निर्णय नं. १०४१२ - मानव बेचबिखन
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०७६।२।१९
०७४-CR-१४२७
मुद्दा:- मानव बेचबिखन
पुनरावेदक / वादी : परिवर्तित नाम हनुमानढोका (१) को जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला काठमाडौं, दहचोक गा.वि.स. वडा नं. ४ बस्ने विनोद ढकालसमेत
मानिसलाई जतिसुकै दुःख पीडा वा गरिबी भए पनि कसैले कसैलाई मृगौला बेच्न उत्प्रेरणा दिने तथा सहयोग गर्ने कार्य निश्चय नै उसको नैतिकता, सामाजिक जवाफदेहिता र कानूनको समेत बर्खिलाप भई त्यस्तो कार्य कानूनी अपराधको रूपमा परिभाषित हुन जान्छ र सो कार्य गरेबापत मानिस दण्डित पनि हुनैपर्ने ।
(प्रकरण नं.१०)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री डम्बर काफ्ले
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४
सुरू तहमा फैसला गर्ने :
मा. न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
मा. न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ
मा. न्या. श्री अब्दुल अजीज मुसलमान
पुनरावेदन अदालत पाटन
फैसला
न्या.पुरूषोत्तम भण्डारी : नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दा तत्कालीन न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम दर्ता भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको छ । प्रस्तुत फैसला सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ९१(४) र अनुसूची १२ को ढाँचामा तयार गरिएको छ ।
सुरूको जाहेरी दरखास्त, घटना विवरण कागज, प्रतिवादीहरूको बयान, अभियोग पत्र, साक्षीहरूको बकपत्र, सुरू काठमाडौं जिल्ला अदालतको फैसला, वादी प्रतिवादी दुवैतर्फको पुनरावेदन पत्र र पुनरावेदन अदालत पाटनको फैसलासमेतको बेहोरा उक्त पुनरावेदन अदालत पाटनको मिति २०७३।०३।०७ को फैसलाबाट देखिने हुँदा यहाँ सो कुराको पुनरावृत्ति गरिएको छैन ।
यस अदालतको निर्णय
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री डम्बर काफ्लेले गर्नुभएको बहस सुनी मिसिल संलग्न कागजातहरूको अध्ययन गर्दा, प्रतिवादीहरू विनोद ढकाल, कृष्णबहादुर दर्जी तथा सार्की लामा तामाङसमेतको आपसी योजना, मिलेमतो, एवं संलग्नतामा पीडित हनुमानढोका (१) लाई ललाई फकाई प्रलोभन एवं झुक्यानमा पारी भारतको नयाँ दिल्लीस्थित सिंघानिया अस्पतालमा लगी अवैध रूपमा निज पीडितको बायाँतर्फको मृगौला झिक्ने कार्य भएको पुष्टि हुन आएकोले प्रतिवादीहरू विनोद ढकाल र कृष्णबहादुर दर्जीको उक्त कार्य मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१) विपरीत दफा ४(१)(ग) बमोजिमको कसुर हुँदा सोही कसुर अपराधमा निज प्रतिवादीहरूलाई ऐ. ऐनको दफा १५(१)(ग) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम निज प्रतिवादीहरूबाट पीडितलाई मनासिब माफिकको क्षतिपूर्ति भराई यी प्रतिवादीहरूको उक्त कार्य नैतिक पतन गरेको फौजदारी कसुरसमेत हुँदा ऐ. ऐनको दफा २२ बमोजिम नैतिक पतनतर्फको कसुर कायम गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग मागदाबी भएकोमा प्रतिवादीहरू विनोद ढकाल र कृष्णबहादुर दर्जीले पीडितलाई ललाई फकाई भारतमा पुर्याई रू. दुई लाख दिई कानूनविपरीत मृगौला झिकेको देखिँदा यी प्रतिवादीहरूले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१), ४(१)(ग) को विपरीतको कसुर अपराध गरेकोले यी प्रतिवादी विनोद ढकाल र कृष्णबहादुर दर्जीलाई सोही ऐनको दफा १५(१)(ग) बमोजिम जनही १०(दश) वर्ष कैदको सजाय तथा जनही दुई लाख रूपैयाँ जरिवाना हुने र सोही ऐनको दफा १७ बमोजिम प्रतिवादीहरूलाई भएको जरिवानाको ५०% बराबरको रकम क्षतिपूर्तिबापत पीडितले प्रतिवादीबाट भराई पाउने तथा ऐनको दफा २२ अनुसार नैतिक पतन हुने फौजदारी कसुर गरेको अवस्था नदेखिँदा सोतर्फ अभियोग दाबी नपुग्ने ठहर गरी सुरू काठमाडौं जिल्ला अदालतले मिति २०७१।२।१८ मा फैसला गरेको देखिन्छ ।
काठमाडौं जिल्ला अदालतले गरेको उपर्युक्त फैसलामा चित्त नबुझाई प्रतिवादी विनोद ढकाल र कृष्णबहादुर दर्जीको तर्फबाट हामीहरूले आरोपित कसुर नगरेको हुँदा हामीहरूलाई आरोपित कसुरबाट सफाइ दिलाई पाउँ भनी र वादी नेपाल सरकार तर्फबाट प्रतिवादीहरूलाई आरोपित कसुरमा अभियोग मागदाबीबमोजिम सजायसमेत भएकोमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा २२ बमोजिम प्रतिवादीहरूको उक्त कसुरलाई नैतिक पतनतर्फको कसुर कायम गर्नुपर्नेमा सो नगरेकोले प्रतिवादीहरूको उक्त कसुरलाई नैतिक पतन हुने कसुर कायम गरिपाउँ भनी पनुरावेदन अदालत पाटनमा छुट्टाछुट्टै पुनरावेदन परेकोमा पुनरावेदन अदालत पाटनले सुरू काठमाडौं जिल्ला अदालतबाट भएको उक्त फैसला उल्टी गरी प्रतिवादीहरू विनोद ढकाल र कृष्णबहादुर दर्जीले पीडितको मृगौला झिक्ने कार्य गरेको नभई उक्त कार्य गराउन उत्प्रेरणा दिई मतियारको रूपमा दुरूत्साहन र षड्यन्त्र गरेकोसम्म देखिँदा निज प्रतिवादीहरूलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ज) बमोजिम ५ वर्ष कैद र रू.एक लाख जरिवाना हुने र प्रतिवादीहरूले उक्त ऐनको दफा २२ बमोजिम नैतिक पतन देखिने फौजदारी कसुरसमेत गरेको ठहर गरी मिति २०७३।३।७ मा फैसला गरेको देखिन्छ ।
उक्त फैसलामा समेत चित्त नबुझाई वादी नेपाल सरकारतर्फबाट प्रतिवादी कृष्णबहादुर दर्जी र विनोद ढकालले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान तथा परिवर्तित नाम हनुमानढोका (१) को किटानी जाहेरी, प्रमाणित बयान, बुझिएका मानिस राजन भण्डारीको कागजसमेतबाट यी प्रतिवादीहरू पेसेवर कसुरदार देखिएको अवस्था छ । प्रतिवादीहरूले सोझासाझा मानिसलाई फकाई फुल्याई प्रलोभन देखाई मानव बेचबिखन तथा ओसारपसार गर्ने कार्य पटकपटक गर्दै आएको भन्ने पुष्टि भएको र यी प्रतिवादीहरूले गाउँघरका सिधासाधा गरिब जनतालाई पैसाको लालसा देखाई विभिन्न प्रलोभनमा तथा आर्थिक प्रभावमा पारी भारतको दिल्ली पुर्याई अर्को गिरोहको जिम्मामा सुम्पिई, पीडितलाई अत्यन्तै थोरै रकम दिई आफूहरूले धेरै लाभ लिने गरेको पुष्टि भइरहेको अवस्थामा मतियारको कसुरसम्म गरेको भनी कम सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण
छ । मृगौला दिएमा लाखौं नगद रकम पाइने कुराको प्रलोभनमा पीडितलाई पारी सबै कार्यको बन्दोबस्त मिलाउने कसुरदारका हकमा पीडितको अंग झिक्ने कार्य प्रतिवादीहरूले नगरेका भनी मृगौला झिक्ने चिकित्सक नै मुख्य कसुरदार हुने अर्थ गरी कानूनको गलत अर्थ र व्याख्या गरी भएको फैसला त्रुटिपूर्ण
छ । प्रतिवादीहरूउपरको अभियोग दाबीअनुसारको कसुर स्थापित हुने यथेष्ट प्रमाण हुँदाहुँदै दाबीभन्दा घटी सजाय हुने कसुर ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला कानूनत त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीहरूलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भनी यस अदालतमा प्रस्तुत पुनरावेदन परेको देखिन्छ ।
यसमा पुनरावेदन अदालत पाटनले गरेको फैसला मिलेको छ छैन ? तथा पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादीहरू विनोद ढकाल र कृष्णबहादुर दर्जीलाई पीडितको मृगौला झिक्न मतियारको भूमिका निर्वाह गरेकोमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ज) बमोजिम जनही ५ वर्ष कैद र रू.एक लाख जरिवाना हुने र निजहरूले ऐ.ऐनको दफा २२ बमोजिम नैतिक पतन हुने कसुर गरेको ठहर गरी पुनरावेदन अदालत पाटनले गरेको फैसलाउपर यी प्रतिवादीहरूको पुनरावेदन परेको नदेखिँदा त्यसतर्फ विवेचना गरिरहन परेन ।
३. प्रतिवादी विनोद ढकालले समेत अदालतमा बयान गर्दा कसुरमा पूर्णरूपले इन्कार रही बयान गरेको भए तापनि निजले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा, जाहेरवाली पीडित परिवर्तित नाम हनुमानढोका (१) को घर र मेरो घर एउटै गाउँमा भएकोले निजले म बेरोजगार भएँ, कहीँ काम पाइन्छ भने मलाई पनि काम लगाई दिनुपर्यो भनेको हुँदा मेरो चिनजानका साथी कृष्णबहादुर दर्जीले कोही गार्मेन्टमा काम गर्न सक्ने मानिस भए म काम लगाई दिउँला भनी मसँग भनेका हुँदा निज जाहेरवालीलाई कृष्णबहादुर दर्जीसँग भेटघाट गराई चिनजान गराइदिएको थिएँ र जाहेरवालीलाई कृष्णबहादुर दर्जीसँग भेट गराई दिएबापत कृष्णबहादुर दर्जीले मलाई रू.२,५००।- दिएका थिए । सो पछि के के भयो, थाहा भएन, तर पछि मैले थाहा पाएअनुसार निज जाहेरवालीलाई साथी कृष्णबहादुर दर्जीले भारतमा लगी देब्रे मृगौला निकाल्न लगाई जाहेरवालीको मृगौला बिक्री गराइदिएको थाहा पाएको हो भनी बयान गरेको देखिन्छ ।
४. त्यस्तै अर्को प्रतिवादी कृष्णबहादुर दर्जीले समेत अदालतमा बयान गर्दा कसुरमा पूर्णरूपले इन्कार रही बयान गरेको भए तापनि निजले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा म वनस्थली बालाजुमा रहेको मृगौलासम्बन्धी अस्पतालमा गएको अवस्थामा सार्की लामा तामाङ नाम बताउने व्यक्तिसँग चिनजान परिचय हुँदा निजले आफूलाई मृगौला फेर्नुपर्ने बताएका र मलाई त्यसरी मृगौला बेच्ने व्यक्तिलाई खोजी गर राम्रै रकम दिन्छु भनी बताएकाले सो कुरा मैले विनोद ढकाललाई जानकारी गराउँदा केही दिनपछि विनोद ढकालले यी जाहेरवाली आफ्नो मृगौला दिनेवाला छिन् भनेकाले मैले निज जाहेरवालीलाई भेटी मृगौला दिएमा रू.२,००,०००।- रकम आउँछ, तपाइँलाई कुनै अप्ठ्यारो पर्दैन भनी ललाई फकाई म र विनोद ढकाल दुवै भई सार्की लामालाई जानकारी गराई निजैले भनेबमोजिम स्वास्थ्य परीक्षण गरेपछि सार्की लामाले मलाई रू.१०,०००।- रकम दिएका थिए, सोमध्ये रू.२,५००।- मैले विनोद ढकाललाई दिई बाँकी रकम मैले लिएको थिएँ, मृगौला फेर्न प्राय: इन्डिया जानुपर्ने भएकाले मिति २०६९।८।२३ गतेका दिन इन्डिया जाने सरसल्लाह भएपछि सो दिन मैले सार्की लामासँग सम्पर्क गराई बौद्धमा जानु भनी पठाएको हो, त्यसपछि के के भयो थाहा भएन भनी बयान गरेको देखिन्छ ।
५. पीडित जाहेरवालीले म र प्रतिवादीमध्येका विनोद ढकालको बस्ने डेराकोठा एकै ठाउँमा भएकाले विनोद ढकाल मेरो डेराकोठामा आउने जाने गरेको र तपाइँलाई ॠण लागेको र पैसाको पनि खाँचो रहेछ, पैसा कमाउने काम भन्छु भन्दै स्वास्थ्य परीक्षणसमेत गर्न लगाई मिति २०६९।१०।१२ मा भारतको सिंघानिया अस्पतालमा पठाई मेरो मृगौला झिक्न लगाई प्रतिवादीहरूले मलाई झुक्यान र प्रलोभनमा पारी कानून प्रतिकूल अंग झिक्ने कार्य गरेकोले सजाय गरिपाउँ भनी जाहेरी दिएकी र सो जाहेरीबमोजिम बयान कागजसमेत गरेको भए पनि पीडित हनुमानढोका (१) अदालतमा उपस्थित भई बकपत्र गर्दा मेरो मृगौला दिल्लीको सिंघानिया अस्पतालमा मेरो इच्छाले नै रू.२,००,०००।- मा बेचेको हो । मिति २०६९।१०।१२ मा त्यसरी मृगौला झिक्दा मसँग मेरो श्रीमान् पनि साथै हुनुहुन्थ्यो । प्रतिवादी कृष्णबहादुर दर्जीसमेतले मलाई मृगौला बेच्न लगाएको होइन भनी बकपत्र गरिदिएको देखिँदा पीडित जाहेरवालीले आफ्नो जाहेरी बेहोरालाई अदालतमा बकपत्र गर्दा समर्थन गर्न सकेको देखिन आएन । यस अवस्थामा पीडितको जाहेरी र बकपत्र परस्पर बाझिएको देखिँदा जाहेरवाली पीडितले दिएको जाहेरी दरखास्त विश्वासयोग्य देखिएन ।
६. जाहेरवाली पीडित उमेर पुगेकी सद्दे मानिस भएकीले शरीरको मृगौलाजस्तो अंग झिकेपछि स्वास्थ्यमा पर्ने प्रभावबारे थाहा छैन, थिएन भन्न मिल्ने अवस्था छैन । अदालतमा बकपत्र गर्दा आफ्नो लोग्नेको उपस्थितिमा आफ्नो मृगौला स्वेच्छाले बिक्री गरेको भनी उल्लेख गरिसकेपछि निजको बकपत्र अन्यथा नभएसम्म प्रमाणको रूपमा ग्रहण गर्नुपर्ने नै हुन जान्छ ।
७. पीडित जाहेरवाली र प्रतिवादी विनोद ढकालको डेराकोठा एकै ठाउँ भएकोले पीडित गरीब र ऋण लागेको व्यक्ति भई निजको गरिबी दूर गर्ने उपायको रूपमा मृगौला बिक्री गरी आएको रकमले सहयोग हुन सक्छ भन्ने पीडितप्रति सहानुभूति चिताई प्रतिवादी विनोद ढकालले कृष्णबहादुर दर्जी र प्रतिवादी कृष्णबहादुर दर्जीले मृगौला रोगी सार्की लामासँग चिनजानसम्म गराई दिएको र सो कुरा प्रतिवादीद्वयको अधिकारप्राप्त अधिकारीसमक्ष बयान र पीडितको बकपत्रबाट खुल्न आएको देखिन्छ ।
८. जाहेरवालीले आफ्नो बायाँ मृगौला रोगीसँग रू.२,००,०००।- लिई भारत नयाँ दिल्लीको सिंघानिया अस्पतालमा आफ्नो इच्छाले बेचेको
हो । उक्त अस्पतालमा मृगौला झिक्दा मेरो पति पनि सँगै रहेको भनी बकपत्र गरेबाट समेत जाहेरवालीले आफ्नो पतिको समेत सहमतिमा दुवै मृगौला फेल भएका बिरामीलाई आफ्नो एक मृगौला बेचेको हो भनी मान्नुपर्ने देखिन आयो ।
९. यी प्रतिवादीहरू जाहेरवालीको मृगौला झिकी मृगौला रोगीमा प्रत्यारोपण गर्न भारत नयाँ दिल्लीस्थित अस्पतालसम्म गएको
देखिँदैन । यी प्रतिवादीहरू स्वयं जाहेरवालीको मृगौला झिक्न अस्पतालसम्म नगएको भए तापनि यी प्रतिवादीहरूले जाहेरवालीको गरिबी अवस्थादेखि आर्थिक फाइदासमेत देखाई जाहेरवालीलाई आफ्नो मृगौला बिक्री गर्न सल्लाह र सहयोग गरेकोसम्म देखिन आयो ।
१०. मानिसलाई जतिसुकै दुःख पीडा वा गरिबी भए पनि कसैले कसैलाई मृगौला बेच्न उत्प्रेरणा दिने तथा सहयोग गर्ने कार्य निश्चय नै उसको नैतिकता, सामाजिक जवाफदेहिता र कानूनको समेत बर्खिलाप भई त्यस्तो कार्य कानूनी अपराधको रूपमा परिभाषित हुन जान्छ र सो कार्य गरेबापत मानिस दण्डित पनि हुनैपर्दछ ।
११. मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ग) मा “प्रचलित कानूनबमोजिम बाहेक मानिसको कुनै अङ्ग झिक्नेलाई दश वर्ष कैद र दुई लाख रूपैयाँदेखि पाँच लाख रूपैयाँसम्म जरिवाना हुनेछ” भन्ने र सोही ऐनको दफा १५(१)(ज) मा “मानव बेचबिखन वा ओसारपसारको कसुर गर्न दुरूत्साहन, षड्यन्त्र वा उद्योग गर्नेलाई वा सो कसुरको मतियारलाई सो कसुर गर्दा हुने सजायको आधा सजाय
हुनेछ ।” भन्ने व्यवस्था भएको देखिन्छ । मिसिल संलग्न कागज प्रमाणहरूबाट यी प्रतिवादीद्वय विनोद ढकाल र कृष्णबहादुर दर्जीले पीडितको मृगौला झिक्ने कार्यमा संलग्न भई आरोपित कसुर गरेको नदेखिई निजले सो कार्य गराउन दुरूत्साहन, षड्यन्त्र र मतियारसम्मको कार्यमा संलग्न भएको देखियो ।
१२. यसरी यी प्रतिवादीद्वय विनोद ढकाल र कृष्णबहादुर दर्जीले उल्लिखित कानूनी व्यवस्थाको बर्खिलाप हुने गरी मृगौला झिक्ने कार्यमा संलग्न नभई पीडितको कोठामा आउने जाने र पीडितलाई पैसाको खाँचो छ भन्ने थाहा पाएर मृगौला बिक्री गरेमा पैसा पाइन्छ भन्ने सल्लाह दिई प्रतिवादी विनोद ढकालले प्रतिवादी कृष्णबहादुर दर्जीसँग पीडितको भेट गराइदिएको र प्रतिवादी कृष्णबहादुर दर्जीले मृगौला लिने मानिस सार्की लामासँग भेट गराई पीडितको मृगौला बिक्री गर्न र गर्न लगाउन दुरूत्साहन, षड्यन्त्र र मतियारसम्मको कार्यमा संलग्न भएको देखिँदा प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम मानव बेचबिखन तथा ओसारपसारको कसुरमा सजाय गरिपाउँ भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
१३. उपर्युक्त विवेचित आधार र कारणहरूबाट प्रतिवादी कृष्णबहादुर दर्जी र विनोद ढकाललाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ज) बमोजिम जनही ५(पाँच) वर्ष कैद र रू.१,००,०००।- (एक लाख) जरिवाना हुने ठहर गरेको पुनरावेदन अदालत पाटनको मिति २०७३।३।७ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । यी प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.हरिप्रसाद फुयाल
इजलास अधिकृत : अरूणकुमार कोइराला
इति संवत् २०७६ साल जेठ १९ गते रोज १ शुभम् ।