निर्णय नं. १०४०६ - जबरजस्ती करणी
प्रस्तुत मुद्दामा गोपनीयताको लागि पीडित र परिवारको सदस्यको नाममा ................. राखिएको छ ।
- सम्पादक
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा
माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
फैसला मिति : २०७५।१२।२५
०७१-CR-१२२०
मुद्दाः- जबरजस्ती करणी
पुनरावेदक / प्रतिवादी : नुवाकोट जिल्ला सुन्दरादेवी गाउँ विकास समिति वडा नं. २ घर भई हाल कारागार कार्यालय नुवाकोटमा कैदमा रहेका ताराप्रसादको छोरा वर्ष ३२ को पुष्पराज सिटौला
विरूद्ध
प्रत्यर्थी / वादी : ................ को जाहेरीले नेपाल सरकार
नाबालकले करणीजस्तो अपराधका बारेमा बोलेको कुरा अन्यथा प्रमाणित नभएको अवस्थामा त्यसलाई प्रमाणको रूपमा ग्रहण गर्दा बेमनासिब हुने नदेखिने ।
(प्रकरण नं.२)
पुनरावेदक / प्रतिवादीका तर्फबाट :
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री टेकबहादुर कार्की
अवलम्बित नजिर :
सम्बद्ध कानून:
प्रमाण ऐन, २०३१
अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९
सुरू तहमा फैसला गर्नेः
मा. न्यायाधीश श्री किरणप्रसाद शिवाकोटी
नुवाकोट जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री टेकराज नेपाल
माननीय न्यायाधीश श्री थीरबहादुर कार्की
पुनरावेदन अदालत पाटन
फैसला
न्या.अनिलकुमार सिन्हा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम प्रतिवादीको तर्फबाट पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छः-
तथ्य खण्ड
नुवाकोट जिल्ला सुन्दरादेवी गा.वि.स वडा नं.३ स्थित पूर्वमा हुतराज श्रेष्ठको खेतबारी, पश्चिममा सार्वजनिक भीर पाखो, उत्तरमा अम्मरबहादुर अधिकारीको खेतबारी र दक्षिणमा सार्वजनिक पाखो यति चार किल्लाभित्र रहेको तल माथि बाँसको झ्याङ भएको बिचमा ३/४ जना बस्न मिल्ने ओडार, उक्त ओडारमा केही दिनअगाडि फुकेको आगोको खरानी तथा माटोको भाग दबिएको र खोस्रिएको जस्तो देखिएको, उक्त ओडारनजिक रहेको पीडित बोल्न नसक्ने महिलाले लगाएको कपडा पछाडिको भाग तथा टाउको पछाडिपट्टि खरानी लागि सेतो देखिएको बेहोरा ठीक छ भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।
मिति २०६९।१०।२६ गते ....................की छोरी वर्ष ४३ की बोल्न नसक्ने नाम परिवर्तित नुवाकोट ६(छ) लाई पुष्पराज सिटौलाले दिनको अं.१६:३० बजेको समयमा जबरजस्ती करणी गरेको हुँदा आवश्यक कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको ................ को निवेदन ।
मिति २०६९।१०।२६गते अन्दाजी १५:०० बजेको समयमा नुवाकोट जिल्ला सुन्दरादेवी गा.वि.स वडा नं. ३ स्थित डाँडाटोल बाँसको झ्याङको कुनामा मेरो जेठी दिदी अं. वर्ष ४३को बोल्न नसक्ने लाटी नाम परिवर्तित नुवाकोट ६ (छ) लाई पुष्पराज सिटौलाले जबरजस्ती करणी गरेको हुँदा निज प्रतिवादीलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको पीडितको भाइ ................ को जाहेरी दरखास्त ।
पीडित नाम परिवर्तित नुवाकोट ६(छ) को स्वास्थ्य परीक्षण हुँदा योनिमा पुरूषको लिङ्ग प्रवेश एवम् घर्षण भएको पाइन्छ भन्नेसमेत बेहोराको परीक्षण प्रतिवेदन ।
म आफ्नो घर परिवारसँग खेती किसानी गरी आएकोमा मिति २०६९।१०।२६गतेका दिन मेरो घरमा पूजा भएको कारण बिहानैबाट पूजापाठ गरी अं.१०:०० बजेको समयमा पूजा सकी खाना खाई दिनको अं. ३/४ बजेको समयमा मेरो घरदेखि अं.१०/१५ मिनेटको दुरीमा रहेको डाँडाटोल भन्ने ठाउँमा पाइपमा आएको पानी जोड्न भनी गएको र पाइप जोडी आफ्नो घरतर्फ फर्कने क्रममा त्यहाँ नाम परिवर्तित नुवाकोट ६(छ) ले इसारा गर्दा कुनै किसिमको आभास भएको मलाई महसुस भयो र म निज नजिकैको ओडारमा गई मैले निजको शरीरमा हातले समाई निजलाई जमिनमा लडाइसकेपछि निजले लगाएको कपडा माथि उचाली दिएपछि मलाई यौन इच्छा आयो र निजसँग यौन सम्पर्क गरेको हो । सोपश्चात् मैले सोही नजिक पिसाबसमेत फेरेको बखतमा केटाकेटीहरूले देखेपछि उक्त स्थानबाट भागेको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी पुष्पराज सिटौलाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६९।१०।२६ गते अं.१६:३० बजेको समयमा म मेरो साथीहरूसँग घर नजिकको सडकमा खेलिरहेको थिएँ । सोही समयमा मेरो दिदी स्नेहा मैनाली र दिदी नाताकी पृती श्रेष्ठ आई यता आउन भनी मलाई नजिकमा बोलाई नाम परिवर्तित नुवाकोट ६ लाई पुष्पराज सिटौला अंकलले हातको इसारा गरी बोलाउँदै हामीहरूका घरदेखि तल बाँसको झ्याङ भएको ओडारतर्फ लगिरहेका छन् भनी हामीहरूलाई भनेपछि मेरो दिदी स्नेहा मैनाली, प्रिति श्रेष्ठ, सोही गाउँका मेरो अंकलको छोरा रोशन मैनालीसमेतले निज पुष्पराज सिटौलालाई पिछा गर्दै जाने क्रममा बाँस झ्याङको ओडारमा लाटी पीडित ‘स्वाँ-स्वाँ, अहँ-अहँ भन्ने आवाज सुनेपछि हामीहरू नजिक गएर हेर्दा सोही ओडारमा निज पीडितलाई उत्तानो पारी सुताई प्रतिवादीले करणी गरिरहेको अवस्थामा देखेको हो भन्नेसमेत बेहोराको प्रत्यक्षदर्शीहरू ................ , स्नेहा मैनाली, शान्त अधिकारी र दिपिका मैनालीसमेतले गरेको घटना विवरण कागज ।
प्रस्तुत मुद्दामा प्राप्त हुन आएको घटनास्थल मुचुल्का, ठाडो निवेदन, जाहेरी दरखास्त स्वास्थ्य परीक्षण प्रतिवेदन, प्रतिवादीको बयान कागज, बुझिएका मानिसहरूले गरिदिएको घटना विवरण कागजलगायतका मिसिल संलग्न कागजातहरूको अध्ययनबाट निज प्रतिवादी पुष्पराज सिटौलाले जबरजस्ती करणी गरेको पुष्टि हुन आएको देखिँदा निज प्रतिवादीको उक्त कार्य मुलुकी ऐन, जबरजस्ती करणीको महलको दफा १ र ३(५)नं. अनुसारको कसुर अपराध हुँदा निज प्रतिवादीलाई सोही ऐनको दफा ३(५) नं.बमोजिम सजाय हुन तथा पीडित महिला नाम परिवर्तित नुवाकोट ६(छ) बोल्न नसक्ने लाटी (अपाङ्ग) भएको हुँदा ऐ. महलको ३क. बमोजिम थप सजाय हुन र पीडितलाई प्रतिवादीबाट सोही महलको १०नं. बमोजिम क्षतिपूर्ति दिलाई भराई पाउन तथा क्षतिपूर्ति प्रयोजनको लागि ऐ.१०(ग) नं. अनुसार निज प्रतिवादीको अंश रोक्का गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग मागदाबी ।
मिति २०६९ साल माघ २६ गते बिहान घरमा पूजा आजा गर्न भनी पुरोहित बोलाई पूजा आजा सिध्याई घरको कुलायन पूजा गरी खाना खाई घरधन्दा गरी बसेको थिएँ । तल गोठमा को जाने भन्दा बुबाले म जान्छु भनी भनेपछि बुबा गोठमा जानु भएको हो, त्यसपछि बाख्राको खोरमा भएको झिँजा पन्छाई दिउँसोको खाजा खाई मेरो श्रीमतीलाई जागिर ख्वाउने सम्बन्धमा गाउँकै मछिन्द्रसँग कुरा गरी घर सल्लाह गरेपछि थाहा दिन्छु भनी मछिन्द्रको घरबाट फर्किंदा धारामा पानी थिएन, पानीको पाइप खुल्ला भएकोले उक्त पानीको पाइप जोडी हिँड्ने क्रममा कोही मान्छे चिच्याएको जस्तो लाग्यो । यसो हेर्दा तल्लो गरामा लाटी रहेछ, के भयो भनी लाटी भएको ठाउँमा जाँदा लाटीले म्याक्सी माथितिर तानी मलाई संकेत गरेपछि मैले ल घर जा भनी कुममा हातले यसो धकेली दिएको हो, अलि पर पुगेपछि मलाई पिसाब लाग्यो । त्यसपछि पिसाब फेर्दैको अवस्थामा मलाई बच्चाले देखेको भनी भन्छन् तर मैले बच्चालाई देखेको छैन । त्यसपछि म आफ्नो घरमा आई खाना पकाउने काम गर्दै थिएँ त्यत्तिकैमा लाटीको दाइ र चौकीबाट प्रहरी आई तैँले लाटीलाई जबरजस्ती करणी गरिछस् भनी मलाई पक्री ल्याएको हो । मैले लाटीलाई जबरजस्ती करणी गरेको होइन जाहेरी झुट्टा हो भन्नेसमेत बेहोराको प्रतिवादी पुष्पराज सिटौलाले अदालतसमक्ष गरिदिएको बयान ।
सुरू अदालतको मिति २०६९/१२/०७ को आदेशानुसार मालपोत कार्यालय नुवाकोटबाट प्राप्त प्रतिवादीका नाउँको जग्गा रोक्का राखेको च.नं.२६६१ मिति २०६९/१२/०८को पत्र मिसिल संलग्न रहेको ।
प्रहरीमा दिएको जाहेरीको बेहोरा मेरो रोहवरमा लेखिएको हो । त्यसमा भएको सहीछाप मेरो हो भन्नेसमेत बेहोराको जाहेरवाला ................ ले गरिदिएको बकपत्र ।
पीडितको उमेर ४३ वर्ष उल्लेख भए तापनि निजको मन्जुरी लिई करणी गरेको भनी प्रतिवादीले कतै खुलाउन सकेको पाइँदैन । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनसमेतबाट यी प्रतिवादीले पीडित नुवाकोट ६ लाई जबरजस्ती करणी गरेको पुष्टि हुन आएकाले निज प्रतिवादी पुष्पराज सिटौलालाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ र ३(५) नं. को कसुरमा सोही महलको ३(५)नं.बमोजिम सात वर्ष कैद हुने र पीडित बोल्न नसक्ने अपाङ्ग लाटी भएको मिसिलबाट देखिँदा शारीरिक रूपमा अपाङ्ग भएकी लाटी महिलालाई जबरजस्ती करणी गरेको देखिँदा सोही महलको ३ क.नं. बमोजिम निज प्रतिवादीलाई थप पाँच वर्ष कैद सजायसमेत भई सोही महलको १० नं. बमोजिम पीडितले प्रतिवादीबाट रू. ५०,०००/- (पचास हजार रूपैयाँ) क्षतिपूर्तिसमेत भरिपाउने ठहर्छ भन्नेसमेत बेहोराको नुवाकोट जिल्ला अदालतको मिति २०७०।११।१३ को फैसला ।
जाहेरवाला ................ ले बकपत्र गर्दा पीडित व्यक्ति रोहवरमा उपस्थित नभएको, पीडित व्यक्ति स्वयम् अदालतमा उपस्थित भई बकपत्र नगरेको अवस्थामा जाहेरी दरखास्तलाई प्रमाणमा लिन नमिल्ने, जाहेरवाला घटनाका प्रत्यक्षदर्शी नभएको जस्ता आधारलाई विवेचना र मूल्याङ्कन नगरी मलाई सजाय गर्ने गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाइ दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादीले पुनरावेदन अदालत पाटनमा दिएको पुनरावेदन पत्र ।
यसमा पीडित महिला र अनुसन्धानको क्रममा कागज गर्ने व्यक्तिहरूको अदालतमा बकपत्र हुन नसकेको अवस्थामा जबरजस्ती करणीको कसुर ठहर्याएको सुरू अदालतको फैसला प्रमाण मूल्याङ्कनको सन्दर्भमा फरक पर्न सक्ने हुँदा मुलुकी ऐन, अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८को नियम ४७ को प्रयोजनार्थ प्रत्यर्थी / वादीलाई जानकारी दिई नियमबमोजिम गर्नु भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनबाट मिति २०७१।४।२७।३ मा भएको आदेश ।
प्रतिवादी पुष्पराज सिटौलालाई मुलुकी ऐन, जबरजस्ती करणी महलको ३ नं.को देहाय ५ ले पाँच वर्ष मात्र कैद गर्नु पर्नेमा कैद वर्ष ७(सात) गरेकोसम्म सुरू फैसला नमिली ऐ. महलको ३ नं.को देहाय ५ ले कैद वर्ष ५(पाँच) हुने भई सोही महलको ३क. नं. ले थप ५(पाँच) वर्ष कैदसमेत हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनको मिति २०७१/७/११ को फैसला ।
फैसलामा सबुद प्रमाणको मूल्याङ्कन र विवेचना नै नभएको, अपराधको प्रकृति र अवस्थाबारेमा पनि न्यायिक मनको प्रयोग नभएको, मिसिल संलग्न प्रमाण कागजले घटना पुष्टि हुन नसकेको, पीडितलाई ललाई फकाई जबरजस्तीसँग प्रलोभनमा नपारेको, “लाटी” र “अपाङ्ग” को विवेचना नगरिएको, कुनै कारणवश अर्थात् स्वेच्छाले गरेको करणी जबरजस्ती करणी हुन नसक्ने, प्रत्यक्षदर्शी नाबालक र पीडित भनिएको व्यक्ति अदालतसमक्ष उपस्थित भई बकपत्र नगरेको, जाहेरवालाले अदालतमा बकपत्र गर्दा पीडित रोहवरमा नभएको, मौकामा कागज गर्ने व्यक्तिहरू अदालतमा उपस्थित नभएका, प्रमाणको विवेचना र मूल्याङ्कन नगरी भएको पुनरावेदन अदालत पाटनबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्नेसमेत बेहोराको पुनरावेदक / प्रतिवादी पुष्पराज सिटौलाले मिति २०७२/१/८ मा यस अदालतमा दर्ता गराएको पुनरावेदनपत्र ।
यसमा अपाङ्गको परिभाषा र अपाङ्गपनको निर्धारणका लागि अपाङ्गता संरक्षण तथा कल्याण ऐन, २०३९ को दफा ३ एवम् अपाङ्गता संरक्षण तथा कल्याण नियमावली, २०५१ को नियम ३ ले अपाङ्गपन निर्धारण समिति गठन गर्ने व्यवस्था गरेको छ । प्रस्तुत मुद्दामा अपाङ्ग रहेकी भनिएकी पीडित अदालतमा उपस्थित भई बकपत्र गर्न सकेको नदेखिएको र उक्त ऐन नियमको व्यवस्थाअनुसार पीडित व्यक्ति अपाङ्ग भएको तथ्य स्थापित गर्ने भरपर्दो प्रमाणको अभावमा प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(क) बमोजिम थप सजाय गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०७१।७।११ को फैसला प्रमाण ऐन, २०३१ को दफा ५४ को रोहमा फरक पर्न सक्ने देखिएकाले अ.बं. २०२ नं.को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई प्रस्तुत पुनरावेदनको जानकारी गराई कानूनबमोजिम पेस गर्नु भन्नेसमेत बेहोराको यस अदालतको मिति २०७४/५/१६ को आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा प्रत्यर्थी / वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री टेकबहादुर कार्कीले प्रतिवादीउपर यी लाटी महिलालाई करणी गरेको भन्ने किटानी जाहेरी छ । अनुसन्धानको क्रममा निज महिलालाई करणी गरेको भनी प्रतिवादीले स्वीकार गरेको छ । लाटी एवम् अपाङ्ग प्रकृतिकी महिलाको स्वास्थ्य परीक्षण प्रतिवेदनमा पुरूषको लिङ्ग योनिमा प्रवेश एवम् घर्षण भएको भनी उल्लेख छ । लाटी महिला जो सहज रूपमा बोल्न, सुन्न एवम् बुझ्न सक्दिनन् त्यस्ता महिलालाई करणी गर्नु मात्र पनि आफैँमा अपराध
हो । यस्ता प्रकृतिका महिलालाई करणी गर्नुलाई निजको सहमति मान्न मिल्दैन । मौकामा कागज गर्ने नाबालक बच्चाहरूले निज महिलालाई निज प्रतिवादीले जबरजस्ती करणी गरेको प्रत्यक्ष देखेको अवस्था
छ । तसर्थ निज प्रतिवादीलाई थप सजायसमेत गर्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेकै हुँदा सदर हुनुपर्छ समेत भनी गर्नुभएको बहस सुनियो ।
प्रस्तुत मुद्दामा प्रतिवादी पुष्पराज सिटौलाउपर मुलुकी ऐन, जबरजस्ती करणी महलको ३(५) नं. बमोजिम सजाय हुन तथा पीडित महिला नाम परिवर्तित नुवाकोट (छ) बोल्न नसक्ने लाटी (अपाङ्ग) भएको हुँदा ऐ.महलको ३क. बमोजिम थप सजाय गरी पीडितलाई प्रतिवादीबाट सोही महलको १० नं. बमोजिम क्षतिपूर्तिसमेत दिलाई पाउँ भन्नेसमेत बेहोराको अभियोग दाबी भएकोमा सुरू नुवाकोट जिल्ला अदालतबाट निज प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ र ३(५) नं. को कसुरमा सोही महलको ३(५) नं. बमोजिम सात वर्ष कैद हुने र पीडित बोल्न नसक्ने अपाङ्ग लाटी भएको देखिँदा सोही महलको ३ क. नं. बमोजिम निज प्रतिवादीलाई थप पाँच वर्ष कैदसमेत हुने भई ऐ. १० नं. बमोजिम पीडितले प्रतिवादीबाट रू.५०,०००/- (पचास हजार रूपैयाँ) क्षतिपूर्तिसमेत भरिपाउने ठहर्छ भनी सुरू नुवाकोट जिल्ला अदालतबाट फैसला भएको देखिन्छ । सो फैसलाउपर प्रतिवादीको पुनरावेदन अदालत पाटनमा पुनरावेदन परेकोमा सो अदालतबाट ऐ. महलको ३(५) नं. बमोजिम ५(पाँच) वर्ष कैद र ऐ. ३क. नं. ले थप ५(पाँच) वर्ष कैदसमेत हुने ठहर्छ भनी फैसला भएकोमा सो फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भनी प्रतिवादीले यस अदालतमा पुनरावेदन गरेको अवस्था छ ।
प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनले गरेको फैसला मिलेको छ छैन, पुनरावेदक / प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादीले पीडित महिलालाई बाँसको झ्याङमा जबरजस्ती करणी गरेको भनी किटानी जाहेरी परेको देखिन्छ । निज प्रतिवादीले अनुसन्धानको क्रममा बयान गर्दा पीडितले इसारा गरी बोलाएकी, शरीरमा हातले समाउँदा कुनै प्रतिकार नगरेकी, आफूले लगाएको फरिया स्वयम् पीडितले नै माथि उचाली दिँदा आफूले यौनसम्पर्क गरेको र सोही ठाउँ नजिक पिसाब फेरेको भनी र अदालतमा बयान गर्दा लाटीले म्याक्सी माथितिर तानी मलाई संकेत गरेपछि मैले ल घर जा भनी निजको कुममा हातले धकेली दिएको र म अलि पर पुगी पिसाब फेरेको भनी उल्लेख गरेको देखिन्छ । उक्त दुवै बयान बेहोराबाट निज प्रतिवादी निज लाटी महिला भएको ठाउँमा गएको कुरामा विवाद देखिएन । निज प्रतिवादीले पीडित लाटी महिलालाई हातले धकेलेको मात्र हो वा जबरजस्ती करणी गरेको हो भन्ने सम्बन्धमा विचार गर्दा, निज प्रतिवादीले निज महिलालाई जबरजस्ती करणी गरेको देख्ने प्रत्यक्षदर्शीको रूपमा जाहेरवालाको नाबालक छोरा वर्ष ११ को ................ र अर्की प्रत्यक्षदर्शी वर्ष १३ की स्नेहा मैनाली रहेको देखिन्छ । प्रतिवादीले पीडितलाई करणी गरिरहेको अवस्थामा देखेको भनी निजहरूले अनुसन्धानको क्रममा व्यक्त गरेको
देखिन्छ । निज नाबालकहरूले निज प्रतिवादीलाई जबरजस्ती करणी गरेको भनी फसाउनु पर्ने कुनै पूर्वरिसइवी देखिँदैन । निज ११ र १३ वर्षका नाबालकहरूमा प्रतिवादीलाई फसाउनु पर्ने किसिमको सोच विचार आउने अवस्था हुँदैन । यी नाबालकहरूले यी प्रतिवादीलाई फसाउनु पर्ने कुनै रिसइवी वा कारण भएको भनी प्रतिवादीले जिकिर लिएको देखिँदैन र यी नाबालकहरू कसैको प्रलोभनमा परेर झुठो बोलेको भन्नेसमेत देखिँदैन । लाटी बोल्न नसक्ने महिलालाई लुकिछिपी करणी गरेको देख्ने प्रत्यक्षदर्शी साक्षीका रूपमा निज नाबालकहरू रहेको अवस्था छ । यस्तो अवस्थाको विद्यमानता रहेको प्रस्तुत वारदातका सम्बन्धमा निज नाबालकहरूले देखी जानी व्यक्त गरेको कुरा सही सत्यरूपमा व्यक्त गरेका हुन् भनी मान्नु पर्ने हुन्छ । उक्त उमेरका बालबालिकाहरूमा झुठो बोल्दा के फाइदा हुन्छ वा के परिणाम निस्कन्छ भन्ने कुरा थाहा नहुने हुनाले उनीहरूले जे बोल्छन्, सुन्छन् वा देख्छन् सिधा रूपमा जस्ताको तस्तै अभिव्यक्त गर्दछन् भन्ने मान्यता राखिन्छ । प्रमाण ऐन, २०३१ को दफा ३८ अनुसार कलिलो उमेर भए पनि सोधिएको प्रश्न बुझ्न सक्ने अवस्थाका नाबालक भएको देखिएकोले निजहरूले बोलेको कुरालाई प्रमाणमा लिन मिल्ने नै देखिन आयो । लाटी बोल्न नसक्ने महिलाले आफूमाथि भएको अपराधका बारेमा सामान्य महिलाले जस्तो बोलेर पुष्टि गर्न सक्ने अवस्था हुँदैन । यहाँ लाटी महिलाको हकमा निज नाबालकहरूको भनाइ नै मुख्य प्रमाणको रूपमा रहेको छ । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा पीडितको योनिमा पुरूषको लिङ्गको प्रवेश एवं घर्षण भएको भन्ने उल्लेख छ । निज महिलालाई निज प्रतिवादीले हातले धकेलेको मात्र हो भन्ने भनाइ प्रतिवादीले पुष्टि गर्न सकेको अवस्था छैन । नाबालकले करणी जस्तो अपराधका बारेमा बोलेको कुरा अन्यथा प्रमाणित नभएको अवस्थामा त्यसलाई प्रमाणको रूपमा ग्रहण गर्दा बेमनासिब हुने देखिँदैन । यसर्थ प्रस्तुत मुद्दामा अपाङ्ग रहेकी भनिएकी पीडित महिला अदालतमा उपस्थित भई बकपत्र गर्न नसकेकोले वारदात पुष्टि हुन सक्दैन भन्ने प्रतिवादीको भनाइसँग र सोही आधारमा भएको प्रत्यर्थी झिकाउने आदेशसँग सहमत हुन सक्ने अवस्था देखिन आएन ।
३. अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ को दफा २ मा अपाङ्ग भन्नाले सामान्य दैनिकचर्या गर्न शारीरिक वा मानसिक तवरले असमर्थ वा असक्षम भएको नेपाली नागरिकलाई सम्झनु पर्छ सो शब्दले कानो, अन्धो, बहिरो, लाटो, लठेब्रो, लुलो, कुँजो, लङ्गडो, खोरण्डो, कुँडो वा सुस्तमनस्थिति भएको व्यक्तिलाई समेत जनाउँछ भनी परिभाषित गरेको पाइन्छ । उक्त परिभाषाअनुसार लाटो पनि अपाङ्गको परिभाषाभित्र पर्ने देखिएकोले त्यस सन्दर्भमा अरू विवेचनाको आवश्यकता देखिँदैन । साथै प्रतिवादीले लाटी र अपाङ्गको अलग अलग अर्थ लाग्छ भनी लिएको जिकिरसमेत उक्त कानूनी व्यवस्थाविपरीतको देखिएकोले निजको उक्त जिकिरसमेत मनासिब नहुनुको साथै यी प्रतिवादीले अदालतमा बयान गर्दा नै पीडित महिला लाटी भएको भनी स्वीकार गरेको अवस्था विद्यमान हुँदा स्थापित तथ्यको बारेमा प्रस्तुत मिसिलको सन्दर्भमा अरू कुराको विचार गरिरहनु पर्ने आवश्यकतासमेत देखिँदैन ।
४. प्रतिवादीले पीडित महिलाको सहमतिले करणी गरेको हो होइन ? भन्ने सम्बन्धमा विचार गर्दा, पीडित भनिएकी महिला बोल्न, सुन्न नसक्ने लाटी भएकोमा विवाद छैन । वारदातको समयमा उनी एक्लै बाँसको झ्याङ्ग स्थित ओडारमा रहेको अवस्था छ । यी प्रतिवादीले पीडित महिलालाई करणी गर्नको लागि यिनीहरूबिच कुनै पूर्वयोजना एवम् सहमति भई उक्त स्थानमा गएको अवस्था नभई पानीको पाइप जोडी आफ्नो घरतर्फ फर्कने क्रममा एकान्त स्थानमा रहेकी निज पीडित महिला भए ठाउँमा यी प्रतिवादी गएको अवस्था छ । सामान्यतया लाटी महिला कराउन एवम् चिच्याउन नसक्ने हुन्छन् । कराउन एवम् चिच्याउन सक्ने भए पनि एकान्तमा कराएको एवम् चिच्याएको कसैले सुन्ने अवस्थासमेत हुँदैन । उनीले बोलेर आफ्नो भनाइ प्रस्तुत गर्ने अवस्थासमेत छैन । यस्तो एकान्त अवस्थाको विद्यमानता रहेको ठाउँमा भएको करणीका सन्दर्भमा मौकामा बुझिएका प्रत्यक्षदर्शीका रूपमा रहेका वर्ष ११को ................ र वर्ष १३ की स्नेहा मैनालीले बाँस झ्याङको ओडारमा स्वाँ-स्वाँ, अहँ-अहँ गरेको सुनेका हौं भनी लेखाइदिएकोले निजहरूबिच सहमतिले करणी भएको भन्ने भनाइ विरोधाभाषपूर्ण देखिएको छ । प्रतिवादीले अदालतमा आरोपित कसुर गरेको होइन भनी बयान गरे पनि पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट करणी भए गरेको भन्ने देखिन आएको
छ । प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष पीडितले इसारा गरेपछि सहमतिले करणी भएको हो भनी बयान बेहोरा लेखाएको भए पनि के कस्तो किसिमले सहमति भएको थियो सो बारेमा उल्लेख गरी लेखाउन सकेको पाइँदैन । एकछिनलाई पीडितले इसाराद्वारा बोलाएकै थिइन् भनी मान्ने हो भने पनि करणीको आशयले इसारा गरी बोलाएको भन्ने कुरा मिसिल प्रमाणबाट प्रमाणित हुन सकेको पाइँदैन । पीडित लाटी महिलाले करणी गर्नमा सहमति दिएकी थिइन् भनी प्रतिवादीले लिएको जिकिर निजले वस्तुनिष्ट आधार प्रमाण प्रस्तुत गरी पुष्टि गर्नसकेकोसमेत देखिँदैन । त्यसैले सहमतिको विषयलाई गम्भीरतापूर्वक विचार गर्ने हो भने इसारा गरी बोलाइन् भनी प्रतिवादीले भनेको एक मात्र आधारले यिनीहरूबिच सहमतिमा करणी भयो भनी भन्न मिल्ने अवस्था देखिँदैन ।
५. अतः उपर्युक्त विवेचित आधार कारणबाट प्रतिवादी पुष्पराज सिटौलाले पीडित लाटी महिलालाई अभियोग मागदाबीबमोजिम जबरजस्ती करणी गरेको ठहर गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको दफा ३(५) नं. बमोजिम ५(पाँच) वर्ष कैद र ऐ. महलको दफा ३क. नं. बमोजिम थप ५(पाँच) वर्ष कैद हुने गरी उच्च अदालत पाटनबाट मिति २०७१।७।११ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक / प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । यो फैसलाको प्रतिलिपि जानकारीका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाइदिनु र फैसलाको प्रति विद्युतीय प्रणालीमा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.बमकुमार श्रेष्ठ
इजलास अधिकृत:- कुलप्रसाद दाहाल
इति संवत् २०७५ साल चैत्र २५ गते रोज २ शुभम् ।