निर्णय नं. १०४१७ - लागु औषध

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
फैसला मिति : २०७६।८।५
मुद्दा: लागु औषध
०७२-CR-१५०५
पुनरावेदक / प्रतिवादी : छन्दासिं तामाङको छोरा धादिङ जिल्ला झारालाङ गा.वि.स. वडा नं. ७ संयुङ घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा थुनामा रहेको रमेश भन्ने बै लामा
विरूद्ध
प्रत्यर्थी / वादी : प्र.ना.नि. सुनिल श्रेष्ठसमेतको प्रतिवेदनले नेपाल सरकार
०७२-CR-१९२६
पुनरावेदक / प्रतिवादी : शिव मंगल सहनीको छोरा पर्सा जिल्ला लिपनी गा.वि.स. वडा नं. ५ घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा थुनामा रहेको जियालाल सहनी
विरूद्ध
प्रत्यर्थी / वादी : प्र.ना.नि. सुनिल श्रेष्ठसमेतको प्रतिवेदनले नेपाल सरकार
०७३-CR-००३१
पुनरावेदक / प्रतिवादी : नेमा थापा तामाङको छोरा धादिङ जिल्ला तिम्लिङ गा.वि.स. वडा नं. ४ घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा थुनामा रहेको ए थापा तामाङ
विरूद्ध
प्रत्यर्थी / वादी : प्र.ना.नि. सुनिल श्रेष्ठसमेतको प्रतिवेदनले नेपाल सरकार
०७३-CR-०१३४
पुनरावेदक / प्रतिवादी : वासुदेव राउत कुर्मीको छोरा पर्सा जिल्ला वीरगन्ज उपमहानगरपालिका वडा नं. १८ घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा थुनामा रहेको महेशप्रसाद कुर्मी
विरूद्ध
प्रत्यर्थी / वादी : प्र.ना.नि. सुनिल श्रेष्ठसमेतको प्रतिवेदनले नेपाल सरकार
सामान्यतः फौजदारी कसुरमा प्रति अभियुक्तउपरको कसुर छुट्टाछुट्टै प्रमाणित हुनुपर्ने तथा कसुरको मात्रासमेत प्रति अभियुक्त स्थापित हुनुपर्ने हुन्छ तथापि सामूहिक रूपमा एकआपसमा संगठित जालो भई गरेको कसुरमा कसुरको मात्रा पनि सामूहिक रूपमै समान हुने ।
केवल फरक-फरक स्थानमा पक्राउ परेको तथा सबैको साथबाट लागु औषध बरामद नभएको कारणले मात्र प्रतिवादीहरूको कसुरको मात्रा पनि फरक रहेको अनुमान गर्न नमिल्ने ।
(प्रकरण नं.१३)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा, विद्वान् अधिवक्ताहरू श्री मोहनबहादुर बन्जारा क्षेत्री, श्री राधिका महत, श्री राजुप्रसाद धिमाल, श्री दिलकुमारी राई, श्री महेश नारायण दास
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश गौतम
अवलम्बित नजिर :
ने.का.प.२०७५, अंक ८, नि.नं.१००७५
सम्बद्ध कानून :
लागु औषध (नियन्त्रण) ऐन, २०३३
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्ने:
माननीय न्यायाधीश श्री कुलप्रसाद शर्मा
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री मोहनबहादुर कार्की
माननीय न्यायाधीश श्री मनोजकुमार शर्मा
पुनरावेदन अदालत पाटन
यस अदालतमा पुनरावेदन परेको मितिः-
२०७२/१२/१६
२०७३/०२/२३
२०७३/०४/०७
२०७३/०४/३१
फैसला
न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्र परी पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः-
तथ्य खण्ड
का.जि.का.म.पा. वडा नं. २९ स्थित नयाँ बस पार्कबाट बाहिर निस्कने मुल गेटअगाडि बायाँतर्फको सार्वजनिक सडक किनारामा मिति २०६९/०६/०२ को बिहान ६:०० बजेको समयमा शंकास्पद रूपमा फेला परेका ए थापा तामाङ र जयराम तामाङलाई नियन्त्रणमा लिई निजहरूको शरीर तलासी लिँदा ए थापा तामाङले पिठ्युँमा बोकेको Jhon लेखिएको झोलाभित्र कालो प्लास्टिकको एउटा पोका फेला परेकोले खोली हेर्दा लागु औषध खैरो हेरोइन फेला परेकोले उक्त लागु औषध तौल गर्दा जम्मा ५३० (पाँच सय तीस) ग्राम लागु औषध खैरो हेरोइन फेला परेको, निज ए थापा तामाङको शरीरमा र जयराम तामाङको शरीरमा अन्य कुनै अवैध चीजवस्तु फेला नपरेको भन्नेसमेत बेहोराको मिति २०६९/०६/०२ को खानतलासी / बरामदी मुचुल्का ।
धादिङ जिल्लातिर घर भएका ए थापा तामाङ, जयराम तामाङसमेतले लागु औषध खैरो हेरोइन संकलन गरी ल्याई काठमाडौंमा बिक्रीसमेतको कारोबार गर्दै आएका छन् भन्ने विशेष सुराकीबाट जानकारी प्राप्त हुन आएकोले निज जयराम तामाङसमेतको खोजतलास गर्दै जाँदा का.जि.का.म.पा. वडा नं. २९ स्थित नयाँ बस पार्कबाट बाहिर निस्कने मूल गेटअगाडि बायाँतर्फको सार्वजनिक सडक किनारामा मिति २०६९/०६/०२ को बिहान ६:०० बजेको समयमा शंकास्पद रूपमा फेला परेका रमेश भन्ने बै लामा र जयराम तामाङलाई नियन्त्रणमा लिई निजहरूको शरीर तलासी लिँदा ए थापा तामाङले पिठ्युँमा बोकेको Jhon लेखिएको झोलाबाट बरामदी मुचुल्कामा उल्लेख भएबमोजिम जम्मा ५३० (पाँच सय तीस) ग्राम लागु औषध खैरो हेरोइन फेला परेकोले फेला परेको लागु औषध खैरो हेरोइन ५३० ग्राम बरामद गरी ए थापा तामाङ र जयराम तामाङलाई पक्राउ गरी बरामदी लागु औषध खैरो हेरोइनको बारेमा सोधपुछ गर्दा बरामदी लागु औषध खैरो हेरोइन बिक्री गर भनी हामीलाई रमेश भन्ने बै लामाले दिई पठाएका हुन् भनी बताएकोले निजहरूलाई साथमा लिई खोजतलास गर्दै जाँदा गोगंबु गणेश मन्दिरनजिक रहेको नागार्जुन रेस्टुरेन्टअगाडि सार्वजनिक बाटोमा हिँडिरहेको अवस्थामा ए थापा तामाङ र जयराम तामाङले देखाई चिनाइदिएअनुसार फेला परेका रमेश भन्ने बै लामालाई पक्राउ गरी नियन्त्रणमा लिई सोधपुछ गर्दा बरामद लागु औषध खैरो हेरोइनको बारेमा सोधपुछ गर्दा बरामदी लागु औषध खैरो हेरोइन रीता भन्ने कालीमाया तामाङसँग लिई बिक्री गर्नको लागि दिएको भनी बताएकोले निज रमेश भन्ने बै लामालाई पक्राउ गरी रीता भन्ने कालीमाया तामाङको खोजतलास गर्दा नयाँ बस पार्कनजिक रहेको आस्था गेष्ट हाउसअगाडि सार्वजनिक बाटोमा हिँडिरहेको अवस्थामा रमेश भन्ने बै लामाले देखाई चिनाइदिएअनुसार रीता भन्ने कालीमाया तामाङ फेला परेकोले निजलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा रमेश भन्ने बै लामालाई लागु औषध खैरो हेरोइन बिक्रीको लागि मैले दिई पठाएको भनी बताएकीले निजलाई समेत पक्राउ गरी बरामद भएको लागु औषध खैरो हेरोइन ५३० ग्रामसहित ए थापा तामाङ, जयराम तामाङ, रमेश भन्ने बै लामा र रीता भन्ने कालीमाया तामाङलाई पक्राउ गरी कारबाहीको लागि दाखिला गराएका छौं । कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०६९/०६/०२ को प्र.ना.नि. सुनिल श्रेष्ठसमेतको प्रतिवेदन ।
५ जनामध्ये बायाँबाट तेस्रो स्थानमा उभिएका व्यक्ति महेशप्रसाद कुर्मी र बायाँबाट पाँचौ स्थानमा उभिएका व्यक्ति जियालाल सहनी नाम गरेको व्यक्ति मैले तत्काल मौखिक पोल गरेको व्यक्तिहरू हुन्, मैले बरामदी लागु औषध खैरो हेरोइन महेशप्रसाद कुर्मीमार्फत जियालाल सहनीसँग खरिद गरी लिएको हुँ । निज महेशप्रसाद कुर्मी र जियालाल सहनीलाई देखी चिनी सनाखत गरिदिएँ भन्नेसमेत बेहोराको मिति २०६९/०६/०५ को प्रतिवादी रीता भन्ने कालीमाया तामाङले गरेको सनाखत कागज ।
काठमाडौंमा बसी मजदुरीको काम गर्दै आएकोमा हाल मसँगै पक्राउमा परेका गाउँको भतिजो जयराम तामाङसँग कुराकानी हुने क्रममा मैले लागु औषध खैरो हेरोइन खरिद बिक्रीको काम गर्न लागेको छु, बिक्री गर्नको लागि लागु औषध खैरो हेरोइन साथी रमेश भन्ने बै लामासँग लिई जेम्स भन्नेलाई बिक्री गर्ने हो, तिमी र म भएर लागु औषध बिक्री गरौँ हामीलाई फाइदा हुन्छ भनी भएको कुराकानी सरसल्लाहअनुसार हाल बरामद भएको लागु औषध खैरो हेरोइन रमेश भन्ने बै लामासँग रू.३,००,०००।– मा बिक्री भएपछि पैसा दिने गरी लिई जयराम तामाङले मिलाएको जेम्स भन्ने व्यक्तिलाई रू.४,००,०००।- मा बिक्री गर्न भनी बिक्री गर्ने लागु औषध खैरो हेरोइन साथमा बोकी म र जयराम तामाङ नयाँ बसपार्क पस्ने गेटअगाडि गई जेम्स भन्ने व्यक्तिको प्रतिक्षा गरी बसेको अवस्थामा जेम्स भन्ने व्यक्तिले प्रहरीलाई सुराक दिई साथमा सादा पोसाकका प्रहरीलाई ल्याई लागु औषध खैरो हेरोइनसहित जयराम तामाङ र मलाई पक्राउ गराइदिएका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी ए थापा तामाङले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
काठमाडौंमा बस्ने क्रममा रमेश भन्ने बै लामासँग भेट भई कुराकानी हुँदा मसँग बिक्री गर्ने लागु औषध छ तिमीले कोही लागु औषध खरिद गर्ने मानिस चिनेको छौ भने बिक्री गर फाइदा हुन्छ भनी गरेको सरसल्लाहअनुसार लागु औषध खैरो हेरोइन खरिद गर्ने ग्राहकको खोजी गर्दा एकजना जेम्स भन्ने व्यक्तिसँग चिनजान परिचय भई निजले मसँग लागु औषध खैरो हेरोइन खरिद गर्छु भनी भनेकोले मैले गाउँको काका ए थापा तामाङसँग भेट गरी लागु औषध खैरो हेरोइन बिक्री गरौं भनी सल्लाह गरी ए थापा तामाङ र म भई रमेश भन्ने बै लामासँग बिक्री भएपछि पैसा दिने गरी रू.३,००,०००।– मा बरामदी लागु औषध खैरो हेरोइन लिई काका ए थापा तामाङलाई बोक्न दिई ए थापा तामाङ र म भई रू.४,००,०००।– मा जेम्स भन्ने व्यक्तिलाई बिक्री गर्न भनी नयाँ बसपार्क पस्ने गेटअगाडि गई जेम्स भन्ने व्यक्तिको प्रतिक्षा गरी बसेको अवस्थामा जेम्स भन्ने व्यक्तिले प्रहरीलाई सुराक दिई साथमा सादा पोसाकका प्रहरीलाई ल्याई लागु औषध खैरो हेरोइनसहित ए थापा तामाङ र मलाई पक्राउ गराइदिएका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी जयराम तामाङले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
मैले काठमाडौंमा ज्याला मजदुरीको काम गर्दै आएकोमा रीता भन्ने कालीमाया तामाङसँग चिनजान भएको र पक्राउमा पर्नुभन्दा करिब २० दिनअगाडि कालीमाया तामाङले मलाई फोन गरी मसँग बिक्री गर्ने लागु औषध खैरो हेरोइन छ बिक्री गर्नु पर्यो तपाइँले कोही मानिस चिनेको छ भने बिक्री गराई दिनुपर्यो भनी सल्लाह गरेअनुसार मैले पनि जयराम तामाङसँग लागु औषध खैरो हेरोइन बिक्री गर्नको लागि गरेको सल्लाहअनुसार बिक्री भएपछि पैसा दिने गरी मैले कालीमाया तामाङसँग रू.२,५०,०००।– मा लिएको लागु औषध खैरो हेरोइन मलाई रू.३,००,०००।– दिनु भनी मैले जयराम तामाङलाई बिक्री गर्नको लागि दिएकोमा जयराम तामाङ र अर्का ए थापा तामाङ भई नयाँ बस पार्क नजिक जयराम तामाङले मिलाएको लागु औषध खैरो हेरोइन खरिद गर्न आउँछु भन्ने व्यक्तिको प्रतिक्षा गरी बसेको अवस्थामा लागु औषध खरिद गर्छु भन्ने व्यक्तिले नै प्रहरीलाई सुराक दिई लागु औषध खैरो हेरोइनसहित जयराम तामाङसमेतलाई पक्राउ गराइदिएका रहेछन् र निज जयराम तामाङको पोलमा परी मसमेत पक्राउमा परेको हुँ । बरामदी लागु औषध खैरो हेरोइन मैले रीता भन्ने कालीमाया तामाङसँग लिई जयराम तामाङलाई बिक्री गर्न दिएको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी रमेश भन्ने बै लामाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
म आफ्नै गाउँ घरमा बसी खेती किसानीको काम गर्दै आएकोमा मेरो एकजना काठमाडौं बौद्धतिर बस्ने काठमाडौंबाट त्रिशुली आवतजावत गरिरहने जीवन लामासँग चिनजान भएकोले निज जीवन लामा र मेरो बिचमा लागु औषध खैरो हेरोइन खरिदबिक्री गर्नको लागि भएको सरसल्लाहअनुसार जीवन लामाले मलाई वीरगन्जमा लगी महेशप्रसाद कुर्मी र जियालाल सहनीसँग भेटघाट गराई हामी लागु औषध खैरो हेरोइन खरिद गर्न आएको हामीलाई दिन पर्यो भनी माग गरेअनुसार महेशप्रसाद कुर्मी र जियालाल सहनीले दिएको १ (एक) किलोग्राम लागु औषध खैरो हेरोइन रू.४,५०,०००।– मा खरिद गरेको र उक्त लागु औषध खैरो हेरोइन लिँदा पहिला रू.२,००,०००।– बाँकी रू.२,५०,०००।– पछि दिनेगरी लिएपछि आधा किलो लागु औषध खैरो हेरोइन जीवन लामाले लिएर गएको र बाँकी लागु औषध खैरो हेरोइन मैले लिई वीरगन्जबाट काठमाडौंमा ल्याई रमेश भन्ने बै लामालाई बिक्री भएपछि रू.२,५०,०००।– मलाई दिनु भनी बिक्री गर्नको लागि दिएकोमा निज रमेश भन्ने बै लामाले जयराम तामाङलाई बिक्री गर्न दिएको रहेछन्, निज जयराम तामाङ र ए थापा तामाङ लागु औषध खैरो हेरोइन बिक्री गर्न गएकोमा लागु औषध खैरो हेरोइनसहित पक्राउमा परेपछि रमेश भन्ने बै लामाको पोलमा परी मसमेत पक्राउमा परेको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी रीता भन्ने कालीमाया तामाङले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
म आफ्नो गाउँ घरमा नै बसी ज्याला मजदुरीको काम गर्दै आएकोमा बारा जिल्लातिर घर भई वीरगन्ज आवतजावत गरिरहने दिनानाथ दाससँग चिनजान भई लागु औषध खैरो हेरोइन खरिद बिक्री गर्नको लागि भएको सरसल्लाहअनुसार मैले महेशप्रसाद कुर्मीसँग पनि लागु औषध खैरो हेरोइन खरिद बिक्रीको कार्य गर्नको लागि कुराकानी गरेपछि महेशप्रसाद कुर्मीले लागु औषध खैरो हेरोइन खरिद गरी लैजाने जीवन लामा र कालीमाया तामाङलाई लागु औषध बिक्री गर्नको लागि सम्पर्क गराइदिएको हुँदा महेशप्रसाद कुर्मी र म भई मैले सम्पर्क गरेको दिनानाथ दासलाई सम्पर्क गरी निज दिनानाथ दाससँग १ (एक) किलोग्राम लागु औषध खैरो हेरोइन रू.४,००,०००।– मा खरिद गरी जीवन लामा र कालीमाया तामाङलाई रू.४,५०,०००।– मा बिक्री गरेको हौँ । कालीमाया तामाङले लागु औषध खैरो हेरोइन हामीसँग खरिद गर्दा तत्काल रू.२,००,०००।– दिएको र बाँकी रू.२,५०,०००।– पछि दिन्छौं भनेका थिए, सोही बाँकी रकम मिति २०६९/०६/०४ मा दिन्छु भनी कालीमाया तामाङले भनेकोले सोही रकम लिनको लागि आउँदा कालीमाया तामाङ पहिला नै पक्राउमा परिसकेकी रहिछन्, निज कालीमाया तामाङले नै बाँकी पैसा लिन आएको अवस्थामा पोल गरी महेशप्रसाद कुर्मी र मलाई पक्राउ गराइदिएकी हुन् भन्नेसमेत बेहोराको प्रतिवादी जियालाल सहनीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
म आफ्नै जिल्लामा रहेको वीरगन्ज उपमहानगरपालिकामा सवारी कर सङ्कलनकर्ता कर्मचारी हुँ । मैले वीरगन्जमा काम गर्ने क्रममा हाल मसँगै पक्राउमा परेका जियालाल सहनीसँग चिनजान भई लागु औषध खैरो हेरोइन खरिदबिक्री गर्नको लागि भएको सरसल्लाहअनुसार मैले पनि काठमाडौंबाट वीरगन्ज आवतजावत गरिरहने जीवन लामासँग चिनजान परिचय भई लागु औषध खैरो हेरोइन खरिद बिक्री गर्नको लागि भएको सल्लाहअनुसार नै जीवन लामा र कालीमाया तामाङ वीरगन्जमा गई लागु औषध खैरो हेरोइन चाहियो भनेकोले मैले जियालाल सहनी भएको ठाउँमा लगी जीवन लामा र कालीमाया तामाङको भेट गराइदिएको हुँ । मैले निजहरूलाई जियालाल सहनीसँग सम्पर्क गराइदिएपछि जियालाल सहनीले सम्पर्क गरेका दिनानाथ दाससँग १ (एक) किलोग्राम लागु औषध खैरो हेरोइन रू.४,००,०००।– मा खरिद गरी जीवन लामा र कालीमाया तामाङलाई रू.४,५०,०००।– मा बिक्री गरेको हौँ । कालीमाया तामाङले लागु औषध खैरो हेरोइन हामीसँग खरिद गर्दा तत्काल रू.२,००,०००।– दिएको र बाँकी रू.२,५०,०००।– पछि दिन्छौं भनेका थिए, सोही बाँकी रकम मिति २०६९/०६/०४ मा दिन्छु भनी कालीमाया तामाङले भनेकोले सोही रकम लिनको लागि आउँदा कालीमाया तामाङ पहिला नै पक्राउमा परिसकेकी रहिछन्, निज कालीमाया तामाङले नै बाँकी पैसा लिन आएको अवस्थामा पोल गरी जियालाल सहनी र मलाई पक्राउ गराइदिएकी हुन् भन्नेसमेत बेहोराको प्रतिवादी महेशप्रसाद कुर्मीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
मिति २०६९/०६/०२ का दिन प्रतिवादी जयराम तामाङ र ए थापा तामाङ सँगसाथै रहेको अवस्थामा ए थापा तामाङले बोकेको झोलाबाट बरामद भएको लागु औषध खैरो हेरोइन ५३० ग्राममध्येबाट नमुना निकाली बाँकी रहेको लागु औषध खैरो हेरोइन ५२१ ग्राम लागु औषध (नियन्त्रण) ऐन, २०३३ को (संशोधनसहित) दफा ११क. बमोजिम जलाई नष्ट गरिएको भन्नेसमेत बेहोराको मिति २०६९/०६/१५ को मुचुल्का ।
Nce।। बाट प्राप्त भएको कागजातहरू देखाउँदा देखिपाएँ । Nce।। बाट प्राप्त हुन आएको ९८०७२६४६६८ नं. को मोबाइल सिमकार्ड लिँदा पेस भएको आवेदन फाराममा टाँस भएको फोटो मेरो बयानमा उल्लिखित मलाई लागु औषध खैरो हेरोइन बिक्री गर्ने दिनानाथ दासको फोटो हो । निज दिनानाथ दास तात्वा घर बारा जिल्ला रामपुर टोकनी गा.वि.स. वडा नं. ३ ताजपुरमा पर्ने रहेछ, Nce।। बाट प्राप्त कागजातबाट थाहा जानकारी पाएँ भन्नेसमेत बेहोराको प्रतिवादी जियालाल सहनीले गरेको ततिम्बा (थप) बयान कागज ।
Nce।। बाट प्राप्त भएको कागजातहरू देखाउँदा देखिपाएँ । Nce।। बाट प्राप्त हुन आएको ९८०३५४३०३३ नं. को मोबाइल सिमकार्ड लिँदा पेस भएको आवेदन फाराममा टाँस भएको फोटो मेरो बयानमा उल्लिखित जीवन लामाको फोटो होइन । उक्त मोबाइल सिमकार्ड लिने आइतीमाया तामाङलाई म चिन्दिन भन्नेसमेत बेहोराको प्रतिवादी कालीमाया तामाङले गरेको ततिम्बा (थप) बयान कागज ।
मिति २०६९/०६/०२ को दिन प्रतिवादी जयराम तामाङ र ए थापा तामाङ सँगसाथै रहेको अवस्थामा ए थापा तामाङले बोकेको झोलाबाट बरामद भएको लागु औषध खैरो हेरोइन ५३० ग्राममध्येबाट कानूनबमोजिम निकालिएको नमुनामा लागु औषध हेरोइन पाइयो भन्नेसमेत बेहोराको मिति २०६९/०६/०५ को राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमल्टार ललितपुरबाट प्राप्त परीक्षण प्रतिवेदन ।
पक्राउमा परेका प्रतिवादी रीता भन्ने कालीमाया तामाङसमेतको बयान पोलमा परी फरार रहेका जीवन लामा र दिनानाथ दास तात्वासमेतको खोजतलास गर्दा फेला नपरेको भन्नेसमेत बेहोराको मिति २०६९/०८/०७ को प्र.ना.नि. सुनिल श्रेष्ठको प्रतिवेदन ।
मिसिल संलग्न बरामदी/खानतलासी मुचुल्का, प्र.ना.नि. सुनिल श्रेष्ठसमेतको प्रतिवेदन, पक्राउमा परेको प्रतिवादीहरू ए थापा तामाङ, जयराम तामाङ, रमेश भन्ने बै लामा, रीता भन्ने कालीमाया तामाङ, जियालाल सहनी, महेशप्रसाद कुर्मीको बयान कागज र परीक्षण प्रतिवेदनसमेतका आधार प्रमाणहरूबाट मिति २०६९/०६/०२ को दिन बिहान ६:०० बजेको समयमा का.जि.का.म.पा. वडा नं. २९ स्थित नयाँ बसपार्कबाट बाहिर निस्कने मूल गेटअगाडि बायाँतर्फको सार्वजनिक सडक किनारामा शंकास्पद रूपमा ए थापा तामाङ र जयराम तामाङ सँगसाथै उभिइरहेको अवस्थामा ए थापा तामाङले पिठ्युँमा बोकेको Jhon लेखिएको झोलाभित्र रहेको कालो प्लाष्टिकको पोकामा लागु औषध खैरो हेरोइन ५३० ग्राम फेला परी प्रतिवादी ए थापा तामाङ र जयराम तामाङ पक्राउमा परी निजहरूकै पोलबाट लागु औषध खैरो हेरोइन बिक्री गर्न दिने रमेश भन्ने बै लामा, रीता भन्ने कालीमाया तामाङ पक्राउमा परेको र निज रीता भन्ने कालीमायाको पोलमा परी लागु औषध खैरो हेरोइन बिक्री गर्ने जियालाल सहनी र महेशप्रसाद कुर्मी पक्राउमा परेको वारदात स्थापित हुन आएको, निज प्रतिवादीहरूको सो कार्य लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को (घ) र (च) को कसुर देखिँदा निज प्रतिवादीहरूउपर सोही ऐनको दफा १४ (१) (छ) (३) बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग पत्र ।
मिसिल सामेल बरामद भएको भनिएको वस्तु मबाट बरामद भएको होइन, को-कोबाट भएको हो थाहा भएन, अनुसन्धानको बयान बेहोरा मेरो होइन, कसुर नगरेको हुँदा सजाय हुने होइन भन्नेसमेत बेहोराको प्रतिवादी जियालाल सहनीले अदालतसमक्ष गरेको बयान ।
बरामद भएका भनिएका ए थापा र जयराम तामाङलाई मैले चिनेको छैन, अनुसन्धानको बयान बेहोरा मेरो होइन, मैले कसुर नगरेको हुँदा सजाय हुने होइन भन्नेसमेत बेहोराको प्रतिवादी कालीमाया तामाङले अदालतसमक्ष गरेको बयान ।
कालीमायाले मलाई कालो झोला जीवनलाई दिनु भनी दिएकी थिइन्, सोमा के थियो थाहा भएन, जीवनले १५ मिनेटमा आउँछु भनेका थिए, निजलाई पर्खिरहेको अवस्थामा ए थापा तथा प्रहरीसमेत आई पक्राउ गरेको हो । प्रतिवादी जयराम तामाङबाट केही बरामद भएको होइन भन्नेसमेत बेहोराको प्रतिवादी रमेश भन्ने बै लामाले अदालतसमक्ष गरेको बयान ।
म र मेरो भतिज जयराम तामाङ मोटरसाइकलको कर तिरी फर्कंदै गर्दा बसपार्क नजिक पानी परेकोले ओत लागी चिया खाई बसेको, त्यहाँ रमेश पनि चिया खाई बसेका रहेछन्, सोही बेला प्रहरी आई निजलाई पक्राउ गर्दा मैले प्रहरी भन्ने नचिनी बचाउन खोज्दा यो पनि हो भनी म र जयराम तामाङसमेत पक्राउ गरेको हो, बरामद सामान जयराम र मबाट भएको होइन भन्नेसमेत बेहोराको प्रतिवादी ए थापा तामाङले अदालतसमक्ष गरेको बयान ।
म र मेरो काका मोटरसाइकलको कर तिरी फर्कंदै गर्दा बसपार्कनजिक पानी परेकोले ओत लागी चिया खाई बसेको, त्यहाँ रमेश पनि चिया खाई बसेका रहेछन्, सोहीबेला प्रहरी आई निजलाई पक्राउ गर्दा मैले प्रहरी भन्ने नचिनी बचाउन खोज्दा यो पनि हो भनी मलाई र मेरो काकासमेतलाई पक्राउ गरेको हो, बरामद सामान मबाट बरामद भएको होइन भन्नेसमेत बेहोराको प्रतिवादी जयराम तामाङले अदालतसमक्ष गरेको बयान ।
तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीहरू निर्दोष छन् भन्न सकिने अवस्था नहुँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा प्रतिवादीहरू ए थापा तामाङ, जयराम तामाङ, रमेश भन्ने बै लामा, रीता भन्ने कालीमाया तामाङ, महेशप्रसाद कुर्मी, जियालाल सहनीलाई मुद्दा पुर्पक्षको लागि थुनामा राख्नु भन्नेसमेत सुरू अदालतको थुनछेक आदेश ।
फरार प्रतिवादी दिनानाथ दास तात्वाको नाउँको म्याद निजको घरमा टाँस भई मिसिल सामेल रहेको ।
प्रतिवादी महेशप्रसाद कुर्मी लागु औषध कारोबार गर्ने व्यक्ति होइनन् भन्नेसमेत बेहोराको प्रतिवादी महेशप्रसाद कुर्मीका साक्षी लालजी राउत अहिरले गरेको बकपत्र ।
अभियोग मागदाबी झुट्ठा हो भन्नेसमेत बेहोराको प्रतिवादी कालीमाया तामाङका साक्षी सुममाया तामाङले गरेको बकपत्र ।
अभियोग मागदाबी झुट्ठा हो भन्नेसमेत बेहोराको प्रतिवादी जयराम तामाङका साक्षी योगबहादुर तामाङले गरेको बकपत्र ।
अभियोग मागदाबी झुट्ठा हो भन्नेसमेत बेहोराको प्रतिवादी ए थापा तामाङका साक्षी सुमन तामाङले गरेको बकपत्र ।
बरामदी तथा प्रहरी प्रतिवेदन बेहोरा ठिक हो । प्रतिवादी ए थापा तामाङबाट लागु औषध खैरो हेरोइन बरामद भएको हो । अर्का प्रतिवादी जयराम तामाङ सँगै थिए भन्नेसमेत बेहोराको प्रतिवेदक इन्द्रनाथ पनेरूले गरेको बकपत्र ।
यी प्रतिवादीमध्येका ए थापा तामाङबाट लागु औषध बरामद भएको हो । बरामदी तथा प्रहरी प्रतिवेदन बेहोरा ठिक हो भन्नेसमेत बेहोराको प्रतिवेदक अमृत राईले गरेको बकपत्र ।
लागु औषध खैरो हेरोइन बरामद गरी प्रतिवेदनसाथ पक्राउ गरी दाखिल गरिएको भन्ने बरामदी तथा प्रहरी प्रतिवेदन बेहोरा ठिक हो भन्नेसमेत बेहोराको प्रतिवेदक सुनिल श्रेष्ठले गरेको बकपत्र ।
निरपेक्ष दायित्व बहन गर्नुपर्ने मुद्दामा प्रतिवादीहरूले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष दिएको साबिती बयानलाई अदालतमा बयान गर्दा वस्तुनिष्ठ तवरले खण्डन गर्न नसकेसमेतको अवस्थामा प्रतिवादीहरूमध्ये महेशप्रसाद कुर्मी, जियालाल सहनी, कालीमाया तामाङले लागु औषधको कारोबारमा महत्त्वपूर्ण साझा सहभागिता जनाई लागु औषध प्राप्तिपछि प्रतिवादी रमेश लामा हुँदै प्रतिवादी ए थापा तामाङ हुँदै बजारमा आपूर्ति गर्ने क्रियामा सरिक भई लागु औषध (नियन्त्रण) ऐन‚ २०३३ को दफा ४ को देहाय (घ) र (च) बमोजिम ओसारपसर खरिदबिक्री एवं सञ्चय गरेको देखिँदा ठुलो मात्राको लागु औषध संगठित रूपमा एकअर्को सम्पर्क (Nexus) मा रही आरोपित कसुर गरेको देखिन आएको हुँदा प्रतिवादीहरू महेशप्रसाद कुर्मी, जियालाल सहनी, कालीमाया तामाङ, बै लामा भन्ने रमेश लामा र प्रतिवादी ए थापा तामाङलाई लागु औषध (नियन्त्रण) ऐन‚ २०३३ को दफा १४ (१)(छ)(३) बमोजिम जनही १५(पन्ध्र) वर्ष कैद र जनही रू.५,००,०००।– (पाँच लाख) जरिवाना हुने
ठहर्छ । प्रस्तुत मुद्दामा प्रतिवादी कायम भएका वर्ष १९ का युवा जयराम तामाङ लागु औषधको करोबार, बिक्री वितरण, खरिद र ओसारपसारको आपराधिक कार्यमा संलग्नता रहेको भन्ने नदेखिँदा निज प्रतिवादी जयराम तामाङले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । अर्का फरार प्रतिवादी दिनानाथ दास निजको नाउँमा यस अदालतबाट जारी भएको म्यादमा हाजिर नभई फरार रहेको देखिँदा निजको हकमा मुलुकी ऐन, अ.बं. १९० नं. बमोजिम मुलतबीमा राखिदिने ठहर्छ भन्नेसमेत सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७१/०३/२९ मा भएको फैसला ।
सुरू काठमाडौं जिल्ला अदालतबाट म पुनरावेदकको हकमा भएको फैसला कानूनी त्रुटिपूर्ण एवं सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्तहरू, फौजदारी अपराधको सिद्धान्त र प्रमाण ऐन, २०३१ को दफा १८ र २५ समेतको विपरीत हुन गएकोले उक्त फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी महेशप्रसाद कुर्मीले पुनरावेदन अदालत पाटनमा पेस गरेको पुनरावेदन पत्र ।
प्रस्तुत मुद्दामा प्रतिवादी रमेश भन्ने बै लामाको संलग्नता मतियारको रूपमा रहे भएको परिप्रेक्ष्यमा सजायको आधार तोक्दा सबैलाई एकै रूपमा सजायको भागीदार बनाई भएको सुरू फैसलामा गम्भीर त्रुटि भएकोले उल्टी गरी कथित आरोपबाट पूर्ण सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रमेश भन्ने बै लामा तामाङले पुनरावेदन अदालत पाटनमा पेस गरेको पुनरावेदन पत्र ।
प्रहरीसमक्ष भएको साबितीको भरमा मात्र कसुर कायम गर्न नमिल्ने भनी फौजदारी न्याय र न्यायको मान्य सिद्धान्त, हाम्रो संवैधानिक व्यवस्था एवं मौलिक हकसमेतले बोलिरहेको अवस्थामा यी सबै कुराको विचारै नगरी समान हैसियत रहेको जयराम तामाङलाई सफाइ दिई म पुनरावेदक प्रतिवादीलाइ १५ वर्ष कैद र रू.५ लाख जरिवाना गरेको कानूनतः नमिलेको हुँदा बदर गरी सफाइ दिई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी जियालाल सहनीले पुनरावेदन अदालत पाटनमा पेस गरेको पुनरावेदन पत्र ।
प्रतिवादी जयराम तामाङलाई अभियोग माग दाबीबमोजिम कसुर अपराध गरेको प्रस्ट देखिँदादेखिँदै निजलाई सफाइ दिने गरी भएको सुरू जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उक्त त्रुटिपूर्ण फैसला बदर गरी सुरू अभियोगपत्र माग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत पाटनमा पेस भएको पुनरावेदन पत्र ।
बरामदी मुचुल्कामा मेरो हकमा विवादास्पद अवस्था हुँदाहुँदै पनि मबाटै बरामद भएको मानी गरिएको सुरू फैसला मिलेको छैन । प्रहरीको अनुसन्धानबाट मुख्य कारोबारी म नदेखिएको अवस्थामा मलाई सजाय गर्ने गरी भएको सुरू फैसला बदर गरी सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी ए थापा तामाङले पुनरावेदन अदालत पाटनमा पेस गरेको पुनरावेदन पत्र ।
बरामदी मुचुल्का, प्रतिवादीहरू ए थापा तामाङ, रमेश भन्ने बै लामा, जयराम तामाङसमेतको अनुसन्धान अधिकारीसमक्ष भएको बयान, प्र.ना.नि. सुनिल श्रेष्ठसमेतको मिति २०६९/०६/०२ को प्रतिवेदन, प्रतिवेदक प्रहरी कर्मचारीहरूले गरिदिएको बकपत्रसमेतबाट प्रतिवादी जयराम तामाङलाई अभियोग दाबीबाट सफाइ दिने ठहर्याई भएको सुरू फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा प्रत्यर्थीहरू झिकाउनु भन्नेसमेत पुनरावेदन अदालत पाटनको आदेश ।
प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्षको साबिती बयानलाई सहप्रतिवादीहरूको पोल र लागु औषध बरामदी मुचुल्कासमेतले पुष्टि गरिरहेको अवस्थामा प्रतिवादी जयराम तामाङसमेतलाई अभियोग दाबीबमोजिम ठहर फैसला गर्नुपर्नेमा सफाइ पाउने गरी सुरू जिल्ला अदालतबाट मिति २०७१/०३/२९ मा भएको फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादी जयराम तामाङलाई लागु औषध (नियत्रण) ऐन, २०३३ को दफा ४ को (घ) र (च) को कसुरमा सोही ऐनको दफा १४ (१) (छ) (३) बमोजिम १५ (पन्ध्र) वर्ष कैद र रू.५,००,०००।- (पाँच लाख) जरिवाना हुने ठहर्छ । अन्य प्रतिवादी ए थापा तमाङ, रमेश भन्ने बै लामा, जियालाल सहनी र महेशप्रसाद कुर्मीसमेतले संगठित अपराधको रूपमा बरामदी लागु औषध खैरो हेरोइन खरिद बिक्री एवं कारोबार गरेको देखिँदा निजहरूलाई सोही लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ (१) (छ) (३) बमोजिम जनही १५ (पन्ध्र) वर्ष कैद र जनही रू.५,००,०००।- (पाँच लाख) जरिवाना ठहर हुने गरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७१/०३/२९ मा भएको फैसला सो हदसम्म मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत पुनरावेदन अदालत पाटनबाट मिति २०७२/०७/२२ मा भएको फैसला ।
मैले लागु औषध ओसारपसार, खरिद बिक्री, सञ्चय गरेको भन्ने मिसिलबाट देखिँदैन । प्रतिवादी ए थापा तामाङसँग बरामद भएको ५३० ग्राम लागु औषध बरामद हुँदा म साथमा रहे भएको पनि छैन । उक्त लागु औषध दिनानाथ दासबाट महेशप्रसाद कुर्मी र जियालाल सहनीले ल्याई रू.४,५०,०००।– मा जीवन लामा र रीता भन्ने कालीमाया तामाङलाई बिक्री गरेको, कालीमाया तामाङले सामान्य चिनजानको नाताले रमेश भन्ने बै लामालाई झोलामा भएको वस्तु नबताई झोला लगी जीवन लामालाई दिनु भनी पठाएको भन्नेसम्म आधारमा १५ वर्ष कैद र रू.५,००,०००।– जरिवाना हुने गरी भएको सुरू फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण रहेकोले सो फैसला उल्टी गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रमेश भन्ने बै लामाले यस अदालतसमक्ष पेस गरेको पुनरावेदन पत्र ।
केवल सहअभियुक्त रीता भन्ने कालीमाया तामाङको भनाइको आधारमा मात्र मलाई कसुरदार कायम गर्न मिल्दैन । प्रहरीले हिरासतमा यातना दिई कुटपिट, डर, धाकधम्की तथा त्रसित पारी निज प्रहरीले तयार पारेको साबिती बयान अन्य प्रमाणबाट पुष्टि भएको छैन । मैले उक्त कथित लागु औषध रीता भन्ने कालीमाया तामाङलाई बिक्री नगरेको तथा खरिदसमेत नगरेको र खरिद बिक्री तथा ओसारपसार, सञ्चयसमेत नगरेको अवस्था हुँदाहुँदै पनि विवादास्पद पोलको आधारमा संगठित कारोबारी रहेको भनी मलाई कसुरदार ठहर्याई पुनरावेदन अदालत पाटनबाट मिति २०७२।०७।२२ मा भएको फैसला त्रुटिपूर्ण रहेकोले सो फैसला बदर गरी सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी जियालाल सहनीले यस अदालतसमक्ष पेस गरेको पुनरावेदन पत्र ।
म पुनरावेदकबाट झोला बरामद भयो भनिएको मुचुल्कामा बस्ने कोही पनि व्यक्तिहरू अदालतमा उपस्थित भई बकपत्र गरेको अवस्था
छैन । साथै बरामद झोला र त्यसमा के कुन वस्तु कसको थियो भन्ने कुरा म पुनरावेदक पक्षलाई कुनै जानकारी छैन । बरामदी नै विवादास्पद अवस्थामा रहेको छ । प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानकै कुरालाई आधार मानी अदालतमा भएको अपराधमा इन्कारी बयान एवं उक्त बयानलाई समर्थन गरी मेरा साक्षीले अदालतमा उपस्थित भई गरेको बयानसमेतबाट म पुनरावेदक निर्दोष देखिँदा पनि उक्त बयान एवं बकपत्रलाई बेवास्ता गरी सुरू तथा पुनरावेदनमा फैसला भएको छ । मनसाय नराखी झुक्यानबस भएको र लागु औषध के हो के गर्ने हो भन्ने थाहा नभएको म एक सामान्य श्रमिक नागरिकलाई कसुरदार ठहराएको सुरू तथा पुनरावेदन अदालत पाटनबाट मिति २०७२।०७।२२ मा भएको फैसला त्रुटिपूर्ण रहेको हुँदा उक्त फैसला उल्टी गरी म पुनरावेदकको पुनरावेदन जिकिरबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी ए थापा तामाङले यस अदालतसमक्ष पेस गरेको पुनरावेदन पत्र ।
मेरो हकमा अनुसन्धान अधिकारीसमक्ष भएको साबिती बयान तथा सहअभियुक्तको पोलबाहेकका अन्य खालका गम्भीर प्रमाणहरू रहेका छैनन् । काठमाडौं जिल्ला अदालतले फैसला गर्दा जयराम तामाङलाई सफाइ दिएको छ भने मलाई मुख्य स्रोत व्यक्तिका रूपमा लिएको पाइन्छ । कुनै व्यक्तिले कसैलाई चिनजान गराउनु र अपराधमा प्रत्यक्ष रूपमा संलग्न हुनु अलगअलग कुरा हो । मुख्य कारोबारी कालीमाया तामाङ र जीवन लामासमेत हुन् भन्ने कुरा संकलित प्रमाणबाट पनि स्पष्ट भएको अवस्थामा म पुनरावेदक प्रतिवादीले लागु औषध उपलब्ध गराउने कार्यसमेत नगरेको अवस्था हुँदाहुँदै पनि मलाई समेत कसुरदार कायम गरी सुरू तथा पुनरावेदन अदालतबाट भएको फैसलामा कानूनी त्रुटि रहेको हुँदा सो फैसला बदर गरी अभियोग माग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी महेशप्रसाद कुर्मीले यस अदालतसमक्ष पेस गरेको पुनरावेदन पत्र ।
सबै प्रतिवादीहरूबाट लागु औषध बरामद भएको देखिँदैन । पोलापोलको आधारमा समेत अभियोग लागेको देखिन्छ । फौजदारी अपराधमा कसुरको मात्राअनुसार सजाय हुनु पर्नेमा फरकफरक स्थानमा पक्राउ परेका अभियुक्तहरूलाई मुख्य अभियुक्तसरह मानी लागु औषध (नियत्रण) ऐन, २०३३ को दफा १४(१)(छ)(३) बमोजिम १५ वर्ष कैद र पाँच लाख रूपैयाँ जरिवाना हुने ठहर गरी पुनरावेदन अदालत पाटनबाट मिति २०७२/०७/२२ मा भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा प्रत्यर्थी झिकाउनु भन्नेसमेत यस अदालतबाट मिति २०७६/२/१४ मा भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्रसहितको मिसिलसमेत अध्ययन गरी हेरियो ।
पुनरावेदक प्रतिवादी रमेश भन्ने बै लामाको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरू श्री मोहनबहादुर बन्जारा क्षेत्री, श्री राधिका महत, श्री राजुप्रसाद धिमाल, श्री दिलकुमारी राईसमेतले प्रतिवादी रमेश भन्ने बै लामा लागु औषध खरिद बिक्रीको मुख्य अभियुक्त होइनन् । बरामदी मुचुल्कामा यिनको सहीछाप पनि छैन । यी प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्षको बयानलाई थप कुनै पनि प्रमाणबाट पुष्टि हुन सकेको देखिँदैन । सहअभियुक्तको पोल र अपुष्ट रहेको अधिकारप्राप्त अधिकारीसमक्षको बयानको आधारमा यिनीउपरको कसुर प्रमाणित हुन सक्दैन । प्रस्तुत मुद्दामा यी प्रतिवादीको भूमिका बढीमा मतियारसम्म रहेको देखिँदा मेरो पक्षलाई बढीमा मतियारसम्ममा सजाय हुनुपर्छ भनी बहस गर्नुभयो । पुनरावेदक प्रतिवादी जियालाल सहनीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री महेशनारायण दासले, प्रतिवादी जियालाल सहनी लागु औषध खरिद बिक्रीको मुख्य अभियुक्त होइनन् । बरामदी मुचुल्कामा यिनको सहीछाप पनि छैन । यी प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्षको बयानलाई थप कुनै पनि प्रमाणबाट पुष्टि हुन सकेको देखिँदैन । सहअभियुक्तको पोल र अपुष्ट रहेको अधिकारप्राप्त अधिकारीसमक्षको बयानको आधारमा यिनीउपरको कसुर प्रमाणित हुन सक्दैन । अतः मेरो पक्षले प्रस्तुत मुद्दाको अभियोगबाट सफाइ पाउनुपर्छ भनी बहस गर्नुभयो । पुनरावेदक प्रतिवादी ए थापा तामाङको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद सापकोटाले, प्रतिवादी ए थापा तामाङ लागु औषध खरिद बिक्रीको मुख्य अभियुक्त होइनन् । यिनले बरामदी लागु औषध खरिद गरेको वा बिक्री गरेको तथ्य पुष्टि हुन सकेको देखिँदैन । बरामदी मुचुल्कामा यिनको सहीछाप पनि छैन, यसप्रकारको बरामदी मुचुल्कालाई उच्च स्तरको प्रमाणको रूपमा लिन मिल्दैन । यी प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्षको बयानलाई थप कुनै पनि प्रमाणबाट पुष्टि हुन सकेको देखिँदैन । सहअभियुक्तको पोल र अपुष्ट रहेको अधिकारप्राप्त अधिकारीसमक्षको बयानको आधारमा यिनीउपरको कसुर प्रमाणित हुन सक्दैन । कुनै पनि कसुरमा दोषी उम्कने र निर्दोष मानिस फस्ने हुनु हुँदैन । प्रस्तुत मुद्दामा अनुसन्धानकर्ताले मुख्य दोषीको खोज नगरी गोलमोलमा सबै प्रतिवादीहरूलाई अभियोग लगाएको देखिन्छ भनी बहस गर्नुभयो ।
प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश गौतमले, प्रस्तुत मुद्दामा प्रतिवादीहरूको संलग्नता लागु औषध खैरो हेरोइनको ओसारपसार तथा खरिद बिक्रीमा केन्द्रित छ । प्रतिवादीहरूले एकआपसमा मिलेर संगठित रूपमा लागु औषधको तहगत ओसारपसार गरेको देखिन्छ । लागु औषधको ओसारपसार, कारोबार जस्तो Possessory crime मा अभियुक्त सबैबाट लागु औषध बरामद हुन अनिवार्य हुँदैन, लागु औषधकै सन्दर्भमा अभियुक्तहरूको एकआपसमा सम्पर्कको कडी जोडिनु नै बरामदित लागु औषध कारोबारमा सबैको संलग्नता रहेको पुष्टि हुन्छ । हैन भने अन्यथा प्रमाणित गरी आफू निर्दोष रहेको तथ्य अभियुक्तले नै पुष्टि गर्नुपर्छ । अतः बरामदित लागु औषध खैरो हेरोइनको ओसारपसार एवं कारोबारसमेतमा यी पुनरावेदक प्रतिवादीहरू सबैको संलग्नता रहेको हुनाले यी सबैलाई कसुरदार कायम गरी पुनरावेदन अदालत पाटनबाट मिति २०७२/०७/२२ मा भएको फैसला सदर हुनुपर्छ भनी बहस गर्नुभयो ।
अब, उपर्युक्त कानून व्यवसायीले गर्नुभएको बहस तथा मिसिल संलग्न कागजातसमेत अध्ययन गरी हेर्दा, प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ वा छैन तथा प्रतिवादीहरू रमेश भन्ने बै लामा, जियालाल सहनी, ए थापा तामाङ र महेशप्रसाद कुर्मीसमेतको पुनरावेदन जीकिर पुग्न सक्ने हो वा होइन ? सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी ए थापा तामाङको साथबाट ५३० ग्राम लागु औषध खैरो हेरोइन बरामद भएको र प्रतिवादीहरू रमेश भन्ने बै लामा, जियालाल सहनी, ए थापा तामाङ, महेशप्रसाद कुर्मी, जयराम तामाङ, रीता भन्ने कालीमाया तामाङसमेतले उक्त बरामदित लागु औषधको ओसारपसार एवं कारोबारसमेतका कसुर गरेकोले निज प्रतिवादीहरूलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(छ)(३) बमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग दाबी रहेको देखिन्छ । प्रतिवादीहरूमध्येका रमेश भन्ने बै लामा, जियालाल सहनी, ए थापा तामाङ, महेशप्रसाद कुर्मी र रीता भन्ने कालीमाया तामाङसमेतलाई सोही ऐनको दफा १४(१)(छ)(३) बमोजिम जनही १५ वर्ष कैद र जनही रू.५,००,०००।- जरिवाना हुने तथा प्रतिवादी दिनानाथ दासको हकमा मुलतबीमा रहने र प्रतिवादी जयराम तामाङले अभियोगबाट सफाइ पाउने भन्नेसमेत ठहर्याई सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७१/३/१९ मा फैसला भएको देखिन्छ ।
३. सुरू फैसलाउपर चित्त नबुझाई प्रतिवादी जयराम तामाङलाई समेत अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत वादी नेपाल सरकार तथा अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत प्रतिवादीहरू रमेश भन्ने बै लामा, जियालाल सहनी, ए थापा तामाङ र महेशप्रसाद कुर्मीको तर्फबाट पुनरावेदन अदालत पाटनमा पुनरावेदन परेकोमा प्रतिवादीहरू रमेश भन्ने बै लामा, जियालाल सहनी, ए थापा तामाङ र महेशप्रसाद कुर्मीको हकमा सुरू सदर एवं प्रतिवादी जयराम तामाङको हकमा सुरू फैसला उल्टी गरी प्रतिवादी जयराम तामाङलाई समेत अभियोग दाबीअनुसार उल्लिखित ऐनको दफा १४(१)(छ)(३) बमोजिम जनही १५ वर्ष कैद र जनही रू.५,००,०००।- जरिवाना हुने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०७२/०७/२२ मा फैसला भएको देखिन्छ ।
४. पुनरावेदन अदालत पाटनबाट हामी प्रत्येकउपर अभियोग प्रमाणित हुन नसकेको अवस्थामा पनि समग्रमा हामी पुनरावेदक सबैलाई मुख्य कसुरदार रहेको भनी त्रुटिपूर्ण फैसला गरेकोले सो फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भनी प्रतिवादीहरू रमेश भन्ने बै लामा, जियालाल सहनी, ए थापा तामाङ र महेशप्रसाद कुर्मीको तर्फबाट यस अदालतमा पुनरावेदन परेको अवस्था छ । प्रस्तुत मुद्दामा प्रतिवादी दिनानाथ दासको हकमा सुरू आदालतबाटै मुलतबीमा रहेको तथा सुरू फैसलाउपर प्रतिवादी रीता भन्ने कालीमाया तामाङको तर्फबाट एवं पुनरावेदन अदालत पाटनबाट भएको फैसलाउपर प्रतिवादी जयराम तामाङको तर्फबाट पुनरावेदन परेको नहुँदा निजहरूको हकमा विचार गरिरहन परेन ।
५. प्रस्तुत मुद्दाको उठान के कसरी भएको रहेछ भनी हेर्दा, मिति २०६९।०६।०२ मा नयाँ बसपार्कस्थित सडक किनारमा ए थापा तामाङले पिठ्युँमा बोकेको झोलाभित्र ५३० ग्राम लागु औषध खैरो हेरोइन बरामद भएको र उक्त लागु औषध बरामद गर्दा प्रतिवादी जयराम तामाङसमेत साथै रहेको भन्ने बरामदी मुचुल्का रहेको देखिन्छ । बरामदी लागु औषध खैरो हेरोइन रहेको भन्ने राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारको परीक्षण प्रतिवेदन रहेको देखिन्छ भने प्रतिवादीहरूबाट यसलाई अन्यथा भन्नसकेको पनि देखिँदैन । यसबाट प्रस्तुत मुद्दामा बरामदित लागु औषध खैरो हेरोइन लागु औषध (नियन्त्रण) ऐन, २०३१ ले निषेधित वस्तु Narcotic Drug रहेकोमा विवाद भएन । मिसिल संलग्न प्रहरी प्रतिवेदन हेर्दा, बरामदित लागु औषध रमेश भन्ने बै लामाले बिक्री गर्न पठाएको र जेम्स भन्ने व्यक्तिलाई कुरिरहेको अवस्थामा पक्राउ परेको भनी ए थापा तामाङले खुलाई दिएको र निज ए थापा तामाङले चिनाई दिएर नै रमेश भन्ने बै लामा पक्राउ परेको भन्ने बेहोरा खुलेको देखिन्छ । त्यसैगरी रमेश भन्ने बै लामाले सो लागु औषध आफूलाई कालीमाया तामाङले बिक्री गर्न दिएको भनी खुलाई दिएको र निज बै लामाले नै चिनाई दिएर कालीमाया तामाङ पक्राउ परेको भन्ने छ । यसरी ए थापा तामाङको पोलले रमेश भन्ने बै लामा र बै लामाको पोलले कालीमाया तामाङ पक्राउ परेको देखिन्छ । त्यसैगरी प्रतिवादीहरू महेशप्रसाद कुर्मी र जियालाल सहनी बरामदित लागु औषधको बाँकी भुक्तानी रकम लिन जाँदा कालीमाया तामाङको पोलबाट प्रकाउ परेको र निज प्रतिवादीहरूलाई कालीमाया तामाङले सनाखतसमेत गरिदिएको देखिन्छ ।
६. प्रतिवादी ए थापा तामाङले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा, रमेश भन्ने बै लामासँग रू.३,००,०००।– मा बिक्री भएपछि पैसा दिने गरी जयराम तामाङले मिलाई दिएको अवस्थामा जेम्स भन्ने व्यक्तिलाई रू.४,००,०००।– मा बिक्री गर्न भनी सो लागु औषध साथमा बोकेको अवस्थामा पक्राउ परेको हुँ भनी आरोपित कसुरमा साबित भई बयान गरिदिएको पाइन्छ । प्रतिवादी ए थापा तामाङसँगै पक्राउ परेका प्रतिवादी जयराम तामाङले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा, प्रतिवादी ए थापा तामाङसँग सल्लाहमा नै लागु औषध बिक्री गर्न जेम्स भन्ने व्यक्तिलाई प्रतिक्षा गरिरहेको अवस्थामा पक्राउ परेको हुँ भनी बेहोरा खुलाई दिएको
देखिन्छ । त्यसैगरी प्रतिवादी रमेश भन्ने बै लामाले उक्त लागु औषध प्रतिवादी कालीमाया तामाङसँग लिएको भनी खुलाई दिएको, कालीमाया तामाङले महेशप्रसाद कुर्मी तथा जियालाल सहनीबाट उक्त लागु औषध खरिद गरी लिएको भनी उल्लेख गरेको र जियालाल सहनीले उक्त लागु औषध दिनानाथ दासबाट खरिद गरी लिएको भनी यी प्रतिवादीहरूले कसुरमा साबिती रही बरामदित लागु औषध खैरो हेरोइनको कारोबारको सञ्जालमा संलग्न रहेको बेहोरा अधिकारप्राप्त अधिकारीसमक्षको आ-आफ्नो बयानसमेतमा खुलाई दिएको देखिन्छ । यसरी मिसिल संलग्न बरामदी मुचुल्का, प्रहरी प्रतिवेदन तथा अधिकारप्राप्त अधिकारीसमक्षको साबिती बयानबाट बरामदित लागु औषध खैरो हेरोइनको खरिद बिक्री एवं कारोबारको सञ्जालको रूपमा यी पुनरावेदक प्रतिवादीहरूको संलग्नता रहेको भन्ने देखिन्छ ।
७. अर्कोतर्फ प्रतिवादीहरूको अदालतसमक्षको बयान हेर्दा, आफूहरू अभियोगमा निर्दोष रहेको, आफूहरूबाट लागु औषध बरामद नै नभएको तथा अधिकारप्राप्त अधिकारीसमक्षको बयान बेहोरा आफूहरूको होइन भनी अभियोगमा पूर्ण इन्कारी बयान गरिदिएको पाइन्छ । प्रतिवादीहरूका साक्षीका बकपत्र हेर्दा, प्रतिवादीहरू निर्दोष रहेका र अभियोग दाबी झुट्ठा रहेको भनी लेखाई दिएको
पाइन्छ । निज साक्षीहरूका बकपत्रबाट प्रतिवादीहरूको बरामदित लागु औषधको कारोबारमा संलग्नता सम्बन्धमा कुनै निर्दिष्ट तथ्य खुल्न सकेको देखिँदैन । अर्कोतर्फ प्रहरी प्रतिवेदकहरू इन्दुनाथ पनेरू, अमृत राई, सुनिल श्रेष्ठसमेतले बरामदी तथा प्रहरी प्रतिवेदन बेहोरा ठिक हो भनी प्रतिवादीहरूको बरामदित लागु औषधको कारोबारमा संलग्नता रहेको भनी बकपत्र गरिदिएको पाइन्छ ।
८. यसरी प्रस्तुत मुद्दामा प्रतिवादीहरू अधिकारप्राप्त अधिकारीसमक्ष कसुरमा साबिती रहेका र अदालतसमक्ष कसुरमा इन्कारी रही दुई विपरीत खालका बयान गरिदिएको पाइन्छ भने वादी तथा प्रतिवादीका साक्षीहरूका बकपत्र पनि एकआपसमा विपरीत नै पाइन्छ । यस अवस्थामा प्रतिवादीहरूका कुन बयान प्रमाणमा लिने भन्नेतर्फ प्रमाणको थप विवेचना गर्नुपर्ने देखिन आयो ।
९. प्रमाण ऐन, २०३१ को दफा ९ मा, अभियुक्त सचेत अवस्थामा थियो र निजलाई कुनै बाध्य पारेको थिएन भन्ने अवस्थामा अभियुक्तले अदालतबाहेक अन्यत्र व्यक्त गरेको कुरा प्रमाणमा लिन हुने व्यवस्था गरेको पाइन्छ । “...प्रमाण ऐन, २०३१ को दफा ९ अनुसार कुनै कुरा व्यक्त गर्दा अभियुक्त आफूले भने गरेको कुरा बुझ्न सक्ने गरी सचेत अवस्थामा थियो वा निजलाई बाध्य पारी, यातना दिई वा यातना दिने धम्की दिई वा कुनै कारबाही गर्ने धम्की दिई व्यक्त गर्न नलगाएको अवस्थामा अभियुक्तले अदालतबाहेक अन्यत्र व्यक्त गरेका कुराहरू पनि प्रमाणमा लिनुपर्ने...” (ने.का.प. २०७५, अंक ८, कि.नं. १००७५, पृ. १५३४) भन्ने सिद्धान्तसमेत प्रतिपादन भएको पाइन्छ । प्रस्तुत मुद्दाका प्रतिवादीहरू सबै साबालिग रहेका मिसिलबाट देखिन्छ । निजहरूले अधिकारप्राप्त अधिकारीसमक्ष साबिती रही बयान गर्दा निजहरूलाई सो गर्न बाध्य पार्ने, यातना दिने तथा निजहरूको इच्छाविपरीत सो बयान गर्न लगाइएको भन्ने वस्तुनिष्ठ प्रमाण प्रतिवादीबाट पेस हुनसकेको मिसिलबाट देखिँदैन । कानूनबमोजिम स्थापित निकायबाट हुने कार्य अन्यथा प्रमाणित नभएसम्म कानूनबमोजिम नै भएको मान्नुपर्ने हुन्छ । प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्षको बयान बेहोरा आफ्नो होइन भनी अदालतसमक्ष खुलाइदिए तापनि आफ्नो इच्छा नहुँदानहुँदै पनि के कुन कारणले निजहरूले अधिकारप्राप्त अधिकारीसमक्षको बयान कागजमा सहीछाप गरिदिएको हो ? सोको वस्तुनिष्ठ आधार प्रमाण खुलाउन सकेको देखिँदैन । यसबाट निज प्रतिवादीहरूको अधिकारप्राप्त अधिकारीसमक्षको बयान निजहरूको स्वेच्छिक कथन होइन रहेछ भनी मान्न मिलेन ।
१०. अदालतसमक्षको बयान नै अकाट्य प्रमाण हुने तथा अदालतबाहेक अन्यत्र भएको बयानको वैधता शून्य हुने पनि होइन । सामान्य क्रम विचारबाट समेत विवेचना गरी जुन बयान अन्य प्रमाणसँग ।ogica। and Corroborative देखिन्छ त्यसैलाई प्रमाणयोग्य मान्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान बेहोरा मिसिल संलग्न बरामदी मुचुल्का, प्रहरी प्रतिवेदन, प्रतिवेदकका बकपत्रसमेतबाट समर्थित भइरहेको देखिन्छ । प्रतिवादीहरू सबैले अधिकारप्राप्त अधिकारीसमक्ष बरामदित लागु औषध खैरो हेरोइन बिक्री वितरणकै लागि ओसारपसार गरेको, किन्ने व्यापारी खोजी हिँडेको भनी बयान गरिदिएको
पाइन्छ । निजहरूले एकआपसमा पोल गरी निजहरूले लागु औषध एकआपसमा भुक्तानी बाँकी राखी लागु औषध बिक्रीपश्चात् चुक्ता गर्ने गरी खरिद बिक्री गरेको, बाँकी भुक्तानी लिन जाँदा पक्राउ परेको भन्ने तथ्य खुलाई लागु औषधको कारोबारमा समग्र संलग्नताको कडीलाई क्रमिक रूपमा स्थापित हुने गरी बेहोरा खुलाई दिएको देखिन्छ । प्रतिवादीहरू जियालाल सहनी, महेशप्रसाद कुर्मी, कालीमाया तामाङ, रमेश भन्ने बै लामा हुँदै लागु औषध खैरो हेरोइन बरामद भई पक्राउ पर्ने प्रतिवादी ए थापा तामाङ तथा जयराम तामाङसम्म आइपुग्दा लागु औषध कारोबारको सञ्जालको कडी र प्रतिवादीहरूको अधिकारप्राप्त अधिकारीसमक्षको बयान एकआपसमा परस्पर स्वाभाविक रूपमा रहेकोसमेत देखिँदा प्रस्तुत मुद्दामा प्रतिवादीहरूको अधिकारप्राप्त अधिकारीसमक्षको बयान प्रमाणयोग्य नै देखिन आयो ।
११. अब प्रतिवादीहरूको बरामदित लागु औषध कारोबारमा संलग्नताको भार सम्बन्धमा हेर्दा, अनुसन्धानबाट खुलेका सुरू स्रोत व्यक्ति दिनानाथ दास हुँदै बरामदित लागु औषध प्रतिवादी ए थापा तामाङको साथबाट बरामद भएको तथ्य बरामदी मुचुल्कासमेतबाट स्थापित भएको छ । यसबिचमा यी प्रतिवादीहरूले एकले अर्कोलाई सो लागु औषध बिक्री गर्दै, भुक्तानीसमेत बाँकी राखी कारोबार गरेको देखिन्छ । लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ मा, यस ऐनअन्तर्गत पर्ने कसुरको सन्दर्भमा प्रमाणको भार अभियुक्तमा रहने विशिष्ट प्रावधान रहेको पाइन्छ । प्रस्तुत मुद्दामा बरामदित लागु औषधको साथ प्रतिवादी ए थापा तामाङसमेत पक्राउ परेको र निजसमेतका प्रतिवादीहरूले एक अर्कालाई पोल गर्दै अलगअलग स्थानमा गई पक्राउ गर्ने कार्यमा सहयोग गरेको र कारोबारमा संलग्न रहेको भनी सनाखतसमेत गरिदिएको कार्यहरूबाट प्रतिवादीहरूको बरामद भएको लागु औषधमा समान सहभागिता रहेको देखियो । बरामदित लागु औषध आफूहरू प्रत्येकबाट बरामद नभएको भन्ने पुनरावेदन जिकिर तथा पुनरावेदकको संलग्नता बढीमा मतियारसम्मको रहेको भन्ने विद्वान् कानून व्यवसायीको बहसतर्फ हेर्दा, लागु औषधको कारोबारजस्तो Possessory Crime मा यदि सबै प्रतिवादीबाट लागु औषध बरामद नभएको भन्नेसम्मको आधारमा अभियुक्त अभियोगबाट मुक्त हुँदै जाने हो भने लागु औषधजस्तो समाजमा गम्भीर समस्या निम्त्याउने वस्तुको नियन्त्रणमा नै प्रश्न चिह्न खडा हुन जान्छ । जसबाट उल्लिखित ऐनको उद्देश्य नै प्रभावहीन हुन जाने हुन्छ । वस्तुतः कुनै प्रतिवादीबाट लागु औषध बरामद भए पनि सो लागु औषधको कारोबारमा संलग्न रहेका पर्दा पछाडिका व्यक्तिहरूलाई समेत प्रमाणको रोहबाट विचार गर्नै पर्ने हुन्छ ।
१२. प्रस्तुत मुद्दामा यी सबै पुनरावेदक प्रतिवादीहरूको संलग्नता बरामदित लागु औषध खरिद बिक्री एवं कारोबारमा सामूहिक रूपमा रहेको
देखिन्छ । सबै प्रतिवादीहरूको भूमिका प्रस्तुत मुद्दामा मुख्य कर्ताकै रूपमा देखिन्छ । लागु औषध खैरो हेरोइनको स्रोत व्यक्ति दिनानाथ दासदेखि बरामद गरिएको व्यक्ति ए थापा तामाङसम्म नै एकआपसमा लहरोको रूपमा सम्पर्क सहकार्यको कडी जोडिएको यस अवस्थामा यी प्रतिवादीहरूको एकआपसमा सबैको सहमतिबाट अपराध पूर्ण गर्ने गरी लागु औषध कारोबारको मनसाय रहेको पुष्टि भएको देखिन्छ । जहाँसम्म मतियारसम्मको भूमिका हो कि भनी हेर्दा लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ (घ) तथा (च) समेतले लागु औषधको बिक्री वितरण गर्ने, लागु औषध खरिद बिक्री गर्ने, सञ्चय गर्ने र राख्ने वा ओसारपसार गर्ने कार्यलाई निषेधित कार्यमा राखी लागु औषधको खरिद बिक्री एवं कारोबारलाई नै पूर्ण अपराधअन्तर्गत राखेको पाइन्छ । प्रस्तुत मुद्दामा सबै पुनरावेदक प्रतिवादीहरूको संलग्नता बरामदित लागु औषधको खरिद बिक्री एवं कारोबारमा पुष्टि भइरहेको हुँदा यी पुनरावेदकहरूको संलग्नता मतियारसम्म रहेको भन्ने विद्वान् कानून व्यवसायीको बहस जिकिर स्थापित हुनसक्ने देखिएन ।
१३. यस अदालतबाट प्रत्यर्थी झिकाउने आदेश गर्दा, सबै प्रतिवादीहरूबाट लागु औषध बरामद नभएको, फौजदारी अपराधमा कसुरको मात्राअनुसार सजाय हुनुपर्नेमा प्रस्तुत मुद्दा प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने भन्नेसमेत उल्लेख भएको पाइन्छ । मिसिल संलग्न बरामदी मुचुल्का तथा प्रतिवादीहरूको अधिकारप्राप्त अधिकारीसमक्षको बयानसमेतबाट लागु औषधको खरिद बिक्री एवं कारोबारमा यी प्रतिवादीहरूको प्रत्येकको मुख्यकर्ताकै भूमिका देखिन्छ । खरिद बिक्री कार्यमा सामान्यतः खरिदकर्ता र बिक्रीकर्ता गरी २ पक्ष हुन्छन् भन्ने कारोबारको वस्तु कुनै एकसँग रहने गर्दछ । एकसाथ दुवै पक्षबाट कारोबारको वस्तु बरामद हुन सक्दैन । कुनै व्यक्तिको सो कारोबारमा संलग्नता रहे नरहेतर्फ विचार गर्दा सो कारोबारको वस्तुसँग निजहरूको संलग्नतालाई हेरी निष्कर्षमा पुग्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा बरामदित ५३० ग्राम खैरो हेरोइन नै प्रतिवादीहरूका बिचमा एकआपसमा कारोबार भएको देखिन्छ भने भुक्तानीसमेत बाँकी राखी एकआपसमा खरिद बिक्रीसमेत गरेको
देखिन्छ । स्रोत व्यक्तिदेखि नै प्रतिवादीहरूको संलग्नता र सम्पर्क प्रस्तुत मुद्दामा बरामदित लागु औषध बरामद हुँदासम्म निरन्तर रहेको
देखिन्छ । प्रतिवादीहरूले एकआपसमा पोल गरी एक अर्कालाई चिनाएर पक्राउ गर्ने तथा लागु औषध कारोबारकै भुक्तानी बाँकीसमेत राखी प्रणालीगत रूपमा एकआपसमा व्यापारिक सहकार्य गरी लागु औषधको कारोबार गरेको देखिन्छ । सामान्यतः फौजदारी कसुरमा प्रतिअभियुक्तउपरको कसुर छुट्टाछुट्टै प्रमाणित हुनुपर्ने तथा कसुरको मात्रासमेत प्रतिअभियुक्त स्थापित हुनुपर्ने हुन्छ तथापि सामूहिक रूपमा एकआपसमा संगठित जालो भई गरेको कसुरमा कसुरको मात्रा पनि सामूहिक रूपमै समान हुन्छ । प्रस्तुत मुद्दामा यी सबै प्रतिवादीहरूको संलग्नता मुख्यकर्ता रही समान उद्देश्य लागु औषध कारोबार गर्ने नै रहेको देखिँदा केवल फरक-फरक स्थानमा पक्राउ परेको तथा सबैको साथबाट लागु औषध बरामद नभएको कारणले मात्र यी प्रतिवादीहरूको कसुरको मात्रा पनि फरक रहेको अनुमान गर्न नमिल्ने हुँदा यस अदालतबाट प्रत्यर्थी झिकाउने आदेश गर्दा उल्लिखित आधार कारण प्रस्तुत मुद्दामा आकर्षित हुनसक्ने देखिँदैन ।
१४. लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(छ)(३) मा, “... अफिम, कोका वा सोबाट बनेको १०० ग्रामदेखि माथि लागु औषधको कारोबार गर्नेलाई पन्ध्र वर्षदेखि जन्मकैद र पाँच लाख रूपैयाँदेखि पच्चीस लाख रूपैयाँसम्म जरिवाना हुने” प्रावधान छ । प्रस्तुत मुद्दामा बरामदित लागु औषध खैरो हेरोइन रहेको र सोको परिमाण ५३० ग्राम रहेको हुँदा यी पुनरावेदक प्रतिवादीहरूको कसुरको संलग्नता उल्लिखित दफा १४(छ)(३) बमोजिमै रहेको देखिन्छ । यसरी प्रतिवादीहरूको अधिकारप्राप्त अधिकारीसमक्षको बयान, सहप्रतिवादीहरूको पोल, बरामदी मुचुल्का, प्रहरी प्रतिवेदनसमेतले प्रस्तुत मुद्दामा लागु औषध खैरो हेरोइनको मुख्य स्रोतको रूपमा रहेका प्रतिवादीहरू दिनानाथ दास, जियालाल सहनी तथा महेशप्रसाद कुर्मी, कालीमाया तामाङ, रमेश भन्ने बै लामा हुँदै ए थापा तामाङ एवं जयराम तामाङसमेत हुँदै लागु औषध बरामद भएको तथा यी पुनरावेदक प्रतिवादीहरू बरामदित लागु औषध खैरो हेरोइन खरिद बिक्रीसमेतमा मिलिभगत रही संगठित रूपमा बरामदित लागु औषध खैरो हेरोइनको कारोबारसमेतको कसुरमा संलग्न रहेको पुष्टि भएको यस अवस्थामा कानूनले निर्दिष्ट गरेको प्रावधानअन्तर्गत रही उल्लिखित दफा १४(छ)(३) बमोजिम यी पुनरावेदक प्रतिवादीहरूलाई सजाय गर्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला न्यायसङ्गत नै देखिँदा परिवर्तन गरिरहन परेन ।
१५. तसर्थ माथि विवेचित आधार र कारणबाट यी पुनरावेदक प्रतिवादीहरूसमेतले संगठित रूपमा लागु औषध खैरो हेरोइन खरिद बिक्री एवं कारोबारसमेत गरेको पुष्टि भएको हुँदा प्रतिवादीहरू रमेश भन्ने बै लामा, जियालाल सहनी, ए थापा तामाङ र महेशप्रसाद कुर्मीसमेतलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(छ)(३) बमोजिम जनहि १५ (पन्ध्र) वर्ष कैद र जनही रू.५,००,०००।– (पाँच लाख) जरिवाना हुने गरी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको सुरू फैसला सदर हुने ठहर्याई पुनरावेदन अदालत पाटनबाट मिति २०७२/०७/२२ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । अभियोग माग दाबीबाट सफाइ पाउँ भन्नेसमेत प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । यो फैसलाको प्रतिलिपिसमेत साथै राखी महान्यायाधिवक्ताको कार्यालयलाई प्रस्तुत फैसलाको जानकारी दिनु तथा प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी दायरीको लगत कट्टा गर्नु र मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.पुरूषोत्तम भण्डारी
इजलास अधिकृत : वसन्तप्रसाद मैनाली
इति संवत् २०७६ साल मंसिर ५ गते रोज ५ शुभम् ।