रतिवादी नइमुन नेसा तथा प्रतिवादी जगतप्रसाद साहको तर्फबाट यस अदालतमा प्रस्तुत पुनरावेदन पर्न आएको रहेछ ।
अब पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको छ वा छैन, पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, मिसिल संलग्न कागज प्रमाण हेर्दा, मालपोत कार्यालय, बाराको र.नं. १२४६, मिति २०६३।७।१ मा दिने नइमुन नेसा र लिने महमद याकुव हुसेन भई कि.नं. ३६१० को ज.वि. ०-१-२-६ मध्येबाट ज.वि. ०-०-१८-८, कि.नं. ४४९५ कायम भई पुन: महमद याकुव हुसेनको नाममा राजीनामा पारित भई आएको देखियो भने कि.नं. ४४९६ र कि.नं. ४४९७ नइमुन नेसाको नाममा नै बाँकी रहेको देखिन आयो । यसरी उक्त कि.नं.४४९५, ४४९६ र ४४९७ का जग्गाहरू सोही कि.नं. ३६१० बाट कित्ताकाट भई कायम हुन आएका जग्गाहरू रहेको मिति २०६३।७।१ मा मालपोत कार्यालय, बाराको र.नं. १२४६ को लिखतबाट देखिन्छ । मालपोत कार्यालय, बाराको र.नं. १२४६ को उक्त लिखतमा, “कि.नं. ३६१० को जग्गा साबिकदेखि हालसम्म प्लटको कच्ची बाटोमा पर्छ, अरू बेहोरामा पर्दैन” भन्नेसमेतको बेहोरा नापी शाखा, बाराबाट उल्लेख भएको
देखिन्छ । यसरी कि.नं. ३६१० को जग्गामा बाटो रहेको भन्ने तथ्य मालपोत कार्यालय, बाराको र.नं. १२४६ को उक्त लिखतबाट देखिन आयो ।
३. यसरी कि.नं. ३६१० को जग्गामा बाटो रहेको देखिन आएबाट न.नं. १ बाट दक्षिणतर्फ कि.नं. २०७८ को दक्षिण कुनासम्म १० फिट चौडाइको बाटो रहेको भन्ने फिराद दाबीलाई प्रतिवादीले अन्यथा भन्न सकेको देखिँदैन । सो बाटो १० फिट चौडाइको होइन भन्ने जिकिर पनि छैन । भई आएको नक्सा मुचुल्का हेर्दा, न.नं. १८ मा ३ फिट चौडाइको बाटो देखाइएको छ । यसरी विवादित बाटो १० फिट भएकोमा विवाद नभएको र सोसँग जोडिएका उल्लिखित कि.नं.४४९५, ४४९६ र ४४९७ का जग्गाहरूमा प्रतिवादीले घरलगायतका संरचना निर्माण गर्दा न.नं. १८ मा देखाइएको बाटो छोडी बाँकी जग्गामा मात्र घर निर्माण गर्नुपर्नेमा प्रतिवादीले सो बाटो ३ फिट चौडाइ मात्र छाडेर घर निर्माण गरेको देखिन आयो । विवादित स्थानमा साबिक जग्गाका दाताले बाटो जनाई प्लटिङ गरेको भन्ने तथ्य छ । दाताले नै बाटो रहेको स्वीकार गरेको तथ्यलाई पछि जग्गा खरिद गर्ने व्यक्तिहरूले होइन भनी भन्न पनि मिल्ने होइन । प्लटिङ गरी जग्गा बिक्री गर्दा बाटो जनाई बिक्री गर्दै सो बाटोलाई नै निकास देखाइएको छ । अब सो उल्लिखित बाटो होइन, छैन भनी पछि खरिद गर्ने दाताले बाटो मिची घर निर्माण गर्दा बाटो निकास जस्तो विषयमा अरू खरिदकर्तालाई प्रत्यक्ष असर पर्न जाने हुन्छ । वस्तुत: दाताले बाटो निकास रहेको भनी लिखतमा उल्लेख गरेको बेहोरालाई पछि जग्गा खरिद गर्ने दातालाई पनि सो तथ्य बन्धनकारी हुने र बाटो निकासलाई अवरोध गर्न मिल्ने हुँदैन । त्यसैले नक्सा मुचुल्कामा देखाइएको ३ फिट बाटोलाई पूर्वतर्फ ७ फिट थप गरी १० फिट चौडाइको कायम हुनुपर्ने देखिन्छ ।
४. सुरू अदालतबाट फैसला हुँदा कि.नं.३६१० बाट कित्ताकाट भई कायम हुन आएको कि.नं.४४९७ को जग्गा सार्वजनिक बाटोमा पर्ने हुँदा सो बाटोमा परेका सबै संरचनासमेत भत्काई कि.नं.३६१० कित्ता काट भई कायमी कि.नं. ४४९५, ४४९६ र ४४९७ को जग्गाबाट प्रतिवादीहरूको खिचोला छोडाई सार्वजनिक बाटोको रूपमा उपभोग गर्न पाउने गरी चलनसमेत पाउने ठहरी फैसला भएको रहेछ । यसरी न.नं. १ बाट दक्षिणतर्फ कि.नं. २०७८ को दक्षिण कुनासम्म १० फिट चौडाइको बाटो रहेको देखिन आएको र नक्सा मुचुल्कामा न.नं. १८ मा ३ फिट चौडाइ मात्रको बाटो देखाइएकोमा सुरू फैसलालाई केही उल्टी गरी न.नं. १८ को बाटोको पूर्वतर्फबाट उत्तर दक्षिण ७ फिटभित्र प्रतिवादीले बनाएका घर टप भत्काई बाटो कायम गरी दिने ठहर्याई पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसलालाई अन्यथा भन्न मिल्ने देखिन आएन, उक्त फैसला मिलेकै देखिन आयो ।
५. अत: कि.नं.३६१० बाट कित्ताकाट भई कायम हुन आएको कि.नं.४४९७ को जग्गा सार्वजनिक बाटोमा पर्ने भई सो बाटोमा परेका सबै संरचनासमेत भत्काई कि.नं.३६१० कित्ता काट भई कायमी कि.नं. ४४९५, ४४९६ र ४४९७ को जग्गाबाट प्रतिवादीहरूको खिचोला छोडाई सार्वजनिक बाटोको रूपमा उपभोग गर्न पाउने गरी चलनसमेत पाउने ठहरी बारा जिल्ला अदालतबाट भएको फैसलालाई केही उल्टी गरी न.नं. १८ को बाटोको पूर्वतर्फबाट उत्तर दक्षिण ७ फिटभित्र प्रतिवादीले बनाएका घर टप भत्काई बाटो कायम गरी दिने ठहर्याई पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७२।०८।२० मा भएको फैसला माथि उल्लेख गरिएका तथ्य, आधार र प्रमाणसमेतबाट मिलेकै देखिँदा सो फैसला सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.सपना प्रधान मल्ल
इजलास अधिकृतः कृति थापा
इति संवत् २०७५ साल असार १२ गते रोज ३ शुभम् ।