शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०४१८ - अंश चलन

भाग: ६२ साल: २०७७ महिना: बैशाख अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री विश्‍वम्‍भरप्रसाद श्रेष्‍ठ

माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना

फैसला मिति : २०७६।७।५

 

मुद्दाः अंश चलन

 

०७१-CI-०७०९

पुनरावेदक / प्रतिवादी : मोहनप्रसाद उपाध्याय शर्माकी माइली श्रीमती सर्लाही जिल्ला परवानीपुर गा.वि.स. वडा नं. ६ घर भई हाल ल.पु.जि.ल.पु.उ.म.न.पा. वडा नं. ४ बस्ने शारदादेवी खतिवडा

विरूद्ध

प्रत्यर्थी / वादी : का.जि.का.म.न.पा. वडा नं. ३५ बस्ने सावित्रीदेवी खतिवडासमेत

 

०७२-CI-११४६

पुनरावेदक / वादी : मोहनप्रसाद उपाध्याय शर्माको जेठी श्रीमती का.जि.का.म.न.पा. वडा नं. ३५ बस्ने सावित्रीदेवी खतिवडा

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : मोहनप्रसाद उपाध्याय शर्माकी माइली श्रीमती सर्लाही जिल्ला परवानीपुर गा.वि.स.वडा नं. ६ घर भई हाल ल.पु.जि.ल.पु.उ.म.न.पा. वडा नं. ४ बस्ने शारदादेवी खतिवडासमेत

 

बाबु आमाले जुनसुकै स्रोतबाट प्राप्त गरेको सम्पत्ति छोराछोरीका लागि पैतृकसरह हुन्छ । सौतेनीआमाले बकसपत्र, दाइजो जुनसुकै माध्यमबाट प्राप्‍त गरेको सम्पत्ति आफ्नो छोरा छोरीलाई पैतृक हुने, सौतेनीतर्फबाट जन्मेका छोरा छोरीको लागि नहुने भनी व्याख्या गर्न नमिल्ने ।

(प्रकरण नं.१६)

 

वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री युवराज भण्डारी

प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू श्री मीरा ढुङ्गाना, श्री सर्मिला श्रेष्ठ, श्री पुन्यशिला दवाडी, श्री शकुन्तला बस्नेत

अवलम्बित नजिर :

ने.का.प.२०४२, अंक १, नि.नं.२२२३

ने.का.प.२०६४, अंक २, नि.नं.७८१४

ने.का.प.२०७५, अंक ९, नि.नं.१०१०१

सम्बद्ध कानून :

नेपाल कानून व्याख्यासम्बन्धी ऐन, २०१०

 

सुरू तहमा फैसला गर्ने :

माननीय न्यायाधीश श्री चन्द्रबहादुर सारू

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने : 

माननीय न्यायाधीश श्री टिकाबहादुर हमाल

मा.न्या.श्री सहदेवप्रसाद बास्तोला

पुनरावेदन अदालत पाटन 

 

फैसला

न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम वादी प्रतिवादीहरूले दोहोर्‍याई हेरिपाउँ भनी दिएको निवेदनमा यस अदालतको मिति २०७१।९।१३, र मिति २०७२।९।२७ मा निस्सा प्रदान भई यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :

तथ्य खण्ड

हामी फिरादीको पति पिता विपक्षी मोहनप्रसाद शर्माका तीन श्रीमतीमध्ये जेठी श्रीमती म सावित्रीदेवी खतिवडा, माइली श्रीमती शारदादेवी खतिवडा र कान्छी श्रीमती सावित्री खतिवडा भएकोमा जेठी श्रीमती म सावित्रीदेवी खतिवडा तर्फबाट फिरादी नारद खतिवडाको मात्र जायजन्म भएको 

छ । माइली श्रीमतीबाट तीनजना छोरीहरूको जायजन्म भएकोमा तीनवटै छोरीको बिहे भई आ-आफ्नो घर गइसकेको अवस्था छ । कान्छी विपक्षी सावित्री खतिवडाको तर्फबाट अहिलेसम्म कुनै जायजन्म भएको छैन । परिवारमा ५ जना अंशियार छौं । हामी अंशियारबिच अंशबन्डा भएको छैन । अंशियारहरूको विवाह खर्च पर सार्नु पर्ने अवस्थासम्म छैन । म वादी सावित्रीदेवी खतिवडाको विपक्षी मोहनप्रसादसँग धर्म परम्पराअनुसार २०१५ सालमा विवाह सम्पन्न भएको र हाम्रो सम्बन्धबाट २०२९ सालमा छोरा नारदप्रसाद खतिवडाको जन्म भएको हो । पतिले विपक्षी शारदादेवी खतिवडालाई २०३० सालमा विवाह गरी ल्याउनु भए तापनि हामी एकसाथ बस्दै आएका थियौं । विपक्षी पति पिता नेपाली सेनामा कार्यरत भएको हुँदा नोकरीको सिलसिलामा विभिन्न ठाउँमा जाँदा अधिकांश समय विपक्षी सौता शारदादेवी खतिवडासँगै बस्ने गर्नु भएकोले म छोरा नारद खतिवडालाई लिई माइतीको शरणमा बसी जीवन निर्वाह गर्दै आएँ । यसैबिच पति पिताले विपक्षी सावित्री खतिवडालाई विवाह गरी ल्याएपछि २०६३ पश्चात् विपक्षीहरू एकजुट भई फिरादीहरूलाई खान लाउन नदिने, अंश माग गर्दा भएको सम्पत्ति अन्य श्रीमतीहरूका नाउँमा राखिसके, जे गर्नुपर्छ गर भनी जवाफ दिएकाले बाध्य भई उपस्थित भएका छौं । मुलुकी ऐन अंशबन्डाको १० नं. मा पति पिताले इज्जतअनुसार खान लाउन नदिए अंश दिनु पर्ने दायित्व रहेको छ । बन्डा गर्नुपर्ने सम्पूर्ण चल अचल सम्पत्ति विपक्षीहरूको जिम्‍मामा रहेकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी बन्डा गर्नु पर्ने सम्पत्तिको तायदाती फाँटवारी लिई ५ भागको २ भाग अंश दिलाई पाउँ भन्ने फिराद पत्र ।

विपक्षी फिरादीहरू म प्रतिवादी मोहनप्रसाद उपाध्यायको जेठी श्रीमती र छोरा हुन् । मैले सावित्रीदेवीलाई २०१५ सालमा विवाह गरी २०३० सालमा छोरा नारद खतिवडाको जन्म भएको हो । प्रतिवादी शारदादेवीलाई २०२६ सालमा र सावित्री खतिवडालाई २०६३ सालमा विवाह गरेको हुँ । विपक्षीहरूले अंश पाएको छैन भनी दाबी लिएको कुरा झुट्ठा हो । मैले २०१५ सालमा फिरादीलाई विवाह गरी साबिक घर उदयपुर डुम्रेमा राखेकोमा २०२१ सालमा सर्लाही जिल्लामा जग्गा खरिद गरी सबै परिवार तराईमा बसोवास गर्न थालेपछि विपक्षी सावित्री घरमा नबस्ने, माइतमा जाने, माइत गएपछि लगातार एक डेढ वर्ष बस्ने, लिन गए घर आउने, ५/७ महिना बसेपछि पुनः माइत गई बस्ने गरी ८/१० वर्ष बिते । घरायसी व्यवहार र पारिवारिक जीवन अस्तव्यस्त भएपछि २०२६ सालमा सारदादेवीसँग दोस्रो विवाह गरेँ । दोस्रो श्रीमतीबाट ३ छोरीहरूको जायजन्म भई विवाह दान भइसकेको छ । म २०३२ सालमा पशुपतिप्रसाद गणबाट अवकाश लिई घरमा बसी आएको छु । विपक्षीले २०३२ सालतिर तत्कालीन अञ्चलाधीश कार्यालय, जनकपुरमा मेरो विरूद्धमा अंश पाउँ भनी उजुरी निवेदन दिएकोले मैले अंश नपाएको भए पनि पछि अंश भागबाट कट्टी हुने गरी पिता विष्णुप्रसाद खतिवडाको नामबाट अंशबापत निजलाई ०-८-० खेत घडेरी जग्गा चल सम्पत्ति हाडाभाडासमेत उसै बखत दिइसकेको छु । २०६४ साल कार्तिक महिनामा छोरा नारद खतिवडासमेतलाई सेवाबाट पाएको एकमुष्ट रकम रू.६०,०००।- नगद दिइसकेको छु । कान्छी श्रीमती सावित्री खतिवडालाई समेत अंशबापत का.जि.सुन्दरीजल गा.वि.स.मा ०-१०-० जग्गा दिएको छु । माइली श्रीमतीलाई अंश दिन बाँकी छ । विगत केही वर्ष यता म बिरामी भई हिँड्डुल गर्न नसक्ने भएपछि मेरो नाउँमा रहेको एक मात्र पैतृक सम्पत्ति सर्लाही जिल्ला जब्दी गा.वि.स. वडा नं. ७ (ख) कि.नं. १३७ को ज.वि. ०-३-० तीन कठ्ठा बिक्री गरी आफूलाई औषधी उपचार गर्न र माइली श्रीमती शारदादेवीलाई अंशबापत केही नगद रूपैयाँ दिनको लागि जग्गा बिक्री गर्न छोरा नारदप्रसाद खतिवडालाई काठमाडौं जिल्ला अदालतमा मिति २०६७।७।१२ मा अधिकृत वारेसनामा मुकरर गरी दिएको थिएँ । उक्त जग्गा बिक्री गरी हालसम्म मलाई रकम नबुझाई भागी हिँडिरहेको अवस्थाछ । मैले रूपैयाँ माग्छु, जग्गा बिक्री गरेको रूपैयाँ फिर्ता गर्नुपर्छ भनी उल्टै मलाई दुःख हैरानी दिने नियतले झुठ्ठा मुद्दा दायर गरेका हुन् भन्ने प्रतिवादी मोहनप्रसाद उपाध्यायको प्रतिउत्तर पत्र । 

विपक्षी पति मोहनप्रसाद खतिवडासँग मिति २०२६ फागुनमा मेरो सामाजिक परम्पराबमोजिम विवाह भएको हो । विवाहपश्चात् पतिले का.जि.का.म.न.पा. घट्टेकुलो डेरा खोजी राख्नु भयो । विवाह भएको १ वर्षसम्म हामी श्रीमान् श्रीमतीको जीवन राम्रोसँग सञ्चालन भए पनि १ वर्षपश्चात् पतिको बानी व्यवहारमा परिवर्तन हुन थाल्यो । पति पूर्व नै विवाहित भएको कुरा पछि मात्र थाहा पाएँ । पतिले मलाई अहिलेसम्म पैतृक सम्पत्ति,जागिरबाट आएको रकम केही पनि दिनु भएको छैन । पति कोठामा कहिले आउने कहिले नआउने गर्न थाल्नु भएको, मेरो आयस्रोत केही नभएकोले सर्लाही माइती आमाको शरणमा गई बसेँ । गर्भवती अवस्थामा माइतीको घरमा बस्न पनि गाह्रो भएकोले जनकपुरमा राधा भण्डारीको घरमा भान्सेको काम गर्न थालेँ । छोरीको जन्मपछि पतिको पत्ता लगाई काठमाडौं आउँदा भेट दिन नमानेकोले साथीभाइले सम्झाएपछि डेरा खोजी राख्नु भयो । केही समयपश्चात् माइली छोरी र कान्छी छोरीको जन्म भयो । घरमा बस्दा विपक्षी सौता अंश लिई बसेको हुनाले गरिखानसमेत केही जग्गा नदिएकोले बस्न नसकी आमासँग रहे बसेको समयमा ठुलो बुबाको छोरा दाजु बिरामी भएकोले हेरचाह गर्दा कामबाट खुसी भई केही जग्गा दिनु भयो । केही काम गरेर भए पनि छोरीहरूको पालनपोषण शिक्षा दिक्षाको लागि काठमाडौं आई गार्मेन्ट फेक्ट्रीमा ऊनको डल्ला बनाउने काम गरेँ । त्यसपछि सुपर बिस्कुट कारखाना सानेपामा ६ वर्ष, काठमाडौं नर्सिङ होममा १ वर्ष, ब्यालरी सिलिन्जरकोमा १ वर्ष, बेएन्ड किङ र यान्स राइडरकोमा ५ वर्ष, क्यारोल र डेभिडकोमा १२ वर्ष काम गरे । सो समयमा म मैया बस्नेतको घरमा डेरा गरी घरको खाना पकाउनेदेखि परिआएको सबै काम गरेकोले प्रसन्‍न भई ललितपुरको ५ आना जग्गा बक्स गरी दिनुभयो । सोही जग्गामा दु:खजेलो गरी कमाएको रकमबाट घर निर्माण गरी बस्दै आएको 

छु । मिति २०६३ सालमा साबित्री खतिवडालाई विवाह गरी ल्याएपछि अवकाश हुँदा पाएको रकमसमेत पतिले जेठी र कान्छी श्रीमतीलाई दिनु भयो । कान्छी श्रीमतीलाई सुन्दरीजलमा जग्गा किनी दिनु भयो । छोरालाई ०-८-० जग्गा दिएको, ०-३-० जग्गा अधिकृत वारेसनामाबाट दिएको भन्‍ने सुनेको छु । मैले रिझाएबापत प्राप्त गरेको र आफैँले कमाएको सम्पत्ति मुलुकी ऐन, स्त्री अंश धनको महल १, ५ नं. बमोजिमको आफूखुसी गर्न पाउने भन्ने कानूनी व्यवस्था हुँदाहुँदै पनि उक्त सम्पत्ति खाने नियतले दायर गरेको फिराद पत्र मुलुकी ऐन १८० नं. बमोजिम खारेज गरी भन्ने प्रतिवादी शारदादेवी खतिवडाको प्रतिउत्तर पत्र ।

प्रतिवादीमध्येकी सावित्री खतिवडाको नाममा सुरू अदालतबाट जारी ३० दिने म्याद सूचना मिति २०६७।५।१६ को राजधानी दैनिकमा प्रकाशित सूचना मिसिल सामेल रहेको ।

म प्रतिवादी शारदादेवीलाई चिन्दछु निजले ललितपुर जिल्लाको क्षेत्रफल ५ आना जग्गा बकस पत्रबाट पाएकी हुन् । शारदादेवीलाई दुःखजिलो गरी आर्जेको सम्पत्ति पैतृक नभएकोले वादीहरूले प्रतिवादी शारदादेवीबाट अंश पाउने होइनन् सारदादेवीसँग भएको सम्पत्ति बकसबाट प्राप्त गरेको तथा दुःखजिलो गरी आर्जेको हो भन्ने प्रतिवादी शारदादेवीका साक्षी ललिता विष्टले सुरू अदालतमा गरेको बकपत्र ।

वादी प्रतिवादीहरू ५ अंशियार भएको हुँदा वादीहरूले ५ भागको २ भाग अंश पाउनु पर्ने हो भनी वादीका साक्षी अनिलकुमार ढुंगानाले सुरू अदालतमा गरेको बकपत्र ।

वादीले प्रतिवादीहरूबाट अंश पाउने नै देखिँदा फिराद परेको अघिल्लो मितिलाई मानो छुट्टिएको मिति कायम गरी सो मितिसम्‍मको बन्डा गर्नु पर्ने चल अचल सम्पत्तिको फाँटवारी लिई, स्रेस्ता उतार झिकाई, परस्परमा सुनाई, नपुग कोर्ट फी वादीबाट दाखिला गराई पेस गर्नु भन्‍ने सुरू जिल्ला अदालतबाट मिति २०६८।१।५ मा भएको आदेशबमोजिम प्रतिवादी शारदादेवी खतिवडाले मिति २०६८।२।४ मा र वादीले मिति २०६८।२।२६ मा पेस गरेको तायदाती फाँटवारी र एकआपसमा मिति २०६८।७।६ गते फाँटवारी सुनी गरी दिएको कागज मिसिल सामेल रहेको । 

वादी नारदप्रसाद खतिवडाले कि.नं. १२, कि.नं. ६२७ र त्यसमा बनेका घरसमेतबाट ५ भागको १ भाग अंश पाउने ठहर्छ । वादी सावित्रीदेवी खतिवडाले, तायदाती फाँटवारीमा बन्डा गर्नुपर्ने पैतृक सम्पत्ति पेस हुन आएको नदेखिँदा प्रतिवादीहरूबाट अलगसम्म हुने तर अंशबन्डा पाउने सक्ने 

देखिएन । बहसको क्रममा वादी सावित्रीदेवी खतिवडाको नाममा कि.नं. १४७२ को जग्गा दर्ता रहेको भनी जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि पेस गरेको विषयमा त्यस सम्बन्धमा अंश दपोटतर्फ फिराद परेमा कानूनबमोजिम हुने र तायदाती फाँटवारीमा उल्लेख गरेको ऋणको हकमा साहुको उजुर परेका बखत ठहरेबमोजिम हुने ठहर्छ भन्ने मिति २०६८।७।२३ मा भएको फैसला । 

पुनरावेदकमध्येको म नारदप्रसाद खतिवडालाई फिराद मागदाबीबमोजिम ५ भागको १ भाग अंश पाउने ठहर गरी फैसला भएकोमा चित्त बुझेको छ । बन्डा गर्नुपर्ने सम्पत्ति घर जग्गा पैतृक भनी उल्लेख गरी बन्डा गर्नुपर्नेमा बकसपत्रबाट प्राप्त गरेको सम्पत्ति आफूखुसी गर्न पाउँने निजी सम्पत्ति सौताने छोराको हदसम्‍म अंश पाउने ठहर्छ भन्‍ने फैसला भएको हुँदा पैतृक सम्पत्तिलाई निजी आर्जनको (बकसपत्रको) माध्यमबाट प्राप्त गरेको सम्पत्ति भनेको हदसम्म सुरू फैसला चित्त बुझेको छैन । शारदादेवी खतिवडाको नाममा खरिद गरी राखिएको घर जग्गा खरिद गर्दा बकसपत्रको माध्यमबाट खरिद गरेको भए पनि उक्त जग्गा सगोलको पैतृक सम्पत्तिबाट बढेबढाएको र पिताको आर्जनबाट खरिद गरी विपक्षी सारदा खतिवडाको नाममा राखिएको हो । यस्तो सम्पत्ति रीतपूर्वक बन्डा नभएसम्‍म जुनसुकै अंशियारको नाममा भएपनि सबै अंशियारलाई बराबरी बन्डा लाग्छ । त्यस्तो सम्पत्ति आफूखुस हुने सम्पत्ति भन्न मिल्दैन । हामी पुनरावेदकहरूको अंश हक मार्न विपक्षी शारदादेवीको नाममा बकसपत्रको माध्यमबाट खरिद गरिएको हो । कान्छी सौता, सौतेनी आमा सावित्री खतिवडाका नाममा रहेका जग्गाहरू बिक्री गरेउपर परेका लिखत बदर मुद्दामा सगोलको अंश हक लाग्ने सम्पत्ति भनी लिखत बदर हुने गरी फैसला भएको स्थितिमा विपक्षी नामको सम्पत्ति हालैदेखिको बकसपत्रको माध्यमबाट खरिद गरेको निजी आर्जनको भनी बन्डा नलाग्ने ठहर्‍याएको फैसला मिलेको छैन । पति पिता मोहनप्रसाद मिति २०६८।७।३० मा स्वर्गारोहण हुनु भएकोले पितालाई विपक्षी नबनाएको, हाल हामी ४ अंशियार हुँदा ४ भागको २ भाग अंश पाउने ठहर गरी सुरू फैसला नारदप्रसाद खतिवडाको हकमा आंशिक उल्टी गरी साबित्री खतिवडाको हकमा फिराद दाबीबमोजिम गरिपाउँ भन्‍ने वादीहरूको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।

यसमा सुरू फैसलाको छायाँप्रतिबाट निवेदक वादीहरूको नाममा बन्डा गर्नुपर्ने सगोलको कुनै चल अचल सम्पत्ति रहेको भन्‍ने नदेखिएको र वादीहरूले सुरू तहमा समेत कोर्ट फी पछि दाखिला गर्ने गरी सुविधा लिनु भएकोले निवेदक वादीहरूबाट कानूनबमोजिम लिनुपर्ने कोर्ट फीको रकम पछि लिने गरी नेपाल कोर्ट फी ऐन, २०१७ को दफा २३ बमोजिम आदेश पर्चा गरिदिएको छ भन्‍ने पुनरावेदन अदालत पाटनबाट मिति २०६९।३।२५ को आदेश ।

मैले हरिवन गा.वि.स. वडा नं.५ कि.नं.१२ को क्षे.फ.१-२-१४ जग्गा र ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. ४ कि.नं. ६२७ को क्षे. फ ०-५-० जग्गा रिझाएबापत हालैदेखिको बकसपत्रबाट प्राप्त गरेको हो । आफू स्वयम्‌ले दुःखजिलो गरी कमाएको सम्पत्ति स्त्री अंशधनको महलको १, ५ नं. अंशबन्डाको १८ नं. को कानूनी व्यवस्थाबाट बन्डा गर्नु नपर्ने देखिएको अवस्थामा छोरा शब्दको व्याख्या गरी वादी नारद खतिवडाले १ भाग पाउने गरी भएको फैसला बदर गरिपाउँ भन्‍ने प्रतिवादी शारदादेवी खतिवडाको तर्फबाट पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।

यसमा ललितपुर उपमहानगरपालिकाको सिफारिससमेतको आधारमा निवेदकको माग मनासिब नै देखिन आएकोले पछि ठहरेबमोजिम हुने गरी हाल कोर्ट फी नलिई पुनरावेदन दर्ता गर्न कोर्ट फी ऐन, २०१७ को दफा २३ बमोजिम यो आदेश पर्चा गरिदिएको छ भन्ने मिति २०६९।२।३१ मा पुनरावेदन अदालत पाटनबाट भएको आदेश ।

यसमा दुवै पक्षको पुनरावेदन पर्न आएको देखिएकोले, मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ परेको पुनरावेदन परस्परमा सुनाई लगाउका मुद्दाहरू साथै राखी नियमानुसार पेस गर्ने भन्ने मिति २०६९।९।१२ मा पुनरावेदन अदालत पाटनबाट भएको आदेश ।

सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६८।७।२३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी प्रतिवादी दुवै थरीका पुनरावेदन जिकिर पुग्न सक्दैन भन्‍ने पुनरावेदन अदालत पाटनबाट मिति २०७०।४।१४ मा भएको फैसला ।

पति मोहनप्रसाद शर्माको मिति २०६८।७।३० मा मृत्यु भइसकेको छ । सर्लाही हरिवन गा.वि.स. वडा नं. ५ (ग) कि.नं.१२ को क्षे.फ. १-२-१४ जग्गा निवेदिकाको आफ्नो भाउजू धनकुमारी उपाध्याय दाहालबाट मिति २०३६।१२।२१ मा बकस प्राप्त गरेको सम्पत्ति हो । ललितपुर उपमहानगरपालिका वडा नं. ४ को क्षे.फ. ०-५-० जग्गा मिति २०४७।६।२६ मा मैया बस्नेतले हालैदेखिको बकसपत्र गरिदिएको हो । लिखतको कैफियत महलमा “तपाइँ शारदादेवी खतिवडाले हामीलाई परी आएको कामकाजमा सहयोग मद्दत गरिदिएबापत यो जग्गा हालैदेखिको बकसपत्र गरिदिएको छु भन्‍ने उल्लेख छ । मुलुकी ऐन, स्त्री अंश धनको ४ नं. मा स्वास्नी मानिसलाई माइती मावलीपट्टिका नातेदार इष्टमित्रहरूले दिएको चल अचल सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति दाइजो ठहर्छ भन्‍ने कानूनी व्यस्था छ । यसरी प्राप्त भएको सम्पत्तिमा प्राप्त गर्ने व्यक्तिको एकल हक स्वामित्व, आफूखुसी गर्न पाउने हुन्छ । मैले फाँटवारी दिँदासमेत दुवै कित्ता जग्गाको स्रोत बकसपत्र हो, बन्डा लाग्ने प्रकृतिका होइनन् भनेको छु । स्त्री अंश धनको १ नं. ले कन्या सदवा वा विधुवा स्वास्नी मानिसले आफ्नो चल अचल सम्पत्ति आफूखूसी गर्न पाउँछन् भन्‍ने व्यवस्था छ । उक्त दुवै जग्गा निवेदिकाको स्वआर्जनको सम्पत्ति हुँदा कसैलाई बन्डा लगाउनु पर्ने प्रकृतिका होइनन् । अंश जीवनकालमा एक पटक लिइन्छ । वादीहरूले अंश पाइसकेको भन्‍ने कुरा प्रतिवादी पति मोहनप्रसाद उपाध्यायको प्रतिउत्तरपत्रमा उल्लेख छ । प्रत्यर्थी नारद खतिवडा मेरा सौतेनी छोरा हुन्, निजको जन्म पति मोहनप्रसाद उपाध्याय र म निवेदकको वैवाहिक सम्बन्धबाट भएको होइन, प्रत्यर्थीसँग निवेदिकाको जन्मजात पारिवारिक र प्राकृतिक सम्बन्ध गाँसिएको होइन, सौतेनी आमाले बकसपत्रबाट पाएको सम्पत्तिमा सौतेनी छोराले अंश पाउँछ भनी व्याख्या गर्नु न्यायोचित हुँदैन । निवेदकको आफ्नो ज्ञान, सिप, प्रयासबाट आर्जन गरेको निजी तवरले दान बकस पाएको त्यस्तो सम्पत्ति सौतेनी छोरालाई बन्डा लाग्ने गरी अंशबन्डाको १८ नं. स्त्री अंश धनको १ नं. ५ नं. को व्याख्यात्मक त्रुटि र अदालतबाट प्रतिपादित कानूनी सिद्धान्तको विपरीत हुने गरी जिल्ला अदालतले गरेको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला नमिलेकोले दोहोर्‍याई हेरी निवेदन जिकिरबमोजिम गरिपाउँ भन्‍ने प्रतिवादी शारदादेवी खतिवडाले गरेको निवेदनपत्र ।

यसमा माइतीको भाउजू पर्नेबाट बकसपत्र पाएको जग्गासमेतमा सौतेनी छोरा नारद खतिवडाको समेत अंश हुने ठहर गरेको पुनरावेदन अदालत पाटनबाट मिति २०७०।४।१४ मा भएको फैसलामा स्त्री अंश धनको ४ नं. अंशबन्डाको १८ नं, अ.बं १८४क. तथा प्रमाण ऐन, २०४८ को दफा ५४ समेतको व्याख्यात्मक त्रुटि विद्यमान देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) (क) बमोजिम प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको 

छ । सुरू, रेकर्ड, भए प्रमाण मिसिल र विपक्षीसमेतलाई झिकाई नियमानुसार पेस गर्नु भन्‍ने यस अदालतको मिति २०७१।९।१३ को आदेश । 

शारदादेवी नामदर्तामा रहेका जग्गाहरू पति मोहनप्रसाद उपाध्यायको आर्जनबाट खरिद गरेका घर जग्गा हो, उक्त जग्गा खरिद गर्दा बकसपत्रको माध्यमबाट खरिद गरे पनि सगोलको पैतृक सम्पत्तिबाट बढे बढाएको र विपक्षी शारदादेवीको नाममा राखेको हो । पिता पुर्खाको पालाको सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति सगोलको अंशियारमध्ये जोसुकै अंशियारको नाममा राखे पनि सबै अंशियारको बराबरी भाग लाग्छ । पति मोहनप्रसाद शर्माको मिति २०६८।७।३० मा मृत्यु भएकोले अहिले ४ अंशियार छौं, नातामा र अंशियार हो भन्‍ने कुरामा विवाद छैन । अहिलेसम्‍म अंशबन्डा भएको छैन, अंशबन्डा भएको छ भन्‍ने कुनै कागज प्रमाण देखाउन सकेको छैन । उक्त जग्गा मेरोसमेत अंश हक लाग्ने हो । म निवेदकको नाममा कुनै सम्पत्ति छैन, पतिको कान्छी श्रीमती सौता एवं सौतेनी आमा साबित्री खतिवडाका नाममा समेत जग्गाहरू रहेको थियो । उक्त जग्गाहरू लगाउको लिखत बदर मुद्दामा सगोलको हक लाग्ने सम्पत्ति भनी लिखत बदर हुने भनी फैसला भएको छ । स्त्री अंश धनको १  र ५ नं. बमोजिम दाइजोको माध्यमबाट प्राप्त आफूखुसी गर्न पाउने भएकोले निजी सम्पत्ति भनी मलाई बन्डा दिएको छैन । सगोलमा रहेको अवस्थामा पतिले आर्जन गरेको सम्पत्ति बकसपत्रको माध्यमबाट खरिद गरी विपक्षीको नाममा राखेकोमा सोबाट मैले अंश पाउन नसक्ने गरी भएको पुनरावेदन अदालत पाटनको फैसला उल्टी हुने हुँदा दोहोर्‍याउने निस्‍सा प्रदान गरी फिराद दाबीबमोजिम गरिपाउँ भन्ने वादीमध्येका सावित्रीदेवी खतिवडाको तर्फबाट यस अदालतमा परेको निवेदन ।

यसमा यिनै प्रतिवादीमध्येका शारदादेवी खतिवडाले यस अदालतमा दर्ता गराएको ०७०-RI-०९१८ को निवेदनमा मिति २०७१।९।१३ मा निस्‍सा प्रदान गरी मुद्दा चलिरहेको र सो निस्‍सा मिसिल सामेल देखिँदा उक्त निवेदनसँग प्रस्तुत मुद्दा अन्तरप्रभावी देखिँदा सोही निस्साका आधारमा प्रस्तुत मुद्दामा पनि न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ । प्रस्तुत मुद्दाको सुरू रेकर्ड भए प्रमाण मिसिलसमेत झिकाई विपक्षीहरूलाई सूचना म्याद जारी गरी आएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्‍ने यस अदालतको मिति २०७२।९।२७ को आदेश ।

ठहर खण्ड

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनपत्रसहितको मिसिल संलग्न कागजात अध्ययन गरियो ।

पुनरावेदक वादी सावित्रीदेवी खतिवडाको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री युवराज भण्डारीले वादी प्रतिवादीहरू एकासगोलका अंशियार रहेको कुरामा विवाद छैन, वादीहरूले पहिने नै अंश पाइसकेकोले अंश दिनुपर्ने होइन भन्‍ने प्रतिवादीमध्ये मोहनप्रसाद उपाध्यायको जिकिर रहे पनि पहिले नै अंश पाइसकेको भन्‍ने देखिने स्पष्ट प्रमाण पेस गरेको छैन । वादी प्रतिवादीहरूको सौतेनी व्यवहार रहेको भन्‍ने देखिएको, परिवारका मूल व्यक्ति पति, पिता नेपाली सेनामा सरकारी जागिरे भन्‍ने देखिएको 

छ । परिवारको सबै जग्गा जमिन प्रतिवादीहरू माइली र कान्छी श्रीमतीका नाममा राखेको देखिएको छ । फाँटवारीको आदेश हुँदा बकसबाट पाएको जग्गा बन्डा गर्नु नपर्ने भनी प्रतिवादी शारदादेवीले उल्लेख गरेको 

छ । कान्छी श्रीमती नाम दर्तामा रहेका जग्गा बिक्री गरेउपर लिखत बदरसमेतका मुद्दा परी वादीको दाबीबमोजिम ठहर फैसला भएका 

छन् । बन्डा गर्नु नपर्ने भनिएका जग्गा पति मोहनप्रसाद उपाध्यायको आर्जनबाट बकसपत्रको माध्यमबाट खरिद गरी प्रतिवादीका नाममा राखिएको हुँदा सबै अंशियारको बराबरी अंश हक लाग्ने जग्गा हो । प्रतिवादी मोहनप्रसादको मिति २०६८।७।३० मा मृत्यु भइसकेकोले जीवित अंशियार ४ जना हुँदा सोहीबमोजिम बन्डा हुनुपर्ने अवस्था 

छ । बकसपत्रको माध्यमबाट प्राप्त गरेको देखिएको भनी वादीमध्येका सावित्री खतिवडालाई अंश भाग नलाग्ने ठहर्‍याएको सुरूको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला नमिलेकोले बदर गरी फिराद दाबीबमोजिम गरिपाउँ भनी बहस गर्नुभयो ।

पुनरावेदक प्रतिवादी शारदादेवी खतिवडाका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ताहरू श्री मीरा ढुङ्गाना, श्री सर्मिला श्रेष्ठ, श्री पुन्यशिला दवाडी, श्री शकुन्तला बस्नेतले वादीहरूले पहिले नै अंश पाइसकेको भन्‍ने कुरा प्रतिवादी मोहनप्रसाद उपाध्यायको प्रतिउत्तरबाट देखिएको छ । अंश एकपटक प्राप्त गरिने हुन्छ । परिवारमा सौतेनी व्यवहार देखिएको र एकासगोलमा रहन बस्न सक्ने वातावरण नहुँदा प्रतिवादी शारदादेवी खतिवडालाई माइतीतर्फका भाउजूले २०३६ सालमा बकस गरिदिएको सर्लाही हरिवन-५ग को कि.नं.१२ को जग्गा र दाता मैया बस्नेतले रिझाएबापत मिति २०४७।६।२६ मा बकस गरिदिएको ललितपुर-४ को कि.नं. ६२७ को जग्गा बकसबाट प्राप्त गरेको हुँदा अन्य अंशियारको हक लाग्न सक्दैन । माइती मावलीले दिएको सम्पत्ति दाइजो भई दाइजोको सम्पत्ति प्राप्त गर्नेको एकलौटी हकको भई आफूखुसी गर्न पाउने हुन्छ । अंशियारले आफ्नो ज्ञान, सिप र प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंश धनको ५ नं. बमोजिम पाएकोमा त्यस्तो सम्पत्ति निजी ठहर्ने भई अंशबन्डा गर्न कर नलाग्ने हुन्छ । सर्वोच्च अदालतबाट सावित्री थापा विरूद्ध पार्वती थापा भएको २०६४ सालको नि.नं ७८१४ को सिद्धान्त एक उदरबाट जन्मेका छोराको हकमा आकर्षित हुने हो । सोही सिद्धान्तलाई आधार लिई बकसबाट प्राप्त भएको जग्गा सौतेनीपट्टिका छोरालाई बन्डा लाग्ने ठहर्‍याएको सुरूको फैसलालाई सदर गर्ने गरेको पुनरावेदनको फैसलासमेत नमिलेकोले उल्टी गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

मिसिल संलग्न कागजात हेर्दा  परिवारमा ५ अंशियार हुँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी ५ भागको २ भाग अंश पाउँ भन्‍ने फिराद दाबी देखियो । प्रतिवादी मोहनप्रसाद उपाध्यायले वादीहरूले पहिले नै अंश पाइसकेको भन्‍ने प्रतिउत्तरमा उल्लेख गरेको 

देखिन्छ । प्रतिवादी शारदादेवीले पैतृक सम्पत्ति नपाएको, माइतीतर्फकी भाउजूबाट जग्गा र मैया बस्नेतबाट बकस पाएको जग्गामा निजी प्रयासबाट घर निर्माण गरी बस्दै आएको भन्‍ने प्रतिउत्तर बेहोरामा उल्लेख गरेको देखियो । प्रतिवादी कान्छी श्रीमती साबित्री खतिवडाले प्रतिउत्तर नै पेस गरेको देखिएन । सुरू काठमाडौं जिल्ला अदालतबाट वादी नारदप्रसाद खतिवडाले कि.नं. १२, कि.नं. ६२७ र त्यसमा बनेका घरसमेतबाट ५ भागको १ भाग अंश पाउने ठहर्छ, वादी सावित्रीदेवी खतिवडाले तायदाती फाँटवारीमा बन्डा गर्नुपर्ने पैतृक सम्पत्ति पेस हुन आएको नदेखिँदा प्रतिवादीहरूबाट अलगसम्म हुने तर अंशबन्डा पाउन सक्ने देखिएन भनी गरेको फैसलाउपर चित्त नबुझाई वादी र प्रतिवादीमध्येका शारदादेवीको तर्फबाट पुनरावेदन पर्दा सुरू जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहरी पुनरावेदन अदालत पाटनबाट फैसला भएको देखियो । सो फैसलामा चित्त नबुझाई वादीमध्येका सावित्रीदेवी खतिवडा र प्रतिवादी शारदादेवी खतिवडाले छुट्टाछुट्टै दोहोर्‍याई हेरिपाउँ भनी दिएको निवेदनमा यस अदालतबाट दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई प्रस्तुत मुद्दा निर्णयार्थ पेस हुन आएको देखियो । वादीमध्येका नारद खतिवडाको दोहोर्‍याई पाउँतर्फ निवेदन परेको देखिएन ।

उपर्युक्तबमोजिम तथ्य र बहस जिकिर रहेको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन ? वादी, प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्‍ने विषयमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा वादी नारदप्रसाद खतिवडाले प्रतिवादी शारदादेवी खतिवडाको नाम दर्ताको  कि.नं. १२, कि.नं. ६२७ र त्यसमा बनेका घरसमेतबाट ५ भागको १ भाग अंश पाउने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसलाउपर वादी नारदप्रसाद खतिवडाको पुनरावेदन पर्न आएको नदेखिँदा निजको हकमा भएको फैसलामा थप विवेचना गरिरहनु परेन ।

३. वादीमध्येको सावित्रीदेवी खतिवडा र प्रतिवादी शारदादेवी खतिवडाको पुनरावेदनतर्फ हेर्दा हामी फिरादीको पति, पिता विपक्षी मोहनप्रसाद शर्माका तीन श्रीमतीमध्ये जेठी सावित्रीदेवी खतिवडा, माइली शारदादेवी खतिवडा र कान्छी सावित्री खतिवडा भएकोमा जेठी श्रीमतीतर्फबाट नारद खतिवडाको र माइली श्रीमतीतर्फबाट तीनजना छोरीहरूको जायजन्म भई विवाह भइसकेको, कान्छी श्रीमतीतर्फ कुनै जायजन्म नभएकोले परिवारमा ५ अंशियार छौं, अंशबन्डा भएको छैन भनी प्रतिवादीहरू पति, पिता, सौता, सौतेनी आमा नाता सम्बन्ध रहेको देखाई फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी ५ भागको २ भाग अंश दिलाई पाउँ भन्‍ने फिराद गरेको देखियो । प्रतिवादीहरूले अंशियार र नाता सम्बन्धमा अन्यथा जिकिर लिएको देखिएन । प्रतिवादी मोहनप्रसाद उपाध्यायले वादीहरूलाई पहिले नै अंश दिइसकेको छ । २०३२ सालतिर अञ्चलाधीश कार्यालय जनकपुरमा मेरो विरूद्धमा अंश पाउँ भनी उजुर गर्दा पछि आफ्नो अंश भागबाट कट्टी हुने गरी पिता विष्णुप्रसाद खतिवडाको नामबाट अंशबापत ०-८-० खेत घडेरी जग्गा हाडाभाडासमेत दिइसकेको छु । छोरा नारद खतिवडालाई सेवाबाट पाएको एकमुष्ट रकम नगद रू.१,६०,०००।- दिइसकेको छु । विगत केही वर्ष यता बिरामी भई हिँड्डुल गर्न नसक्ने भएकोले मेरो नाउँमा रहेको पैतृक सम्पत्ति सर्लाही जब्दी ७ (ख) कि.नं. १३७ को ज.वि. ०-३-० तीन कठ्ठा जग्गा बिक्री गर्न  मिति २०६७।७।१२ मा छोरालाई अधिकृत वारेसनामा दिएकोमा जग्गा बिक्री गरी रकम नबुझाई भागी हिँडिरहेका छन् । जग्गा बिक्री गरेको रूपैयाँ फिर्ता गर्नुपर्छ भनी झुठ्ठा मुद्दा दायर गरेको भन्‍ने प्रतिउत्तर बेहोरा रहेको देखिन्छ । वादीहरूले पहिले नै अंश पाइसकेको वा वादीहरूलाई अंश दिनु नपर्ने भन्‍ने स्पष्ट देखिने कुनै प्रमाण पेस गरेको देखिएन ।

४. प्रतिवादी शारदादेवी खतिवडाले पैतृक सम्पत्तिबाट अंश नपाएको, माइतीतर्फकी भाउजू धनकुमारी उपाध्याय दाहालले सर्लाही हरिवन -५ग कि.नं.१२ को १-२-१४ जग्गा र मैया बस्नेतले ललितपुर उपमहानगरपालिका वडा नं. ४ कि.नं ६२७ को ०-५-०-० जग्गा बकसपत्र गरिदिएकोले आफूले आर्जन गरेको रकमबाट घर बनाई बसोवास गरी आएको छु । सोही सम्पत्ति खाने नियतले फिराद गरेका हुन् भन्‍ने प्रतिउत्तरमा उल्लेख गरेको 

देखिन्छ । प्रतिवादीमध्येका मोहनप्रसाद खतिवडाको कान्छी श्रीमती सावित्रीदेवी खतिवडाले प्रतिउत्तर पेस गरेको देखिएन ।

५. फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरेको सम्बन्धमा वादी प्रतिवादीहरूले अन्यथा जिकिर लिएको 

देखिँदैन । फाँटवारी दिँदा प्रतिवादीमध्येकी शारदादेवी खतिवडाले आफ्नो नाम दर्तामा रहेका उल्लिखित सर्लाही हरिवन -५ग कि.न.१२ र ललितपुर उपमहानगरपालिका वडा नं. ४ कि.नं ६२७ का जग्गा आफूले बकसपत्रबाट पाएकोले स्त्री अंश धनको महलबमोजिम आफूखुसी गर्न पाउने भएकोले अन्य अंशियारलाई बन्डा गर्नु नपर्ने भनी जिकिर लिएको देखिन्छ । वादीहरूले आफ्नो नाममा बन्डा गर्नुपर्ने कुनै सम्पत्ति नरहेको भनी उल्लिखित जग्गा नै पति पिताले आर्जन गरेको सम्पत्तिले बकसपत्रको माध्यमबाट खरिद गरी प्रतिवादी शारदादेवीको नाममा राखिएको हुँदा पैतृक सम्पत्ति भएको र सोबाट बढेबढाएको सम्पत्ति हुँदा बन्डा लाग्ने सम्पत्ति हो भनी फाँटवारी पेस गरेको देखियो ।

६. सुरू जिल्ला अदालतले उल्लिखित कित्ता जग्गा बकसपत्रको माध्यमले प्राप्त गरेकोले आफूखुसी गर्न पाउने देखिएको हुँदा अन्य अंशियारलाई बन्डा गर्नु नपर्ने देखिए पनि सावित्री थापा विरूद्ध पार्वती थापा भएको ने.का.प.२०६४ अंक २ नि.नं ७८१४ को अंश मुद्दामा “छोराछोरीको हकमा बाबु आमाले जुनसुकै स्रोतबाट आर्जन गरेको सम्पत्ति पैतृक हुने, सो बन्डा लाग्ने” सिद्धान्त प्रतिपादन भइरहेको देखिएकोले प्रतिवादी शारदादेवी खतिवडाको नाममा रहेको कि.नं १२ र ६२७ को जग्गा घर अंशियार वादी सावित्रीदेवी खतिवडा प्रतिवादीहरू मोहनप्रसाद खतिवडा र सावित्रीदेवीलाई अंश लाग्न सक्ने 

देखिएन । वादी नारदप्रसाद खतिवडालाई अंश लाग्ने देखिँदा उल्लिखित कित्ताहरू र घरसमेतबाट ५ भागको १ भाग अंश पाउने ठहर्छ, फाँटवारीमा अन्य बन्डा गर्ने सम्पत्ति नदेखिएकोले वादी सावित्रीदेवी खतिवडा प्रतिवादीहरूबाट अलगसम्‍म हुने, अंशबन्डा पाउन सक्ने देखिएन भनी फैसला भएको देखियो ।

७. पति पिताको आर्जनले बकसपत्रको माध्यमबाट खरिद गरी प्रतिवादी शारदादेवीको नाममा राखेको पैतृक सम्पत्तिबाट अंश नदिएको सुरूको फैसला नमिलेको भनी वादीहरूले र बकसपत्रको माध्यमबाट प्राप्त भएको आफूखुसी गर्न पाउने सम्पत्ति सौतेनी छोरालाई बन्डा लगाई दिएको फैसला नमिलेकोले भनी प्रतिवादी शारदादेवीले गरेको पुनरावेदनमा सुरू जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ भनी पुनरावेदन अदालत पाटनबाट फैसला भएको देखिन्छ ।

८. यसमा मूलरूपमा पुनरावेदक शारदादेवीको सौतेनी छोरा नारदप्रसाद खतिवडाले निज शारदादेवीले बक्सबाट प्राप्त गरेको जग्गाबाट अंश पाउने हो, होइन भन्‍ने प्रश्न रहेको छ । मुद्दाको तथ्यबाट पिता मोहनप्रसाद खतिवडाले २०१५ सालमा विवाह गरेकी जेठी पत्नी वादी सावित्रादेवी खतिवडातर्फबाट २०३० सालमा छोरा यी वादी नारदप्रसाद खतिवडाको जन्म भएको भन्‍ने देखिन आएको छ । पिता मोहनप्रसाद खतिवडाले २०२६ सालमा माइली श्रीमतीको रूपमा प्रतिवादी शारदादेवी खतिवडालाई विवाह गरेको, माइली श्रीमतीतर्फबाट जायजन्म भएका ३ छोरीहरूको विवाह भइसकेको भन्‍ने देखिन्छ । पिता मोहनप्रसाद खतिवडाले २०६३ सालमा पुनः कान्छी श्रीमतीको रूपमा प्रतिवादी सावित्री खतिवडालाई विवाह गरेको भन्‍ने देखियो ।

९. प्रतिवादी शारदादेवी खतिवडाले आफू मोहनप्रसाद खतिवडाको कान्छी श्रीमती रहेको अवस्थामा विवादित कित्ता जग्गाहरू बकसपत्रबाट पाएको देखिन्छ । पुनरावेदक शारदादेवीले २०३६ सालमा सर्लाही हरिवन गा.वि.स. वडा नं. ५(ग) कि.नं १२ को क्षेत्रफल १-२-१४ जग्गा माइतीतर्फकी भाउजू धनकुमारी उपाध्याय दाहालबाट र ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ४ कि.नं ६२७ को जग्गा मिति २०४७।६।२६ मा मैया बस्नेतबाट हालैदेखिको बकसपत्रको माध्यमबाट प्राप्त गरेको देखियो । कुनै स्वास्नी मानिसले माइतीतर्फबाट पाएको सम्पत्ति दाइजो हुने व्यवस्था मुलुकी ऐन, स्त्री अंशधन महलको ४ नं. ले गरेको छ । दाइजोबाट प्राप्त भएको सम्पत्ति आफूखुसी गर्न मिल्ने कानूनी व्यवस्था सोही महलको ५ नं. ले गरेको छ । 

१०. मुलुकी ऐन, अंशबन्डाको १८ नं. मा “---सोबाहेक कुनै अंशियारले आफ्नो ज्ञान सिप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंश धनको महलको ५ नं. बमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुसी गर्न पाउँछ । बन्डा गर्न कर लाग्दैन” भन्‍ने व्यवस्था छ । उल्लिखित कानूनी व्यवस्थाका आधारमा निजी तवरले बकस पाएको सम्पत्ति अंशियारमा बन्डा गर्न कर नलाग्ने देखियो ।

११. निजी आर्जनको सम्पत्तिका सम्बन्धमा यस अदालतबाट (ने.का.प.२०७५, अंक ९ नि.नं १०१०१) को नेपी मिजार वि. काली मिजारसमेत भएको अंश चलन मुद्दामा  कुनै व्यक्तिले आफ्नो श्रम वा बौद्धिक क्षमताबाट कुनै सम्पत्ति आर्जन गर्दछ भने त्यस्तो सम्पत्तिलाई निजी आर्जन भनिन्छ । अंशबन्डाको विषयमा निजी आर्जन हुनको लागि अंशियारमध्ये कसैले एकाघर सगोलको सम्पत्ति प्रयोग नगरी सगोलको सम्पत्ति नमिसाइकन आफ्नै श्रम र सिपबाट कुनै सम्पत्ति आर्जन गरेको छ भने सो सम्पत्तिलाई स्वआर्जन भन्‍न 

सकिन्छ । भन्‍ने सिद्धान्तसमेत प्रतिपादित भइसकेको छ । त्यस्तै (ने.का.प. २०४२ अंक १ नि.नं २२२३) मु.स.गर्ने कुमारदास मानन्धर विरूद्ध गणेशप्रसाद मानन्धर भएको लिखत बदर मुद्दामा आफूले आर्जेको सम्पत्ति आफूखुस गर्न पाउने भन्‍ने सिद्धान्तसमेत कायम भइसकेको छ ।

१२. प्रतिवादी मोहनप्रसाद खतिवडाले २०६३ सालमा विवाह गरेकी प्रतिवादी कान्छी श्रीमती सावित्री खतिवडाको नाममा समेत काठमाडौं जिल्ला सुन्दरीजल गा.वि.स. वडा नं. ९ कि.नं १७० को ०-७-१-० र कि.नं. १७३ को ०-२-३-० जग्गा खरिद भएको देखिन्छ । उक्त जग्गाहरू हामीहरूको अंश हक मार्ने नियतले प्रतिवादी सावित्रीदेवी खतिवडाले रूद्रबहादुर घिमिरेलाई मिति २०६६।७।८ मा बिक्री गरेको र रूद्रबहादुर घिमिरेले सानुमैया फुँयाललाई मिति २०६७।९।१४ मा राजीनामा गरी दिएकोले हाम्रो अंश भागमा पर्नेजति लिखत बदर गरिपाउँ भनी यिनै पुनरावेदक वादीहरूले दिएको लिखत बदर मुद्दामा दाबीबमोजिम ५ भागको २ भाग लिखत बदर हुने ठहर्छ भन्‍ने सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६८।७।२३ मा भएको फैसला अन्तिम भई बसेको देखियो । 

१३. अब बकसबाट प्राप्त गरेको सम्पत्ति सौतेनी छोराले बन्डा पाउने ठहर्‍याएको फैसला नमिलेको भन्‍ने पुनरावेदक प्रतिवादीको जिकिरतर्फ हेर्दा बन्डा पाएका नारद खतिवडा प्रतिवादी शारदादेवी खतिवडाकी जेठी सौता वादी सावित्रीदेवी खतिवडाका उदरबाट जन्मिएका सौतेनी छोरा नाताको देखिन्छ । अंशबन्डाको प्रयोजनको लागि सौतेनीपट्टिका छोरा आफ्नै छोरासरह हुन्छ ।

१४. छोराको सम्बन्धमा प्रचलित ऐन, कानूनमा भएको व्यवस्थालाई हेर्दा नेपाल कानून व्याख्यासम्बन्धी ऐन, २०१० को दफा २ (म) मा पुत्र शब्दले धर्मपुत्र पाउनेले राखेको धर्मपुत्रलाई समेत जनाउँछ भन्‍ने परिभाषा गरेको छ । धर्मपुत्रको महलको ९ (ग) लाई हेर्दा धर्मपुत्र वा धर्मपुत्रीको हक छोरासरहको हुने भन्‍ने व्यवस्था रहेको छ ।

१५. सम्पत्ति प्राप्‍त हुने विभिन्‍न कानूनी व्यवस्था जस्तै साबिक मुलुकी ऐन, अंशबन्डाको, अपुतालीको महल हेर्दा पनि सौतेनी छोरा र आफ्नो छोराको बिचमा विभेद गरेको पाइँदैन । सौतेनी छोराको हकमा जैविक आमा फरक रहे पनि जैविक बाबु एउटै हुने हुन्छ । सम्पत्ति प्राप्‍त हुने अधिकारमा सौतेनी दाजुभाइ दिदी बहिनीको बिचमा विभेद गरेको पाइँदैन । विशेष गरेर अंशजस्तो हक प्राप्‍त गर्ने विषयमा प्रचलित कानूनमा कहिले पनि सौतेनी छोरा छोरीमा विभेद रहेको छैन । सगोलको पैतृक सम्पत्ति सबै अंशियारहरूले बराबर अंश प्राप्‍त गर्ने अवधारणालाई आत्मसात् गरेको पाइन्छ । अंश हक प्राप्त गर्न, अंशियार हुन आवश्यक हुन्छ । सौतेनी छोरालाई आफ्नै छोरासरह बराबर अंश हकबाट वञ्‍चित गर्न मिल्ने कानूनी आधार देखिँदैन ।

१६. बाबु आमाले जुनसुकै स्रोतबाट प्राप्त गरेको सम्पत्ति छोराछोरीका लागि पैतृकसरह हुन्छ । सौतेनीआमाले बकसपत्र, दाइजो जुनसुकै माध्यमबाट प्राप्‍त गरेको सम्पत्ति आफ्नो छोराछोरीलाई पैतृक हुने, सौतेनीतर्फबाट जन्मेका छोराछोरीको लागि नहुने भनी व्याख्या गर्न अंशबन्डाको महलमा रहेको कानूनी व्यवस्थाले मिल्ने देखिँदैन ।

१७. वस्तुतः सौतेनी आमाले प्राप्‍त गरेको सम्पत्ति एक पुस्ता तलका छोराछोरी अंशियारहरू सबैका लागि पैतृक सम्पत्तिसरह नै हुने हुन्छ । अंशबन्डा प्रयोजनको सन्दर्भमा सौतेनी छोराछोरी र आफ्ना छोराछोरीलाई सम्पत्ति पैतृकसरह हुने व्याख्यामा विभेद गरिनु न्यायोचित र कानूनसम्मत मान्‍न 

मिलेन । बाबुआमाले जुनसुकै स्रोतबाट आर्जन गरेको सम्पत्ति पैतृक हुने र छोराछोरीको लागि बन्डा लाग्ने भनी यस अदालतबाट प्रतिपादित न्यायिक सिद्धान्त (ने.का.प. २०६४ नि.न. ७८१४) मा पनि सौतेनी छोराछोरीमा विभेद गरेको पाइँदैन ।

१८. पुनरावेदक शारदादेवीले बकपत्रको लिखतबाट प्राप्‍त गरेको सर्लाही हरिवन गा.वि.स. वडा नं. ५(ग) को कि.नं. १२ र ललितपुर उपमहानगरपालिका वडा नं. ४ कि.नं. ६२७ को घरजग्गामा सौतेनी छोरा वादी नारद खतिवडाको अंशहक लाग्ने नै देखियो । प्रतिवादी शारदादेवीले ललितपुर उपमहानगरपालिका वडा नं. ४ कि.नं ६२७ को जग्गासम्म बकस पाएको, सगोलमा रहेको अवस्थामा सो जग्गामा घर निर्माण भएको र सो घरबाहेक अन्य स्थानमा घर रहेको भन्ने तायदाती फाँटवारीबाट देखिन आएको छैन । अतः उक्त कि.नं. १२ र ६२७ को घर जग्गाबाट वादी नारद खतिवडाले अंश पाउने ठहर्‍याएको पुनरावेदन अदालतको फैसला मिलेको देखियो ।

१९. अब पुनरावेदक वादी सावित्रीदेवीको पुनरावेदन जिकिरतर्फ विचार गर्दा प्रतिवादी शारदादेवी र वादी सावित्रीदेवी सौता सौता नाताको देखिन आएको छ । निजहरू समान पुस्ताका नाताभित्र रहेका छन् । समान पुस्ताका बिचमा निजी तवरबाट प्राप्‍त सम्पत्ति अंशबन्डा गर्न कर लाग्ने हुँदैन । 

२०. अतः प्रतिवादी शारदादेवीले बकसपत्रबाट प्राप्‍त सर्लाही हरिवन गा.वि.स. वडा नं. ५(ग) को कि.नं. १२ र ललितपुर उपमहानगरपालिका वडा नं. ४ कि.नं ६२७ को घर निजी आर्जनबाट प्राप्‍त गरेको हुँदा सौतेनी दिदी वादी सावित्रीदेवी खतिवडाको हकमा अंशबन्डा लाग्ने देखिन आएन ।

२१. अतः विवेचित आधार, प्रमाण, कानून र यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतका आधारमा बन्डा लाग्ने सम्पत्ति रहेको भन्‍ने दाखिला हुन आएको फाँटवारीबाट नदेखिएको अवस्थामा वादीमध्येका सावित्रीदेवी खतिवडा प्रतिवादीहरूबाट बन्डा नपाउने र अलगसम्म हुने र वादी नारदप्रसाद खतिवडाले प्रतिवादी शारदादेवी खतिवडाको नामदर्तामा रहेको सर्लाही हरिवन गा.वि.स. वडा नं.५(ग) को कि.नं. १२ ललितपुर उपमहानगरपालिका वडा नं. ४ को कि.नं. ६२७ को जग्गा र त्यसमा बनेका घरसमेतबाट ५ भागको १ भाग अंश पाउने ठहर्‍याई मिति २०६८।७।२३ मा सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसलालाई सदर गर्ने गरेको मिति २०७०।४।१४ को पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । अंश पाउँ भन्‍ने वादी सावित्रीदेवी खतिवडा र बकसपत्र माध्यमले प्राप्त गरेको सम्पत्ति सौतेनी छोरालाई बन्डा दिएको नमिलेको भन्‍ने प्रतिवादी शारदादेवी खतिवडाको पुनरावेदन जिकिर पुग्न सक्दैन । मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाई दिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या.प्रकाशकुमार ढुंगाना

 

इजलास अधिकृतः मदन पराजुली

इति संवत् २०७६ साल कार्तिक ५ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु