निर्णय नं. १०४१० - मानव बेचबिखन तथा ओसारपसार
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०७६।९।२
०७३-CR-११३१
मुद्दा:- मानव बेचबिखन तथा ओसारपसार
पुनरावेदक / वादी : परिवर्तित नाम पोखरा ४७ को जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : चितवन जिल्ला, गुञ्जनगर गाउँ विकास समिति वडा नं. ६ बस्ने रामप्रसाद गुरूङ
मानव बेचबिखन एवं ओसारपसारको मुद्दामा पीडितलाई प्रतिवादीले वास्तवमै बेचबिखन गर्न लगेको हो ? वा विवाह गर्न वा विवाह गरेर श्रीमान् श्रीमती भई लगेको र गएको हो भन्ने तथ्य पहिल्याउन अति गाह्रो हुने । सो तथ्यको निर्क्यौलमा पुग्न प्रथमतः अधिक मात्रामा पीडितको भनाइमा नै भर पर्नुपर्ने र सोही आधारमा नै निष्कर्षमा पुग्नुपर्ने ।
(प्रकरण नं.९)
पीडित अदालतसमक्ष उपस्थित भएर बकपत्र नगरे पनि सुरूमा अदालतसमक्ष भएको प्रमाणित बयानको महत्त्व र तौलमा कमी भएको भने हुँदैन । पीडित अदालतमा उपस्थित भएर सुरूमा अदालतबाट प्रमाणित भएको बयानको विपरीत प्रतिवादीको पक्ष र समर्थनमा हुने गरी गरेको बकपत्रभन्दा निज अदालतमा उपस्थित नै नभएर बकपत्र नगरेको अवस्थामा प्रतिवादी विरूद्धको कसुरलाई स्थापित गराउन बढी सघाउ पुर्याइरहेको हुन्छ । सुरूको प्रमाणित बयानलाई समर्थन हुने गरी पीडित अदालतमा उपस्थित भई बकपत्र नै नगरे पनि पीडितले मौकामा प्रतिवादीको कसुर विरूद्धमा सप्रमाण गरेको किटानी बकपत्र कानूनी आधारबिना निरर्थक नहुने ।
(प्रकरण नं.१०)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री महेशप्रसाद खत्री
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री खड्गबहादुर गुरूङ
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री रामप्रसाद ओली
कास्की जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ
उच्च अदालत पोखरा
फैसला
न्या.तेजबहादुर के.सी.: उच्च अदालत पोखराको मिति २०७३।०७।०७ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) (क) र (ख) बमोजिम वादीको तर्फबाट यस अदालतमा मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदन परी यस अदालतबाट दोहोर्याउने निस्सा प्रदान भई पुनरावेदनको रोहमा पेस भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः
तथ्य खण्ड
साथी पूजा रानामगरमार्फत चिनजान भएका रामप्रसाद गुरूङले मसँग आफ्नो धनमाल जग्गा जमिन प्रसस्त छ, ब्रिटिस आर्मीको लाहुरे हुँ, चलअचल सम्पत्ति मनग्य छ भनी विभिन्न लोभ प्रलोभन देखाई माया ममताका कुरा गरी प्रेम प्रस्ताव राखी विवाह गरी लान्छु भनी भरविश्वासमा पारी मिति २०७१।०३।२७ गते मागी विवाह गरी घरमा लान्छु भनी मलाई लिई गएकोमा आफ्नो घरमा नलगी निजको धर्मदिदी भन्नेको घर कोठामा पुर्याई एकान्त समयमा अन्यत्र व्यक्तिसँग फोनमा कुरा गरी राम्रो माल ल्याएको छु, राम्रो दाम पर्छ, समय मिलाई बोर्डर पार गराउँछु भनी कहिले नेपाली भाषा तथा कहिले हिन्दी भाषामा कुराकानी गरी विवाह गरेको श्रीमतीको बहाना गरी भारततर्फ बिक्री वितरण गर्न लाने योजना बनाई ममाथि मानव बेचबिखन तथा ओसारपसारको कसुर अपराध गरेको हुँदा निजलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको पीडित परिवर्तित नाम पोखरा ४७ को जाहेरी ।
साथी पूजा रानामगरमार्फत चिनजान भएका रामप्रसाद गुरूङसँग कुराकानी, भेटघाट फोन सम्पर्क हुँदै जाने क्रममा मलगायत मेरो घरपरिवारलाई धन सम्पत्तिको लोभ लालच देखाई, भरविश्वासमा पारी मिति २०७१।०३।२७ गते मागी विवाह गरी घरमा लान्छु भनी मलाई विवाह गरी लिई गएकोमा आफ्नो घरमा नलगी निजको धर्मदिदी भन्नेको घर कोठामा पुर्याई एकान्त समयमा अन्य व्यक्तिसँग फोनमा कुरा गरी राम्रो माल ल्याएको छु, राम्रो दाम पर्छ समय मिलाई बोर्डर पार गराउँछु भनी कहिले नेपाली भाषा तथा हिन्दी भाषामा कुराकानी गरी विवाह गरेको बहाना गरी भारततर्फ मलाई बिक्री वितरण गर्न लाने योजना बनाएको थाहा पाएपछि मैले लुकी छिपी घरमा फोन गरेको हुँदा फुपू हिमकुमारी गुरूङ काठमाडौं आई विभिन्न बहाना मिलाई मेरो घरमा लिई आएपछि घर परिवारले निजसँग सोधपुछ गर्ने क्रममा निज भागेका हुन् । यसरी मलगायत मेरो घरपरिवारलाई विश्वासमा पारी विवाह गरी श्रीमतीको रूपमा घुमाउने डुलाउने बहानामा नेपालबाहिर भारततर्फ बिक्री गर्ने तारतम्य मिलाएको अवस्थामा मलाई फुपूसमेतको सहयोगमा निजको पञ्जाबाट फुत्किन सफल भएको हुँदा निजलाई मानव बेचबिखन तथा ओसारपोसारको कसुरअन्तर्गत कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको पीडित परिवर्तित नाम पोखरा ४७ को प्रमाणित बयान कागज ।
मैले आजभन्दा करिब १३/१४ वर्षअघि भारतीय सेनामा जागिर गरेको अवस्थामा मुम्बईस्थित बर्मेली टोलमा थुप्रै वेश्यालयमा नेपाली महिला तथा केटीहरू वेश्याका धन्दाहरू चलाई बसेको भेटेको र कहिलेकाहीँ आफू पनि उक्त वेश्यालयमा गई यौन प्यास मेटाउने गर्दथेँ । वेश्यालयमा जाने आउनेक्रममा वेश्यालयका मुख्य नाइके पप्पु यादवसँग चिनजान भएको र निजले नेपालको विभिन्न नाकाहरूबाट नेपाली केटीहरू दलालमार्फत आउने र दलालले राम्रो कमाई गर्ने भन्ने थाहा पाएँ । आजभन्दा करिब ८/९ वर्षअघि जागिर छाडी घरमा बस्ने क्रममा रूपैयाँको अभाव हुन थाल्यो र घर परिवारले पनि राम्रो दृष्टिकोणले नहेरेपछि काठमाडौंको मेनपावरसँग मिली केही समय काम गरी त्यसपश्चात् काम छाडी काठमाडौंमा नै बस्ने क्रममा ३/४ महिनाअघि चिनजान भएका मंगल तामाङले महिलाहरूलाई भारतको विभिन्न वेश्यालयमा पुर्याई बिक्री गरी राम्रो पैसा कमाएको थाहा पाएँ । कुराकानीको क्रममा निजले वेश्यालयका नाइके पप्पु यादवको पनि नाम लिएपछि मैले निजसँग पप्पुको सम्पर्क नम्बर लिई निजलाई सम्पर्क गरी आइमाई केटीहरूलाई भारतमा पठाई रूपैयाँ कमाउने योजना बनाएँ । गत डेढ महिनाअघि पोखरा आई चिनजानका पूजा रानाको घरमा जाँदा निजको साथी पोखरा ४७ सँग परिचय चिनजान भयो । निज पोखरा ४७ लाई मैले आफू ब्रिटिस आर्मीको लाहुरे भएको र पोखरा घुम्न आएको भनी बताएँ, निजसँग फोनमा सम्पर्क हुन थालेपछि निजलाई फसाउने उद्देश्य राखी बारम्बार फोन सम्पर्क गर्ने, धन सम्पत्तिको लोभलालच देखाएँ, कारमा राखी विभिन्न स्थानमा घुमाउन तथा महङ्गा रेस्टुरेन्टहरूमा खाजा खान लग्न थालेपछि निज मसँग लोभिन
थालिन् । निजलाई विवाह गरेको नाटक गरी भारतमा लगी बिक्री गर्ने सोचाई बनाई विवाहको प्रस्ताव राख्दा निज र निजका परिवारसमेत मन्जुर भएपछि मिति २०७१।०३।२७ गते निजलाई विवाह गरी काठमाडौं लिई गई धर्मदिदीको कोठामा लगी निजलाई ललाई फकाई गरी राखेँ । भारतमा पप्पु यादवसँग फोन सम्पर्क गरी राम्रो माल छ, राम्रै पैसा आउँछ, म छिट्टै लिई आउँछु भनी कुरा गरेँ । मिति २०७१।०३।२९ गते के कसरी पोखरा ४७ को फुपू हिमकुमारी गुरूङ हामीहरूलाई खोज्दै आइन् । निजले दुरान फर्काउन जाउँ भनेपछि मैले निजलाई हामी भारततर्फ घुम्न जाँदैछौं, टिकट ओकेको लागि दिइसकेको छु भनेँ । निजले साह्रै कर गरेपछि पछि परिपञ्च मिलाई पोखरा ४७ लाई भारतमा बिक्रीको लागि लगौंला भन्ने सोची निजको फुपूसँग मिति २०७१।०३।३० गते पोखरामा आएकोमा निजको घर परिवारले मेरो बारेमा सोधखोज गर्न थालेपछि म पोखराकै ब्रिटिस क्याम्पमा काम छ भनी निस्की हिँडेको हुँ । पोखरा आई लुकीछिपी बस्ने क्रममा मिति २०७१।०३।३२ गते प्रहरीले मलाई पोखरा ९ पृथ्वीचोकमा फेला पारी पक्राउ गरी ल्याएका हुन् भन्ने बेहोराको प्रतिवादी रामप्रसाद गुरूङको बयान कागज ।
पीडित परिवर्तित नाम पोखरा ४७ को शारीरिक परीक्षण हुँदा निजको यौनाङ्गको वरपर Bleeding+ भन्ने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको मिति २०७१।४।५ को शारीरिक परीक्षण प्रतिवेदन मिसिल संलग्न रहेको ।
परिवर्तित जिल्ला ४१, सार्दीखोला गाउँ विकास समिति वडा नं. १ स्थितमा पीडित परिवर्तित नाम पोखरा ४७ को पक्की घर, सो घर आँगनबाट मिति २०७१।०३।२७ गते निज पोखरा ४७ लाई रामप्रसाद गुरूङले धन सम्पत्तिको लोभ लालच देखाई, प्रलोभनमा पारी विवाह गर्ने बहानामा झुक्याई विवाह गरी भारततर्फ बिक्री वितरण गर्नको लागि लिई गई मानव बेचबिखन ओसारपोसारको कसुर गरेको भनी देखाइएको घटनास्थल प्रकृति मुचुल्का ।
हाल प्रहरीबाट पक्राउ परेका रामप्रसाद गुरूङले मेरो छोरी परिवर्तित नाम पोखरा ४७ लगायत हामी घर परिवारहरूलाई आफू ब्रिटिस आर्मी भएको र धनमाल जग्गा जमिन, चल अचल सम्पत्ति मनग्य छ भनी विभिन्न लोभ प्रलोभन देखाई माया ममताका कुरा गरी विवाहको प्रस्ताव राखी मिति २०७१।०३।२७ गते मागी विवाह गरी घरमा लान्छु भनी लिई गएकोमा आफ्नो घरमा नलगी काठमाडौंस्थित निजको धर्मदिदी भन्नेको घर कोठामा पुर्याई एकान्त समयमा अन्यत्र व्यक्तिसँग फोनमा कुरा गरी राम्रो माल ल्याएको छु, राम्रो दाम पर्छ, समय मिलाई बोर्डर पार गराउँछु भनी कहिले नेपाली भाषा तथा हिन्दी भाषामा कुराकानी गरेको सुनेँ भनी निज छोरीले मिति २०७१।०३।२९ गते मलाई फोन गरी जानकारी गराएकाले मैले केही जानी बुझेकी मेरो नन्द हिमकुमारी गुरूङलाई काठमाडौं पठाएपछि निज नन्दले विभिन्न बहाना बनाई ललाई फकाई गरी निजहरूलाई घरमा लिई आएका हुन् । सोपश्चात् निज रामप्रसाद गुरूङसँग सोधपुछ गर्ने क्रममा निजले विभिन्न बहाना बनाई भागेका हुन् । यसरी छोरीलाई विवाह गरी श्रीमतीको बहाना बनाई भारततर्फ बिक्री वितरण गर्न लाने योजना बनाई मानव बेचबिखन तथा ओसारपसारको कसुर अपराध गरेको हुँदा निजलाई पक्राउ गरी कानूनबमोजिम कारबाही होस् भन्ने बेहोराको पीडित पोखरा ४७ को आमा भिमसुवा गुरूङ र हिमकुमारी गुरूङले गरेको एकै मिलानको कागज ।
जाहेरवाली तथा पीडित पोखरा ४७ लाई पक्राउमा परेका रामप्रसाद गुरूङले धनमाल, जग्गा जमिनको लोभ प्रलोभन देखाई विवाहको प्रस्ताव राखी निज पीडित तथा पीडितका घर परिवारसमेतलाई भरविश्वास दिलाई मिति २०७१।०३।२७ गते विवाहको नाटक गरी विवाह गरी घरमा लान्छु भनी पीडितलाई लिई गएकोमा आफ्नो घरमा नलगी निजको धर्मदिदी भन्नेको घर कोठामा पुर्याई भारततर्फ बिक्री गर्न लाने योजना बनाएको अवस्थामा पीडितले थाहा पाई घर परिवारमा लुकिछिपी फोन सम्पर्क गरेपश्चात् निज पीडितलाई पीडितकै फुपूले उद्वार गरेको भन्ने थाहा पायौं । यसरी मानव बेचबिखन तथा ओसारपसारको कसुर गर्ने निज रामप्रसाद गुरूङलाई कानूनबमोजिम कारबाही हुनुपर्छ भन्ने बेहोराको वस्तुस्थिति मुचुल्कामा बुझिएका विष्णु आचार्य, चन्द्रमान गुरूङ र पार्वती गुरूङले गरेको एकै मिलानको कागज ।
पीडित पोखरा ४७ को जाहेरीबमोजिम प्रतिवादी रामप्रसाद गुरूङको धर्मदिदी भन्ने काठमाडौं गोकर्ण बस्ने मधु गुरूङलाई खोजतलास गरी पक्राउ गरी यस कार्यालयमा दाखिला गर्नु भन्ने आदेशानुसार हामीलाई खटाइएकोमा निज व्यक्तिको खोजतलास गर्दै जाने क्रममा उल्लिखित स्थानमा मधु गुरूङ नाम गरिएकी महिला फेला पर्न नसकेको र खोजतलासको क्रममा निज भक्तपुर जिल्ला, कटुन्जेबेसी गाउँ विकास समिति वडा नं. ७ बस्ने सन्तबहादुर गुरूङको छोरी पर्वत जिल्ला, आर्थरडाँडाखर्क गाउँ विकास समिति वडा नं. ५ बस्ने लालबहादुर गुरूङको श्रीमती वर्ष ४६ की मधु गुरूङ भएको खुल्न आएको हुँदा सोही बेहोराको प्रतिवेदन लेखी पेस गरेका छौं, कानूनबमोजिम होस् भन्ने बेहोराको प्रहरी प्रतिवेदन ।
दिपज्योति कला सँस्कृति केन्द्रमा नाच सिकाउने सिक्ने क्रममा जाहेरवाली परिवर्तित नाम पोखरा ४७ सँग चिनजान भएको हो । प्रतिवादी रामप्रसाद गुरूङसँग पनि ४/५ वर्षअघि साथीहरूसँग पोखरा १७ ड्यामसाइडस्थित पार्टीमा जाने क्रममा मेरो चिनजान भएको थियो । निजले आफू ब्रिटिस आर्मी भएको र पोखरामा घुम्न आएको हुँ भन्दथे । निजले मलाई बहिनी भनी सम्बोधन गर्ने भएकाले हामीहरूको घरमा आउने जाने गर्दथे । गत जेष्ठ महिनाको २९/३० गते रामप्रसाद गुरूङ हाम्रो घरमा आउने क्रममा संयोगले त्यसदिनमा यी पोखरा ४७ पनि हाम्रो घरमा आएकी थिइन् । सोही क्रममा निजहरूको बिचमा चिनजान भएको हो । सोही क्रममा निज रामप्रसाद गुरूङले पीडितको सम्पर्क नं. लिएका र सो पश्चात् निजहरूबिचमा फोन सम्पर्क हुने, भेटघाट तथा घुमफिर गर्ने गरेको भन्ने थाहा पाएँ । यसै अवस्थामा मिति २०७१।०३।२७ मा पोखरा ४७ र रामप्रसाद गुरूङको बिचमा विवाह भएको भन्ने थाहा पाएँ, विवाहपश्चात् निजले घरमा लान्छु भनी जाहेरवालीलाई काठमाडौंस्थित धर्मदिदीको घरमा लगेको भन्ने थाहा पाएँ । सोपश्चात् निज रामप्रसाद गुरूङले पीडित पोखरा ४७ लाई भारततर्फ घुमाउन लाने बहानामा भारतको वेश्यालयमा बिक्री गर्न लान आँटेपछि पीडितले आफ्नो घरमा फोन सम्पर्क गरी जानकारी गराएपछि निजको पञ्जाबाट फुत्कीन सफल भएको भन्ने थाहा पाएँ । यसरी गाउँका सोझासाझा अवला नारीलाई प्रलोभनमा पारी बिक्री वितरण गर्ने गराउने निज रामप्रसाद गुरूङलाई कानूनबमोजिम कारबाही होस् भन्ने बेहोराको बुझिएका पूजा रानामगरको कागज ।
प्रतिवादी रामप्रसाद गुरूङले हाल नाम परिवर्तित पोखरा ४७ लाई कास्की जिल्ला, सार्दिखोला गाउँ विकास समिति वडा नं. १ स्थित पीडितको घरबाट आफू ब्रिटिस आर्मी भएको, चल अचल सम्पत्ति मनग्य छ भन्नेसमेतको विभिन्न लोभ प्रलोभन देखाई माया ममताका कुरा गरी प्रेम प्रस्ताव राखी विवाह गरी लान्छु भनी पीडितका घर परिवारसमेतलाई भरविश्वासमा पारी मिति २०७१।०३।२७ गतेका दिन मागी विवाहसमेत गरी घरमा लान्छु भनी लगेकोमा पीडित पोखरा ४७ लाई घरमा नलगी आफ्नै धर्मदिदी भन्ने मधु गुरूङको काठमाडौंस्थित डेरा कोठामा लिई गई निजै धर्मदिदी भनिएकी मधु गुरूङको मिलेमतो र सल्लाह, योजनाबमोजिम मंगल तामाङसँग सम्पर्क नम्बर लिई निजैको सहयोगमा भारतको बम्बईस्थित बर्मेली टोलमा रहेको वेश्यालयमा मुख्य नाइकेको रूपमा काम गर्ने पप्पु यादवलाई सम्पर्क गरी यी पीडित पोखरा ४७ लाई सोही वेश्यालयमा बिक्री गर्ने उद्देश्यले पप्पु यादवसँग हिन्दी र नेपाली भाषामा लुकीछिपी राम्रो माल ल्याएको छु, राम्रो दाम पर्छ, समय मिलाई बोर्डर पार गराउँछु भनी कुराकानी गरेको अवस्थामा पीडित पोखरा ४७ ले थाहा पाई सो कुरा निज पीडितले घरमा आमालाई फोनमार्फत जानकारी गराएपछि निजका फुपू नाताका हिमकुमारी गुरूङले काठमाडौं गई पीडित पोखरा ४७ लाई उद्वार गरी ल्याएको तथ्य सप्रमाण पुष्टि हुन आएको हुँदा प्रतिवादीहरू रामप्रसाद गुरूङ र मधु गुरूङलाई मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रण ऐन, २०६४ को दफा ४(२)(ख) बमोजिमको कसुर अपराधमा निज प्रतिवादीहरूलाई ऐजन ऐनको दफा १५ को (१)(ङ)(२) बमोजिम सजाय हुन र ऐजन ऐनको दफा १७(१) बमोजिम प्रतिवादीबाट पीडित पोखरा ४७ लाई क्षतिपूर्ति दिलाई भराई पाउन र प्रतिवादी रामप्रसाद गुरूङको बयान कागजबाट खुल्न आएका पप्पु यादव र मंगल तामाङको यकिन वतन खुल्न नआएको हुँदा निजहरूको हकमा पछि पक्राउमा परी दाखिला हुन आएका बखत वा कहिँकतैबाट यकिन वतन खुल्न आएका बखतसमेत कानूनबमोजिम हुने गरी र प्रतिवादीमध्येकी मधु गुरूङ अनुसन्धानका क्रममा हालसम्म फरार रहेको हुँदा त्यहाँ अदालतबाटै कानूनबमोजिम झिकाई कारबाही हुन लिइएको अभियोग मागदाबी ।
मेरो विगत तीन महिनाअघि धर्मबहिनी पूजा रानामगरमार्फत् जाहेरावालीसँग चिनजान भएको हो । हामीहरूबिच फोन सम्पर्क भई प्रेमसम्बन्ध रहन गएको हो । प्रेम सम्बन्ध कायम भएपछि यी जाहेरावालीले चितवनतिर घुम्न जाउँ भनेपछि जाहेरवाली, निजकी फुपू आरती गुरूङ र म चितवनको सौराहा घुम्नसमेत गएका हौं । त्यसपछि यी जाहेरवालीले हामी विवाह गरौं भनेकी र निजकी फुपू आरती गुरूङले समेत यसरी बाहिर बाहिर बसेर हुँदैन तिमीहरू दुईजना विवाह गरी बस् भनेको हुँदा कुराकानी छलफल भई जाहेरवालीको घरमा आषाढ २७ गते हाम्रो विवाह सम्पन्न भएको हो । त्यसको भोलिपल्ट निजलाई लिई घुम्नको लागि काठमाडौं गई गोकर्णस्थित मेरी भान्जीको घरमा बसेको हो । तीन दिन काठमाडौं बसी दुरान फर्काउन जाहेरवालीको घरमा फर्केका हौं । भोलिपल्ट घर फर्कने बारेमा कुराकानी हुने क्रममा मेरो घरमा जेठी श्रीमती पनि छ भन्ने कुरा थाहा पाएपछि त्यहाँ झगडा भएको हो । त्यहाँ जाहेरवालीका आफन्तहरूले घरमा जेठी श्रीमती हुँदाहुँदै हाम्री छोरी चेलीको जीवन बर्बाद गर्ने भनेर मलाई गाली गलौज गरेका हुन् । सोही विषयको रिसइवीले मेरो विरूद्धमा जाहेरी दिएका हुन् । मैले कुनै पनि झुठा प्रलोभन देखाई ब्रिटिस लाहुरे हुँ भनी झुक्याएर विवाह गरेको होइन । कुनै मानिससँग हिन्दी भाषामा कुराकानी गरेको होइन भन्नेसमेत रामप्रसाद गुरूङले सुरू अदालतमा गरेको बयान ।
प्रतीवादी मधु गुरूङका नाउँको म्याद तामेल गर्न पर्वत जिल्ला अदालतमा पठाएकोमा निज मधु गुरूङ नाम गरेको व्यक्ति जिल्ला पर्वत, आर्थर डाँडाखर्क गाउँ विकास समिति वडा नं. ५ मा कोही नभएको भनी फिर्ता आएकोमा निजको यकिन वतन सम्बन्धमा वादी पक्षलाई लेखी पठाउँदा उल्लिखित वतनबाहेक अन्य वतन खुल्न नआएको भनी सरकारी वकिल कार्यालय कास्कीबाट लेखी आएको रहेछ ।
पीडित जाहेरावाली परिवर्तित नाम पोखरा ४७ र प्रतिवादी रामप्रसाद गुरूङबिच चिनजान भई प्रेमसम्बन्ध रही मागी विवाह गरेका हुन्, पछि यी प्रतिवादी रामप्रसादको अर्को विवाह भएको कुरा माइतीले थाहा पाएपछि सोही रिसइवीले मुद्दा दिएको हो, प्रतिवादीले पीडित जाहेरावालीलाई बिक्री गर्न खोजेको होइन भन्ने बेहोराको प्रतिवादीका साक्षी सीता गुरूङले गरेको बकपत्र ।
जाहेरी बेहोरा ठिक हो, जाहेरीमा भएको सहीछाप मेरै हो, डान्सको प्रोग्रामको समयमा यी प्रतिवादी रामप्रसाद गुरूङसँग भेट भएको हो । निजले मलाई फोन गरेर मेरो घरमा आएको र म लाहुरे हुँ भनी विवाहको प्रस्ताव राखेकाले मैले विश्वासमा परी विवाह गरेको हुँ । निजले मलाई विवाहपछि घरमा नलगी आफ्नो धर्म दिदीको लगी राखेको र निज प्रतिवादीले फोनमा भारतको बम्बईस्थित बर्मेली टोलमा वेश्यालय चलाउने पप्पु यादवसँग नेपाली र हिन्दीमा राम्रो माल ल्याएको छु, पछि समय मिलाएर बोर्डर क्रस गराउँछु भनी कुरा गरेको सुनेको हुँ । निजले त्यस्तो कुरा गरेको र दार्जलिङमा घुम्न जाउँ भनेबाट निजप्रति पूरै शंका लागि निज प्रतिवादीलाई फकाएर मेरो घरमा ल्याई पक्राउ गरी प्रहरीमा बुझाएका हौं । काठमाडौंबाहेक अन्य स्थानमा गएका होइनौं भन्नेसमेत बेहोराको पीडित जाहेरावाली पोखरा ४७ ले गरेको बकपत्र ।
प्रतिवादी रामप्रसाद गुरूङले मेरी छोरी परिवर्तित पोखरा ४७ लाई विवाह गरी घुमाउन लान्छु भनी लगेको हो । निजले पहिला पनि विवाह गरेको भन्ने थाहा भएपछि निजलाई पक्राउ गरी प्रहरीमा बुझाएको हो । प्रतिवादीले सम्पत्तिको हाइफाई दिएको साँचो
हो । बेच्न लान भनी हिन्दीमा कुरा गरेको भन्ने मलाई थाहा भएन सो कुरा पीडित जाहेरवालीलाई थाहा होला । घटनास्थल मुचुल्कामा भएको सहीछाप मैरै हो भन्नेसमेत बेहोराको मौकामा बुझिएका व्यक्ति भिमसुवा गुरूङले गरेको बकपत्र ।
घटनास्थल मुचुल्कामा भएको बेहोरा मेरो होइन । सोमा भएको सहीछाप मेरै हो, प्रहरीले लेखेको बेहोरामा सहीछाप गर भनेकाले सहीछाप गरेको हुँ, प्रतिवादीले पीडितलाई ढाँटेर विवाह गरेको हुँदा कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको मौकामा कागज गर्ने विष्णु आचार्यले गरेको बकपत्र ।
प्रतिवादी मधु गुरूङका नाउँको म्याद तामेल गर्न पठाएकोमा पर्वत जिल्ला, आर्थर डाँडाखर्क गाउँ विकास समिति वडा नं. ५ मा मधु गुरूङ नाम गरेको व्यक्ति कोही नभएको हुँदा म्याद तामेल हुन नसकेको भनी उक्त म्याद जिल्ला प्रहरी कार्यालय पर्वतबाट फिर्ता आएको र निजको यकिन वतन सम्बन्धमा वादी पक्षलाई लेखी पठाउँदा अभियोग पत्रमा उल्लिखित वतनबाहेक अन्य वतन खुल्न नआएको भनी लेखी आएको देखिँदा पछि निजको यकिन वतन खुली आए सोही बखत जगाई बाँकी कारबाही किनारा गर्ने गरी जिल्ला अदालत नियमावली, २०५२ को नियम १९क(४) बमोजिम तामेलीमा राखिदिएको छ । अर्का प्रतिवादी रामप्रसाद गुरूङको हकमा विचार गर्दा प्रतिवादीउपर किटानी जाहेरी दिई पीडितले आफ्नो मौकाको जाहेरी बेहोराबमोजिम नै बयान गरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ६(२) बमोजिम प्रमाणित भएको र सोहीबमोजिम नै अदालतमा बकपत्र गरेको पाइन्छ । प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्ष भएको साबिती बयान, पीडितको यौनाङ्गको वरपर Bleeding+ भन्ने स्वास्थ्य परीक्षण प्रतिवेदन र मौकामा बुझिएका व्यक्तिहरूको भनाइ बेहोरासमेतका आधार प्रमाणबाट यी प्रतिवादीले आरोपित कसुर गरेको पुष्टि हुन आएको र यी प्रतिवादीले पीडितलाई ललाई फकाई झुक्यानमा पारी विवाह गरी काठमाडौं लगी राखेको भन्ने तथ्य मिसिलबाट देखिएको, त्यसको उद्देश्य यौन शोषण वा वेश्यावृत्तिमा लगाउने भन्ने रहे भएको देखिएको अवस्थामा अभियोग दाबीबमोजिम मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ङ)(२) आकर्षित हुने नभई दफा १५(१)(च) आकर्षित हुने स्पष्ट भएबाट यी प्रतिवादीलाई दफा ४(२)(ख) को कसुरमा ऐजन दफा १५(१)(च) बमोजिम १ वर्ष कैद सजाय हुने ठहर्छ भन्नेसमेत बेहोराको सुरू कास्की जिल्ला अदालतबाट मिति २०७२।४।१९ मा भएको फैसला ।
प्रतिवादी मधु गुरूङको हकमा मुद्दा तामेलीमा रहेको हुँदा निजको हकमा कुनै पुनरावेदन जिकिर नरहेको, अर्का प्रतिवादी रामप्रसाद गुरूङको हकमा निज प्रतिवादीउपर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) को कसुरमा ऐजन दफा १५(१)(ङ)(२) बमोजिमको सजाय र पीडितलाई क्षतिपूर्तिको माग दाबीसहित अभियोगपत्र दायर गरिएकोमा प्रतिवादीको कसुर ठहर भइसकेपश्चात् अभियोग दाबीबमोजिम सजाय गर्नुपर्नेमा सो नगरी उक्त ऐनको १५(१)(ङ)(२) आकर्षित नभई दफा १५(१)(च) आकर्षित हुने गरी तथ्य एवं प्रमाणको सही विश्लेषण नगरी गलत एवं मनोगत आधारमा हुने सजायभन्दा कम सजाय गर्ने गरेको फैसला र उक्त ऐनको दफा १७(१) बमोजिम पीडितलाई क्षतिपूर्ति भराई दिनुपर्नेमा सो क्षतिपूर्तिको दाबीतर्फ केही नबोली भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा सो उल्टी गरी निज प्रतिवादीलाई सुरू अभियोग माग दाबीबमोजिम सजाय गरी पीडितलाई क्षतिपूर्तिसमेत भराई पाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत पोखरामा दायर भएको पुनरावेदनपत्र ।
जाहेरवाली र मेरोबिचमा चिनाजानी फोन सम्पर्क तथा प्रेमसम्बन्ध हुन गई हामी दुवैको सहमतिमा विवाह भएको हो । उक्त तथ्य निज जाहेरवालीका फुपूलगायतका इष्टमित्र तथा नातेदारसमेतलाई थाहा भएको र विवाहपश्चात् हामी चितवनको सौराहा र काठमाडौंसमेत घुम्न गएका थियौं । निज जाहेरवालीले मेरो घरमा जेठी श्रीमती भएको तथ्य थाहा पाएपछि विवादको सिर्जना भएको हो । उक्त विवादकै कारण मलाई झुठो जाहेरी दिएका हुन् । मैले अभियोग दाबीअनुरूपको कसुर गरेको होइन । सो तथ्यलाई खुलाई मैले अदालतमा बयान गरेको छु । मेरो मौकाको बयान मेरो स्वतन्त्र बयान होइन । मेरो अदालतको बयान बेहोरा स्वयं वादी पक्षकै साक्षीबाट पुष्टि हुन्छ । जाहेरवालीले तथ्यलाई तोडमोड गरी जाहेरी दिएकी
हुन् । सो जाहेरी बेहोरा अन्य कुनै स्वतन्त्र प्रमाणद्वारा पुष्टि हुन सकेको छैन । मेरो अदालतको बयान मेरा साक्षीको बकपत्रबाट पुष्टि भएको अवस्थासमेत
छ । यस्तो अवस्थामा अभियोग दाबीबाट सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्तसमेतका आधारमा मलाई सफाइ दिनुपर्नेमा सो नगरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(च) बमोजिम १ वर्ष कैद सजाय गर्ने गरेको सुरू फैसला त्रुटिपूर्ण हुँदा सो उल्टी गरी झुठो अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रामप्रसाद गुरूङले पुनरावेदन अदालत पोखरामा दायर गरेको पुनरावेदन पत्र ।
“यसमा वादी नेपाल सरकार र प्रतिवादी रामप्रसाद गुरूङ दुवै पक्षको तर्फबाट पुनरावेदन परेको देखिँदा मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको २०२ नं. को प्रयोजनार्थ दुवै पक्षलाई एक अर्काको पुनरावेदनपत्र परस्परमा सुनाई जानकारी दिई नियमानुसार पेस गर्नु” भन्ने पुनरावेदन अदालत पोखराबाट मिति २०७३।०१।२९ मा भएको आदेश ।
मिति २०७१।०४।१६ मा सोधपुछको क्रममा खुलाएको बेहोरा र सहीछाप मेरै हो । पीडित मेरो भदिनी पर्छिन् । निजकी आमा भिमसुवाले नानीलाई भारतमा बेच्न लागेको छ, लिन जानुपर्यो भनी फोन गर्नुभयो, निजकी आमाले सो कुरा भनेपछि म काठमाडौं गएर भदिनीलाई फर्काएर ल्याएको हुँ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पोखराको मिति २०७३।०४।२० का आदेशानुसार अ.बं. ११५ नं. बमोजिम बुझिएकी हिमकुमारी गुरूङले गरेको बकपत्र ।
प्रतिवादी रामप्रसाद गुरूङउपर पीडितको मौकामा किटानी जाहेरी परी सोही बेहोराको बकपत्र गरेको देखिए पनि निज पीडितले पछि मिति २०७२।०३।०६ मा निवेदन दिँदा आफ्नो पूर्वबेहोरालाई खण्डन गरी लेखाई दिएको, प्रतिवादी अदालतमा बयान गर्दा कसुरमा इन्कार रही बयान गरेको, अनुसन्धान अधिकारीसमक्ष साबित भई बयान गरेको भए पनि प्रमाण ऐन, २०३१ को दफा ९(२) मा व्यवस्था भएबमोजिम अनुसन्धान अधिकारीसमक्षको निजको साबिती बयान प्रमाणग्राह्य नदेखिएको, प्रतिवादीका साक्षी सीता गुरूङले बकपत्र गर्दा प्रतिवादीलाई सफाइ दिई बकपत्र गरिदिएको, पीडितकी आमा भिमसुवा गुरूङ र वादी पक्षकै साक्षी विष्णु आचार्यले बकपत्र गर्दा पनि पीडितलाई प्रतिवादीले बिक्री गर्न लगेको भन्ने नभई विवाह गरी लगेको भनी बकपत्र गरिदिएको र पछि अर्को श्रीमती भएको थाहा भएपछि उजुर गरेको भनी लेखाइ दिएकोसमेतका प्रमाणहरूको विद्यमानताको अवस्थामा प्रतिवादीले पीडित पोखरा ४७ लाई बिक्री गर्न लगेको पुष्टि नभई विवाह गरी लगेको पुष्टि भइरहेको देखिँदा निज प्रतिवादी रामप्रसाद गुरूङलाई अभियोग माग दाबीबाट सफाइ दिनुपर्नेमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) को कसुरमा ऐजन ऐनको दफा १५(१)(च) बमोजिम सजाय हुने ठहर्याएको कास्की जिल्ला अदालतको मिति २०७२।०४।१९ को फैसला मिलेको नहुँदा उल्टी भई निज प्रतिवादी रामप्रसाद गुरूङले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) को अभियोगबाटै सफाइ पाउने ठहरेकाले ऐजन ऐनको दफा १५(१)(ङ)(२) बमोजिम नै सजाय हुनुपर्ने तथा ऐजन ऐनको दफा १७(१) बमोजिम क्षतिपूर्ति पनि पाउनुपर्ने भनी वादी नेपाल सरकारका तर्फबाट लिइएको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने उच्च अदालत पोखराको मिति २०७३।७।७ को फैसला ।
सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ८ बमोजिम अपराधको तहकिकातको सिलसिलामा कुनै घर वा ठाउँको वस्तुस्थिति मुचुल्का तयार गर्दा वा कुनै व्यक्ति, ठाउँ वा वस्तुको खानतलासी लिँदा फेला परेसम्मका अभियुक्त र अपराधको सूचना दिने व्यक्तिसमेतलाई रोहवरमा राख्नुपर्ने भन्ने कानूनी व्यवस्था छ । कुनै साक्षीलाई बुझ्दा प्रतिवादीलाई रोहवरमा राख्नुपर्ने अनिवार्यता ऐनले नगरेको र साक्षी संरक्षणको दृष्टिले पनि सो गर्नु उपयुक्त नहुने देखिन्छ । सोही दफाको प्रतिबन्धात्मक वाक्यांशले अभियुक्त वा अपराधको सूचना दिने व्यक्ति रोहवरमा नराखेको कारणले मात्र त्यस्तो काम कारबाही बदर हुने छैन भन्ने स्पष्ट व्यवस्था गरेकोमा पीडितकी आमा भिमसुवा गुरूङ तथा विष्णु आचार्यको कागज एवं घटनास्थल मुचुल्कामा प्रतिवादीलाई रोहवरमा नराखेको भन्नेसमेतका आधारमा निज प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिने गरी भएको फैसलामा व्याख्यात्मक त्रुटि निहित रहेको छ ।
प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष कसुरमा साबित भई बयान गरेकोलाई मुद्दा अनुसन्धानको लागि म्याद थप गर्दा डर, त्रास वा यातना दिएको भन्ने अदालतमा जिकिर लिन नसकेको र प्रतिवादीले अदालतमा बयान गर्दासमेत यातना तथा डर, त्रास दिएको भन्ने स्पष्ट जिकिर लिनसकेको देखिँदैन । प्रमाण ऐन, २०३१ को दफा ९(२) को व्यवस्थाअनुसार प्रतिवादी रामप्रसाद गुरूङलाई अचेत अवस्थामा पारी वा धम्की दिई वा अन्य कारणले बाध्य पारी निजको इच्छाविपरीत कसुरमा साबित गराएको भन्ने तथ्ययुक्त प्रमाण पेस गर्न नसकेको अवस्थामा मानसिकरूपमा तयार भई योजनाबद्ध ढंगले मानव बेचबिखन तथा ओसारपसारको कसुर अपराध गर्ने निज अभियुक्तले मौकाको कागजमा आफ्नो इच्छाविपरीत बयान गरेको भन्ने जिकिर लिई अदालतमा आरोपित कसुरमा इन्कार हुँदैमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुर गरेको अभियोग लागेको अभियुक्तले सो कसुर आफूले गरेको छैन भन्ने कुराको प्रमाण पुर्याउनुपर्ने भनी प्रमाणको भार उक्त ऐनको दफा ९ ले प्रतिवादीमा नै निहित रहेका अवस्थामा प्रतिवादीको अदालतसमक्षको इन्कारी बयानलाई आधार लिई मौकाको साबिती बयानलाई प्रमाणमा ग्रहण नगरी प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिने गरी भएको प्रस्तुत फैसलामा उल्लिखित ऐनको दफा ९ समेतको त्रुटि छ । प्रतिवादी रामप्रसाद गुरूङउपरको आरोपित कसुर स्थापित भइरहेका अवस्थामा निज प्रतिवादीलाई दाबीको कसुर कायम गरी सजाय हुनुपर्नेमा सो नगरी भएको फैसला गम्भीर त्रुटिपूर्ण भएकाले निज प्रतिवादीउपर सुरू अभियोग दाबीबमोजिम नै सजाय कायम गराई पाउँ भन्ने बेहोराको वादी नेपाल सरकारको यस अदालतमा दायर हुन आएको मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदनपत्र ।
“यसमा वर्ष १७ की पीडित पोखरा ४७ लाई प्रतिवादी रामप्रसाद गुरूङले पोखराबाट काठमाडौं ल्याएको भनी निजउपर पीडितले नै जाहेरी दिई निजको बयानसमेत अदालतबाट प्रमाणित भएको देखिन्छ । जाहेरी र मौकाको बयानलाई पुष्टि हुने गरी पीडितले अदालतमा बकपत्रसमेत गरेको पनि
देखिन्छ । तत्पश्चात् पीडितले प्रतिवादीलाई निर्दोष रहेको भनी दिएको निवेदनमा उल्लिखित बेहोरालाई प्रमाणमा लिई सफाइ दिएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा १० र मावन बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ६(३) समेतको व्याख्यात्मक त्रुटि भई पुनरावेदन अदालत पोखराको मिति २०७३।७।७ मा भएको फैसला फरक पर्न सक्ने भएबाट न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) र (ख) को अवस्था विद्यमान देखिँदा दोहोर्याउने निस्सा प्रदान गरिदिएको छ । नियमानुसार पेस गर्नु” भन्ने यस अदालतको मिति २०७३।११।१० को आदेश ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत पुनरावेदन पत्रसहितको मिसिल अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री महेशप्रसाद खत्रीबाट प्रस्तुत मुद्दामा पीडित जाहेरवाली पोखरा ४७ लाई प्रलोभनमा पारी विवाहको नाटक गरी भारतको बम्बईमा बेचबिखन गर्ने उद्देश्यले काठमाडौंसम्म लगेको अवस्था छ । पीडितलाई बकपत्रको रोहवरमा राख्नैपर्ने भन्ने छैन । अनुसन्धानको क्रममा प्रतिवादीले कसुरमा साबित भई बयान गरेको अवस्था छ । प्रतिवादी रामप्रसाद गुरूङले उल्लिखित आधारहरूबाट अभियोग दाबीबमोजिमको कसुर गरेको पुष्टि हुन आएकाले निजलाई सुरू अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ । उच्च अदालत पोखराबाट भएको फैसला त्रुटिपूर्ण भएकाले सो फैसला उल्टी हुनुपर्छ भन्ने बहस प्रस्तुत हुन आएको छ ।
प्रत्यर्थी प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री खड्गबहादुर गुरूङबाट पीडित भनिएकी जाहेरवाली पोखरा ४७ लाई प्रतिवादी रामप्रसाद गुरूङले आफ्नो धार्मिक परम्पराअनुसार अन्माएर विवाह गरेको हो । यिनै पीडितको आमाले गरेको बकपत्रको स.ज. ८ मा प्रतिवादीले बिक्री गर्न लगेको होइन भनी बकपत्र गरेको अवस्था छ । मौकाका मानिसहरू भिमसुवा गुरूङ र विष्णु आचार्यले पनि पीडित जाहेरावालीलाई भारतमा बिक्री गर्न भनी प्रतिवादीले लगेको भन्ने कुरा किटानीसाथ आफ्नो भनाइ लेखाउन सकेका छैनन् । त्यसैगरी प्रतिवादीका साक्षी सीता गुरूङले पनि प्रतिवादीले अदालतमा गरेको इन्कारी बयानलाई समर्थित हुने गरी बकपत्र गरेको अवस्थामा यी प्रतिवादीले पीडितलाई भारतमा बिक्री गर्न भनी लगेको तथ्य पुष्टि हुन नआएकाले प्रतिवादी रामप्रसाद गुरूङले अभियोग दाबीबाट सफाइ पाउने ठहर्याई उच्च अदालत पोखराबाट भएको फैसला सदर कायम हुनुपर्छ भन्ने बहस प्रस्तुत हुन आएको छ ।
प्रस्तुत मुद्दामा पुनरावेदक वादी र प्रत्यर्थी प्रतिवादीतर्फबाट उपस्थित उपन्यायाधिवक्ता तथा अधिवक्ताले आ-आफ्नो पक्षको तर्फबाट प्रस्तुत गर्नुभएको उल्लिखित बहस सुनी उच्च अदालत पोखराबाट मिति २०७३।०७।०७ मा भएको फैसला मिले नमिलेको के हो ? पुनरावेदन जिकिरबमोजिम हुनुपर्ने हो वा होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी रामप्रसाद गुरूङलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) को कसुरमा ऐजन ऐनको दफा १५(१)(च) बमोजिम १ वर्ष कैद सजाय हुने ठहर्याएको कास्की जिल्ला अदालतको मिति २०७२।०४।१९ को फैसला मिलेको नहुँदा उल्टी भई निज प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउने ठहर्याई उच्च अदालत पोखराबाट भएको फैसलामा चित्त नबुझाई वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा मुद्दा दोहोर्याई पाउँ भनी निवेदन परेकोमा निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता भई प्रस्तुत मुद्दा पेस हुन आएको देखियो ।
३. प्रतिवादी रामप्रसाद गुरूङले अधिकारप्राप्त अधिकारीसमक्ष कसुरमा साबित भई बयान गरेको अवस्था छ । प्रमाण ऐन, २०३१ को दफा ९(२) अनुसार प्रतिवादी रामप्रसाद गुरूङलाई निजको इच्छाविपरीत कसुरमा साबित गराएको भन्ने तथ्ययुक्त प्रमाण पेस गर्न नसकेको अवस्थामा मानसिकरूपमा बयानका लागि तयार भई योजनाबद्ध ढंगले मानव बेचबिखन तथा ओसारपसारको कसुर अपराध गर्ने निज अभियुक्तले मौकाको कागजमा आफ्नो इच्छाविपरीत बयान गरेको भन्ने जिकिर लिई अदालतमा आरोपित कसुरमा इन्कार हुँदैमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुर गरेको अभियोग लागेको अभियुक्तले सो कसुर आफूले गरेको छैन भन्ने कुराको प्रमाण पुर्याउनुपर्ने प्रमाणको भार यिनै प्रतिवादीमा निहित रहेका अवस्थामा निज प्रतिवादीको अदालतको इन्कारी बयानलाई मात्र आधार लिई मौकाको साबिती बयानलाई प्रमाणमा ग्रहण नगरी निज प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण भएकाले निजलाई अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर लिएको पाइयो ।
४. प्रतिवादी रामप्रसाद गुरूङले मेरी छोरीलाई विवाह गरी घुमाउन लान्छु भनी लगेको हो, बेच्न लगेको भन्ने मलाई थाहा भएन भनी मौकामा बुझिएका मानिस पीडित जाहेरवालीको आमा भिमसुवा गुरूङले बकपत्र गरेको देखिन्छ ।
५. पीडितलाई प्रतिवादीले बिक्री गर्न लगेको भन्ने नभई विवाह गरी लगेको हो भनी मौकामा कागज गर्ने विष्णु आचार्यले बकपत्रमा उल्लेख गरेको देखिन्छ ।
६. प्रतिवादी रामप्रसाद गुरूङउपर पीडितको मौकामा किटानी जाहेरी परी सोही बेहोराको बकपत्र गरेको देखिए पनि निज पीडितले पछि मिति २०७२।०३।०६ मा सुरू कास्की जिल्ला अदालतमा निवेदन दिँदा आफूले अदालतमा बकपत्रमा लेखाएको बेहोरा मलाई रिस उठी मेरा माइतीसमेतको उक्साहटमा लागी लेखाएको हो, निज रामप्रसादले झुटो बेहोरा देखाई मसँग विवाह गरेको भए पनि निजले मलाई बिक्री गर्न भनी काठमाडौं हुँदै भारतमा लैजान खोजेको होइन भनी आफ्नो पूर्व उक्त बकपत्रको बेहोरालाई खण्डन गरी लेखाई दिएको पाइन्छ ।
७. मेरो र जाहेरवाली पोखरा ४७ को प्रेमसम्बन्ध भई जाहेरवालीले विवाह गरौं भनेकाले हामीहरूको विवाह भएको र निजलाई लिई घुम्नको लागि काठमाडौं गई तीन दिन बसी दुरान फर्काउन जाहेरवालीको घरमा फर्केका हौं, कुराकानी हुने क्रममा मेरो घरमा जेठी श्रीमती पनि छ भन्ने कुरा थाहा पाएपछि त्यहाँ झगडा भएको हो, सोही विषयको रिसइवीले मेरो विरूद्धमा जाहेरी दिएका हुन्, मैले अभियोग दाबीबमोजिम कसुर नगरेकाले सजाय पाउनुपर्ने होइन भनी प्रतिवादी रामप्रसाद गुरूङले सुरू अदालतमा कसुरमा इन्कार रही बयान गरेको देखियो ।
८. प्रतिवादीका साक्षी सीता गुरूङले पीडित जाहेरावाली र प्रतिवादी रामप्रसाद गुरूङबिच प्रेमसम्बन्ध रही मागी विवाह भएको, पछि प्रतिवादी रामप्रसाद गुरूङको अर्को विवाह भएको माइतीले थाहा पाएपछि सोही रिसइवीका कारण मुद्दा दिएको हो, यी प्रतिवादीले पीडित जाहेरावालीलाई बिक्री गर्न खोजेको होइन भनी बकपत्र प्रतिवादीले अदालतमा गरेको इन्कारी बयानलाई समर्थित हुने गरी बकपत्र गरेको देखिन्छ ।
९. मानव बेचबिखन तथा ओसारपसारको मुद्दामा वारदातको पृष्ठभूमि र प्रकृतिको विशेष स्थान र महत्त्व रहने भए पनि त्यसको तुलनामा पीडित महिलाको भनाइ नै प्रमाण ग्रहणको रूपमा बढी महत्त्व हुने गर्दछ । मानव बेचबिखन एवं ओसारपसारको मुद्दामा पीडितलाई प्रतिवादीले वास्तवमै बेचबिखन गर्न लगेको हो ? वा विवाह गर्न वा विवाह गरेर श्रीमान् श्रीमती भई लगेको र गएको हो भन्ने तथ्य पहिल्याउन अति गाह्रो हुन्छ । भारत अथवा अन्य तेस्रो मुलुक लगेर गएर निज पीडिता पुगेको स्थान र त्यहाँ प्रतिवादीबाट वा निज पुगेको स्थान विशेषमा पीडितप्रति गरेको व्यवहार र निजको दिनचर्याको अवस्थाबाट निज पीडित बेचबिखनमा परेकी हुन् होइनन् ? भनी यकिन गर्नुपर्ने हुन्छ । तर पनि यस्तो प्रकृतिको वारदात र कसुरमा आफूलाई विवाह गरिएको वा बेचबिखन गर्न लगिएको हो ? भन्ने तथ्य नजिकबाट पीडितलाई नै जानकारी हुने हुँदा सो तथ्यको निर्क्यौलमा पुग्न प्रथमतः अधिक मात्रामा पीडितको भनाइमा नै भर पर्नुपर्ने र सोही आधारमा नै निष्कर्षमा पुग्नुपर्ने हुन्छ ।
१०. मानव बेचबिखनको वारदातमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ६ बमोजिम अनुसन्धानको सुरूवातकै क्रममा अदालतसमक्ष प्रमाणित भएको पीडितको बयानको विपरीत अदालतमा उपस्थित भएर बयान नगरेसम्म उक्त सुरूको प्रमाणित बयानको प्रमाणिक महत्त्व रही नै रहेको हुन्छ । पीडित अदालतसमक्ष उपस्थित भएर बकपत्र नगरे पनि सुरूमा अदालतसमक्ष भएको प्रामाणित बयानको महत्त्व र तौलमा कमी भएको भने हुँदैन । पीडित अदालतमा उपस्थित भएर सुरूमा अदालतबाट प्रमाणित भएको बयानको विपरीत प्रतिवादीको पक्ष र समर्थनमा हुने गरी गरेको बकपत्रभन्दा निज अदालतमा उपस्थित नै नभएर बकपत्र नगरेको अवस्थामा प्रतिवादी विरूद्धको कसुरलाई स्थापित गराउन बढी सघाउ पुर्याई रहेको हुन्छ । सुरूको प्रमाणित बयानलाई समर्थन हुने गरी पीडित अदालतमा उपस्थित भई बकपत्र नै नगरे पनि पीडितले मौकामा प्रतिवादीको कसुर विरूद्धमा सप्रमाण गरेको किटानी बकपत्र कानूनी आधारबिना निरर्थक हुने भन्ने होइन । पीडित अदालतमा उपस्थित भएर सुरूको अनुसन्धानमा अदालतबाट भएको प्रमाणित बयान विपरीत बकपत्र गरेमा त्यसलाई भने प्रतिवादीको निर्दोषिताको पक्षमा प्रमाणको रूपमा लिन बलियो आधारको रूपमा सघाउ पुग्न जाने हुन्छ ।
११. यसरी प्रतिवादी रामप्रसाद गुरूङउपर पीडित जाहेरवालीले किटानी जाहेरी दिएको र सो जाहेरी बेहोरालाई पुष्टि हुने गरी अदालतमा आई बकपत्र गरेको भए पनि निज पीडित जाहेरावालीले पछि मिति २०७२।०३।०६ मा अदालतमा दिएको निवेदनमा आफ्नो पूर्वबेहोरालाई खण्डन गरी प्रतिवादीले आरोपित कसुरअनुसार आफूलाई बिक्री गर्न भनी लगेको होइन, निज कसुरमा निर्दोष छन् भनी लेखाई दिएको
पाइन्छ । प्रतिवादी अदालतसमक्षको बयानमा कसुरप्रति इन्कार रही बयान गरेका छन् । यसरी निज प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष कसुरमा साबित भई बयान गरेको भए पनि प्रमाण ऐन, २०३१ को दफा ९(२) को आधारमा अनुसन्धान अधिकारीसमक्ष गरेको निजको साबिती बयान प्रमाणग्राह्य हुन सक्ने अवस्था देखिन आउँदैन । प्रतिवादी र पीडित दुवैबिच प्रेमसम्बन्धको आधारमा विवाह गरी हिँडेका र यसैबिच पीडितलाई प्रतिवादीको घरमा अर्को श्रीमती र छोराछोरीसमेत भएको तथ्यको जानकारी भएपछि पीडिताले माइतीको बहकाउमा प्रतिवादी विरूद्ध आफूलाई बेच्न लागिएको भनी झुटो जाहेरी दिएको अवस्था देखिन्छ । प्रतिवादीले आफ्नो घरमा श्रीमती र छोराछोरी रहेको तथ्य लुकाई आफूसँग प्रेमसम्बन्ध राखी विवाह गरेर धोखा दिएको कारणले पीडितले प्रतिवादी विरूद्धमा मौकामा किटानी जाहेरी दिनुका साथै अदालतबाट पनि निजको बयान प्रमाणित भएको अवस्था रहेको पाइयो । मानव बेचबिखनको कसुरको सम्बन्धमा यथार्थ कुरा पीडितलाई नै थाहा हुन सक्ने हुँदा पीडित स्वयंले नै साँचो एवं यथार्थ कुरा व्यक्त नगरेसम्म मानव बेचबिखनजस्तो जघन्य कसुरमा वारदात एवं कसुरको वास्तविकता पहिल्याउन बडो कठिन एवं जटिल हुने गर्दछ ।
१२. प्रतिवादीका साक्षी सीता गुरूङले बकपत्र गर्दा प्रतिवादीको अदालतसमक्षको कसुरप्रति इन्कार रही गरेको बयानलाई समर्थन हुने गरी प्रतिवादीले पीडित जाहेरवालीलाई बिक्री वितरण गर्न खोजेको होइन भनी बकपत्र गरिदिएको अवस्थाले पनि प्रतिवादीको कार्य कसुरजन्य देखिन आउँदैन । पीडित जाहेरवालीकी आमा भिमसुवा गुरूङ र बुझिएका मानिस विष्णु आचार्यले बकपत्र गर्दा पनि पीडितलाई प्रतिवादीले बिक्री गर्न लगेको नभई विवाह गरी लगेको भनी बकपत्र गरिदिएको र पछि प्रतिवादीको अर्को श्रीमती भएको कुरा थाहा पाएपछि मात्र उजुर गरेको भनी लेखाई दिएको हुँदा उपर्युक्तानुसार उल्लिखित प्रमाणहरूको विद्यमानताको आधारमा प्रतिवादी रामप्रसाद गुरूङले पीडित जाहेरवाली पोखरा ४७ लाई बिक्री गर्न लगेको भन्ने तथ्य पुष्टि हुन नसकी विवाह गरी लगेको भन्ने तथ्य नै पुष्टि भइरहेको देखिँदा निज प्रतिवादीलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) को कसुरमा ऐजन ऐनको दफा १५(१)(च) बमोजिम १ वर्ष कैद सजाय हुने ठहर्याई कास्की जिल्ला अदालतबाट भएको फैसला उल्टी गरी प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउने गरी उच्च अदालत पोखराबाट भएको फैसलालाई अन्यथा गर्नुपर्ने देखिन आएन ।
१३. अतः उल्लिखित विवेचित आधार, कारणहरूसमेतबाट प्रतिवादी रामप्रसाद गुरूङलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) को कसुरमा ऐजन ऐनको दफा १५(१)(च) बमोजिम १ वर्ष कैद सजाय हुने गरी कास्की जिल्ला अदालतबाट भएको फैसलालाई उल्टी गरी निज प्रतिवादीलाई सुरू अभियोग दाबीबाट सफाइ दिने गरी उच्च अदालत पोखराबाट भएको मिति २०७३।०७।०७ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीलाई सुरू अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.हरिप्रसाद फुयाल
इजलास अधिकृत : मिनबहादुर कुँवर
इति संवत् २०७६ साल पुस २ गते रोज ४ शुभम् ।