निर्णय नं. ४४११ - जग्गा दर्ता बदर गरी दर्ता गरी पाउँ

निर्णय नं. ४४११ ने.का.प. २०४८ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
सम्वत् २०४५ सालको दे.पु.नं. ६७४
फैसला भएको मिति : २०४८।१०।२० मा
पुनरावेदक/प्रतिवादी: ग.अं. तनहु जिल्ला भिमाद गा.पं. वार्ड नं. ४ नक्कल बिर्ता बस्ने घनश्याम सुवेदीको मु.स. गर्ने रुकमाया सुवेदीसमेत
विरुद्ध (साविक पेज नं. ७३८)
विपक्षी/वादी: ऐ.ऐ.अरुणोदय गा.पं. वार्ड नं. ५ निधिनी गैरा बस्ने प्रेम नारायण सुवेदीसमेत
मुद्दा : जग्गा दर्ता बदर गरी दर्ता गरी पाउँ
(१) मुद्दामा संलग्न पक्षले मिलापत्र गर्दा आफ्नो हकदावी र प्रतिवादी जिकिर कायम राख्ने, संशोधन गर्ने वा परित्याग गर्ने इत्यादि निश्चित र लेखबद्ध अभिव्यक्त गरेको छ, यसर्थ के कस्तो कुरामा वादी दावी कायम राखेको छ वा के कस्तो र के कस्तो हदसम्म वादीले दावी छाडेको छ भन्ने कुरामा मिलापत्रको लिखित नै सर्वाधिक महत्वको र आधिकारिक लिखत हुन आउँछ, सो लिखतमा लेखिएको किल्लालाई अघि परेको मुद्दाबाट निर्धारण गर्न खोज्नु मिलापत्र हुँदाको अवस्था सम्बन्धित पक्षहरुको अभिप्राय वा उद्देश्य अनुकूल हुन्छ भन्न नसकिने ।
(प्रकरण नं. २१ र २२)
पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेव ढुंगाना, विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
विपक्षी, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर, विद्वान अधिवक्ता श्री सम्भु थापा, विद्वान अधिवक्ता श्री अनुपराज शर्मा
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ग) बमोजिम पुनरावेदनको अनुमति प्राप्त भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य जिकिर एवं निर्णय फैसला यस प्रकार छ ।
२. हाम्रा पिता नैनदत्त समेतका नाउँमा दर्ता भएको खेत मुरी ।४० मध्ये पूर्व यही दर्ता मध्येको हाम्रो खेत पश्चिम चुडामणि गोपिकृष्ण समेतको बिर्ता खेत, उत्तर भरुवा खोला, दक्षिण अंशियार लोकनाथको खेत यति ४ किल्ला भित्रको खेत मुरी ।१।१० मा यिनै यज्ञनारायण समेतले खिचोला गरी बाली लुटपिट गरेमा हामीहरुले स्याङजा जिल्ला अदालतमा नालेस दिई उत्तर कापे कुला देखि पूर्व होमनाथ तिमिल्सीना समेतको बिर्ता पाखो र अर्गली कुलाको पानी झर्ने मुहान देखि पश्चिमको जग्गा प्र.चुडामणि, यज्ञनारायण, गोपीकृष्णले खानलाई हामी वादीले दावी छोडी त्यस देखि पूर्व पट्टिको खेत १।१० हामी वादीले भोग चलन गर्ने गरी २०३२।७।१३ मा मिलापत्र भएको दर्तावाला पिताजीको शेषपछि हामीहरुको हक भोगको उक्त १।१० समेत जिडी बगुवा खेत ।४० मध्ये खेत मुरी ।१३।१० उक्त १।१० खेत देखि पूर्व तर्फ भएको सो मध्येपूर्व गुरुप्रसाद समेतका ४ किल्ला भित्रको जिडी बगुवा खेत ।८।१० का जग्गालाई राङरुङ वर पिपल र भिमाद गा.पं. वार्ड नं. ४ न.नं. कि.नं. ६५ हेमराज सुवेदी कि.नं. ६८ को करुणानिधि, कविराज सुवेदी कि.नं. ६९ विश्वराजरामचन्द्र कि.नं. ७०, डण्डपाणि कि.नं. ७१, यज्ञनारायण, पूर्णचन्द्र्, देवीनाथ समेतका नाममा सर्भे नापीमा कित्ताकाट गराएछन् । नापीमा उजूरी निवेदन परेकोमा ६ नं. नापी गोश्वाराबाट उक्त जग्गाहरु हेमराज, रामचन्द्र समेतका १५ जनाका नाउँमा अस्थाई दर्ता जनाई दिने गरी पर्चा भएको चित्त नबुझ्नेले अदालतमा नालेश दिन जानु भनी ०३४।९।६ को पत्र ०३४।१२।२७ मा हामीहरुले पाएको र २०३४।१२ (साविक पेज नं. ७३९) ।७ गते धान रोप्न नदिई खिचोला गरेकोले विपक्षीहरुको नाउँमा अस्थायी दर्ता गरेको बदर गरी हामीहरुको नाउँमा दर्ता गरी खिचोला मेटाई जग्गा हामीहरुकै कायम गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।
३. वादी दावीको जग्गा वादीको दर्ता नभई हाम्रा बाजे जयपति तुल्सीरामको नाउँमा १८७७ सालमा बिर्ता लालमोहर बमोजिम हामीले भोग गरी बिर्ता विवरण दिई आएका छौं । वादी दावीको हाम्रा नाउँमा कित्ता काटिएको जग्गाहरु वादीको बाबु नैनदत्तका नाउँमा ।४० मध्ये खेतमुरी ।८।१० दर्ताको हैन, मिलापत्रबाट वादीले पाएको भनेको जग्गा पनि होइन । वादीको खेत मुरी ।४० छुट्टै छ भन्ने समेत व्यहोराको करुणानिधि, घनश्याम, तिलकराम, गुणाकर, कविराज, विश्वनाथ, रामचन्द्र, हेमराम समेतको एउटै प्रतिउत्तर ।
४. हाम्रा बाजेका बिर्ता लालमोहर बमोजिमको जग्गा बण्डा गरी आ–आफ्नो भाग भोग बमोजिम गरी आएका छौ । वादी दावीको जग्गा हाम्रो हो वादीहरुको जग्गा छुट्टै छ भन्ने समेत व्यहोराको देवीनाथ, पूर्णचन्द्र, यज्ञनारायणको प्रतिउत्तरपत्र ।
५. बिर्ता विवरणको ४ किल्ला नक्सामा मिलेको नदेखिएको र न.नं. २९ मा प्रतिवादीको बिर्ता जग्गा देखिएकोले विवादित कि.नं. ६५ देखि ७१ सम्मको जग्गा प्रतिवादीहरुको भन्न सकिएन ।
६. तसर्थ प्रतिवादीहरुको नाउँमा भएको अस्थाई दर्ता बदर गरी वादीहरुको नाउँमा दर्ता हुने ठहर्छ भन्ने समेत तनहँु जिल्ला अदालतको फैसला ।
७. दर्ता बदर गर्ने गरेको उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादीहरुको गण्डकी अञ्चल अदालतमा परेको पुनरावेदन ।
८. जग्गा खिचोला मेटाई पाउँ भन्ने तर्फ ठहर इन्साफ नगरी त्रुटिपूर्ण भएको शुरुको फैसला बदर गरी दिएको छ इन्साफ गर्न शुरुमा पठाई दिने भन्ने समेत व्यहोराको ग.अं. अदालतको २०३८।१२।१०।३ को फैसला ।
९. प्रतिवादीहरुको नाउँमा अस्थाई दर्ता जनाएको बदर गरी हाम्रा नाउँमा दर्ता गराई खिचोला मेटाई पाउँ भन्ने समेत वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको २०३९।९।६।३ को तनहुँ जिल्ला अदालतको फैसला ।
१०. वादी दावी पुग्न नसक्ने ठहराएको शुरुको इन्साफमा चित्त बुझेन बदर गरी वादी दावी बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको वादीहरुको ग.अं. अदालतमा परेको पुनरावेदन जिकिर।
११. अर्गली कुलो भन्ने विवाद परेको गरामा पानी खस्ने ठाउँबाट विवादको जग्गा न.नं. १, २, ३, ४, ५, ६, र ७ को पूर्वमा रहे भएको देखिएन । तसर्थ वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको २०४१।११।१५।३ को ग.अं. अदालतको फैसला ।
१२. ग.अं. अदालतको फैसला त्रुटिपूर्ण कानुनी त्रुटि छ भन्ने कुरा प्रष्ट भएकोले न्या.प्र.सु. ऐन, २०३१ को संशोधन सहित दफा १३(३) बमोजिम पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी ज्ञानीशंकर, प्रेमनारायणको प.क्षे. अदालतमा परेको निवेदनपत्र ।
१३. यस्मा वादी गुरुप्रसाद प्रतिवादी इन्द्रनारायण समेत भएको मुद्दामा २०२९।२।११ मा मिलापत्र भएको देखियो । सो मिलापत्रमा गुरुप्रसादको जग्गालाई साँध मानी पूर्वतर्फ प्रतिवादी र पश्चिम पट्टी ।४० मुरीको जग्गा मानिएको देखियो ।
१४. मिसिल संलग्न २०३९।६।२२।६ का नक्सा कुण्डली न.नं. ६५, ६६, ६७, ६८, ६९, ७०, ७१ का जग्गाहरु देखिएको पाइयो । प्रमाण छाडी निर्णय भएको हुँदा पुनरावेदनको अनुमति दिइएको छ । नियम बमोजिम गर्नु भन्ने समेत व्यहोराको २०४२।९।४।५ को प.क्षे. अदालत सिंगलबेञ्चको आदेश ।
१५. मिति २०३२।७।१३।५ को मिलापत्रमा उत्तर कापे कुलादेखि पूर्व होमनाथ तिमिल्सीना समेतको (साविक पेज नं. ७४०) बिर्ता पाखो र अर्गली कुलोको पानी झर्ने मुहान देखि पश्चिमको जग्गा प्रतिवादीहरुले खानलाई वादीले दावी छाडी त्यस देखि पूर्वपट्टी खेत ।१।१० वादीले सुपथ भोग चलन गर्ने गरी प्र्रतिवादीहरुले दावी छाडी दिएको भन्ने समेतको व्यहोरा पारी मिलेको पाइएको र सो सन्दर्भमा मिति २०३९।६।२२।६ को नक्सा हेर्दा कि.नं. ६५ न.नं. १ कि.नं. ६६ न.नं. २, कि.नं. ६७ न.नं. कि.नं. ३ कि.नं. ६८ नं.नं.४,कि.नं. ६९ न.नं. ५ र १७ कि.नं. ७० न.नं. ६र १८ कि.नं. ७१ न.नं. ७ र १९ विवादित जग्गाका कित्ताहरुको किल्ला र वादी दावीका किल्ला भिडाउँदा विवादित जग्गाको पूर्व न.नं. १२ गुरुप्रसाद समेतको खेत पश्चिम न.नं. १३ प्र. गुणाखरको खेत उत्तर न.नं. १४ को हेमनाथको बिर्ता पाखो न.नं. ११ सम्म फैलिएको र दक्षिण न.नं. ८ कुलो समेत ४ किल्ला दुुरुस्त मिले भिडेको कुलो न.नं. १० अर्गली गरी र न.नं. २० कुलोको पानी झरेको कापेको पूर्व न.नं. १४ देखि न.नं. ११ सम्म हेमनाथको खेत र न.नं. ९ अर्गली कुलोको पानी आउने मुहान देखिन आएको सो मुहान देखि पश्चिम पट्टिको जग्गा प्रतिवादीहरुले खाने भनी वादीले दावी छाडेको सो देखिपूर्व तर्फको जग्गा वादीले खाने भनी मिलापत्रमा उल्लेख भएको विवादित जग्गाहरु सो अर्गली कुलाको मुहान न.नं. ९ देखि पूर्व पट्टि देखिन आएको तथा वादी दावीको ४ किल्ला देखि दक्षिणमा प्र.जगतनाथ र प्र.टिकानिधिको न.नं. २१ को जग्गा समेतको साँध भएकोले सो जग्गा पनि निज प्रतिवादीहरुले दावी छाडी वादीले खाने भनी हक छाडेको देखिएको कारण समेतबाट विवादित कि.नं. ६५ न.नं. १, कि.नं. ६६ न.नं. २, कि.नं. ६७ न.नं. ३, कि.नं. ६८ न.नं. ४ कि.नं. ६९ न.नं. ५ र १७ कि.नं. ७० न.नं. ६ र १८, कि.नं. ७१ न.नं. ७ र १९ का जग्गाहरुमा प्रतिवादीहरुले खिचोला गरी अस्थायी दर्ता गराएको बदर गरी वादी दावी बमोजिम वादीहरुको नाउँमा दर्ता हुने ठहराउनु पर्नेमा सो नठहराई शुरुको सदर गरेको ग.अं. अदालतको फैसला त्रुटिपूर्ण हुँदा दुबै अदालतको फैसला बदर भई उल्टी हुने ठहर्छ भन्ने समेत मिति २०४४।४।२०।५ को प.क्षे.अ. को फैसला ।
१६. प.क्षे. अदालतको मिति ०४४।४।२०।५ मा भएको फैसला कानुन तथा नजीरको व्याख्या सम्बन्धित त्रुटि भएकोले उक्त फैसलामा चित्त बुझेन सो फैसला उपर पुनरावेदन गर्न अनुमति पाउँ भनी पर्न आएको प्रतिवादीहरुको निवेदनमा वादीले दावी लिदा आधार लिएका वादीको दर्तामा पश्चिम चुडामणि, गोपिकृष्णको बिर्ता खेत भन्ने देखाएकोबाट झगडा परेको जग्गा क्षेत्रीय अदालतको ठहर बमोजिम वादीको कायम मानेमा सो झगडा परेको जग्गा देखि पश्चिममा प्रतिवादी निवेदकका दर्ताको साविकको बिर्ता जग्गा देखिनु पर्ने तर भएको नक्सामा विवाद परेको क्षे.अदालतले वादीको ठहराएको जग्गा देखि पश्चिममा निवेदक प्रतिवादीहरुको बिर्ता खेत देखिन नआएकोबाट विवादको जग्गामा वादीको दर्ताको किल्ला भिडेको भन्न नसकिने भई ने.का.प. २०३२, नि.नं. ९२७, पृष्ठ २३२ को मुद्दामा पूर्णइजलासबाट प्रतिपादित सिद्धान्तको विपरीत पर्न गएको देखिएकोले न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(७) अनुसार दफा १३(५)(ग) अन्तर्गत पुनरावेदन गर्ने अनुमति दिएको छ । विपक्षीहरुलाई सूचना म्याद दिई नियम बमोजिम पेश गर्नु भन्ने समेत मिति २०४५।४।७।६ को संयुक्त इजलासको आदेश ।
१७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरुको तर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ताहरु श्री मुकुन्द रेग्मी, श्री कृष्णप्रसाद पन्त र श्री वासुदेव ढुंगानाले झगडिया जग्गा वादी दावीको ४ किल्ला भित्र पर्दैन । मिति २०३२।७।१३ को मिलापत्रबाट अर्गेली कुलोको पानी झर्ने मुहान देखि पश्चिमको जग्गा प्रतिवादीहरुले पाएका छन् । २०३९।६।२२ को नक्साको न.नं. ९ मा अर्गेली गरोको पानी आउने कुलो देखिन्छ । सो कुलो न.नं. ११ सम्म फैलिएको छ । सो न.नं. ११ नै मिलापत्रको सिमाना हो । सो न.नं. ११ देखि पश्चिम विवादित (साविक पेज नं. ७४१) जग्गा अवस्थित रहेकोले झगडिया जग्गाहरु प्रतिवादीको हो । वादीले मिलापत्रबाट १।१० माटोको जग्गा पाएको हो । पानी पाई मिलाउँदा सो न.नं. १२ मा वादीले कि.नं. ७२ मा नापी गराएको छ । न.नं. १५ मा होमनाथको खेत जग्गा देखिँदा न.नं. ११ र नं. १५ देखि पश्चिम पट्टिका विवादित कि.नं. ६५ देखि ७१ सम्मको जग्गा प्रतिवादीहरुको बाजे जयपति तुल्सीरामको नाउँको बिर्ता लालमोहर बमोजिम प्रतिवादीहरु भोग चलन गरी आएको जग्गा भएको र उक्त कुरा प्रतिवादीहरुको जग्गाको श्रोतको किल्लाबाट समेत समर्थित हुँदा ६ नं. नापी गोश्रवाराले प्रतिवादीहरुको नाउँमा दर्ता गरी दिएको हो । अतः ६ नं. नापी गोश्वाराले मिति २०३४।९।६ को पर्चा बमोजिम प्रतिवादीहरुको नाउँमा अस्थाई दर्ता गरेको मिलेको हुँदा शुरु जिल्ला अदालतले गरेको फैसला र सो लाई सदर गरेको गण्डकी अञ्चल अदालतको फैसला मनासिबै छ र प.क्षे.अ. को फैसला त्रुटिपूर्ण छ भनी बहस गर्नु भयो ।
१८. वादी विपक्षी तर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर, विद्वान अधिवक्ताहरु श्री शंभु थापा र अनुपराज शर्मा र अघिज्ञानी शंकर, प्रेमनारायण पाध्या वादी भई चुडामणि पाध्या, यज्ञनारायण सुवेदी समेत उपर जग्गा मुद्दा दिंदा मिति २०३२।७।१३ मा मिलापत्र भएको छ । सो मिलापत्रमा पश्चिमको जग्गा प्रतिवादीहरुले र सो देखि पूर्वको जग्गा वादीले खान पाउने गरी मिलापत्र भएको छ । अघि २०३१ सालमा मुद्दा पर्दा वादी प्रतिवादीको जेसुकै भनाई भए तापनि दुबै पक्षको बीचमा मिलापत्र भएपछि मिलापत्रलाई हेर्नुु पर्छ । मिलापत्रमा उत्तर काणे कुलादेखि पूर्व होमनाथको बिर्ता पाखो भन्ने साँध पनि राखेकोे छ । न.नं. ११ अर्गेली कुलोको पानी झर्ने ठाउँ हो, मुहान होइन । मुहान माथि पट्टी हुन्छ मिलापत्रमा अर्गेली कुलोको पानी झर्ने मुहानदेखि पश्चिम प्रतिवादीहरुको जग्गा पर्ने र न.नं. ९ अर्गेली कुलोको पानी झर्ने मुहान देखिँदा न.नं. २० कापे कुला न.नं. ९ अर्गेली कुलोको पानी झर्ने मुहान र न.नं. १४ मा होमनाथको बिर्ता पाखो भई, न.नं. ९, १४ र न.नं. २० देखि पूर्वको हाल विवादित जग्गाहरु वादीको हो ।
१९. मिति २०३२।७।१३ मा मिलापत्र भएको मुद्दामा वादीले पूर्व किल्ला भनी फिरादमा दावा गर्दा पूर्व तर्फ यही रैकर ।४० दर्ता मध्येको हाम्रो खेत भनी विवादित उक्त जग्गाको पूर्व तर्फको जग्गालाई पनि आफ्नो भनेका र त्यसमा प्रतिवादी जगनाथ टिकानिधिले सो पूर्व तर्फको जग्गालाई वादीको होइन आफ्नो भनेका थिए । तर सो मुद्दा मिलापत्र हुँदा उक्त पूर्वपट्टिको खेत दावी गर्ने जगनाथ टिकानिधिको प्रतिवादी जिकिर छुटाई सो पूर्व तर्फको खेत वादीकै कायम गरी मिलापत्र भएको हुँदा सो पूर्व तर्फको वादीको दावीको जग्गा वादीको नै हुने खाने गरी मिलापत्र भएको हो । यसरी ०३२।७।१३ को मिलापत्रमा उत्तर कापे कुलादेखि पूर्वमा होमनाथ तिमिल्सीना समेतको बिर्ता पाखो र अर्गेली कुलोको पानी झर्ने मुहानदेखि पश्चिमको जग्गा प्रतिवादीहरुले खानलाई वादीले दावी छाडी र त्यसदेखि पूर्व पट्टी खेत १।१० वादीले सुपथ भोग चलन गर्ने गरी प्रतिवादीहरुले दावी छाडी दिएको भन्ने समेतको व्यहोरा पारी मिलेकोले सो सन्दर्भमा मिति २०३९।३।२२ को नक्सा हेर्दा विवादित जग्गाहरु सो अर्गेली कुलोको मुहान न.नं. ९ देखि पूर्व पट्टी देखिन आएको र वादी दावीको ४ किल्लादेखि दक्षिणमा प्रतिवादी जगनाथ र टिकानिधिको न.नं. २१ को जग्गा समेतको साँध देखिएकोले विवादित कि.नं. ६५ देखि ७१ सम्म कित्ता जग्गाहरु प्रतिवादीहरुले खिचोला गरी अस्थाई दर्ता गराएको बदर गरी दावी बमोजिम वादीहरुको नाउँमा दर्ता हुने ठहराएको प.क्षे.अ.को इन्साफ मिलेको छ भनी बहस गर्नु भयो । बहसको साथसाथै प्रतिवादी पुनरावेदकहरु तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव ढुंगानाले र वादी विपक्षीबाट विद्वान अधिवक्ता श्री अनुपराज शर्माले दिनु भएको बहस नोट समेत हेरियो । (साविक पेज नं. ७४२)
२०. यसमा हाम्रा पिता नैनदत्त समेतका नाउँमा दर्ता भएको खेत मुरी ।४० मध्ये पूर्व यही दर्ता भएको हाम्रो खेत पश्चिम चुडामणि गोपिकृष्ण समेतकोे बिर्ता खेत उत्तर मरुवा खोला दक्षिण अंशियार लोकनाथको खेत यत्ति ४ किल्ला भित्रको खेत मुरी १।१० यिनै यज्ञनारायण समेतले खिचोला गरी बाली लुटपिट गरेकोमा हाम्रो नालेश परी कापे कुलो देखि पूर्व होमनाथ तिमिल्सीना समेतको बिर्ता पाखो र अर्गेली कुलोको पानी झर्ने मुहानदेखि पश्चिम जग्गा प्रतिवादी चुडामणि, यज्ञनारायण, गोपीकृष्णले खानलाई हामी वादीले दावी छाडी त्यसदेखि पूर्वको खेत १।१० हामी वादी भोग चलन गरी खाने गरी ०३२।७।१३ मा मिलापत्र भएको छ । मिलापत्रबाट पाएको त्यस्तो जग्गालाई ६ नं. नापी गोश्वाराबाट प्रतिवादीहरुको नाउँमा अस्थायी दर्ता गरी दियो । चित्त नबुझे अदालतमा जानु भनी २०३४।९।६ को पत्र ०३४।१२।२७ मा पायौं र ०३४।१२।७ मा विपक्षीले खिचोला समेत गरेकोले अस्थायी दर्ता गरेको बदर गरी हाम्रो नाउँमा दर्ता गरी खिचोला समेत मेटाई पाउँ भन्ने वादीको मुख्य दावी देखिन्छ ।
२१. प्रतिवादी पुनरावेदक तर्फबाट विद्वान वरिष्ठ अधिवक्ताले आफ्नो बहस नोटमा वादीको अघि परेको मुद्दाको दावीको चार किल्लालाई हेरिनु पर्ने तर्फ जोड दिँदै हाल झगडिया जग्गा वादीको ठहर भएमा वादीलाई अरु अंशियार भन्दा करिब २० रोपनी जग्गा बढी पर्दछ भन्दै विवादको जग्गा वादीको होइन भन्ने मुलतर्क दिनु भएको पाइन्छ । तर यिनै वादी ज्ञानीशंकर समेत र प्रतिवादी यज्ञनारायण समेत बीच चलेको जग्गा मुद्दामा मिति ०३२।७।१३ मा मिलापत्र भएको र सोही मिति ०३२।७।१३ को मिलापत्रलाई पक्री सो नाताबाट आफ्नो हक देखाई वादीहरु आएकोमा ६ नं. नापी गोश्वाराले प्रतिवादीहरुको नाउँमा अस्थायी दर्ता गरेको र त्यस्तो दर्ता बदर गरी खिचोला मेटाई आफ्नो नाउँमा दर्ता कायम गर्न वादीहरु आएको पाइन्छ । अघि जे जस्तो गरी वादी प्रतिवादी झगडा गरी आए तापनि वादीले के कस्तो जग्गा पाउने र प्रतीवादीले के कस्तो जग्गा पाउने हो, सो कुरालाई लिएर मिति ०३२।७।१३ मा मिलापत्र भएको र वादी र प्रतिवादी दुबै पक्षले मानेको यस मिलापत्रको किल्ला नै विवादित जग्गाको सम्बन्धमा निर्णायक देखिन आउँछ । सो मिलापत्र भन्दा अघि अघि परेका मुद्दाहरु समेतको आधारमा मिलापत्रको किल्लाको निधो हुनुपर्दछ भन्ने प्रतीवादी पक्षको भनाई छ सो कुरालाई सतर्कतासाथ विचार गर्नु पर्ने देखिन्छ । किनकी वादी प्रतिवादीले मुद्दा लडी मिलापत्र लेखी सहीछाप गरी सकेपछि त्यस अघिका मुद्दाहरुमा निजहरुले के के कस्तो कुराको दावी जिकिर लिएका थिए । त्यसैलाई टेक्दै जाने हो भने त्यस्तो मिलापत्रको खास महत्व रहने हुँदैन । मुद्दामा संलग्न पक्षले मिलापत्र गर्दा आफ्नो हक दावी र प्रतिवादी जिकिर कायम राख्ने संशोधन गर्ने वा परित्याग गर्ने इत्यादि निश्चित र लेखबद्ध अभिव्यक्त गरेको छ ।
२२. तसर्थ के कस्तो कुरामा वादी दावी कायम राखेको छ वा के कस्तो हदसम्म वादीले दावी छाडेको छ भन्ने कुरामा मिलापत्रको लिखत नै सर्वाधिक महत्वको र आधिकारिक लिखत हुन आउँछ । सो लिखतमा लेखिएको किल्लालाई अघि परेको मुद्दाबाट निर्धारण गर्न खोज्नु मिलापत्र हुँदाको अवस्था सम्बन्धित पक्षहरुको अभिप्राय वा उद्देश्य अनुकूल हन्छ भन्न सकिदैन । मिति ०३२।७।१३ को मिलापत्र हेर्दा मिलापत्रमा वादी दावी ४ किल्ला भित्र जग्गामा दावी छुट्याई पाउँ भन्ने हामी वादीको जिकिर भए पनि उत्तर कापे कुलादेखि पूर्वमा होमनाथ तिलिल्सीना समेतको बिर्ता पाखो र अर्गली कुलोको पानी झर्ने मुहान देखि पश्चिमको जग्गा प्रतिवादी चुडामणि, यज्ञनारायण, गोपीकृष्णले खानलाई हामी वादीले दावी छोडी त्यसदेखि पूर्व पट्टीको खेत ।१।१० हामी वादीले सुपथ भोग चलन नगर्ने प्रतिवादीले दावी छाडी दिएकोले सो बमोजिम गरी वादीको ४ किल्ला देखि दक्षिणमा हामी प्रतिवादी जगनाथ, टिकानिधि समेतको साथ भएकाले (साविक पेज नं. ७४३) वादी दावीको जग्गा हामी वादीले नै खाने हामी जगनाथ टिकानिधिले दावी नगर्ने गरी मिलेको भन्ने लेखिएको पाइन्छ ।
२३. उक्त मिलापत्रले तीन साँध अर्थात पहिले कापे कुलो, दोस्रो होमनाथको बिर्ता पाखो र तेस्रो अर्गली कुलोको पानी झर्ने मुहान उल्लेख गरेको पाइन्छ । यसैलाई साँध मानी सो देखि पूर्व पट्टि वादीले सुपथ भोग चलन गर्ने र सो देखि पश्चिम प्रतिवादीले भोग चलन गर्ने भनिएको छ ।
२४. उक्त मिलापत्रलाई मध्ये नजर राख्दै अदालतबाट भएको ०३९।३।२२ को नक्सा तर्फ हेर्दा नं. ११ लाई प्रतिवादी पुनरावेदक तर्फका विद्वान वरिष्ठ अधिवक्ताहरुले अर्गली कुलोको पानी झर्ने मुहान भन्नु हुन्छ । तर अर्गली कुलोको पानी झर्ने मुहान न.नं. ११ भए सो को नजिकमा कापे कुलो देखिनु पर्ने हो सो देखिएन । न.नं. २० मा कापे कुलो देखिन्छ । न.नं. २० मा बाहेक अन्यत्र कापे कुलो नक्सामा देखिन्न । कापेको आकार प्रकृतिबाट समेत नक्सामा न.नं. २० बाहेक अरु ठाउँमा कापे कुलो हुने स्थिति पनि छैन । मिलापत्र हुँदा अर्काे साँध अर्थात कापे कुलो देखि पूर्वमा होमनाथ तिमिल्सीना समेतको बिर्ता पाखो देखिन्छ । नक्सामा न.नं. १४ मा होमनाथ तिमिल्सीनाको बिर्ता पाखो भएको पाइन्छ । प्रतिवादी पुनरावेदक तर्फका विद्वान वरिष्ठ अधिवक्ताले न.नं. १५ लाई होमनाथ तिमिल्सीनाको जग्गा भनी देखाउनु हुन्छ । तर नक्सामा न.नं. १५ होमनाथको खेत भन्ने छ । मिलापत्रमा होमनाथको बिर्ता पाखो भन्ने उल्लेख हुँदा बिर्ता पाखो हेर्नु पर्ने हुन्छ र होमनाथको बिर्ता पाखो न.नं. १४ मा मात्र देखिन्छ । अब अर्गली कुलोको पानी झर्ने मुहान कुन हो त भनी हेर्दा पुनरावेदक तर्फका विद्वान वरिष्ठ अधिवक्ताले न.नं. ११ लाई देखाउनु हुन्छ तर न नं. ११ को कुलो न.नं. ९ बाट उद्गम भई न.नं. ११ मा समाप्त भई झरेको पाइन्छ । मिलापत्रमा अर्गली कुलाको पानी झर्ने ठाउँलाई सेवान नमानी अर्गली कुलोको पानी झर्ने मुहानलाई साँध मानेको छ । जहाँबाट पानीको उद्गम हुन्छ सो मुहान हुन्छ । पानी झर्ने ठाउँ मुहान हँुदैन । अतः अर्गली कुलोको पानी झर्ने ठाउँ न.नं. ११ भए पनि सो नं. ११ लाई कुलोको पानी झर्ने मुहान भन्न मिल्ने स्थिति छैन । अर्गली कुलोको पानी झर्ने मुहान पानीको उद्गम हुने न.नं. ९ लाई मान्नु पर्ने हुँदा न.नं. ११ मिलापत्रको सेवान हो भन्ने पुनरावेदक प्रतिवादी तर्फका विद्वान वरिष्ठ अधिवक्ताको भनाई मिल्दो देखिन्न । मिलापत्रमा कापे कुलो पानी मिलापत्रको साँध देखिँदा र न.नं. ११ को नजिकमा कापे कुलो नदेखिई न.नं. २० मा कापे कुलो देखिँदा र अर्गली कुलोको पानी झर्ने ठाउँ न.नं. ११ को मुहान न.नं. ९ देखिँदा र न.नं. १४ मा होमनाथको बिर्ता पाखो समेत देखिँदा समेत उक्त न.नं. ९, २०, १४ को पूर्वमा हाल विवाद रहेको न.नं. १, २, ३, ४, ५, ६, ७, १७, १८, १९ समेतको जग्गा अवस्थित रहेको देखिन्छ । त्यस्तो जग्गाको क्षेत्रफल प्रतिवादीहरुको भन्दा बढी भएकोले वादीको होइन भन्ने समेत प्रतिवादी पुनरावेदक तर्फका विद्वान वरिष्ठ अधिवक्ताको भनाई भएकोमा नापी क्षेत्रफल घटबढ हुन सक्ने नै देखिँदा बढी भएकै नाताबाट विवादको उक्त जग्गाहरु वादीको होइन प्रतिवादीहरुको हो भन्न मिल्दैन । यस्तो अवस्थामा पुनरावेदनको अनुमति दिएको बुँदा समेतबाट यो इजलास सहमत नहुँदा विवादको कि.नं. ६५ ६६, ६७, ६८, ६९, ७० र ७१ अर्थात न.नं. १ २, ३, ४, ५, ६, ७, १७, १८, १९ को जग्गाहरु मिलापत्रबाट वादीहरुको हक भोेगको देखिँदा उक्त जग्गाहरु प्रतिवादीहरुले खिचोला गरी अस्थायी दर्ता गराएको बदर गरी वादी दावी बमोजिम वादीहरुको नाउँमा दर्ता हुने ठहर्याएको प.क्षे.अ. को इन्साफ मनासिब ठहर्छ कोर्टफी रही पुनरावेदन दर्ता भएको देखिँदा केही गरी रहन परेन । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.केदारनाथ उपाध्याय
इति सम्वत् २०४८ साल माघ २० गते रोज शुभम् ।
(साविक पेज नं. ७४४)