शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०३९९ - वैदेशिक रोजगार कसुर

भाग: ६१ साल: २०७६ महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की 

माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी 

फैसला मिति : २०७६।९।१६

०७३-CR-०९९४

 

मुद्दाः वैदेशिक रोजगार कसुर

 

पुनरावेदक / वादी : महानगरीय अपराध महाशाखा, हनुमानढोका, काठमाडौंको पत्र जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : माधवप्रसाद न्यौपानेको नाति, नेत्रलाल न्यौपानेको छोरा पाल्पा जिल्ला सिद्धेश्‍वर गा.वि.स. वडा नं. ३ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ७ गौरीघाट बस्ने तथा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका गौशाला स्थित अर्थ भिजन मेनपावर प्रा.लि. (ई.प्र.नं. ७४९/०६४/०६५) का सञ्‍चालक विष्णुप्रसाद न्यौपानेसमेत        

 

प्रमाण ऐन, २०३१ को दफा १८ अनुसार अनुसन्धानको समयमा संकलित प्रमाणहरू थुनछेकको प्रयोजनको सन्दर्भमा मात्र प्रमाण योग्य हुन जाने ।

कसुर प्रमाणित हुनको लागि प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार विवादरहित स्वतन्त्र तथ्ययुक्त प्रमाणबाट पुष्टि नभएको अवस्थामा बलपूर्वक ऐनको विपरीत व्याख्या गरी कसुरदार ठहर गर्नु फौजदारी न्यायको सर्वमान्य सिद्धान्तविपरीत हुन जाने ।

(प्रकरण नं.४)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कमलराज पन्थी

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर : 

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्नेः

माननीय अध्यक्ष श्री सुरेन्द्र वीर सिंह बस्न्यात

सदस्य श्री धीरबहादुर चन्द

सदस्य श्री लेखनाथ पौडेल

वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौं

 

फैसला

न्या.पुरूषोत्तम भण्डारी : वैदेशिक रोजगार न्यायाधिकरण ऐन, २०६४ को दफा ६६(२) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-

महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयको च.नं.११५१ मिति २०७१।९।२६ गतेको पत्र साथ गैरकानूनी तवरले लेवनान हुँदै इराक जाँदै गरेका आइती तामाङ, निमा ल्हामु, मनमाया तामाङ, गंगा नगरकोटी र कुमारी लामासमेत ५ जना महिलालाई थप अनुसन्धानका लागि यस महाशाखामा पठाइएकोमा यस महाशाखाबाट भएको प्रारम्भिक अनुसन्धानबाट उल्लिखित महिलाहरूलाई अर्थ भिजन मेनपावर सर्भिसेज प्रा.लि.बाट लेवनान हुँदै इराक पठाउने गरेको बुझिन आएकोले निजहरू गैरकानूनी तवरले विदेश इराक जान खोजेको महिलाहरू एवं त्यस्तो कार्यमा संलग्न मेनपावरलाई आवश्यक कारबाही हुन मिसिल संलग्न कागजातसहित मानिसहरू पठाइएको बेहोरा अनुरोध गरिन्छ भन्‍ने बेहोराको महानगरीय अपराध महाशाखा, हनुमानढोका, काठमाडौंको पत्र ।

काठमाडौंको गौशालामा रहेको अर्थ भिजन मेनपावरले मान्छे पठाउँछ भन्‍ने थाहा पाई अर्थ भिजन मेनपावरमा फोन गर्दा मेनपावरको मान्छेले मैले अरूलाई पनि कुर्दिस्तान पठाएको छु तपाइँलाई पनि पठाउँला त्यहाँ राम्रो कमाई हुन्छ भनेकाले मेनपावरको मान्छेलाई भेटी पासपोर्ट र रू.६०,०००।- (अक्षेरूपी साठी हजार) बुझाएको र त्यसको दुई महिनापछि भिसा आयो भनी मेनपवारको मान्छेले फोन गरी मलाई मेनपावरमा बोलाई मिति २०७१।९।२६ गएकी हुँ । सोही दिन दिउँसो १ बजे उडान रहेछ । मेनपावरमा पुगेपछि हामी सबैलाई मेनपावरका मान्छेले एकै ठाउँमा राखेर हाम्रो पासपोर्ट र भिसालगायतका कागजातहरू हामीहरूलाई दिई १ बजे उडान छ । प्लेन उडेपछि दुबई पुग्नु अगावै लेवनानको भिसालगायतका कागजात च्यात्‍नु, लेवनानको भिसा एयरपोर्टमा देखाउनको लागि मात्र हो, लेवनानको भिसा च्यातेपछि कुर्दिस्तानको सक्‍कल भिसा पासपोर्टमा राख्‍नु, कुर्दिस्तानको भिसा डायरी छ, दुबई नपुगेसम्म ननिकाल्नु भनी सिकाएका थिए । मेनपावरको मान्छेले सिकाएबमोजिम हामी कुर्दिस्तान जान भनी एयरपोर्टबाट उड्ने क्रममा पक्राउ परेको हो । अर्थ भिजन मेनपावरका मान्छेले सिकाएबमोजिम नै कुर्दिस्तान जान भनी हामी हिँडेका थियौं । अभिमुखीकरण तालिम लिएको छैन भन्‍नेसमेत बेहोराको बुझिएका मनमाया तामाङ, आइती तामाङ, कुमारी लामा, गंगा नगरकोटी र निमा ल्हामुले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।

मैले पीडितहरू मनमाया तामाङ, आइती तामाङ, कुमारी लामा, गंगा नगरकोटी र निमा ल्हामुलाई मेनपावरको कार्यालयबाट काठमाडौंदेखि लेवनानसम्मको भिसा र टिकट उपलब्ध गराएको हो । इराकको भिसाको बारेमा मलाई जानकारी छैन उनीहरूलाई उक्त भिसा काहाँ को कसले उपलब्ध गरायो सोको बारेमा मलाई थाहा छैन । म सञ्‍चालक रहेको मेनपावरको अन्य कुनै सञ्‍चालक वा कर्मचारीहरूले पनि उक्त इराकको भिसा र टिकट उपलब्ध गराएको होइन । प्रहरीबाट भएको घटना विवरणमा पीडितहरूले उल्लेख गरेको बेहोरा साँचो होइन । निजहरूले हामी लेवनान जान्छौ भनी हाम्रो मेनपावरमा पासपोर्टसहित आवश्यक कागजातहरू पेस गरेपछि मैले लेवनानको भिसा निकालेर सरकारको मातहतमा रहेको वैदशिक रोजगार विभागबाट कानूनी प्रक्रिया पुर्‍याएर श्रम स्वीकृति लिएर लेवनानमा नै काम गर्ने सर्तमा पठाएको हो । पीडितहरूले यस विभागमा गरेको कागजमा उल्लेख गरेको बेहोरा साँचो होइन । निजहरूलाई कुर्दिस्तान पठाउन भनी रकम लिएको नभई वैदेशिक रोजगारमा लेवनान पठाउन लिएको हो भन्‍नेसमेत बेहोराको अर्थ भिजन मेनपावर सर्भिसेज प्रा.लि.का सञ्‍चालक प्रतिवादी विष्णुप्रसाद न्यौपानेले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।

अर्थ भिजन मेनपावर सर्भिसेज प्रा.लि.को सञ्‍चालनका सम्बन्धमा म र अर्को सञ्‍चालक विष्णुप्रसाद न्यौपानेबिच सम्झौता भई मेनपावर सञ्‍चालनको सम्पूर्ण जिम्मा विष्णुप्रसाद न्यौपानेको रहेको छ, आवश्यक परे उक्त सम्झौता पेस गर्नेछु । म अन्यत्र व्यस्त रहने हुँदा उक्त मेनपावरको दैनिक कामकारबाही मलाई थाहा हुँदैन । मैले उक्त घटना कान्तिपुर दैनिकमा पढेर थाहा पाएको हुँ । सो समयमा म आफ्नो फर्म दाङमा थिएँ । सोबारेमा थाहा पाई अर्का सञ्‍चालक विष्णुप्रसाद न्यौपानेसँग फोन गरी जानकारी लिएको थिएँ । उहाँले दिएको जानकारीअनुसार नेपाल सरकारले तोकेको मापदण्डबमोजिम लेवनानको श्रम स्वीकृति लिई लेवनानमा नै काम गर्ने सर्तमा पठाएको हो भनी जानकारी गराउनुभएको थियो । अन्य विषयमा मलाई केही जानकारी भएन भन्‍नेसमेत बेहोराको अर्थ भिजन मेनपावर सर्भिसेज प्रा.लि.का सञ्‍चालक प्रतिवादी अनन्तबहादुर खड्काले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।

अर्थ भिजन मेनपावर प्रा.लि.का प्रबन्धक सञ्‍चालक प्रतिवादी अनन्तबहादुर खड्का र सञ्‍चालक प्रतिवादी विष्णुबहादुर न्यौपानेले वैदेशिक रोजगारको लागि वैदेशिक रोजगार विभागको # ।T NO.90258 मार्फत लेवनान मुलुकको SEIFEDDINE TRADE AND GENERA। SERVICES कम्पनीमा पठाउन भनी श्रम स्वीकृति निकाली पीडितहरू मनमाया तामाङ, आइती तामाङ, कुमारी लामा, गंगा नगरकोटी र निमा ल्हामुसमेतलाई लेवनान पठाउने बहानामा नेपाल सरकारबाट वैदेशिक रोजगारको लागि प्रतिबन्धित मुलुक इराकको कुर्दिस्तान पठाउने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल लगी सम्पूर्ण प्रक्रियाहरू पूरा गरी विदेश उड्न लागेको अवस्थामा प्रहरीद्वारा पीडितहरू पक्राउ पर्न आएको देखिएकोले प्रतिवादीहरू अर्थ भिजन मेनपावरका प्रबन्ध सञ्‍चालक अनन्तबहादुर खड्का र सञ्‍चालक विष्णुप्रसाद न्यौपानेको उल्लिखित कार्य वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४६ बमोजिम कसुर अपराध भए गरेको देखिँदा निज प्रतिवादीहरूलाई ऐ. वैदेशिक रोजगार ऐन, को दफा ४६ बमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी नेपाल सरकारको अभियोगपत्र ।

मैले वैदेशिक रोजगार व्यवसाय सञ्‍चालन गर्ने अनुमतिपत्र लिएको छु । विगत ८ महिनादेखि मेरो संस्थाको कारोबार रोक्‍का छ र कार्यालय का.म.न.पा.९ गौशालामा छ । मेनपावर मेरो भए पनि म अन्य व्यवसाय गर्ने हुँदा सो मेनपावरको कामको जिम्मा प्रतिवादी विष्णुप्रसाद न्यौपानेलाई दिएको 

थिए । यी ५ जना महिलाहरूलाई के के काम गरी गैरकानूनी तवरको काम गरे यस सम्बन्धमा मलाई थाहा छैन । प्रतिवादी विष्णुप्रसाद न्यौपानेका नाममा १० प्रतिशत सेयर रहेको छ र निज नै मेनपावरका सञ्‍चालक हुन् । हामीबिचमा निजले एक्लै सञ्‍चालन गर्ने पूर्ण जिम्मेवारी रहेको लिखत सम्झौता भएको कागज छ आवश्यक परेमा म पछि पेस गर्ने छु । मलाई अभियोग माग दाबीबमोजिम सजाय हुनुपर्ने होइन । मैले कुनै कसुर अपराध गरेको छैन मलाई सफाइ हुनुपर्छ भन्‍नेसमेत बेहोराको प्रतिवादी अनन्तबहादुर खड्काले वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष गरेको बयान ।

मेरो मेनपावरको नाम अर्थ भिजन सर्भिसेज प्रा.लि. हो र यसको कार्यलाय का.म.न.पा वडा नं. ९ गौशालामा रहेको छ । यस संस्था २०६४ सालदेखि सञ्‍चालन भएको हो । मैले निज पीडितहरूलाई लेवनान मुलुकमा पठाउन भनी कागजहरू तयार पारी भिसा प्राप्त गरी टिकट काटी पठाउन लागेको काम कानूनबमोजिम नै हो । निजहरू विदेश गइसकेका थिएनन्; जाने क्रममा थिए । मैले लेवनानको भिसा टिकटसम्म बनाएको 

हुँ । इराकको भिसा र टिकटको मलाई कुनै जानकारी छैन र मैले बनाएको होइन । मलाई अभियोग माग दाबीबमोजिम सजाय हुनुपर्ने होइन । मैले कुनै कसुर अपराध गरेको छैन मलाई सफाइ हुनुपर्छ भन्‍नेसमेत बेहोराको प्रतिवादी विष्णुप्रसाद न्यौपानेले वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष गरेको बयान ।

तत्काल प्राप्त प्रमाणलाई अहिले नै नजर अन्दाज गर्न मिलेन । यो मुद्दामा पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी अहिलेलाई यी प्रतिवादीहरू विष्णुप्रसाद न्यौपाने र अनन्तबहादुर खड्काउपर लिएको कसुर माग दाबीसमेतलाई विचार गर्दा यी प्रतिवादीहरूबाट मुलुकी ऐन अ.बं. ११८ (५) र (१०) का आधारमा जनही नगद धरौट रू.२,००,०००।- (अक्षरूपी दुई लाख) वा सो बराबरको जेथा जमानी लिई तारेखमा राख्‍नु, दिन नसके कानूनबमोजिमको सिधा खान पाउने गरी अ.बं. १२१ नं. बमोजिम थुनुवा पुर्जी दिई थुनामा राख्‍न पठाइदिनु भनी वैदेशिक रोजगार न्यायाधिकरणबाट मिति २०७२।५।४ गते भएको आदेश ।

प्रतिवादी विष्णुप्रसाद न्यौपानेलाई ७ वर्ष पहिलादेखि चिनेको छु । निजको चालचलन आनीबानी राम्रो छ । निजले पीडितहरूलाई निजहरूकै चाहानाबमोजिम कानूनको रीत पुर्‍याई आवश्यक कागजहरू जुटाई दिई विदेश लेवनान मुलुकमा पठाउन खोजेका हुन्: इराक मुलुकमा होइन । निज प्रतिवादी कसैलाई ठगी गर्ने खालका मानिस होइनन् । अर्थ भिजन मेनपावर निज प्रतिवादी विष्णुप्रसाद न्यौपानेले सञ्‍चालन गरेको हुँदा निजउपर जाहेरी परेको 

हो । निज प्रतिवादीले पीडितहरूबाट रकम लिई ठगी गरेका होइनन् । निज प्रतिवादीले आरोपित कसुरबाट सफाइ पाउनु पर्ने हो भन्‍नेसमेत बेहोराको प्रतिवादी विष्णुप्रसाद न्यौपानेका साक्षी राज पाण्डेले वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष गरेको बकपत्र ।

प्रतिवादी अनन्तबहादुर खड्कालाई ८-१० वर्ष पहिलादेखि चिनेको छु । निजको चालचलन आनीबानी राम्रो छ । निज प्रतिवादीले कोही कसैलाई कही पठाएका होइनन् । निजको मेनपावरमा अर्को प्रतिवादी विष्णुप्रसाद न्यौपानेले कार्यालयले सम्पूर्ण जिम्मेवारी लिई कानूनको रीत पुर्‍याई पीडितहरूलाई लेवनान मुलुकमा पठाउन खोजेका हुन्, इराक मुलुकमा होइन । निज प्रतिवादी अनन्तबहादुर खड्कालाई यी पीडितहरूलाई लेवनान पठाउन लागेको सम्बन्धमा कुनै जानकारी नै थिएन । निज प्रतिवादीका नाउँको अर्थ भिजन मेनपावर कम्पनी अर्का प्रतिवादी विष्णुप्रसाद न्यौपानेले सञ्‍चालन गरिरहेको हुँदा निज प्रतिवादी अनन्तबहादुर खड्काको कुनै संलग्नता 

छैन । निज प्रतिवादीले आरोपित कसुरबाट सफाइ पाउनु पर्ने हो भन्‍नेसमेत बेहोराको प्रतिवादी अनन्तबहादुर खड्का साक्षी चुर्णबहादुर डि.सी.ले वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष गरेको बकपत्र ।

मैले लेवनान मुलुकमा पठाइदिनु भनी यी प्रतिवादी विष्णुप्रसाद न्यौपानेलाई अनुरोध गरेपछि निजले मलाई लेवनान पठाउन आवश्यक कागज तयार गर्नुभएको हो, इराक पठाउने भनी कुनै काम गर्नुभएको होइन । मैले इराकको कागज नाम याद नभएको अर्कै मानिसबाट बनाउन लगाएकी थिएँ । त्यो कुरा मैले प्रहरी, वैदेशिक रोजगार विभाग र अर्थ भिजन मेनपावर प्रा.लि. का सञ्‍चालक विष्णुप्रसाद न्यौपानेलाई डरले नभनी गोप्य राखेकी थिएँ । इराकको कागजपत्रहरू यी प्रतिवादीहरूले बनाएका होइनन् । मैले वैदेशिक रोजगरीमा जान भनी प्रतिवादी विष्णुप्रसाद न्यौपानेलाई रू.६०,०००।- (अक्षरूपी साठी हजार) बुझाएकी हुँ । हाल सो रकम फिर्ता पाइसेकेकी छु । तर मैले इराक मुलुक जाने भनी हाल नाम याद नभएका मानिसबाट इराकबाट टिकट र भिसा मगाएकी हुँ । सो भिसा र टिकटका कारण मैले लेवनान मुलुकमा जान नपाएकी हुँ । मेरो आफ्नै कमीकजोरीका कारण विदेश लेवनान मुलुकमा जाने काम रोकिएको हो, यी प्रतिवादीहरूको कुनै गल्ती थिएन भन्‍नेसमेत बेहोराको पीडित गंगा नगरकोटीले वैदेशिक रोजगारी न्यायाधिकरणसमक्ष गरेको बकपत्र ।

मैले लेवनान मुलुकमा पठाइदिनु भनी यी प्रतिवादी विष्णुप्रसाद न्यौपानेलाई अनुरोध गरेपछि निजले मलाई लेवनान पठाउन आवश्यक कागज तयार गर्नुभएको हो, इराक पठाउने भनी कुनै काम गर्नुभएको होइन । म यसभन्दा पहिला इराकमा गई काम गरेर फर्केकी हुँ । इराकको मेरो घरभेटीले नेपाल गएर फर्कन भनेकी हुँदा निजको सल्लाहबमोजिम मेरो इराकको लागि भिसा र टिकट पहिलेको इराकी साहुले पठाएको हो । त्यो कुरा मैले प्रहरी, वैदेशिक रोजगार विभाग र अर्थ भिजन मेनपावर प्रा.लि.का सञ्‍चालक विष्णुप्रसाद न्यौपानेलाई भनेकी थिइन । इराकको कागजपत्रहरू यी प्रतिवादीहरूले बनाएका होइनन् । मैले वैदेशिक रोजगारीमा जान भनी प्रतिवादी विष्णुप्रसाद न्यौपानेलाई रू.६०,०००।- (अक्षरूपी साठी हजार) बुझाएकी हुँ । हाल सो रकम मैले फिर्ता पाइसेकेकी छु । तर मलाई इराक मुलुक जाने भनी पहिला काम गर्ने गरेको इराकको साहुले टिकट र भिसा पठाएको हुँदा सोही कारण म लेवनान मुलुकमा जान नपाएकी हुँ । मेरो आफ्नै कमी कमजोरीका कारण विदेश जाने काम रोकिएको हो, यी प्रतिवादीहरूको कुनै गल्ती थिएन भन्‍नेसमेत बेहोराको पीडित मनमाया तामाङले वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष गरेको बकपत्र ।

मैले लेवनान मुलुकमा पठाइदिनु भनी यी प्रतिवादी विष्णुप्रसाद न्यौपानेलाई अनुरोध गरेपछि निजले मलाई लेवनान पठाउन आवश्यक कागज तयार गर्नुभएको हो, इराक पठाउने भनी कुनै काम गर्नुभएको होइन । म यसभन्दा पहिला इराकमा गई काम गरेर फर्केकी हुँ । इराकको मेरो घरवेटीले नेपाल गएर फर्कन भनेकी हुँदा निजको सल्लाहबमोजिम मेरो इराकको लागि भिसा र टिकट पहिलेको इराककी साहुले इमेल गरी पठाएको हो । त्यो कुरा मैले प्रहरी, वैदेशिक रोजगार विभाग र अर्थभिजन मेनपावर प्रा.लि.का सञ्‍चालक विष्णुप्रसाद न्यौपानेलाई भनेकी थिइन । इराकको कागजपत्रहरू यी प्रतिवादीहरूले बनाएका 

होइनन् । इराकको साहुले दिएको सल्लाहबमोजिम पहिला लेवनान जाने त्यसपछि इराक जाने भनेकी हुँ । मैले वैदेशिक रोजगारीमा जान भनी प्रतिवादी विष्णुप्रसाद न्यौपानेलाई रकम बुझाएपछि लेवनान जान चाहिने कागज तयार पारिदिनुभएको हो । तर मलाई इराक मुलुक जाने भनी पहिला काम गर्ने गरेको इराकको साहुले टिकट र भिसा पठाएको हुँदा सोही कारण म लेवनान मुलुकमा जान नपाएकी हुँ । मेरो आफ्नै कमीकजोरीका कारण विदेश जाने काम रोकिएको हो, यी प्रतिवादीहरूको कुनै गल्ती थिएन भन्‍नेसमेत बेहोराको पीडित आइती तामाङले वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष गरेको बकपत्र ।

मैले माया कान्छीमार्फत अर्थ भिजन मेनपावरमा दुबई जाने भनी राहदानी बुझाएको हुँ । लेवनानको भिसा आएको छ आउनु भनी अर्थभिजन मेनपावरको मानिसले फोन गरेपछि मिति २०७१।९।२५ मा काठमाडौं आई मिति २०७१।९।२६ मा एयरपोर्टमा गएको हो । म आफैँले इराकको भिसा लुकाएको हुँदा एयरपोर्टमा प्रहरीले भेट्टाएको कारण विदेश जान रोकिएको हो भन्‍नेसमेत बेहोराको पीडित कुमारी लामाले वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष गरेको बकपत्र ।

मलाई लेवनानको लागि टिकट, राहदानी र भिसा अर्थ भिजन मेनपावरका मानिसहरूले बनाई दिएका हुन् । म विदेश जानको लागि अर्थ भिजन मेनपावरमा गएकी मात्र हुँ । इराकको साहुनी लेवनान लिन आउने गरी पठाएको भिसा र टिकट एरपोर्टमा प्रहरीले फेला पारेपछि विदेश जानबाट रोकिएकी हुँ । म पहिला ३ महिनाअघि मात्र इराकबाट बिदा लिएर घर आएकी थिएँ र सोही समयमा आफैँले टिकट लिएर आएकी थिएँ अरू कुरा मलाई थाहा भएन भन्‍नेसमेत बेहोराको पीडित निमा लामाले वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष गरेको बकपत्र ।

पीडितहरूले अनुसन्धान अधिकारीसमक्ष दिएको निवेदन र यस न्यायाधिकरणसमक्ष उपस्थित भई गरेको बकपत्र बेहोरासमेतका मिसिल संलग्न कागज प्रमाणहरूसमेतबाट प्रतिवादीहरू अनन्तबहादुर खड्का र विष्णुप्रसाद न्यौपानेले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४६ विपरीत कसुर अपराधमा ऐ. ऐनको दफा ४६ बमोजिम सजाय गरिपाउँ भन्‍ने अभियोग मागदाबी वादी पक्षबाट प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम प्रमाणित गर्न सकेको नदेखिँदा प्रतिवादीहरू विष्णुप्रसाद न्यौपाने र अनन्तबहादुर खड्काले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ भन्‍ने बेहोराको मिति २०७२।१०।१८ मा वैदेशिक रोजगार न्यायाधिकरणबाट भएको फैसला ।

प्रस्तुत मुद्दाको फैसलामा लेवनानबाट इराक जाने हवाई टिकट, भिसा, श्रम स्वीकृतिका कागजात बरामद भएको देखिँदैन भन्‍ने आधार ग्रहण गरिएतर्फ हेर्दा नेपाल सरकारले प्रतिबन्ध लगाएको मुलुकमा रोजगारमा जान श्रम स्वीकृति नदिइने र श्रम स्वीकृतिबाहेक इराकको भिसा तथा दुबईको शारजाँहबाट इराकको इरबिलसम्मको हवाई टिकटहरू पीडितहरूबाट बरामद भई मिसिल संलग्न नै रहेको अवस्था हुँदाहुँदै सो कागजात बरामद नभएको भन्‍ने आधार लिई भएको फैसला गम्भीर त्रुटिपूर्ण छ । पीडितहरूले मौकामा कागज गर्दा आफूहरूलाई वैदेशिक रोजगारमा इराक पठाउन अर्थ भिजन मेनपावरका मानिसहरूले लेवनानको श्रम स्वीकृति, हवाई टिकट, भिसा तथा इराकको टिकट तथा भिसासमेतका कागजात दिएको र दुबईको एयरपोर्टमा पुग्नु अगावै लेवनानको टिकट, भिसालगायतका कागजात च्यात्‍नु र इराकको टिकट, भिसालगायतका कागजातहरू डायरीभित्र छ, दुबई नपुगुन्जेल ननिकाल्नु भनी सिकाएका थिए भन्‍ने बेहोरा खुलाएको देखिन्छ भने निज पीडितहरूबाट बरामद हुन आएका इराकको भिसा, टिकटलगायतका कागजातहरूसमेतबाट प्रतिवादी अर्थ भिजन मेनपावरका सञ्‍चालकहरले पीडितहरूलाई सरकारले प्रतिबन्ध गरेको देश इराकमा वैदेशिक रोजगारको लागि पठाउने कार्य गरी दाबीबमोजिम वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४६ को कसुर गरेको तथ्य पुष्टि भइरहेकोमा सोको न्यायिक मूल्याङ्कन नगरी प्रतिवादीहरूलाई सफाइ दिई भएको उक्त फैसला त्रुटिपूर्ण भई बदरभागी छ । प्रतिवादीहरूमध्येका विष्णुप्रसाद न्यौपानेले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानमा उल्लिखित पीडितहरूलाई लेवनानमा काम गर्न भनी आफ्नो मेनपावरले पठाएको हो । इराक पठाएको होइन भनी उल्लेख गरेको तर पीडितहरू पाँचै जना विदेशसम्म पुग्नु तथा निजहरूबाट इराकको टिकट र भिसासमेत बरामद हुनुले आफ्नो मेनपावरले हुँदै पीडितहरूलाई इराक पठाएको होइन भन्‍ने प्रतिवादीको जिकिर खण्डित भएको अवस्था हुँदाहुँदै प्रतिवादीहरूले पीडितलाई वैदेशिक रोजगारीको लागि इराक पठाउन नभई लेवनान मात्र पठाउन खोजेको भन्‍ने व्याख्यात्मक आधार लिई प्रतिवादीहरूलाई सफाइ दिई भएको उक्त फैसला दोषपूर्ण तथा गम्भीर त्रुटिपूर्ण भएकोले बदर गरी निज प्रतिवादीहरूउपर सुरू अभियोग दाबीबमोजिम नै सजाय कायम गराइपाउँ भन्‍नेसमेत बेहोराको यस अदालतमा मिति २०७३।१०।२७ मा दायर भएको पुनरावदेनपत्र ।

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारतर्फबाट उपस्थित हुनुभएका विद्वान् उपन्यायाधिवक्ता श्री कमलराज पन्थीको बहस सुनियो । 

यसमा प्रतिवादीहरूले सञ्चालन गरेको मेनपावरबाट प्रतिबन्धित मुलुक इराकमा पीडितहरूलाई पठाउने कागजात तयार भएको भन्‍ने आधिकारिक प्रमाण मिसिलमा नदेखिएको एवम् पीडितहरूले वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष उपस्थित भई गरेको बकपत्रसमेतका मिसिल संलग्न प्रमाणहरूबाट प्रतिवादीहरू अनन्तबहादुर खड्का र विष्णुप्रसाद न्यौपानेले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ भन्‍ने वैदेशिक रोजगार न्यायाधिकरणबाट मिति २०७२।१०।१८ मा भएको फैसला त्रुटिपूर्ण भई उक्त फैसला बदर गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदन पर्न आएको देखिन्छ ।

विद्वान्‌ उपन्यायाधिवक्ताको बहस सुनी मिसिल र पुनरावेदन पत्रसहितको मिसिल संलग्न सम्पूर्ण कागज प्रमाणहरू अध्ययन गरी हेर्दा, वैदेशिक रोजगार न्यायाधिकरणबाट भएको फैसला मिलेको छ, छैन ? र वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्‍ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, यसमा पीडितहरू आइती तामाङ, निमा ल्हामु, मनमाया तामाङ, गंगा नगरकोटी र कुमारी लामालाई प्रतिवादी अनन्तबहादुर खड्का र विष्णुप्रसाद न्यौपानेद्वारा सञ्‍चालन रहेको अर्थ भिजन मेनपावरबाट वैदेशिक रोजगारका लागि लेवनानसम्मको श्रम स्वीकृति लिई एरपोर्टमा चेकजाँचको क्रममा लेवनानबाट प्रतिबन्धित मुलुक इराक जाने हवाई टिकट भिसालगायतका कागजातहरू बरामद भएको देखिन्छ । एवम् पीडितहरूले अनुसन्धान अधिकृतसमक्ष गरेको कागजमा ती सबै कागजातहरू प्रतिवादीद्वारा सञ्‍चालित अर्थ भिजन मेनपावरद्वारा उपलब्ध गराएको भनी उल्लेख गरेको घटना विवरण कागज आधारमा महानगरीय अपराध महाशाखा हनुमानढोकाको जाहेरीले वादी नेपाल सरकारको प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । 

३. मिसिल संलग्न प्रमाणहरूबाट पीडितहरूबाट प्रतिबन्धित मुलुक इराक जाने श्रम स्वीकृतिका कागजात नभई लेवनान जानको लागि हवाई टिकट, भिसा, श्रम स्वीकृतिलगायतका कागजातहरू बरामद भएको देखिन्छ । साथै काउन्टर जाँचको क्रममा बोर्डिङ पाससमेत लेवनानसम्मको मात्र लिएको देखिन्छ । अनुसन्धानको क्रममा बरामद भएको कम्प्युटरमा समेत अर्थ भिजन मेनपावरबाट इराकमा वैदेशिक रोजगार पठाउने गरेको प्रमाण 

देखिँदैन । लेवनानको SEIFEDDINE TRADE AND GENERA। SERVICES कम्पनीसँग रोजगारी सम्झौतासमेत लिएको अर्थ भिजन मेनपावरले वैदेशिक रोजगारको लागि # ।T NO.90258 बाट श्रम स्वीकृति लिएको कागजातहरूबाट देखिन्छ । तर सो मेनपावर कम्पनीले वैदेशिक रोजगारको लागि प्रतिबन्धित मुलुक इराकमा मानिसहरू पठाउने गरेको भन्‍ने कुरा कहीँकतैबाट पुष्टि प्रमाणित भएको देखिँदैन ।

४. मूलत: घटना विवरण कागजबाट उठान भएको प्रस्तुत मुद्दामा मिति २०७१।११।०८ मा पीडितहरू पाँचैजना स्वयंले राहदानी फिर्ता पाउँ भन्‍ने निवेदन लिई वैदेशिक रोजगार विभागमा उपस्थित भई अर्थ भिजन मेनपावर कम्पनीले लेवनानसम्मको टिकट र भिसा बनाइदिएको हो, सोबाहेक हामीसँग बरामद भएका कागजात हामी आफन्तहरूबाट मगाएको हौँ, इराकको कुर्दिस्तानको बारेमा मेनपावर कम्पनीको कुनै हात नरहेको भन्‍ने बेहोरा उल्लेख भएको पाइन्छ । साथै मिति २०७२।०६।०६ गते वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष पीडितहरूले गरेको बकपत्रमा लेवनान जानको लागिसम्म सबै लिखित कागजपत्र बनाएको हो तर इराक पठाउने सम्बन्धमा यी प्रतिवादीहरूले कुनै लिखित तयार गरेका हैनन् आफूहरूले नै यी प्रतिवादीहरूलाई थाहा नदिई आफूले नै बेहोर्ने गरी छुट्टै तबरले तयारी गरेको र हामीहरूलाई इराक जाने टिकटसमेत प्रतिवादीहरूले व्यवस्था गरेको नभई आफूहरूले पहिले काम गरेको इराकका साहुले नै पठाइदिएको भन्‍ने पीडित आइती तामाङले वैदेशिक रोजगार न्यायाधिकरणमा बकपत्र गरिदिएको 

देखिन्छ । त्यसैगरी पीडितहरू निमा ल्हामु, मनमाया तामाङ, गंगा नगरकोटी र कुमारी लामासमेतले इराक पठाउने सम्बन्धमा प्रतिवादीहरूको दोष नभएको र हामीहरूले आफ्नै कार्यकारणबाट प्रतिवादीहरूलाई थाहा जानकारी नै नदिई व्यवस्थापन गरेका हौं भनी बकपत्र गरिदिएको देखिएको र प्रतिवादीहरूले अभियोग दाबीअनुसारको प्रतिबन्धित मुलुक इराकमा वैदेशिक रोजगारीको लागि पठाउने कामै नगरेको भनी इन्कारी रहेको पाइन्छ । प्रतिवादीहरूको इन्कारीलाई प्रतिवादीका साक्षीहरूले समर्थित हुने गरी बकपत्र गरिदिएको देखिन्छ साथै पीडितहरू सबै वैदेशिक रोजगार न्यायाधिकरणमा आई बकपत्र गर्दा प्रतिवादीहरूको कुनै दोष नरहेको भनी बकपत्र गरिदिएबाट प्रतिवादीउपरको अभियोग दाबीलाई प्रमाण ऐन, २०३१ को दफा २५ को अनुसार प्रमाणित गराउन सकेको पाइँदैन । अभियोग दाबी लिनु मात्र आफैँमा कसुर प्रमाणित हुने आधार बन्‍न सक्दैन । फौजदारी कसुर स्थापित हुनको लागि निर्विवादरूपले ठोस तथ्ययुक्त आधार प्रमाणबाट प्रमाणित हुनुपर्दछ तर प्रस्तुत मुद्दामा कसुर प्रमाणित गर्न कुनै प्रमाण पेस हुन सकेको पाइँदैन । प्रमाण ऐन, २०३१ को दफा १८ अनुसार अनुसन्धानको समयमा संकलित प्रमाणहरू थुनछेकको प्रयोजनको सन्दर्भमा मात्र प्रमाणयोग्य हुन जाने र कसुर प्रमाणित हुनको लागि प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार विवादरहित स्वतन्त्र तथ्ययुक्त प्रमाणबाट पुष्टि नभएको अवस्थामा बलपूर्वक ऐनको विपरीत व्याख्या गरी कसुरदार ठहर गर्नु फौजदारी न्यायको सर्वमान्य सिद्धान्तविपरीत हुन जाने हुन्छ ।

५. तसर्थ, लेवनानको स्वीकृति भएको अर्थ भिजन मेनपावरले प्रतिबन्धित मुलुक इराकमा पठाउने कागजात तयार गरेको भन्‍ने मिसिल संलग्न  प्रमाणहरूबाट पुष्टि प्रमाणित हुन नसकेको एवम् पीडितहरूले वैदेशिक रोजगार विभागमा दिएको निवेदन र वैदेशिक रोजगार न्यायाधिकरणमा दिएको बकपत्रहरूबाट कसुर गरेको स्थापित नभएकोले प्रतिवादीहरू विष्णुप्रसाद न्यौपाने र अनन्तबहादुर खड्काले अभियोग दाबीबाट सफाइ पाउने ठहर्‍याई वैदेशिक रोजगार न्यायाधिकरणबाट मिति २०७२।१०।१८ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसला विद्युतीय प्रति अपलोड गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या.हरिकृष्ण कार्की 

 

इजलास अधिकृत : कृष्णप्रसाद अधिकारी

शाखा अधिकृतः योमा मुलपती

इति संवत् २०७६ साल पौष १६ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु