निर्णय नं. १०४१६ - जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
फैसला मिति : २०७६।८।८
०७५-CR-१२९३
मुद्दा :- जबरजस्ती करणी
पुनरावेदक / प्रतिवादी : भूपालमान थापाको छोरा जिल्ला मोरङ केराबारी गा.वि.स. वडा नं. ५ घर भई हाल कारागार कार्यालय मोरङमा थुनामा रहेको प्रकाश थापा
विरूद्ध
प्रत्यर्थी / वादी : सांकेतिक नाम एकताको जाहेरीले नेपाल सरकार
कसुर गरिरहेको अवस्थामा प्रत्यक्ष देख्ने र कसुरदारको पञ्जाबाट पीडितलाई बचाई प्रहरी बिटसम्म ल्याउने व्यक्ति रहेको कुरा प्रत्यक्षदर्शीहरूको मौकाको कागज तथा सो कुरा पुष्टि हुने गरी अदालतमा गरेको बकपत्रबाट देखिन आएकोमा यस्तो प्रमाणलाई ग्रहण गर्नु पर्ने ।
(प्रकरण नं.८)
घटनापश्चात् भएको पीडितको शारीरिक परीक्षण प्रतिवेदनले वस्तुगत प्रमाणको स्थान लिन्छ । त्यसैगरी, स्वयम् पीडित जो घटनाको असर र प्रभावबाट पीडामा परेको हुन्छ त्यस्तो व्यक्तिको कथनलाई जबरजस्ती करणीको कसुरमा झनै महत्त्वपूर्ण प्रमाण मानिने ।
(प्रकरण नं.९)
कानूनबमोजिमको रीत पुर्याई सूचना दिँदासमेत अदालतमा उपस्थित नभई कुनै अभियुक्त फरार रहन्छ भने निजको उपस्थितिपश्चात् अदालतबाट हुने इन्साफको अनुमान गरी उपस्थित सहप्रतिवादीको हकमा समूहिक रूपमा गरेको आपराधिक कार्यको दायित्वलाई स्थगित गरी राख्न नमिल्ने ।
(प्रकरण नं.१५)
पुनरावेदक / प्रतिवादीका तर्फबाट :
प्रत्यर्थी / वादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प.२०७५, अंक ३, नि.नं.९९८१
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू फैसला गर्ने:
माननीय न्यायाधीश श्री हरिश्चन्द्र इङनाम
मोरङ जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने:
माननीय न्यायाधीश श्री उमेशकुमार सिंह
माननीय न्यायाधीश श्री हरिप्रसाद भण्डारी
उच्च अदालत विराटनगर
फैसला
न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : उच्च अदालत विराटनगरबाट भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९ (१) बमोजिम प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः
तथ्य खण्ड
जिल्ला मोरङ केराबारी गा.वि.स. वडा नं. ६ पिर्रे जङ्गल स्थित पूर्वमा खदम खोला, पश्चिममा जङ्गल, उत्तरमा डागीतर्फ जाने सानो गोरेटो बाटो, दक्षिणमा जङ्गल यति चार किल्लाभित्र रहेको जङ्गलको घारी भएको सो ठाउँमा आलो स्याउला ओछ्याएको, सो स्याउला र जमिनहरू प्रतिकारको क्रममा माडिएको जस्तो देखिएको, सोही ठाउँमा सांकेतिक नाम (V) कुमारीलाई प्रतिवादी प्रकाश थापा, पप्पु कार्की र अशोक बस्नेतसमेतले मिति २०७१।२।९ गते अं. १०:३० बजेको समयमा जबरजस्ती करणी गरेको भन्ने बेहोराको घटनास्थल मुचुल्का ।
मेरो भतिजी छोरी वर्ष १५ की सांकेतिक नाम (V) कुमारी धरान स्थित बोर्डिङ स्कुलमा विद्यालय जाने आउने क्रममा मिति २०७१।२।९ गते बिहानको समयमा सदाझैं विद्यालय जान्छु भनी किताबको ब्याग बोकी गएकोमा निज बेहोस अवस्थामा दिनको २/३ बजेको समयमा घर आई मलाई केटाहरूले जबरजस्ती करणी गरे भनी सुनाइन् । के कसरी को कस्ले जबरजस्ती करणी गरे भनी निजबाट बुझ्दा, म विद्यालयबाट आइरहेको अवस्थामा ३ जना केटाहरूले खदम खोलाबाट मलाई मोटरसाइकलमा जबरजस्तीपूर्वक उठाइ हाली बोल्न चटपटाउनसमेत नदिई केही पर जङ्गलमा लगी मोटरसाइकलबाट ओराली हामीले जे भन्छौ त्यही गर्नुपर्छ भनी मलाई करकापमा पारी चिसोकोक हो भनी जबरजस्ती झोल पदार्थ खान लगाई खाने बित्तिकै केही समयमा नसा लागेको जस्तो
भयो । निज प्रतिवादीहरूले एकआपसमा कुरा गर्दा पप्पु कार्की, अशोक बस्नेत र प्रकाश थापा भनी बोलाउने गरेका थिए । निजहरूले मेरो शरीरको कपडा खोली एउटाले गोडा समातेको र अर्काले हात समाते, अर्का एकजनाले करणी गर्न थाली पालैपालो करणी गरे । केही समयपछि म बेहोस भएँ, के कति बेरसम्म मलाई करणी गरे केही थाहा भएन । मेरो अं. २:०० बजेको समयमा होस खुल्दा घटनास्थलमा पीडामा रहेको अवस्थामा घाँस दाउरामा आएका मानिसहरूले मलाई बिराटचोक प्रहरीमा ल्याई घरमा फोन गरेको भनी बताएकीले निज प्रतिवादीहरूलाई खोज तलास तथा पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको सांकेतिक नाम एकताको जाहेरी दरखास्त ।
प्रतिवादी पप्पु कार्की र अशोक बस्नेत गाउँ छिमेकका साथी हुन्, जाहेरवालाको भतिजी छोरी (V) कुमारी सँधै विद्यालय जाने आउने गर्ने गरेको हामीले देख्ने गरेका थियौं । निजलाई करणी गर्न हामीले पहिले नै योजना बनाएअनुसार वारदातको दिन निज पीडित विद्यालयबाट आइरहेको देखी हामीले बाटो ढुकी अर्जुन भण्डारीको मोटरसाइकल लिई हामीहरू बसिरहेका थियौं । निज पीडित खदम खोला एकान्त ठाउँमा पुग्दा मसमेतका साथीले जबरजस्ती मोटरसाइकलमा हाली पिर्रे जङ्गलमा लगी हामी ३ जनाले पालै पालो करणी गरेका हौं । हामी तीनैजनाले निज पीडितालाई बिना मन्जुरी बलपूर्वक जबरजस्ती उठाई लगी पिर्रे जङ्गलमा करणी गरेका हौं भन्ने बेहोराको प्रतिवादी प्रकाश थापाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
सांकेतिक नाम (V) कुमारीको Hymen: Absent; Bi।atera। excoriations at the groin in the ।ower part at the g।utea। region भन्ने बेहोराको वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट भएको शारीरिक परीक्षण रिर्पोट ।
म धरान स्थित बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थी भएकोले वारदात मिति समयमा विद्यालयबाट आइरहेको अवस्थामा खदम खोला आइपुग्दा प्रतिवादीहरू एक्कासी मोटरसाइकल चढी आई मलाई बोल्न चटपटाउनसमेत नदिई नियन्त्रणमा लिई पिर्रे चौरी जङ्गलमा लगी मलाई मोटरसाइकलबाट झारी करणी गर्न ल्याएको भनी भनेपछि म रून कराउन
थालेँ । जङ्गल बाक्लो भएकोले मैले अन्य व्यक्तिको साहारा पाउन सकिन । बलपूर्वक जबरजस्ती कोक खान दिए । प्रतिवादी प्रकाश थापाले मेरो छातीमा पहिले हात लगाए, मैले हर प्रयास गर्दा बच्न
सकिन । म एक्लो महिलालाई प्रतिवादी प्रकाश र अशोकले मेरो कपडा खोली दिए र प्रकाशले गोडा समाते । अशोकले हात दुवै समाती उत्तानो पारी प्रतिवादी पप्पु कार्कीले पहिले मलाई करणी
गरे । म बिस्तारै बेहोस हुन थालेँ । प्रतिवादी प्रकाश र अशोकले पनि पालैपालो करणी गरे । सो बखत म आफू मर्नेसम्मको अवस्थामा पुगेको थिएँ, बोलिस् कराइस् वा कसैलाई भनेमा तेरो ज्यान मारिदिन्छु भन्नेसम्मको धम्की दिने गरेका थिए । प्रतिवादीहरूले एक घण्टासम्म करणी गरेको कुरा थाहा भयो र अति नै पीडा भएकोले सोपश्चात् कति बेरसम्म प्रतिवादीहरूले करणी गरे थाहा भएन, प्रतिवादीले खुवाएको कोकमा के कुन नसालु पदार्थ थियो मलाई नसा लागेको थियो । केही समयपछि जङ्गलमा मानिसको आवाज आएको सुनेँ । प्रतिवादीहरू के कहाँ गए थाहा
भएन । मैले जङ्गलमा बचाउ बचाउ भनिरहेको अवस्थामा घाँस दाउरा लिन आएका मानिसहरूले मेरो अवाज सुनी आई मलाई बेहोस अवस्थामा बिराटचोक स्थित प्रहरी बिटसम्म पुर्याइदिएको हो । निज प्रतिवादीहरूले म नाबालिकालाई विद्यालयबाट आइरहेको अवस्थामा जबरजस्तीपूर्ण उठाई लगी सामूहिक करणी गरेकोले निज प्रतिवादीहरूलाई कानूनबमोजिम हदैसम्मको कारबाही हुनपर्छ भन्नेसमेत बेहोराको साङ्केतिक नाम (V) कुमारीको घटना विवरण कागज ।
वारदात मिति समयमा हामीहरू आ-आफ्नो काम विशेषले खदम खोला तथा आमजुङ भन्ने स्थानमा आई पुग्दा प्रतिवादीहरू मोटरसाइकल चढी आइरहेको देखेका हौं । निजहरू के कहाँबाट आएको भनी हामीले सोधेनौं । पिर्रे जङ्गलतर्फबाट घाँस दाउरामा गएका व्यक्तिहरूले पीडित (V) कुमारीलाई बोकी आइरहेको अवस्थामा देख्दा के भएको हो भनी सोध्दा ३ जना केटाहरूले जङ्गलमा बलात्कार गरेको सुनाउँदा थाहा भयो । घटनाबारे बुझ्दै जाँदा गाउँ घरमा चिनेका प्रतिवादी प्रकाश थापा, पप्पु कार्की र अशोक बस्नेतसमेतले विद्यालयबाट आइरहेको अवस्थामा पीडित (V) कुमारीलाई खदम खोलाबाट उठाई लगी पिर्रे जङ्गलमा अं. १०:३० बजेको समयदेखि सामूहिक रूपमा करणी गरी रहेको अवस्थामा बचाई ल्याएको हो भनी घटनाको यथार्थ थाहा भएको हो । निज प्रतिवादीहरू गाउँ घरको उदण्ड प्रवृत्तिका मानिसहरू हुन् । यसभन्दा पहिले पनि यसप्रकारको घटना घटाएका थिए । गाउँ घरमा मार्लान् भन्ने डरले कोही कसैले बोलेका थिएनन् । प्रतिवादीहरूले योजनाबद्ध तरिकाले विद्यालयबाट आइरहेको अवस्थामा नाबालिकालाई उठाई लगी सामूहिक करणी गरेकोले प्रतिवादीहरूलाई कानूनबमोजिम हदैसम्मको कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको प्रेम ठकुरी, युपल विश्वकर्मा, हरिमाया ठकुरी, फुलकुमारी राई र दिपा मगरसमेतले खुलाई लेखाइदिएको वस्तुस्थित मुचुल्का ।
वारदात मिति समयका दिन विराटनगर स्थित रेडक्रस तालिममा सहभागी हुन गएको थिएँ । सो दिन बेलुका ६ बजेतिर घर आएको हुँ । प्रतिवादी प्रकाश थापा, पप्पु कार्की र अशोक बस्नेतलाई राम्ररी चिन्दछु । प्रतिवादीहरूमध्ये पप्पु कार्कीले मेरो साथी बिरामी छ उपचारको लागि लानुपर्छ तपाइँको मोटरसाइकल दिन पर्यो भनी फोनबाट अनुरोध गरी मागेकोले मेरो मोटरसाइकल घरमा छ मागी लानु होला भनी मैले फोनबाट भन्दा पप्पु कार्कीले मेरो घरबाट मोटरसाइकल मागी लगेको हो । निजले के कहाँ लगे थाहा भएन, बेलुका पख घर आउँदा मेरो मोटरसाइकल मागी लगी विद्यालयबाट फर्की आउने एक जना युवतीलाई उठाई लगी बलत्कार गरेको सुनी थाहा पाएँ । निज प्रतिवादीहरू गाउँ घरका उदण्ड प्रवृत्तिका मानिसहरू हुन्, निजहरूलाई कानूनबमोजिम कारबाही होस् भन्नेसमेत बेहोराको अर्जुन भण्डारीको कागज ।
वारदात मितिका दिन हामीहरू घरबाट बिहानको ४:०० बजेको समयमा हिडी डाँगी जङ्गलमा दाउरा लिन गएका थियौं । जङ्गलमा गई दाउरा बोकी बाटोमा पर्ने पिर्रे जङ्गलमा आइरहेको अवस्थामा पहिले देखिका चिनेका प्रतिवादी प्रकाश थापा, पप्पु कार्की र अशोक बस्नेतसमेत ३ जनाले पालैपालो एकजना युवती महिलालाई सुताई हात गोडा समाती करणी गरिरहेको थियो । महिला बेहोस अवस्थामा बचाउ बचाउ भनिरहेकी थिइन्, हामी पनि तीनजना मात्रै भएकोले एकदमै डर लाग्यो के गर्ने भन्ने हामी तीनैजनाले सल्लाह गर्यौँ, घटनास्थल केही वर आई दाउराको भारी राखी दाउरा काट्ने प्रयोजनको लागि लगेको खुकुरी, बञ्चरो निकाली आँट गरी प्रतिकारमा लाग्दा प्रतिवादीहरूले पीडितलाई उठाई लिई जान खोजिरहेका थिए । हामीले आँट गरी पीडितलाई खोस्न सफल भयौं । निज पीडित बेहोस अवस्थामा भएकोले म सहरवती खवासले आफूले बोक्ने दाउरा फाली पीडितलाई बोकी बिराटचोक प्रहरी बिटमा आई बुझाएका हौं । प्रतिवादीहरूले बिराटचोकसम्म हामीहरूलाई पछ्याएको हो । वारदातस्थलबाट हामीले नजोगाएको भए प्रतिवादीहरूले करणी गरी मार्ने नै थियो होला । निज प्रतिवादीहरूले विद्यालयबाट फर्की आइरहेको नाबालिकालाई हामीहरूको अगाडि करणी गरेको हामीले प्रत्यक्ष रूपमा देखेका हौं, निज प्रतिवादीहरू गाउँ घरका उदण्ड प्रवृत्तिका मानिस
हुन् । निजहरूलाई कानूनबमोजिमको हदैसम्म कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको घटनास्थलमा उपस्थित चस्मदिद गवाह भागोदेवी खवास, सहरवती खवास र गणेशवती खवासले एकै मिलान हुने गरी तीनैजनाले गरी दिएको घटना विवरण कागज ।
मिसिल संलग्न घटनास्थल मुचुल्का, जाहेरी दरखास्त, प्रतिवादीको बयान कागज, बुझिएका मानिसको घटना विवरण कागज, पीडितको शारीरिक जाँच रिपोर्ट, पीडितको घटना विवरण कागज एवं वस्तुस्थिति मुचुल्कासमेतको आधार प्रमाणहरूबाट प्रतिवादीहरूले पीडितालाई धाक धम्की देखाई डर, त्रासमा पारी प्रतिवादीहरू प्रकाश थापा, पप्पु कार्की र अशोककुमार बस्नेतसमेतले पालै पालो साङ्केतिक नाम (V) कुमारीलाई सामूहिक रूपमा जबरजस्ती करणी गरेको पुष्टि हुन आएकोले निज प्रतिवादीहरू प्रकाश थापा, पप्पु कार्की र अशोककुमार बस्नेतलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. विपरीत ३(३) नं. को कसुर अपराधमा ऐ.ऐ. महलको ३(३) नं. बमोजिम सजाय हुनका साथै प्रतिवादीहरूले पीडितलाई सामूहिक रूपमा जबरजस्ती करणी गरेको हुँदा निज प्रतिवादीहरूलाई ऐ. ऐ. महलको ३क. नं. बमोजिम थप सजाय गरी निज प्रतिवादीहरूबाट ऐ.ऐ. महलको १० नं. बमोजिम पीडितालाई क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र ।
जाहेरवाली र पीडितालाई मैले चिनेको
छैन । घटना भएको भनिएको मिति २०७१।२।९ गते म बिहानै मेरो भाइको विवाहको सामान किन्न इटहरी आई साँझमा फर्कने क्रममा मलाई प्रहरीले बिराटचौकबाट पक्राउ गरेको हो । प्रहरीले मलाई चौकीमा पुर्याउँदा पीडिता त्यहीँ रहिछन् । निज पीडिताले होइन भन्दा पनि मलाई प्रहरीले फसाएका हुन्, मैले पीडितालाई जबरजस्ती करणी गरेको छैन भन्नेसमेत बेहोराको प्रतिवादी प्रकाश थापाले सुरू अदालतमा गरेको बयान ।
प्रतिवादीहरू पप्पु कार्की र अशोककुमार बस्नेतका नाउँमा जारी भएको म्यादी पुर्जी मिति २०७१।५।९ मा तामेल भएकोमा निजहरू म्याद गुजारी फरार रहेका र निजहरूको मिति २०७१।१०।२४ गते अंश रोक्का मुचुल्का भई मिसिल सामेल रहेको ।
प्रतिवादीहरूमध्ये पहिला पप्पु कार्कीले त्यसपछि प्रकाश थापा र त्यसपछि अशोक बस्नेतले मलाई जबरजस्ती करणी गरेका हुन् भनी पीडिता सांकेतिक नाम (V) कुमारीले अदालतमा गरेको बकपत्र ।
हामीहरू तीनजना दाउरा काट्न आएको अवस्थामा खदम खोला जङ्गलमा पीडितालाई एकजना माथि चढेर करणी गरिरहेका थिए । दुईजना हात खुट्टा समाई बसिरहेका थिए भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने सहरवती खवासले सुरू अदालतमा गरेको बकपत्र ।
पीडितालाई प्रकाश थापासमेतका मान्छेले जबरजस्ती करणी गरेको भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्कामा बस्ने फुलकुमारी राईले सुरू अदालतमा गरेको बकपत्र ।
आफूहरू दाउरा लिन जङ्गल जाँदा चिच्याएको आवाज सुनी हेर्न जाँदा पीडिता V कुमारीमाथि एकजना चढी करणी गरिरहेका थिए दुईजनाले पीडितालाई समाइरहेका थिए भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने भागोदेवी खवासको सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी प्रकाश थापालाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १,३(३) नं. को कसुरमा ऐ. ३(३) नं. बमोजिम ८ वर्ष कैद हुने । सामूहिक रूपमा जबरजस्ती करणी गरेको देखिँदा ऐ. को ३क. नं. बमोजिम थप ५ वर्ष कैद हुने ठहर्छ । प्रतिवादी प्रकाश थापाबाट पीडिताले रू.२५,०००।- क्षतिपूर्तिसमेत भराई लिन पाउने ठहर्छ र फरार प्रतिवादीहरू पप्पु कार्की र अशोककुमार बस्नेतका हकमा कानूनबमोजिम मुद्दा मुल्तबीमा राखिदिएको छ भन्ने मोरङ जिल्ला अदालतबाट मिति २०७२।१२।३ मा भएको फैसला ।
आफूउपर परेको जाहेरी ठोस प्रमाण होइन । जाहेरी बेहोरा बनावटी छ । जाहेरी पुष्टि हुने कुनै प्रमाण र आधारहरू रहेको छैन । पीडिता तथा प्रत्यक्षदर्शीका भनाइ एकआपसमा बाझिएकाले आफू निर्दोष रहेको प्रमाणित भएको अवस्था छ । अनुसन्धानको बयान मेरो बेहोरा होइन, लेखिराखेको कागजमा मलाई सहीछाप गराएको अवस्था हुँदा आफूलाई १३ वर्ष कैद सजाय गर्ने गरी भएको मोरङ जिल्ला अदालतको फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्ने प्रतिवादी प्रकाश थापाको तर्फबाट उच्च अदालत विराटनगरमा परेको पुनरावेदनपत्र ।
यसमा प्रतिवादी प्रकाश थापाले अदालतमा आई बयान गर्दा वारदात मिति र समयमा आफू अन्यत्र रहेको भनी लिएको जिकिर र आफ्नो उक्त जिकिरलाई निजका साक्षी गीताकुमारी थापाले अदालतमा आई बकपत्र गर्दा पुष्टि गरिरहेको स्थितिमा सुरू मोरङ जिल्ला अदालतको मिति २०७२।१२।२४ को फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. तथा उच्च अदालत नियमावली, २०७३ को नियम ११२ को प्रयोजनार्थ पुनरावेदनपत्रको प्रतिलिपिसहित पेसीको जानकारी उच्च सरकारी वकिल कार्यालय, विराटनगरलाई जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने उच्च अदालत विराटनगरबाट मिति २०७४।९।२६ मा भएको आदेश ।
प्रतिवादीले अनुसन्धानको बयान आफ्नो बेहोरा नभएको भनी उल्लेख गरे तापनि सोको स्पष्ट आधार कारण तथा प्रमाणबाट पुष्टि भएको छैन । पीडिता, जाहेरवाला, घटना विवरण कागजात गर्ने मानिस तथा वस्तुस्थितिका मानिसको भनाइसमेतबाट निजको अनुसन्धानको बयान खण्डित भएको अवस्थामा अनुसन्धानको बयान बेहोरा आफ्नो नभएको भन्ने जिकिर न्यायोचित देखिएन । अत: यी पुनरावेदक प्रतिवादी प्रकाश थापालाई मुलुकी ऐन, जबरजस्ती करणी महलको ३(३) नं. बमोजिम ८ वर्ष कैद र ऐ. ३क. नं. बमोजिम थप ५ वर्ष कैद ठहर गरी प्रतिवादीबाट पीडिताले रू.२५,०००।- क्षतिपूर्तिसमेत भरी पाउने ठहर गरेको सुरू फैसला अन्यथा देखिन नआएकाले सदर हुने ठहर्छ भन्नेसमेत उच्च अदालत विराटनगरबाट मिति २०७५।२।१६ मा भएको फैसला ।
म पुनरावेदकलाई कसुरदार ठहर गरी सामूहिक जबरजस्ती करणीको वारदात ठहर गर्न मुख्य आधार बनाइएको जाहेरी दरखास्त Abso।ute प्रमाण होइन । स्वस्थ्य परीक्षणको क्रममा Medica। History मा पीडितले कुन व्यक्तिले यौन दुर्व्यवहार गरेको हो भनी खुलाउन सकेको अवस्था छैन । पीडिताको भनाइ तथा प्रत्यक्षदर्शी भनी कागज गर्ने व्यक्तिको कागज तथा बकपत्र गर्ने मानिसको भनाइ एकआपसमा नमिलेको र स्वास्थ्य परीक्षण प्रतिवेदनले वारदात पुष्टि गर्न नसकेको अवस्थालाई अनदेखा गरी कसुरदार ठहर गरेको फैसला मिलेको छैन । अनुसन्धानको क्रममा भएको मेरो बयानलाई आधार मानी गरिएको फैसला फौजदारी न्यायको मान्य सिद्धान्त प्रतिकूल हुँदा उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी प्रकाश थापाको तर्फबाट यस अदालतमा परेको पुनरावेदन-पत्र ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजातहरूको अध्ययन गरियो ।
यसमा उच्च अदालत विराटनगरबाट मिति २०७५।२।१६ मा भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादीहरू प्रकाश थापा, पप्पु कार्की र अशोककुमार बस्नेतसमेतले सांकेतिक नाम (V) कुमारीलाई सामूहिक रूपमा जबरजस्ती करणी गरेको हुँदा निज प्रतिवादीहरूलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. विपरीत ३(३) नं. को कसुर अपराधमा सोही महलको ३(३) नं. बमोजिम सजाय गरी प्रतिवादीहरूले पीडितलाई सामूहिक रूपमा जबरजस्ती करणी गरेको हुँदा सोही महलको ३क. नं. बमोजिम थप सजायसमेत गर्न साथै सोही महलको १० नं. बमोजिम प्रतिवादीहरूबाट पीडितालाई क्षतिपूर्ति दिलाई भराई दिन अभियोग दाबी रहेको देखियो । प्रतिवादी प्रकाश थापालाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(३) नं. बमोजिम ८ वर्ष कैद तथा सोही महलको ३क. नं. बमोजिम थप ५ वर्ष कैद सजाय हुने र निज प्रतिवादीबाट पीडिताले रू.२५,०००।- क्षतिपूर्तिसमेत भराई लिन पाउने साथै, फरार प्रतिवादीहरू पप्पु कार्की र अशोककुमार बस्नेतका हकमा मुद्दा मुल्तबीमा राख्ने गरी मोरङ जिल्ला अदालतबाट फैसला भएको
देखियो । उक्त फैसला सदर गरी उच्च अदालत विराटनगरबाट मिति २०७५।२।१६ मा भएको फैसलाउपर प्रतिवादी प्रकाश थापाको तर्फबाट यस अदालतमा पुनरावेदन दर्ता भएको पाइयो ।
३. प्रतिवादीको पुनरावेदन हेर्दा, जबरजस्ती करणीको वारदात ठहर गर्न जाहेरी दरखास्त मात्र पर्याप्त प्रमाण होइन । पीडित, प्रत्यक्षदर्शी भनिएका व्यक्ति तथा बकपत्र गर्ने मानिसको भनाइ एक-आपसमा नमिलेको अवस्थालाई अनदेखा गरी कसुरदार ठहर गरेको फैसला नमिलेको हुँदा बदर भई पुनरावेदकले अभियोग दाबीबाट सफाइ पाउनु पर्दछ भन्ने प्रतिवादी प्रकाश थापाको मुख्य पुनरावेदन जिकिर रहेको
देखियो । फरार रहेका प्रतिवादीहरू पप्पु कार्की र अशोककुमार बस्नेतको हकमा मुद्दा मुलतबीमा रहेको देखिँदा निज प्रतिवादीहरूको हकमा थप विचार गरिरहन परेन ।
४. प्रतिवादी प्रकाश थापाको उल्लिखित पुनरावेदन जिकिरका सम्बन्धमा विचार गर्दा, वर्ष १५ की सांकेतिक नाम (V) कुमारीलाई प्रतिवादीहरू प्रकाश थापा, पप्पु कार्की र अशोककुमार बस्नेतले पालैपालो सामूहिक रूपमा जबरजस्ती करणी गरेकोले प्रतिवादीहरूलाई कानूनबमोजिम सजाय गरिपाउँ भनी जाहेरी परेको देखिन्छ । घटनास्थल मुचुल्काबाट वारदातस्थल जङ्गलको घारी भएको, सो ठाउँमा आलो स्याउला ओछ्याएको, सो स्याउला र जमिनहरू प्रतिकारको क्रममा माडिएको जस्तो देखिएको भन्ने देखिन्छ । जङ्गलमा घाँस दाउरा लिन आएका मानिसले बेहोस अवस्थामा उद्धार गरी विराटचोक स्थित प्रहरी विटसम्म पुर्याई दिएको भन्ने पीडित (V) कुमारीको घटना विवरण कागज रहेको देखिन्छ । पीडितलाई सामूहिक रूपमा करणी गरिरहेको अवस्थामा फेला पारी बचाई ल्याएको भनी भागोदेवी खवाससमेतले घटना विवरण कागज लेखाई दिएको पाइन्छ । साथै, पीडितको शारीरिक परीक्षण प्रतिवेदन हेर्दा, सांकेतिक नाम (V) कुमारीको Hymen: Absent; Bi।atera। excoriations at the groin in the ।ower part at the g।utea। region भन्ने बेहोरा उल्लेख भएको देखिएको छ । तसर्थ, उल्लिखित मिसिल संलग्न प्रमाणहरूबाट पीडित (V) कुमारीउपर जबरजस्ती करणीको घटना वारदात (Corpus De।icti) भएको भन्ने तथ्य पुष्टि भएको देखियो ।
५. अब, पुनरावेदक प्रतिवादीको उक्त जबरजस्ती करणीको वारदातमा संलग्नता रहे नरहेको सम्बन्धमा हेर्दा, निज प्रतिवादी प्रकाश थापाले कसुर गरेकोमा इन्कार रही अदालतमा बयान गरेको पाइन्छ । तर निज प्रतिवादीले पप्पु कार्की र अशोक बस्नेतसमेत मिली अर्जुन भण्डारीको मोटरसाइकलमा हाली पीडित (V) कुमारीलाई एकान्त जङ्गलमा लगी तीनैजनाले पालैपालो जबरजस्ती करणी गरेको हो भनी कसुर गरेकोमा साबिती भई अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेको देखिन्छ । मोटरसाइकलमा राखी पीडितलाई लगेको भन्ने निज प्रतिवादीको भनाइ र प्रतिवादी पप्पु कार्कीले आफ्नो घरबाट मोटरसाइकल मागेर लगेको थियो भनी अर्जुन भण्डारीले गरिदिएको घटना विवरण कागजको बेहोरा मेल खान आएको छ ।
६. पीडित परिवर्तित नाम (V) कुमारीले आफूलाई तीनजना प्रतिवादीहरूले पालैपालो जबरजस्ती करणी गरेको भनी मौकामा कागज गरिदिएको र सो कागजलाई समर्थन गर्दै पहिला पप्पु कार्कीले त्यसपछि प्रकाश थापा र त्यसपछि अशोक बस्नेतले जबरजस्ती करणी गरेको हो भनी अदालतमा उपस्थित भई बकपत्रसमेत गरेको पाइन्छ ।
७. पीडित नाबालिकालाई जबरजस्ती करणी गरेको प्रत्यक्ष रूपमा देखेको भनी चस्मदिद गवाह भागोदेवी खवास र सहरवती खवाससमेतले घटना विवरण कागज लेखाइदिएको र निजहरूले अदालतमा आई प्रतिवादीहरू ३ जनामध्ये दुईजनाले पीडितलाई समाई रहेको र एकजना माथि चढेर करणी गरिरहेको देखेको भनी मौकाको भनाइ समर्थित हुने गरी बकपत्रसमेत गरेको
पाइन्छ । त्यसैगरी, प्रतिवादीहरूले पीडित नाबालिकालाई जबरजस्ती करणी गरेको हुँदा सजाय हुनुपर्छ भनी मौकामा वस्तुस्थिति मुचुल्का गर्दा लेखाइदिने फूलमाया राईले सो बेहोरालाई समर्थन गरी प्रकाश थापासमेतका मान्छेले जबरजस्ती करणी गरेको हो भनी अदालतमा समेत बकपत्र गरेको देखिन्छ ।
८. प्रस्तुत घटना वारदातको सम्बन्धमा प्रमाणको मूल्याङ्कन गरी हेर्दा, पीडित परिवर्तित नाम (V) कुमारी उमेर १५ वर्षकी नाबालिका रहेको भन्ने देखिन्छ । निज पीडितलाई जङ्गलमा जबरजस्ती करणी गरिरहेको अवस्थामा देख्ने प्रत्यक्षदर्शी व्यक्तिहरू पनि रहेका छन् । निज प्रत्यक्षदर्शी व्यक्तिहरू पनि जङ्गलमा घाँस दाउरा काट्न गएको अवस्थामा पीडितको आवाज सुनी पीडितलाई बचाउने कार्य गरेको र पीडितलाई उद्धार गरी प्रहरीको जिम्मा दिन ल्याएको भन्ने खुलेको छ । सामान्यतया जबरजस्ती करणीको कसुर अपराधको वारदात लुकुछिपी गर्ने हुँदा प्रत्यक्षदर्शी व्यक्ति नरहने हुन्छ । तर प्रस्तुत मुद्दाको वारदातमा कसुर गरिरहेको अवस्थामा नै प्रत्यक्ष देख्ने र कसुरदारको पञ्जाबाट पीडितलाई बचाई प्रहरी बिटसम्म ल्याउने व्यक्ति रहेको कुरा निज प्रत्यक्षदर्शीहरूको मौकाको कागज तथा सो कुरा पुष्टि हुने गरी अदालतमा गरेको बकपत्रबाट देखिन आएको छ । यस्तो प्रमाणलाई जबरजस्ती करणीजस्तो गम्भीर प्रकृतिको कसुरमा महत्त्वका साथ प्रमाणमा ग्रहण गर्नै पर्ने हुन्छ ।
९. पीडितको शारीरिक जाँच हुँदा निजको Hymen नरहेको भन्ने देखिएको छ । साथै, पीडितको नितम्बको तल्लो भागको (।ower part of g।utea। region) दुवैपट्टि कोतरिएको भन्ने निजको शारीरिक परीक्षण प्रतिवेदनबाट देखिन आएको
छ । घटना वारदातपश्चात् भएको पीडितको शारीरिक परीक्षण प्रतिवेदनले वस्तुगत प्रमाणको स्थान
लिन्छ । त्यसैगरी, स्वयम् पीडित जो घटनाको असर र प्रभावबाट पीडामा परेको हुन्छ त्यस्तो व्यक्तिको कथनलाई जबरजस्ती करणीजस्तो कसुरमा झनै महत्त्वपूर्ण प्रमाण मानिन्छ ।
१०. पीडितले अदालतमा बकपत्र गर्दा मौकाको कागजलाई समेत समर्थन गरी आफूलाई प्रतिवादीहरूले सामूहिक रूपमा जबरजस्ती करणी गरेको भनी लेखाएको बेहोरालाई प्रत्यक्ष प्रमाण मान्नु पर्ने हुन्छ । पीडिताले आफूलाई प्रतिवादीहरूले जबरजस्ती करणी गरेको भनी घटनाको बारेमा व्यक्त गरेको कुरा तथा घटनाका प्रत्यक्षदर्शी भागोदेवी खवाससमेतले घटनाको बारेमा व्यक्त गरेको कुरा निजहरूले अदालतमा गरेको बकपत्रसमेतबाट समर्थित भएकाले सो कुरालाई प्रमाण ऐन, २०३१ को दफा १० तथा १८ बमोजिम प्रमाणमा लिन मिल्ने
देखिन्छ । साथै पीडितको शारीरिक परीक्षणबाट निजउपर जबरजस्ती करणी भएको भन्ने पनि देखिन आएको छ । अत: पीडित तथा प्रत्यक्षदर्शी व्यक्तिको बकपत्रमा उल्लिखित भनाइसमेतबाट पुनरावेदक प्रतिवादीले तीनजनाको समूह भई पीडिता परिवर्तित नाम (V) कुमारीलाई जबरजस्ती करणी गरेको भन्ने पुष्टि हुन आयो ।
११. पुनरावेदक प्रतिवादीले जबरजस्ती करणी गरेको होइन भनी लिएको जिकिरलाई प्रमाण पेस गरी पुष्ट्याईं गर्ने भार पुनरावेदक प्रतिवादीमै रहन्छ । प्रमाण ऐन, २०३१ को दफा २७(१) मा “प्रचलित नेपाल कानूनबमोजिम सजायमा कमी वा छुट हुने वा सजायबाट रिहाई पाउने कुनै कुराको जिकिर प्रतिवादीले लिएमा सो कुराको प्रमाण पुर्याउने भार निजको हुनेछ” भन्ने कानूनी व्यवस्था रहेको
छ । प्रतिवादीले आफूसमेत भई पीडितलाई सामूहिक रूपमा जबजरजस्ती करणी गरेको होइन भनी प्रमाण पेस गर्न तथा सो कुराको पुष्टि गर्नसकेको मिसिल संलग्न प्रमाणबाट देखिँदैन ।
१२. मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. मा कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा जबरजस्ती करणी गरेको ठहर्ने कानूनी व्यवस्था रहेको देखिन्छ । प्रस्तुत मुद्दाका पीडित सांकेतिक नाम (V) कुमारी वर्ष १५ की रहेको हुँदा निजलाई करणी गरेको कार्य स्वत: जबरजस्ती करणी ठहरिने अवस्था रहेको छ । सोही जबरजस्ती करणीको ३(३) नं. मा जबरजस्ती करणी गर्नेलाई चौध वर्ष वा सोभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए छ वर्षदेखि दश वर्षसम्म कैद सजाय हुने कानूनी प्रावधान रहेको देखिन्छ । साथै, सो जबरजस्ती करणीको ३क. नं. मा सामूहिक रूपमा जबरजस्ती करणी गर्नेलाई थप पाँच वर्ष कैद गर्नु पर्ने कानूनी व्यवस्था रहेको पाइन्छ ।
१३. मुलुकी ऐन, जबरजस्ती करणीको महलमा सामूहिक जबरजस्ती करणीको विस्तृत परिभाषा गरेको पाइँदैन । यस सन्दर्भमा सर्वोच्च अदालतबाट ने.का.प.२०७५, अंक ३, नि.नं. ९९८१ मा प्रकाशित जबरजस्ती करणी मुद्दामा “मुलुकी ऐनले यसप्रकारको विस्तृत व्यवस्था नगरेकोले हाम्रो सन्दर्भमा दुई वा दुईभन्दा बढी व्यक्तिले पीडितउपर जबरजस्ती करणी गर्छ भने त्यसप्रकारको करणीलाई सामूहिकरूपमा गरेको जबरजस्ती करणी मान्नुपर्छ । यसप्रकारको करणी स्थापित हुनको लागि आवश्यक तत्त्व भनेको करणी कार्यमा एकभन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको हुनुपर्छ” भन्ने न्यायिक व्याख्या भई सामूहिक जबरजस्ती करणीको परिभाषा गरिएको पाइन्छ । उक्त परिभाषा तीनजना प्रतिवादीहरू संलग्न भई सामूहिक जबरजस्ती करणी गरेको भन्ने अभियोग दाबी रहेको प्रस्तुत मुद्दाका सम्बन्धमा सान्दर्भिक नै देखिन्छ ।
१४. प्रस्तुत मुद्दामा जाहेरवाला, पीडित, प्रत्यक्षदर्शीसमेत सबै व्यक्तिहरूले तीनजना प्रतिवादीहरूले पालैपालो जबरजस्ती करणी गरेको भनी स्पष्ट बकपत्र गरेको पाइन्छ । पुनरावेदक प्रतिवादीबाहेक अन्य दुईजना प्रतिवादीहरू अदालतमा उपस्थित नै नभई फरार रहेकाले निजहरूउपरको अभियोग दाबीको हकमा मुल्तबी रहेको देखिन्छ । निजहरू फरार रहेकै कारण एकजना प्रतिवादी मात्र उपस्थित भएको अवस्थामा सामूहिक जबरजस्ती करणीको कसुर हुन नसक्ने भन्ने
हुँदैन । सबै प्रतिवादीहरू एकैपटक पक्राउ पर्न नसकेको अवस्थामा पनि मिसिल संलग्न तथ्य प्रमाणहरूको आधारमा उक्त जबरजस्ती करणीको ३क. नं. बमोजिमको सामूहिक जबरजस्ती करणीको कसुर हुने नहुने निष्कर्ष निकाल्न मिल्ने नै हुन्छ । प्रतिवादी फरार रहेको कारणले मात्र जबरजस्ती करणीको ३क. नं. आकर्षित नहुने भन्ने हुँदैन ।
१५. कानूनको पालना नगरी कुनै कसुर अपराध हुने कार्य गरेमा सो कसुर गरेबापत सजाय भोग्नु पर्ने दायित्व त्यस्तो कसुर गर्ने व्यक्तिको
हुन्छ । कुनै व्यक्ति विरूद्ध कुनै कसुरको अभियोग लागी अदालतमा मुद्दा दायर भएपछि सो अभियोगलाई खण्डन गरी आफ्नो निर्दोषिता पुष्टि गर्नु वा त्यस्तो अभियोग स्वीकार गरी सजाय भोग्न तयार हुनु सो व्यक्तिको कर्तव्य हुन आउँछ । कुनै व्यक्तिउपर लागेको अभियोगका सम्बन्धमा निजको भनाइ सुन्ने पद्धतिलाई प्राकृतिक न्यायको सिद्धान्तले नै संरक्षण गरेको छ । तर कानूनबमोजिमको रीत पुर्याई सूचना दिँदासमेत अदालतमा उपस्थित नभई कुनै अभियुक्त फरार रहन्छ भने निजको उपस्थितिपश्चात् अदालतबाट हुने इन्साफको अनुमान गरी उपस्थित सहप्रतिवादीको हकमा समूहिक रूपमा गरेको आपराधिक कार्यको दायित्वलाई समेत स्थगित गरी राख्न मिल्दैन । मिसिल संलग्न तथ्य प्रमाणसमेतबाट सामूहिक जबरजस्ती करणी भएको पुष्टि भइरहेको अवस्थामा फरार रहेका प्रतिवादीहरूको हकमा मुद्दा मुल्तबी रहेको भन्ने कारणले मात्र प्रस्तुत मुद्दाका पुनरावेदक प्रतिवादीले गरेको सामूहिक जबरजस्ती करणीको कसुरको दायित्वबाट निजलाई उन्मुक्ति दिनु न्यायसङ्गत पनि हुँदैन ।
१६. वस्तुत: प्रस्तुत मुद्दाका पुनरावेदक प्रतिवादीले तीनजनाको समूह भई पीडितलाई जबरजस्ती करणी गरेको पुष्टि हुन आएको हुँदा सामूहिक रूपमा जबरजस्ती करणी गरेको देखिन आएको छ । पीडिताले अदालत तथा अनुसन्धानमा प्रतिवादीहरूले सामूहिक रूपमा आफूलाई जबरजस्ती करणी गरेको भनी लेखाई बकपत्रसमेत गरेकी छिन् । प्रत्यक्षदर्शीको मौकाको कागज र बकपत्र एवम् पीडितको शारीरिक परीक्षण प्रतिवेदनसमेतबाट प्रतिवादी प्रकाश थापाले पीडितालाई सामूहिक रूपमा जबरजस्ती करणी गरेको पुष्टि हुन आएको छ । तसर्थ, उल्लिखित मिसिल संलग्न कागज प्रमाणहरूबाट पुनरावेदक प्रतिवादी प्रकाश थापाले १५ वर्षकी पीडित नाबालिकालाई समूहिक रूपमा जबरजस्ती करणी गरेको पुष्टि हुन आएको हुँदा निज प्रतिवादी प्रकाश थापालाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(३) नं. तथा ३क. नं. बमोजिम थप कैद सजायसमेत गरी निज प्रतिवादीबाट पीडिताले रू.२५,०००।- क्षतिपूर्ति भरी पाउने गरी पुनरावेदन अदालत विराटनगरबाट भएको फैसला अन्यथा देखिन आएन ।
१७. अत: माथि विवेचित आधार कारणसमेतबाट प्रतिवादी प्रकाश थापालाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(३) नं. बमोजिम ८ वर्ष कैद र ऐ. ३क. नं. बमोजिम थप ५ वर्ष कैद हुने साथै प्रतिवादीबाट पीडिताले रू.२५,०००।- क्षतिपूर्तिसमेत भरी पाउने गरी सुरू मोरङ जिल्ला अदालतबाट भएको फैसला सदर गरी उच्च अदालत विराटनगरबाट मिति २०७५।२।१६ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदक जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसलाको प्रतिलिपि साथै राखी कारागार कार्यालय मोरङमार्फत सो कारागारमा थुनामा रहेका पुनरावेदक प्रतिवादी प्रकाश थापालाई फैसलाको जानकारी दिनू । यस फैसलाको विद्युतीय प्रति अपलोड गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.पुरूषोत्तम भण्डारी
इजलास अधिकृतः- दिपेन्द्र थापा मगर
इति संवत् २०७६ साल मंसिर ८ गते रोज १ शुभम् ।