शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४४१२ - लिखत बदर

भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११

निर्णय नं. ४४१२     ने.का.प. २०४८      अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री गजेन्द्रकशरी बास्तोला

सम्वत् २०४६ सालको दे.पु.नं. ४९१

फैसला भएको मिति : २०४७।११।१५।४ मा

पुनरावेदक/वादी : कास्की जि.देउराली गा.पं. वा.नं. ४ बस्ने कौशिलादेवी घिमिरेसमेत

विरुद्ध

विपक्षी/प्रतिवादी : कास्की जि. पो.न.पं. वा.नं. ३ नदिपुर बस्ने पार्वतीदेवी पाण्डेसमेत

मुद्दा : लिखत बदर

(१)    माइतीबाट दिएको धन दाइजो भन्नु पर्नेमा त्यस्तो धनलाई पेवा भन्ने उल्लेख गर्दैमा त्यस्तो धन सम्पत्ति माइतीबाट दिएको होइन भन्ने स्थिति हुँदैन राजीनामामा तिमीलाई माइतीले दिएको सम्पत्ति मासेको भनेकोले सो सम्पत्ति धन माइतीले दिएकै  भन्ने कुरामा उक्त राजिनामा लिखतैबाट विवाद नदेखिँदा त्यस्तो सम्पत्ति धनलाई जुनसुकै शब्द प्रयोग भए पनि सो सम्पत्ति धन माइतीबाटै दिएको धन भन्ने कुराको विवाद नहुँदा राजीनामा लिखतमा पेवा भन्ने उल्लेख हुँदा त्यस्तो सम्पत्ति अन्यथा रहेछ भन्न र अमान्य गर्न नमिल्ने ।

(प्रकरण नं. १५)

(२)   पाएको सम्पत्ति माइतीको धन मासे बापत पाएको र त्यस्तो सम्पत्ति सो नाताबाट हक भोगी चर्ची आएको र मन्जूरी नहुनेले सो लिखत बदर गराउन नसकेकोले स्त्री अंशधनको महल बमोजिम त्यस्तो सम्पत्ति निजी एकलौटी सम्पत्ति हुने ।

(प्रकरण नं. १६)

(३)   ऐनको म्यादभित्र मौकैमा लिखत बदर गराउन नसकेको स्थितिमा सम्पत्ति सगोलको हो र सगोलमा नै रहेकोले बदर गराउन हामी आएनौं भन्ने वादीहरुको भनाई मिल्दो देखिन्न, सगोलबाट विवादको सम्पत्तिले निजी एकलौटी रुप लिएपछि त्यस्तो सम्पत्तिमा असर पर्ने व्यक्तिले मौकैमा उजूर गरी त्यस्तो लिखतलाई बदर गराउनु पर्ने ।

(प्रकरण नं. १६)

पुनरावेदकतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह

विपक्षीतर्फबाट: विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर

फैसला

न्या.त्रिलोकप्रताप राणा

१.     पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदनको अनुमति प्रदान भई आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार रहेछ । (साविक पेज नं. ७४५)

२.    मेरा पति रुद्रनाथ र कौशिलाबाट जन्मेका छोरा विष्णुहरी र ऋषिराम हुन् । पति दुई छोरा आजसम्म सगोलमा परलोक भएपछि आमा र हामी मुल अंशियारबाट बण्डा गरी पाउने विष्णुहरी सो बाट पाउने लिलादेवी हुन् । विपक्षी लिलादेवी समेत हामी अंशियार आजसम्म सगोलमा नै बसी आएका र हाम्रो पैतृक सम्पत्ति बढे बढाएको जग्गा जमीन हरेक अंशियारको नाउँमा रहे भएको छ । कास्की रुपाकोट गा.पं. वडा नं. ३ को प्रस्तुत कि.नं. १३५६ को रोपनी ०१३३ को घर जग्गा विपक्षी लिलादेवीका नाउँमा रहे भएको र नापीमा पनि निजका नाउँमा दर्ता भएको छ तापनि हामी सबैको भाग बण्डा लाग्ने जग्गा हो । निजले एकलौटी आफूखुश गरी बेच्न पाउने होइन । कि.नं. १३५६ को घरजग्गा विपक्ष लिलादेवी दिने विपक्ष पार्वतीदेवी लिने गरी पचासौं हजार मूल्य पर्नेलाई मोल रु. १०,०००।थैली राखी मिति २०४०।११।२२ मा राजीनामा पारीत गरेछन् । सो कुरा २०४१।७।५ मा नक्कल सारी लिंदा थाहा पाएकोले लेनदेन व्यवहारको १० नं. प्रतिकूल भएको उक्त राजीनामाको घर जग्गा म, कौशिला ऋषिरामको पूरै एक एक बण्डा र म विष्णुहरीको भागमा २ छोरा समेत ४ अंशियार हुँदा मेरा हक बदर गरी हक इन्साफ पाउँ भन्ने समेत कौशिला विष्णुहरी, ऋषिराम घिमिरेको फिराद दावी ।

३.    प्रतिवादी मध्येकी लिलादेवी कौशिलाको छोरी बुहारी विष्णुहरीकी श्रीमती ऋषिरामको भाउजू नाताकी हुन् । विष्णुहरीको हक भोगको कि.नं. ४ बाट कित्ता फोड हुँदा कायम भएको कि.नं. १३५७ को जग्गा म पार्वतीलाई र कि.नं. १३५६ को जग्गा लिलादेवीको दाइजो पेवा विष्णुहरीले मासी खाएकोले लिलादेवीलाई २०३६।१२।१० मा राजीनामा पारीत गरी दिएकोले लिलादेवीको हक भई लालपूर्जा पाएकी छन् । विष्णुहरीले लिलादेवीलाई जग्गा दिंदा ऋषिराम कौशिलाले दावी लिएका छैनन् । सोही कि.नं. १३५६ को जग्गा लिलादेवीसंग मैले लिएको हुँ । वादीहरुको दावी लाग्ने जग्गा किनेकी नभई लिलादेवीको दाइजो पेवाको जग्गा राजीनामा गरी लिएकी हुँदा लिखत बदर हुनु पर्ने होइन । लिखत सदर कायम राखी पाउँ भन्ने समेत व्यहोराको पार्वतीदेवी पाण्डेको प्रतिउत्तरपत्र ।

४.    वादीहरु र म समेत एकासगोलमा छौं । कि.नं. १३५६ को रोपनी ०१३३ को घर जग्गा मेरो मात्र नभई भोगबन्धकी गरी दिने भनी मालपोत कार्यालयमा गई रु. ५०,०००।लिई फाराममा सहिछाप गरी दिएकी हुँ । म अनपढ नारीलाई घोर झुक्यानमा पारी लेखन्दासलाई मिलाई विपक्ष पार्वतीले राजीनामा पारीत गरेकी हुँदा वादी दावी अनुसार लिखत बदर भएमा मेरो मन्जूर छ भन्ने व्यहोराको प्रतिवादी लिलादेवी घिमिरेका प्रतिउत्तरपत्र ।

५.    अंशियार विष्णुहरीले आफ्नो श्रीमती लिलादेवीलाई २०३६।१२।१० मा दिएको राजिनामातर्फ अन्य सगोलको अंशियारहरुले कुनै उजूर गरी बदर समेत नगरेको देखिँदा ०४०।११।२२ मा लिलादेवीले २०३६ सालकै राजीनामाबाट पेवाको रुपमा पाएको जग्गा राजीनामा गरी दिएको देखिँदा वादी दावी अनुसार लिखत बदर हुने ठहर्दैन भन्ने समेत कास्की जिल्ला अदालतको २०४२।३।२ को फैसला ।

६.    का.जि.अ.को २०४२।३।२ को फैसलामा चित्त बुझेन । सो फैसला बदरगरी हाम्रो वादी दावीबमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको वादी कौशिला घिमिरे र ऋषिराम घिमिरेको ग.अं.अ. मा परेको संयुक्त पुनरावेदनपत्र ।

७.    शुरु जिल्ला अदालतको वादी दावी पुग्न नसक्ने भनी ठहर गरेको निर्णय नै सदर हुने ठहर्छ भन्ने समेत गण्डकी अञ्चल अदालतको २०४४।११।२२ को पुनरावेदन फैसला ।

८.    ग.अं.अ. को २०४४।११।२२ को (साविक पेज नं. ७४६) फैसलामा चित्त बुझेन । सो फैसलामा न्याय प्रशासन सुधार ऐन, २०३१ को संशोधन २०४३ को दफा १३(४)(ख) (ग) (घ) को प्रश्नमा प्रत्यर्थी गम्भीर कानुनी त्रुटि हुँदा सो फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको ऋषिराम घिमिरे, कौशिला घिमिरेको प.क्षे.अ.मा परेको निवेदनपत्र ।

९.    यस्मा स्त्री अंशधनको ४ नं. मा दाइजो र पेवाको परिभाषा भएको देखिन्छ । प्रतिवादी लिलादेवी घिमिरेले २०३६।१२।१०।३ मा विष्णुहरीबाट लिएको राजिनामा पेवा धन मैले मासेकोले सो बापत दियाँ भन्ने उल्लेख भएकोबाट स्त्री अंश धनको ४ नं. मा उल्लेख गरिएअनुसारको पेवा भन्ने कुरा मिल्न आएको नदेखिएको र सो राजिनामा लिंदा अंशियारको मन्जूरी लिखत भएको समेत नदेखिँदा पेवा बापत राजिनामा लिएको कायम हुने गरी लिखत बदर नहुने ठहर्‍याएको गण्डकी अञ्चल अदालतबाट भएको फैसलामा त्रुटि देखिई न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(४)(ख) को अवस्था विद्यमान देखिँदा पुनरावेदनको अनुमति दिइएको छ, नियमानुसार गरी पेश गर्नु भन्ने २०४५।५।१६।५ को प.क्षे.अदालत एक न्यायाधीशको आदेश ।

१०.    लिलादेवीको दाइजो पेवा कायम भइसकेपछि निज लिलादेवीले पार्वतीदेवीलाई मिति ०४०।१२।२२ मा राजिनामा गरिदिए पश्चात मात्र लेनदेन व्यवहारको १० नं. बमोजिम फिराद गरेको देखिँदा मिति ०३६।१२।१० को लिखत बदर नभई कायमै रहेको अवस्थामा मिति ०४०।१२।२२ गतेको लिखत बदर हुने अवस्थामा नदेखिएकोले शुरुको इन्साफ सदर गरेको ग.अं.अ. को फैसलामा कानुनी त्रुटि भएको नदेखिँदा सो इन्साफ मनासिब ठहर्छ भन्ने प.क्षे.अ. को फैसला ।

११.    प.क्षे.अ. को फैसलामा लेनदेन व्यवहारको १० नं. र अ.बं. १८४(क), १८५ नं. को त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा दर्ता हुन आएको कौशिलादेवी समेतको निवेदनपत्र ।

१२.   प.क्षे.अ.को फैसलामा लेनदेन व्यवहारको १० नं. को कानुनी त्रुटि देखिँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यसअदालत संयुक्त इजलासको मिति २०४६।५।१३ को आदेश ।

१३.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंहले कि.नं. ४ को ज.रो. ३२ मध्ये ०१३१२ १/२ र सो मा रहेको घर समेत विष्णुहरीले २०३६।१२।१० मा आफ्नी पत्नी लिलादेवीलाई राजीनामा गरी दिइएको र सो राजीनामाको कैफियतमा तिमीलाई माइतीले दिएको पेवा धन मासेकोले सो बापत दिएको उल्लेख छ । सो लिखतमा घर परिवारका कुनै साक्षी छैन । लिलादेवीले आफ्नो पति विष्णुहरीबाट राजीनामा गरिलिएको भए तापनि विवादको सम्पत्ति बाहिर नगई अंशियार कै बिचमा रहेकोले लिखत बदर गराउन नआएको हो । तर लिलादेवीले २०४०।१२।२२ मा उक्त विवादको सम्पत्ति पार्वती देवीलाई राजीनामा गरी दिएकीले लिखत बदर तर्फ आउनु परेको हो । माइतीले दिएको दाइजो हुन्छ पेवा हुँदैन । माइतीले दिएको पेवाको मासेको भन्ने कुरै मिलेको छैन । विवादको सम्पत्ति सबैको सगोलको पैतृक सम्पत्ति हुँदा अरु अंशियारको पनि मन्जूरी लिनु पर्नेमा नलिएको हुँदा ३ भाग लिखत बदर हुनुपर्छ भनी र विपक्षी पार्वती तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री पन्नामान तुलाधरले विवादको जग्गा स्वआर्जनको हो । मिति २०३१।११।२१।४ मा इमानाथबाट विष्णुहरीले खरीद गरी लिएको हो । मालपोत कार्यालयमा भएको दर्ता व्यहोरामा मेरो एकलौटी हक लाग्ने अरुको अंश नलाग्ने भनी दर्ता गराएको छ त्यस्तो सम्पत्ति (साविक पेज नं. ७४७) लाई हाल विष्णुहरीले फिराद दिंदा सगोलका भन्नु हुन्छ सो भन्न वादी विष्णुहरीलाई मिल्दैन । विवन्धनको सिद्धान्तले निज विष्णु हरीलाई सो भन्न विवन्धित गरेको छ । विष्णुहरीले लिला देवीलाई माइतीले दिएको पेवा मासेको भनी लिखत राजीनामा मै उल्लेख गरी बिक्री गर्दा यी वादी कौशिला घिमिरे र ऋषिरामको उजूर परेको छैन । माइतीबाट दिएको सम्पत्ति मासे बापत लिलादेवीले राजीनामाबाट सो सम्पत्ति पाई सो नाताबाट हक भई भोगी चर्ची आएको त्यस्तो सम्पत्ति निजी स्त्री अंश धनको सम्पत्ति हो । लिलादेवीले यस्तो निजी सम्पत्ति पार्वती देवीलाई बिक्री गरेपछि मात्र यो उजूर परेकाले लिखत बदर हुने अवस्था छैन । लिखतमा दाइजोलाई पेवा वा पेवालाई दाइजो भनी लेख्दैमा सम्पत्तिको रुप बदलिने होइन । वस्तुतः सो कस्तो सम्पत्ति हो सो सम्म हेरिने हो । राजिनामाबाट पाएको उक्त सम्पत्ति लिलादेवीको माइतीले दिएको सम्पत्ति मासे बापत पाएकोले माइतीको धन मासे भन्ने कुरा तर्फ विवाद नहुँदा पेवा लेख्दैमा अमान्य हुने होइन । अतः प.क्षे.अ.प. को इन्साफ सदर हुनुपर्छ भनी बहस गर्नु भयो । वादी पुनरावेदकहरु तर्फबाट आफ्नो पक्षमा ने.का.प. २०४६, नि.नं. ३९३५, नि.नं. ३९४२, २०४१ सालको नि.नं. १९४८ को नजिर पेश गर्नु भयो ।

१४.   यस्मा प.क्षे.अ. को इन्साफमा मनासिब बेमनासिब के रहेछ सो को निर्णय दिनु पर्ने हुन आयो ।

१५.   आज निर्णय सुनाउने तारेख तोकी, नियमानुसार निणयार्थ पेश भएको प्रस्तुत मुद्दाको निर्णय तर्फ विचार गर्दा विष्णुहरीकी श्रीमती लिलादेवीले पार्वती देवीलाई मिति २०४०।११।२२ मा कि.नं. १३५६ को रोपनी ०१३३ को जग्गा घर बिक्री गरिछन् । सो घर जग्गा हामी फिरादी आमा कौशल्या, छोरा विष्णुहरी र म ऋषिरामको सगोलको सम्पत्ति हो । सबैको भाग बण्डा लाग्ने सम्पत्ति एकलौटी आफूखुस गर्न नपाउने हुँदा अंशियार हामी ३ जनामा कौशिला, विष्णुहरी र ऋषिराम भएकोले म कौशिला, ऋषिरामको पूरै एक एक बण्डा र म विष्णुहरीको भागको विपक्षी र दुई छोरा समेत ४ अंशियार हुँदा हाम्रो हक जति लेनदेन व्यवहारको १० नं. बमोजिम बदर गरी पाउँ भन्ने फिराद दावी भएकोमा विवादको जग्गा वादीहरुको हक लाग्ने होइन वादी मध्येका विष्णुहरीले आफ्नो श्रीमती लिलादेवीलाई माइतीले दिएको पेवा धन मासी दिए बापत मिति २०३६।१२।१० मा राजीनामा पारीत गरिदिएको हो । यसरी लिलादेवीको हक पुगेको पेवा सम्पत्तिमा उस बखत लेनदेन व्यवहारको १० नं. बमोजिमको उजूर नहुँदा बदर हुनु पर्ने होइन भन्ने प्रतिवादी जिकिर देखिन्छ । मिति २०३६।१२।१० को लिखत हेर्दा विष्णुहरीले लिलादेवीलाई कि.नं. ४ को ०१३१ १/२ तिमीलाई माइतीले दिएको पेवा धन मासे बापत दिएको भनी लेखिएको पाइन्छ । माइतीले दिएको सम्पत्ति धन दाइजो हुन्छ । उक्त लिखतमा पेवा लेखिएकोले सो लाई मान्यता दिन मिल्दैन भन्ने वादी पुनरावेदक तर्फका विद्वान वरिष्ठ अधिवक्ताको बहस भएकोमा २०३६।१२।१० को राजिनामा लिखत हुँदा माइतीले दिएको धन मासे बापत विष्णुहरीले विवादको सम्पत्ति दिएको हुँदा माइतीको धन मासेकोमा दिएको भन्ने पाइन्छ । माइतीबाट दिएको धन दाइजो भन्नु पर्नेमा विष्णुहरीले त्यस्तो धनलाई पेवा भन्ने उल्लेख गर्दैमा त्यस्तो धन सम्पत्ति माइतीबाट दिएको होइन भन्ने स्थिति हुँदैन । राजिनामामा तिमीलाई माइतीले दिएको सम्पत्ति मासेको भनेकोले सो सम्पत्ति धन माइतीले दिएकै भन्ने कुरामा उक्त राजिनामा लिखतबाट विवाद नदेखिँदा त्यस्तो सम्पत्ति धनलाई जुनसुकै शब्द प्रयोग भए पनि सो सम्पत्ति धन माइतीबाटै दिएको भन्ने कुराको विवाद नहुँदा राजिनामा लिखतमा पेवा भन्ने उल्लेख हुँदैमा त्यस्तो सम्पत्ति अन्यथा रहेछ भन्न र अमान्य गर्न मिल्दैन ।

१६.    विष्णुहरीले माइतीले दिएको पेवा धन मासे बापत तिमीलाई राजिनामा गरेको भनी २०३६।१२।१० (साविक पेज नं. ७४८) मा विवादको सम्पत्ति लिलादेवीलाई दिएपछि सो सम्पत्ति माइतीको धन मासे बापत दिएको नभए अंश नभई एका घरसंग बसेका अरु अंशियार यी वादी कौशिला र ऋषिरामको मन्जूरी नभए मौकैमा ऐनको म्यादभित्र उजूर गर्न पर्ने हो । तर त्यस्तो उजूर वादी कौशिला र ऋषिरामको परेको पाइन्न । विष्णुहरीबाट लिलादेवीले मिति २०३६।१२।१० मा पाएको सम्पत्ति माइतीको धन मासे बापत पाएको र त्यस्तो सम्पत्ति सो नाताबाट लिलादेवीको हक भोगी चर्ची आएको र मन्जूरी नहुनेले सो लिखत बदर गराउन नसकेकोले स्त्री अंश धनको महल बमोजिम त्यस्तो सम्पत्ति लिलादेवीको निजी एकलौटी सम्पत्ति हुन जान्छ ।

१७.   विवादको सम्पत्ति लिलादेवीले आफ्नो लोग्ने विष्णुहरीबाट माइतको धन सम्पत्ति मासेबाट राजिनामाबाट पाएपछि त्यस्तो सम्पत्ति सगोलको रुप परिवर्तन भई स्त्री अंश धनको कानुन अनुसार लिलादेवीको निजी एकलौटी रुपको हुन आएको छ । ऐनको म्यादभित्र मौकैमा त्यस्तो लिखत बदर गराउन नसकेको स्थितिमा सम्पत्ति सगोलको हो र सगोलमा नै रहेकोले बदर गराउन हामी आएनौं भन्ने वादीहरुको भनाई मिल्दो देखिन्न । सगोलबाट विवादको सम्पत्तिले निजी एकलौटीको रुप लिएपछि त्यस्तो सम्पत्तिमा असर पर्ने व्यक्तिले मौकैमा उजूर गरी त्यस्तो लिखतलाई बदर गराउन पर्ने हो । तर कौशिला र ऋषिराम वादीहरुलाई सो ०३६।१२।१० को लिखत भएको थाहा पाए पछि पनि मौकैमा ऐनको म्यादभित्र उजूर गरी त्यस्तो राजिनामा लिखत बदर गराउन सकेको पाइन्न ।

१८.   मिति २०३६।१२।१० को राजिनामा बमोजिम एकलौटी निजी सम्पत्तिको रुपमा हक भई भोगी आएको त्यस्तो सम्पत्तिलाई मिति २०४०।११।२२ मा लिलादेवीले पार्वती देवीलाई बिक्री गरेकोले त्यस्तो सम्पत्ति सगोलको अंश हक लाग्ने हो र लेनदेन व्यवहारको १० नं. बमोजिम बदर गरी पाउँ भन्ने वादी दावी मिल्दो देखिन्न । विवादको सम्पत्तिले मिति २०३६।१२।१० को राजिनामाबाट आफ्नो रुपमा परिवर्तन ल्याई सकेकोले त्यस्तो सम्पत्ति सगोलको भनी सो नाताबाट लिखत बदर हुने तर्फ वादी पुनरावेदक तर्फबाट प्रस्तुत उपरोक्त नजीरहरु लागू हुने स्थितिको देखिएन । वादी दावी अनुसार लिखत बदर नहुने ठहराएको शुरु जि.अ. को इन्साफ सदर गरेको गण्डकी अञ्चल अदालतको इन्साफ मनासिब ठहराएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । कोर्टफी राखी पुनरावेदन गरेको देखिँदा केही गर्न परेन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४७ साल फागुण १५ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु