शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०३९२ - अपहरण तथा शरीर बन्धक

भाग: ६१ साल: २०७६ महिना: फागुन अंक: ११

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल

फैसला मिति : २०७६।९।२

०७२-CR-०९९४

 

मुद्दा:- अपहरण तथा शरीर बन्धक

 

पुनरावेदक / वादी : उपेन्द्रराज बस्नेतको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला रोल्पा, घर्तीगाउँ गाउँ विकास समिति वडा नं. ४ बस्ने प्रेमबहादुर वि.क.समेत

 

पछि दिइएको वा दोस्रो जाहेरी वारदात र तथ्यको नजिक छ, किटानी छ, प्रतिवादीहरूको बयान पनि वारदातसँग नजिक छ, त्यसलाई भौतिक र परीक्षण प्रतिवेदन जस्ता अन्य स्वतन्त्र प्रमाणहरूले पनि समर्थन गर्दछ र जाहेरवाला स्वयंले तथ्य पुष्टि हुने गरेर अदालतमा आई किटानी बकपत्र गरी दिन्छन् भने त्यस्तो जाहेरीलाई ढिलो गरिदिएको वा “सोच विचार गरी” (after thought) पूर्वाग्रह राखी दिइएको जाहेरीको कोटीमा राख्न नमिल्ने ।

(प्रकरण नं.१०)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री खेमराज भट्ट

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्री इन्दिरा सिलवाल

अवलम्बित नजिर :

ने.का.प. २०६७, अंक १२, नि.नं. ८५२५

ने.का.प. २०६९,  अङ्क १, निर्णय नं. ८७६०

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री विश्वमंगल आत्रेय

दाङ देउखुरी जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री शम्भुबहादुर खड्का

माननीय न्यायाधीश श्री कृष्णलाल भट्टराई

पुनरावेदन अदालत, तुलसीपुर

 

फैसला

न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवम् ठहर यसप्रकार छः- 

तथ्य खण्ड

म निवेदकको फोन नं. ९८५७८३१९६५ मा ९८१२८२११०२ र ९८१२८२११३४ मोबाइलबाट हामी  पूर्वमाओवादी लडाकु हौं, हामीले तपाइँबाट रू. ५,००,०००।- (पाँच लाख रूपैयाँ) लिने निर्णय भएको छ भनी बारम्बार फोन गर्ने गरेकाले निजहरूले मेरो पेसा व्यवसायमा नै बाधा पारिरहेका थिए । म काम विशेषले मिति २०६९।११।११ गते रोल्पातर्फ जाँदै गरेको समयमा जिल्ला दाङ, घोराही नगरपालिकावडा नं. ७ स्थित मलाई पछ्‌याउँदै गएका मानिसहरूले मेरो मोटरसाइकल रोकी मलाई नियन्त्रणमा लिई नजिकै रहेको जंगलमा लिई मलाई बन्धक बनाई निजहरूले मेरो साथमा भएको रू. ५०,०००।- (पचास हजार रूपैयाँ) तत्काल लिई बाँकी रहेको रकम तत्काल दिने सहमतिमा म निज अपहरणकारीहरूको पञ्जाबाट मुक्त भएको हुँदा निजहरूलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍ने बेहोराको उपेन्द्रराज बस्नेतको निवेदन ।

जिल्ला दाङ, घोराही नगरपालिका वडा नं. ७ स्थित पूर्वमा बाह्रकुने दहको मूल ढोका, पश्चिममा सोही दहको जंगल, उत्तरमा घोराही होलेरी सडकखण्ड, दक्षिणमा सानो जोगिनी खोला यति चार किल्लाभित्र पर्ने बाह्रकुने दहको पश्चिम किनारातर्फ रहेको जंगलमा अपहरणकारीहरूले उपेन्द्रराज बस्नेतलाई अपहरण गरी बन्धक बनाएको भन्‍ने घटनास्थल प्रकृति 

मुचुल्का ।

मैले दाङ घोराही नगरपालिका वडा  नं. ११ मा लालबन्दी फर्निचर उद्योग खोली आफ्नो पेसा व्यवसाय गरी आइरहेको अवस्थामा मिति २०६९।११।०६ गतेदेखि मेरो मोबाइल नं. ९८५७८३१९६५ मा ९८१२८२११३४ बाट फोन गरी पूर्वमाओवादी लडाकु समूहको मान्छे हो । हाम्रो पार्टीले तपाइँसँग रू. ५,००,०००।- (पाँच लाख रूपैयाँ) लिने निर्णय भएको हुँदा तपाइँले हामीहरूलाई आर्थिक सहयोगबापत मागबमोजिमको रकम जति सक्दो छिटो उपलब्ध गराई दिनुहोस् भनी भन्दा मैले यति ठूलो रकम दिन सक्ने क्षमता छैन । तपाइँहरू माओवादी लडाकु हो भने मेरो उद्योगमा आउनुस् मैले अन्य पार्टीलाई पनि सहयोग गरेकै हो, मैले दिन सकेको सहयोग गरौंला भनी बताएको थिएँ । अर्को दिन निजले हाम्रो व्यवस्था के भयो  ? हामीले भनेको रकम दिने कि नदिने  ? तपाइँ पूर्वको मान्छे दाङ जिल्लामा आएर राम्रो पैसा कमाउनु भएको छ, हाम्रो पार्टीलार्इ भनेजतिको रकम दिनै पर्छ, नदिए तपाइँको ज्यानमा खतरा हुन सक्छ र तपाइँ अपहरणमा पर्नसक्नु हुन्छ । तपाइँको परिवारसमेत अपहरणमा पर्ने छन् भनी धम्की दिएको हुँदा म भयभित भएर बस्दै आएको थिएँ । वारदातको दिन काम विशेषले म रोल्पातर्फ मोटरसाइकलमा जाँदै गरेको अवस्थामा निजहरूले मलाई पछ्याउँदै गएका रहेछन् । घोराही नगरपालिका वडा नं. ७ स्थित बाह्रकुने दहको पश्चिम किनारातर्फ रहेको जंगलमा पुगेको अवस्थामा नाम थर वतन नखुलेका, मुखमा मास्क लगाएका व्यक्तिहरूले एकाएक मेरो मोटरसाइकल रोकी तँ सालेलाई फोन गरी रकम माग गर्ने हामीहरू हौं भनी मलाई नियन्त्रणमा लिई बन्धक बनाई यातना दिई मेरो साथमा भएको रू. ५०,०००।- (पचास हजार रूपैयाँ) लगेको र बाँकी रकम तुरून्त उपलब्ध गराउनु भनी छाडी दिएका थिए । मैले तत्काल घटनाको बारेमा मोबाइल फोन नं. सहित हुलिया निवेदन जिल्ला प्रहरी कार्यालयमा पेस गरेको थिएँ । हाल आएर अपराध गर्ने व्यक्तिहरूमध्ये माइक्रोस भन्‍ने प्रेमबहादुर वि.क.लाई प्रहरीबाट पक्राउ परेको भन्‍ने सुनेको हुँदा निज र अन्य पक्राउ पर्न बाँकी व्यक्तिहरूलाई अपहरण तथा शरीर बन्धक लिनेको महलबमोजिम हदैसम्मको सजाय गरी मबाट लिएको रकमसमेत निजहरूबाट दिलाई भराई पाउँ भन्‍ने बेहोराको उपेन्द्रराज बस्नेतको जाहेरी दरखास्त ।

मैले प्रकाश घर्तीले दिएको सिमकार्ड प्रयोग गरी जिल्ला दाङ, घोराही नगरपालिका वडा नं. ११ मा रहेको काठ उद्योगमा गएर काठ किन्‍ने निहुँमा मैले काठ उद्योगका साहुको फोन नं. मागी मैले फोनबाट रकम माग गरी रू.५०,०००।- (पचास हजार रूपैयाँ) लिने सहमति भएपछि मैले पैसा लिने स्थान दाङ घोराही नगरपालिका वडा नं. ७ बाह्रकुने दहतर्फ मेरा साथीहरू विजय नेपाली, प्रकाश घर्ती र दिपेश रोकालाई  पठाई म सो स्थानतर्फ नगई घोराहीदेखि ४/५ कि.मी. पूर्व रहेको चौपट्टामा गएर फोन गरी पैसा माग्न लगाएको 

हुँ । साथीहरूले पैसा निज उपेन्द्रराज बस्नेतबाट लिएर आई सबैजना लमहीमा भेट गरी मलाई प्रकाश घर्तीले रू. ५,०००।- (पाँच हजार रूपैयाँ) दिएको  थियो । मैले अन्य घोराहीको प्रयास हार्डवेयरलाई र देउखुरीको एउटा कुखुरा फाराममा पनि फोन गरेर पैसा माग गरेको थिएँ । निजहरूले मलाई पैसा दिएका थिएनन् भन्‍ने माइक्रोस भन्‍ने प्रेमबहादुर वि.क. ले मौकामा गरेको बयान ।

जिल्ला दाङ, घोराही नगरपालिका वडा नं. ११ स्थित काठ उद्योग वा साहु जाहेरवाला उपेन्द्रराज बस्नेतलाई को कसले के कसरी अपहरण गरी बन्धक बनाए, निजको साथबाट कति पैसा लिए मलाई केही थाहा छैन । मलाई फोन रेकर्ड सुनाउँदा प्रेमबहादुर वि.क.को आवाज जस्तो लाग्यो भन्‍नेसमेत बेहोराको स्वर्णिम भन्‍ने भीमबहादुर सुनारले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।

मिति २०६९।११।११ गते वारदातको समयमा म जिल्ला दाङ, घोराही नगरपालिका वडा नं. ११ मा रहेको लालबन्दी फर्निचर उद्योगमा थिएँ । उक्त उद्योगमा काम गर्ने भएकाले साहु उपेन्द्रराज बस्नेतको बारेमा सबै कुरा थाहा छ । निज उपेन्द्रराज बस्नेतलाई फोन गरेर रकम माग गरेको, मागबमोजिमको रकम नदिए अपहरण गर्ने बन्धक  बनाउने धम्की दिएको कारणबाट निज त्रसित भएका थिए । वारदातको दिन काम विशेषले रोल्पातर्फ जाने भनी जानुभएको 

थियो । निज बालार्इ दाङ घोराही नगरपालिका वडा नं. ७  स्थित बाह्रकुने दहस्थित नामथर वतन नखुलेका व्यक्तिहरूले मोटरसाइकल रोकी नियन्त्रणमा लिई सोही स्थान नजिकको जंगलमा लगी बन्धक बनाई आफूसँग भएको कामको लागि लिएको रू. ५०,०००।- (पचास हजार रूपैयाँ) दिई बाँकी रकम तत्काल उपलब्ध गराउने सहमति भएपछि निजहरूले अपहरणमुक्त गराएको भनी बाले बताएपछि थाहा पाएको थिएँ । वारदातको दिनदेखि निज झन् आतंकित भएर बस्नु भएको 

थियो । यसरी आफ्नो पेसा व्यवसाय गरी जीवनयापन गर्ने व्यक्तिहरूलाई फोन गरी रकम माग गर्ने धम्की दिने व्यक्तिहरूलाई कानूनबमोजिम हदैसम्मको कारबाही हुनपर्छ भनी रविन्द्र बुढाले गरेको घटना विवरण   कागज ।

मिति २०६९।११।११ वारदातको समयमा म जाहेरवाला बा भन्‍ने उपेन्द्रराज बस्नेतको टेक्टर चलाउने काममा थिएँ । वारदात हुनुभन्दा केही दिन अगाडिदेखि ९८१२८२११०२ र ९८१२८२११३४ बाट हामी पूर्वमाओवादी लडाकु हौं । तपाइँबाट रू.५,००,०००।– (पाँच लाख रूपैयाँ) लिने निर्णय भएको छ, नदिएमा तपाइँलाई खतरा हुनेछ । अपहरणमा पर्न  सक्ने ज्यान जानसक्ने भनी धम्की दिएको भनी बताउनु भएको थियो । यसैक्रममा जाहेरवाला काम विशेषले रोल्पातर्फ जाने क्रममा दाङ घोराही नगरपालिका वडा नं. ७ स्थित  बाह्रकुने दहनजिक पुगेको समयमा मुखमा मास्क लगाएका व्यक्तिहरूले बाको मोटरसाइकल रोकी जाहेरवाला बालाई अपहरण गरी लिई बन्धक बनाई मेरो साथमा भएको रकम दिएपछि बाँकी रकम जतिसक्दो छिटो उपलब्ध गराउने सर्तमा अपहरणमुक्त गरेको भनी बताएका 

थिए । अपहरणकारीहरूमा प्रेमबहादुर वि.क., भीमबहादुर सुनार, विजय नेपाली, प्रकाश घर्ती र दिपेश रोकासमेत हुन् भन्‍ने थाहा पाएको हुँ । निज अपहरणकारी व्यक्तिहरूलाई कानूनबमोजिम हदैसम्मको कारबाही गरी पीडितलाई न्याय दिनुपर्छ भन्‍ने बालकृष्ण चौधरी र मोहनसिंह घर्तीले गरेको घटना विवरण कागज ।

म जिल्ला दाङ, घोराही नगरपालिका वडा नं. ११ स्थित सडक विभागनजिक मैले हार्डवेयर पसल गरी बसेको छु । अपहरणकारीहरूले जिल्ला दाङ, घोराही नगरपालिका वडा नं. ११ भरतपुरमा रहेको बा भन्‍ने व्यक्तिलाई फोनबाट रकम माग गरेको र जाहेरवालालाई निजहरूले दाङ घोराही नगरपालिका वडा नं. ७ बाट अपहरण गरी बन्धक बनाई रू. ५०,०००।- (पचास हजार रूपैयाँ)  फिरौती लिई अपहरणमुक्त गरेको भन्‍ने सुनी थाहा पाएको हुँ । बालाई फोन गर्ने व्यक्तिहरू र मलाई फोन गर्ने व्यक्तिहरू पूर्वमाओवादी लडाकु समूह भनेको हुँदा निजहरू एउटै व्यक्ति हुन् । निजहरूले पेसा व्यवसाय गरी बस्ने मानिसलाई फोन गरी रकम माग गर्ने, अपहरण गर्ने र बन्धक बनाउने जस्ता कार्य गरेको हुँदा हाल पक्राउ परेका व्यक्तिहरू प्रेमबहादुर वि.क. र भीमबहादुर सुनारलाई कानूनबमोजिम हदैसम्मको कारबाही हुनुपर्छ भनी गिरिराज खड्काले गरेको घटना विवरण कागज ।

प्रतिवादीहरू प्रेमबहादुर वि.क., भीमबहादुर सुनार, विजय नेपाली, प्रकाश घर्ती र दिपेश रोकाले जाहेरवाला उपेन्द्रराज बस्नेतलाई अपहरण तथा शरीर बन्धक बनाउने कार्य गरेकाले मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिनेको महलको १ नं.  र २ नं.  विपरीतको कसुर गरेकोले निज प्रतिवादीहरूलाई सोही महलको ३ नं. बमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी नेपाल सरकारको अभियोगपत्र ।

मिति २०६९।११।०२ गते काठमाडौं गई ऐ. ७ गते घरमा गएको थिएँ । उक्त मिति र समयमा म आफ्नै घर रोल्पा भावाङमा नै छु । मिति २०६९।११।२५ मा मात्र दाङ आएको हुँ । मैले जाहेरवालालाई चिनेको पनि छैन र निजलाई अपहरण गरी रकम लिने काम गरेको छैन । को कसले जाहेरवालालाई अपहरण गरी के कति रकम माग गरी लिएका हुन् ? मलाई केही थाहा छैन भन्‍नेसमेत बेहोराको प्रतिवादी प्रेमबहादुर वि.क.ले अदालतमा गरेको बयान । 

मिति २०६९।११।११ गते म मेरो घरमा छु । उक्त घटनाको सम्बन्धमा मलाई केही थाहा नभएकोले मउपरको जाहेरी एवं कागजपत्रहरू झुट्टा हुन् । अरू कसैले गरेको अपराधमा मलाई फसाउने नियतले मउपर झुट्ठा मुद्दा चलाएका हुन् भन्‍नेसमेत बेहोराको प्रतिवादी भीमबहादुर पटेल सुनारले अदालतमा गरेको बयान । 

पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाल प्रतिवादीहरू प्रेमबहादुर वि.क. र भीमबहादुर पटेल सुनारलाई अ.बं. ४७ नं. बमोजिम तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नु र प्रतिवादी चुक्ता भइसकेको हुँदा वादी प्रतिवादीका साक्षी बुझी पेस गर्नु भन्‍नेसमेत बेहोराको मिति २०६९।१२।२९ को थुनछेक आदेश । 

दाङ देउखुरी जिल्ला अदालतको मिति २०६९।१२।२९ को बेरितको आदेश बदर गरी प्रतिवादीहरूलाई मुद्दाको पुर्पक्षको निमित्त थुनामा राखी कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट परेको निवेदनमा कैफियत प्रतिवेदन माग भई प्रतिवादीमध्येका प्रेमबहादुर वि.क.लाई अ.बं. ४७ नं. बमोजिम तारेखमा राखी मुद्दा पुर्पक्ष गर्ने गरी मिति २०६९।१२।२९ मा भएको थुनछेक आदेश बेरितको देखिँदा बदर गरिदिएको 

छ । निजलाई अ.बं. ११८(२) नं. बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने र अर्का प्रतिवादी भीमबहादुर पटेल सुनारको हकमा निजउपर किटानी जाहेरी नरहेको, निज मौकाको अनुसन्धानमा र अदालतमा भएको बयानमा समेत इन्कार रहेको देखिँदा निजलाई अ.बं. ४७ नं. बमोजिम तारेखमा राख्‍ने गरी भएको आदेश बेरितको नदेखिँदा परिवर्तन गरिरहनु परेन भन्‍नेसमेत बेहोराको मिति २०७०।०३।१३ मा पुनरावेदन अदालत तुलसीपुरबाट भएको आदेश । 

हामी पूर्वमाओवादी लडाकु हौं, हाम्रो पार्टीले तपाइँसँग रू. ३,००,०००।- (तीन लाख रूपैयाँ) लिने निर्णय गरेको छ, पैसा नदिए नराम्रो होला भनी फोनबाट धम्काएका हुन् । निज प्रतिवादीहरूले नै जाहेरवालालाई कब्जामा लिई रू. ५०,०००।- (पचास हजार रूपैयाँ) लुटी लिएका हुन् भन्‍नेसमेत बेहोराको प्रहरीमा कागज गर्ने गिरिराज खड्काले अदालतमा गरेको बकपत्र ।

यी प्रतिवादीहरूले मलाई पटकपटक फोनमार्फत ४/६ दिन अगाडिदेखि पाँच लाख मागी नदिए ज्यानसमेत लिने भनी धम्काई रहेका थिए । घोराही होलेरी सडक खण्डमा पर्ने बाह्रकुने दहनेरबाट मलाई अपहरण गरी जंगलतिर लगी प्रेमबहादुर वि.क., र भीमबहादुर पटेलसमेतका ५ जना लुटेराहरूले मेरो साथमा रहेको रू. ५०,०००।- लुटेर लगेका हुन् भन्‍नेसमेत बेहोराको जाहेरवाला उपेन्द्रराज बस्नेतले गरेको अदालतमा गरेको बकपत्र ।

प्रतिवादीहरूले मौकामा गरेको साबितीलाई जाहेरवालाको किटानी जाहेरी तथा जाहेरवालाले अदालतसमक्ष गरेको बकपत्रबाट र प्रहरीमा कागज गर्ने गिरिराज खड्काले निज प्रतिवादीहरूले नै जाहेरवालालाई कब्जामा लिई रू. ५०,०००।- (पचास हजार रूपैयाँ) लुटी लिएका हुन् भनी गरिदिएको बकपत्रसमेतबाट मौकाको साबिती बयान पुष्टि भई वारदातको तथ्य स्थापित हुन आएकोले प्रतिवादीहरूलाई अभियोगपत्रमा सजायको माग दाबी लिएको तर प्रतिवादी कायम नगरेका विजय नेपाली, प्रकाश घर्ती र दिपेश रोकाको हकमा सुरू अदालतबाट केही नबोलिएको र प्रतिवादीहरू प्रेमबहादुर वि.क. र भीमबहादुर पटेल सुनारलाई मुलुकी ऐन अपहरण तथा शरीर बन्धक लिनेको महलको १ र २ नं. बमोजिमको कसुर अपराधमा ऐ.ऐ.को ३ नं. बमोजिम जनही ८ (आठ) वर्ष कैद र रू. एक लाख जरिवानासमेत हुने ठहर्छ भन्‍ने बेहोराको मिति २०७०।०५।३० को सुरू दाङ देउखुरी जिल्ला अदालतको फैसला ।

हामी पुनरावेदक प्रतिवादीहरूउपर मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिनेको महलको १, २ नं. तथा ३ नं. समेतको सजायको मागदाबी लिई अभियोगपत्र दायर गरेकोमा पुनरावेदक प्रतिवादी म भीमबहादुर पटेल सुनारले मौकामा अधिकारप्राप्‍त अधिकारी तथा सुरू दाङ देउखुरी जिल्ला अदालतमा बयान गर्दा मैले जाहेरवालालाई अपहरण गर्ने तथा रूपैयाँ माग्ने कार्य गरेको छैन, को कसले कसरी निजलाई अपहरण गरी रूपैयाँ लिए मलाई थाहा छैन भनी आरोपित कसुरमा पूर्णतः इन्कार रही बयान गरेको छु भने पुनरावेदक प्रतिवादी म प्रेमबहादुर वि.क.ले सुरू दाङ देउखुरी जिल्ला अदालतमा बयान गर्दा मिति २०६९।११।०२ मा काठमाडौं गई ऐजन ७ गते घर फर्केको र वारदात मिति र समयमा म आफ्नै घर भावाङ रोल्पामा छु, फागुन महिनाको २५ गते मात्र दाङ आएको हुँ, मैले जाहेरवालालाई चिनेको पनि 

छैन । निजलाई अपहरण गरी रकम लिने काम गरेको छैन भनी आरोपित कसुरमा इन्कार रही बयान गरेको छु । हाम्रो अदालतको बयानलाई प्रमाणमा नलिई हामी प्रतिवादीलाई कसुरदार ठहर्‍याइएको छ । जबकी हामी पुनरावेदक प्रतिवादीहरूलाई विनाकारण मिति २०६९।११।२५ गतेका दिन दाङमा आई कोर्चावाङ्गी होटलमा बसेको अवस्थामा प्रहरीले पक्राउ गरी शारीरिक यातना दिई थुनामा राखेउपर हामीले यस पुनरावेदन अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेपछि मात्र सुरू अदालतमा म्याद थप गराइएको अवस्था रहेको छ । हामीलाई गैरकानूनी तवरले गिरफ्तार गरी हिरासतमा राखी हामीलाई शारीरिक यातना दिई आफैँ तयार पारेको बयानमा हामीलाई सहिछाप गर्न लगाइएको तथ्य हाम्रो निवेदनअनुसार भएको घा केस फारामबाट प्रमाणित भइरहेकोमा सोलाई नजर अन्दाज गरी प्रमाण ऐन, २०३१ को दफा ९(२) को देहाय २ विपरीत भएको बयानलाई प्रमाणमा ग्रहण गरिएको 

छ । प्रस्तुत मुद्दाको थुनछेक आदेश भएकै दिन हिमलाल बस्नेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी हामी पुनरावेदकहरू भएको डाँका चोरी मुद्दामा सुरू दाङ देउखुरी जिल्ला अदालतकै आदेशबमोजिम हामीहरू कारागारमा थुनामा रहेकोमा सुरू अदालतबाट प्रस्तुत मुद्दामा हामीलाई हाम्रा साक्षी उपस्थित गराउनका लागि सूचना तथा मौकासमेत नदिई कथित जाहेरवालालाई बकपत्र गराउँदा प्रमाण ऐन, २०३१ को दफा ४९(२), ५० अ.बं. १४३, १४६, १५६ नं.समेतको विपरीत गरी हामीलाई जिरह गर्ने अवसरबाट समेत वञ्चित गरी एकतर्फी रूपबाट भएको बकपत्रलाई प्रमाणमा ग्रहण गरी हामीलाई कसुरदार ठहर्‍याई भएको सुरू दाङ देउखुरी जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण भएकोले बदर उल्टी गरी झुट्ठा अभियोग दाबीबाट फुर्सद दिलाई पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादीहरू प्रेमबहादुर वि.क. र भीमबहादुर पटेल सुनारको पुनरावेदन अदालत तुलसीपुरमा दायर गरेको संयुक्त पुनरावेदनपत्र ।

दाङ देउखुरी जिल्ला अदालतको मिति २०७०।०५।३० गतेको फैसला प्रमाण मूल्याङ्कनको रोहमा विचारणीय देखिँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम पुनरावेदन सरकारी वकिल कार्यालय तुलसीपुरलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्‍ने पुनरावेदन अदालत तुलसीपुरको मिति २०७१।०२।१८ को आदेश । 

मुद्दा अनुसन्धानका अवस्थामा प्रतिवेदक प्रहरी नायव निरीक्षक सुरेन्द्रबहादुर स्वाँरले पेस गरेको कल डिटेलको मोबाइल नं. ९८१२८२११३४ मिसिलसंलग्न रहेको र कलडिटेलको मोबाइल नं. ९८१२८२११०२ को कसका नाममा दर्ता रजिस्टर भएको छ सोको जवाफ पुनरावेदन सरकारी वकिल कार्यालय तुलसीपुरमार्फत झिकाउनु भन्‍ने पुनरावेदन अदालत तुलसीपुरको मिति २०७१।११।१८ को आदेश । 

जाहेरवालाको हुलिया निवेदनमा मुखमा मास्क लगाएका मानिसहरूले एकाएक रोकी नियन्त्रणमा लिएको भनिएको छ भनेपछि प्रतिवादीहरूमध्ये माइक्रोस भन्‍ने प्रेमबहादुर वि.क. लाई प्रहरीले पक्राउ गरेको थाहा पाई सोपश्चात् मात्र जाहेरवालाले नाम नामेसी खुलाई प्रतिवादीका उपर किटानी जाहेरी दरखास्त दिएको देखिन्छ । यस्तो अवस्थामा जाहेरी अपराधको सूचनाको स्रोत मात्र हो । यसलाई मूल प्रमाणको रूपमा ग्रहण गर्न मिल्दैन भनी नन्दादेवी जोशी विरूद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा सिद्धान्त कायम भएको (ने.का.प. २०६९, अंक १, नि.नं. ८७६०) र पछिबाट परेको जाहेरी दरखास्तलाई समेत प्रमाण मूल्याङ्कनको रोहमा उच्च स्तरको प्रमाण मान्‍न मिल्दैन । यस्तो जाहेरीलाई After Thought Statement को संज्ञा दिएको जाहेरवालाले यसैको आधारमा गरेको बकपत्रलाई समेत सोहीबमोजिम हेर्नुपर्ने भनी जागेश्वर कमैत विरूद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा सिद्धान्त कायम भएको पाइन्छ (ने.का.प. २०६७, अंक १२, नि.न. ८५२५, पृष्ठ २१०१) अतः उल्लिखित नजिर सिद्धान्तसमेतको आधारमा प्रस्तुत मुद्दामा प्रतिवादीहरूका उपर परेको जाहेरी दरखास्त तथा जाहेरवालाले गरेको बकपत्रसमेतका प्रमाणहरू प्रतिवादीहरूउपरको कसुर कायम गर्न मिल्ने मजबुत र खम्बिर प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने अवस्था देखिएन । प्रतिवादीहरूले मौकामा साबित भई बयान गरेको आधारमा प्रस्तुत मुद्दामा सुरू अदालतबाट प्रतिवादीहरूउपरको कसुर कायम गरेतर्फ विचार गर्दा मौकाको साबितीलाई मात्र आधार मानी कसुर कायम गर्दा साबिती अन्य प्रमाणबाट पुष्टि हुनुपर्दछ । यसमा प्रतिवादीहरूले अदालतमा मौकाको साबिती खण्डन हुने गरी कसुर गरेको होइन भनी इन्कार रही बयान गरेका छन् भने मौकाको साबिती, प्रमाण ऐन, २०३१ को दफा ९(२), क, (२) प्रतिकूल भएको भनी म्याद थपको क्रममा प्रतिवादीहरूको घाँउजाँचसमेत गराएको देखिन्छ । यसबाट प्रतिवादीहरूको मौकाको साबिती निजहरूका इच्छाविपरीतको होइन होला भन्‍न मिल्ने देखिएन । यस्तोमा मौकाको साबिती ठोस एवं निश्चयात्मक प्रमाणबाट पुष्टि भएको पाइँदैन । पक्षले साक्षी उपस्थित गराउन पाउने तथा विपक्षीको साक्षी बकपत्रमा जिरह गर्न पाउने अधिकार पक्षको 

हुन्छ । यस्तो अधिकार स्वच्छ सुनुवाइ (Fair trail) को सिद्धान्तअन्तर्गत पर्दछ । यस्तो अवस्थामा स्वच्छ सुनुवाइको सिद्धान्तविपरीत प्रतिवादीहरूका साक्षी उपस्थित गराउने मौकासम्म नदिई भएको सुरू फैसला न्यायको रोहमा त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्लिखित सिद्धान्तसमेतबाट मनासिब एवं न्यायपूर्ण छ भनी भन्‍न मिलेन । फौजदारी मुद्दामा प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम कसुर प्रमाणित गर्ने भार वादीको हुन्छ । शंकारहित प्रमाणबाट अभियोग दाबीको कसुर प्रमाणित गर्न नसकेको खण्डमा शंकाको सुविधा स्वत: अभियुक्तले पाउँछ भन्‍ने फौजदारी न्यायको सिद्धान्तसमेतको परिप्रेक्ष्यमा प्रस्तुत मुद्दामा प्रतिवादीहरूउपर लगाइएको अभियोग दाबी शंकारहित प्रमाणबाट वादीले प्रमाणित गर्नसकेको नदेखिँदा सुरू दाङ देउखुरी जिल्ला अदालतबाट प्रतिवादीहरूलाई जनही ८ (आठ) वर्ष कैद तथा रू. १,००,०००।- (एक लाख रूपैयाँ) जरिवाना हुने ठहर्‍याई मिति २०७०।०५।३० मा भएको सुरू फैसला उल्टी भई पुनरावेदक प्रतिवादीहरू प्रेमबहादुर वि.क. तथा भीमबहादुर सुनारले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्‍ने पुनरावेदन अदालत तुलसीपुरको मिति २०७१।१२।२९ को फैसला । 

प्रतिवादीहरूले मिति २०६९।११।०६ गतेदेखि मेरो मोबाइल नं. ९८५७८३१९६५ मा ९८१२८२११३४ बाट फोन गरी पूर्वमाओवादी लडाकु समूहको मान्छे हो, हाम्रो पार्टीले रू. ५,००,०००।- (पाँच लाख रूपैयाँ) लिने निर्णय भएको हुँदा उक्त रकम दिनुहोस् नत्र भने तपाइँलाई अपहरण गर्‍यो भनी बारम्बार धम्की दिई रहेकोमा मिति २०६९।११।११ गते वारदातको दिन जिल्ला दाङ, घोराही नगरपालिका वडा नं. ७ बाह्रकुने दहको पश्चिम किनारातर्फको जंगलमा लगी रू. ५०,०००।- (पचास हजार रूपैयाँ) रकम लिई अन्य रकम पछि उपलब्ध गराउने सर्तमा छाडिदिएको भनी जाहेरी दिएको देखिन्छ । प्रतिवादी प्रेमबहादुर वि.क.ले अधिकारप्राप्‍त अधिकारीसमक्ष बयान गर्दा जाहेरवालासँग रकम माग गरेको र इन्कारी गरेपछि ठिक हुँदैन । त्यसको जिम्मेवारी आफैँ हुनुपर्छ भनेपछि रू. ५०,०००।- (पचास हजार रूपैयाँ) दिने सहमत भई रकम लिनको लागि जाहेरीमा उल्लिखित स्थानमा साथीहरूले लिएका र लमही बजारमा आउन भनी सबै त्यहीँ भेला भई रकम बाँडफाँट गरेको भनी कसुर गरेकोमा स्वीकार गरेकै छैन । मौकामा कागज गर्ने गिरीराज खड्काले समेत यी प्रतिवादीहरूले जाहेरवालालाई कब्जामा लिई रू. ५०,०००।- (पचास हजार रूपैयाँ) लुटी लगेका छन् भनी कागज गरिदिएका छन् भने अदालतमा उपस्थित भई मौकाको बेहोरा समर्थन गर्ने गरी बकपत्र गरिदिएका छन् । यस्तै जाहेरवालाले अदालतमा उपस्थित भई जाहेरी बेहोरा समर्थन गर्दै यिनै प्रतिवादीहरूले नै अपहरण गरी रू. ५०,०००।- (पचास हजार रूपैयाँ) लुटी लगेका छन् भनी बकपत्र गरिदिएका छन् । यसरी मिसिल संलग्न कागज प्रमाणबाट यी प्रतिवादीहरूले जाहेरवालालाई अपहरण गरी निजसँग भएको रकमसमेत लुटी लगेको पुष्टि हुँदाहुँदै सुरू फैसला उल्टी गर्ने गरी भएको फैसला त्रुटिपूर्ण रहेको छ ।

प्रतिवादीले अदालतसमक्ष उपस्थित भई कसुर गरेकोमा इन्कार गरे तापनि उक्त इन्कारी बयान वस्तुनिष्ठरूपमा पुष्टि गर्नसकेको देखिँदैन । प्रतिवादी भीमबहादुर पटेल सुनारले जाहेरवाला र प्रतिवादीबिच भएको संवादको CD मा भएको आवाज प्रेमबहादुर वि.क.को आवाज जस्तो भनी सनाखत गरी बयान गरेको देखिन्छ । प्रेमबहादुर वि.क.ले समेत उक्त भिडियो रेकर्डको स्वर आफ्नै भएको भनी सनाखतसमेत गरेका छन् । जाहेरवालाले दिएको आफ्नो नं. र प्रतिवादीको फोन आएको भन्‍ने नं.मा कुरा भएको कल डिटेलबाट समेत पुष्टि भइरहेको छ । यसरी मिसिल संलग्‍न कागज प्रमाणबाट यी प्रतिवादीहरूले जोहरवाला उपेन्द्रराज बस्नेतलाई अपहरण गरी लगी बन्धक बनाएको पुष्टि हुँदाहुँदै उल्टी हुने गरी भएको फैसला मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिने महलको १, २ तथा ३ को प्रयोग र पालनामा त्रुटिपूर्ण रहेको हुँदा सुरू दाङ देउखुरी जिल्ला अदालतको फैसला बदर गरी प्रतिवादीहरूलाई सफाइ दिने ठहर गरेको पुनरावेदन अदालत, तुलसीपुरको फैसला बदर गरी निज प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

“यसमा प्रतिवादी प्रेम वि.क.ले अधिकारप्राप्‍त अधिकारीसमक्ष कसुरमा साबिती रही बयान गरेका छन् । जाहेरवालाको मोबाइलमा फोन गरेको Voice Record गरेको सो अडियोसमेत पेस गरेको देखिन्छ साथै सो अडियो रेकर्ड लेखबद्ध गरिएकोमा सो रेकर्ड मेरो हो भनी निज प्रतिवादीले मौकाको बयानमा स्वीकारेका छन् । भिडियो अडियो प्रमाणमा लिने सम्बन्धमा यस अदालतबाट प्रतिपादित न्यायिक सिद्धान्त (ने.का.प. २०७० अंक ६ नि.नं. ९०२२ पृ. ७७७) प्रतिपादन भएको सन्दर्भमा समेत अडियो प्रमाणलाई वैधानिकता नदिने भनी आरोपित कसुरबाट निज प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको फैसला प्रमाण मूल्याङ्कनको रोहबाट फरक पर्नसक्ने भएबाट अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नु” भन्‍ने यस अदालतको मिति २०७४।११।१६ को आदेश । 

ठहर खण्ड

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत पुनरावेदन पत्रसहितको मिसिल अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री खेमराज भट्टले प्रस्तुत मुद्दामा घटना भएकै दिन जाहेरवालाले निवेदन प्रहरीमा दिएको अवस्था छ । प्रतिवादी प्रेमबहादुर वि.क. मौकामा साबिती रहेको निजको बयान बेहोराबाट देखिएको र सो कुरालाई Call detailed बाट पनि पुष्टि भएको देखिन आएको अवस्थामा प्रतिवादीहरू घटनामा संलग्न रहेको हुँदा यी प्रतिवादीहरूले अभियोग दाबीबमोजिमको कसुर गरेकाले निजहरूलाई सुरू अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ । पुनरावेदन अदालत तुलसीपुरबाट भएको फैसला त्रुटिपूर्ण भएकाले सो फैसला उल्टी गरी सुरू अदालतको फैसला सदर कायम हुनुपर्छ भन्‍ने बहस प्रस्तुत हुन आएको छ ।

प्रत्यर्थी प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान् वैतनिक अधिवक्ता श्री इन्दिरा सिलवालले सर्वप्रथमतः जाहेरीमा यी प्रतिवादीहरूको नाम उल्लेख नै छैन । यी प्रतिवादीहरूउपरको किटानी जाहेरी प्रतिवादीहरू पक्राउ परेको १४ दिनपछि मात्र परेको अवस्था छ । प्रस्तुत वारदातको घटनालाई पुष्टि हुने भनेको एक मात्र घा जाँच केस फाराम रहेको र सो घा जाँच केस फारामले मात्र यी प्रतिवादी दोषी हुन् भनी भन्‍न सकिने स्थिति छैन । जाहेरीलाई मात्र प्रमाणमा लिन मिल्ने होइन । CD को Voice Record लाई वैज्ञानिक परीक्षण हुनुपर्नेमा सोलाई परीक्षण नै नगरी अर्का प्रतिवादी भीमबहादुर पटेल सुनारलाई सुनाएको अवस्था छ, सो पनि कानूनतः मिल्ने होइन । घटनास्थल मुचुल्कामा स्थानीयलाई रोहवरमा नराखी प्रहरीलाई नै राखिएको हुँदा सो मिल्ने पनि होइन । मौकाको साबिती बयान प्रमाण ऐन, २०३१ को दफा ९(२)(क) बमोजिम प्रमाणमा लिन मिल्दैन । प्रतिवादीहरूको साबिती बयान अन्य कुनै प्रमाणबाट पुष्टि भएको नहुँदा निज प्रतिवादीहरू प्रेमबहादुर वि.क. र भीमबहादुर पटेल सुनारले अभियोग दाबीबाट सफाइ पाउने ठहर्‍याई पुनरावेदन अदालत तुलसीपुरबाट भएको फैसला सदर कायम हुनुपर्छ भन्‍ने बहस प्रस्तुत हुन आएको छ ।

प्रस्तुत मुद्दामा पुनरावेदक वादी र प्रत्यर्थी प्रतिवादीहरूतर्फबाट उपस्थित उपन्यायाधिवक्ता तथा वैतनिक अधिवक्ताले आआफ्नो पक्षको तर्फबाट प्रस्तुत गर्नुभएको उल्लिखित बहस सुनी पुनरावेदन अदालत तुलसीपुरबाट मिति २०७१।१२।२९ मा भएको फैसला मिले नमिलेको के हो ? पुनरावेदन जिकिरबमोजिम हुनुपर्ने हो वा होइन ? भन्‍ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, फौजदारी मुद्दामा प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम कसुर प्रमाणित गर्ने भार वादीको हुन्छ । शंकारहित प्रमाणबाट अभियोग दाबीको कसुर प्रमाणित गर्न नसकेको खण्डमा शंकाको सुविधा स्वत: अभियुक्तले पाउँदछ भन्‍ने फौजदारी न्यायको सिद्धान्तसमेतको परिप्रेक्ष्यमा प्रस्तुत मुद्दामा प्रतिवादीहरूउपर लगाइएको अभियोग दाबी शंकारहित प्रमाणबाट वादीले प्रमाणित गर्न सकेको नदेखिँदा सुरू दाङ देउखुरी जिल्ला अदालतबाट प्रतिवादीहरूलाई जनही ८ (आठ) वर्ष कैद तथा रू.१,००,०००।- (एक लाख रूपैयाँ) जरिवाना हुने ठहर्‍याई मिति २०७०।०५।३० मा भएको सुरू अदालतको फैसला उल्टी भई प्रतिवादीहरू प्रेमबहादुर वि.क. तथा भीमबहादुर सुनारले अभियोग दाबीबाट सफाइ पाउने ठहर्‍याई पुनरावेदन अदालत तुलसीपुरबाट भएको फैसलामा चित्त नबुझाई नेपाल सरकारका तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।

३. प्रतिवादीले अदालतसमक्ष उपस्थित भई कसुर गरेकोमा इन्कार गरे  तापनि उक्त इन्कारी बयान वस्तुनिष्ठरूपमा पुष्टि गर्नसकेको देखिँदैन । प्रतिवादी भीमबहादुर पटेल सुनारले जाहेरवाला र प्रतिवादीबिच भएको संवादको CD मा भएको आवाज प्रेमबहादुर वि.क.को आवाजजस्तो भनी सनाखत गरी बयान गरेको देखिन्छ । प्रेमबहादुर वि.क.ले समेत उक्त भिडियो रेकर्डको स्वर आफ्नै भएको भनी सनाखतसमेत गरेका छन् । जाहेरवालाले दिएको आफ्नो मोबाइल नं. र प्रतिवादीको फोन आएको भन्‍ने नं.मा कुरा भएको कल डिटेलबाट समेत पुष्टि भइरहेको छ । यसरी मिसिल संलग्‍न कागज प्रमाणबाट यी प्रतिवादीहरूले जाहेरवाला उपेन्द्रराज बस्नेतलाई अपहरण गरी लगी बन्धक बनाएको पुष्टि हुँदाहुँदै पुनरावेदन अदालत तुलसीपुरबाट प्रतिवादीहरूलाई सफाइ दिने ठहर गरेको फैसला उल्टी गरी निज प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर रहेको पाइयो ।

४. अब, वादी नेपाल सरकारको उल्लिखित पुनरावेदन जिकिर रहेतर्फ हेर्दा, जाहेरवालाले सुरूमा हुलिया निवेदनमा आफू मोटरसाइकलबाट रोल्पातर्फ जाँदै गरेको अवस्थामा जिल्ला दाङ, घोराही नगरपालिका वडा नं. ७ स्थित बाह्रकुने दहको पश्चिम किनारातर्फ मुखमा मास्क लगाएका व्यक्तिहरूले एकाएक मेरो मोटरसाइकल रोकी मलाई नियन्त्रणमा लिई नजिक जंगलमा लगी हामी पूर्वमाओवादी लडाकु हौं, हामीहरूले तपाँइबाट रू. ५,००,०००।– (पाँच लाख रूपैयाँ) लिने निर्णय भएको छ भनी तत्काल मसँग भएको रू. ५०,०००।- (पचास हजार रूपैयाँ) लिएका र बाँकी रकमसमेत तत्काल दिने सहमतिमा निजहरूको पन्जाबाट मुक्त भएको भन्‍ने बेहोरा उल्लेख गरी प्रहरीमा निवेदन दिएको देखिन्छ । उल्लिखित बेहोराको निवेदन दिएपछि मात्र यी प्रतिवादीहरू पक्राउ परेको र पछि दिएको जाहेरी दरखास्तमा निज प्रतिवादीहरू प्रेमबहादुर वि.क. र भीमबहादुर पटेल सुनारको नाम नामेसी उल्लेख भएको पाइन्छ । 

५. प्रस्तुत मुद्दाका जाहेरवाला उपेन्द्रराज बस्नेत दिउँसोको समयमा दाङ घोराहीबाट रोल्पा जाँदै गर्दाको अवस्थामा बाह्रकुने दह नजिक अपहरणमा पर्दा मास्क लगाएका ४/५ जना व्यक्तिमध्ये निजको मोबाइल नं. ९८५७८३१९६५ मा फोन गर्ने यिनै  प्रतिवादीहरू हुन् भनी यकिनसाथ तत्काल कहीँकतै उल्लेख गरेको देखिँदैन । निजको मोबाइलमा नं. ९८१२८२११०२  र  ९८१२८२११३४ बाट फोन आएको भनिएकोमा उल्लिखित  मोबाइल नं.हरू निज प्रतिवादीहरूको नाममा दर्ता रहेभएको प्रमाण देखिँदैन । यस स्थितिमा जाहेरवालाले दिएको सुरू हुलिया उजुरी तथा जाहेरी दरखास्तको बेहोरामा एकरूपता देखिन आउँदैन । उक्त जाहेरी दरखास्तको बेहोरा ठोस प्रमाणहरूबाट पुष्टि भएको भन्‍न पनि मिलेन । यसरी जाहेरवालाको सुरू जाहेरी नै प्रमाणबाट पुष्टि हुन नसकेको अवस्थामा निज जाहेरवालाको बकपत्रलाई समेत प्रतिवादीहरूका विरूद्धमा अकाट्‍य प्रमाण हुने भनी मान्‍न सक्ने अवस्थासमेत देखिन आएन । 

६. अनुसन्धानको क्रममा कागज गर्ने गिरिराज खड्काको भनाइलाई हेर्दा निजले अदालतमा गरेको बकपत्रबाट जाहेरवालालाई र आफूलाई फोन गर्ने व्यक्तिहरू पूर्वमाओवादी लडाकुको भूमिगत समूहका हौं भनी भनेको हुँदा निजहरू एउटै व्यक्ति हुनुपर्दछ भनी अनुमान र अड्कलको आधारमा मौकामा र अदालतमा गरेको बकपत्रबाट देखिन आएको छ । यसरी अपहरण तथा शरीर बन्धक जस्तो गम्भीर  फौजदारी कसुर अपराधमा अनुमान, अड्कल र शंकाको भरमा प्रतिवादीहरूलाई कसुरदार कायम गरी सजाय गर्दा फौजदारी न्याय मर्न जाने हुन्छ । न्याय गरेर मात्र हुँदैन, न्याय परेको पनि देखिनु पर्दछ भन्‍ने न्यायको सर्वमान्य सिद्धान्त रही आएको छ ।

७. प्रस्तुत मुद्दामा सुरू उजुरी नै शंकाको भरमा दिएको, स्वयं जाहेरवालाले मुखमा पट्टी लगाएर आएका व्यक्तिहरूले आफूलाई अपहरण गरेको भनी रू.५०,०००।- (पचास हजार रूपैयाँ) तत्काल लिई बाँकी रकम पछि दिने सहमति भएको भनी उजुरी तथा जाहेरीमा उल्लेख गरेको अवस्था छ भने अदालतमा बकपत्र गर्दा रू.५०,०००।- (पचास हजार रूपैयाँ) प्रतिवादीहरूले लुटेर लिएका हुन् भनी भनेबाट पनि निज जाहेरवालाको भनाइ आफैँमा विरोधाभासपूर्ण रहेको देखिन्छ । यसरी एकातिर पीडित जाहेरवालाले प्रतिवादीहरूलाई यकिनसाथ ठम्याउन सकेको अवस्था देखिँदैन भने अर्कोतिर प्रहरीले प्रतिवादीहरूलाई पक्राउ गरिसकेपश्चात् मात्र जाहेरी दिएको अवस्था छ । जाहेरवाला स्वयंले आफू र प्रतिवादीहरूबिच टेलिफोन वार्ता भएको भनिएको टेलिफोन वार्ताको CD समेत पेस गरेको देखिन्छ । सो CD को वैधानिक मान्यता हुने कुनै विधिसम्मत तथा वैज्ञानिक परीक्षण हुन सकेको अवस्था छैन । यस स्थितिमा प्रस्तुत मुद्दामा उक्त CD लाई प्रमाणको रूपमा ग्रहण गर्नसमेत मिल्ने देखिन आएन ।

८. वारदातको प्रकृति हेर्दा, पूर्वमाओवादी लडाकुहरूले जाहेरवालासँग रू. ५,००,०००।- (पाँच लाख रूपैयाँ) मागेका र आफू रोल्पातर्फ जाँदै गर्दा मुखमा पट्टी बाँधेको व्यक्तिले जाहेरवालासँग बाटोमा साथमा रहेको रू. ५०,०००।- (पचास हजार रूपैयाँ) लगी अन्य रकम पछि दिने भनी छाडेको भन्‍ने जाहेरवालाको भनाइ रहेको छ । यसबाट जाहेरवालासँग फोनबाट रकमहरू माग गरे पनि जाहेरवाला अपहरणमा परी कतै एकान्त स्थानमा लगी बाँधछाद गरेर, आँखामा पट्टी बाँधेर, यातना दिएर जाहेरवालाबाट आफन्तसँग मोबाइल वा फोनबाट कुरा गर्न लगाएर रकमहरू माग गरेको र लगेर बुझाएको भन्‍ने अवस्था देखिँदैन । जाहेरवालासँग रू. ५,००,०००।- (पाँच लाख रूपैयाँ) मागेको समयमा निजसँग भेटी कुनै कागज एवं रसिद दिइएको अवस्थासमेत छैन । जाहेरवालाले आफूलाई बाटोमा भेटेपछि साथमा रहेको रू. ५०,०००।- (पचास हजार रूपैयाँ) लगेको र अन्य रकम पछि दिनुपर्ने भन्‍ने भनाइ रहेको छ । उक्त पहिलो भेटपछि अन्य रकम यी जाहेरवालासँग मागेको सम्बन्धमा पछि फेरि फोन भए नभएको तथ्य केही पनि खुल्दैन । प्रतिवादीले रकमको लागि अपहरण गरी पीडितलाई एकान्त ठाउँमा लगी आफ्नो कब्जामा राखी साथमा भएको रकम लगी अन्य रकमको सम्बन्धमा सर्त राखी छाडेको अवस्था पनि छैन । व्यक्तिलाई अपहरण गरेपछि साथमा भएको रकम लिने र बाँकी अरू रकम पछि दिनुपर्ने भन्‍ने सर्तमा कसैलाई छाडिने हुन्छ भन्‍ने कुरालाई नै पत्यारलायक मान्‍न सकिँदैन । व्यक्ति कसैको अपहरण र कब्जामा परिसकेपछि उसले मागेअनुसार वा सहमति भएअनुसारको फिरौती रकम अपहरण गर्ने भन्‍नेको साथमा नपुगेसम्म पछि दिने बुझाउने भन्‍ने सर्तमा छाडिने र छुट्ने भन्‍ने हुन सक्दैन ।  

९. यसै सन्दर्भमा यस अदालतबाट ने.का.प. २०६९,  अङ्क १, निर्णय नं. ८७६०, नन्दादेवी जोशी विरूद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा “जाहेरी अपराधको सूचनाको स्रोत मात्र हो । यसलाई मूल प्रमाणको रूपमा ग्रहण गर्न मिल्दैन” भनी र ने.का.प. २०६७, अंक १२, नि.नं. ८५२५, जागेश्वर कमैत विरूद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा “पछिबाट परेको जाहेरी दरखास्तलाई समेत प्रमाण मूल्याङ्कनको रोहमा उच्चस्तरको प्रमाण मान्‍न मिल्दैन । यस्तो जाहेरीलाई After Thought Statement को संज्ञा दिएको जाहेरवालाले यसैको आधारमा गरेको बकपत्रलाई समेत सोहीबमोजिम हेर्नुपर्ने” भनी सिद्धान्तसमेत प्रतिपादन भएको    पाइन्छ ।

१०. उपर्युक्त प्रतिपादित सिद्धान्तलाई 

चिरफार गरी हेर्दा, जाहेरवालाले मौकामा प्रतिवादीहरूलाई चिनेर किटानी जाहेरी दिएको अवस्था छैन । मुखमा पट्टी बाँधेका व्यक्तिहरूले आफूसँग भएको रकम लुटे भनी जाहेरीमा उल्लेख गरिएको छ । पछि दिएको जाहेरीमा यी प्रतिवादीहरूले आफ्‍नो मोटरसाइकल रोकी आफ्‍नो साथमा भएको रकम पनि लुटे र अरू रकम पनि पछि दिनुपर्छ भनी सर्त राखी छाडी गए भन्‍ने उल्लेख छ । यसरी यस्तो दुइवटा जाहेरी किन र कसरी पर्ने गर्छन् ? र यस्ता जाहेरीलाई कस्तो प्रमाणको रूपमा कसरी लिनु पर्दछ ? भनी हाम्रो अदालतबाट धेरै सिद्धान्तहरू प्रतिपादन भएका छन् । ती प्रतिपादित सिद्धान्तहरूमा मुख्यतः जाहेरी भनेको अपराधको सूचना मात्र हो । यसले मुख्य एवं प्रमुख प्रमाणको रूपमा स्थान ग्रहण गर्न सक्दैन । ढिलो गरी र पछि दोस्रो पटक दिएको जाहेरी सोच विचार (after thought) गरेर दिइने हुँदा यसलाई पनि मुख्य प्रमाणको रूपमा लिन मिल्दैन भन्‍ने रहेका छन् । जाहेरी मुख्यतः अपराधको सूचना मात्र हो, कि ? यसलाई केही हदसम्म प्रमाणको रूपमा लिनुपर्छ ? यदि लिनु पर्दछ भने कुन हदसम्म ? र कस्तो अवस्थामा लिनु पर्दछ ? भनी हेर्दा, प्रारम्भमा त जाहेरीलाई कानूनी कारबाहीलाई अगाडि बढाउने अपराधको सूचनाको रूपमा नै लिनु पर्दछ । जाहेरी यदि चश्मदिद वा प्रत्यक्षदर्शी र घटनाबाट पीडित व्यक्तिबाट नै दिइएको र सो तथ्यपरक छ, पूर्वाग्रही, रिसइवी एवं बदलाको  भावनाले प्रेरित छैन र अन्य स्वतन्त्र प्रमाणहरूसँग पनि सामन्जस्यता राख्दछ भने त्यस्तो जाहेरीलाई अदालती प्रक्रियाबाट परीक्षण भएपछि त्यसलाई स्वाभाविकरूपमा प्रमाणको मूल्याङ्‍कनका सिद्धान्तको आधारमा प्रमाणमा लिन सकिने हुन्छ । कतिपय अवस्थामा तत्कालै वारदातको बारेमा सत्य तथ्य कुरा केही पनि थाहा हुन नसकी वारदातको बारेमा मात्र जाहेरी दिने गरिन्छ, यो हदसम्मको जाहेरीलाई पहिलो सूचना (first information) को रूपमा लिने गरिन्छ । वारदात घट्दाको समयदेखि नै वारदातको पृष्ठभूमि, प्रकृति र त्यसको पीडित व्यक्तिसँगको कारण र सम्बन्धलाई जोडेर सूक्ष्म ढंगले अनुसन्धानकर्ताले अनुसन्धान गरिरहेको हुन्छ । त्यस आधारमा केही तथ्यको जानकारी हुन आउँछ । त्यस आधारमा वारदातको केही दिनपछि अर्को किटानी जाहेरी पर्न जान्छ । यसप्रकार अघि र पछिको जाहेरीबिच कसुरदारको किटानी नाम र संख्यामा पनि केही फरक परेको पनि हुन सक्छ । यस्तो अवस्थामा दोस्रो वा ढिलो गरी परेको जाहेरीलाई सोच विचार गरी (after thought) दिइएको जाहेरी भन्‍ने गरिन्छ । यसलाई त्यसरी मात्र नहेरी वारदातको सम्बन्धमा अनुसन्धान सुरू भएपछि खुल्न आएका केही तथ्यको आधारमा दिइएको पछिल्लो वा केही दिनपछिको जाहेरीलाई सोच विचार गरेर (after thought) का रूपमा दिइएको जाहेरी भनी हाल्न मिल्दैन । यसरी पछि दिइएको वा दोस्रो जाहेरी वारदात र तथ्यको नजिक छ, किटानी छ, प्रतिवादीहरूको बयान पनि वारदातसँग नजिक छ, त्यसलाई भौतिक र परीक्षण प्रतिवेदन जस्ता अन्य स्वतन्त्र प्रमाणहरूले पनि समर्थन गर्दछ र जाहेरवाला स्वयंले तथ्य पुष्टि हुने गरेर अदालतमा आई किटानी बकपत्र गरी दिन्छन् भने त्यस्तो जाहेरीलाई “घटनाको सूचना” र ढिलो गरिदिएको वा दोस्रो जाहेरीलाई “सोच विचार गरी” (after thought) पूर्वाग्रह राखी दिइएको जाहेरीको कोटीमा राखेर अन्तिम मूल्याङ्‍कन गरी हाल्न मिल्दैन । प्रमाणको स्थान ग्रहण गर्ने हदसम्म अन्य स्वतन्त्र प्रमाणहरूले जाहेरीलाई पुष्टि गरेमा त्यसलाई प्रमाणमा लिनुपर्ने हुन्छ । त्यस्तो जाहेरीलाई विलकुलै निरर्थक छ भनी प्रमाणको रूपमा अनदेखा गरी हाल्नु हुँदैन ।

११. यसरी उल्लिखित नजिर सिद्धान्तसमेतको आधारमा प्रस्तुत मुद्दामा प्रतिवादीहरूका उपर परेको जाहेरी दरखास्त तथा जाहेरवालाले गरेको बकपत्रलाई हेर्दा घटनाबाट पीडित जाहेरवालाले नै मौकामा दिएको जाहेरीमा नचिनेका मुखमा मुकुन्डो लगाएका व्यक्तिहरूले आफूबाट रूपैयाँ लुटी लगे भनेका छन् भने पछि प्रतिवादीहरूका विरूद्ध किटानी जाहेरी दिए पनि जाहेरीको बेहोरामा नै प्रतिवादीहरूले जाहेरवालाको साथमा रहेको  रू. ५०,०००।- (पचास हजार रूपैयाँ) लुटी लगे र अन्य बाँकी रकम पछि दिनुपर्छ भन्‍ने सर्तमा छाडे भनिएको छ । उक्त तथ्य पत्यारलायक नहुनुको साथै जाहेरवालालाई अपहरण गरी बन्धक बनाएको अवस्था नहुँदा ती प्रमाणहरू प्रतिवादीहरूउपरको कसुर कायम गर्न मिल्ने खम्बिर र बलियो प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने अवस्था देखिन आएन ।

१२. यसरी प्रतिवादीमध्येका प्रेमबहादुर वि.क.ले अधिकारप्राप्‍त अधिकारीसमक्ष साबिती रही बयान गरेको भए पनि निजले अदालतमा कसुरमा इन्कार रही बयान गरेको, अर्का प्रतिवादी भीमबहादुर पटेल सुनारले मौकामा र अदालतमा समेत कसुरमा इन्कार रही बयान गरेको र निज प्रतिवादीहरूको सो बयानलाई वादी पक्षबाट beyond reasonable doubt prove गर्न सकेको स्थिति नदेखिएको, जाहेरवालाले जाहेरी दरखास्त र आफ्नो बकपत्रमा समेत यी प्रतिवादीहरूलाई यकिनसाथ कसुरदार भनी ठम्याउन नसकेको, मिसिल संलग्न CD को वैधानिक निकायबाट समेत परीक्षण गरेको नदेखिएको आधारहरूमा यी प्रतिवादीहरूले अभियोग दाबीअनुसारको कसुर गरेको भन्‍ने तथ्य स्थापित हुन नआएबाट निज प्रतिवादीहरू कसुरदार हुन् भन्‍ने देखिन नआएकाले पुनरावेदन अदालत तुलसीपुरबाट भएको फैसलालाई अन्यथा गर्नुपर्ने देखिएन । 

१३. अतः उल्लिखित विवेचित आधार, कारण तथा प्रतिपादित सिद्धान्तसमेतबाट प्रतिवादीहरू प्रेमबहादुर वि.क. र भीमबहादुर पटेल सुनारले अभियोग दाबीबाट सफाइ पाउने ठहर्‍याई पुनरावेदन अदालत तुलसीपुरबाट मिति २०७१।१२।२९ मा भएको फैसला सदर हुने ठहर्छ । प्रतिवादीहरूलाई सुरू अभियोग दाबीबमोजिम सजाय गरी पुनरावेदन अदालतको फैसला बदर गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.हरिप्रसाद फुयाल

 

इजलास अधिकृत : मिनबहादुर कुँवर

इति संवत् २०७६ साल पुस २ गते रोज ४ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु