निर्णय नं. १०३९० - जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा
फैसला मिति : २०७६।७।४
०७२-CR-००७४
मुद्दाः- जबरजस्ती करणी
पुनरावेदक / प्रतिवादी : मकवानपुर जिल्ला, आमभञ्ज्याङ्ग गा.वि.स. वडा नं.१ घर भई हाल कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं. ६ बस्ने हाल जिल्ला कारागार कार्यालय कास्कीमा थुनामा रहेको जितबहादुरको छोरा मदन परियार
विरूद्ध
प्रत्यर्थी / वादी : मकवानपुर जिल्ला, स्थायी घर भई हाल कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं.१ बस्ने कल्पना परियारको जाहेरीले नेपाल सरकार
जाहेरी बेहोरा र पीडितको मौकाको कागजलाई मिसिल संलग्न पीडितको शारीरिक परीक्षण प्रतिवेदनले पुष्टि गरिरहेको अवस्थामा जाहेरवाली र पीडितको बकपत्र नभएकै कारण ती आधारहरू ग्रहण नगर्नु न्यायोचित नहुने ।
अन्य प्रमाणहरूले जाहेरी बेहोराका साथै पीडितको मौकाको कागजलाई समर्थन गरिरहेको अवस्थामा ती प्रमाणहरूलाई नजरअन्दाज गरी प्रतिवादीले अदालतमा गरेको इन्कारी बयान र पुनरावेदन जिकिरलाई आधार मानी आरोपित कसुरबाट उन्मुक्ति दिन सकिने अवस्था नहुने ।
(प्रकरण नं.९)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्री टिकाराम लिम्बू
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री अर्जुन कोइराला
अवलम्बित नजिर :
ने.का.प.२०७१, नि.नं.९१०७
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्नेः
मा. न्यायाधीश श्री पुरूषोत्तमप्रसाद ढकाल
कास्की जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
मा. न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना
माननीय न्यायाधीश श्री ऋषिराम दवाडी
पुनरावेदन अदालत पोखरा
फैसला
न्या.प्रकाशमान सिंह राउत : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकार क्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-
तथ्य खण्ड
मिति २०६८।१२।११ गते राति मेरो श्रीमान् मदन परियारले मेरी छोरी वर्ष-७ की परिवर्तित नाम M61 २०६८ लाई आफ्नै डेरा कोठामा राति सुतेको मौकामा बिस्ताराबाट उठाई आफ्नो बिस्तारामा लगी मुख थुनी जबरजस्ती करणी गरेको हुँदा कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको कल्पना परियारको जाहेरी ।
कास्की जिल्ला पोखरा-६ बैदाम जरेबर ठाडो पसलस्थित जाहेरवाली कल्पना परियारको डेरा कोठामा मदन परियारले पीडित M61 २०६८ लाई जबरजस्ती करणी गरेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।
मिति २०६८।१२।११ गते राति घरका सबैजना कोठामा सुतेको अवस्थामा बुबा मदन परियारले मलाई सुतेको ठाउँबाट आफू सुतेको ठाउँमा लगी सुताई मेरो सुरूवाल खोली सिरकले थिची मुख छोपी मेरो पिसाब फेर्ने ठाउँमा आफ्नो पिसाब फेर्ने कुराले जोडले धकेली भित्र छिराई २/३ पटकसम्म भित्र बाहिर गरेका हुन् । त्यसबखत मलाई ज्यादै दुखेकोले म चलेपछि खाट कराउँदा आमाले थाहा पाउनु भएको हो । त्यसअघिसमेत २/३ पटक मेरो पिसाब फेर्ने ठाउँमा बुबाले आफ्नो पिसाब फेर्ने कुरा छिराएका हुन् भन्नेसमेत बेहोराको पीडित M61 २०६८ को कागज ।
मिति २०६८।१२।११ गते राति खाना खाई सुत्ने बेलामा श्रीमतीसँग ठाकठुक विवाद भएको
थियो । रातको करिब ११/११:३० बजेको समयमा सबैजना सुतेका अवस्थामा मलाई मेरै छोरीमाथि करणी गर्ने उत्सुकता बढ्दै आएपछि छामछुम गर्दै छोरी सुतेको ठाउँमा गई सुतेकी छोरीलाई जुरूक्क उठाई आफू सुतेको ठाउँमा ल्याई सुताई निजको योनिमा मेरो उत्तेजित लिङ्ग जोडले रगडी केही घुसाई एकपटक करणी गरेको हुँ । योनिमा लिङ्गको टुप्पो मात्र छिरेको थियो र बल गर्दा छोरी रून कराउन थालेपछि मैंले हतार हतार गरी वीर्यपतन गराएको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी मदन परियारले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
पक्राउ परेका मदन परियारले मिति २०६९।१२।११ गते राति आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको भन्नेसमेत थाहा पाएँ । यसभन्दा अघिसमेत निजले छोरी परिवर्तित M61 २०६८ लाई जबरजस्ती करणी गरेको भन्नेसमेत सुनी थाहा पाएँ । अभियुक्तलाई कानूनबमोजिम कडा कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको बुझिएका मानिसहरूको भनाइ लेखाई ।
प्रतिवादी मदन परियारले आफ्नै सहोदर छोरी वर्ष ७ की परिवर्तित नाम M61 २०६८ लाई जबरजस्ती करणी गरेकोले मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ र ३ (१) नं. बमोजिमको कसुर अपराध गरेको हुँदा निजउपर ऐ. महलको ३(१) नं. बमोजिम सजाय हुनका अतिरिक्त यी प्रतिवादीले आफूले जन्माएकी छोरीलाई जबरजस्ती करणी गरेको सन्दर्भमा मुलुकी ऐन, जबरजस्ती करणीको महलको २ नं. र मुलुकी ऐन, हाडनातामा करणी गर्नेको महलको १ नं. विपरीतको कसुर अपराधमा ऐ. जबरजस्ती करणीको २ नं.बमोजिम थप सजायसमेत हुन र ऐ. को १० नं. बमोजिम पीडितलाई यिनै प्रतिवादीबाट उचित क्षतिपूर्तिसमेत भराई पाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र ।
मैले अभियोगमा उल्लेख भएअनुसारको कुनै गलत कार्य गरेको छैन । घटना भएको भनिएको दिन राति म मेरो डेरा कोठामा सुत्न आएको थिइनँ । साहुको पसल चिप्लेढुङ्गामा नै सुतेको थिएँ । नभएको कुरालाई सबै मिलेर मलाई फसाएका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी मदन परियारले सुरू कास्की जिल्ला अदालतमा गरेको बयान ।
यसमा मिति २०६८।१२।११ गतेको बेलुका जाहेरवाली कल्पना के.सी.को भाइ जितेन्द्र र स्वयं जाहेरवालीले छोरी नाम परिवर्तित M61 २०६८ लाई बाबु मदन परियारले करणी गरेछन् भनी भनेका हुँदा थाहा पाएको हुँ भनी वादी पक्षका साक्षी ओमबहादुर दासले गरेको बकपत्र मिसिल सामेल रहेको ।
पीडितको स्वास्थ्य परीक्षण गर्दा घटना घटेको धेरै समयपछि मात्र ल्याइन्छ । त्यसकारण जबरजस्ती करणीका लक्षणहरू प्राय: लुप्त भइसकेका
हुन्छन् । प्रस्तुत मुद्दाको सन्दर्भमा पनि पीडितको स्वास्थ्य परीक्षण गर्दा त्यस्तो कुनै लक्षण देखिएन भन्नेसमेत बेहोराको विशेषज्ञ डा.रविप्रसाद रेग्मीले गरेको बयान ।
मौकाको जाहेरी, पीडितको कागज, प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन र सोलाई पुष्टि गर्दै परीक्षण गर्ने चिकित्सकले गरेको बकपत्र, प्रतिवादी वारदातको भोलिपल्ट पोखराबाट भागी हिँडेको र काभ्रेपलाञ्चोकको मेथिनकोटमा प्रहरीद्वारा पक्राउ परेको अवस्थासमेतका तथ्यगत, प्रत्यक्ष एवं परिस्थितिजन्य प्रमाणहरूको समग्रताबाट प्रतिवादीको उपर्युक्त कार्य अभियोग दाबीको कसुर ठहर्छ । पीडित ७ वर्षकी नाबालिका भएकोमा विवाद नभएको र सजाय गर्नुको उद्देश्य अपराधीको जीवन समाप्त पार्नु नभई अपराधको प्रायश्चित गरी मनासिब माफिकको सजाय भोगाउनु भएको र न्यूनतम सजाय गर्दा पनि फौजदारी न्यायको उद्देश्य पूरा हुने नै भएकोले प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको ३(१) नं. बमोजिम न्यूनतम कैद १०(दश) वर्ष हुने ठहर्छ । पीडित प्रतिवादी आफैँले जन्म दिएकी छोरी भएकोले आफूले जन्माएकी छोरीलाई करणी गर्नेलाई हाडनातामा करणी गर्नेको महलको १ नं. को कसुरसमेत हुने र थप सजाय हुने भई सोहीबमोजिमको दाबीसमेत भएकोले हाडनाता करणीको २ नं.को कानूनी व्यवस्थाअनुसार हाडनाता करणीको १ नं. ले १०(दश) वर्ष थप गरी जम्मा २० (बिस) वर्ष कैद हुने ठहर्छ । पीडितलाई पर्न गएको क्षति, प्रतिवादीको आर्थिक हैसियतसमेतलाई विचार गर्दा रू.२५,०००।- (पच्चिस हजार) क्षतिपूर्तिसमेत पीडितलाई प्रतिवादीले भराई दिनुपर्ने ठहर्छ भन्नेसमेत सुरू कास्की जिल्ला अदालतबाट मिति २०७१।२।२७ मा भएको फैसला ।
मेरो र श्रीमतीका बिचमा झगडा
परिरहन्थ्यो । सोही झगडाको कारण मलाई फसाउने नियतले छोरीलाई जरिया बनाई प्रस्तुत मुद्दाको जाहेरी दिएकी हुन् । पीडितको कागज निजकी आमा र मामाहरू मिलेर अह्राई सिकाई गरी तयार गरिएको हो । जाहेरवाली मेरी श्रीमती कल्पना परियार र पीडित M61 २०६८ ले अदालतमा आई बकपत्र गर्न सकेको अवस्था नहुँदा अनुसन्धानको सन्दर्भमा तयार भएको बयान कागजले मात्र अभियोग दाबी पुष्टि हुन
सक्तैन । मैले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको भनिएको बयान कागज गलत र झुट्टा हो । सो सन्दर्भमा मैले अदालतसमक्षको बयानको क्रममा स्पष्ट पारेको छु । पीडितको स्वास्थ्य प्रतिवेदनअनुसार योनि वरपर कुनै घाउ वा ददारिएका चिह्नहरू छैनन् । पीडितको योनिको झिल्लीमा प्वाल परेको सम्बन्धमा जाहेरवालीले मलाई फसाउने नियत र उद्देश्यले त्यस्तो बनाई दिएको अनुमान गर्न सकिन्छ, अन्य कारणहरूबाट समेत झिल्ली नष्ट हुन वा सोमा प्वाल पर्न सक्ने हुँदा त्यसतर्फ फैसलामा कुनै विवेचना नगरिएको र चिकित्सकको बकपत्रमा समेत केही नखुलेको अवस्थामा मलाई पर्याप्त र शंकारहित निर्विवाद प्रमाणको अभावमा आरोपित कसुर ठहर गर्ने गरी गरिएको फैसला मनासिब नभएकोले सो फैसला बदर गरी अभियोग दाबीबाट सफाइपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीको पुनरावेदन अदालत पोखरामा परेको पुनरावेदनपत्र ।
यसमा पीडित M61 २०६८ को शारीरिक जाँच रिपोर्टमा योनिको झिल्लीमा सानो (०.५ मि.मि.× ०.५ मि.मि.) प्वाल भएको, योनि वरिपरि र योनिमा कुनै घाउ चोटपटक र रगत बगेको नपाइएको भन्नेसमेत उल्लेख हुनुको साथै स्वास्थ्य परीक्षण गर्ने चिकित्सकले अदालतसमक्ष गरेको बकपत्रको सवाल जवाफ ५ मा “पीडितको योनिको झिल्ली Natural किसिमको नै थियो” भनी लेखाएको अवस्थामा प्रतिवादी मदन परियारलाई माग दाबीबमोजिम सजाय गर्ने गरेको कास्की जिल्ला अदालतको मिति २०७१।२।२७ को फैसला प्रमाण मूल्याङ्कनको रोहबाट फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. को प्रयोजनार्थ प्रस्तुत आदेश तथा पुनरावेदनपत्रको प्रतिलिपिसहितको जानकारी पुनरावेदन सरकारी वकिल कार्यालय पोखरालाई दिई नियमानुसार गर्नु भन्नेसमेत मिति २०७१।०९।२१ मा पुनरावेदन अदालत पोखराबाट भएको आदेश ।
प्रतिवादी मदन परियारले आफ्नै सात वर्षिया छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा जबरजस्ती करणीको महलको ३(१) नं. बमोजिम १०(दश) वर्ष कैद र ऐ. महलको २ नं. अनुसार हाडनातामा करणी गर्नेको महलको १ नं. ले १०(दश) वर्ष थप गरी जम्मा २० (बिस) वर्ष कैद हुने र जबरजस्ती करणीको १० नं. बमोजिम पीडितले प्रतिवादीबाट रू.२५,०००।- (पच्चिस हजार) क्षतिपूर्ति भराई लिन पाउने ठहर्याएको सुरू कास्की जिल्ला अदालतको मिति २०७१।०२।२७ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पोखराको मिति २०७१।११।१३ को फैसला ।
म र मेरो श्रीमतीबिचमा निकै झगडा परिरहन्थ्यो । उनीसँग झगडा र भनाभन भइरहँदा तँलाई ठिक पार्न जानेको छु भन्ने गर्दथिन् । जाहेरवालीले रिस फेर्न भाइहरूको सहयोग लिई फसाउने नियतले नै षड्यन्त्र रची उनको छोरी अर्थात् मेरो झड्केली छोरीलाई जरिया बनाई प्रस्तुत मुद्दाको जाहेरी दिई सो जाहेरीलाई पुष्टि नगराइकन र एउटै कोठामा खाट जोडी ५ जना परिवार सँगै सुतेको, श्रीमतीसमेत सँगै रहे भएकोमा के कसरी जबरजस्ती करणी हुन्छ सो सम्बन्धमा कुनै विवेचना नभई भएको सुरू फैसला सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन र परीक्षण गर्ने चिकित्सकको बकपत्र पनि मुख्य निर्णयाधारको रूपमा रहेको हुन्छ । पीडितको स्वास्थ्य प्रतिवेदनअनुसार पीडितको योनि वरपर कुनै घाउ वा ददारिएका चिह्नहरू छैनन् । पीडितको योनिको झिल्लीमा 0.5mm को प्वाल रहेको बताइएको छ । ७ वर्षकी बालिकाको योनिमा एक बयस्क मानिसको लिङ्ग पटकपटक घुसाउँदा 0.5mm को झिल्लीमा प्वाल मात्रै पर्ने नभई पूरै योनि छेदन हुने अवस्था हुन्छ । चिकित्सकको बकपत्रमा त्यस्तो ठोस प्रामाणिक र निश्चयात्मक कुरा केही पनि नखुलाई ढिला भएकाले बलत्कारका चिह्नहरू लुप्त भएका छन् पीडितको योनिको झिल्ली प्राकृतिक किसिमको नै थियो भनी स्पष्ट रूपमा लेखाई दिएबाट मउपर लगाइएको अभियोग दाबी पुष्टि हुन सक्ने अवस्था छैन ।
यसैगरी अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान कागज गलत र झुट्टा हो । प्रहरीले मलाई मरणासन्न अवस्थामा कुटेको हुनाले मैले पुलिसले ल्याएको कागजमा सही गरेको हुँदा उक्त बयान प्रमाण ऐन, २०३१ दफा ९ को २ अनुसार प्रमाणको रूपमा लिन मिल्दैन । घटना भएको मिति २०६८।१२।११ गते रातको अन्दाजी ११ बजेको समयमा म उक्त स्थानमा रहेको थिइनँ । उक्त मिति र समयमा म महेन्द्रपुलस्थित साहुको पसलमा थिएँ । घटना घटेको भनिएको भोलिपल्ट मिति २०६८।१२।१२ गतेका दिन मेरो आफ्नो घरायसी काम परेकाले काभ्रे जिल्ला गएको थिएँ । आफ्नो काम परी अन्यत्र गएको अवस्थालाई गलत व्याख्या गरी भागी गएको र लुकी बसेको भन्ने गलत अनुमान गरी कसुर पुष्टि गर्ने आधार बनाइएको छ, सो कुराको पुष्टि कथित रूपमा घटना घट्यो भनिएको मितिले १७ औं दिनपछि तयार भएको घटनास्थलबाट समेत पुष्टि भएको छ ।
जाहेरवाली र पीडित M61 २०६८ अदालतमा आई बकपत्र गरेका छैनन् । अनुसन्धान र तहकिकातको सन्दर्भमा तयार भएको बयान कागजको आधारमा मात्र अभियोगँ मागदाबी पुष्टि हुन
सक्दैन । यसै सन्दर्भमा ने.का.प. २०७१ निर्णय नं. ९१०७ पृष्ठ ७० मा जाहेरवाली वा पीडितले अनुसन्धानको क्रममा व्यक्त गरेको कुरालाई निजहरू साक्षीसरह अदालतमा उपस्थित भई बकपत्र नगरेको अवस्थामा त्यस्तो मौकाको कागज प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रमाणमा लिन नमिल्ने भनी सिद्धान्त कायम भएको र यस मुद्दामा पनि जाहेरवाली कल्पना परियार र पीडित भनिएकी M61 २०६८ अदालतमा आई अनुसन्धानको क्रममा भएका कागजलाई पुष्टि गराउन नसकेको अवस्थामा जबरजस्ती करणी जस्तो गम्भीर मुद्दामा २० वर्ष कैद र रू.२५,०००।- जरिवाना हुने गरी भएको सुरू अदालतको फैसलालाई सदर गर्ने गरी भएको पुनरावेदन अदालत पोखराको मिति २०७१।११।१३ को फैसला प्रमाण ऐन, २०३१ को दफा १८, २५, ५४ तथा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादन भएको सिद्धान्तविपरीत भएको हुँदा उक्त फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादीको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
यसमा मिति २०६८।१२।११ को वारदात घटनाको सम्बन्धमा मिति २०६८।१२।२८ मा मात्र जाहेरी दरखास्त दर्ता भएको देखिन्छ । जाहेरी दरखास्तमा उल्लिखित बेहोरा हेर्दा साथै सुतेकी छोरीलाई श्रीमान्ले उठाई लगी एउटै कोठामा आफूसमेत सँगै सुतेकै अवस्थामा जबरजस्ती करणी गरेको भनी उल्लेख गरेको तथ्य विश्वासप्रद रूपमा निज अदालतमा आई बकपत्र गर्न सकेको छैन । पीडित वर्ष ७ की परिवर्तित नाम M61 २०६८ को स्वास्थ्य परीक्षण हेर्दा योनिको झिल्लीमा सानो (०.५ मि.मि x ०.५ मि.मि.) प्वाल पाइएकोबाहेक अरू कुनै घाउ चोट उल्लेख देखिन आएको छैन । उक्त प्रमाणहरूको समुचित मूल्याङ्कनको रोहमा पुनरावेदन अदालत पोखराले प्रतिवादीलाई दाबीबमोजिम कसुरदार ठहराउने गरी भएको फैसला विचारणीय देखिँदा छलफलको लागि मुलुकी ऐन, अ.बं.२०२ नं.बमोजिम प्रत्यर्थी झिकाई सोको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई नियमानुसार पेस गर्नु भन्ने मिति २०७५।४।२२ मा यस अदालतबाट भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् वैतनिक अधिवक्ता श्री टिकाराम लिम्बूले यी प्रतिवादी अदालतसमक्ष बयान गर्दा कसुरमा इन्कार रहेका छन् । जाहेरवालीले प्रतिवादीउपर किटानी जाहेरी दिए तापनि सो जाहेरी बेहोरालाई पुष्टि गराउन वादी पक्षले निज जाहेरवाली र पीडितलाई बकपत्रका लागि अदालतसमक्ष उपस्थित गराउन सकेको अवस्था
छैन । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन र परीक्षण गर्ने चिकित्सकले गरिदिएको बकपत्रबाट समेत जबरजस्ती करणी भएको पुष्टि हुँदैन । आफ्नै बाबुले नाबालिका छोरीलाई जबरजस्ती करणीजस्तो जघन्य अपराध गरे होलान् भन्ने वादी दाबी विश्वासलायक
देखिँदैन । वस्तुनिष्ठ एवं यथेष्ठ प्रमाणबिना नै जबरजस्ती करणीजस्तो जघन्य अपराधमा प्रतिवादीलाई कसुरदार ठहर्याउनु न्यायोचित हुँदैन । तसर्थ प्रतिवादी निर्दोष हुनुका साथै निजले शंकाको सुविधासमेत पाउने हुँदा अभियोग दाबीबाट सफाइ पाउनुपर्दछ भनी गर्नुभएको बहस सुनियो ।
विपक्षी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री अर्जुन कोइरालाले प्रतिवादी मौकामा कसुर गरेकोमा साबित रहेका छन् । निजउपर पीडितकी आमा जाहेरवालीले आफ्नै पतिले छोरीलाई जबरजस्ती करणी गरेको भनी किटानी जाहेरी दिएकी छिन् । पीडितले मौकामा कागज गर्दा प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेका हुन् भनी उल्लेख गरेको देखिन्छ । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन र प्रतिवेदन दिने चिकित्सकले गरिदिएको बकपत्रमा पीडितको योनिको झिल्लीमा 0.5mm को प्वाल रहेको भनी खुलाएको देखिन्छ । घटनास्थल मुचुल्काका मानिस ओमबहादुर दासले प्रतिवादीले आफ्नै सहोदर छोरी परिवर्तित नाम M61 २०६८ लाई जबरजस्ती करणी गरेको भनी घटनास्थल मुचुल्कामा खुलाएका र सो मौकाको बेहोरालाई पुष्टि हुने गरी अदालतसमक्ष बकपत्र गरेको हुँदा सुरू अदालतले गरेको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालतबाट भएको फैसला मिलेकै हुँदा सदर कायम हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।
उपर्युक्त बेहोराको बहस जिकिर र तथ्य रहेको प्रस्तुत मुद्दामा प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको कसुर ठहर्याई सजाय निर्धारण गरेको सुरू अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पोखराको मिति २०७१।११।१३ को फैसला मिलेको छ वा छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. अब निर्णयतर्फ विचार गर्दा, प्रतिवादी मदन परियारले आफ्नै सहोदर छोरी वर्ष ७ की परिवर्तित नाम M61 २०६८ लाई जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ र ३ (१) नं. बमोजिमको कसुर अपराध गरेको हुँदा निज प्रतिवादीलाई ऐ. महलको ३ (१) नं. बमोजिम सजाय हुनका अतिरिक्त यी प्रतिवादीले आफूले जन्माएकी छोरीलाई जबरजस्ती करणी गरेको सन्दर्भमा मुलुकी ऐन, जबरजस्ती करणी महलको २ नं. र मुलुकी ऐन, हाडनाता करणी गर्नेको महलको १ नं. विपरीतको कसुर अपराधमा ऐ. जबरजस्ती करणीको २ नं. बमोजिम थप सजायसमेत हुन र ऐ.को १० नं.बमोजिम पीडितलाई प्रतिवादीबाट उचित क्षतिपूर्तिसमेत भराइपाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र पेस भएकोमा पीडित वर्ष ७ की नाबालिकालाई प्रतिवादीले जबरजस्ती करणी गरेको तथ्य पुष्टि हुन आएकाले निज प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणी महलको ३(१) नं.बमोजिम न्यूनतम कैद १०(दश) वर्ष हुने ठहर्छ । पीडित प्रतिवादी आफैँले जन्म दिएकी छोरी भएकोले हाडनाता करणीको १ नं.को कसुरसमेत हुने हुँदा हाडनाता करणीको १ नं. ले १०(दश) वर्ष कैद थप गरी जम्मा २०(बिस) वर्ष कैद हुने ठहर्छ । पीडितलाई पर्न गएको क्षति, प्रतिवादीको आर्थिक हैसियतसमेतलाई विचार गर्दा रू.२५,०००।– (पच्चिस हजार) क्षतिपूर्तिसमेत पीडितलाई प्रतिवादीले भराई दिनुपर्ने ठहर्छ भनी सुरू जिल्ला अदालतबाट भएको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत पोखराबाट भएको फैसलामा चित्त नबुझाई प्रतिवादीको तर्फबाट यस अदालतमा प्रस्तुत पुनरावेदन पर्न आएको देखियो ।
३. प्रतिवादीले जाहेरवाली र आफूबिचमा झगडा भइरहने हुँदा रिस फेर्नका लागि भाइहरूको सहयोग लिई फसाउने नियतले छोरीलाई जरिया बनाई झुट्टा बेहोराको जाहेरी दिएकी हुन् । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन र प्रतिवेदन दिने चिकित्सकको बकपत्रबाट जबरजस्ती करणी भएको पुष्टि हुँदैन । घटना भएको मिति र समयमा म उक्त स्थानमा नभई महेन्द्रपुलस्थित साहुको पसलमा थिएँ । वादी पक्षले जाहेरवाली र पीडितलाई बकपत्रका लागि अदालतसमक्ष उपस्थित गराउन सकेको देखिँदैन । अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान बेहोरा झुट्टा हो, प्रहरीले मरणासन्न अवस्थामा कुटेको हुनाले पुलिसले ल्याएको कागजमा सही गरेको हुँ । अनुसन्धान र तहकिकातको सन्दर्भमा तयार भएको बयान कागजको आधारमा मात्र अभियोग मागदाबी पुष्टि हुन सक्दैन । यसै सन्दर्भमा ने.का.प. २०७१ निर्णय नं. ९१०७ मा सिद्धान्त प्रतिपादनसमेत भएको अवस्थामा मलाई कसुरदार ठहर्याई सुरू अदालतबाट भएको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत पोखराबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने मुख्य पुनरावेदन जिकिर लिएको देखिन्छ ।
४. प्रतिवादीले लिएको उल्लिखित पुनरावेदन जिकिर पुष्टि गर्ने वस्तुनिष्ठ आधारहरू मिसिलमा संलग्न छन् वा छैनन् ? भन्ने सम्बन्धमा विवेचना गरी प्रस्तुत मुद्दाको निष्कर्षमा पुग्नुपर्ने अवस्था देखिएको
छ । पीडित M61 २०६८ वर्ष ७ की नाबालिका भएको र प्रतिवादी पीडितको आफ्नै बाबु भएको तथ्यमा विवाद देखिँदैन । पीडित नाबालिकालाई अभिभावकको तर्फबाट शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायत नाबालक सन्तानको सर्वोत्तम हितहरूको पक्षमा उपयुक्त, उचित र आवश्यक लगानी तथा यथोचित प्रबन्ध गरी भविष्य उज्ज्वल पार्ने दायित्व निज प्रतिवादीमा रहे भएको कुरामा समेत दुईमत हुन सक्दैन । प्रतिवादी र निजको ५ जनाको परिवार ज्याला मजदुरी गरी सामान्य रूपमा जीविकोपार्जन गरी एउटा मात्र कोठा भाडामा लिई बसी आएको देखिन्छ ।
५. प्रतिवादीउपर निजकै श्रीमती कल्पना परियारले मिति २०६८।१२।११ गते राति श्रीमान् मदन परियारले छोरी वर्ष-७ की परिवर्तित नाम M61 २०६८ लाई आफ्नै डेरा कोठामा राति सुतेको मौकामा विस्तराबाट उठाई आफ्नो विस्तरामा लगी मुख थुनी जबरजस्ती करणी गरेको हुँदा कारबाही गरिपाउँ भनी किटानी जाहेरी दिएको देखियो । प्रतिवादीले सो जाहेरीका सम्बन्धमा जाहेरवालीसँग बेलाबेलामा आफ्नो झगडा परिरहने हुँदा मलाई फसाउनका लागि माइती पक्षको सहयोगमा कथित वारदात भएको धेरै दिनपछि झुट्टा बेहोराको जाहेरी दिएकी हुन् भनी पुनरावेदन जिकिर लिएको देखिन्छ । सो जिकिरका सम्बन्धमा हेर्दा, पतिसँग रिसइवी भएको तथ्य वस्तुनिष्ठ प्रमाणबाट पुष्टि भएको पाइँदैन । एकछिनलाई पत्नीसँग रिसइवी भएको मान्दा पनि आफैँले जन्माएको नाबालिका छोरीको भविष्यलाई नै जीवनभर नकारात्मक असर पर्ने गरी कुनै पनि आमाले बिना कारण र औचित्य आफ्नै पतिलाई फसाउने उद्देश्यले जबरजस्ती करणी जस्तो कसुरमा दोषारोपण गरेकी होलिन् भनी विश्वास गर्न सकिने देखिँदैन । पतिको अनैतिक कार्यमा पतिलाई दोषारोपण गर्ने नगर्ने द्विविधामा जाहेरवालीले आफ्नो नाबालक छोरीको भविष्यमा पर्न जाने नकारात्मक असरप्रति सजग रहेर नै वारदातको तथ्य केही समयसम्म बाहिर प्रकाशमा नल्याएको देखिन्छ । पीडितले आफूलाई मिति २०६८।१२।११ मा मात्र नभई त्यसभन्दा अगाडि पनि प्रतिवादीले पटकपटक त्यस्तो अनैतिक क्रियाकलाप गर्ने गरेको तथ्य आमासँग खुलाएपछि त्यस्तो अपराधबाट छोरी थप पीडित बन्न नपरोस् भनी जाहेरवालीले माइती पक्षसँग सरसल्लाह गरी वारदात भएको केही दिनपछि मात्र प्रतिवादीउपर किटानी जाहेरी दिएको अवस्था छ । निज प्रतिवादीको परिवार ज्याला मजदुरी गरी एउटा मात्र कोठा भाडामा लिई बसी आएको देखिन्छ । आर्थिक हैसियत कमजोर भएका कारण प्रतिवादी र निजको ५ जनाको परिवार एउटै कोठामा खाट जोडेर सुत्ने गरेको तथ्य घटनास्थल मुचुल्काबाट देखिएको र सो तथ्यलाई यी प्रतिवादीले खण्डन नगरी स्वीकारै गरेको अवस्था छ । सबै परिवार एउटै कोठामा सुत्नुपर्ने बाध्यात्मक परिस्थितिजन्य वातावरणको फाइदा लिएर यी प्रतिवादीले आफ्नो यौन चाहना पूरा गर्नका लागि आफ्नै नाबालिका छोरीलाई प्रयोग गरेको देखिन्छ । निज प्रतिवादीले श्रीमतीसमेत सोही कोठामा सुतेको अवस्थामा आफ्नो यौन चाहना पूरा गर्नका लागि आफैँले जन्म दिएको अवोध नाबालिका छोरीलाई प्रयोग गरेको घृणित कार्यलाई अभिभावकीय जिम्मेवारीको अन्तिम सीमा नाघेको मान्नुपर्ने हुन जान्छ । घटनास्थल मुचुल्कामा पीडित परिवर्तित M61 २०६८ लाई बाबु मदन परियारले जबरजस्ती करणी गरेका हुन् भन्ने बेहोरा उल्लेख भएको र सो घटनास्थल मुचुल्काका साक्षी ओमबहादुर दासले अदालतसमक्ष उपस्थित भई सो मौकाको मुचुल्कालाई समर्थन गरी बकपत्र गरेबाट जाहेरी बेहोरा थप पुष्टि भएको देखिन्छ । घटनास्थल मुचुल्काका साक्षीले गरेको सो बकपत्र बेहोरालाई प्रतिवादीले आफ्नो पुनरावेदन जिकिरमा खण्डन नगरी स्वीकार गरेको अवस्था
छ । प्रस्तुत घटनाक्रमलाई सामान्य समझको मानिसले विश्वास गर्न सक्ने किसिमको देखिँदैन । अभिभावकीय जिम्मेवारीबाट विमुख भई आफैँले जन्म दिएकी अवोध ७ वर्षकी छोरीलाई पटक पटक जबरजस्ती करणी गरेको भनी श्रीमतीले पतिउपर जाहेरी दिएको अवस्था हुँदा मुद्दाको सुनुवाइमा न्यायकर्मीले विशेष सावधानी, संवेदनशीलता र विवेकको उच्चतम प्रयोग गर्नु वाञ्छनीय देखिन्छ । जाहेरवालीले आफूसँग रिसइवी भएकै कारण फसाउनकै लागि अवोध नाबालिका छोरीलाई जरिया बनाई जाहेरी दिएकी हुन् भन्ने पुनरावेदक प्रतिवादीको जिकिर प्रतितलायक देखिएन ।
६. पीडितले मौकामा कागज गर्दा मिति २०६८।१२।११ गते राति घरका सबैजना सुतेको अवस्थामा बुबा मदन परियारले मलाई सुतेको ठाउँबाट आफू सुतेको ठाउँमा लगी सुताई मेरो सुरूवाल खोली सिरकले थिची मुख छोपी मेरो पिसाब फेर्ने ठाउँमा आफ्नो पिसाब फेर्ने कुराले जोडले धकेली भित्र छिराई २/३ पटकसम्म भित्र बाहिर गरेका हुन् । त्यसबखत मलाई ज्यादै दुखेकोले म चलेपछि खाट कराउँदा आमाले थाहा पाउनु भएको हो । त्यसअघिसमेत २/३ पटक मेरो पिसाब फेर्ने ठाउँमा बुबाले आफ्नो पिसाब फेर्ने कुरा छिराएका हुन् भनी बाल सुलभ भाषामा हृदयविदारक तथ्य खुलाएको देखिन्छ । प्रतिवादी बाबुले आफूमाथि गरेको घृणित कार्य के हो भनी बुझ्न सक्ने उमेर अवस्था नै नभएकी अवोध बालिकाले घटनाको सम्बन्धमा गरेको मौकाको कागजको सिलसिलेवार यथार्थ चित्रण अध्ययन गर्दा पनि अरूले सिकाएर व्यक्त गरेको नभई आफैँले स्वःस्फूर्त रूपमा प्रकट गरेको देखिन आउँछ । एउटी ७ वर्षकी अवोध बालिकाले अरूले सिकाएको कुरालाई सिलसिलेवार रूपमा प्रकट गर्न सक्ने सामर्थ्यसमेत रहँदैन । आफूले जन्म दिएको सन्तानलाई अभिभावकीय संरक्षण दिई सन्तानको भविष्य उज्ज्वल बनाउने जिम्मेवारी निर्वाह गर्नुपर्ने बाबुबाट नै अवोध नाबालिका छोरीमाथि यस्तो घृणित कार्य हुन गएको अवस्थामा न्यायकर्ताले पीडितप्रति ह्रदयदेखि नै सहानुभूति देखाउनुपर्ने अवस्था सिर्जना हुन जान्छ । आफैँलाई जन्म दिने बाबुमाथि पीडितले आरोप लगाउनुपर्ने कुनै आधार कारणसमेत मिसिल संलग्न तथ्यहरूबाट देखिन आउँदैन । पीडितको उमेर अवस्थालाई विचार गरी हेर्दा पनि निजको मौकाको कागज बेहोरालाई स्वाभाविक रूपमा नै लिनुपर्ने हुन आउँछ ।
७. पुनरावेदक प्रतिवादीले मौकामा अनुसन्धान अधिकारीसमक्ष मिति २०६८।१२।११ गते राति सबैजना सुतेका अवस्थामा छोरीमाथि करणी गर्ने उत्सुकता बढ्दै आएपछि छामछुम गर्दै छोरी सुतेको ठाउँमा गई सुतेकी छोरीलाई जुरूक्क उठाई आफू सुतेको ठाउँमा ल्याई सुताई निजको योनिमा मेरो उत्तेजित लिङ्ग जोडले रगडी केही घुसाई एकपटक करणी गरेको हुँ, छोरी रून कराउन थालेपछि मैले हतार हतार वीर्यपतन गराएको हुँ भनी कसुर गरेकोमा साबित रही बयान गरेको पाइन्छ भने अदालतसमक्ष बयान गर्दा मौकाको बयान बेहोरा झुट्टा हो, प्रहरीले मरणासन्न अवस्थामा कुटेको हुनाले प्रहरीले ल्याएको कागजमा सहीछाप गरेको हो भनी कसुर गरेकोमा इन्कार रहेको र पुनरावेदनमा समेत सोही बेहोराको जिकिर लिएको देखियो । मौकाको बयानको सम्बन्धमा प्रतिवादीले सो जिकिर लिए तापनि निज प्रतिवादीलाई म्याद थपका लागि स्वतन्त्र अदालतमा उपस्थित गराउँदा म्याद थप गर्ने अधिकारीसमक्ष सो तथ्यको बारेमा कुनै जानकारी गराएको मिसिलबाट देखिन आउँदैन । यसका साथै प्रहरीले मरणासन्न अवस्थामा कुटपिट गरेको भए स्वास्थ्य परीक्षण गराई पाउन माग गर्न सक्ने कानूनी अधिकार प्रतिवादीमा रहे भएकोमा सो तर्फसमेत कुनै माग गरेको देखिँदैन । प्रतिवादीले मौकामा गरेको बयान प्रमाण ऐन, २०३१ को दफा ९ अनुसार अन्यथा प्रमाणित नभएसम्म प्रमाणमा लिन मिल्ने नै
हुन्छ । प्रतिवादी अदालतमा आरोपित कसुरमा इन्कार रहे तापनि निजको सो इन्कारी बयान प्रमाणित गर्ने वस्तुनिष्ठ प्रमाण प्रस्तुत गर्न सकेको पाइँदैन । प्राय: जघन्य अपराधमा अधिकांश अभियुक्तहरू सजायबाट छुटकारा पाइन्छ कि भन्ने आशामा अदालतसमक्ष कसुरमा इन्कारी रहने परिपाटी हाम्रो न्याय प्रणालीमा हामीले बेहोर्दै आएको वास्तविकता हुँदा त्यसलाई अस्वाभाविक मान्न मिल्दैन । प्रस्तुत मुद्दामा निज प्रतिवादीले आफू निर्दोष रहेको भनी प्रमाणित गर्न सकेको देखिएन । साथै प्रतिवादीले अदालतसमक्ष गरेको इन्कारी बयान पुष्टि गराउनका लागि साक्षीसमेत उपस्थित गराउन सकेको देखिएन । अधिकारप्राप्त अधिकारीसमक्ष भएको निजको बयान कागजको बेहोरा खण्डित हुने कुनै आधार प्रमाण पेस गर्न नसकेको अवस्थामा निज प्रतिवादीको मौकाको साबिती बयानलाई अन्यथा मान्नुपर्ने हो कि भन्ने अवस्थाको विद्यमानता देखिएन ।
८. वारदातको समयमा म उक्त स्थानमा रहेको थिइनँ । उक्त मिति र समयमा महेन्द्रपुलस्थित साहुको पसलमा थिएँ । घटना घटेको भनिएको भोलिपल्ट मिति २०६८।१२।१२ गतेका दिन मेरो आफ्नो घरायसी काम परी काभ्रे जिल्ला गएको थिएँ । आफ्नो काम परी अन्यत्र गएको अवस्थालाई गलत व्याख्या गरी भागी गएको र लुकी बसेको भन्ने गलत अनुमान गरिएको भनी Alibi को जिकिर लिई कसुरमा इन्कार भएको देखिए तापनि आफ्नो सो जिकिर यी प्रतिवादीले विश्वसनीय तथा भरपर्दो प्रमाणहरू पेस गरी पुष्टि गराउन सकेको देखिँदैन ।
९. वादी पक्षले पीडित र जाहेरवालीलाई अदालतसमक्ष बकपत्रका लागि उपस्थित गराउन नसकेको अवस्थामा जाहेरी बेहोरा र पीडितको मौकाको कागजलाई प्रमाणमा लिन मिल्दैन भन्ने प्रतिवादीको पुनरावेदन जिकिरका सम्बन्धमा विचार गर्दा आफ्ना साक्षीलाई अदालतसमक्ष उपस्थित गराई बकपत्र गराउने दायित्व कानूनले वादी पक्षलाई तोकेको देखिन्छ । फौजदारी कसुरमा वारदात स्थापित हुन र आरोपित व्यक्तिलाई कसुरदार ठहर्याउनका लागि साक्षीको बकपत्रका साथै अनुसन्धानको क्रममा तयार भएका अन्य वस्तुनिष्ठ प्रमाणहरूको पनि उत्तिकै भूमिका रहने गर्दछ । जाहेरी बेहोरा र पीडितको मौकाको कागजलाई मिसिल संलग्न पीडितको शारीरिक परीक्षण प्रतिवेदनले पुष्टि गरिरहेको अवस्थामा जाहेरवाली र पीडितको बकपत्र नभएकै कारण ती आधारहरू ग्रहण नगर्नु न्यायोचित देखिँदैन । अन्य प्रमाणहरूले जाहेरी बेहोराका साथै पीडितको मौकाको कागजलाई समर्थन गरिरहेको अवस्थामा ती प्रमाणहरूलाई नजरअन्दाज गरी प्रतिवादीले अदालतमा गरेको इन्कारी बयान र पुनरावेदन जिकिरलाई आधार मानी आरोपित कसुरबाट उन्मुक्ति दिन सकिने अवस्था हुँदैन ।
१०. जहाँसम्म स्वास्थ्य परीक्षण प्रतिवेदन र प्रतिवेदन दिने चिकित्सकको बकपत्रबाट पीडितको जबरजस्ती करणी भएको पुष्टि हुन नसकेको अवस्थामा मलाई कसुरदार ठहर्याउन मिल्दैन भन्ने प्रतिवादीले लिएको जिकिर छ सो सम्बन्धमा पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा पीडितको योनिको झिल्लीमा 0.5mm को प्वाल रहेको भनी उल्लेख भएको र प्रतिवेदन दिने चिकित्सकले अदालतसमक्ष उपस्थित भई सो प्रतिवेदन बेहोरालाई पुष्टि गरिदिएको अवस्था छ । उमेर भएका बालिकाको हकमा कडा परिश्रम, दुर्घटनालगायत विभिन्न कारणले योनिको झिल्ली च्यातिने सम्भावनालाई मेडिकल साइन्सले नै मान्यता दिएको देखिन्छ तर प्रस्तुत मुद्दामा पीडितको उमेर ७ वर्षकी बालिका देखिएको र निजको योनिको झिल्लीमा प्वाल पर्नुपर्ने अन्य कुनै कारण रहेको तथ्य मिसिलबाट देखिँदैन । साथै प्रतिवादी स्वयंले यो कारणले गर्दा पीडितको योनिमा प्वाल परेको हुन सक्दछ भनी वस्तुनिष्ठ प्रमाण पेस गर्न नसकेको अवस्थामा निजको सो पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
११. अतः माथि विवेचित आधार, कारण एवं प्रमाणबाट पुनरावेदक प्रतिवादी मदन परियारले पीडित वर्ष ७ की नाबालिका आफ्नै छोरीलाई जबरजस्ती करणी गरी निज प्रतिवादीले मुलुकी ऐन, जबरजस्ती करणी महलको १ र ३(१) नं. र मुलुकी ऐन, हाडनातामा करणी गर्नेको महलको १ नं. विपरीतको समेत कसुर गरेको तथ्य पुष्टि हुन आयो ।
१२. तसर्थ, प्रतिवादी मदन परियारले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको तथ्य पुष्टि हुन आएबाट निज प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणी महलको ३(१) नं. बमोजिम १०(दश) वर्ष कैद र हाडनातामा करणी गर्नेको महलको १ नं. ले १०(दश) वर्ष कैद थप गरी जम्मा २०(बिस) वर्ष कैद हुने ठहर्छ । पीडितलाई पर्न गएको क्षति, प्रतिवादीको आर्थिक हैसियतसमेतलाई विचार गर्दा रू.२५,०००।- (पच्चिस हजार) क्षतिपूर्तिसमेत पीडितलाई प्रतिवादीबाट भराई दिनुपर्ने ठहर्छ भनी सुरू कास्की जिल्ला अदालतबाट भएको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत पोखराबाट मिति २०७१।११।१३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादी मदन परियारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.डा.मनोजकुमार शर्मा
इजलास अधिकृतः मुना अधिकारी (ढकाल)
इति संवत् २०७६ साल कार्तिक ४ गते रोज २ शुभम् ।