निर्णय नं. १०४११ - ज्यान मार्ने उद्योग
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
फैसला मिति : २०७६।८।४
०७५-CR-०८४४
मुद्दाः ज्यान मार्ने उद्योग
पुनरावेदक / वादी : मोरङ जिल्ला, विराटनगर उपमहानगरपालिका वडा नं.७ बस्ने राजेन्द्र सहनीको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : मोरङ जिल्ला, साबिक कटहरी गा.वि.स. वडा नं.२ बस्ने अजयकुमार कामतसमेत
ठोस तथ्ययुक्त आधार प्रमाणबेगर अनुमान प्रमाणकै भरमा मुद्दामा एक पक्षले आफ्नो नियन्त्रण राखी संकलन गरेको प्रमाण जुन प्रमाण अदालतमा परीक्षण नै नभएको अवस्थामा प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने ।
(प्रकरण नं.११)
उद्योगमा पनि त्यही आपराधिक मनसाय रहनु पर्छ, जुन कर्तव्य ज्यानको कसुरको लागि आवश्यक हुन्छ । यहाँ निन्दित मनसाय, निर्ममता, दयाहीनता त्यही श्रेणीको हुनुपर्छ जुन कर्तव्य ज्यानमा हुन्छ । उद्योग ठहर्नको लागि केवल तयारी मात्र नभई अभियुक्तले वारदात घटाउने मनसायका साथ सोतर्फ गम्भीर प्रयास गरेको र सो कार्य खतरनाकरूले पूर्ण अपराधको नजिक (Dangerous proximity to the end) हुनुपर्ने ।
(प्रकरण नं.१३)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री राधिका सुवाल
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सरकारी मुद्दासम्बन्धी ऐन, २०४९
सुरू तहमा फैसला गर्नेः
मा.जिल्ला न्या. श्री पुष्पराज थपलिया
मोरङ जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री बालेन्द्र रूपाखेती
माननीय न्यायाधीश श्री राजेन्द्र खरेल
उच्च अदालत विराटनगर
फैसला
न्या.पुरूषोत्तम भण्डारी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
तथ्य खण्ड
मिति २०७२।११।१९ का दिन हाम्रो गाउँको मानिस स्वर्गबास भएकाले विराटनगर सिंगीया खोलामा गई निजको दाहसंस्कार गरी राखेकाले अं.११:३० बजेको समयमा मेरो भाइ जिल्ला मोरङ, विराटनगर ७ बस्ने वर्ष २४ को जितेन्द्र सहनी तथा निजको साथी ऐ. बस्ने वर्ष २३ को संजय साहसमेत दुवैजना चिया खान जिल्ला मोरङ, कटहरी २ स्थित हाटखोलाको हटियामा जाँदा सो स्थानमा प्रतिवादी विक्रम कटुवालसमेतका अन्य नामथर थाहा नभएका निजकै २ जना साथीहरू उक्त स्थानमा बाटो ढुकी बसी मेरा भाइसमेत उक्त स्थानमा पुग्दा निजहरूले बिनाकारण विभिन्न अश्लिल शब्दहरू प्रयोग गरी राखेको बेला निज विपक्षीहरू अजयकुमार कामत तथा महमद अरमान र २ जना अपरिचित मानिसहरूले मेरा भाइ र संजय साहलाई समाती आफ्नो नियन्त्रणमा लिई लछार पछार गरी राखेको बेला विपक्षी विक्रम कटुवालले मेरो भाइ जितेन्द्र सहनीको ज्यान लिने मनसायले धारिलो हतियार छुरीले पेटको भागमा प्रहार गरी निजको आन्द्रासमेत बाहिर निस्किएको र मेरो भाइको साथी संजय साहको पछाडिको भाग कोखामा छुरी प्रहार गरी मुर्छा परी लड्दा स्थानीय मानिसहरूले देखी हल्ला खल्ला गर्दा निज प्रतिवादीहरू भागी गएका र घाइतेहरूलाई स्थानीय मानिसहरूले उपचारको लागि गोल्डेन अस्पताल लगी मलाई घटनाको जानकारी गराएको हुँदा म उक्त अस्पतालमा जाँदा सख्त घाइते अवस्थामा देखेँ यसरी निज प्रतिवादीहरूले पूर्वाग्रह राखी पेट र कोखाजस्तो संवेदनशील स्थानमा धारिलो हतियार छुरी प्रहार गरी मरणासन्न अवस्था बनाएको हुँदा निजहरूको खोजतलास गरी पक्राउ गरी कानूनबमोजिम कारबाही गरी घाइतेको घाउजाँच केस फारामसमेत गरिपाउँ भन्नेसमेत बेहोराको राजेन्द्र सहनीको जाहेरी दरखास्त ।
जिल्ला मोरङ, कटहरी गा.वि.स. वडा नं.२ झझोरा बुध हटिया बजारस्थित पूर्वमा सिंघिया पुल चौकबाट महेशपुर गाउँतर्फ जाने कच्ची बाटो, पश्चिममा सिंघिया खोला, उत्तरमा जितन पण्डितको घर र दक्षिणमा सिंघिया पुलतर्फ जाने बाटो यति चार किल्लाभित्र रहेको सिंघिया पुल चौकबाट झझोरा टोलतर्फ जाने बाटोमा अजयकुमार कामतसमेतका मानिसहरूले जितेन्द्र सहनी र संजय साहलाई छुरा प्रहार गरी घाइते बनाएको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।
जिल्ला मोरङ, कटहरी २ बस्ने वर्ष २१ को विक्रम कटुवाल र ऐ. बस्ने वर्ष २० को मोहमद अरमान मेरा छिमेकी साथीहरू हुन् । मिति २०७२।११।१९ गते कटहरी २ स्थित हाटखोलामा बुधवारको हटिया लाग्ने भएकाले मसमेत हामी तीनै जना उक्त हटियामा गएका थियौं । यस्तैमा दिनको ११:३० बजेतिर बजारको किनारा खुल्ला स्थानमा जाहेरवालाको भाइ जितेन्द्र सहनी र संजय साह रक्सी खाई बसिरहेको ठाउँमा हामी तीनै जना घुमफिर गर्दै गर्दा निजहरू बसिरहेको स्थानमा मेरा साथी विक्रम कटुवालले निजहरूलाई ढुङ्गा हानेपछि तँ को होस् भन्दै निजहरूले भनेकाले सोही कुरामा विवाद हुँदा निजहरू उठेर हामीसँग निहुँ खोज्न आएकाले हामी तीनै जनाले निजहरूलाई लात्ती मुड्कीले कुटी मेरा साथी विक्रम कटुवाल र मैले जितेन्द्र सहनीलाई हात समाई चल्न नदिई लडाउन खोज्दा अर्का साथी मोहमद अरमानले निजको साथमा बोकेको छुरीले निज जितेन्द्र सहनीको पेटमा प्रहार गर्दा निज मरेँ भन्दै भुइँमा लडे र अर्का संजय साह हामीलाई छुट्याउन आउँदा निजलाई समेत सोही छुरीले महमद अरमानले प्रहार गर्दा दुवैजना मरेँ, मरेँ भन्दै गुहार मागी हो-हल्ला भएपछि उक्त स्थानका मानिसहरू आएपछि हामीहरू तीनैजना सो स्थानबाट भाग्ने क्रममा मलाई प्रहरीले पक्राउ गरेको हो विक्रम कटुवाल र महमद अरमान के कता भागे मलाई थाहा भएन । मसमेतले निज जितेन्द्र सहनी र संजय साहलाई छुरी प्रहार गरेको हो भन्नेसमेत बेहोराको प्रतिवादी अजयकुमार कामतको बयान ।
Stabbed injury Lt lumber region 3×1/2 भन्ने बेहोराको घाइते संजय साहको घाउ जाँच केस फाराम रिपोर्ट ।
Sustained stabbed injury Rt lumber region 3×1/2, stabbed injury lower abdomine 8×1/2, penetrate abdominal cavity cut injury Rt hand 1/2×1/2, 2×1/2 भनी लेखिएको घाइते जितेन्द्र सहनीको घाउ जाँच केस फाराम रिपोर्ट ।
मिति २०७२।११।१९ का दिन छिमेकी अहिल्यादेवी केसरीको कालगतिले मृत्यु भएको हुँदा हाटखोला स्थित सिंघिया खोला घाटमा मलामी गई मृतकको दाहासंस्कार हुँदै थियो म र मेरा साथी जितेन्द्र सहनी चिया खान भनी कटहरी २ स्थित हटियामा गई चिया नास्ता खाई पुनः मलामी भएको स्थानतर्फ फर्कने क्रममा हाल नामथर थाहा भएका प्रतिवादीहरू विक्रम कटुवाल, अजयकुमार कामत र मो. अरमानलगायत अन्य मैले नचिनेका २ जना मानिसहरूले ढुङ्गाले हानेको हुँदा किन हानेको भन्दा निजहरूले कुटपिट गर्न खोजेको र हामीहरूको पछिपछि आई निजहरूमध्येका मो. अरमानले एक्कासी पछाडिबाट मेरो शरीरको बायाँपट्टि ढाडमा धारिलो हतियार छुरी प्रहार
गरेको । विक्रम कटुवाल र अजयकुमार कामतले लात्ती मुक्काले हिर्काएको र निज मो.अरमानले जितेन्द्र सहनीलाई छुरीले ढाड र पेटमा प्रहार गरी हामी दुवै जनालाई गम्भीर घाइते बनाएकोले मैले हार गुहार गरी कराउँदा उक्त स्थानमा अन्य मानिसहरूसमेत घटनास्थलमा आएपछि निज प्रतिवादीहरू भागी गएका हुन् निजहरूले उल्लिखित वारदात मिति र समयमा म र मेरा साथी जितेन्द्र सहनीलाई ज्यान मार्ने उद्योग कसुर गरेको हुँदा निज प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको घाइते संजय साहको घटना विवरण कागज ।
मिति २०७२।११।१९ का दिन छिमेकी पप्पु केसरीको आमाको मृत्यु भएकोले मलामी गएकोमा भोक लागी म र साथी संजय साह चिया खान भनी कटहरी २ स्थित पसलमा गई चिया नास्ता खाइरहेको अवस्थामा ५ जनाको समूहमा आएका केटाहरूमध्येका एक जनाले हामी बसेको ठाउँमा ढुङ्गा हानेकोमा साथी संजय साहले किन हानेको भन्दा मैले हान्दा के गर्छस् भनी विवाद गर्न खोजेपछि हामीहरू उक्त स्थानबाट हिँडेकोमा हाल नामथर थाहा भएको विक्रम कटुवाल, अजयकुमार कामत र मो. अरमान तथा निजहरूसँग रहेका अन्य २ जनासमेत हामीहरूको पछिपछि आई निज प्रतिवादीहरूले लात्ती मुक्काले प्रहार गरेको र निजहरूमध्येका महमद अरमानले मेरो पछाडि ढाडमा र पेटमा छुरी प्रहार गर्दा पेटबाट आन्द्रा बाहिर निस्की म बेहोस भएछु सोपछि मलाई केही थाहा भएन । हाल उपचारपश्चात् शारीरिक अवस्था सुधार हुँदै आएको छ निज प्रतिवादीहरूले उल्लिखित वारदात मिति र समयमा म र मेरा साथी संजय साहसमेतलाई ज्यान मार्ने गरी धारिलो हतियार छुरी प्रहार गरेको हुँदा निज प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको घाइते जितेन्द्र सहनीको घटना विवरण कागज ।
जिल्ला मोरङ, कटहरी गा.वि.स. वडा नं.२ स्थित पूर्वमा नारद पोखरेलको टिनको छाना भएको भुइँतले घर, पश्चिममा डोमा कामतको फुसको छाना भएको घर, उत्तरमा गुणराज कट्टेलको खाली जग्गा र दक्षिणमा हाटखोला निस्कने कच्ची बाटो यति चार किल्लाभित्र प्रतिवादी विक्रम कटुवालको घरभित्र पसी खानतलासी गर्दा अपराधसँग सम्बन्धित प्रमाणमा लाग्ने कुनै पनि चिजवस्तु फेला नपरेको भन्ने खानतलासी बरामदी मुचुल्का ।
जिल्ला मोरङ, कटहरी गा.वि.स. वडा नं. २ स्थित पूर्वमा शम्भु खातुनको पक्की घर, पश्चिममा छत्रबहादुर विष्टको टिनको छाना भएको घर, उत्तरमा गुणराज कट्टेलको खाली जग्गा र दक्षिणमा झझरा टोल निस्कने कच्ची बाटो यति चार किल्लाभित्र प्रतिवादी मोहमद अरमानको घरभित्र प्रवेश गरी खानतलासी गर्दा अपराधसँग सम्बन्धित प्रमाणमा लाग्ने कुनै पनि चिजवस्तु फेला नपरेको भन्ने खानतलासी बरामदी मुचुल्का ।
जिल्ला मोरङ, कटहरी गा.वि.स. वडा नं.२ स्थित पूर्वमा झझोरा नहर, पश्चिममा रामविलास रामको घर, उत्तरमा महेशपुर जाने कच्ची बाटो र दक्षिणमा देवन रायको घर यति चार किल्लाभित्र प्रतिवादी अजयकुमार कामतको घरभित्र प्रवेश गरी खानतलासी गर्दा अपराधसँग प्रमाणमा लाग्ने कुनै पनि चिजवस्तु फेला नपरेको भन्ने खानतलासी बरामदी मुचुल्का ।
मिति २०७२।११।१९ गते अं.११:३० बजेको समयमा जिल्ला मोरङ, कटहरी गा.वि.स. वडा नं.२ स्थितमा जितेन्द्र सहनी र संजय साहलाई अजयकुमार कामत, विक्रम कटुवाल, मोहमद अरमानलगायतका व्यक्तिहरूले दिनदहाडै छुरी प्रहार गरी बेहोस बनाई अब मर्यो भनी छाडी भागेकोले निजहरूले ज्यान मार्ने उद्देश्यले नै छुरी प्रहार गरेको हुनुपर्छ निजहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भनी जितेन्द्र साह, दिनेशकुमार राम र दीपककुमार रायलगायतका व्यक्तिहरूले एकै मिलान हुने गरी खुलाई लेखाई दिएको वस्तुस्थिति मुचुल्काको बेहोरा ।
मिति २०७२।११।१९ गते दाह संस्कारको कार्यक्रममा गएका पीडित जितेन्द्र सहनी र संजय साह कटहरी गा.वि.स. वडा नं.२ स्थित झझोरा टोलतर्फ जाने बाटोमा रहेका बेला प्रतिवादीहरू विक्रम कटुवाल, अजयकुमार कामत र महमद अरमानसमेत भई जितेन्द्र सहनी र संजय साहलाई मार्ने मनसायले घेरा हाली कुटपिट गरी साथमा बोकी लगेको छुरीले पटकपटक जितेन्द्र सहनीको ढाड तथा पेटमा र संजय साहको ढाडमा समेत प्रहार गरेको कारण निज घाइतेहरू चिच्याई गुहार मागेको कारण स्थानीय मानिसहरू आइपुगेकोले थप प्रहार गर्न नपाई प्रतिवादीहरू भागी गएका र तत्काल प्रहरी घटनास्थलमा आई पुगी उपचारका लागि गोल्डेन अस्पतालमा लगी उपचार गराएको कारण पीडित जितेन्द्र सहनी र संजय साहको ज्यान बच्न गएको तथ्य पुष्टि हुन आएको हुँदा निज प्रतिवादीहरू अजयकुमार कामत, विक्रम कटुवाल र महमद अरमानलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १५ नं.बमोजिमको कसुर अपराधमा ऐ.ऐ.को १५ नं.बमोजिम सजाय गरिपाउँ भन्ने बेहोराको वादी नेपाल सरकारको अभियोग पत्र ।
मिति २०७२।११।१९ गते मैले जाहेरी दरखास्त तथा घाइतेहरूको कागजबमोजिम घाइतेहरूलाई छुरीसमेत प्रहार गरी कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको होइन । किन मउपर किटानी जाहेरी दिए मलाई थाहा भएन । अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान मेरो स्वतन्त्र बयान होइन । निजहरूको शरीरमा के कसरी चोट लाग्यो मलाई थाहा भएन । मैले कुटेर चोटपटक लागेको होइन । मैले अभियोग दाबीबमोजिमको कसुर नगरेको हुँदा सजाय पाउने होइन भन्नेसमेत बेहोराको प्रतिवादी अजयकुमार कामतले सुरू अदालतमा गरेको बयान ।
मिति २०७२।११।१९ गते दिनको १२ बजेतिर खाना खाँदै गर्दा विक्रम र अजय मेरो घरमा आई तेरो बुबासँग घरमा झगडा हुँदैछ भनेपछि बजार जाँदा मेरो बुबा बजारमा बसिरहनु भएको थियो । राजेन्द्र सहनी, अजयकुमार कामत र विक्रम कटुवालको बिचमा झगडा परिरहेको देखेपछि मैले राजेन्द्र सहनीलाई १/२ थप्पड हिर्काएँ, विक्रम कटुवालले मैले राजेन्द्र सहनीलाई छुरी हाने तँ भाग् भनेको हुँदा घटनास्थलबाट म भागेको हुँ । मैले कसैलाई छुरा प्रहार गरी ज्यान मार्ने उद्योग गरेको छैन । अजयकुमार कामतले अधिकारप्राप्त अधिकारीसमक्ष किन मउपर पोल गरी बयान गरे मलाई थाहा भएन । जितेन्द्र सहनी, संजय साहसमेतको शरीरमा लागेको चोटपटक विक्रम कटुवालबाटै भएको हो मबाट भएको होइन । अभियोग मागदाबी बमोजिमको कसुर नगरेको हुँदा सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी महमद अरमानले सुरू अदालतमा गरेको बयान ।
मेरो नाम ढकबहादुर कटुवाल हो । किन प्रहरीले मलाई विक्रम भनी समातेका हुन्, थाहा भएन । जाहेरी दर्खास्तमा उल्लिखित स्थान र समयमा घटना भएको रहेछ । त्यहीँ ठाउँमा मेरो मासु पसल भएकोले हेर्न जाँदा प्रतिवादीहरू घटना घटाई भागिसकेका रहेछन् । घाइतेहरूलाई अस्पताल लगिसकेका
रहेछन् । उक्त घटनामा म संलग्न थिइनँ । भीडभाड, होहल्ला सुनेर घटनास्थलमा गएकोसम्म हुँ । सो घटनामा मेरो कुनै संलग्नता नभएको र कुनै कसुरसमेत नगरेको हुँदा अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी विक्रम कटुवाल भन्ने ढकबहादुर कटुवालले सुरू अदालतमा गरेको बयान ।
विशेषज्ञ डा. रन्जित सिंहले पीडित जितेन्द्र सहनीको शरीरको पछाडिको ढाडमा, अगाडि तल्लो पेटमा साथै दाहिने हातमा काटिएको घाउ र पीडित संजय शाहको पछाडि ढाडमा चक्कुले घोचेजस्तो ३ इञ्चको घाउ रहेको थियो भन्ने बेहोराको बकपत्र, प्रतिवादीहरूका साक्षीहरू वुची यादव, रविना खातुन र महमद समसादले प्रतिवादीहरूउपरको अभियोग मागदाबी झुठ्ठा हो निजहरूले सो कसुर गरेको होइनन् भन्ने बेहोराको बकपत्र र पीडित घाइतेहरू जितेन्द्र सहनीले प्रतिवादी महमद अरमानले छुरी ढाडमा र पेटमा हानेका हुन् प्रतिवादीहरू विक्रम कटुवाल र अजय कामतले मलाई समातेका हुन् भनी गरेको बकपत्र र पीडित संजय साहले प्रतिवादी अरमान खानले सुरूमा मेरो ढाडमा छुरी हानेको हो म भाग्न खोज्दा प्रतिवादी विक्रम कटुवालले समातेको हो, प्रतिवादी अजय कामतले मुक्का र लात्ताले हानेको भन्ने बेहोराको बकपत्र सुरू मिसिल सामेल रहेको ।
प्रतिवादीमध्येका महमद अरमानले पीडितहरू जितेन्द्र सहनी र संजय साहलाई धारिलो घातक हतियार छुरीले पेटलगायतको शरीरका संवेदनशील अङ्गहरूमा पटक-पटक प्रहार गरी मर्नेसम्मको कार्य गरेको तथ्य स्थापित हुन आएकोले निज प्रतिवादी महमद अरमानलाई अभियोग दाबीअनुसार मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १५ नं. को कसुर अपराध गरेकोले कसुरको मात्राअनुसार ५(पाँच) वर्ष कैदको सजाय हुने ठहर्छ । प्रतिवादीहरू अजयकुमार कामत र विक्रम कटुवाल भन्ने ढकबहादुर कटुवालले पीडित घाइतेहरूलाई मार्ने मनसायले घातक हतियारले प्रहार गरेको भन्ने तथ्य वादी पक्षले निर्विवाद र ठोस प्रमाणबाट स्थापित गर्न नसकेको हुँदा निज प्रतिवादीहरूको हकमा अभियोग मागदाबी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत बेहोराको सुरू मोरङ जिल्ला अदालतको मिति २०७३।११।१० मा भएको फैसला ।
जाहेरवाला तथा पीडितले वारदात गर्ने गराउने प्रतिवादी विक्रम भन्ने ढकबहादुर कटुवाल र अजयकुमार कामत हुन् भनी बकपत्र गरेको र अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा अजयकुमार कामतले आफूसमेत भई पीडितउपर हमला गर्न गएको भन्ने भएपछि निजहरूको उपस्थितिलाई नजरअन्दाज गरी अनुपस्थिति रहेको भनी सारा दोष मउपर थुपारी मलाई नै मात्र कसुरदार ठहर्याएको सुरू जिल्ला अदालतको फैसला चित्त बुझेन उल्टी गरी अभियोग मागदाबीबाट सफाइ दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी महमद अरमानको उच्च अदालत विराटनगरमा परेको पुनरावेदनपत्र ।
ज्यान मार्ने उद्योगको कार्य अपूर्ण अपराध हो । मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. ले ज्यान मार्ने उद्योगलाई अपूर्ण अपराध स्वीकार गरेको अवस्था विद्यमान छ । अपूर्ण अपराधमा कोही अभियुक्त मुख्य र सहायक भन्ने हुँदैन । सर्वोच्च अदालतबाट “प्रतिवादीहरूले गुट बनाई संयुक्तरूपमा गरेको वारदातलाई संयुक्त वारदात भनिन्छ । यसमा कसले बढी कुट्यो, कसले कम कुट्यो, कसको प्रहार प्राणघातक भयो भन्ने कुरा प्रासाङ्गिक हुँदैनन्” भन्नेसमेत बेहोराको प्रतिपादित नजिर सिद्धान्तसमेतको विपरीत १ जना प्रतिवादीबाहेक अन्य प्रतिवादीहरूलाई सजाय नहुने ठहर गरेको हदसम्मको फैसला नमिलेको हुँदा उल्टी गरी प्रतिवादीहरू अजयकुमार कामत र विक्रम कटुवाललाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको उच्च अदालत विराटनगरमा परेको पुनरावेदनपत्र ।
यसमा पीडितहरूको अदालतसमक्ष भएको बकपत्रहरूबाट प्रतिवादीहरू अजयकुमार कामत र विक्रम कटुवालसमेतको संलग्नतामा वारदात घटेको देखिएकोमा निजहरूलाई सफाइ दिने र पीडितहरूलाई मार्नुसम्मको इवी रहेको नदेखिएको मर्नेसम्मको घा चोटसमेत नदेखिएको अवस्थामा प्रतिवादी महमद अरमानलाई भने अभियोग दाबीअनुसारको सजाय गर्ने गरी भएको सुरू मोरङ जिल्ला अदालतको मिति २०७३।११।१० को फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं. तथा उच्च अदालत नियमावली, २०७३ को नियम ११२ बमोजिम प्रत्यर्थीहरू झिकाउनु भन्ने उच्च अदालत विराटनगरको आदेश ।
प्रतिवादीहरूबिच कुटपिट भई प्रतिवादीहरूकै चोटबाट पीडितहरू घाइते भएको देखिए तापनि निजहरूबिच पूर्वरिसइवी र ज्यान मार्नेसम्मको मनसाय रहेको मिसिल संलग्न प्रमाणबाट पुष्टि हुन नसकेको, घाउ जाँच केस फाराम, विशेषज्ञको बकपत्रसमेतबाट पीडितको शरीरमा लागेको घाउ चोटको प्रकृति ज्यान मर्नेसम्मको गम्भीर अवस्था नभएकोले सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ अनुसार कुटपिटतर्फ परिणत गर्नुपर्नेमा प्रतिवादी महमद अरमानलाई अभियोग मागदाबीबमोजिमको कसुर कायम गरी सजाय गर्ने गरेको हदसम्मको मोरङ जिल्ला अदालतको मिति २०७३।११।१०।३ को फैसला नमिलेकोले केही उल्टी भई निजले समेत प्रस्तुत अभियोग मागदाबीसमेतबाट सफाइ पाउने ठहर्छ । प्रस्तुत वारदातमा प्रतिवादीहरूको चोट प्रहारबाट पीडित घाइते भएको अवस्था देखिँदा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम प्रस्तुत मुद्दालाई कुटपिटमा परिणत गरिदिएको छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको उच्च अदालत विराटनगरबाट मिति २०७४।७।२२ मा भएको फैसला ।
प्रस्तुत वारदातमा पीडितहरू जितेन्द्र सहनी र संजय साहको शरीरमा धारिलो हतियारका गम्भीर चोटहरू रहेको घा केस फाराम तथा निजहरूको कागजबाट देखिन्छ । प्रतिवादीहरूले अनुसन्धानको क्रममा बयान गर्दा र अदालतसमक्ष बयान गर्दासमेत एक अर्कालाई पोल गरी कसुर गरेको स्वीकार गरी बयान गरेको देखिन्छ । प्रस्तुत वारदातमा प्रतिवादीहरूको संयुक्त संलग्नतामा यो वारदात घटाइएको हो भन्ने स्पष्ट रहेको र प्रतिवादीहरूको प्रहारबाट पीडित घाइते भएको र सो चोटबाट मर्नेसम्मको अवस्था रहको, पीडितहरूलाई परेको घाउ चोट र पीडितहरूले मौकामा लेखाएको र अदालतमा गरेको बकपत्रको बेहोराबाट यी प्रतिवादीहरूउपरको अभियोगसमेत पुष्टि भइरहेको अवस्थामा उक्त लिखत एवं प्रमाणहरूलाई ग्रहण नगरी सफाइ दिएको त्रुटिपूर्ण छ । पीडितहरू जितेन्द्र सहनीले अदालतमा बकपत्र गर्दा बिक्रम कटुवाल र अजय कामतले मलाई समातेका थिए भनी उल्लेख गरेका र पीडित संजय साहले बकपत्र गर्दा विक्रम कटुवाल र अजय कामतले छेकछाक गरे हात मुक्काले हिर्काए भनी उल्लेख गरेको देखिँदादेखिँदै प्रतिवादीहरूले वारदातस्थलमा गई मार्न लगाएको वा वचन दिएको अवस्थासमेत निर्विवाद र ठोस प्रमाणबाट पुष्टि हुन नसकेको भनी सफाइ दिने गरी भएको उक्त फैसलामा प्रमाण ऐन, २०३१ को दफा ९, १० र १८ को कानूनी त्रुटि हुँदा बदरभागी छ ।
ज्यान मार्ने उद्योगको अपराध अपूर्ण अपराध (Inchoate offence) हो । अपूर्ण अपराधमा संलग्न भएका व्यक्तिमध्ये कोही मुख्य अभियुक्त (Principle offender) र कोही सहायक अभियुक्त (Accessorial offender) नभई सबै अभियुक्तहरू मुख्य अभियुक्त नै हुन्छन् । मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १५ नं. ले समेत यही सिद्धान्तलाई स्वीकार गरी “मर्नेसम्मको काम गरेकोमा कुनै कारणले ज्यान मर्न पाएको रहेनछ भने त्यस्तो काम गर्ने वा गर्न लगाउने वा सो ठाउँमा गई वचन दिने वा मद्दत गर्नेलाई पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद गर्नुपर्छ” भन्ने कानूनी व्यवस्था गरेको पाइन्छ । पीडितलाई समाउने भाग्न उम्किन नदिने, छेकबार गर्ने, मुक्काले हान्ने कार्य आफैँबाट प्रतिवादीको यो वारदात गर्न लगाउने र मद्दत गर्ने कार्य हो भन्ने स्पष्टरूपमा देखिई रहेकोमा प्रस्तुत मुद्दालाई कुटपिटतर्फ परिणत गरी प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको उक्त फैसलामा ज्यानसम्बन्धी महलको १५ नं. को व्याख्यामा गम्भीर त्रुटिपूर्ण छ । प्रस्तुत सन्दर्भमा “प्रतिवादीहरूले गुट बनाई संयुक्तरूपमा गरेको वारदातलाई संयुक्त वारदात भनिन्छ । यसमा कसले बढी कुट्यो, कसले कम कुट्यो, कसको प्रहार प्राणघातक भयो वा कुनै कसैले कुट्दै कुटेन कि जस्ता कुरा Common Law मा प्रासङ्गिक हुँदैनन् । ज्यान लिने वा सांघातिक कुटपिट गर्ने मनसाय भई सो सन्दर्भमा समूहमा बसी एक अर्कालाई उकासी हौस्याई अथवा हातै हाली कुटपिट गरेमा सबै प्रतिवादीहरू सामानरूपमा सहभागी भएको मानिने र समान सजायको भागिदार हुने अवस्था रहने” भनी (लालहिरा कामी विरूद्ध नेपाल सरकार ने.का.प. २०७१, अंक ९, नि.नं. ९२४९, पृ. १५०५) भनी सम्मानित अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल हुने गरी भएको उक्त फैसला त्रुटिपूर्ण भई बदरभागी छ । अतः उल्लिखित आधार प्रमाण एवं प्रतिपादित सिद्धान्तसमेतबाट प्रतिवादीहरूलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्नेमा प्रस्तुत मुद्दा कुटपिटतर्फ परिणत गरी प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको उच्च अदालत विराटनगरको फैसला कानून एवं प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल हुँदा बदर गरी प्रतिवादीहरूलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरी पाउन सम्मानित अदालतसमक्ष सादर अनुरोध छ भन्नेसमेत बेहोराको नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री राधिका सुवालले ज्यान मार्ने उद्योग जस्तो अपराधमा सम्पूर्ण प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १५ नं. बमोजिम समान सजायको भागिदार हुनु पर्नेमा मुद्दालाई कुटपिटतर्फ परिणत गरी प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको उक्त फैसला सो हदसम्म उल्टी गरी प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउन प्रयोजनार्थ प्रत्यर्थी झिकाइ पाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
उपर्युक्तबमोजिम विद्वान् उपन्यायाधिवक्ताको बहस बेहोरा सुनी र वादी नेपाल सरकारको पुनरावेदनसहितको मिसिल कागजात अध्ययन गरी हेर्दा पुनरावेदन अदालत विराटनगरले गरेको फैसला मिलेको छ छैन ? पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ? भन्ने विषयमा निर्णय दिनु पर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा मिति २०७२।११।१९ गते दिनको ११:३० बजेको समयमा मेरो भाइ जितेन्द्र सहनी र भाइको साथी संजय साहलाई प्रतिवादी विक्रम कटुवालसमेतले पूर्वाग्रह राखी ज्यान मार्ने मनसायले मेरो भाइ र निजको साथीलाई धारिलो हतियार छुराले हानी ज्यानै मार्नेसम्मको कार्य गरेको तर ज्यान मर्न नपाएको अवस्था हुँदा प्रतिवादीहरूलाई ज्यान मार्ने उद्योगमा सजाय गरिपाउँ भन्ने राजेन्द्र सहनीको जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दा उठान भई प्रतिवादी विक्रम कटुवाल, अजयकुमार कामतसमेत भई जितेन्द्र सहनी र संजय साहलाई घेरा हाली कुटपिट गरी साथमा बोकेको छुरीले पटक-पटक जितेन्द्र सहनीको ढाड तथा पेटमा र संजय साहको ढाडमा समेत प्रहार गरेको र निज घाइतेहरूले गुहार मागेको कारण स्थानीय मानिसहरू आई पुगेकोले प्रतिवादीहरू भागी गएका र तत्काल प्रहरी घटनास्थलमा आई उपचारका लागि गोल्डेन अस्पतालमा लगी उपचार गराएको कारण पीडित जितेन्द्र सहनी र संजय साहको ज्यान बच्न गएको तथ्य पुष्टि हुन आएकोले प्रतिवादीहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १५ नं.को कसुरमा ऐ.ऐ.को १५ नं. बमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको अभियोग दाबी रहेकोमा प्रतिवादीमध्येको महमद अरमानले अभियोग मागदाबीबमोजिमको कसुर गरेकोमा ५ वर्ष कैद हुने र अन्य प्रतिवादीहरू अजयकुमार कामत र विक्रम भन्ने ढकबहादुर कटुवालले अभियोग मागदाबीबाट सफाइ पाउने ठहर गरी भएको मोरङ जिल्ला अदालतको फैसलाउपर चित्त नबुझाई प्रतिवादी महमद अरमान र वादी नेपाल सरकारको सबै प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने बेहोरासमेतको छुट्टाछुट्टै पुनरावेदन परेकोमा सुरू फैसला केही उल्टी गरी प्रतिवादी महमद अरमानसमेतका सबै प्रतिवादीहरूलाई अभियोग मागदाबीबाट सफाइ दिने गरी भएको पुनरावेदन अदालतको फैसलाउपर चित्त नबुझी प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने बेहोराको वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदन परेको देखियो ।
३. मिसिल संलग्न जाहेरी दरखास्त घटना विवरण कागज, पीडितहरूको घा जाँच केस फाराम, वस्तुस्थिति मुचुल्का, प्रतिवादीहरूको मौकामा भएको बयानसमेतका कागजातहरूबाट कुटपिटको वारदात घटेको भन्ने कुरामा विवाद देखिएन ।
४. राजेन्द्र सहनीले दिएको जाहेरीमा प्रतिवादीहरू विक्रम कटुवाल, अजयकुमार कामत र महमद अरमानले जाहेरवालाको भाई र निजको साथी संजय साहलाई नियन्त्रणमा लिई विक्रम कटुवालले ज्यान लिने उद्देश्यले धारिलो हतियार छुरा प्रहार गरी सख्त घाइते बनाएको भनी उल्लेख गरे तापनि यी प्रतिवादीहरूले पीडितहरूको ज्यानै लिनु पर्नेसम्मको मनसाय के कुन कार्य वा पूर्व रिसइवीबाट उत्पन्न भएको भनी जाहेरी दरखास्तमा लेखाउन सकेको देखिँदैन । त्यस्तै ज्यान लिने उद्देश्यले प्रतिवादीहरूले के कस्तो पूर्वयोजना वा तयारी गरेका थिए भन्ने कुरासमेत उक्त जाहेरीमा उल्लेख भएको पाइँदैन ।
५. प्रतिवादीहरूमध्येका अजयकुमार कामतले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा पीडितलाई विक्रम कटुवाल र मैले समातेको हो, महमद अरमानले छुरा प्रहार गरेको हो, पीडितहरूसँग पूर्वचिनजान थिएन, सामान्य विवाद भएपछि उक्त घटना वारदात भएको हो, निज पीडितहरूलाई मार्नेसम्मको हाम्रो कुनै योजना मनसाय तयारी थिएन भनी बयान गरे तापनि अदालतसमक्ष बयान गर्दा वारदातमा पूर्णत: इन्कार रही बयान गरेको देखियो ।
६. घटना विवरण कागज गर्ने पीडितहरूले प्रतिवादीहरूले धारिलो हतियारसमेतले आक्रमण गरेका हुन् भनी र को कसले निजमाथि छुरा प्रहार गरेको, को कसले समातेको वा छेकेको भनी लेखाउन सकेको देखिँदैन । अदालतमा उपस्थित भई पीडितमध्ये जितेन्द्र सहनीले प्रतिवादी विक्रम कटुवाल भन्ने व्यक्तिको मिसिल संलग्न ढकबहादुर कटुवाल नाउँको नागरिकताको (फोटोकपी) फोटोमा भएको व्यक्ति विक्रम कटुवाल हो होइन भनी यकिनसाथ भन्न सकिन भनी अदालतसमक्ष बयानमा उल्लेख गराएको देखिन्छ ।
७. अर्को प्रतिवादी महमद अरमानले अदालतमा उपस्थित भई बयान गर्दा मैले राजेन्द्र सहनीलाई १/२ थप्पड हिर्काएको हो, प्रतिवादी विक्रम कटुवालले राजेन्द्र सहनीलाई छुरा हानेपछि निजले मलाई भाग भनेकोले म पनि भागेको हो मैले कसैलाई छुरा हानेको पनि छैन र ज्यान मार्ने उद्योगको कसुर गरेको पनि छैन भनी कुटपिटसम्म गरेको तथ्य स्वीकार गरी ज्यान मार्ने उद्योगको कसुरमा पूर्णत: इन्कार रही बयान गरेको देखियो ।
८. अर्को प्रतिवादी विक्रम कटुवालले अदालतमा उपस्थित भई बयान गर्दा आफू विक्रम कटुवाल भन्ने व्यक्ति नभई ढकबहादुर कटुवाल भएको र उक्त दाबीको वारदातमा आफूले कसुर नगरेको, विक्रम कटुवाल भन्ने व्यक्तिलाई चिन्दिन भनी बयान गरेको देखियो ।
९. पीडितहरूको घा जाँच केस फाराम हेर्दा जितेन्द्र सहनीको चोटपटक Stab Injury Rt. Lumber 3”x1/2”, Stab Injury Lower abd. 3”x1/2” Penetrate abdominal cavity, cut injury Rt. hand 1/2” x 1/2”, 2 x1/2 भनी उल्लेख भएको देखिन्छ भने मर्ने नमर्ने भन्ने विषयमा उक्त केस फाराम मौन रहेको अवस्था देखियो ।
१०. प्रतिवादी अजयकुमार कामतका साक्षी वुची यादव, प्रतिवादी विक्रम कटुवाल भन्ने ढकबहादुर कटुवालको साक्षी मोहमद अमसाद तथा प्रतिवादी महमद अरमानको साक्षी रविना खातुनसमेतले प्रतिवादीहरूले ज्यान मार्ने उद्योगको कसुर गरेको होइन भनी प्रतिवादीहरूको अदालतको इन्कारी बयानलाई समर्थन हुने गरी बकपत्र गरिदिएको पाइन्छ । पीडित व्यक्तिहरू जितेन्द्र सहनी तथा संजय साहलाई वादी पक्षले साक्षीको रूपमा उपस्थित गराएको देखिए पनि जाहेरवालालगायत वस्तुस्थिति मुचुल्कालगायतका मानिसहरूलाई अदालतमा उपस्थित गराई बकपत्र गराउन सकेको अवस्थासमेत देखिँदैन ।
११. प्रमाण ऐन, २०३१ को दफा १८ अनुसार अनुसन्धानको समयमा संकलित प्रमाणहरू थुनछेकको प्रयोजनको सन्दर्भमा प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने देखिए तापनि कसुरदार कायम गर्नको लागि अदालत आई उक्त कुरालाई पुष्टि नगराएसम्म अनुसन्धानको समय संकलित प्रमाणहरू प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने देखिँदैन । प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार प्रतिवादीहरूको कसुर प्रमाणित गर्ने भार वादी पक्षमा रहने भएकोले प्रस्तुत मुद्दामा विवादरहित तवरले कसुर कायम हुने गरी प्रमाण पेस हुन आएको देखिँदैन । ठोस तथ्ययुक्त आधार प्रमाणबेगर अनुमान प्रमाणकै भरमा मुद्दामा एक पक्षले आफ्नो नियन्त्रण राखी संकलन गरेको प्रमाण जुन प्रमाण अदालतमा परीक्षण नै नभएको अवस्थामा प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने देखिएन ।
१२. मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. मा “ज्यान मार्ने मनसायले गोली चलाउने वा बम हान्ने वा घातक हतियारले काट्ने वा मार्नका लागि अरू जुनसुकै कुराको उद्योग गरी मर्नेसम्मको काम गरेकोमा कुनै कारणले ज्यान मर्न पाएको रहेनछ भने त्यस्तो काम गर्ने र गर्न लगाउने तथा सो ठाउँमा गई वचन दिने वा मद्दत गर्नेलाई पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद गर्नुपर्छ” भन्ने कानूनी व्यवस्था रहेको छ ।
१३. ज्यानसम्बन्धी महलको माथि वर्णित १५ नं.मा स्पष्टसँग उल्लेख भएको तत्त्व “मनसाय” हो जसले उद्योगको सैद्धान्तिक पक्षसँग तादाम्यता
राख्दछ । अर्थात् उद्योगमा पनि त्यही आपराधिक मनसाय रहनुपर्छ, जुन कर्तव्य ज्यानको कसुरको लागि आवश्यक हुन्छ । यहाँ निन्दित मनसाय, निर्ममता, दयाहिनता त्यही श्रेणीको हुनुपर्छ जुन कर्तव्य ज्यानमा हुन्छ । उद्योग ठहर्नको लागि केवल तयारी मात्र नभई अभियुक्तले वारदात घटाउने मनसायका साथ सोतर्फ गम्भीर प्रयास गरेको र सो कार्य खतरनाकरूपले पूर्ण अपराधको नजिक (Dangerous proximity to the end) हुनुपर्छ । अर्थात् ज्यानसम्बन्धीको १५ नं. मा उल्लिखित भाषामा भन्ने हो भने “मर्नेसम्मको काम” गर्दा पनि “कुनै कारणले” ज्यान मर्न नपाएको
हुनुपर्छ । पीडितहरू छिमेकीको दाहसंस्कारका लागि घाटतिर जाँदै गर्दा बाटोमा वादी प्रतिवादीहरू भेट भएको र निजहरूबिच सामान्य वादविवाद भएको कारणले कुटपिटसम्म भएको कुरा पीडितहरू र प्रतिवादीहरूले स्वीकार गरेको मिसिल संलग्न कागजातबाट
देखिन्छ । पीडितहरूको ज्यान मार्ने गरी प्रतिवादीहरूको पूर्वतयारी र ज्यान मार्ने मनसायसमेत रहेको भन्ने कुरा पुष्टि गर्न सक्ने यथेष्ट आधार प्रमाणहरू वादी पक्षले पेस गर्न नसकेको अवस्थासमेतबाट प्रतिवादीहरूले ज्यान मार्ने उद्योगको कसुर गरेको भन्न मिल्ने देखिएन ।
१४. यसरी मौकामा पीडित घाइतेहरूले घटना विवरण कागज गर्दा को व्यक्तिले छुरा प्रहार गरेको हो भनी यकिनसँग उल्लेख गर्न नसकेको, पीडितहरूलाई प्रतिवादीहरूले मार्नु पर्नेसम्मको इवी मनसाय के हो, मार्नुपूर्वको योजना, तयारी कस्तो थियो भन्ने विषय कहिँकतै नदेखिएको, पीडितहरूको घा जाँच केस फाराममा घाउको प्रकृति गम्भीर नदेखिएको र मर्ने वा नमर्ने भन्ने मुख्य विषयमा केस फाराम मौन रहेको, विशेषज्ञको बकपत्रबाट समेत पीडितहरूको घाउ ज्यान मर्नेसम्मको नभएको भनी उल्लेख भएको, प्रतिवादीहरूले ज्यान मार्ने उद्योगको कसुर गरेको हो भनी वादी पक्षले जाहेरवाला तथा वस्तुस्थिति मुचुल्काका मानिसलाई अदालतमा उपस्थित गराई बकपत्र गराउन नसकेको स्थिति र प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम दाबी प्रमाणित गर्ने भार वादीलाई भएकोमा वादी नेपाल सरकारले वस्तुनिष्ठ तवरबाट प्रतिवादीउपरको कसुर प्रमाणित गराउन सकेको नदेखिँदा उच्च अदालत विराटनगरले प्रस्तुत मुद्दालाई सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ अनुसार कुटपिटतर्फ परिणत गर्ने गरी र प्रतिवादी महमद अरमानलाई अभियोग मागदाबीबमोजिम कसुरदार ठहर गरेको सुरू अदालतको फैसला प्रतिवादी महमद अरमानको हकमा केही उल्टी गरी निज प्रतिवादी महमद अरमानले अभियोग मागदाबीबाट सफाइ पाउने ठहर गरी भएको पुनरावेदन अदालत विराटनगरको फैसला सो हदसम्म मनासिब नै
देखियो । वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
१५. अत: माथि विवेचित आधार, कारण र प्रमाणहरूबाट प्रतिवादीहरूबिच कुटपिट भई प्रतिवादीहरूकै चोटबाट पीडितहरू घाइते भएको देखिए तापनि निजहरूबिच पूर्वरिसइवी र ज्यान मार्नेसम्मको मनसाय रहेको मिसिल संलग्न प्रमाणबाट पुष्टि हुन नसकेको, घाउ जाँच केस फाराम, विशेषज्ञको बकपत्रसमेतबाट पीडितको शरीरमा लागेको घाउ चोटको प्रकृति ज्यान मर्नेसम्मको गम्भीर नभएकोले सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ अनुसार कुटपिटतर्फ परिणत गर्नु पर्नेमा प्रतिवादी महमद अरमानलाई अभियोग दाबीबमोजिम कसुर कायम गरी सजाय गर्ने गरेको सुरू मोरङ जिल्ला अदालतको मिति २०७३/११/१०/ को फैसला नमिलेकोले केही उल्टी भई सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम प्रस्तुत मुद्दालाई कुटपिटमा परिणत हुने र प्रतिवादी महमद अरमानसमेतले अभियोग मागदाबीबाट सफाइ पाउने ठहर गरी भएको पुनरावेदन अदालत विराटनगरको मिति २०७४।०७।२२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालय काठमाडौंलाई दिनू । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी, फैसलाको विद्युतीय प्रति अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.बमकुमार श्रेष्ठ
इजलास अधिकृत: प्रकाशदत्त भट्ट
इति संवत् २०७६ साल मंसिर ४ गते रोज ४ शुभम् ।