निर्णय नं. १०४०५ - लागु औषध
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
फैसला मिति : २०७६।९।२८
०७५-CR-००६४
मुद्दाः लागु औषध
पुनरावेदक / वादी : दाउद मियाँको छोरा जिल्ला मोरङ डाइनिया गाउँ विकास समिति वडा नं.९ घर भई हाल कारागार कार्यालय मोरङ विराटनगरमा कैदमा बस्ने उसमान आलमसमेत
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : प्रहरी सहायक निरीक्षक रोहित खुलीमुलीको प्रतिवेदन जाहेरीले नेपाल सरकार
न्यायिक स्वविवेकको प्रयोग गर्दा कसुरदारको दोषीपना, त्यस प्रकृतिको अपराधबाट समाजमा पर्ने प्रभाव, पीडित भए निजलाई परेको पीडा, मुद्दाको तथ्यसँग आबद्ध कतिपय विषयहरू विचार गरी कसुरको दायरा निर्धारण गर्नु उपयुक्त हुने ।
निश्चित अवधिको सजायको कानूनी व्यवस्था रहेको अवस्थाबाहेक कुनै पनि आरोपित व्यक्तिउपर पहिलोचोटिको अपराधमा सजाय गर्दा कसुरदारको दोषीपनाबारे स्पष्ट रूपले विचार नगरी एकैपटक उपल्लै हदको सजाय गर्ने हो भने उक्त व्यक्तिको अपराधप्रतिको धारणामा परिवर्तन आउन नसक्ने ।
(प्रकरण नं.३)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री जयप्रसाद प्रसाई
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री बुद्धिलाल श्रेष्ठ
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
लागु औषध (नियन्त्रण) ऐन, २०३३
सुरू तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री हरिश्चन्द्र इङनाम
मोरङ जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री पुष्पराज कोइराला
माननीय न्यायाधीश श्री ऋषिप्रसाद अधिकारी
उच्च अदालत विराटनगर
फैसला
न्या.पुरूषोत्तम भण्डारी : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदनको रोहमा यस अदालतमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ:-
तथ्य खण्ड
मिति २०७२।११।२४ गते अं.११:३० बजेको समयमा जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा. नं.४ शान्तिटोल स्थित पूर्वमा मावा खोलाको किनारा, पश्चिम मस्जिद हुँदै शान्तिटोल निस्कने कच्ची सडक, उत्तर-दक्षिण मावा खोला करिडोरको कच्ची सडक यति चारकिल्लाभित्र सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आइरहेको को.३ प.१०८ नं.को मोटरसाइकल चेकजाँच गर्ने क्रममा उसमान आलम मियाले चलाई ल्याएको मोटरसाइकल रोकी निजहरूको शरीर खानतलासी लिँदा उसमान आलम मियाले लगाएको पाइन्टको दाहिनेपट्टिको गोजीमा नाइट्रोसन १४० ट्याब्लेट, स्पास्मो प्रोक्सिभन क्याप्सुल ८ चक्कीसमेतका अवैध लागु औषध तथा भारतीय रू.५००।- दरको थान ३, रू.१००।- दरको थान २ गरी जम्मा भा.रू.१,७००।- विभिन्न दरको नेपाली रूपैयाँ रू.५५०।- समेत बरामद भएको, त्यस्तै प्रतिवादी ममताज आलमले लगाएको पाइन्टको बायाँपट्टिको गोजीमा नाइट्रोसन १४० ट्याब्लेट, स्पास्मो प्रोक्सिभन ८ चक्की र को.३ प.१०८ नं. को मोटरसाइकलमा राखी ममताजले समाती बोकेको जर्किनमा कोरेक्स ६२ थान र रातो झोलामा राखिएको ३४ थान कोरेक्स गरी जम्मा ९६ थान अवैध लागु औषध तथा को.३ प.१०८ नं.को मोटरसाइकलसमेत बरामद भएको भन्ने बेहोराको घटनास्थल खानतलासी बरामदी मुचुल्का ।
मिति २०७२।११।२४ गते अं.११.३० बजेको समयमा जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा. नं.४ स्थित सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा दक्षिणबाट उत्तरतर्फ आइरहेको को.३प. १०८ नं.को मोटरसाइकल रोकी चेकजाँच गर्दा उक्त मोटरसाइकलमा सवार रहेका उसमान आलम मियाले चलाई ल्याएको मोटरसाइकल रोकी निजहरूको शरीर खानतलासी लिँदा उसमान आलम मियाले लगाएको पाइन्टको दाहिनेपट्टिको गोजीमा नाइट्रोसन १४० ट्याब्लेट, स्पास्मो प्रोक्सिभन क्याप्सुल ८ चक्कीसमेतका अवैध लागु औषध तथा भारतीय रू.५००।- दरको थान ३, रू.१००।- दरको थान २ गरी जम्मा भा.रू.१,७००।- विभिन्न दरको नेपाली रूपैयाँ रू.५५०।- समेत बरामद भएको, त्यस्तै प्रतिवादी ममताज आलमले लगाएको पाइन्टको बायाँपट्टिको गोजीमा नाइट्रोसन १४० ट्याबलेट, स्पास्मो प्रोक्सिभन ८ चक्की र को.३प. १०८ नं.को मोटरसाइकलमा राखी ममताजले समाती बोकेको जर्किनमा कोरेक्स ६२ थान र रातो झोलामा राखिएको ३४ थान कोरेक्स गरी जम्मा ९६ थान अवैध लागु औषध तथा को.३ प. १०८ नं.को मोटरसाइकलसमेत बरामद गरी निज प्रतिवादीहरूलाई दशी प्रमाणसहित नियन्त्रणमा लिई निजहरूउपर कानूनबमोजिम कारबाहीका लागि दशी प्रमाणसहित उपस्थित गराएको छु भन्ने बेहोराको प्र.स.नि. रोहित खुलीमुलीको प्रतिवेदन ।
मिति २०७२।११।२४ गते बिहान मेरो साथी उसमान आलमको साथ लागी निजकै को.३ प. १०८ नं.को मोटरसाइकलमा बसी भारतको फुलवडिया भन्ने स्थानमा पुगी त्यहाँबाट अवैध लागु औषध निजैले खरिद गरी सो लागु औषध नेपालतर्फ ल्याई दिएबापत मलाई रू.१,०००।- दिने भनेको हुँदा निजको साथ लागी लागु औषध लिई मोटरसाइकलको पछाडि बसी आइरहेको अवस्थामा घटनास्थलमा प्रहरीले चेकजाँच गर्दा मेरो साथबाट नाइट्रोसन १४० ट्याब्लेट, स्पास्मो प्रोक्सिभन ८ चक्की लागु औषध र मैले समाती बोकी राखेको जर्किनमा कोरेक्स ६२ थान र रातो झोलामा राखिएको ३४ थान कोरेक्स गरी जम्मा ९६ थान अवैध लागु औषधसहित हामीहरूलाई नियन्त्रणमा लिएको
हो । पैसाको प्रलोभनमा परी उक्त वारदात घटाएको हो भन्ने बेहोराको प्रतिवादी मोहम्मद ममताज आलमले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०७२।११।२४ गते मेरो साथी मोहम्मद ममताज आलमलाई मेरो को.३ प. १०८ नं.को मोटरसाइकलमा राखी भारतको फुलवडिया भन्ने स्थानमा पुगी त्यहाँबाट कोरेक्स ९६ बोतल, नाइट्रोसन २८० ट्याब्लेट र स्पास्मो प्रोक्सिभन १६ ट्याब्लेट लागु औषध मैले नै खरिद गरी निज साथीलाई निजबाट बरामद भएको लागु औषध बोक्न दिई बाँकी रहेको मेरो साथबाट बरामद भएको लागु औषध मैले साथमा राखी नेपालतर्फ लुकाई छिपाई मोटरसाइकल चलाई आउने क्रममा मेरो साथबाट नाइट्रोसन १४० ट्याब्लेट, स्पास्मो प्रोक्सिभन क्याप्सुल ८ चक्कीसमेतका अवैध लागु औषध तथा भारतीय रू.५००।- दरको थान ३, रू.१००।- दरको थान २ गरी जम्मा भा.रू.१,७००।- र विभिन्न दरको नेपाली रूपैयाँ रू.५५०।- समेत प्रहरीले नियन्त्रणमा लिई बरामद गरेको हो । मसँगै पक्राउ परेका साथी मोहम्मद ममताज आलमलाई लागु औषध ओसारपसार गरेबापत रू.१,०००।- दिने सर्तमा निजलाई बोक्न दिएको हो । निजबाट बरामद भएको लागु औषधहरूसमेत मैले नै खरिद गरेकोमध्येको
हो । बरामद भएको लागु औषधहरू बिक्री वितरण गर्ने उद्देश्यले ल्याएका हौं भन्ने बेहोराको प्रतिवादी उसमान आलमले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
प्रतिवादीहरूबाट बरामद भएको लागु औषध परीक्षण गर्दा नाइट्राजेपाम र कोडिनको मात्रा पाइएको भन्ने बेहोराको केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला काठमाडौंबाट भएको लागु औषध परीक्षण रिपोर्ट ।
मिति २०७२।११।२४ गते अं.११:३० बजेको समयमा जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.४ स्थित भित्री सडक खण्डमा चेकिङमा खटिएको प्रहरीको टोलीले को.३प.१०८ नं.को मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्लाष्टिकको जर्किन र झोलाभित्र गरी ९६ बोतल कोरेक्स तथा मोटरसाइकल चालक उसमान आलमको साथबाट नाइट्रोसन ट्याब्लेट १४० ट्याब्लेट, प्रोक्सिभन क्याप्सुल ८ वटा, भा.रू., ने.रू. नोटसमेत फेला परेको र मोटरसाइकल पछाडि बस्ने ममताज आलमको साथबाट नाइट्रोसन ट्याब्लेट १४० ट्याब्लेट, प्रोक्सिभन क्याप्सुल ८ वटा फेला पारी मोटरसाइकल बरामद गरी मानिससमेतलाई पक्राउ गरेको हो । निज प्रतिवादीहरूले लागु औषध भारतबाट ओसारपसार गरी विभिन्न स्थानमा लगी बिक्री वितरण गरेको हुँदा प्रतिवादी उसमान आलमसमेतलाई कानूनबमोजिम कारबाही होस् भन्ने बेहोराको मुन्यप्रसाद पौडेलसमेतका मानिसहरूले एकैमिलान हुने गरी लेखाई दिएको वस्तुस्थिति
मुचुल्का ।
घटनास्थल खानतलासी बरामदी मुचुल्का, प्रहरीको प्रतिवेदन, पक्राउ प्रतिवादीहरूको बयान, परीक्षण रिपोर्ट एवं वस्तुस्थिति मुचुल्कासमेतका कागजातहरूबाट २०७२।११।२४ गते अं.११.३० बजेको समयमा को.३प. १०८ नं.को मोटरसाइकलमा सवार भएका प्रतिवादीहरूको साथबाट कोरेक्स ९६ बोतल, नाइट्रोसन चक्की २८० ट्याब्लेट र स्पास्मो प्रोक्सिभन ट्याब्लेट १६ चक्कीसमेतका अवैध लागु औषधहरू बरामद भएको तथा उक्त लागु औषधहरू नेपालतर्फ बिक्री वितरण गर्ने उद्देश्यले भारतको फुलवडिया भन्ने स्थानबाट खरिद गरी साथमा राखी लुकाई छिपाई को.३ प १०८ नं.को मोटरसाइकल प्रयोग गरी ओसारपसार गरेको तथ्य स-प्रमाण पुष्टि हुन आएकोले निज प्रतिवादीहरू मो. उसमान आलम र मो. ममताज आलमलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को देहाय (घ),(ङ) र (च) को कसुर अपराधमा ऐ. ऐनको दफा १४(१)(झ) बमोजिम सजाय गरी लागु औषध ओसारपसारमा प्रयोग भएको को.३ प १०८ नं.को मोटरसाइकल ऐ.ऐ.को दफा १५ र १८ बमोजिम जफत गरिपाउँ भन्ने वादी नेपाल सरकारको अभियोग पत्र ।
मिति २०७२।११।२४ गते बिहान म मो. उसमानको घर बनाउन आउँदा दाइले मलाई पथरी किराना पसलको सामान लिएर जाउ अनि काम गरौंला भनेकाले उहाँको को.३प. १०८ नं.को मोटरसाइकलमा गएका थियौं । पथरीमा सबै किराना पसलको सामानहरू खरिद गरिसकेका थियौं । मो. उसमानको मोबाइलमा फोन आयो र के-के कुरा गर्नुभयो र मलाई पनि उर्लाबारी जाउँ भन्नुभयो । म जाँदिन तपाइँ आफैँ पैसा लिएर आउनु म यहाँ पथरीमै पर्खी बस्छु भनेँ तर जाउँ न त पैसा पनि दिन्छ लिएर आउनुपर्छ भनेकाले म पनि दाइको मोटरसाइकलमा पछाडि चढेर उर्लाबारी अरनिको हस्पिटल नजिकसम्म पुग्यौं । एकछिनपछि दाइको साथीसँग भेट भएर केही कुरा भएपछि तँ पैसा लान्छस् तँलाई पैसा चाहियो भन्दै दाइलाई ७/८ जना केटाहरूले कुटपिट गरेपछि प्रहरीको गाडी आई किन झगडा गरेको भन्दै मोटरसाइकलसहित दाइलाई प्रहरीको गाडीमा लगेका हुन् । मबाट बरामद भएको लागु औषध भनिएको ट्याब्लेटहरू प्रहरीले के-कसरी बरामद भएको भनी लेखाएको हो सोबारे मलाई थाहा भएन । म लागु औषध सेवनसमेत गर्ने मानिस भएको नहुँदा सोबारे मलाई केही थाहा भएन भनी प्रतिवादी ममताज आलमले सुरू अदालतमा गरेको बयान ।
मिति २०७२।११।२४ गते बिहान ७:०० बजेतिर डाइनियाबाट पथरी किराना पसलको लागि सामान खरिद गर्न भनी ममताज आलमलाई लिई मोटरसाइकलमा चढी गएका थियौं । पथरीमा सामान किनी फर्किने क्रममा उर्लाबारीको सुजित महर्जन भन्ने मानिसलाई मलेसियामा बस्दा चिनजान भएको थियो । मैले विदेश जान भनी पठाएको रकम माग्दा निजसँग मेरो कुटपिट पनि भएको थियो । मलाई निजले उर्लाबारीमा आइज तँलाई पैसा दिन्छु भनी बोलाएको हुँदा त्यहाँ जाँदा ७/८ जना केटाहरूले कुटपिट गरी मरणासन्न अवस्थामा पुर्याएपछि हामी २ जनालाई प्रहरीले पक्राउ गरी मोटरसाइकलसहित लगेको हो । प्रहरीले पक्राउ गरी लगिसकेपछि हामीलाई लागु औषधको कारोबारको मुद्दा लगाई प्रस्तुत मुद्दा दायर गरेका मात्र हुन् । म लागु औषध सेवनसमेत गर्ने मानिस होइन तथा बिक्री वितरण पनि गर्दिन । प्रहरीको सम्पूर्ण बेहोरा झुठ्ठा हो भनी प्रतिवादी उसमान आलमले सुरू अदालतमा गरेको बयान ।
प्रतिवेदक रोहित खुलीमुली, प्रतिवादीका साक्षी समिम आलम, मजमुल मियाँले गरेको बकपत्र मिसिल सामेल रहेको ।
प्रतिवादीहरू मो. उसमान आलम र मो. ममताज आलमबाट बरामद भएको लागु औषध खरिद गरी बिक्री गर्ने उद्देश्यले लुकाई छिपाई ओसारपसार गरेको ठहर भएकाले प्रतिवादीहरूलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को देहाय (घ)(ङ) र (च) को कसुरमा ऐ. ऐनको दफा १४(१)(झ) बमोजिम जनही ५(पाँच) वर्ष कैद र रू.५,००,०००।-(पाँच लाख) जरिवाना हुने ठहर्छ । लागु औषध ओसारपसार गर्न प्रयोग गरिएको मोटरसाइकल तथा नगद रकमसमेत जफत हुने ठहर्छ भन्ने सुरू मोरङ जिल्ला अदालतको मिति २०७३।३।७ को फैसला ।
हामीबाट बरामद भएका Nitrosun 10 (Nitrazepam) र Spasmoproxyvox Plux भन्ने क्याप्सुल त्यो नाउँको क्याप्सुल नै हुँदैनन् । तर जाँच गर्दा Dicylominet Acctaminophen Tramado देखिन्छ । यी तत्त्वहरू औषधी भएकोले लागु औषधको कसुरभित्र पर्दैन, अदालतको बयान तथा साक्षीको बकपत्रलाई हेरिएको छैन । बरामदी मुचुल्काविपरीत प्रतिवेदकको बेहोरा र बकपत्रसमेत बाझिएको स्थितिमा हामीलाई कैद सजाय गरी नगद तथा मोटरसाइकलसमेत जफत हुने गरी भएको सुरू फैसला बदर गरी सफाइ दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादीद्वयको तर्फबाट उच्च अदालत विराटनगरसमक्ष दर्ता भएको पुनरावेदन ।
यसमा पुनरावेदक / प्रतिवादीबाट बरामद भएका औषध लागु औषधको परिभाषाभित्र पर्ने नपर्ने प्रश्न समावेश भएको अवस्थामा सुरू जिल्ला अदालतले मिति २०७३।३।७ मा गरेको फैसला विचारणीय हुँदा मुलुकी ऐन, अ.बं.२०२ नं.को प्रयोजनार्थ उच्च सरकारी वकिल कार्यालय, विराटनगरलाई पेसीको सूचना दिई नियमानुसार गर्ने भन्ने बेहोराको उच्च अदालत विराटनगरबाट मिति २०७३।८।८ मा भएको आदेश ।
उपर्युक्त सम्बन्धमा जचाउन पठाएको नमुनाको मात्राबाट बरामदित १०० एम.एल. कोरेक्समा कति एम.एल. कोडिन रहेको देखिन जान्छ, सो यकिन गरी राय प्रतिवेदनमा खुलाई पठाउन भनी दशी नं.५१ मा रहेको तरिकाले जिल्ला अदालत मोरङमार्फत पठाई (मिसिल र नमुना जिल्ला अदालत मोरङमै फिर्ता पठाएर) राय आएपछि नियमानुसार गरी पुनः पेस गर्नु साथै अबदेखि १०० एम.एल. कोरेक्समा कति एम.एल. कोडिन रहेको छ ? सो परीक्षण रायमा खुलाएर मात्र पठाउने व्यवस्था हुन भनी जिल्ला अदालत मोरङ, जिल्ला प्रहरी कार्यालय, मोरङ र केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालालाई समेत लेखी पठाइदिनु भन्ने बेहोराको मिति २०७३।८।२९ मा उच्च अदालत विराटनगरबाट भएको आदेश ।
मोरङ जिल्ला अदालतबाट प्रतिवादीहरू उसमान आलम र मो. ममताज आलमले लागु औषध (नियन्त्रण ऐन, २०३३ को दफा ४ को देहाय (घ)(ङ) र (च) को कसुर गरेको ठहर्याई सोही ऐनको दफा १४(१)(झ) बमोजिम जनही ५(पाँच) वर्ष कैद र रू.५(पाँच) लाखका दरले जरिवाना गर्ने गरी मिति २०७३।०३।०७ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको मिति २०७३।१२।९ मा उच्च अदालत विराटनगरबाट भएको फैसला ।
हामीबाट बरामदित वस्तुहरू फर्मास्युटिक बनोटका ट्याब्लेट, क्याप्सुल, सिरपजस्ता औषधी हो । यसको दुरूपयोग भएमा औषधी ऐन, २०३५ बमोजिम सजाय हुन्छ, लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम होइन । लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम त केवल यसका कच्चा पदार्थ (कोरा रसायन) लाई नै निषेध गरेका छन् । बरामदी वस्तुहरू कच्चा पदार्थ (कोरा रसायन) नभई फर्काक्युटिक बनोटका ट्याब्लेट, क्याप्सुल र सिरप रहेकोमा विवाद नरहेको प्रस्ट छ । हामीले लागु औषधको कारोबार गरेको ठहर नै नगरी यी प्रतिवादीहरूलाई निर्दोष रहेछन् भनी मान्न मिलेन भन्ने आधारमा कारोबारमा सजाय गरेको न्यायसङ्गत छैन । हामी प्रतिवादीले यो यति मात्रामा यसरी लागु औषध बिक्री वितरण गरेको भनी स्पष्ट रूपमा अनुसन्धानमा खुल्न नसकेको र अभियोग माग दाबिमा प्रस्ट रूपमा कसुरको तथ्य स्थापित गरी सजायको माग गर्न नसकेको अवस्थामा समष्टिगत अभियोजनलाई मात्र आधार मानी कसुर स्थापित गरी हामीलाई सजाय गर्न मिल्दैन । सजाय गर्दा पनि कसुरको मात्राअनुसार गर्नुपर्ने हुन्छ । शंकास्पद अवस्थामा पहिलोचोटिको अपराधमा पनि सजाय गर्दा उपल्लै हदको सजाय कसुरको मात्राअनुसारको नभएकोले उच्च अदालत विराटनगरबाट भएको फैसला न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क)(ख) समेत अनुसार मुद्दा दोहर्याई पाउने निस्सा प्रदान गरी सुरू अदालतको फैसलालाई सदर गरेको उच्च अदालत विराटनगरको फैसलालाई बदर गरी हाम्रो पुनरावेदन जिकिरबमोजिम सफाइ पाउँ भन्ने बेहोराको पुनरावेदक प्रतिवादीहरूको तर्फबाट संयुक्त रूपमा यस अदालतसमक्ष दर्ता भएको पुनरावेदन ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दामा पुनरावेदन पत्रसहितको सुरू सक्कल मिसिल तथा प्रमाण कागजातहरूसमेत अध्ययन गरी पुनरावेदक प्रतिवादी उसमान आलमका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री जयप्रसाद प्रसाईले यी प्रतिवादीहरूले उक्त कसुर पहिलो पटक गरेको हो, पटक-पटक गरेको छैन । पहिलो पटक गरेको कसुरमा कैद र जरिवाना बढी भयो, कसुरको मात्राअनुसार बढी सजाय गरिएकोले न्यूनतम मात्र सजाय होस् भनी र वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री बुद्धिलाल श्रेष्ठले प्रतिवादीहरूबाट बरामदित लागु औषध परीक्षण गर्दा कोडिन पाइएको भन्ने मौकाको बयानबाट पुष्टि भएको छ । प्रतिवादीहरूले अदालतमा आएर गरेको इन्कारी बयान पुष्टि भएको नदेखिँदा निजहरूको हकमा सुरू अदालतहरूले कैद जरिवाना तथा मोटरसाइकल जफत गर्ने गरेको फैसला मिलेको देखिँदा सदर हुनुपर्छ भनी गर्नुभएको बहससमेत
सुनियो ।
प्रतिवादीहरूलाई लागु औषध (नियत्रण) ऐन, २०३३ को दफा ४ को देहाय (घ),(ङ) र (च) को कसुर अपराधमा ऐ.ऐनको दफा १४(१)(झ) बमोजिम सजाय गरी को.३ प. १०८ नं.को मोटरसाइकलसमेत जफत गरिपाउँ भन्ने अभियोग मागदाबी भएकोमा प्रतिवादीहरूलाई ऐ.ऐनको दफा १४(१)(झ) बमोजिम जनही ५(पाँच) वर्ष कैद र नगद ५ लाख जरिवाना हुने तथा मोटरसाइकल र नगद जफत हुने ठहर्याएको सुरू जिल्ला अदालतको फैसला नै सदर हुने भनी भएको उच्च अदालत विराटनगरको फैसलाउपर मुद्दा दोहोर्याई हेरिपाउँ भनी प्रतिवादीहरूको तर्फबाट यस अदालतमा संयुक्त निवेदन परेकोमा उक्त निवेदनउपर कारबाही हुँदा मुद्दा दोहर्याई हेरी पाउने निस्सा प्रदान भएको प्रस्तुत मुद्दामा सुरू जिल्ला अदालतको फैसलालाई नै सदर गरेको उच्च अदालत विराटनगरको फैसला मिलेको छ वा छैन ? र पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने सन्दर्भमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरूका साथबाट नाइट्रोसन १४० ट्याब्लेट, स्पास्मो प्रोक्सिभन-८ थान, जर्किनमा कोरेक्स ६२ थान र रातो झोलामा कोरेक्स ३४ थान बरामद भएको र सो लागु औषध यी प्रतिवादीहरूले भारतको फुलबडीया भन्ने ठाउँबाट खरिद गरी को.३प. १०८ नं.को मोटरसाइकल चढी ल्याउँदै गरेको अवस्थामा मिति २०७२।११।२४ को दिन अं.११:३० बजे मोरङ उर्लाबारी नगरपालिका वडा नं.४ स्थित शान्तिटोलनिर प्र.स.नि. रोहित खुलीमुलीको कमान्डमा खटिएको प्रहरीको टोलीले यी प्रतिवादीहरू चढी आएको मोटरसाइकल रोकी चेक जाँच गर्ने क्रममा उक्त लागु औषध यी प्रतिवादीहरूको साथबाट बरामद भएको कुरा मिति २०७२।११।२४ को खानतलासी तथा बरामदी मुचुल्काबाट देखिन्छ । यी प्रतिवादीहरूले अदालतमा बयान गर्दा अधिकारप्राप्त अधिकारीसमक्षको बयान स्वेच्छाविपरीत र कुटपिटबाट गराइएको इच्छा विरूद्धको भनी बयान गरेको भए तापनि प्र.स.नि. रोहित खुलीमुलीको प्रतिवेदन तथा यी प्रतिवादीहरूले एकापसमा पोलापोल गरी अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान तथा घटनास्थल एवं वस्तुस्थिति मुचुल्काका मानिसहरूको भनाइबाट समेत पुष्टि हुन आउँछ । अभियोग मागदाबीबमोजिमको कसुर गरेको होइन भनी जिकिर लिने यी प्रतिवादीहरूले सो कुरा पुष्टि गर्ने गरी प्रमाण ऐन, २०३१ को दफा २७ तथा २८ अनुसार वस्तुनिष्ठ प्रमाण पेस गरी प्रमाणित गराउन सकेको पाइँदैन । कुटपिट गरी बयान गराइएको भए घाउजाँच गराउनसमेत माग गरेको देखिँदैन । कानूनबमोजिम बयान गर्न पाउने अधिकारीद्वारा अनुसन्धानको क्रममा प्रतिवादीलाई कुटपिट डरत्रास गराई निजहरूको इच्छा विरूद्ध बयान गराइनुपर्नेसमेतको कारण प्रतिवादीले उल्लेख गर्न नसकेको र सो कुराको प्रमाण प्रस्ट गर्न नसकेको हुँदा विना आधार प्रमाण अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानलाई स्वेच्छा विरूद्धको रहेछ भनी भन्न मिल्ने देखिएन । प्रतिवादीहरूको साथबाट बरामद भएको लागु औषध केन्द्रीय प्रहरी विज्ञान प्रयोगशालाद्वारा परीक्षण भई आएको मिति २०७२।१२।०७ को परीक्षण प्रतिवेदन हेर्दा उक्त बरामदित कोडिन कोरेक्स रहेको भन्ने देखिन आएको छ भने मिति २०७३।९।२२ को परीक्षण प्रतिवेदन हेर्दा ५ एम.एल.मा ९.६ मिलिग्राम कोडिन फस्फेट वा ७.०७ मिलिग्राम कोडिन (१०० एम.एल. बोतलमा १९२ मिलिग्राम कोडिन फस्फेट वा १४१.४४ मिलिग्राम कोडिन) पाइएको भन्ने उल्लेख भएबाट पनि प्रतिवादीबाट बरामद भएको कोरेक्स लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ३(७) बमोजिम प्रकाशित राजपत्रको सूचनाअनुसार लागु औषध रहेको भन्ने नै देखिन आउँछ । प्रतिवादीहरूबाट बरामदित उक्त कोडिनलाई लागु औषधको परिभाषाभित्र पारेकै देखिँदा लागु औषध रहेनछ भनी मान्न पनि
मिलेन । प्रस्तुत मुद्दामा प्रतिवेदक रोहित खुलीमुलीले यी प्रतिवादीहरूबाट बरामदी मुचुल्कामा उल्लिखित परिमाणको लागु औषध बरामद भएको भनी बकपत्र गरिदिएबाट पनि निज प्रतिवेदकको बकपत्र प्रमाण ऐन, २०३१ को दफा २० बमोजिम प्रमाणमा लिन मिल्ने नै देखिन आयो । यसरी बरामदी मुचुल्का, प्रतिवेदकको बकपत्र, प्रतिवादीहरूको अधिकारप्राप्त अधिकारीसमक्षको बयान, बरामद भएको लागु औषध (दशी) समेतका प्रमाणहरूबाट यी पुनरावेदक प्रतिवादीहरू निर्दोष रहेछन् भनी मान्न मिल्ने अवस्था नहुँदा यी पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
३. अब पहिलो पटक गरेको कसुरमा कैद र जरिवाना बढी भयो, कसुरको मात्राअनुसार बढी सजाय गरिएकोले न्यूनतम मात्र सजाय हुनुपर्छ भनी लिएको पुनरावेदक प्रतिवादीहरूको जिकिरतर्फ हेर्दा प्रतिवादीहरूको साथबाटै लागु औषध बरामद भएको देखिएकोले निजहरूले अभियोग माग दाबीबमोजिमको कसुर गरेको हो भन्ने कुरामा विवाद देखिएन । प्रतिवादीहरूले गरेको उक्त कसुर पहिलो पटकको भएको र निजहरूले पटक-पटक कसुर नगरेको भन्ने कुराको मिसिल संलग्न प्रमाणहरूबाट पुष्टि हुन
आउँछ । यी प्रतिवादीहरूले अदालतमा आरोपित कसुरमा इन्कारी रहे तापनि मौकाको बयानमा आफूहरूले अभियोग माग दाबीबमोजिमको कसुर गरेकोमा साबिती रही अनुसन्धान प्रक्रियालाई सहयोग गरेको देखिन्छ । अनुसन्धानले यो यति मात्रामा यसरी लागु औषध प्रतिवादीहरूले बिक्री वितरण गरेको हो भनी स्पष्ट रूपमा खुलाउन सकेको पनि देखिँदैन । यसरी यी पुनरावेदकहरूबाट बरामद भएको मालवस्तुहरूको परिमाण तथा प्रकृतिको आधारमा यी प्रतिवादीहरूको कसुर स्थापित भइसकेको अवस्था देखिन्छ । अब यी प्रतिवादीहरूलाई कसुरको मात्राअनुसार सजाय भएको छ, छैन ? कसुरको मात्राअनुसार न्यायोचित रूपले तथा विवेकसम्मत रूपले सजाय निर्धारण भए नभएतर्फ विचार गर्दा कसुरको मात्राअनुसार नै सजाय तोकिनु न्यायको सर्वमान्य सिद्धान्त पनि हो । जसमा निर्णयकर्तालाई अपराध हुँदाको अवस्था, अपराधको प्रकृति, प्रतिवादीहरूको त्यसमा रहेको भूमिका, अरू कसैलाई पर्न गएको असर, कसुरद्वारा भएको असरको कारण, पीडितहरूको अवस्थासमेतलाई विचार गरी विवेक संवत् रूपले तजबिजी अधिकार प्रयोग गर्ने गरी विधायिकाबाट निर्णयकर्तालाई कानूनद्वारा नै तजबिजी अधिकार प्रयोग गर्न पाउने अधिकार प्रदान गरेको
हुन्छ । न्यायकर्ताले पनि त्यस्तो तजबिजी अधिकार प्रयोग गर्दा ज्यादै सतर्कतापूर्ण तरिकाले न्यायिक मनको प्रयोग गरी विवेकसम्मत रूपले निर्णय गर्नुपर्ने हुन्छ । केही अवस्थाहरूमा कसुरदारलाई न्यायिक स्वविवेकीय अधिकार दिई सजायको तल्लो र माथिल्लो हद तोकिएको पाइन्छ । यसरी न्यायिक स्वविवेकको प्रयोग गर्दा कसुरदारको दोषीपना, त्यस प्रकृतिको अपराधबाट समाजमा पर्ने प्रभाव, पीडित भए निजलाई परेको पीडा, मुद्दाको तथ्यसँग आबद्ध कतिपय विषयहरू विचार गरी कसुरको दायरा निर्धारण गर्नु उपयुक्त हुन्छ । निश्चित अवधिको सजायको कानूनी व्यवस्था रहेको अवस्थाबाहेक कुनै पनि आरोपित व्यक्तिउपर पहिलो चोटिको अपराधमा सजाय गर्दा कसुरदारको दोषीपनाबारे स्पष्ट रूपले विचार नगरी एकैपटक उपल्लै हदको सजाय गर्ने हो भने उक्त व्यक्तिको अपराधप्रतिको धारणामा परिवर्तन आउन सक्दैन । लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १९ मा मुद्दा नचलाउने वा सजाय छुट दिने अधिकारको व्यवस्थाअनुसार “कसैले व्यापारिक उद्देश्य वा ठूलो परिमाणमा बाहेक निजी उपयोगको लागि अल्प मात्रामा मात्र गाँजा र औषधोपयोगी अफिम खरिद गरेको, राखेको वा सेवन गरेको फेला परेमा पहिला पटक भए औषध नियन्त्रण अधिकारीले त्यस्तो व्यक्तिको लगत राखी त्यस्तो अपराध पुनः नगर्ने कागज गराई मुद्दा नचलाउने पर्चा खडा गरी छाड्न सक्नेछ र मुद्दा चलेकोमा पनि अदालतले यस दफाबमोजिम सानो अपराध ठहर्याएमा त्यस्तो व्यक्तिको लगत राखी निजलाई सो अपराध पुनः नगर्ने कागज गराई पहिला पटक कुनै सजाय नगरी रिहाई दिन सक्ने” कानूनी व्यवस्था रहेको पाइन्छ । साथै लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(झ) को व्यवस्था हेर्दा «माथि खण्ड (ज) मा लेखिएदेखि बाहेक अन्य निषेधित कार्य गर्ने व्यक्तिलाई दुई वर्षदेखि दश वर्षसम्म कैद र एकलाख रूपैयाँदेखि बीस लाख रूपैयाँसम्म जरिवाना हुने» भन्ने व्यवस्था रहेकोबाट पनि यी प्रतिवादीहरूले गरेको कसुरको प्रकृति, कसुरको मात्रा, कसुर गरेको अवस्था, परिस्थिति र पटकसमेतलाई मध्यनजर गरी कसुरको मात्राअनुसारको सजाय गर्नुपर्ने कानूनको मनसाय रहेको देखिन्छ । यस परिप्रेक्ष्यबाट हेर्दा यी प्रतिवादीहरूबाट बरामद भएको लागु औषधको प्रकृति, मात्रा तथा कसुरको गाम्भीर्यलाई विचार गर्दा जनही ४(चार) वर्ष कैद र रू.३,००,०००।– (तीन लाख रूपैयाँ) सम्म जरिवाना गरेमा पनि कानूनको मकसद पूरा हुने नै देखिन आउँछ ।
४. अतः माथि विवेचित आधार र कारणहरूबाट यी प्रतिवादीहरू मोहमद उसमान आलम र मोहमद ममताज आलमसमेतलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को देहाय(घ),(ङ) र (च) को कसुरमा ऐ. ऐनको १४(१)(झ) बमोजिम जनही कैद वर्ष ५(पाँच) र रू.५,००,०००।- (पाँच लाख) जरिवाना गरेको उच्च अदालत विराटनगरको मिति २०७३।१२।९ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई निज प्रतिवादीहरूले उक्त कसुर पहिलो पटक गरेको र कसुरको मात्राअनुसार सजाय नगरी बढी सजाय गरेको हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई निज प्रतिवादीहरूलाई जनही कैद वर्ष ४(चार) र रू.३,००,०००।- (तीन लाख रूपैयाँ) मात्र जरिवाना हुने ठहर्छ । अन्य कुरामा पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरू तपसिलबमोजिम गर्नू ।
तपसिल खण्ड
माथि ठहर खण्डमा उल्लेख भएबमोजिम प्रतिवादीहरू मोहमद उसमान आलम र मोहमद ममताज आलमसमेतलाई जनही ५(पाँच) वर्ष कैद र रू.५,००,०००।- (पाँच लाख रूपैयाँ) जरिवाना हुने ठहर्याएको उच्च अदालत विराटनगरको फैसला केही उल्टी भई निज प्रतिवादीहरूलाई जनही कैद वर्ष ४(चार) र रू.३,००,०००।- (तीन लाख रूपैयाँ) जरिवाना हुने ठहरी फैसला भएको र निज प्रतिवादीहरू मिति २०७२।११।२४ मा पक्राउ परी हालसम्म कारागार कार्यालय मोरङ, विराटनगरमा थुनामा रहेको देखिँदा निज प्रतिवादीहरूको कैद वर्ष ४(चार) मिति २०७६।११।२३ मा भुक्तान हुने भएकोले सोहीबमोजिमको कैदको लगत संशोधन गरी सम्बन्धित कारागार कार्यालयमा लेखी पठाइदिनू भनी सुरू अदालतमा लेखी पठाउनू ...........................१
निज प्रतिवादीहरूलाई तोकिएको जरिवानाबापत यस अदालतको फैसलाबमोजिम संशोधित लगत कायम गरी निजहरूले जरिवानाबापत नगदै दिए लिई आम्दानी बाँध्नु र नदिए जरिवानाबापतको कैद ठेक्नु भनी सुरू अदालतमा लेखी पठाइदिनू ...............................१
प्रस्तुत मुद्दाको दायरीको लगतकट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ............१
उक्त रायमा सहमत छु ।
न्या.अनिलकुमार सिन्हा
इजलास अधिकृतः सीता अधिकारी
इति संवत् २०७६ साल पौष २८ गते रोज २ शुभम् ।